Category: समाचार

  • सन्दीपविरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर, १० देखि १२ वर्षसम्म कैद सजाय माग

    सन्दीपविरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर, १० देखि १२ वर्षसम्म कैद सजाय माग

    काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै बलात्कार मुद्दा दर्ता गरिएको छ।

    सोमबार काठमाडौँ जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।

    सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले सोमबार काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणीको अभियोगपत्र दायर गरिएको जानकारी दिए । अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा पेस भएको छ ।

    जबर्जस्ती करणी मुद्दाको माग दाबी छ । १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ, आज मुद्दा बुझायौं । भोलि गोलाप्रथाबाट कुन न्यायाधीशकोमा मुद्दा पर्ने थाहा हुन्छ । त्यसपछि प्रतिवादीको बयान हुन्छ र थुनछेक बहस सुरु हुन्छ ।

    सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुनेछ ।

    लामिछानेले नाबालक युवतीलाई जबर्जस्ती करणी गरेको आरोप गत भदौमा लागेको थियो । उनीविरुद्ध भदौ २१ गते १७ वर्षीया एक नाबालिग किशोरीले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

    गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी असोज २४ गते अदालतमा उपस्थित गराएको थियो । गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

    जाहेरीमा उनले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पुर्‍याएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन् । होटलमा बसेको भोलिपल्टै लामिछाने केन्यासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए ।

    केन्यासँग ट्वान्टी–२० पछि एकदिवसीय शृंखला पनि भएको थियो तर लामिछाने उक्त शृंखला नखेली क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न बेस्ट इन्डिज पुगेका थिए ।

    लामिछाने वेस्ट इन्डिजमै रहँदा भदौ २२ मा उनीविरुद्ध प्रहरीमा बलात्कार आरोपमा जाहेरी दर्ता भएको थियो । त्यसको भोलिपल्ट काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको थियो ।

    सन्दीपले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्।

  • कात्तिक १७ देखि मंसिर १ सम्ममात्र जुलुस, आमसभा र कोणसभा गर्न पाइने

    कात्तिक १७ देखि मंसिर १ सम्ममात्र जुलुस, आमसभा र कोणसभा गर्न पाइने

    काठमाडौं । आसन्न निर्वाचनमा उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

    मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने आयोगले बताएको हो।

    आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ।

    उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    आचारसंहिताबमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।

    आचारसंहिताबमोजिम दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिनेछ। यस्तै कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधान आचारसंहितामा रहेका सम्बन्धमा पनि आयोगले स्मरण गराएको छ।

    आचारसंहिताको प्रभावकारी कार्यान्वयन भए/नभएका सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लङ्घनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउनेक्रम जारी छ।

    आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गरिरहेको छ।

  • राप्रपाको घोषणापत्र: प्रदेश खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय राजसंस्था

    राप्रपाको घोषणापत्र: प्रदेश खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय राजसंस्था

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।

    घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ ।

    सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र अहिलेको आवश्यकता रहेको उल्लेख छ । यस्तै घोषणापत्रमा एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्रीजस्तो कार्यकारी पदमा बस्न नपाउने भनिएको छ।

    राप्रपाले दीर्घकालीन राष्ट्रिय रणनीतिमा दिगो आर्थिक वृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, सुशासनतर्फ बरु नष्ट हुने तर भ्रष्ट नहुने राप्रपाको प्रतिबद्धता छ ।

    त्यस्तै उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था,राजनीतिक दलरहित संवैधानिक परिषद् निर्माण, नेपालको शान्ति क्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने, असंलग्न र पञ्चशीलमा आधारित सन्तुलित परराष्ट्र नीतिको अवलम्बन, नेपालको भूभाग कसैका विरुद्ध प्रयोग गर्न नदिनेलगायतका विशेषता राप्रपाको घोषणापत्रमा समेटिएका छन् ।

    जेष्ठ नागरिक र असक्तहरुको घरमै स्‍वास्थ्य सेवा उपलब्ध गराउने घोषणापत्रमा समेटिएको छ।

