Category: समाचार

  • चुनावका दिन सवारीसाधन चलाउन क-कसले लिनुपर्दैन पास ?

    चुनावका दिन सवारीसाधन चलाउन क-कसले लिनुपर्दैन पास ?

    काठमाडौं । आगामी मंसिर ४ गते स्थानीय तहको चुनाव हुने दिन १ दर्जन बढी क्षेत्रका व्यक्तिले सवारीसाधन चलाउन अनुमतिपत्र लिनु नपर्ने भएको छ ।

    निर्वाचन आयोगका सो दिन अत्यावश्यक सेवा अन्तर्गत विभिन्न क्षेत्रका सवारीसाधन पास नलिई चलाउन पाइने व्यवस्था गरेको हो ।

    आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा, संचार माध्यम र कुटनीतिक नियोग (नम्बर प्लेटमा सिडी) उल्लेख भएको कुटनीतिक नियोगको सवारीसाधनले पास लिनुपर्दैन।

    यस्तै, शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने छन् । यस्तै अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न दिने भएको छ।

    यस्तै, अन्य सवारी साधनहरुलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिइएको छ।

  • काठमाडौं ६ : ‘ट्रायल उम्मेदवार’ खनाललाई रोक्दै ‘ह्याट्रिक’ गर्ने दाउमा पूर्वरक्षामन्त्री प्रधान

    काठमाडौं ६ : ‘ट्रायल उम्मेदवार’ खनाललाई रोक्दै ‘ह्याट्रिक’ गर्ने दाउमा पूर्वरक्षामन्त्री प्रधान

    काठमाडौं । १० क्षेत्रमध्ये काठमाडौं ६ लाई एमाले र कांग्रेसले भिन्न रुपले हेर्ने गरेका छन् । उक्त क्षेत्रलाई कांग्रेसले ‘सुरक्षित’ ठानेको छ भने एमालेले ‘ट्रायल’ क्षेत्रका रुपमा बुझ्ने गरेको छ ।

    मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचन नजिकिंदै गर्दा मुख्य प्रतिस्पर्धी मानिएका सत्तारुढ गठबन्धन आबद्ध दल र नेकपा एमालेले चुनावी अभियानलाई तिब्रता दिएका छन् ।

    सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सादगी नेता तथा पूर्वरक्षामन्त्री भीमसेन दास प्रधान ‘ह्याट्रीक’ गर्न र केही साता अघि मात्र एमालेमा प्रवेश गरेका पूर्व आईजिपी सर्वेन्द्र खनाल ‘ट्रायल उम्मेदवार’का रुपमा मतदाताको घरदैलो पुगिरहेका छन् । त्यसैले उक्त क्षेत्रमा यस पटक रोचक प्रतिस्पर्धा हुने निश्चित छ ।

    दुई दशकदेखि सक्रिय राजनीतिमा रहेका काठमाडौंका रैथाने प्रधान र तनहुँमा जन्मिएर २६औं आईजीपीको फूली लगाएर अवकास लिएका खनालबीचको प्रतिस्पर्धा यसै पनि रोमान्चक हुने अनुमान गरिएको छ ।

    अझ रोचक त के छ भने सोही क्षेत्रबाट दुई पटक प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका प्रधान आफ्ना हरेक मतदातासँग चिरपरिचित छन् । आफ्नो क्षेत्रभित्रका चोक–चौतारा, मठ–मन्दिर, चैत–गुम्बा, चर्च–मस्जिद, गल्ली, टोल मात्र होइन हरेक घरका दैला र भर्याङको आकारप्रकार छामेका छन् । सडकहरुको नाप, ढुंगेधाराहरुको संख्या कन्ठस्त गरेका छन् ।

    तर मुख्य प्रतिस्पर्धीका रुपमा आएका खनाल खासै परिचित चैनन् । खनाल मतदातासँग घुलमिल हुनै पाएका छैनन् । चारभाग मध्ये एकभाग पनि टोलको फन्को लगाउन भ्याएका छैनन् । यद्यपी, आफ्नो चुनावी अभियानलाई भने चर्काएका छन् ।

    हुनत उक्त क्षेत्रबाट राप्रपाबाट गायक सञ्जय श्रेष्ठ, निर्देश सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल पनि घरदैलोमा व्यस्त छन् । त्यो भन्दा पनि पूर्वरक्षामन्त्री प्रधान र पूर्वआईजीपी खनालबीचको प्रतिस्पर्धालाई निकै महत्वका साथ हेरिएको छ ।

    प्राध्यापन पेशा त्यागेर राजनीतिमा होमिएका प्रधान र सरकारी जागिरबाट रिटायर्ड भएर फुर्सदको समय सदुपयोग गर्न आएका खनालको प्रतिस्पर्धालाई कतिपय विश्लेषकले प्रतिस्पर्धा नै ठानेका छैनन् । त्यसैले त खनाल भन्छन्,‘म हार–जितका लागि आएको होइन । सत्तारुढ गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ लैजान लागेकाले जोगाउन आएको हुँ ।’ प्रधानले पनि खनालको उम्मेदवारीलाई अराजनीतिक भनेका छन् । अराजनीतिक उम्मेदवारसँग आफ्नो प्रतिस्पर्धा नै नहुने प्रधानको दाबी छ ।

    दागी भर्सेस सादगी

    प्रहरी सेवामा रहँदा खनालले गरेका कामहरू जीवनमा नमेटिने दाग बनेर बसेका छन् । जसलाई विपक्षीले चुनावी मसला बनाएका छन् । उनलाई दागी उम्मेदवार भनेर प्रचार गरिरहेका छन् । भलै, खनालले भने प्रहरी सेवामा रहँदा लोकप्रिय काम गरेको, भ्रष्टाचारीलाई कठघरमा उभ्याएको र गुन्डाहरुलाई तह लगाएको भन्दै मत मागिरहेका छन् ।

    तर उनकै कार्यकालनमा विर्सनै नसिकिने निर्मम घटनाहरु भएका छन् । उनको कार्यकालमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको र सो घटनाको सत्यतथ्य पत्ता लगाउन नसकेको, सर्लाहीमा कुमार पौडेललाई इन्काउन्टरको नाममा नियन्त्रणमा लिएर हत्या गरेको भन्दै खनालविरुद्ध सरकारी वकिलको कार्यालय सर्लाहीमा उजुरी दर्ता भएको, ‘सांसद अपहरण’ काण्डमा मुछिएको भनी प्रचार गरिएको छ । त्यतिमात्र नभइ आफैं निर्वाचन लडेको सामाखुशी कपुरधारा क्षेत्रमा कुमार श्रेष्ठ (घैंटे)लाई खनालकै निर्देशनमा फेक इन्काउटर गरी हत्या गरेको आरोप छ । जसका कारण युवा मतदाता उनीसँग सन्तुष्ट छैनन् ।

    सामान्य जीवनयापन गरिरहेका प्रधान भने सादगी नेताका रुपमा परिचित छन् । बर्षौंदेखि उनी मतदाताको सारोगारो, दुख–विमार, आपत विपत, जन्ती–मलामी पुगिरहने गरेकाले प्रिय छन् । २०३६ सालमा विद्यार्थी राजनीति र २०४८ देखि नै काग्रेसको सक्रिय भूमिकामा रहेका प्रधानले २०७० सालमा एमालेका योगेश भट्टराई र २०७४ सालको चुनावमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका थिए ।

    उनी भन्छन्,‘राजनीति लागेर धेरै साथीहरुले आर्थिक उन्नती गरे । मैंले राजनीतिलाई सेवा ठानें । छँदाछँदैको प्राध्यापन पेशा त्यागे र जनताको सेवामा समर्पित भएँ । मेरो क्षेत्रका जनताका लागि जानेर केहीपनि बेइमान गरेको छैन । हैसियतले भ्याएसम्म सेवा गरेको छु । जीवनको उत्तार्धमा आएर म बेइमानी गरेर देह त्याग गर्न चाहन्न ।’

    प्रधान सदन चलेको दिन र पार्टीको महत्वपूर्ण काममा व्यस्त हुनुबाहेक हरेक दिन आफ्ना मतदाताको घरदैलोमा पुग्ने गरेको बताउँछन । दुई कार्यकाल सांसद रहँदा ठूला राष्ट्रिय मुद्दाहरु उठाएर आफ्नो क्षेत्रको नाम र इज्जत राखेको दाबी गर्र्छन ।

    एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएको गुठी विधेयकको विरुद्ध जागरण अभियान ल्याएर सरकारलाई घुँडा टेकाउन सफल भएको, खुलामञ्च खाली गर्न र अवैध ढंगले बनाएका सटर हटाउन, कंक्रिटको रानीपोखरी बनाउने काम रोकेर पुरातात्विक ढंगले मल्लकालीन रानीपोखरी बनाउन आफूले महत्वपूर्ण योगदान गरेको सुनाउँछन् । त्यसबाहेक आफ्नो निर्वाचन क्षेत्रमा ठूला आयोजनाहरु भित्र्याउन भूमिका खेलेको उनको दाबी छ ।

    प्रधानले एमाले अध्यक्ष ओलीले संविधान मिच्ने काम गरेकोले त्यसलाई सही मार्गमा ल्याउन सत्ता गठबन्धनको आवश्यकता परेको बताउँदै संविधान रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन पनि आग्रह गरेका छन् । उनले ‘जनताको जिम्मेवारी, जनतालाई जनाधिकार, जनताप्रति जवाफदेहिता’ नारा अघि सारेका छन् ।

    खनाल एमालेका लागि परीक्षण मात्र

    एमालेले काठमाडौं ६ लाई आफ्नो सुरक्षित क्षेत्रका रुपमा स्वीकारेको छैन । त्यसैले टेस्टका लागि सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएपछि सोही क्षेत्रमा रैथाने एमालेका नेताहरु सन्तुष्ट छैनन् । उक्त क्षेत्रमा एमालेबाट योग्य र सक्षम उम्मेदवारहरु हुँदाहुँदै खनाललाई टिकट दिएपछि एमालेभित्र भाँडभैलो मच्चिएको छ ।

    प्रहरी सेवामा रहँदा कुशल प्रशासक, गुण्डा, तस्कर, भ्रष्टाचारी, माफिया, दलाल र अपराधीहरूलाई दण्डित गर्न कुनै कसुर नराखेका उम्मेदवार भनेर उनलाई प्रचार गरिए पनि मतदाताले त्यसलाई स्वीकार्न सकिरहेका छैनन् । उनको विवादित छवीका बारे सामाजिक संजालमा छरपष्ट भएपछि मतदाताको मनोविज्ञान बदलिएको छ । त्यतिमात्र नभइ राजनीतिमा त्याग गरेका नेतालाई टिकट नदिएर पूर्व प्रशासकलाई उम्मेदवार बनाइएपछि एमालेका प्रतिबद्ध कार्यकर्ताहरुमा निराशा छाएको छ ।

