Category: समाचार

  • कन्याममा थपियो स्काई वाक टावर

    कन्याममा थपियो स्काई वाक टावर

    इलाम । प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा स्काई वाक टावर बनेको छ। नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरू भएको बताइएको छ। डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि यो खुला गरिएको हो। उक्त टावरको नगरप्रमुख रणबहादुर राईले शुक्रबार उद्घाटन गरे। १२ जना महिलाले चार करोड रूपैयाँ लगानीमा बनाएको टावर उद्घाटन गर्दै नगरप्रमुख राईले पर्यटन प्रवर्द्धन लागि निजी क्षेत्रसँग नगरपालिकाले सहकार्य गर्दै जाने बताए।

    स्काई टावर तीन तहमा बनेको छ। दुइटा तह चढेर माथि पुगेपछि पारदर्शी सिसा जडान गरिएको ठाउँमा पुगिन्छ। सिसामा उभिँदा आकासमै उभिएजस्तो महसुस हुने साइट म्यानेजर अर्जुन चौधरीले बताए। टावरबाट पूर्वी नेपालका १६ जिल्ला, कन्याम वरिपरि चिया बगान, हिमाल, रमणीय डाँडाकाँडा, कञ्चनजंघा हिमालदेखि दार्जिलिङ सिलिगुढीसम्मका रमाइला दृश्य, सूर्योदय र सूर्यास्त दुवै देख्न सकिने उनले बताए। टावरसँगै स्काई रेस्टुरेन्ट पनि सञ्चालन हुनेछ। दोस्रो चरणमा स्विङ पनि तयार हुने उनले जानकारी दिए।

    स्काई वाक गर्न पाँच सय रूपैयाँको टिकट लिनुपर्छ। भिडिओ खिच्ने, ड्रोनबाट फोटो, भिडिओ खिच्ने, सांस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ। टावरमा एकपटक २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि आठ जनासम्म मात्र चढाइने छ। स्काई वाक गर्नेको सुरक्षाका लागि स्विच कभर, चढेका व्यक्तिको संख्या रेकर्ड राखिने र सुरक्षा गार्ड पनि हुनेछन्। वन्डर्स नेपालको प्राविधिक सहयोगमा बनेको स्काई वाक टावरको परिकल्पना पनि वन्डर्स नेपालले नै गरेको परियोजनाका प्रबन्ध निर्देशक सञ्जीव रोकायाले जानकारी दिए।

    विशेषगरी स्थानीय महिलालाई रोजगारी उपलब्ध गराउने र पर्यटन क्षेत्रमा नयाँ प्रयोग गर्ने उद्देश्यले यो परियोजना विकास गरिएको उनको भनाइ छ। सेफ स्टिल प्रालि, जाल्पादेवी इन्फ्राटेक, वाइटह्याट कन्स्ट्रक्सन र डिजाइन रिपलले स्काई टावर बनाउनका लागि प्राविधिक सहयोग गरेको हो। स्काई वाक टावरको सञ्चालन महिलाले नै गर्नेछन् र त्यहाँ अधिकांश कर्मचारी महिला नै राखिने गरी तालिम दिइसकिएको उनले बताए।

  • ट्वीटरले गर्यो एक साथ ३  हजार ५ सय कर्मचारी कटौती

    ट्वीटरले गर्यो एक साथ ३ हजार ५ सय कर्मचारी कटौती

    काठमाडौं । सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएका छन्। एएफपी अनुसार कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो। मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए। उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प नरहेको बताएका छन्।

    ‘ट्वीटरमा काम गर्ने मेरो समय सकिएको खबर सुनेर उठेँ। म दुःखी छु। म अन्योलमा छु’, अमेरिका र क्यानडाका लागि ट्वीटरका सार्वजनिक नीति निर्देशक मिशेल अस्टिनले एएफपीसँग भने। यसअघि ट्वीटरका सिइओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीलाई सामाजिक सञ्जाल काम गर्न अख्तियार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो। यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्।

    ट्विटरले आफ्ना कर्मचारीहरूले कार्यालयहरू केही समयका लागि बन्द हुने र कर्मचारीहरूले पाउने पहुँच पनि रोकिने बताएको छ। ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका मस्कले मालिक बनेसँगै सिइओसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका थिए। ट्विटरको खर्च कटौती गर्न उनले कर्मचारी हटाउन लागेका हुन्। खर्च कटौती गर्ने, निलो टिकबापत् मासिक ८ डलर शुल्क लिने र ट्विटरबाट किनमेललगायत दैनिक जीवनका धेरै काम गर्न सकिने सुपर एप बनाउने मस्कको योजना छ ।

  • राष्ट्रपति भण्डारी आइसल्याण्ड जाने

    राष्ट्रपति भण्डारी आइसल्याण्ड जाने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो सोमबार आइसल्याण्ड जाने भएकी छिन् । विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा हुने८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी सोमबार आइसल्याण्ड प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    डब्लूपीएलले भण्डारीलाई यो वर्षको डब्लूपीएल ट्राइलब्लेजर अवार्ड पनि प्रदान गर्ने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले ग्लोबल फोरममा अवार्ड ग्रहणसँगै आफ्नो मन्तव्य पनि राख्ने छिन् । १२ नोभेम्बरमा स्वदेश फर्कने राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि सहभागी हुने छन् ।

