Category: समाचार

  • पछिल्लो २४ घण्टामा २२३७ जना कोरोना संक्रमित थपिए, २०५० संक्रमण मुक्त

    पछिल्लो २४ घण्टामा २२३७ जना कोरोना संक्रमित थपिए, २०५० संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२३७ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ५६९ पीसीआर परीक्षणमा १५३९ र ३२६५ जनाको एन्टिजेन परीक्षणमा ६९८ जना गरी २२३७ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २०५० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६१५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २७ हजार २२८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।

  • नेपालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत १८ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।

  • काठमाडौं उपत्यकाभित्र १० दिन निषेधाज्ञा थपियो, पुरानै मोडालिटी

    काठमाडौं उपत्यकाभित्र १० दिन निषेधाज्ञा थपियो, पुरानै मोडालिटी

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा साउन २० गतेसम्म थप्ने निर्णय गरेको छ।

    यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आज सकिदैछ । काठमाडौं उपत्यकाभित्र बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ।

    विभिन्न प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ ।

    यस्तै, खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न/गराउन पाइने छैन् ।

    विवाह, ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्नरगराउन, पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न नपाउने, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा पठन-पाठन गर्न नपाउने उललेख गरिएको छ ।

  • संसदीय समितिमा माधव नेपालले भने, ‘प्रतिगमनको मतियार बाहिर जानुस्’

    संसदीय समितिमा माधव नेपालले भने, ‘प्रतिगमनको मतियार बाहिर जानुस्’

    काठमाडौं । संसद पुनःस्थापनापछि पहिलोपटक बसेको संसदीय समितिमा एमालेका नेताहरुबीच नै भनाभन भएको छ । आज बसेको संसदीय ससितिमा नेकपा एमालेका सांसदहरुबीच संसद पुनःस्थापनाको विषयलाई लिएर भनाभन भएको हो ।

    बैठकमा एमालेका वरिष्ठ नेता माधकुमार नेपालले संसद पुनःस्थापना भएको भन्दै खुसी व्यक्त गरे । उनले ठूलो संघर्षबाट संसद पुनःस्थापना भएको बताए । नेता नेपाल लगायतले बोलेको केही समयपछि ओली पक्षीय सांसद नारदमुनि रानाले बोलेका थिए ।

    रानाले बोल्ने क्रममा नेता नेपालप्रति कटाक्ष गर्न थाले । उनले संसद चाहनेहरु बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिएको बेला कहाँ गएका थिए भनी प्रश्न गरे । साथै उनले यो संसद जनताले नभई अदालतले पुनःस्थापना गरेको बताए ।

    रानाले भने, ‘आफ्नो पार्टीको प्रधानमन्त्री हुँदा घरमा सुतेर बस्ने अनि संसद चाहिन्छ भन्ने ? यो संसद अदालतले ल्याएको हो जनताले होइन । यसको जिम्मेवारी वरिष्ठ नेताले लिनुपर्छ ।’ यसरी नेपालसहित अन्य नेताहरुलाई कटाक्ष गर्न थालेपछि नेपाल पक्षका सांसद दीपकप्रकाश भट्ट आक्रोशित भए । त्यसपछि नेता नेपाल पनि बोल्न सुरु गरे ।

    आक्रोशित हुँदै नेता नेपाल र भट्टले रानालाई ‘प्रतिगमनको मतियार बाहिर जानुस्’ भनेर झपारे । नेपाल र भट्टसँगै कांग्रेसका सांसदहरुले पनि प्रतिगमनलाई साथ दिने अनि समितिमा आएर जथाभावी बोल्ने भन्दै रानामाथि खनिएका थिए ।

  • कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

    कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

    काठमाडौं । नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्।

    आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेकी हुन् ।

    सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला प्रधानमन्त्री देउवाले पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा तानेका हुन् ।

    योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।

    ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीज्यूसँगै रहने गरी माननीय श्री उमेश श्रेष्ठज्यूलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

  • जंगली च्याउ खाँदा इलाममा बाबुछोराको मृत्यु

    जंगली च्याउ खाँदा इलाममा बाबुछोराको मृत्यु

    इलाम । इलाममा जंगली च्याउ खाएका बाबुछोराको मृत्यु भएको छ । जिल्लाको फाकफोकथुममा जङ्गली च्याउ सेवनबाटबाबु–छोराको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बु छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार गत साउन ३ मा घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । दुवै जनालाई उपचारका लागि विराटनगरमा रहेको नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुवै जनाको अस्पतालमा ज्यान गएको हो । नेपालमा जंगली च्याउ सेवनबाट वर्षेनी ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।

  • काँग्रेस महासमिति सदस्य आत्माराम पौडेलले गरे कुमार बलराम छात्राबासलाई ५० हजारको सहयोग