  • ५१ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी, ८ वटा जिल्लामा ढुवानी सम्पन्न

    ५१ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी, ८ वटा जिल्लामा ढुवानी सम्पन्न

    काठमाडौं । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ ।

    मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको छ । यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ ।

    यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्रीहरू पठाई सकिएको छ । यद्यपी ती जिल्लाहरूमा सबै सामग्री ढुवानी हुन बाँकी छ । आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू ढुवानी गर्नुपर्ने हुन्छ ।

  • निर्वाचन नजिकिएसँगै ग्रुपमाथि फेसबुकको निगरानी निस्क्रिय बनायो ‘एमआरआर’

    निर्वाचन नजिकिएसँगै ग्रुपमाथि फेसबुकको निगरानी निस्क्रिय बनायो ‘एमआरआर’

    काठमाडौं । निर्वाचन नजिकिएसँगै फेसबुकको मेटा कम्पनीले ग्रुपमाथि निगरानी बढाएको छ ।

    ग्रुपहरु पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि चुनावको मुखमा निगरानी बढाएको हो । जसको कारबाहीमा चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) परेको छ ।

    फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निस्क्रिय गराएको हो ।

    एमआरआरका अनुसार गु्रप २०२० मा कारबाहीमा परेको थियो । ग्रुपलाई निष्कृय गरेको भएपनि कुन पोष्ट वा कमेन्टले हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोष्ट छैन पनि भनिएको एमआरआरले जनाएको छ ।

    एमआरआर गत वैशाखको स्थानीय चुनावमा काठमाडौंको मेयर पदका उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई जिताउन सक्रिय भएको थियो ।

    ठूलो संख्यामा युवाहरु समावेस भएको ग्रुप भएकाले यसले आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई पनि कुनै न कुनै रुपले प्रभावित पार्न सक्ने अनुमान निर्वाचन आयोगका पदाधिकारीहरुले गरेका थिए ।

  • छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

    छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

    काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आइतवार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

    कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि शुरु भएको हो ।

    ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो ।

    उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

    सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य उल्लेख छ ।

    संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

    साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।

    छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

  • मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु

    मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु

    काठमाडौं । नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिकामा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

    पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस बुलिङ्टार–२ मथारमा आइतबार बिहान ४ बजे दुर्घटना भएको हो।

    बस कालीगण्डकी कोरिडोरको सडकबाट १०० मिटर तल खसेको थियो ।

    दुर्घटनामा परेर पाल्पाको रम्भा गाउँपालिका-१ निवासी ४१ वर्षीया तारा विक, १७ वर्षीय विनयी विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जा गल्याङ-१ बेलचौर निवासी ४५ वर्षीया फूलमाया माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले बताए । घाइतेहरूको उद्दार गरेर उपचारको लागि भरतपुर पठाएको छ ।

  • इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु

    इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा दुई वटा मोटरसाइकल  ठोक्किँदा भएको दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा मोरङ बूढीगङ्गा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।
    विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियो । त्यसक्रममा  मोटरसाइकलमा सवार तीन जना गम्भीर घाईते भएका थिए ।
    गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • तिहार लगत्तै मौसम प्रतिकुल बन्दै, कृषकलाइ जोखिम

    तिहार लगत्तै मौसम प्रतिकुल बन्दै, कृषकलाइ जोखिम

    काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । यसले धान बाली भित्र्याउने तयारीमा रहेका कृषकलाइ जोखिम निम्त्याउने छ ।
    जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आइतबार देशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमासामान्यतया मौसम सफा रहने छ भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

  • गगन थापालाई निर्वाचन आयोगले फेरि सोध्यो स्पष्टीकरण

    गगन थापालाई निर्वाचन आयोगले फेरि सोध्यो स्पष्टीकरण

    काठमाडौं । नेपाली कांग्रेसका काठमाडौं–४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापालाई निर्वाचन आयोगले फेरि स्पष्टीकरण सोधेको छ ।