  • मंसिर १ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

    मंसिर १ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन मंसिर १ गतेदेखि बन्द हुने भएको छ।

    प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने भएकाले सेवा रोक्नु परेका सेवा बन्द गर्नु परेको यातायात व्यवस्था विभागले बताएको छ।

    यातायात व्यवस्था विभागद्धारा जारी सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुने जनाइएको छ ।

  • निहारिकाका छोरा र बलात्कार आरोपी श्रेष्ठको डीएनए मिल्यो

    निहारिकाका छोरा र बलात्कार आरोपी श्रेष्ठको डीएनए मिल्यो

    काठमाडौं । ‘कुमारी आमा’का रुपमा चर्चामा आएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ ।

    विधि विज्ञान प्रयोगशाला काठमाडौंले उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका–३ का शिवराजको डिएनए ९९.९९ प्रतिशत मिलेको हो।

    उच्च अदालत जनकपुरले डीएनए टेस्ट गराउन आदेश दिएपछि निहारिकाका छोरा र श्रेष्ठको डीएनए पीक्षण गरिएको थियो ।

    बलात्कारबारै छोराको जन्म भएको दाबी गर्दै उनले शिवराजलाई कानुनी दायरामा ल्याउन माग गर्दै अनशनलगायतका आन्दोलन समेत गर्दै आएकी थिइन्।

    महोत्तरीको जलेश्वर नगरपालिकाकी निहारीकाले शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको बताउने गर्छिन्। जिल्ला अदालतले भने बलात्कार आरोपमा शिवराजलाई सफाइ दिइसकेको छ।

    बच्चा शिवराजकै रहेको निहारीकाको दाबीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले भदौ ८ गते दुबै जनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो।

  • एमालेको चुनावी सभा दार्चुलाबाट,एक इन्च भूमि पनि मिचिन् नदिने उद्घोष

    एमालेको चुनावी सभा दार्चुलाबाट,एक इन्च भूमि पनि मिचिन् नदिने उद्घोष

    काठमाडौं । नेकपा एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गरेको छ । चुनावी सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

    सम्बोधनको क्रममा उाले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताएका छन् । उनले भने उनले आफ्नो एक इन्च जमिन अरुलाई नछाड्ने बताए ।

    उनले भने, ‘राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इन्च पनि मिचिन दिनेवाला छैन,’ ओलीले भने, ‘मिचिएको भए फिर्ता ल्याउँछौँ भनेर हामीले नक्सा जारी गरेका छौँ । संसदले सर्वसम्मतले पास गरेको छ । त्यो कुरा आज फेरि तपाईंहरुसँग ग्यारेन्टी गर्न चाहन्छु ।’

    ओली प्रधानमन्त्री बनेका बेला लिपुलेक, कालापानी लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ नक्सा जारी भएको थियो ।

  • सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश

    सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश

    काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

    जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    उनलाई सुन्धारा (जगन्नाथ देवल) स्थित केन्द्रीय कारागारमा राखिने भएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध १० देखि १२ वर्षको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अब मुद्दाको फैसला नहुञ्जेल सन्दीप थुनामै रहने भएका छन् ।

    गएकाे भदौ २१ गते सन्दीपविरुद्ध नाबालिगले आफूलाई जबरजस्ती करणी गरेको भन्दै किटानी जाहरी दिएकी थिइन् ।

    नाबालिगले क्रिकेटर सन्दीपले आफूलाई सिनामंगलस्थित ‘होटल काठमाडौं इन’ मा पटकपटक जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली हानियो

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली हानियो

    काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एउटा विरोध जुलुसका क्रममा गोली प्रहार भएको छ । उनी घाइते भएको र अस्पतालमा भर्ना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । उनको दल पीटीआईका सदस्यहरूले थप चारजना घाइते भएको बताएका छन्। उक्त घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ। खानको गोडाको कुन भागमा गोली लागेको भन्ने स्पष्ट छैन।

    तर उनका एकजना सहयोगीले उनी खतरामा नरहेको बताएका छन्। सत्तरी वर्षीय खान चुनावको माग गर्दै विरोध र्‍यालीमा सहभागी भइरहेका थिए। पूर्वप्रधानमन्त्री खानमाथि गरिएको गोली प्रहारको घटनाको प्रधानमन्त्री शहबाज शरिफले निन्दा गरेका छन्। प्रधानमन्त्रीले गृहमन्त्रीलाई घटनाबारे तत्काल रिपोर्ट पेस गर्न निर्देशन समेत दिएका छन्। पाकिस्तानको जीओ टेलिभिजनका अनुसार एक सन्दिग्ध पुरुषलाई पक्राउ गरिएको छ।

    खानलाई उपचारका लागि लाहोरको अस्पतालमा लगिएको देखिएको छ। पार्टीका एकजना प्रवक्ताले उनलाई पिडौँलामा चोट लागेको बताए। पार्टीकी नेत्री तथा प्रादेशिक स्वास्थ्यमन्त्री यास्मीन रशिदले खानको अवस्था स्थिर रहेको जानकारी दिइन्।

  • एमाले उम्मेदवार योगेश भट्टराईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    एमाले उम्मेदवार योगेश भट्टराईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले) का उम्मेदवार योगेश भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोेधेको छ ।

    भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्‍घा गाउँपालिका वडा नं. ३ सिकैचामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो ।

    निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा “स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने” र खण्ड (ण) मा “निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकी सहित जान नहुने” व्यवस्था छ ।

    आचारसंहिताबमोजिम आकारका १० वटासम्म झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटासम्म तुल वा फ्लेक्स राख्न बाधा नपर्ने उल्लेख छ । “तपाईंबाट निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार भएको छैन भन्ने आधार कारण के छ? तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही किन हुनु नपर्ने हो ? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ ।”

  • गौतमबुद्ध विमानस्थलबाट १३५ यात्रु लिएर मलेसिया उड्यो हिमालय एयरलाइन्स

    गौतमबुद्ध विमानस्थलबाट १३५ यात्रु लिएर मलेसिया उड्यो हिमालय एयरलाइन्स

    काठमाडौं । नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालनमा रहेको हिमालय एयरलाइन्सको जहाजले पहिलोपटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको छ ।

    एयरलाइन्सले बिहीबार १३५ जना यात्रु बोकेर भैरहवाबाट मलेसियाको क्वालालम्पुरका लागि पहिलो उडान शुरु गरेको हो। भैरहवाबाट चार्टर्ड उडानका लागि हिमालयले हिमालयले बुधबार राती काठमाडौंबाट यात्रु लगेको थियो ।

    चार्टर्ड भएपनि दैनिक रुपमा नियमित दरकै भाडामा हिमालयले भैरहवाबाट उडान भर्नेछ ।

    यो सँगै हिमालय जजिरा एयरवेजपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने दोस्रो कम्पनी बनेको छ ।

  • पछिल्लो २४ घण्टामा ४९ जना कोरोना संक्रमित थपिए, २३ जना संक्रमण मुक्त

    पछिल्लो २४ घण्टामा ४९ जना कोरोना संक्रमित थपिए, २३ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३१२ जनामा गरिएको नमुना परीक्षणमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सोही समयमा २३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ५७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

  • स्वतन्त्र पार्टीको‘वाचापत्र’: ‘नेपालबाट गरिबी उन्मूलन गर्ने, ‘वडा एक व्यवसाय अनेक’ योजना’

    स्वतन्त्र पार्टीको‘वाचापत्र’: ‘नेपालबाट गरिबी उन्मूलन गर्ने, ‘वडा एक व्यवसाय अनेक’ योजना’

    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

    पार्टी सभापति रवि लामिछानलेसहित नेताहरूले बिहीबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा ‘वाचापत्र’ सार्वजनिक गरेका हुन् ।

    घोषणा पत्रमा वि.सं. २११० सम्ममा नेपालबाट गरिबी उन्मूलन गर्ने जनाएको छ ।

    त्यस्तै आगामी २११० सम्म कुनै पनि नेपाली रोजगारीका लागि विदेश जान नपर्ने पनि रास्वपाले वाचा गरेको छ ।

    नेपालको संविधानमा लिपिबद्ध ‘समाजवादप्रति प्रतिबद्धता’ लाई ध्यानमा राखेर २११० सम्म नेपालमा समाजवादको आधार तय गरिने पनि रास्वपाको प्रतिबद्धता छ । त्यस्तै नेपाल विश्वमै न्यून भ्रष्टाचार हुने मुलुकमा पर्ने वाचापत्रमा उल्लेख छ ।

    त्यस्तै स्वतन्त्र पार्टीले पाँच वर्षभित्र वैदेशिक लगानीलाई कम्तीमा १५ गुणाले वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ ।

    ‘विश्व बैंक व्यवसायका लागि सहजता सूचकांकमा व्यापक सुधार गरी प्रत्यक्ष वैदेशिक लगानीलाई वर्गीकरण गरी, प्राथमिकताका क्षेत्रमा आउने वैदेशिक लगानीलाई एकद्वार प्रणाली अन्तर्गत ल्याइनेछ । पाँच वर्षभित्र वैदेशिक लगानीलाई कम्तीमा १५ गुणाले वृद्धि गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।

    स्वतन्त्र पार्टीले ‘वडा एक व्यवसाय अनेक’ योजना पनि अघि सार्ने जनाएको छ ।

    ‘वडा एक व्यवसाय अनेक योजना अन्तर्गत लघु, साना तथा मझौला व्यवसाय स्थापनामा सहजीकरणका लागि हरेक वडामा एकद्वार प्रणाली स्थापना गरिनेछ ।

    यस्तो एक द्वार प्रणालीले ४८ घण्टाभित्र व्यवसाय नि:शुल्क दर्ता गर्नेदेखि व्यवसायका विभिन्न आयाममा सहयोग गर्ने व्यवसाय कोरल्ने केन्द्रसँग व्यवसायीलाई प्रत्यक्ष जोड्नेछ । पहिलो चरणमा हरेक प्रदेशमा न्यूनतम दुईवटा व्यवसाय कोरल्ने केन्द्र स्थापना गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’: स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’: स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ ।

    पार्टी सभापति रवि लामिछानलेसहित नेताहरूले बिहीबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा ‘वाचापत्र’ सार्वजनिक गरेका हुन् ।

    कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ । जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको छ ।

    त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ । त्यसैगरी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने रास्वपाको एजेन्डा छ ।