    मतको अंकगणित

    गत बैशाखमा भएको स्थानीय तहको मतलाई आधार मानेर विश्लेषण गर्ने हो भने उक्त क्षेत्र कांग्रेस बलियो देखिन्छ । स्थानीय तहमा नेपाली कांग्रेसले १६ हजार ४ सय ७९ मत पाएको थियो भने नेकपा एमालेले १३ हजार ४ सय ४५ मत ल्याएको थियो । माओवादी केन्द्रले २ हजार ३ सय ३९, एकीकृत समाजवादीले १ हजार ७ सय ५२, राप्रपाले १ हजार ७ सय ४६ मत ल्याएको थियो ।

    काठमाडौं महानगरपालिकाका २६, २७ र २८ नम्बर वडा, तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ नम्बर वडा तथा टोखा नगरपालिाकाका १, ८, ९, १० र ११ नम्बर वडाहरु समावेश छन् ।
    काठमाडौं महानगरपालिकाको उपमेहर भइसकेकी हरिप्रभा खड्की प्रदेश सभा(क)र प्रदेश (ख)का सत्ता गठबन्धनका विष्णुभक्त तिमिल्सिना जस्ता प्रभावसाली उम्मेदवार रहेकाले प्रधानसहितको गठबन्धनको टीमले विजयी हाँसिल गर्ने आकंलन गरिएको छ ।

  • निर्वाचन सुरक्षामा खटियो सेना

    निर्वाचन सुरक्षामा खटियो सेना

    काठमाडौं । मङ्सिर ४ मा तोकिएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी छिन् ।


    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन पहिले तोकिएको स्थानमा पुगी सुरक्षा तयारी सुरु गरेको छ । निर्वाचन सुरक्षार्थ परिचालन भएसँगै एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनाले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको छ ।

    नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले निर्वाचन सुरक्षार्थ नेपाली सेना गत कात्तिक ४ गतेदेखि परिचालन भई शनिबारसम्म सबै स्थानमा पुगिसकेको जानकारी गराएका छन् । निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा कम्पनी अपरेटिङ बेस (सीओपी) तथा पल्टुन अपरेटिङ बेस (पीओवी) स्थापना भइसकेका छन् । एक पल्टुनमा ३९ जना सैनिक रहने र तीन पल्टुन बरबर एक कम्पनी रहने गरी नेपाली सेनाको संरचना रहेको छ ।

    यसैगरी सेनाले सुरक्षा संवेदनशीलताका आधारमा देशका ७६२ स्थानमा बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको र थप १४३ स्थानमा फौज राख्ने तयारी भइरहेको जनाएको छ । सरकारले निर्वाचनको अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्दै आएका विमानस्थल, महìवपूर्ण सम्पदा तथा कारागारलगायत १११ स्थानको सुरक्षामा परिचालन हुने गरी तयारी अवस्थामा रहेको सेनाले जनाएको छ ।

    यसअघि निर्वाचन आयोगको मुख्यालय तथा मतदान सामग्री, मतपत्रको सुरक्षा र प्याकेजिङका लागि एक सय जना नेपाली सेना यसअघि नै परिचालन भइसकेका छन् । प्रत्यक्ष तथा समानुपातिकतर्फका सबै मतपत्रको छपाइ सकिएको छ । मतपत्रको ढुवानीको जिम्मेवारी नेपाली सेनाले मतदान सुरु हुनुभन्दा १० दिन पहिले पूरा गरेको छ । अन्य जिल्लामा मतपत्रको ढुवानी एक हप्तापहिले नै पूरा भएको थियो । सेनाले हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा हवाई साधनद्वारा मतपत्र ढुवानी गरिसकेको छ ।

    एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना निर्वाचनको अवधिमा मतदानस्थलको बाहिरी सुरक्षा, हवाई तथा स्थल गस्ती, विस्फोटक पदार्थकको नियन्त्रण तथा निष्क्रिय गर्नेलगायतमा परिचालन हुनेछ । सोका लागि पृतना, बाहिनी, गुल्मबाट ७४ हजार ८४९ सैनिक प्रत्यक्ष रूपमा निर्वाचन क्षेत्रमा परिचालन गरिएको सैनिक मुख्यालय जङ्गी अड्डाले जनाएको छ ।

    निर्वाचन सुरक्षामा असर पर्ने गरी कुनै गतिविधि भए तत्काल परिचालन हुने गरी काठमाडौँ पोखरा, चितवन, बर्दिवास, इटहरी, सुर्खेतलगायतका स्थानमा सेनाले हवाई साधनसहित १५० सैनिक तयारी अवस्थामा राखेको जनाएको छ । सुरक्षा संवेदनशील रहेका मतदान स्थलमा तत्काल परिचालन हुने गरी १३ हजार ६१० सैनिकलाई मतदान स्थलबाट ३० मिनेटको दूरीमा तयारी अवस्थामा राखिनेछ । विस्फोटक पदार्थ पत्ता लगाउन र निष्क्रिय पार्न देशभर दुई हजार ५६० तालिम प्राप्त बम डिस्पोजल टोलीलाई पूर्वतयारी अवस्थामा राखिएको छ ।

  • सुदुरपश्चिम भेगमा ५.१ रेक्टर स्केलको भूकम्प

    सुदुरपश्चिम भेगमा ५.१ रेक्टर स्केलको भूकम्प

    काठमाडौं । दार्चुलासहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।


    दार्चुलालगायत सुदूरपश्चिमका डोटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । डोटीमा भने भूकम्पको धक्का पछि स्थानीयको भागाभाग भएको छ । भुकम्पको क्षतिबारे कुनै जानकारी भने आएको छैन ।

  • चुनावका दिन पास बीना सवारी चलाउन नपाइने

    चुनावका दिन पास बीना सवारी चलाउन नपाइने

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान हुने दिन पास बिनाका सवारी साधन सवारी साधन चलाउन नपाइने भएको छ। निर्वाचन आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ। एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारी साधनले अनुमति पत्र लिनु नपर्ने आयोगले जनाएको छ।

    आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको छ। शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी पास दिनुपर्नेछ। अनुमति पाएको सवारी पासमा त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एक जना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने व्यवस्था छ।

    यस्तै अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न सक्ने आयोगले बताएको छ। अन्य सवारी साधनलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिइएको छ। पत्रकारको हकमा काठमाडौं उपत्यकामा सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्नेछ।

    मतदानका दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सवारी साधनको लागि अनुमति लिनु नपर्ने आयोगले जनाएको छ। मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई आवश्यक कानूनी कारवाही गर्ने जनाइएको छ।

  • कांग्रेसले ३०–३२ सीट मात्र जित्छ : ओली

    कांग्रेसले ३०–३२ सीट मात्र जित्छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा नेपाली कांग्रेसले ३०–३२ सिट मात्र जित्ने बताएका छन् । कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसले १६५ मध्ये ८७ ठाउँमा मात्र उम्मेदवार बनाएकाले ३०–३२ सिट मात्र जित्छ, उनीहरुलाई बहुमत ल्याउन कठिन छ, बहुमत ल्याउने एमालेले नै हो ।’

    पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सत्तारुढ गठबन्धनसँग भावी प्रधानमन्त्री बन्ने मान्छे नै नभएको दाबी गरे । अगामी निर्वाचनबाट बन्ने सरकारको नेतृत्व कसले हाँक्छ र गठबन्धनको नेता को हो भन्ने जवाफ उनीहरुसँग नभएको टिप्पणी उनले गरेका छन् । उनले सरकार बनाउँछौँ भन्ने विश्वास नभएकै कारण गठबन्धनले हाम्रो प्रधानमन्त्री फलानो हुन् भनेर भन्न नसकेको दाबी गरे ।

    ‘गठबन्धन की ठगबन्धनको अगामी कार्यक्रम के हो ? सरकार कसले हाक्छ ? नेता को हो ? एमालेले जस्तै गठबन्धनले फलानो हाम्रो प्रधानमन्त्री हो भनेर किन भन्न सक्दैन,’ ओलीले भने, ‘किनकी उनीहरुलाई सरकार बनाउँछौं भन्ने विश्वाव नै छैन । सरकार बनाउँदा पनि कुन पार्टीको कार्यक्रम लागु गर्ने त्यो छैन । त्यसैले यो गठबन्धनलाई विदा गरौं।’

  • काठमाडौंमा आज यस वर्षकै कम तापक्रम मापन

    काठमाडौंमा आज यस वर्षकै कम तापक्रम मापन

    काठमाडौं । काठमाडौं उत्पयकामा आज यस वर्ष कै कम तापक्रम मापन भएको छ । बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो यस वर्षकै कम हो । यसअघि नोभेम्बर ३ मा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको थियो ।

    अझै तापक्रम घट्ने क्रममा रहेको बताइएको छ । अहिले देशभर चिसो बढेको छ । हिमाली भेगमा हिमपात समेत हुन थालेको छ । आज जुम्लाको तापक्रम माइनस ५ डिग्री सेल्सियससम्म झरेको छ । जिरीको तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस, जोमसोमको २ डिग्री, ताप्लेजुङको ९ डिग्री सेल्सियस र डडेल्धुराको ७ डिग्री सेल्सियसमा झरिसकेको छ।

  • केपी शर्मा ओली जब एलओडी नाइट क्लवमा झुल्किए…

    केपी शर्मा ओली जब एलओडी नाइट क्लवमा झुल्किए…

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आम मानिसलाई आकर्षित गर्न अनेक उपाय लगाउन माहिर छन् । यसै क्रममा मध्यरातमा केपी शर्मा ओली ठमेलको एलओडी नाइट क्लब पुगेका छन् । जहाँ मध्यरातसम्म युवाहरुको ठूलो जमात रहने गर्छ । उनले क्लवमा पुगेर र्‍याप गीत सार्वजनिक गरे , ‘केपी बा’ बोलको र्‍याप गीत ओलीले शुक्रबार राती सार्वजनिक गरेका हुन् ।

    चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान गाइएको छ । गीतमा ओलीको पनि आवाज थपिएको छ । गीत सार्वजनिक कार्यक्रममा एलओडी नाइट क्लबमा उल्लेख्य संख्यामा उपस्थित युवाले उनको स्वागत गरेका थिए । त्यहाँ उनले राष्ट्रिय झण्डा फहराएका थिए ।

