Category: समाचार

  • नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २१६४ ले जिते

    नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २१६४ ले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आंकडामा उक्त संख्यामा कोरोना पुष्टी भएको छ । आज ६,८५८ जनामा पीसीआर परीक्षण गर्दा १३१० र ३,२०८ जनामा एन्टिजेन परीक्षण गर्दा ५६५ जना गरी १८७५ जनामा संक्रमण पुष्टि भएको हो । अब नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ ।

    आज २१६४ जनाले कोरोना जित्न सफल भएका छन् । अब कोरोना जित्नेको संखया ६ लाख ३० हजार ४०७ जना पुगेको छ । अब देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ । जसमध्ये २३ हजार ४७७ जना होम आइसोलेसनमा र २ हजार ४७५ जना अस्पतालमा उपचाररत छन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२८ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९९, ललितपुरमा ७७ र भक्तपुरमा ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

    यस अवधिमा सुनसरीमा १२५, मोरङमा ११५, कास्कीमा १०१, झापामा ६९, मकवानपुरमा ५९, चितवनमा ५४, नवलपरासी पूर्वमा ४४, काभ्रेमा ३७, रामेछापमा २८, रुपन्देहीमा २१, नुवाकोटमा २०, धादिङ र सिन्धुपाल्चोक, बाग्लुङमा १७र१७, दोलखामा १४, स्याङ्जामा १२ जनामा संक्रमण पुष्टि भएको आंकडा छ ।

  • काठमाडौं क्षेत्र नं ३ को प्रदेश (क) मा काँग्रेसका श्री राम चालिसेले गरे सभापतिमा उम्मेद्वारी घोषणा

    काठमाडौं क्षेत्र नं ३ को प्रदेश (क) मा काँग्रेसका श्री राम चालिसेले गरे सभापतिमा उम्मेद्वारी घोषणा


    अमृता के सी ( रोनी )
    काठमाडौँ,साउन २ । काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेको छ।महाधिवेसन नजिकिदै गर्दा पार्टी भित्रका विभिन्न पदहरुमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रम पनि तिब्र रुपमा बढेको छ। उम्मेद्वारी घोषणा कै क्रममा स्थानिय नेता श्रीराम चालिसे (राज) ले पनि उम्मेद्वारी घोषणा गरेका छन् ।रामहिटी स्थित क्लब मण्डलामा शुक्रबार एक कार्यक्रम बिच नेपाल तरुण दलका महाधिवेशन प्रतिनिधि श्रीराम चालिसेले काठमाडौँ क्षेत्र नम्बर ३ को प्रदेश (क) को सभापतिको लागी उम्मेद्वारी दिएको घोषणा गरेका छन् ।

    काठमाडौँ महानगरपालिकाको वडा नं ६, गोकर्णेश्वरको वडा नं ५ र ९ समेटिएर बनेको प्रदेश क्षेत्रमा अनुभवीलाई सम्मान ,युवाहरुलाई काम र सबैलाई संगठनमा अवसरका लागि प्रदेश क्षेत्रीय सभापतिमा दावी गरेका चालिसे विभिन्न सामाजिक संघ संस्था र अभियानहरुमा सक्रिय रहदै आएका छन् ।

    आफ्नो क्षेत्रका युवाहरु माझ चर्चित विभिन्न सामाजिक क्रियाकलापमा अग्रपंक्तिमा आएका चालिसेले गुट परम्परा मास्न र पार्टीको युवा शक्तिलाई एकजुट बनाइ सबैलाई मिलाएर काठमाडौँ क्षेत्र नं ३ (क ) मा सुदृढ नेपाली काँग्रेस निर्माण गर्नको लागि उम्मेदवारी दिएको बताएका छन् ।