    यसअघि जुन विषयमा स्पष्टीकरण सोधिएको थियो, त्यही विषयमा यसपटक पनि आयोगले स्पष्टिकरण सोधेको हो । यसअघि आयोगले सोधेको स्पष्टीकरणको जवाफमा थापाले सार्वजनिक कार्यक्रममा जवाफ दिएका थिए ।

    यसअघि थापाले सामाजिक सन्जाल फेसबुकमा डेंगी परीक्षण निःशुल्क गर्ने र आफूहरु टोलटोलमा आउने सन्देश दिँदै एक भिडियो राखेका थिए । त्यही भिडियोको आधारमा आयोगले उनलाई स्पष्टिकरण सोधेको थियो ।

    यसको जवाफमा थापाले एक सार्वजनिक कार्यक्रममा आफूले यस्तो गल्ती बारम्बार गर्ने बताएका थिए । यही आधारमा आयोगले उनलाई फेरि स्पष्टीकरण सोधेको हो ।

  • निर्वाचन आयोगको स्पष्टीकरण:’नो नट अगेन’ अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन

    निर्वाचन आयोगको स्पष्टीकरण:’नो नट अगेन’ अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन

    काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा चलिरहेको ‘नो नट अगेन’ अभियानमा बन्द गराउन भन्दै दिएको निर्देशनबाट आलोचित निर्वाचन आयोगले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको छ ।

    आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस अघिको निर्देशनले अभिव्यक्ति स्वतन्त्रतालाई हनन नगरेको भन्दै आफ्नो बचाउ गरेको हो । आयोगले उक्त निर्देशनबाट अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

    गत मङ्गलबाट निर्वाचन आचारसंहिता विपरित रहेको भन्दै आयोगले ‘नो नट अगेन’ नामका पेज तथा ग्रुप तत्कालै हटाउन निर्देशन दिएको थियो ।

    आयोगको उक्त निर्देशनपछि ‘नो नट अगेन’ झनै चर्किएको छ । थुप्रै सर्वसाधारणले आयोगले अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको भन्दै उक्त कदमको आलोचना गरेका छन् ।

    निर्वाचनका समयमा संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकको भरपूर उपयोग होस् भन्ने हेतुले आयोगले निर्वाचनको व्यवस्थापन र सञ्चालनका लागि ‘सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति, २०७३’ कार्यान्वयनमा ल्याएको आयोगको भनाई छ ।

    उसले विज्ञप्तिमार्फत भनेको छ, “आम मतदाताले सुसूचित भई विवेकपूर्ण निर्णय मतदानमार्फत गर्न सक्षम हुन् भन्ने ध्येयले नै उक्त नीति ल्याइएको हो ।”

    यही विचारलाई अवलम्बन गर्दै निर्वाचन आचारसंहिता, २०७९ मा आयोगले सामाजिक सञ्जालमा दल, उम्मेदवार र आम मतदाताले राजनीतिक विज्ञापन गर्न पाउने र प्रचारप्रसारका लागि उपयोग गर्न पाउने व्यवस्था गरेको छ आयोगले जनाएको छ ।

    निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवार विरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, अभिव्यक्ति स्वतन्त्रता भित्र नपर्ने आयोगको बुझाइ छ ।

    निर्वाचनका समयमा यस्ता राजनीतिक उद्देश्य राखिएका अभिव्यक्तिले संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गर्ने आयोगले जनाएको छ । यसबाट मतदाताको सुसूचित हुन पाउने अधिकार कुण्ठित हुने, मतदातालाई दिग्भ्रमित पार्ने र सही प्रतिनिधि नचुनिने अवस्था सिर्जना हुन सक्ने आयोगको तर्क छ ।

    यस्ता अभिव्यक्तिले निर्वाचनमा पार्न सक्ने चुनौतीलाई मध्यनजर गर्दै आयोगले सामाजिक सञ्जालका कम्पनीहरूसँग सहकार्य गर्दै आएको छ । निर्वाचन आचारसंहिता, २०७० बमोजिम आचरण पालना गर्नुपर्ने दायित्वमा रहेका व्यक्तिले बाहेक अन्यले आफ्ना सामाजिक सञ्जालबाट कुनै पनि दल र उम्मेदवारका पक्ष र विपक्षमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिन पाउने आयोगले बताएको छ ।

