Category: समाचार

  • ‘नेपालले निहुँ खोजेपछि एमाले चोइटियो, विभाजन भएको होइन’

    ‘नेपालले निहुँ खोजेपछि एमाले चोइटियो, विभाजन भएको होइन’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विभाजन भएको दाबी गरेका छन् ।

    बिहीबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले माधवकुमार नेपालले निहुँ खोज्दा चोइटिएको बताउँदै ओलीले एमाले विभाजन नभएको दाबी गरेका हुन् ।

    ‘एमाले फुटेको होइन,’ ओलीले भने, ‘चोइटिएको होइन । एमाले कमजोर पनि बनेको छैन । एमालेबाट केही अलग हुँदैमा एमाले सिद्धियो भनेर भन्न मिल्दैन ।’ओलीले भने, ‘मैले एकताको कोसिस नै नगरेर भन्ने कुरा होइन।

    ५१ वर्ष अगाडि कम्युनिष्ट पार्टी पार्टीजस्तो थिएन त्यसै आन्दोलनबाट एकताको आह्वान ३१ सालमा गरेको थियो। त्यसपछि विभिन्न समूह सामेल भएर ३५ सालमा माले बन्यो पार्टी विस्तार एकिकरण र एकताको प्रयासहरु मेरै नेतृत्वमा भएको हो।’

    माओवादी र एमाले पनि आफै नेतृत्वमा एकता भएको बताए। एमालेबाट केही मान्छे बाहिरिएपछि पार्टी निर्माण गर्न कोसिस गरेन भन्नु पूर्वाग्राही मात्रै भएको बताए।

    नेपालले विपक्षीसँग मिलेर आफ्नै पार्टी सिद्ध्याउन लागेको ओलीको आरोप छ । ‘उहाँ ९नेपाल० ले विपक्षीहरुसँग मिलेर आफ्नै पार्टीलाई कमजोर बनाउ लाग्नुभयो,’ ‘तर पार्टी कमजोर बनेको छैन । यस्ता गतिविधिले मुलुककै प्रमुख पार्टीलाई हल्लाउन पनि सक्दैन ।’

    नेपालले आफूलाई २ वर्षयता फोन नगरेको बताउँदै ओलीले भने, ‘मैले पटक–पटक भेटौँ भनेर फोन गरेँ, म बालुवाटार आउँदिनँ भन्दैगर्दा तपाईंकै ठाउँमा आएर भेट्छु भनेर गएँ । तर उहाँले नमान्दा पार्टीमा यस्तो भयो ।’

    आफूले पार्टी एकता बचाउनको लागि सक्दो लचकता अपनाएको ओलाको भनाइ छ । ‘मैले अध्यक्ष हैसियतले लचकता अपनाएँ,’ ओलीले भनेका छन्, ‘उहाँको दम्भले दिएन । मलाई भेट्नुभएन । पार्टी अन्ततः यस्तो भयो ।’

    ओलीले आफूले कहिल्यै बेइमानी नगरेको दाबी गरेका छन् । ‘माधव नेपालजस्तो बेइमानी मैले कहिल्यै गरिनँ,’ ओलीले भने, ‘कतै अस्वस्थताको प्रतिस्पर्धा गरिनँ । म र मेरो पार्टी सधैं देश र जनताका लागि खटिरहने पार्टी हो । म र मेरो पार्टी बेइमानीबाट टाढा छ ।’

    आफ्नो पार्टीविरुद्ध नेपालले विश्वासघात गरेको ओलीको आरोप छ । ‘त्यस्तो खालको राजनीतिक प्रवृत्तिले देशलाई अस्थिरतातर्फ लान्छ ।’

  • सामान्य बन्दै अफगानिस्तानको जनजिवन

    सामान्य बन्दै अफगानिस्तानको जनजिवन

    काबुल । २० वर्षको संघर्षपछि तालिवानले सत्ता कब्जा गरेसँगै अफगास्तिानमा देखिएको अनिश्चितता अब क्रमशः सहज बन्दै गएको छ । अफगानिस्तानको शक्तिमा आएको तालिबानले देशैभरि आफ्नो पकड बनाएको छ । बीबीसीका अनुसार केही शहरमा तालिवान विरोधी प्रदर्शन भएका थिए । ती प्रदर्शनमा गोली चलाएको खबर आएको छ ।

    तर, आम जनजीवन भने सामान्य बन्दै गएको छ । पूर्वी सहर जलालाबादमा हिंस्रक प्रदर्शन भएको र त्यसमा तालिवानले दमन गरेको बीबीसीले उल्लेख गरेको छ । काबुलमा भने तालिबानी हतियारधारी लडाकू गस्तीमा निस्कने गरेका छन् । सडकमा महिलाको सङ्ख्या कम देखिएको छ । तर, दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएका छन् ।

    काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था भने कायम छ। तालिबानका सदस्यहरूले विमानस्थल परिसर पस्न खोज्ने अफगानीलाई रोकिरहेका छन्। यात्राका लागि आवश्यक कागजात भएका व्यक्तिलाई भने जान दिइन्छ । अहिले अमेरिकाले खटाएको विशेष फौजले विमानस्थल कब्जा गरेको छ । तालिबानले गत आइतवार काबुल नियन्त्रणमा लिएको हो । सो मुलुकबाट अमेरिकी सेना फिर्ता हुन थालेको ४५ दिन भित्रै तालिबानले पकड जमाएको हो ।

  • अष्टलक्ष्मी शाक्य बनिन् नेपालको पहिलो मूख्यमन्त्री

    अष्टलक्ष्मी शाक्य बनिन् नेपालको पहिलो मूख्यमन्त्री

    हेटौडा । प्रदेशको मूख्यमन्त्री पदमा पहिलो पटक महिलाको नेतृत्व पुगेको छ । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नियुक्त भएसँगै यो इतिहास कायम भएको हो । संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । यसअघि आजै शाक्य वाग्मती प्रदेशको एमाले संसदीय दलको नेतामा चयन भएकी थिइन् ।

    वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजै राजीनामा गरेका थिए । नेकपा नफुटेकै अवस्थामा नै उनी मूख्यमन्त्रीको दावेदार थिइन । तर, उनलाई केपी शर्मा ओली पक्षबाट धोका भएको थियो । तर, पार्टी विभाजनको मुखमा पुगेका बेला ओली पक्षले शाक्यलाई मुख्यमन्त्री पद दिएर आफुतिर तानेको हो ।

  • एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्य को-को छन् ?

    एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्य को-को छन् ?

    काठमाडौं । बुधबार निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएसँगै एमाले औपचारिक रुपमा फुटेको छ । यो पार्टीको नेतृत्व माधव कुमार नेपालले गरेका छन् । माधवकुमार नेपालको अध्यक्षतामा दर्ता भएको नयाँ पार्टीमा पार्टीको अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहेका छन् । पार्टीमा ९५ जना केन्द्रीय कमिटी सदस्य रहेका छन् । चुनाव चिन्हमा अभलै टुंगो लागिसकेको छैन । यसअघि किताव प्रस्ताव गर्ने बताइएको थियो ।

    एमालेमा अब माधव नेपाल पक्षमा रहेका दोस्रो तहका नेताको भविश्य भने अन्यौलमा परेको छ । उनीहरुले नयाँ पार्टीमा नजाने भन्दै बाहिरै बसेका छन् । पुरानो एमालेमा समेत उनीहरुले ओलीको नेतृत्व नमान्ने भनी यसअघि नै संघर्ष गरेका थिए । उनीहरुले नेकपा फुटाउन ओलीले खेलेको भूमिका पछि नै असन्तुष्ट रहँदै पार्टीभन्दा बाहिर बस्ने निर्णय लिएका थिए ।

  • नेपालमा थप ३४०३ जनामा कोरोना पुष्टी, २१०४ जना संक्रमण मुक्त

    नेपालमा थप ३४०३ जनामा कोरोना पुष्टी, २१०४ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २६१३ र ४९९९ एन्टीजेन परीक्षणमा ७९० जना गरी कुल ३४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३९ हजार ९०७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २१०४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ८९ हजार १७३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ४२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् ।

  • मुख्यमन्त्री पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने

    मुख्यमन्त्री पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने

    काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्।

    बुधबार पौडेलले राजीनामा दिएसँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिएकी छन्।

    एमाले संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो।

    अष्टलक्ष्मी शाक्यलाई वाग्मती प्रदेशकी मुख्यमन्त्री बनाउने सहमतिमा पौडेलले राजीनामा दिएको बताइएको छ।

    एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन्।

  • एमाले विभाजित: माधव नेपालको नेतृत्वमा ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’

    एमाले विभाजित: माधव नेपालको नेतृत्वमा ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’

    काठमाडौं । नेकपा (एमाले) विभाजन भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले विभाजन भएको हो ।

    ओलीसँग मिल्न नसक्ने निष्कर्षसहित वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

    कम्युनिष्ट आन्दोलनमा लागेदेखि संस्थापन पक्षमा रहँदै आएका नेपालले पहिलाे पटक संस्थापनका बिरुद्ध विद्राेह गरेका हुन्।

    ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । नेपाल समूहको पार्टी दर्ता भएपछि सरकारमा जाने तयारीमा छ।

    पार्टी विभाजनका लागि तेस्रो तहका नेताहरुले नेता नेपाललाई साथ दिएको भए पनि दोस्रो तहका नेताहरु एकताको पक्षमा उभिएका छन्।

    एकताको माहोल बनाइरहेको बेलामा अध्यक्ष केपी शर्मा ओलीले १४ जना सांसदलाई पदमुक्त गरेपछि विवाद मिल्ने अवस्था टरेको हो। २०५४ सालमा विभाजित भएको एमाले ०५६ मा एक भएको थियो।

  • राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

    राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेस भएको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् ।

    नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार दिउँसो १:१० अध्यादेश प्रमाणीकरण गरेकी हुन् ।

