Category: समाचार

  • युनिभर्सल मेडिकल कलेजमा अनुगमन : न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही

    युनिभर्सल मेडिकल कलेजमा अनुगमन : न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही

    भैरहवा, असार २२ । रुपन्देहीको सिद्धार्थनगरस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा श्रम तथा रोजगार कार्यालय बुटवलले विशेष अनुगमन र निरीक्षण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’ पोर्टलमा प्राप्त गुनासोका आधारमा कार्यालयले कलेजमा श्रम ऐन तथा नियमावली बमोजिमको सेवा सुविधा कार्यान्वयनको अवस्थाबारे सूक्ष्म अनुगमन गरेको हो ।

    श्रमिकहरूले श्रम योगदान अनुसारको पारिश्रमिक समयमा नपाएको, रोजगारी अन्त्य भएको १५ दिनभित्र पाउनुपर्ने सेवा सुविधा प्राप्त नगरेको र सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत नपाएको भन्दै उजुरी दिएका थिए । सोही उजुरीको छानबिनका लागि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशनमा बुटवल कार्यालयले कलेजको स्थलगत निरीक्षण गरेको हो।


    अनुगमनपछि श्रम तथा रोजगार कार्यालयले कलेज प्रशासनलाई विभिन्न १२ बुँदे निर्देशन दिएको छ । निर्देशनमा सबै श्रमिकहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र महँगी भत्ता उपलब्ध गराउन,सम्पूर्ण श्रमिकहरूलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र राजीनामा दिएका वा रोजगारी अन्त्य भएका कर्मचारीहरूको तलब र सेवा सुविधा १५ दिनभित्रै फरक–फारक गर्न लगायतका निर्देशन दिइएको छ।

    श्रम कार्यालयले श्रम ऐन विपरीत काम लगाउने वा तोकिएको सुविधा नदिने रोजगारदातालाई श्रमिकको काटिएको रकमको दोब्बरसम्म जरिवाना गरी श्रमिकलाई भराइदिने कानुनी व्यवस्था रहेको भन्दै सचेत गराएको छ। कार्यालयले कलेजलाई श्रम अडिट गरी तोकिएको समयमा प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको छ। वरिष्ठ श्रम अधिकृत मनोज कुमार शैनी र शाखा अधिकृत हुम पाण्डे सहितको टोलीले यो अनुगमन सम्पन्न गरेको हो । श्रम कार्यालयले अनुगमनका क्रममा बालश्रम प्रयोग नभएको स्पष्ट पारेको छ।

  • सिंहदरबारभित्रका सरकारी कार्यालयमा अब ह्वीलचियर र सहजकर्तासहितको सेवा

    सिंहदरबारभित्रका सरकारी कार्यालयमा अब ह्वीलचियर र सहजकर्तासहितको सेवा

    २४ असार, काठमाडौं । सिंहदरबारभित्रका सरकारी कार्यालयहरूमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारी दुवैको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले बुधबारबाट यो व्यवस्थाको शुभारम्भ गरे । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन र स्थापित कानुनहरूले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षरसः पालना गर्दै सरकारले आफ्नो कानुनी एवं नैतिक दायित्वलाई उच्च प्राथमिकताका साथ यो व्यवस्था सुरु गरेको हो।

    यो सेवाको उद्घाटन गर्दै मुख्यसचिव सुमनराज अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र आफ्नो ड्युटीका लागि आउजाउ गर्ने कर्मचारी कसैले पनि शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने प्रतिबद्धता व्यक्त गरे । सिंहदरबारका अधिकांश कार्यालयहरू अपाङ्गमैत्री बनिसकेको र बाँकीमा पनि चाँडै संरचना बन्ने जानकारी दिँदै उनले विगतमा अपाङ्गता भएका तथा अशक्त कर्मचारी र सेवाग्राहीले भोग्नुपरेको कठिनाइलाई क्रमशः अन्त्य गर्दै लगिने बताए ।

    प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवा लिन आउने नागरिक र कार्यालयमा कार्यरत कर्मचारी दुवैलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पुर्‍याउने व्यवस्था मिलाइएको छ।
    यसका लागि प्रत्येक ह्वीलचियरसँगै एक जना तोकिएको कर्मचारी सहजकर्ताका रूपमा खटिनेछन्, जसले सेवाग्राही र कर्मचारीलाई आवश्यक सहयोग गर्नेछन्।

    सरकारले यस व्यवस्थालाई दीर्घकालीन रूपमा निरन्तरता दिने दृढ संकल्प लिएको छ। यो व्यवस्था आगामी दिनमा देशभरका अन्य सरकारी निकायहरूमा लागू गर्ने तयारी छ।

  • दुई मन्त्रीले गरे हेलो सरकार शाखाको निरीक्षण, यस्तो दिए निर्देशन

    दुई मन्त्रीले गरे हेलो सरकार शाखाको निरीक्षण, यस्तो दिए निर्देशन

    २४ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहसँगै आज मन्त्रीद्वय श्रेष्ठ र पौडेलले ‘हेलो सरकार’ शाखाको अवलोकन गर्दै गुनासो व्यवस्थापन प्रणाली, सेवा प्रवाह र गुनासो फछ्र्योटको अवस्थाबारे जानकारी लिए ।


    अवलोकनका क्रममा दुवै मन्त्रीले हेलो सरकारमा आउने नागरिकका गुनासाबारे चासो व्यक्त गर्दै सम्बन्धित मन्त्रालयले गुनासा समयमै सम्बोधन गर्न तत्पर रहेको बताए । उनीहरुले नागरिकका प्रत्येक गुनासाप्रति गम्भीर हुन र प्रभावकारी समन्वयका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनीहरुले गुनासोको सङ्ख्या बढ्दै जानुले वर्तमान सरकारप्रति नागरिकको विश्वास बढेको उल्लेख गर्दै प्राप्त गुनासा समयमै फछ्र्योट गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।


    मन्त्रालयसँग सम्बन्धित गुनासा छिटो सम्बोधनका लागि समन्वय संयन्त्रलाई थप प्रभावकारी बनाइने मन्त्रीद्वय श्रेष्ठ र पौडेलको भनाइ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ पछिल्लो समय सरकारी निकाय र नागरिकबीच संवादको प्रभावकारी केन्द्रीय प्लेटफर्मका रूपमा विकसित हुँदै गएको छ ।

    सरकारको शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूचीअनुसार हेलो सरकारलाई चौबिसै घण्टा सञ्चालनमा ल्याइएको छ । बहुच्यानल प्रणाली, आधुनिक प्रविधि तथा सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय हुने एकीकृत प्रणालीमार्फत गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने काम अघि बढिरहेको छ ।

    आगामी दिनमा कृत्रिम बौद्धिकता ९एआई० मा आधारित प्रणालीमार्फत गुनासो दर्ता, सम्बन्धित निकायमा स्वचालित पठाउने तथा प्रगति अवस्थाबारे सेवाग्राहीलाई नियमित जानकारी दिने व्यवस्था लागू गर्ने तयारीसमेत भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यही असार २४ गतेसम्म हेलो सरकार प्रणालीमा कुल एक लाख ३१ हजार ८७५ गुनासा तथा उजुरी प्राप्त भएका छन् । तीमध्ये करिब ७० प्रतिशत गुनासा फछ्र्योट भइसकेका छन् । वर्तमान सरकार गठन भएको गत चैत १३ गते यता हेलो सरकारमा दर्ता हुने गुनासा तथा उजुरी ८३८ प्रतिशतले वृद्धि भएको छ । गत चैत १३ देखि असार २४ सम्म यी गुनासा र उजुरी फछ्र्योट ९७५ प्रतिशतले वृद्धि भएको छ ।

  • प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिसँग गरे छलफल, के भयो कुराकानी ?

    प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिसँग गरे छलफल, के भयो कुराकानी ?

    काठमाडौँ, २४ असारः प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गरे ।


    सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताए । उनले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार–निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकताबारे सुझाव प्रस्तुत गरे ।


    प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढाइने बताउनुभयो । उहाँले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने स्पष्ट पारे । छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता रहेको थियो ।

    निजी क्षेत्रसम्बद्ध उद्योगी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाका प्रमुख तथा पदाधिकारीहरूसँग भएको उच्चस्तरीय छलफलबाट मुलुकको उद्योग व्यवसाय प्रवर्द्धन, लगानीका लागि वातावरण सुधार, सरकार र निजी क्षेत्रबीचको सहकार्यसहित निजी क्षेत्रमैत्री नीतिनिर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

  • मुख्यसचिवमा कार्की नियुक्त

    मुख्यसचिवमा कार्की नियुक्त

    काठमाडौँ, २४ असारः सरकारले नयाँ मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज भएको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए । मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।

  • श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

    श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

    कोलम्बो, २४ असार (रासस–एएफपी) । श्रीलङ्काको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । सरकारले घटनाको छानबिनका लागि आयोग गठन गर्नुका साथै आपराधिक अनुसन्धान पनि सुरु गरेको छ ।

    सोमबार भएको झडपमा १०० भन्दाबढी व्यक्ति घाइते भएका छन् । सुरक्षा व्यवस्था कडा पारिए पनि कारागारभित्र सशस्त्र प्रहरी परिचालन गरिएको छैन । कारागारको बाहिरी सुरक्षाका लागि भने सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

