Category: समाचार

  • हाइकु कृति ‘सोली डोली’ क्यालीफोर्नियामा लोकार्पण, साहित्यकार भट्टलाई सम्मान

    हाइकु कृति ‘सोली डोली’ क्यालीफोर्नियामा लोकार्पण, साहित्यकार भट्टलाई सम्मान

    सान्फ्रान्सिस्को । साहित्यकार सुरेशकुमार भट्टको कृति सोली डोली क्यालिफोर्नियाको सान्फ्रान्सिस्कोमा लोकार्पण गरिएको छ। भट्टले हाइकुमा रचना गरेको यो लोकवेद हालै प्रकाशनमा आएको हो। यो सोली डोलीमा साँढे तीन हजार हाइकु छन्।

    लायन्स क्लव अफ बर्कली लाली गुराँस, विकल्प फाउन्डेसन, समुन्द्रपारिका मन र यशोभानु साहित्य संगीत प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार भट्टले समाजकै विषयवस्तुलाई आफ्नो रचनामा समेटेको बताए। उहाँले कर्खा, उखानटुक्का र गाथामा पनि हाइकु मिल्ने भएकोले यसलाई जापानी शैली मात्रै हो भनेर बुझ्न उपयुक्त नहुने बताए। पाठकलाई विषयवस्तु अनुसारको अध्ययनमा सजिलो होस् भन्ने उद्देश्यले पर्वमा विभक्त गरिएर रचना प्रकाशित समेत उनले जानकारी दिए।

    नेपाली साहित्यमा पहिलो पटक शंकर लामिछानेले पारिजातद्वारा लिखित शिरिषको फूलको भूमिका लेख्दा हाइकु प्रयोग स्मरण गर्दै भट्टले आफूलाई लोकसाहित्यमा रुचि भएको र हाईकु पनि लोकसाहित्यसँग मिल्ने भएकोले यसमा सकृयता देखाएको उल्लेख गरे ।

    सोली डोली कृतिमाथी टिप्पणी गर्दै युनिभर्सिटी अफ क्यालिफोर्नियाका एशोसियट प्रोफेसर डा टिका लम्सालले हाइकुलाई नेपालको सामाजिक परिवेशमा प्रयोग गरेर समाजका विषयलाई पुस्तकाकार गर्नु कठिन काम भएको बताए। अहिले हामीले रचना पढन सजिलो छ तर ‘यो अरुको विधालाई हाम्रो शैलीमा ढालेर लेख्न पक्कै सजिलो थिएन, जुन काम साहित्यकार भट्टले गरिदिनु भएको छ’, डा लम्सालले भने। पुस्तकलाई विभिन्न पर्वमा विभाजन गरेकोले पाठकलाई छनौटमा सजिलो भएको र यसमा समावेश विषयवस्तु समेत बुझ्न कठिन नभएकोले सोली डोली सबै खालका पाठकका लागि उपयुक्त रहेको पनि उनले बताए।

    वर्तमान नेपालको समाज र आप्रवासी नेपालीहरु रहेको अमेरिकाका सहरहरुसम्मका विषयहरु यो पुस्तकका समेटिएको उनको भनाइ थियो ।

    कार्यक्रममा साहित्यकार भट्टलाई न्यान्सका अध्यक्ष प्रितेस कार्की, लायन्स क्लव अफ बर्कली लाली गुराँसका राजेन थापा, साहित्यकार रितादेवी प्रधान, विकल्प फाउन्डेसनका अध्यक्ष निर्मल फूयाँल, यशोभानु साहित्य संगीत प्रतिष्ठानका सस्थापक नारायण भट्टराईलगायतले सम्मान गरेका थिए। 

  • मतगणना नसकिँदै सभा-जुलुस गरे २५ हजार जरिवाना

    मतगणना नसकिँदै सभा-जुलुस गरे २५ हजार जरिवाना

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको जनाएको छ।

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनको व्यवस्थापकीय लगाएत सुरक्षाका सबै तयारी पूरा भएको जनाएको हो। निर्वाचनका लागि बिहीबार राती १२ बजेदेखि मौन अवधि सुरु हुने र चूनावी प्रचार गर्न नपाइने आयोगले जानकारी दिएको छ। पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न नपाईने, प्रचार प्रसार गर्न नपाइने बताए।

    मतगणनाको काम नभएसम्म सभा, जुलुस लगायतका प्रचार प्रसारको काम गरे २५ हजारसम्मको जरिवाना गर्ने उनले बताए। निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्न सक्ने थपलियाले जानकारी दिए। उनले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायत कुनै पनि निर्वाचन विरोधी कामलाइ रोक्नका लागि आवश्यक सुरक्षा तयारी गरिएको बताए।

    निर्वाचनमा मतदाताभन्दा बढी मत नहुने भन्दै थपलियाले अस्वाभाविक मत खसेको पाइए पुनः निर्वाचन गराउने स्पष्ट पारे। त्यस्तै थपलियाले मतपेटिका संकलनपछि मतगणना सुरु गर्ने र मंसिरको २२ गतेसम्म अन्तिम नजिता लिएर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी रहेको धारणा राखे।

    आयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरुले पर्यवेक्षण गर्ने जनाएको छ। मंसिर चार गते हुने निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको र प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको आयोगले जनाएको छ।

  • सरकारले जबरजस्ती हटाउन खोजेपछि सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोबासीद्वारा प्रदर्शन

    सरकारले जबरजस्ती हटाउन खोजेपछि सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोबासीद्वारा प्रदर्शन

    काठमाडौं । सरकारले आफूहरुलाई जवरजस्ती हटाउन पटक–पटक सूचना प्रकाशित गरी दबाब सृजना गरेको भन्दै भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलगायतले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल सुकुम्वासी व्यवस्थापन संघलगायत दर्जन बढी संघसंगठनहरुको अगुवाइमा माइतिघरदेखि बानेश्वरसम्म खबरदारी र्‍याली निकालेका हुन् ।

    आफूहरुलाई प्रमाणित हुने समय समेत नदिइ अल्टिमेटम दिएको, बसोबासको ग्यारेन्टी नगरिएको र आफूहरुको बाँच्ने अधिकार खोस्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । र्‍यालीमा सहभागीहरुले सुकुम्वासीको उचित व्यवस्थापन गर, भूमिहिन एक हौ, हामी न्याय चाहन्छौ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    समितिले केहि दिन अघि सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गर्दै नहटाए बल प्रयोग गरेर हटाउने चेतावनी दिएको थियो ।

  • गठबन्धनको अपिल-‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि स्पष्ट बहुमत दिनुस्’

    गठबन्धनको अपिल-‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि स्पष्ट बहुमत दिनुस्’

    काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारलाई मतदान गरेर जिताउन अपिल गरेको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार संयुक्त अपील जारी गरेका हुन्।

    उनीहरूले संयुक्त अपीलमा भनेका छन्, ‘हाम्रा संकल्प, प्रतिबद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन् । यो गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आ–आफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो । यसले गठवन्धनको भावनामा कुनै चोट पुर्‍याउँदैन,’ अपिलमार्फत् नेताहरूले भनेका छन्, ‘गठवन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरुप राजनीतिक स्थायित्व दिने हो ।’

    सत्तारुढ गठबन्धनको अपिल:

    आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसार तीव्र गतिमा अगाडि बढिरहेकै छ। नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठवन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ताहरु उत्साहित भएर सहभागी हुनु भएबाट गठवन्धनको विजय सुनिश्चित रहेको हामीले महसुस गरेका छौं। यो अभियानलाई निरन्तरता दिंदै आम मतदातालाई मतदानमा सहभागी गराउन पार्टीका साथीहरु एवं शुभेच्छुकहरुमा हार्दिक अपील गर्दछौं।

    देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लंघन गरी दुई दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकार बिरुद्ध २०७८ असारमा यो गठवन्धन बनाउनु परेको विदितै छ। यो गठवन्धनको सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा कायम रहेका कारण स्थानीय निर्वाचन र यो आम निर्वाचनमा समेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएका हुन्।

