Category: समाचार

  • गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

    गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

    काठमाडौँ, १० असारः चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त नगरी बिरामीको आधुनिक चिकित्सा उपचारमा संलग्न रहेकी चेतन एएम (पौडेल) पक्राउ परेकी छिन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोही ठाउँकी वर्ष ४७ की पौडेललाई पक्राउ गरेको हो । नियमित अनुगमनका क्रममा निजले नपाएको चिकित्सकको उपाधिको प्रयोग गर्नुका साथै बिरामीलाई औषधि सिफारिस गरिएको ‘प्रेस्क्रिप्सन’ फेला परेपछि नेपाल मेडिकल काउन्सिलको कारबाहीका लागि ब्यूरोलाई अनुरोध गरेको थियो ।

    प्रारम्भिक अनुसन्धानपश्चात काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई उनलाई पक्राउ गरिएको व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए । निजमाथि मुलुकी अपराध संहिता, २०७४ को इलाजसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।

  • सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

    सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

    काठमाडौँ, १० असारः सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–४ त्रिभुवन पार्क बस्ने रौतहट चन्द्रपुर नगरपालिका–४ घर भएका १९ वर्षीय विज्ञान शर्मा तिमलसिना पक्राउ परेका छन् । पीडित महिलाको अश्लिल तस्बिर–भिडियो दुरूपयोग गरी सामाजिक सञ्जाल डिसकोर्ड तथा टेलिग्राममा समेत पोष्ट गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले आज उनलाई पक्राउ गरेको हो ।

    उनीउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

  • प्रतिनिधिसभाको बैठकको मिति सर्‍यो

    प्रतिनिधिसभाको बैठकको मिति सर्‍यो

    काठमाडौँ, १० असारः प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले आज एक सूचना जारी गरेर सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम असार १२ गते शुक्रबार दिउँसो १ः०० बजेका लागि बैठक तोक्नुभएको जानकारी दिए । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ । राष्ट्रियसभाको बैठक भने पूर्वनिर्धारित असार ११ गते नै बस्नेछ ।

  • चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

    चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

    चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा गरेको फोहर सरसफाइ गरिएको छ । रास्वपाका उम्मेदवारहरूले अन्य नेता कार्यकर्ताको सहकार्यमा सरसफाइ गरेका छन् । प्रतिनिधिसभा सदस्य एवं रास्वपाका केन्द्रीय सदस्यका उम्मेदवार केपी खनाल, अर्का उम्मेदवार एवं प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह र अर्का उम्मेदवार प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालसहितका उम्मेदवार एवं प्रतिनिधिले सरसफाइ गरेका हुन् ।


    रास्वपाको बन्दसत्र गरिएको उद्योग सङ्घको गेट बाहिरको फोहर तीन जना उम्मेदवारसहितका रास्वपा नेता कार्यकर्ताले सरसफाइ गरेका हुन् । सो क्षेत्रमा छरिएका उम्मेदवारका ‘भिजिटिङ कार्ड’, पर्चा पम्प्लेट, पानीका बोटललगायत फोहर उनीहरुले सफा गरेका हुन् । खनालले राजनीतिक फोहर मात्रै होइन हामीले गरेका अन्य फोहर पनि सफा गर्नुपर्ने भन्दै सरसफाइमा जुटेको बताए ।

    उनले भने, “हामीलाई भोट हालेका जनताले हामीले फोहर गरेको देख्न चाहँदैनन् । चितवन महाधिवेशनमा अत्यधिक फोहर देखेर हामीले सफा गरेका हौँ ।” हरेक नेपालीको घरघरसम्म रास्वपाले फोहर गर्दैन भन्ने सन्देश प्रवाहका लागि उम्मेदवार अशिम साह, सुदीप ढकालसहित आफूहरूले सरसफाइ गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी फोहर गर्ने होइन सफा गर्ने मान्छे हो ।”

  • रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

    रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

    काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले उम्मेदवारी दिएका छन् । प्रारम्भिक सूचीअनुसार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दिएका छन् ।


    परराष्ट्रमन्त्री शिशिर खनालले खुलातर्फ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती प्रदेश खुलातर्फ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बागमती प्रदेशतर्फबाट उम्मेदवारी दिए । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णाली भूगोलतर्फ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी भूगोलतर्फ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खुला केन्द्रीय सदस्यतर्फ तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सुदूरपश्चिम खुलातर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिए ।

    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । प्रथम महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन गर्न केन्द्रीय समितिका विभिन्न पद तथा सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढाएको जनाएको छ । प्रारम्भिक सूचीअनुसार केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट ३८४ जनाले उम्मेदवारी दिएका छन् ।

  • ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

    ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

    पाटन (ललितपुर), १० असारः ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि रु सात अर्ब ४८ करोड ८७ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको अध्यक्षतामा आज बसेको नवौँ नगरसभाको तेस्रो बैठकले चालु खर्चतर्फ रु तीन अर्ब २५ करोड १८ लाख ५१ हजार र पुँजीगततर्फ रु चार अर्ब २३ करोड ६९ लाख २७ हजारको बजेट प्रस्तुत गरेको हो ।

    उपप्रमुख शाक्यले प्रस्तुत गर्नुभएको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र सम्वद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता दिइएको छ ।

    यसैगरी बजेटमा लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवद्र्धन र विकास, सम्पदा तथा सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवद्र्धन, अपाङ्गतामैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार र व्यवस्था, विपद् जोखिम न्यूनीकरण र उद्धार, उद्यमशीलता विकासमार्फत रोजगार प्रवद्र्धन तथा गरिबी न्यूनीकरण, निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजसँग सहकार्य, प्रविधियुक्त एवं नागरिक मैत्री र जवाफदेही सेवा प्रवाह तथा प्रत्येक घरमा स्वच्छ खानेपानीलाई प्राथमिकता दिइएको छ ।

    प्रस्तुत वार्षिक बजेटका लागि महानगरले स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट रु एक अर्ब ३६ करोड ५३ लाख ९० हजार र बागमती प्रदेश सरकारबाट रु १७ करोड ६३ लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै आन्तरिक आयबाट रु तीन अर्ब ३५ करोड ५० लाख सङ्कलन हुने अनुमान बजेटमा उल्लेख छ । त्यस्तै अन्तर सरकारी अख्तियारीबाट रु एक अर्ब ६ करोड २० लाख प्राप्त हुने अपेक्षा गरिएको छ । रु एक अर्ब ४७ करोड नगद मौज्दातबाट बेहोरिने उपप्रमुख शाक्यले जानकारी दिनुभयो ।

    महानगरले गत वर्ष रु सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको वार्षिक बजेट प्रस्तुत गरेकामा २०८३ को जेठ मसान्तसम्म रु तीन अर्ब ४३ करोड ७६ लाख ९१ हजार अर्थात् ५१.२ प्रतिशत बजेट खर्च भएको उपप्रमुख शाक्यले जानकारी दिइन् । यसअघि यही असार ५ गते भएको नगरसभाको पहिलो बैठकमा महानगरप्रमुख चिरीबाबु महर्जनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सोही नीति तथा कार्यक्रमको आधारमा आज बजेट प्रस्तुत गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

  • गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

    गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

    काठमाडौँ, १० असारः नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ डल्लु र सितापाइला क्षेत्रमा गैरकानूनी रुपमा बसोबास गर्दैआएका बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिई गैरकानुनी रुपमा नेपाल बस्दै आएका उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

    प्रहरीले उनीहरुलाई डल्लु, सीतापाइलालगायतका क्षेत्रमा कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भट्टराईले बताए । पक्राउ परेका उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि आज अध्यागमन विभाग कालिकास्थान पठाइएको छ ।

  • चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    काठमाडौँ, १० असारः नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई वटा अमूल्य मूर्ति फिर्ता नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आज आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

    समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा म्यानहटन सरकरी वकिलको कार्यालयअन्तर्गतको पुरातात्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्तान्तरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे । महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्ति अनुसार तेह्रौँ शताब्दीको कास्य पद्मपाणीको मूर्ति काठमाडौँस्थित थमबहिल (विक्रमशील महाविहार, भगवानबहाल)को अनुपम कलाकृति मानिन्छ । उक्त मूर्तिको अन्तिम तस्बिर सन् १९७१ मा लिइएको अभिलेखमा उल्लेख छ भने सन् १९७१ र १९७७ बीच कुनै समयमा अवैध रूपमा अमेरिका पु¥याइएको ठानिएको छ ।