    काँग्रेस महासमिति सदस्य आत्माराम पौडेलले गरे कुमार बलराम छात्राबासलाई ५० हजारको सहयोग


    अमृता के सी ( रोनी )
    काठमाडौँ, श्रावण ९ ।काँग्रेस महासमिति सदस्य तथा समाजसेवी आत्माराम पौडेलले लक्ष्मी प्रतिष्ठान द्वारा संचालित कुमार बलराम छात्राबासलाई नगद तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन्।

    शनिबार काभ्रे धुसेनी शिवालय स्थित छात्राबास पुगेर पौडेलले २० हजार नगद तथा ३० हजारको शैक्षिक तथा खेलकुद सामाग्री गरी ५० हजार रुपैयाँ बराबरको सहयोग गरेका हुन्। छात्राबास द्वारा आयोजित एक औपचारिक कार्यक्रममा पौडेलले नगद तथा शैक्षिक खेलकुद सामाग्री छात्राबासकी वार्डेन बिपना भुर्तेललाई हस्तान्तरण गरेका हुन् ।चितवनको अती विकट कान्दामा २०० सय चेपाङ विद्यार्थीलाई आफ्नै छात्राबासमा राखेर निशुल्क पठनपाठन गर्दै आएको प्रतिष्ठानले कान्दाबाट माध्यामिक स्तरमा पुगेका विद्यार्थीलाई भने काभ्रेको धुसेनीस्थित छात्राबासमा राखेर निशुल्क अध्यापन गराउदै आएको छ ।धुसेनीको छात्राबासमा बसेर हाल ५१ जना विद्यार्थी निशुल्क अध्यन गरिरहेका छन् । साबिक कपन गा बि स का पूर्व अध्यक्ष पौडेल यस अगाडि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका छन् ।धुसेनी शिवालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा छात्राबासमा बसोबास गर्दै आएका विद्यार्थीले शैक्षिक तथा खेलकुद सामाग्री लिएर पुगेको समाजसेवी पौडेलको सम्पूर्ण परिवारलाई स्वागत गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

  • कोरोनाबाट नेपालमा थप १६ जनाको मृत्यु

    कोरोनाबाट नेपालमा थप १६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीका कारण १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा उक्त संख्यामा मृत्यु भएको हो । यो अवधिमा ३,११४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको तथ्यांक छ । कोरोनाबाट नेपालमा पहिलो लहरभन्दा दोस्रो लहरमा दोब्बर भन्दा बढीको ज्यान गएको छ । संक्रमण केही कम भएको भन्दै निषेधाज्ञा खुकुलो गरिएपछि बढेको चहलपहलका कारण संक्रमणले भने तिब्रता लिएको छ ।

  • नेपालमा बढ्यो कोरोना संक्रमण दर, ३११४ मा संक्रमण पुष्टी हुँदा २१९७ ले जिते

    नेपालमा बढ्यो कोरोना संक्रमण दर, ३११४ मा संक्रमण पुष्टी हुँदा २१९७ ले जिते

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर वृद्धि भएको छ । केही दिन स्थिर रहेको संक्रमण अब दैनिक ३ हजार भन्दा माथि पुगेको छ । सार्वजनिक यातायात खुला भएको र व्यापार व्यवसायसहितका क्षेत्र समेत खुला भएपछि बजारमा चहलपहल बढेको छ । यसले भाइरसको संक्रमण समेत बढाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    कुल १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा २१९७ जनाले भने कोरोना जितेका छन् । आज काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै काठमाडौं उपत्यकाबाहिर कास्कीमा २७१, चितवनमा २४८, मोरङमा १६४, नवलपरासी पूर्वमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

  • गोपीकृष्ण स्मृति प्रतिष्ठानद्वारा आर्थिक सहयोग

    गोपीकृष्ण स्मृति प्रतिष्ठानद्वारा आर्थिक सहयोग

    झापा

    बिर्तामोडस्थित गोपीकृष्ण स्मृति प्रतिष्ठानले स्व. गोपीकृष्ण खनालको तेस्रो वार्षिक पुण्य तिथीका अवसर पारेर रु. एकाउन्न हजार मंगल सेवा समिति भद्रपुरलाई हस्तान्तरण गरेको छ ।
    ​मेची क्याम्पस भद्रपुरको प्राङ्गणमा पाँच जना पूर्वाञ्चल नेपाली साहित्यकारहरुको प्रतीमा सहित निर्माणाधिन वौद्धिक वाटिकाको निर्माण सहयोगका लागि गोपीकृष्ण स्मृति प्रतिष्ठानले उक्त सहयोग प्रदान गरेको हो ।
    ​बिर्तामोड झापामा पत्रकारिता तथा साहित्यलाई कर्मथलो बनाई विगत ३ दशक योगदान पुर्याएका स्व. खनालको सडक दुर्घटनामा दिवंगत भएपछि उहाँको संझनामा स्थापना भएको गोपीकृष्ण स्मृति प्रतिष्ठानले सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।

