Category: समाचार

  • बिमानमा चुरोट तानेपछि जिन्दगीभरलाई हवाई यात्रा गर्न बन्देज

    बिमानमा चुरोट तानेपछि जिन्दगीभरलाई हवाई यात्रा गर्न बन्देज

    कानूनको अनभिज्ञता क्षम्य हुँदैन।अर्थात मलाई यो कानूनको बारेमा थाहा थिएन भन्दैमा छुट पाईदैन। यो कानूनको बिश्वव्यापी सिद्धान्त हो । यस्तै खालको घटनामा एक यात्रु जिन्दगीभर “स्पिरिट एयरलाईन्स” चढ्न नपाउने भएका छन् । ति यात्रुले आफु यात्रा गरिरहेको बिमानको सौचालय भित्र चुरोट पीए पछि उनलाई सम्बन्धित बिमान कम्पनीले जीवनभरका लागि यात्रा गर्न नपाउने गरेको हो ।

    सेन्ट पिटर्सबर्ग फ्लोरिडा निवासी ३० बर्षिय पेसेन्जर डेट्रोएटबाट न्यू ओर्लन्सको  फ्लाईट एनके ९८५ मार्फत गर्दै थिए । 

    डेप्यूटी अफिसरलाई फ्लाईट् अटेण्डेण्टले बताए अनुसार बाटोमा उनले बाथरुममा ई-सिगरेट तानेर झोलामा धुँवा फुकेपनि फायर अलार्म बजेपछि फ्लाईट अटेण्डेण्टले उनलाई तत्काल हप्काएका थिए । 

    लुईस् आर्मष्ट्रङ यू ओर्लेन्स अन्तर्राष्ट्रिय बिमानस्थलमा डेप्यूटी अफिसरले उनलाई सोधपुछ गर्दा उनले आफूलाई फ्लाईटमा चुरोट तान्न नपाईने कुरा थाहा नभएको भनि ढाँटेका थिए । तत्काल गिरफ्तार नगरेपनि उनलाई स्पिरिटले आफ्नो कम्पनीको जहाजमा जिबनभरको लागि बन्देज गरेको छ । यद्यपी अन्य यात्रुहरुले पनि उक्त ब्यक्तिले उडानमा आफैले बोकेर ल्याएको मदिरा अत्याधिक सेवन गरेको बताएका थिए । ति यात्रुको नाम भने सार्वजनिक गरिएको छैन ।

    एजेन्सी

  • सकियो हिमालयन ट्राभल मार्ट, ७ सय विदेशी पाहुनाको विदाई

    सकियो हिमालयन ट्राभल मार्ट, ७ सय विदेशी पाहुनाको विदाई

    काठमाडौं । हिमालय क्षेत्रको विविध पर्यटन सम्भाब्यता उजागर गर्ने उद्दश्यले आयोजित तेस्रो संस्करणको ‘हिमालयन ट्राभल मार्ट’ आइतबार सम्पन्न भएको छ ।

    काठमाडौंमा २३ जेठबाट शुरु भएको मार्टमा ४३ देशबाट ७०० भन्दा बढी प्रतिनिधि तथा सरोकारवाला सहभागी भएको बताइएको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरद्घारा आयोजित हिमालयन ट्राभल मार्ट नेपाली पर्यटन क्षेत्रकै बृहत एवम् प्रमुख ट्राभल एन्ड टुरिज्म सम्बन्धी मेलाको रुपमा स्थापित भएको पाटा नेपाल च्याप्टरले उल्लेख गरेको छ ।

    मार्टको अवसर पारी पाटा नेपाल च्याप्टरले स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई विशेष अवार्ड प्रदान गरिएको थियो । उक्त अवसरमा विश्वप्रसिद्ध बेलायती पर्वतारोही ‘डक स्कट’ लाई पर्वतारोहण र नेपाली पर्यटन क्षेत्रको प्रचार प्रसारमा पु¥याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको थियो ।

    जुन ७ मा आयोजित मार्टको कन्फ्रेन्समा साहसिक पर्यटनको समसामयिक तथा भावी प्रवृत्तिहरु, दिगो पर्यटन विकासका अवसर तथा चुनौतिहरुलगायत नेपालमा अध्यात्म पर्यटनको सम्भावना र पर्यटकीय अवसरबारेमा विशेष प्राथमिकताका साथ छलफल गरिएको थियो ।

    मार्टको ‘साइड इभेन्ट’ का रुपमा आयोजना गरिने अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया कन्फ्रेन्समा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया\ब्लर्गसहरुसहित सयौँ राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीहरुमाझ ट्राभल मिडिया तथा ब्लर्गसले गन्तब्यको पर्यटन प्रवद्र्धन एवम विकासमा खेल्ने भूमिका र अवसरहरुको बारेमा छलफल गरिएको थियो ।

    सो कार्यक्रमबीच भ्रमण वर्ष २०२० सम्बन्धित एक विशेष अन्तर्राष्ट्रिय ‘मिडिया ब्रिफिङ्गङ’ गरिएको थियो । भ्रमण वर्ष अभियानका संयोजक सुरज बैद्यले अभिायन अन्तर्गत गरिने विभिन्न कार्यक्रमहरुको कार्ययोजना लगायत नेपालका पर्यटकीय गन्तब्य र सम्भावनाबारे प्रस्तुति पेस गरेका थिए ।

    यस पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरु र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनीहरु तथा संस्थाले सहभागिता जनाएका थिए ।

    पाटा नेपालले हिमालयन ट्राभल मार्टको चौथो संस्करण आगामी वर्ष २०२० जुन १२ देखि १५ सम्म आयोजना गरिने जनाएको छ ।

  • अब गैरआवासीय नेपालीका परिवारलाई फेमिली कार्ड

    अब गैरआवासीय नेपालीका परिवारलाई फेमिली कार्ड

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आइतबारबाट एनआरएन फेमिली कार्ड वितरण शुरु गरिएको छ ।

    गैरआवासीय नेपाली संघले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कार्ड वितरण शुरु गरेको हो । कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने बताइएको छ ।

    तर, विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू हुने छैन ।

    संघले सदस्यलाई सदस्यता बापत केही सुविधा पनि प्राप्त होस् भन्ने उद्देश्यले विभिन्न व्यावसायिक प्रतिष्ठानहरुसँग सहमति गरी ति प्रतिष्ठानले आपूर्ती गर्ने सेवा वा वस्तुमा छुट वा सहुलियत दिने प्रणालीको विकास गरेको उल्लेख गरेको छ ।

    ती प्रतिष्ठानले संघका कार्ड धारकहरुलाई आफ्ना वस्तु र सेवामा निश्चित मात्राको सहुलियत दिनेछन् ।

    कार्ड पाएपछि संघमा पञ्जीकृत सदस्य र उनीहरुका परिवारका सदस्यले नेपाल भित्र र बाहिर संघसँग सहमति गरेका विभिन्न, अस्पताल, विविध स्वास्थ्य संस्थाहरु, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटेल, रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल, टुर एण्ड टिकट एजेन्सी, सूचना तथा सञ्चार सम्बन्धि क्षेत्र, बैकिंङ क्षेत्र, बीमा, फिटनेश सेन्टर लगायतका उद्योग प्रतिष्ठानबाट प्राप्त गर्नेछन् ।

    कार्डको म्याद २ वर्षको हुने बताइएको छ । त्यस पश्चात कार्ड पुनः नवीकरण गराउनुपर्नेछ । यस्तो कार्ड प्राप्त गर्न सम्बन्धित सदस्यले सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण उपलब्ध गराउनु पर्ने संंघले जानकारी दिएको छ ।

    कार्यक्रममा संघका अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीलाई संघको सदस्य बन्न थप प्रोत्साहन होस भनी यो व्यवस्थाको सुरुवात गरिएको बताए ।

    गैरआवासीय नेपालीहरुको सञ्जाललाई थप बृहत् बनाई उनीहरुले सदस्यता बापत केही प्रभावकारी सेवा सुविधा पाउन सकुन भनि यो कार्डको व्यवस्था गरिएको उल्लेख गरे ।

    संघकी उपाध्यक्ष सपिला राज भण्डारीले लामो समयदेखिको प्रयासले सफलता हासिल गरेको बताइन् । आगामी अक्टोबरसम्म कम्तीमा पनि ७ सय विभिन्न स्वास्थ्य, शिक्षा, बैकिंङ, बीमा लगायतका क्षेत्रका प्रतिष्ठानहरुसँग सहमति गरी कार्ड मार्फत विशेष सहुलियतको व्यवस्था गरिने उपाध्यक्ष राजभण्डारीले जानकारी दिइन् ।

