Category: समाचार

  • अमेरिकी राष्ट्रपति ट्रम्प र कतारी अमिर अल थानीबीच टेलिफोन वार्ता

    अमेरिकी राष्ट्रपति ट्रम्प र कतारी अमिर अल थानीबीच टेलिफोन वार्ता

    दोहा, ९ जेठ (रासस–सिन्ह्वा) । कतारी अमिर शेख तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग क्षेत्रीय विकासक्रमबारे छलफल गर्नुभएको अमिरको प्रशासनिक कार्यालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ। टेलिफोन वार्ताको क्रममा उनीहरुबीच यस क्षेत्रमा थप तनाव रोक्न र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न पाकिस्तानको नेतृत्वमा कूटनीतिक प्रयासहरूको समर्थनमा केन्द्रित भएको विज्ञप्तिमा भनिएको छ।

    उनीहरुले वर्तमान मुद्दाहरूलाई सम्बोधन गर्न, समुद्री सुरक्षा र रणनीतिक जलमार्गहरूको सुरक्षा गर्न र विश्वव्यापी ऊर्जा आपूर्ति र आपूर्ति श्रृङ्खलाको सहज प्रवाह सुनिश्चित गर्न संवाद च्यानलहरू कायम राख्नुपर्ने महत्त्वमा जोड दिएका छन् । अमिरले सङ्कटलाई नियन्त्रण गर्ने र क्षेत्रीय स्थिरता बढाउने उद्देश्यका साथ शान्तिपूर्ण समाधान र कूटनीतिक पहलको समर्थनमा कतारको निरन्तर अडानलाई दोहोर्याएको बताइएको छ ।

    यो फोनवार्ता ‘स्ट्रेट अफ हर्मुज’ वरपरको निरन्तर क्षेत्रीय तनाव र विश्वव्यापी ऊर्जा बजार र समुद्री व्यापार मार्गहरूमा सम्भावित प्रभावको बारेमा बढ्दो अन्तर्राष्ट्रिय चासोको बीचमा आएको हो। प्राकृतिक ग्यास निर्यात गर्ने प्रमुख मुलुक कतारले बारम्बार तनाव कम गर्न आह्वान गर्दै नौवहनको स्वतन्त्रता र क्षेत्रीय स्थिरताको संरक्षणको महत्त्वमा जोड दिँदै आएको छ ।

  • पाँचथरमा बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

    पाँचथरमा बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

    पाँचथर, १० जेठः अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले घर बगाएपछि याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो ।

    मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा बसेका छन् । गङ्गाप्रसादको ६ जनाको परिवार उनका दाजु दुर्गा बेघाको घरमा बसेको छ । सोही स्थानका भगीमान बेघाको घर पहिरोले उच्च जोखिममा पारेपछि सो परिवारका ६ जना विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

    बाढीपहिरोका कारण कोप्चेटोलका बालानन्द बेघा र मैतराज बेघा, चाम्लिङडाँडाका रबिन राई, रामकुमार राई, रणबहादुर राई, मनकुमारी गुरुङ र डम्बरबहादुर गुरुङ, एकराते टोलका रत्नमान राई, लछुमान राई, राजेश राई, कमलबहादुर राई र शेरबहादुर राई तथा खोलाघारी मगरडाँडा टोलका याम मगर, पूर्णकुमार मगर र सुजन मगरको घर जोखिममा छ ।

    बाढीले लामिटारबाट चाम्लिङडाँडा जोडने झोलुङ्गे पुल र याङवरक–२ दोभानेसिथत झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । बाढीले निर्माणाधीन दुई सडकका पुल बगाएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ दोभानेमा मेवा खोलामा निर्माणाधीन ४१ फिट लामो सडक पुल बाढीले बगाएको हो । यहाँ निर्माणाधीन पुलका साथै सडक र डाइभर्सनसमेत बगाएका कारण यातायात पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरी नायब उपरीक्षक कर्णले जानकारी दिए ।


    त्यसैगरी, तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुलका संरचनासमेत बाढीले बगाएको छ । याक्थुङहाङ निर्माण सेवा प्रालिले निर्माण गरिरहेको उक्त पुलका ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन, फलामे पाइपलगायत सामग्री बगाएको प्रहरी नायब उपरीक्षक कर्णले बताए । पहिरो झरेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग ओयाम बजार र रिजाल भिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    जलविद्युत् आयोजनाहरूमा क्षति

    बाढी र पहिरोले याङवरक–२ मेवाखोलामा रहेको हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित इंवाखोलामा रहेको इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रका पर्खालमा क्षति पुगेको छ । यस्तै पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित काबेली खोला रहेको अरुण काबेली जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ ।

    यस्तै याङवरक–४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर क्षति पुगेको छ । बाढी र पहिरोले टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना र मेची पहाडी खानेपानी योजनामा समेत क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक कर्णले जानकारी दिए । रासस

  • आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

    आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

    काठमाडौँ, १० जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा शनिबार वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

    कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केही स्थानहरूमा, मधेस प्रदेशलगायत बागमती, गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ विभागले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

  • कंचनपुरमा कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

    कंचनपुरमा कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

    कञ्चनपुर, १० जेठः धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ । शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक टन पोटास मौज्दात रहेको छ ।

    शाखा प्रबन्धक हेमराज जोशीले सहकारीमार्फत कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार मौज्दात रहेको मल सहकारीलाई निर्धारण गरिएको कोटाअन्तर्गतकै भए पनि निर्धारित समयभित्र नउठाउँदा गोदाममै थन्किएको हो । “कार्यविधिअनुसार सहकारीले तोकिएको कोटाको मल दश दिनभित्र उठाइसक्नुपर्ने हुन्छ,” उनले भने, “निर्धारित समयमा मल नउठाउँदा गोदाममा मौज्दात रहन गएको छ ।”

    उनका अनुसार गत साउनदेखि हालसम्म शाखाले युरियाको नौ कोटा र डिएपीको सात कोटा वितरण गरिसकेको छ । एक कोटा बराबर ५०० मेट्रिक टन मल हुने उनले जानकारी दिए । मौज्दात मल पुनः वितरणका लागि प्रदेश मल वितरण व्यवस्थापन समितिलाई कोटा निर्धारण गरिदिन पत्राचार गरिएको उनले बताए ।
    “कोटा निर्धारणसम्बन्धी निर्णय आएपछि मौज्दात मल पुनः वितरणको प्रक्रिया सुरु गर्छौं,” प्रबन्धक जोशीले भने, “हाल मौज्दात रहेको मलले धान रोपाइँसम्म पुग्ने अनुमान गरेका छौँ । केही मल साल्ट ट्रेडिङसँग पनि उपलब्ध रहेकाले यस वर्ष धान खेतीका लागि मल अभाव नहुने विश्वास छ ।”

