Category: समाचार

  • आगामी निर्वाचनमा कस्तो बन्दैछ मतपत्र ?

    आगामी निर्वाचनमा कस्तो बन्दैछ मतपत्र ?

    काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ्ग सेतो रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रङ्ग प्रयोग भएको छ । त्यस्तै, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणको रङ्ग रातो मसिको रहेको छ । निर्वाचन आयोगले शुक्रबारसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न गरेको छ ।

    तिहारअघि थप छ वटा जिल्लाको मतपत्र ढुवानी गरिनेछ । बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लाको मतपत्र भने तिहारपछि मात्र ढुवानी हुनेछ । पछिल्लो विवण अनुसार हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कुल एक करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । जसमध्ये प्रदेश सभाका लागि ७५ लाख २५ हजार र प्रतिनिधि सभातर्फ ७५ लाख ९९ हजार मतपत्र छन् ।

    हालसम्म प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, अछाम, कैलाली, कञ्चनपुर, रोप्पा, प्यूठान, दाङ, रुकुम पूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया र नवलपरासी पश्चिमलगायतका जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ ।

  • चीनमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन

    चीनमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि छनोट भएका छन् । बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनले सी लाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । महाधिवेशनले ११ जना महिलासहित २ सय ५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । केन्द्रीय कमिटीले पोलिटब्युरो र स्थायी समिति गठन गर्ने छ । केन्द्रीय कमिटीको पहिलो आइतबार बस्दै छ ।

    महाधिवेशनले शक्तिशाली पोलिटब्युरो स्थायी समितिका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने बिदा गरेको छ । दोस्रो वरियताका प्रधानमन्त्री ली र जन कांग्रेसका अध्यक्ष समेत रहेका तेस्रो वरियताका चान्सु बिदा भएका छन् । अधिवेशनले पाँच वर्षअघि अपनाएको सी विचारधारा झनै सशक्त बनाउने प्रस्ताव पारित गरेको छ । चिनियाँ विशेषता अनुसारको चिनियाँ समाजवाद सम्बन्धी सी विचारधारालाई पार्टीको विचारको सार रूपमा अघि बढाउने निर्णय गरेको छ ।

  • टिकटकमा लाइभ बस्न १८ वर्ष पुगेको हुनुपर्ने

    टिकटकमा लाइभ बस्न १८ वर्ष पुगेको हुनुपर्ने

    काठमाडौं । टिकटकले लाइभमा बस्ने प्रयोगकर्ताको उमेर आगामी महिनादेखि १८ वर्ष भएको हुनुपर्ने बनाउन लागेको छ। अहिलेसम्म १६ वर्षका प्रयोगकर्ताहरूले पनि टिकटक लाइभ गर्न पाउँछन्। बीबीसीका अनुसार एक अनुसन्धानमा सिरियाका शरणार्थी शिविरहरूबाट बालबालिकाको प्रयोग गरेर सहयोग माग्न सयौँ प्रयोगकर्ताहरू लाइभमा बस्ने गरेको पाइएको छ ।

    तीमध्ये कतिपयले एक घण्टामै १,००० डलरसम्म सहयोग पाउने गरेको तर त्यसलाई नगदमा रूपान्तरण गरेर उनीहरूले पैसा निकाल्दा टिकटकले ७० प्रतिशतसम्म लिने गरेको पाइएको समेत बीबीसीको भनाई छ । निकट भविष्यमा वयस्कहरूले मात्रै अभौतिक उपहार लिन मिल्ने र टिकटकको मनिटाइजेशन फीचरमा पहुँच पाउने टिकटकले जनाएको छ। आगामी साताहरूबाटै उसले प्रयोगकर्ताहरूलाई वयस्कले मात्रै लाइभ गर्न दिने जनाएको छ।

    यद्यपि टिकटकले कसरी उमेरका आधारमा रोक लगाउने कदम कार्यान्वयन गर्छ भन्ने अझै स्पष्ट छैन। फेसबुक र इन्स्टाग्रामको स्वामित्व लिएको मेटा र यूट्यूबको स्वामित्व भएको गुगलले लाइभस्ट्रीमिङका लागि न्यूनतम उमेर १३ वर्ष तोकेका छन्।


    उनीहरूले प्रयोगकर्ताहरूलाई पनि आफूले अप्लोड गर्ने सामग्री निश्चित उमेर पूरा भएकाले मात्रै हेर्न मिल्ने बनाउन सकिने सुविधा दिएका छन्। बीबीसी ग्लोबल डिस्इन्फर्मेशन यूनिट, बीबीसी न्यूज अरेबिक र बीबीसी आई इन्भेस्टिगेशन्सले उत्तरपश्चिमी सिरियाबाट लाइभमा आउने ३०० भन्दा बढी टिकटक प्रयोगकर्तालाई पाँच महिनासम्म पछ्याएको थियो।