  • डडेलधुरामा ७ स्थानको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

    डडेलधुरामा ७ स्थानको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

    डडेलधुरा । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा मतदाता भेटघाट र घरदैलोका लागि कैलालीको धनगढी पुगेका छन् । उनी बिहीबार गृह जिल्ला डडेल्धुरा पुग्नेछन् । डडेल्धुराबाट उनले चुनावी आमसभाको सुरुवात गर्नेछन् । देउवाले आज गृह जिल्ला पुगेर जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी आइतवारसम्म गृह जिल्लामै रहने छन् । त्यस क्रममा ७ सात वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

    उनले शुक्रबार बिहान नवदुर्गा गाउँपालिका–२ को खुनी र दिउँसो गन्यापधुरा गाउँपालिका–२ को बडाल, शनिबार अजयमेरु गाउँपालिका–३ को भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिका–२ को रुपाल तथा २० गते आलिताल गाउँपालिका–८ को गोदाम र परशुराम नगरपालिका–१२ को लालढुङ्गामा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

  • आजबाट निर्वाचन प्रचार-प्रसारमा आमसभा गर्न पाइने

    आजबाट निर्वाचन प्रचार-प्रसारमा आमसभा गर्न पाइने

    काठमाडौं । ४ मंसिरमा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आजबाट प्रचार गर्न पाइने भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने छन् । उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न सक्छन् । चुनाव प्रचारका लागि दलका शीर्ष नेताहरु देश दौडाहामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा पुगेका छन् । उनले सरकारी स्रोतसाधन दुरुपयोग नगर्ने गरी चुनाव प्रचार गर्न अनुमति पाएका हुन् ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आयोगबाट हेलिकोप्टर प्रयोगको अनुमति पाएका छन् । ओलीले मुख्य प्रचारकको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति पाएका हुन् । निर्वाचन आचारसंहितामा मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ । हेलिकोप्टर प्रयोग पनि आयोगले तोकेको खर्चको सीमाभित्र रहेर गर्नुपर्ने हुन्छ । आम सभासहितको चुनाव प्रचार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र गर्न पाइन्छ । उम्मेदवारहरुले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख भएका बाहेक अन्य आश्वासन, प्रलोभन दिनसमेत पाउने छैनन् ।

  • उत्तर र दक्षिण कोरियाले एक-अर्का देशमा प्रहार गरे क्षेप्यास्त्र, तनाव बढ्ने संकेत

    उत्तर र दक्षिण कोरियाले एक-अर्का देशमा प्रहार गरे क्षेप्यास्त्र, तनाव बढ्ने संकेत

    काठमाडौं । उत्तर र दक्षिण कोरियाले एक अर्कातर्फ क्षेप्यास्त्र प्रहार गरेका छन्। ती क्षेप्यास्त्रहरू दुवै देशका तटस्थित पानीमा खसेका छन्। कोरिया विभाजन भएयता पहिलोपटक ती दुई देशले समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार गरेका हुन्। त्यसले उक्त क्षेत्रमा तनाव निकै बढेको सङ्केत गर्ने बीबीसीले लेखेको छ । प्योङयाङले बुधवार छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि सोलले त्यसको प्रतिउत्तरमा प्रहार गरेको हो। उत्तर कोरियाले त्यस्तो क्षेप्यास्त्र प्रहार गरेको तीन घण्टापछि दक्षिण कोरियाले प्रतिउत्तर दिएको थियो।

    उत्तर कोरियाले एकै दिन कम्तीमा २३ वटा क्षेप्यास्त्रहरू प्रहार गरेको छ। त्यसमा दक्षिणी सहर सोक्चोभन्दा ६० किलोमिटरभन्दा कम दूरीमा खसेको क्षेप्यास्त्र पनि सामेल छ। उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाद्वारा भइरहेको ठूलो मात्राको सैन्य अभ्यासको प्रतिक्रिया स्वरूप ती प्रहारहरू भएको बताएको छ। उक्त सैन्य अभ्यासलाई उसले आक्रामक र उत्तेजक भनेको छ।

    दक्षिण कोरियाली सेनाले आफ्नो भूमिको अतिक्रमण अस्वीकार्य रहेको बताएको छ। उसले उत्तर कोरियातर्फ हवाई जहाजबाट भूमिमा प्रहार गर्न मिल्ने तीनवटा क्षेप्यास्त्र प्रहार गरेको छ। अधिकारीहरूका अनुसार त्यो क्षेप्यास्त्र उत्तर कोरियाले दक्षिणतर्फ प्रहार गरेकै जति दूरीमा नर्दन लिमिट लाइन (एनएलएल) भन्दा अगाडि खसेको छ।

    उक्त सीमारेखाले उत्तर र दक्षिण कोरिया बीचको समुद्रको मध्य विन्दुलाई जनाए पनि उत्तरले उक्त सीमालाई कहिल्यै स्वीकार गरेको छैन। मङ्गलवार उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यासलाई निरन्तरता दिए इतिहासकै सबैभन्दा डरलाग्दो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो। त्यसलाई उत्तर कोरियाको परमाणुअस्त्र प्रयोग गर्नसक्ने चेतावनीका रूपमा हेरिएको छ।

  • नेपाललाई अमेरिका र स्वीट्जरल्याण्डसँग हवाई सेवा सम्झौताको बाटो खुला, सिधा उडान गर्न सहज

    नेपाललाई अमेरिका र स्वीट्जरल्याण्डसँग हवाई सेवा सम्झौताको बाटो खुला, सिधा उडान गर्न सहज