    त्यसैगरी, सोह्रौँ शताब्दीको काठबाट निर्मित नृत्यदेवीको मूर्ति ललितपुरको इबहा बहीको उत्कृष्ट काष्ठकलाको नमुना मानिन्छ । उक्त मूर्ति सन् १९६९ र १९८३ बीच कुनै समयमा चोरी गरी अमेरिका लगिएको अनुमान गरिएको छ । पछि यो मूर्ति न्युयोर्कस्थित महानगर सङ्ग्रहालयबाट बरामद गरिएको थियो । यी दुवै सम्पदा न्युयोर्क सरकारी वकिलको कार्यालयले अमेरिकी गृह सुरक्षा अनुसन्धान निकाय तथा अन्य साझेदार संस्थासँगको सहकार्यमा खोजी गरेर नेपाललाई हस्तान्तरण गरिएको हो ।

    त्यस अवसरमा महावाणिज्यदूत भण्डारीले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट अमेरिकी सरकार, न्युयोर्क सरकारी वकिलको कार्यालय, गृह सुरक्षा अनुसन्धान निकाय, अनुसन्धानकर्ता, सङ्ग्रहालय, सम्पदा संरक्षण अभियन्ता तथा समुदायका सदस्यप्रति आभार व्यक्त गरे । उनले सबैको संयुक्त प्रयासबाट यी अमूल्य सांस्कृतिक सम्पदाको खोजी, नेपाललाई पुनः स्वामित्व प्राप्ति र स्वदेश फिर्ती सम्भव भएको बताए ।


    नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको अवैध ओसारपसार नियन्त्रणका लागि विकसित हुँदै गएको सहकार्य अन्तरराष्ट्रिय साझेदारीको उत्कृष्ट उदाहरण भएको तथा साझा सांस्कृतिक सम्पदा संरक्षणप्रतिको प्रतिबद्धताको प्रतीक भएको उनको भनाइ थियो । उनले अमेरिकास्थित नेपाली समुदाय तथा सामुदायिक संस्थाहरू, विशेषगरी नेवा गुठी न्युयोर्कलाई नेपालका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा पु¥याएको योगदानका लागि धन्यवाद दिए ।

    हस्तान्तरणपछि ती दुवै सम्पदालाई यही जुन २५ मा नेपाल पठाइने जनाइएको छ । ढुवानी तथा व्यवस्थापनको कार्य नेपाली महावाणिज्यदूतावास र नेवा गुठी न्युयोर्कको समन्वयमा गरिनेछ भने गुठीका प्रतिनिधिहरूले सम्पदासँगै नेपालसम्म यात्रा गर्नेछन् ।

    काठमाडौँ आइपुगेपछि ती सम्पदा पुरातत्त्व विभागलगायत सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गरिनेछ । समारोहमा न्युयोर्क सरकारी वकिलको कार्यालय, गृह सुरक्षा अनुसन्धान निकाय, नेवा गुठी, मेट्रोपोलिटन म्युजियम, प्राध्यापक, नेपाली समुदायका सदस्य, सम्पदा संरक्षणकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

  • हर्मुजमा इरानको दाबी

    हर्मुजमा इरानको दाबी

    तेहरान, १० असार (रासस–एएफपी) । अमेरिका–इरान युद्ध अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सम्पन्न वार्तापछि इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी आफ्नो प्रशासनिक नियन्त्रणमा रहने घोषणा गरेको छ । इरानका प्रमुख वार्ताकार तथा संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले युद्धअघि जस्तो अवस्था अब कहिल्यै नफर्कने र अन्तर्राष्ट्रिय कानूनअनुसार हर्मुज इरानद्वारा नै प्रशासित हुने बताए ।

    स्विट्जरल्यान्डको बर्गनस्टक रिसोर्टमा अमेरिका र इरानबीच भएको वार्तापछि तेहरान फर्किएका घालीबाफले वार्ताबाट सकारात्मक उपलब्धि हासिल भएको दाबी गरे । उनले हर्मुज जलघाँटी, लेबनानको अवस्था, इरानी तेलमा दिइने छुट तथा रोक्का गरिएका सम्पत्ति फुकुवाका विषयमा महत्त्वपूर्ण प्रगति भएको बताए ।


    इरान र संयुक्त राज्य अमेरिका सोमबार हर्मुज जलघाँटी खुला राख्ने, समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्ने तथा लेबनानमा जारी द्वन्द्व अन्त्यका लागि सञ्चार संयन्त्र स्थापना गर्न सहमत भएका थिए । मध्यस्थकर्ताहरूका अनुसार मध्यपूर्वमा फैलिएको तनाव कम गर्न दुवै पक्षबीच प्रत्यक्ष सम्पर्कको व्यवस्था गर्ने समझदारी पनि भएको छ ।

    घालीबाफले भिडियो सन्देशमार्फत आफूहरू अझै प्रक्रियाको प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै कूटनीतिक प्रयास निरन्तर जारी रहने बताए । उनका अनुसार यो यात्रा विशेषगरी जलघाँटीको व्यवस्थापन, लेबनानको अवस्था, तेल कारोबार र आर्थिक विषयमा उपयोगी साबित भएको छ । वार्तापछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले संयुक्त राष्ट्रसङ्घका आणविक निरीक्षकहरूलाई पुनः देशभित्र काम गर्न अनुमति दिने जानकारी दिएका थिए । त्यसलगत्तै अमेरिकाले इरानी तेलमाथि लगाइएका केही प्रतिबन्ध अस्थायी रूपमा निलम्बन गरेको जनाइएको छ ।

    सम्झौताअनुसार तेहरानले प्रतिबन्धमा आंशिक राहत पाउने तथा विदेशमा रोक्का गरिएका सम्पत्तिहरू फुकुवा हुने अपेक्षा गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार घालीबाफले वार्तापछि ओमानमा पनि भ्रमण गर्नुभएको थियो । ओमान हर्मुज जलघाँटीसँग जोडिएको मुलुक हो । युद्धको सुरुआती चरणमा इरानले बन्द गरेको हर्मुज जलमार्ग अमेरिका र इरानबीचको सहमतिपछि गत साता पुनः सञ्चालनमा आएको थियो । तर लेबनानमा भएको इजरायली आक्रमणको प्रतिक्रियास्वरूप तेहरानले शनिबार फेरि जलघाँटी बन्द गर्ने घोषणा गरेको थियो ।

    कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूका अनुसार त्यसयता तेहरान र वासिङ्टनले व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न, सम्भावित घटना रोक्न र गलत बुझाइबाट उत्पन्न हुन सक्ने तनाव कम गर्न प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् । समुद्री यातायात निगरानी गर्ने संस्थाहरूका अनुसार अमेरिका र इरानबीच युद्ध अन्त्यसम्बन्धी सहमति नजिकिँदै जाँदा सोमबार हर्मुज जलघाँटीमा जहाजहरूको आवागमन फेरि तीव्र गतिमा बढ्न थालेको छ ।

  • रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

    रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

    चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ । उनले भने, “एकिन सङ्ख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेद्वारी परेको छ । आज बिहान ९ः०० बजे नामावली प्रकाशन गरिनेछ ।”

    निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन् ।

  • सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

    सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

    मिला दरै / रासस

    डुम्रे (तनहुँ), १० असारः “कामको सिलसिलामा धेरै समय घर बाहिर भइन्छ, त्यतिबेला आफ्नो भाषा बोलिँदैन, हामीले काम गर्दै गर्दा खस भाषा मात्रै बोलियो । अहिले हाम्रो भाषा हराउने अवस्थामा पुगेको छ”, आँबुखैरेनी गाउँपालिका–२ घुम्तीका इन्द्रबहादुर भुजेलले गुनासो गर्नुभयो । आफ्नो भाषा कम बोलिने अवस्थाका कारण नयाँ पुस्ताले पनि भाषा सिक्न नसकेको उहाँले सुनाउनुभयो ।