    टिकटकको नियमले कसैलाई पनि उपहारको लागि याचना गर्न रोक लगाएको छ भने नाबालकहरूलाई शोषण गर्न, हानिि पुर्‍याउन र खतरा पुर्‍याउन नहुने उल्लेख गरेको छ। टिकटकले बालबालिकाको सुरक्षासम्बन्धी उसका नीति कत्तिको कडाइका साथ लागु गराउँछ भनेर परीक्षण गर्न बीबीसीले उसकै एपका फीचरको प्रयोग गरेर बालबालिकालाई माग्न राखिएका ३० वटा खाताविरुद्ध रिपोर्ट गर्‍यो। त्यतिखेर टिकटकले ती खाताले कुनै नियम उल्लङ्घन नगरेको जनायो।

    बीबीसीको एक अनुसन्धानका अनुसार सहयोगस्वरूप दिइएको रकमको ७० प्रतिशत टिकटकले नै राख्ने गरेको छ । टिकटकले यस्तो प्रकृतिका सामग्रीहरूलाई आफ्नो एपमा अनुमति नदिइएको र डिजिटल उपहारबाट उसले लिने कमिशन ७० प्रतिशतभन्दा निकै कम रहेको दाबी गरेको छ। तर उसले लिने कमिशन कति प्रतिशत हो भन्नेबारे टिकटकले खुलाएको छैन।

  • गठबन्धनका शीर्ष नेता आज जनकपुर पुग्दै

    गठबन्धनका शीर्ष नेता आज जनकपुर पुग्दै

    जनकपुर । सत्ता गठबन्धनका नेताहरु आफ्ना उम्मेदवारलाई जिताउन आह्वान गर्दै आज जनकपुर पुग्दैछन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्षनेताहरू आज मधेश प्रदेशको राजधानी जनकपुरधाम जाने भएका हुन् । गठबन्धनमा आबद्ध दलका मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम जान लागेका हुन् ।

    कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

  • काठमाडौंमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

    काठमाडौंमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

    काठमाडौं । तिहारमा राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न काठमाडौं प्रहरीले सर्वसाधारणलाई सूचित गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मर्यादित एवं सभ्य तरिकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हर्षोल्लासका साथ मनाइने तिहार पर्वमा अवाञ्छित गतिविधि पनि हुन सक्ने भएकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरिएको बताएका छन् । अवाञ्छित क्रियाकलाप भएको जस्तो लागेमा तत्कालै प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ ।

    प्रहरीले आफ्नो टोल छरछिमेकमा जुवातास खेलेको देखेमा वा पटाका पड्काएमा पनि तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ ९पटाका० सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवना हुनसक्ने व्यवस्था रहेको छ । मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले काठमाडौंवासीलाई आग्रह गरेको छ । छतमा चढेर यात्रा नगर्न, सडकको दायाँबायाँ जथाभावी पार्किङ नगर्न, ट्राफिक नियमको पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।

    यात्रा गर्ने क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले घरको ढोका ढकढक्याएमा नखोल्न, आफ्नो घर, छरछिमेक र टोलमा सिसी क्यामेरा जडान गर्न, लामो समय घरबाहिर जानुपरेमा विश्वासिलो छिमेकी र आफन्तलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ । तिहार तथा छठ पर्वका लागि गाउँ जान लागेको तस्वीर तथा जानकारी सामाजिक सञ्जालमा पोष्ट नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।

  • रुपन्देही-२ मा गठबन्धनका उम्मेदवारको उम्मेदवारी अदालतबाटै खारेज, विष्णु पौडेललाई सहज

    रुपन्देही-२ मा गठबन्धनका उम्मेदवारको उम्मेदवारी अदालतबाटै खारेज, विष्णु पौडेललाई सहज

    काठमाडौं । रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो । सर्वोच्चले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रारम्भिक दृष्टिकोण दिएको हो ।

    ‘निवेदक राजु गुरुङले २०७४ सालमा कालो सूचीमा राखिएको कुरालाई लिएर कुनै कानूनी उपचार प्राप्त गरेको भन्ने पनि देखिएन । कालोसूची कायम रहेको भन्ने देखियो’, आदेशमा भनिएको छ, ‘कालोसूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन ।’