    शाखाले आगामी आवश्यकतालाई दृष्टिगत गर्दै थप मल आपूर्तिका लागि केन्द्रीय कार्यालयमा माग पठाइसकेको जनाएको छ । “थप मल असारभित्र आइपुग्ने आश्वासन पाएका छौँ,” प्रबन्धक जोशीले भने । पछिल्ला वर्षमा खेतीको मुख्य समयमा रासायनिक मल अभाव हुने समस्या दोहोरिँदै आएको अवस्थामा यस वर्ष मौज्दात मलले किसानलाई केही राहत हुने भएको छ ।

  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    काठमाडौँ, १० जेठः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
    समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३४, आलु रातो (गोलो) प्रतिकिलो रु २८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

    यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ४५ कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ३५, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ४५, चिचिन्डो प्रतिकिलो रु ३५, घिरौँला प्रतिकिलो रु ३५, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो रु ४०, सखरखण्ड प्रतिकिलो रु ७० र पिँडालु प्रतिकिलो रु ५० कायम गरिएको छ ।

    रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो प्रतिकिलो रु १२०, तोरीसाग प्रतिकिलो रु ४०, चमसुरको साग प्रतिकिलो रु १२०, मेथीको साग प्रतिकिलो रु १२०, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु २४०, च्याउ (डल्ले) प्रतिकिलो रु ४३०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ३५०, न्यूरो प्रतिकेजी रु ८०, ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १४०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु १२०, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

    स्याउ (फुजी) प्रतिकिलो रु ३२५, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो २६०, अनार प्रतिकिलो रु ४४०, आँप (दसहरी) प्रतिकिलो रु २८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २८०, तरबुजा (हरियो) प्रतिकिलो रु ३५, भुइँकटहर प्रतिगोटा रु २३०, काँक्रो (लोकल) प्रतिकिलो रु ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ४५, रुखकटहर प्रतिकिलो रु ७०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १०० र लिचि (भारती) रु २८०, एभोकाडो प्रतिकिलो रु ८००, नरिवल (काँचो) प्रतिकेजी रु ८० र नरिवल (हरियो) प्रतिकेजी रु १८० निर्धारण गरिएको छ ।

    यसैगरी, अदुवा प्रतिकिलो रु १६०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, माछे खुर्सानी प्रतिकिलो रु ६०, भेडेखुर्सानी प्रतिकिलो रु ६०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु १९०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, छ्यापी सुकेको प्रतिकिलो रु १४०, माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु २६० निर्धारण गरिएको छ ।

  • पोखरा उपत्यका नगर विकास समितिद्वारा पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

    पोखरा उपत्यका नगर विकास समितिद्वारा पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

    गण्डकी, १० जेठः पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सहजीकरण गर्न व्यवसायीहरुलाई सूचित गरेको हो ।

    तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपर गरिने शनिबार जारी सूचनामा उल्लेख छ । समितिले बसपार्क क्षेत्रभित्र लालपुर्जा भएका जग्गाधनीहरुलाई सात दिनभित्र नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, चालु आवको सम्पत्ति÷भूमिकर तिरेको रसिद र जग्गासम्बन्धी प्रमाण पुग्ने अन्य कागजात समितिको कार्यालयमा बुझाउन निर्देशनसमेत दिएको छ ।

    पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्कको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन यसअघि गत वैशाख ४ गते पोखरा महानगरपालिकाले पनि सार्वजनिक रुपमा सूचित गरेको थियो । ३५ दिने उक्त सूचनाको अवधि शनिबार सकिएपछि पोखरा उपत्यका नगर विकास समितिले अर्को सूचना जारी गरेको हो ।

    पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको जग्गामा सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरु रहेका छन् । आधुनिक सुविधासम्पन्न बसपार्क बनाउन विसं २०३१–३२ तिर २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

    बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा पर्दै गएर अहिले करिब ६० रोपनी क्षेत्रफल मात्र बाँकी छ । प्रस्तावित आधुनिक पोखरा बसपार्कको अतिक्रमित जग्गा खाली गराई बसपार्क निर्माणको प्रक्रियालाई अगाडि बढाउने महानगरको योजना छ । भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका नाममा झण्डै ५०० परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बसेको महानगरले जनाएको छ । वास्तविक सुकुमवासीलाई उचित व्यवस्थापन गरी अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाइने भएको हो ।

  • डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा

    डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा

    काठमाडौँ, १० जेठः नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सुरु गरेको छ । समुन्द्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको सङ्ख्या ७५० पुगेको छ ।


    माथिल्लो डोल्पामा सञ्चालनमा ल्याइएको यो पहिलो फोरजी साइट हो । अब डोल्पा जिल्लाकै डोल्पो बुद्ध गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा टेलिकमको फोरजी सेवा पुग्न बाँकी छ । नेपाल टेलिकमले निकट भविष्यमा ती स्थानीय निकायहरुमा समेत फोरजी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ ।

    फोरजी सेवा विस्तारसँगै स्थानीय बासिन्दा, पदमार्गका पदयात्री र पर्यटकहरूको सञ्चार पहुँच सहज हुनुका साथै विभिन्न प्रशासनिक, सुरक्षा, स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने र दुर्गम हिमाली क्षेत्रलाई आधुनिक डिजिटल नेटवर्कसँग जोड्दै समग्र क्षेत्रीय विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । ‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानहरूमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पु¥याउँने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको जनाएको छ ।

  • विटुमिनको मूल्य बढ्दा एसियन राजमार्ग कालोपत्र ढिलासुस्ती

    विटुमिनको मूल्य बढ्दा एसियन राजमार्ग कालोपत्र ढिलासुस्ती

    बेलबारी (मोरङ), १० जेठः सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा विटुमिन (अलकत्रा) को अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ । विटुमिन अभाव साथै गुणस्तरिय नपाएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको आयोजनाअन्तर्गत पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार दुई महिना अघिसम्म प्रतिलिटर रु १०० देखि रु ११० सम्ममा पाइरहेको भारतीय विटुमिन अहिले रु १५० भन्दा बढी पर्न थालेको छ । नेपाल विटुमिन तथा ब्यारल उद्योगले भने विटुमिनको अभाव नभई मूल्य भने अप्रत्यासित रूपमा बढेको जनाएको छ ।