  • बाल्यकालको क्यान्सरबारे सचेतना जगाउन काठमाडौँ-इलाम साइकल यात्रा

    बाल्यकालको क्यान्सरबारे सचेतना जगाउन काठमाडौँ-इलाम साइकल यात्रा

    काठमाडौँ

    दिर्घजिवी स्वयंसेवी संस्थाका संस्थापक अध्यक्ष समिर श्रेष्ठले लाइन्स क्लव अफ काठमाडौँ दिर्घजिवीको सहकार्यमा काठमाडौँ देखि इलामसम्मको साइकल यात्रा सम्पन्न गरेका छन् । ‘ह्विल्स अफ होप’ नाम दिएर नोभेम्बर ६ मा साताव्यापी साइकल यात्रा सुरु गरिएको थियो ।

    बाल्यकालमा लाग्ने क्यान्सरबारे सचेजना जगाउने उद्धेश्यले साइकल यात्रा आयोजना गरिएको लाइन्स क्लव अफ काठमाडौँ दिर्घजिवीका प्रेसिडेन्ट महेश दाहालले जानकारी दिए ।

    नेपालमा बर्षेनी १६ सय बालबालीका क्यान्सरबाट पिडित हुने गरेका छन् । बाल्यकालको क्यान्सरबारे सचेतना जनाउन दिर्घजिवी स्वयंसेवी संस्था निरन्तर सकृय छ । पहिलो दिन चितवनसम्म पुगेको साइकल यात्रा त्यसपछि क्रमशः निजगढ लाहान इनरुवा झापा हुँदै शुक्रबार इलाम पुगेर सम्पन्न भएको हो।

  • राप्रपाको चुनावी सभालाई मनिषा कोइरालाको सम्बोधन

    राप्रपाको चुनावी सभालाई मनिषा कोइरालाको सम्बोधन

    काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएको बताइन् ।
    भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङ्देनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाइ छ ।

    अभिनेत्री कोइरालाले बीपीको विचारलाई पनि लिङ्देनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध भएको बताइन् । अभिनेत्री कोइरालाले भनिन्, ‘‘आज म यहाँ उभिएको छु–राजेन्द्रजीको मुख हेरेर । उहाँको भाषण सुनेर । उहाँले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो, मलाई त्यो कुरा सुनेर नेपालले असल नेतृत्व पायो भन्ने मलाई मनबाटै लाग्यो । त्यसैले म आज यहाँ उभिएको छु ।’’

    उनले जनताको आवाजलाई संसदमा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरूले जित्नुपर्ने तर्क समेत गरिन् । ‘‘म चाहन्छुलाई राप्रपाका उम्मेदवारहरूलाई अत्यधिक भोटले जिताउनु होस् । हलोमा भोट दिनुहोस् । तपाईँहरूको आवाज संसदमा बलियो होस् भन्ने म चाहन्छु । उहाँहरूले तपाईँहरूको सेवा गर्न पाउनु यो एउटा ठूलो मौका हो,’’ अभिनेत्री कोइरालाले भनिन्, ‘‘धेरै पहिला बीपी र महेन्द्र सरकार दुवै जना एक आपसमा आदर राख्नु हुन्थ्यो । तर, उहाँहरूले कहिल्यै पनि सहकार्य गर्न पाउनु भएको थिएन । त्यतिखेर मुलुकले एउटा ठूलो मौका गुमाएको थियो ।’

  • बुढानिलकण्ठका एमाले नेता श्रेष्ठ कांग्रेस प्रवेश, इश्वर पोखरेललाई ठूलो झड्का

    बुढानिलकण्ठका एमाले नेता श्रेष्ठ कांग्रेस प्रवेश, इश्वर पोखरेललाई ठूलो झड्का

    काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ–३ का एमाले नेता प्रकाश श्रेष्ठ कांग्रेस गरेका छन् ।

    काठमाडौं–५ बाट प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार प्रदीप पौडेलले शुक्रबार श्रेष्ठसहित एक सय ५० बढी एमाले कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् । युवा नेतृत्वबाट मात्रै परिवर्तन सम्भव भएकाले एमाले परित्याग गरेको उनले बताएका छन् ।

    एमालेले पुराना नेता बोकेर हिँडेको र कांग्रेसमा प्रदीप पौडेल, गगन थापा, विश्वप्रकाश शर्मा जस्ता नेता नेता भएकाले कांग्रेस प्रवेश गरेको उनको भनाइ छ । श्रेष्ठ शुक्रबारदेखि नै पौडेलको प्रचारमा हिड्न थालेका छन् ।

    पहिले इश्वर पौडेललाई आफूहरुले जिताएपनि निर्वाचन क्षेत्रको विकास गर्न नसकेकाले जनतामा निराशा रहेको श्रेष्ठले बताए । धेरै एमाले कार्यकर्ता प्रदीपको पक्षमा खुलिरहेको श्रेष्ठले बताए । यसले इश्वर पोखरेललाई ठूलो झड्का लागेको छ ।

    निर्वाचनको मिति नजिकिदै गर्दा प्रदीपको माहोल राम्रो बनेपछि इश्वर पोखरेल निराश बनेको स्थानीय रुपेश घिमिरेले बताए ।

  • ट्रिटनमा नमुना मतदान

    ट्रिटनमा नमुना मतदान

    काठमाडौं । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएका बेला मतदाता शिक्षा कार्यक्रम अन्तर्गत काठमाडौंको तीनकुनेस्थित ट्रिटन इण्टरनेशनलमा वि./कलेजमा विद्यार्थीहरुकै सहभागितामा नमुना मतदान गरिएको छ ।

    निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो ।

    क्याम्पसमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरुलाई मतदान गर्ने सही तरिका सिकाउने उद्धेश्यले यो कार्यक्रम गरिएको कलेजका नमुना मतदान कार्यक्रम व्यवस्थापक कमान सिंह आर.सि.ले बताए ।

    नमुना मतदानमा महिला, पुरुष, अशक्त र जेष्ठ नागरिक हरुका लागि छुट्टा छुट्टै लाइनमा राखि मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिने लगायतका विषयहरु सिकाइएको थियो ।

    नमुना मतादनमा साच्चिकै निर्वाचनमा हुने सबै प्रक्रिया पुरा गरिएको नयाँबानेश्वर प्रहरी बृत्तका डिएसपी निशान्त श्रीवास्तवले बताए ।

    यस्ता कार्यक्रमहरुले मतदाता शिक्षा प्रभावकारी हुने, मतदानमा नागरिक सहभागिता बढ्ने तथा बदर मतको संख्या कम हुने उनको भनाई छ ।

  • एक महिनामा ६२ हजार बढीले लिए श्रम स्वीकृति, उच्चदक्ष १४ जना

    एक महिनामा ६२ हजार बढीले लिए श्रम स्वीकृति, उच्चदक्ष १४ जना

    काठमाडौं । रोजगारीका लागि विदेशिनको संख्या केही मात्रामा घटेको छ ।

    वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान असोज महिनामा ६२ हजारभन्दा बढीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

    वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको असोज महिनामा ६२ हजार ७०७ जनाले पहिलो श्रम स्वीकृति लिएका हुन् ।

    गत भदौमा यसरी विदेशिनेको संख्या ७६ हजार ४०३ जना थियो । गत साउन महिनामा ६३ हजार ३९ जना नेपाली कामका लागि विदेशिएका थिए ।

    विभागका अनुसार ५७ हजार २९६ जना पुरुष र ५ हजार ४१० जना महिलाले श्रम स्वीकृति लिएका हुन् ।

    श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेशागत, सिप भएका र सीप नभएका कामदारहरुको संख्या रहेको छ ।

    वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकाहरुमा उच्चदक्ष कामदारको संख्या १४, पेशागत कामदारको संख्या १०९, अर्धदक्ष कामदारको संख्या ४ हजार २१६ सीपयुक्त कामदारको संख्या ३९ हजार ७९० र सीप नभएका कामदारहरुको संख्या १८हजार ५७७ रहेको तथ्याङकमा उल्लेख छ ।

    असोजमा कतारमा ९ हजार ८४५, यूएईमा ७ हजार ८४५, साउदी अरेबियामा ६ हजार ५३६, कुवेतमा ३ हजार ४९७ र कोरियामा १ हजार ९१८ जना नेपाली श्रमिक पुगेका छन् ।

    असोज महिनाको तथ्यांकअनुसार ३७ हजार ४१२ जना श्रमिकलाई म्यानपावर कम्पनीले नै भिसा प्रक्रिया पूरा गरेर विदेश पठाएका छन् ।

    बाँकी भने श्रम स्वीकृति नवीकरण तथा व्यक्तिगत किसिमका श्रम स्वीकृतिबाट विदेश गएका हुन् ।

  • पृथ्वीराजमार्ग विस्तारले गति लिँदै, ९० प्रतिशत रुख काटियो

    पृथ्वीराजमार्ग विस्तारले गति लिँदै, ९० प्रतिशत रुख काटियो

    काठमाडौं । पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब ४६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका ४ हजार २०५ रुख कटान गरिसकेको छ ।

    आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उनले बताए । ‘सबै रुख नकाटिन पनि सक्छन्,’ उनले भने, ‘काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ ।’

    सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन् । उक्त सडक खण्डमा २ हजार ४०० बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने उनले बताए । सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा रु साढे आठ करोड क्षतिपूर्ति वितरण गरिसकेको ढकालले जानकारी दिए ।

    व्यक्तिगत संरचना ७६७ र हाउसहोल्ड ८१० भत्काइएका छन् । आइपीएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ । उनले भने, ‘आर्थिक पारदर्शिताका लागि आयोजनाले उक्त प्रणाली अपनाएको हो ।’ जग्गाधनी पुर्जा भएका र नभएकाबीच कुनै विभेद नगरी क्षतिपूर्ति दिइने योजना बनाइएको ढकाल बताउँछन् । क्षति भएका व्यक्तिलाई पुनर्वास योजनामा राखी आयमूलकतर्फ केन्द्रित गरिने उनको भनाइ छ ।

    आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना रहेको ढकाल बताउँछन् ।

  • ‘एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैं सकिन्छन्’- ओली

    ‘एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैं सकिन्छन्’- ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताएका छन्।

    शुक्रबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेलाई सिद्धाउने षडयन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैं सकिने बताएका हुन्। उनले देश बिकासका सन्दर्भमा गठबन्धनलाई बोेकेको कांग्रेसलाई एक्लै चुनाव लड्न आउन चुनौती दिए।

    ओलीले एक्लै चूनाव लडे एमालेले सिध्याउँछ भन्ने कांग्रेसलाई राम्ररी थाहा भएको तर्क गरे। कांग्रेसले समाजवादको कुरा गरे पनि समाजवाद भन्ने नै थाहा नपाएको भन्दै उनले अहिले ढोडको वैशाखी टेकेर हिँडेको समेत बताए।