    झण्डै डेढ वर्षको यो अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरमा निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गराएको छ। मुलुकको विदेश नीतिमा सन्तुलन कायम गरेको छ। नागरिकलाई सत्ताको अधिनायकवादी त्राशबाट मुक्त गर्दै दैनिक जीवन यापनका स्रोत साधनको नियमित आपूर्ति गर्दै आएको छ।

    गठवन्धनका प्राथमिकताहरु अहिले पनि उत्तिकै प्रष्ट छन्। संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारहरुलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ हाम्रा संकल्प, प्रतिवद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन्।

    यो गठवन्धन प्रत्यक्ष निर्वाचन तर्फ भएकाले समानुपातिक तर्फ सबै पार्टीले आ–आफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो । यसले गठवन्धनको भावनामा कुनै चोट पुर्‍याउँदैन। गठवन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरुप राजनीतिक स्थायित्व दिने हो।

    यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरुको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नु परेको छ। यसको अर्थ संविधानको भावना अनुरुप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठवन्धनलाई विजयी गराउनु हो। तसर्थ पाँच वर्षमा हुने यो आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठवन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउनु हुन हार्दिक आह्वान गर्दछौं।

  • जनकपुर-जयनगर रेल सेवा आजबाट चार दिनसम्म बन्द

    जनकपुर-जयनगर रेल सेवा आजबाट चार दिनसम्म बन्द

    काठमाडौं । नेपालको एक मात्र रेल्वे सेवा जनकपुर–जयनगर रेल आजबाट बन्द भएको छ । रेल आगामी चार दिनसम्म बन्द रहने छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन रेल सेवा बन्द हुने भएको छ। मंसिर १ गते बिहीबार देखि मंसिर ४ गतेसम्म रेल सेवा सञ्चालन नहुने केन्द्रीय कार्यालयका प्रबन्ध संचालक निरन्जनकुमार झाले जानकारी दिएका छन् ।

    सोमबारबाट भने नियमित समयमा रेल सञ्चालन हुने कार्यालयले जनाएको छ। कार्यालयले बुधबार एक सूचना जारी गर्दै रेल सञ्चालन बन्द हुनेबारे जानकारी दिएको हो। निर्वाचनका समयमा सीमा नाका बन्द हुन्छ । सोहीकारण रेल समेत सञ्चालन नहुने भएको हो । यो रेल्वे अन्तर देशिय भएका कारण सीमा नाकासँगै रेल्वेसेवा समेत रोकिएको हो ।

  • चुनावको दिन बिहान ४ बजेबाटै सवारी साधन चलाउन रोक

    चुनावको दिन बिहान ४ बजेबाटै सवारी साधन चलाउन रोक

    काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्‍य निर्वाचनका दिन विहान ४ देखि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउन नपाइने भएको छ । जिल्ला प्रशासन काठमाडौंले बुधबार सूचना जारी गर्दै मंसिर ४ गते बिहान ४ बजेदेखि मतदान भएपछि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधन चलाउन रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘।

    ।मंसिर ४ गते बिहान ४ बजेदेखि मतदान भएपछि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधनहरु बाहेक आन्तरिक रुपमा सबै किसिमका सवारी आवागमनमा रोक लगाइएको छ।’ सूचनाको पलना नगरेमा कानुन बमोजिम कारबाही गरिनेसमेत काठमाडौं प्रशासनले जनाएको छ ।

  • आज रातीबाट निर्वाचनको प्रचार प्रसार गर्न नपाइने

    आज रातीबाट निर्वाचनको प्रचार प्रसार गर्न नपाइने

    काठमाडौं । नेपालमा आज रातीबाट निर्वानको प्रचार प्रसार गर्न नपाइने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुँदैछ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

    यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ । यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन। यसैबीच, निर्वाचनका लागि सुरक्षा रणनीति पनि तयार भइसकेको छ । जसअनुसार अतिसंवेदनशील मतदानस्थलमा हवाई गस्तीको पनि व्यवस्था गरिएको छ ।

  • अन्जन विष्टको गोलमा पाकिस्तानलाई नेपालले हरायो

    अन्जन विष्टको गोलमा पाकिस्तानलाई नेपालले हरायो

    काठमाडौं । अञ्जन विष्टको गोलमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानमाथि जित निकालेको छ । नेपालले दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगालाई सुखद नतिजामा परिणत समेत गरेको छ । नेपाल १–० गोल अन्तरले विजयी भयो । नेपाललाई घरेलु मैदानमा जिताउन अञ्जन विष्टले ८३ औं मिनेटमा गोल गरे । सुनिल बलको पासमा अञ्जनले गोल गरेका हुन् ।

    अञ्जनले गत असोजमा दशरथ रंगशालामै भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए । यो उनको नेपालका लागि ११ औं गोल हो । अञ्जन नेपालका लागि १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्नबाट दुई गोलले मात्र टाढा छन् ।

  • सुनसरीमा ओलीको व्यंग्य-‘गच्छदारलाई जनताले जिताएर के गर्नु, हवल्दारसँग लुकेर हिँड्छन्’

    सुनसरीमा ओलीको व्यंग्य-‘गच्छदारलाई जनताले जिताएर के गर्नु, हवल्दारसँग लुकेर हिँड्छन्’

    काठमाडौं । मंसिर ४ को निर्वाचनमा चासोको क्षेत्र बनेको सुनसरी क्षेत्र नम्बर ३ का कांग्रेस नेता विजयकुमार गच्छदार र एमाले नेतृ भगवती चौधरी पनि अन्य उम्मेदवारहरू जस्तै यतिबेला आफ्ना क्षेत्रका मतदाताहरू माझ पुगेर भोट माग्न व्यस्त छन्।

    तेस्रो पटक गच्छदार र चौधरी चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। २०७४ को निर्वाचनमा झिनो मतले जितेका गच्छदार यो निर्वाचनमा पनि जित हासिल गर्ने दाउमा छन्। भने, अघिल्लो निर्वाचनको हार जितमा बदल्ने कसरतमा चौधरी लागि परेकी छिन्।

    सुनसरीको दुहबीमा नेकपा एमालेले बुधबार चुनावी सभा गरेको छ । सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारमाथि व्यंग्य कसेका छन्।

    सम्बोधन गर्दै ओलीले जनताले जिताएर पठाएको मान्छे लुक्दै हिँड्नु विडम्बना भएको बताए।

    ‘सुनसरी ३ मा एउटा कर्मठ महिलालाई जिताउने कि लुकेर हिँड्नेलाई?’, उनले भने मतदातालाई सोधे, ‘यस जिल्लामा दुई कुराको फैसला गर्नुपर्छ। यस क्षेत्रले कस्तो मान्छे जिताउने?’

    उनले गच्छदारलाई व्यंग्य कस्ने क्रममा जनताले जिताएर माथि पठाएको नेता हवल्दारसँग लुकेर हिँडेको बताए।

    ‘जितेर माथि पठायो मुद्दा लाग्छ। लुकेर हिँड्छ, भागेर हिँड्छ। जनताको प्रतिनिधि जनतामाझ हुनुपर्नेमा लुकेर हिँड्छ, कोसँग लुक्छभन्दा हवल्दारसँग। लोभिने कुरा देखेपछि मन थामिँदैन, बदमासी गर्छ र मुद्दा लाग्छ भागेर हिँड्छ।’

    उनले देशभरी हेर्दा थारु जातिका छोरीले केही गरौँ भन्न खोजे बताउँदै भगवती चौधरीलाई जिताउन आग्रह गरेका छन्।

  • ‘नागरिकताको विषय पहिल्यै समाधान भइसक्यो, कति स्पष्टीकरण दिनू’

    ‘नागरिकताको विषय पहिल्यै समाधान भइसक्यो, कति स्पष्टीकरण दिनू’

    काठमाडौं । चितवन २ बाट प्रतिनिधि सभा उम्मेदवार रवि लामिछानेले आफूविरूद्ध परेको उजुरीबारे स्पष्टीकरण दिएका छन् ।