    निर्माण सुुरु भएको ३० महिना बितिसक्दा करिब ४० प्रतिशत काम सकिएको प्रमुख प्रजापतिले जानकारी दिए । उनका अनुसार विटुमिन अभाव भए पनि कङ्क्रिटसम्बन्धी काम धमाधम भइरहेका छन् । हाल ओभरपास, अण्डरपास, वेस, सववेस, नालालगायत संरचना निमार्ण तीव्र रूपमा भइरहेको उनले जानकारी दिए ।
    प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट पश्चिम ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । “पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । निर्माण सामग्री उपलब्धतामा सहजता भएमा कामले तीव्रता पाउनेछ”, उनले भने ।

    एसियन हाइवे निर्माण सम्पन्न भएमा थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्ने प्रमुख प्रजापतिले जानकारी दिए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एसियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण सुरु भएको थियो ।

  • किओच काठमाडौँ बाल अस्पतालको भवन हस्तान्तरण

    किओच काठमाडौँ बाल अस्पतालको भवन हस्तान्तरण

    काठमाडौँ, ९ जेठः काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ । बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा रहेको अस्पतालको उक्त भवन समाजसेवी मीनबहादुर गुरुङ र सावित्री गुरुङ तथा पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरिदिएका हुन् । आज यहाँ आयोजित कार्यक्रममा जगत्गुरु शङ्कराचार्य श्री विधुशेखर भारतीले सो भवनको समुद्घाटन गरे । व्यवसायी गुरुङको स्वामित्वमा रहेको भाटभटेनीले उक्त भवन निर्माण गर्न रु ७१ करोड चार लाख ४२ हजार २४४ खर्चेको थियो ।

    कार्यक्रममा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल स्थापनासँगै गरिब तथा बालबालिकाले सर्वसुलभ स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित भएको बताइन् । अस्पतालका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा भगवान कोइरालाले गैरनाफामूलक संस्थाका रुपमा रहेको यस संस्थाले विशिष्टीकृट स्वास्थ्य सेवा उपलब्ध गराउने बताए । व्यवसायी गुरुङले सर्वसाधरण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि अस्पताल स्थापना गरिएको बताए ।

    काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ मुनाफारहित कम्पनीका रूपमा दर्ता तथा समाज कल्याण परिषद्मा आबद्ध भई गैरसरकारी सामाजिक संस्थाका रूपमा सञ्चालनमा छ । उक्त इन्स्टिच्युटको काठमाडौँ उपत्यकामा विशिष्टकृट सेवासहित बाल अस्पताल तथा सातवटै प्रदेशमा भौतिक संरचनासहित बाल अस्पताल सञ्जाल निर्माण गरिरहेको छ । देशभरका सबै वर्गका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याई उनीहरूको स्वास्थ्य अवस्थामा सुधार गर्ने र शिशु तथा बाल मृत्युदर घटाउने लक्ष्यका साथ उक्त अस्पताल स्थापना गरिएको हो ।

  • चिनको कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ जना पुग्यो, नौ अझै बेपत्ता

    चिनको कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ जना पुग्यो, नौ अझै बेपत्ता

    ताइयुवान, ९ जेठ (रासस–सिन्ह्वा) । ताइयुवानको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार उत्तरी चीनको साङ्सी प्रान्तमा भएको कोइला खानी दुर्घटनामा ८२ जनाको मृत्यु भएको छ भने अन्य नौ जना अझै बेपत्ता छन् । स्रोतका अनुसार ताइयुआन काउन्टीको लिउसेनयु कोइला खानीमा ग्यास विस्फोट भएर दुर्घटना भएको थियो । प्रान्त सरकारले उद्धारकर्ता र चिकित्सा कर्मचारीसहित ७५५ जनालाई घटनास्थलमा उद्धारका लागि तैनाथ गरेको र उद्धार कार्य जारी रहेको जनाएको छ ।

    कुल १२३ जनालाई उपचारका लागि अस्पताल पठाइएको मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ३३ जना घर फर्केको जनाइएको छ । खानी दुर्घटनामा सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई कानुन अनुसार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ब्यूरोले जनाएको छ ।

  • चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

    चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

    फुङ्लिङ (ताप्लेजुङ्र), ९ जेठः ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो ।

    कोभिड–१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । भन्सार कार्यालय सञ्चालन गर्नका लागि बिहीबार नायब सुब्बा प्रदीप धिताललाई प्रमुखका रूपमा तोकिएसँगै नाका नियमित सञ्चालनमा आएको उनले बताए । “नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक केन्द्र ओलाङचुङ्गोला हो ।

    ओलाङचुङ्चुगोलाबाट २४ किलोमिटर दूरी पार गरी नेपाल-चीनको सीमा टिप्तालानाका पुग्न सकिन्छ”, वडाध्यक्ष लामाले भने । करिब ४० वर्षअघि निर्माण गरिएको मूल भन्सार कार्यालयको भवन अहिले जीर्ण अवस्थामा पुगेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । वडाध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत नयाँ भवन निर्माण तथा भन्सार कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न अर्थमन्त्रालय र भन्सार विभागसँग अनुरोध गरिएको जानकारी दिए ।

    भन्सार कार्यालयमा कर्मचारी पठाउनका लागि जिल्लाका जेनजी अभियन्ताले भन्सार विभागमा पटकपटक ताकेता गरेका थिए । ओलाङचुङ्गोला सडक सञ्जालसँग जोडिएपछि अब नियमित रूपमा राजस्व सङ्कलन हुने अपेक्षामा स्थानीय उत्साहित भएका छन् ।

  • आज पनि जारी रह्यो एमाले सचिवालय बैठक, अध्यक्षको पक्षमा मिश्रित प्रतिक्रिया

    आज पनि जारी रह्यो एमाले सचिवालय बैठक, अध्यक्षको पक्षमा मिश्रित प्रतिक्रिया

    भक्तपुर, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज बसेको दोस्रो दिनको बैठकमा पार्टीका महासचिव, तीन उपमहासचिव र पाँच सचिवसहित नौ जना नेताहरूले आफ्नो धारणा राख्नुभएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

    उनले पार्टीको आइतबार बस्ने बैठकमा बाँकी चार सचिवले आफ्नो धारणा राख्ने जानकारी दिँदै सबैको धारणा आएपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रियालाई अगाडि बढाइने सञ्चारकर्मीलाई बताए । गत शुक्रबारदेखि बैठक सुरु भएको थियो । आजको बैठकमा अध्यक्षको बारेमा मिश्रित धारणा आएको छ । महेश बस्नेत लगायत नेताले नेतृत्वको संरक्षण गर्नुपर्नेमा जोड दिए । अन्य नेताले भने नेतृत्वको आलोचना गरेको बताइएको छ ।

  • गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

    गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

    काठमाडौँ, ९ जेठ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा तथा सप्तरी राजविराज–१३ घर भइ हाल काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिए ।

