Category: समाचार

  • सरकारलाई पूर्णता दिने तयारी

    सरकारलाई पूर्णता दिने तयारी

    काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले दल दर्तापछि मान्यता पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । सोही प्रयोजनका लागि शनिबार देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । शनिबार बिहान देउवालाई भेट्न दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

    भेटमा सत्तारुढ गठबन्धनलाई थप बलियो र विश्वासको वातावरण बनाउँदै सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवाले २९ असारमा प्रधानमन्त्री पदमा शपथ लिएका थिए । उनले त्यसको एक सातामै संसदबाट विश्वासको मत लिएका थिए । गठबन्धले मन्त्रालयको टुंगो लगाएपछि पार्टीहरुले मन्त्रिको नाम दिने तयारी समेत गरेका छन् ।

  • १८५७ मा कोरोना पुष्टी, २७ जनाको मृत्यु

    १८५७ मा कोरोना पुष्टी, २७ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोनाभाइरस सङ्क्रमणको गति केही थामिएको देखिएको छ । तर, मृत्युदर भने उच्च नै रहेको छ । नेपालमा अगस्टपछि संक्रमण केही कम भएको हो । अहिले समेत यो गति कायम छ । शनिवार नेपालमा थप थप १,८५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो १२ दिनयताको तथ्याङ्क अनुसार सङ्क्रमण दर कम भएको छ भने मृत्युदर स्थिर देखिन्छ ।

    शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १३,१७६ वटा नमुना परीक्षणमा १८५७ जनामा कोरोना देखिएको छ । तीमध्ये ३,७६७ वटाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो। अहिले परीक्षण गरिएका नमुनामा सङ्क्रमण पुष्टि हुने दर १४ प्रतिशत छ । नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ४० हजार नाघेको छ ।

    मृतकको सङ्ख्या १०,६९० पुगेको छ। २४ घण्टायता २,२२२ जनाले सङ्क्रमणलाई जित्न सफल भएका छन् । अब देशभर ३६,८६६ जनामा सक्रिय सङ्क्रमण भएको छ । तीमध्ये ३३,८३५ जना घरमा र बाँकी संस्थागत आइसोलेसनमा छन्। स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या शनिवार अपराह्णसम्म ४० लाख नाघेको छ।

  • रोनाल्डो ‘म्यान यू’ फर्किए

    रोनाल्डो ‘म्यान यू’ फर्किए

    लण्डन । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । करियरको शुरुवाती दिनमा सानदार प्रदर्शन गरेका रोनाल्डोलाई स्थापित गराउन यो क्लवको ठूलो भूमिका छ । युनाइटेडले रोनाल्डोसँग सम्झौता भएको पुष्टि गरेको हो । व्यक्तिगत शर्त, भिसा र मेडिकल सम्पन्न भएपछि रोनाल्डो औपचारिक रुपमा क्लवमा समावेश हुने छन् । रोनाल्डो युनाइटेडमा १२ वर्षपछि फर्किए । उनी अहिले भने इटालियन क्लब युभेन्ट्समा थिए । उनी तीन वर्षअघि युभेन्ट्समा आएका हुन् ।

    उनको करियरको गोल्डेन समय भने स्पेनिस फुटबल क्लब रियल म्याड्रिडमा रह्यो । त्यहाँ उनले लियोनल मेसीसँग विपक्षी बनेर खेले, जसका कारण हरेक सिजनजसो लालिगा चर्चाको शिखरमा रहन सफल भयो । युभेन्ट्समा सन् २०१८ देखि ९८ खेल खेल्दा ८१ गोल गरे । तीन सिजन खेल्दा क्लव दुई पटक इटालियन च्याम्पियन बन्यो । रियल म्याड्रिडमा रोनाल्डोले ९ सिजन बिताए । त्यहाँ उनले चार च्याम्पियन्स लिगको उपाधि जिते । रियलबाट ४ सय ३८ खेलमा ४ सय ५० गोल गरे । रियलमा उनी सन् २००९ मा आबद्ध भएका हुन् । त्यसअघि उनले सन् २००३ देखि म्यान्चेस्टर युनाइटेडबाट ेले । जहाँ उनले १९६ खेलमा ८४ गोल गरे ।

  • शनिबार देशभर भीषण वर्षाको सम्भावना, बाढी र डुबानको जोखिम

    शनिबार देशभर भीषण वर्षाको सम्भावना, बाढी र डुबानको जोखिम

    काठमाडौं । शनिबार देशभर भीषण वर्षा हुने र यसले नदीहरुमा जलप्रवाह बढाउने भएका छ । शनिबार देशभर नै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार सात वटै प्रदेशमा मेघगर्जनसहित भारी वर्षा हुने छ । मनसुनी वायुका कारण र न्यून चापीय रेखा नेपालको तराई भू भाग नजिक रहेकाले शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जानकारी गराएको छ । अहिले प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    शनिबार दिउँसो देशको अधिकांश भू भागमा मौसम बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना छ । शनिबार राती देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीरी वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण पहाडी भेगमा पहिरो र नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसअघि बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढीले तराई भेगमा डुबान निम्तिएको छ ।

  • ललितपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक वेपत्ता

    ललितपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक वेपत्ता

    ललितपुर । दक्षिण ललितपुरस्थित बाग्मती गाउँपालिका ६ आश्राङ र वडा नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । एक जना वेपत्ता छन् । प्रहरीका अनुसार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको मृत्यु भएको हो । उनीसँगै रहेकी करीव आठ वर्षीया बालिका बेपत्ता छिन् । उनको पहिचान खुलिसकेको छैन । घटना शुक्रबार साढे ४ बजेतिरको हो । खोला तर्ने क्रममा उनीहरुलाई खोलाएको बगाएको प्रहीले जनाएको छ । बालिकाको खोजी भइरहेको छ ।

