Category: समाचार

  • मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

    मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

    काठमाडौँ, १४ असारः मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ । महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

    देशका पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने भएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि फैलिने सम्भावना छ ।

    सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूलासाना नदीखोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपास निर्माण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।

  • नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

    नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

    चन्द्रपुर (रौतहट), १४ असार । रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका गढीमाई नगरपालिका–१ समनपुर हरैयाका भन्टु राय यादवको आठ वर्षीय छोरा अनिकेश र सोही गाउँका सुरेश यादवका आठ वर्षीय छोरा आदित्यको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।

    दुवै बालक नुहाउनका लागि गाउँ नजिकैको बागमती नदीमा गएका थिए । नुहाउने क्रममा बालक हराएको खबर पाएपछि इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक मुना पासवानको नेतृत्वको प्रहरी टोलीले खोजीकार्य गरेको प्रनाउ गौतमले जानकारी दिए ।

  • अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण

    अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण

    वाशिङ्गटन, १४ असार (रासस–एएफपी) । अमेरिकाले शनिबार इरानमा ‘केही स्थानमा’ नयाँ आक्रमण गरेको जनाएको छ । यो आक्रमण स्ट्रेट अफ हर्मुज हुँदै गन्तव्यतर्फ गइरहेको एउटा जहाजमाथिको पछिल्लो आक्रमणको जवाफमा गरिएको हो । “व्यावसायिक ढुवानीविरुद्ध इरानको निरन्तर आक्रामकताको प्रत्यक्ष जवाफमा अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले आइतबार इरानमाथि आक्रमण गरेको छ,” सेन्टकमले भनेको छ ।

    सेन्टकमले दिएको थप जानकारीमा भनिएको छ, “इरानले २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल बोकेको पानामाको झन्डा भएको तेल ट्याङ्कर ‘किकु’ माथि शनिबार आक्रमण गरेको थियो । इरानले इन्धन बोकेको ट्याङ्करलाई आक्रमण गरेपछि आइतबार अमेरिकाले प्रतिक्रियास्वरूप इरानका निश्चित स्थानमा हवाई आक्रमण गरेको वासिङ्टनले बताएको छ ।

    सेन्टकमले पछि ट्विटरमा ३५ सेकेन्डको एउटा धमिलो भिडियो पोस्ट गरेको थियो, जसमा आकाशबाट खिचिएको विभिन्न क्षेत्रमा भएको विस्फोट देखिन्छ।
    “किकु माथि इरानको ड्रोन आक्रमणको जवाफमा अमेरिकी नौसेना र वायुसेनाका लडाकु जेटहरूले स्थानीय समय अनुसार शनिबार राति स्ट्रेट अफ हर्मुज र आसपासका क्षेत्रमा १० वटा इरानी सैन्य लक्ष्यहरूमाथि आक्रमण गरेका छन्,” पोस्टमा लेखिएको छ ।

    अमेरिकी सेनाले यो पछिल्लो आक्रमणले इरानको निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा स्थल, ड्रोन भण्डारण सुविधा र समुद्रमा विस्फोटक पदार्थ बिछ्याउने क्षमतालाई लक्षित गरेको थियो। इरानी सञ्चार माध्यमहरूले दक्षिणी इरानको सिरिक र केश्म क्षेत्रमा धेरै विस्फोटहरू भएको रिपोर्ट गरेका छन्।

    संयुक्त राज्य अमेरिकाले शुक्रबार पनि इरानले अर्को जहाज ‘एभर लभ्ली’ माथि गरेको आक्रमणको जवाफमा आक्रमण गरेको थियो ।

    –अमेरिकी आक्रमणको बदलामा कुवेत र बहारिनमाथि आक्रमणः इरान–

    यसैबीच, इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्सले आइतबार अमेरिकाले इरानी भूमिमाथि गरेको आक्रमणको बदलामा कुवेत र बहारिनमाथि आक्रमण गरेको जनाएको छ । यसका साथै गाड्र्सले कुनै पनि थप आक्रामकता भए ‘कडा’ जवाफ दिने चेतावनी दिएको छ । गाड्र्सले आफ्नो विज्ञप्तिमा भनेको छ, “उनीहरूले कुवेतको अलि अल–सलेम र बहराइनको पोर्ट सलमानमा रहेको अमेरिकी नौसेना अड्डा (फिफ्थ फ्लिट) मा रहेका आठ महत्वपूर्ण अमेरिकी सैन्य सुविधाहरूमा भारी विस्फोटक पदार्थले प्रहार छन्। “कुनै पनि शत्रुको आक्रमण, जुनसुकै बहानामा भए पनि, नगण्य लक्ष्यमा भए पनि।।। त्यसको चकनाचुर पार्ने जवाफ दिइनेछ,“ गाड्र्सले थप भनेका छन्।

  • युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित

    युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित

    पेरिस, १४ असार (रासस–एएफपी) । युरोपका विभिन्न भागमा शनिबार कम्तीमा १९ करोड ३० लाख मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ । जर्मनीमा मात्र करिब ७ करोड ५० लाख व्यक्ति उच्च तापक्रमका कारण प्रभावित भएका थिए । एएफपीले प्राप्त गरेको तथ्याङ्कको विश्लेषण अनुसार उष्ण लहर पूर्वतर्फ सर्दै गरेकाले यो सङ्ख्या शुक्रबारको तुलनामा बढेको अनुमान गरिएको छ ।

    टर्की बाहेकका युरोपमा शनिबार ४० करोड ४० लाखभन्दा बढी मानिसले ३० डिग्री सेल्सियसभन्दा माथिको अधिकतम तापक्रमको सामना गर्नेछन्, जुन शुक्रबारको तुलनामा केही कम हो । जर्मन मौसम विज्ञान सेवाको पूर्वानुमान र संयुक्त अनुसन्धान केन्द्रको सन् २०२५ जनसङ्ख्या प्रक्षेपणमा आधारित एएफपीको यो विश्लेषण अस्ट्रियन एनजीओ ‘क्लिमाड्यासबोर्ड’ को तथ्याङ्कसँग मिल्दोजुल्दो छ।

  • अमेरिका–इजरायल–लेबनानबीचको सम्झौता ‘गम्भीर भुल’ : हिजबुल्लाह प्रमुख

    अमेरिका–इजरायल–लेबनानबीचको सम्झौता ‘गम्भीर भुल’ : हिजबुल्लाह प्रमुख

    हिजबुल्लाहका नेता नइम कासेमले शनिबार अमेरिका–इजरायल–लेबनानबीचको प्रस्तावित सम्झौताको विरोध गर्दै यसलाई बेरुतले गरेको ठूलो गल्ती बताएका छन् । उनले आफ्नो समूहले उक्त सम्झौतालाई अमान्य भन्दै यसलाई आफ्नो समूहले नमान्ने घोषणा गरे ।

    कासेमले भने, “वाशिङ्टनमा भएको फ्रेमवर्क सम्झौता अपमानजनक, लज्जास्पद र सार्वभौमिकताको आत्मसमर्पण हो। यो सम्झौता अमान्य र लेवनानीका लागि यसको शून्य उपलब्धी रहेको छ । सम्झौतामा इरानी–अमेरिकी समझदारीमा भएका प्रावधानहरू लागू गर्नुपर्छ।” उनले लेबनानी अधिकारीहरूलाई यो ‘गम्भीर भूल’ भई गरीएको सम्झौतामार्फत इजरायली कब्जालाई वैधानिकता दिन खोजेको आरोप लगाउनुभएको छ।

  • भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

    भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

    भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति शाली दुईवटा भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट घटनाको ३२ घण्टापछि एउटा नवजात शिशुलाई सकुशल उद्धार गरिएको छ । सामाजिक सञ्जालमा शुक्रबार साझा गरिएको भिडियोमा उद्धारकर्ताहरूले भत्किएको भवनमाथि ‘फ्लडलाइट’ को उज्यालोमा काम गर्दै शिशुलाई बाहिर निकालेको देखिन्छ । राजधानी काराकासको उत्तरमा रहेको सबैभन्दा बढी प्रभावित शहर ला ग्वाइरामा शुक्रबार राति उद्धारकर्मी शिशुको उद्धार गर्न सफल भएपछि उपस्थित मानिसहरूले खुशी व्यक्त गरेका थिए ।