    न्यायमन्त्री हर्षना नानायक्काराले संसद्लाई जानकारी दिँदै घटनाको छानबिनका लागि सरकारी आयोग गठन गरिएको र समानान्तर रूपमा आपराधिक अनुसन्धान अघि बढाइएको बताए । 

    प्रहरीका अनुसार प्रतिद्वन्द्वी लागूऔषध कारोबारमा सङ्लग्न समूहबीच कारागारभित्र झडप भएको थियो । झडपका क्रममा कैदीले केही सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर हतियार खोसेपछि गोली चलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    नानायक्काराका अनुसार दङ्गाका क्रममा कैदीहरूले कारागारभित्र जडान गरिएका सीसीटीभी क्यामेरासमेत तोडफोड गरेका थिए ।

    अस्पतालका चिकित्सकका अनुसार गोली लागेका, धारिलो हतियारबाट घाइते भएका तथा अन्य गम्भीर चोटपटक लागेका ९७ जना नेगोम्बो अस्पतालमा उपचाररत छन् । तीमध्ये २३ जना कारागारका अधिकारी रहेका छन् । अन्य १९ जना कैदीको कोलम्बोस्थित अस्पतालमा उपचार भइरहेको छ ।

    अधिकारीले केही कैदीलाई सुरक्षा व्यवस्थापनका लागि अन्य कारागारमा स्थानान्तरण गरिएको जनाएका छन् । कारागारमा रहेका विदेशी नागरिकलाई पनि सावधानीका रूपमा अन्यत्र सारिएको छ ।

    घटनापछि श्रीलङ्काको कारागार प्रणालीमा रहेको अत्यधिक भीडभाडको समस्या पुनः चर्चामा आएको छ । सरकारी तथ्याङ्कअनुसार देशका कारागार निर्धारित क्षमताभन्दा करिब चार गुणा बढी कैदी राखेर सञ्चालन भइरहेका छन् । 

  • उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

    ललितपुर, २४ असारः बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ ।

    पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ ।

    विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा मुकुल उपाध्यायका अनुसार उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहे पनि काभ्रेपलाञ्चोकमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ ।

    विभागको तथ्याङ्कअनुसार सङ्क्रमण नियन्त्रणका लागि हालसम्म देशभर सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ ।

    त्यसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेमा मात्रै दुई लाख ८६ हजार २७७ पन्छी, एक लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।

    डा उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी सङ्घीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार पारिएको छ । सोही आधारमा सङ्क्रमित क्षेत्रका पन्छी नष्ट गर्ने तथा सङ्क्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ । 

  • तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र

    तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र

    भोजपुर, २४ असारः भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम अन्तिम चरणमा पुगेको छ । कुल २० किलोमिटर लम्बाइ रहेको उक्त सडकमध्ये १४ किमी कालोपत्र सम्पन्न हो ।

    पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार यो सडकको हालसम्मको भौतिक प्रगति करिब ८३ प्रतिशत रहेको छ । विसं २०७७ मा रु ५१ करोड ६२ लाख लागतमा सम्झौता भएर कालोपत्र थालिएको हो । “यो सडकको १४ किलोमिटर कालोपत्र सम्पन्न भएको छ”, प्रमुख रेड्डीले भने,  “कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन कार्यालयले ध्यान दिएको छ ।”

    अस्फाल्ट प्रविधिको प्रयोग गरी प्राविधिक मापदण्डअनुसार सडक कालोपत्र भइरहेको छ । गुणस्तरीय निर्माणका लागि नियमित प्राविधिक अनुगमन भइरहेको कार्यालयले जनाएको छ ।

    षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले यो सडकलाई स्थानीय विकासको मेरुदण्डका रूपमा रहेको बताए । सडक कालोपत्र भएपछि स्थानीयमा उत्साह बढेको उनको भनाइ छ । “सडक पूर्वाधार विकासको आधार हो”, प्रमुख उदासले भने, “यो सडक सम्पन्न भएपछि यहाँको आर्थिक, सामाजिक तथा शैक्षिक गतिविधिमा सुधार आउनेछ ।”

    स्थानीय बासिन्दाका अनुसार वर्षौँदेखि कच्ची सडकका कारण भोग्दै आएको समस्या अन्त्य हुने चरणमा पुगेको छ । स्थानीय देवीराम चौलागाईँले सडक बनेपछि आवतजावत सहज हुनुका साथै ढुवानी खर्च र समय दुवै घट्ने बताए । “पहिले निकै कठिन थियो, अब सडक बनेपछि ठूलो राहत मिल्नेछ”, उनले भने । 

    सडक निर्माण सम्पन्न भएसँगै षडानन्द नगरपालिका र आसपासका क्षेत्रका बासिन्दालाई नियमित, सुरक्षित र सहज यातायात सेवा उपलब्ध हुने उहाँको भनाइ छ । यसले व्यापार, कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्दै समग्र क्षेत्रीय विकासमा नयाँ आयाम थप्ने उनले जानकारी दिए । 

  • आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, २४ असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेस प्रदेश साथै कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेस प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हुरीबतासको पनि सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    मधेस प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना महाशाखाले जनाएको छ ।

    कोशी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थान तथा मधेस प्रदेशका साथै बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाका सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन अनुरोध महाशाखाले अनुरोध गरेको छ ।

    –––

  • इजिप्टमाथि अर्जेन्टिनाको रोमाञ्चक जित

    इजिप्टमाथि अर्जेन्टिनाको रोमाञ्चक जित

    काठमाडौँ, २४ असारः इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा आज भएको खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलम प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो । खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो ।

    खेलको ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल थप्दै इजिप्टलाई २–० को बलियो अवस्थामा पुर्‍याए । त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो । क्रिस्टियन रोमेरोले खेलको ७९औँ मिनेटमा गोल गर्दै अन्तर घटाए भने लियोनेल मेस्सीले खेलको ८३औँ मिनेटमा बराबरी गोल गरे ।

    त्यसपछि खेल दोस्रो हाफको अतिरिक्त समयमा पुगेपछि एन्जो फर्नान्डेजले ९०ं३ औँ मिनेटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए ।

  • कृषि र ऊर्जा मन्त्रालयबीच सहकार्य गर्ने सहमति

    कृषि र ऊर्जा मन्त्रालयबीच सहकार्य गर्ने सहमति

    २३ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने विषयमा सहकार्य गर्ने भएका छन् ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीबीच मंगलबार ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा सिँचाइ, उत्पादन, कृषि सेवा र बजारी करणलाई एउटै योजनाअन्तर्गत अघि बढाउने विषयमा छलफल भएको हो ।

    छलफलका क्रममा मन्त्री श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तारमा ठूलो लगानी गरिरहेको उल्लेख गर्दै त्यसपछि आवश्यक पर्ने उन्नत बीउ, मल, प्रविधि, प्राविधिक सेवा र कृषि उपजको बजारीकरण समेत प्रभावकारी हुन सके मात्र लगानीको पूर्ण प्रतिफल प्राप्त हुने धारणा राख्नुभयो । त्यसका लागि सिँचाइ र कृषिसम्बन्धी कार्यक्रमलाई मन्त्रालयगत सीमाभन्दा माथि उठेर एकीकृत योजनाका रूपमा कार्यान्वयन गर्नुपर्ने प्रस्ताव राखे ।  

    कृषि मन्त्री चौधरीले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी दिनमा दुवै मन्त्रालयबीच नीति निर्माण, कार्यक्रम छनोट र कार्यान्वयन तहसम्म समन्वयलाई थप सुदृढ बनाउने बताइन् । यसअघि मन्त्री श्रेष्ठले पश्चिम नेपालका प्रमुख सिँचाइ आयोजनाको स्थलगत अनुगमन गरेका थिए । उनले रानी–जमरा–कुलरिया, सिक्टा, बबई तथा राजापुर सिँचाइ प्रणाली लगायतको निरीक्षण गर्दै किसान, आयोजना प्रमुख तथा प्राविधिकहरूसँग अन्तरक्रिया गरेका थिए । त्यस क्रममा आयोजनाको प्रगति, सञ्चालनका चुनौती र किसानको आवश्यकता बारे प्रत्यक्ष छलफल भएको थियो ।

    बर्दियामा निर्माणाधीन बबई सिँचाइ आयोजनाले जिल्लाका छ वटा स्थानीय तहका करिब ३६ हजार हेक्टर कृषि जमिनमा वर्षभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ । त्यसैगरी कैलालीको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाबाट करिब ३७ हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार हुने अपेक्षा गरिएको छ ।

    त्यस्तै बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित काम गरिरहेको छ । यी आयोजनाको करिब आधा निर्माण सम्पन्न भइसकेको छ भने मूल नहर, शाखा तथा उपशाखा नहर, तटबन्ध, जलाशय र लिफ्ट सिँचाइ प्रणाली विस्तारसँगै किसानले क्रमशः प्रत्यक्ष लाभ लिन थालेका छन् ।

    सरकारको अपेक्षाअनुसार यी आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि पश्चिम नेपालको कृषि उत्पादन र उत्पादकत्वमा उल्लेखनीय वृद्धि हुने, खाद्य सुरक्षा सुदृढ हुने, किसानको आयआर्जन बढ्ने तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । मन्त्रालयका अनुसार सिँचाइ आयोजना केवल पूर्वाधार निर्माणमा सीमित नभई कृषि आधुनिकीकरण, व्यावसायिक खेती विस्तार र ग्रामीण समृद्धिको आधारका रूपमा विकास भइरहेका छन् । 