  • २०६५ जनामा कोरोना पुष्टी, २३३७ निको भए-२५ को मृत्यु

    २०६५ जनामा कोरोना पुष्टी, २३३७ निको भए-२५ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता कोरोना भाइरसको संक्रमणदर केही घटेको पाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३७ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भएका छन् । अब देशभर निको हुनेको सङ्ख्या ७ लाख ८ हजार २ सय ३० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार एक सय १७ जनाको नमुना परीक्षण गर्दा दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको हो ।

    अब देशभर सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ३८ हजार ९ सय ४८ पुगेको छ । २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १५ दशमलव ७४ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण थप २५ जनाको ज्यान गएको छ । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ६ सय ६३ पुगेको छ । अहिले नेपालमा ३७ हजार पाँच सय ९९ सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुमध्ये ६ सय ६२ जनाको आईसीयू र एक सय ७१ जनाको भेन्टिलेटरमा उपचार जारी रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • लुम्बिनी प्रदेशमा बाढीको वितण्डा, दुईको मृत्यु-हजारौं घर डुबानमा

    लुम्बिनी प्रदेशमा बाढीको वितण्डा, दुईको मृत्यु-हजारौं घर डुबानमा

    बुटवल । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी र डुबानले वितण्डा मच्याएको छ । पश्चिम नवलपरासीमा बाढी र पहिरोका कारण दुई जनाको मृत्यु भएको । एक जना बेपत्ता भएका छन् । रामग्राम नगरपालिका–१८ मा बाढीले बगाउँदा ३७ वर्षीय विनोद पासी र १३ वर्षीय प्रदिप पासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । सुनवल नगरपालिका–४ की १३ वर्षीय एलिसा तामाङ बेपत्ता छिन् । यहाँ सदरमुकाम परासी, सुनवल, प्रतापपुर र सुस्तामा सात सयभन्दा बढी घर डुबानमा परेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल, बर्दघाट र गैंडाकोटमा डाइभर्सन बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।

    उता, कपिलवस्तु जिल्लाको वाँणगंगा नगरपालिकामा ५० बढी घर डुबानमा परेका छन् । नगरपालिकाको ‍‍२ नम्बर वडाको कलौनी र पिपरा आसपास तथा ४ नम्बर वडाको झुगा क्षेत्रमा घर डुबानमा परेको छ । ८ नम्बर वडाको बोर्डगाउँ, बालापुर र धनेशपुर तथा ३ नम्बर वडाको गंगोलीया र बभनी क्षेत्रका घर डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ । ११ नम्बर वडाको ओदारी, मैरी, हथौसाका घर समेत डुबानमा परेका छन् ।

    यता, महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सी जंगलमा बनाइएको डाइभर्सन बगाएपछि यातायात सेवा रोकिएको छ । थुम्सीको २३ स्मृति पुलको डाइभर्सन बिहीबार राति ८ बजे बगेको छ ।


    रूपन्देहीमा बाढीले बगाएपछि एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । दानव नदीको बाढीले सम्मरीमाई गाउँपालिका–३ प्रिपहवाका २३ वर्षीय बब्लु लोधलाई बगाएको हो । उनको खोजी भइरहेको । जिल्लामा रोहिणी, ओमसतिया र कञ्चन गाउँपालिकाका घरहरु डुबानमा परेका छन् ।


    पश्चिम नवलपरासीका झरही, तुरिया र पानभार खोलाको बाढीले २ सयभन्दा बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ । यहाँ धानखेतसहित बालीनाली समेत डुबेको छ । जिल्लाका सुनवल, बर्दघाट, सरावल, प्रतापपुर र सुस्ता क्षेत्रमा पनि १ सयभन्दा बढी घर डुबेका छन् ।

  • प्रभुराम शर्मा बने प्रधान सेनापति

    प्रभुराम शर्मा बने प्रधान सेनापति

    काठमाडौं । नेपालको प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा उनलाई सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । अहिले उनी नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्‍मेवारीमा थिए । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते सकिँदैछ । पदावधि समाप्त हुने एक महिना अघि अर्थात साउन २५ गतेदेखि उनी घरविदामा बसेका छन् । शर्मा भने जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापतिमा सिफारिसमा परेका हुन् ।

  • एकीकृत समाजवादी पार्टी सरकारमा जाने

    एकीकृत समाजवादी पार्टी सरकारमा जाने

    काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने भएको छ । पार्टीले आज औपचारिक रुपमा यस्तो निर्णय लिएको हो । आइतबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले सरकारमा जाने बारे औपचारिक निर्णय लिएको हो । पार्टीले पाउने मन्त्रालयको टुंगो लागेपछि भने पार्टीले मन्त्री चयन गर्ने भएको छ । अब सत्ता साझेदार दलहरुबीच छलफल पछि मन्त्रालयको बाँडफाँट गरिने भएको छ । त्यसपछि मन्त्रीपरिषद् बिस्तार हुने छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तार गर्न नसकेको भन्दै आलोचना भोग्नु परिरहेको छ । अहिले देउवाले मात्र ५ वटा मन्त्रालयमा मन्त्रि नियुक्त गरि सरकार चलाइरहेका छन् ।

