Category: समाचार

  • लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते

    लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते

    लन्डन, ६ असार (रासस÷ एएफपी) । लन्डनको उत्तरी क्षेत्रमा दुई वटा रेलहरू शनिबार एक आपसमा ठोक्किँर दुर्घटना हुँदा रेल चालकको मृत्यु भएको उल्लेख गर्दै दुर्घटनामा ११ जना गम्भीर घाइते भएको बेलायती प्रहरीले जनाएको छ । इस्ट मिडल्याण्ड्स रेलवे (इएमआर) का अनुसार बेलायतको राजधानी बाट ५६ किलो मिटर उत्तरमा रहेको शहर बेडफोर्ड नजिकै दुर्घटना भएको हो ।

    चालकको घटना स्थलमै मृत्यु भएको जनाउदै प्रहरीले विज्ञप्ति जारी गरेको छ । प्रहरीका अनुसार दुर्घटनामा घाईते भएका ३३ जनालाई अस्पताल लगिएको उल्लेख गर्दै ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    रेलमा सवार यात्रुलाई उदृत गर्दै बिबिसीले रेल लन्डनको सेन्ट प्यानक्रास स्टेसनतर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेको जनाएको छ । यस अघि सन् २०२३ सेप्टेम्बर मा, स्कटिस हाइल्याण्ड्सको एभिमोर स्टेसनमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुर्घटना हुदा धेरै मानिसहरू घाइते भएको जनाइएको छ ।

  • पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

    पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

    क्यानबेरा, ६ असार (रासस–सिन्ह्वा) । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा एभियन इन्फ्लुएन्जाको अत्यधिक रोगजनक एच–५ एन–१ स्ट्रेनको सङ्क्रमण पुष्टि भएको जनाएको छ । कृषि, मत्स्यपालन तथा वनमन्त्री जुली कोलिन्सले शनिबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा दक्षिणी पश्चिमी अष्ट्रेलियाको एक राष्ट्रिय निकुञ्जमा जुन १४ मा फेला परेको खैरो स्कुआ (ब्राउन स्कुआ) एच–५ एन–१ सङ्क्रमणका कारण मरेको पुष्टि भएको जानकारी दिए ।


    यो अष्ट्रेलियामा एच–५ एन–१ स्ट्रेनको पहिलो पुष्टि भएको घटना हो । उक्त भाइरस सन् २०२० यता विश्वका विभिन्न क्षेत्रमा फैलिँदै आएको छ र यसका कारण लाखौँ चरा तथा अन्य जनावर मरेका छन् । अधिकारीहरूका अनुसार सङ्क्रमित चरा भेटिएको क्षेत्र नजिकै एक विशाल पेट्रेल चरा बिरामी अवस्थामा फेला परेको छ । उक्त चरालाई क्वारेन्टिनमा राखिएको छ ।

    अष्ट्रेलिया सरकारले सम्भावित प्रकोपको तयारीस्वरूप यसअघि नै ११३ मिलियन अष्ट्रेलियाली डलर विनियोजन गरेको थियो । यस अवसरमा प्रमुख पशुचिकित्सा अधिकारी बेथ कुक्सनले सर्वसाधारणलाई बिरामी वा मृत चराको सम्पर्कबाट टाढा रहन आग्रह गरेका थिए ।

  • बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

    बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

    काठमाडौँ, ६ असारः सदर चिडियाखाना जावलाखेलमा ‘बर्ड फ्लु’ (एच फाइभ एन वान) को सङ्क्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि छानबिन हुने भएको छ ।

    कोषको अध्यक्ष एवं कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ । कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लूका कारण पत्तालगायत प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजक्तमा तीन सदस्यसीय छानबिन समिति बनाएको हो ।

    समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा मधु क्षेत्री सदस्य छन् । दुवै जनालाई एक हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख साहलाई केन्द्रीय कार्यालयमा तानेको छ । साहलाई जिम्मेवारीबाट हटाइएकाले चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको मन्त्रालयले जनाएको छ ।

    पशु सेवा विभागमा गरिएको नमूना परीक्षणबाट चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लू पुष्टि भएको थियो । चिडियाखानामा करिब १० दिनअघि बाटै पन्छी र जनावर मरेका भए पनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई साहले कुनै जानकारी नै दिएका थिएनन् । चराचुरुङ्गीहरू मर्ने क्रम नरोकिएपछि परीक्षण गर्दा बकुल्ला, लाटोकोसेरो, गिद्ध तथा जनावरतर्फ नीरबिरालो र चरीबाघमा समेत बर्ड फ्लू फेला परेको थियो ।

    रोग सङ्क्रमणका कारण वन्यजन्तुहरू मरेको धेरै दिन बितिसक्दा कुनै जानकारी नदिइएपछि साहलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइएको छ । पछिल्ला समयमा चिडियाखानामा भएका शृङ्खलाबद्ध घटना र बर्ड फ्लूजस्तो संवेदनशील विषयमा बेलैमा केन्द्रलाई ‘रिपोर्टिङ’ नगरेका कारण कोषले साहमाथि विभागीय कारबाही गर्दै अनुसन्धान अघि बढाएको हो ।

  • भोटो प्रदर्शनसँगै सकियो यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा

    भोटो प्रदर्शनसँगै सकियो यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा

    रासस
    ललितपुर, ६ असारः वर्षा, सहकाल र समृद्धिका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा आज भोटो प्रदर्शन (भोटो जात्रा) सम्पन्न भएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ । नेपालको सबैभन्दा लामो तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण जात्राका रूपमा परिचित यो जात्रा तिथिअनुसार करिब दुई महिनासम्म मनाइने गरिन्छ ।

    गत वैशाख ८ गते ललितपुरको पुल्चोकबाट सुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको देवतालाई ३२ हात अग्लो रथमा विराजमान गराई परिक्रमा गराइएको थियो । रथ पुल्चोक, गाः बहाल, मङ्गलबजार, सुनधारा, लगनखेल हुँदै ठटीटोलसम्म पुर्‍याइएको थियो । परम्पराअनुसार तिथि हेराई ठटीटोलबाट रथलाई पश्चिमतर्फ तानेर जावलाखेल ल्याइन्छ र जावलाखेल पुगेको चौथो दिन भोटो प्रदर्शन गर्ने चलन रहिआएको छ ।

    राष्ट्रप्रमुख तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा भोटो देखाउने परम्पराअनुसार यस वर्षको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधामन्त्री वालेन्द्र शाह सहभागी हुनुभएको थियो । हजारौँ भक्तजन तथा दर्शकको उपस्थितिमा आयोजित कार्यक्रममा गुठी संस्थान ललितपुरका वरिष्ठ सहायक श्रीकृष्ण बाडेले परम्पराअनुसार रथको माथिल्लो भागबाट भक्तजनलाई भोटो प्रदर्शन गरे ।
    भोटो प्रदर्शनसँग जोडिएको एउटा रोचक किंवदन्ती पनि प्रचलित छ ।

    परम्पराअनुसार भोटो देखाउने क्रममा “यो भोटो कसको हो ?” भन्ने प्रश्न सार्वजनिक रूपमा सोधिने गरिन्छ । किंवदन्तीमा एक किसानले नागराजाबाट प्राप्त गरेको बहुमूल्य भोटो हराएपछि त्यसको दाबी कसले गर्ने भन्ने विवाद उत्पन्न भएको र त्यसैको स्मरणस्वरूप हरेक वर्ष भोटो देखाउने परम्परा सुरु भएको विश्वास गरिन्छ । यद्यपि हालसम्म कसैले पनि उक्त भोटो आफ्नो भएको प्रमाणसहित दाबी गर्न सकेको इतिहास छैन ।

    करिब एक हजार ६०० वर्ष पुरानो मानिने रातो मच्छिन्द्रनाथ जात्रा नेपालकै प्राचीन तथा महत्त्वपूर्ण सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ । विशेषगरी काठमाडौँ उपत्यकामा वर्षा, कृषि उत्पादन र समृद्धिको कामना गर्दै यो जात्रा मनाउने गरिन्छ । भोटो प्रदर्शन कार्यक्रम सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको देवमूर्तिलाई रथबाट निकालेर सानो खटमा राखी बाजागाजासहित बुँगमती लगिएको छ । देवतालाई बुँगमती पुर्‍याएपछि यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा विधिवत रूपमा सम्पन्न भएको मानिने परम्परा रहिआएको छ ।

  • कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

    कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

    तानसेन (पाल्पा), ६ असारः कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा डुबेर शिखरडाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा दुवै जना डुबेर बेपत्ता भएका थिए ।

    प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा कालीगण्डकीकै तल्लो भागमा आज शव फेला परेको हो । शिशिरको सोही स्थानमा र पुजनको टिपुवाघाटमा शव फेला परेको प्रहरी नायक उपरीक्षक भट्टराईले बताए । नदीमा पानी धमिलो भएका कारण खोजीमा समस्या भएको थियो । उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटकहरू बढी जाने र उनीहरूले नै अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले सो स्थानमा सुरक्षाका उपायहरू अपनाउन जिल्ला प्रहरी कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ ।

  • एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम

    एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम

    काठमाडौँ, ६ असारः सडक सुरक्षा र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एयर होस्टेसहरूको सहभागितामा विशेष ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ । काठमाडौँ उपत्यकाका मुख्य चोक तथा बढी सवारी चाप हुने क्षेत्रमा सञ्चालन गरिएको उक्त कार्यक्रममा गीता उड्डयन (एभिएसन) मा प्रशिक्षित एयर होस्टेसहरूको सहभागिता रहेको थियो । यात्रु सेवासँग सम्बन्धित पेसामा रहेका एयर होस्टेसहरूले सडक प्रयोगकर्ता नागरिकलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्रा र दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश प्रवाह गरेका थिए ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेले सडक सबै नागरिकको साझा प्रयोगस्थल भएकाले यसको सुरक्षामा सबैको समान जिम्मेवारी रहने बताए । उनले भने, “सडक प्रयोग सबै नागरिकले गर्दछन् । यसमा आम नागरिकको पनि उत्तिकै भूमिका हुन्छ । सडक नियमको पालना गर्नु सबैको दायित्व हो । कुनै व्यक्ति बिहान घरबाट निस्केर सुरक्षित रूपमा साझा घर फर्किने वातावरणको सिर्जना गर्नु ट्राफिक प्रहरीको मुख्य उद्देश्य हो ।”
    उपत्यका ट्राफिक प्रहरीले पछिल्लो समय सडक दुर्घटना न्यूनीकरण, अनुशासित सवारी सञ्चालन तथा सुरक्षित यात्राका लागि विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । सोही क्रममा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँग सहकार्य गर्दै जनस्तरसम्म ट्राफिक चेतना पु¥याउने उद्देश्यले विभिन्न सचेतना कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार गीता उड्डयनका प्रशिक्षित एयर होस्टेसहरूको सहभागितामा पद्मोदय मोड, नयाँ बानेश्वर, पुतलीसडक लगायतका प्रमुख स्थानमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका क्रममा सहभागीहरूले हातमा सचेतनामूलक प्लेकार्ड बोकेर चालक, पैदलयात्री तथा अन्य सडक प्रयोगकर्तालाई ट्राफिक नियम पालना गर्न आग्रह गरेका थिए । ती प्लेकार्डमार्फत तीव्र गति नियन्त्रण, हेल्मेट तथा सिटबेल्टको प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, पैदल यात्रुको सुरक्षालगायत विषयमा सन्देश दिइएको थियो ।

    ‘ट्राफिक नियम पालना गरौँ, दुर्घटना होइन सुरक्षित गन्तव्य रोजौँ’ भन्ने नाराका साथ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकमहिने ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहेको छ । दुर्घटनाको प्रमुख कारणमध्ये चालकको लापरबाही, तीव्र गति, नियम उल्लङ्घन र सडक अनुशासनको कमी देखिएकाले यस्ता समस्यालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीसँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताए ।


    सडक सुरक्षा केवल ट्राफिक प्रहरीको जिम्मेवारी नभई सम्पूर्ण सडक प्रयोगकर्ताको साझा दायित्व भएको सन्देश प्रवाह गर्दै उक्त अभियानले नागरिकमा जिम्मेवार सवारी संस्कृतिको विकास गर्ने अपेक्षा गरिएको छ ।

  • गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

    गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

    काठमाडौँ, ६ असारः लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन जना लागूऔषधको क्रोनिक कारोबारीलाई आज काठमाडौँको बालकुमारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका–३ का २० वर्षीय निरजकुमार मण्डल तथा पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया रहेका लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
    उनले भने,“काठमाडौँ उपत्यकामा लागूऔषध सप्लाई गर्ने गिरोहको सूक्ष्म निगरानी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलमुनि भारतको वासमतियाबाट काठमाडौँ उपत्यकासम्म लागूऔषध खैरो हेरोइन ल्याई बिक्री गर्दै गरेको अवस्थामा कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।”
    उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरी भाग्ने क्रममा चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरी रोकिन अनुरोध गर्दा नरोकी भागी रहेकाले किशोरप्रसाद ओझैयाको दाहिने खुट्टाको घुँडामुनि एक राउन्ड गोली प्रहार गरी निजसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    गोली लागी घाइते भएका किशोरप्रसाद ओझैयालाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टर पुर्याई अहिले उपचार भइरहेको प्रवक्ता रेग्मीले बताए । ब्यूरोको टोलीले पक्राउ परेकाहरूका साथबाट लागूऔषध खैरो हेरोइन ३०० ग्राम, मोबाइल चार थान बरामद गरी थप अनुसन्धान भइरहेको जनाएको छ । यसैगरी, किशोरप्रसाद ओझैया लागूऔषध मुद्दामा तीन वर्ष कैद र रु एक लाख चार हजार जरिवाना भुक्तान गरी मिति २०८२ पुस १७ गते नक्खु कारागारबाट छुटेको अभिलेखबाट देखिएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

  • राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

    राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

    काठमाडौँ,६ असार : राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज अपराह्न अवलोकन गरेका छन् । प्रथम महिला सविता पौडेलसहित आज ललितपुरको जावलाखेल पुगेर उनले जात्रा अवलोकन गरेका हुन् ।

    मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । सो अवसरमा गुठी संस्थानका कर्मचारीले सो भोटो देखाएका थिए भने राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गरेका थिए । मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवता, अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिन्छ ।

    त्यसो हुँदा यसको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्व रहिआएको छ । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा मनोज शर्मा, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थति रहेको थियो ।

  • रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

    रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

    चितवन, ६ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को यहाँ हुने प्रथम राष्ट्रिय महाधिवेशनमा चिकित्सक–स्वास्थ्यकर्मीसहित तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । चर्को गर्मी र भीडभाड हुने भएकाले स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकसहितको एम्बुलेन्स तयारी अवस्थामा राख्न लागिएको हो ।


    महाधिवेशन मूल आयोजक समितिको स्वास्थ्य उपसमितिका संयोजक डा मनोहर प्रधानका अनुसार महाधिवेशन उद्घाटन सत्रमा तीन वटा सुविधासम्पन्न एम्बुलेन्ससहित चिकित्सक, नर्स र पारामेडिक्सको व्यवस्था गरिएको छ । उद्घाटन स्थलको तीन ठाउँमा स्वास्थ्य डेस्क रहने उनले बताए । त्यसमध्ये एउटा अतिथि दीर्घातर्फ हुनेछ भने दुई वटा दर्शकदीर्घातर्फ राखिनेछ ।

    आकस्मिक उपचारका लागि आवश्यक औषधि, कीटहरूसहित आकस्मिक सेवा सोही ठाउँमा दिइने र थप उपचार आवश्यक भएमा जिल्लाका ठूला अस्पतालहरूमा लगिनेछ । प्रधानका अनुसार प्रमुख जिल्ला अधिकारीको रोहवरमा जिल्लास्थित अस्पतालका सञ्चालक र प्रहरी रहेको स्वास्थ्य उपचारका लागि समन्वय समिति बनाइएको छ । समितिले आवश्यकता अनुसार अस्पतालहरूमा समन्वय गरी उपचारको व्यवस्था गर्ने डा प्रधानले बताए ।


