काठमाडौँ, ८ असार । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडिबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा आज १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका ३२ वर्षीय प्रकाश शिवाकोटी, भक्तपुरका ५५ वर्षीय हरिभजन थापा, दोलखाका ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । त्यस्तै सिन्धुलीका २७ वर्षीय तिलककुमार थापा, दोलखाका २६ वर्षीय खड्कबहादुर तामाङ, सिन्धुलीका ३६ वर्षीय डोरकुमार श्रेष्ठ, ओखलढुङ्गाका ४५ वर्षीय नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोकका ३६ वर्षीय राजेश सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यात्रु तानातान गर्ने र झोला खोस्ने जस्ता अमर्यादित कार्य गरिरहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता सुवेदीले बताए ।
काठमाडौँ, ८ असारः सरकार र निजी क्षेत्रका सबै छाता संस्थाहरूको समन्वय र सहयोगमा सञ्चालन भएको ‘आर्थिक गणना,२०८२’ मा केही उद्योग तथा व्यवसायिक प्रतिष्ठानले सूचना दिन अस्वीकार गरेका छन् । राष्ट्रिय अभियानका क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरेको आर्थिक गणनामा केहीले जानकारी नपाएर तथा केहीले तथ्याङ्कको गोपनीयताप्रति विश्वस्त नभएको भन्दै तथ्याङ्क उपलब्ध गराउन अस्वीकार गरेका हुन् ।
सङ्कलन गरिएका विवरण तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने छ । सामूिहक रूपमा तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने भनेर पटकपटक तथ्याङ्क कार्यालयले स्पष्ट पार्दै आएको छ । व्यक्तिगत वा संस्थागत पहिचान खुल्ने गरी कुनै पनि विवरण सार्वजनिक नगरिने जानकारी दिँदै प्रमुख तथ्याङ्क अधिकारी डा कमलप्रसाद पोख्रेलले कहीकतै कोही बाँकी रहेको भए विवरण उपलब्ध गराइदिन आग्रह गरे । तथ्याङ्क दिन अस्वीकार गर्नु फौजदारी अभियोग बराबर हुने भएकाले विवरण नलुकाउनसमेत उनले आग्रह गरे ।
तथ्याङ्क कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार केहीले अज्ञानताका कारण सूचना दिन नमानेका हुन् । स्थानीय तहको विशेष सहयोगमा तथ्याङ्क दिन अस्वीकार गरेका व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिएको उनको भनाइ छ । कतिपयको भने अझै पनि बाँकी रहेका जानकारी दिँदै उनले कुनै पनि प्रतिष्ठान नछुटुन् भनेर आफूहरू सचेत रहेको उल्लेख गरे ।
तथ्याङ्क दिन अस्वीकार गर्नेलाई कानुनी कारबाही गर्न सकिने व्यवस्था भए पनि त्यस्तो अवस्था नआउने तथ्याङ्क कार्यालयको विश्वास छ । विशेष गरी काठमाडौँ उपत्यका र सहरी क्षेत्रका केही उद्योग, प्रतिष्ठान तथा व्यावसायिक सङ्घ संस्थाले राष्ट्रिय अभियानमा असहयोग गरेको भए पनि अन्तिमसम्म सबै विवरण सङ्कलन हुने विश्वास व्यक्त गरिएको छ ।
प्रवक्ता लामिछानेले गत चैत १ गतेदेखि यही असार ७ गतेसम्म गणनाको स्थलगत तथ्याङ्क सङ्कलन गर्ने समय सीमा निर्धारण गरिएको जानकारी दिए । असार मसान्तसम्म जिल्लास्तरमा जिल्ला आर्थिक गणना कार्यालय सञ्चालनमा रहने छ । गणनाको प्रक्रिया विधिमार्फत आशिंक विवरण भरेका, पूर्ण विवरण भर्न बाँकी रहेका प्रतिष्ठान, गणना छुट भएका र हामी छुट्यौँ भन्ने सबैलाई बाँकी अवधिमा समेटिने छ ।
विवरण प्रशोधन गर्न छ महिना लाग्ने
आर्थिक गणनाबाट प्राप्त भएको विवरण प्रशोधन गर्न छ महिना लाग्नेछ । चार महिनाभित्र तथ्याङ्कको कोडिङ तथा तथ्याङ्क प्रविष्ट गर्न समय लाग्नेछ । यस गण्नाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी तथा सार्वजनिक सङ्घ संस्थाको सङ्ख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गर्ने मुख्य उद्देश्य राखिएको छ ।
यसबाट प्राप्त हुने तथ्याङ्कका आधारमा देशको कूल गार्हस्थ्य उत्पादनका अनुमान सुदृढीकरण गर्न, राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन गर्ने र सरकारले तय गर्ने नीति निर्माण र योजना तर्जुमा गर्न सहयोग पुग्नेछ । राज्यले तय गर्ने अल्पकालीन तथा दीर्घकालीन आर्थिक योजना, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनामा अति आवश्यक विवरण प्राप्त गर्ने अपेक्षा गरिएको छ । राष्ट्रिय आर्थिक गणनामा तीन हजार ९०७ गणक, ५२६ सुपरिवेक्षक परिचालन भएको थियो । व्यवस्थापन समूहअन्तर्गत जिल्लामा ५०४, केन्द्रमा ५३ जनाको छ ।
१३ लाख ५१ हजारको विवरण प्राप्त कार्यालयका अनुसार हालसम्म १३ लाख ५१ हजार १६७ वटा उद्योग, व्यावसायिक सङ्घ संस्था र प्रतिष्ठानको विवरण प्राप्त भएको छ । प्रवक्ता लामिछानेले कागजी प्रश्नावलीमा १३ लाख ४४ हजार ५०० र इ–सेन्ससमार्फत छ हजार ६६७ वटा विवरण प्राप्त भएको जानकारी दिए । कार्यालयका अनुसार, २०७५ मा पहिलो पटक आर्थिक गणना गर्दा देशभर नौ लाख २३ हजार ३५६ वटा उद्योग प्रतिष्ठानको विवरण सङ्कलन भएको थियो ।
यस पटक १४ लाख २५ हजार बराबरको विवरण सङ्कलन हुने अनुमान गरिएको छ । असार मसान्तसम्म उक्त विवरण प्राप्त हुने प्रवक्ता लामिछानेले विश्वास व्यक्त गर्नुभयो । सो गणनाका लागि निजी क्षेत्रका छाता संस्थाहरू, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, अन्य व्यवसाय सम्वद्ध सङ्घ संस्थालगायतले सम्झौता गरेका थिए ।
राष्ट्रिय रूपमा आर्थिक गणना र त्यसबाट प्राप्त हुने विवरण आर्थिक क्रियाकलापका लागि महत्वपूर्ण हुने भएकाले छाता संस्थाले खुलेर सहयोग गरेका थिए । एकाधले असहयोग गर्नु, विवरण दिन अस्वीकार गर्नु सामान्य भए पनि असार मसान्तसम्म सबै विवरण प्राप्त हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको भनाइ छ ।तथ्याङ्क सङ्कलनका लागि काठमाडौँमा पाँच, झापा, मोरङ र रुपन्देहीमा दुई÷दुई थप कार्यालय स्थापना गरिएका थिए । अन्य जिल्लामा भने एउटा कार्यालय स्थापना गरिएको थियो । सरकारले १०० खर्ब बराबर मुलुकको अर्थतन्त्रको आकार पुर्याउने लक्ष्य राखेको सन्दर्भमा आर्थिक गणना त्यसका लागि सहयोगी बन्ने प्रवक्ता लामिछानेको भनाइ छ ।
चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र सरेको छ । रास्वपाले अब बन्द सत्र मङ्गलबार बिहान ७ बजेपछि सुरु हुने जनाएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बिहान ७ बजेपछि बन्द सत्र गर्ने गरी आजको बन्दसत्र स्थगित भएको हो । प्रतिनिधिहरु विरुद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकाले बन्दसत्र सारिएको हो । बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुँदैछ ।
उनका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । त्यसमा छलफल हुनेछ । सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ । कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसमाथि छलफल पनि हुनेछ ।
सो पश्चात पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ । विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । उक्त प्रतिवेदनमा छलफल र अनुमोदन गरिने छ । पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ ।
काठमाडौँ, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना तथा सम्वद्ध कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले आज विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीविरुद्ध रु १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । तत्कालीन निर्देशक शत्रुध्वनप्रसाद शर्मा पोखरेल, निर्देशक रवीन्द्र राजभण्डारी, लेखा अधिकृत तुलसीप्रसाद आचार्य, कम्प्युटर इञ्जिनियर विपीन प्रसार्इं, शाखा अधिकृत सोमेश थापा विरुद्ध समान बिगो माग दाबी गरिएको छ ।
आयोगले परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिवद्वय राजाराम दाहाल र पुस्करराज नेपाल (कानुन), उपसचिव (लेखा) भेषप्रसाद भूर्तेल विरुद्ध समान बिगो माग दाबी गरेको छ । राहदानीको ठेक्का लिएको जर्मन कम्पनी भेरिडास जिएमबिएचका नेपाल प्रतिनिधि सिद्धार्थ थापा विरुद्ध रु आठ अर्ब २२ करोड ३५ लाख चार हजार ४४४ बराबरको बिगो माग दाबी गरिएको छ ।
म्यूलबैरका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्ल विरुद्ध रु एक अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ बराबरको बिगो दाबी गरिएको छ । बोलपत्रको सुरुवाती चरणबाटै गम्भीर अनियमितात र भ्रष्टाचार गरेको पाइएको भन्ने सूचनाका आधारमा आयोगले छानबिन गरेको थियो ।
राष्ट्रसेवक कर्मचारी र आपूर्तिकर्ता कम्पनीबीच आपसी मिलेमतो, योजना र संलग्नतामा गैरकानुनी लाभ प्राप्त गर्ने उद्देश्य राखिएको आयोगले उल्लेख गरेको छ । प्रचलित कानुनको प्रतिकूल हुने गरी बदनियमतपूर्वक बोलपत्र मूल्याङ्कन गरे गराएको, साथै प्रचलित कानुन विपरीत बोलपत्रहरुको प्राविधिक र आर्थिक मूल्याङ्कन गरी गराएको आयोगको ठहर छ ।
बदनियतपूर्वक राहदानी विभागलाई रु १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ बराबरको हानी नोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कानुन बमोजिम बिगो जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।
शुरबहादुर सिंह–रासस कर्णाली, ८ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज साँझ ६ः०० पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो ।
पौडेललाई आजै काठमाडौँ पठाउनका लागि स्थलगत मार्गबाट सुर्खेत प्रहरीले नेपालगञ्ज लिएर गएको प्रहरी उपरीक्षक पोखरेलले बताए । उपाध्यक्ष पौडेल एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनःगठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत आएका थिए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष बुटवल उपमहानगरपालिका–९ रुपन्देही घर भई हाल ललितपुर महानगरपालिका–२५ ललितपुरस्थित सैबु आवास आयोजनामा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी उपरीक्षक पोखरेलको नेतृत्वमा १० विशेष प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।
