Category: समाचार

  • कोरोनाको तेस्रो लहर निकै नजिक छ : स्वास्थ्य मन्त्रालय

    कोरोनाको तेस्रो लहर निकै नजिक छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देश कोरोना सङ्क्रमणको तेस्रो लहरको निकै नजिक रहेको भन्दै सचेत रहन आह्वान गरेको छ । बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका दौरान स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले देश कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएका छन् ।

    पछिल्ला दिनमा धेरै मानिसमा टाउको दुख्ने, सामान्य ज्वरो आउने वा कोरोनासँग मिल्दोजुल्दा समस्या लिएर अस्पताल जाने क्रम बढेको छ । उनका अनुसार स्वास्थ्यमा जटिल समस्या अएका कारण पनि केही व्यक्ति अस्पताल भर्ना भइरहेका छन् । यसले अस्पतालमा बिरामीको चाप बढेको छ । अर्कोतर्फ तथ्यांकले समेत यो पुष्टी गरिरहेको छ ।

    पछिल्लो ४३ दिनयताकै सर्वाधिक संक्रमण बुधबार पुष्टी भएको छ । डा. अधिकारी भन्छन्, ‘मुलुक तेस्रो लहर तिर अगाडि बढ्न थालेको हो की भन्ने संकेत हामीले देखिरहेका छौं, विस्तारै त्यो अवस्था देखिदै गएको पनि छ ।’ उनले कोरोना परीक्षण निःशुल्क भइरहेको भन्दै कोरोना परीक्षणको दायरामा आउन आह्वान गरेका छन् ।

  • मेलम्चीको भौगर्भिक अध्ययन गर्न बिहीबारबाट ड्रोनसहित टोली खटिने

    मेलम्चीको भौगर्भिक अध्ययन गर्न बिहीबारबाट ड्रोनसहित टोली खटिने

    काठमाडौं । बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र आक्रान्त बनेको छ । यसले ठूलो मानवीय तथा भौतिक क्षति निम्त्याएको छ । यहाँका बासिन्दाले आफ्नो जिवनकालमा यसअघि कहिल्यै पनि कल्पना समेत नगरेको यो विपदको कारण पत्ता लगाउन र भौगर्भिक अध्ययन गर्न भूगर्भविद्को टोली खटिने भएको छ । बिहीबार खानी विभागको प्राविधिकहरुको टोली सो क्षेत्रमा जाने भएको हो । प्राविधिक टोलीले बाढी र पहिरोको कारण बारे विस्तृत अध्ययन गर्ने बताइएको छ ।

    बाढीमा लेदो बगेको छ । यसकारण पहाड नै फुटेर त्यसबाट निरन्तर माटो र ढुंगा पानीसँगै बगेको हो । यसले मेलम्ची खानेपानी आयोजना समत अन्यौलमा परेको हो । यो टोलीले सकेसम्म मेलम्ची खोलाको मुहान सम्म नै पुगेर अध्ययन गर्ने भएको हो । अध्ययनको लागि चाहिने उपकरणको साथै डोनमार्फत त्यस क्षेत्रको अवस्था हेरिने बताइएको छ । विज्ञ टोली मुहानमा पाल टाँगेर बस्नेछ ।

    स्थलगत अध्ययन पछि कसरी के कारणले बाढी पहिरो आयो भनेर कारण पत्ता लाग्ने अपेक्षा विभागले गरेको छ । यसअघि स्थानीय तहबाट हेलिकोप्टरका माध्यमबाट सो क्षेत्रको अवलोकन गर्दा ठूल्ठूलो पहिरो गएको र चौरमा दरार फाटेका कारण अझै ठूलो जोखिम रहेको देखिएको थियो । अध्ययन पछि लेदो बग्नुको कारण र त्यस क्षेत्रका आगामी दिनमा हुने सक्ने थप क्षतिबारे विस्तृतमा थाहा हुने भएको हो । टोलीमा विभाग, र प्राकृतिक विपत् जोखिम न्यूनीकरण तथा व्यावस्थापन प्राधिकरणबाट विज्ञहरु खटिँदैछन् ।

  • करीव दुई किलो सुनसहित तीन भारतीय पक्राउ, विदेशबाट आउने नेपालीमार्फत तस्करी

    करीव दुई किलो सुनसहित तीन भारतीय पक्राउ, विदेशबाट आउने नेपालीमार्फत तस्करी

    काठमाडौं । प्रहरीले १ किलो ८ सय ६६ ग्राम सुनसहित काठमाडौंको एक होटेलबाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटुका २७ वर्षीय साकिर अली, भारत राजस्थानकै २८ वर्षीय अब्दुल सतार र राजस्थानकै २४ वर्षीय प्यार मोहम्मद रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसनधान कार्यालययले सिनामंगलका अनुसार उनीहरुलाई सिरहा मल्हनिया होटलबाट पक्राउ गरिएको हो ।

    उनीहरुले वैदेशिक रोजगारीबाट आउने नेपालीमार्फत सुन तस्कर गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । वैदेशिक रोजगारीबाट फर्कनेहरुले विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्याउने गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

  • जापानले नेपाललाई दिएको खोप शनिबार काठमाडौं आउने निश्चित

    जापानले नेपाललाई दिएको खोप शनिबार काठमाडौं आउने निश्चित

    काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप शनिबार काठमाडौं आउने भएको छ । काठमाडौंस्थित जापानी दूतावासका अनुसार शनिबार र आइतबार गरि पहिलो लटमा कुल ८ लाख डोज खोप काठमाडौं आउने भएको छ । यो खोप पहिलो डोज लगाएर दोस्रो डोज कुरिरहेका जेष्ठ नागरिकका लागि उपलब्ध हुने छ ।

    काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी जापानले अनुदानमा दिएको १६ लाख डोजमध्ये ८ लाख खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने निश्चित भएको जानकारी दिएको हो । बाँकी खोप उपयुक्त समयमा नेपाल आउने जापानी दूतावासको भनाई छ । जापानले २९ असारमा कोभ्याक्स सुविधामार्फत खोप आउने जानकारी गराएको थियो । जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले यस्तो घोषणा गरेका थिए । कोभ्याक्स सुविधा मार्फत नेपाललाई एस्ट्राजेनेकाको १६ लाख खोप दिने घोषणा जापानले गरेको हो ।

  • एक दिनमै चार हजार भन्दा माथि संक्रमण, कुन जिल्लामा कति थपिए ?

    एक दिनमै चार हजार भन्दा माथि संक्रमण, कुन जिल्लामा कति थपिए ?

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणले उच्च गति लिँदै गर्दा अस्पतालहरुमा भिडभाड बढेको छ । कतिपय सरकारी अस्पतालमा बिरामीको चाप बढेपछि बेड पाउन मुस्किल भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुना पीसीआर परीक्षण गर्दा २,९७५ जना र ४,९४४ जनाको एन्टीजेन परीगक्षणबाट ११३२ जना गरी ४,१०७ जनामा संक्रमण पुष्टि भएको हो ।

    बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५ हजार ७२ पुगेको छ । तीमध्ये ९ हजार ९५७ जनाको मृत्यु भएको छ । ६ लाख ६१ हजार ६५१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ जना रहेका छन् । जसमध्ये ३० हजार २७० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१४ जना आईसीयू र १५६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९०८, झापामा २९६, कास्कीमा २२६, ललितपुरमा २०६, भक्तपुरमा १६५ र मोरङमा १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरमा १०२, सुनसरीमा ९९, चिनवमा ९२, रुपन्देहीमा ६१, नवलपारसी पूर्वमा ५८, तनहुँमा ५५, नुवाकोटमा ५३ र गोरखामा ४९ जना कोरोना संक्रमित थपिएको तथ्यांक छ ।

  • तीन दिन भित्रै क्रियासिल सदस्यता विवाद टुंग्याउने कांग्रेस नेताहरुबीच सहमति

    तीन दिन भित्रै क्रियासिल सदस्यता विवाद टुंग्याउने कांग्रेस नेताहरुबीच सहमति

    काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताले आगामी तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंग्याउने सहमति गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधबार सम्पन्न छलफलमा यस्तो सहमति जुटेको हो । क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिइने भएको नेताहरुले बताएका छन् ।

    आज सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बैठक बसेको थियो । अरु पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुको सम्बन्धमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा विवाद छ । बैठकमा नेताहरुबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका समेत २ दिन भित्र टुंग्याउने विषयमा छलफल भएको बताइएको छ ।

  • मेलम्ची नगरपालिकाले भन्यो : उच्च जोखिम भएका घरमा नबस्नु

    मेलम्ची नगरपालिकाले भन्यो : उच्च जोखिम भएका घरमा नबस्नु

    मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बाढीका कारण उच्च जोखिममा रहेका घरमा नबस्ने आह्वान गरेको छ । १ असारयता मेलम्चीमा ढुंगा र हिलोमाटोसहितको बाढीले नदीतटीय क्षेत्रका घरमा ठूलो क्षति गरेको छ । बस्ती क्षतिगस्त भएको र थप क्षतिको सम्भावना रहेको भन्दै मेलम्ची नगरपालिकाले यस्तो आह्वान गरेको हो । नगरपालिकाले असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरिरहेको समेत जनाएको छ ।

    बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशी व्यक्त समेत गरेको छ । तत्कालका लागि सामूहिक रूपमा बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको व्यवस्था गरेको थियो । ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुख डम्बर अर्यालले उल्लेख गरेका छन् ।

    कुपनको व्यवस्था गरी एक महिनाका लागि खाद्यान्न वितरण गर्ने काम भएको समेत उनले जानकारी दिएका छन् । पहिरोको माथिल्लो भेगको अवस्थाको मुल्याङ्कन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझावबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको नगरपकालिकाको अपिलमा उल्लेख छ ।

    हालसम्म नगरपालिकामार्फत एक हजार २७८ थान ग्याविन बक्स, ४७८ टिप ढुङ्गा, सात वटा मेसिन लगातार एक महिनासम्म खोलामा आवश्यकताका आधारमा प्रयोग एवं परिचालन गरिएको नगरपालिकाले जनाएको छ । यस कार्यमा भएका खर्चहरु नगरपालिकाले अहिलेसम्म आफ्नो वेबसाइटमा सार्वजानिक गर्दै आएको समेत जनाएको छ ।

    बाढी प्रभावितहरुको सम्पूर्ण विवरण सङ्कलन गरी नगर कार्यपालिकाको निर्णयानुसार प्रभावितहरुको वर्ग छुट्याएर रु २५ हजार, रु २० हजार, रु १५ हजार र रु १० हजारका दरले तत्कालका लागि प्रभावितहरुको बैंक खातामा जम्मा गर्ने कार्य सुरु भइसकेको समेत बताइएको छ ।