    सरकारले सो अध्यादेश राष्ट्रपतिकहाँ मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी जारी गर्न सिफारिस गरेको थियो ।

    राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

    यसअघि कम्तीमा ४० प्रतिशत सदस्य पुगेमात्रै दल फुटाउन पाइने व्यवस्था थियो । योसँगै विभाजनको संघारमा रहेको नेकपा एमाले पार्टी विभाजन हुने निश्चित देखिएको छ ।

  • नयाँ दल दर्ता गर्ने अन्तिम तयारीमा माधव नेपाल पक्ष

    नयाँ दल दर्ता गर्ने अन्तिम तयारीमा माधव नेपाल पक्ष

    काठमाडौं । एमाले विभाजनको मुखमा पुगेको छ । लामो समयको असफल एकता प्रयासपछि एमाले फुटको संघारमा पुगेको हो । एकातर्फ सरकारले दल फुटाउन सक्ने गरी अध्यादेश ल्याएको छ । अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा सिफारिस भएको छ । अर्कोतर्फ एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ नेतालाई कारवाही गरि त्यसको पत्र संसद सचिवालय र निर्वाचन आयोगमा पठाएका छन् ।

    मंगलबार भएका यी दुई घटनाक्रमले अन्त्तः एमालेको फुटलाई औपचारिकता दिने छ । दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएसँगै नयाँ दल दर्ता गर्ने नेपाल समूहको तयारी छ । त्यसपछि सो दल सरकारमा समेत सहभागी हुने छ । विपक्षी गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने तयारी रहेको छ । नेताहरुका अनुसार नयाँ दल दर्ता गर्ने प्रक्रिया, सबै कागजात तयार गरिएका छन् ।

    एकताको सम्भावना सकिएको भन्दै नेताहरु नयाँ दल दर्तामा लागेका हुन् । अध्यादेश अनुसार अब २० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्ने छन् । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२ सांसद नयाँ पार्टीको पक्षमा हुने छन् । यसमा अझै नेता थपिने सम्भावना रहेको बताइएको छ ।

    विभाजनपछि यसअघि वार्ता टोलीमा सदस्य भने अन्यौलमा छन् । योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनयाम भुसालसहितका नेताहरुको भविय अन्यौलमा छ । उनीहरु ओलीविरुद्ध संघर्ष गरेका नेता हुन् । तर, अब नेता नेपालले पार्टी फुटाएपछि उनीरु के गर्छन भन्ने खुलेको छैन ।

  • सत्ता कब्जापछि तालिबानको पहिलो पत्रकार सम्मेलनमा के दियो सन्देश ?

    सत्ता कब्जापछि तालिबानको पहिलो पत्रकार सम्मेलनमा के दियो सन्देश ?

    काबुल । अफगानिस्तानबाट विदेशी फौज फिर्ता भएपछि मुलुकको सत्ता कब्जा गरेको विद्रोही समुह तालिबानले पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले २० वर्षे सङ्घर्षपछि देश मुक्त भएको र विदेशीलाई भगाउन सफल भएको बताए । यो देशका लागि गर्वको क्षण भएको उनको प्रतिक्रिया छ । उनले अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने भन्दै त्यसको सुनिश्चिता तालिबानले गर्ने बताए । उनले तालिबान विरुद्ध लडेका सबैलाई आममाफी दिएको समेत बताए ।

    उनले तालिबानले अब बाह्य वा आन्तरिक शत्रु नचाहेको समेत स्पष्ट पारे । उनले अब तालिबानका कारण कसैले पनि हानी बेहोर्नु नपर्ने समेत बताए । आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको भन्दै विश्वस्त हुन आग्रह गरे । अब महिलाले काँधमा काँध मिलाएर काम गर्न सक्ने उनको भनाई छ ।

    तालिबानले आफ्नो सांस्कृतिक ढाँचाभित्र रहेर सञ्चारमाध्यमप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको समेत उल्लेख गरेको छ । पत्रकार सम्मेलनका क्रममा प्रवक्ता मुजाहिदले निजी क्षेत्रका सञ्चारमाध्यमहरू स्वतन्त्र र निष्पक्ष रहिरहन पाउने बताए । उनले कसैसँग पनि बदला नलिइने भन्दै नडराउन आह्वान गरेका छन् ।

  • कतारमा रहेका तालिवानका उच्च तहका नेता अफगानिस्तान फर्किए

    कतारमा रहेका तालिवानका उच्च तहका नेता अफगानिस्तान फर्किए

    कतार । कतारमा निर्वासित अवस्थामा रहेका तालिबानका उच्च तहका नेताहरु स्वदेश फर्किएका छन् । अफगानिस्तानमा तालिबानले नियन्त्रण गरेसँगै समूहका उच्च तहका नेता कतारबाट स्वदेश फर्केको बीबीसीले जनाएको छ । तालिबानका संस्थापकमध्येका एकजना नेता मुल्लाह अब्दुल गनी बरादर पनि अफगानिस्तान पुगेका छन्।