    कार्यक्रममा प्रतिष्ठानका संरक्षक श्रीमती रुपादेवी खनाल, सचिव डा. पुण्यप्रसाद पौड्याल कोषाध्यक्ष भानुभक्त खनाल, सदस्यहरु गंगाप्रसाद भट्टराई, खड्गप्रसाद दाहाल लगायत मंगल सेवा समितिका अध्यक्ष श्री गोपाल खनाल सहित सचिव नरेन्द्र तिम्सीना, सह-सचिव हरिओम न्यौपाने, फ़ोटो पत्रकार बिजय बराल लगायत उपस्थित थिए ।
    ​गोपीकृष्ण स्मृति प्रतिष्ठानले गतवर्ष कोटिहोम, सुरुङ्गामा पि.सी.आर. ल्याव स्थापनाका लागि सहयोग प्रदान गरेका थिए । स्व. खनालको स्मृतिग्रन्थ प्रकाशनका लागि प्रेसमा अन्तिम चरणमा रहेको कुरा सचिव मार्फत जानकारी प्राप्त भएको छ । न्युजर्सीको जर्सीसिटी निवासी (स्व.खनालका पुत्र) समाजसेवी मनोज खनालको परिकल्पनामा गठित प्रतिष्ठानले झापाको सेरोफेरोमा सामाजिक कार्य गर्दै आएको छ ।

  • टोकियो ओलम्पिक : जुडोकी सोनिया पराजित

    टोकियो ओलम्पिक : जुडोकी सोनिया पराजित

    टोकियो । जापानमा जारी ओलम्पिकमा आज प्रतिस्पर्धामा उत्रिएका दुबै नेपाली खेलाडी पराजित भएका छन् । नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमै पराजित भइन् । शनिबार सम्पन्न खेलमा राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा उनी रुसी खेलाडी इरिना डोल्गोभासँग हारेकी हुन् । इरिना विश्व वरीयताको नवौं स्थानमा छिन् । सोनिया १ मिनेट १६ सेकेण्डमै पराजित भएकी हुन् । १९ वर्षीय सोनिया वाइल्डकार्ड मार्फत ओलम्पिकमा छनोट भएकी हुन् । इरिना फाइनल पुगेको अवस्थामा सोनियाले पुनः एक पटक प्रतिस्पर्धा गर्न पाउने सम्भावना भने जिवित छ । सोनियाले २०७६ को १३औं दक्षिण एसियाली खेलकुद सागमा महिला ४८ केजीमुनि कास्य जितेकी हुन् ।

  • लायन्स क्लब अफ काठमाडौँ जर्नीको पदस्थापन सम्पन्न

    लायन्स क्लब अफ काठमाडौँ जर्नीको पदस्थापन सम्पन्न


    अमृता के सी ( रोनी )
    काठमाडौँ, श्रावण ८ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको काठमाडौँ पुर्बी भेगस्थित लायन्स क्लब अफ काठमाडौँ जर्नीले लायन वर्ष २०२१ र २०२२ को लागि पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब जर्नीले बानेश्वरस्थित मोजो ब्यांकेट होटेलमा डिस्ट्रिक्ट गभर्नर रेबत बहादुर कार्कीको प्रमुख आतिथ्यमा आफ्नो पदस्थापन कार्यक्रम सम्पन्न गरेको हो ।क्लबकी संस्थापक अध्यक्ष रोज बिष्टको सभापतित्वमा सम्पन्न पदस्थापन कार्यक्रममा संस्थापक अध्यक्ष बिष्टले आफ्नो क्लबले एक वर्ष भित्र गरेका विभिन्न सामाजिक कामहरुको विवरण पेश गरेकी थीईन ।कार्यक्रममा संस्थापक अध्यक्ष रोज बिष्टले नवनिर्वाचित अध्यक्ष विशाल भण्डारीलाई आगामी कार्यकालको लागि दुबोको माला लगाएर अध्यक्ष पद हस्तान्तरण गरेकी थिईन् ।

    पदस्थापन कार्यक्रममा गभर्नर रेवत बहादुर कार्कीले नेपालमा लायन्सको लामो इतिहासको चर्चा गर्दै नयाँ सदस्यहरुलाई सपथ गराउदै नयाँ आगन्तुक सदस्यहरुलाई लायन्स क्लबका निती नियम बारे सम्झाएका थिए ।