    उनले भने, “काठमाडौँ टोखा नगरपालिका–९ गोङ्गवु शिव मन्दिरस्थित काबेली गेष्टहाउसमा जाँच गर्ने क्रममा ४५ राउण्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एक थान र मेटलको नक एक थानसहित उनीहरूलाई पक्राउ गरिएको हो ।” पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान कार्य सुरु गरिएको प्रवक्ता भट्टराईले बताए ।

  • अन्तरराष्ट्रिय महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित

    अन्तरराष्ट्रिय महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित

    काठमाडौँ, ९ जेठः राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले कीर्गिस्तानका राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले कीर्गितानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै सेमिफाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।

    नेपालले आज कीर्तिस्तानमाथि पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै जित हासिल गर्‍यो । त्यसैगरी, खेलको दोस्रो सेटमा नेपालले २५–२० को नतिजा निकाल्दा तेस्रो तथा अन्तिम सेट २५–१३ को अन्तरमा पाखा लगाउँदै जित हासिल गर्न सफल भयो । यस खेलमा नेपालकी सुमित्रा रेग्मी ‘प्लेअर अफ दी म्याच’ घोषित भइन् । यस जितसँगै नेपालले दुई खेलबाट चार अङ्क जोड्दै समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लेको छ । कीर्गिस्तानको भने यो पहिलो हार हो । कीर्गिस्तानको दुई खेलबाट तीन अङ्क रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेल भोलि आइतबार माल्दिभ्ससँग खेल्नेछ ।

    नेपालले यदि माल्दिभ्सलाई पराजित गरेमा सेमिफाइनल यात्रा तय गर्नेछ । यता कीर्गिस्तानले भने सोमबार भारतसँग खेल्नेछ । प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा घरेलु टोली नेपालसँगै कीर्तिस्तान, माल्दिभ्स र भारत छन् । त्यसैगरी, समूह ‘बी’ मा श्रीलङ्का, इरान, बङ्गलादेश र काजकिस्तान रहेका छन् ।

    प्रतियोगितामा आइतबार तीन खेल हुनेछ । पहिलो खेल १२ बजे इरान र श्रीलङ्काबीच हुनेछ भने साढे २ बजे हुने दोस्रो खेलमा काजकिस्तान र बङ्गलादेशवीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, नेपाल र माल्दिभ्सबीचको तेस्रो खेल भने साँझ ५ः०० बजेदेखि सुरु हुनेछ ।

  • लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

    लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

    सिद्धार्थनगर (भैरहवा), ९ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिलामन्त्री सिमा मल्होत्राबीच आज रूपन्देहीमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र संयुक्त अधिराज्यबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा लुम्बिनी प्रदेशको विकास प्राथमिकताबारे छलफल भएको थियो । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार दिगो, समावेशी तथा रोजगारीमुखी आर्थिक वृद्धिमा केन्द्रित रहेको बताए ।

    उनले उत्पादनमुखी लगानी प्रवर्द्धन, कृषि आधुनिकीकरण, पर्यटन विकास, औद्योगिक विस्तार, पूर्वाधार निर्माण तथा डिजिटल नवप्रवर्तनमार्फत प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्ने लक्ष्य रहेको उल्लेख गरे । उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीले विश्वलाई शान्ति, सहिष्णुता र करुणाको सन्देश प्रवाह गरिरहेको उल्लेख गर्दै दिगो विकास, लगानी प्रवर्द्धन, पर्यटन विकास तथा मानव पूँजी विकासका क्षेत्रमा संयुक्त अधिराज्यसँग थप सहकार्य विस्तार हुने विश्वास व्यक्त गरे ।

    भेटमा संयुक्त अधिराज्यको सहयोग विशेषगरी मानव पूँजी विकास, सीप अभिवृद्धि, स्वास्थ्य प्रणाली सुदृढीकरण, जलवायु परिवर्तन अनुकूलन, कृषि रूपान्तरण, दिगो पूर्वाधार विकास, सुशासन तथा डिजिटल रूपान्तरणका क्षेत्रमा प्रभावकारी हुने विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    मुख्यमन्त्री आचार्यले नेपालको सामाजिक–आर्थिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, पूर्वाधार, विपद् व्यवस्थापन तथा सुशासन सुधारमा संयुक्त अधिराज्यले निरन्तर गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । भेटवार्तामा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्याललगायतको सहभागिता रहेको थियो ।

  • तालिमका क्रममा बेहोस भएका प्रहरी भेट्न सुधन गुरुङ पुगे अस्पतालमा

    तालिमका क्रममा बेहोस भएका प्रहरी भेट्न सुधन गुरुङ पुगे अस्पतालमा

    ९ जेठ, काठमाडौं । तालिमका क्रममा अचानक बेहोस भई उपचार गराइरहेका सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य स्थिति बुझ्न पूर्वगृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेल नेपाल एपीएफ अस्पताल, बलम्बु पुगेका छन् । जेठ ८ गते बिहीबार अस्पताल पुगेर उनीहरुलले हाँबिरामी जवानहरूको उपचार प्रक्रिया र वर्तमान स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिएका हुन् ।

    गृह मन्त्रालयको जिम्मेवारीबाट बिदा भइसके तापनि राष्ट्रसेवक सुरक्षाकर्मीहरूप्रति पूर्वगृहमन्त्री गुरुङको आत्मीयता र चासो उत्तिकै प्रगाढ देखिएको छ। नेपाली संस्कार र परम्परालाई आत्मसाथ गर्दै उनी बिरामी प्रहरी जवानहरूलाई भेट्न फलफूल र पौष्टिक आहारसहित अस्पताल पुगेका थिए । पदमा रहँदा मात्र नभई पदबाहिर रहँदा पनि सुरक्षा संगठन र यसका जनशक्तिप्रति उनले देखाएको सद्भाव र अभिभावकत्वलाई अस्पताल परिसरमा उपस्थित सुरक्षाकर्मी र बिरामीका आफन्तहरूले सकारात्मक रूपमा लिएको गुरुङको सचिवालयले लेखेको छ ।

  • हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा

    हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा

    काठमाडौँ, ९ जेठः विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा गरिने भएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने सशस्त्र प्रहरी सहायक हबल्दार कार्कीलाई हालको दर्जाको न्यूनतम अवधि पुगेपछि हबल्दारमा बढुवा गरिने भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उक्त घोषणा गरेसँगै आवश्यक प्रक्रिया थालिएको पनि उनले बताए ।