    पहिले त विद्यालयसम्म पुगेर पढ्ने अवस्था थिएन । एकापसमा भाषा बोलिएको हो र अहिले आफ्नो भाषामा पठनपाठन नहुने र खस भाषामा पढ्न सिक्दा आफ्नो मातृभाषा नै बोल्न नजान्ने भएका उहाँ बताउनुहुन्छ । “सिक्नुपर्छ भन्ने कुरा कहिलेकाहीँ हुन्छ”, उहाँ भन्नुहुन्छ, “सबैलाई मिल्ने भाषा बोलिँदा नै हामीले आफ्नै भाषा बिर्सिएका छौँ ।”

    व्यास नगरपालिका–१० बोटेगाउँका हर्षबहादुर बोटे पनि आफ्नो समुदायका बालबालिकाले परम्परागत भाषा नजानकामा चिन्तित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी काममा हिँड्नुपर्छ, छोराछोरीलाई विद्यालय पठाइन्छ, उनीहरुले भाषा, कला, संस्कार, संस्कृतितर्फ ध्यान दिन सकेका छैनन् । उसो त बोटे समुदायको भाषा मात्र हैन पेसा जोखिममा छ । सुन चाल्ने मादी, सेती, बूढीगण्डकी, त्रिशूली र कालीगण्डकी नदीमा जेसिबी लगाएर गिट्टी, बालुवा निकाल्दा पेसा सङ्कटमा परेको छ ।”

    त्यस्तै, गुनासो व्यास नगरपालिका–१० डिहीगाउँका सीमान्त कुसुण्डाको पनि छ । उहाँ भन्नुहुन्छ, “भाषाको महत्व छ भनेर बुझ्दै गएको छु । मलाई कुसुण्डा भाषा बोल्न सिकाउने बाबु बितेपछि त्यो भाषा घरभित्रै हरायो ।” विश्वमा नै दुर्लभ मानिएको कुसुण्डा भाषा सिकाउने व्यक्तित्व कहाँ खोज्ने र सिक्ने भन्ने चिन्ता लाग्ने गरेको उहाँ बताउनुहुन्छ । “बाबासँग बिलीन भएको मेरो भाषा संरक्षण र बोल्न सिक्ने ठाउँ चाहिएको छ, यसका लागि सरकारी सहयोगको आशा छ”, उहाँ भन्नुहुन्छ ।

    कुसुण्डा भाषा जोगाउन सङ्घर्ष गरिरहनुभएका सीमान्तजस्तै गण्डकीका धेरै सीमान्तकृत समुदाय अहिले आफ्नो पहिचान, भाषा, संस्कार, संस्कृति र परम्परा जोगाउने लडाइँमा छन् ।

    नेपाल सरकारले आदिवासी जनजाति, लोपोन्मुख र सीमान्तकृत समूह भनेर सूचीकृत गरेको छ । ती समुदायमध्ये गण्डकी प्रदेशमा लोपोन्मुख तथा सीमान्तकृत समूहमा पर्ने कुसुण्डा, दरै, बोटे भुजेल, हायु, थकाली, छन्त्याल, बरामलगायत समुदायको बसोबास छ ।

    राज्यले समावेशीकरण, समानुपातिक प्रतिनिधित्व र सामाजिक न्यायका नीति अघि सारे पनि कुसुण्डाका साथै दरै (दराई), बोटे र भुजेलजस्ता सीमान्तकृत अल्पसङ्ख्यक समुदाय अझै विकासको मूलधारबाट अपेक्षित रूपमा पुग्न सकेका छैनन् ।

    नेपालका सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्थामा पछिल्ला वर्षहरूमा केही सुधार देखिए पनि उनीहरू अझै पनि गरिबी, शिक्षा, स्वास्थ्य, रोजगारी र प्रतिनिधित्वका क्षेत्रमा विभिन्न चुनौतीसँग जुधिरहेका छन् । संविधानले समानता, समावेशिता र सामाजिक न्यायको प्रत्याभूति गरे पनि व्यवहारमा धेरै समुदाय अझै विकासको मूलधारबाट टाढा छन् ।

    हिमाल, पहाड र तराईमा फैलिएका १४० भन्दा बढी जातजाति र १२० भन्दा बढी भाषाले नेपालको पहिचान निर्धारण गरेको छ । तर, यही विविधताभित्र केही समुदाय यस्ता पनि छन्, जसको अस्तित्व, भाषा र संस्कृति आज गम्भीर सङ्कटमा छन् ।

    राष्ट्रिय जनगणना–२०७८ अनुसार भुजेल समुदायको जनसङ्ख्या करिब एक लाख २० हजार २४५ पुगेको छ । दरै समुदायको जनसङ्ख्या १८ हजार ६९५, बोटे समुदायको ११ हजार २५८ छ । कुसुण्डा समुदायको जनसङ्ख्या अत्यन्त कम छ । कुसुण्डाको सङ्ख्या २०० भन्दा कम छ । जनसङ्ख्याको हिसाबले कम भए पनि यी समुदायले नेपालको सांस्कृतिक विविधतालाई जीवन्त राखेका छन् ।

    तनहुँमा कसुण्डा परिवारको एक घर छ । गोरखामा पनि कुसुण्डाको बसोबास छ । तनहुँ मुख्य केन्द्र रहेको दरै समुदाय गोरखा र नवलपुरमा पनि भेटिन्छ । भुजेल तनहुँ, गोरखा, स्याङ्जा, कास्की र लमजुङमा छन् । बरामको बसोबास गोरखालाई मानिएको छ । हायु गोरखा र आसपासका क्षेत्रमा बस्दै आएका छन् । छन्त्याल म्याग्दी र बाग्लुङमा बस्दै आएका छन् ।

    दरै समुदाय
    यस समुदायको थातथलो तनहुँको दमौली र मादी नदीको किनार हो । उनीहरुको जनसङ्ख्यामध्ये २३।५ प्रतिशत उद्गम थलो तनहुँमा नै छन् । बाँकी अरू जिल्लामा छरिएका छन् । मातृभाषा बोल्ने १२ हजार १६५ जना छन् । कुल जनसङ्ख्याको ६५।०२ प्रतिशतले भाषा बोल्न सक्ने तनहुँ दरै समाजका अध्यक्ष ठाकुरबहादुर दरैले जानकारी दिनुभयो ।

    दरै समुदायको भाषा, रहनसहन, संस्कृति र संस्कार रहे पनि लिपि भने नभएको उहाँले बताउनुभयो । दरै भाषा भारोपेलीमा पर्ने भएकाले अरू जनजातिको भन्दा फरक रहेको छ । उहाँका अनुसार पहाड र तराईका फाँट, टार, उर्वराभूमि भएको र सकभर पानीको सुविधा भएको ठाउँमा दरैको बसोबास छ ।

    “विगतमा गाउँबस्तीका अगुवाका रूपमा मुखिया हुने गर्दथ्यो । पारिवारिक झैझगडा मिलाउन, गाउँ ठाउँमा रीतिथिति बसाउन, अपराधीलाई दण्ड सजाय दिन र सार्वजनिक हितका कार्य गर्न समुदायको परिचालन गर्न मुखियाले नेतृत्वकारी भूमिका लिनाका साथै पूजाआजाको व्यवस्था मिलाउने र परम्परागत स्वास्थ्य उपचार गर्ने प्रचलन थियो”, अध्यक्ष दरैले भन्नुभयो । उहाँका अनुसार धेरै कुरा छुट्दै आए पनि परम्परागत पूजाआजाले भने निरन्तरता पाइरहेको छ ।

    बोटे समुदाय
    तनहुँ र कास्की हुँदै बग्ने मादी नदी, सेती नदी र कालीगण्डकी नदीको किनारा यिनीहरूको थातथलो मानिन्छ । कुनै समयका फिरन्ते यस जातिको बासस्थान छरिएको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार ११ हजार २५८ मध्ये गण्डकीको पूर्वी नवलपरासी ९नवलपुर० २२ प्रतिशत, तनहुँमा १४ प्रतिशत बसोबास छ । कुल जनसङ्ख्याको ६८ प्रतिशतले भाषा बोल्ने गरेका छन् ।