    कार्यक्रममा पूर्व गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोर्डिनेटर अनन्त प्रसाद भेटुवाल, पूर्व गभर्नर टंक बहादुर श्रेष्ठ,फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर कर्म गुरुङ,सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर नरनाथ सापकोटा,डिस्ट्रिक्ट सेक्रेटरी धर्म शरण श्रेष्ठ, डिस्ट्रिक्ट क्याबिनेट टेजरर कोमल शाक्य लगायतका लायन चिफ तथा लायन लिडरहरुको उपस्थिति रहेको थियो।

    उक्त कार्यक्रमको दोस्रो सत्रमा लायन वर्ष २०२१/२२ का डिस्ट्रिक्ट गभर्नर रेवत बहादुर कार्किको टिमलाई लायन्स क्लब अफ काठमाडौँ जर्नीको टिमले फूलमालाले भव्य स्वागत तथा सम्मान गरेको थियो।

  • ‘महाराजधिराजबाट हामीलाई आममाफी मिलेछ, गदगद छौं’

    ‘महाराजधिराजबाट हामीलाई आममाफी मिलेछ, गदगद छौं’

    काठमाडौं । नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपालले आममाफीको घोषणा गरेको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

    शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालले ओलीलाई ‘महाराजधिराज’को संज्ञा दिए । उनले भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराबाट अभिव्यक्ति आयो माधव नेपालसहित मान्य सदस्यहरुलाई जति पनि स्पष्टीकरण सोधिएको छ, त्यसलाई आम माफी दिइन्छ । एम्नेष्टि इज ग्रान्टेड ।

    कटाक्षपूर्ण भनाइमा नेपालले थपे, ‘कति हामी गदगद भयौं । महाराजधिराजबाट उवाच । हामी गदगद भयौं वाह वाह । महाराजधिराज कति खुसी भए छन्, हामीलाई आम माफी दिँदै छन् । नाँच्नुपर्ने भयो । यही हो प्रगति यहीलाई कम्युनिष्ट प्रवृत्ति भनिन्छ ।

    नेता नेपालले स्पष्टीकरण सोध्नु गल्ती थियो भनेर भन्नुपर्नेमा ओलीले त्यसो नगरेको टिप्पणी गरे। स्पष्टीकरण सोध्नु गल्ती भयो, हतार गरेँ, मैले फिर्ता लिएको छु भनेको भए के हाइट घट्थ्यो उनले भने, ‘मर्यादा घट्यो डोरी जल्यो तर बाँधिएको गाँठो उस्ताको उस्तै छ । यस्तो पनि हुन्छ ।

    सत्ताबाट बाहिरिएपछि पनि ओलीको शैलीमा सुधार नआएको नेपालको ठम्याइ छ । उनले भने, ‘मान्छे सुध्रिएलान भन्यो । आज सुध्रिन्छन कि भन्या छ भोलि सुध्रिन्छन कि भन्या छ । केही नबोलेर हिजो मीठो(मीठो शब्द पनि मैले बोलेँ पुष्पलाको कार्यक्रममा । ख्याल गरेर बोलेको छु । जिब्रोले बोल्दी पो हाल्लाकी भन्ने कत्रो चिन्ता बादशाहलाई घोडाबाट तल झारेपछि पनि नहुने रहेछ ।

  • नेम्वाङलाई प्रश्न -‘धारा ७६ (५) तपाइलाई बढी थाहा थियो,किन लेखेको’

    नेम्वाङलाई प्रश्न -‘धारा ७६ (५) तपाइलाई बढी थाहा थियो,किन लेखेको’

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सर्वोच्चको परमादेश अनुसार प्रधानमन्त्री भएको भन्ने प्रमुख प्रतिपक्षी एमालेको टिप्पणी गलत भएको बताएका छन् ।

    प्रतिनिधिसभा बैठकमा आफूलाई बधाई दिने सांसदलाई धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढी थाहा भएको तर गलत ब्याख्या गरेको बताए।

    शुभकामना दिने दलहरूलाई धन्यवाद दिँदै उनले आफू संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री भएको भन्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङप्रति प्रश्न गरे,’ संविधानमा धारा ७६ (५) को प्रावधान किन लेखेको ? यसमा प्रष्ट हनुपर्ने तपाईं आफैँ अपव्याख्या गर्ने ?’