    साथै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पा र सशस्त्र प्रहरी सहायक हबल्दार कार्कीलाई हार्दिक बधाई दिनाका साथै उनीहरुले विश्वको सर्वोच्च शिखरमा राष्ट्र र सङ्गठनको झण्डा फहराउनु गर्वको विषय भएको उल्लेख गरे ।

    उनले उच्च मनोबल र हौसलाका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा राष्ट्र र सङ्गठनको झण्डा फहराउनु गौरवको विषय भएको चर्चा गर्नहुँदै उनीहरुले गरेको हिमाल आरोहणले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबलमा समेत हौसला, प्रेरणा र उत्साह मिलेको बताए ।

    सो कार्यक्रममा शेर्पा र कार्कीले राष्ट्र र सङ्गठनको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराउन पाउनु गर्वको विषय भएको र सफल आरोहणका लागि सहयोग, समन्वय तथा साथ दिनुहुने सशस्त्र प्रहरी बल नेपाललगायत सम्पूर्णमा हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरे । सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकाथिए ।


    सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेका थिए । सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सगरमाथा आरोहण गर्ने सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्की सशस्त्र प्रहरी बल नेपालमा पहिलो महिला आरोही हुन् । उनीहरुलाई एपिएफ सम्मानबाट सम्मानित गरिने भएको छ ।

  • बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

    बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

    बागमती, ९ जेठः हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको बा।प्र।०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते योञ्जनलाई उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । स्कुटरलाई ठक्कर दिने बस र बसका चालक काभ्रेको चाँैरीदेउराली गाउँपालिका–२ निवासी ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    यसैगरी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ भोर्लेस्थित जङ्गलको भिरबाट लडेर दुई बालक घाइते भएका छन् । जङ्गलको बाटो हुँदै आज बिहान ११ बजेतिर भोर्लेबाट रमनटारतर्फ जाँदै गरेको साइकल आफैँ अनियन्त्रित भई भिरबाट करिब ३५ मिटर तल खसेर स्थानीय १२ वर्षीय साजन पाख्रिन र १२ वर्षीय रोणित थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता बोगटीले जानकारी दिए । घाइते दुबै बालकलाई उद्धार गरी उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

  • महोत्तरीमा चार महिनामा आमाको नामबाट नागरिकता लिनेको संख्या २०९

    महोत्तरीमा चार महिनामा आमाको नामबाट नागरिकता लिनेको संख्या २०९

    जलेश्वर (महोत्तरी), ९ जेठः विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । गत २०८२ पुस ११ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको थियो भने पुस २१ गते नेपाल राजपत्रमा सूचना प्रकाशित भएलगत्तै सबै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गरी यो व्यवस्था कार्यान्वयनमा ल्याइएको थियो ।

    सोही क्रममा सबै आवश्यक कागजी प्रक्रिया पूरा गरेर २०८२ माघ ६ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट आमाको नामबाट नागरिकता वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यसअनुसार नेपाली नागरिक आमाबाट नेपालमै जन्मिएका र बाबुको पहिचान हुन नसकेका व्यक्तिहरुले आवश्यक स्वघोषणा र प्रक्रिया पूरा गरेर वंशजका आधारमा नागरिकता प्राप्त गर्न थालेका हुन् । त्यसै क्रममा जिल्ला प्रशासन कार्यालयबाट गत २०८२ माघ महिनाको ६ गतेदेखि २०८३ जेठ ९ गतेसम्म जम्मा २०९ जनाले आमाको नामबाट वंशज नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

  • सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

    सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

    नारायणगढ (चितवन), ९ जेठ । भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका सहिद सारकुमार राईको घर (डेरा) मा आज केही समयका लागि पीडा भुलाउने वातावरण बन्यो । लामो समयदेखि शोक र पीडामा रहेको परिवारमा सहिद राईकी छोरी आकृति राईले माध्यामिक शिक्षा परीक्षा (एसइई)मा राम्रो अङ्कसहित उत्तीर्ण भएपछि खुसी छाएको हो ।

    आकृतिको पढाइको जिम्मेवारी लिएका गोल्याण ग्रुपका अध्यक्ष तथा पदाधिकारीको टोली उनलाई बधाई दिन घरमै पुगेको थियो । आकृतिकी आमा सुनिता राईले छोरीको सफलताले परिवारमा आशा र आत्मविश्वास बढाएको बताइन् । उनले भनिन्, “अब आँट आउन थालेको छ । मेरो नानीले केही गर्छे जस्तो लागेको छ ।” उनले छोरीको शिक्षामा सहयोग गर्ने गोल्याण ग्रुपप्रति आभार व्यक्त गर्दै दुःख र अन्योलबीच आएको सहयोग परिवारका लागि मलमसरह बनेको बताइन् । परिवारमा परेको पीडाले छोरी पहिलेभन्दा अझ आत्मविश्वासी र समाजमा केही गर्न सक्ने खालकी बनेको उनको भनाइ थियो ।

    उनले भने, “पहिले धेरै नबोल्ने छोरी अहिले तीन–चार जना मानिस भएको ठाउँमा बोल्न सक्ने भएकी छ । उसले मलाई सम्झाउने गर्छे ।” गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले आकृतिले पीडालाई पन्छाएर पढाइमा उत्कृष्ट नतिजा ल्याएको बताए । उनले आफूहरूसँगै शिक्षक र परिवारको सहयोगले आकृतिलाई विज्ञान विषय अध्ययनतर्फ अघि बढ्न थप प्रेरणा मिलेको उल्लेख गरे ।

    उनले भने, “पीडाबाट कसरी अगाडि बढ्ने भन्ने कुरा आकृतिको पढाइले सिकाउँछ । राम्रो अभिभावक र शिक्षक पाए विद्यार्थी अझ राम्रो गर्न सक्छन् । आकृतिकी आमाले पीडाका बाबजुद ठूलो साथ दिनुभएको छ ।” उनले विद्यार्थी पास मात्रै नभई आत्मनिर्भर बन्न सक्ने खालको हुनुपर्ने बताउँदै विद्यार्थीको चाहना र क्षमताअनुसार शिक्षा प्राप्त गर्न सहयोग गर्दै आएको जानकारी दिए ।


    उदयपुरको चौदण्डीगढी नगरपालिका स्थायी घर भएकी आकृतिले कक्षा ८ देखि भरतपुरस्थित मनशिक्षा मन्दिर माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी छिन् । उनले विद्यालय परिवार र सहयोगी संस्थाको साथले पढाइ सहज भएको बताइन् । उनले भनिन्, “गोल्याण के हो भन्ने पहिले थाहा थिएन । भेट भएपछि आफ्नै परिवार जस्तो लागेको छ ।” आकृतिले अब भरतपुरस्थित आरोमा कलेजमा प्लस टु अध्ययन गर्ने बताउँदै भविष्यप्रति आशावादी रहेको धारणा राखिन् । प्लस टु अध्ययनपछि बिएससी नर्सिङ अध्ययन गरी देशमै सेवा गर्ने इच्छा रहेको उनले बताइन् ।