    अस्थायी आवास निर्माणका लागि नेपाल सरकारबाट प्राप्त हुने रु ५० हजार सम्झौता गरी प्रभावितहरुलाई वितरण गर्ने तयारी भइरहेको छ । पुनर्निर्माणका लागि प्राप्त हुने रु पाँच लाख र बसोबासयोग्य जग्गा नहुनेका लागि थप रु तीन लाख समेत प्राप्त हुने सुनिश्चित भइसकेको उनले जानकारी दिए ।

  • अफगानिस्तानका रक्षामन्त्रीको निवासमा विद्रोहीको आक्रमण, कम्तिमा चार जनाको मृत्यु

    अफगानिस्तानका रक्षामन्त्रीको निवासमा विद्रोहीको आक्रमण, कम्तिमा चार जनाको मृत्यु

    काबुल । अफगानिस्तानमा रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गरेका छन् । बीबीसीका अनुसार यो आक्रमणमा परि कम्तीमा चार जनाको मृत्यु भएको छ । आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी भने घरबाहिर थिए । सोहीकारण उनी सकुसल रहेको समाचारमा उल्लेख छ । बन्दुकधारीहरूले मङ्गलवार काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्रीको निवासमा कार बम हमला गरेका थिए।

    आक्रमणपछि उनीहरुले गोली पनि चलाएका थिए। आक्रमणपछि रक्षामन्त्रीको परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको बीबीसीले लेखेको छ । उक्त हमलामा संलग्न आक्रमणकारीहरू पनि सुरक्षाकर्मीद्वारा मारिएका छन्। मुख्य अफगान सहरहरूमा तालिबान विद्रोही र सरकारी फौजबीच लडाइँ जारी रहेको तथा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌ले तत्कालै हिंसा अन्त्य गर्न आह्वान गरेका बेला उक्त आक्रमण भएको हो।

    इटलियन आकस्मिक चिकित्सा परोपकारी संस्थाले चाहिँ काबुलस्थित आफ्नो स्वास्थ्य सेवा निकायमा उक्त घटनामा मारिएका चारजनाको शवका साथ ११ जना घाइते पनि ल्याइएको बताएको छ। उक्त आक्रमणमा सहभागी चार बन्दुकधारी समेत मारिएको बताइएको छ। घटनापछी रक्षामन्त्रीले आत्तिनु पर्ने कुरा नभएको भन्दै सबै सामान्य भएको बताएका छन् ।

  • माधव नेपाल पक्षले निर्णय दिन नसक्दा मन्त्रीपरिषद् बिस्तार अलमल

    माधव नेपाल पक्षले निर्णय दिन नसक्दा मन्त्रीपरिषद् बिस्तार अलमल

    काठमाडौं । सरकार गठन भएको तीन साता बितिसकेको छ । तर, प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीपरिषद् बिस्तार गर्न सकेका छैनन् । यसबाट उनको आलोचना बढेको छ । सत्ता साझेदार दलहरुमध्ये नेकपा एमालेको माधव नेपाल पक्षले ठोस निर्णय दिन सकेको छैन । सोहीकारण देउवाले मन्त्रीपरिषद् बिस्तार गर्न नपाएका हुन् । माधव नेपाल पक्षमा दुई धार छ ।

    एउटा धार सरकारमा जानुपर्ने पक्षमा छ । अर्कोधारका नेताहरु भने एकताको पक्षमा छन् । उता, एमाले अध्यक्ष केपी ओली समेत माधव नेपाल पक्षलाई निरन्तर फकाइरहेका छन् । उनको जोड माधव नेपाल बीनाको पार्टी एकतामा छ । एमालेका दोस्रो नेताका तेताहरुले समेत अब एमालेमा माधव नेपालको स्थान नभएको भन्दै उत्तेजित भाषण दिइरहेका छन् ।

    यता, सरकारलाई पूर्णता दिन नसक्दा भने देउवाको आलोचना शुरु भएको छ । अहिले मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित ६ सदश्यीय रहेको छ । स्वास्थ्य मन्त्रालयमा पूर्ण मन्त्री छैनन् । यहाँ देउवाले राज्य मन्त्रीमा व्यापारी पृष्ठभूमिका सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेपनि यो निर्णय आलोचित बन्न पुग्यो । अन्य दलबाट थप मन्त्रीको नाम आएको छैन ।

    यसमा माधव नेपाल पक्षलाई कति मन्त्री दिने वा सो समूह आउने, नआउने निश्चित नभएका कारण अन्य दलले समेत नाम दिन सकेको छैनन । यसैबीच बुधबार माधव नेपाल पक्षका केन्द्रिय सदस्यहरुको बैठक आज राजधानीमा बोलाइएको छ । यो बैठकले ठोस निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।

  • ८२ नयाँ वकिललाई अवसरसहित गरिबका समस्या समाधानमा पहल गरिँदै

    ८२ नयाँ वकिललाई अवसरसहित गरिबका समस्या समाधानमा पहल गरिँदै

    काठमाडौँ । चर्चित टेलिभिजन कार्यक्रम ‘गरिवका लागि न्याय’ ले ८२ जना नयाँ वकिललाई अवसर दिने भएको छ । अधिवक्ताको प्रमाणपत्र लिई अदालती अभ्यास गर्ने अवसर नपाएका नयाँ वकिललाई प्राथमिकता दिएको कार्यक्रम संचालक विकल गिरीले जानकारी दिए । ७७ वटै जिल्लामा एक–एक जना र काठमाडौँमा थप पाँच जना नयाँ वकिललाई कार्यक्रममा आवद्ध गराउने गिरीले जानकारी दिए । इच्छुक वकिलले साउन २० गतेदेखि भदौ ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

