Category: समाचार

  • कांग्रेसको महाधिवेशन मंसिरमा सर्यो

    कांग्रेसको महाधिवेशन मंसिरमा सर्यो

    काठमाडौं । नेपाली काङ्ग्रेसको महाधिवेशन तीन महिना पछाडी धकेलिएको छ । आगामी भदौ १६ गतेबाट हुने गरि तोकिएको महाधिवेशन मंसिरसम्म स्थगित भएको हो । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । कांग्रेसले तोकिएको महाधिवेशन गर्न नसकेपछि तीन महिना पछि मिति सार्ने निर्णय गरेको हो ।

    केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिइने भएको छ । वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

    क्रियाशील सदस्यतामा देखिएको विवादका कारण भदौको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि अर्को मिति कहिले तोक्ने भन्नेमा कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच विवाद भएको थियो ।

  • नेपालमा २६२४ जनामा कोरोना पुष्टी, थप २० जनाको मृत्यु

    नेपालमा २६२४ जनामा कोरोना पुष्टी, थप २० जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २,६२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अब नेपालमा यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख पाँच हजार नाघेको छ । मृतकको सङ्ख्या १०,२५९ पुगेको छ। गत २४ घण्टामा २१ देखि ३० वर्ष उमेर समूहका मानिसमा सबैभन्दा धेरै संक्रमण पुष्टी भएको छ ।

    शनिवार सार्वजनिक विवरण अनुसार २४ घण्टामा १३,५७३ जनाको परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,३२० जना सङ्क्रमणमुक्त भएको तथ्यांक छ । अहिले ७६० जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८६ जना भेन्टिलेटरमा छन्। अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ३३ लाख नाघेको मन्त्रालयले जनाएको छ।

  • बाबुले स्याल भगाउन चलाएको गोली लागेर पाल्पामा छोराको मृत्यु

    बाबुले स्याल भगाउन चलाएको गोली लागेर पाल्पामा छोराको मृत्यु

    काठमाडौं । पाल्पामा बाबुले हानेको भरुवा बन्दुकको गोलीले लागेर छोराको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका ६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई भगाउन गोली हान्ने क्रममा ३६ वर्षीय छोरा धनबहादुरलाई गोली लागेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार टाउकोमा गोली लागेका धनबहादुरको घटनास्थलमै ज्यान गएको हो । मृतक धनबहादुर स्थानीय नारायण माविका प्राथमिक विद्यालयका शिक्षक हुन् । कर्ण बहादुरलाई प्रहरीले पक्राउ गरेकोछ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

  • कांग्रेसका २२ आमन्द्रित सदस्यले किन गरे सामुहिक राजिनामा ?

    कांग्रेसका २२ आमन्द्रित सदस्यले किन गरे सामुहिक राजिनामा ?

    काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधिका रूपमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा समेत लागू हुनुपर्ने भन्दै उनीहरुले राजिनामा घोषणा गरेको बताइएको छ । पार्टीको विधानमा क्षेत्रीय प्रतिनिधि सरह पनि अधिकार नदिइएको उनीहरुको गुनासो छ ।

    केन्द्रीय समितिका पदाधिकारी, सदस्य,महाधिवेशन प्रतिनिधि,जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभापति, गाउँ(नगर, पालिका सभापति, वडा सभापति समेत सबै तहका समितिहरूका पदाधिकारी, सदस्यहलाई आ–आफ्नो तहमा उम्मेदवार हुन एक अवधिको लागि स्वतः प्रतिनिधि बन्न पाउने व्यवस्था गरियोस् भन्ने माग उनीहरुले राखो छन् ।

    नन्दनकुमार दत्त (सुनसरी), कुमार खड्का (कास्की), बालकृष्ण पाण्डेय (नेजस भारत), आनन्द (गोरख) विष्ट (नेजस अमेरिका), नरेन्द्रकुमार चौधरी (सुनसरी), हसन अन्सारी (मोरङ) र किरणराज शर्मा पौडेल (बाग्लुङ)ले राजिनामा गरेका हुन् ।

    यसैगरि रमा कोइराला पौडेल (सुनसरी), कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहरनारायण श्रेष्ठ .धनकुटा), ध्रुव वाग्ले (तनहुँ), (मोहनसिंह राठौर (कैलाली), शम्भुलाल श्रेष्ठ (सर्लाही), अभिषेक प्रताप शाह (कपिलवस्तु(, दयाराम पाण्डे (लम्जुङ), जनकराज कलौनी (डडेल्धुरा), भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा( , दिलीप राई, आशाराम चौधरी र राजेन्द्रबहादुर सिंहले राजिनामा दिएका हुन् ।

  • किशोर-किशोरीमा लगाइने कोरोनाविरुद्धको मोर्डनाको ४० लाख डोज खोप फागुनसम्म नेपाल आउने

    किशोर-किशोरीमा लगाइने कोरोनाविरुद्धको मोर्डनाको ४० लाख डोज खोप फागुनसम्म नेपाल आउने