  • ललितपुरकी निशा श्रेष्ठले पाइन् राष्ट्रपति महिला सशक्तिकरण पुरस्कार

    ललितपुरकी निशा श्रेष्ठले पाइन् राष्ट्रपति महिला सशक्तिकरण पुरस्कार

    काठमाडौं

    राष्ट्रपति महिला सशक्तिकरण परियोजना अन्तर्गत महिला उधमशिलता, वित्तिय पहुँच टेवा पुँजी र प्रविधि सहयोगका लागि बाग्मति प्रदेश, नगरपालिका र गाउँपालिकाहरुबाट गरी १९ जना उद्यमी महिलाहरु पुरस्कृत हुनु भएको छ ।
    यसै गरी ललितपूर महानगरपालिकाबाट उत्कृष्ट महिला उधमीमा छनौट भई समाज विकास मन्त्रालय, बागमति प्रदेशबाट २ लाख नगद पुरस्कार पाउनु भएका निसु प्रडक्सन प्रालिका प्रवन्ध निर्देशक, नेपाल इन्डिपेनडेन्ट फिल्मसका संस्थापक अध्यक्ष र यल अन्तराष्ट्रिय स्वतन्त्र चलचित्र महोत्सवका निर्देशक निशा श्रेष्ठका अनुसार राष्ट्रपति महिला सशक्तिकरण परियोजनाले महिला उद्यमीलाई हौसला मिल्ने र उद्यमशिलता वृद्धि हुने बताएकी छिन् । प्रदेशबाट मात्र नभई यस प्रकारको कार्यक्रम नगरपालिका र वडा स्तरबाट पनि हुनु पर्ने उनी बताऊछिन् । जस्ले गर्दा उद्यमी महिलाहरुलाई अघि बढ्न हौसला मिल्ने छ ।

    निशा श्रेष्ठले यो पुरस्कार भिडियो र डिजिटल डिजाइन एवं सम्पादन शिर्षकमा पाएका हुन् । भिडियो र डिजिटल डिजाइन एवं सम्पादन महिलाको संख्यात्मक वृद्धिका लागि र अहिलेको स्मार्ट प्रविधिलाई बुझ्न पनि यस्ता खालका परियोजनाको आवश्यक हुने तथा भिडियो र डिजिटल डिजाइन एवं सम्पादनमा महिलालाई प्रोत्सहान स्वरुप आउने यस्ता परियोजनाले काम गर्न थप मद्दत गरेको छ, उनी बताउँछिन्।
    उनका अनुसार सरकारले महिलाका विषयमा बहस पैरबी गर्न र सबै किसिमका उद्यमलाई अगाडि बढाऊन प्रविधि राम्रो माध्यायम भएकाले भिडियो र डिजिटल डिजाइन एवं सम्पादन क्षेत्रलाई बढवा दिनुपर्दछ ।।

  • स्वास्थ्य मन्त्रालयले भन्यो : सबैले खोप लगाउन पाइन्छ, पालो नमिच्नुहोस

    स्वास्थ्य मन्त्रालयले भन्यो : सबैले खोप लगाउन पाइन्छ, पालो नमिच्नुहोस

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रमा भएको अत्यधिक भिडभाडप्रति चासो व्यक्त गरेको छ । १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना अनुसार धमाधम खोप आइरहेको भन्दै मन्त्रालयले खोप केन्द्रमा आफ्नो उमेर समूहभन्दा बाहेकमा मानिसलाई भिडभाड नगर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका अनुसार साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने भएको छ ।

    सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोप किनेको हो । जसमध्ये ८ लाख डोज खोप आएपछि सरकारले खोप अभियान चलाएको हो । साउन ६ गतेदेखि थप खोप आउने छ । मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार सबै नेपालीले खोप लगाउन पाउने छन् । उनका अनुसार कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि समेत दोस्रो डोज खोपको जोहो भइसकेको छ । यो खोप छिट्टै नेपाल आउने छ । यो खोप जापानले अनुदानमा दिने बताएके छ ।

  • आगामी तीन दिन ठूलो वर्षाको सम्भावना

    आगामी तीन दिन ठूलो वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा आगामी तीन दिन मनसुनी वायुको प्रभावले ठूलो वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

    सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षा हुने छ । मौसम पूर्वानुमान महाशाखाले यस अवधिमा सचेत रहन भनेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

    पहाडी भू भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत विभागले अनुरोध गरेको छ ।

    आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।

  • चीनको नेपाललाई सरप्राइज उपहार, थप १६ लाख डोज खोप अनुदान दिने

    चीनको नेपाललाई सरप्राइज उपहार, थप १६ लाख डोज खोप अनुदान दिने

    काठमाडौं । चीनले नेपाललाई सरप्राइज उपहारस्वरुप १६ लाख कोरोना भाइरस विरुद्धको खोप दिने भएको छ । यसअघि १८ लाख डोज खोज अनुदानमा दिइसकेका कारण चीनबाट नेपालले थप अनुदानको अपेक्षा गरेको थिएन । तर, नयाँ सरकार गठन भएसँगै चीनले उदारता देखाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले यस्तो जानकारी गराएकी छन् ।

    चीनबाट नेपालले ४० लाख डोज खोप खरीद समेत गरेको छ । यसमध्ये पहिलो खेप ८ लाख डोज नेपाल आइसकेको छ । प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ राजदूतले कोरोना महामारीविरुद्धको लडाइँमा चीनले नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । चिनियाँ सहयोगप्रति प्रधानमन्त्री देउवाले धन्यवाद ज्ञापन गरेका छन् ।

  • नेपालमा पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४३ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४३ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ।

  • थप २६७६ जनामा कोरोना संक्रमण पुष्टी, १७७५ जना संक्रमण मुक्त

    थप २६७६ जनामा कोरोना संक्रमण पुष्टी, १७७५ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९३६ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९६१३ पीसीआर परीक्षणमा २००६ र ४५६९ जनाको एन्टिजेन परीक्षणमा ९३० जना गरी २९३६ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६२ हजार ५७६ पुगेको छ । पछिल्लो २४ घण्टामा १७७५ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख २८ हजार २४३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा४३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ ।

  • देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

    देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

    शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले नवनियुक्त प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई संसदमा विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    बैठकले देउवाको विपक्षमा उभिन सांसदहरुलाई निर्देशन दिएको छ । उनले माधव नेपाल समूहका सांसदले विश्वासको मत दिए उनीहरुको व्यक्तिगत निर्णय हुने बताए ।

    ‘अलोकतान्त्रिक र अस्वस्थ ढंगबाट गठित सरकारलाई एमालेको कुनै समर्थन हुनेछैन,’ प्रवक्ता ज्ञवालीले भने ।

  • आज एमालेको स्थायी कमिटी बैठक, सरकार परिवर्तनबारे आधिकारिक धारणा आउने

    आज एमालेको स्थायी कमिटी बैठक, सरकार परिवर्तनबारे आधिकारिक धारणा आउने

    काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक बस्दैछ । बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा बिहान ११ बजे बोलाइएको बैठकमा माधव कुमार नेपाल पक्षका नेतालाई समेत निम्ता छ । तर, उनीहरु जाने नजाने निश्चित छैन । एमाले नेताहरुका अनुसार उनीहरु आए पनि वा नआएपछि आजको बैठक भने बस्नेछ ।

    आजको बैठकमा प्रतिनिधि सभा विघटन र सर्वोच्च अदालतको फैसलाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने भएको छ । सोहीकारण समेत माधव नेपाल पक्ष सहभागी हुने सम्भावना कम छ । किनकी ओली पक्षले यो फैसलालाई बाध्यकारी रुपमा मात्र मान्दै गलत भनेको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले ८ जेठमा दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटनलाई रद्द गरि अदालतले ब्यूताइदिएको छ । साथै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश गरेको छ । आजको बैठकमा पार्टीको विवाद समाधान कार्यदलले तयार गरेको सहमतिको प्रस्तावलाई कार्यान्वयनमा लैजाने बारे समेत छलफल हुनेछ । स्थायी कमिटी बैठकपछि दिउँसो ३ बजे एमाले संसदीय दलको बैठक बोलाइएको छ ।

  • प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्ने

    प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्ने

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दैछन् । बिहान १० बजेको साइत हेरेर उनी बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सर्न लागेका हुन् । उनी गत मंगलबार प्रधानमन्त्री नियुक्त भई सोही दिन सपथ लिएका थिए । त्यसपछि उनी मध्यरातसम्म कार्यभार सम्हालेर निजी निवास बुढानीलकण्ठ पुगेका थिए ।

    प्रधानमन्त्रीले नियमित कामकाज भने सिंहदरवारस्थित कार्यालयबाटै गरिरहेका छन् । यसअघि ओलीले सबै काम बालुवाटारबाट गर्दा आलोचित बनेका थिए । देउवाले भने साउने संक्रान्तिको शुभसाइत पारेर सरकारी निवासमा सर्न लागेका हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए ।

  • साउन ३ गते संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान

    साउन ३ गते संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान

    काठमाडौं । सरकारले संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन साउन ३ गते आइतबार अपरान्ह ४ बजे आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

    त्यसैगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र पदाधिकारीको कार्यवधि एक बर्ष थप गर्ने निर्णय पनि बैठकले गरेको छ।

  • उपत्यकामा १० दिन निषेधाज्ञा थपियो, के–के सञ्चालन हुन्छ ?