    चितवनमा अहिले अत्यधिक गर्मी छ । हिमाली र पहाडी जिल्लाबाट सहभागी आउने हुँदा ‘हिटस्ट्रोक’ हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै तयारी गरिएको उनको भनाइ छ । खानपानमा सावधानी अपनाउन आवश्यक समन्वय भइरहेको उनले बताए ।


    जिल्लाका अस्पतालहरूलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । महाधिवेशन आइतबारदेखि सुरु हुनेछ । उद्घाटन सत्र भरतपुरको गेष्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ । बन्द सत्रभित्र हुने भएकाले बढी जोखिम नहुने भए पनि उद्घाटन सत्र चौरमा हुने भएकाले स्वास्थ्यका हिसाबले जोखिम मानिएको छ । महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि आउनेछन् । पर्यवेक्षक र शुभेच्छुकहरू ठूलो सङ्ख्यामा आउने भएकाले सोही अनुरूप तयारी गरिएको छ ।

    जनचाप लक्षित गर्दै नेटवर्क क्षमता वृद्धि

    नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरले रास्वपाको महाधिवेशनमा सहभागी हुने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै दूरसञ्चार सेवाको क्षमता विस्तार गर्ने भएको छ । भरतपुरस्थित मुख्य टावर तथा आसपासका अन्य टावरमा विशेष एन्टेना र अतिरिक्त उपकरण जडान गरी नेटवर्क क्षमता वृद्धि गरिएको कार्यालयले जनाएको छ ।

    कार्यालयका निमित्त प्रमुख चन्दनकुमार झाका अनुसार आगामी ७ गते हुने महाधिवेशनको उद्घाटन समारोहमा ठूलो सङ्ख्यामा सहभागी हुने अनुमान भएकाले सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले पूर्वतयारी गरिएको हो । उनले रास्वपा महाधिवेशन मात्र नभई यहाँ हुने अन्य भीडभाड तथा मेला–महोत्सवका समयमा पनि सधैँ क्षमता विस्तार गरिँदै आएको बताए । उनले भीडभाडका समयमा फोन नलाग्ने, ‘कल ड्रप’ हुने तथा डेटा सेवा प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अतिरिक्त उपकरण जडान गरिएको बताए ।


    “सेवाग्राहीले कुनै समस्या भोग्न नपरोस् भनेर हामीले आवश्यक पूर्वतयारी गरेका छौँ,” उनले भने । झाका अनुसार मुख्य टावर र आसपासका टावरमा सेक्टर एन्टेना थपिनाका साथै अतिरिक्त आरआरयू जडान गरिएको छ । “यी उपकरण जडानपछि फोन सम्पर्क र डेटा सेवामा समस्या आउने सम्भावना न्यून हुन्छ,” उनले भने । उनले टावरको क्षमता विस्तार गरिएकाले महाधिवेशनका क्रममा नेटवर्कमा चाप बढे पनि सेवा सञ्चालन सहज हुने विश्वास व्यक्त गरे ।


    “आजकल अधिकांश प्रयोगकर्ताले डेटा सेवा प्रयोग गर्नुहुन्छ र मोबाइलमार्फत निरन्तर सम्पर्कमा रहनुहुन्छ । त्यसैले सम्भावित गुनासो आउन नदिन पहिल्यै तयारी गरेका हौँ,” उनले भने। निमित्त प्रमुख झाका अनुसार आफ्नो कार्यक्षेत्रभित्र हुने ठूला सभा, सम्मेलन तथा भीडभाड हुने कार्यक्रमहरूमा आवश्यकताअनुसार प्राविधिक उपकरण तथा ‘एन्टेना’ जडान गरी सेवा क्षमता बढाउने गरिएको छ । उनका अनुसार सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु कार्यालयको प्राथमिकता हो ।

  • तनहुँमा एक महिनामा हराएका २१ जनामध्ये १७ जना फेला

    तनहुँमा एक महिनामा हराएका २१ जनामध्ये १७ जना फेला

    दमौली (तनहुँ), ६ असारः तनहुँ जिल्लामा जेठ महिनामा हराएका २१ जनामध्ये १७ जना फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक गरेको मासिक विवरणअनुसार हराएकामध्ये अधिकांशलाई प्रहरीको खोजतलास तथा अनुसन्धानका क्रममा फेला पारिएको हो । प्रहरीका अनुसार जेठ महिनामा हराएका व्यक्तिमध्ये १० महिला, तीन पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिक रहेका थिए । तीमध्ये सात महिला, दुई पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिक फेला परेका छन् । बाँकी व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले हराएका व्यक्तिको खोजी तथा उद्धारलाई प्रहरीले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले परिवारबाट प्राप्त उजुरी र सूचनाका आधारमा विभिन्न जिल्लासँग समन्वय गरी खोजतलास कार्यलाई तीव्र बनाइएको जानकारी दिए ।
    “हराएका व्यक्तिहरूलाई सकुशल फेला पार्न प्रहरी निरन्तर सक्रिय छ,” प्रहरी नायब उपरीक्षक घिमिरेले भने, “खोजतलास कार्यलाई प्रभावकारी बनाउन विभिन्न प्रहरी इकाइ तथा सम्बन्धित निकायसँग समन्वय गरी काम गरिरहेका छौँ ।”

    त्यसैगरी, जेठमा जिल्लाभर ५१ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका १०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित तीन, आर्थिक अपराधसँग सम्बन्धित छ तथा अन्य ३२ वटा मुद्दा रहेका छन् । प्रहरीका अनुसार उक्त अवधिमा विभिन्न मुद्दाका ३७ जना प्रतिवादी पक्राउ परेका छन् । अपराध नियन्त्रण तथा अनुसन्धान कार्यलाई प्रभावकारी बनाउँदै कानुनको कार्यान्वयनमा जोड दिइएको प्रहरी नायब उपरीक्षक घिमिरेको भनाइ छ । फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । जेठ महिनामा ११ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

    पक्राउ परेका प्रतिवादीबाट चार वर्ष दुई महिनाको कैद तथा रु दुई लाख २१ हजार बिगो तथा जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक घिमिरेले जिल्लामा शान्तिसुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरी सक्रिय रूपमा परिचालित रहेको बताए । “अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरी निरन्तर खटिएको छ,” उनले भने, “समुदायको सहयोग र सूचनाका आधारमा अपराध नियन्त्रणका प्रयासलाई अझ प्रभावकारी बनाउँदै जानेछौँ ।”

  • फिफा विश्वकप : इरानले अमेरिकाविरुद्ध उजुरी दिँदै

    फिफा विश्वकप : इरानले अमेरिकाविरुद्ध उजुरी दिँदै

    तिजुआना (मेक्सिको), ६ असार (रासस–एएफपी) ।
    उत्तर अमेरिका विश्वकपका क्रममा आफ्नो राष्ट्रिय टोलीमाथि यात्रा प्रतिबन्ध लगाइएको भन्दै इरानको फुटबल महासङ्घले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)मा औपचारिक उजुरी दर्ता गर्ने घोषणा गरेको छ । प्रतियोगिताअन्तर्गत संयुक्त राज्य अमेरिका जाने अनुमति अस्वीकार गरिएको भन्दै इरानले आयोजक व्यवस्थामाथि आपत्ति जनाएको हो ।

    इरानले आइतबार लस एन्जलसमा बेल्जियमविरुद्ध हुने समूह चरणको खेलअघि मेक्सिकोको तिजुआनास्थित आफ्नो प्रशिक्षण शिविरबाट दुई दिनअघि नै अमेरिकातर्फ जान अनुमति मागेको थियो । तर महासङ्घका अनुसार उक्त अनुरोध अस्वीकार गरिएको छ । इरानी फुटबल महासङ्घका प्रवक्ताले प्रतियोगिताका लागि आवश्यक तयारी समय पहिल्यै बुझाइसकिएको भए पनि आयोजक पक्षले फेरि यात्रा प्रतिबन्ध लगाएर प्राविधिक तयारी प्रभावित पारेको बताए । उनका अनुसार टोलीले खेलअघि लस एन्जलस पुगेर वातावरणसँग अनुकूलन गर्न, अन्तिम अभ्यास पूरा गर्न र रणनीतिक तयारी टुङ्ग्याउन चाहेको थियो ।

