सिमकोट । नेपालमा अधिक चिसोका कारण हिमाली भेगको जनजीवन प्रभावित हुने छ । यसै सिलसिलामा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ।
राष्ट्रिय समाचार समिति (रासस)का अनुसार कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो।
रातको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ। यहाँको तापक्रम समेत माइनसमा झरिसकेको छ ।
दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउँछ । कोरोना भाइरसका कारण हिल्सामा होटल बन्द छन् । यहाँ प्रहरी मात्र रहेका छन् ।
चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकीले समेत मङ्सिर पहिलो साता आफ्नो बसाई सिमकोट सार्ने गर्छ । नेपाल प्रहरीको टोली जिल्ला फिर्ता भइसकेको छ । अहिले यहाँ सशस्त्र प्रहरी मात्र रहेको छ ।
काठमाडौं । पटक पटक स्थगित भइरहेको नेपाली कांग्रेस कार्यसमिति बैठक आज पनि स्थगित भएको छ । केही नेतामा कोरोना भाइरसको संक्रमण भएको र केही आइसोलेसनमा बस्नु परेको भन्दै नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक सारेको हो । अब अर्को बैठक कात्तिक २७ गते बोलाइएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक सरेको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई डाकिएको छ । यो बैठक कांग्रेसले गत असोजमै डाकेको हो । तर, बाहनाबाजी निकाल्दै बैठक स्थगित भइरहेको छ ।
असोज १२ मा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै १६ बुँदे विरोध पत्र दर्ता गरेका छन् । सोही पत्रबारे पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी रहेर पटकपटक छलफल गरेको कांग्रेसले अब कात्तिक २७ मा हुने बैठकमा सहमतिका लागि प्रस्ताव पेश गर्ने तयारी गरेको बताइएको छ ।
आइतबार सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले विभाग यथावत् राख्दै क्रियशील सदस्यता तथा समायोजन लगायतका एजेन्डामा सहमतिको प्रस्ताव अब बस्ने केन्द्रीय समितिमा पेश गर्ने सहमति गरेको छ।
काठमाडौं । काठमाडौं उपत्यकामा १५३३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका हुन् ।
दाङ । दाङमा जिप दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको लु १ ज २९११ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।
प्रहरीका अनुसार चालक रोल्पा गंगादेव गाउँपालिका ७ बथानका ३५ वर्षीय भीमबहादुर ओली, गँगादेव ५ का ६५ वर्षीय गंजबहादुर बुढा र दाङ बबई गाउँपालिकका २ पंचकुलेका १७ वर्षीय भीमराज बुढाको घटनास्थलमै मृत्यु भएको छ ।
जिपमा सात जना थिए । अन्य चार जना भने घाइते छन् । सल्यान र रोल्पाको सिमाना सल्यानको छत्रेश्वरी गाउँपालिका ४ तिबाङधुरीमा शनिबार साँझ जिप दुर्घटनामा परेको हो ।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । हुम्लामा घोडाबाट लडेका उनलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत ल्याइएको छ । टाउको र हातमा चोट लागेको तर अवस्था भने सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।
शुक्रबार हुम्ला पुगेका मुख्यमन्त्री शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका ३ को तोर्पा, बरगाउँ हुँदै लिमाटाङ्ग हिँडेका थिए । सदरमुकामबाट गाडीमा गएका शाहीलाई त्यहाँका स्थानीय लामा समुदायले घोडामा लैजाने योजना अनुसार घोडामा चढाएका थिए ।
उनी हुडी र लिमाटाङ्गको बीचमा पर्ने खोलामा घोडाबाट लडेका हुन् । उनी सामान्य उपचारपछि निजी निवास फर्किएका छन् ।
डेमोक्रेटिक प्रत्याशी जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । सिएनन, एनबिसी, फक्स न्यूज, न्यूयोर्क टाइम्स लगायत सबै प्रमुख मिडियाले शनिबार विहान बाइडेन निर्वाचित भएको घोषणा गरेका हुन् ।
यसअघि नै २५३ इलेक्टोरल मत पाइ सकेका बाइडेनले पेन्सिलभेनियाको २० इलेक्टोरल मत पाउँदै निर्वाचित भएका हुन् । बाइडेन एरिजोना, जर्जिया र नेभाडाको मत गणनामा पनि अघि छन् । यी तीन राज्य पनि जितेमा उनले ३०६ इलेक्टोरल मत पुर्याउनेछन् । सन् २०१६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले यति न इलेक्टोरल मत पाएका थिए ।
बाइडेन विजयसँगै ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित नहुने सिमित राष्ट्रपतिको सूचीमा सामेल भएका छन् । दोस्रो विश्व युद्ध पछि जेरार्ल्ड फोर्ड, जिम्मी कार्टर र जर्ज एचडब्लु बुसले दोस्रो कार्यकाल पाएका थिएनन् ।