    मेघा न्युज नेटवर्क प्रालिद्वारा योहो टेलिभिजनमा संचालित गरिवका लागि न्याय कार्यक्रममा आएका विभिन्न कानुनी समस्या, देशभरका न्यायिक तथा अर्धन्यायिक निकायमा गई बहस, पैरवी तथा मिलापत्रलगाएतका काम गर्न ७७ वटै जिल्लामा वकिल आवश्यक परेको गिरीले बताए । शंखमुलस्थित मेघा न्युज नेटवर्क प्रालिको काठमाडौँ शंखमुलस्थित केन्द्रीय कार्यालय, मोवाइलत नं. ९८५१०३९०८५ वा इमेल [email protected] मार्फत सम्पर्क गर्न सकिने छ । अधिवक्ताको प्रमाणपत्र लिई अदालती अभ्यास गर्ने अवसर नपाएका नयाँ वकिललाई प्राथमिकता दिइने प्रालिले बताएको छ ।

  • ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज, रेलका हाकीमलाई स्पष्टीकरण

    ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज, रेलका हाकीमलाई स्पष्टीकरण

    काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । केपी शर्मा ओलीको नेतृत्वको सरकारले एमाले नेता देवीप्रसाद ज्ञवालीलाई संयोजक राखेर आयोग बनाएको थियो । आयोगको देशका ७५ वटै जिल्लामा स्थानीय एमाले नेतालाई संयोजक तोकिएको थियो । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको जानकारी दिएका हुन् ।

    सरकारले अघिल्लो सरकारले एकलौटी गरेका निर्णयहरु धमाधम सच्याइरहेको छ । सरकारले आजै रेल विभागका महानिर्देशक गुरुप्रसाद भट्टराईसँग समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । कानुन मन्त्री कार्कीका अनुसार रेल विभागका महानिर्देशक भट्टराईले आचरण विपरित कार्य गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको हो । रेल विभागमा बसेर उनले सरकारको आलोचना गर्ने गरेका छन् । उनलाई समेत केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति दिएको हो ।

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

    ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

    यसअघि हिजो विपक्षी गठबन्धनमा आवद्ध दलका नेताहरुले नवनियुक्त प्रदेश प्रमुखलाई भेटेर नयाँ सरकार गठनको प्रकृया थाल्न आग्रह गरेका थिए । शंकर पोख्रेलको नेतृत्वको सरकार अल्पमतमा परेको उनीहरुको भनाइ छ ।

  • उपत्यकामा बढ्दो भिडले चिन्ता, अनुगमन गर्न टोली खटिने

    उपत्यकामा बढ्दो भिडले चिन्ता, अनुगमन गर्न टोली खटिने

    काठमाडौं । कोरोना महामारीका बीच काठमाडौं उपत्यकामा बढेको मानिसहरुको अत्यधिक भिडले अधिकारीहरुको चिन्ता बढाएको छ । स्वास्थ्य मन्त्रालयले तेस्रो लहर आउने चेतावनी दिइरहेको समयमा कोरोना सङ्क्रमण समेत बढिरहेको छ । भीडभाड नरोकिएपछि काठमाडौं उपत्यकामा अब अनुगमन टोली नै खटिने भएको छ । अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन गरिएको छ ।

    समितिले आजबाट उपत्यकामा अनुगमन थाल्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बढी भीडभाड हुने क्षेत्र र सार्वजनिक गाडीलाई प्राथमिकतामा राखेर अनुगमन गरिने भएको छ । अनुगमनका क्रममा मास्क नलगाइएको पाइए कारबाही हुनेछ ।

    मास्क नलगाएकाहरुलाई पहिला मास्क लगाउन प्रोत्साहन गर्ने र अटेर गरेमा कारबाही हुने भएको छ । उपत्यकामा अहिलेकै प्रकृतिको निषेधाज्ञा केही समय लम्ब्याउने तयारी छ । त्यसले पनि नियन्त्रण नभए कडाई गर्ने तयारी सरकारको छ । यस विषयमा मंगलबार कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीको बैठक बस्दैछ ।

  • सांसद पद गुमेका पूर्वमाओवादी नेतालाई पुनर्बहाली गर्न सर्वोच्चको अश्वीकार

    सांसद पद गुमेका पूर्वमाओवादी नेतालाई पुनर्बहाली गर्न सर्वोच्चको अश्वीकार

    काठमाडौं । सर्वोच्च अदालतबाट माओवादी केन्द्रले सांसद पदबाट निकालेका चार नेताको सांसद पद अन्ततः फिर्ता नहुने भएको छ । सर्वोच्च अदालतबाट उनीहरुको पद पुनर्बहाली गर्न अस्वीकार गरेको हो । आफूलाई दल त्यागमा पार्टीले गरेको कारबाही खारेज गरी सांसद पदमा पुनर्बहाली माग गर्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी सर्वोच्च पुगेका थिए । उनीहरूको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले उनीहरूले माग गरेअनुसारको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    उनीहरु अध्यक्ष केपी ओलीले प्रमाणित गरेको पार्टीको दस्तावेजमा एमालेका पार्टी सदस्य रहेको खुलेको भन्दै सर्वोच्चले उनीहरुको पद फिर्ता गर्न अश्वीकार गरेको हो । उनीहरूले दल त्याग गरेको जानकारी चैत २६ गते प्रतिनिधिसभा बैठकमा दिइएको देखिएको थियो । आदेशमा भनिएको छ, ‘माओवादीले आफ्नो विवेक वा तजविज प्रयोग गरी दल त्यागमा गरेको निर्णयको औचित्य वा अन्तरवस्तुमा प्रवेश गरी अहिले नै अन्तरिम आदेशकै सन्दर्भमा प्रश्नहरूको निरूपण गर्नु मनासिव देखिँदैन ।’

    फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। त्यसपछि उनीहरुलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका थिए।

  • युनिफाइड अस्पतालको प्रमुखबाट हटाइए डा. जागेश्वर, थापाथलीको स्त्री रोग अस्पतालमा सरुवा

    युनिफाइड अस्पतालको प्रमुखबाट हटाइए डा. जागेश्वर, थापाथलीको स्त्री रोग अस्पतालमा सरुवा

    काठमाडौं । कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख पदबाट डा. जागेश्वर गौतमलाई हटाइएको छ ।

    स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा. गौतमलाई हटाएको हो । उनको ठाउँमा डा. रुद्र मरासिनीलाई ल्याइएको छ।

    गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । त्यतिबेला स्वास्थ्य मन्त्रालयका प्रवक्ता रहेका डा. गौतमलाई गत जेठमा युनिफाइड अस्पतालमा सरुवा गरिएको थियो ।

    डा.गौतमले कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप पनि लगाइएको छ।

  • सुरक्षाकर्मीबाहेक अन्य सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

    सुरक्षाकर्मीबाहेक अन्य सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने घोषणा गरेका छन्।

    सोमबार मन्त्रालयमा सार्वजनिक स्वास्थ्य र माहामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मी मात्र लिने जानकारी गराएका छन्।

    ‘सवारीसाधन, आवास र तलब भत्तालगायत कुनै पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु’ उनले भने। उनले राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि आफ्नो व्यक्तिगत सबै व्यावसायिक सङ्लग्नताबाटसमेत अलग हुने निर्णय गरेको बताए। ‘पदमा रहदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म सङ्लग्न नहुने प्रतिबद्धता सार्वजनिक गर्दछु’ उनले भने। श्रेष्ठ यही साउन १० गते राज्यमन्त्रीमा नियुक्त भएका थिए।

  • यस वर्ष मनसुनजन्य विपद्का कारण हालसम्म ६७ जनाको मृत्यु, ४० बेपत्ता

    यस वर्ष मनसुनजन्य विपद्का कारण हालसम्म ६७ जनाको मृत्यु, ४० बेपत्ता

    काठमाडौं । यसवर्षको मनसुन सुरु भएयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।

    विशेषगरी बाढीपहिरोका कारण ५५ जिल्लामा अकल्पनीय क्षति भएको छ। जेठ मसान्तदेखि हालसम्म बाढीपहिरोमा घटनामा परेर ६७ जनाले ज्यान गुमाएको राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले बताए ।

    जसमा ४० जना बेपत्ता भएका छन् भने ८१ जना घाईते भएका छन् । सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको उनले बताए । बढी मात्रामा खसेको पहिरो र सक्रिय मनुसनका कारण दर्जनौं मानिसले ज्यान मात्र गुमाएका छैनन्, भौतिक क्षति पनि उत्तिकै भएको छ।

    विभिन्न ४० जिल्लामा ६१९ निजी घर पूर्ण क्षति, १६२ वटा घरमा आंशिक क्षति भएको पनि उनले उल्लेख गरे । उनले असार १ गते मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्केमा आएको बाढीमा परी ५ जनाको मृत्यु, २० बेपत्ता र ६ जना घाइते भएको बताए । ३३८ घर पूर्ण रुपमा क्षति भएको, ७ वटा पुल, १४ वाट झोलुंगे पुल, १ वटा माछा फार्म र ३२ वटा सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको समेत क्षति उनले जानकारी दिए ।

    यसपालि अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम धेरै रहेको विज्ञले बताउँदै आएका छन् । नेपालमा जेठमा मनसुन भित्रिएको थियो । मनसुन भित्रिएकै भोलिपल्ट सिन्धुपाल्चोकका बाढीले अकल्पनीय क्षति गरेको थियो ।

  • अब नेपालमा पनि ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने, के हो अवधारणा?

    अब नेपालमा पनि ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने, के हो अवधारणा?

    काठमाडौं । अब नेपालमा समेत ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने भएको छ । कसैका शिशुले आमाको दूध नखाने, कसैको दूध नआउने र कतिपय आमाले खुवाउनै नसक्ने समस्या भएको अवस्थामा सबै बालबालिकालाई आमाको पोशिलो दुध खुवाउन सक्ने अवधारणासहित नेपालमा ‘मिल्क बैंक’ स्थापना हुने भएको छ । आमाहरूले दान गर्ने दूध सुरक्षित रूपमा राखेर शिशुलाई खुवाउन मिल्ने गरी थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्न लागिएको छ ।

    अस्पतालकी निर्देशक डा. संगीता मिश्रलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार तीन महिनाभित्र मल्कि बैंक सञ्चालनमा ल्याइसक्ने योजना छ । उनका अनुसार मिल्क बैंकले आकस्मिक स्थितिमा शिशुहरूलाई आमाको दूध सुनिश्चित गर्नेछ । विभिन्न मुलुकमा यस्ता बैंक नवजात शिशुलाई पोषण पुर्‍याउन र रोक्न सकिने खालको मृत्युलाई कम गर्न प्रभावकारी भएको छ । जन्मेदेखि ६ महिनाको हुन्जेलसम्म स्तनपान गराउँदा शिशु मृत्युदर घटाउन सकिने अनुसन्धानहरुको निष्कर्ष रहेको छ । बिरामी शिशुलाई समयमै आमाको दूध दिँदा ज्यान जोगिने सम्भावना ६ गुणाले बढ्ने बताइन्छ ।