    उनले विदेशी देख्नेबित्तिकै पुच्छर लुकाउनेबाहेकसँग तालमेल गर्न सकिन्छ भनेर जसपा र राप्रपासँग केही सिटमा तालमेल गरेको धारणा राखे।

    अबको निर्वाचनमा माधव नेपालको नेकपा एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी बन्न नसक्ने अनि प्रचण्ड पनि आफैँ बिस्तारै सकिँदै जाने तर्क गरे।

    गठबन्धनले सरकार बनाएपछि मुलुक भ्रष्टाचारमा डुबेको उनले बताए। ओलीले अहिले टुक्राटुक्री जोडेर सरकार बनाउन दिन नहुने भन्दै एमालेले बहुमतसँगै सरकार बनाउने दाबी गरे।

  • काठमाडौंमा फोहोर जलाउन प्रतिवन्ध

    काठमाडौंमा फोहोर जलाउन प्रतिवन्ध

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्र खुला रुपमा आगो बाल्न रोक लगाइएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो। खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ ।

    महानगर क्षेत्रभित्र कसैले खुला रुपमा आगो बालेमा तथा फोहर जलाएमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

  • दल र उम्मेदवारले विज्ञापन गर्न पाउनेबारे आयोगको ६ बुँदै निर्णय

    दल र उम्मेदवारले विज्ञापन गर्न पाउनेबारे आयोगको ६ बुँदै निर्णय

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने विषयमा ६ बुँदे निर्णय गरेको छ। निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन सञ्चारमाध्यमबाट प्रचार–प्रसार गर्न पाउने निर्णय गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।

    निर्णयहरूमा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचार–प्रसारसम्बन्धी बढीमा एक मिनेटसम्मको श्रव्यदृश्य सामग्री अनलाइन सञ्चारमाध्यमबाट प्रसारण गराउन सक्ने व्यवस्था छ। त्यस्तै राजनीतिक दलले निजी क्षेत्रको अनलाइन सञ्चारमाध्यमबाट रोडब्लक, कन्टेन्ट ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन (समाचारको बीचमा) को माध्यमबाट निर्वाचन प्रचार–प्रसार गराउन सक्ने निर्णय गरेको छ।

    आचारसंहिताको खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चारमाध्यमबाट प्रकाशन वा प्रसारण गरिने निर्वाचन प्रचार–प्रसार सामग्रीमा सःशुल्क विज्ञापन भएको जनाउ दिनुपर्ने छ। आचारसंहिताको खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चारमाध्यमबाट गरिने निर्वाचन प्रचार–प्रसार सामग्रीमा कसैप्रति गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने र त्यस्तो विषय समावेश भएमा निर्वाचन आचारसंहिता उल्लंघन भएको मानिने छ।

    त्यस्तै आचारसंहिताको खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा विदेशी अनलाइन सञ्चारमाध्यममा प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ। राजनीतिक दल वा उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानुनबमोजिम पेस गर्नुपर्ने निर्वाचन खर्चको विवरणमा समावेश गरी पेस गर्नुपर्ने छ।

    निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवार समेतले पालना गर्नुपर्ने सञ्चारमाध्यमको प्रयोगसम्बन्धी आचरणअन्तर्गत राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियो तथा पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न सक्ने व्यवस्था छ।

  • पदयात्रामा निस्किएका युवाको सोलुखुम्बुमा मृत्यु

    पदयात्रामा निस्किएका युवाको सोलुखुम्बुमा मृत्यु

    काठमाडौं । सोलुखुम्बुमा ट्रेकिङ जाने क्रममा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा सोलुदूधकुण्ड नगरपालिका –१ रिङमुका २६ वर्षीय अम्बर लामिछाने (विश्वकर्मा) रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार चम्पा ट्रेकिङ प्रा.लि. काठमाडौंमार्फत ट्रेकिङ आएका विश्वकर्माको महाकुलुङ गाउँपालिका –१ बरुन्चे बेस क्याम्पमा मृत्यु भएको हो ।

    मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको युवकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

  • नेपालमै पहिलोपटक बन्यो ‘पम्प ट्रयाक’ साइक्लिङ पारखीका लागि उत्कृट गन्तव्य

    नेपालमै पहिलोपटक बन्यो ‘पम्प ट्रयाक’ साइक्लिङ पारखीका लागि उत्कृट गन्तव्य

    काठमाडौं । नेपालमै पहिलोपटक ललितपुरको कुपण्डोलस्थित वाग्मती किनारमा ‘पम्प ट्रयाक’ (उवाखबाड घुम्तीहरु भएको साइक्लिङ गर्ने ठाउँ) निर्माण भएको छ ।

    पम्प फर पिस नामक संस्थाले ललितपुर महानगरपालिकाको सहकार्यमा निर्माण गरेको उक्त पम्प ट्रयाक बुधबारदेखि संचालनमा आएको हो ।

    यो ट्रयाकमा उबडखाबड घुम्तीहरू हुन्छन् । यसमा माउन्टेन बाइकरले साहसिक यात्रा गर्छन् । उबडखाबड ट्रयाकमा साइकल उडाएर खेल खेल्ने गरिन्छ ।

    नेपालमा पनि पछिल्लो समय साइक्लिङ गर्ने संस्कार विकसित हुँदै गएको छ । देशका विभिन्न ठाउँमा साइक्लिङ रुट सोत निर्माण भएका छन् ।

    ‘पम्प फर पिस’ संस्थाले एक दशकदेखि विश्व्का विभिन्न विपन्न देशमा यस्तो ट्रयाक बनाउँदै आएको छ। सोही क्रममा नेपालमा पनि बनाएको हो ।

  • माओवादी केन्द्रको औद्योगिक नीति: आधुनिक औद्योगिक केन्द्र निर्माण, नयाँ उद्योगलाई कर छुट

    माओवादी केन्द्रको औद्योगिक नीति: आधुनिक औद्योगिक केन्द्र निर्माण, नयाँ उद्योगलाई कर छुट

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो प्रतिबद्धता पत्रमाआधुनिक औद्योगिक केन्द्र निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। माओबादीले नयाँ उद्योगलाई करमा छुट दिने प्रतिबद्धता समेत जनाएको छ ।

    तीव्र औद्योगिकीकरण र रोजगारी वृद्धि, यसैले ल्याउँछ सुख र समृद्धि ! भन्ने मूल नारालाई अङ्गीकार गर्दै माओबादीले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नको लागि औद्योगिक विकासको महत्त्त्वपूर्ण भूमिका रहने बताएको छ ।

    नेपाल औद्योगिक विकासमा पछि परेकोले आधारभूत वस्तुहरूको लागि समेत आयातमा निर्भर हुनु परेको छ । यसबाट मुलुकको व्यापार घाटा तीव्र गतिमा बढ्न गएको छ । यस अवस्थामा क्रमभङग गर्नको लागि औद्योगिक विकासमार्फत छिटो समय मै नतिजा देखिने ढङ्गले रोजगारी वृद्धि गर्ने, आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्धन गर्ने कार्य अघि बढाइने छ माओबादीको प्रतिबद्धता पत्रमा भनिएको छ ।

    माओबादीको २३ बुँदे प्रतिबद्धता पत्रमा खासगरी स्वदेशी कच्चा पदार्थ तथा जनशक्ति प्रयोग गर्ने उद्योग स्थापना तथा संचलानमा विशेष जोड दिइने उल्लेख छ । औद्योगिक विकास र विस्तारमा माओबादीको प्रतिबद्धता यस्तो छ:

    १.प्रदेश सरकारसँगको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा २ वटा आधुनिक औद्योगिक केन्द्र निर्माण गरिने छ । स्थानीय तहसँगको सहकार्यमा हरेक पालिकामा कम्तीमा १ वटा औद्योगिक ग्राम स्थापना गरिने छ ।

    २.प्रदेश सरकार, पालिका र निजी क्षेत्रसँग समन्वय गरी प्रत्येक वडामा २ वटा घरेलु तथा साना उद्योग स्थापना गरिने छ । यसरी स्थापित भएका साना उद्योगलाई बजारीकरण गर्न पालिकाहरूले पालिका बजार र प्रर्दशनी स्थल निर्माण गरिने छ ।

    ३.कृषि वस्तुको प्रशोधन उद्योग र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्न निजी क्षेत्रसँग सहकार्य गरिने छ । सामूहिक कम्पनी तथा सहकारी मार्फत कृषि, पशु तथा वनजन्य वस्तुको प्रशोधन गर्ने उद्योगहरूलाई कर छुट लगायतका सुविधा प्रदान गरिने छ ।

    ५.२०० जनाभन्दा बढीलाई रोजगारी सिर्जना गर्ने नयाँ उद्योगलाई करमा छुट दिने व्यवस्था गरिने छ । १ हजार जनाभन्दा बढीलाई रोजगारी दिने नयाँ उद्योगलाई करमा छुट दिनुका साथै जग्गा प्राप्ति तथा औद्योगिक पूर्वाधार निर्माणमा सहयोग गरिने छ ।

    ६.सङ्घीय सरकार, प्रदेश सरकार, पालिका र निजी क्षेत्रको संयुक्त लगानीमा समेत उद्योगहरू स्थापना गरिने छ । ठुला निर्यातजन्य उद्योग स्थापना गर्न स्वदेशी तथा विदेशी लगानी परिचालन गरिने छ ।

    ७.उद्योग स्थापना गर्न सार्वजनिक जग्गा सहज रूपमा लिजमा उपलब्ध गराइनेछ । ठुला औद्योगिक प्रतिष्ठान स्थापना गर्न स्थान छनोट गरी त्यस्ता स्थानमा आवश्यक औद्योगिक सडक, ढल निकास र विद्युत जस्ता पूर्वाधारको व्यवस्था गर्न सरकारले सहयोग गर्ने व्यवस्था गरिने छ ।

    ८.वार्षिक रु. १ करोड भन्दा माथिको विद्युत उपयोग गर्ने, कृषि वस्तुको प्रशोधन गर्ने, शत प्रतिशत नेपाली कच्चा पदार्थ उपयोग गर्ने उद्योग र निर्यात हुने वस्तु उत्पादन गर्ने उद्योगलाई विद्युत महसुलमा छुट दिइने छ ।

    ९.नेपालमै बसेर विदेशी कम्पनीहरूका लागि सफ्टवेयर, प्रोग्राम, एप्लिकेसन आदि निर्माण गर्ने प्राविधिक क्षमता भएका युवा प्राविधिकहरूको सञ्जाल निर्माण गरी टेक्नोलोजी विकास र निर्यात गर्ने कार्यक्रम बनाइनेछ । प्राविधिक उद्यमशीलता विकास गर्न सरकारले लगानी गर्नेछ ।