  • समुन्द्रको छालसरी कोलम्बिया पसे भेनेजुएलियन जनता

    समुन्द्रको छालसरी कोलम्बिया पसे भेनेजुएलियन जनता

    बिगत ४ महिनादेखि बन्द गरिएको भेनेजुएला र कोलम्बियाको सिमाना हिजो शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले पुन: खोलेपछी हजारौको संख्यामा मानिसहरु कोलम्बिया प्रबेश गरेका छन् । उनिहरु खाना औषधी लगायतका अत्यावस्यक सामग्री लिनका लागि कोलम्बिया प्रवेश गरेका हुन् । दुई देश बिचको सिमाना हिजो पुन: खोलिए पछी भेनेजुएलियन जनताको भिड समुन्द्रको  छाल जस्तै कोलम्बिया पसेको थियो ।  दिनभर जस्तो कोलम्बिया र भेनेजुएला जोड्ने २ वटा अन्तर्राष्ट्रिय पुलहरुमा भेनेजुएलियन जनताको भिड थियो । आफ्नो काँधमा काखे बालक च्यापेर कोलम्बियन अधिकारीहरुको कागज पत्र जांच प्रकृयाका लागि घण्टौंसम्म भेनेजुएलियन जनता पुलमाथि लामबद्ध थिए । समुन्द्रको छाल जस्तो ओईरिएको मान्छेको भिड ब्यबस्थापनाको लागि हरियो रङको लुगा लगाएका भेनेजुएलियन सिमा प्रहरीले सघाएका थिए ।  

    बिपक्षी राजनीतिक दलले खाना औषधी लगायतका अत्यावस्यक सामाग्री भेनेजुएला पठाएको भन्दै गत फेब्रुअरीदेखि ब्राजिल  कोलम्बिया लगायत अरुबा, बोनाईर र कुराकाओ टापुहरुसँगको सिमाना  बन्द गरिएको थियो ।  

    गत जनबरीदेखि शुरु भएको राजनीतिक द्वन्द पछी कुनै समयको इन्धनका लागि अत्याधिक धनी भनिने राष्ट्र भेनेजुएला अहिले दैनिक जीवनसँग सम्बन्धित अत्यावस्यक सामाग्रीका लागि समेत छटपटाई रहेको छ । झण्डै ४० लाख भेनेजुएलियन जनताले पछिल्लो समय देश छोडिसकेका छन्  ।  

    शनिबार नै यु एन एच् सि आरको बिशेष दुतको रुपमा हलीउड नायिका एन्जेलिना जोली पनि भेनेजुएला पुगेकी छिन् । उनी छिमेकी कोलम्बियाका राष्ट्रपति ईभान डुकलाई भेटेर भेनेजुलास्थित आप्रबासी र शरणार्थीहरुको अवस्था बुझ्न भेनेजुएला गएको बताईएको छ ।

    एजेन्सी ।

  • विप्लव विरुद्ध राज्यको कडा नीति, मध्यरातमा १८ कार्यकर्ता समातिए

    विप्लव विरुद्ध राज्यको कडा नीति, मध्यरातमा १८ कार्यकर्ता समातिए

    कास्की । प्रहरीले विप्लव समूहका १८ कार्यकर्तालाई कास्कीबाट पक्राउ गरेको छ । शनिबार राति विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित १८ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

    कास्की, अन्नपूर्ण गाउँपालिकामा बैठक बसिरहेको स्थानबाट प्रहरीले उनीरुलाई पक्रेको हो । ४ महिलासहित पक्राउ परेका उनीहरु विरुद्ध प्रहरीले सुराक पाएपछि उक्त स्थानमा खटिएको थियो ।

     

    पार्टीका कास्की जिल्ला सेक्रेटरी मिलन राई(आक्रोश) समेत रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका उनीहरुलाई शनिबार राति नै पोखरा ल्याइएको छ ।

    सरकारले विप्लव समूहका गतिविधिमा प्रतिवन्ध लगाएको छ । सोहीकारणअहिले उनीहरु भूमिगत रुपमा आफ्ना गतिविधि तीब्र पारेका छन् ।

  • अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने

    अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने

    पैसा सबै चिज होईन भन्नेहरुका लागि अब मनग्य पैसा भयो भने धेरै चिज प्राप्त हुँदो रहेछ भन्ने नयाँ उदाहरण सार्वजनिक भएको छ ।  

    नासाले अब पर्यटकका लागि पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र खुला गर्ने भएको छ । नासाले पर्यटकका लागि अन्तरिक्ष केन्द्रसम्म उड्ने सौभाग्य भने अर्को बर्षदेखि प्रदान गर्ने भएको कुरा घोषणा गरेको छ ।  नासाले प्रति बर्ष २ जना मात्र प्राईभेट अन्तरिक्ष यात्रीको लागि स्विकृती दिने जनाएको छ । तर अन्तरिक्ष यात्रा गर्ने सौभाग्य भने सामान्य जीवनयापन गर्नेहरुको पंहुच बाहिर हुने छ । नासाको अन्तर्राष्ट्रिय    अन्तरिक्ष यात्रा गर्ने पर्यटकका लागि ३० दिनको प्याकेज हुने छ भने शुल्क प्रती रात न्युनतम पनि ३५ हजार अमेरिकी डलर पर्ने छ ।  उक्त घोषणा नासाले गत शुक्रबार नयाँ बिजिनेस योजना बनाउदै सार्वजनिक गरेको हो । पर्यटकले अन्तरिक्ष यात्रा आगामी बर्षको सुरुदेखि गर्न पाउने छन् ।  

    नासाले खर्चको फाँटबारी भने यसरी बाँडफाँड गरेको छ –

    रिजेनरेटिभ लाईफ सपोर्ट र शौचालय शुल्क – ११,२५० अमेरिकी डलर प्रति दिन 

    क्र्यु सप्लाईज ( खाना अक्सिजन र मेडिकल किट )- २२,५०० अमेरिकी डलर प्रति दिन 

    ठाउँ भाडा – १०५ अमेरिकी डलर प्रति दिन 

    बिधुत शक्ती – ४२ अमेरिकी डलर प्रति किलोवाट प्रति घण्टा 

    डाटा – ५० अमेरिकी डलर प्रति गेगा बाईटस् 

    एजेन्सी ।

  • वृद्धभत्ता बढेपछि जेष्ठ नागरिकको ८ वर्ष लामो आन्दोलन फिर्ता

    वृद्धभत्ता बढेपछि जेष्ठ नागरिकको ८ वर्ष लामो आन्दोलन फिर्ता

    काठमाडौं । जेष्ठ नागरिकले विगत ८ वर्षदेखि गर्दै आएको आन्दोलन फिर्ता लिएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ता ३ हजार रुपैयाँ पुर्याएको छ ।

    आगामी आवमा एकैपटक १ हजार रुपैयाँ वृद्धभत्ता बढेसँगै जेष्ठ नागरिकले आन्दोलन फिर्ता लिएका हुन् । अग्रज समाज नेपालको आह्वानमा ज्येष्ठ नागरिक नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि निरन्तर धर्ना बस्दै आएका थिए ।

    समाजले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समक्ष धर्ना अन्त्य भएको जानकारी गराएको हो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला २४ फागुन २०६९ मा समाजले धर्ना शुरु गरेको थियो ।

    समाजले ६० वर्ष उमेरमै मासिक रु पाँच हजार भत्ता पाउनुपर्ने, सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नारिकलाई आरक्षण सिटसहित ५० प्रतिशत छुट हुनुपर्ने, औषधोपचारमा सरकारी अस्पतालमा शतप्रतिशत र निजी अस्पतालले ५० प्रतिशत छुट गर्नुपर्नेजस्ता माग राख्दै आन्दोलन गर्दै आएको थियो ।

  • गैह्र कानूनी रुपमा हतियार खरिद गरी आतंकबादी क्रियाकलाप गर्न खोज्ने ज्याक्सन हाईट्सका एक युवा पक्राउ

    गैह्र कानूनी रुपमा हतियार खरिद गरी आतंकबादी क्रियाकलाप गर्न खोज्ने ज्याक्सन हाईट्सका एक युवा पक्राउ

    न्युयोर्क । न्युयोर्कस्थित दक्षिण पूर्वी एसियाका आप्रवासीको घनावस्ती ज्याक्सन हाईट्समा बसोबास गर्दै आएका एक व्यक्ति आतंकबादी क्रियाकलाप गर्ने उद्देश्यले गैह्र कानूनी रुपमा हतियार खरिद गरेको अभियोगमा पक्राउ परेका छन् । २२ बर्षिया बंगालादेशी नागरिक आसिकुल अलामले न्यूयोर्क कै ब्यस्त पर्यटकीय सहर टाईम्स स्क्वायरमा आतंककारी हमालको योजना बनाउँदै गरेको प्रहरीले पुष्टि गरेपछि गत बिहिबार अलामलाई पक्राउ गरिएको जनाईएको छ । अलामलाई आज शुक्रबार न्युयोर्क ब्रुकलिन स्थित केन्द्रीय अदालतमा हाजिर गरीएको थियो ।