    प्रवक्ताले खेल स्थानीय समयअनुसार दिउँसो १२ बजे सुरु हुने भएकाले टोलीलाई दुई दिनअघि नै स्थानमा पुग्ने अनुमति मागिएको तर उक्त अनुरोध अस्वीकार गरिएको बताए । उनका अनुसार महासङ्घले यस निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी गर्ने प्रक्रिया अघि बढाउनेछ । इरानले यसअघि पनि प्रतियोगिताको पहिलो खेलपछि लस एन्जलसबाट तत्काल बाहिरिन बाध्य हुनुपरेको भन्दै असन्तुष्टि जनाएको थियो । न्युजिल्यान्डसँग २–२ को बराबरीपछि टोलीको बसाइ व्यवस्थापनमा कठिनाइ भएको इरानी पक्षको दाबी छ ।

    उता, अमेरिकी प्रशासनले इरानको आरोपलाई अस्वीकार गरेको छ । ह्वाइट हाउस फिफा टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु जुलियानीले इरानी टोलीलाई खेलअघि एक दिन मात्र अमेरिका प्रवेश अनुमति दिइएको र खेल सकिएको दिन नै प्रस्थान गर्नुपर्ने व्यवस्था गरिएको स्पष्ट पारे । उनका अनुसार यही प्रक्रिया लस एन्जलसमा हुने खेल र सियाटलमा इजिप्टविरुद्ध हुने अन्तिम समूह खेलमा पनि लागू हुनेछ ।

    मध्यपूर्वमा जारी युद्धका कारण इरानको विश्वकप तयारीमा पहिले नै चुनौती देखिएको थियो । प्रतियोगिता सुरु हुनुअघि नै इरानले आफ्नो प्रशिक्षण शिविर एरिजोनाको टक्सनबाट मेक्सिकोको सीमावर्ती सहर तिजुआनामा सार्नुपरेको थियो । साथै, टोलीका १५ जना अधिकारीलाई अमेरिकी भिसा अस्वीकृत गरिएको पनि इरानी पक्षले जनाएको छ ।

  • उदयपुरमा विद्यालय बस दुर्घटना, एकको मृत्यु

    उदयपुरमा विद्यालय बस दुर्घटना, एकको मृत्यु

    कटारी (उदयपुर), ६ असारः उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको कर्मचारी सवार बा२ख ६४३८ नम्बर सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनापछि इलाका प्रहरी कार्यालय सङ्गमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाएको थियो । उपचारकै क्रममा बर्दिबास नगरपालिका निवासी ५५ वर्षीय विमलेश दत्तलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरी गौशाला नगरपालिका–२ निवासी ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देशकुमार चौधरीलाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । बस चालक महोत्तरी गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय जीवन आले सकुशल रहेको र प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

  • ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

    ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

    नारायणगढ (चितवन), ६ असारः कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज यहाँ सम्पन्न भएको छ । विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन् । त्यस अवसरमा विश्वविद्यालयका सहकुलपति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्ज्वल हुने भएकाले सरकारले यस क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेको बताए ।


    चितवनको परिचय कृषि तथा वन विज्ञान विश्वविद्यालय भएको बताउँदै उनले दीक्षित विद्यार्थीलाई प्राप्त शैक्षिक उपाधि केवल प्रमाणपत्रमात्र नभई राष्ट्रप्रतिको जिम्मेवारी, समाजप्रतिको उत्तरदायित्व र भावी पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक मानेर तदनुरुप काम गर्न अनुरोध गरे । विश्वविद्यालयबाट आर्जित ज्ञान, सीप, अनुसन्धान क्षमता र व्यावसायिक दक्षताले देशको कृषि, पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ युगको सुरु गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    उनले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै मुख्य आधार भएकाले कृषि रूपान्तरणको आधार विज्ञान, प्रविधि र दक्ष जनशक्ति हो भने । प्रमुख अतिथि लद्दाख विश्वविद्यालयका उपकुलपति प्राध्यापक साकेत कुसवाहाले नेपाल र भारतबीचको साझा सांस्कृतिक, दार्शनिक तथा ज्ञान परम्पराको चर्चा गर्दै शिक्षा नै मानव जीवनको मार्गदर्शक प्रकाश हो भने ।


    विश्वविद्यालयका उपकुलपति प्रा होमबहादुर बस्नेतले दीक्षित विद्यार्थीहरूलाई केवल रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने उद्यमी बन्न आग्रह गरे ।
    विश्वविद्यालयका रजिष्ट्रार प्रा सुवीर सिंहका अनुसार स्नातक तहमा एक हजार ८३६, स्नातकोत्तर तहमा ३२७ र ३० जनाले विद्यावारिधि उपाधि हासिल गरेका छन् ।

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

    भरतपुर, ६ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट पारेका छन् । महाधिवेशन स्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घरना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताए । “हामीले आफ्नो व्यवस्था आफैँ गरेका छौँ,” उनले भने, “महाधिवेशनका लागि नै भनेर कुनै घराना व्यापारीलाई रसिद पठाएका छैनौँ ।”

    महाधिवशेन सञ्चालनका लागि चार करोड रूपैयाँ लाग्ने अनुमान रास्वपाले गरेको छ । सो रकम सांसद, केन्द्रीय समिति, विभिन्न विभागका सदस्यबाट उठ्ने लेबी तथा महाधिवेशन प्रतिनिधिबाट उठ्ने उनले बताए ।


    “हामी सांसदले प्रतिमहिना रु १६ हजार ५०० उठाउँछौँ । त्यहाँबाट महिनामा रु ३२ लाख सङ्कलन हुन्छ । केन्द्रीय सदस्यले वार्षिक रु २५ हजार सङ्कलन गर्दछौँ,” उनले भने, “महाधिवेशन प्रतिनिधिबाट नै रु डेढ करोड सङ्कलन हुन्छ ।” उहाँले शुभेच्छुकहरूलाई आन्तरिक रूपमा ‘क्युआर’ पठाइएको बताए ।

    रास्वपामा लागेका अधिकांश व्यक्तिको आन्तरिक पेसा भएकाले चन्दा नै उठान नपरेको उनको भनाइ छ । रास्वपाका नेता तथा कार्यकर्ता यातायात र आवासको व्यवस्था आफैँ गर्न सक्ने अवस्थामा रहेको प्रवक्ता झाले बताए । “हामीले महाधिवेशनमा आउने टिकटको व्यवस्था आफैँ गरेका छौँ । होटल बुक पनि आफैँ नै गर्ने हो,” उनले भने, “राजनीतिमा आउने व्यक्तिको वैकल्पिक पेसा हुनुपर्छ । कसैलाई चन्दा माग्ने हो भने उसले लाभ लिन खोज्छ ।”

    व्यापारिक घरानामा रसिद पठाउने अभ्यास बन्द गर्नुपर्ने उनले बताए । “निर्वाचनका बेला पनि रास्वपाले पैसा माग्ने काम गरेन । जनताका लागि काम गर्न आयौँ भन्छौँ, तर जनता व्यापारीसँग उल्टै पैसा लिन थाल्छौँ । त्यो त राजनीति नै भएन नि ” उनले भने, “हामीले सहयोग माग्छौँ त्यो मान्छेको स्वार्थ हुन्छ ।” रास्वपाको प्रथम महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुँदैछ ।

  • हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँः सभापति लामिछाने

    हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँः सभापति लामिछाने

    चितवन, ६ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताएका छन् । पार्टीको महाधिवेशनअघि आज यहाँ भएको बैठकमा उनले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गरेकाहरूको जगमा हामी उभिएका छौँ, हामीलाई यसमा गर्व छ । हामी गर्वका साथ यो परिवर्तनको सँघारमा उभिएका छौँ। लोकतन्त्रबाट विमुख हुनेछैनौँ”

    आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न सकिएन भने कुनै न कुनै बिन्दुमा पुगेर त्यसले दुर्घटना निम्त्याउने भन्दै उनले भने, “एउटा घरमा पनि दुर्घटना र समाजमा हुने दुर्घटना भन्दा राजनैतिक पार्टीमा हुने दुर्घटनाको निकै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ ।” सचेत भएर अबका कदम चाल्नुपर्ने उनले बताए । जुन भूमिकामा रहे पनि आफूलाई जिम्मेवार नागरिकका रुपमा प्रस्तुत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति लामिछानेले अस्वस्थ प्रतिस्र्धाबाट टाढा रहनुपर्नेमा जोड दिए । पार्टीलाई अझ व्यवस्थित एवं गतिशील तुल्याउन अधिवेशन सफल हुने विश्वास पनि उनले व्यक्त गरे ।

  • सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी

    सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी

    काठमाडौँ, ६ असारः सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ । सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो । कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ । यसअन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा सात वटा बसलाई ‘ब्लु बस’का रूपमा सञ्चालन गर्ने योजना अघि बढाइएको छ । साथै काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी सङ्घसँग समन्वय गरी कम्तीमा १८ वटा बस सञ्चालनको तयारी गरिएको छ ।

    मन्त्रालयका अनुसार ब्लु बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय सारिणीसहितको कार्ययोजना, शीर्षकगत लागत अनुमान तथा सञ्चालनको जिम्मेवारी निर्धारण गरिएको मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ । प्राप्त प्रस्तावका आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ब्लु बस सेवा सञ्चालनका लागि साझा यातायातसँग निरन्तर समन्वय भइरहेको छ । सेवा सञ्चालनका विभिन्न विकल्पसहित तयार पारिएको प्रस्ताव मन्त्रालयमा निर्णयका लागि पेस गरिएको छ भने आवश्यक प्रक्रियाहरू अगाडि बढाइएको छ । सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ब्लु बस सेवालाई क्रमशः विस्तार गर्ने योजना बनाएको छ । आगामी आर्थिक वर्षमा सातै प्रदेशमा ब्लु बस सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रमसमेत प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।

    ब्लु बस सेवा सञ्चालनमा आएपछि विशेष गरी विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलालाई सुरक्षित र सहज यात्राको वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ । यसले सार्वजनिक यातायातमा हुने दुव्र्यवहार तथा असुरक्षाको अनुभूति न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । सार्वजनिक यातायातमा सिसीटिभी र ड्यासक्याम सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा तथा अपराध नियन्त्रणका लागि सिसीटिभी र ड्यासक्याम जडानलाई प्राथमिकता दिइएको छ ।

    प्रगति विवरणअनुसार साझा यातायातका १११ बस, महागर यातायातका ४६ बस तथा पाँचपोखरी सुनौलो यातायातका तीन बसमा सिसीटिभी तथा ड्यासक्याम जडान गरी सञ्चालनमा ल्याइएको छ । अन्य सार्वजनिक यातायातका साधनमा पनि जडान विस्तारको काम भइरहेको मन्त्रालयले जनाएको छ । ट्राफिक प्रहरीमार्फत अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । सार्वजनिक सवारीलाई प्रविधिमैत्री, सुरक्षित र यात्रुमैत्री बनाउने मापदण्डको मस्यौदा तयार गरी स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको छ ।

  • निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

    निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

    ६ असार, काठमाडौं । सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको हो । 

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा व्यावसायिक कार्य योजना पेस गर्न भनिएको छ । सूचनामा भनिएको छ ,निजामती कर्मचारी अस्पताल विकास समिति (गठन)आदेश, २०६४ को दफा ६ बमोजिम निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि सोही दफा ६ र निजामती कर्मचारी अस्पताल (कार्यकारी निर्देशकको नियुक्ति, काम, कर्तव्य, अधिकार र सेवा सुविधा) विनियमावली, २०७७ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वेबसाइटमा राखिएको विस्तृत सूचनामा उल्लेख भएका विवरणहरू सहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी कल्याण शाखामा सिलबन्दी खामभित्र व्यावसायिक कार्य यो जना संलग्न गरी आवेदन दस्तुर बापत रु. ५,००० जम्मा गरेको सक्कल भौचर सहित आवेदन पेस गर्नुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

  • विश्व शरणार्थी दिवसः शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

    विश्व शरणार्थी दिवसः शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

    काठमाडौँ, ६ असारः आज विश्व शरणार्थी दिवस हो । यो दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । द्वन्द्व, हिंसा, उत्पीडन तथा मानवअधिकार उल्लङ्घनका कारण आफ्नो घरबार छाड्न बाध्य भएका लाखौँ शरणार्थीप्रति सम्मान व्यक्त गर्दै यो दिवस प्रत्येक वर्ष जुन २० मा मनाउने गरिन्छ ।

    शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय ९युएनएचसीआर० का अनुसार सन् २०२५ को मध्यसम्म विश्वभर ११ करोड ७३ लाखभन्दा बढी मानिस उत्पीडन, द्वन्द्व, हिंसा, मानवअधिकार उल्लङ्घन वा सार्वजनिक शान्ति–सुरक्षामा गम्भीर असर पार्ने घटनाका कारण विस्थापित भएका छन् । सुडान, युक्रेन, अफगानिस्तान, सिरियाली अरब गणराज्य, म्यान्मार तथा प्रजातान्त्रिक गणतन्त्र कङ्गोलगायत मुलुकमा जारी सङ्कटले लाखौँलाई घरबार छाड्न बाध्य बनाएको छ ।

    राष्ट्रसङ्घले शरणार्थीको संरक्षण केवल मानवीय संवेदनाको विषय मात्र नभई विश्व शान्ति र स्थायित्वको आधारसमेत भएको जनाएको छ । शरणार्थीलाई संरक्षण नपाउँदा परिवारहरू थप जोखिमपूर्ण यात्रामा जान बाध्य हुने, बालबालिकाको शिक्षा प्रभावित हुने तथा महिला र बालिकाहरू थप जोखिममा पर्ने बताइएको छ ।

    सन् १९५१ को शरणार्थी महासन्धि तथा सन् १९६७ को त्यससम्बन्धी प्रोटोकल शरणार्थी अधिकार संरक्षणका प्रमुख अन्तरराष्ट्रिय कानुनी आधार मानिन्छन् । ती व्यवस्थाअनुसार शरणार्थीलाई काम गर्ने, शिक्षा प्राप्त गर्ने, आवास पाउने, धार्मिक स्वतन्त्रता उपभोग गर्ने तथा पहिचान र यात्रा सम्बन्धी कागजात प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको छ । महासन्धिको मूल सिद्धान्त ‘नन–रिफाउलमेन्ट’ अनुसार कुनै पनि शरणार्थीलाई उसको जीवन वा स्वतन्त्रतामा गम्भीर खतरा रहेको स्थानमा फिर्ता पठाउन पाइँदैन ।

    विश्व शरणार्थी दिवसले शरणार्थीहरूको साहस, धैर्य र जीवन पुनःनिर्माणका प्रयासप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्ने जनाउँदै उक्त विश्व संस्थाले विश्वका विभिन्न देशका सरकार, दातृ निकाय, स्थानीय समुदाय तथा विश्व समुदायलाई शरणार्थीको सुरक्षा, सम्मान र अधिकारको संरक्षणका लागि साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ ।

    राष्ट्रसङ्का अनुसार युद्ध, हिंसा र उत्पीडनबाट भाग्न बाध्य भएका व्यक्तिलाई जोखिमयुक्त स्थानमा जबर्जस्ती फर्काउन नहुने तथा विस्थापनको अवस्थामा पनि उनीहरूले सम्मानपूर्वक जीवनयापन गर्न पाउनुपर्ने व्यवस्था अन्तरराष्ट्रिय समुदायको महत्वपूर्ण प्रतिबद्धता हो ।