    पेसाका आधारमा यो समुदायलाई दुई समूहमा वर्गीकृत गरिएको छ, पाखे बोटे र पानी बोटे । पाखे बोटे कृषि र पशुपालनमा आधारित हुन्छन् भने पानी बोटे डुङ्गा खियाउने र माछा मारेर जीविका चलाउने बोटे समाज नेपालका महासचिव शेरबहादुर बोटेले बताउनुभयो । साथै पानी बोटेको परम्परागत पेसा नदीको बालुवा चालेर सुन खोज्ने रहेको उहाँको भनाइ थियो ।

    भुजेल समुदाय

    भुजेल समुदायको बाग्लुङको ढोरपाटन उपत्यकास्थित भुजी क्षेत्रलाई उद्गम थलो मानिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कुल एक लाख २० हजार २४५ छ । तीमध्ये गण्डकी प्रदेशमा २४ प्रतिशतको बसोबास रहेको देखिन्छ । कुल जनसङ्ख्याको १०।९ प्रतिशतले मात्रै भाषा बोल्न सक्ने अवस्था रहेको भुजेल समाज केन्द्रीय महिला अध्यक्ष बसुन्धरा घर्तीले बताउनुभयो । यस समुदायको मुख्य धर्म प्रकृति पूजा हो । तर, यस समुदायको मुख्य पर्व उधौली उभौली भएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार कृषि, पशुपालनका साथै हस्तकलाका रूपमा बाँसको चोयाबाट डोको, नाम्लो, नाङ्लो (सुपो), डालोलगायत सामग्री उत्पादन गर्ने गर्दछन् । यसका साथै ज्यालादारी तथा मजदुरीमा आबद्ध भएको पाइएको घर्तीले बताउनुभयो ।

    नदी, वन र प्रकृतिसँग जोडिएको जीवन

    जल, जमिन र जङ्गलसँग सम्बन्धित भएर बसोबास गर्न रुचाउने सीमान्तकृत अल्पसङ्ख्यक समुदाय यीसँग टाढिएर रहन मुस्किल भएको बताउँदै आएका छन् । केही दशकअघिसम्म दराई र बोटे समुदायको जीवन नदीसँग जोडिएको थियो । तनहुँ, चितवन, नवलपुर, गोरखा र आसपासका क्षेत्रमा बसोबास गर्ने दराई समुदाय खेतीपाती गर्ने र वनजन्य उत्पादनमा निर्भर रहेको पाइन्छ । उनीहरूको आफ्नै भाषा, वेशभूषा, संस्कार, संस्कृति र सामाजिक संरचना छ ।

    नेपालमा सडक सञ्जाल विस्तार, शिक्षा र सञ्चारको पहुँच बढ्दै जाँदा यी समुदायको जीवनशैलीमा पनि परिवर्तन आएको छ । विद्यालय जाने बालबालिकाको सङ्ख्या बढेको छ । सरकारी सेवामा प्रवेश गर्ने युवा पनि बढ्दै गएका पाइन्छ । तर, विकासले अवसर मात्र ल्याएन, चुनौती पनि थपिएको महसुस भएको बताउने गरेका छन् ।

    बोटे समुदायको परम्परागत डुङ्गा व्यवसाय पुल निर्माणपछि लगभग समाप्त भएको छ । नदी पार गराउने कामबाट जीविका चलाउने परिवार आज मजदुरी वा वैदेशिक रोजगारमा निर्भर हुन थालेको समाजका महासचिव शेरबहादुरले बताउनुभयो ।

    दरै समुदायमा पनि परम्परागत कृषि पेसा क्रमशः घट्दै गएको छ । नदी प्रदूषण, जलवायु परिवर्तन र जलस्रोतको दोहनले उनीहरूको पुरानो जीवनशैली प्रभावित बनेको अध्यक्ष ठाकुरबहादुरले बताउनुभयो । “बालबालिकादेखि नै प्रविधिको उपयोग गरिँदै गर्दा मातृभाषा नै बोल्न छाडिएको छ । जसले भाषा लोप भएको छ”, उहाँले भन्नुभयो ।

    कुसुण्डा समुदायमा त झन् ठूलो परिवर्तन आएको छ । जङ्गलमा आधारित घुमन्ते जीवन अन्त्य भइसकेको छ । अधिकांश कुसुण्डा परिवार स्थायी बस्तीमा बस्न थालेका छन् । तर, आधुनिक जीवनमा घुलमिल हुने क्रममा उनीहरूको भाषा र सांस्कृतिक पहिचान गुम्ने खतरा छ ।

    सङ्कटमा भाषा

    यी समुदायको सबैभन्दा ठूलो चुनौती भाषा संरक्षण मानिएको छ । भाषासँग जोडिएका कला, संस्कार र संस्कृति लोप हुँदै गएका छन् । नेपालमा मातृभाषा बोल्नेको सङ्ख्या निरन्तर घटिरहेको छ । दरै समुदायका धेरै युवाले बोलचालमा नै पूर्णरुपमा खस भाषालाई प्राथमिकता दिन थालेका भादगाउँ दरै समाजका कोषाध्यक्ष वीरबहादुर दरैले बताउनुभयो ।

    “बालबालिकासँगै घरका भाषाका विज्ञ नै बोल्न छाडिदिएपछि बालबालिकाले सिक्न सकेका छैनन् । शिक्षा नै खस भाषामा हुने भएकाले घरमा पनि बालबालिकासँग बोल्ने बनाउन सकिएको छैन । घरमा भाषा बोल्न सिकाउने क्रममा विद्यालय शिक्षाका लागि बोलिने खस भाषा नै बोल्न नसक्ने हुँदा पठनपाठनमा समस्या हुने गरेको पाइएको छ”, उहाँले भन्नुभयो ।

    त्यस्तै, बोटे समुदायमा पनि मातृभाषा बोल्ने नयाँ पुस्ताको सङ्ख्या घट्दो छ । यस समुदायका कतिपयले त भाषा नै बोल्न नसक्ने अवस्था पुगेका छन् । भाषा पठनपाठनमा ल्याउनकै लागि पनि प्रशिक्षक नपाउने अवस्थामा रहेको बोटे समाजका केन्द्रीय महासचिव शेरबहादुरले बताउनुभयो ।

    भुजेल समुदायको अवस्था पनि उस्तै छ । कुसुण्डा भाषाको अवस्था झन् संवेदनशील बनेको छ । केही दशकअघि यो भाषा पूर्ण रूपमा लोप हुने अवस्थामा पुगेको थियो । पछिल्ला वर्षमा भाषा संरक्षणका केही प्रयास भए पनि भाषा बोल्ने व्यक्तिको सङ्ख्या अत्यन्त कम छ । भाषा केवल सञ्चारको माध्यम होइन, समुदायको इतिहास, ज्ञान, संस्कृति र पहिचानको भण्डार पनि हो । भाषा हराउनु भनेको एउटा सभ्यता हराउनु हो ।

    शिक्षामा सुधार, तर गुणस्तरीय पहुँच अझै चुनौतीपूर्ण

    विगतको तुलनामा यी समुदायमा शिक्षाको पहुँच बढेको छ । सरकारले छात्रवृत्ति, आरक्षण र विभिन्न लक्षित कार्यक्रम सञ्चालन गरेसँगै आधारभूत शिक्षाको पहुँच पुगेको हो । दरै, बोटे र भुजेल समुदायका विद्यार्थी विद्यालय र विश्वविद्यालयसम्म पुग्न थालेका छन् भने केही युवा निजामती सेवा, सेना, प्रहरी, पत्रकारिता र शिक्षण पेसामा पनि स्थापित भएको पाइन्छ । तर, ग्रामीण क्षेत्रमा अझै पनि विद्यालय छाड्ने दर उच्च रहेको छ । आर्थिक अभाव, रोजगारीको दबाब र शैक्षिक वातावरणको कमीले यी समुदायका अधिकांश विद्यार्थीले उच्च शिक्षा हासिल गर्न सकिरहेका छैनन् ।

    विशेषगरी कुसुन्डा समुदायका बालबालिकालाई मातृभाषामा शिक्षा उपलब्ध गराउने व्यवस्था अझै पर्याप्त छैन । यसले भाषा संरक्षणलाई थप चुनौतीपूर्ण बनाएको देखिन्छ ।