    अलामको संकास्पद क्रियाकलाप माथि न्युयोर्कस्थित बर्दी बिनाका जासुस प्रहारीले गत बर्ष अगस्ट महिनादेखि पिछा गरि रहेका थिए । आतंकबादी क्रियाकलापको योजना बनाउँदै आएको अलाम हतियार खरिदको लागि बिना बर्दी कै प्रहरीको सम्पर्कमा पुगेका थिए । अलाम हतियार खरिदका लागि उनी माथिनै जासुसी गरिरहेका बिना बर्दिका प्रहरीसँग १० महिनादेखि लगातार सम्पर्कमा थिए । आफैमाथि जासुसी गरिरहेका बिना बर्दीका प्रहरीसंगको सम्पर्कमा अलामले वासिंटन र टाईम्स स्क्वायरमा सम्भावित आत्मघाती बिस्फोट समेत गर्ने आफ्नो योजना भएको बारेमा समेत कुरा गरेको प्रहरी श्रोतले सञ्चार माध्यमहरुलाई बताएका छन् । प्रहरीले आरोपित अलाममाथि लगाईएको अभियोगमा भनिएको छ “अलामले पहिलो पटक जासुसी गरिरहेका प्रहरीलाई पहिलो पटक सन् २०१८ मा भेटेका थिए । सोही बर्ष डिसेम्बरमा पुन सिभिल प्रहरीसंग भेट गरी न्यूयोर्क सहर हमलाको बारेमा सल्लाह लिएका थिए । अलाम र ती सिभिल प्रहरी पेन्सिल्भानिया स्थित सुटिङ्ग रेञ्जसम्म पुगे । त्यसपछि गत अप्रिलमा आरोपित अलाम र ती सिभिल प्रहरीको बीचमा हतियार खरिदको बिषयमा छलफल भयो र अर्को हतियार पनि खरिद गर्ने चहाना अलामले देखाएपछि दोश्रो सिभिल प्रहरीलाई ब्यापारीको रुपमा अलाम भेट्न पुगे । त्यसपछि अलाम २ जना सिभिल प्रहरीको प्रत्यक्ष सम्पर्कमा पुगेपछि २ वटा सेमी अटोमेटिक पेस्तोलको लागि आफु २ हजार डलर तिर्न राजि भएको बताएका थिए भने अलामले त्यसपछि एके -४७ र ग्रिनेड पनि खरिद गर्न खोजेको बताएका थिए । गत बिहिबार अलाम पहिलो सिभिल प्रहरीको साथमा दोश्रो प्रहरीलाई भेट गर्न ब्रुकलिन स्थित प्रहरीको अपार्टमेन्टमा गएका थिए । त्यहि अपार्ट्मेटबाट अलाम पक्राउ परेको अलाममाथिको अभियोग पत्रमा जनाएको कुरा संचार माध्यमहरुले लेखेका छन् । आरोपित आसिकुल अलामका तर्फबाट प्रतिनिधित्व गरेका कानुन ब्यबसायीको २ लाख अमेरिकी डलरको धरौटीको प्रस्ताब सम्मानित अदालतकाका न्यायाधिसले समुदायकालागि खतरा हुने कारण देखाउदै अस्विकार गरे । अलाम अमेरिकाका ग्रीन कार्ड होल्डर हुन् ।

  • आजदेखि यूरोप भ्रमणमा प्रधानमन्त्री

    आजदेखि यूरोप भ्रमणमा प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि यूरोप भ्रमणमा निस्कदै छन् । आगामी जुन १९ सम्म प्रधानमन्त्री ओली यूरोपका विभिन्न तीन मुलुकमा पुग्नेछन् ।

    प्रधानमन्त्री ओली अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा आयोजना हुने समारोहमा भाग लिन जुन ९ देखि १० सम्म स्वीट्जरल्याण्डमा रहने तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन समेत गर्नेछन् । जेनेभामा प्रधानमन्त्रीले विभिन्न मुलुकका राष्ट्राध्यक्षसँग भेटवार्ता गर्ने तय भएको मन्त्रालयले उल्लेख गरेको छ ।

    त्यसपछि प्रधानमन्त्री ओली बेलायत भ्रमणमा जानेछन् । बेलायतमा १० देखि १२ जुनसम्म रहँदा प्रधानमन्त्रीले समकक्षी थेरेसा मेसँग भेट वार्ता गर्नेछन् । अक्स्फोर्ड विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा १० जुनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

    १२ देखि १४ जुनसम्म भने प्रधानमन्त्री फ्रान्स जाने कार्यक्रम तय भएको छ । फ्रान्समा रहँदा प्रधानमन्त्री ओलीले समकक्षी एडवार्ड फिलिपसँग भेटवार्ता गर्नेछन् ।

  • आप्रबासी सम्बन्धि मुद्धामा सहमतिसँगै ट्रम्पले मेक्सिकोलाई लगाउने भनेको भन्सार स्थगित

    आप्रबासी सम्बन्धि मुद्धामा सहमतिसँगै ट्रम्पले मेक्सिकोलाई लगाउने भनेको भन्सार स्थगित

    न्यूयोर्क ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार देखि मेक्सिकोलाई लगाउने भनेको अतिरिक्त भन्सार स्थगित गरेको जनाएका छन् । आप्रबासी सम्बन्धि मुद्धामा मेक्सिको सहमतिमा आएसँगै अतिरिक्त भन्सारको निर्णय आफुले फिर्ता लिएको ट्रम्पले जनाएका हुन् । ‘म यो सूचित गर्न चाहन्छु कि संयुक्त राज्य अमेरिका र मेक्सिको बिच एक सहमतिमा हस्ताक्षर भएको छ, जस अनुसार सोमबारबाट मेक्सिकन उत्पादनमा लगाउने भनिएको अतिरिक्त भन्सार अब कार्यान्वयन हुनेछैन’ ट्रम्पले ट्विट गर्दै भनेका छन् । त्यसको बदलामा मेक्सिकोले आफ्नो भूमी भएर अमेरिका छिर्ने आप्रबासीलाई कडाइ गर्ने ट्रम्पको दावी छ । मेक्सिकोले खुकुलो नीति लिँदा दक्षिणी सीमाबाट गैर कानुनी आप्रबासी बढेको आरोप लगाउँदै ट्रम्पले मेक्सिकन उत्पादनलाई अतिरिक्त कर लगाउने घोषणा गरेका थिए

  • १२ बर्षकी केटी उबर लिएर आत्महत्या गर्न गएपछि

    १२ बर्षकी केटी उबर लिएर आत्महत्या गर्न गएपछि

    ओर्लेण्डो फ्लोरिडामा १२ बर्षिया बेनिटा डायमोण्डले एक्लै उबर कार चढेर गई आत्महत्या गरेपछि ड्राईभर र कम्पनी समस्यामा परेका छन् । बेनिटाले आफ्नो आमाको फोनबाट उबर एप्स डाउनलोड गरेर आफूले क्रिष्टमसमा पाएको गिफ्ट कार्ड प्रयोग गरी मध्य रातमा उबर कार बोलाएकी थिईन् । 

    उनले उबरमा गाडी गराजको गन्तब्य राखेकी थिईन् । जहाँ पुगेर माथिबाट तल हाम्फालेर आत्महत्या गरेकी हुन् । मृतक बालिकाका पिता रोनाण्ड डायमण्डले यस घटनामा कम्पनीलाई दोष दिएका छन् । उनको दाबी छकि कानून बमोजिम कम्पनीले बालिग नभै संरक्षकको मञ्जुरी बिना एक्लै सवारीमा लिन पाईदैन । उनले भनेका छन् “उबरले नियमानुसार गरेको भए मेरो छोरी अहिले मेरो अगाडी हुन्थ्यो” ।

    बालिकाले मर्नु अघि नोट लेखेकी थिईन् “फर्किनै नमिल्ने बाटो जाँदैछु” । पिताले भावविह्वल हुँदै थपे “मेरो छोरीले त्यही गरी, जुन कसैले गर्दैन, न मैले गरें” । 

    उबरका प्रबक्ताले यस बिषयमा उचित कदम चालिने बताएका छन् भने बालिकाकी आमा लिसा चेनले यस बिषयमा कडा नियम लागू नभए अरूले पनि यस्तो दुखद नियती भोग्न सक्ने बताएकी छिन् । 

    यस घटनापछि उबर ड्राईभरहरुले बालबालिकालाई मात्र सवारीमा लिनु अघि सोच्नु पर्ने भएको छ । अमेरिकामा राज्य अनुसार नियम फरक हुनसक्ने भएकोले सम्वन्धित उबर कार्यालयबाट जानकारी लिनूपर्ने हुन्छ ।

    एजेन्सी ।

  • लोकसेवाको नयाँ कर्मचारी भर्ना विवाद : मन्त्री र संसदीय समितिबीच लुकामारी

    लोकसेवाको नयाँ कर्मचारी भर्ना विवाद : मन्त्री र संसदीय समितिबीच लुकामारी

    काठमाडौं । संघीय संसद, राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगद्धारा खुलाएको नयाँ भर्ना विवाद सम्बन्धका छलफल गर्न शुक्रबार बैठक डाकेको थियो ।

    बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई पनि आमन्त्रण गरिएको थियो । तर, मन्त्री पण्डित बैठकमा उपस्थित भएनन् ।

    यसलाई संसदको अपमान गरेको ठहर समितिले गर्यो । त्यसपछि समितिले आगामी २७ जेठका लागि अर्को बैठक आह्वान गरि मन्त्री पण्डितलाई बैठकमा सहभागी हुन ‘अन्तिम मौका’ दिएको बताएको छ ।

    स्थानीय तहको कर्मचारी भर्नासम्बन्धि लोक सेवा आयोगले खुलाएको विज्ञापनमा प्रदेश सरकारहरुले असहमति देखाएपछि भर्ना प्रक्रिया अहिले विवादमा छ ।

    सोही सम्बन्धमा संघीय सरकारको धारणाबारे छलफल गर्न समितिले शुक्रबार बैठक बोलाएको थियो । उक्त बैठकमा पनि मन्त्री पण्डित सहभागी भई चित्त बुझ्दो जवाफ नदिए विज्ञापन फिर्ता लिन लोक सेवा आयोगलाई निर्देशन दिने तयारी समितिको छ ।

    शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, अमरेश कुमार सिंह, मिना पाण्डे र राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले मन्त्री पण्डित पटक पटक अनुपस्थित भएको भन्दै तत्काल विज्ञापन फिर्ता लिन लोक सेवा आयोगलाई निर्देशन दिनु पर्ने भन्दै समितिकी सभापति श्रेष्ठलाई दवाव दिएका थिए ।

    त्यसो त मन्त्री पण्डित पनि पछिल्लो समय अनेक बाहना बनाउँदै बैठकमा उपस्थित भइरहेका छैनन् । शुक्रबारको समितिको बैठकले लोकसेवा आयोगलाई दिने निर्देशनको खाका तयार पारिसकेको छ ।

    लोकसेवा आयोगले ५ सय १५ स्थानीय तहका विभिन्न पदमा ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन सार्वजनिक गरेको छ ।

  • चार मुलुकका लागि नयाँ राजदूत सिफारिस

    चार मुलुकका लागि नयाँ राजदूत सिफारिस

    काठमाडौं । सरकारले विभिन्न चार मुलुकका लागि नयाँ राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

    बैठकले बंगलादेशका लागि वंशिधर मिश्र, कतारका लागि नारद भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि आङफुटी शेर्पाको नाम सिफारिस गरेको हो ।

    संसदीय सुनुवाई प्रक्रिया पार गरेपछि उनीहरु राजदूतमा नियुक्त हुने प्रावधान रहेको छ । संसदीय सुनुवाई विशेष समितिले सुनुवाईको काम गर्छ ।

  • भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्स र श्रीलंका भ्रमणमा निस्कदै

    भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्स र श्रीलंका भ्रमणमा निस्कदै

    दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार माल्दिभ्स प्रस्थान गर्ने भएका छन् ।

    जुन ८ मा माल्दिभ्स पुग्ने उनले सोही दिन माल्दिभ्सको संसदमा सम्बोधन गर्ने कार्यक्रम तय भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    माल्दिभ्सपछि मोदी श्रीलङ्का पुग्नेछन् । श्रीलंकामा उनको एकदिवसीय भ्रमण तय भएको हो । प्रधानमन्त्री मोदी माल्दिभ्सबाट शनिबार नै श्रीलङ्का गएर आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

    सन् २०११ पछि पहिलो पटक भारतीय प्रधानमन्त्री माल्दिभ्स जान लागेका हुन् । श्रीलंकामा रहँदा भने गत अप्रिलमा बम बिस्फोटमा परी ज्यान गुमाउनेप्रति उनले श्रद्धान्जली व्यक्त गर्नेछन् ।

    उक्त दुखको क्षणमा भारत श्रीलंकासँगै रहेको सन्देश दिने उद्देश्यले प्रधानमन्त्रीको भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ ।
    एजेन्सी

  • काठमाडौंमा एकाबिहानै हावाहुरी आतंक

    काठमाडौंमा एकाबिहानै हावाहुरी आतंक

    काठमाडौं । बिहीबार साँझ र शुक्रबार बिहानै देशका विभिन्न स्थानमा हावाहुरी र वर्षाले जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा शुक्रबार बिहानै भिषण हावाहुरी चल्यो ।

    हावाहुरीका कारण मावनीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । उता, विहीबार साँझ कैलाली र त्यस आसपास आएको हावाहुरीका कारण २ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । धेरै घरहरुमा क्षति पुगेको छ । दर्जनौं मानिस घाइते भएका छन् ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म पनि देशका विभिन्न स्थानको मौसम पूणतया सफा हुने छैन । मौसम बदली भइरहने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

    देशका उच्च हिमालि भेगमा हिमपातको संभावना समेत महाशाखाले औल्याएको छ । पश्चिमी भागमा बढी वर्षातको सम्भावना रहेको महाशाखाको भनाई छ ।

    राति देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी  स्थानहरुमा र मध्य तथा पुर्वीका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ

  • विद्यूतीय स्कूटर पनि अब अनिवार्य दर्ता गर्नुपर्ने

    विद्यूतीय स्कूटर पनि अब अनिवार्य दर्ता गर्नुपर्ने

    काठमाडौं नेपाल सरकारले अब विद्यूतीय स्कूटर अनिवार्य दर्ताको प्रावधान ल्याएको छ । यससँगै बिना दर्ता सडकमा कुद्ने विद्युतीय सवारी अब प्रहरीको कारवाहीमा गर्ने भएका छन् ।

    विद्युतीय स्कूटरले यातायात व्यवस्था विभागमा दर्ता भएर सवारी नम्बर लिएपछि मात्र यस्ता सवारीले वैधानिकता पाउने भएका छन् ।

    यातयात व्यवस्था विभागले २० जेठ मा ट्राफिक प्रहरी निर्देशनालयलाई पत्र लेखि सडकमा बिना दर्ता चलिरहेका स्कूटरलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेकोथियो ।

    निर्देशनालयले बिहीबार सर्वसाधारणलाई यसको जानकारी गराएको हो । ऐनअनुसार कुनै पनि सवारी साधन खरीद गरिसकेपछि १५ दिन भित्र दर्ता गराइसक्नु पर्ने प्रावधान रहेको छ ।

  • गुण्डा नाइके राधे पक्राउ, तरुण दल आन्दोलनमा

    गुण्डा नाइके राधे पक्राउ, तरुण दल आन्दोलनमा

    काठमाडौं । प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे)लाई पक्राउ गरेको छ । उनको पृष्ठभूमि अपराधसँग जोडिएको छ । उता, आफ्ना नेता पक्राउको विरोधमा तरुण दल जिल्ला समिति, धादिङले २४ घण्टे अल्टिमेटम दिँदै बिहीबार आन्दोलन गरेको छ ।

    तरुण दलले जिल्ला प्रहरी कार्यालयको गेटमा प्रदर्शन गर्दै राधेको रिहाईको माग गरेको थियो । प्रहरीले बिहीबार राधेलाई ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दामा पक्राउ गरेको थियो । उनको साथबाट छुरा समेत बरामद भएको प्रहरीको दावि छ ।

    जिल्ला प्रहरी कार्यलयका अनुसार गजुरी गाउँपालिका–२ ताल्ती भन्ने स्थानमा स्थानीयहरुसँग झगडा गरिरहेको स्थानबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी स्रोतका अनुसार स्थानीयले हतियारसहितको समूहले आतंकित बनाएको खबर गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । राधेको समूहले प्रहरीमाथि पनि आक्रमण गरेको बताइएको छ ।

    राधेसँगै उनको समूहका सुजन लामा, विमल शाह ठकुरी, काजी शाक्य, समीर थापा मगरलाई पनि प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि ज्यान मार्ने उद्योग र ड्युटीमा खटिएको प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा जिल्ला अदालत धादिङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

    धादिङमा हुने विभिन्न ठेक्का पट्टामा उनको संलग्नता रहने गरेको बताइएको छ । उनी प्रहरीको खोजिको सूचिमा समेत थिए । २०७० सालमा अर्का गुण्डा नाइके चरीलाई गोली चलाएपछि राधे चर्चामा आएका हुन् । चरी  २०७१ सालमा प्रहरी इन्कान्टरमा मारिएका थिए ।

  • बलियो टोली चाइनिज ताइपेईसँग नेपालको बराबरी

    बलियो टोली चाइनिज ताइपेईसँग नेपालको बराबरी

    काठमाडौं । नेपालले बलियो टोली चाइनिज ताइपेइलाई १\१ गोलको बराबरीमा रोकेको छ । बिहीबार साँझ चाइपेईको घरेलु मैदानमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले चाइनिज ताइपेसँग १\१ गोलको बराबरी खेलेको हो ।

    नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए । उनले डेब्यू गरेको दोस्रो खेलमै गोल गरी उज्वल भविश्यको संकेत देखाएका छन् । बिहीबार खेलको पहिलो हाफमा गोल खाएको थियो ।