    यसअघि रुपन्देही-२ का निर्वाचन अधिकृत उदवीर नेपालीले गुरुङको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएका थिए । निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।

    दुबै पक्षसँगको छलफलपछि शुक्रबार न्यायाधीश खतिवडा र रेग्मीको इजलासले गुरुङ २०७४ सालदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र त्यसमा कुनै कानुनी उपचार प्राप्त नगरेकाले कालो सूचीमा कायम रहेको देखिएको र उम्मेदवार हुन नमिल्ने ठहर गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ ९ज० मा कालोसूचीमा रहेको व्यक्ति त्यस अवधिभर उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

    सर्वोच्च अदालतको यो आदेशसँगै रुपन्देही–२ मा सत्तारुढ गठबन्धनको उम्मेदवारविना नै चुनावी प्रतिस्पर्धा हुने भएको छ । यसले एमाले उम्मेदवार एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सहज बनाएको छ । अब निर्वाचन आयोगलाई रुपन्देही–२ मा मतपत्र डिजाइन र छपाइको बाटो खुल्नेछ ।

  • ‘एक–आपसमा भ्रमले बढी क्षति हामीलाई नै हुन्छ, गठबन्धनभित्र शंका–उपशंका पैदा नगरौं’

    ‘एक–आपसमा भ्रमले बढी क्षति हामीलाई नै हुन्छ, गठबन्धनभित्र शंका–उपशंका पैदा नगरौं’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएको बताएका छन् ।

    शुक्रबार पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमा प्रधानमन्त्री देउवाले गठबन्धन संविधान रक्षाका लागि आजको आवश्कता रहेको दाबी गरेका हुन् ।

    देउवाले अझै केही वर्ष गठबन्धन आवश्यक रहेको र यसलाई बचाउनु पर्ने उल्लेख गरे । गठबन्धनले जितेर सरकार बनेपछि धेरै कुरा मिल्न सक्ने बताउँदै उनले एक–आपसमा शंका र बेइमानी गर्दा ठूलो नोक्सानी व्यहोर्नुपर्ने भन्दै सचेत गराए ।

    ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं,’ दउवाले भने ।

    हिजोको राजनीतिक परिस्थितलाइ लिएर गठबन्धनमा शंका हुने कुरा नगर्न पनि उनले आग्रह गरे। ‘राजनीतिक पार्टी अलगअलग पृष्ठभूमिबाट आएका हुन्छन् । हिजोका लडाइँका कारण होलान्, ती बितेका कुरा भए । राजनीतिमा कुनै पनि ठाउँमा समझदारी गर्नुपर्ने, बिसाउनुपर्ने हुन सक्छ । अहिलेको प्राप्ति सबैको जित हो।’

    टिकट नपाएर असन्तुष्ट रहेका नेता कार्यकर्तालाई धैर्य गर्न पनि देउवाले अनुरोध गरे । आफूले टिकट नपाएपनि गठबन्धनका उम्मेदवारलाई जिताए आगामी सरकार गठबन्धनकै हुने र विभिन्न ठाउँमा जिम्मेवारी दिन सकिने प्रधानमन्त्रीको धारणा थियो ।

    ‘ हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ’, देउवाले भनेका छन्, सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन्,’ उनले भने ।

  • गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन ३५ दिने अल्टिमेटम

    गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन ३५ दिने अल्टिमेटम

    काठमाडौं । पशुपति विकास कोषले काठमाडौंको गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

    कोषले आज एक सूचना जारी गर्दै मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्ड विपरितका संरचनाहरु ३५ दिने भित्र हटाउन निर्देशन दिएको हो ।

    धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएको छ ।

    तोकिएको समयमा संरचना नहटाए कोषले नियमानुसार गर्ने जनाएको छ ।

    कोषले समितिलाई गत असोज २६ गतेपत्र लेख्दै जानकारी समेत दिएको थियो ।

  • पोखराबाट गठबन्धनका प्रमुख नेताको एकै स्वर-‘दायाँ बायाँ नगरौं, गठबन्धनमा भोट हालौं’

    पोखराबाट गठबन्धनका प्रमुख नेताको एकै स्वर-‘दायाँ बायाँ नगरौं, गठबन्धनमा भोट हालौं’