    मिल्क बैंक संचालन गर्न स्थान छनोट समेत भइसकेको छ । आगामी ६ महिना भित्र सातै प्रदेशमा मिल्क बैंक स्थापनाका लागि पहल गर्ने तयारी अस्पतालको छ । प्रसूति गृहमा स्थापना हुने मिल्क बैंकमा दूध दान गर्ने आमाहरूको एचआईभी, एचबीएसजी, डब्लूबीआरएल लगायत परीक्षण हुनेछन् । परीक्षणबाट कुनै समस्या नदेखिए ब्रेस्ट मिल्क पम्पको माध्यमले आमाको दूध संकलन गरिने भएको छ । दूधको गुणस्तर ‘मिल्क एनलाइजर’ को माध्यमले सुनिश्चित गर्ने तयारी छ । संकलित दूधमा कुनै रोगव्याधि नरहेको परीक्षणबाट सुनिश्चिततापछि पास्चराइजेसन गरेर एक सय मिलिलिटरको बोतलमा राखिने भएको छ । माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिजरमा राखिने बोतलमा रहेको आमाको दूध नपाएका शिशुलाई उपलब्ध गराइने भएको हो ।

  • सप्तरीको छिन्नमस्ता शक्तिपिठबाट चाँदीको मुकुट चोरी

    सप्तरीको छिन्नमस्ता शक्तिपिठबाट चाँदीको मुकुट चोरी

    सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएको छ । प्रहरीले मुकुट चोरी भएसँगै भारतसँगको नाका सील गरि खोजी शुरु गरेको छ । आइतबार बेलुका सवा ७ बजे चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाका प्रहरी नायब निरीक्षक रामपुकार महतोलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    महतोका अनुसार पुजारीहरु पोखरीको सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको हो । घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली घटनास्थल पुगेको थियो । मुकुट खोजी गर्न भारतीय सीमानाका बन्द गरिएको छ ।

  • भिषण बाढीका कारण काठमाडौंको तिर्खा मेटाउने मेलम्चीको भविश्य अन्यौलमा

    भिषण बाढीका कारण काठमाडौंको तिर्खा मेटाउने मेलम्चीको भविश्य अन्यौलमा

    काठमाडौं । १ असारको प्रलयकारी बाढी र त्यसमा शनिबार राती थपिएको पहिराले काठमाडौं उपत्यकामा पानी ल्याउन ३० वर्ष अगाडी शुरु भएको मेलम्ची खानेपानी आयोजनाको भविष्य अन्यौलमा परेको छ । सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रमा आइतबार हेलिकोप्टरबाट दृष्य हेरिएको छ । जहाँ मेलम्चि खोलाको अधिकांश स्थानमा पहिरो झरेको छ । यो पहिरोले ल्याएको माटो खोलाले तत्काल बगाउन सक्ने अवस्था छैन ।

    तर, जुन दिन बगाउँछन्, त्यसले पुनः तटीय क्षेत्रमा ठूलो क्षति निम्त्याउन सक्छ । सोहीकारण विज्ञहरुले मेलम्चीको तटीय क्षेत्रमा तत्काल बस्ती नराख्न र बस्ती स्थानान्तरणको सुझाव दिएका छन् । साथै, यसले बहुप्रतिक्षित आयोजना मेलम्चीको भविश्व समेत अन्यौलमा पारेको छ । किनकी मेलम्ची खानेपानी आयोजनाको मुहान मानिने क्षेत्रलाई माथिबाट बगेर आएको माटो र ढुंगाले पुरेको छ । यसको मात्र ज्यादै धेरै छ । सोहीकारण तत्काल नदीबाट यो हटाएर आयोजना सूचारु गर्न सम्भव देखिएको छैन ।

    मेलम्ची क्षेत्रको हेलिकप्टरबाट रेकी गरिएको छ । त्यसपछि विज्ञहरुले आयोजनाबाट तत्काल पानी आउने सम्भावना नरहेको निष्कर्ष निकालेका छन् । मेलम्ची आयोजनाको माथि रहेको भ्रेमाथाङ चौर वर्षौंअघि हिमनदीले बगाएर ल्याएको थेग्रिनीबाट बनेको विज्ञहरुले बताएका छन् । २०७२ सालको भूकम्पपछि उक्त चौर कमजोर बनेको थियो । भ्रेमाथाङमा रहेको ठूलो चौर मेलम्चीमा आएको भेलबाढीले कटान थालेको हो । विज्ञहरुले आयोजना निर्माण शुरु गर्दा जोखिम आंकलन नभएका कारण आयोजनाको भविश्य नै संकटमा परेको हो की भन्ने आंशका समेत गरेका छन् ।

  • पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना पुष्टी, २०२० जना संक्रमण मुक्त

    पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना पुष्टी, २०२० जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५६८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २०२० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३१ हजार २९८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ ।

  • कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र निःशुल्क उपलब्ध गराउन निर्देशन

    कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र निःशुल्क उपलब्ध गराउन निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्न निर्देशन दिएको छ ।

    वैदेशिक रोजगारी तथा अन्य कामको शिलशिलामा विदेश यात्रा गर्नुपर्ने नागरिकहरुलाई खोप लगाएको प्रमाणपत्र नि:शुल्क दिन मन्त्रालयले आइतबार परिपत्र जारी गरेको हो ।