    ‘उहाँ आफूले बोलेर जवाफ नसुनिकन हिँडिसक्नुभएछ’,नेम्वाङप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाले भने, धारा ७६ (५) किन राख्नुभो भनेर सोध्नेवाला थिएँ। अरुलाई भन्दा उहाँलाई बढी थाहा थियो, राम्रो ब्याख्या गर्नुहोला भनेको तर उल्टो बोलेर हिँड्नुभो’

    बैठकको सुरुमै प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा बोलेका नेम्वाङ देउवाले धन्यवाद मन्तव्य दिने क्रममा संसद भवनबाट हिँडिसकेका थिए।

    नेम्वाङले अब कहिल्यै पनि संविधान भत्किने छैन र संसद भंग हुने छैन भनेको आफूले सम्झिरहेको देउवाको भनाइ थियो। उनले आफूहरुले विश्वासको मत लिने क्रममा ह्वीप जारी नगरेको पनि स्पष्ट पारे।

    ‘ह्वीप लगाएको होइन, भोट हाल भनेको हो’, उनले भने, ‘अनुरोध गरेको कुरालाई ह्वीप भन्न कहाँ मिल्छ ?’

    राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सदस्यको हस्ताक्षर पेश गरेको व्यक्तिलाई संसदबाट विश्वासको मत लिन आह्वान गर्नुपर्नेमा नगरेको र हस्ताक्षर सनाखत समेत नगरी निवेदन खारेज गरेकाले अदालत जानुपरेको उनको भनाइ थियो । देउवाले आफू संवैधानिक रूपमै प्रधानमन्त्री बनेको दाबी गरे ।

    उनले अब आफ्नो सरकारको पहिलो प्राथमिकता कोरोना खोप भएको भन्दै जति महंगो भए पनि किनेर सबैलाई उपलब्ध गराउने बताए।

  • पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु

    पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत १८ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९पुगेको छ

  • नेपालमा थप २९७७ जनामा कोरोना पुष्टी, १६७८ जना संक्रमण मुक्त

    नेपालमा थप २९७७ जनामा कोरोना पुष्टी, १६७८ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९७७ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ३९८ पीसीआर परीक्षणमा १९८२ र ३६१० जनाको एन्टिजेन परीक्षणमा ९९५ जना गरी २९७७ जनामा संक्रमण पुष्टी भएको हो ।

    काठमाडौं उपत्यकामा थप ६१३ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा सबैभन्दा बढी ४१० जना, ललतिपुर १३४ र भक्तपुरमा ६९ जनामा संक्रमण देखिएको छ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १६७८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३९ हजार ३६८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २७ हजार ६६१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ ।

  • अब पोखरा–नेपालगन्ज रुटमा नियमित हवाई उडान

    अब पोखरा–नेपालगन्ज रुटमा नियमित हवाई उडान

    काठमाडौं । बुद्ध एयर काठमाडौं केन्द्रित उडानलाई प्रदेशहरुबाट पनि विस्तार गरिरहेको छ ।

    जस अन्तर्गत आउँदो १ अगस्त अर्थात साउन १७ गतेबाट पोखराबाट नेपालगञ्जको सिधा उडान भर्न लागेको हो ।

    शुरुवातमा साताको ३ दिन अर्थात आईतबार, बुधबार र शुक्रवार उडान भर्नेछ । अलिक समयपछि यात्रुको माग अनुसार बुद्ध एयरले दैनिकी उडान भर्ने योजना पनि बनाएको छ ।

    यस उडानबाट दुबै शहरका जनता लभान्वित हुनेछन् । उडानबाट यी दुबै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।

    उनका अनुसार नेपालगञ्जबाट केही घण्टाको दुरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कणरली चिसापानीतिर पनि पर्यटकीय मुभमेन्ट हुने हाम्रो विश्वास छ । साथै नेपालगञ्जका वासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् ।

    यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहरहरु लखनउ, कानपुर आदि गन्तव्यका पर्यटकहरु प्नि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमा जनाएको छ ।

    बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु प्नि सञ्चालन गर्नेछन् ।

    बुध्द एयर संक्रमणरहित उडानका लागि प्रतिवद्ध छ । कम्पनीले शुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालिम, पिपिई प्रदान, विमा र त्यसै अनुरुपको हवाईसेवा जुन अहिले पनि पछ्याईरहेको छ । त्यसैले हुनुपर्छ, करोना अघि र पछिका यात्रु संख्यामा भारी फरक देखिएको छ ।

    बुध्द एयरसँग ७२ सिटे एटीआर-७२ जहाज १० वटा, ४२ सिटे एटीआर-४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाजहरु रहेका छन् ।

  • नेम्वाङको कटाक्ष -‘देउवालाई सरकारमा जाने जनादेश कहाँबाट आयो’ ?

    नेम्वाङको कटाक्ष -‘देउवालाई सरकारमा जाने जनादेश कहाँबाट आयो’ ?