    मनशिक्षा मन्दिर माध्यमिक विद्यालय का प्रधानाध्यापक इन्द्रेश शाहले आकृति मेहिनती र जिम्मेवार विद्यार्थी रहेको बताए । उनले पारिवारिक पीडाका बाबजुद विद्यालय र पछि गोल्याण ग्रुपबाट प्राप्त सहयोगले आकृतिमा थप उत्साह आएको उल्लेख गरे । उनले भने, “परिवारमा पीडा नभई अनुकूल वातावरण भएको भए आकृतिको बढी अङ्क ल्याउने सम्भावना थियो ।” अब आृकतिले अध्ययन गर्ने कलेज आरोमा कलेज भरतपुरका प्रिन्सिपल शेरबहादुर क्षेत्रीले आकृतिको अध्ययनका लागि कलेज पूर्णरूपमा सहयोग गर्न तयार रहेको बताए । गोल्याण ग्रुपसँग समन्वय गरेर आवश्यक जिम्मेवारी लिने प्रतिबद्धता उनले व्यक्त गरे ।

    गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पीआर प्रमुख ज्योति गैरेले आकृतिको सफलताको सम्मान स्वरूप घरमा नै आएर भेटेर बधाई कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । उनका अनुसार आकृति जेनजी आन्दोलनका सहिद परिवारबाट एसइई उत्तीर्ण गर्ने पहिलो सन्तान हुन् । जेनजी आन्दोलनका सहिदका ३२ जना बालबालिकालाई गोल्याण ग्रुपले कक्षा १२ सम्म शैक्षिक वृत्ति प्रदान गरिरहेको छ । प्रत्येक विद्यार्थीलाई मासिक रु ४० हजारका दरले वार्षिक रु चार लाख ८० हजार उपलब्ध गराइँदै आएको छ ।

    उनले चितवनमा आकृतिसहित कक्षा ४ मा अध्ययनरत अर्का एक सहिद परिवारका बालबालिकालाई सहयोग गरिरहेको बताइन् । देशभरका विद्यालय जाने तयारीमा रहेका तथा विभिन्न कक्षामा अध्ययनरत सहिद परिवारका बालबालिकालाई गोल्याण ग्रुपले सहयोग गर्दै आएको उनले बताइन् । आकृति राई ३.४० जीपीएसहित एसइई उत्तीर्ण भएकी भएकी हुन् । उनी पहिलो एसइई उत्तीर्ण हुने जेनजी आन्दोलनका सहिद परिवारको सन्तान हुन् ।

  • पाँचथरको याङवरकमा बाढीपहिरो, सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

    पाँचथरको याङवरकमा बाढीपहिरो, सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

    पाँचथर, ९ जेठः अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पु¥याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरु, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पु¥याएको हो । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढी पहिरोले हालसम्म वडा नं १ मा दुई वटा घर र वडा नं १ र २ मा गरी तीन वटा झोलुङ्गे पुल बगाएको छ । हालसम्म मानवीय क्षतिको विवरण नआएको र वर्षा रोकिएको उपाध्यक्ष मेन्याङ्बोले जानकारी दिए । बाढी पहिरोले याङवरक–१ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।

    निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । याङवरक–३ स्थित रिजाल भिरमा पहिरो झरेको छ भने वडा नं २ को दोभानेमा रहेको डाइभर्सन पूर्ण रुपमा बगाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार पुष्पलाल ९मध्यपहाडी० लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड सुचारु गराउने पहल सुरु भएको छ । सीमा प्रहरी कार्यालय च्याङथापुले क्षतिको विवरण सङ्कलन थालेको र हालसम्म दुई वटा घर बगाएको जानकारी आएको प्रनाउ कर्णले जानकारी दिए ।


    यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर कोरिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रस बाढीले बगाएको प्रहरीले जनाएको छ । हेंवा, काबेली र तमोर नदीमा बाढी आएर तटीय क्षेत्र जोखिमपूर्ण बनेको पाँचथर प्रहरीको भनाइ छ । गए राति आएको बाढीपहिरोले याङवरक–३ ओयाम बजार आसपासको खेतीयोग्य क्षेत्रमा पनि ठूलो क्षति पु¥याएको स्थानीयवासी तेजबहादुर योङ्याले जानकारी दिए ।

  • तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी : सावधानी अपनाउन अनुरोध

    तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी : सावधानी अपनाउन अनुरोध

    काठमाडौँ, ९ जेठ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर ९लु०सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ । विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शुक्रबार साँझ जारी बुलेटिनमा आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरेको हो ।

    विभागका मौसमविद् सञ्जिव अधिकारीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागहरूमा आगामी ३ दिनसम्म मध्यम तातो लहर तथा पहाडी भू–भागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विशेष बुलेटिनमार्फत अनुरोध गरिएको बताए । उनका अनुसार सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मिति यही ६ गतेदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । साथै सुदुरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ ।

    प्रभावित जिल्लाहरू

    विभागका अनुसार सतर्कता अपनाउनुपर्ने जिल्लाहरुमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुुपर्ने जिल्लाहरुमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु रहेका छन् ।

    विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न पनि अनुरोध गरेको छ ।

    विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउन भनेको छ ।

    यस्तै नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ । विभागले मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिन नियमित रूपमा अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ ।

  • अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

    काठमाडौं । ९ जेठः काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला_ ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो ।

    यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरे ।


    सम्झौताअनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यहीँ जेठ १५ गतेदेखि विशेष ट्याग लगाइने भएको छ । यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ । यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो लगेज चोरी, झोला हराउने तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको राससलाई जानकारी दिए ।


    उनले भने, “सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुको लगेज हराउने, चोरी हुने तथा अन्य अवाञ्छित गतिविधि रोक्न यो प्रणाली प्रभावकारी हुनेछ । यात्रुको सुरक्षालाई केन्द्रमा राखेर ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच सहकार्य गरिएको हो । प्रारम्भिक चरणमा जेठ १५ बाट यो व्यवस्था लामो दूरीका सवारी साधनमा लागू हुनेछ ।” राष्ट्रिय यातायात व्यवसायीक महासङघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागिएको जानकारी दिए । उनका अनुसार यात्रुको लगेज सुरक्षित राख्ने विषय लामो समयदेखि चुनौतीका रूपमा रहेको थियो ।