    पहिलो हाफमा चाइनिज ताइपेइले गोल गर्दै नेपाललाई दवावमा राख्यो । गोलकिपर किरण चेम्जोङले हातमा आइसकेको बल छाडिदिँदा नेपालले गोल खाएको थियो । सामान्यतया उनले यस प्रकारको गल्ती गर्दैनन् ।

    दोस्रो हाफमा भने नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो । निरन्तर गोल गर्ने अवसर निकाल्दै दवावमा राखेको नेपालले खेलको ६९औं मिनेटमा गोल गरेको थियो ।

    सन्तोष तामाङको फ्रिकिकलाई अभिषेकले हेड गर्दै गोलमा परिणत गरे । त्यसपछि भने दुबै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

  • संविधानसभा पदकमा सूर्य भएको भन्दै कांग्रेसको आपत्ति

    संविधानसभा पदकमा सूर्य भएको भन्दै कांग्रेसको आपत्ति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँडेको संविधानसभा पदकमा सूर्य चिन्ह अंकति रहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । गृह मन्त्रालयका अनुसार २०६४ र २०७० सालको संविधानसभाका सभासद्लाई यो पदक दिने निर्णय भएको थियो ।

    गणतन्त्र दिवसको भोलीपल्ट अर्थातः जेठ १६ मा पदक बाँडियो । तर, यस पदकमा सूर्य चिन्ह अंकति रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

    त्यसो त संविधानसभाबाट संविधान जारी गर्नु सभासदको कर्तब्य भएको भन्दै यसमा स्याबासी दिएर पदक प्रदान गर्ने काम नै गलत रहेको प्रतिक्रिया दिएको छ । त्यसो त कांग्रेसकै सभासदले पनि पदक बुझेका थिए ।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले पदकका विषयमा प्रश्न उठाएका थिए । सांसद मीनेन्द्र रिजालले संविधान निर्मातालाई स्यावासी दिनुपर्ने आवश्यकता नरहेको भन्दै ‘सुशोभनको शैली र पदकको डिजाइनले संविधान निर्माणका लागि भएको बलिदानीपूर्ण संघर्ष र संविधानको मर्म नबुझेको प्रतिक्रिया दिए ।

    पदकका सूर्य चिन्ह भएको भन्दै यो डिजाइन नै मन नपरेको उनको भनाई छ । पदक भित्र प्रष्ट देखिने गरी सूर्यको चिन्ह राखिएको भन्दै उनले एउटा पार्टीले संविधानलाई मनपरी गर्नए खोजेको उल्लेख गरे । कांग्रेस सांसद गगन थापाले पदक बुझेका छैनन् ।

  • १ साउनबाट निर्माण ठप्प पार्ने ठेकेदारको चेतावनी

    १ साउनबाट निर्माण ठप्प पार्ने ठेकेदारको चेतावनी

    काठमाडौं । ठेकेदारहरुले १ साउनदेखि सम्पूर्ण निर्माण ठप्प पार्ने निर्णय गरेका छन् नेपाल निर्माण व्यवसायी महासंघ बुधबार राजधानीमा राष्ट्रिय भेला आयोजना गरी आन्दोलन घोषणा गरेको हो ।

    सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का प्रावधानमा विमति राख्दै ठेकेदारहरु अहिले आन्दोलनमा छन् । निर्माण ठप्प पार्ने दिन १ साउन भन्दा अघि व्यवसायीले आफ्नो आफ्नो इजाजत पत्र सरकारलाई बुझाउने छन् तयारी गरिरहेका छन् ।

    कार्यक्षेत्रमा कालोपट्टी बाँधी काम गर्ने योजना पनि उनीहरुको छ । निर्माण उपकरणमा कालो झण्डा राखेर विरोध गर्ने तयारी महासंघले गरेको छ ।
    ७७ जिल्ला प्रशासन कार्यालय, प्रदेशमा मुख्य मन्त्रीको कार्यालय तथा केन्द्रमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा व्यवसायीहरुले धर्ना दिने समेत निर्णय भएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

    सडकमा शान्तिपूर्ण र्याली निकाल्ने र पछि आ–आफ्नो हेभी उपकरणसहित प्रदर्शन गर्ने महासंघले उल्लेख गरेको छ । ठेकेदारहरुले विरोधस्वरुप जेठ १४ बाट टेण्डर बहिष्कार समेत गरिरहेका छन् ।

    बुधबार सम्पन्न भेलामा देशभरबाट ५ सय ५० जनाभन्दा बढी ठेकेदार सहभागी थिए । निर्माण व्यवसायी मैत्री ऐन कानून नआएसम्म आफूहरुको आन्दोलन जारी रहने उनीहरुको अडान छ ।

  • ३० जना काँग्रेस नेता–कार्यकर्ताको यूरोप भ्रमण तय

    ३० जना काँग्रेस नेता–कार्यकर्ताको यूरोप भ्रमण तय

    काठमाडौंं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी यही जुन ५ मा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि सोमबार डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गरेका छन् । डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी (डीआइपीडी)को निम्तोमा उपसभापति निधी कोपनहेगन प्रस्थान गरेका उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । निधीले आफ्नो भ्रमण अफिसियल भएको दाबी गरेका छन् ।
    डेनमार्क भ्रमणका क्रममा  इलेक्सन अभियानको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसक्रममा उपसभापति निधिले त्यहाँका मतदाता, युवा, महिला लगायतका समूहसँग भेटेर कुराकानी गर्नेछन् । यसैगरी चुनावको दिन बिहीबार मतदान स्थलमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको छ । उपसभापति निधिले चुनावको भोलिपल्ट राजनीतिक दलका नेताहरुसँग अन्तरक्रिया गर्ने तयारी गरिएको छ ।
    नेपाल डेनमार्क बाहिर बनेको डीआइपीडीको पहिलो सदस्य मुलुक हो । जसलाई सन् २०१० मे २६ मा त्यहाँको संसद्ले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसद्ले सन् २०१२ मा विभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको दलहरुको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।
    नेपालजस्तो विकासशील मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्थाको सबलीकरणका लागि दलहरु बलियो हुनुपर्छ भन्ने मान्यताअनुसार डेनमार्कको संसद्ले यो संस्था गठन गरेको हो । यो संस्थाले मुलुकमा दलहरुबीचको सहकार्यमा जोड दिने गर्दछ ।
    परिवारसहित पुगेका निधिको आलोचना
    नेपाली काँग्रेसका संसारभर छरिएर रहेका कार्यकर्ताको भेला डेनमार्कको राजधानी कोपनहेगनमा हुँदै छ । त्यसका लागि झण्डै ३० जना नेता कार्यकर्ता यूरोप भ्रमणमा निस्किने भएका छन् । निधी पहिल्यै गएर परिवारसहित घुमघाम गर्ने योजनाले डेनमार्क लागिसकेका छन् । अन्य केही नेता पनि परिवारसहित जाने भएपछि चर्को आलोचना भएको छ ।
    तीन दिनसम्म चल्ने भेलामा संसारका तीन दर्जन देशका प्रतिनिधिको सहभागिता रहने भएको नेपाली जनसम्पर्क समिति डेनमार्कले जनाएको छ । संसारभरबाट जुन २१देखि २३ तारिखसम्म भेला आयोजना गरिएको हो । भेलामा नेपालबाट विदेश गएका नेपालीलाई मताधिकारको व्यवस्थाको माग र अक्टोबरमा हुने एनआरएन चुनावका विषयमा समेत विशेष छलफल हुने तय भएको छ ।
    नेपाली काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोइराला, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु डा. मिनेन्द्र रिजाल, भीष्मराज आङदेम्बे, धनराज गुरुङ लगायत झण्डै एक दर्जन नेता सहभागी हुनेछन् ।
    कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको छ । समितिले तयारीसमेत शुरु गरेको छ । विभिन्न उपसमिति बनाएर तयारी गरिएको नेपाली जनसम्पर्क समिति डेनमार्कले जनाएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन)को अक्टोबरमा हुने महाधिवेशनका विषयमा समेत भेलामा छलफल हुने भएको छ ।
    भेलामा नेपाली काँग्रेस निकट एनआरएनका पदाधिकारी उपस्थित हुने भएका छन् । एनआरएनमा अल्पमतमा परेको नेपाली काँग्रेस निकट एनआरएनका पदाधिकारीले पार्टीगत हिसाबले अबको चुनावमा नलागे विदेशमा पार्टीको अवस्थासमेत मजबुत नहुने जानकारी गराउने भएका छन् । त्यसका लागि एनआरएनका उपाध्यक्ष कुल आचार्य, सोम सापकोटा लगायतको टोलीले आन्तरिक रुपमा तयारी गरेको स्रोतको दाबी छ ।
    समितिको डेनमार्क सभापति वीरेन्द्रसिंह कार्कीले भने अन्य विषयबस्तुभन्दा पनि पार्टीको अवस्थाका विषयमा भेलामा छलफल हुने बताए । उनले विदेशमा रहेका नेपालीले कूटनीतिक नियोगमार्फत मताधिकारको सुनिश्चतताका लागि पहल गरिने जानकारी दिए । डेनमार्कको राजधानी कोपनहेगनको भेष्टरपोर्टमा कार्यक्रम आयोजना गरिएको छ । रिचमण्ड होटलमा हुने भेलाको तयारीका लागि विभिन्न २० उपसमिति बनाइएको छ । नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति कार्कीको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । नेपाली काँग्रेसभित्रको गुटगत राजनीति भेलामा पनि झल्किने भएको छ । काठमाडौंबाट डेनमार्क पुग्ने नेताहरु पनि हरेक गुटबाट प्रतिनिधित्व गरेर जान लागेका छन् । एक हुल नेता कार्यकर्तालाई बोलाउँदा सबै गुटको प्रतिनिधित्व भएको तयारी समितिका एक सदस्यले व्यङ्ग्य गरेका छन् ।