    पोखरा। सत्तारुढ गठबन्धनले तेश्रो संयुक्त प्रशिक्षण कार्यक्रम पोखरामा गरेका छन् । तीन दलको चुनावी अभियान तीव्रतामा अगाडि बढिरहेको बेला आज शुक्रबार पोखरामा गण्डकी प्रदेश स्तरिय कार्यक्रम गरेका हुन् । यसअघि काठमाडौंको निर्वाचन क्षेत्र नं २, ललितपुरको क्षेत्र नं ३ मा संयुक्त चुनावी प्रशिक्षण कार्यक्रम गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता पोखरा पुगेका छन्।

    प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका छन्।

    देउवा बिहीबार नै पोखरा पुगिसकेका थिए भने प्रचण्ड र माधव नेपाल शुक्रबार मात्रै पोखरा पुगेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका देउवाले गठबन्धन आजको आवश्यकता भएको बताए । ‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, उनले भने, ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’

    देउवाले अगाडि भने ‘हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ’, देउवाले भनेका छन्, सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् ।’

    कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने– ‘हसिया हथौडालाई रूखमा, रूखलाई हसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौं’, उनले भने, ‘गठबन्धन गर्दा नै सबै चिनाव चिह्न स्वीकार गरेका हौं । आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ ।’

    संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्दै प्रचण्डले यसको लाभ पनि दलहरुले पाएको बताए । ‘स्थानीय तहको निर्वाचनमा सबभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिएका छन् । तर सोचेजस्तो भएन’, उनले भने, ‘गठबन्धनलाई भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’

  • निर्वाचनलाई चार अन्तर्राष्ट्रिय पर्यवेक्षकले अनुगमन गर्दै, कुन संस्थाले पाए अनुमति ?

    निर्वाचनलाई चार अन्तर्राष्ट्रिय पर्यवेक्षकले अनुगमन गर्दै, कुन संस्थाले पाए अनुमति ?

    काठमाडौं । आगामी आम निर्वाचनमा चार वटा अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षणको अनुमती पाएका छन् । नेपालको आम निर्वाचन पर्यवेक्षण गर्न अनुमति लिएका चारवटा अन्तर्राष्ट्रिय संस्थामध्ये रुसी संस्था सिभिक च्याम्बर अफ रसियन फेडेरेसन समेत छ । निर्वाचन आयोगका अनुसार एशियन नेटवर्क फर फ्रि इलेक्सन्सबाट १५ जना, सार्क ह्युमन राइट्स फाउन्डेसनबाट ४ जना, सिभिक च्याम्बर अफ रसियन फेडेरेसनबाट ५ जना र सपोर्ट इनिसिएटिभ फर लिबर्टी एन्ड डेमोक्रेसीबाट ४ जनाले अनुमति पाएका छन् ।

    विसं २०६४ सालको संविधानसभा निर्वाचनमा ८०० जना देखि ९०० जनाको हाराहारीमा अन्तर्राष्ट्रिय पर्यवेक्षक नेपाल आएका थिए। नेपालमा पछिल्लो समय हरेक जसो निर्वाचन पर्यवेक्षण गर्दै आएका युरोपेली र अमेरिकी पर्यवेक्षकहरू आगामी महिना हुने निर्वचनको पर्यवेक्षणमा भने नआउने भएका छन्।

  • जुम्लामा १ डिग्रीमा झर्यो न्यूनतम तापक्रम, काठमाडौंमा कति ?

    जुम्लामा १ डिग्रीमा झर्यो न्यूनतम तापक्रम, काठमाडौंमा कति ?

    काठमाडौं । देशभर चिसो बढ्दा न्यूनतम तापक्रम समेत तल झर्ने क्रम जारी छ । पश्चिमी वायुको प्रभावले नेपालमा क्रमशः चिसो बढाइरहेको छ । जुम्लामा न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर नै केहीबेर घाम लाग्ने र फेरि बदली हुने भइरहेको छ । यस्तै, हिमाली जिल्लामा हिउँ पर्न थालेको छ । शुक्रबार पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ ।

    गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको समेत सम्भावना छ । जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस छ । जोमसोमको न्युनतम तापक्रम ३, जिरीको ७ दशमलव ९ र डडेल्धुराको न्युनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । काठमाडौंमा न्युनतम तापक्रम १२ दशमलव ३ डिग्री सेल्सियस छ ।

  • पर्यटनमन्त्री श्रेष्ठले मदिरा आयात खुलाउन लगे मन्त्रिपरिषद्मा प्रस्ताव

    पर्यटनमन्त्री श्रेष्ठले मदिरा आयात खुलाउन लगे मन्त्रिपरिषद्मा प्रस्ताव

    काठमाडौं । प्रतिबन्धित महंगा मदिराको आयात खुलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेका छन् ।
    बिहीबार बसेको मन्त्रीपरिषद् बैठकमा व्यवसायीको माग र मुख्य पर्यटकीय सिजनमा यसबाट पर्ने असरबारे छलफल भएको मन्त्री श्रेष्ठले बताएका छन् । मदिराको आयात लामो समय लम्ब्याउँदा पर्यटन क्षेत्रमा पर्ने असरबारे छलफल भएको समेत उनले बताए ।