  • झ्याप्प–झ्याप्प बत्ती जाने समस्या समाधान अभियान सुरु

    झ्याप्प–झ्याप्प बत्ती जाने समस्या समाधान अभियान सुरु

    २३ असार, काठमाडौं । पटक–पटक विद्युत् अवरुद्ध हुने समस्या जनताको दैनिक जीवनसँग सीधै जोडिएको छ। त्यसैले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यो समस्याको सक्रिय अनुगमन र तत्काल समाधानको अभियान सुरु गरेको छ। अभियानको पहिलो दिन हटलाइन ११५० र ११५१ मा २४ वटा गुनासा प्राप्त भएको ऊर्जा मन्त्रालयले जनाएको छ । अधिकांश गुनासा वीरगञ्ज क्षेत्रबाट आएका थिए ।  सबै समाधान भइसकेको मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंको न्युरोड क्षेत्रमा ट्रान्सफर्मर पड्किएर अवरुद्ध भएको विद्युत् आपूर्ति पनि मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ।

    प्राप्त सबै २४ वटा गुनासा शतप्रतिशत सम्बोधन भएका छन्।

    विद्युत् आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भएमा हटलाइन ११५० र ११५१ मा सर्क्प गर्न सकिने भएको छ । यसैगरी आवश्यक परेमा देहायका पदाधिकारीहरूलाई पनि सम्पर्क गर्न सकिने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरण

    दीर्घायु श्रेष्ठ (प्रबन्ध निर्देशक) – ९८५१३१३९८२

    प्रदेश सम्पर्क

    कोशी (विराटनगर) : विनोद कुमार यादव – ९८५५०४०७६६

    मधेश (जनकपुर): हरदेव प्रसाद गुप्ता कलवार – ९८५५०४४९१७

    बागमती (काठमाडौं) : सुधीर कुमार राय – ९८५११५०५२५

    गण्डकी (पोखरा) महादेव भट्टराई – ९८५७०१०६२२

    लुम्बिनी (बुटवल) : उमेश कुमार शाह – ९८५२०२९१८९

    कर्णाली (सुर्खेत) : शशिभूषण साह – ९८५८०७२३९९

    सुदूरपश्चिम : जंगबहादुर चन्द – ९८५८४८८५५५

    मन्त्रालय अन्तर्गत हटलाइन मा कार्यरत कर्मचारीहरू चौबीसै घण्टा सेवा उपलब्ध भएको समेत जानकारी गराइएको छ ।

  • भन्सार र राजश्वका महानिर्देशकलाई अर्थमन्त्रीको निर्देशन : मिसन १६ खर्ब राजस्व संकलनमा लाग्नुस्

    भन्सार र राजश्वका महानिर्देशकलाई अर्थमन्त्रीको निर्देशन : मिसन १६ खर्ब राजस्व संकलनमा लाग्नुस्

    २३ असार, काठमाडौँ । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई राजस्व संकलन लक्ष्यका लागि इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका महानिर्देशकद्वय यमलाल भुसाल र डा.भीष्मकुमार भुसाल र भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका सहसचिव प्रेमप्रसाद आचार्यलाई कार्यक्षेत्रमा खटिनुअघि उनले मंगलबार मन्त्रालयमा भेट गर्दै विशेष निर्देशन दिए ।

    व्यावसायिक वातावरण र मनोबल उच्च राख्दै राजस्वको लक्ष्य भेटिने गरी मिसन १६ खर्बका लागि इमानदारीपूर्वक लाग्नुहोस्,ू अर्थमन्त्री वाग्लेले भने, ‘चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबैखाले सहयोग उपलब्ध गराउँछ।’

    अर्थमन्त्री डा।वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर चुस्त र पारदर्शी बनाउन पनि निर्देशन दिए । भन्सार र कर आम्दानी बढाएर मुलुकको आय बलियो बनाउँदा बाह्य ऋणको परनिर्भरता घट्ने र आफ्नै सामर्थ्यमा मुलुकले विकासको गति लिने उनको भनाइ छ। भन्सार र करको लक्ष्य पूरा गर्ने कदम चाल्दा व्यावसायिक वातावरण राम्रो बनाउने र प्रणालीको चुहावट टाल्नु मुख्य काम भएको उनले बताए । 

    अर्थमन्त्री डा. वाग्लेले दुई महानिर्देशक र भन्सारमा नयाँ आउनुभएका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई मातहतका निकायमा गलत काम गर्ने कर्मचारीमाथि निर्मम बन्न र इमानदारीपूर्वक काम गर्नेलाई पुरस्कार र प्रोत्साहन सुनिश्चित रहेकोबारे अवगत गराउन आग्रह गरे । प्रशासन संयन्त्रमा राम्रो र क्षमतावान् भनी चिनिएका अब्बल दुई सहसचिवलाई राज्यको प्रतिष्ठासँग जोडिएको निकायको नेतृत्वमा ल्याएको भन्दै अर्थमन्त्री वाग्लेले ६–८ महिनामै नतिजा देखिनेमा आशावादी रहेको पनि बताए । 

    असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो। असार २२ मा मन्त्रालयमा हाजिर भएका तीनै जना सहसचिवलाई मन्त्रालयले क्रमशः भन्सार र आन्तरिक राजस्वको महानिर्देशक र भन्सारको उपमहानिर्देशकको जिम्मेवारी तोकेको थियो। नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिवले मन्त्रीको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्ने बताए ।

  • राष्ट्रियसभा : आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    राष्ट्रियसभा : आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    काठमाडौँ, २३ असार । राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८३’ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा वाग्लेले प्रस्ताव प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरुले भाग लिँदै आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

  • दैलेख दुर्घटना:  कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

    दैलेख दुर्घटना: कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

    कर्णाली, २३ असार । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको सवारी दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता चार जनामध्ये एक जनाको शव कैलाली जिल्लामा भेटिएको छ । मोहन्याल गाउँपालिका–६ कैलालीमा भेटिएको शव पहिचान गर्दा पचालझरना गाउँपालिका–९ कालीकोटका मेखे तिरुवा रहेको उनका छोरा रवीन्द्र तिरुवालाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय चिसापानी कैलालीका प्रमुख प्रहरी निरक्षक मीरा खड्काले पनि शव ६२ वर्षीय मेखे तिरुवा नै रहेको राससलाई जानकारी दिए । प्रहरी नायब उपरीक्षक विकका अनुसार मृतक मेखेसहित हराएका रास्कोट नगरपालिका–२ खड्कागाउँका सिर्जना खड्का, पञ्चपुरी नगरपालिका–८ सुर्खेत माझीगाउँका चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी र सवारी अझै पत्ता लागेको छैन । उक्त सवारी दैलेख, चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङगेतडामा दुर्घटना भएको थियो ।

    बेपत्ता व्यक्तिहरुसहित गाडीको खोजीमा ‘रिभर भेहिकल म्याग्नेट’, ‘सोनार’, ‘ड्रो’ न र ‘बोरेस्कोप क्यामरा’ सहितको उच्च प्रविधियुक्त गोताखोर टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरेर करिब १०० जना जनशक्ति पाँच दिनदेखि परिचालन गरिएका छ । 

  • सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

    सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

    हिमाल लम्साल/रासस

    काठमाडौँ, २३ असार । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धिलाई भरथेग गर्ने गरी नेपाल राष्ट्र बैंकले लचिलो खालको मौद्रिक नीति ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै सरकारले लिएको आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएको बताए । 

    गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाले करिब रु ६० खर्ब बराबरको ऋण विस्तार गरेको उल्लेख गर्दै आगामी आवमा ११ प्रतिशत अर्थात छ खर्ब ५२ अर्ब ऋण विस्तार गरी सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने बताए । 

    साथै नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले पनि आज पत्रकार आयोजित पत्रकार सम्मेलनमा सरकारले लिएका सात प्रतिशतको आर्थिक वृद्धिलाई सहयोग गर्ने गरी मौद्रिक नीति ल्याइएको बताए । “सरकारले आगामी आर्थिक वर्षमा ल्याएको नीति कार्यक्रम र बजेटलाई भरथेग र सहयोग गर्ने गरी नै मौद्रिक नीति आएको छ, मौद्रिक नीतिले सरकारले राखेको उद्देश्य पूरा गर्नका लागि सहयोगी भूमिका खेल्नेछ”, उनले भने । 

    राष्ट्र बैंकले मौद्रिक नीतिमा कर्जाको सुरक्षण स्वरूप व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउने प्रावधानलाई प्राथमिकताको साथमा ल्याएको उल्लेख गरेको छ । प्रवक्ता पौडेलले यो प्रावधानले ऋणीलाई केही हदसम्म भएपनि सहज बनाउने बताए । 

    मौद्रिक नीतिमा चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्नेतर्फ पनि केही सहजीकरण गर्ने उल्लेख छ । चेक अनादरको कारणले कालोसूचीमा नभईकन फरक ढङ्गले कानुनी व्यवस्था गर्नाले उद्यमी तथा व्यवसायीलाई केही सहजता हुने प्रवक्ता पौडेलले बताए । 

    राष्ट्र बैंकले रुग्ण उद्योगलाई नयाँ योजना सोच र भिजनसहित अघि बढाउन चाहने कम्पनीलाई पनि प्रवद्र्धन गर्ने खालको नीति मौद्रिक नीतिमा अङ्गीकार गरेको छ ।

