Category: समाचार

  • आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

    आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

    काठमाडौँ, २५ जेठः अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी–इसिएफ)कार्यक्रमअन्तर्गत नेपाललाई करिब ४२ दशमलव ९ मिलियन अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइएमएफका अनुसार आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण नेपालले संरचनात्मक सुधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेकाले सो सहायता उपलव्ध भएको आइएमएफद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    मौद्रिक सञ्चालन प्रणालीको आधुनिकीकरण, वित्तीय क्षेत्रको निगरानीमा सुधार, ऋण पोर्टफोलियो समीक्षा सम्पन्न गरेको, वित्तीय ढाँचा तथा पारदर्शितामा सुधार, सार्वजनिक लगानी व्यवस्थापन सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी संरचना सुदृढ बनाउने, कानुनी सुधार गर्ने तथा सार्वजनिक संस्थानहरूको जवाफदेहिता बढाउने कार्यले सुशासनका क्षेत्रमा पनि सुधार भएका उल्लेख छ ।

    आइएमएफको कार्यकारी बोर्डले जुन ५ मा सम्पन्न बैंठकपछि सार्वजनिक गरेको विवरणअनुसार नेपालले उक्त कार्यक्रमअन्तर्गत आर्थिक सुधारका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाइएको छ । आइएमएफले चालु आर्थिक वर्ष २०२५÷२६ मा नेपालको आर्थिक वृद्धि तीन प्रतिशत रहने प्रक्षेपण गरेको छ । राजनीतिक प्रदर्शनका कारण सिर्जित अवरोध, कृषि उत्पादनमा कमी, निजी लगानीमा सुस्तता तथा मध्यपूर्व युद्धको प्रभावका कारण अपेक्षाकृत न्यून वृद्धि हुने अनुमान गरिएको हो ।

    नेपालले प्राप्त गर्ने कुल सहायता करिब ३८४ दशमलव एक मिलियन अमेरिकी डलर पुगेको छ । यसअघि आइएमएफको कार्यकारी बोर्डले नेपालका लागि लागू गरेको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको सन् २०२६ जुलाई ११ सम्म कायम रहनेछ । नेपालका लागि ३८ महिनाको इसिएफ कार्यक्रम सन् २०२२ जनवरी १२ मा स्वीकृत भएको थियो । उक्त कार्यक्रमअन्तर्गत नेपालले २८ करोड २४ लाख २० हजार अमेरिकी डलर कोटाको १८० प्रतिशत बराबरको पहुँच प्राप्त गरेको थियो । नेपालले आइएमएफसँगको इसिएफ कार्यक्रममार्फत वित्तीय स्थायित्व कायम गर्ने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउने, सार्वजनिक वित्त व्यवस्थापन सुधार गर्ने तथा आर्थिक सुधारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

  • सुपारीखेतीमा इलामका किसानको लगाव

    सुपारीखेतीमा इलामका किसानको लगाव

    रासस
    फिक्कल (इलाम), २५ जेठः पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँका एउटै किसानले आठ हजार बोटसम्म सुपारी लगाउने गरेका छन् ।

    माई नगरपालिका–९ का किसान अक्कलबहादुर राईले यसवर्ष मात्र २५ क्विन्टल सुपारी बिक्री गरेका छन् । “मैले अन्य खेती मासेर सबैजसो जग्गामा सुपारी रोपेको छु, आधा बोटबाट आम्दानीसमेत लिन थालिसकेको छु”, उनले भने, “प्रतिकेजी रु ७० सम्ममा घरबाटै बिक्री हुने गरेको छ ।” एकपटक मेहनत गरेमा सजिलै फल्ने भएकाले व्यावसायिक सुपारीखेतीबाट मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ । राई सानाठूला गरी करिब पाँच हजार बोट सुपारी रोप्नुभएकामा अधिकांश बोटले आम्दानी दिन थालिसकेका छन् ।

    अर्का किसान धर्मराज पुरीले यस वर्ष १८ क्विन्टल सुपारी बिक्री गरेको सुनाए । केही बोटले उत्पादन दिन थालेपछि यस वर्ष १८ क्विन्टल सुपारी बिक्री गरिएको र थप केही बोट उत्पादन दिन तयार भएकाले आगामी दिनमा थप व्यावसायिक कारोबार बढ्ने उनले बताए । पुरीले करिब १० रोपनी क्षेत्रमा पाँच हजार बोट सुपारी लगाएका छन् भने थप बोट रोप्ने तयारी गरेका छन् । “अन्य खेतीजस्तो धेरै मेहनत र लगानी नपर्ने भएकाले व्यावसायिक तवरले सुपारीखेती सुरु गरेको हुँ”, उनले भने, ‘बिक्री नहुने हो कि भन्ने कुनै चिन्ता छैन । व्यापारीहरूले बगानबाटै प्रतिकेजी रु ७० सम्ममा किनैर लैजाने गरेका छन् ।”

    सुपारीखेती सुरु गरेपछि घरव्यवहार चलाउन सहज भएको अर्का किसान पवन किराती बताउँछन् । “मैले करिब आठ हजार बोट रोपेको छु । केही बोटबाट आम्दानी हुन थालेको छ”, उनले भने, “यस वर्ष १० क्विन्टल काँचो सुपारी बिक्री गरेको छु, यसले घरखर्च टार्न सहज भएको छ ।” किरातीको बगानमा हाल केही बोट फल्न थालेका र अधिकांश हुर्कंदै गरेका छन् । “‘बहुवर्षे नगदेबाली भएकाले सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन हुने गरेको छ । यसले क्षति नपु¥याउने र छहारीको काम गर्ने भएकाले तरकारी र अन्य बाली लगाएर दोहोरो फाइदासमेत लिन सकिन्छ”, उनले भने ।


    अर्का किसान अभिषेक यक्तेनले घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न सकिने हुँदा धेरै किसान लाभायिन्वत भएको बताए । पछिल्लो समय इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । विशेष गरी जिल्लाको माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र रोङ गाउँपालिकाको तल्लो चुरे क्षेत्रका किसानले व्यावसायिक रूपमा सुपारी खेती गर्दै आएका छन् ।

  • फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

    फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

    ललितपुर, २५ जेठः जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा मान्छे हराउने, तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । घना जङ्गल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय तथा कलेजका विद्यार्थी एवं अन्य सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको हो ।

    जिल्ला प्रहरी परिसर ललितपुरका सहायक प्रहरी उपरीक्षक गौतम मिश्रले एकवर्षमा फुल्चोकी क्षेत्रमा हराएका व्यक्तिसम्बन्धी छ वटा सूचना प्राप्त भएका र सबैको सकुशल उद्धार गरिएको जानकारी दिए । गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले सार्वजनिक बिदामा फुल्चोकी भ्रमणमा आउनेको सङ्ख्या बढेको तर, फर्कने क्रममा छोटो बाटो प्रयोग गर्न खोज्दा धेरैजसो व्यक्ति हराउने गरेको बताए । भ्रमणका क्रममा समूह वा गाइडसँग मात्र यात्रा गर्न, परिवार वा साथीभाइलाई जानकारी दिएर मात्र जान, अपरिचित छोटो बाटो प्रयोग नगर्न तथा मोबाइल फोन, खानेपानी र आवश्यक सामग्री साथमा राख्न समेत उनले आग्रह गरे ।

  • गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबीच काइरोमा वार्ता

    गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबीच काइरोमा वार्ता

    गाजा, २५ जेठ (रासस–सिन्ह्वा) । हमासले शनिबार इजिप्टको राजधानी काइरोमा प्यालेस्टिनी विभिन्न पक्ष तथा मध्यस्थकर्ताहरूसँग गाजा युद्धविराम सम्झौताको कार्यान्वयन र गाजा क्षेत्रको भावी व्यवस्थापनबारे औपचारिक छलफल सुरु गरेको जनाएको छ । हमासका प्रवक्ताले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकको मुख्य उद्देश्य युद्धविराम सम्झौताको पहिलो चरणमा भएका सहमतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नु रहेको बताए । उनका अनुसार यसमा सैन्य गतिविधि तथा तनावको अन्त्य, लक्षित आक्रमण रोक्ने, सीमा नाकाहरू सञ्चालनमा ल्याउने तथा राष्ट्रिय समितिलाई गाजामा प्रवेशको अनुमति दिने विषयहरू समावेश छन् ।

    उहाँले थप जानकारी दिँदै दोस्रो चरणका विषयमा पनि छलफल हुने बताउनुभयो । यस क्रममा अन्तर्राष्ट्रिय शान्ति बल वा प्राविधिक समितिको भूमिकाबारे विचार–विमर्श गरिनुका साथै प्यालेस्टिनी हतियारसम्बन्धी विषयमा सबै पक्षलाई स्वीकार्य हुने समाधान खोज्ने प्रयास गरिनेछ । हमासले प्यालेस्टिनी जनताको हितलाई सर्वोच्च प्राथमिकतामा राखेको र गाजामा पुनः द्वन्द्व सिर्जना हुन सक्ने कुनै पनि कारण हटाउने प्रयास गरिरहेको उनले बताए ।