    अमेरिकी सैन्य फिर्तीबारे भएका वार्ताहरूमा महिनौँ नेतृत्व गरेका उनको स्वदेश फिर्तीलाई एउटा नाटकीय पुनरागमनको सङ्केतका रूपमा लिइएको छ। उनी स्वदेश फर्कने क्रममा कान्दहार विमानस्थलनमा उत्रिएका हुन्। कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो। २० वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनु अघिसम्म कान्दहार उनीहरूको महत्त्वपूर्ण आधार क्षेत्र रहेको थियो।

    कान्दहार विमानस्थलबाट उनी कारमा बसेर बाहिरिँदा उनको स्वागत गर्न कैयौँ मानिसहरू आएको देखिने भिडिओ फुटेजहरू बाहिरिएका छन्। मुल्लाह अब्दुल गनी बरादर सन् १९९४ मा तालिबानको गठन गर्ने संस्थापक मध्येका एक हुन् । सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बनेका थिए।

    सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो। त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा राखेको समेत बीबीसीले जनाएको छ । सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गरेको हो ।

  • अफगानिस्तान घटनाक्रमबारे नेपालको प्रतिक्रिया : शान्ती र स्थिरता नखल्बलियोस

    अफगानिस्तान घटनाक्रमबारे नेपालको प्रतिक्रिया : शान्ती र स्थिरता नखल्बलियोस

    काठमाडौं । सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमन–चयनको सुनिश्चितता हुनुपर्ने नेपालको धारणा रहेको बताएको छ । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे सरकारको औपचारिक धारणा सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयले यस्तो बताएको हो । मङ्गलवार प्रेस विज्ञप्ति निकालेर नेपालले अफगानिस्तान छाड्न चाहनेहरूलाई सडक मार्ग तथा हवाई मार्ग प्रयोग र सीमा पार गर्न दिन आग्रह समेत गरेको छ ।

    परराष्ट्र मन्त्रालयले सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको बताएको छ । अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएसँगै अब के हुने भन्ने अन्यौल बढिरहेको छ । अफगानिस्तानमा अमेरिकी संरक्षणको सरकारका राष्ट्रपतिले देश छाडिसकेका छन् । सोहीकारण त्यहाँ रहेका मानिसहरुमा त्रास बढेको हो ।

  • तालिबानले भन्यो : कर्मचारीलाई आममाफी हुन्छ, काममा फर्कनु

    तालिबानले भन्यो : कर्मचारीलाई आममाफी हुन्छ, काममा फर्कनु

    काबुल । अफगानिस्तान नियन्त्रणमा लिएको तालिबानले सबै सरकारी कर्मचारीहरूलाई आममाफीको घोषणा गरेको छ । तालिबानले उनीहरूलाई पूर्ण विश्वासका साथ काममा फर्कन समेत आह्वान गरेको छ । सबैका लागि आम माफी घोषणा गरिएको बीबीसीले जनाएको छ । तालिबानले विज्ञप्ति निकाल्दै यस्तो जानकारी गराएको हो । तालिबानको पछिल्लो घोषणा अफगानिस्तानमा छाएको त्रासकाबीच आएको हो ।

    सरकारी कर्मचारी, पश्चिमा राष्ट्रको संलग्नता रहेका संस्था र अमेरिकी सेनाका लागि दोभासेका रूपमा काम गरेकाहरू तालिबानले बदला लिन सक्ने सम्भावनाका कारण त्रसित रहेका छन्। तालिबान उसले दिने क्रूर सजायका लागि परिचित छ। युद्ध अपराध गरेको आरोप लगाइएको भए पनि उसले त्यो आरोप अस्वीकार गर्दै आएको समेत बीबीसीले लेखेको छ ।

    सोमबारबाट सैन्य विमानहरूले काबुलस्थित विमानस्थलबाट त्यहाँ रहेका कूटनीतिज्ञ र सर्वसाधारणहरूलाई अन्यत्रै लान पुनः सुरु गरेका थिए । सोमवार उक्त विमानस्थल अस्तव्यस्त देखिएको थियो। देश छोड्न व्यग्र दशौँ हजार अफगानहरू धावन मार्गसम्मै पुगेको र उडान भर्न लागेका विमान चढ्ने प्रयास गरेको तस्बिरहरू सार्वजनिक भएका थिए। अधिकारीहरूका अनुसार मंगलवार भने तुलनात्मक रूपमा अवस्था निकै शान्त छ। अधिकांश मानिस घर फर्किएका छन् ।

  • पछिल्लो २४ घण्टामा थप ३२७४ जनामा कोरोना पुष्टी, २७ जना संक्रमितको निधन

    पछिल्लो २४ घण्टामा थप ३२७४ जनामा कोरोना पुष्टी, २७ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ६६५ पीसीआर परीक्षणका क्रममा २४५६ र ६१२६ एन्टीजेन परीक्षणका क्रममा ८१८ जना गरी ३२७४ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३७ हजार ९९४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ८७ हजार ६९ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ ।