    प्रतिनिधि सभा सदस्यमा उठेका लामिछानेमाथि रद्ध भइसकेको पुरानो नागरिकताका आधारमा उम्मेदवार भएको भन्दै उजुरी परेको छ । उजुरीकर्ताले उनको उम्मेदवारी खारेज गर्न माग गरेका छन् । लामिछानेले भने आफ्नो नागरिकता सम्बन्धी विवाद समाधान भइसकेको बताएका छन् ।

    ‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकीलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेस र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेसमा, अनि चितवन जिल्ला सरकारी वकील कार्यालय देखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरीकताको बिषय समेतमा विवेचना भई सेटल भईसके पछि फेरी कति पटक स्पस्टीकरण दिनु पर्ने हो ?,’ उनले फेसबुकम लेखेका छन् ।

    उनले त्यसबारे एक भिडियो सन्देशसमेत छाडेका छन् । रविविरुद्ध विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता नत्यागेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो।

    उम्मेदवार लामिछानेविरुद्ध राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी दर्ता गराएका हुन्।

    निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार यसमाथि छानबिन भइरहेको छ।

  • सुनसरी ४ :सञ्चारमन्त्री कार्कीको बढेको आत्मविश्वास

    सुनसरी ४ :सञ्चारमन्त्री कार्कीको बढेको आत्मविश्वास

    काठमाडौं । गृहजिल्ला भोजपुरबाट यसअघिका निर्वाचनमा सफलता हात पार्न नसकेका पूर्वअर्थमन्त्री तथा हाल सञ्चार एवं सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्की अघिल्ल्लो चुनावमा सुनसरीबाट उदाए। तत्कालीन समयमा बाम गठबन्धनलाई तोड्दै कार्की पहिलोपटक जिल्ला परिवर्तन गरि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

    कार्कीले ३२ हजार ३ सय ४७ मत प्राप्त गरी एमालेका स्थानीय नेता रमेश श्रेष्ठलाई पराजित गरेका थिए। कार्कीले प्रतिनिधिसभा सदस्यको लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट यसपटक पनि उम्मेद्वारी दिएका छन्। क्षेत्रमा दोस्रो पटक चुनाव लडेका कार्कीसँग एमालेका उम्मेद्वार जगदिश कुसियतसँग प्रतिस्पर्धा गर्दैछन्।
    सुनसरी क्षेत्र नम्बर ४ मा वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ देखि ११ वडा, इनरुवा नगरपालिका ३, ४ र ८, रामधुनी नगरपालिका वडानम्बर ४, हरिनगर गाउँपालिकाका १ देखि ७ नम्बर वडा तथा भोक्राहा नरसिंह र कोशी गाउँपालिका पर्छन्। जसमध्ये गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो निर्वाचन क्षेत्रमा पर्ने अधिकांश वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो। सोही कारण पनि कार्की उत्साहित छन्। ‘मैले पाँच वर्षमा विकासका धेरै कामसमेत अगाडि बढाएकोले जनता मेरो पक्षमा रहेका छन्,’ कार्कीले भने।
    सत्तारुढ गठबन्धनको मत र एमालेले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाई हेर्दा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कार्कीलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न सहज हुने अनुमान गर्न सकिन्छ। विगतमा बाम गठबन्धनलाई समेत तोडेर चुनाव जितेकाले यसपटक झनै सजिलो चुनाव जित्नेमा कार्की ढुक्क देखिन्छन्।
    स्थानीय जनता र मतदातामाझ चिनिएका उनी दोस्रो पटक निर्वाचित भएर प्रतिनिधिसभामा पुग्ने उद्देश्यसहित चुनावी मैदानमा होमिएका छन्। ‘म क्षेत्रका लागि मात्रै नभएर समग्र मुलुकको विकासमा केन्द्रित हुने मान्छे हुँ, आफ्नो क्षेत्रमा स्वभाविक रुपमा काम गर्ने नै छु,’ कार्कीले भने।
    मुख्य प्रतिस्पर्धी देखिएका एमालेका नेता कार्यकर्ता नै चुनावको मुखमा काँग्रेस प्रवेश गरेपछि मन्त्री कार्की झनै उत्साहित छन्। केही दिनअघि हरिनगरको घुस्कीमा दुई सय ५० जना, भोक्राहा नरसिंहमा नेकपा एमाले जिल्ला सदस्य रमेश यादवसहित ५० जना भन्दा बढी र कोशीमा १ सय भन्दा बढी चुनावी सभा कार्यक्रमबीच नेपाली काँग्रेसमा प्रवेश गरेका थिए।

    एकातर्फ प्रमुख प्रतिस्पर्धी पार्टीका नेता–कार्यकर्ता धमाधम नेपाली काँग्रेसमा प्रवेश गरिरहेको र अर्कातर्फ सत्ता गठबन्धनको बलियो साथ पाउँदा ज्ञानेन्द्र बहादुर कार्की उत्साहित छन्। ‘अहिले हाम्रो पक्षमा निकै राम्रो माहौल बनिरहेको छ, जनताहरू विकास र समृद्धिको पक्षमा देखिएका छन्,’ मन्त्री कार्की भने।
    पाँच वर्षअगाडि जनतासँग गरेका वाचा अधिकांश पूरा गरेको र नयाँ ठूला आयोजना अगाडि सारेकोसमेत कार्की बताउँछन्। जनतालाई झुक्याएर निर्वाचित हुने र गरेका वाचा पूरा नगर्ने काम विगतमा भएको उल्लेख गर्दै आफू सधैँ जनताको पक्षमा रहेको दावी कार्कीको छ।
    सुनसरीका जनताले कार्कीलाई भावी अर्थमन्त्रीको रुपमा समेत हेरेका छन्। प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवासँग नजिक रहेका कार्की अर्थमन्त्री बन्ने आत्मविश्वासका साथ चुनावी दौडमा छन्।

    बाजुरामा बद्री पाण्डेको पल्लाभारी, कर्ण थापालाई भीम रावलको डर

    बाजुरामा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेस सह–महामन्त्री बद्री पाण्डे र एमाले सुदूरपश्चिम सह–इन्चार्ज कर्णबहादुर थापाबीच भिडन्त हुने देखिन्छ । बाजुराको हिमाली गाउँपालिका–४ का पाण्डे र बुढीगंगा नगरपालिका–९ का थापाबीच व्यक्तित्वको पनि टकराब हुने देखिन्छ ।

    दुई नेताबाहेक बाजुरामा राप्रपाबाट जंगकुमार गिरी, जनसमाजवादी पार्टी नेपालबाट रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल उम्मेदवार छन् ।

    पाण्डेको घर प्रदेशसभा १ र थापाको घर प्रदेशसभा २ नम्बरमा पर्छ । विद्यार्थी राजनीतिका समकालीन पाण्डे र थापा दुवै एक अर्कोभन्दा आफूलाई सिनियर ठान्छन् ।

    पाण्डेले कांग्रेसको केन्द्रीय सहमहामन्त्रीको पद र आफ्नो सालिनतालाई चुनावी पुँजी ठानेका छन् । चौथो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका थापा बाजुरामा आफ्नो स्वीकार्यता बढ्ता देख्छन् । पाण्डेले २०४३ मा नेविसंघबाट राजनीति थालेका थिए । २०४७ मा वाल्मिकी क्याम्पसमा इकाई सदस्य र २०४९ मा इकाई सचिवमा निर्वाचित भएका थिए । २०५० मा नेविसंघको बाजुरा जिल्ला अध्यक्ष चुनिएका उनी २०५२ मा वाल्मिकीमै इकाइको अध्यक्ष भए ।

    २०५३ मा वाल्मिकीको स्ववियु र २०५४ मा स्ववियु परिषद्को सभापति बनेका थिए । पाण्डे २०५६ मा नेविसंघको केन्द्रीय सदस्य भए । २०५९ मा नेविसंघको उपाध्यक्ष भएका पाण्डे २०६४ को १० औँ महाधिवेशनमा प्रदीप पौडेलसँग पराजित भए ।