    गरिबीको चक्र अझै कायम

    अधिकांश दराई, बोटे, कुसुण्डा र भुजेल परिवार आज पनि न्यून आय भएका समूहमा पर्दछन् । खेतीयोग्य जमिनको अभाव, सीपमूलक तालिमको कमी, सीमित रोजगारीका अवसर र परम्परागत पेसाको अन्त्यले उनीहरूको आर्थिक अवस्था कमजोर बनेको हो । अन्य समुदायका युवा गुणस्तरीय शिक्षा, रोजगारीको पहुँचको खोजीमा गाउँ छाड्ने गरेको पाइन्छ भने यी समुदायका गुणस्तरीय शिक्षाको अभावले नै युवाहरू खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया र भारतमा रोजगारी खोज्न बाध्य छन् । गाउँमा वृद्ध, महिला र बालबालिका मात्र रहने प्रवृत्ति बढ्दै गएको देखिन्छ । आर्थिक कमजोरीका कारण स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा पनि प्रत्यक्ष असर परेको छ ।

    स्वास्थ्य सेवामा पहुँचको समस्या

    सीमान्तकृत समुदाय बसोबास गर्ने अधिकांश क्षेत्र अझै पनि गुणस्तरीय स्वास्थ्य सेवाबाट टाढा छन् । स्वास्थ्य चौकी भए पनि दक्ष जनशक्ति र आवश्यक औषधिको अभावलगायत सामान्य समस्या बनेको पाइन्छ । आर्थिक अवस्था कमजोर भएकाले धेरै परिवारले समयमै उपचार गराउन सक्ने अवस्था छैन ।

    महिला तथा बालबालिकाको स्वास्थ्य अवस्था अझ चुनौतीपूर्ण छ । केही अवस्था परिवर्तन भए पनि पोषण, मातृ स्वास्थ्य र सरसफाइका विषयमा अझै सुधार आवश्यक देखिन्छ । संविधानले दिएका अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयन भएमा यी समुदायलाई सहज तवरबाट स्वास्थ्यको पहुँचमा पु¥याउन सकिनेछ ।

    राजनीतिक प्रतिनिधित्व अझै न्यून

    नेपालको संविधानले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ । स्थानीय, प्रदेश र सङ्घीय तहमा आरक्षण तथा समानुपातिक प्रतिनिधित्वको व्यवस्था पनि छ । तर, व्यावहारिक रूपमा दराई, बोटे, कुसुण्डा र भुजेल समुदायको राजनीतिक उपस्थिति सीमित छ । निर्णय प्रक्रियामा उनीहरूको पहुँच नहुँदा अझै कमजोर देखिएका हुन् ।

    भाषाविज्ञ तथा आदिवासी जनजाति अध्ययनकर्ता बुद्धवीर बहिङले आदिवासी जनजातिलाई एउटै भाँडोमा राखिएको बताउनुभयो । “पहिला त सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदाय जनसङ्ख्याले नै कम छ । त्यसमाथि पनि आदिवासी जनजातिको टोकरीमा राखिएको छ । कम जनसङ्ख्या भएका आदिवासी जनजातिअन्तर्गतका सीमान्तकृत अल्पसङ्ख्यकको पहुँच पुग्दैन,” उहाँले भन्नुभयो, “सरकारले समावेशीकरण भनिरहँदा गरिबी, शिक्षालगायत विषयले राजनीतिक तथा नेतृत्व लिने स्थानसम्म यी समुदायको पहुँच पुग्दैन । जसले अझैसम्म पनि पछि बस्न बाध्य छन् ।”

    राजनीतिक दलहरूले चुनावका बेला यी समुदायलाई प्राथमिकतामा राखे पनि नीतिनिर्माण र नेतृत्व तहमा उनीहरूको प्रतिनिधित्व पर्याप्त रूपमा सहभागी गराउन सकेको छैन । उनीहरूको आवश्यकता र कार्यान्वयनमा पनि समस्या देखिएको उहाँको भनाइ छ ।

    भाषा र संस्कृति जोगाउने सङ्घर्ष

    आधुनिक सञ्चारमाध्यम, बसाइँसराइ र बाह्य सांस्कृतिक प्रभावका कारण यी समुदायको मौलिक संस्कृति सङ्कटमा परेको छ । आधुनिकीकरण र प्रविधिको विकाससँगै यी समुदायको वास्तविक पहिचानका रूपमा रहेको भाषा र संस्कृति लोप हुने अवस्थामा रहेको भाषाविज्ञ तथा अध्ययनकर्ता बहिङले बताउनुभयो । “यी समुदायले आफैंले पनि चासो दिनुपर्ने हुन्छ । तर, यतिले मात्रै पुग्दैन”, उहाँले भन्नुभयो, “जबसम्म सरकारले यी समुदायलाई अमूल्य गहनाका रूपमा लिएर संरक्षण गर्ने प्रयत्न गर्दैन । तबसम्म यी समुदायको न त संरक्षण हुन्छ । न त यिनका भाषा, संस्कृति ।”

    परम्परागत नाच, गीत, बाजागाजा, धार्मिक संस्कार र लोककथा नयाँ पुस्तामा हस्तान्तरण हुन सकेका छैनन् । वैवाहिक सम्बन्ध र आधुनिकीकरणले अल्पसङ्ख्यक समुदायको पहिचान गुम्ने अवस्थामा पुगेकोले संरक्षणको प्रयास भइरहेको व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले बताउनुभयो ।

    “नगरपालिकाले यी लोपोन्मुख तथा अल्पसङ्ख्यक समुदायको भाषा, कला, सीप विकासका कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौँ । हामीले मात्रै प्राथमिकतामा राखेर उनीहरूको भाषा, संस्कृति संरक्षण हुँदैन”, उहाँले भन्नुभयो, “यी समुदायको अग्रसरताले मुख्य भूमिका खेल्दछ ।”

    कतिपय स्थानमा समुदायले सांस्कृतिक महोत्सव आयोजना गरी आफ्नो पहिचान जोगाउने प्रयास गरिरहेका छन् । तर, आर्थिक स्रोतको अभावले यस्ता प्रयास निरन्तर हुन सकेका छैनन् ।

    राज्यका प्रयास

    नेपाल सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय समावेशी आयोग तथा विभिन्न मन्त्रालयमार्फत सीमान्तकृत समुदायका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यी समुदायलाई सहयोग पु¥याउने आयोग र प्रतिष्ठान खारेजीमा पर्दा अब यस समुदायको उत्थान हुने कसरी भन्ने पनि प्रश्न उब्जिएको छ । गण्डकी प्रदेशले सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायको क्षमता विकास, आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न तालिमका साथै उद्यमशीलतातर्फ उन्मुख बनाउने कार्यमा अग्रसर भएको छ ।

    गण्डकी प्रदेशअन्तर्गत सामाजिक विकास कार्यालय तनहुँमार्फत अल्पसङ्ख्यक सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई उद्यमशील बनाउनका लागि साबुन, हार्पिक, फिनेल बनाउने तालिम प्रदान गरिएको एकीकृत विकास कार्यालय तनहुँका सहायक प्रशासकीय अधिकृत गुरु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त तालिममार्फत यी समुदायका महिलालाई उद्यमशील बनाउन प्रोत्साहन गरिएको हो ।

    गण्डकी प्रदेश सरकारले यी समुदायलाई आत्मनिर्भर, उद्यमशील, संस्कृतिमार्फत पर्यटनलाई जोडेर आयआर्जन वृद्धि गर्दै जीविकोपार्जनमा सहज बनाउने योजना लिएर अगाडि बढेको पाइन्छ । तनहुँमा जस्तै यी समुदायको बसोबास रहेका क्षेत्रमा यी समुदायको संरक्षण, प्रवद्र्धन र क्षमता विकासका साथै जीविकोपार्जनमा सहयोग पु¥याउने कार्यमा सरकारबाट बजेट विनियोजन हुँदै आएको छ । जसले यी समुदायलाई अभिभावकको संरक्षणमा भएको जस्तो आभास गराउन मद्दत पुगेको बताउँछन् ।