    राष्ट्र बैंकका कार्यकारी निर्देशक डा सत्येन्द्र तिमिल्सनाले मौद्रिक नीतिमार्फत रुग्ण अवस्थामा रहेको उद्योगलाई नयाँ सोच र भिजनसहित फेरि सञ्चालन गर्ने कार्ययोजनासहित आउनेलाई प्रोत्साहन गर्नका लागि यो नीति ल्याएको बताए । “रुग्ण उद्योगका निष्कृय कर्जाको व्यवस्थापनका साथै निष्कृय कर्जालाई पुनरुत्थान गर्न र संस्थालाई फेरि पहिलाकै अवस्थामा ल्याउनका लागि यो नीति ल्याएका हौं”, उनले भने, “यो नीतिले एकातर्फ रुग्ण उद्योगमा बैंक तथा वित्तीय संस्थाको रकम उठ्ने र रुग्ण उद्योग फेरि सञ्चालनमा ल्याउने अवस्था सिर्जना हुनेछ ।”

    राष्ट्र बैंकले संस्थाको सबलताका आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुने एवम् सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजीकरण हुने गरी विशेष नीतिगत व्यवस्था गरेको छ ।

    बैंक तथा वित्तीय संस्थालाई डिजिटलाइजेसनमार्फत वित्तीय लागत न्यून गराई सोको प्रतिफल ग्राहकमा हस्तान्तरण गरी उपभोक्ताले प्राप्त गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्दै लैजाने नीति मौद्रिक नीतिमा समावेश छ । साथै बैंक तथा वित्तीय संस्थाको वर्गीकरणका सम्बन्धमा भैरहेको अध्ययन सम्पन्न गरी सोही अनुरुप बैंक, वित्तीय संस्था तथा गैर बैंक तथा वित्तीय संस्थालाई लक्षित कार्यक्षेत्रमा सेवा विस्तार गर्न प्रोत्साहन गर्ने नियामकीय व्यवस्थाहरु क्रमशः लागू गर्ने नीति अङ्गीकार गरिएको छ ।

    प्रवक्ता पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई तीन वटा फरक–फरक कागजपत्रका आधारमा प्रस्तुत गर्न खोजेको बताए । “विगतका वर्षका मौद्रिक नीतिमा एकैठाउँमा सबैकुरा समावेश गरेर ल्याइने गरिन्थ्यो, तर आगामी आवको मौद्रिक नीतिमा भने तीन वटा फरक–फरक डकुमेन्टलाई छुट्टाछुट्टै ढङ्गबाट प्रस्तुत गरेर ल्याइएको छ”, उनले भने । 

    केन्द्रीय बैंकले आव २०८२–८३ को मौद्रिक नीतिको समीक्षा, ‘म्याक्रो इकोनोमिक रिपोर्ट, एनालाइसिस एण्ड आउटलुक’ र मौद्रिक नीति २०८२–८३ गरेर छुुट्टाछुटै रुपमा ल्याएको छ ।

    केन्द्रीय बैंकले आव २०८३–८४ मा पाँच दशमलव ५ प्रतिशतको हाराहारीमा मुद्रास्फीति र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्दै ७।० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न आवश्यक मौद्रिक तरलता र विदेशी विनिमय व्यवस्थापन गर्ने नीति अघि सारेको छ ।

    मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दरलाई यथावत् राख्दै अन्तरबैंक दरलाई नीतिगत दरको हाराहारीमा कायम हुने गरी खुला बजार कारोबार सञ्चालन गर्ने नीति अघि सारेको छ । त्यस्तै गरी तरलताको प्रकृति हेरी संरचनागत तरलता र नियमित तथा आकस्मिक तरलता व्यवस्थापनका लागि भिन्न अवधिका उपकरणहरु प्रयोग गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

    राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीतिमा ब्याजदर करिडोरअन्तर्गतका नीतिगत दर स्थायी निक्षेप सुविधा दर एवम् बैंकदरलाई यथावत राखेको छ । त्यस्तै गरी अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवम् स्थायी तरलता सुविधासम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको मौद्रिक नीतिमा उललेख गरिएको छ ।

    नेपाली बैंकले विदेशी बैंकको फण्डमा लगानी गर्न पाउने

    राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पहिलो पटक विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरुलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गरिनुका साथै विदेशी मुद्रा खरिदकै बखत ‘स्टेरलाइन्ड इन्टरभेन्सन’ गर्ने नीतिगत व्यवस्था गरेको छ ।

    कार्यकारी निर्देशक तिमिल्सनाले नेपालका बैंक तथा वित्तीय संस्थाले विदेशका केन्द्रीय बैंकको सेक्युरिटी तथा बण्ड फण्डहरुमा लगानी गर्ने व्यवस्था गर्न लागिएको बताउनुभयो । राष्ट्र बैंकले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित ‘पियर टु पियर’ लेनदेन सञ्चालन गर्ने विषयमा आवश्यक अध्ययन गर्ने मौद्रिक नीतिमा समावेश गरेको छ ।

    साथै नेपाल सरकारले जारी गरेका राष्ट्रिय प्रतिवद्धता, शासकीय सुधारसम्बन्धी १०० कार्यसूची एवम् बजेट वक्तव्यमा उल्लेख भएका यस बैंकसँग सम्बन्धित कार्यक्रमहरु सम्बन्धित निकायसँगको समन्वयमा क्रमशः कार्यान्वयन गर्दै लैजाने मौद्रिक नीतिमा उल्लेख गरिएको छ । 

  • कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला

    कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला

    बेइजिङ, २३ असार (रासस–एएफपी) । कम्बोडियाको कार्डामम माउन्टेन्स राष्ट्रिय निकुञ्जमा गरिएको ‘क्यामेरा ट्र्याप’ अध्ययनमा १४ वटा दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु प्रजाति फेला परेका छन् । वातावरण मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

    अप्रिलको सुरुदेखि जुनको अन्त्यसम्म सञ्चालन गरिएको अध्ययनले निकुञ्जको समृद्ध जैविक विविधता तथा प्राकृतिक स्रोत संरक्षणको महत्त्वलाई पुनः उजागर गरेको विज्ञप्तिमा उल्लेख छ ।

    फेला परेका दुर्लभ तथा लोपोन्मुख प्रजातिहरूमा एसियाली हात्ती, गौर (जङ्गली राँगो), दक्षिणी सेरो, साम्बर मृग, सन बियर, एसियाली कालो भालु, मार्बल्ड बिरालो, ढोल (जङ्गली कुकुर), स्पटेड लिन्साङ, लामो पुच्छर भएको मकाक, उत्तरी पिग–टेल्ड मकाक, ठूलो भारतीय सिभेट, सुन्डा प्याङ्गोलिन र चिल्लो भुवा भएको ओटर समावेश छन् ।

    यसका अतिरिक्त, स्तनधारी, चराचुरुङ्गी र सरीसृप वर्गका अन्य धेरै कम जोखिममा रहेका प्रजातिहरू पनि सो निकुञ्जमा बसोबास गर्ने तथ्य अध्ययनले देखाएको छ ।

    वातावरण मन्त्रालयका उपसचिव तथा प्रवक्ता ख्वाइ अतित्याले यी प्रजातिहरूको उपस्थितिले कम्बोडियाको वन्यजन्तु संरक्षणप्रतिको प्रतिबद्धता र भावी पुस्ताका लागि पारिस्थितिक प्रणालीको दिगोपन सुनिश्चित गर्ने सरकारी प्रयासलाई प्रस्ट पार्ने बताए । 

  • सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    कायरो, २३ असार (रासस–एपी) । सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामै ३०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । तीमध्ये अधिकांशको ज्यान ड्रोन आक्रमणमा गएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले सोमबार जनाएको छ । युद्ध थप तीव्र बन्दै जाँदा बालबालिका हिंसा, विस्थापन र मानवीय सङ्कटको सबैभन्दा ठूलो मारमा परिरहेका छन् ।

    सन् २०२३ को अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल ९आरएसएफ० बीच जारी द्वन्द्व अहिले मुख्यतः कोर्डोफान, डार्फर र ब्लू नाइल राज्यमा केन्द्रित छ । युनिसेफका अनुसार हालका महिनामा ड्रोन युद्ध तीव्र बनेको छ र कुल हताहतमध्ये करिब ६० प्रतिशत घटना ड्रोन आक्रमणसँग सम्बन्धित छन् ।

    रणनीतिक महत्त्वको उत्तर कोर्डोफानस्थित एल–ओबिड सहरको नियन्त्रणका लागि सेना र आरएसएफबीच चर्किएको लडाइँका क्रममा सम्भावित युद्ध अपराध र मानवअधिकार उल्लङ्घनबारे संयुक्त राष्ट्रसङ्घ, अमेरिका, बेलायतलगायत अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

    यस युद्धमा हालसम्म कम्तीमा ५९ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब एक करोड ३० लाख नागरिक विस्थापित भएका छन् । द्वन्द्वका कारण सुडानका धेरै क्षेत्र अनिकालतर्फ धकेलिएका छन् र तीन करोडभन्दा बढी मानिस मानवीय सहायताको भरमा बाँच्न बाध्य छन् ।