    तर, सङ्गठित रूपबाट सञ्चालित फेसबुक पेज र ग्रुपहरूबाट निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारहरूका विषयमा विभिन्न मिथ्या सूचना दुष्प्रचार र द्वेषपूर्ण सामग्री (अभिव्यक्ति, अडियो वा भिडिओ) प्रकाशन गर्नु अन्तर्राष्ट्रिय मूल्य, मान्यता, प्रचलित कानून र निर्वाचन आचारसंहिता प्रतिकूल रहेको आयोगको बुझाई छ ।

    सामाजिक सदाचारमा खलल पार्न सक्ने, भेदभाव र दुरुत्साहनलाई प्रोत्साहन गर्ने, एक अर्कालाई गाली बेइज्जती गर्ने, सामाजिक र सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमका शब्द, शैलीलाई मात्र निरुत्साहित गर्न उक्त निर्देशन दिइएको आयोगको भनाइ छ ।

    “मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गरी मतदाताको निर्वाचन, राजनीतिक दल र उम्मेदवारका बारेमा सत्य तथ्य जान्न पाउने अधिकारको प्रत्याभूत गर्न आयोगले कुनै कसर बाँकी राख्ने छैन र सरोकारवाला सबैसँग निर्वाचनको निष्ठा लाई जोगाउन सहकार्य र सहयोगका लागि आयोग आह्वान गर्दछ,” आयोगले उक्त विज्ञप्तिमा उल्लेख गरेको छ ।

  • अर्घाखाँचीको निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    अर्घाखाँचीको निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    अर्घाखाँची ।  अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

    सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलका चालकसहित दुई जनाको ज्यान गएको छ।

    सन्धिखर्क नगरपालिका–१ मिडियाचोकका २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी गराएका छन् । मोटरसाइकल कसले चलाएको थियो भन्ने खुलेको छैन ।

    यस्तै, त्यही ठाउँमा बा २५ प ८८७६ नम्बरको मोटरसाइकल पल्टिँदा  सन्धिखर्क–२ आटिकापाटाका ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । उनीहरुको  बुटवलमा उपचार जारी छ ।

  • भाइटिकाको उत्तम साइत ११:३७ मिनेटमा

    भाइटिकाको उत्तम साइत ११:३७ मिनेटमा

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ ।

    दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

    भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको उनले जानकारी दिए ।

    यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

    लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज देवताको समेत पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

    तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

    टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ ।

  • आज भाइटिका, रानीपोखरीस्थित मन्दिर खुला

    आज भाइटिका, रानीपोखरीस्थित मन्दिर खुला

    काठमाडौं । आज तिहारको भाइटिका विश्वभर नेपालीले धुमधाम सहित मनाउदैछन । काठमाडौको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला हुदैछ ।

    दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

    बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ ।

    दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

    बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ । दर्शनार्थीले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन् ।

  • विष्णु पौडेलसङ्ग सत्तारुढ दलले जनमुक्ति पार्टीका उम्मेदवार थापालाइ समर्थन गर्ने

    विष्णु पौडेलसङ्ग सत्तारुढ दलले जनमुक्ति पार्टीका उम्मेदवार थापालाइ समर्थन गर्ने

    काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नं २ मा जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशवबहादुर थापालाई सत्ता गठबन्धन दलहरूले समर्थन गर्ने निर्णय गरेका छन् ।

    सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरूले थापालाई साझा उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् । गठबन्धनका शीर्ष नेताहरूको हस्ताक्षरसहित बुधबार जारी गरिएको विज्ञप्तिमा थापालाई समर्थन गर्ने निर्णय गरिएको बताइएको छ ।

    सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि उक्त क्षेत्रमा गठबन्धनको तर्फबाट अरु कुनै आधिकारिक उम्मेदवार थिएनन् । नेकपा एमालेको तर्फबाट भने उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

    सोही निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका डा. कमल भुसाल (निकोलस) को पनि उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