७८ बर्षिय बाइडेनले सबैभन्दा बृद्ध निर्वाचित राष्ट्रपतिको रेकर्ड समेत बनाएका छन् । सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाको उप राष्ट्रपति रहेका उनी त्यस अघि तीन दशक बढि डेलावयरबाट सिनेटर थिए । बाइडेनको विजयसँगै कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति बन्ने भएकी छिन् । उनी भारतीय आमा एवं जमैकन पिताकी छोरी हुन् ।
ट्रम्पले चार बर्षसम्म कोरेको विभाजको रेखा आफुले मेट्ने बाइडेनको दावी छ । आफुलाई भोट हाल्ने र नहाल्ने सबै नागरिकलाई समान आँखाले हेर्दै अन्तर्राष्ट्रिय जगतमा अमेरिकाको गुमेको छवी फिर्ता ल्याउने उनले बताउँदै आएका छन् ।
बाइडेनल निर्वाचित भइ सकेपनि ट्रम्पले पराजय स्वीकार्न मानेका छैनन् । निर्वाचनमा धाँदली भएको र अदालत गएर आफुले चुनावी नतिजा उल्टाउने उनको दावी छ । तर, कहाँ कस्तो धाँदली भयो भन्ने प्रमाण उनी र उनको क्याम्पेनले सार्वजनिक गर्न सकेको छैन ।
बाइडेनले चार बर्ष अघि ट्रम्प अप्रत्याशीत खोसेका मध्य पश्चिम क्षेत्रका तीन राज्य पेन्सिलभेनिया, मिसिगन र विसकनसन डेमोक्रेटिक खातामा फिर्ता ल्याउन सफल भएका छन् । डेमोक्र्याटहरुको बलियो बर्चश्व रहेका यी राज्यबाट ४६ इलेक्टोरल मत पाउँदै सन् २०१६ मा ट्रम्प विजयी भएका थिए । त्यसबाहेक बाइडेनले अग्रता लिएका जर्जिया र एरिजोनामा विजय हासिल गरे दशकौँ पछि ती राज्य जित्ने उनी पहिलो डेमोक्रेटिक उम्मेद्वार हुनेछन् ।
काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं । चोभारमा शनिबार बिहान मर्निङ वाक हिँडेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्। प्रहरीका अनुसार उनी शनिबार धोबीघाट सनराईज अपार्टमेन्ट नजिक मृत अवस्थामा फेला परेका हुन्। उनी करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए।
सोहीक्रममा ढलेका उनी त्यसपछि उठेनन् । प्रहरीले हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । उनको सनाखत भइसकेको छैन ।
काठमाडौं । काठमाडौं उपत्यकामा थप १३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १३ ३८ जनामा संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमितमध्ये ५ सय ७० महिला र ७ सय ६८ जना पुरुष छन्।
हालसम्म काठमाडौंमा १५ हजार १, भक्तपुरमा एक हजार २ सय ४२ र ललितपुरमा २ हजार २ सय २६ सक्रिय संक्रमित छन्।
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५०० जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं । काठमाडौंको खुलामञ्चलगायत सार्वजनिक ठाउँमा अब निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ ।
काठमाडौं महानगरपालिका र अभियन्ताहरुबीच मंसिर २ अर्थात् भाइटीकाको भोलिपल्टदेखि सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति शुक्रबार भएको हो ।
लकडाउनपछि खाना खुवाइरहेका अभियन्ताहरु र काठमाडौं महानगरपालिकाबीच भाइटीकाको भोलिपल्टदेखि निश्चित स्थान पहिचान गर्ने वा प्याकेटमा मात्र खाना वितरण गर्ने सहमति भएको छ ।
खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने भएकाले व्यवस्थित गर्न दुबै पक्ष सहमत भएका हुन् ।
सहमतिपत्रमा हाम्रो सानो प्रयास, हन्ड्रेड्स गु्रप, गसिप क्वीन, हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसियसनलगायत अभियान–संघसंस्थाका प्रतिनिधि र काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखाका निर्देशक हरिबहादुर कुँवर, बसन्त आचार्यल,धनपति सापकोटा,राजु पाण्डेलगायका अधिकारीले हस्ताक्षर गरेका छन्।
यसअघि महानगरले खाना खुवाउन रोक्न निर्देशन दिएपछि विवाद भएको थियो ।
दुबई । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता मुम्बई इन्डियन्सले फाइनलमा स्थान पक्का गरेको छ । बिहीबार राती सम्पन्न पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनको फराकिलो अन्तरले हराउँदै मुम्बई पाचौं उपाधी दाउ पार्ने मुडमा छ ।
मुम्बईले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रनमा रोकियो । पराजित भएपनि दिल्लीका लागि फाइनल सम्म पुग्ने अर्को बाटो भने अझै जिवित छ । शुक्रबार सनराइजर्स हैदरावाद र रोएल च्यालेन्जर्स बैंगलोरबीच एलिमिनेटर खेल हुनेछ ।
यो खेलमा पराजित हुने टोली बाहिरिने छ भने विजेता टोलीले दिल्लीसँग भिड्ने छ । सोही खेलबाट फाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । मुम्बई फाइनल पुगेको यो छैटौं पटक हो ।
सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । यस्तै २०१५, २०१७ र २०१९ मा पनि मुम्बई च्याम्पियन बनेको छ ।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सूर्य कुमार यादव र इशन किसनको अर्धशतक तथा हार्दिक पाण्ड्याको आक्रामक ब्याटिङ मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाउन सक्यो । दिल्लीका लागि आश्विनले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले खराब सुरुवात गर्यो ।
दिल्लीका लागि मार्कुस स्टोइनिङले अर्धशतक र अक्क्षर पटेलले ४२ रन जोडे । मुम्बईका जसप्रित बुमराह एक्लैले ४ विकेट लिए । ट्रेन्ट बोल्टले पहिलो ओभरमै दुई विकेट लिँदै मुम्बईको जितको आधार खडा गरिदिएका थिए ।
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरमा टिपर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ मा टिपर भिरबाट खसेको हो ।
विनयी त्रिवेणी गाउँपालिका ३ को भुटुकेडाँडा सल्लाघारीको भित्री सडक खण्डमा होङ्शी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर बिहीबार दुर्घटनामा परेको हो ।
टिपर भिरबाट झण्डै तीन सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार टिपर चालक बारा, सिमराका ४२ वर्षीय रामहरी थापा र सहचालक ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै ज्यान गएको हो ।
काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे प्रतिनिधिसभाका सांसद बन्ने भएका छन् । प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद केसीको मृत्यु भएपछि पाण्डे सांसद बन्न लागेका हुन् । केसीको मंगलबार निधन भएको हो । उनी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका हुन् ।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम छ । सोहीकारण उनी सांसद बन्न लागेका हुन् । २०७४ मा भएको निर्वाचनमा कांग्रेसबाट खस आर्य पुरुषको सूचिबाट पाँच जना सांसद बनेका थिए ।
पाण्डेको नाम छैठौं नम्बरमा रहेको छ । कालीगण्डकी गाउँपालिका, स्याङ्जाका पाण्डे पहिलो संविधानसभाका भने प्रत्यक्ष निर्वाचित सभासद हुन् । उनी २०६४ को संविधानसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ स्याङ्जा–३ बाट विजयी भएका थिए ।
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा १२०९ महिला र १८४२ पुरुष रहेका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४३० जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ४८ हजार ४०८ पुगेको मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं । सर्वोच्च अदालतले सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न दिएको निवेदन खारेज गरेको छ ।
न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले पुनरावलोकन निवेदन खारेज गरेको हो ।
कोरोना संक्रमणको परीक्षणको शुल्क लिनु संविधान र कानुन सम्वत भएको जिकिर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत पुनरावलोकनको निवेदन दिएको थियो ।
उक्त निवेदन खारेन भएसँगै सरकारले कोरोना परीक्षण र संक्रमतिको उपचार निःशुल्क गर्नुपर्ने छ । सर्वोच्चले १५ असोजमा पीसीआर टेस्ट र उपचार निःशुल्क गर्न सरकारको नाममा परमादेश दिएको थियो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइपर्न सक्ने राजनीतिक संकटको सामना गर्न तयारी अवस्थामा रहन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि चौतर्फी हमला भइरहेको आइपर्न सक्ने संकटको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
उनले यो संकट थप जटिल बन्ने दिशतार्फ गईरहेकाले खतरा टाढा नरहेको सामना गर्न तयार रहन निर्देशन दिएको एक मन्त्रीले बताए ।
‘प्रधानमन्त्री चिन्तित मुद्रामा हुनुहुन्थ्यो, ‘पार्टी भित्रैबाट पनि सहयोग भएन । घेराबन्दी गरिन्छ, राजीनामा मागिन्छ । काम गर्न दिइँदैन । तर म राजीनामा दिने पक्षमा अझै छैन ।
कुनै हालतमा म पछि हट्दिनँ’ ओलीउहाँले पार्टीको आन्तरिक राजनीति संकटमा परेको र यसले मूलुकलाई पनि संकटमा पार्न आँटेको बताउनुभयो’ एक मन्त्रीले भने, ‘सबै प्रकारका संकटहरुको सामना गर्न हामी तयारी अवस्थामा रहनुपर्छ भन्ने उहाँको आशय थियो ।’
‘प्रधानमन्त्रीले कस्ता खालका जतिल आएका छन् र जटिलता कसरी सिर्जना भयो भनेर चाँही भन्नुभएन, तर पार्टीभित्र देखिएका गतिरोधलाई नै उहाँले संकेत गर्नु भएको हो’ ती मन्त्रीले भने ।