    काठमाडौं । सरकारले १२ देखि १७ वर्षका किशोर किशोरीलाई दिन खोप खरीद गर्ने सम्बन्धमा सम्झौता गरेको छ । मोर्डनाले बनाएको ४० लाख डोज खोप खरिद गर्ने सम्बन्धी सम्झौता भएको विश्व बैंकले जनाएको छ । खोप मार्च २०२२ (फागुन)सम्म नेपाल आइपुग्ने भएको छ । विश्व बैंकको वित्तिय सहयोगमा कोभ्याक्ससँग लागत साझेदारीमार्फत खरिद गरिने खोपका लागि खोप सम्बन्धित विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता भएको हो । यससँगै नेपाल कोभ्याक्ससँग लागत(साझेदारी विकल्प उपयोग गर्ने दक्षिण एसियाकै पहिलो बनेको छ ।

    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले यो खोपले १२ बर्ष उमेर माथिका नेपालीलाई खोपको विकल्प विस्तार गर्न मद्दत गर्ने बताएका छन् । नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यो सहयोग समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश भएको बताएका छन् । कोरोना महामारी विरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १०४ मिलियन डलर उपलब्ध गराएको छ, जसमध्ये ६७।५ मिलियन खोेप खरिद र विस्तारमा खर्च हुने समेत विश्व बैंकले जनाएको छ ।

  • सरकारले सेयर धितोमा ठूला लगानीकर्तालाई कस्यो, अब १२ करोड भन्दा बढी ऋण नपाइने

    सरकारले सेयर धितोमा ठूला लगानीकर्तालाई कस्यो, अब १२ करोड भन्दा बढी ऋण नपाइने

    काठमाडौं । सरकारले सेयर धितो राखेर ऋण लिने ठूलो लगानीकर्तालाई लगाम लगाएको छ । यसअघि सेयरको धितो मूल्यांकनको सीमालाई भने ७० प्रतिशत राखी सोका आधारमा मागेजति कर्जा दिने गरिएको थियो । अब भने नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो राखेर ऋण प्रवाहमा कडाइ गरेको हो । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको छ ।

    नयाँ व्यवस्थाअनुसार सेयर धितो ऋणको सीमा एक संस्था वा व्यक्तिको बढीमा १२ करोड रुपैयाँ हुनेछ । एक बैंकबाट बढीमा चार करोड रुपैयाँभन्दा बढी ऋण लिन पाइनेछैन । विभिन्न बैंक तथा संस्थाहरुबाट गरेर जम्मा १२ करोड मात्रै ऋण पाइने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको हो । यसबाट ठूलो लगानीकर्ता प्रभावित हुने छन् । साना लगानीकर्तालाई भने यसले कुनै असर गर्नेछैन । सेयरको धितो मूल्यांकनको सीमालाई भने ७० प्रतिशतमा यथावत् नै राखिएका कारण समेत बजारलाई भने यसले प्रभाव पार्ने छैन ।

  • अशक्त, अपांग र दीर्घरोगीलाई घरमै गएर कोभिडविरुद्धको खोप लगाउन सर्वोच्च अदालतको आदेश

    अशक्त, अपांग र दीर्घरोगीलाई घरमै गएर कोभिडविरुद्धको खोप लगाउन सर्वोच्च अदालतको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यस्तो आदेश दिएको हो ।

    खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकहरुलाई घरघरमा गएर कोरोनाको खोप दिनुपर्ने माग गर्दै अधिवक्ता प्रवेश केसीले रिट दायर गरेका थिए ।

    ‘खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिडडुल गर्न नसक्ने, अस्पतालले पहिभान गरेको दीर्घ रोगी तथा फरक क्षमता भउका, दुवै आँखा नदेख्ने व्यक्तिहरुसमेतका लागि राज्यले वडा वडास्तरबाट लगत संकलन गरी वा उपयुुक्त अन्य माध्यमबाट पहिचान गरी घरघरमा पुगी कोभिड खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिब समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्व निर्वाहको लागि कार्यक्रम संचालन गर्नु गराउनु भनी सर्वाेच्च अदालतको नियमावली, २०७४ को नियम ४९(२) (क) बमोजिम विपक्षीहरुको नाममा यो अन्तरिम आदेश जारी गरिएको छ’ अदालतको आदेशमा भनिएको छ ।

  • ‘एमसीसी सम्झौता राष्ट्रघाती छ, सिधै खारेज गरौँ’

    ‘एमसीसी सम्झौता राष्ट्रघाती छ, सिधै खारेज गरौँ’

    काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसंगै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमससी) सम्झौताको विषय जोडदार रुपमा उठ्न थालेको छ ।

    यसअघि देउवा नेतृत्वको सरकारले एमसीसीमा हस्ताक्षर गरेकाले सरकारले एमसीसी सम्झौतालाई अगाडी बढाउला कि नबढाउला भन्ने सर्वत्र चासो छ ।

    नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) नेपालको हित विपरीत भएकाले खारेज गर्न माग गरेकी छन्।

    शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले एमसिसीलाई राष्ट्रघातीको संज्ञा दिएकी हुन्।