  • भाइटिकामा मात्र खुल्ने बालगोपालेश्वर मन्दिर बिहिवार बिहानैबाट खुल्ने

    भाइटिकामा मात्र खुल्ने बालगोपालेश्वर मन्दिर बिहिवार बिहानैबाट खुल्ने

    काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि खुल्ने भएको छ ।
    भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले खोल्नका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

    भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

    रानीपोखरी क्षेत्रमा विसं २०६३ पछि छठ पर्व पनि मनाउने गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि भने छठ मनाउन बन्द गरिएको थियो ।

    भूकम्पपछि भाइटीकाका अवसरमा पनि रानीपोखरी खुला गरेर मन्दिर क्षेत्रमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाउने गरिएको थियो । त्यसबेला पूजा आराधना एवं दर्शन गर्न असहज भएको भक्तजनले गुनासो गरेका थिए ।

    भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई सहज भएको छ । यस वर्षदेखि छठमा पनि रानीपोखरीमा कार्यक्रम गर्ने माग भएकाले खुला तयारी गरिएको पनि प्रवक्ता मानन्धरले जानकारी दिए ।

  • रोल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    रोल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    रोल्पा । रोल्पाको सुलिचौरमा बुधबार भएको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लिवाङ–भालुवाङ सडक खण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका–४ सेवाकेन्द्र भन्ने ठाउँबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप सडकबट १०० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका– ६ का ५८ वर्षका विष्णु रिजाल र ६० वर्षका नारायण रिजाल तथा रोल्पा नगरपालिका–३ कि ५० वर्षकी फाम्सी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
    दुर्घटनामा १० जना भन्दा धेरै घाइते भएका छन् । जसमध्ये ७ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ । ब्रेक फेल भएर जीप दुर्घटना भएको प्रहरीको अनुमान छ ।

  • तिहार : आज गोवर्द्धन र गोरु पुजा गरिदै

    तिहार : आज गोवर्द्धन र गोरु पुजा गरिदै

    काठमाडौं । यम पन्चकको आज चौथो दिन गोवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।

    द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन ।

    कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

    भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो ।

    यस्तै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

    भोलि तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । भोलि बिहान ११ बजेर ३७ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भोलि दिनभरी नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

  • नेपाल सम्वत आज, नेवार समुदायको नयाँ वर्ष

    नेपाल सम्वत आज, नेवार समुदायको नयाँ वर्ष

    काठमाडौं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

    राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गरेको मानिन्छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो ।
    विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

    काठमाडौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नेपाल संवतकाे अवसरमा विशेष कार्यक्रम हुँदैछ ।

    गरिब नागरिकको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका हुन् ।

  • बेलायती प्रधानमन्त्री सुनकलाइ विश्व नेताहरुको बधाई सन्देश, कसले के भने?

    बेलायती प्रधानमन्त्री सुनकलाइ विश्व नेताहरुको बधाई सन्देश, कसले के भने?

    काठमाडौं । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकलाई विश्वभरबाट बधाई सन्देश आइरहेका छन् ।  विश्वका शीर्ष नेताले देशको पछिल्लो अस्तव्यस्त अवस्थाबाट स्थिरताको आशा व्यक्त गरेका छन् ।

    बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित उनीहरुले बेलायतको राजनीतिक अवस्थाले समग्र विश्वलाई प्रभाव पार्ने उल्लेख गरेका छन् ।

    सुनक हिजो औपचारिक रुपमा बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानमन्त्री सुनकलाई स्वागत गर्दै भारतसहित विभिन्न देशका शीर्ष नेताले विश्वले सामना गरेका पछिल्ला साझा मुद्दामा सहकार्य गर्न चाहेको जनाएका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् बधाई व्यक्त गरी आफू विश्वव्यापी मुद्दामा निकट रहेर काम गर्न र रोडम्याप सन् २०३० को कार्यान्वयन गर्न इच्छुक रहेको बताएका छन् । भारत र बेलायतले एउटा खुला व्यापार सम्झौता गर्न खोजिरहेका छन् ।

    युरोपेली परिषदका अध्यक्ष चार्ल्स मिशेलले साझा चुनौतीसँग जुझ्ने एक मात्र बाटो सहकार्य रहेको बताए ।

    आइरिस प्रधानमन्त्री माइकल मार्टिनले आफ्ना टापुहरू र विश्वभर सामना गरिएका महत्वपूर्ण मुद्दामा नवनियुक्त प्रधानमन्त्री सुनकसँग सहकार्य गर्न चाहेको उल्लेख गरेका छन् ।

  • आज सुर्य ग्रहण, के छ मान्यता ?