    काठमाडौं । अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सेवा सम्झौता गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका
    अनुसार मन्त्रिपरिषद्को बैठकबाट यस्तो स्वीकृति प्राप्त भएको हो । यस अनुसार अब प्राधिकरणलाई दुवै मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने बाटो खुलेको हो । अब दुवै मुलुकको सहमतिमा समय तोकेर सम्झौता हुने भएको छ ।

    सम्झौतापछि दुवै मुलुकका वायुसेवा कम्पनीलाई एक अर्का मुलुकमा सिधा हवाई उडानको बाटो खुल्ने छ । नेपाल र स्विट्जरल्यान्डबीच यसअघि नै हवाई सेवा सञ्चालन गर्नेबारे समझदारी भइसकेको छ । अमेरिकी कम्पनीहरु नेपालमा आउन चाहेको प्राधिकरणको भनाई छ ।

  • निर्वाचन प्रचारअन्तर्गत जुलुस, आमसभा र कोणसभा भोलिदेखि गर्न पाइने

    निर्वाचन प्रचारअन्तर्गत जुलुस, आमसभा र कोणसभा भोलिदेखि गर्न पाइने

    काठमाडौं । राजनीतिक दलहरुले बिहीवारदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् ।

    राजनीतिक दलहरुले बिहीवारबाट सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका अनुसार राजनीतिक दलहरुले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् ।

    यस्ता कार्यक्रम गर्दा पनि निर्वाचन आचारसंहिता २०७९ ले निर्धारण गरेका निश्चित मापदण्ड पालना गर्नुपर्ने आयोगले जनाएको छ।

    निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

    उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ ।

    आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।

    दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने छन् ।

    जुलुस तथा आमसभा जस्ता कार्यक्रम गर्दा देहायका अचारसंहिता पालना गर्नुपर्ने छ :—

    क) कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने,

    ख) जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुभन्दा कम्तिमा २४ घण्टा अघि स्थानीय प्रशासन र प्रहरीलाई त्यसको मिति, समय, मार्ग र स्थानको बारेमा जानकारी गराउनु पर्ने,

    ग) जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने,

    घ) एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नहुने र सो अवस्थामा स्थानीय प्रशासनले त्यस्तो कार्यक्रम गर्ने स्थल वा मार्ग परिवर्तन गर्न दिएको निर्देशन पालना गर्नुपर्ने,

    ङ) कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने,

    च) विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने,

    छ) जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र गर्नुपर्ने,

    ज) बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने,

    झ) निर्वाचन प्रयोजनको लागि पचहत्तर ग्रामसम्मको कागजमा तीनसय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ्ग र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने,

    ञ) उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाईएको ३ × ४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उदेश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने साथै उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा यस्तो सामग्री राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने,

    ट) दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने,

    ठ) कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाईकल, साइकल, बयलगाडा, रिक्सा, टाँगालगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना
    गर्न वा प्रचारप्रसार गराउन नहुने,

    त्यस्तै दल वा कुनै उम्मेदवारले सञ्चार माध्यम प्रयोग गरेर प्रचारप्रसार गर्दा देहाय अनुसारको आचरण पालना गर्नुपर्ने छ :–

    क) राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढिमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने,

    ख) राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ × ७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने,

    ङ) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमाबाट निर्वाचन प्रचारप्रसार गर्दा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने,

  • ओलीको धम्की-‘एमालेको एकल बहुमत नआए देशले दुर्भाग्य भोग्नुपर्छ’

    ओलीको धम्की-‘एमालेको एकल बहुमत नआए देशले दुर्भाग्य भोग्नुपर्छ’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माले बाहेक अर्को राष्ट्रिय शक्ति हुन नसक्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार किरण पौडेलको निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    उक्त कार्यक्रममा ओलीले आगामी चुनावमा आफ्नो पार्टीको एकल बहुमत नआएको खण्डमा देशमा दुर्भाग्य हुने चेतावनी समेत दिए ।

    ओलीले परमादेशमार्फत एमालेको सरकार ढालेपछि देशको बेहाल भएको टिप्पणी गरे । सर्वोच्च अदालतभित्रै अराजकता मौलाएको उनको भनाइ छ ।

    ओलीले भने, ‘त्यो यस्तो काम गरेछ अदालतले, त्यस दिनदेखि अदालत बेहाल अवस्थामा छ । कानूनविद्, वरिष्ठ अधिवक्ताको बहस, तमासा, सर्वोच्चको प्राङ्गणमा कम्फु कराँते, हडताल सबै देखियो । वकिलले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिनेसम्मको कस्तो क्रियाकलाप ?’

  • निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई दियो २ सय सवारी उपहार

    निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई दियो २ सय सवारी उपहार

    काठमाडौं । निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई दुई सयवटा सवारीसाधन प्रदान गरेको छ। मङ्गलबार राजधानीमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई उक्त सवारीसाधन प्रदान गरेका हुन् । यी सवारीसाधन निर्वाचनको समयमा प्रयोग गरिनेछ।

    जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछ। समारोहमा अर्थमन्त्री शर्माले नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिए । भारतले विगतमा पनि नेपाललाई सवारीसाधन उपलब्ध गराउँदै आएको छ। हालसम्म भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई दुई हजारवटा र नेपाली सेना र निर्वाचन आयोगलाई चार सयवटा सवारीसाधन उपहारस्वरूप प्रदान गरिसकेको छ।

  • सुरक्षाकर्मीबाहेक निर्वाचनमा साढे २ लाख कर्मचारी खटिँदै

    सुरक्षाकर्मीबाहेक निर्वाचनमा साढे २ लाख कर्मचारी खटिँदै

    काठमाडौं । ४ मंसिरमा तोकिएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षाकर्मी बाहेक साढे २ लाख कर्मचारी खटिने भएका छन् । निर्वाचन आयोगका अनुसार २ लाख ४६ हजार जनशक्ति परिचालन गर्ने तयारी छ । आवश्यक कर्मचारी तथा चुनावको तयारी निरन्तर भइरहेको आयोगको भनाई छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था छ ।

    आयोगको मुख्य कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचनको कार्यालयमा ५५ जना, असोज २० गतेसम्म सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालन भैसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृतसहित नौ जना र निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जना कर्मचारी रहनेछन् । मतपत्र रुजु गर्ने, प्याकेजिङ्ग गर्ने तथा मतदान अधिकृतलाई मतपत्र बुझाउने कार्यका लागि थप जनशक्ति आवश्यक पर्ने भएमा निर्वाचन अधिकृतले कर्मचारी काजमा ल्याउन सक्नेछन् ।

    निर्वाचन आयोगका अनुसार निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघ संस्थासँग सम्बद्ध राष्ट्रियस्तरको ट्रेड युनियनका संघ, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारी, कुनै कर्मचारीको नजिकको नातेदार उम्मेदवार भएमा त्यस निर्वाचन क्षेत्रमा नखटाइने व्यवस्था छ । चुनाव आउन अब १८ दिन बाँकी छ ।

  • तीन जनाको ज्यान जाने गरी कार दुर्घटना गराएका फरार चालक पक्राउ

    तीन जनाको ज्यान जाने गरी कार दुर्घटना गराएका फरार चालक पक्राउ

    रुपन्देही । रूपन्देहीको ओमसतिया गाउँपालिका–४ पननीमा तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाको कार चालक पक्राउ परेका छन्। दुर्घटनापश्चात कारसहित फरार रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरीलाई रूपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो। प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई उदृत गर्दै राससले जनाए अनुसार चौधरीलाई भैरहवाको गल्लामण्डीबाट पक्राउ गरिएको हो। सोमबार भएको दुर्घटनापछि कार चालक चौधरी फरार थिए।

    प्रहरीले दिनभरि कारको खोजी गर्दा नभेटेपछि २५ हजार रूपैयाँ पुरस्कारसहित सर्वसाधारणलाई सूचना दिन अपिल गरेको थियो। सोमबार साँझ नै प्रहरीले बा ८ च ६५३२ नम्बरको कार सिद्धार्थनगर नगरपालिका–११ पिप्रहियामा त्रिपालले छोपेको अवस्थामा फेला पारेको रेग्मीले जानकारी दिए। फिक्का निलो रङको कारको टुक्रा घटनास्थलमा भेटिएको थियो।

    सोही प्रमाणका आधारमा प्रहरीले अनुसन्धान सुरू गरेको थियो। सोमबार भैरहवा परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको सो कारले पाँच पैदलयात्रीलाई ठक्कर दिएको थियो। त्यसमध्ये ३५ दिने शिशुसहित दुई जनाको ज्यान गएको थियो। मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिनको शिशु थिए।

  • सन्दीपको मुद्दामा थुनछेक बहस आज

    सन्दीपको मुद्दामा थुनछेक बहस आज

    काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज थुनछेक बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुधबार थुनछेक बहस हुँदैछ । उनको बयान मंगलबार बयान सकिएको थियो । तर, थुनछेक बहस हुन नपाएपछि बुधबार थुनछेक बहस हुने भएको हो । सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो। उ

    नले बयानमा आरोप खस्वीकार गरेका छन् । कसैको उक्साहटमा आफुमाथि आरोप लगाइएको उनको दावि थियो । प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको हो । सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो। २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको हो । पीडितले बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

  • ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम

    ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम

    काठमाडौं । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न आदेश गरेको छ । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो ।

    त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको हो । कार्कीको नेपाल स्वतन्त्र पार्टीबाट ललितपुर ३ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी थिइन् । उनले यसलाई षडयन्त्र भएको भनेकी थिइन् ।

  • पाँच वर्षमा एमालेले के-के गर्छ ? यस्ता छन् ३० कार्यक्रम

    पाँच वर्षमा एमालेले के-के गर्छ ? यस्ता छन् ३० कार्यक्रम

    काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कर्पोरेट हाउसको नयाँ प्रोडक्ट लञ्चको शैलीमा एमालेले अध्यक्ष केपी शर्मा ओलीको हात स्क्यान गरेर डिजिटल रूपमा घोषणपत्र सार्वजनिक गरिएको हो ।

    भोकमरीको अन्त्य, असुरक्षित बसोबास स्थानान्तरणसहितका २० ग्यारेन्टी भन्दै योजना प्रस्तुत गरेका ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा कि विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्नेसहितका ६ प्रश्न जनतालाई सोधेका छन् ।

    घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ ।

    करिव २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।

    जसमा आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने बताएका छन् । नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात ३ लाख रुपैयाँ पुर्‍याउने पनि घोषणा गरेको छ ।