    ड्रोन आक्रमण र गोलाबारीका क्रममा विद्यालय, बजार, इन्धन भण्डारण केन्द्र तथा खानेपानीका संरचनासमेत निशाना बनाइएकाले पाँच लाखभन्दा बढी नागरिक प्रत्यक्ष जोखिममा परेका छन् । धेरै क्षेत्रमा सर्वसाधारणले एक वर्षभन्दा बढी समयदेखि घेराबन्दीजस्तै कठिन अवस्था सामना गरिरहेका छन् ।

    सुडानका लागि युनिसेफका प्रतिनिधि शेल्डन येटले बालबालिका हिंसा, विस्थापन र अभावको अन्तहीन चक्रमा फसेको बताउँदै उनीहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो । संयुक्त राष्ट्रसङ्घले पनि द्वन्द्वरत पक्षहरूलाई नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न, मानवीय सहायता निर्बाध रूपमा पुग्ने वातावरण बनाउन र बालबालिकालाई थप क्षतिबाट जोगाउन सबै सम्भव उपाय अपनाउन आह्वान गरेको छ । 

  • दक्षिणी युरोपमा डढेलोको कहर

    दक्षिणी युरोपमा डढेलोको कहर

    एथेन्स, २३ असार (रासस–एपी) । पोर्चुगल, ग्रिस र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणबाहिर जाने जोखिम बढ्दै गएको छ । सयौँ अग्निनियन्त्रक, दर्जनौँ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन गरिए पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । ग्रिसमा भने डढेलोसँगै विषाक्त धुवाँको खतरा बढेपछि केही क्षेत्रमा स्थानीयवासीलाई घरभित्रै बस्न र झ्याल–ढोका बन्द गर्न निर्देशन दिइएको छ ।

    ग्रिसको दोस्रो ठूलो सहर थेस्सालोनिकीस्थित ओराइओकास्ट्रो उपनगर नजिक रहेको रिसाइक्लिङ प्लान्टमा शनिबार साँझ सुरु भएको आगो तीव्र हावाका कारण फैलिएको थियो । त्यसबाट निस्किएको विषाक्त धुवाँका कारण आसपासका तीन उपनगर र १५७ अपाङ्गता भएका व्यक्तिहरू बसोबास गर्ने आवासका लागि सतर्कता तथा आंशिक स्थानान्तरणको सूचना जारी गरिएको छ ।

    आगो नियन्त्रणका लागि करिब १६० अग्निनियन्त्रक रातभर खटिएका थिए भने बिहानदेखि पानी बोक्ने विमान परिचालन गरिएको थियो । स्थानीय मेयर पान्डेलिस साकिरिसका अनुसार केही घर र व्यवसायमा क्षति पुगेको छ, यद्यपि विस्तृत विवरण आउन बाँकी छ ।

    यसैबीच, एथेन्सको पश्चिमस्थित मन्द्रा क्षेत्रमा देवदारको जङ्गलमा लागेको अर्को डढेलो नियन्त्रण गर्न २१० अग्निनियन्त्रक, स्वयंसेवक, विशेष टोली तथा २९ हवाई साधन परिचालन गरिएको छ । रात परेपछि हवाई उद्धार प्रभावित हुने भएकाले अधिकारीहरूले साँझअघि नै आगो नियन्त्रणमा ल्याउने प्रयास तीव्र पारेका छन् ।

    पोर्चुगलको मध्य भाउजेला क्षेत्रमा बिहीबारदेखि लागेको डढेलो निभाउन एक हजार २०० भन्दा बढी अग्निनियन्त्रक, करिब ४०० सवारीसाधन र १५ वटा विमान परिचालन गरिएको छ । युरोपेली सङ्घ (इयु)को कोपर्निकस स्याटेलाइट प्रणालीका अनुसार आइतबारसम्म आगोले करिब १२ हजार हेक्टर क्षेत्र जलाइसकेको छ ।

    पोर्चुगललाई सहयोग गर्न स्पेनले १२० अग्निनियन्त्रक र ४५ सवारीसाधन पठाएको छ भने इटाली र स्पेनबाट तीनवटा अग्निनिवारण विमान पनि परिचालन गरिएका छन् । अधिकारीहरूका अनुसार आगोको तीव्रता केही घटे पनि केही स्थानमा अझै तातो केन्द्रहरू बाँकी छन् ।

    स्पेनको उत्तरपूर्वी गिरोना क्षेत्रमा शुक्रबारदेखि फैलिएको डढेलोले करिब दुई हजार २०० हेक्टर क्षेत्र जलाइसकेको छ । क्याटालोनिया अग्नि सेवाका अधिकारी एडवर्ड मार्टिनेजका अनुसार आगोको परिधि करिब ४० किलोमिटर पुगेको छ र तत्काल नियन्त्रणमा आउने सम्भावना कम देखिएको छ ।

    ग्रिसको अग्निशमन विभागले थेस्सालोनिकीको आगलागी सडकछेउको वनस्पतिमा गाडीबाट निस्किएको स्पार्कका कारण सुरु भएको आशङ्कामा ७६ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । केही दिनअघि सोही क्षेत्रनजिकै अर्को डढेलोमा १२ वर्षीय बालक र उनका बुबाको मृत्यु भएको थियो ।

    अग्निशमन विभागका प्रवक्ता ब्रिगेडियर आयोनिस आर्टोपियोसका अनुसार ग्रिसका करिब ८५ प्रतिशत डढेलो मानवीय लापरवाहीका कारण लाग्ने गरेका छन् । कृषि उपकरणबाट निस्कने स्पार्क, चुरोटका ठुटा र खुला स्थानमा बारबेक्यु गर्दा हुने असावधानी प्रमुख कारण रहेको उनले बताए । अधिकांश आगलागी सचेतना अपनाए रोक्न सकिने उनको भनाइ छ ।

    ग्रिसले हरेक वर्ष गर्मीयाममा विनाशकारी डढेलोको सामना गर्दै आएको छ । सन् २०१८ मा एथेन्सनजिकैको डढेलोमा १०० भन्दा बढीको मृत्यु भएको थियो भने सन् २०२३ मा उत्तरपूर्वी ग्रिसमा लागेको डढेलो इयुकै इतिहासमा सबैभन्दा ठूलो वनडढेलो बनेको थियो । जलवायु परिवर्तनसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै ग्रिसले हालै प्रक्षेपण गरिएका चार उपग्रहमार्फत डढेलो निगरानी प्रणाली सुदृढ बनाउने तयारी पनि गरेको छ । 

  • बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

    बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

    ढाका, २३ असार (रासस–एएनआई) । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पठाएको औपचारिक निमन्त्रणा स्वीकार गर्दै बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरबको भ्रमणमा जाने कार्यक्रम तय भएको सोमबार प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायुन कबिरले जानकारी गराएका छन् ।

    बैठक बारे विस्तृत जानकारी दिँदै कबिरले भने, “बङ्गलादेशका लागि साउदी अरबका महामहिम राजदूत डा. अब्दुल्लाह जाफर एच। बिन अबियाहले आज बिहान प्रधानमन्त्री तारिक रहमानलाई भेटी राजकुमार बिन सलमानले प्रधानमन्त्री तारिक रहमानलाई साउदी अरबको औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् । ”

    सल्लाहकार कबिरले यो कूटनीतिक भेटलाई दुवैतर्फी उच्चस्तरीय भ्रमणको रूपमा व्याख्या गरे । विदेश मामिला सल्लाहकारले अगाडि भने, “राजदूतले राजकुमार बिन सलमान बङ्गलादेश भ्रमण गर्न इच्छुक छन्, उनले उपयुक्त समयमा बङ्गलादेश आउन चाहेको बताएका छन् ।”

    दुई देशबीचको पुरानो सम्बन्धलाई जोड दिँदै कबिरले भने, “यो आदानप्रदानबाट हामी साउदी अरबसँग रणनीतिक सहयोग र साझेदारी गर्न अत्यन्त सकारात्मक छौँ । ऐतिहासिक रूपमा हाम्रो द्विपक्षीय सम्बन्ध सधैँ राम्रो रहिआएको छ। हामी यसलाई थप मजबुत बनाउनेछौँ र इन्शाअल्लाह नयाँ उचाइमा पुर्‍याउनेछौँ।”

    उनले आगामी उच्चस्तरीय भ्रमणले ठूलो आर्थिक अवसर खोल्ने पनि बताए । भ्रमण कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने, व्यापार तथा लगानीको मात्रालाई बढाउने, साउदी अरबको निजी क्षेत्र र सरकार दुवैबाट बङ्गलादेशमा लगानी गर्ने सम्बन्धमा छलफल हुनेछ”, कबिरले भने, “साउदी अरबको निजी क्षेत्र र सरकार दुवैबाट लगानीका लागि व्यापक चासो दिएकोे देखिएको छ ।”

    “यो हाम्रो द्विपक्षीय सम्बन्धको लागि महत्वपूर्ण क्षण हो। प्रधानमन्त्रीलाई साउदी अरब भ्रमणको निमन्त्रणा मात्र होइन, साउदी राजकुमार विन सलमानले पनि बङ्गलादेश भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको छ। यो दुवैतर्फी हो,” सल्लाहकार कबिरलेले थपे ।