    ‘देशभन्दा माथि कोही पनि हुँदैन। पूर्ववतर्ती ओली सरकारले संविधान संशोधन गरी भारतले मिचेको भूमि समेटेर नक्सा जारी गरेको थियो’, उनले भनिन्, ‘उक्त भूमि फर्काउन पो राष्ट्रिय सहमति चाहिने हो। तर यहाँ त एमसिसी पास गर्न राष्ट्रिय सहमति खोजिँदैछ।’

    उनले विकासका लागि बाह्य शक्तिको हस्तक्षेप कुनै पनि हालतमा सह्य नहुने बताइन् ।

    ‘दुवै कानुन बाझिएको खण्डमा एमसीसीको कानुन लागू हुने भनिएको छ। यिनै आधार काफी छैनन् र एमसिसी खारेज गर्न ? विकासका लागि बाह्य शक्तिको हस्तक्षेप कुनै पनि हालतमा सह्य हुने छैन्,’ सांसद पालले भनिन् ।

    यसअघि केपी ओलीकै पालामा अनुमोदन हुनुपर्ने बताइएपनि दलहरुबीच कुरा नमिल्दा एमसीसी संसदमा विचाराधिन छ ।

    केही अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण एमसीसी पारित नभएको बताएका थिए । आफू निकट नेताहरुसँगैको भेटमा प्रधानमन्त्री देउवाले एमसीसी पारित नगर्न प्रचण्डको दबाब रहेको बताएका थिए ।

  • ओली ‘मेन्टल्ली र फिजिकल्ली फिट नभएको’ शब्द संसदको रेकर्डबाट हटाइयो

    ओली ‘मेन्टल्ली र फिजिकल्ली फिट नभएको’ शब्द संसदको रेकर्डबाट हटाइयो

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबारे गरेको टिप्पणी संसदको रेकर्डबाट मेटाइएको छ ।

    नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले साउन २८ गतेको बैठकमा निवर्तमान प्रधानमन्त्री ओली ‘मेन्टल्ली र फिजिकल्ली फिट नभएको’ टिप्पणी गरेका थिए ।

    यादवको टिप्पणीबारे प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले शब्द हटाउन रुलिङ गरा हुन् । एमालेका सांसदहरुले उभिएर विरोध गरेपछि सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई समय दिएका थिए ।

    प्रमुख सचेतक भट्टराईले ‘अमर्यादित भाषा प्रयोग गरेको’ विषयमा सभामुखले ध्यानाकर्षण भएको बताए पनि नहटाएकोमा आपत्ति जनाएका थिए ।

    भट्टराईको मागपछि सभामुख सापकोटाले रुलिङ मार्फत् ती शब्द हटाउन आदेश दिएका हुन् ।

  • तालिवानले भन्यो : दोस्रो ठूलो शहर कान्दहार नियन्त्रणमा आयो

    तालिवानले भन्यो : दोस्रो ठूलो शहर कान्दहार नियन्त्रणमा आयो

    काबुल । युद्ध जारी राखेको तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ। बीबीसीका अनुसार उक्त सहर नियन्त्रणमा लिनु तालिबानका लागि निकै महत्त्वपूर्ण विजय हुनेछ। उक्त सहर कुनै बेला तालिबानको बलियो पकड भएको क्षेत्र हो । यो अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र समेत हो ।

    अफगानिस्तानमा जारी लडाइँकाबीच तालिबानले बिहीवार थप मुख्य सहरहरू गज्नी र हेरातलाई आफ्नो नियन्त्रणमा लिएको छ । बीबीसीले लेखे अनुसार तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने क्रममा त्यसलाई सबैभन्दा नाटकीय ढङ्गको श्रृङ्खलाबद्ध कब्जा मानिएको छ । उता विश्व शक्ति राष्ट्रहरूले भने सैन्य शक्तिद्वारा अफगानिस्तानमा स्थापना हुने सरकारलाई आफूहरूले मान्यता नदिने बताइसकेका छन् ।

    अमेरिका र ब्रिटेनले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा अफगानिस्तानबाट लैजान पुनः काबुलमा सैनिक समेत पठाउने भएका छन् । दक्षिणी हेल्मन्ड प्रान्तको राजधानी लश्कर गाहलाई पनि तालिबानले नियन्त्रणमा लिएको छ । उसले हालसम्म देशको एक तिहाइ भूभागमा आफ्नो नियन्त्रणमा लिइसकेको समेत बताएको छ । अब तालिवान राजधानी काबुलतर्फ अगाडी बढेको छ । यसले भिषण युद्ध हुने अनुमान गरिएको छ । अहिले राजधानीमा तालिबानले नियन्त्रण गरेका क्षेत्रबाट अहिले हजारौँ नागरिकहरू भागेर आएका छन्।