    यसैबीच, महासचिव एन्टोनियो गुटेरेसले यस अवसरमा जारी सन्देशमा शरण लिन बाध्य भएका सबै व्यक्ति तथा उनीहरूलाई आश्रय प्रदान गर्ने मुलुक र समुदायलाई थप बलियो समर्थन आवश्यक भएको बताएका छन् । महासचिव गुटेरेसले सन् १९५१ को शरणार्थीको अवस्थासम्बन्धी महासन्धि स्वीकृत भएको ७५ वर्ष पूरा भइरहँदा सुरक्षा र संरक्षणको प्रतिज्ञा विश्व समुदायका लागि उत्तिकै सान्दर्भिक भएको सन्देशमा उल्लेख गरेका छन् ।
    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • आज केही स्थानमा हल्का वर्षाको सम्भावना

    आज केही स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ, ६ असारः हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भू–भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू–भागमा मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ ।

    मधेस प्रदेश र अन्य हिमाली र पहाडी भू–भागमा आंशिक बादल तथा अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । मधेस प्रदेशमा एक–दुई स्थान र कोशी प्रदेशको तराईका केही स्थानहरूमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ ।

  • सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन :गृहमन्त्री गुरुङ

    काठमाडौँ, ५ असार । गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सदस्य भुवनबहादुर सुनारले सोधेको प्रश्नको जवाफ दिँदै उनले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिए । नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उनले सुनाए ।


    प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको गृहमन्त्री गुरुङले बताए । यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उनको प्रतिबद्धता थियो । बैठकमा राष्ट्रियसभा सदस्य सुनारले जातका आधारमा विभेद भइरहेका विषयमा जिज्ञासा राखेका थिए ।

    अन्तर जातीय विवाहकै कारण हत्या, कुटपिट भइरहेकोतर्फ उनले मन्त्री गुरुङको ध्यानाकर्षण गराए । टेबल, कुर्सी नभएको हिरासतमा सात फिटमाथि पुगेर कसरी आत्महत्या गरेको हुनसक्छ भनी सांसद सुनारले जिज्ञासा राखेका थिए । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए ।

  • मन्त्रिपरिषद् बैठकः धितोपत्र बोर्डको अध्यक्षमा डा गोपाल भट्ट नियुक्त

    मन्त्रिपरिषद् बैठकः धितोपत्र बोर्डको अध्यक्षमा डा गोपाल भट्ट नियुक्त

    काठमाडौँ, ५ असारः सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चारकर्मीलाई जानकारी दिए ।

    बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साबिक व्यवस्था जगाउनेसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ । साथै, राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक पनि संसद्मा पेस गर्ने निर्णय गरिएको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए ।


    सहकारी क्षेत्रको सुधार र प्रभावकारी नियमनका लागि मन्त्रिपरिषद्ले सहकारीसम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । बचत तथा ऋण सहकारी (नियमन तथा सुपरीवेक्षण) सम्बन्धमा व्यवस्था गर्न छुट्टै विधेयक तर्जुमाका लागि समेत स्वीकृति दिइएको छ ।

    बैठकले सहकारी ऐन, २०७४, सार्वजनिक खरिद ऐन, २०६३, सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन, २०६४ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेका प्रतिस्थापन विधेयकहरू सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

  • पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड

    पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड

    रासस
    कास्की, ५ असारः पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि रु सात अर्ब १५ करोड २५ लाख बजेट ल्याएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले आज पोखरा सभागृहमा बसेको १९औँ नगरसभामा बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् । चालु वर्षमा रु आठ अर्ब ३५ करोड १२ लाख बजेट ल्याएको महानगरले आगामी वर्षका लागि बजेटको आकार घटाएको हो । आगामी वर्षको बजेट चालुको भन्दा रु एक अर्ब १९ करोड ८७ लाखले न्यून हो ।

    बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट रु दुई अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान रु पाँच करोड ५० लाख, समपूरक अनुदान रु एक करोड ८२ लाख र सङ्घीय सरकार समानीकरण अनुदान रु ४९ करोड ३७ लाख रहेको छ । त्यसैगरी, गण्डकी प्रदेश सरकार समपूरक अनुदानतर्फ रु ६० लाख, विशेष अनुदान र ४० लाख र समानीकरण अनुदान रु आठ करोड १५ लाख ३६ हजार अनुमान गरिएको उपप्रमुख गुरुङले जानकारी दिइन् ।


    राजस्व बाँडफाँटबापत सङ्घीय सरकारबाट रु ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेश सरकारबाट रु चार करोड नौ लाख ८६ हजार, राजस्व बाँडफाँट स्थानीय सरकारतर्फ रु एक अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोततर्फ रु दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय रु तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार अनुमान गरिएको छ ।

    महागनरको वित्तीय स्थायित्व कायम गर्दै राजस्व दायरा विस्तार, पर्यटकीय राजधानी पोखराको आर्थिक गतिविधि विस्तार गरी रोजगारी अभिवृद्धि र वातावरणमैत्री र दिगो सहरी विकास प्रवर्द्धन गर्नु बजेटका उद्देश्य रहेको उपप्रमुख गुरुङले बताइन् । “चालु खर्चलाई वाञ्छित सीमाभित्र राख्ने, राजस्व सुधार योजना कार्यान्वयन, निजी क्षेत्रको लगानी आकर्षित, पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा आकर्षण गर्ने र आधुनिक फोहरमैला प्रशोधन केन्द्र निर्माण बजेटका प्राथमिकता क्षेत्रहरू हुन्”, उपप्रमुख गुरुङले भनिन् ।


    महानगरले आगामी वर्षमा फिर्केखोला कोरिडोर पोखरा बसपार्क लगायतका महानगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमित जग्गा संरक्षण र व्यवस्थापनका लागि रु १० करोड बजेट विनियोजन गरेको छ । महानगरले पूर्वाधार तथा सहरी विकासतर्फ ६१ सडक आयोजना पूरा गर्नका लागि रु ५५ करोड ५० लाख ६३ हजार विनियोजन गरेको छ । पोखरा सभागृह पुनर्निर्माणका लागि रु पाँच करोड छुट्याइएको छ । शिशुवा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि रु एक करोड २० लाख र गण्डकी बहुप्राविधिक शिक्षालयका लागि रु दुई करोड ६० लाख विनियोजन गरिएको छ ।

    महानगरको फोहरमैला ढुवानी तथा व्यवस्थापनका लागि रु १५ करोड र प्रभावित क्षेत्रका लागि थप रु पाँच करोड बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् । निर्माणाधीन तालचोक बेगनास सडकको बाँकी काम सम्पन्न गर्नका लागि रु १५ करोड २५ लाख विनियोजन गरिएको छ । यसैगरी, विपद् जोखिम न्यूनीकरण र पुनःस्थापनाका लागि रु तीन करोड २४ लाख, सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रमका लागि रु तीन करोड विनियोजन गरेको छ । महानगरले कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कृषिलाई आधुनिक व्यावसायिक र प्रतिस्पर्धी बनाउन रु तीन करोड ६८ लाख र उद्यम विकास, रोजगार सृजना तथा नवप्रवर्तनका लागि रु एक करोड २५ लाख छुट्याइएको छ ।

    बजेट कार्यक्रममा पर्यटन प्रवर्द्धनका लागि रु ६० लाख, तथा खेल पर्यटनका लागि र ६६ लाख विनियोजन गरिएको छ । महानगरले चालु वर्षमा विनियोजित बजेटमध्येमा जेठ मसान्तसम्म जम्मा ४० प्रतिशत खर्च भएको जनाएको छ । चालुतर्फ रु तीन अर्ब ५१ करोड ३२ लाख ८९ हजार र पुँजीगततर्फ रु चार अर्ब ८३ करोड ७९ लाख ११ हजार अनुमान गरिएकामा चालुतर्फ रु दुई अर्ब १६ करोड ९७ लाख ५५ हजार र पुँजीगततर्फ रु एक अर्ब १७ करोड आठ लाख ६० हजारमात्र खर्च भएको उपप्रमुख गुरुङले बताइन् ।गरेकी हुन्

  • रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा

    रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा

    भरतपुर, ५ असारः यही असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई लक्षित गरी यहाँ सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ । महाधिवेशनमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, उच्चपदस्थ व्यक्तित्व तथा विदेशी पाहुनाको समेत सहभागिता रहने भएकाले सुरक्षा तयारीलाई उच्च प्राथमिकतामा राखिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

    महाधिवेशनलाई लक्षित गरी चारवटै सुरक्षा निकाय समन्वयात्मक रूपमा तयार भएको सुरक्षा योजना कार्यान्वयन गरिने जानकारी दिए । उनका अनुसार महाधिवेशन अवधिभर कुनै पनि सुरक्षा चुनौती उत्पन्न हुन नदिन रणनीतिक सुरक्षा योजना तयार पारिएको छ ।

    “महाधिवेशनलाई केन्द्रित गरेर विस्तृत सुरक्षा योजना बनाएका छौँ”, प्रजिअ अर्यालले भने, “आवश्यक परे अन्य जिल्लाबाट थप सुरक्षाकर्मी मगाएर भए पनि सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइनेछ ।” महाधिवेशनस्थलको निरन्तर अनुगमन र निरीक्षणसमेत गरिरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले महाधिवेशनको सुरक्षाका लागि एक हजार ८७ जनपद प्रहरी परिचालन गरिने बताए । उनका अनुसार खुला सत्र र बन्द सत्रका लागि छुट्टाछुट्टै सुरक्षा रणनीति अपनाइएको छ ।

    “सुरक्षाका लागि एक हजार ८७ जनपद प्रहरी परिचालन गरिनेछ भने ट्राफिक व्यवस्थापनका लागि १६५ ट्राफिक प्रहरी खटाइने छन्”, प्रहरी उपरीक्षक पौडेलले भने, “सुरक्षाका दृष्टिकोणले कुनै कमजोरी हुन नदिने गरी सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन हुनेछन ।” महाधिवेशन अवधिमा ठूलो सङ्ख्यामा सहभागी तथा सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ ।

    पार्टीले सकेसम्म कम सवारीसाधन प्रयोग गरेर आउन अनुरोध गरेको छ । रास्वपाका केन्द्रीय सचिवालय सदस्य दीपक बोहराले महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, तथा शुभेच्छुकहरूको ठूलो उपस्थिति रहने भएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने बताए ।


    “प्रतिनिधि र सहभागीलाई सकेसम्म सीमित सवारीसाधन प्रयोग गरेर आउन अनुरोध गरेका छौँ”, उनले भने। यसअघि रत्ननगरको टाँडी क्षेत्रमा आयोजना गर्ने तयारी गरिएको महाधिवेशन अन्ततः भरतपुरमा सारिएको हो । रास्वपा चितवनका सभापति मिनिमाधव खनालका अनुसार अध्यधिक गर्मी, वर्षा तथा सुरक्षा व्यवस्थापनलाई मध्यनजर गर्दै कार्यक्रमस्थल परिवर्तन गरिएको हो । “यति ठूलो राष्ट्रिय कार्यक्रमको आयोजक बन्न पाउनु चितवनका लागि गौरवको विषय हो”, उनले भने, “सहभागीलाई घाम र वर्षाबाट सुरक्षित राख्न आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम भइरहेका छन् ।”

    महाधिवेशनको सुरक्षाका लागि सुरक्षाकर्मीसँगै पार्टीका नेता कार्यकर्तासमेत खटिने सभापति खनालले जानकारी दिए । उनका अनुसार बन्दसत्रमा करिब तीन हजार ५०० देखि चार हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । खुला सत्रमा भने ४० हजारदेखि ५० हजारसम्म उपस्थित हुनसक्ने अनुमान गरिएको उनले बताए ।

    महाधिवेशनमा सवारीसाधन व्यवस्थापनका लागि पूर्वी क्षेत्रबाट आउनेलाई केन्द्रीय बस टर्मिनल क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ । पश्चिम र काठमाडौँ क्षेत्रबाट आउने सवारीसाधनलाई विशाल चोक नजिकै रहेको वीरेन्द्र क्याम्पसको खुला चौरमा व्यवस्थापन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

  • ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

    ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

    काठमाडौँ, ५ असारः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ । सडकमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने तथा मोडिफाइ गरिएका मोटरसाइकलहरूविरुद्ध विशेष निगरानी तथा कारबाही अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।


    उनले भने, “मोटरसाइकललाई मोडिफाइ गरी चर्को आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने गतिविधि नियन्त्रणका लागि हामीले अभियान नै सञ्चालन गरेका छौँ । हालसम्म एक हजार ३२९ मोटरसाइकलका धनीलाई कारबाही गरिएको छ ।” यसैबीच, ट्राफिक प्रहरीले आजमात्रै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका तथा हराएका ५० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जनाएको छ । चोरी तथा हराएका सवारीसाधनको खोजतलासका लागि ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

  • सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह

    सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह

    चितवन, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन् । महाधिवेशनन उद्घाटनस्थलमा आज साँझ पत्रकारहरूसँग कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन् । महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुईतिहाइ हासिल गर्न सकिएको भन्दै महाधिवेशनमा पनि सबै एक ठाउँमा हुने बताए । उनले भने, “सबै एकै ठाउँमा आएरमात्रै दुईतिहाइ हासिल गर्न सम्भव भएको हो, सबै जना महाधिवेशनबाट पनि सम्मानित रूपमा आउने वातावरण बनाउन हामी अहोरात्र खटिरहेका छौँ ।”

    सहमतिको वातावरणका लागि सबै प्रयास भइराखेको उनले भने, शाहले भने, “यद्यपि सहमति हुन सकेन भने पनि लोकतान्त्रिक पद्धतिमा प्रतिस्पर्धात्मक माहोलबाट साथीहरू आउनुहुनेछ ।” पार्टी जीवनमा सबैभन्दा महत्त्वपूर्ण पर्वका रूपमा महाधिवेशनलाई लिएको उनको भनाइ छ ।

    चर्को गर्मीमा पनि चितवनलाई महाधिवेशनका लागि किन रोजियो ? भन्ने प्रश्नमा महामन्त्री शाहले भने, “पार्टीको जन्मभएको ठाउँ, एउटा आन्दोलनबाट यो पार्टी स्थापना भयो, यो हाम्रो उद्गम भूमि पनि हो, सबै हिसाबले सोचेर चितवन रोजेका हौँ ।” महाधिवेशन पार्टीको पर्व भएको भन्दै उनले थपे, “महाधिवेशन हो, यो चितवनबाटै हुनुपर्छ भन्ने बुझाइले यही गर्ने निर्णय गर्यौँ ।”

    भरतपुरमा यही असार ७–९ गतेसम्म हुन गइरहेको पार्टीको केन्द्रीय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाह महाधिवेशनको उद्घाटनसहित आवश्यक पर्ने आधिकारिक कार्यक्रममा उपस्थित रहने उनको भनाइ थियो । महामन्त्री शाहले महाधिवेशनको तयारीका विषयमा उपसमितिका संयोजकहरूसँग जानकारी लिएका छन् ।

  • अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

    कञ्चनपुर, ५ असारः अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार यही असार ८ गतेदेखि असार १९ गतेसम्म गर्मी तथा वर्षे बिदा एकमुष्ट मिलाएर विद्यालयमा बिदा दिने गर्ने निर्णय गरिएको हो ।

    उक्त बिदा विद्यालयको वार्षिक बिदा (लामो बिदा) बाट कट्टा हुनेछ। पछिल्ला दिनमा अत्यधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न कठिनाइ हुन थालेपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत बमले जानकारी दिए । नगरपालिकाले मौसमको अवस्था सामान्य भएपछि पूर्वनिर्धारित तालिकाअनुसार विद्यालय सञ्चालन हुने जनाएको छ ।