    उनले भने, “जहाजमा जस्तै अब बसमा पनि लगेज ट्याग प्रणाली लागू हुनेछ । यसले यात्रुको झोला साटिने, हराउने वा गलत व्यक्तिले लैजाने समस्या हटाउनेछ । यात्रुले ढुक्क भएर यात्रा गर्न सक्ने वातावरण बन्नेछ ।” यातायात व्यवसायीका अनुसार चाडपर्व, भीडभाड तथा रात्रीकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो । कतिपय अवस्थामा चोरी तथा अवैध वस्तु ओसारपसारमा सार्वजनिक सवारीको दुरुपयोग हुने गरेको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गर्दै आएका थिए । नयाँ प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।

    यस प्रणालीअन्तर्गत बस काउन्टरबाट यात्रुको लगेजमा कोड वा नम्बरसहितको ट्याग लगाइनेछ । सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ । गन्तव्यमा पुगेर ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिने व्यवस्था मिलाइने तयारी गरिएको छ । ट्राफिक प्रहरीका अनुसार आगामी दिनमा प्रविधिमैत्री तथा डिजिटल प्रणालीसमेत जोड्ने योजना बनाइएको छ । आवश्यक परे क्युआर कोड वा डिजिटल रेकर्ड राख्ने अभ्यास पनि सुरु गर्न सकिने बताइएको छ ।

    यसैबीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजै “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३”को पनि शुभारम्भ गरेको जनाएको छ । वर्षायाममा हुन सक्ने सडक दुर्घटना, पहिरो, डुबान तथा सवारी अवरोधलाई लक्षित गर्दै उक्त अभियान सुरु गरिएको कार्यालयले जनाएको छ ।

    ट्राफिक प्रहरीले मनसुन अवधिमा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सवारी साधनको प्राविधिक अवस्था परीक्षण, चालकको स्वास्थ्य जाँच, जोखिमयुक्त सडकको निगरानी तथा यात्रु सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ । सार्वजनिक यातायात क्षेत्रमा नयाँ सुरक्षा अभ्यासको रूपमा हेरिएको लगेज ट्याग प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भए यात्रुको विश्वास बढ्नुका साथै सार्वजनिक यातायात सेवा थप व्यवस्थित र सुरक्षित बन्ने अपेक्षा गरिएको छ ।

  • दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    काठमाडौँ, ८ जेठ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले दुई सातामा रु पाँच करोड २५ लाख कमाइ गरेको छ । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले जेठ ७ गते बेलुकीसम्ममा उक्त कमाइ गरेको निर्माण कम्पनी षट्कोण आटर््सले जनाएको छ ।

    कम्पनीका प्रमुख म्याक्स दीपेश खत्रीका अनुसार चलचित्रले १४ दिनमा घरेलु बजारमा गरेको कमाइ उत्साहजनक छ । उक्त चलचित्रका निर्मातासमेत रहेका खत्रीले तेस्रो सातामा प्राप्त ‘शो’ सङ्ख्याले आगामी दिनमा समेत राम्रो कमाइ गर्ने अपेक्षा गरे । उनले भने, “हामीले घरेलु दर्शकबाट पाएको मायालाई धन्यवाद भन्ने कुनै शब्द नै छैन । हामीलाई विश्वास गरेर चलचित्र हेर्न आएका दर्शक फर्किँदा सन्तुष्ट हुनुभएको छ, त्यो नै हाम्रो ठूलो सफलता हो । यसपटक हामीले सामाजिक दायित्वका रुपमा मनोरन्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, दर्शकले रुचाउनुभयो, कृतज्ञ छौँ ।”

    “हामीले चलचित्रमार्फत देखाउन खोजेको विषय र दिएको सन्देशलाई दर्शकले स्पष्ट बुझ्नुभएको छ, चलचित्र हेरिसकेका दर्शकको प्रतिक्रिया लिन मसहित हाम्रो चलचित्रमा आवद्ध कलाकार नेपालभर मुख्य सहरमा रहेका चलचित्र भवन पुगेका थियौँ, सबै ठाउँमा दर्शकले उस्तै राम्रो प्रतिक्रिया दिनुभयो । देशभर चलचित्रलाई जुन सोचका साथ ग्रहण गर्नुभएको छ, त्यो हाम्रो सफलता हो”, अभिनेत्री खड्काले भनिन् ।

    उनका अनुसार नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।

  • सुनसरीमा नेपाली सेनाको एकीकृत विपद् प्रतिकार्य

    सुनसरीमा नेपाली सेनाको एकीकृत विपद् प्रतिकार्य

    धरान (सुनसरी), ९ जेठः सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चौसठ्ठीबिघा (रास ताल)मा एकीकृत जिल्ला विपद् प्रतिकार्य ‘अभ्यास मनसुन–६’ सम्पन्न गरेको छ । मनसुनको समयमा कोशी प्रदेशमा हुनसक्ने सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै श्री नं २ बाहिनी अड्डाको आयोजनामा सम्पन्न अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सरकारी र सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।

    पूर्वी पृतना हेडक्वार्टर इटहरीका पृतनापति गौरवकुमार केसीले गत वर्ष कोशी प्रदेशका इलाम र झापामा आएको ठूलो बाढीपहिरो तथा कोशी क्षेत्रमा देखिएको जटिल बाढीजन्य अवस्थालाई मध्यनजर गर्दै यस्ता अभ्यास समय समयमा सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले यस्ता अभ्यासले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


    हालको मनसुनलाई लक्षित गर्दै पूर्वी पृतना हेडक्वार्टर इटहरीमा एउटा हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । उनले बाढीपहिरोजस्ता विपद्का समयमा त्यसलाई तत्काल परिचालन गर्न सकिने बताए । पृतनापति केसीले विपद् व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै स्थानीयवासीको सक्रिय सहभागिता, क्षमता विकास तथा पूर्वाधार निर्माणमा जोड दिए । स्थानीय तह र समुदाय सक्षम भएमा विपद्का घटनामा तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।

    विपद्को उच्च जोखिममा रहेको कोशी प्रदेशमा बर्सेनि विभिन्न प्रकारका विपद्का घटना हुने गरेकाले यस्ता अभ्यास अत्यन्त आवश्यक रहेको उनले उल्लेख गरे । स्थानीय समुदायको सहकार्य तथा सुरक्षा निकायहरूको एकीकृत प्रयासमा सञ्चालन गरिने यस्ता अभ्यासले भविष्यमा आउने बाढीजन्य विपद्मा प्रभावकारी प्रतिकार्य गर्न महत्त्वपूर्ण सहयोग पुग्ने उनको भनाइ थियो ।