    १०.वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको संजाल निर्माण गरी उनीहरूलाई सामूहिक तथा निजी उद्यम स्थापना गर्न प्रोत्साहन गरिने छ । त्यस्ता युवाहरूले उद्योग–व्यवसाय सञ्चालन गर्दा बिउ पुँजी, ब्याज अनुदान, बिमा प्रिमियममा छुट तथा प्राविधिक सहयोगको प्रबन्ध गरिने छ ।

    ११.सामूहिक उद्यमशीलताको विकास गर्न १० जनाभन्दा बढी युवाहरू मिली उद्यम स्थापना गरेमा कुल लगानीको ५० प्रतिशतसम्म लगानी सहभागिता वा अनुदानको व्यवस्था गरिने छ । आगामी पाँचवर्षभत्र कम्तीमा ५ हजार युवाहरूलाई यस प्रकारको उद्यममा समावेश गर्न विशेष कार्यक्रम सञ्चालन गरिने छ ।

    १२.आन्तरिक आवश्यकता पूरा गर्नेगरी औषधी, मेडिकल उपकरण, कृषि सामाग्री, औजार, निर्माण सामाग्री, विद्युत र कृषि तथा वन्यजन्य उत्पादनमा जोड दिइने छ । विद्युत, छड, सिमेन्ट, हस्तकला, हिमाली पिउने पानी, सफ्टवेयर, कृषि उपज, जडीबुटी लगायतका वस्तुहरूलाई प्रमुख निर्यातजन्य वस्तुका रूपमा प्रवर्धन गरिने छ । कच्चा पदार्थको सट्टा प्रशोधित वस्तु मात्र निर्यात गरिने छ ।

    १३.निर्यात प्रवर्धन गर्न नेपाली उद्यमीले विकास गरेका ब्रान्डलाई अन्तराष्ट्रियरूपमा ब्रान्डिङ गर्न र निर्यात बजारको व्यवस्था गर्न राज्यले सहयोग गर्नेछ ।

    १४.कृषि उत्पादनका लागि आवश्यक पर्ने जैविक प्राङ्गारिक मल उत्पादन गर्न हरेक प्रदेशा मल कारखाना स्थापना गरिने छ । रासायनिक मलको आयात प्रतिस्थापन गर्न निजी क्षेत्रसँगको सहकार्यमा स्वदेश मै रासायनिक मल उद्योग स्थापना गरिने छ ।

    १५.आयात गरिएको तयारी वस्तुको भन्दा स्वदेशमा उत्पादित वस्तुको मूल्य बढी नहुने वातावरण सुनिश्चित गर्न कच्चा पदार्थ आयातमा भन्सार सहुलियत प्रदान गरिने छ।

    १६.पोसाकको लागि आवश्यक पर्ने कपडा उत्पादन गर्न आधुनिक कपडा उद्योग स्थापना गरिने छ। निजामती, सुरक्षा अङ्ग, विद्यालय, सङ्गठित संस्थाहरूमा नेपालमा उत्पादित कपडा प्रयोग गर्ने वातावरण बनाइनेछ।

    १७.पहाडी क्षेत्रका सम्भाव्य स्थानहरूमा स्वदेशी तथा विदेशी लगानीमा मार्बल तथा ग्रेनाइट उद्योग स्थापना गरिने छ । नदीजन्य निर्माण सामाग्रीहरूको उत्पादन र आपूर्तिको कार्यलाई पर्यायवरणमैत्री हुनेगरी व्यवस्थित तुल्याइनेछ ।

    १८.मुलुकमा रहेको फलाम तथा बहुमूल्य रत्नहरूको उत्पादन र प्रशोधन कार्य तथा पेट्रोलियम पदार्थ र ताँबा खानीको अन्वेषण कार्यलाई तीव्रता दिइने छ ।

    अन्तर्राष्ट्रिय एजेन्सीहरूसँगको समन्वयमा मुस्ताङमा रहेको युरेनियमको व्यावसायिक प्रशोधन र उपयोगको कार्ययोजना तयार गरिने छ ।

    १९.तीव्र औद्योगिक विकास तथा विस्तारको लागि ठुलो परिमाणमा स्वदेशी तथा विदेशी लगानी जुटाउन विशेष कार्यक्रम लागु गरिने छ ।

    २०.नेपालकै उत्पादन अभियान चलाइनेछ । सरकारी कार्यालयहरूमा स्वदेशी वस्तु प्रयोग गर्न अनिवार्य गरिने छ । जनसाधारणलाई स्वदेशी वस्तु उपयोग गर्न प्रोत्साहन गर्ने अभियान चलाइनेछ ।

    २१.उद्यमीहरूका समस्या सुन्न र उनीहरूको समस्या समाधान गर्न उद्यमी र सरकार बिच छलफल गर्ने संयन्त्र बनाई मासिक रूपमा बैठक बस्ने प्रबन्ध गरिने छ। निर्यातजन्य उद्योगलाई विशेष प्रोत्साहन गर्ने उपायहरूको खोजी गरी लागु गरिने छ।

    २२.‘उद्योग बाँचे अर्थतन्त्र बाँच्दछ’ भन्ने मान्यता स्थापित गर्दै देशमा औद्योगिक वातावरण निर्माण गरिने छ। रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउन त्यस्ता उद्योगहरूको पुनर्संरचना र सहायता प्याकेजको व्यवस्था गरिने छ।

    २३.बढ्दो आयात र न्यून निर्यातबाट बर्सेनि विकराल रूपमा बढ्दै गएको व्यापार घाटालाई नियन्त्रण गर्ने कार्यक्रम युद्धस्तरमा सञ्चालन गर्न कानुन बनाई पाँच वर्षको लागि अधिकार सम्पन्न राष्ट्रिय व्यापार प्राधिकरण स्थापना गरिने छ।

    सो प्राधिकरणले मुलुकको उत्पादन र व्यापारको संरचनागत एवम् प्रणाली पुनर्संरचना गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन सहज रूपमा निर्यात हुने आधार तयार गर्नेछ। प्रक्रियामुखी विद्यमान प्रशासन प्रणालीभन्दा भिन्न रूपमा नतिजामुखी तवरले सञ्चालन गरिने यस प्राधिकरणमा व्यापार सम्बन्धी विद्यमान सबै सरकारी संरचनाहरूलाई समाहित गरिने छ।

  • गठबन्धनमा धोका नभए संखुवासभामा कांग्रेसका दीपक खड्काले बाजी मार्ने

    गठबन्धनमा धोका नभए संखुवासभामा कांग्रेसका दीपक खड्काले बाजी मार्ने

    काठमाडौं । संखुवासभामा प्रतिनिधिसभा सदस्यकालागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दीपक खड्का र नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमबीच मुख्य प्रतिस्पर्धा छ । उम्मेदवार र एजेन्डाकै कारण जिल्लाबासीमा कुनै उत्साह छैन ।

    विगतमा एक अर्कामा हारजित बेहोरिसकेका खड्का र गौतम स्वयम् तेस्रो पटक आमनेसामने भएका हुन् । तर, चुनावी माहोल भने कांग्रेसको जिल्ला सभापतिसमेत रहेका खड्काले खिचेका छन् ।

    गौतम नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन् भने खानेपानी तथा सरसफाई राज्यमन्त्री भइसकेका खड्का हाल कांग्रेसको जिल्ला सभापति छन् । दुवै नेता राष्ट्रिय राजनीतिमा बलियो पहुँच बनाएका नेता हुन् ।

    ०७४ मा यहाँबाट बाम गठबन्धनका कारण गौतमले चुनाव जितेका थिए । खड्का यसपटक गौतमसँग त्यसैको बदला लिने दौडमा छन् । त्यसो त खड्का र गौतमबीच बदलाको श्रृंखला सुरू भएको ०७० देखि नै हो ।

    दोस्रो संविधानसभाको निर्वाचनमा पहिलो पटक आमनसामने हुँदा युवा नेता खड्काले गौतमलाई पराजित गरेका थिए । तर, ०७४ मा भने उनै गौतमले पराजित गरे, नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा । तर, यसपटक भने माओवादी केन्द्रको समर्थन खड्कालाई छ । खड्का गठबन्धनको बलमा चुनावी परिणाम सहजै आफ्नो पक्षमा पर्ने विश्वासमा छन् ।

    ०७४ मा बाम गठबन्धनबाट गौतमले ३२ हजार ७६९ मत ल्याउँदा कांग्रेसका खड्काले ३१ हजार ६३९ मत ल्याएका थिए । जबकि ०७० मा कांग्रेस, एमाले र माओवादी केन्द्र एक्ला एक्लै प्रतिस्पर्धामा हुँदा कांग्रेसका खड्काले ११ हजार ५५२ मत पाएका थिए भने एमालेका गौतमले १० हजार ९७३ र माओवादी केन्द्रका राजेन्द्र किराँतीले ४ हजार २९२ मत पाएका थिए ।

    जिल्लामा अहिले मतदाताको संख्या थपिएको छ । हाल जिल्लामा एक लाख १६ हजार ५५४ मतदाता छन् ।
    पाँच महिना अघि भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका दसमध्ये कांग्रेसले छ स्थानीय तह जितेको थियो भने एमालेले चार वटा स्थानीय तह जितेको थियो । स्थानीय तहको मतका आधारमा सत्ता गठबन्धनका उम्मेदवार खड्का जित नजिक छन् ।

    स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यहाँ एमाले पहिलो दल छ । एमालेले ३२ हजार ९११ मत पाएको छ भने कांग्रेसले ३० हजार ८४९, माओवादी केन्द्रले ७ हजार १२२, नेकपा एकीकृत समाजवादीले एक हजार १०१ र जसपाले ४७१ मत पाएका छन् । यसआधारमा एमालेको भन्दा गठबन्धनको मत करिब छ हजारले अगाडि हुन जान्छ ।

    कांग्रेस उम्मेदवार खड्का आफूले पाँच महिना अघि स्थानीय चुनावमा पाएको मतको संरक्षणमात्रै गरे पुग्ने अवस्था रहेको बताउँछन् । ‘उम्मेदवारी दर्तापछि एक चरण गाउँ डुलिसकेको छु । यसपटक मतदाताबाट राम्रो प्रतिक्रिया पाइरहेको छु । फेरि म ०७४ मा पनि थोरै मतान्तरले मात्र्र पराजित भएको हुँ ।

    मैले चुनाव हारेपनि मतदाताबाट टाढिएको छैन,’ उनले भने, ‘जसले जित्नुभयो, उहाँले पनि जिल्लामा राष्ट्रिय बजेट र योजना भित्राउन सक्नुभएन । उहाँप्रति एमालेमै निराशा छ । त्यसैले यसपटकलाई मलाई निकै सहज छ ।’ उनले गठबन्धनका कारण समेत आफूलाई सहज हुने दाबी गरे ।