  • वासिङ्टन र तेहरान बीचको एमओयूको सार्वजनिक

    वासिङ्टन र तेहरान बीचको एमओयूको सार्वजनिक

    वासिङ्टन, ५ असार (रासस–क्यूएनए) । संयुक्त राज्य अमेरिका र इरानले दुई पक्षबीच इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरिएको (सम्झौता–पत्र) एमओयू सार्वजनिक गरेका छन् । ज्ञापन पत्रमा तत्काल र स्थायी युद्धविराम, ६० दिन भित्र अन्तिम सम्झौता वार्ता गर्ने प्रतिबद्धताका साथै प्रतिबन्ध राहत, आवागमनको स्वतन्त्रता र पुनर्निर्माणसँग सम्बन्धित उपायहरू समावेश छन् ।

    प्रकाशित ज्ञापन पत्रमा लेबनानसहित सबै स्थनामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा समाप्त गर्ने घोषणा गरिएको छ । यस बाहेक, संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानले अब देखि एक–अर्का विरुद्ध कुनै युद्ध वा कुनै सैन्य कारबाही सुरु नगर्ने, सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गर्ने र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बाट टाढा रहनुका साथै एक–अर्काको विरुद्धमा धम्की वा बल प्रयोग नगर्न प्रतिवद्धता व्यक्त गरेका छन् ।

    दुवै पक्षले आपसी सहमतिमा अधिकतम ६० दिनमा वार्ता र अन्तिम सम्झौता हासिल गर्ने प्रतिबद्धता जनाएका छन् । अन्तिम सम्झौताले युद्धको अन्त्यलाई औपचारिक बनाउने र दुबै पक्षहरू बिचका सवालहरुलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यस एमओयूमा हस्ताक्षर भए लगत्तै संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्र इरानविरुद्ध आफ्नो नौसैनिक नाकाबंदी हटाउन सुरु गर्ने र ३० दिन भित्र नौसैनिक नाकाबन्दी पूर्ण रूपमा अन्त्य गर्ने जनाइएको छ ।

    इरानले खाडी र ओमान बीचमा ६० दिनका लागि व्यावसायिक जहाजहरूको सुरक्षित मार्ग सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यसैगरी ज्ञापन पत्रमा इरानी अर्थतन्त्रको पुनर्निर्माण र विकासको लागि योजना समावेश छ भने सम्झौताको अन्तिम भागको रूपमा कार्यान्वयन संयन्त्रलाई अन्तिम रूप दिइने उल्लेख गरिएको छ । प्रतिबन्ध सन्दर्भमा, संयुक्त राज्य अमेरिका इरान इस्लामिक गणतन्त्र विरुद्ध प्रतिबन्ध सबै प्रकारका समाप्त गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद संकल्प सहित, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी बोर्ड अफ गभर्नरका प्रस्तावहरू, र सबै अमेरिकी प्रतिबन्धहरू, फुकुवा गर्ने जनाइएको छ ।

    आणविक सवालमा इरानले आणविक हतियारहरू खरिद वा विकास नगर्ने प्रतिवद्धता दोहोर्रयाएको जनाइएको छ । दुवै पक्षले आएएइएको पर्यवेक्षणमा पारस्परिक रूपमा सहमत हुने संयन्त्रको अनुसरणमा भण्डार समृद्ध सामग्रीको व्यवस्थापन गर्न समाधान गर्न सहमत भएका छन् । उनीहरूले अन्तिम सम्झौतामा युरेनियम संवर्धन र इरानको आणविक आवश्यकतामाथि पनि वार्ता जारी राख्ने सहमति जनाएका छन् ।

    ज्ञापन पत्रमा अन्तिम सहमति नभएसम्म यथा स्थिति कायम रहने जनाइएको छ । यसमा कुनै नयाँ अमेरिकी प्रतिबन्धहरू र अतिरिक्त सेनाको तैनाती समावेश नरहेको र इरानको आणविक कार्यक्रमको हालको स्थिति परिवर्तित नहुने जनाइएको छ । सम्झौता पछि इरानी कच्चा तेल, पेट्रोलियम उत्पादन र सम्बन्धित सेवाहरूको निर्यातलाई अनुमति दिने छूट जारी गर्ने, नियन्त्रण गरिएको इरानी कोष र सम्पत्ति खुल्ला गर्ने जनाइएको छ । ज्ञापनपत्रको कार्यान्वयन र अन्तिम सम्झौताको अनुपालनको निगरानी गर्न संयुक्त संयन्त्रको स्थापनाको पनि व्यवस्था गरिएको छ ।

    सैन्य कारबाहीको अन्त्य, आवागमन स्वतन्त्रता र आर्थिक प्रतिबन्धहरू कम गर्न प्रमुख प्रावधानहरूको कार्यान्वयन पछि अन्तिम सम्झौतामा वार्ता सुरु हुने जनाइएको छ भने अन्तिम सम्झौता संयुक्त राष्ट्र सुरक्षा परिषद्को बाध्यकारी प्रस्ताव मार्फत स्वीकृत हुने छ ।

  • शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

    शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

    ललितपुर, ५ असारः करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक–धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार प्रत्येक वर्षझैँ यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिनेछ ।

    वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो । यसैक्रममा रथलाई जावलाखेल पुर्‍याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको वडाध्यक्ष खड्काले जानकारी दिए ।

    संस्कृतिविद्हरूका अनुसार वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक हो । राजतन्त्रकालमा भोटो जात्रामा राजा उपस्थित हुने परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छ्न् ।

    भोटो देखाउने जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराइने परम्परा रहेको वडाध्यक्ष खड्काले उल्लेख गरे । उनले यस वर्षको जात्रा शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको बताउँदै भोटो जात्रामा सहभागी हुन आउने भक्तजन तथा दर्शकलाई आवश्यक सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे । साथै उनले जावलाखेल क्षेत्रमा फुटपाथमा व्यापार नर्गन सम्बन्धित सबैलाई आग्रह गरे ।

  • जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो

    किन्सासा, ५ असार (रासस–सिन्ह्वा) । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोलाबाट सङ्क्रमितको सङ्ख्या ८०८ पुगेको छ भने १९२ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । इबोला भाइरस सङ्क्रमणको प्रकोपको स्थितिबारे जारी प्रतिवेदन नम्बर ३१ अनुसार आइतबार २६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ११ जनाको मृत्यु भएको छ ।

    यसले सङ्क्रमणको मृत्यु दर २३.८ प्रतिशत पुर्याएको छ । आइतबारसम्म कुल ३६३ बिरामीहरू आइसोलेसनमा रहेका थिए भने ४८ बिरामीहरू प्रकोप सुरु भएदेखि निको भएका थिए । इटुरी, उत्तरी किभु र दक्षिण किभु गरी तीन प्रभावित प्रान्तमा यो इबोला नियन्त्रणको लागि अभियान जारी छ । बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको प्रकोप देशमा मे १५ मा आधिकारिक रूपमा घोषणा गरिएको थियो।

  • मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

    मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

    काठमाडौँ, ५ असारः मेक्सिको फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । समूह ‘ए’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको जारी प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो । मेक्सिकोको इस्तादियो ग्वादालाहारा स्टेडियमा आज भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित ग¥यो । मेक्सिकोको जितमा लुइस रोमो नायक बने । उनले खेलको ५०औँ मिनेटमा गरेको गोल नै मेक्सिकोको लागि निर्णायक गोल सावित भयो ।

    यस जितसँगै विश्वकपको समुह ‘ए’ मा रहेको मेक्सिकले दुई खेलमा ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । मेक्सिकोले आफनो पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । आज मेक्सिकोसँग पराजित भए पनि दक्षिण कोरियाको पनि नकआउट चरण प्रवेशको सम्भावना कायमै रहेको छ । तीन अङ्क बटुलेको दक्षिण कोरियाले पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गरेको थियो ।

    यसै समूहमा रहेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाको समान एकरएक अङ्क छ । उनीहरुको पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ । विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकपको नकआउट चरणमा ३२ टोली पुग्नेछन् । जसमा प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुने मध्येबाट उत्कृष्ट आठ टोली गरी ३२ राष्ट्रले नकआउट चरणमा खेल्नेछन् ।