    अभ्यासका क्रममा विपद् उद्धार तथा व्यवस्थापनसम्बन्धी विभिन्न सामग्री प्रदर्शन गरिएको थियो । मनसुनका बेला बाढी, डुबान, कटान तथा अन्य प्राकृतिक प्रकोपबाट हुनसक्ने जोखिमलाई समयमै व्यवस्थापन गर्न र उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउन अभ्यास सञ्चालन गरिएको सेनाले जनाएको छ ।

    अभ्यासका क्रममा सम्भावित विपद्का घटनाको कृत्रिम अवस्था सृजना गरी उद्धार, राहत व्यवस्थापन, घाइतेको उद्धार तथा समन्वयका विभिन्न पक्षको प्रदर्शन गरिएको थियो कार्यक्रममा श्री भगवती गण, श्री शिवदल गण, श्री कालीशक्ति गण, श्री सर्वभाग्य दल गण, अमरदल गण, भीमकाली गुल्म तथा नं १ विपद् व्यवस्थापन गणलगायतका विभिन्न गण तथा गुल्मका नेपाली सेनाका विपद् उद्धार टोलीको सहभागिता रहेको थियो ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेबेलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

  • हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान

    हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान

    काठमाडौँ, ८ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा आज एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उनीहरुलाई सम्मान गरे ।

    सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई हार्दिक बधाई दिनुहुँदै हिमालको चुचुरोमा राष्ट्र तथा सङ्गठनको झण्डा फहराउनु गौरवको विषय भएको बताए ।


    उनले उच्च मनोवल तथा आँट र साहस लिइ विश्वको सर्वोच्च शिखर सगरमाथामा राष्ट्र तथा सङ्गठनको झण्डा फहराउँदा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको मनोवलमा हौसला, प्रेरणा र उत्साह मिलेको चर्चा गर्दै यस्ता प्रकृतिका कार्यहरूलाई सङ्गठनले अझै उच्च प्राथमिकता साथ अगाडि बढाउने बताए ।


    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरूले विश्वको सर्वोच्च शिखरको सफल आरोहणका साथै हिमाली तथा उच्च पहाडी सीमावर्ती क्षेत्रमा सुरक्षा र आपतकालीन उद्धार क्षमतालाई सुदृढ बनाउन मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयमा उच्च भू–भाग खोज तथा उद्धारलगायत तालिमहरूको सञ्चालनले हिमाली तथा उच्च पहाडी भू–भागहरूमा उद्धार तथा सीमा सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपाल थप सक्षम हुँदै गएको बताए ।


    सो कार्यक्रममा शेर्पा र कार्कीले राष्ट्र र सङ्गठनको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराउन पाउनु गर्वको विषय भएको र सफल आरोहणका लागि सहयोग, समन्वय तथा साथ दिनुहुने सशस्त्र प्रहरी बल नेपाललगायत सम्पूर्णमा हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरे ।


    सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो भने सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेका थिए ।

    सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही हुन् । उनीहरूको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको छ ।

  • रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता

    रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता

    गण्डकी, ८ जेठ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित गीतेन्द्रबाबु राई (जिवी) र छविलाल जोशीको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने आदेश गरेको छ । जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी ठगीतर्फको अभियोग दाबी कायम रहने तर अन्य मुद्दा अभियोग दाबी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

    उनका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमा लामिछानेसहित अन्य प्रतिवादीमाथि लगाइएको सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर तथा राष्ट्र बैंकसम्बन्धी कसुरअन्तर्गत अभियोग अब नलाग्ने गरी संशोधन हुने अदालतको आदेश छ ।

  • महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु

    महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु

    जलेश्वर (महोत्तरी), ८ जेठ । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज जिल्लाको मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो । मनरासिस्वा नपा–७ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरु १२ वर्षीया स्नेहाकुमारी र छ वर्षीया शिवानीकुमारी तथा अजिज नदाफकी छोरी १२ वर्षीया अफसाना खातुनको डुबेर मृत्यु भएको हो । सरपल्लो गाउँकी तीनै जना बालिका आज दिउँसो अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका थिए । नुहाउने क्रममा खुट्टा चिप्लेर नदीमा डुबेर मृत्यु भएको हो ।

    प्रहरीका अनुसार गौशाला नपा–४ रजखोर गाउँ बस्ने नरेश महतोकी छोरी दुई वर्षीया दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले बताए । मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

  • एमाले सचिवालय बैठक भोलि पुनः बस्ने, आज उठ्यो नेतृत्व परिवर्तनको विषय

    एमाले सचिवालय बैठक भोलि पुनः बस्ने, आज उठ्यो नेतृत्व परिवर्तनको विषय

    भक्तपुर, ८ जेठ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ः०० बजे बसेको केन्द्रीय सचिवालय बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनिभूत छलफल गरिएको छ । साँझ बैठकपछि सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको बताए ।

    आजको बैठकमा पाँच जनाले लामो समय लिएर बोलेको र अझै १२ जनाले बोल्न बाँकी रहेको बताउँदै उहाँले नेताहरूको कार्यविभाजनको विषय आजको बैठकमा प्रवेश नपाएको जानकारी दिए । सचिवालयको अर्को बैठक भोलि बिहान ११ः३० बजे गुण्डुस्थित अध्यक्ष निवासमा पुनः बस्ने गरी स्थगन भएको उनले जानकारी दिए । आजको बैठकमा उपाध्यक्षहरुले ओलीको नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका छन् ।

  • स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थलाई समितिको निर्देशन

    स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थलाई समितिको निर्देशन

    काठमाडौँ, ८ जेठ । प्रतिनिधिसभा, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न र विद्यमान कर तथा भन्सार महसुलको पुनरावलोकन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले उक्त निर्देशन दिएको हो । समिति सभापति रहबर अन्सारीले नेपाली उद्योगले लामो समयदेखि आफ्नो प्रतिस्पर्धात्मक क्षमता घट्दै गएको गुनासो गरिरहेको सन्दर्भमा समितिले उक्त निर्देशन दिएको जानकारी दिए ।

    कच्चापदार्थ आयात गर्दा लाग्ने उच्च कर र भन्सार महसुलका कारण नेपालमै उत्पादित वस्तुको लागत महँगो हुन गई आयातित वस्तुहरूसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको स्वदेशी उद्योगीको गुनासो छ । उद्योगीहरूको यसै गुनासो र समस्यालाई सम्बोधन गर्न समितिले आज उद्योगमन्त्रीको उपस्थितिमा राजस्व सचिव, भन्सार विभागका महानिर्देशकसहित सम्बन्धित उद्योगी तथा प्रतिनिधिसँग छलफल गरेको थियो ।