    २०६७ सालमा कांग्रेसको सेती अञ्चलबाट केन्द्रीय सदस्य जिते । २०७२ मा भएको १३ औँ महाधिवेशनमा खुल्लाबाटै केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७० सालको संविधानसभाको चुनावमा उनी समानुपातिक तर्फबाट सांसद भए भने २०७४ उनी राष्ट्रियसभाको सदस्य निर्वाचित भएका थिए ।

    भर्खरैमात्र कांग्रेसले १४ औँ महाधिवेशनबाट पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भए । उनी पहिलो पटक प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव लड्दै छन् ।

    उता एमालेको भ्रातृ संस्था अनेरास्ववियुबाट राजनीति गरेका थापा नेपाल ल क्यापसमा स्ववियु सभापति बनेका थिए । त्यसपछि उनले बाजुराबाट एमालेको जिल्ला राजनीति थाले । थापा बाजुरामा तीन पटक एमाले अध्यक्ष बनेका थिए ।

    त्यसपछि उनी अञ्जल कमिटी, केन्द्रीय कमिटी हुँदै स्थानीय कमिटीको सदस्य बनेका थिए । उनी २०५६ देखि संसदीय राजनीतिको प्रतिस्पर्धामा छन् । बाजुराबाट थापा ०५६, ०६४ र ७० मा चुनाव लडेका थिए । सफलता भने ०७० मात्र मात्र मिल्यो उनलाई । सुशील कोइराला प्रधानमन्त्री हुँदा थापा उद्योगमन्त्री भएका थिए ।

    उनी ०७४ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने ध्येयमा समानुपातिक उम्मेदवार बनेका थिए । समानुपातिकबाट सांसद बन्नबाट वञ्चित भएपछि मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लाग्यो । अहिले उनी बाजुरामा एमालेको विरासत कायम राख्ने कसरत छन् भने कांग्रेसका पाण्डे कमब्याकको तयारीमा ।

    बाजुरामा ०४८, ०५६, ०६४ मा कांग्रेसले जितेको थियो भने ५१ र ०७० र ०७४ एमालेले जितेको थियो । दुई वटा चुनाव लगातार जितेका एमाले पुनः जित निकाल्नेमा आत्मविश्वासी देखिन्छ । उम्मेदवार पाण्डे बिरामी भएपछि कांग्रेसको चुनावी माहोल तातेको छ । उनी बाजुराका गाउँ–गाउँ आक्रमक चुनावी प्रचार गरिहेका छन् ।

    बाजुरामा पस पटक स्थानीय निर्वाचनको परिणाम एमालेको अनुकूल देखिन्छ । ०७४ जिल्लाका ९ मध्ये ६ वटा पालिकामा कांग्रेसले जित हात पारेको थियो । तर यसपटक ९ वटा पालिका मध्ये एमालेले ६ र कांग्रेस ३ जितेको छ ।

    यद्यपि बाजुरामा स्थानीय निर्वाचनताका एमाले र माओवादीबीच केही भएको थियो । त्रिवेणी र बुढीनन्दा नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।

    त्रिवेणी नगरपालिकामा एमालेले प्रमुख र माओवादीले उपप्रमुख पाउने र ९ वटा वडा मध्ये एमालेले ५ र माओवादीले ४ वडामा उम्मेदवारी दिएको थियो । बुढीगंगामा भने सबै दल एक्लाएक्लै चुनाव लडेका थिए ।

    यस्तै पाँचवटा गाउँपालिकामध्ये हिमालीमा पनि ६ वटा वडामध्ये १ वडा माओवादीलाई दिएर एमालेले चुनावी तालमेल गरेको थियो । जगन्नाथ गाउँपालिकामा मात्र कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो । खप्तड छेडेदह गाउँपालिका, स्वामी कार्तिक खापर गाउँपालि, गोमल गाउँपालिकामा पनि दलहरू एक्ला एक्लै लडेका थिए ।

    गोमल गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ६ वटै वडा एमालेले जितेको छ । यहाँ एमालेले ३ हजार ३०३ मत पाएको छ । यहाँ कांग्रेसको १६ सय १३ र माओवादीको ७ मत छ । खप्तड छेडेदह गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस निर्वाचित भएको छ ।

    कांग्रेसले ५ र एमालेले २ वडाध्यक्ष जितेको छ । यहाँ कांग्रेसको ३ हजार ३९०, एमालेको ३ हजार ४१७, माओवादीको २६५ र स्वतन्त्रको ४२० मत छ ।

    त्रिवेणी नगरपालिका मेयर र उपमेयरसहित कांग्रेसले ६ वडा जितेको छ । माओवादीले २ र एमालेले १ डा जितेको छ । यहाँ कांग्रेसको ४ हजार ५९६, एमालेका १९३२ र माओवादीको १८१२ मत छ ।

    जगन्नाथत गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एमाले ५ वडाध्यक्ष जितेको छ । एउटा वडा माओवादी केन्द्र विजयी भएको छ । यहाँ एमालेको २ हजार ३२२, माओवादीको ७६२ र कांग्रेसको १०६२ मत छ ।

    बडिमालीका नगरपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एमालेले ७ र कांग्रेसले २ वडाध्यक्ष जितेको छ । यहाँ एमालेको ३ हजार ६१८ कांग्रेसको २ हजार ७४१, माओवादीको ३३१ र एकीकृत समाजवादीको ३९६ मत छ ।

    बुढीगंगा नगरपालिकामा मेयर र उपमेयरसहित ७ र कांग्रेसले ३ वडा जितेको छ । यहाँ एमालेको ४ हजार ५४२ मत, कांग्रेसको ३५४१, माओवादीको ५८ एकीकृत समाजवादीको ३९३ मत छ ।

    बुढीन्दा नगरपालिकामा मेयरमा एमाले र उपमेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । यहाँ एमालेले ७ र कांग्रेसले ३ वडाध्यक्ष जितेको छ । एमालेको ४ हजार ५५१, कांग्रेसको ३ हजार ४८६, एकीकृति समाजवादी २८५ र राप्रपाको ११४ मत छ ।

    स्वामी कार्तिक खापर गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित कांग्रेसले ३ वडा जितेको छ । एमाले र माओवादीले १–१ वडा जितेको छ । कांग्रेसले १ हजार ६१८, एमालेले १ हजार ७३२ माओवादीले ७३२ र एकीकृत समाजवादीले ६९३ पाएको छ ।

    हिमाली गाउँपालिका अध्यक्षसहित कांग्रेसले ४ वडा जितेको छ । एमालेले उपाध्यक्षसहित ३ वडा जितेको छ । यहाँ कांग्रेसको २ हजार ३०७ , एमालेको २ हजार ३६, माओवादीको २६२, स्वतन्त्रको ५५ र एकीकृत समाजवादीको २१ मत छ । स्थानीय निर्वाचनको मत अनुसार गठबन्धनसँग ३० हजार ३६४ र एमालेसँग २७ हजार ४५३ मत छ । पाण्डे २९११ मतले अगाडि छन् । जितका लागि पाण्डेलाई गठबन्धनको मत जोगाउनु पर्ने चुनौती छ ।

    यता थापालाई भने गठबन्धनको मत तान्नुका साथै एमाले नेता भीम रावल निकटको मन जित्नुपर्ने चुनौती छ । अछाममा रावललाई उम्मेदवार हुनबाट वञ्चित गराउन थापाले मुख्य भूमिका खेलेको एमाले वृत्तमा चर्चा छ । बाजुरामा रावलनिकट कार्यकर्ताको निर्णायक भोट छ ।

  • पोल्याण्डमा मिसाइल खस्दा २  जनाको मृत्यु, कसले हानेको खुलेन

    पोल्याण्डमा मिसाइल खस्दा २ जनाको मृत्यु, कसले हानेको खुलेन

    काठमाडौं । पोल्याडमा अज्ञात स्थानबाट हानिएको एक मिसाइल खस्दा २ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार यो घटना पोल्याण्डको एक गाउँमा भएको हो । पश्चिमा मुलुकले यसमाथि रुसको हात रहेको आशंका गरेका थिए । रुसले भने आरोपको खण्डन गरेको छ ।