  • काबुल विष्फोटमा मारिनेको संख्या ६० नाघ्यो, १३ अमेरिकी सुरक्षाकर्मी मारिए

    काबुल विष्फोटमा मारिनेको संख्या ६० नाघ्यो, १३ अमेरिकी सुरक्षाकर्मी मारिए

    काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित कम्तिमा ६० भन्दाको मृत्यु भएको पुष्टी भएको छ । यो विमानस्थल अमेरिकाले कब्जामा लिएर हवाई उद्धार गरिरहेको थियो । बीबीसीकाअनुसार आक्रमणका वावजुत विभिन्न मुलुकका नागरिकको उद्धारको काम भने जारी रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्। यो मिसन सम्पन्न गर्नै पर्ने भन्दै उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा समेत गरेका छन् ।

    अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म १००,००० भन्दा बढीलाई अन्यत्रै सारेको छ । अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन्। बिहीवार आक्रमण हुँदा अफगानिस्तानमा साँझको झन्डै ६ बजेको थियो। सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो । त्यहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रिया पूरा गरिरहेका थिए ।

    त्यसको केही समय पछि गोली चलेको थियो । केही मिनेटको अन्तरालमा ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन भएको थियो । अमेरिका र यूकेले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसआइएस ले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएका थिए । उद्धारका लागि आएका विमानमा स्थान पाउने आशामा विमानस्थल आसपासको क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो। उक्त जिहादी समूहले हमलाको जिम्मेवारी लिएको छ। विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्ड समेत घाइते भएका छन् ।

  • मध्य तराईका जिल्लामा भारी वर्षा, पुर्व-पश्चिम राजमार्ग अवरुद्ध

    मध्य तराईका जिल्लामा भारी वर्षा, पुर्व-पश्चिम राजमार्ग अवरुद्ध

    बुटवल । अविरल परेको वर्षाका कारण पहिरो जाँदा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । सडकमा पहिरो खसेपछि बिहीबार रातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका २९ सेती दोभान र पाँचकिलोमा पहिरो खसेको छ। सडकको पहिरो पन्छाउन शुक्रबार बिहानैदेखि डोजर र जेसिबी प्रयोग गरी काम भइरहेको छ। आज नवलपुर, रुपन्देही, कपिलवस्तु तथा यो आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको छ । तटीय क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने भन्दै मौसम पुर्वानुमान महाशाखाले सचेत गराएको छ ।

  • बजेट अध्यादेश प्रतिस्थापन गर्न विधेयक आउने

    बजेट अध्यादेश प्रतिस्थापन गर्न विधेयक आउने

    काठमाडौं । अध्यादेशबाट आएको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन गर्न विधेयक ल्याउने भएको छ । सो प्रयोजनका लागि सरकारले तयारी शुरु गरेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले अन्य मन्त्रालयका सचिवको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गरेको छ ।

    नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको हो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत चालू आवको बजेट सार्वजनिक गरेका हुन् । संविधानअनुसार हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

    बजेट प्रस्तुत हुनुभन्दा केही दिनअघि मात्रै प्रतिनिधिसभा विघटन गरिएका कारण अध्यादेशबाट बजेट आएको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकका प्राथमिकताका बारेमा जानकारी दिँदै विद्यमान अर्थतन्त्रलाई उत्पादनमुखी दिशातर्फ सोझ्याउने गरी कार्यक्रम परिमार्जन गरेर पठाउन निर्देशन दिए । अध्यादेश बजेट परिमार्जन गर्दा सङ्घीयताको व्यावहारिक कार्यान्वयनलाई बल पुग्ने, वित्तीय अनुशासन कायम गर्ने तथा पुँजीगत खर्च बढाउने र पुँजी निर्माण गर्ने खालका कार्यक्रममा जोड दिनुपर्ने उनको भनाई छ ।

    गरिबी घटाउने र रोजगारी बढाउने, सहज स्वास्थ्य सेवाको उपलब्धता, शिक्षा, कृषि र पर्यटनलगायतलाई प्राथमिकतामा राखेर परिमार्जन प्रस्ताव पठाउन विभिन्न मन्त्रालयलाई भनिएको छ । मन्त्री शर्माले राष्ट्रिय गौरवका आयोजनाको पुनःपरिभाषा र पुनर्तालिकीकरण, थन्किएर रहेको राज्यको सम्पत्ति र विभिन्न कोषको एकीकृत परिचालनमा उचित ध्यान दिइनेसमेत बताए ।

    योजना र बजेटको तालमेल मिलाइने र विस्तृत परियोजना प्रतिवेदनलगायत पूर्वतयारीविनाका, स्रोत सुनिश्चित नभएका आयोजनाका सम्बन्धमा पुनर्विचार गरिने भएको छ । सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रलाई ध्यान दिइ आआफ्नो मन्त्रालयको बजेट तथा कार्यक्रम परिमार्जन गरी शुक्रबारसम्म अर्थ मन्त्रालयमा पठाइसक्न मन्त्री शर्माले निर्देशन दिए ।

  • अफगानिस्तानको काबुल विमानस्थल बाहिर विष्फोट

    अफगानिस्तानको काबुल विमानस्थल बाहिर विष्फोट

    काबुल । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट भएको छ । बीबीसीका अनुसार पेन्टागनले यसको पुष्टि गरेको हो । पेन्टागनका प्रेस अधिकारी जोन किर्बीले विस्फोटमा भएका हताहतीबारे स्पष्ट नभएको बताए। विस्फोटबारे थप विवरण प्राप्त हुनासाथ जानकारी गराइने उनको भनाई छ । हमला हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन विस्फोटको खबर आएको हो ।