    भिडियोमा उद्धारकर्ताहरूले कम्बलले बेरेर शिशुलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सतर्कतापूर्वक हस्तान्तरण गरेका देखिन्छ । शिशुलाई निकालेपछि हल्का र नरम कागजले धुलैधुलो भएको बच्चालाई पुछेर सफा गरेको देखिन्छ। भिडियो सार्वजनिक गर्ने युजर एन्ड्रेइना किन्टेरोका अनुसार शिशु मात्र १८ दिनको थियो र ३२ घण्टासम्म भग्नावशेषमा फसे पनि उसलाई कुनै चोट लागेको छैन। शिशुको आमालाई बच्चा उद्धार भएको एक घण्टापछि उद्धार गरिएको थियो ।

    शुक्रबारको अर्को फलोअप भिडियोमा किन्टेरोले आमालाई अस्पतालको बेडमा देखाउनुभएको छ भने एक स्वास्थ्यकर्मीले बच्चालाई कुनै चोट नलागेको बताएका छन् । स्वास्थ्यकर्मीले आमाले आफ्नो शरीर वा अर्को कुनै वस्तुले बच्चालाई ढाकेर जोगाएको अनुमान गरेका छन् । बुधबार आएको ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पबाट कम्तीमा ९२० जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् वा बेपत्ता छन्।

  • सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

    सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

    कानो, नाइजेरिया, १४ असार (रासस–एएफपसी) । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन्। स्थानीय अधिकारीले शनिबार यो जानकारी दिएका हुन्। यो क्षेत्रमा निरन्तर कृषकमाथि आक्रमण हुने गरेको छ । मौसम सुरु भएको केही साता भित्रै जिहादी र आपराधिक गिरोह रकमका लागि अपहरणकर्ता ९स्थानीय रूपमा ‘ब्यान्डिट’ भनेर चिनिने गाई चोरहरू० ले उत्तरी तथा मध्य नाइजेरियाका कृषक समुदायहरूमाथि कर लगाएर पैसा नदिनेहरूलाई आक्रमण बढाएका छन् ।

    यस हिंसाका कारण धेरै किसान आफ्नो खेतमा जान डराएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस्ता आक्रमणले नाइजेरियामा ‘गरिबी र खाद्य असुरक्षा’ बढाउन सक्ने चेतावनी दिएको छ। जाम्फारा राज्यको तुङ्गार बाउरे गाउँमा शुक्रबार मोटरसाइकलमा सवार डाकाहरूहरूले आक्रमण गरी गोली हानेको स्थानीय राजनीतिक प्रशासक याहाया अबुबकर यारीले बताए ।
    “आक्रमणमा अपराधीहरूले १७ जनाको हत्या गरे र केही (सङ्ख्या पुष्टि हुन नसकेको) लाई अपहरण गरे,” पीडितहरूको अन्त्येष्टिमा सहभागी यारीले भने । जिल्लाका समुदायहरू पर्याप्त सुरक्षा कर्मी नभएका कारण ब्यान्डिटहरूबाट निरन्तर आक्रमणमा परिरहेका छन्,” यारीले थपे । यो आक्रमण जुनियर रक्षा मन्त्री बेल्लो मुहम्मद मतावाल्लेको गृह जिल्लामा भएको हो। उनले यसअघि गिरोहविरुद्ध लड्न दुई हजार सैनिक खटाउने प्रतिबद्धता जनाएका थिए ।

    एएफपीले प्राप्त गरेको भिडियोमा तुङ्गार बाउरेका सयौं क्रुद्ध बासिन्दाहरूले राजमार्ग अवरुद्ध गरी हत्याको विरोध गर्दै सुरक्षा फौज खटाउन माग गरेका थिए। जुन १२ मा छिमेकी मारादुन जिल्लाको एउटा गाउँमा डाँकाहरूले १७ जना किसानको हत्या गरेका र अन्य पाँच जनालाई घाइते बनाएको स्थानीय अधिकारी तथा बासिन्दाले बताएका थिए ।

  • ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि

    ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि

    कर्णाली, १४ असारः ‘कर्णाली क्रिकेट कप २०८३’ आजदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा हुने भएको छ । कर्णाली प्रदेश क्रिकेट सङ्घद्वारा शनिबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सङ्घका प्रदेश सचिव श्रीधर केसीले असार १४–१८ गतेसम्म ‘कर्णाली क्रिकेट कप २०८३’ सञ्चालन हुने जानकारी दिए ।

    उनले खेल वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा खेल सञ्चालन हुने बताउँदै कर्णाली प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाडीलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताए ।


    प्रदेश सचिव केसीका अनुसार प्रतियोगितामा मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुमपश्चिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टोलीले रु एक लाख एक हजार र उपविजेताले रु ५१ हजार पुरस्कार पाउने छन् । उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले रु २० लाख सहयोग गरेको छ ।

  • घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    खोटाङ, १४ असारः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमा नजिक पर्ने चर्चित घर्तीभिरको चट्टना फुटाएर सडक निर्माण गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट आहाले–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सडकखण्डमा पर्ने घर्तीभिरको विशाल चट्टान फुटाएर सडक निर्माण गरिएको हो ।

    कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत रु एक करोड सात लाख ७८ हजार लगानीमा सडक निर्माणको काम सम्पन्न गरिएको छ । मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन भएको रु दुई करोड बजेटमा ठेक्का प्रक्रियाबाट कमला कस्ट्रक्सन एन्ड सप्लायर्स उदयपुरले रु एक करोड सात लाखमा सम्झौता गरेर घर्तीभिरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिए ।

    ठेकेदार कम्पनीले करिब पाँच महिना लगाएर स्काभेटरमार्फत ब्रेकर लगाएर चट्टान फुटाएर घर्तीभिरमा सडक पार गराइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए । घर्तीभिरको सडक निर्माणका लागि ठेकेदार कम्पनीले २०८२ माघमा भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।

    दिक्तेल–आहाले–रेग्मीटार सडकखण्डको साप्सुखोला किनारमा रहेको घर्तीभिर फुटाएर सडक निर्माण गरेपछि शनिबार कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले आहाले–रेग्मीटार–सगरमाथा राजमार्ग जोड्ने सडक उद्घाटन गरे । “महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकखण्ड लामो छ । घर्तीभिर काटेर त्योभन्दा सिधा र छोटो सडक मार्ग खोलिएको हो”, उनले भने, “यो सडक यात्रु तथा यातायात व्यवसायी दुवैका लागि उपयोगी छ ।”

    बिगतमा पनि घर्तीभिरलाई काटेर छोटो दूरीको सडक बनाउने योजना बनाए पनि पहरा काट्न कसैले आँट गरेका थिएनन् । कोशी प्रदेश सरकारअन्तर्गत खोटाङमा भौतिक पूर्वाधार कार्यालय स्थापना भएपछि आवश्यक बजेट विनियोजन गरेर घर्तीभिरको चट्टान फुटाएर सडक निर्माण गरिएको हो । गोरेटो बाटो सञ्चालनमा रहेको भिर काटेर सडक बनाइएपछि दिक्तेलबाट उदयपुरको गाईघाट हुँदै पूर्वी तराईका विभिन्न जिल्ला आवतजावात गर्ने छोटो दूरीको सडक मार्ग खुलेको छ । सुरुमा दिक्तेलबाट महुरे–बुइपा–राजापानी–रेग्मीटार–फोक्सिङटार हुँदै गाईघाट जानेआउने गरिएको थियो । त्यसको विकल्पमा दिक्तेलबाट आहाले–राजापानी हुँदै रेग्मीटार पुगेर गाईघाट आवतजावत गर्ने गरिएको छ ।

    दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो दूरीको सडक भएकाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ । निर्माणाधीन सडकलाई जोड्नका लागि राजापानीस्थित घर्तीभिर बाधक बन्दै आएको थियो । सगरमाथा लोकमार्गको दिक्तेल–गाईघाट सडकखण्डको कहुरे–फोक्सिङटार सडक लामो भएपछि दिक्तेल–रेग्मीटार सडक निर्माण सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
    “दिक्तेल–महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकभन्दा दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडकखण्ड साढे १७ किलोमिटर छोटो छ ।

    दिक्तेल बजारबाट तराई जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक भएकाले भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट विनियोजन गरिएको हो”, उनले भने, “नगरपालिकाको रु डेढ करोड बढी बजेटमा दिक्तेलबाट घर्तीभिरसम्म र रेग्मीटारबाट घर्तीभिरसम्म दुवैपट्टिको कच्ची सडक निर्माण गरिसकेका थियौँ । बाधकका रुपमा रहेको घर्तीभिरको ठूला चट्टानसमेत फोडेर सडक बनेपछि नियमित यातायात सञ्चालन गर्ने योजनामा छौँ ।”

    दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकखण्डमा नियमित यातायात सञ्चालन भएमा पूर्वी तराईका विभिन्न जिल्ला यात्रा गर्न, जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ । घर्तीभिरमा रहेको चट्टान फुटाउन तथा यसअघि निर्माण गरिएका सडक स्तरोन्नति गर्नेगरी पूर्वाधार विकास कार्यालयले गत वर्ष ठेक्का लगाएको हो । प्रदेश सडक पुल सहयोग एकाइ इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट पूर्वाधार विकास कार्यालयमा प्राप्त रु तीन करोड बजेटमा सोही सडकखण्डको दिखुवाखोलामा मोटरेबल पुलसमेत निर्माणको काम भइरहेको छ ।

    दिखुवाखोलामा निर्माण सुरु गरिएको ट्रस पुलका लागि आवश्यक करिब रु दुई करोड बढीको स्टिल ट्रस निर्माणस्थलमा ढुवानी गरिएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–रेग्मीटार सडकखण्डको दिखुवाखोलामा मोटरेबल पुल नहुँदा वर्षात्को समयमा करिब छ महिना यातायात ठप्प हुँदै आएको छ ।

    कालोपत्रको काम अलपत्र परेको दिक्तेल–महुरे (२० किलोमिटर) तथा महुरे–राजापानी–रेग्मीटार सडक (२९ किलोमिटर) गरी दिक्तेल–रेग्मीटार सडक (५९ किलोमिटर) लामो छ । प्रदेश सरकारको लगानीमा निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक कालोपत्र हुँदै गरेको दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोट्टिएको छ ।

  • कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

    कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

    काठमाडौँ, १४ असारः हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ । अहिले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहेको छ भने देशका बाँकी भेगमा आंशिक बदली छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।

    आज राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थान र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही तथा हिमाली क्षेत्रका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

    त्यसैगरी, मधेस प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ । महाशाखाले हुरी चल्ने तथा भारी वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

    पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

    फिक्कल (इलाम), १४ असारः वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।

    सधैँ जोखिमयुक्त रहेको सो सडकमा लेदोसहित पहिरो झर्ने र सवारी आवागमन बन्द हुने समस्या यसअघि पनि रहँदै आएको उनले बताए ।
    सडक अवरुद्ध भएपछि साना सवारीसाधनका लागि एकतर्फी रूपमा आवतजावत गर्नसक्ने गरी पहिरो पन्छाउने प्रसाय भइरहेको प्रजिअ ढकालले बताए । लगातार लेदो सडकमा झरिरहेकाले ठूला सवारीसाधनका सञ्चालनमा ल्याउन भने केही समय लाग्ने उनले बताए ।


    “गएरातिदेखि लेदोसहितको पहिरो झरेकाले सडक पूर्ण रूपमा अवरुद्ध छ । साना सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गराउन आज बिहानैदेखि पहिरो पन्छाउने प्रयास गरिरहेका छौँ, केही समय लाग्नसक्छ”, प्रजिअ ढकालले भने । यस्तै मेची राममार्गको रोङ गाउँपालिका–४ स्थित इलाम–झापा सीमाक्षेत्रमा ढिस्को र दुईवटा रूख ढलेर सडक खवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त खण्डमा पनि सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले बताए ।


    सो सडकखण्ड अवरुद्ध भएपछि इलामसहित, पाँचथर, ताप्लेजुङ र झापाका नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । सडक अवरुद्ध भएपछि इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन बीच बाटोमा रोकिँदा यात्रु अलपत्र परेका छन् ।

  • आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत

    आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत

    गोरखा, १४ असारः कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ ।
    सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेकी लामालाई हालै सम्पन्न गाउँ सभाले पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिइन् । पालिकाले यो वर्षलाई मनास्लु हिमालको सफल आरोहणको ७०औँ वर्ष पूरा भएको अवसरमा हिरक वर्षका रूपमा मनाइरहेको छ ।

    सोही अवसरमा गाउँपालिकाको गाउँसभाले फुञ्जोको नाम पर्यटन सद्भावना दूतका रूपमा सर्वसम्मत अनुमोदन गरेको लामाले बताइन् । “हाम्रो राष्ट्रको गहनाका रूपमा रहेकी फुञ्जोलाई पर्यटन सद्भावना दूत नियुक्त गरेका छौँ”, उनले भनिन् । लामाका अनुसार विश्वभर ख्याति कमाएकी फुञ्जोले सद्भावना दूतका रूपमा मनास्लु क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नेछिन् । आफ्नो जन्मभूमिले दिएको यो सम्मानप्रति कृतज्ञता प्रकट गर्दै फुञ्जोले भनिन्, “यो मेरा लागि ठूलो सम्मान हो र यस क्षेत्रलाई विश्वभर प्रवर्द्धन गर्न म कुनै कसर बाँकी राख्ने छैन ।”

    विश्वको आठौँ अग्लो शिखर मनास्लुका अतिरिक्त चुमनुब्रीको आफ्नै अद्वितीय परम्परा छ । अहिंसा क्षेत्र घोषणा भएको १०५ वर्ष पूरा गरेको चुमनुब्रीले अहिंसा क्षेत्रमा जैविक विविधताको पहिचान, निरन्तरता, प्रचारप्रसार र संरक्षणमा योगदान पुर्याउने उद्देश्यले ‘श्याग्या परम्परा संरक्षण ऐन, २०८०’ ९२०२३० समेत जारी गरेको थियो ।

    स्वीस आल्प्स र नेपालको हिमालय क्षेत्रमा तालिमप्राप्त गरेकी फुञ्जोले १४ घण्टाभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर आरोहण गर्दै सबैभन्दा छिटो आरोहण गर्ने महिलाका रूपमा विश्व कीर्तिमान कायम गरेकी थिइन् । सन् २०२४ मा उनले बेसक्याम्प (आधार शिविर)बाट १४ घण्टा ३१ मिनेटमा सगरमाथाको शिखर चुमेकी थिइन् ।

    चुमनुब्री–७ छोकाङपागाउँमा जन्मेकी फुञ्जोले सगरमाथा, ल्होत्से, मनास्लु, चो ओयुका साथै आमादबलाम, लोबुचे र डेनालीलगायतका अन्य हिमालहरूको सफल आरोहण गरिसकेकी छन् । उनले ग्रामीण तथा सीमान्तकृत समुदायहरूलाई जीविकोपार्जन, शिक्षा र दिगो विकासका क्षेत्रमा समेत सहयोग पुर्याउँदै आएकी छिन् ।

  • चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    अर्घाखाँची, १३ असारः अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् । हालसम्म ३३ वटा बचेरा गुँडबाट उड्न सफल भएका गिद्धविज्ञ कृष्ण भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुँडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका हुन् । छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अतिसङ्कटापन्न डङ्गर गिद्धले सल्लाका रुखमा २३ वटा गुँड बनाएको थियो । तीमध्ये १५ वटा गुँडबाट सफलतापूर्वक बचेरा उडेका उहाँले जानकारी दिनुभयो ।

    मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले २२ वटा र हाडफोर गिद्धले तीन वटा गुँड बनाएका थिए । तीमध्ये हिमाली गिद्धका १६ वटा र हाडफोर गिद्धका दुई वटा गुँडबाट बचेरा सफलतापूर्वक उड्न सफल भएका छन् । भुसालका अनुसार यी गिद्धहरूले वर्षमा एकपटक मात्र एउटा अण्डा पार्ने गर्छन् । सामान्यतया असोज–कात्तिकदेखि सुरु हुने प्रजनन चक्र वैशाख(जेठसम्म चल्ने भएकाले एउटा बचेरा हुर्काउन लामो समय लाग्ने गर्दछ ।

    यता विश्वमै दुर्लभ तथा सङ्कटापन्न सेतो गिद्धले पनि सन्धिखर्क, भूमिकास्थान, मालारानी र शीतगङ्गा नगरपालिकाका विभिन्न छ स्थानमा गुँड बनाएर यतिबेला बचेरा हुर्काइरहेको छ । अन्य गिद्धहरूको तुलनामा यस प्रजातिको प्रजनन केही ढिलो सुरु हुने भएकाले अहिले पनि बचेरा हुर्काइरहेका भुसालले बताउनुभयो ।

    अर्घाखाँचीमा पछिल्ला वर्षमा लगातार सफल प्रजनन हुनु, उपयुक्त बासस्थानको संरक्षण, पर्याप्त खाद्य उपलब्धता तथा स्थानीय समुदायको संरक्षणप्रतिको सचेतनाले गिद्धहरूको सङ्ख्या र प्रजनन सफलता बढाउन महत्वपूर्ण भूमिका खेलेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताउनुभयो ।

    विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्धहरूको संरक्षणका लागि अर्घाखाँची अहिले महत्वपूर्ण जिल्लाका रूपमा चिनिन थालेको छ । यस वर्ष चार प्रजातिका गिद्धको सफल प्रजनन र ३३ वटा बचेरा उड्न सफल हुनु जिल्लाको जैविक विविधता संरक्षणका दृष्टिले उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको सूचना अधिकारी खड्काले बताउनुभयो । राससबाट

  • वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    काठमाडौँ, १३ असारः दक्षिण तथा दक्षिणपूर्वी एसियामा बढ्दो फोहोर तस्करी नियन्त्रणका लागि क्षेत्रीय सहकार्य सुदृढ गर्ने उद्देश्यले यहाँ दुईदिने क्षेत्रीय गोष्ठी सम्पन्न भएको छ । यहाँस्थित फ्रान्सेली दूतावास र नयाँदिल्लीस्थित फ्रान्सेली दूतावासअन्तर्गतको फ्रेन्च होमल्यान्ड सेक्युरिटी सर्भिसले संयुक्त रूपमा आयोजना गरेको गोष्ठीका सहभागीले वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड दिएका हुन् ।

    फोहोर तस्करी नियन्त्रणका व्यावहारिक उपाय, अनुसन्धान अनुभव र असल अभ्यास आदानप्रदान गर्नुका साथै यो अपराधविरुद्ध अन्तरक्षेत्रीय सहकार्यलाई अझ प्रभावकारी बनाउने रणनीति तजुमा गर्न गोष्ठी आयोजना गरिएको हो । सन् २०२४ मा यहाँ आयोजित अवैध सिकार तथा वन्यजन्तु तस्करी नियन्त्रणसम्बन्धी क्षेत्रीय गोष्ठीको सफलतापछि वातावरणीय अपराधअन्तर्गत फोहोर तस्करी नियन्त्रणमा केन्द्रित दोस्रो संस्करण आयोजना गरिएको फ्रान्सेली दूतावासले जनाएको छ ।

    गोष्ठीमा नेपालको भन्सार विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन तथा वातावरण मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधिका साथै फ्रान्सेली राष्ट्रिय जेन्डार्मेरीको वातावरण तथा सार्वजनिक स्वास्थ्य कानुन कार्यान्वयन निर्देशनालय, बङ्गलादेश, श्रीलङ्का, कम्बोडिया, भारत, इन्डोनेसिया, सिङ्गापुर र भियतनामका सुरक्षा तथा भन्सार अधिकारी सहभागी थिए ।

    गोष्ठीमा अन्तरराष्ट्रिय प्रहरी सङ्गठन, संयुक्त राष्ट्रसङ्घीय लागूऔषध तथा अपराध कार्यालय र निजी क्षेत्रका प्रतिनिधिको पनि सहभागिता थियो ।

    उद्घाटन समारोहमा नेपालस्थित फ्रान्सेली दूतावासकी कार्यवाहक प्रमुख एल्सा कालीले गोष्ठी आयोजना गर्न सहयोग पु¥याएकोमा नेपाल सरकारका निकायप्रति आभार व्यक्त गर्दै नेपाल र फ्रान्स दुवै वातावरणीय अपराध नियन्त्रण तथा कानुन कार्यान्वयन निकायसँगको सहकार्यप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

    फ्रान्सेली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार नयाँदिल्लीस्थित फ्रान्सेली दूतावासकी गृहसुरक्षा सहचारी क्रिस्टेल फोन्तेनले वातावरणीय अपराध विश्वकै चौथो सबैभन्दा बढी आम्दानी हुने आपराधिक गतिविधिका रूपमा विकसित भएको उल्लेख गर्दै यसबाट वार्षिक ७० अर्बदेखि २१३ अर्ब अमेरिकी डलरसम्मको अवैध कारोबार हुने अनुमान रहेको बताउनुभयो ।

    फ्रान्सेली राष्ट्रिय जेन्डार्मेरीअन्तर्गत सिइएसएनका कर्णेल सेबास्टियन नोशेजले वातावरणीय अपराध नियन्त्रणमा फ्रान्सले रोकथामदेखि आपराधिक अनुसन्धानसम्म एकीकृत र समन्वित प्रणाली अवलम्बन गरेको जानकारी दिनुभयो । उहाँले सन् २०२३–२०२४ मा युरोप, एसिया र अफ्रिकाका साझेदारसँग सञ्चालन गरिएको ‘एकीकृत’ कार्यक्रमले दक्षिण तथा दक्षिणपूर्वी एसियामा फोहोर तस्करी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि अब अझ प्रभावकारी कदम आवश्यक रहेको बताउनुभयो ।

    संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयकी मुएन्दाओ सुआन्दीले ‘वेस्टनेट’ परियोजनाबारे जानकारी दिँदै फोहोर तस्करीमा संलग्न ढुवानी सञ्जाल र आर्थिक कारोबार पत्ता लगाउन निकायबीचको सहकार्य तथा कानुनी सहयोगलाई थप तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    अन्तरराष्ट्रिय प्रहरी सङ्गठनका वातावरणीय सुरक्षा उपनिर्देशनालयका सञ्चालन संयोजक मिचेले भियालेले फोहोर तस्करीले वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पार्दै आपराधिक समूहलाई आर्थिक लाभ पु¥याइरहेको बताउनुभयो । उहाँले यसको नियन्त्रणका लागि विश्वव्यापी समन्वयात्मक प्रयास आवश्यक छ भन्नुभयो ।

    गोष्ठीमा प्रस्तुत अध्ययनअनुसार हिन्द महासागर क्षेत्रमा रहेको श्रीलङ्काले बन्दरगाहमार्फत हुने फोहोर तस्करीको उच्च दबाब सामना गरिरहेको छ भने बङ्गलादेशले जहाज ‘रिसाइक्लिङ’ उद्योगको प्रमुख केन्द्रका रूपमा समुद्री वातावरणीय सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको विषयमा सम्बन्धित देशका प्रतिनिधिले जानकारी गराएका थिए ।

    गोष्ठीको समापन काठमाडौंस्थित ‘मोवेयर ल्याब’को अवलोकनबाट गरिएको थियो । सगरमाथा राष्ट्रिय निकुञ्जबाट सङ्कलित प्लास्टिक र सिसाजन्य फोहोरलाई कलात्मक तथा घरायसी सामग्रीमा रूपान्तरण गर्ने उक्त नेपाली सामाजिक उद्यमको कार्यप्रणाली सहभागीलाई अवलोकन गराइएको थियो ।

  • भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

    भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

    काराकास, १३ असार (रासस–एएफपी) । भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरूले पुष्टि गरेका छन् । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पमा पोर्चुगिज नागरिक वा पोर्चुगिज मूलका १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । पोर्चुगलको विदेश मन्त्रालयले यसअघि नौ जनाको मृत्यु र ५६ जना बेपत्ता रहेको जनाएको थियो ।


    चीनको सरकारी प्रसारक सिसीटिभीले काराकासस्थित चिनियाँ दूतावासलाई उद्धृत गर्दै सात चिनियाँ नागरिकको मृत्यु भएको जनाएको छ । दूतावासले भेनेजुएलामा रहेका आफ्ना नागरिकलाई पराकम्पन तथा अन्य सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ ।

    स्पेनले पनि आफ्ना कम्तीमा पाँच नागरिकको मृत्यु भएको तथा ११९ जना अझै बेपत्ता रहेको जनाएको छ । भग्नावशेषबाट १४ जनालाई फेला पारिएको स्पेनी अधिकारीहरूले बताएका छन् । स्पेनले राहतका लागि १० लाख युरो सहयोग घोषणा गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार भेनेजुएलामा करिब एक लाख ४७ हजार स्पेनी नागरिक बसोबास गर्दै आएका छन् ।

    ब्राजिलको विदेश मन्त्रालयले भूकम्पमा आफ्ना दुई नागरिक–एक पुरुष र एक महिलाको मृत्यु भएको पुष्टि गर्दै उनीहरूका परिवारलाई कन्सुलर सहयोग उपलब्ध गराइरहेको जनाएको छ ।

    इटालीको विदेश मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रभावित ला गुएरा क्षेत्रमा भवन भत्किँदा काराकासमा जन्मिएका तथा इटालियन र भेनेजुएली दुवै नागरिकता भएका ५० वर्षीय एक पुरुषको मृत्यु भएको छ । इटालीका करिब एक लाख ७० हजार राहदानीवाहक भेनेजुएलामा बसोबास गर्दै आएको अनुमान गरिएको छ ।

  • भेनेजुएलाको भूकम्पमा ज्यान जानेको संख्या ९२० पुग्यो, ५० हजार बेपत्ता

    भेनेजुएलाको भूकम्पमा ज्यान जानेको संख्या ९२० पुग्यो, ५० हजार बेपत्ता

    ला ग्वाइरा, भेनेजुएला, १३ असार (रासस–एएफपी) । भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ भने हजारौँ मानिस बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ । सहयोगका लागि भेनेजुएला पुगेका अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी तथा उद्धारका लागि प्रयास तीव्र पारेका छन् । काराकासका बासिन्दाहरूले अन्तरिम नेतृ डेल्सी रोड्रिगेजसँग सरकारको तर्फबाट पर्याप्त प्रतिक्रिया नआएको भन्दै आक्रोश जनाएका छन् ।

    संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले एएफपीसँग भन्नुभयो, “गत बुधबार साँझ एक मिनेटको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पमा परी ५० हजार भन्दा बढी मानिस बेपत्ता छन् । यी भूकम्पले देशको उत्तरी भागमा धेरै भवनहरू ध्वस्त पारेका छन् ।” राजधानी काराकास नजिकैको तटीय क्षेत्र ला ग्वाइरा सबैभन्दा बढी प्रभावित भएको छ । बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्पले एकपछि अर्को गर्दै भवनहरूमा क्षति पु¥याएको थियो ।

    आन्तरिक मन्त्री डियोस्डाडो काबेल्लोले टेलिभिजन सम्बोधनमा शुक्रबार राति ८ बजेदेखि क्षतिग्रस्त क्षेत्रमा प्रवेश प्रतिबन्धित गरिएको घोषणा गर्नुभएको छ । चारवटा अग्ला भवन र सयौँ अपार्टमेन्ट रहेको ला ग्वाइराको एउटा आवासीय कम्प्लेक्समा अधिकांश भवनहरू लगभग पूरै ध्वस्त भएका छन् ।


    “दुखद कुरा, भवन पूर्ण रूपमा भत्किएका छन् र बाँचेकाहरू भेट्टाउने सम्भावना निकै कम छ । अब हाम्रो प्रयास मृतकहरूको शव निकाल्नेमा केन्द्रित हुनेछ,” उद्धार टोली प्रमुख नाडियोमार पोलान्कोले भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीब्रता दिइरहेको बताउँदै भन्नुभयो ।

    अन्यत्र भने परिवारका सदस्यहरू, छिमेकीहरू र स्वयंसेवकहरूले आफ्नो खाली हातले बाँचेकाहरूलाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले ठूला मेसिनरी सहयोग नभएकोमा दुःख व्यक्त गरेका छन् । “म मेरो सानो गाएललाई खोजिरहेको छु । ऊ मात्र पाँच महिनाको थियो,” ४० वर्षीया मार्जोस्ली सालाजारले दुःख व्यक्त गर्दै भन्नुभयो । भूकम्पमा परेकी उहाँकी अर्की १६ वर्षीया छोरीे मृत अवस्थामा भेटिएकी थिइन् । सालाजारको छोरा र भतिजी दुवै बेपत्ता छन् ।

    उहाँले भन्नुभयो, “हामीलाई यहाँ सहयोग चाहिएको छ । स्तम्भहरू उठाउन मेसिनहरू चाहिएका छन् । तर हामीले यहाँ कुनै एक जना पनि सरकारी अधिकारी देखेका छैनौँ ।” काराकासको एक उच्च वर्गीय समुदायको बसोबास रहेको काराकासको छिमेकमा पुग्दा कार्यबाहक राष्ट्रपति रोड्रिगेजविरूद्ध नारा लगाउँदै भग्नावशेषमुनि आफ्ना आफन्तहरू फसेका परिवारका सदस्यहरूको भीडले आक्रोस पोख्यो । “सरकारले जनताका लागि केही पनि गरिरहेको छैन,” उनीहरूले भग्नावशेष भएको भवन नजिकको घेराबार पछाडिबाट चिच्याउँदै भने ।

  • धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन

    धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन

    धरान (सुनसरी), १३ असारः धरान उपमहानगरपालिका-८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ । धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले आज आयोजित एक कार्यक्रमबीच बसपार्कको उदघाटन गरे । सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको ५०–५० प्रतिशत आन्तरिक स्रोतबाट करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो ।

    कूल रु ३३ करोड ७० लाख ४७ हजार ३३७ लागत अनुमान गरिएको उक्त आयोजना निर्माणको जिम्मा बिकोइ गीताञ्जली जेभी, दुहबी सुनसरीले पाएको थियो । निर्माण कम्पनीले रु २५ करोड ४१ लाख ६७ हजार ३१९ मा २०७८ असार ३० गते ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो ।

    बसपार्क रु २४ करोड ८६ लाख नौ हजार १४८ मा निर्माण सम्पन्न भएको धरान उपमहानगरपालिकाका योजना शाखाका इञ्जिनियर प्रकाश शर्माले जानकारी दिए । यहाँ एकैपटक ३८ वटा ठूला बस र १८ वटा जिप पार्किङ गर्न सकिने व्यवस्था छ । भवनको बेसमेन्टमा ७२ वटा दुईपाङ्गे्र्रे सवारीसाधन, ६० वटा अटो तथा केही कार र जिप पार्किङ गर्न सकिने क्षमता रहेको उनले बताए ।


    बसपार्कमा करिब ३०० यात्रु अट्ने सुविधा सम्पन्न प्रतीक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटीभी तथा सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा यात्रु चढाउन र ओराल्नका लागि २२ वटा अटो अट्ने स्टेसन निर्माण गरिएको छ । अन्डरग्राउन्ड पार्किङसहित बसपार्क भवनको पहिलो तलामा १८ वटा व्यावसायिक सटरसमेत निर्माण गरिएको उनले बताए ।


    उद्घाटन समारोहमा कार्यवाहक नगरप्रमुख बेघाले स्मार्ट बसपार्क सञ्चालनमा आएसँगै धरानको सार्वजनिक यातायात सेवा थप व्यवस्थित, सुरक्षित र यात्रुमैत्री हुने विश्वास व्यक्त गरे । उनले धरानको पुरानो बसपार्क साँघुरो हुँदा यात्रुको भीड, ट्राफिक जाम तथा विभिन्न असुविधा हुने गरेको उल्लेख गर्दै नयाँ बसपार्कले ती समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने बताए । बसपार्कको व्यवस्थापनलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लगिने उनले बताए ।