  • लुम्बिनीमा मुख्यमन्त्री र मन्त्रीहरुले लिए सपथ

    लुम्बिनीमा मुख्यमन्त्री र मन्त्रीहरुले लिए सपथ

    बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले सपथ लिएका छन् । बिहीबार माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार केसीलाई बहुमतको दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री केसीले आजै प्रदेश प्रमुखसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    मुख्यमन्त्री केसीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा मूख्यमन्त्री बनाइएको हो । केसी रोल्पाको निर्वाचन क्षेत्र १ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०४६ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका नेता हुन् । माओवादी युद्ध लडेका उनी जनमुक्ति सेनाको कम्पनी कमिसारसम्म भएका थिए ।

    मुख्यमन्त्री केसीले आजै मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसका डिल्ली चौधरीलाई सहरी तथा ग्रामीण विकास मन्त्रीमा र माओवादीका कृष्णध्वज खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको छ । जसपाका सहसराज यादव भौतिक पूर्वाधार मन्त्रीमा तथा पुर्मती डेंगा र सुमन शर्मा रायमाझी विना विभागीय मन्त्रीमा नियुक्त गरेका छन् । अजय शाही समेत विना विभागीय मन्त्री बनेका छन् ।

  • पत्रकारलाई सुनौलो पाईलाको सम्मान

    पत्रकारलाई सुनौलो पाईलाको सम्मान

    अमृता के सी ( रोनी )

    काठमाडौं, श्रावण २८ । गोकर्णेश्वर ९ स्थित सुनौलो पाइलाले कोभिडमा अग्रपंक्तिमा खटिएका मिडियालाई सम्मान तथा कोभिड सुरक्षा सामाग्री वितरण गरेको छ। गोकर्णेश्वर नगरपालिका भित्र कोरोना कहरको बिचमा आफ्नो ज्यान जोखिममा राखेर आम मानिसलाई सु-सूचित गराउन हरदिन कार्य क्षेत्रमा खटेर महत्वपूर्ण भूमिका खेलेको भन्दै सुनौलो पाइला संस्थाले रोज बायोमेडिकल कन्सर्नसंगको सहकार्यमा विभिन्न संचारगृहमा कार्यरत पत्रकारहरुलाई सम्मान गरेको छ । उक्त संस्थाले एक कार्यक्रमका बीच सम्मान सहित प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको थियो।

    सम्मान कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक छिरिङ दोर्जे लामा र विशेष अतिथि गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेले संयुक्त रूपमा पानसमा दिप प्रज्वलन गरि गरेका थिए ।कोभिड–१९ को महामारीका बीच पनि अग्रपङ्तिमा रही काम गर्ने विभिन्न सञ्चार संस्था र त्यहाँ कार्यरत पत्रकारहरुलाई संस्थाकी अध्यक्ष रोजिना बिष्ट, प्रमुख अतिथि र विशेष अतिथिले संयुक्त रुपमा सम्मानपत्र, प्रेस ज्याकेट, स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहित पत्रकार र सञ्चार संस्थालाई सम्मान गरेका थिए।सम्मान पाउने संचार संस्थाहरुमा गोकर्णेश्वर खबर डटकम, कपन अनलाइन, मकालु खबर, विश्व न्युज डटकम, न्युज 24, योहो टि. भि., हिमपात डटकम, अक्षरपाटी डटकम र सिधा दृष्टि रहेका थिए।

    बुधबार गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेंसीगाउ स्थित भेनस नेशनल कलेजको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता सुनौलो पाइलाकी संस्थापक अध्यक्ष रोजिना बिष्टले गरेकि थिइन् । उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गो. न.पा.वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, गो.न.पा.वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, गो. न. पा. वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल,भेनस नेशनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतम, नेपाल मेडिकल कलेज ट्रेड युनियनका अध्यक्ष किरण के सी, मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखा सभापति ईश्वर पुडासैनी, समाजसेवी, बुद्धिजीवी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहित संस्थाको पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सांसद छिरिङ दोर्जे लामाले आयोजकलाई धन्यबाद दिएका थिए। विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सु-सूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारले स्रोतसाधन तथा स्वास्थ्य सामग्रीको अभावमा उच्च जोखिम मोलेर पत्रकारिता गरिरहेको बताउदै उनीहरुले गर्दै आएको कामको उच्च प्रसंशा गरेका थिए। साथै उनले आलोचनात्मक विषयलाई नि सकारात्मक तरिकाले प्रचार प्रसार गर्न समेत सुझाव दिएका छन् ।

    कार्यक्रमलाइ सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका प्रमुख चालिसेले आयोजकलाई धन्यबाद दिदै छिट्टै नगरमा पनि पत्रकार तथा सञ्चार संस्थालाई सम्मान गर्ने बताए । ‘राज्यले गर्नुपर्ने सम्मान एउटा संस्थाले गरेकोमा संस्थाको प्रसंशा गरेका थिए।उनले पत्रकारलाई सत्य तथ्य र निश्पक्ष तरिकाले पत्रकारीता गर्न आग्रह गर्दै राम्रोलाई राम्रो र नराम्रोलाइ नराम्रो भन्नु पर्ने बताएका थिए।