बैङ्कक, ८ असार (रासस–सिन्ह्वा) । उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई कामदारको मृत्यु भएको छ भने कम्तीमा दुई जना गम्भीर घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटना शनिबार चियाङ राई प्रान्तस्थित तीन दशमलव चार किलोमिटर लामो दोई लुआङ सुरुङमा भएको हो ।
उक्त सुरुङ डेन चाइ–चियाङ राई–चियाङ खोङ रेलमार्ग परियोजनाअन्तर्गत निर्माणाधीन छ । सुरुङभित्र जलरोधक संरचना जडान गर्ने क्रममा भारी उपकरण खस्दा दुई कामदारको घटनास्थलमै मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएको जनाइएको छ । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट कामदार सुरुङभित्र वाटरप्रूफिङ जडानकार्यमा सङ्लग्न रहेको देखिएको छ । दुर्घटनापछि थाइल्याण्डको राज्य रेलवेले घटनास्थलमा दुई दिनका लागि निर्माणकार्य स्थगित गरेको छ । संरचनाको अवस्था निरीक्षण गर्न तथा दुर्घटनाको कारण पत्ता लगाउन विज्ञ र सम्बन्धित निकायलाई परिचालन गरिएको जनाइएको छ ।
जेनेभा, ८ असार (रासस–एएफपी) । मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता स्विट्जरल्याण्डको जेनेभामा सुरु भएको छ । वार्तामा सहभागी हुन इरानी प्रतिनिधिमण्डल शनिबार राति जेनेभा पुगेको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि युरोप पुगेका छन् । इरानले लेबनानमा इजरायली आक्रमण जारी रहेको भन्दै ‘स्टे«ट अफ हर्मुज’ पुनः बन्द गर्ने घोषणा गरेको छ ।
युरोप प्रस्थानअघि सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपति भान्सले इरानको आणविक कार्यक्रम तथा लेबनान युद्धबिरामसम्बन्धी विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरे । गत शुक्रबार हुने तय भएको अनुवर्ती वार्ता इजरायलले लेबनानमा घातक आक्रमण गरेपछि अन्तिम समयमा स्थगित गरिएको थियो । इजरायली सैनिकका चार सदस्यको मृत्यु भएपछि ती आक्रमण गरिएको जनाइएको छ ।
अमेरिकाले शुक्रबार लेबनानमा युद्धबिराम पुनः लागू भएको घोषणा गरे पनि शनिबार इजरायली सेना र हिज्बुल्लाहबीच पुनः झडप भएको थियो । दुवै पक्षले एकअर्कामाथि युद्धबिराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । इरानको केन्द्रीय सैन्य कमाण्डले अमेरिकाले प्रारम्भिक सम्झौताको पालना नगरेको तथा दक्षिणी लेबनानमा इजरायलले निरन्तर युद्धबिराम उल्लङ्घन गरेको आरोप लगाउँदै ‘स्टे«ट अफ हर्मुज’मा जहाज आवागमनका लागि पुनःबन्द गरिने घोषणा गरेको छ ।
विश्व तेल तथा ग्यास आपूर्तिको प्रमुख मार्ग मानिने ‘स्टे«ट अफ हर्मुज’ युद्धको अधिकांश अवधिमा इरानले अवरुद्ध गरेको थियो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेशकियानबीच भएको प्रारम्भिक सहमतिअनुसार ‘स्टे«ट अफ हर्मुज’ खुला गरिएको थियो । इरानको घोषणापछि अमेरिकी केन्द्रीय कमाण्डले अन्तरराष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन कायम रहेको र अमेरिकी सेना सतर्क अवस्थामा रहेको जनाएको छ ।
यसैबीच राष्ट्रपति ट्रम्पले वार्ताबाट अन्तिम सहमति ननिस्किए अमेरिकाले हर्मुजमार्फत हुने आवागमनमा आफ्नै शुल्क प्रणाली लागू गर्न सक्ने चेतावनी दिएका छन् । इरानी प्रतिनिधिमण्डलमा संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची सहभागी रहेका छन् । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाएइले प्रारम्भिक सम्झौताअनुसार अर्को पक्षले आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने माग वार्तामा उठाइने बताए ।
अमेरिकी वार्ताकार जारेड कुशनर र स्टिभ विटकफ भने वार्तास्थलमा पुगेर प्राविधिक विषयमा छलफल गरिरहेको जनाइएको छ । मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनीर पनि उच्चस्तरीय वार्तामा सहभागी हुन स्विट्जरल्याण्ड प्रस्थान गरेको जनाएको छ । वार्ताको मुख्य उद्देश्य प्रारम्भिक सहमतिबाट समाधान हुन बाँकी विषय, विशेषगरी इरानको आणविक कार्यक्रमबारे दुई महिनाको वार्ता प्रक्रिया सुरु गर्नु रहेको बताइएको छ ।
यसैबीच दक्षिणी लेबनानमा इजरायल र हिज्बुल्लाहबीच तनाव कायमै रहेको छ । इजरायली सेनाले झडपमा एक सैनिकको मृत्यु भएको जनाएको छ । अमेरिकी–इरान सहमतिपछि यो पाँचौँ सैनिक मृत्यु हो । इजरायली सेनाले हिज्बुल्लाहले दक्षिणी लेबनानस्थित आफ्ना सैनिकमाथि ५० भन्दाबढी क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ । हिज्बुल्लाहले भने युद्धबिरामको आडमा इजरायलले दक्षिणी लेबनानतर्फ घुसपैठ प्रयास गरेपछि आफूले प्रतिकार गरेको जनाएको छ ।
लेबनानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली हवाई आक्रमणमा करिब २० स्थान प्रभावित भएका छन् । आक्रमणमा ३० भन्दाबढी व्यक्तिको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्मको द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या चार हजार नाघेको छ । दुवै पक्षले युद्धबिराम उल्लङ्घनको जिम्मेवारी एकअर्कामाथि थोपरेका छन् । दक्षिणी लेबनानका विस्थापित स्थानीयवासीले उक्त क्षेत्रमा अझै त्रास कायम रहेको बताएका छन् ।
म्याग्दी, ८ असारः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ । दर्मीजाका स्थानीय बिप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाई छाडेर जन्मथलो फर्किएर होमस्टे सञ्चालन गरेका हुन् । पुर्खाले बनाएको पुरानौ शैलीको मौलिक घरलाई मर्मत गरेर पुनले सञ्चालन गरेको घरबासलाई ‘दर्मीजा होमस्टे’ नामकरण गरेका छन् ।
“करिब एक दशक रोजगारीका लागि इराक र व्यवसाय गरेर काठमाडौमा बिताए”, उनले भने, “विदेश र बजारमा आर्जेको व्यावसायिक ज्ञान, सीप र पुँजी परिचालन गरेर ग्रामीण क्षेत्रमा कृषिमा आधारित पर्यटन विकासका लागि होमस्टे सञ्चालन गरेको हो ।” होमस्टे सञ्चालन गर्न विसं २०१९ मा हजुरबुबाले दर्मीजामा बनाएको घरलाई पुरानै मौलिक शैलीमा मर्मत गरेका छन् । चार वटा कोठामा दैनिक १० जना पाहुना बास बस्न सक्छन् । घर र कोठामा परम्परागत मौलिक घरायसी सामग्री, भाँडाकुँडा र कृषि औजारलाई सजाएर राखिएको छ ।
काठको ठेकी, मुडुस, तामाका भाडा, घैटो, हलो, जुवा, स्याखु, हरडुब्लो, लाफु, डोका, डालीलगायतका सामग्री सजाएको घरका झ्याल, ढोका र भित्रि भाग पनि मौलिक छन् । यहाँ पुराना घरमा बसेको अनुभव गर्न पाइने आन्तरिक पर्यटक प्रदीप मगरले बताए । पृष्ठभूमिमा धौलागिरि हिमाल रहेको दर्मीजामा मगर समुदायको बाहुल्य बसोबास छ । प्रकृति, संस्कृति र ग्रामीण जीवनशैलीमा रमाउन पाउनु यहाँको आकर्षण हो । घरबासको कोठाबाटै दर्मीजा गाउँ र हिमालको अवलोकन गर्न सकिन्छ ।
स्थानीय खाद्यान्न र तरकारी तथा पशुजन्य वस्तु होमस्टेका परिकार हुन् । ढिडो, रातो च्याउ, कुखुरा, खसीबोकाको मासु, साग, सब्जी, तरकारी, गाउँघरमा पालेका गाईभैँसीको दूध, दही र मोहीको स्वाद लिन पाइन्छ । खाना र बसेको दैनिक रु एक हजार ५० शुल्क तोकिएको छ । दर्मीजा गाउँको फेदी र राहुघाट नदीको किनारमा रहेको प्राकृतिक तातोपानी कुण्डमा स्नान गरेर थकान मेटाउन सकिन्छ । जागा छहरा दर्मीजाको आकर्षण हो । दर्मीजामा आउने पर्यटकको बसाई सम्बाउनका लागि दुई घण्टा पैदलयात्रापछि पुगिने नागींडाँडालाई सहायक गन्तब्यको रुपमा विकास गराउन पूर्वाधार निर्माण भइरहेको रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले बतार्ए ।
होमस्टेले ओझेलमा परेको दर्मीजामा पर्यटकको चहलपहल बढाएको उनले बताए । बेनीदेखि २४ किलोमिटर उत्तरतर्फ रहेको दर्मीजा पुग्न कच्चि सडकमा एक घण्टा ३० मिनेटको यात्रा गर्नुपर्छ । दर्मीजादेखि चिमखोला हुँदै सोवाङ धुरी, धौलागिरि आइसफल, आधार शिविर र कालीबराह ताल हँुदै मुस्ताङ जान सकिन्छ । धौलागिरि आइसफल हुँदै मुस्ताङ जोड्ने पदमार्गमा पूर्वाधार बनाएर सडकका कारण विस्थापित बनेको बेनी–जोमसोमको वैकल्पिक पदमार्ग बनाउन काम भइरहेको छ । हाल वार्षिक दुईदेखि तीन समूह पर्यटक दर्मीजा हुँदै धौलागिरि आइसफल भएर मुस्ताङ जाने गरेको छन् ।
पुनले होमस्टेको साथै फलफूल बगँैचा पनि स्थापना गर्नुभएको छ । होमस्टे परिसरमा किबी, सुन्तला र कागतीका बगैँचा छन् । पुनका परिवारका सदस्यहरु काठमाडौँमै व्यवसाय गरेर बसेका छन् । होमस्टे र कृषि फार्ममा दुई जनाले नियमित रोजगारी पाएका छन् । अधिकांश मानिसहरु सुविधा, अवसर र रोजगारीको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन भइरहेको अवस्थामा विप्रसादले गाउँमै सम्भावना र अवसर भएको सन्देश दिएका छन् । रासस
काभ्रेपलाञ्चोक, ८ असारः काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या समाधान हुँदै गएको छ । उक्त समस्यामा यसअघिका प्रक्रिया जिल्लास्थित सराकारवाला निकायले गर्दै आएका थिए भने अब बाँकी प्रक्रिया गाउँपालिका कार्यालयले नै गर्ने भएको हो । यसका लागि गाउँपालिकामा भूमि व्यवस्थापन शाखा सञ्चालनमा ल्याइएको छ ।
यसअघि जिल्लास्थित नापी र मालपोत कार्यलयका कर्मचारीले जग्गाधनीको पहिचान गर्दै लालपुर्जा दिलाउँदै आएका थिए । हालसम्म ५३१ परिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ । अब बाँकी करिब ५०० लालपुर्जा आजदेखि वितरण गर्ने कार्यक्रम बनाइएको ८ नं वडाका अध्यक्ष मोतीलाल लामाले बताए । उनका अनुसार जिल्लास्थित नापी र मालपोत कार्यालयद्वारा तयार लालपुर्जा वितरण गर्न लागिएको हो भने त्यसपछिका कित्ताकाटलगायतको काम गाउँपालिकास्थित भूमि व्यवस्थापन शाखाले गर्नेछ ।
शाखाको शुक्रबार गाउँपालिका अध्यक्ष प्रेम भुजेलले शुभाररम्भ गर्नुभएको छ । लालपुर्जाका समस्याका बाँकी काम शाखाले नै गर्ने अध्यक्ष उहाँले बताउनुभयो । उहाँका अनुसार केही जटिलता आए जिल्लास्थित मालपोत तथा नापी कार्यालयसँग समन्वय गरिनेछ । सङ्घीय सरकारले पहिलो चरणमा छनोट गरेको ३५ स्थानीय तहमध्ये काभ्रेको भुम्लु र रोशी गाउँपालिका छनोटमा परेका थिए ।
लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित नापी कार्यालय तथा मालपोत कार्यालयको पहलमा प्रक्रिया पु¥याएर औपचारिक रुपमा २०८२ भदौदेखि वितरण गर्न थालिएको हो । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा विविध कारण लालपुर्जाको पर्खाइमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं ७ र ८ का ४ सय ३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । कार्यालयका अनुसार त्यतिबेला वडा नं ७ का १८५ र वडा नं ८ मा २४६ गरी ४३१ जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
क्रमिकरुपमा तयार १०० लालपुर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख अशोककुमार भुसालले जानकारी दिए । उनका अनुसार ‘फिल्ड’ कार्यालयमार्फत प्रमाण पु¥याएर लालपुर्जा वितरण भइरहेको हो भने हालसम्म थप तयार करिब ५०० लालपुर्जा वितरणको तयारी भएको हो । समस्या समाधनका लागि जिल्लास्थित नापी कार्यालयले विसं २०७१ जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोली खटाई काम गरिरहेको थियो । टोली मात्र नभई कार्यालयको आवश्यकताले विसं २०७६ मङ्सिर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालय स्थापना गरियो । कार्यालयका अनुसार वडा नं ७ मा ३००र ८ मा ६०० लालपुर्जा बनाउनुपर्ने देखिएको थियो ।
घटनाक्रमअनुसार साविकको पिपलटार गाविस हुँदादेखि नै कमाइ गर्दै आइएको ‘टार’ भन्ने खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतीयोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन् । विसं २०३५ मा नापी टोली पुनः उक्त गाविसमा नापीका लागि जाँदा जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो ।
कार्यालयले लालपुर्जा विरतण गरेपछि जग्गासम्बन्धी सबै स्रेस्ता मालपोत कार्यालय, नक्सा, फिल्ड बुकहरु नापी कार्यालयमा ल्याई हालै गाउँपालिकामा स्थापित भूमि व्यवस्थापन कार्यालयसँगको समन्वयमा जग्गा प्रशासनको काम सुरु हुने जनाइएको छ । केही जग्गाधनीले आफ्नो जग्गाको ‘लगत–भिड्ने’ आवश्यक कागजात नल्याउँदा भने काम गर्न केही समस्या भइरहेको भुषालले बताए । यस्तै तत्कालीन समयमा उक्त स्थानमा बसेका नागरिक बसाइँसराइ एवं केहीले तिरो तिरेको आधारमा जग्गा बिक्री गरेकाले थप समस्या देखिएको जनाइएको छ ।
उक्त स्थानमा लालपुर्जाको समस्या वर्षौंसम्म समाधान नभएपछि पटकपटक समस्या समाधान अध्ययन समिति गठन गरिएको थियो भने कयौँ पटक सरकारीस्तरबाट ‘फिल्ड भिजिट र अनुगमन–निरीक्षण’ गर्दा पनि यसअघि कुनै निकास निस्किएको थिएन । गाउँपालिकामा आएका निवदेन छानबिन गर्दा प्रारम्भिक चरणमा करिब एक हजार परिवार समस्यामा रहेको देखिएको कार्यालयले जनाएको छ ।
चितवन, ८ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय महाधिवेशनपूर्व विधान संशोधन गरेर समावेशी बनाउन लागिएको हो । विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्यसमितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । जसअनुसार सभापति एक, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिलासहित पाँच सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ ।
त्यसैगरी, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिने छ । अब समिति १५१ सदस्यीय हुनेछ । ९९ जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने ५१ जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ । सात प्रदेशका सभापति स्वतः पदेन सदस्य हुनेछन् । विधानले यसभन्दाअघि कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनित गर्ने गरेकामा अब एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्रीसमेत मनोनित गर्ने व्यवस्था गरिएको छ ।
पराजुलीले भने, “समावेशिताको सिद्धान्तलाई समेट्ने गरी विधानले सम्बोधन गरेको छ ।” सबै तहमा महिलाको सहभागिता रहने व्यवस्था गरिएको छ । प्रत्यक्ष निर्वाचित हुने ९९ सदस्यमध्ये एउटा प्रदेशबाट पाँच जनाका दरले केन्द्रीय सदस्य आउनेछन् । प्रदेशबाट आउने ३५ जनामध्ये एउटा प्रदेशबाट दुई महिलाको अनिवार्य उपस्थिति हुनेछ ।
प्रदेशमा उपस्थित जनसङ्ख्याका आधारमा गण्डकी र कोशी प्रदेशमा एक–एक जना जनजाति अनिवार्य हुनेछ भने सुदूरपश्चिम र कोशी प्रदेशमा एक–एक दलित अनिवार्य हुनुपर्ने छ । लुम्बिनीमा एक थारू र मधेस प्रदेशमा मधेस दलित अनिवार्य हुनेगरी समावेशिताको सिद्धान्तलाई समावेश गरिएको छ ।
समायोजनको भावनालाई सम्बोधन गर्दै सभापतिलाई मनोनयनको अधिकार विधानले थप गरेको पराजुलीले जानकारी दिनुभयो । विधानले वरिष्ठ नेता स्वतः रहने व्यवस्था गरेको छ । आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज हुँदैछ । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रपछि भोलिपल्टबाट निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।
काठमाडौँ, ८ असारः फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समुह ‘एच’को आज भएको खेलमा स्पेनले साउदी अरेबियामथि जित निकालेको छ । एटलान्टा स्टेडियममा भरखरै सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको जित निकालेको हो । स्पेनले खेलको पहिलो हाफमा तीन गोल गरयो भने खेलको दोस्रो हाफमा एक गोल उपहार पायो । खेलको १०औं मिनेटमा स्पेनका लामिन यामालले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २१ औँ मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटमा उनै मिकेलले गोल गर्दै स्पेनको अग्रता तेब्बर बनाए ।
खेलको ४९ औ मिनेटमा साउदीका खेलाडी हसन अल्ताम्बक्तिले स्पेनका लागि आत्मघाती गोल गरे । त्यसपछि खेलमा दुवै टोलीबाट गोल हुन सकेन र अन्तत स्पेनले साउदी अरेबियामाथि ४–० गोलको जित निकाल्यो । जितसँगै स्पेन दुई खेलबाट ४ अङ्क जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ । स्पेनले विश्वकपको नकआउट चरणमा पुग्ने सम्भवना मजबुत बनाएको छ । यसै समुहमा रहेका उरुग्वे, साउदी अरेबिया र केप भर्डेको समान एक एक अङ्क रहेको छ ।
काठमाडौँ, ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका अवसरमा भारतीय जनता पार्टीलगायत विश्वका विभिन्न पार्टी र राजनीतिक दलले शुभकामना सन्देश पठाएका छन् । चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटनसत्रमा परराष्ट्रमन्त्री एवं रास्वपाका नेता शिशिर खनालले ती शुभकामना सन्देश वाचन गरेर सुनाए ।
भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नीतिन नवीन, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुख, इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टी (आइसिएपिपी), सत्तारुढ भुटान, बङ्गलादेश, मलेसिया, दक्षिण कोरियाका पार्टीलगायतले शुभकामना दिएको मन्त्री खनालले जानकारी गराए । सन्देशमा नेपालको स्थिरत, विकास र समृद्धिका लागि रास्वपाले पाएको अभिमतको प्रशंसा गर्दै आपसी सम्बन्ध र सहकार्यवृद्धिमा जोड दिइएको छ ।
रासस रसुवा, ७ असारः स्याफ्रुबेँसी-रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल र चीनबीचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीबाट रसुवागढीसम्म स्तरोन्नति थालिएको हो । उक्त खण्डको स्तरोन्नतिका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक आयोजना कार्यालयले जनाएको छ । यसअघि पनि उक्त सडक चीन सरकारले निर्माण गरिदिएको सडक विभागले जनाएको छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चिनियाँ निर्माण कम्पनीमार्फत सञ्चालित आयोजनाले सडकलाई आधुनिक, सुरक्षित र दिगो बनाउने लक्ष्यसहित निर्माणलाई गति दिइएको आयोजनाका स्थलगत अनुगमनकर्ता एवं इञ्जिनियर कुमार पराजुलीले बताए । नेपालको उत्तरी व्यापारिक नाकाका रूपमा परिचित रसुवागढीलाई अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउने यो आयोजना नेपाल–चीन सहकार्यको अर्को महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको उनको भनाइ छ ।
इञ्जिनियर पराजुलीका अनुसार पहिलो चरणमा विभिन्न स्थानमा मेसिनरी टेवा पर्खाल निर्माण, पहरा कटिङ तथा सडक सुरक्षासम्बन्धी संरचना निर्माण तीव्र गतिमा भइरहेको छ । कतिपय स्थानमा पर्खाल निर्माण र पहरा कटिङको काम सुरु भए पनि लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने केही स्थानमा रूख कटानको अनुमति प्राप्त हुन नसक्दा कुनातर्फको कटिङमा केही ढिलाइ भइरहेको उनले जानकारी दिए । गत पुसदेखि सुरु भएको स्तरोन्नति हालसम्म करिब सात प्रतिशत काम भएको आयोजनाले जनाएको छ । निर्माण कम्पनीले रोङ्गा दोभानमाथि राजमार्ग नजिकै कामदार तथा प्राविधिकहरूको आवास निर्माण गरिसकेको छ । आवासीय व्यवस्थाले कार्यस्थलमा जनशक्ति परिचालन गर्न सहज भएकाले दिनरात निर्माण सञ्चालन भइरहेको इञ्जिनियर पराजुलीले बताए ।
“नेपाल सरकारले निर्माणलाई सहज बनाउन स्थानीय खोलाबाट आवश्यक गिट्टी, बालुवा सङ्कलन गर्ने अनुमति प्रदान गरिसकेको छ । तर सडक विस्तारका क्रममा कटान गर्नुपर्ने रूखको स्वीकृति समयमा प्राप्त हुन नसक्दा केही क्षेत्रमा निर्माणको गति प्रभावित भएको छ”, उनले भने । करिब १६ किलोमिटर लम्बाइ रहेको स्याफ्रुबेँसी–रसुवागढी खण्डको स्तरोन्नति सम्पन्न गर्न ३९ महिनाको समयावधि निर्धारण गरिएको छ । सडक स्तरोन्नति सम्पन्न भएपछि नेपाल–चीनबीचको व्यापार, पर्यटन, पारवहन तथा जनस्तरको आवागमन अझ सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
यसैबीच टिमुरे क्षेत्रमा विसं २०६५ मा अधिग्रहण गरिएको सडकको दायाँबायाँको क्षेत्रभित्र स्थानीय बासिन्दाले पुनः घरटहरा निर्माण गरेकाले त्यस्ता संरचना हटाउन सम्बन्धित पक्षलाई सूचना जारी गरिएको आयोजना कार्यालयले जनाएको छ । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढी र भोटेकोशी नदीको कटानका कारण सडकका विभिन्न भागमा ठूलो क्षति पुगेको थियो । विशेष गरी तातोपानी डाँडा, घट्टेखोला, घट्टेखोलाको दक्षिणी भीर तथा टिमुरे गाउँमुनिको पाखोलगायत क्षेत्रमा सडक संरचना कमजोर बनेपछि स्तरोन्नति कार्यलाई थप प्राथमिकता दिइएको इञ्जिनियर पराजुलीले उल्लेख गरे ।
नेपाल र चीनबीचको शताब्दीयौँ पुरानो व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वासका साथ अघि बढाइएको यो परियोजनाले उत्तरी नाकाको पूर्वाधार विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । सडक स्तरोन्नतिसँगै रसुवागढी नाका हुँदै हुने द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रवर्द्धन तथा क्षेत्रीय आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने स्थानीय तथा सरोकार भएकाहरूले विश्वास व्यक्त गरेका छन् ।
चितवन, ७ असारः वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ महिनासम्म आफ्ना कर्मचारीलाई बिदा दिने गर्दथे । सामान्यतया होटलको सुरक्षा र सरसफाइमा खटिनेबाहेक सबैजसो कर्मचारीले बिदा पाउँथे । तर, यस वर्ष भने असारको पहिलो साता सकिनैलाग्दा सौराहका होटल मुख्य ‘सिजनमा’जस्तै भरिभराउ छन् । होटलमा कोठा पाउन कठिन अवस्था छ ।
सौराहासहित भरतपुर आसपासका होटल व्यवसाय भीडभाड देखिनुको कारण ‘राष्ट्रिय स्वातन्त्र पार्टी’ (रास्वपा)को महाधिवेशन हो । प्रतिनिधिसभा सदस्यका लाग हालै सम्पन्न निर्वाचनमा दुई तिहाइ नजिकको सङ्ख्या जित्न सफल सबैभन्दा ठूलो राजनीतिक दल ‘रास्वपा’को आज भरतपुरमा उद्घाटन हुने तीन दिने राष्ट्रिय महाधिवेशनका कारण चहलपहल बढेको भनी होटल व्यवसायी खुशी देखिन्छन् ।
होटल व्यवसायी सङ्घ चितवनका अनुसार रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशमा भाग लिन आउने स्वदेशी तथा विदेशी प्रतिनिधि, शुभेच्छुक, नेता तथा कार्यकर्ता, पर्यवेक्षक, सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थितिका कारण चहलपहल बढेको हो । महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिको सङ्ख्या चार हजार २११ छ । क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष गुणराज थपलिया रास्वपाको महाधिवेशनका कारण अहिले बेमौसममा पनि अपेक्षा गरेभन्दा बढी पर्यटक वृद्धि भएको बताउँछन् । उनले भने, “आइतबार सार्वजनिक बिदा हुनथालेपछि यसअघि जस्तो बजार सुनसान थिएन । यसैबीच महाधिवेशन घोषणा भएसँगै सौराहामा चहलपहल बढेको छ । समग्रमा यस वर्ष यहाँका होटल व्यवसायी लाभान्वित भएका छन् ।” सौराहामा रहेका १५० हाराहारी होटलमा सात हजार जनाको क्षमता रहेको उनले बताए । सौराहाको होटल भिष्टाका सञ्चालक रमेश सिलवाल महाधिवेशनस्थल भरतपुरबाट केही टाढा भएपनि पर्यटकीयस्थलका रूपमा परिचित सौराहा घुम्नबस्न आउने नेता तथा कार्यकर्ताको सङ्ख्या उल्लेख्य रहेको बताउँछन् । होटल व्यवसायी सिलवाका अनुसार नेकपा एमालेको यसअघि सम्पन्न महाधिवेशनपछि रास्वपाको महाधिवेशनका कारण अहिले सौराहले प्रचारप्रसारसहित वाह्य पर्यटक पाएको छ ।
सौराहाका ‘रेष्टुरेन्ट’ व्यवसायी दीपेन्द्र खतिवडा होटल बासका लागि सोधखोज गर्नेको निकै बढेको छ । होटल व्यवसायी सङ्घअन्तर्गतका ७३१ होटल रेष्टुरेन्टमध्ये आवास सुविधा भएका अधिकांश भरिएको व्यवसायीले बताएका छन् । सङ्घका निवर्तमान अध्यक्ष कृष्ण भट्ट गत वर्षमा यतिबेला करिब ४० प्रतिशत हुनेगरेकामा अहिले ८० प्रतिशतभन्दा बढी होटल भरिएको बताउँछन् । उनले भने, “राम्रा अधिकांश होटल भरिएका छन् । मध्यमस्तरकामा केही बाँकी छन् ।” स्तरीय होटल खोज्ने सौराहालगायतका क्षेत्र गएको उनी बताउँछन् ।
भरतपुर गार्डेनका महाप्रबन्धक घनश्याम चापागाईं दुई दिनदेखि होटल भरिएको बताउँछन् । महाधिवेशन अवधिभर होटलमा कोठा खाली नभएको बताउँदै उनले भने, “हाम्रो होटलमा अरु बेलामा आइरहने पाहुना नै महाधिवेशनमा आएकाले भरिएको छ ।”
दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक रमेश अधिकारी झण्डै एक हप्ता अघिदेखि नै महाधिवेशनको चहलपहल र बैठकले होटल भरिएको बताउँछन् । महाधिवेशनअघि शनिबार यसै होटलमा रास्वपाको केन्द्रीय समितिको बैठक सम्पन्न भएको थियो । चितवनमा मात्रै होइन नवलपरासीको गैँडाकोटका होटल पनि भरिएका छन् । गैँडाकोटमा रहेको ‘द नारायणी रिसोर्ट’का प्रबन्धनिर्देशक रविन पण्डित तीनदिनदेखि आफ्ना दुई वटै होटल भरिएको बताउँछन् । रास्वपाको भोजन तथा आवास उपसमितिका संयोजक राजन गौतमका अनुसार महाधिवेशनका क्रममा करिब १० हजार मानिस चितवन आएका छन् । होटल व्यवसायीसँग कोठाको विवरण माग गरी रास्वपाका प्रतिनिधिलाई यस अघिनै पठाइएको थियो । नेता गौतमका अनुसार होटल व्यवसायीले अन्य समयमा भन्दा सहुलियतमा कोठा र खानाको व्यवस्था गरेका छन् । सहभागी आफैँले कोठाको खर्च तिर्नुपर्ने भएकाले घुम्न पाइने भन्दै श्रीमान्–श्रीमती र छोरा–छोरी आउनेको सङ्ख्या पनि ठूलो रहेको छ । आयोजकले सोमबारबाट बन्दसत्रमा मात्र खानाको व्यवस्था गरेको छ । अन्य समयमा सहभागी आफैँले खाना खानुपर्ने भएकाले होटल व्यवसायमा यसको प्रत्यक्ष रूपमा प्रभाव परी अहिले चितवनका होटल भरिभराउ भएका हुन् ।
चितवन, ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ । तालिकाअनुसार आज राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।
सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिने छ । यस्तै, सोमबार बेलुका ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध, ७ बजेदेखि ९ बजेसम्म दाबी–विरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिने छ । उनका अनुसार बेलुकी ९ः१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली राति ११ बजे प्रकाशन गरिने छ ।
यही असार ९ गते मङ्लबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ । जसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उनले बताए । मतदानपछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा दुई घण्टापछि गरिने छ । त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने उनले बताए ।
आयोगले पार्टी सभापतिको उम्मेदवारका लागि रु ५१ हजार शुल्क र एक जना प्रस्तावक एवं ५१ जनाको समर्थन आवश्यक पर्ने जनाएको छ । यस्तै, पार्टी पदाधिकारीका लागि रु ४१ हजार शुल्क र एक जना प्रस्तावक तथा २१ जनाको समर्थन, र केन्द्रीय सदस्यका लागि रु २१ हजार शुल्क र एक जना प्रस्तावक एवं २१ जनाको समर्थन आवश्यक पर्ने आयोगले जनाएको छ । महाधिवेशनमा ४,२११ जना प्रतिनिधि छन् ।
वासिङ्टन डिसी, ७ असारः अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ‘नेपाली डायस्पोरा र नेपालको समृद्धि, व्यापार, लगानी र नवप्रवर्तनमा चुनौती र अवसर’ शीर्षकमा दूतावासले आज यहाँ आयोजना गरेको छलफलमा कार्यवाहक राजदूत शरद्राज अरणले मातृभूमिको उन्नयनका निम्ति पुँजी परिचालन गर्न अनुरोध गरेका हुन् ।
विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले गैरआवासीय नेपालीका लागि लगानीमैत्री वातावरण निर्माण गरिएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे । सहभागीहरूले नेपालमा लगानीको सम्भावना, अवसर र चुनौतीबारे विस्तृत छलफल गरेका थिए ।
महावाणिज्यदूत लक्ष्मण खनालले नेपालमा सूचना प्रविधि, पर्यटन र ऊर्जा क्षेत्रबाट उच्च प्रतिफल प्राप्त हुने जानकारी दिँदै प्रवासी नेपालीले ती क्षेत्रमा उपलब्ध लगानीका अवसर गुमाउन नहुनेमा जोड दिए । उद्यमी लोक तिवारीले अमेरिकामा विभिन्न पेशा र व्यवसायमा रहेका नेपालीले आफ्नो सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्नपर्छ भन्दै नेपाललाई प्राप्त विप्रेषण उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाए ।
नारायणगढ (चितवन), ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने अधिकांश नेताहरुले पार्टीले प्राप्त गरेको जनमत जोगाउन, आन्तरिक लोकतन्त्र सुदृढ गर्न र सुशासनको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिएका छन् ।
नेपाली कांग्रेस सभापति गगनकुमार थापाले राजनीतिक दलहरू जनमतको कदर गर्दै सत्ताको उन्माद र आन्तरिक अहंकारबाट मुक्त रहनुपर्ने बताए । “इतिहासमा राजनीतिक दलहरूले पाएको जनमत नेताहरूको अहंकार, आपसी टकराव र सत्ताको उन्मादका कारण पटकपटक दुर्घटनामा परेको छ । रास्वपाले यी दुवै अवस्थाको सामना गर्न नपरोस् र प्राप्त जनसमर्थनलाई सही ढङ्गले स्थिरताका निम्ति अगाडि बढाओस् ।”
चितवन, ७ असारः
नेपाली कांग्रेसका सभापति थापा-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै नेपाली कांग्रेसका सभापति गगन थापा । तस्बिरः प्रदीपराज वन्त/रासस
नेपाली कांग्रेस र रास्वपाबीचको सम्बन्धलाई प्रष्ट पार्दै सभापति थापाले संसद्मा आफ्नो दल सशक्त प्रतिपक्षको भूमिकामा रहने उल्लेख गरे । उनले भने, “नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी संसद्मा प्रतिपक्षमा छौँ । जहाँ औँला ठड्याउनुपर्ने हो, त्यहाँ औंला ठड्याउँछौँ, जहाँ ताली बजाउनुपर्ने हो त्यहाँ ताली बजाउँछौँ ।”
पछिल्लो समय राजनीतिमा विगतलाई पूर्ण रूपमा नकार्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले प्रजातन्त्रका लागि भएको ऐतिहासिक सङ्घर्षलाई भुल्न नहुनेमा जोड दिए । उनले भने, “चितवनमा निलो झण्डा फहराउँदै गर्दा विगत ३५ वर्षमा केही पनि भएन भनेर इतिहासलाई इन्कार नगर्नुहोला, तपाईंहरू जुन ठाउँमा उभिनुभएको छ, त्यहाँ मुनि प्रजातन्त्रका लागि लड्ने सहिदहरूको रगत र बलिदान जोडिएको छ । त्यो इतिहासलाई कसैले पनि बिर्सन मिल्दैन ।”
सभापति थापाले गरिबी, अज्ञानता, विभेद र अक्षमता नै देशको मुख्य दुश्मन भएको औँल्याउँदै यी साझा चुनौतीविरुद्ध र संविधान एवं व्यवस्थाको रक्षाका लागि रास्वपासँग सहकार्य हुने स्पष्ट पारे । उनले रास्वपाको स्थापनाको छोटो समयमै प्राप्त जनसमर्थनको प्रशंसा गर्दै महाधिवेशनको पूर्ण सफलताको कामनासमेत गरे ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रास्वपाले छोटो समयमै हासिल गरेको राजनीतिक सफलता नेपाली इतिहासकै एउटा नयाँ क्रान्तिको कडी भएको बताए । उनले आफूले विगत १०–११ वर्षदेखि सुरु गरेको वैकल्पिक राजनीतिको अभियानको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा रास्वपालाई लिएको स्पष्ट पारे । उनले आफूलाई सधैँ परिवर्तन र न्यायका पक्षमा उभिने एक निरन्तर विद्रोहीको रूपमा प्रस्तुत गर्दै आफ्नो सारा जीवन यसैमा सुम्पिएको उल्लेख गरे ।