    उपत्यकामा १० दिन निषेधाज्ञा थपियो, के–के सञ्चालन हुन्छ ?

    काठमाडौं । काठमाडौं उपत्यकामा फेरि १० निषेधाज्ञा थपिएको छ । विहिबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको छ।

    हाल सञ्चालनमा रहेका पसलहरु साँझ ७ बजेसम्म खोल्न दिने निर्णय भएको भएको छ । मनोरञ्जन स्थल, सैलून, ब्युटीपार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय र चिडियाखाना अझै सञ्चालन गर्न पाइने छैन।

    विभिन्न प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ ।

    यस्तै, खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न/गराउन पाइने छैन् ।

    विवाह, ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्नरगराउन, पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न नपाउने, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा पठन-पाठन गर्न नपाउने उललेख गरिएको छ ।

  • नेपालमा थप २६७६ जनामा कोरोना संक्रमण पुष्टी, ३३ जना संक्रमितको मृत्यु

    नेपालमा थप २६७६ जनामा कोरोना संक्रमण पुष्टी, ३३ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६६७ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ जनाको एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६२ हजार ५७० पुगेको छ । पछिल्लो २४ घण्टामा १७५७ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख २६ हजार ४६८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको छ । पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ ।

  • लामो दूरीका बस चलाउने तयारी

    लामो दूरीका बस चलाउने तयारी

    काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै अहिले लामो दूरीमा सार्वजनिक यातायात चल्न सकेको छैन । जसले र्गा सर्वसाधारण निजी सवारीमा महंगो भाडा तिरेर यात्रा गर्न बाध्य छन् । सरकारले अब सार्वजनिक बसहरु लामो दूरीमा समेत चलाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने र लामो दूरीको यातायात खुला गर्ने विषयमा सम्भवतः आजै निर्णय आउने तयारी छ ।

    आज दिउँसो १ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । यो बैठकले यातायात खुला गर्ने बारे महत्वपूर्ण निर्णय गर्न सक्ने सम्भावना छ । सम्पूर्ण हवाइ उडान खुलेको अवस्थामा सडक यातायात बन्द गर्न नहुने तर्क आएको छ । यातायात व्यवसायीले समेत यातयात खोल्न माग गरेका छन् । निषेधाज्ञा निकै खुकुलो बनेको छ । सोहीकारण पछिल्लो दिनमा संक्रमणको दर भने बढेको छ । तर, खोप अभियानसमेत जारी रहेका कारण अर्थतन्त्र चलायमान बनाउनु पर्ने माग उठिरहेको छ ।

  • डा. बाबुराम भट्टराई भन्छन् : गणतन्त्रका राष्ट्रपतिको भूमिका निम्न स्तरको भयो

    डा. बाबुराम भट्टराई भन्छन् : गणतन्त्रका राष्ट्रपतिको भूमिका निम्न स्तरको भयो

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति परिवर्तनको मुद्दा बहसमा ल्याएका छन् । पछिल्लो समय राष्ट्रपति विद्यादेवि भण्डारीको अश्वभाविक प्रदर्शनलाई लिएर व्यापक आलोचना भइरहेको समयमा डा. भट्टराईले यस्तो प्रस्ताव ल्याएका हुन् । उनले प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले यस्तो प्रस्ताव सार्वजनिक गरेका छन् ।

    उनले गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखिएको उल्लेख गरेका छन् ।त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेता भन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने प्रस्ताव उनको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेर बहादुर देउवाको सपथमा प्रधानमन्त्रीलाई सपथसम्म नभई बाहिरिएपछि उनको मुलुकको अभिभावकीय भूमिकामाथि प्रश्न उठिरहेको छ । त्यसमाथि सरकारका संविधान विरोधी कदमलाई आँखा चिम्लेर समर्थन गरेसँगै उनको आलोचना बढेको हो ।

  • कोरोना नियन्त्रणमा भइरहेका कामबारे नवनियुक्त प्रधानमन्त्रीले लिए जानकारी

    कोरोना नियन्त्रणमा भइरहेका कामबारे नवनियुक्त प्रधानमन्त्रीले लिए जानकारी

    काठमाडौं । कारोना भाइरसको रोकथाम र नियन्त्रणमा भइरहेका प्रयासबारे नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले जानकारी लिएका छन् । बुधबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक डाक्दै उनले कोरोना महामारी नियन्त्रणमा लिन अहिलेसम्म भएका र भइरहेका कामबारे जानकारी लिएका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा केन्द्रिय हुन समेत निर्देशन दिए ।

    उनले सामाजिक संजालबाट यसबारे जानकारी गराएका छन् । उनले भनेका छन्, ‘कोभिड १९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका काम कारवाहीका विषयमा कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग जानकारी लिएको छु ।’ आफुले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको समेत बताएका छन् ।

  • बुधबारका दुई चर्चित भेट, देउवा-नेपाल र प्रचण्ड-विप्लव

    बुधबारका दुई चर्चित भेट, देउवा-नेपाल र प्रचण्ड-विप्लव

    काठमाडौं । बुधबार नेपालको राजनीतिमा अर्थपूर्ण दुई भेट भएका छन् । आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा उनको कोटेश्वरस्थित निवासमा पुगेका छन् । सामान्यतया प्रधानमन्त्रीसँग अन्य नेताको भेट सरकारी निवास, प्रधानमन्त्री कार्यालय वा प्रधानमन्त्रीको निजी निवासमा हुने गर्छ ।

    अझ केपी शर्मा ओलीको कार्यकालको लामो समय त ओली बालुवाटारबाट कतै निस्किएका थिएनन् । तर, आफ्नो सरकार बनाउन निर्णायक भूमिका खेलेका माधव कुमार नेपाललाई भने देउवाले उनकै निवासमा पुगी भेट गरेका छन् । नेपालको निम्तोमा प्रधानमन्त्री देउवा नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासहित नेपाल निवास पुगेका हुन् ।


    उनीहरूबीच करिब एक घन्टा कुराकानी भएको छ । भेटमा सरकार सञ्चालन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । अब देउवाको ध्यान एक महिना भित्र संसदबाट विश्वासको मत लिनुमा हुनेछ । त्यसका लागि पुनः उनलाई एमाले नेता माधव कुमार नेपाल र उनको समूहको साथ चाहिन्छ । यता नेपाल नेपालको गतिविधिलाई भने एमाले अध्यक्ष ओलीले अस्वभाविक भन्दै अब एमालेमा ढोका बन्द हुने चेतावनी दिएका छन् ।


    उता, आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । २१ फागुन २०७७ मा सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लव पार्टी नेता धर्मेन्द्र बास्तोलासँगै प्रचण्ड निवास खुमलटार पुगेका हुन् । प्रचण्डसँग छुट्टिएर नयाँ पार्टी बनाई भूमिगत जिवन बिताएका विप्लवले २०७१ सालपछि पहिलो पटक आफ्ना पूर्वसुप्रिमोसँग भेटेका हुन् ।

    अहिले विप्लव समेत शान्तिपूर्ण राजनीतिमा फर्किएका छन् । दुई नेताबीचको भेटमा विप्लवले एमाले अध्यक्ष ओलीको समयमा विप्लवसँग भएका सहमतिको कार्यान्वयनबारे चासो राखेका थिए । त्यो सम्झौता ओली व्यक्तिसँग नभई सरकारसँग भएको भन्दै कार्यान्वयनमा प्राथमिकता दिनुपर्ने भनाई उनले प्रचण्डसँग राखेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि अहिले परिस्थिति फेरिएको छ । तर, राजनीतिको मियो भने प्रचण्ड छन् । सोहीकारण आज उनीसँगको विप्लवको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • नेपालमा थप २९०५ जनामा कोरोना संक्रमण पुष्टी, १८ जना संक्रमितको मृत्यु

    नेपालमा थप २९०५ जनामा कोरोना संक्रमण पुष्टी, १८ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९०५ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८११८ पीसीआर परीक्षणमा २०१० र ४९१६ जनाको एन्टिजेन परीक्षणमा ८९५ जना गरी २९०५ जनामा संक्रमण पुष्टी भएको हो ।

    आज देशभर एक हजार ६०६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ४३० जना संक्रमितको मृत्यु भइसकेको छ।

    देशभर २६ हजार ६४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • जाँदाजाँदै ओली सरकारको उपहार, गाडी भाडा २८ प्रतिशतसम्म वृद्धि

    जाँदाजाँदै ओली सरकारको उपहार, गाडी भाडा २८ प्रतिशतसम्म वृद्धि

    काठमाडौं । जाँदाजाँदै निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ ।

    असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर २८ प्रतिशतसम्म वृद्धि गरेको हो ।

    सरकारले पेट्रोलियम पदार्थ र गाडीका पार्टर्पूााको मूल्यवृद्धिलाई आधार बनाएर २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।

    यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईको बाटोमा गुड्ने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

    बढेको भाडा अन्तर प्रदेशमा संचालन हुने सवारी साधनमा असार २९ गतेदेखि लागू हुने गरी वृद्धि गरिएको विभागले जनाएको छ ।

  • कालीगण्डकी डाइभर्सन आयोजनाको कामरोक्न सर्वोच्चको अन्तरिम आदेश

    कालीगण्डकी डाइभर्सन आयोजनाको कामरोक्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको छ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई पथान्तरण (डाइभर्सन) गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रम चोरी निकासी तथा विनाश गर्ने लगायत प्राकृतिक वहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनै काम नगर्न नगराउन अन्तरिम आदेश दिएको हो।

    सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन लागेपछि वातावरण संरक्षणकर्मी र कानुन व्यवसायीले रिट दायर गरेका थिए। उक्त रिटमाथि मंगलबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकाले यो रिट निवेदनको अन्तिम टुंगो नलाग्दासम्म कालीगण्डकीको बहाव रोक्ने र पर्यावरण प्रतिकुल हुने गरी काम नगर्न अन्तरिम आदेश दिएको हो।

    कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्त्वको देखिएकाले प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त नदीको प्राकृतिक बहावलाई पथान्तरण गरी रिजर्भवायल बनाउने, प्रदुषण गर्ने, नदीजन्य पदार्थहरू निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनाश गर्ने लगायत प्रकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि कार्यहरू नगर्नू, नगराउनू, यथास्थितिमा राख्नू,’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ। साथै सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ।

  • ‘माधवको गद्दारीको कारण कहिँ नभएको जात्रा भयो, अब कुनै पनि हालतमा स्वीकार गरिन्न’

    ‘माधवको गद्दारीको कारण कहिँ नभएको जात्रा भयो, अब कुनै पनि हालतमा स्वीकार गरिन्न’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई स्वीकार नगर्ने बताएका छन् ।

    बुधबार बालुवाटारबाट बालकोट पुगेका अध्यक्ष ओलीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै विपक्षीलाई प्रधानमन्त्री बनाउन जाने नेपाललाई पार्टीमा स्वीकार नगर्ने बताएका हुन् ।

    कार्यकर्तालाई सम्बोधन गर्दै अहिलेको अवस्था नेता नेपालको गद्दारीकै कारण आएको आरोप लगाए । उनले भने, ‘माधवकुमार नेपाल गद्दार हुन्। उनकै कारण अहिलेको अवस्था आएको हो।

    नेपालको सर्वोच्च अदालतमा कहिँ नभएको जात्रा भयो। मलाई जनमतले होइन अदालतमा मुद्दा हालेर निकालियो। जालझेर गरेर निकालियो। मर्न परे पनि शानले मर्छौँ।’

  • कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर

    कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि म्याद नबुझी फरार रहेका गच्छदार बुधबार बिहान विशेष अदालतमा हाजिर भएका हुन्।

    बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकणरमा मुछिएका गच्छदार फरार थिए।

    अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नगएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै विशेष अदालतमा हाजिर भएका छन् ।

    अहिले गच्छदारलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्ने भन्ने सम्बन्धमा थुनछेक बहस भैरहेको छ ।

    गच्छेदारसँगै पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई पनि मुद्दा दायर गरिएको थियो । श्रेष्ठ ५ हजार रुपैयाँ धरौटीमा छुनेका छन् भने जोशीलाई साधारण तारेखमा अदालतले छाडेको छ ।

  • ओलीले बालुवाटार छाड्दै, यूथफोर्सले बालकोटसम्म स्कर्टिङ गर्ने

    ओलीले बालुवाटार छाड्दै, यूथफोर्सले बालकोटसम्म स्कर्टिङ गर्ने

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार अपरान्ह सरकारी निवास बालुवाटार छाड्दैछन् । त्यसपछि उनी निजी निवास बालकोटमा रहनेछन् । उनले बिहान ११ बजे सरकारी निवास छाड्ने योजना छ । प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार सर्ने समय भने तय भइसकेको छैन ।

    देउवा मंगलबारे राती सपथग्रहण, पदभार ग्रहण र मन्त्रिपरिषद् बैठक सकेर निजी निवास बूढानिलकण्ठ फर्केका छन् । उता, ओलीलाई निजी निवास फर्काउने क्रममा भने एमालेको भातृ संगठन युथफोर्सले आज काठमाडौंमा तामझाम देखाउने भएको छ ।

    ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथ फोर्सले स्कर्टिङ गरेर पुर्‍याउने तयारी गरेको हो । यो कामको नेतृत्व भक्तपुरका सांसद महेश बस्नेतले गर्नेछन् । ओलीलाई दुई हजार गाडी र तीन हजार मोटरसाइकलको लावालस्करको बीचमा राखेर बालुवाटारबाट बालकोट पुर्याइने भएको छ ।

  • देउवा सरकारको पहिलो निर्णय, चैतसम्म सबै नेपालीलाई खोप

    देउवा सरकारको पहिलो निर्णय, चैतसम्म सबै नेपालीलाई खोप

    काठमाडौं । शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले आगामी चैतभित्र सबै नागरिकलाई खोप पुर्याउने निर्णय गरेको छ । यो नयाँ सरकारको पहिलो निर्णय हो । मंगलबार राती सपथग्रहणपछि सिंहदरबार पुगी प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेका थिए । त्यसपछि बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र चैत मशान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप लगाउने निर्णय गरेको हो । बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई दिएको छ । बैठकले कोरोनाविरुद्ध अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।

    कोरोनाविरुद्ध अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्र जोखिम भत्ता उपलब्ध गराउन सुरु गर्ने निर्णय समेत बैठकले गरेको छ । मन्त्रिपरिषद् बैठकले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शिघ्र पुनरुत्थान गर्ने विषय अब सरकारको प्राथमिकतामा रहने बताएको छ । स्थानीय तहको निर्वाचन समेत सरकारको प्राथमिकतामा रहने भएको छ ।

  • देउवा सरकारमा को को बने मन्त्री ?

    देउवा सरकारमा को को बने मन्त्री ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकको नेतृत्व गर्न पाँचौ पटक नियुक्त भएका छन् । उनले मंगलबार साँझ राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ ग्रहण गरे । यससँगै उनले आजै ५ सदस्यीय मन्त्रिमण्डल समेत बनाए । जसमा नेपाली कांग्रेसका दुई र माओवादी केन्द्रका दुई नेताले मन्त्रिका रुपमा सपथ लिए ।

    देउवाले बालकृष्ण खाँडलाई गृहमन्त्रीको जिम्मेवारी दिएका छन् । उनी देउवाका विश्वास मात्र मानिन्छन् । कांग्रेस संसदीय दलको प्रमुख सचेतक खाँड यसअघि प्रचण्ड नेतृत्वको सरकारमा रक्षामन्त्री थिए ।

    कांग्रेसबाट मन्त्री बन्ने दोस्रो नेता हुन् ज्ञानेन्द्रबहादुर कार्की । उनी कानून मन्त्रि बनेका छन् । उनी यसअघि अर्थमन्त्री बनिसकेका छन् । उनकै पालामा एमसीसी सम्झौतामा भएको हो ।

    नेकपा माओवादी केन्द्रबाट नेता जनार्दन शर्मा अर्थमन्त्री बनेका छन् । उनी यसअघि शान्ति तथा पुनर्निर्माण, ऊर्जा तथा गृह मन्त्री बनेर सफल कार्यकाल पुरा गरेका मन्त्री मानिन्छन् । माओवादी केन्द्रले अर्को शक्तिशाली मन्त्रालय उर्जामा नेतृ पम्फा भूसाललाई पठाएको छ । अन्य मन्त्रीको टुंगो भने सहयात्री दलहरुसँगको सहमतिमा गर्ने तयारी छ ।

  • देउवाको सपथ ग्रहणमा ओली गएनन, माधव नेपाल उपस्थित

    देउवाको सपथ ग्रहणमा ओली गएनन, माधव नेपाल उपस्थित

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भाग लिएनन् । मंगलबार साँझ सम्पन्न भएको सपथ ग्रहणमा सामान्यतया पूर्वप्रधानमन्त्री उपस्थित भई नयाँ प्रधानमन्त्रीलाई शुभकामना दिने प्रचलन रहेको छ । तर, ओली भने उपस्थित भएनन् ।

    सपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल समेत उपस्थित भए । उनीहरुले देउवालाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् । देउवाको सपथमा माधव कुमार नेपाल पुगेपछि एमाले कार्यकर्ता भने आक्रोसित बनेका छन् । उनीहरुले सामाजिक संजालमा आफ्नो नेताको सरकार गिराएर विपक्षी दलको नेता प्रधानमन्त्री हुँदा खुसीयाली मनाएको भन्दै नेता नेपालको चर्को आलोचना गरिरहेका छन् ।

  • प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनीयताको सपथ

    प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनीयताको सपथ

    काठमाडौं । आजै नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै उनी पाँचौ पटक प्रधानमन्त्रीको कुर्सीमा पुगेका छन् ।

    यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरि देउवालाई नियुक्ति गरेकी थिइन् । उक्त नियुक्तिको भासा सच्याएपछि देउवा सपथ लिन तयार भएका हुन् । राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलासँगै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको भासा राखेर दोस्रो नियुक्तिको बेहोरा सार्वजनिक गर्नुपरेको छ ।

    नियुक्तिमा राष्ट्रपतिको बदनियत देखिएको भन्दै प्रधानमन्त्रीले सपथ लिन अस्वीकार गरेका थिए । सोहीकारण निर्धारित समयभन्दा साढे दुई घण्टा ढिलाई गरि सपथ भएको हो ।

  • नेपालमा थप २३९८ जनामा कोरोना पुष्टी, २०७८ जना संक्रमण मुक्त

    नेपालमा थप २३९८ जनामा कोरोना पुष्टी, २०७८ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३९८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७०५८ पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनाको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २३९८ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख २३ हजार १०५ जना पुगेको छ ।

    संक्रिय संक्रमितको संख्या २६ हजार २६१ रहेको छ । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ ।

  • जापानले नेपाललाई  आफ्नो देशमा उत्पादन भएको १६ लाख डोज अष्ट्राजेनेका खोप दिने

    जापानले नेपाललाई आफ्नो देशमा उत्पादन भएको १६ लाख डोज अष्ट्राजेनेका खोप दिने

    काठमाडौं । जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने भएको छ ।

    काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्डरअष्ट्राजेनेकाले बनाएको भ्याक्सिन दिने जानकारी दिएको हो । उक्त खोन जापानमा नै उत्पादन भएको हो ।

    यसअघि मंगलबार जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने बताएका थिए।

    उनले दिएको जानकारी अनुसार बंगलादेश, कम्बोडिया, इरान, लाओस, नेपाल र श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड मुलुकलाई दिइनेछ।

    जापान सरकारको अनुदान सहायता कार्यक्रम अन्तर्गत ३०० जेनेरेटर, अल्ट्रासाउन्ड सहित ६ वटा एम्बुलेन्स समेत उपलब्ध गराउने जानकारी दिएको छ ।

    परराष्ट्र मन्त्रालयले जापानले दिएको खोप छिट्टै नेपाल ल्याउने तयारी भैरहेको जानकारी दिएको छ । यससँगै पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका १० लाख भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई यस खोप प्रदान गरिने जनाइएको छ ।