    कार्यक्रम धन्यवाद ज्ञापन गर्दै सभापति बिष्टले कोभिड १९ को पहिलो अवस्था देखि हालको अवस्था सम्म आइपुग्दा समेत विभिन्न संघ संस्था बन्द भइ निषेधाज्ञा जारी भएको संक्रमणकाल समेत आफ्नो ख्याल नगरि अग्रपङ्तिमा रही जनतालाई सु-सूचित गराउँदै आएका पत्रकारलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताएकी थिइन्।साथै आफू पनि यो भयावह समयमा ठाउँ-ठाउँमा राहत लिएर जादाको स्थिती स्मरण गर्दै पत्रकारहरुको हौसला बढाउन सकेको सहयोग गरेको बताइन् ।

  • नेपालमा थप ३२६० जनामा कोरोना पुष्टी, २२९४ जना संक्रमण मुक्त

    नेपालमा थप ३२६० जनामा कोरोना पुष्टी, २२९४ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२०६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १० हजार ८०६ पीसीआर परीक्षणका क्रममा २४७३ र ४६५६ एन्टीजेन परीक्षणका क्रममा ७८७ जना गरी ३२६० जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २५हजार ७६९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २२९४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३७७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३२जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ ।

  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

    प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

    नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा बिहीबार बिहान केसीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

    ८७ सदस्यीय प्रदेश सभामा अहिले ८० सदस्य छन्। जसमध्ये केसीको पक्षमा कांग्रेसका १९, माओवादीका १८, जसपाका तीन र जनमोर्चाका एक जनाले समर्थन गरेका छन्। त्यस्तै, सूर्य चिह्नबाट चुनाव लडेका अजय शाहीले पनि केसीलाई समर्थन जनाएका छन्।

    योसँगै केसीको पक्षमा ४२ सांसद पुगेका छन्। सरकार गठनका लागि ४१ सांसद आवश्यक पर्छ। प्रतिपक्षी दल एमालेसँग ३७ जना सांसद रहेका छन् ।

  • पाँच महिनामा एक लाख ९३ हजार नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण

    पाँच महिनामा एक लाख ९३ हजार नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण

    काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पाँच महिनामा करिब २ लाख जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेका छन् ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्त्वको विषयमा बोल्दै राज्यमन्त्री श्रेष्ठले तीमध्ये करिब ३८ हजारलाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्ने आकलन रहेको बताए । तीमध्ये ९ हजार ६ सय ९३ जनालाई आईसीयू आवश्यक पर्ने प्रक्षेपणका आधारमा कार्ययोजना तयार गरिएको श्रेष्ठले जानकारी दिए ।

    हाल पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या १९ पुगेको उनले जानकारी दिए ।

  • सरकारसँग एक लाख ७३ हजार डोज खोप मौज्दात,असोजसम्म १ करोड डोज आपूर्ति हुने

    सरकारसँग एक लाख ७३ हजार डोज खोप मौज्दात,असोजसम्म १ करोड डोज आपूर्ति हुने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारसँग अहिले एक लाख ७३ हजार डोज कोभिड खोप मौज्दात रहेको बताएका छन् ।

    बिहीबार प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको विषयमा बोल्दै उक्त जानकारी दिएका हुन् । प्रदेश र जिल्लामा २० लाख ७१ हजार डोज खोप मौज्दात छ ।

    त्यसमध्ये भेरोसेल करिब नौ लाख, एस्ट्राजेनेका करिब ११ लाख ५० हजार र जान्सिन करिब २१ हजार डोज मौज्दात जनाकारी दिए ।

    असार मसान्तसम्म ९७ लाख डोज खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए ।

    आगामी असोजसम्म १ करोड ८ लाख डोज खोप नेपाल आइपुग्ने सुनिश्चित भएको उनको भनाइ छ ।

    अघिल्लो सरकारको पालामा ९७ लाख मात्रा खोप प्राप्त गरी असार मसान्तसम्म ४२ लाख डोज खोप जनतालाई उपलब्ध गराइएको बताउँदै नयाँ सरकार आएपछि हिजोसम्म ७५ लाख डोज खोप लगाइएको जानकारी दिए ।

    आउने प्रक्रियामा ३ करोड ३६ लाख ७१ हजार ९५० डोज छ । त्यसमध्ये असोज मसान्तसम्ममा एक करोड दुई लाख डोज प्राप्त हुने उनले दिनलाई जानकारी दिए । उनका अनुसार माघसम्ममा ५ करोड २३ लाख डोज खोप आपूर्ति हुने अनुमान छ ।

  • हिमाञ्चल प्रदेशमा सडकमाथिबाट खसेको पहिरोले सवारी साधन पुर्यो, कम्तिमा १० को मृत्यु

    हिमाञ्चल प्रदेशमा सडकमाथिबाट खसेको पहिरोले सवारी साधन पुर्यो, कम्तिमा १० को मृत्यु

    हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा सडकमा गुडिरहेका सवारी साधनमा भीरबाट पहिरो खस्दा ठूलो मानवीय क्षति भएको छ । प्रदेशको किन्नोर नामक यस्तो दुर्घटना भएको हो । सडक माथिबाट पहिरो खस्दा कम्तिमा १० जनाको मृत्यु भएको पुष्टी भएको छ । १४ जना घाइतेको उद्धार गरिएको छ । राष्ट्रिय राजमार्गमै भएको दुर्घटनामा बस, ट्रकसहित केही साना गाडी समेत पुरिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । सडकमाथिको पहाड खसेको थियो ।

    पहिरोमा गाडीसहित केही यात्रु अझै पुरिएको आशङ्का छ । अहिले खोजी कार्य जारी छ । पहिरो गएको जानकारी पाउना साथ राहत र उद्धारको टोली खटिएको थियो । पहिरो पछि पनि ठूला ढुङ्गा खसिरहेकाले उद्धारमा केही कठिनाइ भएको छ । हिमाञ्चल प्रदेशका मुख्मन्त्री जयराम ठाकुरले पहिरोमा पुरिएकाहरुको उद्धारका लागि हरसम्भव प्रयास गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

  • लुम्बिनी प्रदेशमा संघकै शैलीमा सरकार गठन हुने

    लुम्बिनी प्रदेशमा संघकै शैलीमा सरकार गठन हुने

    बुटवल । लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै भएका छन् । त्यहाँका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई बिहीबार दिउँसो तीन बजेसम्मको समय दिएर सरकारमा दाबी पेस गर्न आह्वान गरेका छन् । कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्नेछन् ।

    विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेका छन् । कांग्रेस र माओवादीबीच आठ(आठ महिना सरकारको नेतृत्व गर्ने सहमति समेत भएको छ । सोही सहमति अनुसार सुरुको आठ महिनाका लागि माओवादी नेता केसीलाई अघि सारिएको हो । मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सोही अनुसार बुधबार प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल थियो । तर प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल शुरु नहुँदै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए ।

  • कैलालीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    कैलालीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    कैलाली । कैलालीमा जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । कैलालीको भासु भिरबाट जिप खस्दा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । धनगढीबाट छुटेको प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको चुरे गाउँपालिका ६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका १ की पाँच वर्षीया एलिसा खड्काको निधन भएको छ । दुर्घटनामा जोरायल १ का जीप चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे गाउँपालिका ६ का सुशील साउँद घाइते छन् । दुर्घटनाको कारण खुलेको छैन । घाइतेहरुको उपचार जारी रहेको छ ।

  • परीक्षा दिने विद्यार्थीेले प्रवेश पत्र देखाएर खोप लगाउन पाउने

    परीक्षा दिने विद्यार्थीेले प्रवेश पत्र देखाएर खोप लगाउन पाउने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन भइरहेको विभिन्न तहको परीक्षामा भाग लिने विद्यार्थीले परीक्षाको प्रवेश पत्र देखाएर खोप लगाउन सक्ने भएका छन् । कोभिड–१९ विरुद्धको खोप विद्यार्थीलाई प्राथमिकताका आधारमा दिने सम्बन्धमा यस्तो निर्णय भएको हो । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय सरकारले गरेको छ ।

    विद्यार्थीले काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा खोप लगाउन सक्ने भएका छन् । त्रिविमा स्नातक र स्नातकोत्तर तहको परीक्षा जारी छ । परीक्षामा करिब ६० हजार विद्यार्थी सहभागी छन् । परीक्षा केन्द्रबाट संक्रमण फैलने त्रासले विद्यार्थीहरुमा मानसिक चिन्ता थपिएको भन्दै विद्यार्थी संगठनले विद्यार्थीलाई प्राथमिकताका आधारमा खोप दिन आह्वान गरेका थिए ।

  • खोप खरिदका लागि एडीबीद्वारा १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण प्रदान

    खोप खरिदका लागि एडीबीद्वारा १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण प्रदान

    काठमाडौं । कोभिड–१९ विरुद्धको खोप खरीदका लागि नेपाल सरकार र एशियाली विकास बैक (एडीबी) बीच १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्बन्धी सम्झौता भएको छ।

    बुधवार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एशियाली विकास ब्यांकका नेपालस्थित निर्देशक आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

    सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरीद गरी राष्ट्रिय खोप योजनालाई सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ। यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन्।

    कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एशियाली विकास ब्यांकको सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

    एडीबीका नेपालस्थित निर्देशक कुस्वाले यो सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे।

    उनले महामारीबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई ब्यांकले पुर्‍याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए।

  • विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको पदबहाली

    विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको पदबहाली

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले पदबहाली गरेका छन्।

    बुधबार दिउँसो नेपाल विद्युत प्राधिकरणमा घिसिङले पदबहाली गरेका हुन्।

    बुधबार नै नियुक्ति पत्र बुझेलगत्तै घिसिङ विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगेका उनलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए । घिसिङले बुधबार नै पदभार ग्रहण गरेका छन् ।

    नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मानेका थिएनन् ।

    गत वर्ष भदौ २९ गते चार वर्षे कार्यकाल पूरा गरेका घिसिङको पुनःनियुक्तिका लागि जनस्तरबाट चर्को दबाब परे पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका थिए।

    दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाउन भूमिका खेलेका घिसिङ जनस्तरमा निक्कै लोकप्रिय छन्।

    माओवादी केन्द्रसहित कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गरिएको हो।

    नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई फेरी जिम्मेवारी दिन सर्वत्र माग भएको थियो तर यसअघिको केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएको थिएन। कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई जिम्मेवारी दिइएको थियो।

  • रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए राजीनामा

    रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए राजीनामा

    काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् ।

    सरकारले प्रष्टीकरण सोधेर सरकारले हटाउने तयारी गरिरहँदा भट्टराईले त्यसअघि नै आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

    आचरण र अनियमितताको आरोप लगाउँदै अघिल्लो मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले गत सोमबार आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै राजनीतिक पूर्वाग्रह साँधिएको भन्दै प्रष्टीकरण नदिने बताएका थिए । उनले बुधबार भने राजिनामा दिएका छन् ।

  • लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

    लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा पत्र बुझाएका हुन्। आज प्रदेश सभामा उनीविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल हुँदै थियो। विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

    मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका थिए। उनको विपक्षमा ४१ जना सांसद छन् भने पक्षमा एमालेका ३८ सांसद मात्रै थिए। एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्रनम्बर २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

  • काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गतराती एक बजे काठमाडौंको अनामनगरमा रोकि राखेको प्रदेश–३ ०१–००६ ख ०७९७ नम्बरको टिप्परमा बा २ ब ७५९८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सुर्खेतका २९ वर्षीय सन्देश बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीको उपचारका क्रममा सिभिल अस्पताल नयाँबानेश्वरमा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौंकै नयाँ बसपार्कमा आफैँ चढेको बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । लु २ ख ५२ ४२ नम्बरको बसबाट ओर्लिएका कपिवस्तुका ८० वर्षीय कुतबुल्ला मुसलमानलाई त्यही बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । मंगलबार बेलुका साढे सात बजे दुर्घटनामा भएकोमा राति ११ बजे उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गएको हो । बस चालकलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।

  • लुम्बिनीमा शंकर पोखरेलको कुर्सीको टुंगो आज लाग्दै, राजिनामाको तयारीमा पोखरेल

    लुम्बिनीमा शंकर पोखरेलको कुर्सीको टुंगो आज लाग्दै, राजिनामाको तयारीमा पोखरेल

    बुटवल । लुम्बिनीमा लामो समयदेखिको सत्ता परिवर्तनको रस्साकसीको आज निर्णायक दिन हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

    मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ मा तेस्रो पटक अविशवास प्रस्ताव दर्ता गराएका हुन् । उनीविरुद्ध यसअघि वैशाख ६ र २६ मा समेत अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट राजिनामा दिएका पोखरेलले एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा सपथ लिएका थिए ।

    सोही दिन विपक्षीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा ४२ सांसदहरुको हस्ताक्षर सहित दाबी पेश गरेका थिए । तर, प्रदेश प्रमुखले पोखरेललाई नै नियु्क्ती दिएका थिए । वैशाख २६ मा दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भए पनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान नगरेपछि यस प्रस्तावमा प्रक्रिया नै अगाडी बढेको थिएन ।

    लुम्बिनीमा सत्तारुढ दल एमालेसँग ३८ सीट छ । बहुमत पुर्याउन भने ४१ सांसदको समर्थन चाहिन्छ । विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत चाहिन्छ । विपक्षी दलमा एकता कायम रहेमा शंकर पोखरेलको कुर्सी ढल्छ । उता पोखरेल भने पुनः अविश्वासको प्रस्ताव भोग्नु भन्दा राजिनामा दिने तयारीमा छन् ।

  • नेपालमा २६ लाख मानिसले लगाए कोरोना खोपको डबल डोज, १ करोड डोज भित्रियो

    नेपालमा २६ लाख मानिसले लगाए कोरोना खोपको डबल डोज, १ करोड डोज भित्रियो

    काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको १ करोड डोज खोप भित्रिएको छ । नेपाल खोप उत्पादक मुलुक होइन । सोहीकारण नेपालले अनुदान वा खरीदमा भर पर्नु परेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार नेपाल भित्रिएको खोपको विवरण सार्वजनिक गरेका हुन् । उनका अनुसार २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

    नेपालमा अहिलेसम्म १ करोड डोज खोप भित्रिएको छ । नेपालमा अमेरिका, भारत, चीन, भुटान र जापानबाट खोप आएको छ । नेपालमा १४ माघ २०७७ बाट कोरोना विरुद्धको खोप लगाउन थालिएको हो । तर, खोपको आपूर्ति कम भएका कारण नेपालले खोप अभियानलाई तिब्र बनाउन भने सकेको छैन । सरकारले चैत भित्र खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