    अमेरिका तथा अन्य पश्चिममा देशले यसबारे छानविन गरिरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले समेत यस हमलामा रुसको हात रहने सम्भावना कम भएको बताएका छन् । पोल्याण्डले घटनापछि सैनिकलाई उच्च सतकर्तामा राखेको बताएको छ । इंडोनेशियामा जारी जी २० बैठकमा आज यसबारे समेत चर्चा हुने भएको छ ।

  • दशरथ रंगशालामा आज नेपाल र पाकिस्तान भिड्दै

    दशरथ रंगशालामा आज नेपाल र पाकिस्तान भिड्दै

    काठमाडौं । नेपाल र पाकिस्तानबीच बुधबार मैत्रीपूर्ण फुटबल हुने भएको छ । खेल दशरथ रंगशालामा बेलुका पाँच बजेबाट सुरु हुनेछ । विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्दैछ । दशरथ रंगशालामा घरेलु टोलीले आज ५० औँ खेल खेल्नेछ । नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो ।

    सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक खेल्दैछन् । त्यसबेला नेपाल २–१ गोलले पराजित भएको थियो । दुई देशबिच अहिलेसम्म १७ खेल भएकोमा पाकिस्तानले सात र नेपालले पाँच खेल जितेका छन् । पाँच खेल बराबरी भएका छन् । मैत्रीपूर्ण फुटबलका लागि सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले यो खेलका लागि सामान्य प्याराफिटतर्फ ५ सय, भीआईपीतर्फ १ हजार र ५ हजारको टिकट मूल्य तोकेको छ ।

  • भोट हाल्न जाँदा साथमा के-के लैजान निषेध गरियो ?

    भोट हाल्न जाँदा साथमा के-के लैजान निषेध गरियो ?

    काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा तोकेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मोबाइल, सलाई, लाइटर, क्यामेरालगायत लैजान नपाउने गरी तोकेको छ । मतदान केन्द्रभित्र मोबाइललगायत सामग्री साथै लिएर जान पाइने छैन । आयोगले मतदाताहरूलाई मोबाइललगायत सामग्री लिएर मतदान केन्द्रमा नआउन आह्वान गरेको छ । आयोगले निर्वाचन अधिकृतलाई मोबाइल लगायत सामग्री लिएर आउन मतदाताले नपाउनेबारे सूचित गर्न भनेको छ।

    ‘मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्ने,’ आयोगले भनेको छ।


    मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने पनि आयोगले मतदान अधिकृतलाई निर्देशन दिएको छ।
    साथै कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल साथमा लगेर मत संकेत गर्ने स्थानमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने पनि आयोगले बताएको छ।

    निर्वाचन आचारसंहिता २०७९ विपरीत कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सुरक्षाकर्मीले कारबाही गर्न पाउनेछन्। आयोगले आफ्नो परिचय खुल्ने मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र, सवारी लाइसेन्सलगायत भने बोक्न पाउने बताएको छ। मतदाता नामावलीमा नाम हुनेहरूले यी कागजपत्र देखाएर मतदान गर्न पाउनेछन्।

  • नेपाल र यूएईबीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज

    नेपाल र यूएईबीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज

    काठमाडौं । नेपाल र यूएईबीच आज दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट हुँदैछ । नेपालले पहिलो खेलमा भने हार बेहोरिसकेको छ । यूएई भने आजको खेलमा जित निकाल्दै श्रृङ्खला जित्ने दाउमा हुने छ । नेपालले यूएईलाई सन् २०१९ जनवरीयता हराउन सकेको छैन । ओडीआईमा २०१९ पछि नेपाल यूएईसँग तीन खेलमा पराजित भइसकेको छ । नेपाल र यूएईबीच ओडीआईमा अहिलेसम्म ७ खेल हुँदा यूएईले ५ खेल जित्दा नेपालले जम्मा २ खेल मात्र जितेको छ ।

    टी-२० मा नेपालले २०२२ फेब्रुअरीमा यूएईविरुद्ध खेलेका दुवै खेलमा पराजय बेहोरेको थियो । नामिबियामा डिसेम्बर पहिलो साता हुने आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलालाई मध्यनजर गर्दै नेपालले यूएईलाई शृंखला खेल्न बोलाएको हो । टिममा १६ खेलाडी राखेको नेपालले तीन खेलमा सबैलाई खेल्ने अवसर दिने योजनासहित यूएईविरुद्ध परीक्षण गरिरहेको छ ।

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण गर्न विशेष जहाज नेपाल आयो

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण गर्न विशेष जहाज नेपाल आयो

    काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षणका लागि विशेष जहाज नेपाल आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिरबाट ११ मंसिर सम्म पोखराको क्यालिब्रेसन उडान गर्ने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज नेपाल आइसकेको प्राधिकरणले जनाएको छ । जहाज आइतबार नेपाल आएको हो । यो जहाज आगामी ५ डिसेम्बरसम्म नेपाल रहने छ ।

    यसबीचमा पोखरामा क्यालिब्रेसन उडान हुनेछ । त्यसबाहेक देशभरका आन्तरिक विमानस्थलका उपकरण जाँचमा नियमित परीक्षण उडान समेत यसै जहाजबाट गरिनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले १ जनवरी २०२३ देखि व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ । त्यस अगाडि परीक्षणहरु हुनुपर्छ । प्राधिकरणका अनुसार क्यालिब्रेसन फ्लाइट एक विस्तृत यान्त्रिक परीक्षण उडान हो । यो सम्पन्न भएपछि उडान गरेको कम्पनीले प्रतिवेदन बुझाउँछ ।

    सोही प्रतिवेदनका आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गरिन्छ । परीक्षण उडान समेत सफल भएको प्रतिवेदन आएपछि भने विमानस्थलमा अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि कम्पनीहरुले अनुमति पाउँछन् । तालिका अनुसार एरोथाईको जहाज २ मंसिरमै पोखरा पुग्नेछ । ३ मंसिरमा परीक्षण उडानबारे प्राधिकरणका अधिकारी र क्याविन क्रु तथा इन्जिनियरहरुसँग तयारी बैठक हुनेछ ।

    ४ मंसिरमा नेपालमा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ । निर्वाचनको भोलिपल्ट अर्थात ५ मंसिरदेखि भने पोखरामा क्यालिब्रेसन उडान हुने छ । यस उडानका दौरान एयर ट्राफिक कन्ट्रोलर टावर, धावनमार्ग र विमानस्थल आसपासमा जडान सबै उपकरणहरुले काम गरे नगरेको जाँच हुन्छ ।

  • विश्वको जनसंख्या ८ अर्ब पुग्यो, ६० प्रतिशतभन्दा बढी एसियामा

    विश्वको जनसंख्या ८ अर्ब पुग्यो, ६० प्रतिशतभन्दा बढी एसियामा

    काठमाडौं । विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । युएनएफपीएका अनुसार नोभेम्बर १५ सम्ममा विश्वको जनसंख्या ८ अर्ब पुगेको हो ।

    नोभेम्बर १५ सम्ममा ८ अर्ब जनसंख्या पुग्ने प्रक्षेपण यस वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको राष्ट्रसंघीय जनसंख्या सम्भाव्य २०२२ मा खुलासा गरिएको थियो ।

    विश्वको जनसंख्या पछिल्लो दुई सय वर्षमा तीव्र रुपमा बढेको हो। १ अर्ब जनसंख्या पुग्न लाखौं वर्ष लागेकोमा करिब दुई सय वर्षमै ७ अर्ब पुग्यो।

    सन् २०११ मा ७ अर्ब रहेको जनसंख्या २०२१ मै ८ अर्बको नजिक पुग्यो। युएनएफपीएका अनुसार बीसौं शताब्दीको उत्तरार्द्धमा विश्वको जनसंख्यामा ठूलो वृद्धि देखिएको थियो ।

    राष्ट्र संघले विश्वको जनसंख्या ९ अर्ब पुग्नका लागि अब १५ वर्ष लाग्ने जनाएको छ । यसैगरी १० अर्ब जनसंख्या सन् २०८० मात्रै पुग्ने जनाएको छ ।

    युएनएफपिएका अनुसार संसारभरि अहिले एक जना महिलाले औसतमा २।४ जना बच्चा जन्माउँछन्। पुरूषको औसत आयु ७१ र महिलाको ७६ वर्ष छ।