    नयाँ सरकार गठन भएपछि गरिएका कूटनीतिक प्रयासबारे बोल्दै कबिरले भने, “पछिल्ला चार महिनामा हाम्रो सरकारले मध्यपूर्वमा भाइचारा सम्बन्ध स्थापित गरेको छ। प्रधानमन्त्रीले विशेष दूतमार्फत मध्यपूर्वका देशहरूको भ्रमण गर्नुभयो, जसले ठूलो सद्भावना सिर्जना गरेको छ।” “यसको परिणामस्वरूप हामी साउदी अरबसँग रणनीतिक सञ्चार र साझेदारीलाई थप मजबुत र विस्तार गर्न लागेका छौं,” उनले भने । 

  • पूर्व चिनियाँ अधिकारीलाई मृत्युदण्ड

    पूर्व चिनियाँ अधिकारीलाई मृत्युदण्ड

    नान्जिङ, २३ असार (रासस–सिन्ह्वा) । पूर्वी चीनको जियाङ्सु प्रान्तको नान्जिङ विकास क्षेत्र प्रशासनिक समितिका पूर्व कार्यकारी उपनिर्देशक याङ योउलिन लाई घुसखोरी गरेको अभियोगमा सोमबार मृत्युदण्डको फैसला सुनाइएको छ ।

    जियाङ्सुको चाङझाउ शहरको मध्यवर्ती जन अदालतले याङलाई आजीवनका लागि राजनीति अयोग्य रहने गरी अधिकार खोस्ने र उहाँको सम्पत्ति जफत गर्ने पनि आदेश दिएको छ ।

    अदालतको फैसलाअनुसार याङलाई भ्रष्टाचार, सार्वजनिक कोषको दुरुपयोग, शक्ति दुरुपयोग र सम्पत्ती शुद्धिकरणसम्बन्धी मुद्दामा दोषी ठहर गरिएको छ ।

    अदालतका अनुसार सन् १९९३ देखि सन् २०२३ सम्म याङले जियाङ्सुको राजधानी नान्जिङमा विभिन्न पदमा रहेर इन्जिनियरिङ ठेक्का, व्यवसाय सञ्चालन, जग्गा हस्तान्तरण र वित्तीय सहयोग जस्ता काममा संस्था तथा व्यक्तिहरूलाई पदीय मर्यादा विपरीत सहयोग गर्नुभएको र त्यसक्रममा उहाँले कुल २२१ करोड युआन (झन्डै ३२ करोड ५० लाख अमेरिकी डलर) बराबरको घुस र अवैध सम्पत्ति जम्मा गरेको ठहर गरिएको छ ।

    यसबाहेक उहाँले सरकारी कोष ठगी गर्न अरूसँग मिलेमतो गरेको, सरकारी कर्मचारीहरूलाई अनुचित लाभका लागि घुस दिएको, सरकारी कम्पनीको रकम दुरुपयोग गरेको र जग्गा भत्काउने तथा विकास परियोजनाहरू अवैध रूपमा व्यवस्थापन गरेको पनि पाइएको छ, जसले समाजमा गम्भीर प्रभाव पारेको थियो।

    याङले जग्गा हस्तान्तरण शुल्क अवैध रूपमा फिर्ता दिएर राज्यलाई ठूलो आर्थिक क्षति पुर्‍याएको र घुसबाट प्राप्त रकम आफ्नो नियन्त्रणमा रहेका कम्पनीहरूलाई ऋण दिएर लुकाएको र पछि आफ्नो आम्दानीका रूपमा देखाएको फैसलामा उल्लेख छ।

    अदालतले भनेको छ, “याङले अत्यधिक ठूलो रकम घुस लिएको पुष्टि भएको छ । उनको अपराधको प्रकृति अत्यन्त गम्भीर थियो, सामाजिक प्रभाव निकै नकारात्मक थियो र राज्य तथा जनताको हितमा अत्यधिक ठूलो क्षति पुर्‍याएको थियो। त्यसैले कानुनबमोजिम उहाँलाई मृत्युदण्ड दिनुपर्ने फैसला भएको छ ।”

    यद्यपि उनले अरूको अपराधबारे रिपोर्ट गर्नुभएको थियो र त्यो पनि सत्य ठहरिएको छ, तर समग्रमा उनको घुसखोरीको गम्भीरता, प्रकृति र सामाजिक हानिलाई हेर्दा कुनै छुट दिन मिल्ने अवस्था नदेखिएको अदालतले जनाएको छ ।

    यो मुद्दाको सार्वजनिक सुनुवाइ मार्च १८ र अप्रिल २८ मा भएको थियो। मुद्दाको सुनुवाइका क्रममा अभियोजनकर्ता, प्रतिवादी र उनका वकिलले प्रमाणबारे बहस गरेका थिए । याङले अन्तिम बयानमा आफू दोषी रहेको स्वीकार गर्दै पश्चाताप व्यक्त गरेका छन् । 

  • दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्य

    दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्य

    ढाका, २३ असार (रासस–सिन्ह्वा) । भारी वर्षाका कारण दक्षिण–पूर्वी बङ्गलादेशको कोक्स बजार जिल्लामा रहेका रोहिङ्ग्या शिविरहरूमा सोमबार बिहान गएको पहिरोमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृतकमध्ये सात जना दुई परिवारका सदस्य रहेको प्रहरीले अधिकारीले बताएका छन्।

    कोक्स बजार जिल्लाका प्रहरी अधीक्षक एएनएम शजादुर रहमानले सिन्ह्वालाई बताएअनुसार भारी बर्षापछि पहिरोमा परी आठ जनाको मृत्यु रोहिङ्ग्या शरणार्थी शिविरमा भएको र अन्य एक जनाको मृत्यु कोक्स बजार नगरपालिकामा भएको छ। उनले भने, “पहिरोका कारण शिविरमा धेरै घरहरू पनि क्षतिग्रस्त भएका छन्।”

    जिल्लामा सोमबार बिहानसम्मको २४ घण्टामा २५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो। यो भारी वर्षा अझै दुई दिनसम्म जारी रहने पूर्वानुमान गरिएको छ । अधिकारीले जोखिमपूर्ण पहाडी किनारमा बस्नेहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताएका छन् ।

    बङ्गलादेशको पहाडी क्षेत्रमा जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको समयमा बाढी पहिराका घटनालाई सामान्य घटना मानिन्छ तर कहिलेकाही यो विशाल प्रकृतिक विपत्का रूपमा आउने गर्छ । अव्यवस्थित वस्ती, भिरालो क्षेत्रमा मेसिनको प्रयोग गरी सडक विस्तार र जङ्गल फँडानी र तटीय क्षेत्रमा बसाइएका बस्तीका कारण यहाँ जोखिम बढुदो रहेको छ ।

  • भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर

    भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर

    नयाँ दिल्ली, २३ असार (रासस–एएफपी) । भारतले गत वर्ष भारत नियन्त्रित कश्मीरमा पर्यटकहरूमाथि भएको घातक हमलासँग जोडेर पाकिस्तानस्थित एक लडाकु समूहका संस्थापकविरुद्ध सोमबार मुद्दा दायर गरेको छ। सन् २०२५ एप्रिलमा पहलगाम नजिकको पर्यटकीय क्षेत्रमा भएको हमलामा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश हिन्दू पर्यटक थिए। यस घटनाले आणविक शक्ति भएका दुई देशबीच चार दिनसम्म तीव्र द्वन्द्व निम्त्याएको थियो।

    नयाँ दिल्लीले पाकिस्तानले आक्रमणलाई समर्थन गरेको आरोप लगाएको छ, जसलाई इस्लामावादले पटक–पटक अस्वीकार गर्दै आएको छ । भारतको राष्ट्रिय अनुसन्धान निकाय ९एनआईए० ले हाफिज सईद लाई ‘व्यक्तिगत रूपमा तथा आतङ्ककारी सङ्गठनको प्रतिबन्धित समूह लश्कर–ए–तैबाको प्रमुख र र उक्त सङ्गठनको सक्रिय छद्म सङ्गठन ‘द रेसिस्टेन्स फ्रन्ट’का विरूद्ध मुद्दा दायर गरेको जनाएको छ ।

    एनआईएको वक्तव्यअनुसार सईदलाई ‘भारतविरुद्ध युद्ध छेड्ने र सीमापारिबाट षड्यन्त्र रचेको’ आरोप लगाइएको छ। पाकिस्तानको विदेश मन्त्रालयले टिप्पणीका लागि गरेको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन। तर इस्लामावादले यसअघि स्वतन्त्र छानबिनको माग गर्दै हमलामा पाकिस्तानी संलग्नता नभएको बताएको थियो।

    संयुक्त राष्ट्रसङ्घले सन् २००५ मा अल–कायदा र तालिबानसँगको सम्बन्धका कारण लश्कर–ए–तैबालाई प्रतिबन्ध लगाएको थियो। सन् २००८ मा अमेरिकाले हाफिज सईदलाई विश्वव्यापी आतङ्ककारी सूचीमा राखेको थियो। लश्कर–ए–तैबा भारतको वित्तीय राजधानी मुम्बईमा सन् २००८ मा भएको हमलाका लागि सबैभन्दा बढी चर्चित छ। उक्त हमलामा १० जना बन्दुकधारीले तीन दिनसम्म शहरमा आतङ्क मच्चाएका थिए र कम्तीमा १६६ जनाको मृत्यु भएको थियो।

    यो समूहले सन् २००१ मा भारतीय संसद्माथि, सन् २००५ मा नयाँ दिल्ली र बेङ्गलुरुमा तथा सन् २००६ मा मुम्बईको रेलमा भएको हमलामा पनि संलग्नता देखाएको थियो। पाकिस्तानले सन् २०२० मा ७६ वर्षीय सईदलाई आतङ्ककारी गतिविधिका लागि आर्थिक सहयोग गरेको अभियोगमा दोषी ठहर गरेको थियो।