    केही अस्पतालहरूले प्रमाणीकरण गरेबापत् शुल्क लिएको गुनासो आएकाले मन्त्रालयले उक्त निर्देशन दिएको हो । वैदेशिक रोजगारी तथा अन्य कामको सिलसिलामा विदेश जानुपर्दा खोप लगाएको प्रमाणीकरण गराउनुपर्ने हुन्छ ।

    साउन ७ गतेको मन्त्रालयको सचिवस्तरीय निर्णयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने भनिएपनि केही अस्पतालहरुले शुल्क लिइरहेको सूचनामा उल्लेख छ।

    खोप लगाएको प्रमाणीकरणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मीनभवन, पाटन अस्पताल लगनखेल र सशस्त्र प्रहरी अस्पताल बलम्बुले अनुमति पाएका छन् ।

    पहिले शुक्रराज अस्पताल टेकुबाट मात्रै प्रमाणीकरण हुँदै आएको थियो । प्रमाणीकरणका लागि भीड बढेपछि थप तीन अस्पतालहरूलाई पनि प्रमाणीकरण गर्नका लागि अनुमति दिइएको थियो ।

  • कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता

    कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता

    काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका–३, रागाँमलेखास्थित कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा रागाँमलेखाकी २० वर्षीया उर्मिला सलामी मगर, १० दिनको बच्चा र २० वर्षीया पार्वती थापा बेपत्ता भएका छन् ।

    डुंगामा १० जना सवार थिए । पाँच जना पौडी खेलेर बाहिर निस्किएका छन् भने दुई जना घाइते भएको कैलाली प्रहरीले जनाएको छ ।

    घाइते हुनेमा सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगर, एक महिने छोरा कर्ण सलामी रहेका छन् ।

    प्रहरीका अनुसार उनीहरू रागाँ मलेखाबाट बच्चालाई खोप लगाउन काठको डुंगामा सुर्खेतको चौकुने गाउँपालिका–४ मा रहेको स्वास्थ्यचौकी जाँदै थिए ।

    घटनास्थलमा प्रहरी टोली पुगेको र बेपत्ताको खोजी भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

  • भुटानबाट आउने भयो ३ लाख डोज खोप

    भुटानबाट आउने भयो ३ लाख डोज खोप

    काठमाडौं । भुटानले नेपाललाई कोरोना भाइरस विरुद्धको ३ लाख डोज खोप दिने भएको छ । नेपाली संचारमाध्यमले स्वास्थ्य मन्त्रालयका अधिकारीहरु उदृत गर्दै यसको पुष्टी गरेका छन् । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप दिने भएको छ । यो खोप नेपालले जेष्ठ नागरिकलाई एक डोज दिए पनि दोस्रो डोज दिन पाएको छैन ।

    यो प्रयोजनका लागि सहयोगी सावित हुने छ । भारतले खोप रोकेसँगै नेपालमा वृद्धवृद्धाले गत फागुनयता नै दोस्रो डोज पाएका छैनन् । भुटानबाट खोप छिट्टै ल्याउने तयारी भइरहेको र यसमा परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक माध्यममार्फत सरकारीस्तरमा पहल भइरहेको बताइएको छ । भुटानले वयष्क नागरिकमा ९० प्रतिशतभन्दा बढीलाई कोरोनाको दोस्रो डोज लगाइसकेको छ ।

    आफ्ना मुलुकका नागरिकलाई खोप लगाइसकेपछि बाँकि रहने खोप करिब ३ लाख नेपालले पाउने भएको हो । भुटानबाट खोप ल्याउने सम्बन्धमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा समेत छलफल भएको समाचारमा उल्लेख छ । यो बैठकको अध्यक्षता प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए ।

  • सहमतिका लागि भन्दै शनिबार रोकिएको एमाले स्थायी कमिटी बैठक आज

    सहमतिका लागि भन्दै शनिबार रोकिएको एमाले स्थायी कमिटी बैठक आज

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको निर्णायक भनिएको शनिबारको बैठक सहमतिको प्रयासका लागि भन्दै स्थगित भएको थियो । सो बैठक पुनः आज ३ बजे बस्ने गरि बोलाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालको टकरावले पछिल्लो एक वर्षयता पार्टीमा आन्तरिक विवाद चुलिएको छ । एमाले ओली पक्षका केही नेता माधव नेपाल बीना नै पार्टीलाई अगाडी बढाउने जोडबलमा छ् ।

    तर, वार्ता कार्यदलमा रहेका नेताहरु भने अझै पनि सहमतिको प्रयासमा छन् । माधव नेपाल पक्षले भने अब केपी शर्मा ओलीको राजिनामापछि मात्र सहमती हुने अडानमा पुगेको छ । आजको बैठकमा समेत पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।

    पार्टी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम बैठकमा विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे समेत आज छलफल हुँछ । तुलुसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने बैठकअघि नेपाल पक्षलाई पनि सहमतिमा ल्याउन दोस्रो तहका नेता सक्रिय हुनेछन् ।

    शनिबार पार्टीको काठमाडौं जिल्ला कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा ठाउँ नरहेको दोहोर्‍याएका कारण नेता नेपाल आइहाल्ने सम्भावना भने छैन ।