  • मिङ्मा दोर्ची शेर्पाका नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

    मिङ्मा दोर्ची शेर्पाका नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

    काठमाडौं । आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान राखेका छन् ।
    शेर्पाले गत जेठ १३ मा ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको पायोनियर एडभेन्चरले जानकारी दिएको हो । शेर्पा संखुवासभाका स्थानीय हुन् ।

    उनले सगरमाथा र ल्होत्से हिमालको सबैभन्दा छोटो समयमा सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको कम्पनीले दावि गरेको छ ।

    शेर्पाले सगरमाथाको ५ पटक सफल आरोहण गरिसकेका छन् । उनी ल्होत्सेमा ३, मकालुमा ३, मनास्लुमा ३, केटुमा २, धवलागिरीमा २ र आमादब्लाम हिमालमा २ पटक गरी २० पटक हिमालको सफल आरोहण गरिसकेका छन् ।

  • नेपाल : बेलायती राजसंस्थाको प्यारो, कार्यकारीद्धारा वेवास्ता

    नेपाल : बेलायती राजसंस्थाको प्यारो, कार्यकारीद्धारा वेवास्ता

    काठमाडौं । नेपाली प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली आगामी साता बेलायत जाँदैछन् । बेलायतमा १७ वर्षपछि नेपाली प्रधानमन्त्री भ्रमणका लागि पुग्दैछन्।

    बेलायत र नेपालबीच २ सय वर्षभन्दा पुरानो सम्बन्ध रहेको छ । तर, यस बीचमा एक जना पनि बेलायती प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छैनन् । तर, बेलायती राजसंस्थाले भने नेपाललाई जहिले पनि माया गरेको छ ।

    वर्तमान महारानी एलिजाबेथ द्वितीय दुई पटक नेपालको भ्रमण गरेकी छिन् । उनी २०१७ फागुन र २०४२ फागुनमा गरी दुई पटक नेपाल आएकी थिइन् ।

    राजकुमार चाल्र्स र राजकुमारी डायनाले पनि नेपालको भ्रमण गरिसकेका छन् । पछिल्लो समय राजकुमार ह्यारीले नेपालको भ्रमण गरि पर्यटन प्रवद्र्धनमा ठूलो योगदान गरेका थिए ।

    बेलायती राजपरिवारका महत्वपूर्ण सदस्य पटक पटक नेपाल आएपनि बेलायत सरकारका कार्यकारी भूमिकामा रहेका उच्च अधिकारीहरुले नेपालाई वेवास्ता गरिरहेका छन् । तर, बेलायतमा नेपालीहरुको योगदान भने ठूलो छ ।

    सोही कारण बेलायती राजसंस्थाले नेपाललाई निरन्तर माया गरिरहेको देखिन्छ । पछिल्लो पटक तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५९ बैशाखमा बेलायतको भ्रमण गरेपछि वर्तमान प्रधानमन्त्री केपि शर्मा ओली बेलायत भ्रमणमा जान लागेका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली आगामी साता २५ जेठदेखि १ असारसम्म युरोप भ्रमण जाँदैछन्। ९ दिने दिन युरोप भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले स्वीट्जरल्यान्ड, फ्रान्स र बेलायतको भ्रमण गर्ने छन्।

  • त्रिभुवन विमानस्थलमा पहिलो पटक थपियो रिमोर्ट पार्किङ वे

    त्रिभुवन विमानस्थलमा पहिलो पटक थपियो रिमोर्ट पार्किङ वे

    काठमाडौं । सामान्यतया जहाजमा विस्फोटक पदार्थ भरिएको या जहाज अपहरणकारीले कब्जा गरेको अवस्थामा अन्य सामान्य पार्किङ स्थलभन्दा त्यस्ता जहाजलाई केही पर या छुट्टै राख्ने गरिन्छ ।

    संसारभरका अन्तरराष्ट्रिय विमानस्थलमा यस्तो व्यवस्था हुन्छ । तर, नेपालमा भने थिएन। त्रिभुवन विमानस्थलमा अब भने रिमोर्ट पार्किङ वे संचालनमा आएको छ ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निर्माण गरिएको ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल मंगलबारबाट संचालनमा ल्याइएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

    विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो । उक्त पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ ।

    नयाँ पार्किङसहित आन्तर्राष्ट्रिय पार्किङ वे को संख्या ११ पुगेको छ ।अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वाट वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।

    आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले सेवा दिइरहेका छन

  • बुधबार सार्वजनिक बिदा

    बुधबार सार्वजनिक बिदा

    काठमाडौं । नेपाल सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्वीहरुको पर्व इद ऊल फित्रको अवसरमा  सरकारले बुधबार  सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

    सरकारको यस निर्णयसँगै विदेशस्थित कूटनीतिक नियोगका कार्यालयसमेत बुधबार बन्द हुनेछन् ।

    सरकारले बिदा कटौती गरेपनि इदका अवसरमा भने बिदा थपेको हो । पछिल्लो समय धेरै बिदा कटौती गरेको छ । तर, धार्मिक सहिष्णुताका लागि विभिन्न धर्म र समूदायका चाडपर्वमा बिदा दिनु पर्ने माग उठिरहेको छ ।

  • ऊर्जामा कुलमानको कमाल, एकै दिन तीन सवस्टेसन संचालन

    ऊर्जामा कुलमानको कमाल, एकै दिन तीन सवस्टेसन संचालन

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोमबार एकै दिन तीन सवस्टेशन निर्माण सम्पन्न गरी संचालनमा ल्याएको छ । कुलमान घिसिङको सफल नेतृत्वमा प्राधिकरणले आफूलाई निरन्तर कार्यसम्पादन हुने संस्थाका रुपमा परिणत गरिरहेको छ ।

    यसैक्रममा सप्तरीको बोदेबर्साईन र गोरखाको पालुङटारमा निर्माण सम्पन्न भएका ३३ / ११ केभी सवस्टेसन परीक्षण गरी संचालनमा ल्याइएको प्राधिकरणले जानकारी दिएको छ ।

    यी सवस्टेशन संचालनमा आएसँगै सप्तरीको दक्षिण–पश्चिम र गोरखाको पश्चिम क्षेत्रमा विद्युत आपूर्तिमा सुधार हुने बताइएको छ ।

    उता, बाँकेको धामपुरमा निर्माण भएको ३३ / ११ केभी सबस्टेससनको निर्माण तथा परीक्षण सम्पन्न भई चार्ज हुने अवस्थामा पुगेको प्राधिकरणले जानकारी दिएको छ। धामपुरमा २०६७ सालमा सबस्टेसन निर्माण सुरु भएपनि सम्पन्न हुन सकेको थिएन ।

    नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलियतपूर्ण ऋणमा विभिन्न क्षेत्रमा सबस्टेसको निर्माण जारी छ ।

  • साझा बसमा अब कार्डबाटै भुक्तानी

    साझा बसमा अब कार्डबाटै भुक्तानी

    काठमाडौं । काठमाडौंमा गुड्ने साझा बस सेवाले क्रमशः नगद बोक्नुपर्ने झण्झटबाट यात्रुलाई मुक्त बनाउने बताएको छ । उपत्यकामा चल्ने साझाका सबै बसमा कार्डबाट भाडा तिर्न सकिने व्यवस्था मिलाइएको कम्पनील जानकारी दिएको छ ।

    यद्दपी नेपालमा यात्रुले कार्डबाट भुक्तानी गर्ने प्रणाली नयाँ नै भएका कारण अपेक्षित सफलता भने हात नपरिरहेको कम्पनीको भनाई छ । साझा यातायातले अहिले भएका ५१ वटै बसमा उपकरण जोडर कार्डमार्फत भाडा दिन सकिने सकिने व्यवस्था मिलाएको हो ।

    दुई सय रुपैयाँ तिरेर साझाको केन्द्रीय कार्यालय पुल्चोकबाट कार्ड लिन सकिन्छ, यस्तो कार्डमा ब्यालेन्स पनि दुई सय रुपैयाँ नै रहेको हुन्छ।