    गत वर्षको पहलगाम हमलाले भारत र पाकिस्तानबीच कूटनीतिक प्रतिशोधका कदमहरू निम्त्याएको थियो । यो मिसाइल, ड्रोन र तोपको गोलीबारीमा परिणत भएको थियो । द्वन्द्वमा दुवै पक्षबाट ७० जनाभन्दा बढी को मृत्यु भएको थियो।

    मुस्लिम बहुल कश्मीर क्षेत्र सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएपछि दुई देशबीच विभाजित छ। दुवै देशले पूरै क्षेत्र आफ्नो दाबी गरेका छन् र यसको नियन्त्रणका लागि दुई पटक युद्ध पनि लडेका छन्। सन् १९८९ देखि केही विद्रोही समूहहरूले क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँगको विलयको माग गर्दै विद्रोह गरिरहेका छन्। 

  • ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

    ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

    रासस

    तानसेन (पाल्प), २३ असारः गाउँका अधिकांश घरमा अहिले ताल्चा झुण्डिएका छन् । रोजगारी, अध्ययन र पेसा व्यवसायको खोजीमा युवापुस्ता सहर तथा विदेशतिर जान थालेपछि यहाँका कतिपय गाउँका बस्ती सुनसान जस्तै देखिन्छन् ।

    एक समय खेतबारीको चहलपहल र मेलापातले गुञ्जिने गाउँ अहिले वृद्धवृद्धाको सहारामा मात्र टिकेको छ । गाउँमा रहेका अधिकांश बूढापाका छोराछोरी र नाति नातिनाको प्रतीक्षामा दिन बिताइरहेका छन् । चाडपर्व वा विशेष अवसरमा मात्र परिवारका सदस्य घर फर्कने भएकाले वर्षको अधिकांश समय बूढापाका एक्लोपनसँग जुध्न बाध्य छन् ।

    तिनाउ गाउँपालिकाकी ७९ वर्षीया धनकला बगालेलाई हिजोआज दिन बिताउन निकै गाह्रो छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःखसुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि धनकलाले एक्लो महसुस गर्दै छिन् । 

    तानसेन अर्चलेका रामबहादुर बस्याललाई पनि हिजोआज पुरानो गाउँले दिनको सम्झनाले हुरुक्कै बनाउँछ । नबनाओस् पनि किन, ५०-६० घरधुरी थियो, गाउँमा उर्वरभूमि थियो । हरेकले आफूलाई पुग्ने खाद्यान्न र तरकारी फलाउँथे । सबैजसोका बारीमा फलफूल थिए । बस्तुभाउ पाल्नका लागि दुःख थिएन तर समयको त्यो चक्र हेर्दाहेर्दै परिवर्तन भएको छ ।

    एक दशकयता एकपछि अर्को गर्दै छिमेकीहरू बसाइँसराइ गरी तराई र सहरतिर गएपछि उनी एक्लिए । उनका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँ छोडेर बसाइँ सरेका छन् । यो अवस्था कचल र तानसेनका ग्रामीण क्षेत्रको मात्र होइन सिङ्गो पाल्पाका अधिकांश ग्रामीण क्षेत्र यतिबेला खाली छन् । सुविधा र अवसरको खोजीमा सहर वा तराईमा बसाइँसराइ गर्ने बढेपछि यहाँका घर खाली भएका हुन् । गाउँमा तीव्र गतिमा विकास हुन थाले पनि यहाँका ग्रामीण बस्ती रित्तिँदै गएका छन् ।

    वैदेशिक रोजगारी र सहरमुखी बसाइँसराइका कारण गाउँका धेरै घर वर्षौंदेखि बन्द छन् । कतिपय घर जीर्ण बन्दै गएका छन् भने केही घरका आँगनमा झारपात उम्रिएका छन् । खेतीयोग्य जमिनसमेत बाँझो हुन थालेपछि गाउँको उत्पादन र आर्थिक गतिविधिमा पनि असर परेको छ । वृद्धवृद्धाले स्वास्थ्य सेवा, नियमित हेरचाह र आकस्मिक अवस्थामा सहयोग पाउन कठिनाइ हुने गरेको गुनासो गर्छन् ।

    हरेक गाउँमा यातायात, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्य र सञ्चारमा सुविधा बढ्दै गएको छ तर गाउँबाट सहर झर्नेहरू घटेका छैनन् । गाउँघरमै सिंहदरबार र दैलोमा स्थानीय सरकारको नारा चलिरहे पनि पहाडी जिल्लामा स्थानीय सरकारलाई पुरानो थातथलो छोडेर सहर र तराईमा बसाइँसराइ गरेर जाने प्रवृत्ति रोक्न चुनौती बनेको छ । केही स्थानीय तहले युवालाई रोक्न प्रयास गरे पनि त्यसो हुन सकेको छैन । युवाको पलायन रोक्न नीति तथा कार्यक्रममा केही कार्यक्रम ल्याइएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउँछन् । 

    कृषि क्षेत्रको विकासमार्फत युवा रोजगारी बढ्ने उनले विश्वास लिए । उनले भने, “अब जसरी हुन्छ, बसाइँसराइ रोक्नुपर्नेछ ।” मान्छेहरू अलिअलि पैसा कमाउन थाले भने बजार नै झर्ने गरेका छन्, बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोतसाधनको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ स्थानीय सरकारले ध्यान नदिने हो भने गाउँमा बूढाबूढीबाहेक अरू कोही पनि नहुने रिब्दीकोटका गोविन्द पोखरेलको भनाइ छ ।

  • पाल्पामा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पाल्पामा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    तानसेन (पाल्पा), २३ असारः यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको छ । रम्भा गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरूबीच प्रतिस्पर्धा गराएर विभिन्न २२ वटा स्वास्थ्य सूचकका आधारमा, प्रतिसूचक पाँच अङ्कका दरले ११० अङ्क ल्याउने आमालाई ‘स्मार्ट’ आमा घोषणा गरी सम्मान गरेको हो ।

    स्वस्थ आमा, स्वस्थ बच्चासहित समृद्ध समाज निर्माण गर्दै पोषणमैत्री गाउँपालिका घोषणा गर्ने अभियानअन्तर्गत आमालाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । आमाहरूलाई पालिकाले दोषल्ला ओढाएर, नगद रु १० हजार र स्वास्थ्य सामग्रीबाट सम्मान गरेको छ ।

    स्वास्थ्य संस्थामा अनिवार्य प्रसूति भएको, गर्भवती भएको सुनिश्चित भएपछि फोलिक एसिड सुरु गरेको तीन महिनापछि जुकाको औषधि खाएको, कम्तीमा चारपटक गर्भ जाँच गरेको, टिटी खोप लगाएको, गर्भवती र सुत्केरी अवधिमा २२५ वटा आइरन र क्यालसियम खाएको, बच्चाको जन्मतौल दुई दशमलव पाँच किलोभन्दा माथि भएको, पिनसी जाँच तीन पटक गरेको, सुत्केरीपछि बच्चालाई पूर्ण रूपमा स्तनपान गराएको र समयमै अन्य खानपान सुरु गरेको, प्रोटोकलअनुसार बच्चालाई पूर्ण खोप लगाएकोलगायत सूचक पूरा हुनुपर्दछ ।

    यसैगरी, प्रत्येक महिना बच्चाको तौल तथा उचाइ नापजाँच गरेको, बालभिटा खुवाएको, बच्चालाई नियमित रुपमा भिटामिन र जुकाको औषधि खुवाएको, बच्चा जन्मिएपछि हालसम्म कार्ड रुजु गरेको, आमा र बच्चाको सरसफाइ नियमित रुपमा भएको, गर्भान्तर कम्तीमा दुई वर्षको रहेको, आमा र बच्चा कुपोषित नभएको, धूमपान र मध्यपान नगर्ने आमा, बच्चाको जन्मदर्ता गरेको, महिनावरी स्वच्छतासम्बन्धी ज्ञान भएको जस्ता २२ वटा स्वास्थ्य सूचक पूरा गर्ने आमा स्मार्ट आमाका रूपमा सम्मानित भएका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

    उनका अनुसार पालिकाबाट १३८ जना आमा प्रतिस्पर्धामा सहभागी भए पनि १५ जना स्मार्टआमा सम्मानित भएका हुन् । स्मार्ट आमा सम्मानका लागि गाउँ कार्यपालिकाले कार्यविधि बनाएको छ ।

  • नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण

    नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण

    राँझा (बाँके), २३ असारः नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु पुनर्निर्माण गरिएको छ । दोस्रो जनआन्दोलन २०६२–६३ देखि गत वर्ष भदौमा भएको जेनजी आन्दोलनको क्रममा तोडफोड गरेर ढालिएका विभिन्न नेताको सालिक नेपालगञ्ज उपमहानगरपालिकाको संयोजनमा पुनर्निर्माण गरिएको हो । विभिन्न आन्दोलनका क्रममा तोडफोड भएका सबै ऐतिहासिक सालिक पुनर्निर्माण गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए । 

    उनका अनुसार, बीस वर्ष अघि दोस्रो जनआन्दोलन २०६२/०६३ का क्रममा तोडफोड गरिएको धम्बोझी चोकस्थित तत्कालीन राजा वीरेन्द्रदेखि जेनजी आन्दोलनका क्रममा तोडफोड भएका गणेशमान, बिपी, पुष्पलाल र सहिद सेतु विकको सालिकहरु पुनर्निर्माण गरी चोकचोकमा राखिएको छ ।