  • मेलम्चीमा पुनः भिषण बाढी, थप घरमा क्षति

    मेलम्चीमा पुनः भिषण बाढी, थप घरमा क्षति

    मेलम्ची । बाढीले क्षतविक्षत पारेको सिन्धुपाल्चोकको मेलम्चीलाई पुनः बाढीले सताएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकको मेलम्चीमा गतरातीदेखि बाढी आउन थालेको हो । बाढीका कारण केही घर पुरिएका छन् । मानिसहरु भने सुरक्षित स्थानमा सरेका कारण मानवीय क्षति हुन पाएन । तालामाराङस्थित प्रहरी चौकी समेत विस्थापित भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार १ असारमा जस्तै लेदो माटोसहितको बाढी आएको छ । यसले थप घरहरुमा क्षति पुगेको छ । गत राति नै रेडियो मेलम्चीको भवन बगाएको छ ।
    हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर नदी थुनिएको थियो । त्यसपछि फुटेको पानीले थप क्षति गरेको हो । चनौटे बजारमा समेत पानीले थप क्षति गरेको छ । १ असारमा आएको बाढीले ५ जनाको मृत्यु भएको थियो । १५ जना अझै बेपत्ता रहेको छन् ।

  • कोरोनाबाट थप २३ को मृत्यु, ३१०६ संक्रमित पुष्टी

    कोरोनाबाट थप २३ को मृत्यु, ३१०६ संक्रमित पुष्टी

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । कोरोना महामारीको दोस्रो लहरपछि नेपालमा औसतः मृत्युदरमा कमी आएको छैन । देशभर उक्त संख्यामा मानिसहरुको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा १९१६ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।

  • नेपाललाई सम्बोधन गरि अकस्मात किन आयो मोदीको ट्वीट ?

    नेपाललाई सम्बोधन गरि अकस्मात किन आयो मोदीको ट्वीट ?

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अकस्मात एक ट्वीट गरे । जसमा नेपाल समेत सम्बोधन भएको छ । उनले हिन्दी भाषामा भनेका छन्, ‘भूटान हो, नेपाल हो, मालदीव हो, मॉरीशस हो, हम सभी सिर्फ पड़ोसी ही नहीं हैं, बल्कि हमारी सोच और सामाजिक तानेबाने में भी बहुत समानता है। हम सभी सुख दुख के साथी हैं। जब भी कोई आपदा आती है, विपत्ति आती है, तो सबसे पहले हम ही एक दूसरे की मदद करते हैं ।’

    बीना कुनै प्रसंग नेपालसहित छिमेकी मुलुकको नाम लिएर उनले गरेको यो ट्वीट दार्चुला घटनासँग जोडेर सामाजिक संजालमा चर्चा शुरु भएको छ । दार्चुलामा भारतीय सीमा सुरक्षा फौजले तुइन चढ्दै गरेका नेपाली युवा नदी पार नहुँदै तुइन निकालेपछि उनी अहिले वेपत्ता छन् । यो घटनाको नेपालमा व्यापक आलोचना भइरहेको छ । भारतको रवैयाविरुद्ध तिब्र विरोध भइरहेको समयमा मोदीले गरेको ट्वीटलाई घटना मत्थर पार्न गरिएको प्रयासका रुपमा अनुमान गरिएको छ । यो घटनाको छानविन गर्न गृहमन्त्री बालकृष्ण खाँडले सुरक्षा निकायलाई निकायलाई निर्देशन दिएका छन् ।

  • माधव नेपालविरुद्ध केपी ओलीको आक्रोस, लगाए ‘देशद्रोही’को गम्भीर आरोप

    माधव नेपालविरुद्ध केपी ओलीको आक्रोस, लगाए ‘देशद्रोही’को गम्भीर आरोप

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई देशद्रोहीको गम्भीर आरोप लगाएका छन् । ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल आन्दोलन विरोधी र देशद्रोही भएको भन्दै उनको एमालेमा अब कुनै ठाउँ नरहेको समेत बताए । वरिष्ठ नेता नेपाल पक्षले एमालेका अध्यक्ष ओलीको राजिनामा मागिरहेको समयमा उनको यस्तो उद्घोष आएको हो ।

    एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले भने ‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन, ‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने ।’

    ओलीले जनताको सरकार ढलेर दक्षिणपन्थीको पार्टी बनेको समेत आरोप लगाए । माधव नेपालले प्रतिक्रियावादीहरुसँग मिलेर एमालेको सरकार ढालेको उनको आरोप छ । पार्टीको सरकार ढल्दा अग्रगमनको आफ्नो सपनामै ढक्का लागेको उनको भनाई छ । पार्टीको सरकार ढल्दा जनताको सरकार ढलेको भन्दै अहिले दक्षिणपन्थीको सरकार बनेको ओलीको आरोप छ ।

    उनको यो उत्ताउलो भाषणले एमालेमा तत्काल एकताको सम्भावना क्षीण भएको देखिएको छ । किनकी आजै राजधानीमा आयोजना भएको अर्को एक कार्यक्रममा माधव नेपाल पक्षका नेताहरुले एकता चाहने भने हो भने ओलीले अध्यक्ष पदबाट राजिनामा दिनुपर्ने बताएका छन् ।

  • जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

    जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा संसदीय दलको नेता उपेन्द्र यादव चयन भएका छन्। शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो। बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा यादव दलको नेतामा चयन भएका हुन् । संसदीय दलको बैठकमा २२ जना सांसद उपस्थित थिए । २० जना प्रतिनिधिसभाका र २ जना राष्ट्रिय सभाका सांसदले यादवलाई नेता चयन गरेको हो । भट्टराई र यादव पक्षले आधिकारिकता पाएसँगै जसपाले संसदीय दलको नेता चयन गरेको हो ।