    पश्चिमा मुलुकहरूले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा आतङ्कवादी हमला हुन सक्ने भन्दै सचेत गराएका छन्। उद्धारको आशामा विमानस्थलमा अझै हजारौँ मानिस कुरिरहेका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार बुधवार करिब साढे १३ हजार मानिसलाई उद्धार गरिएको छ।
    योसँगै अमेरिका र उसका साझेदारहरूले अगस्ट १४ तारिखयता उद्धार गरेका मानिसहरूको सङ्ख्या ९५ हजार सात सय पुगेको छ।

  • नेपालमा थप २४३३ जनामा कोरोना पुष्टी, २६ जना संक्रमितको निधन

    नेपालमा थप २४३३ जनामा कोरोना पुष्टी, २६ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७०२ पीसीआर परीक्षणमा २०५२ र २४३३ एन्टिजेन परीक्षणमा ३४१ जना गरी २४३३ जनामा संक्रमण पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५ हजार ८९३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३८ हजार ३८८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ ।

  • जेठ २ मा फर्किएको एमालेमा नेम्वाङ र बादल शीर्ष वरीयतामा

    जेठ २ मा फर्किएको एमालेमा नेम्वाङ र बादल शीर्ष वरीयतामा

    काठमाडौं । १० बुँदे सहमति कार्यान्वयन गर्दै जेठ २ मा फर्किएका नेकपा एमालेमा सुवास नेम्वाङ र रामबहादुर थापा बादललाई पदाधिकारीहरूको शीर्ष वरीयतामा राखिएको छ ।

    माधव नेपाल छाडेर फर्किएका नेताहरूसहितको बिहीबारको केन्द्रीय कमिटी बैठकमा नेताहरूका आसन व्यवस्थापन गर्दा नेम्वाङ र रावललाई केन्द्रीय कमिटीका सचिवहरूभन्दा अघिल्लो लहरमा राखिएको हो ।

    नेम्वाङ संविधानसभा अध्यक्ष तथा संसदीय दलका उपनेतासमेत रहेकाले उनी शीर्ष वरीयतामा छन् । त्यस्तै बादल तत्कालीन नेकपाको ९ सदस्यीय सचिवालयमा आठौं वरीयताका नेता थिए भने अहिले स्थायी कमिटी सदस्य छन् ।

    पहिलो लहरमा अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, दुई उपमहासचिवसँगै नेम्वाङ र बादललाई राखिएको छ । पाँच सचिव र अन्य स्थायी कमिटी सदस्यहरू त्यसभन्दा पछिल्लो लहरमा बसेका छन् ।

  • ‘हिम्मत नभएकाहरु थन्किए हामी क्रान्तिकारी पार्टी बनाउँछौँ’

    ‘हिम्मत नभएकाहरु थन्किए हामी क्रान्तिकारी पार्टी बनाउँछौँ’

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले हिम्मत नभएकाहरु थन्किएर बसेका बताएका छन् ।

    बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ रूपमा लैजान आफुहरुले यो बाटो रोजेको बताउँदै हिम्मत नभएका थन्किन्छ्न, क्रान्तिकारी चेत भएकाहरु नयाँ आन्दोलनमा जुटेको बताए ।

    ‘पूर्व एमालेमा पीडित भएका कार्यकर्ताहरु विद्रोह गरेर आउँछन् हामीकहाँ’, उनले भने। अन्य नेता कार्यकर्तालाई पनि एमाले छाडेर आउन उनले आग्रह गरे। ‘केपी ओली गुट छाडेर आउनुस्’, उनले भने, ‘क्रान्तिकारी धारमा समाहित हुनुस्।’

    हामीले अनेकौँ चुनौतीको सामना, अप्ठ्यारोलाई पन्छाएका छौँ । अन्यता सफलताको शिखरमा पुगेका छौँ । नेपाली जनताको हितका लागि नयाँ यात्रा प्रारम्भ गरेका छौँ ।

    नेपालको कम्युनिष्ट आन्दोलन, नेपालको राजनीति मात्रै होइन विश्वमै पार्टीको एकता, विभाजनबाट गुज्रँदै गइसकेको नेपालले बताए । ‘हामीसँग सिंगो देशका क्रान्तिकारी कार्यकर्ताहरु छन् । पूर्वएमालेमा पीडित भएका सबै मेचीदेखि काली, तराईदेखि हिमालसम्मका जनसमुदाय, कार्यकर्ताहरू सबै-सबै ठूलो पंक्तिले केपी समूहबाट विद्रोह गर्नु भएको छ ।

    नेपालले भने, ‘उहाँहरू नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा लाग्ने बताइरहनु भएको छ । जनवर्गीय संगठनमा आवद्ध भएकालाई म आह्वान गर्छु । तपाईँहरुले केपी ओली गुटबाट छुटकारा पाउनुस् ।’

  • प्रदेश १ मा भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ

    प्रदेश १ मा भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ

    काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले पद तथा गोपनीयताको शपथ दिलाइएका हुन्। ।

    आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको शपथ लिएका हुन्। आचार्यको शपथ ग्रहण हतार हतारमा गरिएको हो । एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ । प्रदेश–१ को प्रदेशसभा ९३ सदस्यीय हो । विश्वास प्राप्त गर्न ४७ मत आवश्यक पर्छ ।

    नेता शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन्। २०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए ।

    खोटाङका सांसद राजन राईको मत बदर भएको थियो । साढे तीन वर्ष अगाडि गुटको लाइनमा चुनाव लढेका राई र आचार्य एमाले जोगाउने मुद्दामा भने एक भएका छन् ।