    अहिले सबैभन्दा धेरै जनसंख्या चीनमा छ। चीनमा १ अर्ब ४४ करोड मानिस छन् भने भारत दोस्रो नम्बरमा छ। भारतको जनसंख्या १ अर्ब ४० करोड छ। अबका केही वर्षमा भारतको जनसंख्याले चीनलाई उछिन्ने अनुमान छ।

    वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०१९ का अनुसार विश्वको कुल जनसंख्यामध्ये ६० प्रतिशतभन्दा बढी एसियामा छ। चीन र भारत सबैभन्दा बढी जनसंख्या हुने देशमा क्रमशः पहिलो र दोस्रो नम्बरमा पर्छन्।

    २०२७ मा भारतले चीनलाई उछिन्ने अनुमान छ। सन् १९८७ को जुलाई ११ का दिन विश्वको जनसंख्या ५ अर्ब पुगेको थियो । २ सय वर्षअघि विश्वको जनसंख्या १ अर्ब थियो र त्यो १ अर्ब जनसंख्या हुन लाखौं वर्ष लागेको थियो ।

    तर १ अर्बबाट ७ अर्ब पुग्न करिब २ सय वर्षमात्र लाग्यो । सन् २०११ मा विश्वको जनसंख्या ७ अर्ब पुगेको थियो । त्यसयताको ११ वर्षमा विश्वमा १ अर्ब जनसंख्या थपिँदै छ ।

  • निर्वाचनका लागि दुई दिन सार्वजनिक बिदा दिने घोषणा

    निर्वाचनका लागि दुई दिन सार्वजनिक बिदा दिने घोषणा

    काठमाडौं । सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

    निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने भएको हो । गृहमन्त्रालयका अनुसार शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने छन् ।

    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने छन् ।

  • फेरिँदै प्रचार शैली, फेसबुक बुस्टिङमा लाखौं बाहिरियो

    फेरिँदै प्रचार शैली, फेसबुक बुस्टिङमा लाखौं बाहिरियो

    काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रचार शैली फेरिन थालेको संकेत मिलेको छ । साविकमा ठूल्ठूला आम सभा, पर्चा पम्प्लेट छपाएर गाउँगाउँ पुग्ने उम्मेदवार अब सामाजिक सञ्जालमा केन्द्रित हुन थालेका छन् । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार गर्नेको संख्या बढेको छ । यसले लाखौं रुपैयाँ बाहिरिएको समेत पाइएको छ ।

    फेसबुक सञ्चालन गरिरहेको मेटाले सार्वजनिक गरेको ‘मेटा एड लाइब्रेरी रिपोर्ट’ अनुसार गत सेप्टेम्बरदेखि नोभेम्बर ११ तारिक (सोमबार दिउँसो १२ बजेरसम्ममा) पाँच हजार पाँच सय ६० फेसबुक पेज र प्रोफाइलबाट चुनावी विज्ञापन ‘बुस्ट’ गरिएको छ। यो संख्या निर्वाचन र राजनीतिक क्षेत्रसँग जोडिएका विषयबारे मात्रै गरिएको सःशुल्क विज्ञापन रहेको राससले जनाएको छ । सोमबार दिउँसोसम्ममा कूल ६७ हजार ३६ अमेरिकी डलर बराबर खर्च भइसकेको मेटाको विवरणमा देखिन्छ।

    प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार श्रीराम गुरुङले पछिल्लो ३० दिन अवधिमा सबैभन्दा बढी तीन हजार एक सय २५ डलर खर्च गरेको मेटाको विवरणमा उल्लेख छ। काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभातर्फका स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठको फेसबुक पोस्ट बुस्ट गर्नका लागि दुई हजार दुई सय ३८ डलर खर्च भइसकेको छ।

    नेकपा (एमाले)का तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभाका उम्मेदवार किरण पौडेलले एक हजार तीन सय ५० डलर खर्च गरेका छन्। त्यस्तै डा. सुरेस बस्नेतको फेसबुक अकाउन्ट बुस्ट गर्नका लागि एक हजार आठ सय डलर खर्च भइसकेको देखिन्छ। बस्नेत भोजपुर–१ बाट प्रतिनिधिसभाका उम्मेदवार छन्।

    ‘विकास पुरुष इस्तियाक राइलाई फेरि जिताऔँ, नेपालगञ्जलाई समृद्ध बनाऔँ’ नामको फेसबुक पेजका पोस्ट बुस्ट गर्न एक हजार दुई सय ६८ डलर खर्च भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेश पराजुलीको फेसबुक पेजमा राखिएका पोस्ट बुस्ट गर्न नौ सय ३७ डलर खर्च भइसकेको मेटाको तथ्याङ्कबाट देखिन्छ।

    काठमाडौँ क्षेत्र नं ५ प्रदेश ९ख० बाट प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछानेको फेसबुक पोस्टबाट भएको विज्ञापनका लागि नौ सय चार डलर खर्च भएको छ। फेसबुक पोस्ट बुस्ट गर्नकै लागि भएको खर्चमा त्यस्तै सोमप्रसाद पाण्डे नामको अकाउन्टमा आठ सय ४२ डलर, प्रदीप पौडेल नामको पेजमा सात सय १७ डलर, अनुप बोहराको फेसबुक पोस्टमा छ सय ७८ डलर, रन्जु दर्शना नामको पेजका लागि छ सय ६६ डलर र उपेन्द्र यादव नामको पेजमा छ सय ५२ डलर खर्च भएको छ।

    ह्वाइ नेपाली कांग्रेस नामको पेजमा पाँच सय ३५ डलर र रवीन्द्र मिश्रको नाममा पाँच सय ३५ डलर खर्च भएको छ। त्यस्तै ‘नो, नट अगेन’ अभियानका कुरा पनि फेसबुकमा बुस्ट भएका छन्। सामाजिक सञ्जालमा नो नट अगेट अभियान चलाउने व्यक्तिहरू पहिचान गरी कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचारसमेत गरेको थियो। तर त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो भने उक्त अभियानलाई कारबाही नगर्न आदेश दिएको छ।

  • नुवाकोटमा आमा-छोरीको विभत्स हत्या, एक जना पक्राउ

    नुवाकोटमा आमा-छोरीको विभत्स हत्या, एक जना पक्राउ

    नुवाकोट । नुवाकोटमा आमा छोरीको विभत्स हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मंगलबार बिहान एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ छन् जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएपछि उनलाई पक्राउ गरिएको हो ।

    घटनालगत्तै उनी फरार थिए । उनी काठामाडौँतर्फ जान लागेको समयमा मंगलबार बिहान पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बीस वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्‍याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको प्रहरीले बताएको छ ।

  • अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच राष्ट्र प्रमुखका हैसियतमा पहिलो पटक प्रत्यक्ष भेट

    अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच राष्ट्र प्रमुखका हैसियतमा पहिलो पटक प्रत्यक्ष भेट

    बाली । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिन्पिङसँग राष्ट्रप्रमुखका हैसियतमा इन्डोनेशियाको बालीमा पहिलो प्रत्यक्ष भेटघाट गरेका छन्।
    दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला दुई नेताबीच झण्डै तीन घण्टा बैठक भएको हो। आफ्नो एउटा सुरुवाती मन्तव्यमा बाइडनले अमेरिका र चीनबीच द्वन्द्व टार्नुको आवश्यकताबारे बोलेका थिए। बाइडनले ताइवानप्रति चीनको बढ्दो आक्रामक व्यवहारबारे असन्तोष पोखेको बताइएको छ।

    स्वशासित टापु ताइवानलाई बेइजिङले आफ्नो भूभाग भएको दाबी गर्छ तर ताइवानले आफूलाई अलग्गै ठान्छ। बैठकअघि बाइडनले ताइवानका विषयमा आफूहरू दुईले आफ्ना रेड लाइन के हुन् भन्ने तय गर्ने बताएको बीबीसीले लेखेको छ । बैठकपछि चिनियाँ सञ्चारमाध्यमहरूले जनाए अनुसार सी जिन्पिङले ताइवान मामिलामा रेड लाइन नकाट्न चेतावनी दिएको बताइएको छ।