    गाजास्थित हमास नेतृत्वको प्रतिनिधिमण्डल तथा अन्य प्यालेस्टिनी पक्षका प्रतिनिधिहरू शुक्रबार काइरो पुगेका थिए। वार्ता केही दिनसम्म जारी रहने अपेक्षा गरिएको छ । यी घटनाक्रमहरू अक्टोबर २०२५ मा भएको युद्धविराम सम्झौताको कार्यान्वयन अझै पूर्ण रूपमा हुन नसकेको अवस्थाबीच भएका हुन् । सम्झौताका महत्वपूर्ण पक्षहरू, जस्तै निःशस्त्रीकरण र पुनर्निर्माण, अझै प्रक्रियामै रहेका छन् ।

    युद्धविरामको पहिलो चरणअन्तर्गत बन्दीहरूको आदानप्रदान, गाजामा मानवीय सहायता प्रवेश तथा केही क्षेत्रबाट सैनिक फिर्ता गर्ने व्यवस्था गरिएको थियो ।
    जनवरी महिनाको मध्यतिर युद्धविरामको दोस्रो चरण सुरु भएको घोषणा गरिएको थियो । यस चरणमा सैनिक फिर्ती, निःशस्त्रीकरण, पुनर्निर्माण तथा अन्तरिम प्रशासनिक संरचना गठन गर्ने विषयहरू समावेश छन् ।

  • समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनको उन्नत पूर्वानुमान प्रणाली

    समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनको उन्नत पूर्वानुमान प्रणाली

    छिङदाओ, २५ जेठ (रासस–सिन्ह्वा) । चीनका वैज्ञानिकहरूले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता मोडेल सार्वजनिक गरेका छन् । यो प्रणालीले आँधी, अत्यधिक वर्षा, आँधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरङ्ग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाहरूको पनि पूर्वानुमान गर्न सक्छ ।


    पूर्वी चीनको शान्दोङ प्रान्तस्थित छिङदाओमा जारी चौथो चीन डिजिटल पृथ्वी सम्मेलनमा शनिबार यस मोडेलको औपचारिक उद्घाटन गरिएको हो ।
    चीनको विज्ञान प्रतिष्ठानअन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानद्वारा विकसित यो प्रणाली, सन् २०२४ को अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप हो ।


    संस्थानका अध्यक्ष वाङ फानका अनुसार नयाँ प्रणालीले समुद्री अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढेर जटिल समुद्री घटनाहरूको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको छ ।

    आँधीको दिशा परिवर्तन र तीव्रता बढ्ने अवस्थासमेत अनुमान
    यो प्रणालीले वायुमण्डलीय तथा समुद्री तथ्याङ्क, उपग्रहबाट प्राप्त बादलका तस्वीर र ऐतिहासिक आँधी मार्गहरूलाई संयोजन गरी पूर्वानुमान गर्छ । यसले विशेषगरी आँधीको अचानक दिशा परिवर्तन र तीव्र रूपमा शक्तिशाली बन्ने प्रक्रिया जस्ता कठिन अवस्थाहरूको भविष्यवाणी गर्न सक्छ । विशेषज्ञहरूका अनुसार यसले तटीय क्षेत्रका बासिन्दालाई थप समयमै चेतावनी दिएर ठूलो जनधनको क्षति रोक्न मद्दत पु¥याउन सक्छ ।

    समुद्री संरचना र ध्रुवीय जलयात्राका लागि उपयोगी
    यो प्रणालीले समुद्रभित्र रहेका शक्तिशाली तर अदृश्य तरंगहरू पनि पहिचान गर्न सक्छ, जसले समुद्री तेल प्लेटफर्म तथा अन्य संरचनामा क्षति पु¥याउन सक्छन् । यसले यस्ता तरंगहरूको आगामी ३० दिनसम्मको विकासक्रम र आगामी सात दिनका गति तथा उचाइसम्बन्धी जानकारी उपलब्ध गराउँछ ।


    अन्तर्राष्ट्रिय समुद्री बरफ पूर्वानुमान सञ्जालद्वारा गरिएको स्वतन्त्र मूल्याङ्कनमा यस प्रणालीले सन् २०२५ को सेप्टेम्बर महिनाको आर्कटिक समुद्री बरफ क्षेत्रफलको मौसमी पूर्वानुमानमा विश्वका विभिन्न मोडेलहरूमध्ये पहिलो स्थान हासिल गरेको थियो । यो प्रणालीले ३ किलोमिटरको उच्च स्पष्टतामा मासिक स्तरको समुद्री बरफ पूर्वानुमान गर्न सक्छ, जुन आर्कटिक जलयात्रा, जलवायु अनुसन्धान तथा ध्रुवीय नेभिगेसन सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

    भविष्यमा समुद्री बुद्धिमत्ता मञ्च बनाइने
    अनुसन्धान टोलीका अनुसार यो प्रणालीले विभिन्न स्रोतबाट प्राप्त अवलोकन, भौतिक विज्ञानको ज्ञान र कृत्रिम बुद्धिमत्ताको तर्कशक्तिलाई एकीकृत गरेर अझ छिटो, सटीक र अन्तरक्रियात्मक समुद्री पूर्वानुमान सेवा प्रदान गर्छ । भविष्यमा यसलाई जलवायु तथा समुद्री पारिस्थितिकीय अध्ययनसँग जोड्दै समुद्री बुद्धिमत्ता मञ्चको रूपमा विकास गर्ने योजना रहेको वैज्ञानिकहरूले बताएका छन् । हजारौं वर्षअघि आकाशको अवलोकनबाट सुरु भएको ज्ञानको त्यो परम्परा आज कृत्रिम बुद्धिमत्ताको सहयोगमा महासागरको भविष्य बुझ्ने नयाँ युगमा प्रवेश गरेको छ ।

  • ‘ब्यारेकजस्तै घर’

    ‘ब्यारेकजस्तै घर’

    राँझा (बाँके), २५ जेठः बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको । यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ । शिख समुदायको यो सिंह परिवारमा हुने जमघटमा त अवस्था झनै हेर्न लायक हुन्छ । त्यहाँ उपस्थित अधिकांशको काँधमा राष्ट्रसेवक सुरक्षाकर्मीको पहिचानसहितको बर्दी देख्दा घर होइन, ब्यारेकजस्तै अनुभूति हुने गरेको छ ।

    सिंहको परिवारमा तीन पुस्तादेखि सुरक्षाकर्मी बन्ने परम्परा चल्दै आएको छ । घरका सदस्यहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आबद्ध हुँदै देशको शान्ति, सुरक्षा र सीमाको रक्षामा समर्पित छन् । हिसाब गर्दा परिवारका करिब एक दर्जन सदस्य सुरक्षाकर्मीका रूपमा राष्ट्रसेवामा जोडिएका छन् ।

    हालै सशस्त्र प्रहरी बलको प्रहरी नायब निरीक्षक पदबाट अवकाश लिएका सिंहका अनुसार परिवारमा सुरक्षासेवाको यात्रा उनका बुबा जबर सिंहबाट सुरु भएको थियो । नेपाल प्रहरीमा कार्यरत बुबा जबरसिंहले स्थापित गरेको त्यही देशप्रेमको प्रेरणाबाट सुरेन्द्र स्वयं सशस्त्र प्रहरीमा आबद्ध भए । हाल उनका छोरा अङ्कित सिंह नेपाल प्रहरीमा कार्यरत रहेर हजुरबुबा र बुबाको पदचाप पछ्याइरहेका छन् ।
    “सुरक्षा निकायमा रहेका परिवारका सदस्यको सङ्ख्या करिब एक दर्जन पुग्छ । त्यसैले हाम्रो त घर नै ब्यारेकजस्तै छ”, सुरेन्द्र मुस्कुराउँदै भन्छन्, “देशको सेवा गर्न पाएकामा गर्व लागेको छ । बुबाको पालादेखि नातिसम्म राष्ट्रसेवाको परम्परा फैलिएको देख्दा झनै गर्व महसुस हुन्छ ।”

    यही परिवारका काका शरण सिंहले नेपाल प्रहरीमा लामो समय सेवा गरे । परिवारकै विनोद, दीपक, बलदेव र नारायण सिंह हाल सशस्त्र प्रहरी बलमा कार्यरत छन् । नातामा भाइ पर्ने शङ्कर सिंह सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षक पदबाट अवकाशप्राप्त भइसकेका छन् । सिंह परिवारको इतिहास केवल जागिरमा सीमित छैन । यो परिवारले देशका लागि रगत र प्राणको आहुति पनि दिएको छ । द्वन्द्वकालमा प्रहरी निरीक्षक पदमा कार्यरत कन्हैया सिंहले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरे । परिवारका लागि त्यो पीडादायी क्षण भए पनि उहाँको बलिदानले राष्ट्रसेवाप्रतिको प्रतिबद्धतालाई अझ दृढ बनाएको परिवारजन बताउँछन् ।