    प्रदेश १ मा एमालेका ५१ सांसद रहेका छन् । जसमा ६ देखि ७ जना सांसदहरु नेपाल नेतृत्वको नेकपा समाजवादीमा जान तम्तयार रहेका बताइन्छ। यद्यपि नेपाल पक्षले भने कम्तीमा १३ सांसद आफ्नो पक्षमा खुल्ने बताउँदै आएको छ।

    ५१ सांसदमध्ये अहिलेसम्म ४ जना नेपालको नेकपा समाजवादीमा खुलिसकेका छन्। प्रदेश सांसदहरु राजन राई, राजेन्द्र राई र गणेश काङमाङ नेपालको नयाँ पार्टीका केन्द्रीय सदस्य भइसकेका छन्।

  • समाजवादी पार्टी संसदमा बन्यो चौथो ठूलो दल

    समाजवादी पार्टी संसदमा बन्यो चौथो ठूलो दल

    काठमाडौं । माधव कुमार नेतृत्वको दल संसदमा चौथो ठूलो पार्टी बनेको छ । नेकपा (एकीकृत समाजवादी) पार्टी बुधबार निर्वाचन आयोगबाट मान्यता पाएको छ । अब सांसद संख्याका आधारमा यो पार्टी संघीय संसदको चौथो ठूलो दल बनेको छ । केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा २० प्रतिशत भए मात्रै पनि दल विभाजन गर्न मिल्ने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमार्फत् नयाँ दुई दल दर्ता भएका छन् ।

    माधवकुमार नेपाल अध्यक्ष रहने गरी नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर अध्यक्ष रहने गरी दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टीलाई बुधबार निर्वाचन आयोगले दल दर्ता प्रमाण पत्र दिएको हो । नेकपा एकीकृत समाजवादी मा संघीय संसदमा २९ जना सांसद छन्। प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका ७ जनाले बुधबार आयोगमै उपस्थित भएर सनाखत गरे । सांसद संख्या अझै बढ्दैछ ।

  • माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी औपचारिक रुपमा दर्ता

    माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी औपचारिक रुपमा दर्ता

    काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी औपचारिक रुपमा दर्ता भएको छ । नेकपा एमालेबाट अलग भएका नेताहरुले यो पार्टी गठन गरेका हुन् । नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको हो । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएसँगै यो पार्टीले अब औपचारिक मान्यता पाएको हो ।

    सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् । दल दर्ताका लागि निवेदन दिँदा समावेश भएका एमाले केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला भने बुधबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका थिएनन् ।

    दल दर्ताका लागि चाहिने १९१ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेसँगै दल गठन भएको हो । अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिएर रोज्ने समय दिइने छ ।

  • सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४१ घाइते

    सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४१ घाइते

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । ४१ जना घाइते छन् । जिल्लाको ठोकर्पाबाट कालिका हुँदै काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको थियो । कोशीपारि यातायातको बा३ख ८०३० नम्बरको बस सुनकोशी–३ छापमा दुर्घटनामा परेको हो । बस ओरालो बाटोको मोडमा आफैं अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ । घाइतेमध्ये १८ जना सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोक, एक जना मध्यपुरठिमी अस्पताल भक्तपुर र २२ जनाको धुलिखेल अस्पताल काभ्रेमा उपचार जारी छ । धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा ललितपुर ठूलो दुर्लुङ घर भएका अन्दाजी ४५ वर्षका राजन बराम र अन्दाजी २२ वर्षका पुरूषको मृत्यु भएको हो ।

  • नेपालमा थप २४८२ जनामा कोरोना पुष्टी, ४४ जना संक्रमितको निधन

    नेपालमा थप २४८२ जनामा कोरोना पुष्टी, ४४ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७११ पीसीआर परीक्षणमा १८६२, र ५५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५२ हजार ८६३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १७८१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३ हजार ९६४ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३८ हजार २८७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ४४ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ ।

  • ओलीको व्यंग्य-‘अध्यादेशमा माधवसँग जति सांसद छन् त्यति भए पुग्छ भनेर लेख्या भए हुन्थ्यो’

    ओलीको व्यंग्य-‘अध्यादेशमा माधवसँग जति सांसद छन् त्यति भए पुग्छ भनेर लेख्या भए हुन्थ्यो’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्व सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने तर, अहिले भने अध्यादेश ल्याउने भन्दै प्रश्न गरेका छन् । आज पत्रकार सम्मेलन गरेर ओलीले आफूले अध्यादेश जारी गर्दाको अवस्था र अहिलेको अवस्था पनि फरक भएको बताएका हुन् ।

    उनले माधवकुमार नेपाललाई जति चाहिन्छ त्यतिमै पार्टी फुटाउन मिल्ने गरी भनेर लेखेको भए अझै सहज हुने भन्दै व्यंग्य गरे ।

    ‘अध्यादेश जारी गर्नु आफैँमा असंवैधानिक होइन । देश र जनताका लागि हुनुपर्छ । एउटा व्यक्ति वा समूहका लागि होइन । अहिले देश र जनताका लागि राति नै संसद् अन्त्य गरेर जनताका लागि के पर्यो र अध्यादश जारी गर्नु पर्‍यो ।

    तपाईंको कति प्रतिशत पुग्यो भनेर सोधेर र राखौ कि वा राखौँ भनेर यसरी अध्यादेश ल्याउने । यो त १० प्रतिशतमा पनि झर्थ्यो ,’ उनले भने, ‘माधवजीसँग जति जना सांसद छन् त्यति भए पुग्छ भनेर लेख्या भए हुने । कि अल्मलीनु भयो । माधव नेपालजीले विभाजन गरिसकेपछि यो सोहः रद्द हुने लेखे पनि हुने । यसर्थ पहिलेको र अहिलेको मनसाय, नियमा हरेक कुरामा भिन्नता छ ।’

  • काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज भदौ ११ गतेदेखि

    काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज भदौ ११ गतेदेखि

    काठमाडौं । काठमाडौंमा भदौ ११ गतेदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ ।
    यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा डोज दिने कार्यतालिका भदौ ११ गतेदेखि राखिएको हो ।

    भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

  • एकीकृत समाजवादीमा २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत

    एकीकृत समाजवादीमा २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसद निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

    नयाँ दल दर्ता प्रयोजनका लागि गरेको बुधबार निर्वाचन आयोगले गरेको सनाखतमा केन्द्रीय सदस्य २७ प्रतिशत र २४.७९ प्रतिशत सांसदहरू खुलेका हुन् ।

    दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर नगरेकाहरुलाई आयोगले सनाखतमा सहभागी गराएको छैन।

    जसका कारण नेताहरु झलनाथ खनाल, सोमप्रसाद पाण्डेलगायत केही छुटेका छन्। अब कानुनतः उनीहरु एमालेमै रहेको मानिनेछ।

    उनीहरुलाइ एमालेले कारबाही गरेमा सांसद पद जानेछ।

    निर्वाचन आयोगले सनाखत सकिएर बाँकी काम सके आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए नयाँ दल दर्ता गर्न सकिने उल्लेख छ ।

    त्यस आधारमा माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीमा अध्यादेशको प्रावधानभन्दा ७ प्रतिशत बढी केन्द्रीय सदस्य र ५ प्रतिशत बढी सांसद खुलेका छन् ।

    केन्द्रीय सदस्य र सांसदमा २० प्रतिशतभन्दा बढी जुटाएकाले निर्वाचन आयोगले आजै माधव नेपाललाई नेकपा एकीकृत समाजवादी पार्टीको प्रमाणपत्र दिने छ ।

  • नेकपा एकीकृत समाजवादी दलको सनाखत आज

    नेकपा एकीकृत समाजवादी दलको सनाखत आज

    काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले आज औपचारिक मान्यता पाउँदैछ । साथै आजै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले समेत वैधानिकता पाउने छ । निर्वाचन आयोगले दुबै दल दर्ता प्रक्रिया आज टुंगो लगाउने तयारी गरेको हो । आयोगले दुवै दलका नेताहरुलाई सनाखतको लागि आज बोलाएको छ । सनाखत सम्पन्न भएपछि आयोगले दल दर्ताको प्रमाणपत्र दिनेछ ।

    सनाखतले दललाई औपचारिकता दिने छ । सनाखत गर्न बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ । दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्छ । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार नयाँ दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्छ ।

    एमालेका २०३ केन्द्रीय सदस्यहरुमध्ये माधव नेपालले नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली आयोगमा बुझाएका थिए । यसैगरी ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् । दल दर्ताको सनाखत अगाडी माधव नेपाल पक्षधर नेताहरु चन्द्रागिरीमा छन् ।

  • माओवादीले तोक्यो नेताहरुको जिम्मेवारी, महरा बने प्रवक्ता

    माओवादीले तोक्यो नेताहरुको जिम्मेवारी, महरा बने प्रवक्ता

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी तोकेको छ । अब पार्टी प्रवक्ताको जिम्मेवारीमा कृष्णबहादुर महरा आएका छन् । यसअघि यो जिम्मेवारीमा पम्फा भुसाल थिइन् । उनी मन्त्री बनेकी छिन् । एमालेसँगको पार्टी एकता भत्किएपछि भने प्रवक्ताको जिम्मेवारी नारायणकाजी श्रेष्ठले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । यता, महरा भने पूर्वसभामुखसमेत हुन् । माओवादीले प्रचार तथा प्रकाशन विभाग प्रमुखमा समेत महरालाई तोकेको छ ।

    माओवादी केन्द्रले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकका निर्णयअनुसारप्रदेश समिति, पार्टी विभाग, जिल्ला ईञ्चार्जहरूसमेत तोकेको हो । अब प्रदेश नम्बर १ मा सुरेन्द्र कार्की ईञ्चार्ज बनेका छन् । अध्यक्षमा सुरेन्द्रकुमार राईलाई तोकिएको छ ।
    प्रदेश नम्बर २ को ईञ्चार्जमा गणेश शाह तोकिएक छन् । अध्यक्ष तोकिएको छैन । बागमती प्रदेश ईञ्चार्जमा हितमान शाक्य र अध्यक्षमा नारायण दाहाल तोकिएका छन्।
    गण्डकी प्रदेश ईञ्चार्जमा हितराज पाण्डे र अध्यक्षमा हरि अधिकारीलाई तोकिएको छ । लुम्बिनीको ईञ्चार्जमा चक्रपाणी खनाल बलदेव र अध्यक्षको जिम्मेवारी ओनसरी घर्तीले पाएको बताइएको छ । कर्णालीमा ईञ्चार्ज शक्ति बस्नेत र अध्यक्ष राजकुमार शर्मा तोकिएका छन् । सुदूरपश्चिम प्रदेश ईञ्चार्जमा खगराज भट्ट तोकिएका छन् ।