  • माधव नेपालसहित १४ सांसद पार्टीबाट निष्काशन

    माधव नेपालसहित १४ सांसद पार्टीबाट निष्काशन

    काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।

    पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेपालसहित १४ जनालाई कारबाही गरेको सूचना संसद सचिवालयलाई दिएको छ ।

    राजनीतिक दलसम्बन्धी ऐन दफा २८ -१) बमोजिम कार्य नगरी दलको हृवीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको जनाइएको छ ।

    कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाक्री लगायत रहेका छन् ।

    यी हुन् कारवाहीमा पर्ने सांसदहरू
    १. माधव नेपाल
    २. जीवनराम श्रेष्ठ
    ३. मुकुन्द न्यौपाने
    ४. विरोध खतिवडा
    ५. कृष्णलाल महर्जन
    ६. भवानी खापुङ
    ७. मेटमणी चौधरी
    ८. रामकुमारी झाँक्री
    ९. कल्याणी खड्का
    १०. लक्ष्मीकुमारी चौधरी
    ११. निरादेवी जैरु
    १२. पुष्पाकुमारी कर्ण
    १३. सरला यादव
    १४. कलिला खातुन

  • ‘अध्यादेश ल्याएपछिको परिणाम के आउँछ त्यसको जिम्मेवार सरकार हुनुपर्छ’

    ‘अध्यादेश ल्याएपछिको परिणाम के आउँछ त्यसको जिम्मेवार सरकार हुनुपर्छ’

    काठमाडौं । प्रमुख विपक्षी दल एमालेले सरकारले २० प्रतिशत भए पार्टी फुटाउन पाइने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याए कडा प्रतिपाद गर्ने जनाएको छ ।

    एमाले स्थायी कमिटी बैठकले अध्यादेश ल्याउने सरकारले योजना निन्दनीय र अस्वीकार्य भएको ठहर गर्दै उक्त निष्कर्ष निकालेको हो ।

    स्थायी कमिटी बैठकपछि जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले एमाले विभाजन गर्ने गरी अध्यादेश ल्याए एमालेले सशक्त प्रतिवाद गर्ने बताए । उनले भने, ‘त्यसपछिको परिणाम के आउँछ त्यसको जिम्मेवार सरकार हुनुपर्छ ।’

    ज्ञवालीले केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेश ल्याइएको तर, पछि गल्ती भएको स्वीकार गरेर फिर्ता गरिएको पनि दाबी गरे । ‘अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेश आएको थियो ।

    ‘एक दर्जन अध्यादेशमा निर्णय गर्नुपर्ने, कयौं विधेयक टुंगो लगाउनुपर्ने र जनसरोकारमा विषयमा बहस गर्नुपर्ने अवस्थामा १ महिनासम्म संसदलाई बिजनेस नदिइ हठात अधिवेशन अन्त्य गरिएको छ,’ एमालेले भनेको छ, ‘यसले विगतमा गठबन्धनमा आवद्ध पार्टीहरुबाट संसदका बारेमा भनिएका विषयहरु ढोंग र अवरण मात्रै थिए भन्ने पुष्टि हुन्छ ।’

  • अध्यादेश: २० प्रतिशतले पार्टी फुटाउन पाउने, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले दल रोज्ने अधिकार

    अध्यादेश: २० प्रतिशतले पार्टी फुटाउन पाउने, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले दल रोज्ने अधिकार

    काठमाडौं । मन्त्रिपरिषद्‌ बैठकले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन अध्यादेश ल्याएको छ ।

    मंगलबार बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहित अध्यादेश जारी गरेको हो । यो अध्यादेशले फुट नजिक पुगेका प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) लाई पार्टी विभाजन गर्न सहज हुनेछ ।

    यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो ।

    यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको हो ।

    त्यस्तै अध्यादेशमा राजनीतिक दल विभाजन भएको २१ दिनभित्र प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोज्न चाहेमा सम्बन्धित सभामा सूचना दिन सक्ने व्यवस्था गरिएको छ ।

    त्यसो हुँदा प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधि जो माधव नेपाल पक्षमा लाग्छन् उनीहरुको पद जोगिने र प्रदेश सरकारहरु पनि परिवर्तन गर्न सहज हुनेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको योजना निन्दनीय र अस्वीकार्य भएको बताउँदै प्रतिवाद गर्ने घोषणा गरिसकेको छ ।

  • एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

    एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

    काठमाडौं । आज नेकपा (एमाले)ले स्थायी कमिटी र संसदीय दलको बैठक बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजेका लागि बैठक बोलाएका छन् । सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि ओलीले मध्यरातमा विज्ञप्ती निकालेका थिए । उनले सोही विज्ञप्तीमार्फत स्थायी कमिटी बैठक आह्वान गरेका हुन् ।

    सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी फुटाउने अनुमानका बीच बैठक बस्न लागेको हो । अहिले एमाले विभाजन वा एकता के हुने भन्ने टुंगो आगामी केही दिनमै लाग्ने भएको छ । त्यसपछि भने सरकार पूर्ण क्षमतामा चल्ने छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको आरोप समेत एमाले नेताहरुको छ ।

  • एमाले फुटाउन खोजिएको भन्दै मध्यरातमा आयो ओलीको विज्ञप्ती

    एमाले फुटाउन खोजिएको भन्दै मध्यरातमा आयो ओलीको विज्ञप्ती

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यराती एक विज्ञप्ती जारी गरि एमाले फुटाउन लागेको भन्दै त्यस्तो कार्य पार्टीका लागि क्षम्य नहुने बताएका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको भन्दै उनले यस्तो बताएका हुन् । सरकारले पूर्व घोषित प्रतिवद्धता विपरित हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको समेत उनले बताएका छन् ।

    उनी विपक्षी दलका नेता समेत हुन् । एमाले अध्यक्ष ओलीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै नेकपा एमाले र पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि वाहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य नहुने बताएका हुन् । उनले पार्टी नेता कार्यकर्ता र सांसदहरुलाई पार्टी विभाजनको प्रयास विरुद्ध एक हुनुपर्ने समेत उनले आह्वान गरेका छन् । पार्टीमा एकताका लागि कार्यदल स्तरमा भएको १०बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसकेको भन्दै ओलीले स्थायी, केन्द्रीय लगायतका सम्वद्ध कमिटीहरुको बैठकमा सहभागी हुन समेत आग्रह गरेका छन् ।

  • अफगानिस्तानको सैनिक विमानलाई उज्वेकिस्तानले खसाल्यो, अवस्था अज्ञात

    अफगानिस्तानको सैनिक विमानलाई उज्वेकिस्तानले खसाल्यो, अवस्था अज्ञात

    काठमाडौं । उज्बेकिस्तानमा अफगानिस्तानको एक सैनिक विमानलाई जमिनबाट प्रहार गरि खसालिएको छ । बीबीसीका अनुसार उज्वेकिस्तानको रक्षा मन्त्रालयले यसको पुष्टी गरेको हो । आफ्नो सीमा उल्लङ्घन गरेको एउटा अफगान सैन्य विमानलाई हवाई प्रतिरक्षा बलले खसालिदिएको पुष्टी गरेको छ । मन्त्रालयका प्रवक्ताका अनुसार उक्त विमानले गैरकानुनी रूपमा उक्त मध्यएशियाली राष्ट्रको हवाई क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको हो ।

    उक्त विमानमा कति जना सवार थिए वा कोही जीवित छन् कि छैनन् भन्ने कुरा उनले खुलाएका छैनन् । अहिले अफगानिस्तानबाट सैनिकहरु भागेर छिमेकी मुलुक छिरिरहेका छन् । आइतवार उज्बेकिस्तानमा सीमा पार गरेका कारण ८४ अफगान सैन्य अधिकारी पक्राउ परेका थिए ।

  • नेपालमा थप ३४५१ जनामा कोरोना पुष्टी, ३५ जना संक्रमितको निधन

    नेपालमा थप ३४५१ जनामा कोरोना पुष्टी, ३५ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १० हजार ९३ पीसीआर परीक्षणका क्रममा २५६६ र ५५१८ एन्टीजेन परीक्षणका क्रममा ८८५ जना गरी ३४५१ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २५५८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ८५ हजार १४० जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार २९८ पुगेको छ ।

  • पुनर्बहाली माग गर्दै कुलमानको नियुक्तिविरुद्ध हितेन्द्र पुगे सर्वोच्च

    पुनर्बहाली माग गर्दै कुलमानको नियुक्तिविरुद्ध हितेन्द्र पुगे सर्वोच्च

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

    शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

    यसका साथै शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न समेत अन्तरिम आदेशको माग गरेका छन् ।

    ‘मेरो सहमति बेगर मलाई विपक्षी जल तथा ऊर्जा आयोगको विज्ञ सदस्य पदमा नियुक्त गर्ने र विपक्षी कुलमान घिसिङलाई मेरो पदाधिकार नटुटेको र कायम रहेको विपक्षी प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णयबाट मेरो उक्त पदमा रही काम गर्ने मेरो अधिकारमा आघात पुग्नगै मलाई अपुरणीय क्षति हुने भएको हुनाले मिति २०७८।०४।२५ को नेपाल सरकार मन्त्रिपरिषदको अवैधानिक निर्णय कुलमान घिसिङलाई नियुक्त गर्ने नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र सो निर्णयको आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन नगर्नू र मलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा काम गर्न दिनू दिलाउनू भनी श्री सर्वोच्च अदालत नियमावलीको नियम ४९ बमोजिम अन्तरीम आदेशसमेत जारी गरी पाऊ’ उनले दायर गरेको रिट निवदेनमा भनिएको छ ।

  • काठमाडौं उपत्यकामा साढे ११ हजार सक्रिय संक्रमित

    काठमाडौं उपत्यकामा साढे ११ हजार सक्रिय संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ संक्रमित थपिएका हुन् ।