    सालिकसँगै चोकहरुको फाउण्डेशन पुनर्निर्माण गरिएका कारण अहिले नेपालगञ्जका चोकहरु आकर्षक देखिँदै गएको नगरप्रमुख विष्टले बताए । केही दिनभित्रै सालिकहरुको शुभारम्भ गरिने उनको भनाइ छ ।

    २०६२/०६३ को जनआन्दोलनको बेला तोडफोड भएको धम्बोझीचोकस्थित वीरेन्द्रको सालिक बीस वर्षपछि पुनःस्थापना भएको छ । राप्रपाका नेता तेजविक्रम शाहले बीस वर्षपछि सालिक पुनःस्थापना हुँदा धेरै खुसी लागेको बताए । 

  • बालपोषण भत्ता रु. १,००० पुग्ने

    बालपोषण भत्ता रु. १,००० पुग्ने

    २२ असार, काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बालबालिकाको पोषण अवस्थामा सुधार तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यका साथ मानव विकास सूचकाङ्कमा पछाडि परेका २५ जिल्लाका सबै बालबालिका तथा देशभरका दलित बालबालिकालाई प्रदान गर्दै आएको मासिक रु. ५३२ बालपोषण भत्ता आगामी आर्थिक वर्षदेखि वृद्धि गरी रु. १,००० पुर्‍याउने व्यवस्था मिलाएको छ।

    बालपोषण भत्तामा गरिएको यस वृद्धिबाट बालबालिकाको पोषण अवस्थामा सुधार आउनुका साथै कुपोषण न्यूनीकरण, बालअधिकारको संरक्षण तथा बालमैत्री सामाजिक सुरक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। त्यसैगरी, मातृ–शिशु स्वास्थ्य तथा पोषणसम्बन्धी विभिन्न कार्यक्रमहरू स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत सञ्चालन हुँदै आएका छन्।

    आगामी दिनमा मातृ–शिशु स्वास्थ्य तथा बालपोषण कार्यक्रमलाई थप प्रभावकारी, समन्वयात्मक तथा परिणाममुखी बनाउन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालन हुने महिला तथा बालबालिका लक्षित सामाजिक संरक्षण तथा सामाजिक सुरक्षा कार्यक्रमहरूले मातृ–शिशु स्वास्थ्य, बालपोषण तथा बालकल्याण प्रवर्द्धनमा थप टेवा पुर्‍याउने विश्वास लिइएको छ।

  • एकै दिन १५ अस्पतालहरूको श्रम निरीक्षण : न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयनमा गम्भीर लापरबाही

    एकै दिन १५ अस्पतालहरूको श्रम निरीक्षण : न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयनमा गम्भीर लापरबाही

    २२ असार, काठमाडौं । एकै दिन असार १८ गते श्रम कार्यालयहरूले देशभर गरिएको श्रम निरीक्षणमा सरकारी तथा निजी अस्पतालहरूमा न्यूनतम पारिश्रमिक, श्रम सम्झौता र सामाजिक सुरक्षा कार्यान्वयनमा गम्भीर लापरबाही रहेको देखिएको छ। पछिल्लो केही दिनको तथ्याङ्क हेर्ने हो भने पनि देशभरका ९५ वटा विभिन्न सरकारी तथा निजी अस्पतालहरूमा श्रम ऐनको पालनामा गम्भीर कमजोरीहरू रहेको देखिएको छ। श्रम तथा रोजगार कार्यालयहरूले झापा, विराटनगर, जनकपुर, वीरगन्ज, काठमाडौँ, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढी लगायतका क्षेत्रहरूमा रहेका प्रतिष्ठानहरूको निरीक्षण गर्दा श्रमिकको न्यूनतम हक अधिकार हनन भएको पाइएको हो।

    अनुगमनका क्रममा ३८ वटा अस्पताल तथा स्वास्थ्य संस्थाहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको र ५ वटाले आंशिक रूपमा कार्यान्वयन गरेको पाइएको छ। त्यस्तै ६० वटा अस्पताल र स्वास्थ्य संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको भेटिएको छ र ४ वटा आंशिक रूपमा मात्रै आबद्ध भएका छन्। ४१ वटा अस्पताल र स्वास्थ्य संस्थाहरूले रोजगार सम्झौता नगरेको र २ वटाले मात्रै आंशिक रूपमा सम्झौता गरेका छन्।

    कतिपय अस्पतालहरूमा श्रमिकहरूलाई नियुक्ति पत्र नै नदिई वा मौखिक भरमा काममा लगाइएको पाइएको छ। कर्मचारीहरूलाई अतिरिक्त समय (ओभर टाइम) काम लगाए बापत थप पारिश्रमिक नदिने, बिदा र चाडपर्व खर्चको व्यवस्था नगर्ने जस्ता गुनासाहरू पनि देखिएका छन् ।

    निरीक्षण टोलीले त्रुटि देखिएका अस्पतालहरूलाई तत्काल न्यूनतम पारिश्रमिक लागू गर्न, सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, श्रम सम्झौतालाई अनिवार्य लागू गर्न र श्रम अडिट गरी प्रतिवेदन पेस गर्न कडा निर्देशन दिएको छ। कतिपय प्रतिष्ठानहरूले आगामी आर्थिक वर्षदेखि सुधार गर्ने प्रतिबद्धता जनाएका छन् भने केहीले निर्देशन पालनाको प्रक्रिया सुरु गरिसकेका छन्।

    श्रम कार्यालयहरूले निर्देशन पालना नगर्ने प्रतिष्ठानहरूलाई पटक–पटक पत्राचार गर्दा पनि जवाफ नदिए पछि आवश्यक कारबाहीका लागि विभागमा सिफारिस समेत गरेका छन् । यो अनुगमनबाट स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत श्रमिकहरूको श्रम अधिकार सुनिश्चित गर्न राज्यले थप कडाइ गर्नुपर्ने आवश्यकता देखाएको छ।

    सरकार गठन हनुअघिको ९ महिनामा १ हजार ९९१ वटा श्रम निरीक्षण भएकोमा वर्तमान सरकारको एक सय दिनमै १ हजार ३ सय २१ वटा श्रम निरीक्षण सम्पन्न भई सकेको छ। मापदण्ड पालना गर्ने उत्कृष्ट प्रतिष्ठानहरूलाई सम्मान गर्ने परिपाटीले श्रम बजारमा सुरक्षित कार्य संस्कृतिको विकासमा सघाउ पुर्‍याएको छ । यसै क्रममा मन्त्रालयले बालश्रममुक्त घोषित भएका १३ स्थानीय तह, देशभरिबाट ६ उत्कृष्ट औद्योगिक प्रतिष्ठान र ७ उद्यमीलाई सम्मान गरेको छ। श्रमिकको अधिकार सुनिश्चित गरी, उपर्युक्त वातावरण निर्माण गर्न निवेदन–उजुरी तथा निरीक्षणको पश्चात् रु.४ करोड ४० लाख ९६ हजार जरिवानाक्षतिपूर्ति पनि भराइएको छ।

    सुरक्षित, मर्यादित श्रम र बाल श्रम निवारणको प्रतिबद्धता व्यक्त गर्दै, युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले देशमा बालबालिका लागि उचित वातावरण, युवाका लागि रोजगारी र उद्यम सिर्जना गर्न सके मात्रै राष्ट्र बलियो हुने बताए । उनले भने,“जब हरेक श्रमिकले आफू सुरक्षित भएको अनुभूति गर्छ, जब हरेक बालबालिका विद्यालयमा हुन्छन्, जब हरेक रोजगारदाताले कानुनको सम्मान गर्छ, र जब हरेक युवाले आफ्नो भविष्य स्वदेशमै निर्माण गर्न सकिन्छ भन्ने विश्वास गर्छ, त्यति बेला मात्र राष्ट्र बलियो बन्छ।”

  • ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

    ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

    २२ असार, काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका २४८ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिव शिखर सहकारीका १११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

    सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

    समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

  • सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

    सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

    २२ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।

    मन्त्रालयका अनुसार नेपाल सरकारले निजामती कर्मचारीको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेपछि साविकमा राष्ट्रियस्तरका ट्रेड युनियनका रूपमा रहेका केही संगठनहरूले सरकारी स्वामित्वको जग्गा प्रयोग गरी निर्माण गरेका भवन तथा अन्य संरचनाको कानुनी आधार समाप्त भएको छ। यससँगै मन्त्रिपरिषद्को निर्णय तथा श्रम तथा व्यावसायजन्य सुरक्षा विभागबाट सम्बन्धित ट्रेड युनियनहरूको दर्ता खारेज भइसकेको छ।

    मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्बन्धित संगठनहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी काजगात, सम्पत्तिको जिम्मेवारी र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनुपर्नेछ। तोकिएको समयभित्र संरचना खाली नगरिए प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी पनि मन्त्रालयले दिएको छ। साथै, जिल्ला प्रशासन कार्यलयको रहोवरमा उक्त संगठनका भवनहरुमा समेत सुचना टासिँएको मन्त्रालयले जनाएको छ ।

    सूचनामा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल लगायतका संगठनले प्रयोग गरिरहेका संरचना खाली गर्नुपर्ने उल्लेख गरिएको छ।