    यहाँ अध्यक्ष तोक्न बाँकी छ। माओवादीले विशेष समिति ईञ्चार्जमा लिलामणि पोखरेल र अध्यक्षमा लेखनाथ न्यौपानेलाई तोकेको छ। प्रवास समिति ईञ्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्माले जिम्मेवारी पाएका छन् । अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, कृषि तथा भूमिसुधार प्रमुखमा हरिबोल गजुरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, विदेश मामला विभागमा सुरेन्द्र कार्की, संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महराले जिम्मेवारी निभाउने छन् ।

    स्वास्थ्य विभागमा कल्पना धमला, स्कुल विभाग ईञ्चार्जमा प्रचण्ड र प्रमुखमा गिरिराजमणि पोखरेल छन्। सहरी विकास विभागमा देवेन्द्र पौडेल, स्थानीय तह विभागमा उर्मिला अर्यालले जिम्मेवारी पाएका छन् । भौतिक पूर्वाधार विभागमा हरि अधिकारी र नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा रामचन्द्र झा रहेका छन् ।

  • पत्रकारलाई गाली बेइजती गर्नेविरुद्ध मुद्दा दायर, दुई वर्षको जेल सजाय माग

    पत्रकारलाई गाली बेइजती गर्नेविरुद्ध मुद्दा दायर, दुई वर्षको जेल सजाय माग

    काठमाडौं । टेलिभिजन कार्यक्रम ‘गरिबका लागि न्याय’ का पत्रकारमाथि गाली बेइजती गर्ने भक्तपुर ठिमीस्थित द्रब्य बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष विरेन्द्र जयना र सोही सहकारीका सचिव नरेन्द्रप्रसाद ढकालविरुद्ध मुद्दा दायर भएको छ । जयना साफ ऐजुकेशन फाउण्डेशनका संचालक, सुप्रिम स्कुलका अध्यक्ष तथा प्रधानाध्यापक समेत हुन् । एक सय जनाभन्दा बढी कानुन व्यवसायीको सहकार्यमा संचालित ‘गरिबका लागि न्याय’ कार्यक्रमका पत्रकारमाथि दुव्र्यवहार र गाली बेइजती गर्ने जयना र ढकालविरुद्ध जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर भएको हो । मेघा न्युज नेटवर्कद्धारा संचालित कार्यक्रममार्फत गरिब र अन्यायमाम परेकाको विषयबस्तु उजागर गर्ने र निःशुल्क रुपमा कानुनी सहायता दिने गरिएको छ ।

    कार्यक्रमका प्रस्तोता बिकल गिरीले सहकारी संस्थाले गरेको अनियमितताबारे बुझ्न खोज्दा जयना र ढकालले गाली बेइजती गरेका थिए । होटेल तथा गोप्य स्थानमा भेट्न खोज्ने जयनाले महाराजगञ्ज चोक नजिक एक रेष्टुरेन्टमा पत्रकारलाई भेट्न बोलाएर अनियमितताको विषय बाहिर नल्याउन भन्दै आर्थिक प्रलोभन देखाएको पत्रकार गिरीले जानकारी दिएका छन् । पत्रकार प्रलोभनमा नपरेपछि यदि विषय बाहिर ल्याए राम्रो नहुने भन्दै धम्की दिएका थिए ।


    उनले पत्रकारलाई डर, धम्की दिने, बल प्रयोग गर्ने, अपशब्द बोल्ने र भक्तपुरका करिव दुई सय भन्दा बढी सहकारीलाई पत्राचार गर्दै बेइजतीसमेत गरेका छन् ।
    बेइज्जती गरे वा गराएमा निजलाई २ वर्ष सम्म वा २० हजार रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ । विद्युतीय वा अन्य आमसंचारका माध्यमबाट बेइजती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्ष सम्म कैद र दश हजार रुपैयासम्म जरिवाना गरिने उल्लेख छ । उनीहरुलाई २ वर्ष कैद र २० हजार जरिवाना गरी कानुन बमोजिम जरिवाना क्षतिपूर्ति तथा अदालती खर्चसमेत विपक्षीबाट भराउन माग गरिएको छ ।


    जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्कुल तथा सहकारीको संचालकले सम्पुर्ण काम निजी स्वार्थमा प्रयोग गरेको लिखित जानकारी आएपछि अनुसन्धानमा लागेका बेला पत्रकार गिरीले बेइजती तथा दुव्र्यवहार सहनु परेको बताएका छन् । गिरीले बाबुकृष्ण भासिंक, पदमकृष्ण भासिंक श्रेष्ठ र कृष्णभक्त भासिंकको लिखित निवेदनका आधारमा जयनासँग गत साउन २५ गते अन्तर्वार्ताका लागि समय लिएका थिए ।

    गिरीको तर्फबाट दायर गरिएको मुद्दामा भनिएको छ, ‘०७८ साउन २५ गतेका दिन अध्यक्षसँग अन्तरर्वार्ता लिन जाँदा आफुले गरेका गलत कामका कर्तुत सम्पूर्ण बचतकर्ता तथा शेयर सदस्यहरुले थाहा पाउने भएकोले करिव १६ जना हेर्दै लडाकु जस्ता देखिने व्यक्तिहरु जम्मा गरी अन्तरर्वार्ता दिनुको साटो अफिसको चुक्कुल लगाई हामीलाई अपमानजक शब्दहरु प्रयोग गरी शारीरिक तथा मानसिक रुपमा तर्साउने काम गरी त्यहाबाट बेईजतिपुर्ण तरिकाले अन्तरवार्ता दिन नमानि निकालेको र मलगायत मेरो संचार गृह मेघा न्युज नेटवर्क प्रालि. समेतको नाम उल्लेख गरी गुण्डा र गुण्डागर्दी गरेको भन्ने शब्द प्रयोग गरी भक्तपुर जिल्लाका करिव २०० वटा सहकारीमा पत्र समेत पठाई मिति २०७८ साउन ३० गते बिहान ८ बजेदेखि आफ्नो कार्यालयमा बैठक समेत गरेको हुँदा उक्त शब्दहरुले म फिरादीलगायत मेरो संचार गृह समेतको सामाजिक प्रतिष्ठानमा गम्भीर आँच आउने कार्य गरेको हुँदा कारबाही गरी न्याय इन्साफ पाऊँ ।’