    बस चढेपछि कार्ड हुनेले बसमा भएको उपकरणमा छोएपछि भाडा भुक्तानी हुन्छ । यसमा सहचालकले सहयोग गर्छन् । साझाले तोकेको भाडा रकम यस कार्डबाट कट्टी हुन्छ ।
    साझाले नेपाल बैंकसँगको सहकार्यमा यो प्रणाली शुरु गरेको हो । सरकारले आगामी आवको बजेटमा विद्युतीय कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ।

  • भूकम्पको अफवाह फैलाउने ज्योतिष पक्राउ

    भूकम्पको अफवाह फैलाउने ज्योतिष पक्राउ

    काठमाडौं । भूकम्प आउने ठोकुवा गर्दै यूट्यूव च्यानलमा प्रचार गर्ने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छछ । आफूलाई ज्योतिषी बताउने क्षेत्रीलाई प्रहरीले मंगरबार नियन्त्रणमा लिएको हो ।

    उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्प आउने ठोकुवा गर्दै आएका थिए । उनको सम्बन्धमा विपदसम्बन्धी अफवाह फैलाएको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।

    उनी गौशालाबाट पक्राउ परेका हुन् । क्षेत्रीले यूट्यूव च्यानलमार्फत देशमा राजसंस्था स्थापना हुने र देशमा ठूलो भूकम्प आउने भन्दै सर्वसाधारणलाई त्रसित बनाइरहेका थिए ।

  • कमल थापाको प्रस्ताव, पूर्वराजादेखि विप्लवसहितको गोलमेच सम्मेलन

    कमल थापाको प्रस्ताव, पूर्वराजादेखि विप्लवसहितको गोलमेच सम्मेलन

    बुटवल । द्धन्द्धकालमा तत्कालिन नेकपा माओवादीले निकै प्राथमिकताका साथ उठाउने गरेको गोलमेच सम्मेलनलाई अब राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाउन थालेको छ ।

    राप्रपा अध्यक्ष कमल थापाले मुलुक राजनीतिक संकटमा परेको दाबी गर्दै गोलमेच सम्मेलनको माग गरेका हुन् । सम्मेलनमा पूर्वराजादेखि विप्लव समूह समेत सहभागी गराउनु पर्ने उनको प्रस्ताव छ ।

    अझ रोचक के छ भने विगतमा माओवादीले गोलमेच सम्मेलनको माग गर्दा सत्तामा कमल थापा शक्तिशाली पात्रका रुपमा उपस्थित थिए ।

    राप्रपाको प्रदेश नंं ५ का जिल्ला अध्यक्ष तथा सचिवहरुको भेलालाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुक जटि अवस्थामा रहेको बताए ।

    गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको सफल कार्यान्वयन हुन नसकेको उनको तर्क छ । अब गम्भीर समिक्षा गर्दै राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकास गर्नुपर्ने उनको प्रस्ताव थियो ।

    गोलमेच सम्मेलनले देशमा दीगो शान्ती स्थापना गर्ने उनको भनाई छ । राजतन्त्र हटेपछि पनि बेरोजगारी, भ्रष्टाचार, मौलिक धर्म संस्कृतिमाथि आक्रमण, राष्ट्र विखण्डनको चुनौती, लोकतन्त्रको आवरणमा सर्वसत्तावाद र विप्लव माओवादीको नयाँ द्वन्द्वको जन्म भई समस्या कायम रहेको भन्दै उनले गोलमेच सम्मेलन आवश्यक रहेको बताएका हुन् ।

    संघीयताको मोडेल सुधार गरी केन्द्र र स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने तथा प्रदेश खारेज गर्नुपर्ने उनको तर्क छ ।

    बजेटमा टिप्पणी गर्दै अध्यक्ष थापाले वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यमा ठोस कार्यक्रम नभएको बताए । यस्ता कार्यक्रम कार्यकर्तालाई धनी बनाउने उद्देश्यले आएको उनी बताउँछन् ।

    लोकतन्त्रको आवरणमा वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको भन्दै अध्यक्ष थापाले मिडिया काउन्सिल विधेयक, सेना प्रमुखलाई उपेक्षा गरेर सेना परिचालन गर्न सक्ने, न्यायपालिका र संवैधानिक अंगहरुमा पार्टीकरणको प्रयासले सरकार क्रमशः र विस्तारै सर्वसत्तावादमा जाने निश्चित रहेको उल्लेख गरे ।