    होटेल व्यवसायीले मदिराको आयात खुलाउने वातावरण बनाउन माग गर्दै आएका छन् । अहिले नेपालमा पर्यटकीय सिजन चलिरहेको छ । गत १३ वैशाखदेखि मदिरा लगायतका चार प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाइएको थियो । सरकारले पटक पटक गरी यो प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याइसकेको छ ।

  • सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण आज बुटवलमा

    सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण आज बुटवलमा

    बुटवल । सत्ता गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षण आज बुटवलमा हुने भएको छ । लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा हुन लागेको हो । प्रशिक्षण कार्यक्रमलाई सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

    दिउँसो २ बजेदेखि बुटवलको योगी कुटीमा हुने प्रशिक्षणलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताले सम्बोधन गर्नेछन् ।

    गठबन्धनको केन्द्रीय संयन्त्रले तोकेबमोजिम हुन लागेको निर्वाचन केन्द्रित प्रशिक्षणमा गठबन्धनमा आवद्ध दलका प्रदेशमा रहेका केन्द्रीय, प्रदेश र जिल्ला कमिटिका पदाधिकारीको सहभागिता रहने छ । यसअघि सत्ता गठबन्धनका शीर्ष नेताहरुले काठमाडौं र ललितपुरमा पनि यस्तै प्रशिक्षण कार्यक्रम आयोजना गरिसकेका छन् ।

  • बेलायतमा ४५ दिनमै ढल्यो नयाँ सरकार

    बेलायतमा ४५ दिनमै ढल्यो नयाँ सरकार

    लण्डन । बेलायतमा नयाँ सरकार ४५ दिनमै ढलेको छ । प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएसँगै सरकार ढलेको हो । बिहीबार साँझ उनले राजीनामा दिएको बीबीसीले जनाएको छ । उनको सरकारले ल्याएका आर्थिक नीतिका कारण सरकारको तीव्र आलोचना भएसँगै उनले पदत्याग गरेकी हुन् । आलोचना मत्थर गर्न केही दिनअघि उनले आफ्ना अर्थमन्त्रीलाई बर्खास्त गरेकी थिइन्। पार्टीभित्र र बाहिरबाट आलोचनाको क्रम नरोकिएपछि बिहीबार उनले राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सको भनाई छ ।

    अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन्। बेलायतकी तेस्रो महिला प्रधानमन्त्री बनेकी ट्रस सबैभन्दा कम समय बेलायती प्रधानमन्त्री हुने व्यक्ति भएकी छन्। बेलायतको तल्लो सदनमा कन्जरभेटिभ पार्टीको बहुमत भएकाले अब उक्त पार्टीको नेता चुनिने व्यक्ति नै नयाँ प्रधानमन्त्री बन्ने छन्। बोरिस जोन्सनले राजीनामा दिएपछि ट्रस ऋषि सुनकलाई हराएर कन्जरभेटिभ पार्टीकी नेता बनेकी थिइन्।

  • माधव नेपाललाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई निर्देशन

    माधव नेपाललाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई निर्देशन

    काठमाडौं । नेकपा एकीकृत समाजवादी‍का अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आयाेगले २४ घण्टे स्पष्टीकरण साेधेकाे छ ।

    निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघन हुनेगरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा रौतहट- १ का उम्मेदवार नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेकाे हाे।

    नेता नेपालले बेरोजगार युवालाई फ्री भिसा- फ्री टिकटमा विदेश पठाइदिने भनी मतदता माझ बोलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएकाे छ।

    त्यस्तै अध्यक्ष नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले पत्र काटेको छ। निर्वाचन आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन रौतहटलाई पत्र काट्दै नेपालमाथि कारवाही अघि बढाउन निर्देशन दिएको हो ।

  • नेपालमा डेंगुको सेरोटाइप–३ पुष्टि, थप सचेत रहन सरकारको आग्रह

    नेपालमा डेंगुको सेरोटाइप–३ पुष्टि, थप सचेत रहन सरकारको आग्रह

    काठमाडौं । नेपालमा डेंगुको सेरोटाइप–३ पहिलोपटक पुष्टी भएको छ ।

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा संक्रमितबाट संकलिन गरेर नमुना परीक्षण गर्दा सेरोटाइप १ र ३ देखिएको अस्पतालले जनाएको छ ।