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलका उपनेता पूर्वसभामुख तथा एमाले नेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनादेश कहाँबाट आयो भन्दै प्रश्न उठाएका छन् ।

    शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेम्वाङले जनताले प्रतिपक्षमा बस्न कांग्रेसलाई जनातले जनादेश नदिएको दाबी गरे ।

    “प्रधानमन्त्रीलाई बधाई दिनु छ, उहाँले कहाँबाट जनादेश प्राप्त गर्नुभएछ मैले थाहा पाइँन,” नेम्वाङले भने, “उहाँले निर्वाचनबाट जनादेश पाउनुभएको छैन । परमादेशबाट उहाँ आउनुभएको हो ।” तर बधाई दिन म संसदमा उभिएको छु।’

    नेम्वाङले अहिले कांग्रेस नेतृत्वको सरकार बनेकोकाले स्वभाविक रुपमा एमाले प्रतिपक्षमा बसेको बताए। ‘एक मिनेट ढिलो नगरी जिम्मेवार प्रतिपक्षका रुपमा भूमिका खेल्छौँ। कसबाट सिकेको हो कुन्नि हामी पहिलो दिन नै हाउस अवरुद्ध गर्थ्यौँ। साथीहरुले त पहिलो दिन नै अवरुद्ध गरेका थिए’, उनले भने, ‘तर हामी रचनात्मक प्रतिपक्षका रुपमा काम गर्छौँ।’

  • एमाले नेता भीम रावलले फिर्ता लिए राजीनामा

    एमाले नेता भीम रावलले फिर्ता लिए राजीनामा

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्।

    नेता रावलले सभामुख अग्निप्रसाद सापकोटालाई सिंहदरबारस्थित संसद सचिवालयमा भेटेर राजीनामा फिर्ता लिएका हुन्।

    बिहीबार एमाले वरिष्ठ नेता माधव नेपाल रावलको घरमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। त्यसअघि अध्यक्ष केपी ओलीले पनि राजीनामा फिर्ता लिन रावललाई आग्रह गरेका थिए।

    गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लाग्दा रावलले पार्टीभित्रको आन्तरिक असन्तुष्टिका कारण प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए।

  • काठमाडौं उपत्यकामा भूकम्पको धक्का

    काठमाडौं उपत्यकामा भूकम्पको धक्का

    काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ७ बजेर ५ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प मापन गरिएको छ । नजिकै केन्द्रविन्दु भएका कारण उपत्यकामा सानो भूकम्पको समेत धम्का महसुश धेरैले गरेको सामाजिक संजालमा लेखेका छन् ।

  • कोरोनाको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

    कोरोनाको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

    काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी सरकारले दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउन सक्ने भन्दै सचेत रहन भनेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढेको बताएका छन् । यसले तेस्रो लहरको जोखिम बढेको उनको भनाइ छ । तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शैया लगायत पूर्वाधार तयारी अवस्थामा राख्न सेमेत अनुरोध गरिएको छ ।

    मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले उल्लेख गरेका छन् । सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न सरकारले निर्देशन दिएको छ । तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने संभावना रहेको विज्ञहरुले बताएका छन् । नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भइसकेको छ । ६ लाख ३६ हजार ४०२ व्यक्तिले कोरोना जितेका छन् । ९ हजार ६३७ जनाको मृत्यु भएको छ ।

  • कांग्रेसको बैठक अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबस्ने

    कांग्रेसको बैठक अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबस्ने

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अब पार्टीको बैठक नराखिने भएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारको चरम दूरुपयोग गरिएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएर आएपछि पहिलो बैठक बालुवाटारमा बोलाएपछि उनको समेत आलोचना भएको थियो । पार्टी कार्यालयमा धर्ना रहेका कारण बालुवाटारमा बोलाउनु परेको उनले बताएका थिए । तर, शुक्रबार र शनिबार बोलाइएको पार्टी पदाधिकारी बैठक भने प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने भएको छ ।

    कांग्रेसले १४ औँ महाधिवेशन तयारीका लागि पदाधिकारीको बैठक बोलाइएको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नगर्ने स्पष्ट पारे । उनले विगतको गलत–गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने भनी ट्वीट गरेका छन् ।

  • देशभर २७१४ जनामा कोरोना संक्रमण पुष्टी, १२८८ जना संक्रमण मुक्त

    देशभर २७१४ जनामा कोरोना संक्रमण पुष्टी, १२८८ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७१४ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९१२२ पीसीआर परीक्षणमा १८५५ र ३७०७ जनाको एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १२८८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९०जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २७ हजार ३७५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ ।

  • नेपालमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २४ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ

  • अमेरिकाको ‘जोन्सन’ र चीनको ‘भेरोसेल’ खोपमा के छ फरक ?

    अमेरिकाको ‘जोन्सन’ र चीनको ‘भेरोसेल’ खोपमा के छ फरक ?