    बाइडनले आफूहरू दुईबीच खुला सम्पर्क सुत्र कायम गर्न प्रतिबद्ध रहेको भन्दै त्यसले दुई देशलाई जलवायु परिवर्तन र असुरक्षा सहितका आपत्कालीन विश्व मुद्दामा सहकार्य गर्न सम्भव गराउने बताए। उनले सी जिन्पिङसँगको वार्तामा युक्रेन युद्ध र उत्तर कोरियाको उक्साहटपूर्ण व्यवहारबारे चासो व्यक्त गरेका थिए।

    मङ्गलवार सुरु हुने जी२० बैठकका लागि विश्व नेताहरू यतिखेर इन्डोनेशियामा छन्। चिनियाँ राष्ट्रपतिले पाँच वर्षअघि आफूहरू स्विजरल्याण्डको डाभोसमा प्रत्यक्ष भेटेपछि अनलाइन संवादहरू जारी राखेको बताए। तर उनले प्रत्यक्ष भेट्ने कुराको बेग्लै महत्त्व हुने बताए।

  • ललितपुर-३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी कायम

    ललितपुर-३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी कायम

    काठमाडौं । सर्वोच्च अदालतले ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गरेको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।

    नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो ।

    त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको थियो ।

    मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेकी हुन्।

  • प्रचार-प्रसारमा कुनै पनि दललाई अवरोध नगर्न आयोगको ध्यानाकर्षण

    प्रचार-प्रसारमा कुनै पनि दललाई अवरोध नगर्न आयोगको ध्यानाकर्षण

    काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण बनाउन सम्बन्धित पक्षलाई पुनः ध्यानाकर्षण गराएको छ।

    आयोगले आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यही कात्तिक २२ गते नेपाल सरकार, गृह मन्त्रालयमार्फत राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न–गराउन र निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न निर्देशन दिएको थियो।

    चितवनलगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध तथा निर्वाचनमा सहभागी पक्षहरूबीच विवाद भएर सवारी साधन तोडफोड भएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका विषयप्रति आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो।

    आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्यमान्यताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरिएकोले निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुने भएको हुँदा सबै राजनीतिक दल एवं सबै उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सृजना गर्न आयोग गृह मन्त्रालयलाई पुनः निर्देशनसहित ध्यानाकर्षण गराइएको छ।

    आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को खण्ड (ख) बमोजिम स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला नगर्न, सोही दफाको खण्ड (च) बमोजिम एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला नगर्न र त्यस्तो अवस्थामा स्थानीय प्रशासनले त्यस्तो कार्यक्रम गर्ने स्थल वा मार्ग परिवर्तन गर्न दिएको निर्देशन पालना गरी आपसी विवाद वा द्वन्द्वको अवस्था सिर्जना नगर्न पनि सम्बन्धित सबैमा आग्रह गरेको छ।

  • पौडी खेल्ने क्रममा सिरहामा तीन जना बालकको डुबेर मृत्यु

    पौडी खेल्ने क्रममा सिरहामा तीन जना बालकको डुबेर मृत्यु

    काठमाडौं । सिरहामा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ । उनीहरु भारतीय रहेको प्रहरीले जनाएको छ । मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षका अली हसन, १० वर्षका नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षका छोरा नितेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल्सिनाले जानकारी गराएका छन् ।

    आइतबार इँटा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकाले पनि अली र नवीको घटनास्थलमै मृत्यु भएको थियो । अर्का बालक नितेशको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

  • रौतहटमा प्रभु साहलाई समर्थन गरेका ५ जनप्रतिनिधिलाई एमालेको स्पष्टीकरण

    रौतहटमा प्रभु साहलाई समर्थन गरेका ५ जनप्रतिनिधिलाई एमालेको स्पष्टीकरण

    रौतहट । स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सहयोग गरेपछि नेकपा एमालेले रौतहटका ५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ । प्रभु साहको श्रीमती मौलापुर नगरपालिकाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाललाई एमालेले स्पष्टीकरण सोधेको हो ।

    पार्टीको विधान विपरीत स्वतन्त्र उम्मेदवार प्रभु साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको हुनाले २४ घण्टा भित्रमा स्पष्टीकरण बारे जानकारी गराउन नेकपा एमालेको मधेस प्रदेश कमिटीले उनीहरुका नाममा पत्र काटेको छ । अन्यथा पार्टीको विधान अनुसार कारबाही हुने चेतावनी पनि पत्रमा दिइएको छ । प्रभु साहले नेकपा एमालेको टिकट लिएर पनि रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । उनलाई सत्तारुढ गठबन्धनका दलले समर्थन गरेका छन् ।

  • फुलचोकीमा हराएका ४ जनाको ११ घण्टापछि उद्धार

    फुलचोकीमा हराएका ४ जनाको ११ घण्टापछि उद्धार

    ललितपुर । ललितपुरको फुल्चोकीमा हराएका ४ जना विद्यार्थीको ११ धण्टापछि उद्धार गरिएको छ । फुल्चोकीमा हराएका चार जना विद्यार्थीको ११ घण्टापछि उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। काठमाडौंको मुलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय कक्षा ११ र १२ मा पढ्ने १२५ जना विद्यार्थी फुल्चोकीमा घुम्न गएका थिए। उनीहरूसँग ९ जना शिक्षक पनि थिए। शनिबार दिउँसो करिब २ बजे फर्किने क्रममा उनीहरूमध्ये ४ जना विद्यार्थी हराएका थिए।

    छोटो बाटो हिँड्न खोजेपछि उनीहरू जंगलमा हराएको प्रहरीले जनाएको छ। शिक्षक र विद्यार्थीहरूले मिलेर खोज्दा पनि फेला नपरेपछि शनिबार साँझ करिब ७ बजेतिर उनीहरूले प्रहरी प्रभाग बाडेगाउँमा खबर गरेका थिए। खबर पाएपछि प्रहरी निरीक्षकसहित खटिएको २० जनाको टोलीले मध्यराति १ बजे उनीहरूलाई फेला पारेको परिसरले जनाएको छ। उनीहरूलाई फेला पारेर शिक्षकको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

  • पोखरा-जोमसोम हवाई रुटमा क्यामरा राखिँदै

    पोखरा-जोमसोम हवाई रुटमा क्यामरा राखिँदै

    काठमाडौं । पोखरा–जोमसोम हवाई रुटमा क्यामरा जडान गरिने भएको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ । यो रुटमा छिनछिनमा परिवर्तन हुने मौसमले हवाई उडान सुरक्षामा जोखिम निम्त्याउने गरेको छ । यस रुटको हवाई सेवालाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन रुटमा क्यामेरा जडान गर्न लागिएको प्राधिकरणले जनाएको छ । यसमा आविष्कार केन्द्रले काम गर्ने भएको छ ।

    यी क्यामेराबाट हवाई रुटमा मौसमसम्बन्धी जानकारी लिइने समेत प्राधिकरणको भनाइ छ । प्रस्थान र गन्तव्य बिन्दुको मौसम सफा हुँदा उडेका जहाजहरु इनरुटमा हुने खराब मौसमका कारण दुर्घटनामा पर्ने जोखिम हिमाली भेगमा बढी हुने गरेको छ । यसको न्यूनीकरण गर्न यस्ता क्यामरा उपयोगी हुने बताइएको छ ।

  • गुल्मी १ :पालैपालो जित्दै आएका ज्ञवाली र भण्डारीको चौथो भिडन्त

    गुल्मी १ :पालैपालो जित्दै आएका ज्ञवाली र भण्डारीको चौथो भिडन्त

    काठमाडौं । गुल्मी–१ मा कांग्रेस नेता डा. चन्द्र भण्डारी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली चौथोपटक आमनेसामने भएका छन् । यी दुई नेताबीच २०६४ सालदेखि चुनावी प्रतिस्पर्धी हुँदै आएको छ ।