    अवकाशपछि पनि देशप्रतिको दायित्व समाप्त नहुने सुरेन्द्र सिंहको विश्वास छ । “बर्दी फुकाले पनि देशप्रेम त बाँकी नै हुन्छ नि”, उनी भन्छन्, “हिजो सुरक्षाकर्मीका रूपमा र अब सामाजिक कार्यमार्फत देश र समाजको सेवामा निरन्तर लागिरहनेछु ।” नेपालगन्ज–१५ का वडाध्यक्ष मदनविक्रम शाहले जमुनाहको सिंह परिवार राष्ट्रसेवा, त्याग र समर्पणको उदाहरण बनेको बताए । एउटै आँगनबाट देशको सुरक्षा र शान्तिका लागि समर्पित यति धेरै सदस्य जन्मिनु आफैँमा गौरवको विषय भएको उनको भनाइ छ ।

  • पूर्वाधार विकासको प्रतीक्षामा दोमुख

    पूर्वाधार विकासको प्रतीक्षामा दोमुख

    अदानचुली (हुम्ला), २५ जेठः हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा मुगु कर्णाली नदीको सङ्गमस्थल ‘दोमुख’ पर्यटकीय तथा व्यावसायिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ । कर्णाली करिडोरसँग जोडिएको दोमुख हुम्लाको अदानचुली गाउँपालिका–१ मा पर्दछ भने हुम्ला कर्णाली नदीपारिको क्षेत्र मुगुको सोरु गाउँपालिका–३ मा पर्छ । हुम्लातर्फ रहेको दोमुख बजार अदानचुली गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमध्ये एक मानिन्छ ।

    कर्णाली करिडोर सञ्चालनमा आएपछि यहाँ व्यापारिक गतिविधि बढ्दै गएको दोमुख बजार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार हुम्ला र मुगुका नागरिकको आवतजावत तथा किनमेलका लागि समेत दोमुख बजार महत्त्वपूर्ण केन्द्र बनेको छ । करिडोर भएका कारण सो क्षेत्रमा व्यापार व्यवसाय फष्टाएको छ ।

    दोमुख क्षेत्रमा हुम्ला कर्णाली र मुगु कर्णाली नदीको सङ्गमले थप सौन्दर्य थपेको छ । नदीकिनार, वरिपरिका पहाड र प्राकृतिक वातावरणका कारण यहाँ आन्तरिक पर्यटनको राम्रो सम्भावना छ । तर आवश्यक पर्यटकीय पूर्वाधार, प्रचारप्रसार तथा व्यवस्थापनको अभाव छ । सो क्षेत्र मन्दिरसहितको पूर्वाधार निर्माणको पर्खाइमा छ ।

    स्थानीयवासीका अनुसार दोमुख क्षेत्रमा पर्यटक विश्रामस्थल, दृश्यावलोकनस्थल, खानेबस्ने सुविधा तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्नसके पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ । कर्णाली करिडोरसँगको पहुँचले यस क्षेत्रलाई अझ बढी सम्भावनायुक्त बनाएको छ ।

    प्राकृतिक सौन्दर्य, नदीको सङ्गमस्थल, व्यापारिक महत्व तथा माछा उत्पादनको केन्द्रका रूपमा परिचित दोमुख अहिले पनि आवश्यक पूर्वाधार र प्रवर्द्धनको प्रतीक्षामा रहेको अध्यक्ष बुढाले बताउनुभयो । दोमुख क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । यसलाई स्थानीयले गौजो काट्नेदेखि, व्रतबन्ध, काजकिरीया, मृत्यु संस्कार तथा विभिन्न धार्मिक एवं सांस्कृतिक अनुष्ठान सम्पन्न गर्ने थलोका रुपमा प्रयोग गर्दै आएका छन् ।

    यसले दोमुखलाई केवल पर्यटकीय र व्यापारिक केन्द्रमात्र नभई स्थानीय समुदायको आस्था र संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण स्थलका रूपमा पनि स्थापित गरेको छ । दोमुख क्षेत्र कर्णालीमा पाइने विभिन्न प्रजातिका माछाका कारण पनि प्रख्यात छ ।

  • बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै

    बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै

    कीर्तिपुर (काठमाडौँ), २५ जेठः स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बिमाबापतको रकम भुक्तानीले तीव्रता पाएको हो ।

    पछिल्लो सातामात्र सरकारले स्वास्थ्य बिमाबापत रु एक अर्ब तीन करोड सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । जसबाट एक सय ५५ सरकारी, २५ सामुदायिक तथा ३७ निजी अस्पतालले बिमाबापतको रकम प्राप्त गरेका छन् । सरकारले अघिल्लो वर्षको बक्यौता बिमा रकमसमेत भुक्तानी हुनेगरी देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पटकपटक गरी रु एक अर्ब तीन करोड पठाएपछि स्वास्थ्य बिमाको रकमसम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको हो । स्वास्थ्य बिमा बोर्डबाट सार्वजनिक गरिएको जानकारीअनुसार दुई दिनअघि मात्र विपन्न वर्गलक्षित रु ३२ करोड ६ लाखभन्दा बढी रकम भुक्तानी गरिएको छ ।

    बोर्डका वरिष्ठ मेडिकल सुपेरिटेन्डेन्ट डा पवन शाहले केही समयअघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बिमाबापतको रकम भुक्तानी गर्ने गरिएकामा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिइएको जानकारी दिए । यसरी भुक्तानी पाउने अस्पतालहरूमा मध्यविन्दु जिल्ला अस्पताल, भेरी अञ्चल अस्पताल, नारायणी अस्पताल, नेपाल मणिपाल शिक्षण अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतका ढेड सयभन्दा बढी अस्पतालहरू रहेका छन् ।

    त्यस्तै राष्ट्रिय ट्रमा सेन्टर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र झापाको बिएण्डसी शिक्षण अस्पताललगायतका निजी अस्पतालमा उपचार गराउने विपन्नसमेत बिमा रकम सरकारले भुक्तानी गर्नका लागि पठाएको छ । उक्त रकम राष्ट्रिय बिमा बोर्डको निर्णयअनुसार विपन्न नागरिकको मिर्गौलाको डायलाइसिस सेवा, मुटुरोगको उपचार, टाउकोको गम्भीर चोटपटक, स्पाइनल इन्जुरी आदि रोगको शोधभर्नाबापत भुक्तानी गरिएको हो । स्वास्थ्य संस्थाबाट प्राप्त दाबीहरूमध्ये कागजात पूरा भएका दाबीहरूको भुक्तानी पठाइएको हो ।

    भुक्तानी स्रोतको अभावका कारण स्वास्थ्य बिमा कार्यक्रमको भविष्यमा अन्योल छाउने अवस्था आउन नदिन सरकारले यसपटक रु १५ अर्ब रकम छुट्याएको छ । यसका साथै स्रोतको परिधिभित्र आउनेगरी बिमा गराउने, अस्पतालको स्वास्थ्य परीक्षण र सामान खरिदमा कडा अनुगमन गर्नेजस्ता उपाय अपनाउने सोचाइ सरकारले बनाएको छ ।

    यसबारेमा रासससँग कुरा गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमाजस्तो कल्याणकारी कार्यक्रमलाई अन्योलमा पर्न नदिन सरकारले अहिलेसम्मका बक्यौता रकम भुक्तानी गर्दै जाने बताइन् । समस्या दोहोरिन नदिन अबको स्वास्थ्य बिमालाई कडाइका साथ निगरानी र नियमन गरिने उनले बताए ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, २५ जेठः आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईका भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    यस्तै, कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा र बाँकी हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा\हिमपातको सम्भावना रहेको छ । आज मधेस प्रदेशलगायत, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको जनाइएको छ ।

    आज राति कोशी प्रदेशलगायत देशका हिमाली भू–भागमा साधारणतया बादल, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन\चट्याङसहित हल्का वर्षा\हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

    परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

    काठमाडौँ, २४ जेठः परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनी शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका थिए । भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका थिए ।

    वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो । नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

  • केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली

    केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली

    ताप्लेजुङ, २४ जेठ । ताप्लेजुङमा निर्माणाधीन केवलकार परियोजनाको काम छिटो सम्पन्न गर्न माग गर्दै बृहत् सद्भाव ¥याली निकालिएको छ । सदरमुकाम फुङलिङमा ‘विकासप्रेमी युवा समाज’ को ब्यानरमा निकालिएको र्‍यालीमा स्थानीय बासिन्दा, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो । र्‍यालीमा सहभागीहरूले केवलकार निर्माणले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने भन्दै निर्माण कार्यलाई निरन्तर अघिबढाउनुपर्ने माग गरेका थिए । फुङलिङ बजार परिक्रमा गरेपछि र्‍याली वीरेन्द्र चोकमा सभामा परिणत भएको थियो ।

    सभालाई सम्बोधन गर्दै सरोकारवालाहरूले सरकारले निर्माण कार्यका लागि आवश्यक वातावरण मिलाउनुपर्ने आवश्यकता औँल्याएका थिए । उनीहरूले परियोजना करिब ६० प्रतिशत पूरा भइसकेको अवस्थामा यसलाई स्थगन गर्नु उपयुक्त नहुने बताउँदै छिटो निर्माण सम्पन्न हुने वातावरण बनाउन आग्रह गरे ।

    कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरे, ज्येष्ठ नागरिक अगुवा कर्ण लिम्बू, जेनजी अगुवा करण गुरुङ, महिला नेतृ मिना गुरुङ, युवा अगुवा पदमचेन्जी माबो लगायतले आ–आफ्ना धारणा राखेका थिए । निर्माण पक्षका अनुसार परियोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । निर्माणकै क्रममा सरकारले स्थगन गर्न निर्देशन दिएको भन्ने चर्चा चलीरहेका बेला, निर्माण कार्य अघि बढाउन वातावरण बनाउनुपर्ने मागसहित र्‍याली आयोजना गरिएको जनाइएको छ ।

    यता केवलकार निर्माणको विरोध समेत हुँदै आएको छ । केवलकार खारेजी संयुक्त सङ्घर्ष समिति र मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले केवलकार खारेजको माग गर्दै आएका छन् । विकासका नाममा निर्माण हुने केवलकारले बिनास हुने र व्यापारी केन्द्र हुने भन्दै बिरोध गर्दै उनीहरूले विरोध गर्दै आएका हुन् । केवलकार निर्माणको पक्ष र विपक्षमा विगत लामो समयदेखि भइरहेका गतिविधिले भने समस्या हुन थालेको केही स्थानीयले बताका छन् ।

  • रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

    रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

    काठमाडौँ, २४ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले सोमबार बिहान ९ः०० बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बैठक आह्वान गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्षरसभापतिसहित दुई–दुई जनालाई आमन्त्रण गरिएको छ । सर्वदलीय बैठकको सूचनासहितको आमन्त्रणसहितको अनुरोध प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

  • कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध

    कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध

    काठमाडौँ, २४ जेठः थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकलाई १२ जुन (यही जेठ २९ गते) भित्र नेपाल फर्किन अनुरोध गरेको छ । दूतावासले आज सूचना जारी गरी विभिन्न प्रलोभनमा परी कानुनी आधार बिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकले कम्बोडियाको नयाँ कानुनी व्यवस्थाअनुसार तत्काल पक्राउ परी कठिन कानुनी सजाय व्यहोर्नुपर्ने अवस्था रहेको सम्बन्धित सबैमा सूचीत गराएको छ ।

    दूतावासले भनेको छ, “विभिन्न उद्देश्यले कम्बोडिया पुगी आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि भिसा नवीकरण नगरी बसिरहेका ६०२ जना नेपाली नागरिकका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गराई नेपाल फर्कन सहजीकरण गरिएको थियो, तर इमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा आजसम्म निम्नबमोजिमका नेपाली नागरिकले नेपाल फर्किन तदारूकता नदेखाएको पाइएको छ ।”

    तोकिएका समयमा आफ्नो मुलुक नफर्कने विदेशी नागरिकउपर कम्बोडिया सरकारले तहाँको नयाँ कानुनअनुसार अनुसन्धान गरी कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्मको जरिवानाका साथै आजीवन काराबाससम्मको सजाय हुने व्यवस्था गरेको पनि दूतावासले जनाएको छ ।

    दूतावासले भनेको छ, “यसर्थ, सम्बन्धित सबै नेपाली नागरिकलाई यथाशीघ्र ‘कनेक्टिङ फ्लाइट’सहितको टिकटको व्यवस्था गरी १२ जुन २०२६ भित्र नेपाल फर्किन अनुरोध गरिन्छ, साथै, उनीहरूका परिवारजन तथा आफन्तजनमा यसै सूचनालाई आधार मानी आफ्ना प्रियजनलाई यथाशीघ्र नेपाल फर्काउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।”

  • स्पा’ सञ्चालिका पक्राउ

    स्पा’ सञ्चालिका पक्राउ

    काठमाडौँ, २४ जेठः ‘स्पा’मा बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने एक जना महिला पक्राउ परेकी छिन् । प्रहरीले ललितपुर महानगरपालिका २ सानेपा अरूण थापा चोकस्थित ‘शुकल्प स्पा एण्ड थेरापी’की सञ्चालिका गोरखाको सिरानचोक गाउँपालिका-३ की सुमन कुमाललाई पक्राउ गरेको हो ।

    निजले स्पा सेन्टरमा कर्मचारीका रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारी सेवा लिन आउने ग्राहकको इच्छाअनुसार अनैतिक कार्य गराइरहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । निजउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत ललितपुरबाट पाँच दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

  • अवैध लागुऔषधसहित ११ जना पक्राउ

    अवैध लागुऔषधसहित ११ जना पक्राउ

    काठमाडौँ, २४ जेठः नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट चार, मोरङबाट दुई र मकवानपुर, कञ्चनपुर, सिन्धुली, झापा र काठमाडौँबाट एक÷एक जनालाई पक्राउ परेका छन् । प्रहरीले निजहरूका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नाइट्राजेपाम र ट्रामाडोल बरामद गरेको छ ।

  • अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित

    अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित

    किन्सासा, २४ जेठ (रासस–एएफपी) । अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारीले गम्भीर रूप लिँदै गएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको पछिल्लो विश्लेषणअनुसार संक्रमित व्यक्तिहरूलाई समयमै पहिचान गरी अलग राख्ने कार्य प्रभावकारी हुन नसकेमा आगामी तीन महिनाभित्र सङ्क्रमितको संख्या २० हजारभन्दा बढी पुग्न सक्ने जोखिम रहेको छ । केन्द्रका अनुसार हालको कमजोर नियन्त्रण अवस्थालाई निरन्तरता दिइएमा संक्रमित संख्या २० हजार नाघ्ने सम्भावना ६५ प्रतिशतसम्म रहेको छ ।

    विशेषज्ञहरूले इबोला सङ्क्रमितलाई छिटो पहिचान गरी उपचार केन्द्रमा अलग राख्नु महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन् । तर प्रभावित क्षेत्रहरूमा स्वास्थ्य सेवाको पहुँच सीमित हुनु, जनशक्तिको अभाव तथा असुरक्षाका कारण संक्रमितहरूको वास्तविक संख्या यकिन गर्न कठिन भइरहेको छ । इबोला नियन्त्रण अभियानमा संलग्न वरिष्ठ अधिकारी सतीश पिल्लईले संक्रमणको वास्तविक अवस्था अझै पूर्ण रूपमा स्पष्ट नभएको बताए ।

    उनका अनुसार उपचार र अलग राख्नुपर्ने संक्रमितहरूको सङ्ख्या अनुमानभन्दा बढी हुन सक्ने संकेतहरू देखिएका छन् । स्थलको अवस्थाले हाल संक्रमितहरूलाई अलग राख्ने कार्य पर्याप्त प्रभावकारी नभएको देखाएको उनले उल्लेख गरे ।
    यसैबीच, विश्व स्वास्थ्य संगठन र अफ्रिकी संघको सार्वजनिक स्वास्थ्य निकायले कंगो तथा छिमेकी मुलुकहरूमा फैलिएको इबोला महामारी नियन्त्रण गर्न आगामी छ महिनाका लागि ५१ करोड ८० लाख अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ । उक्त रकम उपचार, निगरानी, खोप अभियान, जनचेतना अभिवृद्धि तथा सीमा क्षेत्रमा स्वास्थ्य सुरक्षा सुदृढीकरणका लागि खर्च गरिने बताइएको छ ।

    यो महामारी गत मे १५ मा कङ्गोको उत्तरपूर्वी क्षेत्रमा औपचारिक रूपमा घोषणा गरिएको थियो । यद्यपि दुर्लभ बन्डिबुग्यो प्रजातिको इबोला भाइरस घोषणा हुनुभन्दा केही समयअघिदेखि नै समुदायमा फैलिइरहेको स्वास्थ्य अधिकारीहरूको अनुमान छ । पछिल्लो तथ्यांकअनुसार कङ्गोमा हालसम्म ३८१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६४ जनाको मृत्यु भइसकेको छ । संक्रमण विशेषगरी तीन प्रान्तमा फैलिएको छ, जसमध्ये इटुरी प्रान्त सबैभन्दा बढी प्रभावित बनेको छ । कुल संक्रमितमध्ये करिब ९० प्रतिशत र मृत्यु भएका व्यक्तिमध्ये ७६ प्रतिशत इटुरी प्रान्तकै रहेका छन् ।

    छिमेकी मुलुक युगान्डामा पनि संक्रमण फैलिन थालेको छ । त्यहाँ हालसम्म १६ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । यद्यपि उपचारपछि कंगोमा सात जना र युगान्डामा दुई जना सङ्क्रमित पूर्ण रूपमा निको भएका छन् । स्वास्थ्य अधिकारीहरूले महामारी अझै नियन्त्रणबाहिर जाने जोखिम रहेको चेतावनी दिँदै संक्रमितको खोजी, सम्पर्कमा आएका व्यक्तिहरूको निगरानी, उपचार सेवाको विस्तार र जनचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन् ।

  • हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

    हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

    काठमाडौँ, २४ जेठः देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेशसहित बाँकी पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी तराईका भागमा भने मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ । कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । साथै मधेस प्रदेशसहित बाँकी हिमाली भागका एकदुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।