    काठमाडौं । नेपालमा अहिले विभिन्न देशबाट ल्याइएका र अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको खोप लगाइँदै छ। अनुदानमा प्राप्त विभिन्न कम्पनीका खोपहरू नागरिकलाई दिइन लागिएको हो।

    जसमध्ये अहिले चीनले उपलब्ध गराएको भेरोसेल र अमेरिकाले उपलब्ध गराएको जोन्सन खोपबारे मानिसको चासो बढेको पाइन्छ। यी दुई मध्ये कुन खोप लगाउने नागरिकमा केही अन्यौलता पनि देखिएको छ। जोन्सन र भेरोसेल खोपमा के फरक छ ? जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले नागरिकको जिज्ञासा मेटाउने प्रयास गर्नुभएको छ।

    १. जोन्सन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो।

    २. जोनसन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ।

    ३. जोनसन खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबोडी तयार हुन्छ भने भेरोसेल खोपको दोस्रो मात्रा लगाएको २ हप्तापछि एन्टिबोडी तयार हुन्छ।

    ४. जोनसन खोपले दुर्लभ रूपमा रगत जम्ने वा स्नायु प्रणालीसम्बन्धी समस्या देखिएको छ भने भेरोसेल खोपका साइड इफेक्ट पारदर्शी रूपमा बताइएको छैन।

    ५. जोन्सन खोप सामान्य लक्षण रोक्न ७२ %, सिकिस्त नबनाउन ९६ % र कोभिडबाट मृत्यु रोक्न १०० % प्रभावकारी छ भने भेरोसेल खोप संक्रमण रोक्न ५०-७९ % तथा सिकिस्त कोभिडबाट गम्भीर नबनाउन तथा मृत्यु रोक्न ९० % प्रभावकारी भनिएको छ।

    ६. जोन्सन खोपलाई अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशमा मान्यता छ भने चीनको खोपलाई चीन, अरबियन / अफ्रिकन देशमा मान्यता दिइएको छ। खोपको व्यापारिक तथा राजनैतिक प्रतिष्पर्धाको कारण अहिले मान्यता जे भए पनि केही समयपछि सबै खोपको मान्यता सबैतिर हुनेछ।

    ७. दुवै खोपले कोरोना संक्रमण सरेपनि गम्भीर हुने वा मृत्यु हुने सम्भावनालाई नगण्य बनाउँछन्।

    ८. ज्वरो आउने, शरीर दुख्ने, झुम्म हुने लगायतका साइड इफेक्ट दुवै खोपमा हुन्छ। जुन ३-४ दिनमा ठिक हुन्छ।

    ९. रगतमा प्लेटलेटको समस्या, रगत जम्ने समस्या तथा स्नायु प्रणालीका बिरामीले जोनसन भन्दा भेरोसेल लिनु बढी सुरक्षित हुन्छ।

    १०. तेस्रो लहरबाट बचाउन दुवै खोप सक्षम छन्।

    ११. दुवै खोपले कति समयसम्म काम गर्छन् भन्ने निश्चित छैन। समय बित्दै जाँदा मात्र खोपले काम गर्ने अवधि थाहा हुन्छ।

    १२. आफ्नो उत्पादनलाई सबैले राम्रो भन्ने तर अरूको उत्पादनमा दोष देख्ने विश्वव्यापी परम्परा भए पनि यी दुवै खोप WHO बाट मान्यता प्राप्त र दर्जनौं देशमा लगाइएका खोप हुन्।

    १३. डेल्टा भेरिएन्टको लागि दुवै खोप प्रभावकारी छन्।

    १४. दुवै खोप करोडौं व्यक्तिले लगाएका छन् भने क्लिनिकल ट्र्याल पास गरेर विकास भएका हुन्।

    १५. हाम्रो जस्तो देशमा मान्यता प्राप्त जुन खोप पाउन सम्भव छ, त्यही लगाउनु बुद्धिमानी हुन्छ।

  • चितवनमा नहरमा डुबेर दुई किशोरको ज्यान गयो

    चितवनमा नहरमा डुबेर दुई किशोरको ज्यान गयो

    भरतपुर । चितवनमा नहरमा डुबेर दुई जना किशोरको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित नहरमा डुबेर स्थानीय १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको मृत्यु भएको हो । उनीहरु स्थानीय चौरमा क्रिकेट खेलेर सफा हुन नहर पुगेका थिए । त्यसक्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेका थिए। प्रहरीका अनुसार उनलाई बचाउने क्रममा अंकित समेत नहरमा डुबी बेपत्ता भएका थिए।

    त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले डुबेको स्थानबाट २ सय मिटर पर नहरमा दुवै जनाको उद्धार गरेको थियो । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको थियो । अस्पतालले तत्काल मृत घोषणा गरेको हो । बुधबार नै बाँकेमा समेत तीन किशोरको डुबेर ज्यान गएको थियो ।