    त्यस्तै नेपालमा देखिएको नागरिकताको समस्या दुई वर्षभित्र समाधान गरिसक्ने बताएको छ। एमालेले अहिले देशमा देखिएको नागरिकताको समस्या आफ्नो नेतृत्वमा सरकार बनेको एक महिनाभित्रै समाधान थाल्ने जनाएको छ।

    ‘नेपालीलाई मात्र हाम्रा काम हुनेछन्। राष्ट्रिय गौरव बढाउन र सबै नागरिककको जीवनस्तर उकास्न लागिनेछ’, घोषणा पत्र भनिएको छ, ‘सरकार गठन भएको एक महिनाभित्र वंशजको नागरिकता दिइनेछ।

    दुई वर्षभित्र नागरिकता समस्या समाधान गर्ने छौँ। सरकार बनेको एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ।’ एमालेले पाँच लाख नेपालीलाई रोजगारी दिने र न्यूनतम ज्याला २५ हजार दिने बताएको छ।

    एमालेले पाँच वर्षमा ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने जनाएको छ। समृद्धिसम्मको नाता सबैको बैंक खाता नारा समावेश गर्दै एमालेले २ वर्षमा सबैको बैंक खाता हुने प्रतिबद्धता व्यक्त गरेको छ।

    यस्ता छन् ३० कार्यक्रम

    -हाम्रो मूल मन्त्रः बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र
    -दिगो आर्थिक विकासः उच्च आर्थिक वृद्धिदर
    -भूमिको वैज्ञानिक व्यवस्थापन : प्रकृति संरक्षण, आधुनिक कृषि र सम्पन्न किसान
    -कृषि भूमिमा पानीः सिँचाइमा लगानी
    -सहकारीबाट व्यवसाय प्रवर्द्धनः नागरिकको आर्थिक उन्नयन
    -औद्योगीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण
    -पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति
    -वन र वातावरणको संरक्षणः जलवायु अनुकूलन र विपद् व्यवस्थापन
    -स्वच्छ खानेपानी जनताको हक
    -विद्युत् तथा ऊर्जा विकासबाट समृद्धि
    -राष्ट्र निर्माणको आधारः गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार
    -हाम्रो नेपालः निरोगी नेपाल
    -मर्यादित श्रमः सुरक्षित रोजगारी
    -जीवनचक्रमा आधारित सामाजिक सुरक्षाः मौलिक हकको रक्षा
    -शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय
    -राष्ट्रका लागि युवाः युवाका लागि खेलकुद र स्वयंसेवा
    -महिला सहभागिता र सशक्तीकरण
    -सहरी विकास : एकीकृत बस्ती र सुरक्षित आवास
    -गतिशील अर्थतन्त्र र सेवाको आधारः यातायात पूर्वाधारको विस्तार
    -स्रोत साधनको परिचालन, योजना कार्यान्वयन र दिगो विकास
    -जनताको कर : जनताकै लागि
    -सूचना प्रविधि र प्रेस स्वतन्त्रता
    -सुशासनः हाम्रो उच्च प्राथमिकता
    -उपभोक्ता हितः आम जनताको हित
    -सक्षम र सुदृढ सङ्घ, अधिकार सम्पन्न प्रदेश र स्थानीय सरकार
    -स्वच्छ, सुन्दर र आधुनिक राजधानी
    -सांस्कृतिक रूपान्तरण, सामाजिक सद्भाव र राष्ट्रिय एकता
    -सक्षम राज्य, स्वतन्त्र न्यायालय
    -सुदृढ राष्ट्रिय सुरक्षाः राष्ट्रिय हित र स्वाभिमानको रक्षा
    -स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध

  • नेकपा एमालेको घोषणापत्र आज सार्वजनिक हुँदै

    नेकपा एमालेको घोषणापत्र आज सार्वजनिक हुँदै

    काठमाडौं । नेकपा एमालेको घोषणा पत्र आज आज सार्वजनिक हुने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेले मंगलबार घोषणा पत्र सार्वजनिक गर्न लागेको हो। होटल याक एन्ड यतिमा कार्यक्रम गरी मंगलबार दिउँसो घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

    घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ। अध्यक्ष ओलीको संयोजकत्वमा घोषणा पत्र सुझाव समिति बनाइएको छ । सोही समितिको सुझावका आधारमा घोषण पत्र बनेको हो । यसअघि अन्य मूख्य दलले घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।

  • नारायणीमा डुंगा दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    नारायणीमा डुंगा दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    नवलपरासी । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिएका छन् ।

    डुङ्गा दुर्घटना हुँदा सुस्ता-४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको हो । डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ । रासस

  • भारतमा डेढ शताब्दी पुरानो पुल भाचिदा कम्तीमा १४१ मारिए

    भारतमा डेढ शताब्दी पुरानो पुल भाचिदा कम्तीमा १४१ मारिए

    काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा एउटा झोलुङ्गे पुल खस्दा कम्तीमा १४१ जना मानिसहरूको मृत्यु भएको छ। मोरबी सहरमा भएको उक्त घटनामा सयौँ मानिसहरू मच्छू नदीमा खसेका थिए। भिडिओ फुटेजहरूमा बच्न सफल भएकाहरू आंशिक रूपमा डुबेको पुलमा झुन्डिएका देखिन्थे। विवरणहरूका अनुसार घटना हुँदा लगभग ४०० मानिसहरू उक्त पुलमा थिए। बीबीसीका अनुसार अहिलेसम्म १७७ जनाभन्दा धेरै मानिसहरूको उद्धार गरिएको छ।