चितवन, ७ असारः
पूर्वप्रधानमन्त्री डा भट्टराई-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई । तस्बिरः प्रदीपराज वन्त/रासस
रास्वपाको उदयलाई लिएर पुराना राजनीतिक दलहरूले वैदेशिक शक्तिको हात रहेको भनी लगाउने गरेको ‘षड्यन्त्र सिद्धान्त’ को खण्डन गर्दै उनले भने, “मेरा पुस्ताका साथीहरूलाई ठूलो भ्रम छ । उहाँहरू खाली यो दक्षिणले गरायो, उत्तरले गरायो, पश्चिमले गरायो भनेर कथा बुनेर बस्नुभएको छ । तर मेरो स्पष्ट धारणा के छ भने, समाज बदल्न हिँडेका युवा सधैँ सत्य र न्यायका पक्षमा उभिनुपर्छ र तपाईंहरू उभिनुभएको छ ।” रास्वपाले आन्दोलन र सङ्घर्षबाट मात्र नभई आधुनिक विज्ञान र प्रविधिको प्रयोग गरी जनताको मन जितेर यो ऐतिहासिक सफलता हासिल गरेको उनको भनाइ थियो ।
आफ्नो आलोचना गर्नेहरूलाई जवाफ दिँदै डा भट्टराईले भने, “कतिपयले मलाई सोध्छनु के ललिपप पाएर यो उमेरमा रास्वपाको महाधिवेशनमा गएको ? म सारा जीवन मर्न तयार भएको मान्छे, मलाई केको ललिपप ? तपाईंहरूकै सद्भावले म मुलुकको प्रधानमन्त्री भइसकेको मान्छे हुँ, मलाई कुनै ललिपप चाहिँदैन, म त नेपाली जनता र युवा पुस्ताले देशमा सुशासन र समृद्धि पाएको हेर्न चाहन्छु ।”
राजनीतिक क्रान्तिलाई एउटा ‘रिले दौड’का रूपमा व्याख्या गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले पहिलो पुस्ताका टङ्कप्रसाद आचार्य, पुष्पलालहरूले सुरु गरेको क्रान्तिलाई आफ्नो पुस्ताले गणतन्त्र र संविधानसभासम्म पु¥याएको र अब देशलाई सुशासन र समृद्धिको शिखरमा पु¥याउने जिम्मेवारी रवि लामिछाने र वालेन्द्र शाहको नयाँ पुस्ताको काँधमा आएको बताए । उनले रास्वपाको नयाँ नेतृत्वले आगामी पूरा पाँच वर्षको कार्यकाल दृढताका साथ पूरा गर्नुपर्नेमा जोड दिए ।
चितवन, ७ असारः
नेकपा एमालेका नेता ज्ञवाली-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै नेकपा एमालेका नेता प्रदीप ज्ञवाली। तस्बिरः प्रदीपराज वन्त/रासस
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काँधमा देश र लोकतन्त्रलाई सुदृढ बनाउने ऐतिहासिक जिम्मेवारी आएको बताए । यो महाधिवेशनले केबल नयाँ नेतृत्व मात्र चयन नगरी पार्टीको स्पष्ट राजनीतिक नीति, सिद्धान्त र मार्गचित्र तय गर्नुपर्नेमा उनले जोड दिए । “रास्वपा राष्ट्रिय राजनीतिमा कुन स्थानमा उभिन्छ भन्ने कुराभन्दा पनि यसले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय र उत्तरदायी राज्यको अवधारणालाई कसरी अगाडि बढाउँछ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ”, उनले भने ।
छोटो समयमा रास्वपाले प्राप्त गरेको जनमतलाई विश्व इतिहासका विभिन्न सन्दर्भसँग जोड्दै नेता ज्ञवालीले जनादेश पाउनु जत्तिकै महत्वपूर्ण त्यसको सही सदुपयोग गर्नु रहेको बताए । इतिहासमा जनमतको सही सदुपयोग र दुरुपयोगका फरकफरक दृष्टान्त रहेको उल्लेख गर्दै उनले रास्वपाले इतिहासका गलत शिक्षाहरूबाट सिकेर जनताको अनुहारमा उज्यालो ल्याउने गरी अघि बढ्नुपर्ने सुझाव दिए । लोकतन्त्रमा ‘चेक एण्ड ब्यालेन्स’को ठूलो भूमिका हुने चर्चा गर्दै उहाँले न्यायालय, राष्ट्रपति र संसद्जस्ता राज्यका मुख्य संस्था सधैँ बलियो हुनुपर्ने तथा जनताका आलोचनात्मक स्वरहरूलाई सम्मान गरिनुपर्ने धारणा राखे । उनले रास्वपाभित्र काम गर्ने तीव्र हुटहुटीसँगै आवश्यक संयम र कानुनी सन्तुलन कायम रहन सकोस् भन्दै महाधिवेशनको पूर्ण सफलताको कामना गरे ।
चितवन, ७ असारः
नेपाली कम्युनिष्ट पार्टीका नेता पुन-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन। तस्बिरः प्रदीपराज वन्त/रासस
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य वर्षमान पुनले थिति बसाल्न चालिने जुनसुकै कदम पनि विधिसम्मत र संविधानको दायराभित्र हुनुपर्ने बताए । उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको अभियानमा आफ्नो पार्टी र रास्वपाबीच कार्यगत सहकार्य रहँदै आएको उल्लेख गरे ।
पुनले भने, “भ्रष्टाचार र विकृति अन्त्य तथा सुशासनको एजेन्डामा हामी सँगै थियौँ, छौँ र रहनेछौँ । यस सन्दर्भमा एउटा सुझाव र आग्रह छ, थिति बसाल्न चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोऊन् भन्नेमा तपाईंहरूको पर्याप्त ध्यान पुग्ने नै छ ।”
उनले पृष्ठभूमि र कार्यशैली फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका मुद्दामा दुवै शक्तिबीच निकटता रहेको दाबी गरे । “हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभङ्ग गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौँ,” उनले भने, “सुशासनको एजेन्डामा नेपाली कम्युनिष्ट पार्टी र रास्वपाको जतिको निकट सहकार्य सायद अरूका बीचमा भएको छैन ।”
सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र विभिन्न ऐतिहासिक आन्दोलन र सहिदहरूको बलिदानको जगमा स्थापना भएको स्मरण गर्दै उनले वर्तमान राजनीतिक प्रणालीप्रति रास्वपाबाट अझ उच्च तहको प्रतिबद्धताको अपेक्षा गरिएको बताए । पहिलो पटक देशव्यापी रूपमा पूर्ण सङ्गठनको आकारमा जान लागेको रास्वपाको यस महाधिवेशनले पार्टीमाथिका विविध प्रश्न, आरोप र आशङ्काहरूलाई मेट्दै वैचारिक तथा सङ्गठनात्मक स्पष्टता प्रदान गर्ने विश्वाससमेत नेता पुनले व्यक्त गरे ।
चितवन, ७ असारः
राप्रपाका अध्यक्ष लिङ्देन-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन। तस्बिरः प्रदीपराज वन्त/रासस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा विद्यमान समस्या नेताहरूमा मात्र नभई वर्तमान संविधान र संवैधानिक व्यवस्थामा समेत रहेको दाबी गरे । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशलाई सही निकास दिन राजनीतिक प्रणालीमै परिमार्जन आवश्यक रहेको औँल्याए । उनले भने, “इतिहासले तपाईंहरूलाई एउटा यस्तो विशिष्ट अवसर दिएको छ, जुन कुनै पार्टी वा व्यक्तिको जीवनमा बारम्बार आउँदैन । यदि यो अवसर चुक्यो भने, यसले तपाईंको पार्टीलाई मात्र होइन, सिङ्गो देशलाई नै ठूलो धोका हुनेछ ।”
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र परिवर्तनका लागि राजनीतिक दलहरू सङ्कुचित दायराभन्दा माथि उठ्नुपर्ने बताए । उनले महाधिवेशनहरू केबल नयाँ नेतृत्व चयन गर्ने थलो मात्र नभई राष्ट्रिय राजनीति र जनअपेक्षालाई मार्गनिर्देश गर्ने कडी भएको उल्लेख गरे ।
चितवन, ७ असार :
जसपा नेपालका अध्यक्ष यादव-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव। तस्बिर : प्रदीपराज वन्त/रासस
“सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक क्रान्ति र सामाजिक रूपान्तरणको दिशामा अघि बढ्नु आजको मुख्य आवश्यकता हो”, अध्यक्ष यादवले भने । उनले जनअपेक्षाअनुरूप काम गर्न राजनीतिक दलहरूबीच साझा मुद्दामा सहकार्य हुनुपर्नेमा जोड दिँदै रास्वपा महाधिवेशनले मुलुकको समसामयिक चुनौतीलाई सम्बोधन गर्ने गरी ठोस नीति र रणनीति तय गर्ने विश्वास व्यक्त गरे ।
जनमत पार्टीका अध्यक्ष डा सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन केवल एउटा राजनीतिक भेला मात्र नभएर ‘क्रान्तिको महोत्सव’ भएको बताए । उनले देशभरिका ७७ वटै जिल्लाबाट अनेकन् कष्ट, ऋण र भोक सहेर पनि हजारौँ युवा भरतपुर ओर्लनु पद वा प्रतिष्ठाका लागि नभई देश बदल्ने एउटा साझा जुनुन र आर्थिक समृद्धिको चाहनाका कारण भएको उल्लेख गरे । संसदीय राजनीतिबाट आफू सन्यास लिइसकेको मान्छे भए तापनि आयोजकले यस ऐतिहासिक समारोहमा सम्झिएकामा आभार प्रकट गर्दै उनले भने, “जुन सपना तपाईंहरूले देख्नुभएको छ, त्यही चाहना मैले पनि देखेको हुनाले म यहाँ कुनै प्रतिस्पर्धीका रूपमा होइन, तपाईंहरूको सहयात्री र सहयोगीका रूपमा शुभकामना दिन उपस्थित भएको हुँ ।”
चितवन, ७ असारः
जनमत पार्टीका अध्यक्ष डा राउत-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत । तस्बिरः प्रदीपराज वन्त/रासस
रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनका अवसरमा एसियाका प्रमुख राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएका छन् । महाधिवेशनमा रास्वपाका अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले अन्तरराष्ट्रिय क्षेत्रबाट प्राप्त शुभकामना सन्देशहरू वाचन गरेका थिए ।
एसियाली राजनीतिक दलहरूको सङ्गठन, भारतको भारतीय जनता पार्टी, चिनियाँ कम्युनिष्ट पार्टी तथा भुटान, बङ्गलादेश, पाकिस्तान, मलेसिया र दक्षिण कोरियाका सत्तारुढ तथा प्रमुख राजनीतिक दलहरूबाट समेत शुभकामना प्राप्त भएको खनालले बताए ।
कार्यक्रममा भरतपुर–२७ का थारु समुदायको डम्फु नाच प्रदर्शन गरिएको थियो भने केन्द्रीय सांस्कृतिक विभागले स्वागत गीत तथा नृत्यमार्फत अतिथिहरूलाई स्वागत गरेको थियो । महाधिवेशनको बन्दसत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ । बन्दसत्रमा चार हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने पार्टीले जनाएको छ ।
भरतपुर (चितवन) ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारेका छन् । चितवनको भरतपुरमा आयोजित पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले प्राप्त गरेको जनमतलाई आत्मसात गरी कसैप्रति पनि प्रतिशोध नसाँध्ने बताए । उनले राजनीतिक दलहरुबीच भएका वैमनस्यता पनि यहीँबाट अन्त्य गरी सहयोग र सहकार्यका साथ देश र जनताको पक्षमा काम गर्ने उल्लेख गरे ।
पार्टीभित्र गुट–उपगुटको अभ्यास हुन नदिने उल्लेख गर्दै सभापति लामिछानेले महाधिवेशनमार्फत एकताको सन्देश दिइने प्रतिबद्धता व्यक्त गरे । उनले पुराना राजनीतिक दलले बेहोरेको अनुभवबाट पाठ सिकेर गुटरहित ढङ्गले अघि बढ्न सके रास्वपालाई कुनै शक्तिले पराजित गर्न नसक्ने उनको भनाइ थियो ।
“रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झेर लड्छ, रास्वपालाई लडाउने अरू कसैको तागत छैन”, उनले भने, “गुट र उपगुटले दिने फल विषालु हुन्छ । त्यस्तो फल फल्यो भने वृक्ष नै काट्नुपर्ने अवस्था आउँछ । हामी अहिले कस्तो बीउ रोप्ने भन्ने मोडमा छौँ ।” रास्वपा देशको साझा राजनीतिक मञ्चका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै उनले पछिल्लो समय गैरराजनीतिक क्षेत्रका व्यक्ति पनि राजनीतिमा आउन थालेको बताए ।
सभापति लामिछानेले नेपाली कांग्रेस र नेकपा (एमाले)भित्र देखिएका समस्या समाधान गर्न सुझाव दिँदै समस्या समाधान नभए त्यसले मुलुकलाई नै अप्ठ्यारो पर्ने बताए । “हामीले इतिहासलाई जवाफ दिनुपर्नेछ । राष्ट्रिय राजनीति राम्रो हुन हाम्रो पार्टी मात्रै राम्रो भएर पुग्दैन, अरू दल पनि सुध्रिनुपर्छ”, उनले भने, “कांग्रेस र एमालेभित्र देखिएका अप्ठ्यारा समाधान भएनन् भने देशलाई समस्या पर्छ ।”
सभापति लामिछानेले पूर्वसहमति अनुसार नै सरकार अघि बढेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले लक्ष्यअनुसार काम गरिरहेको बताए । “सरकार सञ्चालन गर्ने पूर्वसहमति अनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुगेको छ । गोल हान्ने जिम्मा उहाँलाई नै छ । झुक्किएर मेरो खुट्टामा बल आएछ भने पनि पास गरेर उहाँको खुट्टामा पुर्याउने जिम्मा मेरो हो”, लामिछानेले भने ।
काठमाडौँ, ७ असारः प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाहले वर्तमान सरकार ‘एक्स्प्रेस’ गाडी भएकाले गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले कतिपय राजनीतिक पार्टीहरुले सरकारको गति अनियन्त्रित हुने त होइन भनी गरेको टिप्पणीप्रति लक्षित गर्दै भने, “हाम्रो सरकार ‘एक्स्प्रेस वे’मा गुडिरहेको गाडी हो, यो गन्तव्यमा पुगेर ब्रेक लाग्छ, अनियन्त्रित छैन ।”
महाधिवशेनको उद्घाटन सत्रमा शुभकामना दिने क्रममा केही राजनीतिक दलका नेताले दिएको सुझावलाई पार्टीले गम्भीर रुपले लिएको जनाउँदै प्रधानमन्त्री शाहले अहिलेको जनमतलाई स्वीकार गर्न आग्रह गरे । रास्वपाको वैचारिक दृष्टिकोणका बारेमा चिन्ता नलिन आग्रह गर्दै उनले रास्वपा विकासवादी पार्टी भएको बताए । “रास्वपा काम गर्ने पार्टी हो, प्रतिशोध साँध्ने पार्टी होइन, पुराना कुरालाई लिएर निहुँ खोज्ने पार्टी होइन”, उनले भने ।
सरकारी सम्पत्ति र रकम दोहन भएको अवस्थामा विद्यमान सरकार कठोर ढङ्गबाट प्रस्तुत हुने उनको भनाइ थियो । प्रधानमन्त्री शाहले भने, “सरकारले नियमकानुन मिच्दैन, नियममै बसेर काम गर्छ, नियमभन्दा बाहिर जाँदैन, हामी निहुँ खोज्ने पार्टी होइन ।”
‘हाम्रो भूमिको प्रमाण हामीसँग छ’ प्रधानमन्त्री शाहले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको स्पष्ट पार्दै ती भूभाग नेपालकै भएको प्रमाण सरकारसँग रहेको बताए । “हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ, तर ब्रिटिसकालीन शासनका समयमा यससम्बन्धी कुनै प्रमाण छ भने सहयोग लिन खोजेका हौँ”, भनले भने, “हामी छिमेकीसँग आफैँ कुरा गरेर सीमासम्बन्धी विषय मिलाउँछौँ, हामीसँग हाम्रो भूभाग रहेको प्रमाण छ । त्यसमा आशङ्का लिनु पर्दैन ।” आफ्नो राष्ट्रियताप्रतिको दृष्टिकोणमा कसैले पनि आशङ्का मान्नु नपर्नेमा उनको प्रष्टीकरण थियो ।
‘पार्टीमा गुट, उपगुट नगरौँ ’
वरिष्ठ नेता शाहले पार्टीको महाधिवेशनमा गुट उपगुट बनाउने पुराना पार्टीका अभ्यासलाई रास्वपाले स्थान नदिने बताए । “राम्रो नेता र राजनीतिज्ञ बन्नलाई जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन, समूह बनाउनेतर्फ नलाग्नुहोला, त्यो बिउ अहिले नै नरोप्नु, कि भोलि त्यो रुख बनेर बीचबाट फाँड्नु नपरोस् । हामीले पुरानाहरुबाट यो सिक्नुपर्छ”, उनले भने ।
उनले रास्वपा नयाँ पार्टी भएकाले नयाँ सोचका साथ अघि बढेको स्पष्ट पारे । “हामीले यही कार्यकालमा सुकुमबासी र सहकारी ठगीसम्बन्धी समस्या समाधान गर्छौँ । आगामी चुनावमा यही ‘एजेण्डा’ बोकेर जाँदैनौँ, अब नयाँ एजेण्डा लिएर जान्छौँ”, प्रधानमन्त्रीले भने । अहिले रास्वपाको सरकार भएकाले हरेक मन्त्री, सांसद, पदाधिकारी, केन्द्रीय सदस्य, कार्यकर्ता र जनता नै प्रधानमन्त्री भएको उनको भनाइ थियो । पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिँदै उनले भने, “आज, भोलि र पर्सी पार्टीका बारेमा सोचौँ, त्यसपछाडि पाँच वर्ष देशका बारेमा सोचौँ ।”
चितवन, ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा पूर्वघोषित कार्यतालिका अनुसार महाधिवेशन सुरु भएको हो । महाधिवेशन उद्घाटन समारोहमा पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह उपस्थित भए ।
यसैगरी, रास्वपाका पदाधिकारी एवं केन्द्रीय नेताहरु र महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रह्यो । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उद्घाटन समारोहमा सहभागी भए ।
त्यस्तै, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायतका नेताहरु उद्घाटन समारोहमा सहभागी भए । रास्वपाको चितवनमा सुरु पहिलो राष्ट्रिय महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ ।
महाधिवेशन उद्घाटन कार्यक्रममा चितवन र छिमेकी जिल्लाका रास्वपाका जिल्लास्तरका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको छ । पार्टी सभापति लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री शाहले ‘घण्टी’ बजाएर महाधिवेशनको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
वासिङ्गटन, ७ असार (रासस–सिन्ह्वा) । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ता आइतबारबाट नै सुरु हुन सक्ने बताएका छन् । वार्ताका लागि अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुनर स्विट्जरल्यान्ड पुगिसकेको उनले बताए । शनिबार फक्स न्यूजसँगको अन्तर्वार्तामा भान्सले आफू पनि छिट्टै स्विट्जरल्यान्ड जाने र वार्ता आइतबारबाट नै सुरु हुन सक्ने बताए ।
यसैबीच, लेबनानमा इजरायलले गरेको आक्रमणको विरोध गरेको छ । अमेरिकासँगको समझदारी पत्रमा इरान र यस क्षेत्रका लेबनान लगायत इराननिकट शक्तिहरूको आक्रमणलाई पनि रोक्ने सहमति भएको र इजरायल र लेबनाननबीच शुक्रबार युद्धविराम घोषणा भएपनि आक्रमण नरोकिएको भन्दै इरानको मुख्य सैन्य कमान्ड खातम अल–अन्बियाले हर्मुज जलडमरू बन्द गर्ने घोषणा गरेको छ । अमेरिकाले नयाँ शान्ति समझदारी उल्लङ्घन गरेको र इजरायलले दक्षिणी लेबनानमा युद्धविराम तोडेको भन्दै इरानले यस्तो कदम चालेको जनाएको छ ।
भान्सले इरानले जलडमरू बन्द गरेको कुनै प्रमाण नदेखिएको बताउँदै फक्स न्यूजसँग भने, “हामीले इरानीहरूले हर्मुज जलडमरू बन्द गरेको कुनै प्रमाण देखेका छैनौं । तर त्यहाँ रहेका विष्फोटक पदार्थहरू हटाउन केही समय लाग्ने भएकाले पूर्णरूपमा नियमित जहाज आवागमनमा केही समय लाग्नेछ ।”
–पाकिस्तानद्वारा पुष्टि–
पाकिस्तानको विदेश मन्त्रालयले शनिबार इस्लामावाद समझदारी पत्र अनुसार अमेरिका र इरानबीच प्राविधिक स्तरको वार्ता आइतबार स्विट्जरल्यान्डको बुरगेनस्टकमा हुनेछ । दुवै देशका प्रतिनिधि तथा मध्यस्थकर्ता पाकिस्तान र कतारका प्रतिनिधिहरू वार्तामा सहभागी हुनेछन् । पाकिस्तानले मध्यस्थकर्ताको भूमिकामा यो प्रक्रियालाई निरन्तर सहयोग गर्नेछ ।
ढाका, ७ असार (रासस÷एएफपी) बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश भ्रमणका रूपमा मलेसिया र चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उहाँले छिमेकी भारतमा प्रारम्भिक गन्तव्यका रूपमा नगई सो भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्री रहमान आइतबार मलेसिया प्रस्थान गर्ने र त्यसपछि भोलिपल्ट चीनको राजधानी बेइजिङ पुग्ने कार्यतालिका रहेको बङ्गलादेशी सरकारी समाचार संस्था (बिएसएस)ले परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।
प्रधानमन्त्री रहमान बेइजिङमा रहँदा व्यापार तथा पूर्वाधारसम्बन्धी विषयहरू छलफलको मुख्य ‘एजेन्डा’ रहने बताइएको छ । त्यसमा दीर्घकालदेखि अल्झिएको टिस्टा नदी परियोजनामा चिनियाँ सहयोगसमेत समावेश हुन सक्ने जनाइएको छ । उक्त परियोजना नदी व्यवस्थापन, ड्रेजिङ, तटबन्ध निर्माण र सिँचाइ सुधारसँग सम्बन्धित छ ।
परराष्ट्र मन्त्रालयले यी भ्रमणलाई बङ्गलादेशको आर्थिक साझेदारी सुदृढ गर्ने उद्देश्यले गरिएको महत्वपूर्ण कूटनीतिक पहलका रूपमा व्याख्या गरेको बिएसएसले जनाएको छ । मलेसियामा करिब आठ लाख बङ्गलादेशी कामदार कार्यरत छन्, जुन त्यहाँको विदेशी श्रमशक्तिको एक तिहाइभन्दा बढी हो ।
सन् २०२४ को राजनीतिक परिवर्तनपछि बङ्गलादेश–भारत सम्बन्धमा तनाव देखिएको छ । त्यतिबेला तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि नयाँ राजनीतिक परिस्थिति बनेको थियो । हालका प्रधानमन्त्री रहमानले गत फेब्रुअरीमा सम्पन्न निर्वाचनपछि सत्ता सम्हालेसँगै छिमेकी भारतसँग सम्बन्ध सुधारको प्रयास भइरहेको भए पनि केही विषयमा असमझदारी कायमै रहेको बताइएको छ ।
हसिना भारतमा आश्रयरत रहनुभएको र बङ्गलादेशले उहाँको सुपुर्दगी माग गर्दै आएको विषयले पनि दुई देशबीच कूटनीतिक तनाव बढाएको जनाइएको छ । सीमा क्षेत्रमा अवैध आप्रवासनसम्बन्धी विवादले समेत सम्बन्धलाई प्रभावित पारेको छ । यसैबीच, दक्षिण एसियामा प्रभाव विस्तारका लागि भारत र चीनबीच प्रतिस्पर्धा जारी रहेको विश्लेषकहरूले बताएका छन् ।
तेल अवीव (इजरायल), ७ असार (रासस–एएनआई) । इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविरामको समयमा पनि दक्षिणी लेबनानमा हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने जनाएको छ । आईडीएफका प्रवक्ता ब्रिगेडियर जनरल एफी हेजबुल्लाहले गरेको पछिल्लो आक्रमणमा चार इजरायली सैनिकहरूको मृत्यु भएको घटना इजरायली पक्षले “स्वीकार गर्न सक्ने“ वास्तविकता नभएको बताएका छन् । आईडीएफले थप खतराहरू रोक्न दक्षिणी लेबनानमा आफ्नो कारबाही जारी राख्ने कुरामा जोड दिएको छ ।