  • कपाल काटेर खोलामा नुहाउन पसेका तीन किशोरको डुबेर मृत्यु

    कपाल काटेर खोलामा नुहाउन पसेका तीन किशोरको डुबेर मृत्यु

    बाँके । बाँकेमा कपाल काटिसकेपछि खोलामा नुहाउन पसेका तीन किशोरको खेलामा डुबेर ज्यान गएको छ । प्रहरीका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १० चटारमा रहेको डुडुवा खोलाको बाँधमा डुबेर तीन किशोरको ज्यान गएको हो । घटना बुधबारको हो । ज्यान गुमाउनेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का १७ वर्षीय आरिफ जसगर, अरमान जसगर र १८ वर्षीय रासिद जसगर छन् । साथिहरु मिलेर कपाल काटेपछि उनीहरु नुहाउन पसेका थिए । पौडी खेल्ने क्रममा तीन जना बेपत्ता भएको खबर प्रहरीलाई पुगेको थियो । त्यसपछि भएको खोजीमा उनीहरुको शव भेटिएको हो । थप दुई जनालाई भने सकुसल उद्धार गरिएको छ ।

  • नेपाल समुहले दवाव बढाएपछि ओलीले भने : दोस्रो अध्यक्ष दिन तयार छु

    नेपाल समुहले दवाव बढाएपछि ओलीले भने : दोस्रो अध्यक्ष दिन तयार छु

    काठमाडौं । नेकपा एमालेमा करीव एक वर्ष देखि बल्झिएको विवाद अझै जारी छ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले निरन्रत अडानसहित पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दवाव बर्ढापछि ओलीले आफु वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको घोषणा गरेका छन् । एमालेको केन्द्रीय कमिटीको बुधबार बसेको बैठकमा उनले यस्तो घोषणा गरेका हुन् ।

    तर नेता नेपालले बहुमत नभएको कमिटीमा नजाने भन्दै अडान राखेपछि सहमति जुट्न नसकेको उनको भनाई छ । पार्टी एक्ताका लागि आफु हदै लचिलो बनेको भन्दै उनले अझै पनि एकताको प्रयास जारि रहेको बताएका हुन् । केही समय अगाडी निकै आक्रामक ओली अब रक्षात्मक अवस्थामा पुगेका छन् । सत्ताच्यूत भएसँगै एमालेको दोस्रो खेमाले उनलाई अध्यक्षबाट समेत हटाउने बताएको छ ।

    पार्टीमा एकता कायम भए सबै संरचना ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने समेत उनको भनाई छ । एमालेबाट कांग्रेस सभापति देउवालाई विश्वासको मत दिएका सांसदसहितको बैठकमा नेताहरुले अब ओलीलाई हटाएर मात्र एकता हुने भन्दै आक्रामक रुपमा लाग्ने गरि छलफल अगाडी बढाएका छन् ।

  • कांग्रेस नेता अमरेश कुमार सिंह सभापति देउवासँग किन भड्किए ?

    कांग्रेस नेता अमरेश कुमार सिंह सभापति देउवासँग किन भड्किए ?

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सांसद पदबाट राजिनामा गरेका छन् । उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सांसद पदबाट दिएको राजीनामा पत्र थमाएका छन् । कांग्रेसको महाधिवेशन नजिकिएको छ । यो असन्तुष्टी महाधिवेशनका सन्दर्भमा उठेको असन्तुष्टीको एक झिल्को मात्र हो ।

    क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्ना बसिरहेका छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको आरोप लगाएको छन । यो काम रोक्नुपर्ने उनीहरुको भनाई छ । धर्नामा बसेका नेता तथा कार्यकताको मागमा सहमति जनाउँदै आफुले सांसद पदबाट राजिनामा गरेको उनको तर्क छ ।

    प्रधानमन्त्रीलाई राजिनामा पत्र थमाउनु अगाडी उनले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कासँग भेटेका थिए । उनी सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् । उनको गुनासो कांग्रेसले ठेकेदार र व्यापारीलाई क्रियासिल सदस्यता दिएर कार्यक्रतामाथि अन्याय गरेको प्रति छ ।

  • थप २८३८ जनामा कोरोना संक्रमण पुष्टी, १४७५ जना संक्रमण मुक्त

    थप २८३८ जनामा कोरोना संक्रमण पुष्टी, १४७५ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८३८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८७१५ पीसीआर परीक्षणमा १९१८ र ३९०१ जनाको एन्टिजेन परीक्षणमा ९३१ जना गरी २८३८ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७१ हजार ८७१ पुगेको छ । पछिल्लो २४ घण्टामा १४७५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३४ हजार ४०२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।