    योसँगै काठमाडौं उपत्यकामा ११ हजार ५४५ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा मात्रै ८ हजार १२३ जना, ललितपुरमा २ हजार १७ र भक्तपुरमा १ हजार ४०५ जना सक्रिय संक्रमित छन् ।

  • प्रदेश नम्बर २ का प्रमुखमा हरिशंकर मिश्र नियुक्त, राजेश अहिराज पदमुक्त

    प्रदेश नम्बर २ का प्रमुखमा हरिशंकर मिश्र नियुक्त, राजेश अहिराज पदमुक्त

    काठमाडौं । सरकारले नम्बर २ का प्रदेश प्रमुख परिर्वतन गरेको छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गरेको हो । झाको ठाँउमा हरिशंकर मिश्र नियुक्त गर्ने निर्णय गरेको छ।

    अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

    नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् ।

    महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा बस्ने उनी नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन्। मिश्र नेपाली कांग्रेसबाट संसद समेत निर्वाचित भएका थिए।

  • देश छाडेर भागेका अफगानिस्तानका राष्ट्रपति गनी र उपराष्ट्रपति सालेह अहिले कहाँ छन् ?

    देश छाडेर भागेका अफगानिस्तानका राष्ट्रपति गनी र उपराष्ट्रपति सालेह अहिले कहाँ छन् ?

    काठमाडौं । अफगानिस्तान अब पूर्ण रुपमा विद्रोही तालिबानको कब्जामा आएको छ । यससँगै देशको बागडोर सम्हालिरहेका राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरुल्लाह सालेह भने भागेका छन् । आइतबार बिहानसम्म स्थिति नियन्त्रणमै रहेको बताएका राष्ट्रपति साँझ एकाएक देश छाडेको खबर सार्वजनिक भएको हो । समाचार एजेन्सीहरुले जनाए अनुसार यी दुई नेता विमानस्थलबाट छिमेकी मुलुक उज्वेकिस्तान पुगेका छन् । विमानस्थललाई अमेरिकी सेनाले घेर हालेको छ । गनीको साथमा उनकी पत्नी, सेना प्रमुख र राष्ट्रीय सुरक्षा सलाहकार समेत भागेर उज़्बेकिस्तानको राजधानी ताशकंद पुगेका छन् ।

    राष्ट्रपतिका व्यक्तिगत सुरक्षागार्डले यसको पुष्टी गरेका हुने । देशबाट भागेसँगै गनीले एक भिडियो सन्देश सार्वजनिक गरेका छन् । उनले देश छाड्नु कठिन अवस्था भएपनि रक्तपात रोक्न यस्तो निर्णय लिनुपरेको बताएका छन् । आफुले देश नछाडेको भए लाखौं मानिसको जिन्दगी खतरामा पर्ने जोखिम रहेको उनको भनाई छ । उनले तालिबानले बन्दुकको बलमा सत्ता लिएको भन्दै अब मुलुकका नागरिकको जिम्मेवारी समेत उसले लिनुपर्ने बताएका छन् ।

  • सरकारले भन्यो : अफगानिस्तानमा रहेका नेपाली सम्पर्कमा आउनु

    सरकारले भन्यो : अफगानिस्तानमा रहेका नेपाली सम्पर्कमा आउनु

    काठमाडौं । तालिबान लडाकुले अफगानिस्तानमा नियन्त्रण जमाएपछि उत्पन्न परिस्थितीका कारण त्यहाँ रहेका विदेशीहरुमा त्रास बढेको छ । यद्दपी तालिबानले बदलाको भावनाबाट कुनै पनि गतिविधि नगर्ने बताएको छ । साथै विदेशी नागरिकलाई सुरक्षित तवरबाट देश छाड्न दिइने समेत बताइएको छ । यता, नेपाल सरकारले समेत नेपाली नागरिकलाई सम्पर्कमा आउन भनेको छ ।

    तालिबान लडाकु आइतवार काबुलको बाहिरी क्षेत्रमा प्रवेश गरिसकेका छन् । त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको बताएकै बेला त्यहाँका राष्ट्रपतिले देश छाडेको खबर समेत सार्वजनिक भएको छ । अफगानिस्तानबाट केही दिनयता भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका नेपाली नागरिकहरूले धेरैजसो रोजगारदाताले अगस्ट महिनाभित्रै स्वदेश फर्किन भनिसकेको बताएका छन् ।

    कतिपयले फर्किने टिकट समेत काटिसकेका छन् । आइतवार परराष्ट्र मन्त्रालयले जारी विज्ञप्ती जारी गरि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको विवरण सङ्कलन गर्न कन्सुलर सेवा विभागको वेबसाइटमा व्यवस्था गरिएको जानकारी गराएको छ । सो पोर्टलमा गएर नामसहित उल्लेख गर्नुपर्ने विवरण तत्काल भरी दर्ता गराउन सरकारले आह्वान गरेको छ । उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर र ह्वाट्सएपबाट पनि सुविधा दिइएको छ ।

    अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको छ । वश्यक सहयोगका लागि दूतावासको फोन नम्बर र इमेलहरूमार्फत् सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ। अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरूलाई पनि त्यहाँ कार्यरत नेपालीहरूको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना उपलब्ध गराउन सरकारले आग्रह गरेको छ।

  • नेपालमा थप २२१२ जनामा कोरोना पुष्टी, ३३ जना संक्रमितको निधन

    नेपालमा थप २२१२ जनामा कोरोना पुष्टी, ३३ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ८ हजार ८८ पीसीआर परीक्षणका क्रममा १७९३ र ४०१८ एन्टीजेन परीक्षणका क्रममा ४१९ जना गरी २२१२ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३२ हजार २७२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १८६७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ८२ हजार ६८२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३९ हजार २९८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार २९८ पुगेको छ ।

  • अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि समिति गठन

    अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि समिति गठन

    काठमाडौं । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा सुरक्षा संकटमा परेका नेपालीको उद्धारका लागि सहसचिवको
    नेतृत्वमा समिति गठन गरेको छ ।

    संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र सचिव भरतराज पौडेलले समिति गठन गरिएको बताएका हुन् । उनका अनुसार त्यहाँ रहेका नेपाली कामदारहरुबारे बुझ्न, आवश्यकता अनुसारको उद्धारको कार्यका लागि समिति गठन गरिएको हो ।

    समितिमा अन्य सरोकारवाला मन्त्रालयका सहसचिव र सीसीएमसीका प्रतिनिधि रहेन छन् । काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नरहेका नेपालीलाई सम्पर्क गर्न सूचना जारी गर्ने तयारी गरेको छ । उनीहरुले आफ्नोबारेमा अनलाइनमार्फत जानकारी गराउन सक्ने पौडेलले बताएका छन् । अफगानिस्तानमा हाल करिब १५ सय नेपाली रहेको अनुमान गरिएको छ ।

    आइतबार तालीबानका लडाकुहरु काबुल प्रवेश गरेका छन् । तालिबानले तोर्खाम सीमा पार गरेको छ । अफगानिस्तानका आन्तरिक मामिला मन्त्रीकाअनुसार तालिबानले काबुलमा चारैतिरबाट आक्रमण सुरू गरेका छन् । तालिबान लडाकूहरु काबुलको बाहिरी इलाकामा प्रवेश गरेपछि आतंकित कर्मचारीहरु सरकारी कार्यालयहरुबाट भागेका छन् ।

  • तालिबानका लडाकू राजधानी काबुलमा प्रवेश

    तालिबानका लडाकू राजधानी काबुलमा प्रवेश

    एजेन्सी । तालिबानका लडाकू राजधानी काबुलमा प्रवेश गरिरहेका छन् । समाचार एजेन्सी एफपीले काबुलमा बस्ने केही मानिसहरुलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको छ ।

    एक दिन अघि मात्रै तालिबानले देशको पूर्वमा रहेको अहम शहर जलालाबादमाथि कुनै संघर्ष बिना नै कब्जा गरेको थियो । यो शहर काबुलभन्दा केही घण्टा मात्रै टाढा छ ।

    समाचार एजेन्सी एपीका अनुसार तालिबानले आफूले शक्तिको प्रयोग नगरीकनै काबुलमाथि नियन्त्रण गर्न चाहेको बताएको छ ।

    आइतबार जारी एक बयानमा तालिबानले उसका लडाकू अब काबुल शहरको बाहिरी इलाकासम्म पुगिरहेको बताएको थियो ।

    तालिबानले आफ्नो लडाकूलाई राजधानीमा हिंसाबाट बच्न र त्यहाँबाट जान चाहनेहरुलाई शान्तिपूर्वक जान दिन भनेको छ ।

    बीबीसी संवाददाता यल्दा हाकिमले राजधानीमा तालिबानले कुनै प्रकारको संघर्षको सामना गर्नु नपरेको जानकारी दिएका छन् ।

  • हैटीमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, कम्तिमा ३ सयको मृत्यु

    हैटीमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, कम्तिमा ३ सयको मृत्यु

    काठमाडौं । हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प गएसँगै अहिले मानिसहरु सुरक्षित स्थानमा जम्मा भएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणले यसको पुष्टी गरेको छ । भूकम्प आएपछि मानिसहरु घरबाहिर भागेका छन् । अहिलेसम्म ३०० जनाको मृत्यु भएको पुष्टी अलजजिरारले लेखेको छ । क्षतिको विस्तृत विवरण आधिकारिक सार्वजनिक भइसकेको छैन । हैटी भूकम्प प्रभावित मुलुक हो । यहाँ सन् २०१० मा मात्र शक्तिशाली भूकम्पबाट हजारौँ मानिसको मृत्यु भएको थियो । ११ वर्ष अघि भएको भूकम्पको पुनःनिर्माण समेत अझै सकिएको छैन ।