  • दुई हप्ता बित्यो,  सार्वजनिक भएन एनआरएन अमेरिकाको पूर्ण मत परिणाम

    दुई हप्ता बित्यो,  सार्वजनिक भएन एनआरएन अमेरिकाको पूर्ण मत परिणाम

    कल्पना घिमिरे
    न्यूयोर्क
    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अमेरिका (एनआरएनए)को निर्वाचन सकिएको १७ दिन बित्यो । तर, अझै कुन राज्यमा कति मत प्राप्त भएको थियो ? कुन–कुन उम्मेदवारले कुन–कुन राज्यबाट के–कति मत पाए भन्ने नतिजा सार्वजनिक हुन सकेन । विद्युतीय प्रणालीमा निर्वाचन सकिएको १–२ मिनेटभित्रै नतिजा सार्वजनिक हुनुपथ्र्यो, तर एनआरएन अमेरिकाको निर्वाचनमा त्यसो भएन । निर्वाचन गत मे १९ गते राति १२ बजे सकियो नतिजा २० गते बिहान मात्रै सार्वजनिक भयो । त्यो पनि एकमुष्ट ।
    अहिलेसम्म जित्ने र पराजित हुनेको एकमुष्ट मात्रै रिजल्ट आएको छ । पराजित उम्मेदवारहरुलाई कुन–कुन राज्यमा कति–कति मत प्राप्त भयो ? जित्नेले कति ल्याए, पराजितले कति पाए भन्ने जान्न खोज्नु स्वाभाविकै हो । यसै सन्दर्भलाई लिएर पराजित उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फत गुनासो पोखिरहेका छन् । उम्मेदवारले मात्र होइन एनआरएन अमेरिकालाई माया गर्ने आम सर्वसाधारणले पनि मतपरिणाम सार्वजनिक हुन नसकेकोबारे आक्रोश पोखिरहेका छन् ।
    तर, निर्वाचन आयोगले कुनै जवाफ दिएको छैन । गत मे महिनाको १८ र १९ मा अमेरिकाभर एनआरएन अमेरिकाको केन्द्र र च्याप्टरको निर्वाचन भएको थियो । १९ गते राति १२ बजे निर्वाचन सकिएपछि निर्वाचन आयोगले २० गते बिहानै एकमुष्ट मत परिणामका आधारमा विजयी घोषणा ग¥यो । ‘सबै राज्यको निर्वाचन परिणाम सार्वजनिक हुन नसकेपछि, आफू उम्मेदवार भएको र सोचेभन्दा विपरीत नतिजा आएकाले कहाँ–कसरी अनुमान फरक परेछ भन्ने जान्ने प्रयास गरेको हुँ,’ अध्यक्षका उम्मेदवार सञ्जय थापा फेसबुकमा लेख्छन्, ‘मैले निर्वाचन सकिएको २ दिनपछि २२ गते नै निर्वाचन आयुक्तलाई इमेल पठाएर राज्यअनुसारको पूर्ण मत परिणाम सार्वजनिक गर्न अनुरोध गरेको थिएँ, तर अहिलेसम्म त्यसको जवाफ आयो न त मत परिणाम नै ।’
    उनका अनुसार अन्तिम समयसम्म पनि निर्वाचन हुन्छ कि हँुदैन भनेर अन्यौलता थियो । मतदान सुरु हुनुभन्दा २ घण्टा अघि मात्रै अन्तर्राष्ट्रिय समन्वय समितिले निर्वाचनमा जाने निर्णय ग¥यो । अर्कोतिर २०९३ सदस्य कसले, कहाँ र कहिले प्रमाणित ग¥यो भन्ने प्रश्नले बजार तातिरहेको थियो । त्यस्तो अवस्थामा निर्वाचन भएर अझै पूर्ण मतपरिणाम सार्वजनिक नहुँदा संस्थाप्रति थप अविश्वास, वितृष्णा र असन्तुष्टि जागेको छ । उनले निर्वाचन आयोग, राष्ट्रिय समन्वय समिति अमेरिकाको मौजुदा तथा नवनिर्वाचित बोर्ड र अन्तर्राष्ट्रिय समन्वय समितिलाई समेत छानबिनका बाँकी कामहरु चाँडै सम्पन्न गर्न र मतदानको पूर्ण विवरण सार्वजनिक गर्न अनुरोध गरेका छन् ।
    अध्यक्षका अर्का उम्मेदवार सूर्य लम्सालले पनि निर्वाचन परिणाममा असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय समितिसँग जवाफ मागेका थिए ।
    जानकारहरुका अनुसार विद्युतीय प्रणालीमा कम्प्युटरको एउटा बटम थिच्यो भने मिनेटभित्रमै सम्पूर्ण नतिजा छर्लङ्ग हुनुपर्ने हो । तर, निर्वाचन आयोगले विभिन्न राज्यहरुको नतिजा अझै किन सार्वजनिक गर्न सकेन ?
    निर्वाचन आयोगका प्रवक्ता कुल आचार्य भन्छन्, ‘अमेरिकाभर ७ वटा राज्यहरुमा च्याप्टरको निर्वाचन भएको थियो । उक्त च्याप्टरहरुको नतिजा २० गते नै सार्वजनिक गरेका हौं । सार्वजनिक भएको मत परिणामको नतिजा हामीले वेबसाइटमा राखिसकेका छौं । तर, अन्य राज्यहरुको निर्वाचनको नतिजा केन्द्रको नतिजामै मिसिएर आएको हुनाले छुट्याएर सार्वजनिक गर्न नसकेको हो । हामीले प्रत्येक राज्यको नतिजा छुट्याएर दिन निर्वाचन गराउने कम्पनीसँग मागिरहेका छौं । त्यसका लागि निर्वाचन गराउने कम्पनीले थप पैसा मागिरहेको छ । तर, सम्झौताअनुसार हामीले पैसा थप गर्नु पर्दैन । यस्ता स–साना कुरा नमिलेर उनीहरुले नतिजा छुट्याएर हामीलाई दिएका छैनन् । उनीहरुले नतिजा हामीलाई दिनेबित्तिकै सार्वजनिक गर्छौं । कति समय लाग्छ भन्नेबारे अहिले केही भन्न सक्ने अवस्थामा छैन ।’
    निर्वाचन गराउने जिम्मा भेन्डिङ कम्पनीले लिएको थियो । निर्वाचनको नतिजा भेन्डिङ कम्पनीको अफिसियल कपीमा सार्वजनिक नगरेर निर्वाचन आयोगले आफ्नो लेटरहेडमा सारेर सार्वजनिक ग¥यो भन्ने उम्मेदवारहरुको गुनासो छ । यसो गर्दा नम्बर मिलाएर नतिजा सार्वजनिक गरेको हुन सक्ने पनि शंका गर्छन् एनआरएन अमेरिकाका उम्मेदवारहरु । यसै सन्दर्भमा आयोगका प्रवक्ता आचार्य भन्छन्, ‘निर्वाचन गराउने कम्पनीले होइन, निर्वाचन आयोगले नै नतिजा सार्वजनिक गर्ने हो । निर्वाचन गराउने कम्पनीले दिएको नतिजालाई निर्वाचन आयोगमार्फत आधिकारिक रुपमा जस्ताको तस्तै सार्वजनिक गरिएको हो । निर्वाचन समितिका हामी ५ जना सदस्यलाई भेन्डिङ कम्पनीले मत परिणामको अफिसियल कपी पठाएको छ । उसले दिएको कपी हामीसँग सुरक्षित छ ।’
    निर्वाचन अघि नै मतदाताको गोप्य सूचना चुहावट, सदस्यता दर्ता प्रक्रियाअन्तर्गत २०९३ जना सदस्यलाई कसले र कहाँ प्रमाणित ग¥यो भन्ने विषय पनि निकै विवादित बनेका छन् । एनआरएनएले निष्पक्ष छानबिन गर्ने, दोषीलाई कारबाही गर्ने भन्दै आए पनि निर्वाचन मत परिणाम नै सार्वजनिक हुन नसकेको अवस्थामा यस्ता अति नै महत्वपूर्ण विषय ओझेल परिरहेका छन् ।
    मेम्बरसिप भेरिफिकेसन कमिटीले मतदानमा सदस्यहरुको कुन डाटा प्रयोग ग¥यो ? सदस्यको संख्या र मतदानमा प्रयोग भएको तथ्याङ्क विवरण माग्दा सदस्यताको विवरण नदिएको चर्चा पनि उत्तिकै छ । सदस्यताको कुन डाटा प्रयोग गरेर मतदान गरिएको छ भन्ने पनि छानबिन गरिनु जरुरी छ । अर्कोतर्फ नतिजा सार्वजनिक गर्दा क–कसको रोहबरमा गरियो ? को–को उम्मेदवार र को–को पर्यवेक्षकहरु थिए ? त्यो पनि नतिजासँगै सार्वजनिक हुनुपर्छ ।
    निर्वाचन प्रक्रियामा थुप्रै कमी–कमजोरी, लापरबाही पनि पाइएको उम्मेदवारहरु बताउँछन्, ‘मतदात भइरहेका बेला कसैले इमेल आएन, भोटिङ लिङ्क आएन भनेर फोन गर्दा तुरुन्तै भोटिङ लिङ्क र भोटिङ कोर्डहरु पठाइदिएको पनि पाइयो ?,’ एक उम्मेदवारले भने, ‘कतिपय सदस्यलाई इमेल नै आएन भोटै हाल्न पाएनन् यस्तो कसरी भयो ? निर्वाचनलाई पारदर्शी र चुस्त–दुरुस्त बनाउनु प¥यो भन्ने माग गर्दै आए पनि एनआरएनए निर्वाचन कहिल्यै निष्पक्ष र पारदर्शी हुन सकेन ।’
    संस्थाभित्रका यस्ता विवादित विषयलाई अति नै गम्भीर रुपमा लिएको बताउँछन् एनआरएनएका महासचिव बाबुराम लामा । ‘सदस्यताको गोप्य सूचना चुहावटको विषयमा हामी निकै गम्भीर बनेका छौं । यसको निष्पक्ष छानबिन हुनुपर्छ भनेरै निवर्तमान अध्यक्ष केशव पौडेल लागिरहनुभएको छ,’ उनले भने, ‘अहिलेको अवस्थामा काम गर्न पनि निकै अप्ठेरो छ । अहिलेको कार्यसमितिले पनि काम गर्न मिल्दैैन नवनिर्वाचित कार्यसमितिले पनि काम थालेको छैन । जुलाई महिनाको ६ तारिखबाट मात्रै नयाँ कार्यसमितिले विधिवत काम सुरु गर्नेछ ।’

     

    विधान संशोधनका लागि सुझाव पठाउन आह्वान

    न्यूयोर्क । गैरआवासीय नेपाली संघ (राष्ट्रिय समन्वय समिति) एनआरएन अमेरिकाको विधान समितिले सुझाव संकलन गरी संस्थाको विधान संशोधन गर्ने भएको छ । एनआरएनएले सोमबार एक विज्ञप्ती जारी गर्दै सबैलाई सुझाव पठाउन आह्वान गरेको हो ।
    संस्थाको आठौँ साधारण सभा आगामी जुलाई ६ र ७ मा इल्लिनोइस राज्यको सिकागो सहरमा हुँदै छ । सबैले पठाएको सुझावलाई मध्यनजर गर्दै त्यतिबेला विधान संशोधन गरिनेछ । संस्थालाई आगामी दिनमा अझै गतिशील, प्रभावकारी एवम् सहभागीमूलक बनाउन वर्तमान विधान संशोधन गर्न लागिएको संस्थाका महासचिव बाबुराम लामाले जानकारी दिए ।
    संघको वर्तमान विधानमा समसामयिक संशोधनका लागि विधान समितिले काम गरिरहेको छ । विधान समितिले १३औं संशोधित विधानलाई थप संशोधन गर्ने क्रममा सबैको विचारलाई समेट्न सुझाव संकलन गरिरहेको महासचिव लामाले जानकारी दिए ।
    समितिले यस संस्थासँग आबद्ध सदस्यहरुको कुनै सल्लाह एवम् सुझाव भएमा आगामी जुन १८ तारिख मंगलबारसम्म आइपुग्ने गरी इमेलमार्फत ष्लाय२लचलगकब।यचन (इन्फो एट एनआरएन युएसए डट ओआरजी) मा पठाउन अनुरोध गरेको छ ।
    सुझाव पठाउँदा वर्तमान विधानको कति पेज नम्बरको कति आर्टिकल नम्बरको कति क्लज नम्बरमा के सुधार गर्नुपर्ने स्पष्ट लेखेर पठाउन पनि अनुरोध छ । संशोधन गर्नुपर्ने कारण पनि खुलाएर पठाउन अनुरोध छ । वर्तमान विधान एनआरएनए एनसीसी युएसएको वेबसाइटमा जततउकस्ररलचलगकब।यचनरmभमष्बरज्ञढण्द्धरकmभमकगचनउचतज्ञडण्ढद्दद्धज्ञडद्दज्ञण्।उमा यो लिङ्कमा हेर्न सकिनेछ ।
    विधान संशोधनसम्बन्धी कुनै जिज्ञासा भएमा विधान समितिका पदाधिकारीसँग सम्पर्क गर्न सकिने पनि जनाइएको छ । विधान समितिका सदस्यहरु बाबुराम लामा, कृष्ण लामिछाने, गोपेन्द्र भट्टराई, सञ्जय थापा, हरिहर पौडेल, रेवतीराज अधिकारी, छत्र गुरुङ, दिलु पराजुलीलाई सम्पर्क गर्न सकिनेछ ।