    अस्पतालको ल्याबले १२ वटा नमुनामा परीक्षण गरेको थियो ।

    यसअघि नेपालमा सेरोटाइप १ र सेरोटाइप २ मात्रै पुष्टी भएको थियो ।

    जटिलताका हिसाबले डेंगुका सबै सेरोटाइप उस्तै भए पनि एकपटक एउटा सेरोटाइपबाट संक्रमित भएका व्यक्तिलाई दोस्रोपटक फरक सेरोटाइपले संक्रमण गराए जटिलता बढी बताइएको छ ।

    नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।

    इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।

    यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।

    सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। नेपालमा पछिल्ला वर्ष डेंगु संक्रमण बढ्दै जानु एक प्रमुख कारण जलवायु परिवर्तन पनि रहेको आंकलन गरिएको छ ।

    नेपालमा केही वर्षयता यो मौसममा एक समय निरन्तर पानी आउने र चर्को घाम लाग्ने गरेको र यो खालको मौसममा डेंगु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे अत्यधिक संख्या वृद्धि भएकाले पनि डेंगु संक्रमण बढेको हुनसक्ने बताइएको छ ।

  • तिहारलक्षित गोदावरी पुष्प मेला आजबाट

    तिहारलक्षित गोदावरी पुष्प मेला आजबाट

    ललितपुर । तिहारलक्षित गोदावरी फूल मेला तथा प्रदर्शनी आजबाट सुरु हुँदैछ । ललितपुरको जावलाखेल मैदानमा हुने १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको बिहान ११ बजे उद्घाटन हुनेछ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ मेला हुन लागेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको आयोजक फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

    फूल व्यवसायको व्यवसायिक विस्तार तथा प्रवर्द्धनका लागि वर्षेनी मेला हुँदै आएकोमा कोरोनाकालमा रोकिएको थियो । तिहार तथा छठ पर्व, घर आँगनरबगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्धेश्यका साथ मेला गरिएको हो । प्रदर्शनीमा व्यवसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहनेछन् ।

    प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइनेछ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरुमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरीको कटफ्लावर प्रजाति रहेका छन् । यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल तथा विरुवासमेत प्रदर्शनीमा रहनेछन् । यो मेला फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना र पुष्प विकास केन्द्र गोदावरीको सहयोगमा हुन लागेको हो ।

    मेलामा प्रवेशका लागि साधारणतर्फ एक सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ रहेको छ । प्रदर्शनीमा अवलोकनकर्तामध्ये ५ जनालाई विजेता घोषणा गरी ६ गते बेलुका सिभिल मलमा हुने चलचित्र ‘महापुरुष’ को प्रिमियर शोमा महजोडीसँगै सहभागी हुने अवसर दिइने एसोसिएसनले जनाएको छ । प्रदर्शनी आउँदो आइतवारसम्म चल्नेछ ।

  • राष्ट्रिय खेलकुदको समापन आज

    राष्ट्रिय खेलकुदको समापन आज

    पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन बिहीबार हुँदैछ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोह आयोजना गरी समापन हुनेछ । समापनमा समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थित हुने कार्यक्रम छ । पोखरा रंगशालामा पुरुष फुटबल फाइनल खेलपछि ४ बजे समापन समारोह सुरु हुनेछ ।

    यस्तै सहभागी टिमको मार्चपास, प्रकाश सपुत र मिलन नेवाको सांगीतिक प्रस्तुती पनि रहनेछ । समापन समारोहमा दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिने छ । दशौं संस्करण २०८१ सालमा आयोजना हुनेछ । नवौं राष्ट्रिय खेलकुदमा ११ टिमका ६ हजार बढी खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

  • प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

    प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कम रहेको चिकित्सकले बताएका छन् । अहिले भने उनको अवस्था स्थिर छ ।

    उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको छ । उनलाई केही दिन अस्पताल राखेर मंगलबारमात्रै डिस्चार्ज गरेर घर पठाइएको थियो । सीता दाहाल लामो समयदेखि स्नायू प्रणालीसँग सम्बन्धित जटिल रोगबाट ग्रस्त छिन् ।

  • बझाङमा जीप दुर्घटना, ७ जनाको मृत्यु

    बझाङमा जीप दुर्घटना, ७ जनाको मृत्यु

    बझाङ । बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ७ जनाको ज्यान गएको हो । सु प प्र ०१–००१ च ११७ नम्बरको जिप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जिप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