    २०६४ मा ज्ञवाली र २०७० मा भण्डारी विजय भएका थिए । २०७४ सालमा माओवादी–एमाले गठबन्धनसँग भण्डारी झिनो मतले पराजित भए ।

    २०६४ यता भएका ३ निर्वाचनमा ज्ञवालीले २ जित र भण्डारीले १ जित निकालेका छन्। आसन्न निर्वाचनमा ज्ञवाली ‘ह्याट्रिक’ गर्ने योजनामा छन्।

    यद्यपि, ज्ञवाली २०५६ को निर्वाचनबाटै संसदीय राजनीतिमा प्रवेश गरिसकेका नेता हुन्। उता, भण्डारी ज्ञवालीसँगको प्रतिस्पर्धामा दोस्रो जित निकालेर बराबरी गर्ने भण्डारीको दाउ छ।

    यसपटक पनि राजनीतिक परिवेश फेरिएको छ । त्यसबेला एमालेसँग मिलेको माओवादी यसपटक कांग्रेस नेतृत्वको गठबन्धनमा छ । भण्डारीको लोकप्रियता जिल्लामा अझै बढ्दो छ ।

    त्यसकारण ज्ञवालीलाई चुनाव जित्न सहज छैन । प्रदेशसभामा पनि गठबन्धनले प्रभावशाली व्यक्तिलाई उम्मेदवार बनाएका कारण गठबन्धनको भोट क्रस हुने सम्भावना छैन ।

    मतदाताले २०६४ मा ज्ञवाली, २०७० मा भण्डारी र २०७४ मा ज्ञवालीलाई जिताएकाले अब जित्ने पाले भण्डारीको रहेको कालीगण्डकी गाउँपालिकाका हरी काफ्लेले बताए । गुल्मी–१ मा कालीगण्डकी, सत्यवती, रुरु, छत्रकोट, गुल्मी दरबार र चन्द्रकोट गाउँपालिका तथा रेसुंगा नगरपालिकाको ७ देखि १४ नं वडासम्म पर्छन् ।

    स्थानीय तहको निर्वाचनलाई आधार मान्दा भण्डारी ४ हजार मतले अगाडि छन् । ज्ञवालीको आधार क्षेत्र मानिने रुरु गाउँपालिकामा गठबन्धनको सहयोगमा माओवादीले चुनाव जितेको छ । यसैगरी चन्द्रकोट गाउँपालिकामा एमाले पछिल्लो समय कमजोर बनेको छ ।

    ज्ञवाली जिल्लाबाट लगातार चुवान जित्ने र मन्त्री बन्ने नेतामा पर्छन् । उनी केन्द्रको राजनीतिमा सफल देखिए पनि जिल्लाको विकासमा अपेक्षित ध्यान दिन नसकेको आरोप लाग्ने गरेको छ ।

    पार्टीको उच्च तह र सरकारमा रहँदा ज्ञवालीले जिल्लाको दीर्घकालीन योजनामा कुनै भूमिका नखेलेको मतदाता बताउँछन् ।

    केपी ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गर्दा ज्ञवालीले अन्धभक्त रुपमा समर्थन गरेको र पार्टीमा आन्तरिक समस्या सुरु हुँदा ओलीकै साथमा रहेका कारण एमाले कार्यकर्ता रुष्ट बनेका छन् । ज्ञवालीमाथि पार्टी विभाजनका लागि भूमिका खेलेकोसमेत आरोप छ ।

    अघिल्लो चुनावमा पराजित भण्डारी भने जिल्लाको विकासमा निरन्तर सक्रिय रहेको रहँदै आएको स्थानीय बताउँछन् । संविधानसभा सदस्य निर्वाचित भएपछि भण्डारीको पहलमा सालझण्डी–खर्जयाङ–शान्तिपुर सडक सुरु भएको थियो।

    बुटबल–पाल्पा सडक खण्डको सिद्धबाबामा पहिरोका कारण बर्सेनि ठूलो जनधनको क्षति भएपछि विकल्पका रुपमा सालझण्डीबाट दुइ लेनको सडक विस्तार भएको थियो ।

    रेसुंगा विमानस्थल निर्माण, रिडी–बुर्तीवाङ तथा चोरकाटे–शान्तिपुर सडक विस्तारमा भण्डारीको पहलकदमीलाई मतदाताले चुनावमा मूल्यांकन गर्ने बताएका छन् । भण्डारी नेतृत्वमा सुरु भएको अखण्ड लुम्बिनी आन्दोलनका कारण तराईबाट पहाडी जिल्ला अलग हुनबाट जोगिएको थियो ।

    राष्ट्रियताको सवालमा स्पष्ट दृष्टिकोण राख्ने र पार्टी राजनीतिभन्दा माथि उठ्न सक्ने भण्डारी भ्रष्टाचारविरोधी अभियन्ता रुपमा पनि परिचित छन् । प्रदेशसभा ‘क’ मा कांग्रेस नेता घनेन्द्र कार्की र एमाले चिन्तामणि पाण्डेय तथा ‘ख’ मा माओवादी नेता सुदर्शन बरालसँग एमाले नेता पर्शुराम पाण्डेको भिडन्त छ ।

  • ‘केही दिनभित्र कुनै चलखेल नभए आफ्नो जीत सुनिश्चित’-सागर ढकाल

    ‘केही दिनभित्र कुनै चलखेल नभए आफ्नो जीत सुनिश्चित’-सागर ढकाल

    काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आगामी केही दिनभित्र कुनै चलखेल नभए आफ्नो जीत सुनिश्चित हुँदै गएको दाबी गरेका छन् । आज उनले सामाजिक सञ्जालमा लेख्दै त्यस्तो बताएका हुन् ।

    उनले भारत र खाडी मुलुकमा रहेका डडेलधुराबासीले घरमा दिनहुँ फोन गरेर आफूलाई भोट दिन आग्रह गरेको उनले बताए । ढकालले आफूलाई जिताउन विदेशमा रहेका जिल्लाबासीलाई छिटो घर फर्कन भनेका छन् । ‘बूढी आमा’ ले आफूलाई नातिले फोन गरेर सुईमा मतदान गर्न दिएको सल्लाह सुनेपछि दङ्ग परेको भन्दै उनले फेसबुकमार्फत् खुशी व्यक्त गरेका छन् ।

    ‘आज नवदुर्गा वडा नम्बर २ मा बुडि आमाले ‘नातीले फोन गरेर सुइ र धारामा भोट हाल्न भन्याछ’ भन्नुभयो । निकै खुशी लाग्यो । आउनुहोस् है छिटो छिटो सबैजना डडेल्धुरा !‘ ढकालले फेसबुकमा लेखेका छन् ।

    यसअघि उनले सामाजिक सञ्जालमार्फत आफूलाई चुनाव प्रचारमा रोक लगाइएको बताएका थिए । यस्तै, हाम्रो नेपाली पार्टी ‘लौरो’ अभियानले ढकाललाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव समेत गरेको छ ।

  • लोमस फार्मास्यूटिकलको औषधी गुणस्तरहीन, बिक्री वितरणमा रोक

    लोमस फार्मास्यूटिकलको औषधी गुणस्तरहीन, बिक्री वितरणमा रोक

    काठमाडौं । नेपाली औषधी उत्पादक कम्पनीहरु बायोगेन रेमिडिज प्रालि र लोमस फार्मास्यूटिकल प्रालिले उत्पादन गरेका केही औषधी गुणस्तरहीन फेला परेको छ ।

    औषधी व्यवस्था विभागले गरेको बजार अनुगमनको क्रममा बायोगेनको उत्पादन बायोकल–डी र लोमसको उत्पादन अस्भिट तोकिएको मापदण्ड विपरित रहेको बताइएको छ ।

    औषधीमा मानव स्वास्थ्य प्रतिकूल तत्व भेटिएपछि विभागले तत्कालका ती औषधीको प्रयोगमा रोक लगाउन निर्देशन दिएको छ । साथै, उक्त औषधीलाई बजारबाट तुरुन्त फिर्ता ल्याउन विभागले निर्देश गरेको छ ।

    ती कम्पनीका तोकिएका औषधीको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न–नगराउन सबैलाई आग्रह गरिएको छ ।