    धरानमा लामो समयदेखि व्यवस्थित बसपार्कको अभाव हुँदा यात्रु तथा सार्वजनिक यातायात व्यवसायीले सास्ती भोग्दै आएका उल्लेख गर्दै धरान उपमहानगरपालिकाकी पूर्वनगर उपप्रमुख मञ्जु भण्डारीले नयाँ स्मार्ट बसपार्क सञ्चालनसँगै सार्वजनिक यातायात सेवा थप व्यवस्थित हुने र यात्रुले आधुनिक तथा सहज सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।

    उनले स्मार्ट बसपार्क धरानको गौरवको आयोजना भएको उल्लेख गर्दै पुरानो बसपार्क साँघुरो हुँदा दुर्घटनाको जोखिम तथा अव्यवस्थापन न्यूनीकरण गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

  • वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा तीन जना पक्राउ

    वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा तीन जना पक्राउ

    काठमाडौँ, १३ असारः आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार प्रहरीले बाराका गगनबहादुर स्याङ््तान, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट रु चार लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु तीन लाख ९० हजार र बल बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै एक जनाबाट रु एक लाख लिई सम्पर्कविहीन भएको पाइएको छ ।

    पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ र ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउमध्ये गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

    बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी इलाम देऊमाई नगरपालिका–२ का कृष्णकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत इलामबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ–१४ बल्खुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ ।

  • पेस्तोल र गोलीसहित जनकपुरबाट दुई पक्राउ

    पेस्तोल र गोलीसहित जनकपुरबाट दुई पक्राउ

    जनकपुरधाम, १३ असारः प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट दुई जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले पेस्तोल र गोेलीसहित धनुषाको मुखियापट्टि मुसहनियाँ गाउँपालिका–४ निवासी २० वर्षीय अमन यादव र धनुषाकै हंसपुर नगरपालिका–६ सोनीगामा निवासी १८ वर्षीय सुधिर मुखियलाई पक्राउ गरेको हो ।

    होटलमा आज दिउँसो खाना खान आएका दुई जना युवकसँग हतियार रहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हतियारसहित दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

    पक्राउ परेका दुवै जनाका साथबाट एक थान पेस्तोल, त्यसको एउटा म्यागजिन, ९ एमएम केएफ लेखिएको एउटा गोली र ७।६५ एमएम केएफ लेखिएका तीन वटा गोली बरामद भएको प्रहरी निरीक्षक यादवले बताए । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

    पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

    काठमाडौँ, १३ असारः पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २४ घण्टामा २५ वटा विपद्का घटना भएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बारामा खेल्दै गरेका बालकलाई सर्पले डस्दा उनको मृत्यु भएको छ । उनले २५ वटा घटनामा झण्डै आधा १२ वटा घटना सर्पदंशका रहेको जानकारी दिइन् ।

    उनका अनुसार सङ्खुवासभा, बारा, नवलपरासीपूर्व, कविपलवस्तु, कैलाली, कञ्चनपुरमा सर्पदंशका घटना भएको र ती घटनामा परेर १० जना घाइते भएका छन् । यस्तै, पहिरोले बझाङमा एक, जनावरको आक्रमणबाट दोलखामा एक, आगलागीबाट कास्कीमा एक जना घाइते भएका पनि उनले बताइन् । ती विपद्जन्य घटनाबाट कुल दुई लाख ७७ हजारको आर्थिक क्षति भएको प्राधिकरणले जानकारी दिएको छ । ती घटनामा परेर २२ वटा पशु चौपाया क्षति भएको जनाइएको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान कोशीमा भारी वर्षाको चेतावनी

    यस्तो छ आजको मौसम पूर्वानुमान कोशीमा भारी वर्षाको चेतावनी

    काठमाडौं, १३ असारः हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी चारदेखि पाँच दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ ।

    हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो मुलुकका हिमाली तथा पहाडी क्षेत्रका साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

    कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले त्यसबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

  • कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

    कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

    दमौली (तनहुँ), १३ असारः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले राससलाई जानकारी दिउ । शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको हो । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा चितवनमा आज बिहान मृत्यु भएको हो।

  • विश्वकप फुटबलः स्पेन र केप भर्डे नकआउट चरणमा

    विश्वकप फुटबलः स्पेन र केप भर्डे नकआउट चरणमा

    काठमाडौँ, १३ असारः एलेक्स बाएनाको गोलमा उरुग्वेलाई पराजित गर्दै स्पेन विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । मेक्सिकोको ग्वाडालाजारमा भएको खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । एलेक्सले खेलको ४१ औँ मिनेटमा गोल गरेका हुन् । यो विजयसँगै स्पेन सात अङ्क जोडेर समूह विजेता बनेको छ ।

    आजै भएको अर्को खेलमा केप भर्डेले साउदी अरबसँग गोलरहित बराबरी खेल्यो । केप भर्डेको समूह चरणको यात्रा जारी छ । पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश गरेको छ । तीन खेल बराबरी खेलेको यो देश तीन अङ्कका साथ समूह उपविजेता बनेको छ ।

  • मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    बेलबारी (मोरङ), १३ असारः मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसानले जनाएका छन् ।

    जिल्लामा गत वर्ष एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई एक लाख तीन हजार ५७० दशमलव ६० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले जानकारी दिए । गतवर्ष १७ हजार ७५५ हेक्टर जमिनमा चैते धान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार ८५७ हेक्टर पुगेको उहाँले बताउनुभयो । गत वर्ष ५ दशमलव ७१ उत्पादकत्व भएकोमा यसवर्ष वृद्धिभई ५ दशमलव ८० पुगेको हो ।

    अघिल्लो साल चैते धानको मूल्य क्वीन्टल दुई हजार सात सयसम्म पुगेकोमा यस वर्ष घटेर क्वीन्टल दुई हजार सम्मममा भइरहेको रङ्गेली नगरपालिका–१ का किसान चन्द्र अधिकारी बताउँछन् । चैते धानले लगानी पनि नउठेको गुनासो गर्दै बेलबारी ९ नलबारीका किसान नरबहादुर कटुवालले भने, भण्डारणको समस्याले गर्दा पनि धान सस्तोमा बेच्नुपरेको छ, किसानको पहुचमा भण्डारण हुनेथियो भने यति सस्तोमा धान बेच्नुपर्ने थिएन । ” कृषि ज्ञान केन्द्रका अनुसार १७ पालिकामध्ये सुन्दरहरैचा, बेलबारी, पथरीसनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेका छन् ।

  • लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    पाटन (ललितपुर), १२ असारः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म रूपमा ध्यान दिएर काम गर्नुपर्ने बताए । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध अन्तरराष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले ञलागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको विषय राजनीतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड दिए ।


    “नीति निर्माणमा सहभागी हुनेहरूले लागुऔषधको समस्याका बारेमा विभिन्न कोणबाट थाहा पाउनुपर्छ, हामीले सदनमा बसेर सुधारका लागि काम गर्नुपर्छ, यो अत्यन्तै ठूलो सरोकारको विषय हो”, सभापति थापाले भने । उनले सरकारमा नहुँदा लागुऔषध दुरूपयोग र अवैध ओसारपसारविरुद्ध काम गर्नका लागि क्रियाशील हुनुपर्नेमा जोड दिए ।


    सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा, सशस्त्र भूमिगत समूहका पूर्वसदस्य भाजु राउत कुर्मी, रिकभरिङ्ग नेपालका सदस्य यमकला राई र अभियान्ता विवेक कर्णले लागुऔषध रोकथामका लागि सरकार, समुदाय र व्यक्ति मिलेर लाग्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा पूर्वलागुऔषध प्रयोगकर्ता राजकुमार तामाङले लागुऔषध प्रयोगका कारण आफ्नो जीवनमा पारेको नकारात्मक प्रभाव, लागुऔषध प्रयोगकर्ता हुँदा नशा र कुलतको क्षणिक आनन्दमा फसेर गुमाएको समय, परिवारमा पारेको नकारात्मक प्रभाव, समाजमा परेको समस्याका बारेमा आफ्नो दुःखदायी र पीडादायी अनुभव प्रस्तुत गरेका थिए ।

  • भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

    भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

    ला गुआइरा (भेनेजुएला), १२ असार (रासस–एएफपी) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ । कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने करिब चार हजार ३०० जना घाइते भएका छन् ।

    भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशङ्का गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ । संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किएका, चर्किएका र ढलेका छन् । बिहीबारसम्म पनि शक्तिशाली परकम्पहरू महसुस भइरहेका छन् ।

    स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोले मृतकको सङ्ख्या २३५ पुगेको जानकारी दिए । घाइतेहरूको सङ्ख्या निरन्तर बढिरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ । सबैभन्दा बढी प्रभावित ला गुआइरा राज्यका विभिन्न क्षेत्रमा उद्धारकर्मी र स्थानीय बासिन्दाहरू भग्नावशेष हटाएर जीवित मानिसको खोजीमा जुटेका छन् । धेरै स्थानमा पर्याप्त उपकरण र दक्ष जनशक्तिको अभाव देखिएको छ ।

    काराकासको उत्तरस्थित एक बस्तीमा एक युवती घण्टौँसम्म उद्धारको प्रतीक्षा गर्दै सहयोगका लागि चिच्याइरहेकी थिइन् । स्थानीय बासिन्दा डानी रिजोले उद्धार टोली र सुरक्षाकर्मीको तत्काल आवश्यकता रहेको बताएका थिए । केही समयपछि ती युवतीको मृत्यु भएको स्थानीयवासीहरूले जानकारी दिएका छन् ।

    ला गुआइराका अन्य क्षेत्रमा पनि भग्नावशेषभित्रबाट मानिसहरूको आवाज सुनिएको छ । स्थानीय बासिन्दा एन्टोनियो बर्मुडेजले आवश्यक उपकरण र उद्धार सामग्री नहुँदा असहाय बनेको बताए । डोमिङ्गो लुसियानी अस्पतालका एक चिकित्सकले नाम सार्वजनिक नगर्ने सर्तमा धेरै बालबालिका अभिभावकविहीन अवस्थामा अस्पताल पुगिरहेको जानकारी दिए । केही बालबालिकाले आफ्नो परिचय दिन सकेका छन् भने केहीको हातमा पहिचान पट्टी बाँधिएको अवस्थामा उनीहरूलाई एम्बुलेन्समार्फत ल्याइएको छ ।

    एक उद्धारकर्मीले प्रशिक्षित जनशक्ति र आधुनिक उपकरणको अभावले उद्धार अभियान प्रभावित भएको बताए । प्रभावित क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएपछि अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले ला गुआइराको भ्रमण गरेका छन् । यसबीच केही स्थानमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीका पसलहरूमा लुटपाटसमेत भएको एएफपीका पत्रकारहरूले जनाएका छन् । भेनेजुएलाको अन्तर्राष्ट्रिय उद्धार समितिकी निर्देशक निकोल कास्टले अवस्थालाई अत्यन्त विनाशकारी बताए ।


    भूकम्पपछि विश्वका विभिन्न देशहरूले सहयोगको प्रतिबद्धता जनाएका छन् । स्विट्जरल्यान्ड, स्पेन, फ्रान्स, पोर्चुगल र मेक्सिकोले विशेषज्ञ र उद्धार टोली पठाउने घोषणा गरेका छन् । संयुक्त राज्य अमेरिकाले दुई युद्धपोत, यातायात विमान र हेलिकप्टर परिचालन गर्नुका साथै १५ करोड अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने जनाएको छ ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्नो देशको प्रतिक्रिया तीव्र, प्रभावकारी र व्यापक हुने बताए । जनवरीमा अमेरिकी सेनाको हस्तक्षेपपछि राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गरी पक्राउ गरिएपछि भेनेजुएलामा वासिङ्टनको प्रभाव बढेको छ ।

    चीन, भारत, ब्राजिल र युद्धग्रस्त इरानले पनि सहयोगको प्रस्ताव गरेका छन् । पोप लियो चौधौँले प्रारम्भिक एक लाख युरो सहायता घोषणा गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भेनेजुएलालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।


    संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुख टम फ्लेचरले १२६ वर्षयताकै शक्तिशाली भूकम्पका कारण व्यापक अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताए ।
    उद्धार र राहत कार्यलाई थप जटिल बनाउँदै ला गुआइरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि त्यसलाई बन्द गरिएको छ । मृतकमध्ये दुई ब्राजिलियाली, दुई चिनियाँ, एक इटालेली र एक पोर्चुगाली नागरिक रहेको सम्बन्धित देशहरूले पुष्टि गरेका छन् ।

    क्यारिबियन र दक्षिण अमेरिकी टेक्टोनिक प्लेटको सीमामा अवस्थित भेनेजुएलाको उत्तरी तट भूकम्पीय दृष्टिले संवेदनशील मानिन्छ । सन् १९९७ मा आएको भूकम्पमा ७३ जनाको मृत्यु भएको थियो भने सन् १९६७ को भूकम्पमा २३६ जनाले ज्यान गुमाएका थिए । सन् १९०० को ७.७ म्याग्निच्युडको भूकम्पपछि अहिलेको ७.५ म्याग्निच्युडको भूकम्पलाई सबैभन्दा शक्तिशाली मानिएको छ ।

    भूकम्पको धक्का छिमेकी कोलम्बियासम्म महसुस गरिएको थियो । बोगोटाका बासिन्दाहरूले सावधानीस्वरूप भवनहरू खाली गरेका थिए । उत्तरी ब्राजिलका धेरै सहरहरूमा पनि कम्पन महसुस भएको त्यहाँको भूकम्पीय निगरानी निकायले जनाएको छ । राजधानी काराकासमा पनि त्रासको वातावरण फैलिएको छ । धेरै नागरिकले सडक र गाडीमै रात बिताएका छन् ।

    ६० वर्षीया रिटा गोमेज आफ्नी छोरी बस्ने भवन ढलेको सामाजिक सञ्जालमार्फत थाहा पाएपछि राजधानी पुगेका थिए । उनले उद्धारका लागि भारी उपकरण परिचालन गरिएको र स्थानीय बासिन्दाहरूले उल्लेखनीय सहयोग गरिरहेको बताउँदै आफ्नी छोरी जीवितै भेटिने आशा अझै कायम रहेको बताए ।

  • रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    नारायणगढ (चितवनं, १२ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले प्रथम ऐतिहासिक महाधिवेशनसँगै आफ्नो पार्टीले देशकै एक प्रमुख र परिपक्व राजनीतिक शक्तिका रूपमा उदीयमान वैधानिकता प्राप्त गरेको बताए । चितवन उद्योग सङ्घको प्रदर्शनी हलको बन्दसत्रस्थलमा आज साँझ रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीबाट उहाँले पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अब राष्ट्र निर्माणको महाअभियानमा पार्टी जिम्मेवार र प्रतिबद्ध भएर अगाडि बढ्ने दृढता व्यक्त गरे ।


    उनले महाधिवेशनले नयाँ राजनीतिक दललाई दलका रूपमा वास्तविक वैधानिक र राजनीतिक पहिचान प्रदान गर्ने उल्लेख गरे । देशका विभिन्न क्षेत्रबाट अनेकन कठिनाइ र मौसमको प्रतिकूलताका बाबजुद महाधिवेशनमा उत्साहजनक सहभागिता जनाउने प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा शुभचिन्तकहरूलाई उहाँले विशेष धन्यवाद समेत ज्ञापन गरे ।


    पहिलो अनुभव भएकाले व्यवस्थापन र आयोजनामा केही प्राविधिक तथा व्यवस्थापकीय कमजोरीहरू भएको स्वीकार गर्दै सभापति लामिछानेले भने, “यो हाम्रो पहिलो महाधिवेशन हो । पहिलो अनुभव भएका कारण व्यवस्थापनमा केही स–साना कमजोरीहरू भएका हुन सक्छन्, त्यसलाई हामी स्वीकार गर्छौँ । आगामी दिनमा यी कमजोरीहरूबाट पाठ सिक्दै अझ सचेततापूर्वक र परिपक्व ढङ्गले सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

    पार्टीभित्रको आन्तरिक लोकतन्त्र र चुनावी प्रतिस्पर्धाका विषयमा चर्चा गर्दै उहाँले लोकतान्त्रिक अभ्यासमा पदका आकाङ्क्षाहरू हुनु स्वाभाविक भएको स्पष्ट पारे । उनले थपे, “पार्टीभित्रका आन्तरिक निर्वाचन र पदका आकाङ्क्षाहरूलाई हामीले विशुद्ध लोकतान्त्रिक अभ्यासको रूपमा लिएका छौँ । यो हलभित्र प्रतिस्पर्धा जे–जस्तो भए पनि, यस हलबाट बाहिर निस्किएपछि हामी सबै मनमुटाव त्यागेर एकजुट भई देश निर्माणको एउटै लक्ष्यमा अगाडि बढ्नुपर्छ ।”

    सभापति लामिछानेले देशको भविष्य र वर्तमान व्यवस्था परिवर्तनका लागि पार्टीका हरेक नेता, सांसद र कार्यकर्ता अत्यन्तै जिम्मेवार हुनुपर्नेमा जोड दिए । जनताले राखेको ठुलो आशा र विश्वासलाई मर्न नदिने दृढता व्यक्त गर्दै उनले भने, “हामीमाथि जनताको ठुलो भरोसा छ । जनताको यो विश्वासलाई कायम राख्दै देश र जनताको हितमा निरन्तर लागिरहनु हाम्रो प्रमुख उत्तरदायित्व हो ।”

    नयाँ र पुराना साथीहरूको सम्बन्धलाई प्रस्ट्याउँदै उनले निर्वाचनका क्रममा रास्वपा परिवारमा देखिएको प्रेम दुई नदी जस्तै भएको टिप्पणी गरे । पुराना र भर्खरै आएका साथीहरू दुवैलाई मिलाएर लैजानुपर्ने चेतना नै बलियो रास्वपाको संकेत भएको उनको भनाइ थियो ।

    चुनावमा प्यानल र लिस्ट बनाइएका हल्लाहरूका बीच पनि आम पार्टी सदस्य र मतदाताहरूले आफ्नो विवेक प्रयोग गरेको उल्लेख गर्दै उनले भने, “हाम्रा आम पार्टी सदस्य र मतदाताहरूले विवेक प्रयोग गरे । उनीहरूका लागि कुनै प्यानल वा ग्रुप होइन, बनाउनेहरूले बनाए होलान्, त्यो पछि अध्ययनको विषय बन्ला । त्यसमा हामी समीक्षा गरौँला, हेरौँला, अध्ययन गरौँला ।”

    भर्खरै पार्टी प्रवेश गरेका साथीहरूलाई पनि उच्च मत दिएर पठाउनुले रास्वपामा सबैलाई स्वागत छ भन्ने सन्देश दिएको उनले बताए । आन्तरिक प्रतिस्पर्धाका क्रममा उत्पन्न हुन सक्ने गुटबन्दी र मनमुटावलाई हलभित्रै अन्त्य गर्नुपर्नेमा जोड दिँदै सभापति लामिछानेले भने, “नयाँ र पुरानोको द्वन्द्व पनि आज अन्त्य भएको छ । यो गुट र त्यो गुटको कुरा पनि अन्त्य भएको छ । अंशहरू केही बाँकी रहेका छन् भने, यसलाई यहीँ दफन गरेर जाऔँ । कहीँकतै वैमनस्यता बाँकी रहेको छ भने, यसले यहीँ अन्त्य पायो । यसको अन्त्येष्टि यहीँ, यही हलबाट गरेर हामी अगाडि बढ्नुपर्ने हुन्छ ।”

    सम्बोधनका क्रममा सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम भने पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने जानकारी दिए ।

  • उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

    काठमाडौँ, १२ असारः पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो । काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकता राखिएको विभागका महानिर्देशक डा उमेश दाहालले बताए । उनका अनुसार तीन महिना अघि सुरु भएको सङ्क्रमण विभिन्न ११ जिल्लामा फैलिएको छ ।

    करिब एक सय कुखुरा फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी, अण्डा, दाना नष्ट गरिएका छन् । करिब डेढ महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । काठमाडौँ उपत्यकाका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण, सूर्यविनायकलगायत क्षेत्रका फार्ममा सङ्क्रमण पुष्टि भएको छ ।

    बर्डफ्लुका उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कडा सङ्क्रामक हुने र कुखुरालगायत पन्छी नष्ट उत्तम विकल्प हुने जनाइएको छ । सङ्क्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले सङ्क्रमणलाई चाँडो नियन्त्रण गर्न पन्छी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गरे ।


    विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रमा बर्डफ्लु समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा बर्डफ्लु समन्वय समिति गठन गरिएको छ । नष्ट गरिएका कुखुरा, अण्डा तथा दानाको प्रमाणका आधारमा जिल्लाबाट समितिले निर्धारण गर्ने दररेटका आधारमा लागत मूल्यको ७५ प्रतिशतसम्म किसानलाई क्षतिपूर्ति दिने व्यवस्था रहेको विभागका सूचना अधिकारी मुकुल उपाध्यायले जानकारी दिए ।

  • तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

    तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

    चितवन, १२ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया आकाङ्क्षा पोखरेललाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ । जिल्लामा दुई वर्ष पत्रकारिता गरेकी पोखरेल हाल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत छिन् । भरतपुर निवासी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट ८८० मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा विजयी भइन् । रास्वपाको स्थापनाकालदेखि नै सक्रिय रहँदै आउनुभएकी पोखरेलले यसअघि पार्टीको भरतपुर महानगर सदस्य र महानगर कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छिन् ।


    केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले नेपालका प्रमुख राजनीतिक दलहरुमा सम्भवतः सबैभन्दा कम उमेरको पहिलो केन्द्रीय सदस्यका रुपमा आफू निर्वाचित भएको दाबी गरिन् । ‘जेनजी’ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई अगाडि बढाउन सक्दो प्रयास गर्ने उल्लेख गर्दै युवा नेत्री पोखरेलले भनिन्, “मुलुकको सबैभन्दा ठूलो पार्टीको केन्द्रीय सदस्यमा विजयी भएसँगै आफ्नो जिम्मेवारी बढेको छ । यस अवसरमा मलाई विश्वास गरी मतदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिसहित रास्वपाका नेता तथा कार्यकर्ता एवं शुभचिन्तक सबैलाई धन्यवाद भन्न चाहन्छु ।”

  • मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

    मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

    काठमाडौँ, १२ असारः देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलीमिटर वर्षा मापन भएको छ, जुन यस अवधिको औसत वर्षा ९२१४ मिलीमिटर० को ६९।६ प्रतिशत हो । हरेक दिन दैनिक औसतको ९० प्रतिशतभन्दा कम वर्षा मापन भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    विभागका अनुसार विशेषगरी महिनाको सुरुआती दिनहरूमा वर्षा अत्यन्त न्यून रह्यो भने पछिल्ला दिनहरूमा केही सुधार देखिए पनि सामान्य अवस्थासम्म पुग्न सकेको छैन । मौसमविद् डेभिड ढकालका अनुसार यस वर्ष मनसुन नेपालमा सरदर मितिभन्दा ढिला प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमा कमजोर सक्रियतामा रहेकाले वर्षामा कमी देखिएको हो । कमजोर मनसुनका कारण कृषि रोपाइँ, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

    देशभर मनसुन विस्तार हुनसकेको छैन । मौसमविद् ढकालले पाँच प्रदेशका केही भूभागमा मात्रै विस्तार भएको मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्न सक्ने बताउनुभएको छ । विभागले यस मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ ।

    विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षाको हुने सम्भावना छ । विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।