  • सरकारको स्वेतपत्र सार्वजनिक : अर्थतन्त्रका परिसूचक सकारात्मक देखिएनन्

    सरकारको स्वेतपत्र सार्वजनिक : अर्थतन्त्रका परिसूचक सकारात्मक देखिएनन्

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले केपी ओलीले नेतृत्व गरेको सरकारका पालामा भएका काम र त्यसले अर्थतन्त्रा छाडेको छाप समटेर तयार पारेको स्वेतपत्र सार्वजनिक गरेका छन् । यसअघि पूर्ववर्ती सरकारको कामको आलोचना गर्न भने तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले सिकाएका हुन् । उनले तत्कालिन नेपाली कांग्रेस नेतृत्वको सरकारले देशको अर्थतन्त्र निकै कमजोर अवस्थामा छाडेको दावि गरेका थिए । अहिले कांग्रेस र माओवादी केन्द्रको सरकार छ । वर्तमान सरकारले समेत ओलीको पालामा अर्थतन्त्र निकै कमजोर अवस्थामा पुगेको भन्दै स्वेतपत्र ल्याएको हो ।

    कोभिड महामारीको उचित व्यवस्थपन गर्न नसक्दा अर्थतन्त्र सही दिशामा नगएको र यसले मानव जिवन समेत बढी क्षति भएको सरकारको विश्लेषण छ । ओली सरकारले हरेक वर्ष राखेका आर्थिक वृद्धिका लक्ष्य पुरा गर्न नसकेको, पूँजित खर्च कम भएको देखिएको छ । ओलीले नेतृत्व गर्दा ७ खर्ब सार्वजनिक ऋण रहेकोमा यो बढेर १७ खर्ब पुगेको देखिएको छ । पूर्व सरकारले स्रोत सुनिश्चितता करीव ३ खर्ब ५७ अर्बका आयोजना अगाडी बढाएको देखिएको छ । यसमा रेल र सडकका आयोजनाको हिस्सा बढी छ । श्वेतपत्रमा सरकारले वैदेशिक स्रोतको परिचालन गर्ने विषयमा सरकार असफल भएको बताएको छ ।

    सरकारले हरेक साल लिने वैदेशिक ऋण परिचालनको लक्ष्यमा ५० प्रतिशत समेत प्रगति प्राप्त गर्न सकेको नदेखिएको तथ्यांक् छ । सरकारको बजेट निर्माण र कार्यान्वयनको क्षमतामाथि समेत प्रश्न उठाइएको छ । वैदेशिक लगानी भित्राउन ओली सरकारले ठोस पहल नगरेको समेत वर्तमान सरकारको आरोप छ । यसबीचमा रेमिट्यान्स बढेको र निर्यातमा समेत उल्लेख्य वृद्धि भएको देखिएको छ । मूल्य वृद्धि समेत नियन्त्रणमै रहेको छ । अर्थमन्त्री शर्माले स्वेतपत्र संसदमा प्रस्तुत गरेका हुन । यसअघिका अर्थमन्त्री खतिवडाले मन्त्रालयबाट सार्वजनिक गरेका थिए ।

  • उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा लम्बियो, बेलुकी ८ बजेपछि गाडी चलाउन नपाइने

    उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा लम्बियो, बेलुकी ८ बजेपछि गाडी चलाउन नपाइने

    काठमाडौं । काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइने भएको छ । बिहीबारदेखि लागू हुने गरी उपत्यकामा बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

    मंगलबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि अत्यावश्यक सेवाका सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।

    कोरोना संक्रमण बढ्दै गएसँगै रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । निजी तथा सार्वजनिक सवारीसाधन संचालनमा रोक लगाइए पनि अत्यावश्यक सवारीसाधन भने जुनसुकै बेला पनि संचालन गर्न पाइने जनाइएको छ ।
    यस्तै, बैठकले हाल कायम निषेधाज्ञा भदौ ८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

  • ‘तपाईको मास्क खै’ अभियानसहित ट्राफिक प्रहरी सडकमा

    ‘तपाईको मास्क खै’ अभियानसहित ट्राफिक प्रहरी सडकमा

    काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथामका लागि तपाईको मास्क खै भन्दै ट्राफिक प्रहरी सडकमा आएको छ ।

    ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले उक्त रिबन न्युरोड गेटमा खटिएका ट्राफिक प्रहरीहरुलाई लगाइ दिएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

    उपत्यकाको ४४ ट्राफिक कार्यालयका ९०० जना ट्राफिक प्रहरीहरुलाई आजैबाट ड्उटीको समयमा अनिबार्य उक्त रिबन प्रयोगमा ल्याउन शुरु गरेको महाशाखाले जनाएको छ ।

    कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले यस अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिबार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित समेत गर्ने बताए ।

    यस अघि ट्राफिक प्रहरीले प्ले कार्ड प्रदर्शन, सार्वजनिक स्थानमा मास्क वितरण, सार्वजनिक यातायातमा अनिबार्य मास्कको प्रयोग गर्न सचेतना जगाउने, सामाजिक दुरी कायम गर्न र सिट क्षमता भन्दा बढि यात्रु नचढाउन र अनिबार्य मास्कको प्रयोग गर्न गराउन सचेत गराउँदै आएको छ ।