    महाशाखाका अनुसार मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा अनपेक्षित रूपमा तापक्रम बढ्ने सम्भावना छ ।
    त्यसैगरी, आज राति कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेश र बाँकी पहाडी भागमा आंशिक बदली रहनेछ । तराईका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी प्रदेशका केही तथा मधेससहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

    साथै मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तापक्रम अधिक हुने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन सम्बद्ध सबैमा अनुरोध गरिएको छ ।

  • हुम्लाको बौल्यानामा खानेपानी समस्या

    हुम्लाको बौल्यानामा खानेपानी समस्या

    अदानचुली (हुम्ला), २४ जेठः ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानी चरम समस्या भएको छ । सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो । ताँजाकोट–१ काँडागाउँका मिलन खड्काका अनुसार उक्त बस्तीका नागरिकलाई यतिबेला खानेपानीकै लागि पुमखोला र काँडागाउँबाट उकालो चढेर पानी ल्याउनुपर्ने बाध्यता छ । उनले भने, “भैसेवाज गाउँमा विद्यालय जाने समयमा प्रत्येक विद्यार्थी हरेक दिन बिहान खाली ग्यालिन लिएर जान्छन् र साँझ विद्यालय बिदा हुँने बित्तिकै उक्त ग्यालिनमा पानी भरेर घर फर्किन्छन्् ।”

    उक्त विद्यालयमा अध्ययनरत लोकन्द्र खड्काले पढ्नुभन्दा बढी साँझ पानी बोक्नकै पिरलो बढी हुने गरेको बताए । “दिउँसो कक्षामा पनि साँझ पानीको ग्यालिन कसरी लैजाने र घरपरिवारलाई पानी कसरी खुवाउने होला भन्ने चिन्ताले सताइरहन्छ”, उनले भने । उक्त बस्ती अग्लो डाँडामा छ । उक्त बस्तीकाले पिउँदै आएको पानीको मुहान सुकेपछि समस्या भएको छ । त्यहाँसम्म पानी ल्याउन अन्य मुहान नै नभएको वडाध्यक्ष मोहनलाल रिठालले बताए ।


    यस वर्ष रु तीन लाख विनियोजन गरेर काँडागाउँमा खानेपानीको व्यवस्थापन गर्न खोजेको भए पनि उक्त बस्तीमा सम्भव नभएपछि अहिले आकाशे पानी सङ्कलन गर्ने योजना अघि बढाएको वडाध्यक्ष रिठालले बताए । एक एक हजारका ८० वटा ड्रम वितरण गरी आकाशे पानी सङ्कलन गर्ने योजना बनाएको उनले बताए ।
    “यसले मात्र समस्या समाधान नहुने भएकाले तीनै तहका सरकारसँग दीर्घकालीन समस्या समाधान गर्न माग गरेका छौँ”, उनले भने ।


    उक्त गाउँका मिलन खड्का आफूले केही समयअघि पानीको समस्या लिएर सङ्घीय खानेपानी मन्त्रालयसम्म धाएको बताउँछन् । बस्तीमा भएको खानेपानीको समस्याको श्रव्यदृश्य सामग्री देखाउँदै मन्त्रीलाई समेत उनको भनाइ छ । मन्त्रीले कुनै पनि हालतमा व्यवस्था गर्छु भन्ने आश्वासन दिएको खड्काले बताए । खड्काले यसकै लागि आफू व्यक्तिगत रु ५० हजार खर्च गरेर सङ्घीय राजधानी गएको बताए ।

  • तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

    तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

    धरान (सुनसरी), २४ जेठः सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । एक समय बाँझै रहने बारी अहिले हराभरा तरकारीबारीमा परिणत भएका छन् भने किसान आफ्नै गाउँमा बसेर मनग्य आम्दानी गर्दै आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् ।
    बिहान घाम नउदाउँदै किसान काँक्रो, गोलभेँडा, बोडी, घिरौँला, कोभीलगायत तरकारी टिप्न बारीमा पुगिसकेका हुन्छन् । उत्पादन भएका तरकारी धरान, इटहरी, इनरुवा, बराहक्षेत्र तथा आसपासका बजारमा बिक्री हुने गरेको छ ।

    बराहक्षेत्र नगरपालिका–७ का दिनेश राजवंशी विगत ६ वर्षदेखि करिब दुई बिघा जमिनमा व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । तीन वर्ष विदेश बसेर फर्किनुभएका उहाँले अहिले आफ्नै गाउँमा बसेर तरकारीखेतीबाट पर्याप्त आम्दानी गरिरहेका छन् । “विदेशमा निकै दुःख गरेर कमाएको पैसाले घरखर्च धान्नै कठिन हुन्थ्यो, अहिले परिवार सबै मिलेर साथमा तरकारीखेती गरिरहेका छौँ । मिहिनेत गर्न सके आफ्नै देशको माटोमा पनि राम्रो आम्दानी गर्न सकिँदोरहेछ”, उनले भने । तरकारी बिक्रीबाट घरखर्च सहज रूपमा चलिरहेको छ भने मासिक रु ७० हजारभन्दा बढी बचत गर्न सफल भएको राजवंशी बताउँछन् ।


    सोही ठाउँका नितु राजवंशी र रमेश राजवंशी दम्पतीले तीन बिघा जमिनमा व्यावसायिक तरकारीखेती गरिरहेका छन् । उनीहरुले काँक्रो, बोडी, घिरौँला, कोभी, गोलभेँडालगायत मौसमी तरकारी उत्पादन गर्दै आएका छन् । नितु राजवंशीका अनुसार विगतमा मकै र कोदोखेतीबाट परिवारको खाद्यान्न आवश्यकता मात्र पूरा हुन्थ्यो । तरकारीखेती सुरु गरेपछि भने यहाँबाट राम्रै आम्दानी हुने गरेको उनले बताए ।


    “पहिले बारी बाँझो थियो, अहिले तरकारीखेतीले धेरै राम्रो भएको छ । मौसमले साथ दिएमा र सिँचाइ तथा मल व्यवस्थापन राम्रो भए वार्षिक रु सात लाखदेखि रु आठ लाखसम्मको तरकारी मज्जाले बिक्री गर्न सकिन्छ”, राजवंशी दम्पती भन्छन् ।

    त्यसैगरी, बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका युक्ति चौधरीले चार बिघा जमिनमा मौसमी तरकारीखेती गर्दै आएकी छिन् । छ वर्षअघि एक कट्ठा जमिनबाट सुरु गरिएको खेती अहिले विस्तार भएर वार्षिक रु १० लाखभन्दा बढी आम्दानीको स्रोत बनेको छ । ‘रीतिका कृषि फार्म’ सञ्चालन गर्दै आउनुभएका चौधरीले परिवारको साथ र निरन्तर मिहिनेतले व्यवसाय विस्तार गर्न सफल भएको बताए । “काम गर्न सकुन्जेल खेतीलाई निरन्तरता दिन्छु । परिवारको साथ छ, मिहिनेत गर्नसके कृषि क्षेत्रमै राम्रो सम्भावना रहेछ”, उनले भने ।


    चौधरीले पालेका गाईगोरु र बाख्राबाट प्राप्त गोबरलाई जैविक मलका रूपमा प्रयोग गर्दै आउनुभएको छ । यसले उत्पादनलाई स्वस्थ र गुणस्तरीय बनाउन मद्दत पुगेको उनको भनाइ छ । तरकारी बिक्रीका लागि बजारको समस्या छैन । व्यापारीहरू आफैँ फार्ममा पुगेर तरकारी खरिद गरेर लाने गरेको उनले बताए ।

    “हामी बजार मूल्यभन्दा प्रतिकिलो करिब रु १० कममा तरकारी दिन्छौँ, व्यापारीहरू फार्ममै आउने भएकाले बजारको झन्झट हुँदैन”, उनले भने । सुनसरी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले बराहक्षेत्रसहित जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा तरकारीखेती प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन भइरहेको बताए । उनका अनुसार केन्द्रले किसानलाई अनुदान, उन्नत बीउ, सिँचाइ उपकरण, माटो परीक्षण, मल तथा विषादी व्यवस्थापनसम्बन्धी तालिमलगायत प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । आधुनिक तरकारीखेतीले धेरै किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको छ । उनले भने, “उत्पादन वृद्धि, बजार पहुँच र आम्दानी विस्तारमा सकारात्मक प्रभाव देखिएको छ ।”

    श्रेष्ठका अनुसार तरकारी भण्डारण, कीट प्रकोप, बजार व्यवस्थापन तथा मौसमजन्य समस्याको समाधानका लागि कृषि ज्ञान केन्द्रले निरन्तर परामर्श सेवा प्रदान गर्दै आएको छ । बराहक्षेत्रका किसानले उत्पादन गरेका तरकारी धरान कृषि उपज बजार, इटहरी, इनरुवा, बराहक्षेत्र तथा काराबन्जरलगायतका स्थानीय बजारमा बिक्री हुने गरेका छन् । किसानका अनुसार बिक्रीका लागि बजारको अभाव छैन । सरकारी अनुदान, विभिन्न सङ्घसंस्थाको सहयोग तथा डिजिटल मार्केटिङको बढ्दो प्रयोगले व्यावसायिक तरकारीखेतीलाई थप सहज बनाएको छ ।

    तरकारीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि बराहक्षेत्रका किसान विदेश पलायनभन्दा आफ्नै गाउँघरमा श्रम र सीप लगानी गर्न उत्साहित देखिएका छन् । यसले ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्नुका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत टेवा पुर्याएको छ । अहिले बराहक्षेत्र नगरपालिकामा अधिकांश किसान बारीमा तरकारी उत्पादन गर्दै, स्थानीय हाटबजारमै बिक्री गरी राम्रो आम्दानी गरिरहेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो । नगरपालिकाले बर्सेनि किसानलाई प्राविधिक तालिम, उन्नत बीउबिजन, मल, सिँचाइ सुविधा, प्लास्टिक टनेल निर्माणका लागि अनुदान र बजार व्यवस्थापनमा सहजीकरण गर्दै आएको उनले जानकारी दिए ।


    अहिले गाउँमै रोजगारी सृजना हुने क्रम बढिरहेको छ । वैदेशिक रोजगारीमा गएका युवाहरू पनि कृषि पेसामै फर्कन थालेका छन् । स्वदेशमै बसेर आफ्नै माटोमै पसिना बगाएर राम्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना अहिले गाउँगाउँमा फैलिएको छ । अनियमित वर्षा, अत्यधिक गर्मी, असिना वर्षालगायत कारणले बाली नष्ट हुने, रोगकीरा बढ्ने र समग्र उत्पादन घट्नेजस्ता समस्याका कारण कहिलेकाहीँ किसान निरास हुनुपरेको छ । तर मौसम अनुकूल बालीको छनोट, प्लास्टिक टनेल, ड्रिप सिँचाइ प्रणालीलगायत प्रविधिको प्रयोग बढाउन सक्दा तरकारीखेतीबाट किसानले राम्रो आम्दानी गर्न सक्ने नगरप्रमुख कार्कीको भनाइ छ ।

  • तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

    तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

    सिमकोट (हुम्ला), २४ जेठः हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ । हुम्लाको हिल्सानाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख ३० गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताए । वैशाखमा सुनासान देखिएको सिमकोट विमानस्थलमा जेठ पहिलो सातादेखि विदेशी पर्यटकको आगमन बढेको उनले बताए ।


    गत वैशाख ३० गतेदेखि जेठ महिनाको २३ गतेसम्म नेपालगन्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तथा अन्य देशका दुई हजार ७४७ पर्यटक हुम्ला भित्रिएका छन् । वैशाख महिनामा ५५ महिला र ५९ पुरुष पर्यटक जिल्ला पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए ।

    जेठमा मात्रै मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकको सङ्ख्या एक्कासी बढेको छ । यस महिनामा एक हजार २९२ महिला र एक हजार ३४० पुरुष गरी दुई हजार ६३२ विदेशी पर्यटक मानसरोवर कैलाश दर्शनका लागि पुगेका थिए । नाका सञ्चालनमा आएपछि मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

    कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमकोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको छ । चीनले हिल्सा नाकालाई हुम्लावासीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकको सङ्ख्या वृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दीपेन्द्र भण्डारीले बताए । उनले भने, “कैलाश मानसरोवरको दर्शन गर्न हुम्लामा कोरोना सङ्क्रमणपछिकै यो ठूलो सङ्ख्या हो, भारतीय पर्यटक आउने क्रम बढेको छ ।”

    उनका अनुसार मौसम अनुकूल भएको अवस्थामा दैनिक पाँचदेखि दशवटासम्म नेपालगन्जबाट यहाँ उडान हुने गरेको छ । सीता, समिट र तारा एयरले उडान भर्दै आएका छन् । सिमकोट विमानस्थलबाट हिल्साका लागि विभिन्न हेलिकोप्टरले समेत पर्यटकलाई सेवा दिइरहेका छन् ।

    भारतीय पर्यटक हुम्ला हुँदै कैलाश मानसरोवर दर्शन गर्न जाने हुँदा यहाँका नागरिकले रोजगारी पाउनुका साथै सदरमुकाम सिमकोटसहित हिल्सा नाकामा रहेका होटल सञ्चालकले मनग्य आम्दानी गरिरहेका हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताए । उनका अनुसार होटल व्यवसायीमात्रै नभएर यहाँका अन्यले पनि रोजगारी पाएका छन् । सदरमुकाम सिमकोटसहित हिल्साका होटल पर्यटकले भरिभराउ छन् ।

    सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्कसमेत उठाउँदै आएको छ । भारतीय पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क उठाउँदै आएको छ । जेठ, असार र साउन महिना कैलाश मानसरोवर दर्शन गर्ने उपयुक्त समय हो ।

  • बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

    बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

    खोटाङ, २४ जेठः बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक यही जेठ २२ गते वर्षापछि आएको भीषण बाढीले अवरुद्ध बनेको थियो । उक्त सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीले सञ्चालनमा ल्याएका हुन् ।

    पङ्खुखोलामा आएको बाढीले अवरुद्ध सडक खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ र काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने बस, जिप, मोटरसाइकललगायत सवारीसाधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
    पङ्खुखोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढीले करिब २५ मिटर सडक अवरुद्ध बनाएको थियो ।

    पङ्खुखोलामा २०७३ सालमै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउनेगरी निर्माण कम्पनीले काम थालेको थियो । कालोपत्रको काम सम्पन्न भएको लामो समयसम्म पनि ठेकेदारको लापरवाहीका कारण पुल निर्माण नहुँदा खोलाबाटै यातायातका सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता छ ।

  • ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग

    ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग

    काठमाडौँ, २३ जेठः पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । गुरुङ आज प्रहरी वृत्त बालाजु पुगी घटनाका बारेमा जानकारी लिँदै सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आग्रह गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

    त्यसअघि पूर्वमन्त्री गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरेर घटनाका बारेमा जानकारी लिएका थिए । मृतक भुजेल पूर्वगृहमन्त्री गुरुङकै गोरखा क्षेत्र नं १ का वासिन्दा थिइन् । तारकेश्वर नगरपालिका–६ लोलाङ पैयुटार बस्ने ४२ वर्षीयकुमार कुमार थापा मगरले गए राति ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

  • रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

    रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

    रसुवा, २३ जेठ । हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन तथा लाङटाङ क्षेत्रको अन्तरराष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता सुरु गरिएको छ । रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगिताको आज लाङटाङको क्याङ्जेनमा उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लाङ्टाङ क्षेत्रको पर्यटन विकासका लागि पदमार्ग तथा पूर्वाधार सुधार आवश्यक रहेको बताए । उनले हिमाल र हिमाली वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीबीच हिउँ र हिमाली सम्पदाको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे ।


    मुख्यमन्त्री बानियाँले स्थानीय हावापानी अनुकूल कृषि उत्पादन वृद्धि गरी पर्यटकलाई स्वस्थ तथा सन्तुलित भोजन उपलब्ध गराउन सके पर्यटन क्षेत्र थप आकर्षक बन्ने बताए । समुद्र सतहबाट करिब तीन हजार ८७० मिटर उचाइमा रहेको क्याङ्जेनमा आयोजित प्रतियोगितामा सहभागी खेलाडीले क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको ३२ किलोमिटर दूरी पार गर्नुपर्नेछ । प्रतियोगितामा दुई विदेशी महिलासहित एक सय तीन खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।

    बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीलगायतको सहभागिता रहेको थियो । पर्यटनमन्त्री श्रेष्ठले लाङटाङ क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली संस्कृति र जैविक विविधतालाई विश्वसामु चिनाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए । उनले लाङटाङ पदमार्गलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित वातावरण संरक्षण, सरसफाइ र गुणस्तरीय सेवा प्रवाहमा जोड दिए ।


    आर्थिक मामिलामन्त्री तामाङले स्थानीय समुदाय, पर्यटन व्यवसायी र सरोकार भएका निकायबीच सद्भाव र सहकार्यले मात्र हिमाली पर्यटनको दिगो विकास सम्भव हुने बताए । उनले लाङ्टाङ भ्रमणमा आउने पर्यटकलाई आत्मीयतापूर्वक सेवा प्रदान गरी नेपालको सकारात्मक छवि निर्माण गर्न आग्रह गरे । खेल, पर्यटन र वातावरण संरक्षणलाई एकै सूत्रमा जोड्ने उद्देश्यले आयोजना गरिएको ट्रेल रनले हिमाली क्षेत्रको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको ट्रेकिङ एसोसियसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष दीपक महतले बताए ।


    रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार यस्ता कार्यक्रमले लाङटाङ क्षेत्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटन बजारमा स्थापित गर्न थप मद्दत पुग्नेछ । यहाँ आयोजित साहसिक दौड प्रतियोगिता केवल खेलकुद गतिविधि मात्र नभई लाङटाङको प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनालाई विश्वसामु चिनाउने प्रभावकारी माध्यमका रूपमा हेरिएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष ढिण्डुप तामाङको भनाइ छ ।

  • रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

    रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

    काठमाडौँ, २३ जेठः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन् । आज र भोलि हुन गइरहेको पार्टीको जिल्ला अधिवेशनका सन्भर्दमा उनले सामाजिक सञ्जालमा ‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आएको बता्रए । “पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ”, सभापति लामिछाने भनेका छन् ।


    अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएको जनाउँदै उनले महाधिवेशन प्रक्रिया पार्टी जीवन, विधि, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने अवसर भएको बताए । “यसले हाम्रो आगामी यात्रालाई स्पष्ट दिशानिर्देश गर्नेछ”, उनले लेखेका छन् । रास्वपाको आज ३७ र भोलि २९ जिल्लामा अधिवेशन हुँदैछन् । रास्वपाको पहिलो महाधिवेशनको प्रक्रियाअन्तर्गत वडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् ।

    पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सभापति लामिछानेले संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधि अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार भएको बताए । लोकतान्त्रिक प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जाने उनको भनाइ छ ।

    “हामीले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिएका छौँ । त्यसका लागि विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्छ”, सभापति लामिछानेले भनेका छन्, “पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौँ ।” स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने उनले लेखेका छन् ।


    “चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्च्याउनुपर्छ”, सभापति लामिछानेले भनेका छन्, “पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो।”

    मतदाताको विवेक र पार्टीका सम्पूर्ण सदस्यको समर्पणले आजको सफलता सम्भव भएको उल्लेख गर्दै सभापति लामिछानेले पुरानाले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीको यात्रालाई यहाँसम्म ल्याएको बताए । “अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो । त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ । तर, सङ्गठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने सङ्कीर्ण चिन्तालाई त्याग्नुपर्छ”, उनले भनेका छन् ।

  • परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

    काठमाडौँ, २३ जेठः भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूले दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी तथा जनता–जनताबीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपालको दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री खनाल आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार नयाँदिल्ली पुगेका हुन् ।

  • एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

    एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

    काठमाडौँ, २३ जेठ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ । आगामी असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदैछ । यसअघि, एसइई( २०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो ।

    परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार २५ गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताए । एसइईमा एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएकामा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने यकिन तथ्याङ्क प्राप्त भइनसकेको उनले बताए । ‘ग्रेड सि’ भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन् ।

  • सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

    सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

    काठमाडौँ, २३ जेठः जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ । कोषमा यही जेठ २० गतेसम्म रु एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार बराबरको योगदान रकम जम्मा भएको छ ।

    दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको छ । सोही आधारमा कोषले सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्य्त् तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरेको छ । कोषका चार वटा प्रस्ताव आएकामा दुई वटा प्रस्तावमाथि छलफल भइरहेको छ ।

    मुलुकको ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ कोषमा सङ्कलन भएको प्रस्तावलाई अगाडि बढाउन लागिएको छ । कोषका निर्देशक रोहित रेग्मीले लगानी विविधिकरणका लागि प्रयास भइरहेको जानकारी दिए । कोषमा जम्मा हुने रकम बैङ्क तथा वित्तीय संस्थामा राख्दा आर्थिक विकास र समृद्धिमा योगदान हुन नसक्ने भएकाले थप क्षेत्रको खोजी गरिएको उनको भनाइ छ । आगामी आर्थिक वर्षको बजेटले विभिन्न कोषमा रहेको रकमलाई उपयोग गर्ने नीति अख्तियार गरेको छ ।

    खानीजन्य क्षेत्रअन्तर्गत स्वदेशमा ‘क्लिङ्कर’ उत्पादन गरी सिमेन्ट उत्पादन गर्ने परियोजनामा पनि कोषले लगानी गर्ने नीति लिएको निर्देशक रेग्मीले उल्लेख गरे । उनका अनुसार कोषमा हालसम्म २३ हजार ४७६ रोजगारदाता र २९ लाख ५८ हजार ४२९ योगदानकर्ता सूचीकृत भएका छन् । कोषले कुल दाबी भुक्तानी रु २० अर्ब ४५ करोड २६ लाख १० हजार ७३८ गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम रु तीन अर्ब २३ करोड ५१ लाख दुई हजार ९११ बराबर रहेको छ ।

    दुर्घटना तथा अशक्तता सुरक्षातर्फ रकम रु २८ करोड ४४ लाख ३० हजार १८८, आश्रित परिवार सुरक्षा दाबी रकम रु ३४ करोड ९५ लाख ७३ हजार ३९८ र अवकाश दाबी रकम रु १६ करोड ५८ लाख ३५ लाख चार हजार २४१ बराबर रहेको कोषका निर्देशक रेग्मीले जानकारी दिए ।


    संस्थागत वा सहवित्तीयकरण कर्जामा पर्यटन क्षेत्र, निर्माण क्षेत्र, सूचना तथा प्रविधि क्षेत्र, सेवामूलक क्षेत्र, कृषि क्षेत्रमा लगानी गर्न सकिने व्यवस्था गरेको छ । सञ्चालक समितिले उपयुक्त ठानेको क्षेत्रमा पर्याप्त धितो वा जमानी लिई संस्थागत कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ । कर्जा प्रवाह गर्दा तिर्ने क्षमता भएको कम्पनीलाई परियोजना स्थापना र सञ्चालनको लागि स्थिर पूँजी कर्जा, चालु पूँजी कर्जा वा चक्र कर्जा समेत प्रवाह गर्न सकिने व्यवस्था छ ।

    कोषले २० मेगावाटभन्दा कम क्षमताको विद्युत् परियोजनामा भने कोषले लगानी नगर्ने नीति लिएको निर्देशक रेग्मीले बताए । विद्युत् खरिदसम्बन्धी शर्त तथा बन्देज वा कुनै समयमा प्राधिकरणले विद्युत् खरिद नगर्ने शर्त भएमा, कनेक्सन सम्झौताबमोजिमको सबस्टेसन तयार भई नसकेको परियोजनामा लगानी नगर्ने नीति रहेको उनले बताए । उनका अनुसार कम्तीमा ३० प्रतिशत स्वपुँजी नभएको परियोजना, निजी कम्पनीबाट सञ्चालित परियोजना र कोषको प्राथमिकतामा नपरेको परियोजनामा पनि लगानी नगर्ने नीति छ ।

  • कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्ने

    कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्ने

    भजनी (कैलाली), २३ जेठः सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा आज आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा उनले सङ्घीयता कार्यान्वयनमा सङ्घीय संसद् र प्रदेशसभाबीच प्रभावकारी रुपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताए ।

    तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिँदै सभामुखले भने, ‘तीनवटै तहका सरकारले बनाउने कानुन नबाझिने गरी काम गर्न म प्रतिबद्ध छु ।” सबैसँग समन्वय, सहकार्य गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु । आपसी समन्वय र सहकार्यले मात्र जनताका अपेक्षालाई बुझेर काम गर्ने वातावरण बन्नेछ ।”

    कानुन निर्माण हुँदा लक्षितवर्गलाई केन्द्रमा राख्नुपर्नेमा सभामुख अर्यालले जोड दिए । कानुनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानुन निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानुन निर्माण गरिनुपर्ने बताए । सभामुख अर्यालले सङ्घीयताले सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने भनिए भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताए । “अझै हामीले जनतालाई दिनुपर्ने अधिकार गाउँगाउँसम्म पु¥याउन सकेका छैनौँ”, उनले भने ।
    तीन तहको सरकारमा समन्वयको अभाव छ : अध्यक्ष दाहाल

    यसैगरी, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय र प्रदेशसँग सङ्घीय सरकारको समन्वय नपुगेको गुनासोलाई सङ्घीय संसद्ले सम्बोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । सङ्घले आवश्यक कानुन नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै उहाँले संवैधानिक अधिकारसहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।


    “सङ्घले कानुन निर्माणमा गरेको ढिलाइले प्रदेश सरकारले आवश्यक कानुन बनाउन र कार्यान्वयन गर्न सकेको छैन”, उनले भने। जनताका भावनालाई आत्मसात् गर्दै लोकतन्त्रलाई मजबुत बनाउनेतर्फ तीनवटै तहको भूमिका महत्त्वपूर्ण रहेको कथन थियो । अध्यक्ष दाहालले कानुन निर्माणमा सङ्घीय सदनले बढी तदारुकता देखाउन आवश्यक रहेको बताए ।

    उनले भने, “द्रुत गतिमा कानुन निर्माणका काम किन भएका छैनन् । त्यसका कारण खोज्न जरुरी छ । जनताले हामीलाई कुरा गर्न पठाएका होइनन् ।” सम्मेलनमा सङ्घीय संसद्का दुवै सदन र सातवटै प्रदेशसभाका सभामुख सहभागी छन् । सम्मेलन भोलि सम्पन्न हुनेछ ।

  • ‘ट्रम्पसँग छलफल भएका प्रस्ताव’का आधारमा रुस सम्झौता गर्न तयारः पुटिन

    ‘ट्रम्पसँग छलफल भएका प्रस्ताव’का आधारमा रुस सम्झौता गर्न तयारः पुटिन

    सेन्ट पिटर्सबर्ग, रूस, २३ जेठ (रासस–एएफपी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध जतिसक्दो चाँडो अन्त्य गर्न आफू तयार रहेको बताएका छन् । उनले युद्ध जतिसक्दो चाँडो अन्त्य गर्न आफू तयार रहेको तर यसका लागि किएभले केही ‘सम्झौता’ गर्नुपर्ने बताए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावको सन्दर्भमा यो भनाइ राखेका हुन् । उनले रूसी सेना युद्धको मैदानमा लगातार अगाडि बढिरहेको भएपनि आफूले विश्व समुदायको धारणाको सम्मान गर्दै युद्ध अन्त्य गर्न तयार रहेको बताए ।