    मृत्यु हुने मष्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दीक्षिका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा कञ्चनपुर शुक्लाफाटा नगरपालिका ७ का झरेन्द्र बोहरा, सोही नगरपालिका २ बस्ने ३८ वर्षका वीरेन्द्र अधिकारीको मृत्यु भएको छ ।

    बोहरा मष्टा गाउँपालिका ३ मा रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत हुन् । घाइतेमध्ये मष्टा गाउँपालिका १ का ३६ वर्षका सिंहबीर बुढाको अवस्था गम्भीर रहेको छ । ५० वर्षीया सिन्कीदेवी भण्डारी, ६३ वर्षका मणिबहादुर सिंह र १० वर्षीय बालक विशाल खड्कालाई रिफर गरिएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

  • सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प

    सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    चीनको सिमाना नजिकै सिन्धुपाल्चोक केन्द्रविन्दु भएका बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५।९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिष्य भूकम्प मापन केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का सिन्धुपाल्चोकसहित काठमाडौं उपत्यका, काभ्रे, दोलखा, लगायतका क्षेत्रमा महसुस गरिएको सामाजिक सञ्जालमा उल्लेख गरिएको छ छ।

  • खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुससहित पक्राउ

    खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुससहित पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित दुई जनालाई पक्राउ गरेको छ ।

    रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई मन्थली नगरपालिका-१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।

    उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ ।

  • ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

    ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

    ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकाघरका दाजुभाइसहित चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखे अनुसार मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा ट्याक्टर पल्टिएको थियो ।

    मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका ३१ वर्षीय चालक पासाङ शेर्पा र उनका २४ वर्षीय भाइ फुर्वा शेर्पा रहेका छन् । उनीहरू आमा बिरामी भएपछि ढुङगेसाँघुबाट ट्याक्टर लिएर घरतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार वडा नम्बर–४ ओदकका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको पनि घटनास्थलमै मृत्यु भएको डीएसपी राईले जानकारी दिएका छन् । घटनाको थप विवरण आएको छैन ।

  • आज र भोली देशभर ‘भिटामिन ए’ र जुकाकोऔषधी खुवाउने अभियान

    आज र भोली देशभर ‘भिटामिन ए’ र जुकाकोऔषधी खुवाउने अभियान

    काठमाडौं । आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जानकारी गराएको छ । आज छुटेका बालबालिकालाई भोलि खुवाइने छ । स्वास्थ्य मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटिामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

    भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका लागि देशभर ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • विप्लव पुन: महासचिव चुनिए

    विप्लव पुन: महासचिव चुनिए

    काठमाडौं । नेकपाको महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । हालै सम्पन्न नवौं महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएको पार्टीले जनाएको छ ।

    नवौं महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृहक्षेत्र कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो । महाधिवेशनले ‘एकीकृत जनक्रान्तिको विचार’लाई नयाँ उचाइमा पुर्याउने लक्ष्य कार्यदिशालाई निरन्तरता दिएको छ ।

  • झापामा गोली हानेर एक व्यक्तिले गरे आत्महत्या

    झापामा गोली हानेर एक व्यक्तिले गरे आत्महत्या

    झापा । झापामा आफैलाई गोली हानेर एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको को गौरादह नगरपालिका–८ मा भतिजलाई गोली हानेर घाइते बनाएका एक व्यक्तिले ‘आत्महत्या’ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका जीवन शाहको मृत्यु भएको छ । उनले आफैंले कन्चटमा गोली हानेको अनुमान गरिएको छ ।

    उनले भतिज १५ वर्षीय हेमराजलाई गोली हानेर घाइते बनाएको समेत बताइएको छ । उनको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार जारी छ । उनी सशस्त्र प्रहरी बलबाट अवकाशप्राप्त भएको समेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथमा भेटिएको पेस्तोलबाट ३ राउण्ड गोली समेत बरामद भएको छ । ११ वटा गोली पनि भेटिएको छ ।

  • काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई

    काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई

    काठमाडौं । काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसलका भान्छामा सरसफाइको समस्या देखिएको छ। मंगलबार अनुगमनका क्रममा नयाँ बानेश्वर क्षेत्रका मिठाइ पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नम्बर-१० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन गरेको थकाली भान्छा, वडा नम्बर(३१ मा सञ्चालित कोलकत्ता स्विट्स प्रालि, द बर्गर हाउस (सिएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालय र फलफूल पसलको अनुगमन गरिएको हो।