प्रवक्ता डेफ्रिनले इजरायलले थप तनावको लागि पर्खन नसक्ने कुरामा जोड दिँदै तत्कालका खतराहरू हटाउन, हेजबुल्लाहको उल्लङ्घनको जवाफ दिन र नागरिकको सुरक्षाका लागि आवश्यक कार्वाहि जारी राख्ने जनाएका छन् । हेजबुल्लाहले दक्षिणी लेबनानमा सक्रिय इजरायली सेना माथि आक्रमण गरे पछि प्रतिक्रीया स्वरुप भएको आक्रमणमा चार सैनिकको मृत्यु भएको थियो । डेफ्रिनले हेजबुल्लाहले पछिल्लो समयमा युद्धविरामको उल्लङ्घन गरी नागरिक र सैन्य कर्मचारीलाई लक्षित गरी “सयौं ड्रोन र रकेट आक्रमण गरेको जनाएका छन् ।
लेबनानमा विद्रोही समूहले युद्धविराम उल्लङ्घन गरी ड्रोन आक्रमण गरे पछि दक्षिणी लेबनानमा आइडिएफ ट्याङ्क बटालियनका कमान्डर र अन्य तीन सैनिकको मृत्यु भए पछि इजरायली सेनाले बेका उपत्यकामा हेजबुल्लाहको पूर्वाधारमा आक्रमण गरेर जवाफ दिएको जनाइएको छ । आक्रमणको केही समय पछि, यस क्षेत्रमा तनाव कम गर्ने प्रयास स्वरुप इजरायल र हेजबुल्लाह बीच नयाँ युद्धविराम सम्झौता भएको जनाइएको छ ।
सिएनएनले वार्तासँग परिचित धेरै स्रोतहरूलाई उद्धृत गर्दै इजरायल र हेजबुल्लाहले युद्धविराम पुनस्र्थापित गर्ने सम्झौतामा पुगेको जनाएको छ । स्रोतहरूलाई उदृत गर्दै सिएनएनले यो सम्झौता संयुक्त राज्य अमेरिका र कतारको सयुक्त मध्यस्थता प्रयास मार्फत भएको थियो । दुई पक्षबिच युद्धविरामको घोषणा भएको केही क्षण पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा विद्रोही समूहसँग इजरायली पक्षलाई युद्धविराममा सहमत हुन आग्रह गरेको बताएका छन् ।
कर्णाली, ७ असारः सुर्खेतमा शनिबार डुबेर तीन जनाको ज्यान गएको छ । सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै दहतातलमा डुबेर मृत्यु भएको छ ।
काठमाडौँ, ७ असारःआज विश्वका विभिन्न स्थानमा अन्तरराष्ट्रिय अयनोत्सव दिवस (वर्षमा दुई पटक हुने खगोलीय घटना, जब सूर्य पृथ्वीको भूमध्यरेखाको तुलनामा आफ्नो यात्रामा सबैभन्दा उत्तर वा सबैभन्दा दक्षिण बिन्दुमा पुग्ने दिन) विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले अयनोत्सव तथा विषुव (संसारका अधिकांश स्थानमा दिन र रातको अवधि लगभग बराबर हुने दिन)लाई सांस्कृतिक सम्पदा, कृषि परम्परा र मानव सभ्यतासँग जोडिएको महत्वपूर्ण प्राकृतिक तथा सांस्कृतिक घटनाका रूपमा मान्यता दिँदै जुन २१ लाई अन्तरराष्ट्रिय अयनोत्सव दिवसका रूपमा मनाउने घोषणा गरेको हो ।
राष्ट्रसङ्घका अनुसार संस्कृति समाज वा सामाजिक समूहका विशिष्ट आध्यात्मिक, भौतिक, बौद्धिक तथा भावनात्मक विशेषताहरूको समष्टि हो । यसले कला, साहित्य, जीवनशैली, मूल्य–मान्यता, परम्परा तथा विश्वासलाई समेटेको छ । सांस्कृतिक विविधता मानवताको साझा सम्पत्ति भएकाले वर्तमान र भावी पुस्ताको हितका लागि यसको संरक्षण, सम्मान र प्रवद्र्धन आवश्यक छ ।
महासभाले अयनोत्सव र विषुवलाई भूमि उर्वरता, कृषि तथा खाद्य उत्पादन प्रणाली, सांस्कृतिक सम्पदा र हजारौँ वर्ष पुराना परम्पराको प्रतीकका रूपमा स्वीकार गरेको छ । अयनोत्सव र विषुव उत्सवले आपसी सम्मान, शान्ति र असल छिमेकी सम्बन्धका आदर्शका आधारमा विभिन्न समुदाय र राष्ट्रबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
खगोलशास्त्रीय रूपमा अयनोत्सव भनेको सूर्यको वार्षिक दृश्यगत मार्ग पृथ्वीको भूमध्यरेखाको तुलनामा सबैभन्दा उत्तर वा दक्षिणतर्फ पुगेको क्षण हो । वर्षमा दुई पटक अयनोत्सव पर्छ । जुन २१ तिर पर्ने ग्रीष्म अयनान्तलाई उत्तरी गोलाद्र्धमा वर्षको सबैभन्दा लामो दिन र गर्मी यामको सुरुआतका रूपमा लिइन्छ भने डिसेम्बर २१ तिर पर्ने शिशिर अयनान्तलाई सबैभन्दा छोटो दिन र जाडो यामको सुरुआतका रूपमा चिनिन्छ ।
त्यसैगरी, विषुव वर्षमा दुई पटक सामान्यतः मार्च २० र सेप्टेम्बर २३ तिर पर्छ । यस समयमा दिन र रातको अवधि लगभग बराबर हुने भएकाले यसलाई ऋतु परिवर्तनको महत्वपूर्ण सङ्केत मानिन्छ । अयनोत्सव, विषुव तथा तिनसँग सम्बन्धित ऋतुचक्र कृषि, बाली भित्र्याउने समय र जनजीवनसँग घनिष्ठ रूपमा जोडिएका छन् । यही कारण विश्वका विभिन्न संस्कृति र सभ्यताले यिनलाई विशेष पर्व, उत्सव तथा धार्मिक–सांस्कृतिक परम्परामार्फत मनाउँदै आएका छन् । राष्ट्रसङ्घले यस्ता परम्पराबाट मानव समुदायबीच समझदारी, सहिष्णुता र सांस्कृतिक संवाद अभिवृद्धि गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेको छ ।
काठमाडौँ, ७ असारः हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी भाग र कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहने जनाएको छ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने अनुमान छ ।
त्यसैगरी, दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भागका केही तथा बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ । कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहरको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ । मधेस तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।
आज राति पनि कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ । कोशी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले भारी वर्षा, चट्याङ तथा तातो लहरको सम्भावना रहेका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै महाशाखाका मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ ।
बेनी (म्याग्दी), ७ असारः अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा नभएका बस्ती । एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौँसम्म उकालोओरालो हिँड्नुपर्ने बाध्यता । विगतका वर्षहरूमा म्याग्दीको धवलागिरि गाउँपालिकाको चिनारी यस्तै दुर्गम र विकट भूगोलको सङ्घर्षका कथाबाट हुने गथ्र्यो । तर समयसँगै त्यो चित्र फेरिँदै गएको छ । सडक पूर्वाधारको विस्तारसँगै धवलागिरिका दुर्गम गाउँबस्तीमा विकासका सुविधा उक्लन थालेका छन् ।
सडक यातायातको क्षेत्रमा गाउँपालिकाले हासिल गरेको उपलब्धिले वर्षौँदेखि दुर्गम र विकटताको पहिचान बोकेका बस्तीलाई क्रमशः सहज पहुँचको सुविधामा ल्याउन थालेको छ । धवलागिरि गाउँपालिका–१ गुर्जामा सडक सञ्जालको पहुँच पुगेसँगै म्याग्दीका ४५ वटै वडामा सडक सञ्जालको पहुँच विस्तार भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
“यो वर्षमात्रै गुर्जामा सडकको पहुँच पुर्याउन सफल भयौँ, अब यसलाई स्तरोन्नति गरेर नियमित सञ्चालन हुने सडक बनाउनेतर्फ पहल थालेका छाँै, सडक निर्माणले स्थानीयलाई यातयातको सुविधा दिएको छ, सँगै गाउँमा हुने कृषि र पशुजन्य उत्पादनको बजारीकरणमा समेत सघाउने विश्वास लिएका छौँ”, अध्यक्ष पुनले भन्नुभयो । विसं २०७९ मा भएको स्थानीय तह निर्वाचनसम्म मुना र खोरियाको बीचमा पर्ने मतलाको अक्करे भिरमा रोकिएको सडकलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाएर लुलाङ हुँदै गुर्जामा सडक पुगेको हो ।
प्रदेश र सङ्घीय सरकारका साथै गाउँपालिकाबाट प्राथमिकताका साथ बजेट विनियोजन भएपछि वडा नं २ लुलाङदेखि गुर्जासम्मको करिब २२ किलोमिटर लामो सडकको ट्याक निर्माणले पूर्णता पाएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०÷८१ देखि लुलाङबाट गुर्जा जोड्ने सडक निर्माण सुरु भएको थियो । पहिलो वर्ष सङ्घ, प्रदेश र स्थानीय सरकारको रु दुई–दुई करोड साझेदारीमा रु छ करोड, दोस्रो वर्ष सङ्घ र स्थानीय सरकारको रु ३५–३५ लाख गरी रु ७० लाख र चालु आवमा सङ्घीय सरकारको रु एक करोड ४० लाख तथा स्थानीय सरकारको रु ३५ लाख गरी रु एक करोड ७५ लाख बजेटलाई ठेक्कामार्फत परिचालन गरेर गुर्जालाई सडक सञ्जालमा जोडिएको गाउँपालिकाले जनाएको छ ।
सडक सञ्जालको पहुँच नहुँदा गुर्जाबाट गाउँपालिकाको केन्द्र मुना आउन सर्वसाधारणले एक दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले सडक सुविधाले पालिकाको सेवा लिन गाउँपालिका आएका नागरिक एकैदिनमा घर फर्कन सक्ने सुविधा भएको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण सुरु गरेको छ ।
गाउँपालिकाभित्र पछिल्लो चार वर्षको अवधिमा भएका भौतिक पूर्वाधारमध्ये सडक सञ्जालको पहुँच निर्माण सबैभन्दा ठूलो उपलब्धिको रूपमा रहेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा महतलाको भिरमा रोकिएको सडक लमसुङ, लुलाङ हुँदै गुर्जा, मरेनीदेखि पर्यटकीयस्थल जलजला–गुर्जाघाट हुँदै ढोरपाटन सडक सञ्जालमा जोडिएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने छोटो दूरीको सडक पनि हो ।
चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजनामार्फत म्याग्दीको धवलागिरि–२ मरेनीदेखि ढोरपाटनको जलजलासम्म सडकको ट्याक निर्माण भएको हो । वडा नं ४ मुदीमा निर्माणाधीन जलविद्युत् आयोजनामार्फत खिबाङ, बगर, दोभान, चेचुङलगायत बस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ भने नेरवाङ बस्तीमा सडक विस्तार भइरहेको छ ।
मुदीको बगर फेदीबाट सिङ्कोस बगरमा र मल्कबाङदेखि भेडिखाल्टा बस्तीमा सडक सञ्जालको पहुँच पुर्याउन बाँकी छ । चालु आवमा गाउँपालिकाबाट विनियोजन भएको रु ३० लाख बजेटबाट सडकको ट्याक निर्माण भए पनि भेटिखाल्टामा सडकको ट्याक जोडिएको छैन । पालिकाले माग गरेबमोजिम सङ्घीय सरकारबाट आगामी वर्षका लागि सङ्घीय समपूरक कोष् अन्तर्गत रु ८५ लाख बजेट विनियोजन भएकाले आगामी वर्ष भेडिखाल्टामा सडकको पहुँच पुग्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
पहाडी जटिल भूगोलको चुनौतीका बीच यस वर्ष धवलागिरिका अधिकांश गाउँबस्तीमा सडक सञ्जालको पहुँच विस्तार हुनुले यस पालिकाका स्थानीयमा विकासप्रतिको सकरात्मक धारणाको विकास गराएको छ । पहिले पैदलयात्रामा निर्भर रहनुपर्ने स्थानीय अहिले गाउँसम्मै सडक पुगेपछि दैनिक जीवन, कृषि उत्पादनको ढुवानी, स्वास्थ्य सेवा तथा शिक्षाजस्ता आधारभूत सेवामा सहजता अनुभव गर्न थालेका छन् ।