    मर्मत सम्भारपछि पुल पुनः प्रयोगमा ल्याइएको केही दिनमा उक्त घटना घटेको हो। २३० मिटर लामो ‍औपनिवेशिक समयको उक्त पुल १९औँ शताब्दीमा भारतमा ब्रिटिशहरूले शासन गर्दा बनाइएको थियो। स्थानीय रूपमा जुल्टो पुलका रूपमा चिनिने उक्त पूर्वाधार त्यस क्षेत्रको एउटा प्रख्यात पर्यटकीय केन्द्रबिन्दु समेत हो। आइतबार साँझ ६ः४० तिर उक्त दुर्घटना भएको थियो।

    पुल खस्दा त्यहाँ धेरै बालबालिका थिए। आसपासका जिल्लाहरूबाट पठाइएका आपत्कालिन उद्धारकर्ताहरूले रातभर काम गरेका थिए । पुल खस्ने अवस्था के कारण सिर्जना भयो भन्ने अझै प्रस्ट हुन सकेको छैन। तर स्थानीय अधिकारीहरूले दीपावलीको छुट्टीले गर्दा त्यहाँ निकै धेरै मानिसहरू जम्मा भएको बताएका छन्।

  • माओवादीको घोषणापत्र: प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली

    माओवादीको घोषणापत्र: प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली

    काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

    पार्टी मुख्य कार्यालय पेरिस डाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

    प्रतिबद्धतापत्रमा माओवादीले संसदबाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जान प्रस्ताव गरेको छ ।

    यस्तै, राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व, र समृद्धिको यात्रा तय गर्न राष्ट्रपतीय व्यवस्थामा जान माओवादीले जोड दिएको छ भने संविधान निर्माणको प्रक्रियासमेत नेपाली जनताले शासकीय पद्धति परिवर्तनको पक्षमा आफ्नो मत अभिव्यक्त गरी सकेकाले लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउन शासकीय पद्धति परिवर्तन गर्नु पर्ने बताइएको छ ।

    विगतको अनुभव र जनचाहनाका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउनका लागि विद्यमान शासकीय स्वरूप र पद्धतिमा परिवर्तन गर्न आवश्यक भएको कुरालाई ध्यानमा राखेर निम्नअनुसार संविधान संशोधन गरिने छ।’ घोषणापत्रमा भनिएको छ ।

    राजनीतिक परिवर्तन आएपनि प्रणालीमा सुधार हुन नसकेको निश्कर्ष निकाल्दैं माओवादीले यो पटक संरचनागत सुधार गर्न उच्चस्तरीय प्रशासन सुधार आयोग, न्यायलय पूर्नसंरचना र उच्चस्तरीय सम्पक्ति छानविन आयोग गठन गरेर जाने गरी प्रस्ताव गरेको हो ।

    यस्तै, चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले ०४७ सालपछि सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुको सम्पक्ति छानविन गर्नुपर्ने र त्यसका लागि उच्चस्तरीय छानविन आयोग बनाउने गरी माओवादीले घोषणापत्र ल्याएको बताए ।

    ०४७ सालपछि सार्वजनिक पद धारण गरेकाहरुले अकुत सम्पक्ति थोपर्ने र जनताको काम नगर्ने गरेको आरोप लागिरहेका बेला माओवादीले घोषणापत्रमै सम्पक्ति छाननिको प्रस्ताव अगाडी सारेको हो ।

    माओवादीले संविधान संशोधन गरेर शासकिय स्वरुप र निर्वाचन प्रणालीका विषयलाई सम्वोधन गर्नुपर्ने बताएको छ ।

    संविधान निर्मााण्कै बेला ततकालिन शक्ति सन्तुलनका आधारमा संविधान निर्माणका क्रममा यस विषयमा पार्टीले फरक मत राखेको भन्दै प्रचण्डले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ब्यवस्था गर्ने गरी संविधान संसोधन गर्नुपर्ने बताएको छ ।

  • समाजवादीको घोषणापत्र: उत्पादन र रोजगारबाट आर्थिक समृद्धि,आधारभूत स्वास्थ्य शिक्षालाई प्राथमिकता

    समाजवादीको घोषणापत्र: उत्पादन र रोजगारबाट आर्थिक समृद्धि,आधारभूत स्वास्थ्य शिक्षालाई प्राथमिकता

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

    सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव भुसालले बताएका छन् ।

    नेपाली जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षबाट मुलुकमा महत्वपूर्ण उपलब्धिहरूको रक्षाको लागि आफूहरूको पहिलो प्राथमिकता भएको घोषणापत्रमा उल्लेख गरेको छ ।

    अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले प्रणालीको सुधारलाई जोड दिएको छ ।

    घोषणापत्रमा भनिएको छ, ‘यो मुलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्नसक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ ।’

    समाजवादमा आधारित आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि, जनताको अधिकार, राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शीतासहितका विषय घोषणापत्रमा समेटिएको छ।

    आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई घोषणापत्रमा प्राथमिकताका साथ समावेश गरिएको छ। उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने तथा खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा विशेष जोड दिइएको घोषणापत्रमा सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्वन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ।