Category: समाचार

  • दार्चुलामा पहिरोमा पुरिँदा कम्तिमा तीन जनाको मृत्यु

    दार्चुलामा पहिरोमा पुरिँदा कम्तिमा तीन जनाको मृत्यु

    काठमाडौं । दार्चुलामा पहिरोमा पुरिएर एकै परिवारका दुईसहित कम्तिमा तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको नौगाढ गाउँपालिका ३ खार भन्ने स्थानको चौखुट्टेमा भिषण वर्षाका कारण पहिरो गएको हो । पहिरोले एकै घरका दुई र थप एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घर पुरिंदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको छ ।

    घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको समेत ज्यान गएको छ । तीनै जनाको शव पहिरोबाट निकालिएको छ । नौगाढ गाउँपालिका ३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएकी छिन् । यस गाउँपालिकामा पहिरोले ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना समेत बगाएको छ ।

  • नेपालमा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टी, २९ जना संक्रमितको मृत्यु

    नेपालमा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टी, २९ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८७५ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५३७४ पीसीआर परीक्षणमा १२१८ र ५१३० जनाको एन्टिजेन परीक्षणमा ६५७ जना गरी १८५७ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । पछिल्लो २४ घण्टामा १२८६ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ४४७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ ।

  • लायन्स क्लबको सप्ताह व्यापी सेवा कार्यक्रम सम्पन

    लायन्स क्लबको सप्ताह व्यापी सेवा कार्यक्रम सम्पन

    अमृता के सी ( रोनी )

    काठमाडौँ,असार २४ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका २७ वटा लायन्स क्लब र २ वटा लियो क्लबहरुको संयुक्त आयोजनामा लायन्स सेवा हप्ता सम्पन्न भएको छ ।सात दिन सम्म लगातार विभिन्न स्थानमा सामाजिक काम गरे पछी बुधबार गोकर्णेश्वर नगरपालिका स्थिति वर्ड युथ स्कुलमा भएको समापन कार्यक्रमको उद्घाटन डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको छ ।

    कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का फस्ट भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, डिस्ट्रिक क्याबिनेट सेक्रेटरी लायन धर्म शरण श्रेष्ठ, डिस्ट्रिकका जोन चियर पर्सन,रिजन चियर पर्सन लगायतका सम्पूर्ण लायन तथा लियो लिडरहरुको उपस्थिति रहेको थियो।

    प्रतेक अंग्रेजी वर्षको जुलाई १ तारिकबाट लायन्स क्लबहरुको नयाँ कार्यकाल सुरू हुने र त्यही सुरुको १ हप्तामा विविध सेवाका कार्यहरु गरि मनाउने गरिन्छ।कार्यक्रममा हामी सेवा गर्छौं भनी सेवा भावले अघि बढेको लायन्स क्लब र लियो क्लबहरुले संयुक्तरूपमा साताव्यापी खाद्यान्न वितरण, सरसफाइ कार्यक्रम, वृक्षारोपण, स्वास्थ्य सामग्री वितरण,विपद व्यवस्थापन तालिम,जनावरलाइ खाना खुवाउने ,मधुमेह परिक्षण, कोभिड जागरुकता कार्यक्रम लगायतका सेवा हप्तामा कार्यक्रम गरेको कार्यक्रमका संयोजक श्रीधर पौडेलले जानकारी गराए।

    कार्यक्रमलाई सम्बोधन गर्दै डिस्ट्रिक गभर्नर कार्कीले सेवा हप्ता भरी गरेको सेवा कार्यको लागि धन्यवाद दिदै लायन वर्ष २१/२२ सफल बनाउन “एउटा प्रभाव पारौं ” भन्ने उनको नारालाई आत्मसात गर्न समेत सम्पूर्ण लायन तथा लियो लिडर र सदस्यहरुलाई अनुरोध समेत गरेका छन्।संयुक्तरूपमा सेवा हप्ता मनाउने २७ वटा लायन्स क्लबहरुमा लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर, माकलबारी, रोयल हिमालयन, गुप्ती गणेश, थर्ड आइ, नयाँपाटी फ्रेन्ड्स, इन्फिनिटी, टिम एभरेष्ट, गौरवशाली, सुन्दरीजल, क्रिएटिभ ओमन, राइजिंग सन, सिम्रिक, नयाँपाटी भिक्टोरियस, बागमती नर्थ, एकेडेमिक, कोलाबोरेटर, जर्नी, पन्चशिल ,गेटवे, दर्पण, मनहरा, उत्तरबहिनि, भद्रकाली, साँखु, एस एम एस, बूढानिलकण्ठ नेवा पुच, र लियो क्लबहरुमा लियो क्लब अफ काठमाडौँ गोकर्णेश्वर र लियो सिम्रिक रहेका छन् ।

  • बेलायत यूरोकप फाइनलमा, भित्राउला ऐतिहासिक उपाधी ?

    बेलायत यूरोकप फाइनलमा, भित्राउला ऐतिहासिक उपाधी ?

    लण्डन । फुटबलको राजा मानिने इंग्ल्याण्ड ५५ वर्षपछि कुनै पनि ठूलो प्रतियोगिताको फाइनल पुगेको छ । यसअघि सन् १९६६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि चुमेयता ठूलो प्रतियोगिताको फाइनल नखेलेको यो टीम जारी यूरोकपको फाइनल पुगेको हो । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो। इंग्ल्याण्डले अब उपाधिका लागि इटलीसँग आइतबार फाइनल खेल्नेछ ।

    उसका लागि यो खेल ऐतिहासिक हुने छ । यसअघि वेम्वलीमा बुधबार राति भएको खेलमा इंग्ल्याण्डले एक गोलले पछि परेको स्थिति उल्टाउँदै डेनमार्कविरुद्ध पुनरागमन जित हात पारेको हो । कप्तान ह्यारी केनले १०४औं मिनेटमा विजयी गोल गरे थिए ।

    त्यसअघि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको ३०औं मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । ३९औं मिनेटमा इंग्ल्याण्डले आत्मघाती गोल मद्दतमा खेल बराबरी गर्‍यो । इंग्ल्याण्डले उपाधिका लागि आइतबार इटलीसँग खेल्ने तालीका छ ।

  • पृथ्वीको तापक्रम अहिलेकै अवस्था वृद्धि भएमा पानीको मात्रा १२ प्रतिशतले बढ्ने

    पृथ्वीको तापक्रम अहिलेकै अवस्था वृद्धि भएमा पानीको मात्रा १२ प्रतिशतले बढ्ने

    काठमाडौं । जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा ८ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औँल्याएका छन् । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने उनीहरुले औँल्याएका हुन् ।

    स्वच्छ ऊर्जा नेपालसँगको सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले सोमबार आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तन विषयका विज्ञ मञ्जित ढकालले सन् २०५० सम्ममा अहिलेको हिसाबले तापक्रम वृद्धि हुने हो भने पृथ्वीमा आठ देखि १२ प्रतिशतसम्म पानीको मात्रामा वृद्धि हुनसक्ने बताए ।

    ‘अहिलेको तापक्रम वृद्धिदर नियन्त्रणका उपाय अवलम्बन नगरिए सन् २०५० सम्ममा पृथ्वीको तापक्रम थप १.३ डिग्री सेल्सियसदेखि १.८ डिग्री सेल्सियससम्म पुग्नसक्छ,’ उनले भने । अहिलेसम्म पृथ्वीको आर्सम तापमान (औद्योगिकीकरण समयपछि) करिब एक डिग्री सेल्सियसले वृद्धि भइरहेको उनले जानकारी दिए ।

    सन् २०१५ मा भएको पेरिस सम्झौताले पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएको छ । अहिले नेपालमा भएका ८० प्रतिशतभन्दा बढी विपद्का घटना पनि जलवायु परिवर्तनको प्रभावले भएको विज्ञ ढकालले बताए । उनका अनुसार नेपालमा भएका सुक्खा खडेरी, पहिरो, हिमताल विस्फोटन र तापक्रम वृद्धिका घटनाहरुको मुख्य कारण नै जलवायु परिवर्तन हो । साथै उनले जलवायु परिवर्तनको असरले पारेको जोखिम न्यूनीकरणमा नेपाल सरकारले राम्रा कामहरु पनि गरिरहेको बताए ।

    अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार नेपालमा करिब तीन हजार २५२ हिमनदी र दुई हजार ३२३ हिमतालहरु छन् । धेरैजसो हिमनदीहरुको आकारमा परिवर्तन आइसकेको छ भने २० वटा हिमताल जोखिममा छन् । विभिन्न अध्ययनका अनुसार नेपालमा हिमनदीहरु द्रुत गतिमा पग्लिँदै गइरहेका छन् ।

    वातावरण पत्रकार राजेश घिमिरेले बढ्दो तातोपनाका कारण विशेषगरेर झाडापखाला र लामखुट्टे जातिबाट सर्ने मलेरिया, कालाजार, जापानिज इन्सेफलाइटिस् जस्ता रोगमा वृद्धि भई यसबाट हुने मृत्युदर बढ्ने र बाढी पहिरोका घटनाको बेला शुद्ध पिउने पानीको अभावले धेरै मानिसहरु पानीजन्य रोगबाट पीडित हुनसक्ने बताए ।

    जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चका अनुसार सन् १८८० देखि २०१२ सम्ममा पृथ्वीको औसत तापक्रम शुन्य दशमलव ८५ डिग्री सेल्सियसले बढिसकेको छ र यो क्रम जारी छ । पृथ्वीको आर्कटिक क्षेत्रको समुद्री बरफ प्रतिदशक तीन प्रतिशतले घटिरहेको छ । यस्तै सन् १९०० देखि २०१९ को अन्त्यसम्मको समयावधिमा समुद्री सतह शून्य दशलमव १८ देखि शून्य दशमलव दुई मिटरले बढेको छ ।

    परिवर्तित जलवायुमा अनुकूलतापूर्वक बाँच्नका लागि स्थानीय व्यक्तिहरूले अवलम्बन गरेका कार्यको पहिचान गरी त्यसको विकास तथा आदानप्रदान गर्ने काम नेपाल सरकारले गरिरहेको छ । स्वच्छ ऊर्जा नेपालले पनि अनुकूलनसँग सम्बन्धित विभिन्न कोषलाई जोखिमपूर्ण अवस्थामा रहेका समुदायसम्म पुर्याउन स्थानीय, क्षेत्रीय र राष्ट्रिय संयन्त्र र संस्थागत संरचनाको विकास गर्ने काममा पैरवी गरिरहेको जनाएको छ ।

    जलवायुसम्बन्धी जनचेतना अभिवृद्धि, शैक्षिक क्षेत्रमा यसको पाठ्यक्रमको विकास र विभिन्न सरोकारवालाबीचको सहकार्य र समन्वयलाई प्रोत्साहन गर्ने कामलाई पनि अनुकूलनको अभ्यासका रूपमा लिन सकिने स्वच्छ ऊर्जा नेपालका वरिष्ठ अधिकृत लालमणी वाग्लेले बताए ।

    ऊर्जाका लागि प्रयोग भइरहेका पेट्रोलियम पदार्थ एवं कोइलाको प्रयोगमा कम गर्न सकिन्छ । नवीकरणीय ऊर्जाहरु सौर्य ऊर्जा, जलविद्युत्, वायुशक्ति, बायो ग्यास, भू–ताप आदिको प्रवद्र्धन गरी उपयोग गरेमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिने विज्ञहरुको सुझाव छ ।

  • रुपा सुनार प्रकरणः सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो

    रुपा सुनार प्रकरणः सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो

    काठमाडौं । सर्वोच्च अदालतले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चारकर्मी रुपा सुनारलाई छलफलका लागि बोलाएको छ ।

    बुधबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मन्त्री श्रेष्ठ र सुनारलाई छलफलका लागि बोलाएको हो । अदालतले असार २९ गते उक्त घटनाको प्रमाणसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

    बबरमहलकी घरबेटी सरसवती महर्जनले जातीयताको कारण देखाउँदै आफूलाई कोठा भाडामा नदिएको भन्दै रुपाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

    त्यस्तै मन्त्री श्रेष्ठले जातीय छुवाछुतको विषयमा जारी मुद्धा प्रभावित पार्दै सरस्वतीलाई छुटाउन जेलमा गएका थिए । त्यस्तै उनले सरस्वतीलाई झण्डावाला गाडीमा राखेर घरसम्म छोडेका थिए ।

    रूपाले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाएर आइतबार रिट दिएकी थिइन् ।

    उनको रिटमा जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनअनुसार कारबाहीको माग गर्दै संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछुतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी गरिएको थियो ।

  • नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो, २८ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो, २८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९७९ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७८३५ पीसीआर परीक्षणमा २०७७ र ४०६३ जनाको एन्टिजेन परीक्षणमा ९०२ जना गरी २९७९ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५० हजार १६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १३३३ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख १४ हजार ३२७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ५४४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ ।

  • पर्वतमा दुई यात्रुसवार गाडी बाढीले बगायो

    पर्वतमा दुई यात्रुसवार गाडी बाढीले बगायो

    पर्वत । पर्वतमा सडक निर्माणमा खटिएका इन्जिनियरसहित दुई जना सवार रहेको गाडी बाढीले बगाएको छ। मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा नगरपालिका दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीले गएराति साढे १० बजे गाडी बगाउँदा त्यसमा सबार दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएका छन् ।

    बाढीले बगाउँदा निर्माण कम्पनी लामा कन्ट्रक्सनको उक्त गाडीमा इन्जिनियर राजाराम आचार्य र गाडीका चालक बेपत्ता भएका छन् । बेपत्ता गाडीको नम्बर भने खुलेको छैन। बाढी पहिरोको कारण अहिले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीका कारण खोला किनारका चारवटा पसल समेत बगेका छन् ।

  • इटली यूरोकप फाइनलमा, पेनाल्टीमा हार्यो स्पेन

    इटली यूरोकप फाइनलमा, पेनाल्टीमा हार्यो स्पेन

    लण्डन । स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटली युरोकप २०२० को फाइनल पुगेको छ । मंगलबार राती सम्पन्न खेलमा स्पेनका दुई खेलाडीको पेनाल्टी गोलमा परिणत हुन सकेन । पहिलो सेमिफाइनलमा इटली ४-२ गोलले विजयी भएको हो । लण्डनको वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकियो ।

    इटलीका मानुएल लोकाटोली प्रहार समेत गोलमा परिणत हुन सकेन । स्पेनका डानी ओल्मोको प्रहार समेत पोष्टबाट बाहिरिएको हो । इटलीका आन्द्रे बेलोट्टी, लिओनार्दो बोनुची र जर्गिन्होले गोल गरे । स्पेनका लाग जेरार्ड मवरेनो र थियागो अलकान्टाराको प्रहार गोलमा परिणत भयो । ९० मिनेट भित्रै स्पेनले पाएको पेनाल्टीमा भने अल्भारो मोराटा चुकेका थिए ।

    निर्धारित समयको ६०औं मिनेटमा फेडेरिको चिएसाले इटलीलाई अग्रता दिए । ८०औं मिनेटमा मोराटाले बराबरी गोल फर्काए । यो जितसँगै इटली ३३ खेलसम्म अपराजित रहेको छ । फाइनलमा इटलीले इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आज राती नेपाली समय अनुसार पौने १ बजे हुनेछ ।

  • पाँच विद्यार्थी संगठनद्धारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक

    पाँच विद्यार्थी संगठनद्धारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा पाँच विद्यार्थी सङ्गठनहरूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा पाँच विद्यार्थी सङ्गठनहरूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

    अखिल (क्रान्तिकारी) को काठमाडौं बागबजार स्थित कार्यालयमा बसेको बैठकले पहिलो चरणको आन्दोलन सफलता पूर्वक सम्पन्न भएको समीक्षा गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

    अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीका अनुसार २४ असारमा देशव्यापी सिट्ठी जुलुस, २७ असारमा माइतिघरमा शंख फुकेर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

    ‘संयुक्त विद्यार्थी सङ्गठनले संसद् विघटन, केपी ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा सञ्चालन भएको पहिलो चरणको आन्दोलन सफल भएको समीक्षा गरिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने कुरामा संयुक्त विद्यार्थी आन्दोलन विश्वस्त रहेको छ’ पाँच विद्यार्थी सङ्गठनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    यसैगरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीको मण्डलीद्वारा गरिएको अनियमितता, भ्रष्टाचार, निजीकरण र माफियाकरणले प्रतिष्ठान धराशायी हुने अवस्थामा पुगेको निष्कर्ष बैठकको रहेको छ ।

    सीटी स्क्यान, एमआरआइ र महत्त्वपूर्ण ल्याब परीक्षणलाई ध्वस्त बनाइएको छ । प्रतिष्ठानमा देखिएको सबै समस्याको जड उपकुलपति भएको हुनाले निजको बर्खास्तीको माग गर्दै त्यहाँ सञ्चालन भइरहेको आन्दोलनमा पाँच विद्यार्थी सङ्गठनले ऐक्यबद्धता जनाएको छ ।

    शिक्षक सेवा आयोगले लामो समयसम्म परीक्षा बन्द गरेकोले देशभर हजारौं शिक्षक दरबन्दी खाली भएका कारण पठनपाठनमा गम्भीर असर पुगेको छ भने परीक्षाको तयारीमा रहेका लाखौं उम्मेदवार विद्यार्थी मर्कामा परेकाले शिक्षक सेवा आयोगको परीक्षा लिने प्रक्रिया तत्काल अगाडि बढाउन माग गरिएको छ ।

    यसैगरी हिमालयन पुनर्बीमा कम्पनीको लाइसेन्स दिँदा बीमा समितिले विधि र प्रक्रिया मिचेको तथा अरबौं आर्थिक चलखेल गरिएकोले पुनर्बीमा कम्पनीको लाइसेन्स प्रक्रिया तत्काल रोकी दोषीलाई कडा कारवाही गर्न माग गरिएको उपमहासचिव मैनालीले बताए ।

    यस्तै चितवनमा २२ वर्षीया सुजिता भण्डारीको रहस्यमय मृत्युको अविलम्ब छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ । भण्डारी बेपत्ता भएको ९ दिनसम्म गम्भीरतापूर्वक अनुसन्धान नगरिनु जनताको जीवन रक्षा र शान्ति सुरक्षा प्रति सरकार गैरजिम्मेवार र पङ्गु भएको यो घटनाबाट पुष्टि भएको ठहर पाँच विद्यार्थी सङ्गठनले गरेका छन् ।

    बैठक पश्चात नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका छन् ।

  • थप २६३४ जनामा कोरोना संक्रमण पुष्टी, १५ जना संक्रमितको मृत्यु

    थप २६३४ जनामा कोरोना संक्रमण पुष्टी, १५ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७५०३ पीसीआर परीक्षणमा १७१८ र ५०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २६३४ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४८ हजार ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा १५६५ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २५ हजार ८२८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।

  • काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा लगाउन कहाँ-कहाँ छन् खोप केन्द्र ?

    काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा लगाउन कहाँ-कहाँ छन् खोप केन्द्र ?

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ ।

    गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कामपाले बुधबारदेखि यही असार २४ गतेसम्म दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको हो ।

    खोप केन्द्रहरुमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, शङ्करमपुर अस्पताल, हिमाल अस्पताल, ओम अस्पताल एवं रिसर्ज सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पताल बालाजु रहेको कामपाले जानाएको छ ।

    कामपाका शहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले आफूलाई पायक पर्ने अस्पतालमा पुगेर खोप लगाउन पर्नेछ । त्यसका लागि पहिलो मात्रा लगाएको खोप काड अनिवार्य लानुपर्ने छ । पहिलो मात्र लगाउने बेला कामपाले ३२ वटा खोप केन्द्रबाट कार्यक्रम सञ्चालन गरेको थियो । भीड कम गर्नका लागि भन्दै प्रत्येक दिन एक उमेर समूहलाई मात्र खोप लगाएको थियो ।

    यसअघि स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको थियो ।

    त्यसैगरी यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयानुसार कामपासहित जेठ २ गतेदेखि काठमाडौँ जिल्लामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो ।

    जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करिब एक लाख व्यक्तिले लगाएका थिए । त्यसैगरी आजदेखि लागाइने खोपका लागि काठमाडौँ जिल्लाका लागि अन्य स्थानीय तहले पनि १९ वटा खोप केन्द्र तय गरेका छन् ।

  • नेकोनद्वारा महावीर पुनको सम्मान तथा सहयोग हस्तान्तरण

    नेकोनद्वारा महावीर पुनको सम्मान तथा सहयोग हस्तान्तरण

    कनेक्टिकट

    कनेक्टिकट नेपाली समाज (नेकोन) युएसएले हाल अमेरिका भ्रमणमा रहनु भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक डा. महावीर पुनलाई गत जुन २५ तारिखका दिन स्थानीय केनेडी पार्कमा एक औपचारिक कार्यक्रमका बीच सम्मान गर्दै सहयोग रकम हस्तान्तरण गरेको छ ।

    उक्त कार्यक्रमको संयोजन संस्थाका सहकोषाध्यक्ष संजय पन्तले गर्नु भएको थियो भने सहयोगदाताहरु र सदस्यहरु गरी करिव १०० जनाको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. महावीर पुनलाई सम्मान गर्दै नेकोनका अध्यक्ष नारायण पौडेलले डा. पुनको सरल व्यक्तित्वको प्रशंसा गर्दै सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । संस्थाको तर्फबाट उपाध्यक्ष रघुनाथ गिरीले स्वागत मन्तव्य र कार्यक्रमको सहजीकरण तथा संचालन संस्थाका सचिव राजन तिम्सिनाले गर्नु भएको थियो । सम्मानित व्यक्तित्व डा. महावीर पुनले अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको भनाई उद्धृत गर्दै विना स्वार्थ राष्ट्रका लागि सहयोग गर्नु पर्ने बताउनु भयो । साथै वहाँले सहाभागीहरुको जिज्ञासाको प्रतिउत्तर पनि दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा नेकोनद्वारा संकलित १० हजार अमेरिकी डलर अध्यक्ष नारायण पौडेलज्यूले डा. पुनलाई हस्तान्तरण गर्नु भयो ।

    स्मरण रहोस, डा. महावीर पुन म्याग्दीको दुर्गम गाउँ नागीमा जन्मिएर पनि अमेरिकाबाट विद्यावारिधि गर्न सफल भई अमेरिकाको सुविधा र अवसरलाई छाडेर पुन नेपालको दुर्गम गाउँमा फर्केर तार रहित ईन्टरनेट तथा भिओआईपी टेलिफोनको माध्यमबाट नेपालको दुर्गम गाउँलाई इन्टरनेटको विश्व संजालमा जोड्न सफल हुनु भयो । निस्वार्थ सामाजिक सेवामा वहाँको नेतृत्व क्षमताको उच्च सम्मान गर्दै सन् २००७ मा वहाँले फिलिपिन्सबाट ५०,००० डलरको रमण म्याग्सायसे पुरस्कार प्राप्त गर्नु भयो । त्यस यता पुरस्कारको सम्पूर्ण रकम र आफ्नो जायजेथा समेत संस्थागत गर्दै “राष्ट्रिय आविस्कार केन्द्र” को स्थापना गरि देशमा विज्ञान तथा प्रविधिको अध्ययन र अनुसन्धान मार्फत नेपाली माटो सुहाउँदो प्रविधीको विकासमा युवा जनशक्तिलाई परिचालन गरिरहनु भएको छ भने, हालै विद्यमान कोभिड-१९ को महामारीमा नागरिक स्तरमा अगुवा नेतृत्वको भूमिकामा वहाँ सतिसाल झैँ उभिनु भयो । अक्सिजन सिलिन्डर, यस संग सम्बन्धित पार्टपूर्जाहरु, अस्पतालका भेन्टिलेटरहरुको मर्मत सम्भार र पिपिईको निर्माण तथा वितरणको सहजीकरण गरेर वहाँ र वहाँको केन्द्र सम्बद्ध टिमले नेपाली जनतालाई बिर्सनै नसकिने गुण लगाउनु भएको छ । डा. पुन र वहाँको राष्ट्रिय आविष्कार केन्द्रलाई आफ्नो उदेश्य प्राप्तिमा निरन्तर सफलता मिलोस, कनेक्टिकट नेपाली समाज (नेकोन) युएसएको यही हार्दिक शुभकामना !

  • चिनियाँ राष्ट्रपतिले सम्बोधन गर्ने भर्चुअल सम्मेलनमा नेपाली प्रधानमन्त्रीसहित शीर्ष नेताले भाग लिँदै

    चिनियाँ राष्ट्रपतिले सम्बोधन गर्ने भर्चुअल सम्मेलनमा नेपाली प्रधानमन्त्रीसहित शीर्ष नेताले भाग लिँदै

    काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) स्थापनाको एक शताब्दी पुगेको अवसरमा राजनीतिक दलसम्बन्धी एक विश्वस्तरीय सम्मेलनलाई आज चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिङ पिङले सम्बोधन गर्दैछन् । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका शीर्ष नेता सहभागी हुने भएका छन् ।

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणासहितका नेताले सम्मेलनमा भाग लिने भएका हुन् । सम्मेलन जनहित र राजनीतिक दलको जिम्मेवारी विषयमा हुनेछ ।

    भर्चुअल सम्मेलनमा विश्वका एक सय ६० भन्दा बढी मुलुकबाट विभिन्न राजनीतिक दल तथा राजनीतिक संगठनका पाँच सय नेता र एक हजार प्रतिनिधिले भाग लिने बताइएको छ । चीनमा सत्तारुढ दल स्थापनाको एक सय वर्ष पुगेको अवसरमा विभिन्न् कार्यक्रम आयोजना भइरहेका छन् ।

  • एमाले विवाद मिलाउन गठित कार्यदल ब्यूँतियो, आज बैठक बस्दै

    एमाले विवाद मिलाउन गठित कार्यदल ब्यूँतियो, आज बैठक बस्दै

    काठमाडौं । नेकपा (एमाले)को एकता कायम राख्न पहल र्ने उद्देश्यले गठन भएको कार्यदल ब्यूँतिएको छ । कार्यदलको बैठक मंगलबार सिंहदरवारमा बस्ने भएको छ । कार्यदललाई ब्यूँताउने र दुबै पक्षले संयुक्त वक्तब्य दिएर एमाले एकता कायम राख्ने संन्देश दिने गरि शीर्ष तहमा सहमति भएसँगै आज बैठक बस्न लागेको हो ।
    एमाले विवाद चर्किँदै गएपछि कार्यदल समेत निस्क्रिय भएको थियो । कार्यदललाई सोमबारबाट पुनः ब्युँताइएको छ ।

    कार्यदलले काम भने सोमबारदेखि नै थालेको छ । सोमबारको बैठकमा अहिलेसम्म भएका छलफलको पुनरावलोकन गरिएको नेताहरुको भनाई छ । कार्यदलमा अध्यक्ष केपी शर्मा ओली पक्षका सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त कार्यदलमा रहेका छन् ।

  • चितवनमा ९ दिन देखि हराइरहेकी यूवतीको शव फेला, घटना रहस्यमय रहेको परिवारको आशंका

    चितवनमा ९ दिन देखि हराइरहेकी यूवतीको शव फेला, घटना रहस्यमय रहेको परिवारको आशंका

    चितवन । चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको आइतबार शव भेटिएको छ । ९ दिन अगाडी आफुलाई अपहरण गरिएको भन्दै दिदीलाई फोन गरेकी भण्डारीको शव भेटिएपछि परिवारले यो घटना रहस्यमय भएको बताएको छ । सोहीकारण सोमबार दिनभर स्थानीयले उनको शव समेत बुझ्न मानेनन् । सोमबार साँझ भने स्थानीय प्रशासन र परिवारबीच दुई बुँदे सहमति भएसँगै उनको शव घटनास्थलबाट भरतपुर अस्पताल लगिएको छ ।

    प्रहरीका अनुसार घटनाको यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्ने र परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन सरकारसमक्ष अनुरोध गर्ने सहमति जुटेपछि परिवारले शव लैजान अनुमति दिएका हुन । पिडित पक्षले २४ घण्टाभित्र दोषी पत्ता लगाएर कारबाही गर्ने लिखित प्रतिबद्धता नआएसम्म सुजिताको शव लैजान नदिने अडान राख्दै राजमार्ग अवरुद्ध गरेका थिए ।

    अपहरण भएको फोन गरेपनि त्यसपछि अपहरणकारीबाट पुनः कुनै फोनसहितको जानकारी नआउनु र फोनको लोकेसनभन्दा फरक स्थानमा उनको शव भ्टिएपछि घटना रहस्यमय बनेको छ । राप्ती नगरपालिका–३ की भण्डारी ९ दिन अघि बिहान साथको घरमा जाने भन्दै निस्किएकी थिइन् । आतइबार दिउँसो ब्रम्हस्थानी सामुदायिक वनको भिरालो भागमा उनको शव भेटिएको हो । शव नजिकै धानमा हाल्ने पतेराको विषादी समेत बरामद भएको छ ।

  • नेपालमा थप २६२२ जनामा कोरोना पुष्टी, २३ जना संक्रमितको मृत्यु

    नेपालमा थप २६२२ जनामा कोरोना पुष्टी, २३ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६२२ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७४९९ पीसीआर परीक्षणमा १७४५ र ४०२८ जनाको एन्टिजेन परीक्षणमा ८७७ जना गरी २६२२ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा २२११ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ११ हजार ४२९ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २५ हजार ६९० रहेको छ ।

    पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार २४८ पुगेको छ ।

  • प्रधानन्यायाधीशको प्रश्न – एमालेको विकल्पमा अर्को सरकार बन्ने देखिन्न,यस्तो अवस्थामा के हुन्छ ?

    प्रधानन्यायाधीशको प्रश्न – एमालेको विकल्पमा अर्को सरकार बन्ने देखिन्न,यस्तो अवस्थामा के हुन्छ ?

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पहिले वैकल्पिक सरकार बन्ने सम्भावना दखेर सार्वेच्वले संसद पुनस्स्थापना गरे पनि अहिले त्यस्तो अवस्था नभएको भन्दै यस्तो अवस्थामा के हुन्छ ? भनेर रिट निवेदक पक्षका कानून व्यवसायीलाई प्रश्न गर्नुभएको छ ।

    सोमबार संसद विघटन सम्बन्धी सर्वोच्च अदालतमा जारी सुनुवाइका क्रममा प्रधानन्यायाधीश राणाले वरिष्ठ अधिवक्ता हरिहर दाहाललाई सोध्नुभयो, ‘मैले हिजो पनि सोधेको थिए जवाफ आएन, हिजो ११ फागुनमा फैसला गर्दा एमालेको विकल्पमा सरकार बन्ने देखेर अदालतले संसद् पुनःस्थापना र्गयो ।

    अहिले तपाईंकै निवेदनमा देख्दा त यस्तो विकल्प देखिन्न त्यसले अब के हुन्छ ?’राणाले संविधानको धारा ७५ (५) प्रधानमन्त्री बनाउन हो कि संसदको स्थायित्वका लागि हो ? भन्नी प्रश्न गर्नुभयो । ‘उपधारा ५ को व्यवस्था स्थायित्वका लागि हो कि प्रधानमन्त्री बनाउन मात्र हो ?,’ उहाँको प्रश्न थियो ।

    ‘संसद् आफ्नो आयु ५ वर्षसम्म चलोस् भनेर हो कि प्रधानमन्त्री बनाउन मात्र हो ? तपाईंको रिट निवेदनको बुँदा हेर्दा त फेरि पनि संसद् आफनो पूरा आयुसम्म जीवित रहन्छ त ? । माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा यो कुराले सार्थकता दिन्छ जस्तो लाग्छ ?’

    राणाको प्रश्नको जवाफ दिँदै दाहालले वैकल्पिक सरकार बन्ने अवस्था रहेसम्म संसद विघटन गर्न नपाइने जिकिर गरे । ‘

  • नेपाल समूहलाई दिएको अल्टिमेटम सकिँदै,दोस्रो तहका नेताहरु अन्तिम कसरतमा

    नेपाल समूहलाई दिएको अल्टिमेटम सकिँदै,दोस्रो तहका नेताहरु अन्तिम कसरतमा

    काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु अन्तिम कसरतमा जुटेका छन् । आजपनि उनीहरु छलफलमा जुटेको बताइएको छ । उनीहरुले पार्टी एकताका लागि बनाइएको कार्यदल ब्यूँताउन कोसिस गरिरहेका छन् ।

    त्यो समय अगावै दुई नेतालाई मिलाउन दोस्रो तहका नेताहरु दौडधुप गरिरहेका छन् । गत शुक्रवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ताको लागि आज बेलुकी ५ बजेसम्मको अल्टिमेटम दिएको छ । तर, नेपाल पक्षले भने अवैधानिक कमिटीबाट आएको निर्देशन मान्य नहुने जवाफ दिएको छ । दुवै पक्ष लचिलो बन्न नसक्दा एमालेमा एकता सम्भावना टर्दै गएको विश्लेषण हुन थालेको छ ।

    दिइएको समयभित्र हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने अध्यक्ष ओलीले चेतावनी दिएका छन् । तर, नेपाल पक्षले भने २०७५ जेठ २ अघिकै कमिटीको बैठक बसेर निर्देशन दिए मात्र मान्य हुने बताउँदै आएको छ ।

    ओली र नेपालको अडानका कारण पार्टी एकतालाई टुङ्गोमा पुर्याउने दोस्रो तहका नेताहरुको प्रयास सफल हुन सकेको छैन । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले पुनःस्थापित भए यता अध्यक्ष ओली र नेपाल पक्षबीच विवाद उत्कर्षमा पुग्दैकक आएको छ ।

    आफ्नो पक्षका नेताहरु मात्र सहभागी बैठक राखेर एकपछि अर्को निर्णय गरेका अध्यक्ष ओली २ जेठ २०७५ मा फर्किन सहमत भएपछि २ जेठ २०७८ मा कार्यदल गठन भएको थियो । कार्यदलले काम थाल्दानथाल्दै प्रतिनिधिसभा विघटनको प्रक्रिया सुरु भएपछि विवाद झनै चर्किएको हो ।

  • प्रतिनिधिसभा विघटनविरुद्धको बहस आज सकिँदै, फैसला कहिले ?

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस आज सकिँदै, फैसला कहिले ?

    काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा आज पनि जवाफी बहस हुँदैछ ।

    आइतवार सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानून व्यवसायीहरुको बहस सकिएसँगै रिट निवेदक पक्षका कानूनी व्यवसायीहरुको जवाफी बहस शुरु भएको थियो ।

    आइतवार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले जवाफी बहस शुरु गरेका थिए । उनीसहित जवाफी बहस गर्ने कानून व्यवसायीहरुलाई विभिन्न प्रश्नहरु सोधिएको छ ।

    प्रधानन्यायाधीश राणा र अन्य न्यायाधीशहरुले जवाफी बहस शुरु गर्नुअघि विभिन्न प्रश्नहरु राखेका थिए। उनीहरुले शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्दा नक्कली कागजात पेस भएको, केरमेट गरिएको, टिपेक्स लगाएको आरोप छ ?, १४६ जनाको रिट निवेदनमा पाँच जना मात्र निवेदक थिए भन्ने छ त्यो के हो ? संवैधानिक इजलाशमा आउने प्रक्रिया पूरा भएन, भन्ने छ त्यो के हो ?, अदालतले प्रधानमन्त्री नियुक्त गर्ने हो ? संविधानको आफ्नै प्रक्रिया छ, अदालतले के गर्ने हो ? जस्ता प्रश्न रहेका छन् । रिट निवेदकका तर्फबाट जवाफी बहस गर्ने कानून व्यवसायीले ती प्रश्नको जवाफ दिनेछन् ।

    त्यसअघि सभामुखका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले संविधानअनुसार विश्वासको मत लिनु पर्ने अनिवार्य शर्त भएपनि त्यसको पालना नगरेको र राष्ट्रपतिले संविधानको संरक्षण गर्न चुक्नु भएको तर्क राखेका थिए । यसैगरी बाँकी रहेका रिट निवेदक पक्षका कानून व्यवसायीहरुले भोलि जवाफ दिनेछन् । त्यससँगै आजबाट जवाफी बहस सकिनेछ । भने अब ४ जना एमिकस क्यूरी (अदालतको सहयोगी) को बहस बाँकी रहनेछ ।

    सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेका छन् ।

  • एनआरएनको गरिमा बचाउन संस्थागत संस्कार, अनुशासन र व्यवहार अपरिहार्य

    एनआरएनको गरिमा बचाउन संस्थागत संस्कार, अनुशासन र व्यवहार अपरिहार्य

    सुपेन्द्र बस्नेत, बोष्टन

    आजको युग विश्वव्यापिकरणको युग हो ।प्राविधिकरणसंगै विकसित आधुनिकिकरणले विश्वयात्रालाई निकै सजिलो बनाइदिएको छ । जसका करण विविध कारणले जन्मभूमि छोडेर अर्कै भूमिलाई कर्मभूमि बनाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ । यसबाट नेपालीहरु पनि अछुतो रहन सकेका छैनन् । नेपालीहरुले संसारका ८१ भन्दा बढी देशहरुमा डेरा जमाइ सकेका छन् । तिनै विविध कारणले नेपाल बाहिर (सार्क राष्ट्रहरु बाहेक) विश्वभर छरिएर रहेका नेपालीहरु र नेपाली मूलको विदेशी नागरिकहरुको साझा छाता संस्था हो ‘गैर आवासीय नेपाली संघ’ । जन्मभूमि र कर्मभूम बीच आत्मीय सामिप्यता ल्याउन सेतुको काम गर्नु , प्रवासी नेपालीहरु हितका लागि सक्दो भूमिका निर्वाह गर्नु , नेपाल र नेपालीको समृद्धिका लागि सक्दो योगदान पुर्याउनु र नेपालीको समृध्दि मार्फत विदेशमा रहेका गैर आवासीय नेपालीहरुको प्रसिद्धि बढाउनु नै यस संस्थाको मुख्य उद्देश्यहरु रहेका छन्। सन् २००३ , अक्टोबर ११ तारिखका दिन एक गैरनाफामूलक सामाजिक संस्थाको हैसियतमा स्थापित यो संस्था , नेपाल सरकाबाट मान्यता प्राप्त आधिकारिक संस्था हो । जसलाई गैर आवासीय नेपाली नियम २०६४ लागू गरी नियमन गरिएको छ ।
    संस्थाको विधानमा हरेक दुई बर्षमा नयाँ कार्यसमिति चयन गर्नु पर्ने व्यवस्था भए अनुसार , गैर आवासीय नेपाली संघ , अमेरिकाले पनि कोरोना कहरकैबीच जसोतसो निर्धारित मिति भित्रै विभिन्न राज्यहरुमा रहेका आफ्ना च्याप्टरहरुको र राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सम्पन्न गर्यो। निर्वाचनका सम्बन्धमा लागेका अनेक खाले आरोपहरुलाई बेवास्था गर्ने हो भने , निर्वाचन सम्पन्न गर्ने कार्यसमिति र निर्वाचन आयोग धन्यवादको हकदार नै छन्। तर, निर्वाचनका दौरानमा लोकतान्त्रिक अभ्यासका नाममा भएका अलोकतान्त्रिक हर्कतहरु भने साच्चै जिब्रो कटाउने र नाक तथा निधार खुम्च्याउने स्तरको रहेको कुरा पनि जग जाहेर नै छ । यद्यपि, संस्थाको हित तथा नेपाल र नेपालीको उज्वल भविश्यको आसका खातिर, देखे पनि नदेखे झैं र सुने पनि नसुने झैं चैचुप मैचुप रहनेहरुको जमात पनि बलियो नै रह्यो । जसका करण तै चुप मै चुप, खुला दिसा गर्नेलाई देखिए-आफै लुकको अवस्थाबाट गुज्रदै संस्थागत निर्वाचन अभियान राष्ट्रिय वार्षिक साधारणसभातिर लम्कन सफल भयो। निर्वाचन पश्चात् पराजित भएकाहरुका आत्तिएका रुवावासी र विजयी हुनेहरुको मात्तिएका विजयोत्सवका हर्कतहरु संस्थाको गरिमा अनुसार विलकुल शोभनीय रहेनन्। हुनत सामान्यतया लोकतान्त्रिक निर्वाचन परिणाम सार्वजनिक भै सकेपछि ति हर्कतहरुले विश्राम लिनु पर्ने थियो । र, सबै तिता र असन्तुष्टिहरु बिर्सिएर पुनःसंस्थागत अभियानमा एकताबद्ध भइ अघि बढ्नु पर्ने हो । तर, ‘दुर्भाग्य’ त्यसले जुलाई ३-४ सम्म न्यू योर्कमा भएको गरिमामय ‘राष्ट्रिय साधारणसभा’सम्मको यात्रा तय गर्यो । उदघाटन समारोह मै विजयको दम्भ, पराजयको पिडा र घृणाको कुण्ठाले धारण गरेको पराकाष्ठा यसरी छताछुल्ल भयो कि, जसले संस्थाको गरिमा नराम्ररी चुकायो। गर्वीलो शिर झुकायो । र , मतदाहरुको आसा र भरोसा टुटायो। नवनिर्वाचितहरुलाई औपचारिक पद ग्रहणका लागि हतारो हुनु र पुरानाहरुलाई पद त्याग गर्ने बेला पसारो पर्नुले नराम्ररी जग हसायो । सुरक्षा दस्ताको चौघेरामा हतार हतार सपथ ग्रहण कार्यक्रम सम्पन्न हुँदाको क्षण, निकै दयनीय, टिठिलो र लज्जास्पद रह्यो । आयोजित गरिमामय साधारणसभालाई मुख्य गरी संस्थाको नीति नियम निर्माण गर्ने, आगामी कार्ययोजना तर्जुमा गर्ने, भए गरेका क्रियाकलापहरुको मुल्याङ्कन गर्ने र अग्रगामी कदम चाल्नका लागि पृष्ठपोषण गर्ने अमुल्य सुवर्ण अवसरका रुपमा भरपुर सदुपयोग गरिनु पर्ने थियो। तर, त्यसो नभएर साधारणसभा बदला लिने, लामो समयदेखि पालित पोषित कुण्ठा पोख्ने र एक अर्कालाई खुइल्याउने मौकाको रुपमा दुरुपयोग गरियो । यी सलबलाएका घटनाहरुका छनकहरु हेर्दा, यी समस्याहरुको समाधान तत्कालै त्यति सजिलो हुनेवाला देखिन्न। ज्ञान, बुद्धि, विवेक र सीपका दृष्टले विश्वकै अग्रपंक्तिमा रहेको मानिएको देश अमेरिकामा रहेर पनि, होनहार मानिएका संस्थाका जिम्मेवार व्यक्तित्वहरुबाटै यस्ता लज्जास्पद , निन्दनीय र खेदजनक व्यवहारहरु भएको सुनिनु र देखिनु, नेपाल र नेपालीका लागि निकै दुर्भाग्यको कुरा हो । यस घटनाले संस्था भित्र सामुहिक स्वार्थका खातिर चाहिने अपरिहार्य संस्थागत संस्कार, व्यवहार र अनुशासनको निकै अभाव र व्यक्ति स्वार्थका खातिर कुण्ठा,ठालुपन र दम्भको निकै प्रभाव रहेको पुष्टि गरेको छ। गैर आवासीय नेपाली संघ , एउटा गैरनाफामूलक सामाजिक संस्था हो ।तर, यस संस्थामा आवद्ध भएर समाजसेवा गर्ने अभियानमा किन हार्दिकता र एकता छैन ? नेतृत्व प्राप्तिका लागि लोकतान्त्रिक अभ्यासका नाममा किन अलोकतान्त्रिक क्रियाकलापहरुले प्रसय पाइरहेका छन् ? नेतृत्व प्राप्तिलाई किन जिम्मेवारी वहनका रुपमा नलिइ, पद र प्रतिष्ठा ग्रहणका रुपमा लिइन्छ ? ठेकेदारी प्रथा किन मौलादै छ ? निर्वाचन पश्चात् मतदाताहरुको अवमुल्यन किन गरिन्छ ? समाजिक कार्यमा सबैसंग हातेमालो गरी अघि बढ्न छोडेर, यस्ता लज्जास्पद संस्कार र व्यवहारहरु किन मौलाइरहेका छन् ? संस्थाको आदर्श वाक्य ‘नेपालीका लागि ,नेपाली’ लाई सार्थक बनाउने पथमा संस्था किन डोर्याउन सकिरहिएको छैन ? संस्थागत पारदर्शीता दिन प्रतिदिन किन संकुचित र कुण्ठित हुदै गइरहेको छ ? नीतिगत र आर्थिक भ्रष्टाचारको कुरा जोडदार किन उठिरहेको छ ? संस्थाप्रति लक्षित समुदायको आकर्षण किन बढ्न सकिरहेको छैन ? संस्थामा परिमाणात्क आबद्धतामा बृद्धि देखिए पनि , गुणात्मक आबद्धता किन खस्कदो छ ? छलछामे, बदनामे, पदलोलुपी, हुक्के चिलिमे र रमितेहरुको कब्जामा रहेको रत्यौली खेल्ने क्लवका रुपमा संस्थाको छवि किन संस्थागत हुदै गइरहेको छ ? संस्थामा आवद्ध जो कोही सदस्यहरुले किन अपनत्व ग्रहण गर्न सकिरहेका छैनन् ? हो अहिले संस्था हाक्ने अहोदामा रहेकाहरुलाई जोडेर यस्तै यस्तै यक्ष प्रश्नहरु खडा भइरहेका छन् । संस्थागत उद्देश्य प्राप्ति गर्ने र कार्यकाल बढी भन्दा बढी प्रभावकारी बनाउने हो भने , सबैभन्दा पहिला अग्रगामी कदमका बाधक यस्ता प्रश्नहरुको उत्तर तुरुन्त खोजी गरिनु पर्दछ । र, यि यक्ष प्रश्नहरुको सम्बोधन हुने र समस्या समाधानका लागि उपायहरु पहिचान गर्ने गरी आवश्यक एकिकृत ठोस कदम चालिनु पर्दछ।रुखका जराहरुका बाधकहरु नपन्छाइ , जति सुकै मलजल दिए पनि रुखले अपेक्षित फल दिन कदाचित् सक्दैन । त्यसैले, सर्वप्रथम संस्थागत सुदृढीकरण , सुद्धिकरण, एकिकरण र सबलीकरणका बाधकहरु पन्छाउनु अपरिहार्य छ।हैन भने सपथ ग्रहण, पदभार ग्रहण , यताउता भ्रमण, आशन ग्रहण , अर्थहीन भाषण, रासन ग्रहण र अन्तमा छेउटुप्पोको भेउ नै नपाउदै बागडोर हस्तान्तरण मै सकिने छ दुई वर्षे कार्यकाल।
    तसर्थ, संस्थाको एक साधारण सदस्यको हैसियतले विलम्ब नगरी संस्थाको गरिमा उच्च राख्न र सबैले गर्व गर्न लायक संस्था बनाउन, अति आवश्यक यिनै प्रमुख मद्दाहरुमा केन्द्रिकृत भएर आफ्नो अभियान प्रारम्भ गरिहाल्न नयाँ टिमलाई अनुरोध गर्दछु। साथै, प्राप्त अवसरलाई पद तथा प्रतिष्ठा ग्रहणका रुपमा नभई, संस्थागत हितार्थ जिम्मेवारी बहनका रुपमा बुझ्न र सोही अनुसार भूमिका निर्वाह गर्न अनुरोध गर्दै यि नै सदिच्छासहित कार्यकाल पूर्ण सफलताको कामना समेत गर्दछु ।

  • २५ असारदेखि चीनबाट धमाधम खोप आउने, यस्तो छ उडान तालिका

    २५ असारदेखि चीनबाट धमाधम खोप आउने, यस्तो छ उडान तालिका

    काठमाडौं । चिनियाँ कम्पनी सिनोफार्मसँग सरकारले किनेको कोरोना भाइरस विरुद्धको खोप २५ असारबाट काठमाडौं आउन थाल्ने भएको छ । नेपाल एयरलाइन्सले मेडिकल सामग्री ल्याउने प्रयोजनका लागि चीनको राजधानी बेइजिंग जाने छ । २४ असारमा जाने वाइडबडी जहाज २५ असारमा काठमाडौं आउने छ । यो जहाजमा ८ लाखभन्दा माथि डोज एक खेपमा ल्याउने तयारी छ ।

    भेरोसेल खोप आगामी तीन साताभित्रै सरकारले खरीद गरेको परिणाम भित्रै आइपुग्ने छ । सरकारले ४० लाख डोज खोप किनेको बताएको छ । दोस्रो उडान असार ३१ मा हुने छ । यो जहाज १ साउनमा काठमाडौं आउने छ । तेस्रो उडान साउन ७ मा जाने छ । यो जहाज ८ साउनमा नेपाल आउने छ । पटक पटकको प्रयासपछि अन्ततः चीन खोप बिक्रि गर्न तयार भएको हो । अन्य मुलुकबाट भने तत्काल खोप आउने सम्भावना छैन ।

  • तयार भयो राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

    तयार भयो राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

    काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अन्ततः तयार भएको छ । आधारभूत काम पुरा भई विजुलीको परीक्षण उत्पादन थाल्ने तयारीसँगै सरकारले सोमबार आयोजनाको औपचारिक उद्घाटन गर्ने भएको छ । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा यो आयोजनाका परीक्षण उत्पादन सोमबारबाटै शुरु हुने छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्न स्विच थिच्ने गरि तयारी गरिएको हो । सोमबारबाट तामाकोशीको ७६ मेगावाट बिजुली रष्ट्रिय प्रशारणमा जोडिनेछ । पहिलो १५ दिन परीक्षण उत्पादन अवधि तोकिएको छ । त्यसपछि तामाकोशीबाट व्यवसायिक उत्पादन सुरु हुनेछ ।

    व्यवसायिक उत्पादन शुरु भएपछि भने प्राधिकरणले आयोजनालाई बिजुलीबापतको पैसा दिन थाल्ने छ । ७६\७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो । असारभित्र २ वटा युनिटबाट बिजुली उत्पादन थाल्ने लक्ष्य छ ।

    आयोजनाबाट उत्पादित विद्युत गोंगर खिम्ती ढल्केबर २२० केभी प्रसारणलाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । माथिल्लो तामाकोसीको विद्युतगृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइन बनेको छ । खिम्तीमा निर्माणाधीन २२० केभीको न्यू खिम्ती सबस्टेसनको परीक्षण सकिएको छ । अहिले आयोजनाको विद्युत न्यू खिम्ती सबस्टेसनमा नलगी सिधै ढल्केबर सबस्टेसनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गर्ने तयारी छ ।

  • पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु

    पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २७ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ।

  • नेपालमा थप १६०३ जनामा कोरोना संक्रमण पुष्टी, २५५२ जना संक्रमणमुक्त

    नेपालमा थप १६०३ जनामा कोरोना संक्रमण पुष्टी, २५५२ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६०३ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४८७६ पीसीआर परीक्षणमा १०५२ र ३२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १६०३ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४४ हजार ६२२ पुगेको छ । पछिल्लो २४ घण्टामा २५५२ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ९ हजार २१८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २७ हजार १६७ रहेको छ ।

  • माधव नेपाल फकाउने ओली पक्षको दोश्रो  तहका नेताहरुको प्रयास असफल

    माधव नेपाल फकाउने ओली पक्षको दोश्रो तहका नेताहरुको प्रयास असफल

    काठमाडौं । नेकपा (एमाले) को पार्टी एकताका लागि वरिष्ठ नेता माधव नेपाललाई मनाउने दोसो तहका नेताहरुको प्रयास असफल भएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको हस्ताक्षर फिर्ता लिएर पार्टी विवाद समाधान गर्न गरिएको प्रयास असफल भएको हो ।

    नेपाल पक्षलाई पार्टीले भोलिसम्मको समय दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने जवाफ बालुवाटारलाई पठाईसकेको छ ।

    नेता नेपाललाई मनाउन आइतबार विहान दुवै समूहका नेता नेपाल निवास कोटेश्वर पुगेका थिए।

    एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल र नेपाल समूहका नेता घनश्याम भुसाल कोटेश्वर पुगेका थिए।

    उनीहरुले विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न नेता नेपाललाई आग्रह गरेका थिए। सो अवसरमा आफूहरूले राखेको प्रस्तावमा नेता नेपालले आफूपक्षका नेताहरुसँग छलफल गर्ने प्रतिक्रिया दिएको भेटमा सहभागी एक नेताले बताए।

    ‘हामीले हस्ताक्षर फिर्ता लिए पार्टी एकताको वातावरण बन्छ भनेका थियौं, तर उहाँले साथीहरुसँग छलफल गरेर खबर गर्छु भनु भयो,’ छलफलमा सहभागी एक नेताले भने।

  • बहुमत पुग्छ भनेर अदालतले प्रधानमन्त्री नियुक्त गर्न मिल्छ ?

    बहुमत पुग्छ भनेर अदालतले प्रधानमन्त्री नियुक्त गर्न मिल्छ ?

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमा आएर सनाखत गराएको अवस्थामा १ सय ४६ जना सांसदको हस्ताक्षरलाई आधार मान भन्न मिल्छ र ? भन्दै प्रश्न गरेका छन् ।

    आइतबार संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस गरिरहेका अधिवक्ता मेघराज पोख्रेललाई संसद विघटन मुद्धामा अदालतमा आएर सनाखत गराएको अवस्थामा बहुमत पुग्छ भनेर अदालतले प्रधानमन्त्री नियुक्त गर्न मिल्छ ? भन्दै प्रश्न गरेका हुन् ।

    ‘१४६ सांसद अदालत आउनुभएको छ । अब बहुमत पुगेछ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्तिको विषयमा निर्णय गरिदिनु संवैधानिक हुन्छ ?’, प्रधानन्यायाधीश राणाले सोधे, ‘७६(५) अनुसार त्यसो गर्न मिल्छ अदालतले ?’

    जवाफमा अधिवक्ता पोख्रेलले अदालतले नियुक्तिभन्दा पनि संवैधानिक व्याख्या गरिदिनुपर्ने बताए । संविधानको धारा ७६ (७) बारे सम्झाउँदै प्रधानन्यायाधीश राणाले भने, ‘हामी सवैधानिक अभ्यासमा छौं । समय अनुसार, संवैधानिक अभ्यास पनि रुपान्तरण हुन्छ ।’

  • नेपालीकी छोरी एलिजाबेथ ठकुरीले प्राप्त गरिन् तिन पटक अमेरिकी राष्ट्रपतिद्वारा सम्मान पत्र

    नेपालीकी छोरी एलिजाबेथ ठकुरीले प्राप्त गरिन् तिन पटक अमेरिकी राष्ट्रपतिद्वारा सम्मान पत्र

    भर्जिनिया

    अमेरिकाको भर्जिनिया निवासी एलिजाबेथ ठकुरीले लगातार तेश्रो पटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षर सहित प्रदान गरिने “राष्ट्रपति शिक्षा पुरस्कार” प्राप्त गरेकी छिन्।पिता उज्ज्वल ठकुरी र आमा प्रियंका नेपाल ठकुरीकी सुपुत्री प्रियंका भर्जिनियास्थित फ्रोष्ट मिडिल स्कुलमा अध्ययनरत छिन् ।



    उनले प्रथम पटक कक्षा ६ मा राष्ट्रपति ट्रम्पद्वारा २०१९ “राष्ट्रपति शिक्षा पुरस्कार” प्राप्त गरेको थिइन् भने कक्षा ७ मा फेरी राष्ट्रपति ट्रम्पद्वारा “राष्ट्रपति शिक्षा पुरस्कार” २०२० प्राप्त गरेको थिइन्। यसपाली २०२१ कक्षा ८ मा पनि सो उत्कृष्ट पुरस्कार एलिजाबेथ ठकुरीले राष्ट्रपति जो बाइदेनबाट पनि प्राप्त गरेकी छिन् । यसले सम्पूर्ण नेपाली समुदाय र नयाँ पिढीलाई प्रत्साहन र उर्जा उत्पादन गरिदिएको पिता उज्ज्वल ठकुरी बताउँछन् ।

    एलिजाबेथ बताउँछिन; “मैले पुरस्कार सोचेर पढेकी होइन, सधै अध्ययनलाई प्राथमिकता राख्दछु । मेहेनत गरे अमेरिकामा सबै सम्भव छ” । उनका पिताले कायम राखेका विश्व कीर्तिमानले आफुलाई पनि हौसला मिलेको समेत बताएकी छिन् ।

  • टोखामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

    टोखामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

    काठमाडौं । काठमाडौंको टोखामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार टोखा नगरपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो ।

    गएराति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नुवाकोटको बेलकोट नगरपालिका ६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यहीँ ठाउँका २२ वर्षका दिपेश थापाको घटनास्थलमा नै ज्यान गएको हो । मोटरसाइकलकै पछाडी बसेका ३० वर्षिय सागर खतिवडा घाइते छन । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार जारी छ ।

  • प्रधानमन्त्री के पि ओलीको असंबैधानिक कदम भन्दै विद्यार्थी संगठनहरुको संयुक्त विरोध प्रदर्शन

    प्रधानमन्त्री के पि ओलीको असंबैधानिक कदम भन्दै विद्यार्थी संगठनहरुको संयुक्त विरोध प्रदर्शन


    अमृता के सी ( रोनी )
    काठमाडौँ, असार २० ।प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्ध विद्यार्थी संगठनहरूले संयुक्तरूपमा देशव्यापी विरोध प्रदर्शन गरेका छन् ।उपत्यका लगायतका ठाउँमा निषेधाज्ञा खुकुलो हुँदै गए संगै लगातार प्रदर्शन गरिरहेका राजनैतिक दल सम्बद्ध ५ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।चाबहिल स्थित पशुपति बहुमुखी क्याम्पसका अनेरास्ववियू सभापति मनोज वैद्यको नेतृत्वमा नेविसंघका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको शनिबार पुत्ला दहन गरेका हुँन् ।

    विरोध प्रदर्शनकै क्रममा नेविसं‌घ कोटेश्वर बहुमुखी क्याम्पस इकाईले आजै जडीबुटी पुलमा प्रधान मन्त्रीको पुत्ला दहन गर्दै मसाल जुलुस निकालेको छ ।त्यसैगरी नेपाल कमर्स क्याम्पस मिनभवनमा पनि शनिबार नै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

    देशको विभिन्न ठाउँमा नेबिसंघ, माधव नेपाल समूहको अनेरास्ववियू, अखिल क्रान्तिकारी सहितका ५ विद्यार्थी संघ संगठनहरूले ओलीको असंवैधानिक कदमको विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।मसाल जुलुस सहित उत्रिएका विद्यार्थीहरुले प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिनु पर्ने लगायतका मागहरु राखेका छन् ।