सडक पुगेसँगै दुर्गम बस्ती विकास र समृद्धिको मूलधारसँग जोडिने क्रमले गति लिएको छ । कुनै समय दुर्गमताको पर्याय मानिने धवलागिरिमा आज सडक सञ्जाल विस्तारमार्फत सर्वसाधारणलाई परिवर्तनको आभास दिलाएको छ । गाउँगाउँमा पुगेको सडकले स्थानीयको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनुका साथै विकासका सम्भावनाका नयाँ ढोका पनि खोलिदिएको छ । रासस
धरान (सुनसरी), ७ असारः “गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ । यहाँ रुखका शीतल छहारीहरू छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि त आनन्द नै बेग्लै हुन्छ,” मोरङको पथरीबाट घुम्न आउनुभएका विकास खड्काले भन्नुभयो । तालतलैयाको शीतल वातावरण र बोटिङ सुविधा भएकाले गर्मी छल्न साथीभाइसहित यहाँ आएको उहाँले बताउनुभयो ।
पूर्वी तराईमा गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीयस्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकको मुख्य रोजाइ बन्न थालेको छ । करिब साढे २१ हेक्टर क्षेत्रफलमा फैलिएको हरियाली र जलाशययुक्त यो क्षेत्र यतिबेला गर्मी छल्न आउनेहरूको आकर्षक केन्द्रका रूपमा विकास भएको छ ।
तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीका अनुसार गर्मी मौसम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सामान्य दिनमा दैनिक पाँच सयभन्दा बढी पर्यटक घुमघामका लागि आउने गरेकामा अहिले दैनिक रूपमा २५ सयभन्दा बढी पर्यटक गर्मी छल्न आउने गरेको उहाँले बताउनुभयो ।
यहाँ आउने पर्यटकमध्ये करिब ४० प्रतिशत पर्यटक सीमावर्ती भारतीय सहरहरूबाट आउने गरेका छन् । अत्यधिक गर्मी बढेपछि अहिले सिरहा र सप्तरीको तराई क्षेत्रबाट बढी पर्यटक आउने गरेको अध्यक्ष रायमाझीले बताउनुभयो । गर्मीबाट राहत पाउनका लागि पर्यटकहरू यहाँ रहेका पोखरी र बोटिङतर्फ बढी आकर्षित हुने गरेका छन् । तालतलैयाभित्र छवटा पोखरी रहेका छन्, जसमा पर्यटकको मनोरञ्जनका लागि समितिले दुईवटा मोटरबोट सञ्चालनमा ल्याएको छ । जहाँ शीतल हावा खाँदै जलयात्रा गर्न पाइन्छ ।
मोरङको कानेपोखरीबाट साथीहरूसहित घुम्न आउनुभएका अर्का पर्यटक रविना थापा भन्नुहुन्छ, “यहाँको फराकिलो खुला क्षेत्र, बोटिङ, आकर्षक फोटो स्पट, चिडियाखाना र छहारीयुक्त फूलबारीले गर्दा गर्मी र छुट्टीको समय बिताउन हामी यहाँ आउने गर्छौँ । प्रायःजसो गर्मी छल्न हामी भेडेटार जाने गरेका थियौँ, तर यहाँ बोटिङ गर्न पाइने भएपछि यतै घुम्ने सोच गरेर आएका हौँ ।”
गर्मीमा शीतल छहारी खोज्दै आउने पर्यटकका लागि तालतलैयाभित्र दर्जनौँ चौतारा, बगैँचा र नर्सरी निर्माण गरिएका छन् । यसबाहेक यहाँको मुख्य आकर्षण चिडियाखाना पनि हो, जहाँ दुम्सी, मयुर, गिद्ध, चित्तल, हाँस, घोडा र बाँदरजस्ता वन्यजन्तु अवलोकन गर्न पाइन्छ । बालबालिकाका लागि चिल्ड्रेन पार्क र वाटर फाउन्टेन (पानीको फोहोरा) समेत रहेकाले विद्यालय बिदाका दिन अभिभावकहरूले छोराछोरीलाई शीतल वातावरणमा खेलाउन यहाँ ल्याउने गरेका छन् ।
आर्थिक वर्ष २०८१\८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको रु ८५ लाखको बजेटबाट यहाँ थप पर्यटकमैत्री संरचना, आधुनिक शौचालय र चिडियाखानाको स्तरोन्नति गरिएको व्यवस्थापन समितिले जनाएको छ । तालतलैयामा पर्यटकको चहलपहल बढेसँगै स्थानीय साना व्यवसायी उत्साहित छन् ।
स्थानीय व्यापारी इन्दु राणा भन्नुहुन्छ, “गर्मी बढेसँगै घुम्न आउने पर्यटकको सङ्ख्या निकै बढेको छ, जसले गर्दा व्यापार पनि राम्रो भएको छ । विशेषगरी चटपटे, मःम, चाउमिन र चिसो पेय पदार्थको बिक्री बढी हुने गरेको छ ।”
सङ्घीय र प्रदेश सरकारको सहयोगमा यहाँ विभिन्न भौतिक संरचनाको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र कलात्मक मूर्ति निर्माण गरिएका छन् । तालतलैयामा एकैपटक ७० भन्दा बढी समूहले वनभोज खान सक्ने क्षमता रहेको छ । पूर्वी नेपालकै प्रमुख मनोरञ्जन र वनभोज गन्तव्यका रूपमा विकसित हुँदै गएको तालतलैयाबाट पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको छ । रासस
भरतपुर (चितवन), ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।
प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ । “रास्वपाले १८ उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको थियो । प्रतिनिधि छनोटको काम लगभग सकिएको छ”, प्रवक्ता झाले भने, “राजनीतिक, आर्थिक, साङ्गठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन् । शनिबार चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेस गर्ने विधान संशोधन गरिसकेको छ ।”
भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचनासमेत संशोधन गरेको छ । सचिवालयले विधान परिवर्तन गरेर १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ । बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो । “केन्द्रीय बैठकले विधान संशोधन गरेको छ”, बैठकपछि पार्टीका सचिवालय सदस्य तथा विधान संशोधन समितिका सदस्य गणेश पराजुलीले भने, “प्रदेश सभापतिलाई पदेन सदस्य राख्नेगरी १५१ केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।”
हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन् । उनका अनुसार एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित उपसभापति तीन, महामन्त्री दुई, एक महिलासहित सहमहामन्त्री पाँच, प्रवक्ता एक, एक महिलासहित सहप्रवक्ता तीन, कोषाध्यक्ष एक तथा एक महिलासहित सहकोषाध्यक्ष दुई जना रहनेछन् । अहिलेको रास्वपाको विधानमा पदाधिकारीमा महिला अनिर्वाय उल्लेख गरिएको छैन । विधान संशोधान भएपछि यसपटक उपसभापति, सहमहान्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा एक जना अनिर्वाय महिला हुनेछन् ।
यस्तै विधानले १५१ सदस्यमध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनय गर्नेगरी विधान संशोधन गरिएको छ । बृहत् राजनीति समायोजनलाई ध्यानमा राखी एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री तथा कोषाध्यक्ष र प्रवक्तालाई पार्टी सभापतिले चुन्ने विषयमा छलफल भएको पराजुलीले बताए । अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति चयन हुनेछन् ।
पार्टी सभापतिले चयन गर्ने केन्द्रीय सदस्य समावेशिताका आधारमा हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ । पार्टी नेतृत्वले महाधिवेशनमार्फत सङ्गठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखेको प्रवक्ता झाले बताए । महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताए । महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै सङ्गठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरेको उनले बताए । निर्वाचनमा पाएको मतलाई पार्टीको ‘आम्दानी’का रूपमा लिएको उनको भनाइ छ । “हामीले टोलस्तरमा पनि पार्टी सङ्गठन विस्तार गर्ने विधानमा नै उल्लेख गरेका छौँ”, उनले भने, “हाम्रो भ्रातृ सङ्गठन भने हुँदैन ।”
महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि हुनेछन् । त्यसमा ३०० प्रतिनिधि रास्वपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ । रास्वपाले पार्टी सदस्य पाँच लाख पुर्याएको छ । सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा अधिवेशन गरिएको छ । यस्तै छ प्रदेश ६४ जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनोट भइसकेका छन् । मधेस प्रदेश र निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिए ।
कास्की, ७ असारः पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ । पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वीचोकस्थित सेती नदीपट्टिको बास्तोला कम्प्लेक्स हटाएको हो । महानगरपालिका र जग्गाधनीका बीचमा संरचना हटाउने सहमतिअनुसार व्यवसायीले सटर खाली गरेका थिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताए । उनका अनुसार बसपार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो ।
“हामीले जग्गाधनीसँग सहमति गरेका थियौँ । सोहीअनुसार खाली गरिएको हो । सुकुम्बासी बस्तीमा भने व्यवस्थापन नगरी हटाउने छैनौँ”, उनले भने। महानगरले यसअघि असार ४ गते बसपार्क प्रवेशद्धारमा रहेका सटरमा डोजर चलाएको थियो । महानगरपालिकाले खाली गरेको बास्तोला कम्प्लेक्सको जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । विसं २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको भए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टाभर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो ।
महानगरले पछिल्लो समय जग्गा सट्टाभर्नाको निर्णयलगायतका विषयमा छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समितिसमेत गठन गरेको छ । सो समितिको प्रतिवेदन अझै पेस हुनसकेको छैन । महानगर प्रमुख आचार्यले लालपुर्जा भएका जग्गाधनीको छानबिन पनि द्रुतगतिमा भइरहेकाले केही दिनमै वास्तविकता सार्वजनिक हुने बताए ।
पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्कको सम्पूर्ण जग्गा खाली गरिने बताउनुभयो । उहाँले बसपार्कको जग्गा अतिक्रमण गरी बसेका सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापनको काम पनि अघि बढाइएको बताए । महानगरले यही असार ४ गतेदेखि बसपार्कका संरचना हटाउन सुरु गरेको हो । “बसपार्कको ठूलो क्षेत्रभित्र बसेका वास्तविक सुकुम्बासीको अन्यत्र व्यवस्थापन गरेरमात्र सो क्षेत्रमा डोजर चल्छ । अहिले सुकुम्बासीको अन्यत्र जग्गा भए\नभएको बारेमा छानबिन भइरहेको छ”, वडाध्यक्ष मर्सानीले भने ।
महानगरले सुकुम्बासी बस्तीका ५७२ परिवारमध्ये हालसम्म ३३७ परिवारको ‘डकुमेन्ट भेरिफिकेसन’ सम्पन्न भएको र बाँकीको समेत छिट्टै सकिने जनाएको छ । महानगर प्रमुख आचार्यले केही सुकुम्बासीले तीनपुस्ते सही विवरण नदिएको तथा झुटा विवरणसमेत दिएको पाइएको बताउँदै छानबिनका लागि समय लागेको बताए ।