    छात्रवृत्ति, सीप विकास तालिम, भाषा संरक्षण, सांस्कृतिक प्रवद्र्धन तथा आयआर्जन कार्यक्रम सञ्चालन गरिए पनि ती कार्यक्रमको प्रभाव अझै अपेक्षाकृत नदेखिएको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । “समुदायको वास्तविक आवश्यकता पहिचान गरी स्थानीय स्तरमै लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ”, नगर प्रमुख न्यौपानेले भन्नुभयो, “दरै, बोटे, कुसुन्डा र भुजेल समुदायको भविष्य सुरक्षित गर्न भाषा संरक्षण, सांस्कृतिक पुनर्जागरण, गुणस्तरीय शिक्षा, सीप विकास र आर्थिक सशक्तीकरणमा विशेष ध्यान दिनुपर्नेछ ।”

    मातृभाषामा शिक्षा, स्थानीय इतिहासको दस्तावेजीकरण, सांस्कृतिक केन्द्र स्थापना र परम्परागत ज्ञानको संरक्षण गर्न सके यी समुदायको पहिचान जोगाउन सहयोग पुग्ने निश्चित छ । कृषि, पर्यटन, हस्तकला र प्राकृतिक स्रोतमा आधारित आयआर्जन कार्यक्रममार्फत यी समुदायको आर्र्थिक अवस्था उकास्न सकिन्छ ।

  • रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

    रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

    चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ । प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।


    राजनीतिक सल्लाहकार शाहले खुला मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिए । शाहलाई तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रुपमा हेरिन्छ । उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सबैभन्दा पहिले सांसद पदबाट राजीनामा दिएका थिए ।


    शाहले जेनजी आन्दोलनको मर्मअनुसार वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी सफल राजनीतिज्ञ मात्र नभई चलचित्र निर्देशक, निर्माता तथा सञ्चारकर्मीका रूपमा पनि परिचित छन् ।


    प्रधानमन्त्री शाहका निकट राजनीतिक सहयात्रीका रूपमा चिनिएका शाह पछिल्लो समय सरकारको राजनीतिक तथा रणनीतिक सल्लाहकारका रूपमा सक्रिय छन् । वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय, नीतिगत बहस, राजनीतिक संवाद तथा सङ्गठन विस्तारका विषयमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
    यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको प्रेस संयोजक बजगार्इंले जानकारी दिए । सार्वजनिक चर्चाभन्दा कार्यसम्पादनमा विश्वास गर्ने ढकाल पछिल्लो समय पार्टी समायोजन, सुशासन अभियान तथा प्रशासनिक सुधारका महत्वपूर्ण अभियानमा नेपथ्यबाट सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका व्यक्तिका रुपमा चिनिन्छन् ।


    उनी काठमाडौँ महानगरपालिकामा पनि सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा शाहसँगै कार्यरत थिए । उनले महानगरपालिकामा सूचना प्रणाली विकास, ‘डिजिटल’ प्रशासन तथा ‘डाटा’मा आधारित निर्णय प्रक्रियालाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । महानगरभित्र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानमा उहाँको योगदान उल्लेखनीय थियो ।


    ढकालले जेनजी आन्दोलनपछिको राजनीतिक पुनर्संरचना र सहकार्य प्रक्रियामा प्रमुख सूत्रधारका रूपमा काम गरेका थिए । वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको समन्वय तथा संवाद प्रक्रियामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । सोही कारण उनी पार्टीभित्र रणनीतिक योजनाकार र समन्वयकर्ताका रूपमा परिचित छन् ।


    प्रेस सहजकर्ता बजगाईंका अनुसार प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापनमा लामो समयदेखि सक्रिय रहँदै आएकी ढकाललाई रास्वपाभित्र नीतिगत विषयमा दक्ष युवा नेतृत्वका रूपमा चिनिन्छ । ढकाल सार्वजनिक नीति, रणनीतिक योजना तथा अन्तरमन्त्रालय समन्वयका क्षेत्रमा काम गरिरहेकी छिन् ।


    उनले हालै बेलायतको प्रतिष्ठित शैक्षिक संस्था ‘लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स’बाट ‘विश्व स्वास्थ्य नीति’ विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी नेपाल फर्किएकी हुन् । उक्त अध्ययनमा उनले उत्कृष्ट नतिजासहित विशिष्ट श्रेणी हासिल गरेकी छिन् ।

  • रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    काठमाडौँ, १० असारः फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित ग¥यो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गरे ।

    खेलको छैटौँ मिनेटमा ‘कर्नर’बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए । त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० को अवस्थामा आयो । खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवले र ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि पोर्चुगलले खेल ५–० गोलअन्तरले जित्यो ।

    जितसँगै पोर्चुगल समूह ‘के’को अङ्क तालिकामा चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो । समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान अङ्क तालिकाको अन्तिममा छ । विश्वकप प्रतियोगिताअन्तर्गत आज १ः४५ बजे इङ्ल्याण्ड र घानाबीच भिडन्त हुँदैछ भने बिहान ४ः४५ बजे पानमा र क्रोएसियाबीच खेल हुँदैछ । साथै बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गोबीच खेल हुनेछ ।

  • लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

    लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

    काठमाडौँ, १० असारः हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रहरूमा आंशिक बदली भएको छ । कोशी प्रदेशका केही तथा बागमती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भेग तथा कोशी प्रदेशका तराईमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशमा आंशिक बदली हुनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्र तथा कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागमा आंशिक बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने छ ।

    कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही तथा बागमती प्रदेशका हिमाली र पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । साथै, कोशी प्रदेशका तराई क्षेत्रका केही तथा मधेस प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

    महाशाखाले चट्याङ तथा तातो लहर र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै महाशाखाका मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ ।

  • कतार स्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको मृत्यु

    कतार स्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको मृत्यु

    नयाँदिल्ली, ९ असार (रासस–सिन्ह्वा) । कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी) मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको उल्लेख गर्दै मृत्यु हुने मध्ये १२ जना भारतीय नागरिक रहेको कतार स्थित भारतीय दूतावासले बताएको छ । उक्त विस्फोटको घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भई सकेको जनाउदै अन्य ६६ जना घाइते भएको दुतावासले जनाइएको छ ।

    मृतकको पार्थिव शरीर चाँडै नै भारत पठाइने तयारी भईरहेको पुष्टि गर्दै दूतावासले यस घटनाबाट प्रभावित भारतीय नागरिक र उनीहरूका परिवारलाई यथा सक्य सहयोग गर्नका लागि कतारी अधिकारीहरूसँग सम्पर्कमा रहेर आवाश्यक काम गरिरहेको जनाएको छ । गत मार्च महिनामा भएको इरानी आक्रमण पछि बन्द भएको ग्यास उद्योग पुनः सञ्चालनमा आइ कामदारहरूले काम गरिरहेको समयमा विस्फोट भएको मिडियाले रिपोर्ट गरेका छन् ।

  • रास्वपा सभापतिमा लामिछानेको एकल उम्मेदवारी

    रास्वपा सभापतिमा लामिछानेको एकल उम्मेदवारी

    चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् । सभापति पदमा उनको एकल उम्मेदवारी परेको छ । पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा उनको उम्मेदवारी परेको हो । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उनको एकल उम्मेदवारी परेको बताए । यससँगै उनी निर्वाचित भएका छन् ।

  • ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने

    ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने

    ललितपुर, ९ असारः ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट स्ट्रिट लाइट जडानकार्यलाई प्राथमिकतामा राखेको छ । सडकको सौन्दर्य अभिवृद्धि गर्नुका साथै रातिको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ग्वार्को, सातदोबाटो, एकान्तकुना हुँदै कलङ्कीतर्फको चक्रपथ खण्डमा आधुनिक स्मार्ट स्ट्रिट लाइट जडान गरिएको हो ।

    महानगरपालिकाले ‘देशकै उज्यालो महानगरपालिका’ बनाउने दीर्घकालीन लक्ष्यअनुसार भित्री सडक तथा अन्य मुख्य सडकमा समेत स्मार्ट बत्ती जडानकार्य अघि बढाइरहेको जनाएको छ । यसअन्तर्गत दोस्रो चरणमा ललितपुर क्षेत्रभित्रको ७।९ किलोमिटर चक्रपथ क्षेत्रमा लाइट जडान गर्ने योजना कार्यान्वयन भइरहेको छ ।

    ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनका अनुसार परियोजनाका लागि महानगरपालिकाले रु १० करोड तथा नेपाल विद्युत् प्राधिकरणले रु तीन करोड सहयोग गरेको छ । यसरी कुल रु १३ करोडको लगानीमा स्मार्ट स्ट्रिट लाइट जडानको काम अघि बढाइएको हो ।

    नगरप्रमुख महर्जनले चक्रपथमा आधुनिक बत्ती जडान भएपछि सडक रातभर उज्यालो रहने, यात्रु तथा सवारी चालकलाई सहज हुने र दुर्घटनाको जोखिम कम हुने विश्वास व्यक्त गरे । उनका अनुसार परियोजनाअन्तर्गत ११ मिटर अग्ला ३७१ वटा पोल, आठ मिटर अग्ला १९५, सात मिटर अग्ला २२४ पोल तथा १२ मिटर अग्ला ६६ वटा मिनीमास्ट जडान गरिनेछ ।

    महानगरपालिका क्षेत्रभित्रको सम्पूर्ण ७।९ किलोमिटर चक्रपथ खण्ड प्रभावकारी रूपमा उज्यालो हुने अपेक्षा गरिएको छ ।महानगरपालिकाले पहिलो चरणमा बालकुमारीदेखि सातदोबाटोसम्म बत्ती सञ्चालनमा ल्याउने र त्यसपछि क्रमशः अन्य क्षेत्रमा विस्तार गर्दै लैजाने जनाएको छ ।

    नगरप्रमुख महर्जनले आगामी तीन महिनाभित्र अधिकांश क्षेत्रमा बत्ती सञ्चालनमा आउने जानकारी दिँदै स्मार्ट स्ट्रिट लाइट परियोजनाले ललितपुरलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

  • सवारी दुर्घटनामा वरिष्ठ सईको मृत्यु

    सवारी दुर्घटनामा वरिष्ठ सईको मृत्यु

    इनरुवा (सुनसरी), ९ असार स् बर्जु गाउँपालिका–६ नरहचोक नजिक आज सवारी दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (सई) को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सप्तरी विष्णुपुर गाउँपालिका–१ का ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

    चिमडीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए । घाइते यादवको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।


    सोही मोटर साइकलको पछाडि सवार उहाँको श्रीमती ४७ वर्षीया रामपरी यादवको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको विराट नर्सिङहोम मै उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत यादव जिल्ला प्रहरी कार्यालय सिरहाका लागि रवाना लिएर गएका थिए ।

    ठक्कर दिने कार र चालक मोरङ कटहरी गाउँपालिका–३ का ५० वर्षीय डा राजेन्द्र चौधरी सुनसरीका प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

  • रास्वपा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन

    रास्वपा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन

    चितवन, ९ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

    आयोगका प्रमुख भुवन केसीका अनुसार आज साँझ ५ः०० बजे महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको हो । आजै साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म पार्टी सभापतिको उम्मेद्वारका लागि फारम वितरण गर्ने कार्यतालिका छ । पार्टी केन्द्रीय सदस्यका लागि ७ः३० बजे देखि ९ः३० बजेसम्म फारम वितरण र दर्ता गरिनेछ । उनका अनुसार उम्मेद्वारको प्रारम्भिक नामावली राति १०ः०० बजे प्रकाशन गरिनेछ ।

    उम्मेद्वार बिरुद्ध दाविविरोध गर्न राति १०ः३० बजे सम्मको समय दिइएको छ । दाविविरोध परेका उम्मेद्वारको जाँचबुझ राति ११ः०० बजेसम्म गरिने छ । राति ११ः१५ बजे उम्मेद्वारले निर्वाचन आयोगको सचिवालयमार्फत उम्मेद्वारी फिर्ता लिन सक्ने छन् । अन्तिम नामावली ११ः४५ बजे प्रकाशन गरिने उनले जानकारी दिए ।


    बुधबार बिहान पहिलो चरणको मतदान हुने केसीले बताए । मतदान सकिएको दुई घण्टा पछि मत गणनाको गरी परिणाम घोषणा गरिने आयोगले जनाएको छ । पहिलो चरणको मत परिणाम घोषणा भएसँगै दोस्रो चरणको उम्मेद्वारी तथा अन्य थप कार्यतालिका प्रकाशन गरिने छ ।

  • धमाधम बजेट प्रस्तुत गर्दै स्थानीय सरकार

    धमाधम बजेट प्रस्तुत गर्दै स्थानीय सरकार

    रासस
    काठमाडौँ, ९ असार । देशभरका स्थानीय तहहरूले धमाधम आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा आजसम्म ५५ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् ।

    केही स्थानीय तहले बजेट सार्वजनिक गरिसकेको भए पनि मन्त्रालयको पोर्टलमा अपलोड नगरेका कारण सङ्ख्या कम देखिएको छ । काठमाडौँ महानगरपालिका, भरतपुर महानगरपालिका, पोखरा महानगरपालिकाले बजेट प्रस्तुत गरिसकेको भए पनि मन्त्रालयको पोर्टलमा उपलब्ध भइसकेको छैन ।

    पोखरा महानगरपालिकाले रु सात अर्ब १५ करोड बराबरको बजेट सार्वजनिक गरिसकेको छ । भरतपुर महानगरपालिकाले रु पाँच अर्ब ५१ करोड बराबरको बजेट ल्याएको छ । सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले आव २०८३र८४ का लागि रु २५ अर्ब ८८ करोड ३० लाख बराबरको बजेट सार्वजनिक गरिसकेको छ । ललितपुर, विराटनगर महानगरपालिकाले बजेटको अन्तिम तयारी गरिसकेका छन् ।

    मन्त्रालयको पोर्टलमा उपलब्ध विवरणअनुसार कोशी प्रदेशका चार, मधेसका १४, बागमतीका १० स्थानीय तहले आगामी आवको बजेट प्रस्तुत गरेका छन् । गण्डकीका १०, लुम्बिनीका छ, कर्णालीका चार र सुदूरपश्चिमका छ स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । बुधबार धेरैजसो स्थानीय तहले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरेका छन् ।

    संवैधानिक प्रावधानअनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असारको पहिलो साता वा १० गते बजेट प्रस्तुत गर्ने गरेका छन् । देशभर छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ वटा नगरपालिका र ४६० गाउँपालिका छन् । आजसम्मको विवरणअनुसार सात दशमलव तीन प्रतिशत स्थानीय तहले मात्रै बजेट पेस गरेका छन् । बुधबार धेरै स्थानीय तहले बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको बुझिएको छ ।

    सङ्घीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार, स्थानीय तहलाई रु ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउनेछ । सङ्घीय सरकार आयोजना कार्यान्वयनका लागि स्थानीय तहमा रु दुई खर्ब छ अर्ब आठ करोड सशर्त अनुदान उपलब्ध गराइनेछ ।

    पूर्वाधार आयोजना कार्यान्वयन गर्न रु आठ अर्ब ९३ करोड समपूरक अनुदान उपलब्ध गराइनेछ । रु नौ अर्ब बराबरको विशेष अनुदान उपलब्ध गराइने घोषणा सङ्घीय सरकारको बजेट वक्तव्यमा उल्लेख छ । राजस्व बाँडफाँड र रोयल्टीसमेत उपलब्ध हुनेछ ।

  • एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

    एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

    काठमाडौँ, ९ असार । चरा तथा पन्छीहरूमा लाग्ने अतिसङ्क्रामक भाइरल रोग ‘बर्ड फ्लू’ अहिलेसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार गत चैत ४ गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म ११ जिल्लाको ८२ ठाउँमा फैलिएको छ ।


    झापा, मोरङ, सुनसरी, महोत्तरी, वारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ । हालसम्म बर्ड फ्लूबाट प्रभावित भएका पाँच लाख ६९ हजार ८५८ पन्छी र सो क्रममा नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ किलो दाना नष्ट गरिएको छ ।

    कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छीको ओसारपसारमा रोक लगाएकोमा हाल रोग नियन्त्रण आएपछि सोलाई खुकुुलो बनाइएको डा दाहालले बताउनुभयो । पशु क्वारेन्टाइन कार्यालयमा बर्ड फ्लू रोग सर्न उच्च सतर्कतामा रही, गस्ती परिचालन गरी अवैध रूपमा पैठारी गरिएका शङ्कास्पद पन्छीहरू नष्ट गरिएको थियो । झापा, मोरग, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेका केही स्थानमा बर्ड फ्लू रोगको प्रकोप देखिएको छ ।

    सावधानी अपनाउन आग्रह

    उपत्यकामा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ । विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बर्ड फ्लू रोग नियन्त्रण अभियान सञ्चालन गर्ने गरेको विभागमा महानिर्देशक डा दाहालले जानकारी दिए ।


    फार्म परिसरमा जैविक सुरक्षाको विधिहरू अपनाउने, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउने, ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउन पर्ने भएका पुनः निसङ्क्रमण गरेर मात्र भित्र्याउनेजस्ता कार्य गर्नुपर्दछ । यस्तै कागलगायत जङ्गली पन्छीहरू घरपालुवा पन्छीको दाना लसपस हुन नदिने गरि थुनेर पन्छीपालन गर्नुपर्दछ । पन्छीको उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नुपर्दछ ।

  • एमाले उपाध्यक्ष पौडेललाई सात दिन थुनामा राख्न अनुमति

    एमाले उपाध्यक्ष पौडेललाई सात दिन थुनामा राख्न अनुमति

    काठमाडौँ, ९ असारः विशेष अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुनेगरी विभागलाई अनुमति दिएको हो । पूर्वअर्थमन्त्री पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत उपस्थित गराइएको हो । उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।

  • चट्याङ लागेर मृत्यु

    चट्याङ लागेर मृत्यु

    सुरुङ्गा (झापा), ९ असारः झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् । भोजपुरको आमचोक–९ घर भई उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका र आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए । चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    चितवन, ९ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ । यसका लागि आज बिहान ७ः०० बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिँदै छ । सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको हो । पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ । उनले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्दसत्रपछि सरेको बताए ।


    महाधिवेशन पार्टी सर्वोच्च निकाय भएकाले यस प्रक्रियामा विवाद नआओस् भन्नेमा पार्टी प्रतिबद्ध रहेको जनाउँदै उनले केही ढिलाइ भए पनि समस्या नआउने गरी काम गरिएको जानकारी दिए । उनले सोमबार साँझ ७ः०० बजेदेखि नै कार्ड वितरण थालिएको जानकारी दिए । राति छपाइ भएका कार्ड प्रदेशमार्फत अहिले बिहानदेखि वितरण थालिने छ । सात प्रदेश र समायोजन एवं प्रवाषका कार्ड फरक फरक ठाउँबाट सहज रुपमा वितरण गरिने पार्टीले जनाएको छ ।

    कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसमा छलफल हुनेछ । सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ ।

    कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ । सोपश्चात् पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ । विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने छ ।

    पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने सम्भावित तालिका रहेको छ । सोपश्चात् निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने छ । आइतबार दिउँसो गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्रका कार्यक्रम उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा भइरहेको छ ।

  • एम्बाप्पे चम्किएको खेलमा फ्रान्स विजयी, नकआउट चरण प्रवेश

    एम्बाप्पे चम्किएको खेलमा फ्रान्स विजयी, नकआउट चरण प्रवेश

    ९ असार, काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।यो फ्रान्सको दोस्रो जित हो । यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो । खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।

    पहिलो हाफको खेल सकिँदा भारी वर्षा भएपछि २ घन्टा खेल रोकिएको थियो । ५४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उस्मान डेम्बेलेले ६६औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई तेब्बर बनाए । खेलमा इराकविरुद्ध फ्रान्स हाबी बन्यो । फ्रान्स २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । नर्वे एक खेलबाट ३ अंक बनाएर दोस्रो स्थानमा छ ।

  • विश्वकप : नर्वे अन्तिम ३२ मा प्रवेश

    विश्वकप : नर्वे अन्तिम ३२ मा प्रवेश

    ९ असार, काठमाडौं । न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको छ ।
    नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल गरे । खेलको ४३औं मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाए नर्वेका एर्लिङ हाल्यान्ड ४८औं मिनेटमा गोल गर्दै टोलीलाई २ गोलको अग्रता दिलाए । ५३औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई खेल फर्काउने कोसिस गरे । तर, ५८औं मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दा नर्वेको अग्रताको दुरी बढाए ।

    दोस्रो हाफको इन्जुरी समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दे खेलमा फर्किएपनि सफल हुन सकेनन् । २८ वर्षपछि विश्वकपमा खेलेको नर्वे एक खेलअगावै नकआउट चरण प्रवेश गरेको हो । नर्वेले पछिल्लोपटक सन् १९९८ मा भएको विश्वकप खेलेको थियो । जितपछि नर्वे ६ अंकसहित समूह ‘आइ’ को दोस्रो स्थानमा छ । समान ६ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । दुवै खेलमा पराजित भएका सेनेगल र इराक अंकविहीन छन् ।

  • विश्वकपमा मेसीको कीर्तिमानको बाढी, अर्जेन्टिना नकआउट चरणमा

    विश्वकपमा मेसीको कीर्तिमानको बाढी, अर्जेन्टिना नकआउट चरणमा

    काठमाडौँ, ९ असारः कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गरेको हो । अमेरिकाको डालास स्टेडियममा मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

    त्यसपछि खेलको दोस्रोे हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै आफनो देशको जित सुनिश्चित गरे । जितसँगै अर्जेन्टिनाका कप्तान मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

    मेस्सीले आजको खेलसँगै विश्वकपमा १८ गोल गरिसकेका छन् । यसअघि अल्जेरियाविरुद्धको पहिलो खेलमा अर्जेनिन्टना विजयी हुँदा मेस्सीले ह्याट्रिक गोल गरेका थिए । समूह ‘जे’ मा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै ६ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यस्तै पराजित अष्ट्रिया दुई खेलबाट ३ अङ्क जोड्दै दोस्रो स्थानमा छ । यसै समूहमा रहेका जोर्डन र अल्जेरिया अङ्कबिहीन छन् । उनीहरुले समान एक\एक खेल खेलेका छन् ।

  • बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा

    बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा

    लन्डन, ८ असार (रासस–एएफपी) । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन् । नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबीच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका हुन् । लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताए ।

    “मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरिएको हो । त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु”, उनले भावुक हुँदै भने । स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ ।

    नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ । सन् २०२४ मा लेबर पार्टीलाई आमनिर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बनेका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो ।

  • राष्ट्रिय धान दिवसका लागि महानिर्देशक सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन

    राष्ट्रिय धान दिवसका लागि महानिर्देशक सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन

    काठमाडौँ, ८ असार । कृषि विभागले यही असार १५ गते २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गर्ने भएको छ । विभागको समन्वयमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरेको हो । महोत्सवका अवसरमा धानसम्बन्धी प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशित र प्रसारण गरिने र विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । विभागले यस वर्षका लागि ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ नारा तय गरेको छ ।

    उत्पादनमा वैज्ञानिक विधिको प्रयोग, जलवायु अनुकूल प्रजातिको प्रवर्द्धन गर्नुपर्ने बताउँदै महानिर्देशक सञ्जेलले विभागले कृषकको जीवनस्तर उकास्न नीति निर्माणदेखि व्यावहारिक कार्यान्वयनसम्म सबै तहमा संवेदनशील हुनुपर्नेमा जोड दिए । दिवसमा राष्ट्रिय तथा स्थानीय तहका नीति निर्माता, कृषि समुदाय, कृषक समूह÷सहकारी, कृषि बालीसम्बन्धी संस्थालगायतको सहभागिता रहनेछ ।

  • दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

    दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

    काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमूना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमूना सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन् ।

    सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । हालसम्म लालीगुराँस सहकारीको ३०८ जनाको बचत फिर्ता गरेको समितिले आज जनाएको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

    समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब रु ४६ अर्ब बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । रु पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र रु पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ ।

    कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा सञ्चालन भइरहेको छ ।