    सहकारी, स्कुल र फाउण्डेशन समूहमा खोलिएको छ । संस्था फाईदामा गएपछि ६४.५ प्रतिशत शेयरधनीलाई निर्णय नगराई मनोमानी रुपमा आर्थिकलगायत अन्य कार्य गर्ने, अवैध रुपमा संचालक समितिको अध्यक्ष परिवर्तन गर्ने, निवेदक बहुमत शेयरधनी हुँदा समेत कुनै निर्णय प्रकृयामा सहभागि नगराउने गरेको आरोप समेत जयनामाथि लगाएका छन् ।

    द्रब्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ब्यक्तिगत रुपमा लिएको ऋण चुक्ता गरिसक्दा समेत फाउण्डेशनको ऋण चुक्ता नहुँदासम्म धितोको रुपमा रहेको जग्गा वर्ष बितिसक्दा समेत फुकुवा नगरेको, आफु ६४.५ प्रतिशतको धनि भएकोले फाउण्डेशनको ऋण चुक्ता गर्दा समेत त्यसमा क्लियरिङ भएको चेक बैकको शाखा प्रवन्धकसँगको मिलेमतोमा कानुन बिपरित पुणः रिभर्स गर्न लगाई अवैध रुपमा वित्तिय अपराधको काम गरेको आरोप समेत उनीमाथि लगाइएको छ ।

  • एमालेको मध्यधारका नेता ओली खेमामा विलय, १० बुँदे सहमति अनुमोदन

    एमालेको मध्यधारका नेता ओली खेमामा विलय, १० बुँदे सहमति अनुमोदन

    काठमाडौं । नेकपा एमालेमा मध्यधारमा रहेका नेताहरु अन्ततः ओली खेमामा विलय भएका छन् । १० बुँदे सहमति अनुमोदन गभएसँगै पार्टी २ जेठ २०७५ को संरचनामा फर्किएको एमालेले जनाएको छ । मंगलबार बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । आजको बैठकमा माधवकुमार नेपाल समूहमा रहेपनि नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्य समेत सहभागी भएका छन् । बैठकले विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ ।

    सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पुनस्र्थापित एमालेको स्थायी कमिटीको बैठक मंगलबार बसेको हो । आजको बैठकमा उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त, अमृतकुमार बोहोरा (अनुशासन आयोगका प्रमुख) सहभागी भए ।

    उनीहरु माधव नेपाल पक्षका नेता थिए । पार्टीको पक्षमा क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी लगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरुलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिइएको छ । बैठकले दल विभाजन प्रक्रिया रोकेर पार्टी एकतामा आउन नेता कार्यकर्तालाई आह्वान गरेको छ ।

    आजको बैठकले १० बुँदे कार्यान्वयन गर्न कार्यदल बनाएको छ । सात सदस्यीय कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् । स्थायी कमिटीको बैठकले पार्टीको विधान महाधिवेशन ४–६ असोज र दशौं महाधिवेशन १०–१२ मंसिरमा गर्ने निर्णय गरेको छ ।

  • नेपालमा थप २५२५ जनामा कोरोना पुष्टी, ३५ जना संक्रमितको निधन

    नेपालमा थप २५२५ जनामा कोरोना पुष्टी, ३५ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५२५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०९ पीसीआर परीक्षणमा २०२० र ४९०१ एन्टिजेन परीक्षणमा ५०५ गरी २५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५१ हजार १ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २०८६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख २ हजार १८३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३८ हजार २५० रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ५६५ पुगेको छ ।

  • कक्षा १२ को परीक्षा भौतिक रुपमा गर्न सरकारलाई निर्देशन

    कक्षा १२ को परीक्षा भौतिक रुपमा गर्न सरकारलाई निर्देशन

    काठमाडौं । संसदको शिक्षा तथा स्वाथ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रुपमा गर्न सरकारलाई निर्देशन दिएको छ। शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई परीक्षा गराउने व्यवस्था गर्न निर्देशन दिएको हो।

    ‘अन्य तहका परीक्षाहरु संचालन भइरहेको अवस्थामा कक्षा १२ को परीक्षा मात्र पटकपटक स्थगित हुँदा विद्यार्थीहरुमा भविष्यप्रतिको चिन्ता थपिनुका साथै मानसिक असर पनि परिरहेकोले खोपको व्यवस्थापन गर्दै स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र होम सेन्टरमै परीक्षा गराउने व्यवस्था गर्ने’ निर्देशनमा भनिएको छ।

    कोरोना संक्रमणको जोखिमका कारण साउन ३१ गते तोकिएको परीक्षा सरकारले रोकेको थियो। सरकारले अहिले १२ कक्षाको परीक्षा दिने विद्यार्थीहरुलाई धमाधम कोरोना खोप लगाइरहेको छ।

    खोप लगाएकाले अब भौतिक उपस्थितमा परीक्षा सञ्चालन गरेर विद्यार्थीको भविष्य सुरक्षित गर्न समितिले भनेको छ।