    स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार अनुगमन गरिएका सबैको भान्छामा सरसफाइ र स्वच्छताका दृष्टिले कमजोर छन्। परिकार बनाउने कच्चा पदार्थ चामल, दाल, मसलाको उपयोग म्यादका विषयमा सञ्चालकलाई चासो नदिएको उनले बताए। ‘भान्छामा काम गर्नेहरूको व्यक्तिगत सफाइ कमजोर छ,’ उनले भने, ‘एप्रोनको सही प्रयोग गरेका छैनन्। फ्रिजमा राखिने वस्तुको व्यवस्थापन कमजोर छ। खाद्य अनुज्ञा पत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका वस्तुको प्रयोग देखिन्छ।’ यसरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनिएको छ।

    ‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो,’ निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डाक्टर अवधेश झाले भने, ुव्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि आपूर्तिकर्तालाई लिएर तीन दिनभित्र कार्यालयमा उपस्थित आदेश जारी गरिएको फारम दिइएको छ।’ ‘थकाली भान्छा घरको किचनमा खाना पकाउने ठाउँमै बसेर खाना खाइरहेको भेटियो। यसरी हेर्दा सामान व्यवस्थापन, पकाउने तथा भण्डारण गर्ने पद्धति र खाना तयारीसँग सम्बन्धित व्यक्तिको आचरणमा सुधार गर्नुपर्ने देखिन्छ’, उनले अगाडि भने।

  • एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई दिए आमने-सामने प्रत्यक्ष बहस गर्न चूनौति

    एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई दिए आमने-सामने प्रत्यक्ष बहस गर्न चूनौति

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका छन् । सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेट’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेण्डाका आधारित बहसका लागि आफू तयार रहेको बताएका छन् ।

    पश्चिमा देशहरुमा चुनावको बेला ‘लाइभ डिबेट’ हुने गरेको उल्लेख गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘म त त्यसका लागि तयार छु, देउवा जी नि ?’ उता, मंगलबार झापा पुगेका ओली अस्वस्थ बनेका छन् । जसका कारण उनको चुनावी अभियान समेत प्रभावित बनेको छ ।

  • ३ महिनामा विकास खर्च जम्मा १९ अर्ब, चालु खर्च भने सवा २ खर्ब

    ३ महिनामा विकास खर्च जम्मा १९ अर्ब, चालु खर्च भने सवा २ खर्ब

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ३ महिनासम्म विकास बजेटको जम्मा ५ प्रतिशत मात्र खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमास (साउन–असोज)सम्म सरकारले १९ अर्ब ६८ करोड पूँजीगत खर्च गरेको हो ।

    चालु आवमा कुल ३ खर्ब ८० अर्ब पूँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले ३ महिनामा कुल बजेटको जम्मा ५.१७ प्रतिशत मात्रै खर्च गर्न सकेको हो ।

    पूँजीगत खर्च गर्न नसकेको सरकारले चालू खर्च भने धेरै गरेको छ । ३ महिनाको अवधिमा सरकारले २ खर्ब २३ अर्ब ७५ करोड चालु खर्च गरेको छ । यो कुल लक्ष्यको १८.९१ प्रतिशत हो ।

    समग्र बजेट खर्च पनि लक्ष्यभन्दा कम रहेको छ । असोजसम्म सरकारले कुल बजेटको १५.९१ प्रतिशत खर्च गरेको छ । चालु आवमा १७ खर्ब ९३ अर्ब बजेट खर्च गर्ने लक्ष्य राखेको सरकारले ३ महिनामा २ खर्ब ७८ अर्ब रुपैयाँ खर्च गरेको हो ।

  • अरिंगालको टोकाईबाट सल्यानमा आमा-छोरीको मृत्यु

    अरिंगालको टोकाईबाट सल्यानमा आमा-छोरीको मृत्यु

    सल्यान । अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको ज्यान गएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका १ हाम्फाल निवासी २१ वर्षीया शोभा बुढाथोकी र ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी छन् । सोमवार बेलुका धान काटेर घर फर्कने क्रममा उनिहरुलाई अरिङ्गालले टोकेपछि उपचारका लागि श्रीनगर स्थित परोपकार अस्पतालमा उपचारपछि मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार गम्भीर घाइते शोभाको भने कोहलपुर मेडिकल कलेजमा डाक्टरले मृत घोषणा गरेको हो । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका नवीन बस्नेतको भने श्रीनगरमा रहेको परोपकार अस्पतालमा उपचार जारी छ ।