    खड्काले जिल्लाको विकास निर्माणलाई प्राथमिकतामा राखेर चुनावी एजेन्डा अघि सारेका छन् । ‘मतदाताको चासो विकास निर्माणकै कुरामा छ । त्यसैले चुनावी एजेन्डा पनि त्यही छन्,’ उनले भने, ‘अहिले यहाँ सबैभन्दा महत्वपूर्ण एजेन्डा भनेको जोगबनी–किमाथाङ्का सडक हो ।

    यो सडक जिल्लाको विकास र संमृद्धिकालागि माध्यम बन्ने अवस्था छ । भारत र चीनलाई एउटै सडकले, त्यो पनि छोटो दुरीमा जोड्न सकेको खण्डमा त्यसले हाम्रो जिल्लालाई मात्रै होइन, राष्ट्रकै आर्थिक विकासमा योगदान पुग्ने आधार खडा हुन्छ ।

    त्यसपछि जलविद्युत उत्पादन, पर्यटन प्रवद्र्धन, कृषिको व्यवसायीकरण, स्वरोजगारीको सिर्जना र आर्थिक संमृद्धि हाम्रा मुल एजेन्डाहरू हुन् ।’

    यता एमाले स्थायी कमिटी सदस्य एवम् संखुवासभाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले पनि यसपटक आफैँले जित्ने दाबी गरे । ‘जनताको बीचमा, गाउँ टोल र घरदैलोसम्म जाने काम भइरहेको छ ।

    मैले एउटा उम्मेदवारकोरुपमा अहिले राम्रो प्रतिक्रिया पाएको छु । किनभने मैले ०७४ देखि पाँच वर्षसम्म जनप्रतिनिधिकोरुपमा काम गरिरहँदा विकास निर्माणको क्षेत्रमा के–के काम भयो भनेर यहाँका जनताले छर्लङ्गसँग बुझेका छन्, अनुभूत गरेका छन्,’ गौतमले भने, ‘त्यसमाथि अहिलेको जुन गठबन्धन छ, त्यसमा तालमेल मिलेको छैन, सिद्धान्त मिलेको छैन । नेताले गठबन्धन गर्दैमा मतदाताको बीचमा गठबन्धन हुदैन ।’

    उनले मतदाताले भने आफुसँग गठबन्धन गरेको दाबी गरे ।

    गौतमले संमृद्ध संखुवासभा निर्माणलाई प्रमुख चुनावी मुद्धा बनाएर अघि बढेको दाबी गरेका छन् । ‘हामीले गएको पाँच वर्षमा जे काम थालेका छौँ, त्यसको निरन्तरण र पूर्णता नै अहिले मेरो चुनावी प्राथमिकताहरू हुन्,’ उनले भने, ‘यसपटक विगतमा मैले थालेका योजनाको समापनकै लागि मैले जित्ने हो ।’

  • बैंकविरुद्धको आन्दोलन चुनावसम्म स्थगित

    बैंकविरुद्धको आन्दोलन चुनावसम्म स्थगित

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशका विभिन्न स्थानमा भइरहेको बैंकविरुद्धको आन्दोलन रोक्न आह्वान गरेको छ । अहिले देशभरका जिल्लारनगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुले विभिन्न माग राख्दै बैंकविरुद्ध आन्दोलन गरिरहेका छन् । यी मागमा ऐक्यबद्धता जनाउँदै महासंघले निर्वाचनसम्म सबै आन्दोलनका कार्यक्रम रोक्न आह्वान गरेको हो ।

    तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक समक्ष माग गरेको छ । बजारको न्यून मागका कारण व्यापार–व्यवसाय प्रभावित भइरहेका बेला बढेको ब्याजदर र यही कात्तिकदेखि केन्द्रीय बैंकले लागु गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको समेत महासंघको भनाइ छ ।

    तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्लारनगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यबद्धता पनि जाहेर गरेको समेत महासंघले जनाएको छ । तर आगामी ४ मंसिरमा प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गइरहेको र लोकतान्त्रिक व्यवस्था एवम् खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको महासंघले उल्लेख गरेको छ ।

    सोहीकारण हाल सञ्चालित विरोधका कार्यक्रम स्थगित गर्न महासंघ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ । साथै निर्वाचन सफल पार्न आ(आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन पनि महासंघले आग्रह गरेको छ ।

    ‘निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसँग सम्वादमा रहने छ’, महासंघले भनेको छ, ‘वार्ता एवं सम्वादका माध्यमबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुनेमा महासंघ विश्वस्त छ ।’ निर्वाचन पछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

  • पत्रकार तथा लेखक अधिकारी मृत फेला

    पत्रकार तथा लेखक अधिकारी मृत फेला

    काठमाडौं । पत्रकार तथा लेखक सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत भेटिएका छन् । अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोरालाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एसएसपी बोहोराका अनुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए। उनी घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन्। निवेदन परेपछि प्रहरीले उनको मोबाइल ट्र्याक गरेको बताइएको छ ।

    ट्र्याक गर्दा सुन्धाराको एक होटलमा देखिएको थियो । त्यहाँ गएर जाँच गर्दा होटलमा उनले नाम इन्ट्री गरेको र उनकी श्रीमती र प्रहरी गएर कोठामा जाँच गर्दा अधिकारी झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ । उनले कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ जस्ता सञ्चारमाध्यममा काम गरेका छन् । उनका धम्बोजी, नोरा, जासुसीको जाल चक्रव्यूहमा चन्द्रसूर्य किताब प्रकाशित भएका छन् ।

  • बसुन्धरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

    बसुन्धरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको बसुन्धरा सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्‍यु भएको छ । बुधबार नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा कालिका ९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका ५ वर्षीय कल्पना राना मगर छन् । प्रहरीले ना. ८ ख १८४१ को ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

  • सिन्धुपाल्चोक २ मा गठबन्धनको साथले कांग्रेस नेता बस्नेतलाई जित्न सहज

    सिन्धुपाल्चोक २ मा गठबन्धनको साथले कांग्रेस नेता बस्नेतलाई जित्न सहज

    काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक २ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता मोहनबहादुर बस्नेतको चर्चा बढेको छ । कांग्रेसको आफ्नै प्रभाव क्षेत्र, सत्ता गठबन्धनको साथ, एमालेको विभाजन, बस्नेतको विकासवादी नेताको परिचयले एमालेका तामाङ भन्दा बस्नेतलाई सहजता देखिएको हो ।

    केन्द्रीय राजनीतिभन्दा दुवैको भूगोलसँगको साइनो बढी देखिन्छ । तर यस्तो प्रतिस्पर्धामा पनि बस्नेत अब्बल देखिएका छन् । पटकपटक मन्त्री हुँदा पनि काम गर्न नसकेको भनेर तामाङको आलोचना हुँदा बस्नेत भने मन्त्री हुँदा र नहुँदा पनि गरेको कामबाट चर्चित छन् । मन्त्री र सांसद नै नहुँदा पनि नागरिकसँग जोडिएर सहयोग गर्ने नेताको छवि बस्नेतको छ ।केन्द्रमा शेरबहादुर देउवा पक्षका बस्नेतको प्रभाव र पहुँच पनि उत्तिकै राम्रो छ । यही पहँचको आधारमा बस्नेतले जिल्लामा राम्रा योजना पार्ने र आफूलाई विकासवादी नेताको रुपमा परिचित गराउन सफल भएका छन् ।तर पहुँचमा भएर पनि काम नगर्ने नेताको छवि तामाङले बनाएका छन् ।

    अघिल्लो निर्वाचनको परिणाम

    २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक २ बाट एमालेका शेरबहादुर तामाङ विजयी भएका थिए । माओवादीसँग मिलेर चुनाव लड्दा तामाङ ८०३२ मतान्तरले विजयी भएका थिए । तर कांग्रेसले आफ्नो उम्मेदवार अघि नसारी राप्रपाका पशुपतिशमशेर राणालाई समर्थन गरेको थियो । तर पनि माओवादीको पनि प्रभाव रहेको सिन्धुपाल्चोकमा तामाङले ३८ हजार ४०१ र राणाले ३० हजार ६६९ मत प्राप्त गरेका थिए ।
    यसपटक माओवादी कांग्रेससँगको गठबन्धनमा छ । गठबन्धन हुँदा अघिल्लोपटक सिन्धुपाल्चोक १ माओवादीको भागमा पर्दा २ बाट कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेत उम्मेदवार बनेका छन् । बस्नेत २०७४ सालमा १ बाट प्रतिनिधिसभामा अग्नीप्रसाद सापकोटासँग पराजित हुन पुगेका थिए । तर यसपटक क्षेत्र छोडेर बस्नेत सिन्धुपाल्चोक २ बाट प्रतिस्पर्धामा उत्रिएका हुन् ।

    के छ स्थानीय तहको मतको अवस्था ?

    ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोक २ भरका वडाध्यक्षतर्फ एमालेले ३१ हजार सात सय ७६, कांग्रेसले २९ हजार ३०२, माओवादीले १६ हजार ७९, राप्रापाले ५९३२ र नेकपा एसले १६३३ मत ल्याएका थिए । यसरी हेर्दा स्थानीय तहमा सत्ता गठबन्धनको मत ४७ हजार ४४ छ । गठबन्धन भन्दा एमाले १५ हजार २६८ मतान्तरले पछाडि छ ।

    गठबन्धनको साथले बस्नेतलाई जित्न सहज

    कांग्रेसको राम्रो मत रहेको क्षेत्रमा माओवादीकोसमेत साथ हुने भएपछि यसपटक बस्नेतलाई चुनाव जित्न सहज देखिएको छ । अझै एमाले विभाजनको असरको फाइदा पनि कांग्रेस उम्मेदवार बस्नेतले उठाउने देखिन्छ ।
    बस्नेतको क्षेत्र रहेका पालिकामा कांग्रेसले दुई क्षेत्र जितेको थियो । चौतारा साँगाचोकगढी माओवादीले जितेको छ । कांग्रेसले जितेका दुई तह क्षेत्र नम्बर २ मा नै पर्छन् । माओवादीले जितेको चौताराका आधा भाग क्षेत्र नम्बर २ मा पर्छन् । एमालेले पनि दुईवटा पालिका जितेको छ । यसैले गठबन्धनको मतमा १५ हजारले अग्रता लिएपछि यसपटक बस्नेतलाई नयाँ क्षेत्र भए पनि चुनाव जित्न सहज हुने देखिन्छ ।