    राष्ट्रपति पुटिनले सेन्ट पिटर्सबर्गमा विश्वका प्रमुख समाचार संस्थाका प्रमुखहरूसँग कुराकानी गर्दै पुटिनले भने, “रूसले आफ्नो हवाई प्रतिरक्षा बलियो बनाइरहेको छ र उसले युक्रेनको ड्रोन आक्रमणको जवाफ दिन सकोस्। रूसी जनताको देशभक्ति र इच्छाले उनीहरूलाई आफ्नो लक्ष्य पूरा गर्न मद्दत गर्नेछ ।” युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार पुटिनलाई एउटा खुला पत्र लेख्दै युद्धलाई शान्तिपूर्ण रूपमा अन्त्य गर्न दुई नेताबीच प्रत्यक्ष भेटघाटका लागि अपिल गरेका थिए । पत्रमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने, “दुई देशबीच प्रत्यक्ष वार्ता भयो भनेमात्र शान्ति सम्भव छ र यसका लागि पूर्ण युद्धविराम अनिवार्य हुनेछ।”

    क्रेमलिनले उक्त पत्र प्राप्त भएको पुष्टि गरेको छ । क्रेमलिनले भनेको छ, “युक्रेनले सम्झौताहरू स्वीकार गर्नुपर्नेछ, त्यसपछि मात्र युद्ध समाप्त हुन्छ ।”
    पत्रकारहरुसँग कुरा गर्दै रूसी नेता पुटिनले अलास्काको एन्कोरेज बैठकमा ट्रम्पसँग छलफल भएका प्रस्तावका आधारमा रुस सम्झौता गर्न तयार रहेको बताएका थिए । उनले भने, “रुस ती ‘सम्झौता’ स्वीकार गर्न तयार रहेको तर युक्रेनले पनि यसलाई स्वीकार गर्नुपर्नेछ, त्यसपछि मात्र द्वन्द्व चाँडै समाप्त हुन सक्छ।”

    रुसी सेनाले हालसालै करिब दुई हजार ४४० वर्ग किलोमिटर युक्रेनी नियन्त्रणमा रहेको भूभाग आफ्नो नियन्त्रणमा लिएको र विभिन्न मोर्चामा अघि बढिरहेको नेता पुटिनले दाबी गरे । उनले भने, “लुहान्स्क क्षेत्र लगभग पूर्ण रूपमा रूसी नियन्त्रणमा छ, डोनेट्स्कको ८५ प्रतिशत र जापोरिज्जियाको लगभग ८० प्रतिशत पनि रूसी नियन्त्रणमा छ ।”

    नेता पुटिनले युरोपेली सङ्घ (इयू) को मध्यस्थकर्ताको भूमिकालाई पनि अस्वीकार गरे । उनले भने, “जुन देशले रणनीतिक रुपमा रुसलाई हराउने कुरा गरेका छन्, उनीहरुलाई विश्वास गर्न गाह्रो छ । यदि इयूले वार्ताका लागि मध्यस्थता गर्न चाहन्छ भने पनि रुसले ढोका पूर्ण रुपमा बन्द गर्नेछैन, तर उसले हतियार पठाउने र उक्साउने गर्नुको सट्टा युक्रेनलाई मनाउने प्रयास गर्नुपर्छ ।” उनले युक्रेनमा मार्शल ल का कारण चुनाव स्थगित भएको भन्दै वार्ताका लागि राष्ट्रपति जेलेन्स्कीको वैधताबारे पनि टिप्पणी गरेका थिए ।

  • चिनियाँ राष्ट्रपति सी आगामी साता उत्तर कोरिया जाँदै

    चिनियाँ राष्ट्रपति सी आगामी साता उत्तर कोरिया जाँदै

    बेइजिङ, २३ जेठ (रासस–एपी) । चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्ने भएका छन् । सन् २०१९ यता पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले प्योङयाङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ । चीन र उत्तर कोरियाले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार सीले सोमबारदेखि मङ्गलबारसम्म उत्तर कोरियाको भ्रमण गर्नेछन् । उनको पछिल्लो भ्रमण जुन २०१९ मा भएको थियो ।

    यो भ्रमण उत्तर कोरियाली नेता किम जोङ उनले पछिल्ला वर्षहरूमा रुससँग निकटता बढाइरहेका बेला हुन लागेको हो । विशेषगरी युक्रेन युद्धमा समर्थनस्वरूप उत्तर कोरियामाथि रुसलाई सैनिक र परम्परागत हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ । यद्यपि चीन अझै पनि उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख सहायता प्रदायक बनेको छ ।

    अन्तर्राष्ट्रिय सङ्कट समूहका विश्लेषक विलियम याङका अनुसार रुससँग उत्तर कोरियाको सम्बन्ध विस्तार भइरहेका बेला चीनले सीको भ्रमणमार्फत प्योङयाङमा आफ्नो प्रभाव पुनः स्थापित गर्न र उत्तरपूर्वी एसियामा आफ्ना रणनीतिक हित सुरक्षित गर्न खोजिरहेको छ । सीको भ्रमण बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएका उच्चस्तरीय भेटघाटपछि हुन लागेको हो । यसलाई चीनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आफ्नो भूमिका बलियो बनाउने प्रयासका रूपमा पनि हेरिएको छ ।

    भ्रमणको घोषणा उत्तर कोरियाले आणविक बम निर्माणका लागि आवश्यक सामग्री उत्पादन गर्न सक्ने नयाँ सुविधा सार्वजनिक गरेको भोलिपल्ट गरिएको हो । दक्षिण कोरियाली सेनाले उक्त संरचनालाई युरेनियम संवर्धन केन्द्रका रूपमा मूल्याङ्कन गरेको छ । उक्त केन्द्रको निरीक्षणका क्रममा किमले देशको आणविक शक्तिलाई द्रुत रूपमा बढाउने योजना सार्वजनिक गरेका थिए । विज्ञहरूका अनुसार यसले सीको भ्रमणअघि उत्तर कोरियाले आफूलाई आणविक शक्ति राष्ट्रका रूपमा अझ बलियो रूपमा प्रस्तुत गर्न खोजेको सङ्केत दिएको छ ।

    विश्लेषकहरूका अनुसार किम उत्तर कोरियालाई अन्तर्राष्ट्रिय रूपमा आणविक राष्ट्रका रूपमा स्वीकार गराउँदै प्रतिबन्ध हटाउन वा खुकुलो बनाउन चाहन्छन् । साथै भविष्यमा अमेरिकासँग हुने सम्भावित वार्तामा आणविक कार्यक्रमको आंशिक कटौतीको बदलामा राजनीतिक तथा आर्थिक रियायत प्राप्त गर्ने रणनीति पनि उहाँको हुन सक्ने आकलन गरिएको छ ।

    सन् २०१९ मा ट्रम्पसँगको कूटनीतिक प्रयास असफल भएपछि किमले आणविक कार्यक्रम विस्तारलाई प्राथमिकता दिँदै आएका छन् । ट्रम्पले भने पुनः वार्ताको इच्छा व्यक्त गरिरहेका छन् । तर उत्तर कोरियाले अमेरिकाले आणविक निःशस्त्रीकरणलाई पूर्वसर्त बनाउन छाडेपछि मात्र सार्थक संवाद सम्भव हुने अडान राखेको छ । गत सेप्टेम्बरमा बेइजिङमा भेटवार्ता गर्दा सी र किमले आपसी सहयोग तथा समर्थन बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसबेला किम चिनियाँ सैन्य परेडमा सहभागी हुन बेइजिङ पुगेका थिए ।


    रुस र चीनले विगतमा उत्तर कोरियामाथि थप कडा अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने अमेरिकी प्रयासहरूको विरोध गर्दै आएका छन् । गत महिना बेइजिङमा भएको भेटमा पुटिन र सीले उत्तर कोरियामाथि आर्थिक प्रतिबन्ध, राजनीतिक अलगाव र सैन्य दबाब बढाउने गतिविधिको विरोधसमेत गरेका थिए ।

    पछिल्ला वर्षहरूमा किमले बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा उभिँदै अमेरिका र उसका साझेदार राष्ट्रहरूसँग तनावमा रहेका देशहरूसँग सम्बन्ध विस्तार गर्ने नीति अघि बढाएका छन् । कोभिड–१९ महामारीपछि विदेश भ्रमण घटाएका सीका लागि पनि यो भ्रमण महत्त्वपूर्ण मानिएको छ । विश्लेषकहरूका अनुसार उत्तर कोरियाको यो भ्रमणले चीन–उत्तर कोरिया सम्बन्ध मात्र नभई उत्तरपूर्वी एसियाको सुरक्षा र शक्ति समीकरणमा पनि नयाँ सन्देश दिनेछ ।