    आज सुर्य ग्रहण, के छ मान्यता ?

    काठमाडौं । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ : २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए 
    करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्नेछ ।
    शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ |
    ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए ।
    ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ  
    ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

  • कार्तिक कृष्ण औँसी : आज गाईतिहार

    कार्तिक कृष्ण औँसी : आज गाईतिहार

    काठमाडौं । कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ।

    विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। सोमबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ।

    सोमबार २७ घडी १५ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटमा औँसी लागेको हो। मंगलबार २५ घडी ५७ पला अर्थात् अपराह्न ४ बजेर ३३ मिनेटसम्म औँसी रहने पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। ।

    वनजंगलका ‌औषधियुक्त घाँसपात खाएर अमृतरूपी दूध दिने भएकाले सनातन हिन्दु समाजमा गाईलाई आमाकै रूप मानिएको छ।

    गाईबाट प्राप्त हुने पदार्थ पञ्चगव्य (दूध, दही, घ्यू, गहुँत र गोबर) का रूपमा धार्मिक कार्यमा शुद्धिका लागि प्रयोग गरिन्छ। यस्तै​गाईदानको ठूलो महत्त्व छ। देवकार्य वा पितृकार्य गर्दा गाेदान नगरी शुद्ध भएको मानिँदैन।​

    कृषिकर्ममा गाईबाट प्राप्त हुने गोबर र गोमूत्रलाई मलका रूपमा प्रयोग गरिन्छ।

    श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र(डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि वैतरणी गर्न सहज हुने लोकविश्वास छ।

  • गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन वरिष्ठ नेता पौडेलको आग्रह

    गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन वरिष्ठ नेता पौडेलको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्षसम्म सङ्घर्ष गरेर स्थापना गरिएको लोकतन्त्र र संविधानमाथि प्रहार भएकाले त्यसको रक्षाका लागि गठबन्धन आवश्यक भएको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले आफूहरुको गठबन्धन सही र वस्तुनिष्ठ रहेको बताए ।

    देशको भविष्य बचाउँदै परिवर्तनको रक्षाका लागि, शान्ति र समृद्धिका लागि हामीहरु एक ठाँउमा उभिएको उल्लेख गर्दै उहाँले सुशासन, प्रगति र लोकतन्त्रको पक्षमा उभिएकाले वाम लोकतान्त्रिक गठबन्धन एजेण्डासहित अगाडि बढेको स्पष्ट पारे ।

    राष्ट्रको प्रतिभा र श्रम शक्तिलाई देशभित्रै राख्ने एजेण्डासहित आफूले निर्वाचन लडेको जानकारी दिँदै उनले भने, “देशको अवस्था बदल्नका लागि हामी एक ठाँउमा उभिएका छौँ । राष्ट्र अगाडि बढ्ने बाटो प्रष्ट पारेर अगाडि बढेका छौँ ।”

    उच्च मनोबलका साथ जनताका घर दैलोमा जान उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे । वरिष्ठ नेता पौडेलले गठबन्धनका तर्फबाट उठाइएका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । उनले नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका उम्मेदवार नभनी गठबन्धनको उम्मेदवार भन्ने ठानेर एक अर्कालाई विजयी गराउन आग्रह गरे ।

  • कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित

    कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम पुन: स्थगित गरेको छ।

    मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज (सोमबार) सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहान विज्ञप्ति निकालेर अनिश्चितकालका लागि घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको बताएका छन्।

    आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी भए पनि स्थगित गरिएको थियो। सोमबार बिहान १०:३० बजे घोषणा पत्र सार्वजनिक गर्ने भने पनि आज पनि घोषणा पत्र सार्वजनिक नहुने भएको छ।

  • नेपालमा ओमिक्रोनको सव–भेरियन्ट भेटियो, सचेत रहन आग्रह

    नेपालमा ओमिक्रोनको सव–भेरियन्ट भेटियो, सचेत रहन आग्रह

    काठमाडौं । नेपालमा कोरोना भाइरस ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी)का संक्रमित भेटिएका छन् ।

    स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत् पहिलोपटक यो भेरियन्ट फेला परेको जनाएको छ ।

    विभिन्न देशमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    मन्त्रालयले गएको साउन २१ देखि असोज १४ गतेसम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो । यही क्रममा एक्सबीबी सव–भेरियन्ट पहिचान भएको मन्त्रालयले जनाएको छ ।

    विभिन्न देशमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    मन्त्रालयले यो भेरियन्ट विभिन्न देशहरूमा समेत फैलिरहेको र कोभिड-१९ को संक्रमण बढेको सन्दर्भमा मास्कको उचित प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न गराउन सचेतसँगै अनुरोध गराएको छ ।

  • लक्ष्मीपूजा : साँझ दीपावली गरी घरघरमा धनधान्यकी देवी लक्ष्मीलाई भित्र्याइँदै

    लक्ष्मीपूजा : साँझ दीपावली गरी घरघरमा धनधान्यकी देवी लक्ष्मीलाई भित्र्याइँदै

    काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावली तथा लक्ष्मीपुजा गरिँदैछ ।

    आज घरको आँगन तथा पिँढी गाइको गोबरले लिपेर सफा बनाइन्छ । त्यस्तै घरका झ्याल ढोका तथा साथै पानी सार्न प्रयोगगर्ने गाग्री लोटा सयपत्री फूलका माला लगाएर सिगार्ने गरिन्छ ।

    त्यस्तै आज साँझ घरको मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको पाइला बनाउने तथा झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ ।

    दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ ।

    लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने मान्यता छ । घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ ।

  • कुकुरको विशेष पूजा गरी आज कुकुर तिहार मनाइँदै

    कुकुरको विशेष पूजा गरी आज कुकुर तिहार मनाइँदै

    काठमाडौं । इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ।

    कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।

    घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ। वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ। काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ।

  • नेपालमा थप ४१ जनामा कोरोना पुष्टि, ५९ जना संक्रमण मुक्त

    नेपालमा थप ४१ जनामा कोरोना पुष्टि, ५९ जना संक्रमण मुक्त

    काठमाडौं । थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १२५० नमूना परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४४५ र एन्टिजेनबाट ८०५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३९ र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

    मन्त्रालयका अनुसार थप ५९ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ६९६ पुगेको छ।

  • सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

    सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

    १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

    लामिछानेलाई म्याद थपका लागि आइतवार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो।

    दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो। गत बुधबार उनलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

    नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका उनीमाथि यो तेस्रो पटक म्याद थपिएको हो।

    पहिलोपटक असोज २४ गते उनलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो। दोस्रोपटक असोज २७ गते उपस्थित गराइएको थियो।

    असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।

    विमानस्थलबाट उत्रिने वित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीको जिम्मा लगाएको थियो। त्यसपछि विमानस्थल प्रहरीले महानगरीय प्रहरी वृत गौशालालाई बुझाएको हो।

    भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो ।

  • दाङमा बबई नदीमा दुई किशोरी वेपत्ता, खोजी जारी

    दाङमा बबई नदीमा दुई किशोरी वेपत्ता, खोजी जारी

    दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो १ बजे दंगिशरण गाउँपालिका–२ की १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर गाउँपालिका– १ की १४ वर्षीया गोमा चन्द डुेबर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    खोजी अभियान शनिबारबाटै थालिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरेका थिए । तर रात परेपछि उनीहरूको खोजि गर्न नसकिएको र आइतबार पुनः खोजी थालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बबई नदी गहिरो छ ।