    एजेण्डा र काममा बस्नेत अगाडि तामाङ पछाडि

    खरो स्वभावका नेता बस्नेत नागरिकका अप्ठ्यारालाई तत्काल समाधान दिने नेताका रुपमा परिचित छिन् । कोभिडको परीक्षण, समयमै मास्क, स्यानिटाइर बाँडने काम नागरिक स्तरमै गरेपछि सिन्धुपाल्चोकभर मात्रै होइन देशैभर बस्नेतको चर्चा भएको थियो । असार २०७८ मा मेलम्चीमा बाढी आउँदा तत्कालै व्यक्तिगत तहबाट पीडितलाई राहत र नगदसमेत बाँडेर बस्नेतले परेको बेलामा काम गर्ने नेताको परिचय बनाएका छन् ।
    यति मात्रै होइन बाढीपछिका विस्थापितका ५० बढी बालबाच्चलालाई काठमाडौंको लोएला सेकेण्डरी स्कुलमा निशुल्क पढ्ने व्यवस्था बस्नेतले गरेका छन् । बाढीमा मेलम्चीको रातो पुल बन्ने नबन्ने टुंगो नलाग्दै हेलम्बुमा बस्नेतकै पहलमा बेलिब्रिज बनेको छ । गृहमन्त्री बालकृष्ण खाँडलाई लगेर उद्घाटन गर्दै बस्नेतले पुल बनाउने काम सुरु गरेका थिए । मेलम्चीमा क्षेत्रीय अस्पताल बनाउन पनि बस्नेतले सहयोग गरेका छन् । परेको बेलामा सहयोग गर्ने र चुनाव नजित्दा पनि आफूलाई रुचाउनेको संख्या अत्याधिक भएको बस्नेत बताउँछन् । ‘अहिले मात्रै होइन पहिले नै यसले जित्न सक्छ भनेर यो क्षेत्रमा मेरो माग थियो । योपटक पनि पार्टीले मलाई जित्छ भनेर यो क्षेत्रमा पठाएका हुन् । गठबन्धन हुँदा पनि म यो क्षेत्रमा आउनुपर्यो । ४८ सालदेखि यो क्षेत्रमा माग थियो । अहिले म उम्मेदवार भएपछि धेरै नागरिक र मतदाता खुशी छन्’ बस्नेत भन्छन्, ‘मैंले लामो समयदेखि जिल्लाको बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरणमा रचनात्मक काम गरेको छु । प्राकृतिक विपत्तिमा मैंले गरेको कामबाटसमेत नागरिक खुसी र सन्तुष्ट छन् ।’
    आफ्नो कामबाट नागरिकमा उत्साह देखिएको भन्दै उनले एमाले र राप्रपाकै कार्यकर्ताले पनि भोट हालेर जिताउने बताए ।’
    ‘म यता उम्मेदवार भएर आएपछि एमाले र राप्रपाका नेता कार्यकर्ता पनि खुशी भएका छन् । भोट हालेर तपाईंलाई नै जिताउने हो भनिरहेका छन्’ बस्नेत भन्छन्, ‘प्रदेशमा माओवादीका प्रभावशाली र जनतासँग नजिक रहेर काम गरिरहनुभएका युवराजजी उम्मेदवार हुनुहुन्छ । अर्को प्रदेशसभामा कांग्रेसकै युवा नेतालाई उम्मेदवारको रुपमा अघि सारिएको छ । गठबन्धनको शक्ति र एमाले र राप्रपाको तानातानमा म सजिलै यसपटकको चुनाव धेरै मत ल्याएर जित्छु भन्नेमा ढुक्क छु ।’

    माओवादीसँगको तालमेलमा उनले यसपटक क्षेत्र फेनुपरेको छ । तर उनले पूरै जिल्लालाई लक्षित गर्दै परोपकारी काम गर्दै आएका छन् । विपक्षीले टुरिस्ट उम्मेदवार भने पनि उनले आफ्नो कर्मले जनतालाई प्रभाव पार्ने दाबी गर्दै आएका छन् । कुनै समय माओवादीका कटु आलोचक भए पनि मिलेर चुनाव लड्न उनी आफैंले अहिले वातावरण बनाइरहेका छन् ।

    बस्नेतको प्रदेशमा माओवादी र कांग्रेसका एकएक उम्मेदवार छन् । प्रदेश १ मा माओवादीका चर्चित अनुहार युवराज दुलाल उम्मेदवार छन् । कांग्रेसको तर्फबाट कृष्णकुमार तामाङ समीर प्रदेशसभा २ मा उम्मेदवार छन् । तामाङ बाहुल्यता भएको क्षेत्र हुनाले कांग्रेसले २९ वर्षका युवा उम्मेदवार अघि सारेको छ । यसैले युवा उम्मेदवार अघि सारेर बस्नेतलाई आफूलाई फरक नेता देखाएका छन् । अघिल्लोपटक एमाले र माओवादीको गठबन्धन हुँदा पनि एक प्रदेशसभा कांग्रेसले जितेको थियो ।
    यता बस्नेतका प्रतिस्पर्धी शेरबहादुर तामाङ प्रायः सधैं उम्मेदवार बन्ने, जित्ने र केही नगर्ने नेताको रुपमा परिचित छन् । तर उनी यसलाई नकार्छन् । भौतिक पूर्वाधारमा विकास र शतप्रतिशत विद्युतीकरण गरिएको दाबी उनी गर्छन् ।
    ‘जिल्लाभर शतप्रतिशत विद्युतीकरण भएको छ ।खानेपानी पनि शतप्रतिशत हुने क्रममा छ । शिक्षा र स्वास्थ्यमा पनि काम भएका छन् । बाटोघाटोको विकास पनि उत्तिकै भएको छ । हामीले बिजुली छुटको लागि काम गरिरहेका छौं’ तामाङ भन्छन्, ‘स्थानीय उत्पादनको बजार र कोदोको रक्सीको अन्तर्राष्ट्रिय ब्राण्डिङ, कृषिमा आधारिकत उद्यमशीलतासहितका विषयमा काम गर्ने मेरा एजेण्डा छन् । सुनकोशीमा हाइड्रोपावर, मेलम्ची पीडितका लागि काम गर्ने पनि मेरो प्रमुख एजेण्डामा छ ।’

    आफ्नोविरुद्ध गठबन्धन भए पनि को उम्मेदवार छन् भनेर नहेरेको उनी बताउँछन् ।
    ‘मेरो विरुद्ध गठबन्धन छ थाहा छ । सक्ने भए एक्लै भिड्न आउँथे । एमालेको शक्ति देखेरै गठबन्धन गरेका हुन्’ उनी भन्छन्, ‘यसैले गठबन्धन छ र प्रतिस्पर्धी को छन् भनेर हेर्दिनँ । एमालेले गरेका कामका आधारमा एकल बहुमत दिनुस् भनेर मतदातासमक्ष गएको छु । आफू ठीक भएपछि प्रतिस्पर्धी नराम्रा छन् भनेर देखाउनै पर्दैन । अर्कालाई होचो देखाएर आफू अग्लो हुनु छैन मलाई ।’ देशभर राप्रपासँग एमालेले तालमेल गरेको भन्दै सिन्धुपाल्चोकमा पनि राप्रपाको सहयोग मिल्ने बताए ।

    उनी २०६४ मा उम्मेदवार बन्दा सय मतले पराजित भएका थिए । २०७० र २०७४ मा माओवादीको सहयोगमा चुनाव जिते । ३० वर्षसम्म चुनाव लडेर दुईपटक जिते पनि जित्दा काम गर्न नसकेको आरोप उनीमाथि छ । आफू पटकपटक उम्मेदवार बन्ने तर पार्टीमा अरुलाई अवसर नदिने नेताको रुपमा उनी परिचित छन् । आफूमात्रै अघि सर्ने तर नेता उत्पादन गर्ने र अरुलाई अवसर नदिएको भन्दै एमालेकै नेताहरू उनीसँग आक्रोशित छन् । २०७४ मा माओवादीको साथमा चुनाव जितेर स्वास्थ्य र कानुनमन्त्री भए पनि उनले कुनै प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना हुनेगर्छ । बरु मन्त्री हँदा सम्वेदनशील विषयमा हचुवामा टिप्पणी गर्दा उनको मन्त्री पद नै गएको थियो । बंगलादेशमा पढ्ने छात्राहरूबारे तामाङले दिएको अभिव्यक्ति विवादमा परेको थियो ।

    यतिमात्रै होइन कुनै व्यवहारिक भन्दा गाँजा र रक्सीको मात्रै कुरा गर्छन् भनेर पनि तामाङ आलोचित हुँदै आएका छन् । स्वास्थ्य र कानुनमन्त्री भन्दा पनि कुनै देखिने गरी काम गर्न नसकेको आरोप उनीमाथि लाग्ने गरेको छ । हेलम्बुमा पुल बनाउन खोज्दा बन्दैन भनेर तामाङले बस्नेतको प्रयासको आलोचना गरेका थिए । तर मेलम्चीमा पुल बनाउन कुनै अग्रसरता देखाएनन । यसले पनि उनको कमजोरी देखाउँछ । हेलम्बुमा पुल बन्दैन भनेर उनले भाषण गरे पनि बस्नेतले सक्रियता देखाएर पुल बनाउन सहजीकरण गरेका थिए ।
    यतिमात्रै होइन एमाले विभाजनको बेला तामाङले दोहोरो चरित्र देखाएको आरोप छ । पहिले माधव नेपाललाई साथ दिने घोषणा गरेका उनी पार्टीमा अवसर दिने भएपछि ओलीतिर लागेका थिए । यसैले माधव नेपाल पक्षका नेताको सद्भाव र सान्त्वनाको एक भोट पनि उनलाई जाने अवस्था नभएको उनको क्षेत्रमा नभएको एक नेता बताउँछन् ।

    प्रदेशसभा तर्फको टिकट एमालेकै सक्रिय नेतालाई नदिई तामाङले माओवादीबाट आएकालाई दिएपछि एमालेकै नेताहरू रिसाएका छन् । बस्नेतले मेलम्चीको बाढीपछि राहत र विकासलाई मुख्य एजेण्डा बनाएका छन् । २५ वटा बाटो कालोपत्र गर्ने, पर्यटकीय क्षेत्र विस्तार गरेर यो क्षेत्रलाई परिरिचत बनाउने उनको एजेण्डा छ ।

    तामाङले पनि मेलम्ची बाढी पीडितकै विषयलाई पहिलो प्राथमिकतमा राखेका छन् । तामाङले पनि पूर्वाधारको विकास, पर्यटन क्षेत्रको विस्तार, मेचम्चीको बाढीपछि सहयोग, उद्यमशीलता जस्ता पक्षलाई प्राथमिकतामा राखेका छन् ।राप्रपा, राप्रपा नेपाल, नेमकिपासहित केही स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । राप्रपाको सहयोग आफूलाई पुग्ने दाबी शेरबहादुर तामाङको छ ।