अहिले बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भेटवार्ता जारी छ ।
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैँडाका माउ बच्चा मृत भेटिएका छन् । निकुन्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेको राष्ट्रिय समाचार समितिले जनाएको छ । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिएका छन् ।
निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैँडाको माउ र बच्चा मृत फेला पारेको हो । मृत पोथी गैँडाको खाग भेटिएको छैन ।
सोहीकारण उनलाई तस्रले मारेको उनसक्ने अनुमान गरिएको छ । यो आर्थिक वर्ष भित्रै चितवनमा ११ वटा गैँडाको मृत्यु भइसकेको छ। नौ वटा गैँडा कालगतिले मरेका हुन् । दुई गैँडा भने तस्करको निसान भएको अनुमान छ ।
नवलपुर । नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ । कालिगण्डकी करिडोरको काममा खटिएका मजदुर सुख्खा पहिरोमा परी पुरिएको थिए । उनीहरुको मृत्यु भएको हो । यो घटना बुधबार साँझको हो । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको अवस्थामा साँझ माथिबाट ढुंगा खसेर मजदुर पुरिएका थिए । त्यसपछि प्रहरी र स्थानीयले उद्धार थालो थिए । प्रहरीका अनुसार मृत्यु हुने सबै बुलिङटार–४ का बासिन्दा हुन् ।
मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी छन् । पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएको समेत प्रहरीले जनाएको छ । उनीहरुको चितवनमा उपचार जारी रहेको छ ।
काठमाडौं । तीन दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं अवतरण गरेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पहिलो दिन काठमाडौंका पर्यटकीय तथा धार्मिक स्थलको भ्रमणमा रमाए । भारतीय वायु सेनाको जहाज चढेर काठमाडौं आएका उनी त्यहाँबाट सिधै सोल्टी होटल पुगेका थिए ।
त्यसपछि उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किए । सर्वप्रथम उनी पत्नी विनासँगै वसन्तपुर पुगेर कुमारीको दर्शन गरेका थिए । त्यहाँ उनलाई नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले कडा सुरक्षा व्यवस्था मिलाएका थिए । उनले बसन्तपुर क्षेत्रको चाखपूर्वक भ्रमण गरे । त्यसपछि भने उनी पशुपतिनाथ मन्दिर दर्शनमा पुगेका छन् ।
उनलाई सैनिक प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाएको छ । नरवणेको नेपाल भ्रमणको मुख्य कार्यक्रम भने बिहीबार आयोजना हुँदैछ । उनलाई राष्ट्रपति भवन शितलनिवासमा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिने छ । सोही दिन उनले समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन् ।
शुक्रबार बिहान उनी आर्मी स्टाफ कलेज शिवपुरी पुगेर त्यहाँ तालीम लिइरहेका सैनिकसँग अन्तरक्रियाको कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताको कार्यक्रम समेत सोही दिन राखिएको छ । उनी शुक्रबार नै स्वदेश फर्कने छन् ।
काठमाडौं । वीर अस्पतालमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। वीर अस्पताल आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामाको घोषणा गरेका हुन्।
राजीनामा दिनेमा डा. कौशलेन्द्र चौधरी, डा. महेश गिरी, डा. नविन थापा, डा. सलोना श्रेष्ठ, डा. भविन्द्र कार्की, डा. ओजिर दिवान, डा. योगीब्रज लामा, डा. शोभना थापा, डा. कीर्ति गोपाल डंगोल, डा. सन्तोष कुमार साह, डा. राकेशकुमार सिंह लगायत रहेका छन्।
राजीनाम पत्रमा कोरोना महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको आरोप लगाएका छन्।
उनीहरुले उपचारमा खटिएका चिकित्सकलाई आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दशैंतिहार भत्ता समेत नदिएर मनोवल गिराउने काम गरेो विज्ञप्तिमा उल्लेख गरेका छन् ।
धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ घण्टा ड्युटी गराउने त्यो पनि हप्तको ९६ घण्टाजस्ता विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोबल गिरावट भएको जानकारी गराउन चाहन्छौं,” १६ जना चिकित्सकहरुले सामूहिक राजीनामापत्रमा भनेका छन्, “उल्लेखित स्वास्थ्य मापदण्ड व्यवस्थापन नहुँदा यसबाट पर्न जाने असुविधाको सम्पूर्ण जिम्मेवार व्यवस्थापन पक्ष हुनेछ ।”
काठमाडौं । नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृत्यु भएको हो । यो अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २० जनाको मृत्यु भएको थियो।