  • धनकुटामा त्रिपक्षीय प्रतिस्पर्धा : सुनील र राजेन्द्रलाई हेमराजको चुनौती

    धनकुटामा त्रिपक्षीय प्रतिस्पर्धा : सुनील र राजेन्द्रलाई हेमराजको चुनौती


    काठमाडौं । धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि नौ जना चुनावी मैदानमा छन् । तर, मुख्य तीन उम्मेदवारको प्रतिस्पर्धा भने रोचक बनेको छ । कांग्रेस नेतृत्वको गठबन्धनबाट सुनिलबहादुर थापा उम्मेदवार छन् ।

    एमाले नेतृत्वको गठबन्धनबाट राजेन्द्र राई मैदानमा छन् । अघिल्लो निर्वाचनमा राई थापालाई पराजित गर्दै निर्वाचित भएका थिए । त्यसबेला कांग्रेस एक्लै मैदानमा थियो । राईलाई माओवादीको साथ थियो । तर, यसपटक परिस्थिति बग्लै बनेको छ ।

    थापा पहिलेभन्दा निकै बलियो बनेका छन् । पहिलो त जिल्लामा पहिलेभन्दा कांग्रेसको जनाधार बढेको छ । दोस्रो माओवादी र एकीकृत सभाजवादीको साथ । एमालेका राई पहिलेभन्दा कमजोर बनेको अवस्था छ । एमाले विभाजनका कारण पनि राईलाई चुनाव त्यति सहज देखिदैन ।

    तर, दुवैलाई स्वतन्त्र उम्मेदवार हेमराज भण्डारी भारी परेका छन् । नेकपा माओवादी केन्द्रको पोलिट ब्युरो सदस्यसमेत रहेका भण्डारी टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका हुन् । भण्डारीले कसको धेरै मत काट्छन् भन्ने चासो छ, यतिबेला । उनले आफूले जित्ने दाबीसहित मत मागिरहेका छन् ।

    धनकुटाको अर्को प्रभावी शक्ति हो, जनता समाजवादी पार्टी (जसपा) । तर, जसपाले प्रतिनिधिसभा सदस्यकामा उम्मेदवारी दिएको छैन । जसपाका कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ प्रदेशसभा सदस्यका उम्मेदवार छन् ।

    तर, दुवै प्रदेशमा एमालेले उम्मेदवारी दिएका कारण जसपा र एमाले तालमेल पनि बलियो छैन । नेताहरू जसपाको भूमिकालाई समेत निर्णायक भनिरहेका छन् ।

    एकातिर एमालेका राईलाई सत्ता–गठबन्धनको बलियो चुनौति छ । थापालाई माओवादी केन्द्रका कार्यकर्ताको डर छ । गठबन्धन भइसकेपछि त्यसको इमान्दारीपुर्वक कार्यान्वयन हुने भन्दै थापा मत मागिरहेका छन् । पटक–पटक घरदैलो गरेर मतदाता रिझाउने प्रयास गरेका छन् ।

    तर, भण्डारीको विद्रोहमा कार्यकर्ताको साथ हुन सक्ने भयले भने उनलाई सताएको छ । गठबन्धनको ८० प्रतिशत मत नै थापाका लागि जित्न पर्याप्त देखिन्छ । त्यसैले अरु भन्दा थापा ‘सेफ जोन’मा छन् । २०७४ सालमा राईले ३७ हजार ३ सय ३३ मत ल्याएका थिए । थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरेका थिए ।

    धनकुटामा सात पालिका छन् । ०७४ मा एमालेले सबै पालिकामा क्लिन स्वीप गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभामा पनि वाम गठबन्धनले जितेको थियो । तर, यसपटक माहोल उल्टिएको छ । एमालेले तीन वटा पालिकामा मात्रै जित्न सकेको छ । गत स्थानीय निर्वाचनमा वडाध्यक्षको मत हेर्दा एमालेले ३६ हजार ३३६ मत पाएको छ ।

    कांग्रेसले २८ हजार १८२, माओवादीले ५ हजार ४५८, जसपाले २ हजार २९३, नेकपा एकीकृत समाजवादीले १ हजार ७२८ र राप्रपाले ३०४ मत ल्याएका थिए । यसपटक सहज जित निकाल्ने नेता थापाले बताए । उनले आफ्ना बाबु सूर्यबहादुर थापाले प्रधानमन्त्री हुँदा गरेको कामलाई चुनावी मुद्धा बनाएका छन् । उनी आफैले पनि जिल्लाको विकासमा ठूलो योगदान गरेका छन् ।

    धनकुटामा थापाको पार्टीभन्दा व्यक्तिगत भोट धेरै भएको चिया पसलमा गफ सुन्न सकिन्छ । ‘मैले बुवाले गरेको कामको श्रेय मात्रै खोजेको छैन । मसँग धनकुटालाई संमृद्ध बनाउने एजेन्डा छन् । त्यसकालागि केन्द्रीय नेतृत्वमा पहुँच पनि छ,’ थापाले भने, ‘यसपटक राष्ट्रियरुपमा बनेको गठबन्धन र देशभरिको माहोलका कारण पनि मैले चुनाव जित्छु । धनकुटाको विकास र संमृद्धिकालागि आफ्नो उम्मेदवारी रहेकाले जित निश्चित रहेको उनले दाबी गरे ।

    एमाले उम्मेदवार राईले पनि आफ्नो जितलाई कसैले रोक्न नसक्ने बताए । ‘मैले जनतलााई भगवान मानेको छु, त्यहीअनुसार काम गरेको छु । मैले उहाँहरूको आशीर्वाद लिएर नै चुनावमा होमिएको छु,’ उनले भने, ‘केन्द्रमा नेताबीच गठबन्धन हुँदैमा यहाँ चुनाव जितिहाल्ने भन्ने हुदैन ।’ धनकुटामा १ लाख १६ हजार ९९१ जना मतदाता छन् ।

  • तीव्र गतिमा सवारी चलाए अब १ घण्टा अनिवार्य कक्षा लिनुपर्ने

    तीव्र गतिमा सवारी चलाए अब १ घण्टा अनिवार्य कक्षा लिनुपर्ने

    काठमाडौं । के तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ ? चलाउने भए होसियार ! एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ ।

    यसअघि मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने र लेन अनुशासन उलङ्घन गर्ने तथा सडक बत्तीको पालना नगर्ने चालकलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गर्दै आएको कार्यालयले आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई अनिवार्य कक्षा सञ्चालन गर्न लागेको हो ।

    कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भई मानवीय क्षति भएको भन्दै दुर्घटनालाई न्यूनीकरण गर्नका लागि जरिवनासहित सचेतना कक्षाको व्यवस्था सुरु गर्न लागिएको जानकारी दिए ।

    उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तीव्र गतिका कारण ३ हजार ५४३ र चालु आवको तीन महिनामा तीव्र गतिका कारण ६४९ दुर्घटना भएको छ । आव २०७८/७९ मा १८ हजार ४४७ र चालु आवको तीन महिनामा ८ हजार ५८४ तीव्र गतिमा चलाउने चालकलाई कारबाही गरे पनि सवारी चालकमा सचेतना कमी भएको भन्दै कक्षा सञ्चालन गर्न लागिएको प्रवक्ता भट्टले बताए ।

  • मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाइने, कुन-कुन कागजातले पाइन्छ ?

    मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाइने, कुन-कुन कागजातले पाइन्छ ?

    काठमाडौं । थपिएका नयाँ मतदाताहरूले आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि मतदाता परिचयपत्र नपाउने भएका छन्। केही प्राविधिक कारणले यसपालि मतदाता परिचयपत्र नदिने निर्णय गरिएको आयोगले जनाएको छ । तर परिचयपत्र नपाएका र पहिला पाइसकेर पनि हराएको वा च्यातिएको खण्डमा परिचय खुलाउने सरकारी कागजातका आधारमा मतदान गर्न दिने तयारी गरिएको छ । आयोगका अनुसार मङ्सिर ४ गते हुने चुनावका लागि करिब एक करोड ८० लाख व्यक्ति मतदान गर्न योग्य छन्।

    तीमध्ये करिब साढे दुई लाख मतदाता नयाँ छन् । तर यसपालि नयाँ मतदाताहरूलाई मतदाता परिचयपत्र वितरण गर्ने कार्यक्रम छैन । परिचयपत्र नपाउने थपिएका मतदातासँगै पुरानो परिचयपत्र हराएका वा च्यातिएका अवस्थामा त्यस्ता मतदाताले पहिचान खुलाउने अन्य सरकारी कागजात देखाएर मतदान गर्न दिने आयोगले मङ्गलवार निर्णय गरेको छ।

    मौजुदा परिचयपत्रबाहेक अन्य सरकारी कागजातहरू नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा अथवा सवारीचालक अनुमतिपत्रका आधारमा समेत मत हाल्न पाउने छन्। तर त्यसका लागि मतदाता नामावलीमा नाम हुन जरुरी रहेको आयोगको भनाइ छ।

  • प्युठानमा जिप दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    प्युठानमा जिप दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    प्युठान । प्युठानमा भएको जिप दुर्घटना परी कम्तिमा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिएका छन् ।

    प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

    प्रहरी निरीक्षक थापामगरका अनुसार दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका–५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षीया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् ।

    चालक प्युठान नगरपालिका– ९ का २३ वर्षीय बिनोद के.एम. सामान्य घाइते रहेका छन् । गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ भने घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमै उपचार भैरहेको छ ।
    जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

  • डोटी भूकम्पमा मृत्यु हुनेको संख्या ६ पुग्यो

    डोटी भूकम्पमा मृत्यु हुनेको संख्या ६ पुग्यो

    काठमाडौं । पश्चिम नोपलको अधिकांश भूभाग मंगलबार रातभर भूकम्पको त्रासमा रह्यो । डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको पुष्टी भएको छ । ५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको भैरवनाथ गण डोटी लगायतको टोली खटिएको छ ।

    स्थानीयका अनुसार पुराना कच्ची घरहरु भत्किएका छन् । राति सुतेको समयमा भूकम्प गएकाले मानिसहरु घरभित्रै च्यापिएका थिए । भूकम्पबाट जोगिएकाहरुले चिसो रात खुला आकाशमुनि बिताएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । राति ९ बजेर ७ मिनेटमा पनि दिपायल केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि पटक–पटक झट्का महसुस भएको थियो ।

    भूकम्पको झट्का बझाङ, कैलाली, कञ्चनपुर, बाँके, रुकुम पश्चिममा समेत महसुस भएको थियो । भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिएका छन् ।

    गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार एकै घरका ३ सहित ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।