Category: समाचार

  • चीनको नयाँ अन्तरिक्ष यात्रा

    चीनको नयाँ अन्तरिक्ष यात्रा

    जियुकुआन (चीन), ११ जेठ (रासस–एपी) । चीनले आफ्नो अन्तरिक्ष महत्त्वाकांक्षालाई नयाँ चरणमा पुर्‍याउने प्रयासस्वरूप आइतबार राति शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । तीन अन्तरिक्ष यात्री बोकेको यो मिसनमा एक जना सदस्यलाई अन्तरिक्ष स्टेशनमा पूरा एक वर्ष बसाउने योजना समावेश गरिएको छ ।

    यसलाई लामो अवधिको मानव अन्तरिक्ष बसाइसम्बन्धी महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ । शेनझोउ–२३ अन्तरिक्ष यान उत्तरपश्चिम चीनस्थित जियुकुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ पठाइएको हो । चीनले सन् २०३० भित्र पहिलोपटक मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्यतर्फ तयारी तीव्र बनाइरहेका बेला यो प्रक्षेपणलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

    यस मिसनमा कमान्डर झु याङ्झु, झाङ झियुआन र लाइ का–यिङ सहभागी छन् । चिनियाँ अधिकारीहरूले लाइलाई उहाँको नामलाई म्यान्डारिन भाषामा उच्चारणअनुसार रूपान्तरण गरेर ‘ली जियायिङ’ नामले पनि चिनाउने गरेका छन् । हङकङमा जन्मिनुभएका तथा त्यहीँ हुर्किनुभएका लाइले कम्प्युटर फरेन्सिक विषयमा विद्यावारिधि हासिल गरेका छन् । उनलाई अन्तरिक्ष मिसनमा सहभागी हुने सहर पृष्ठभूमिबाट आएका पहिलो चिनियाँ अन्तरिक्ष यात्रीका रूपमा पनि प्रस्तुत गरिएको छ ।

    सरकारी सञ्चारमाध्यमका अनुसार शेनझोउ–२३ को टोलीले अन्तरिक्षमा दर्जनौँ वैज्ञानिक तथा प्रयोगात्मक परियोजनाहरू सञ्चालन गर्ने तयारी गरेको छ । यो टोलीले हाल २०० दिनभन्दा बढी समयदेखि टियाङ्गोङ अन्तरिक्ष स्टेशनमा कार्यरत शेनझोउ–२१ का चालक दलसँग कक्षामा भेट गर्ने तथा कार्य हस्तान्तरण प्रक्रिया पूरा गर्ने अपेक्षा गरिएको छ ।


    यस मिसनको सबैभन्दा उल्लेखनीय पक्ष भनेको तीन सदस्यीय टोलीमध्ये एक अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष स्टेशनमा लगातार एक वर्ष राख्ने योजना हो । यो बसाइ सफल भएमा त्यसलाई अन्तरिक्षमा मानवको सबैभन्दा लामो एकल प्रवासमध्ये एक मानिनेछ । सरकारी सञ्चारमाध्यमका अनुसार यस प्रयोगको उद्देश्य लामो अवधिको अन्तरिक्ष वातावरणमा मानव शरीरको अनुकूलन क्षमता, सहनशीलता तथा कार्यसम्पादन सीमाबारे विस्तृत अध्ययन गर्नु हो ।

    पछिल्ला वर्षहरूमा चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई तीव्र रूपमा विस्तार गर्दै आएको छ । टियाङ्गोङ अन्तरिक्ष स्टेशनलाई केन्द्रमा राखेर चिनियाँ अन्तरिक्ष यात्रीहरूले लगातार नयाँ मिसनहरू सञ्चालन गरिरहेका छन् । यो अन्तरिक्ष स्टेशन चीनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अमेरिकी प्रतिबन्धका कारण प्रभावकारी रूपमा बाहिरिएपछि आफ्नै पहलमा विकास गरेको संरचना हो । विश्व अन्तरिक्ष प्रतिस्पर्धामा अमेरिकालाई चीनको प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेरिन्छ ।

    अमेरिकी अन्तरिक्ष निकाय नासाले पनि सन् २०२८ सम्ममा पुनः चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य अघि सारेको छ । यसले अन्तरिक्ष क्षेत्रमा दुई शक्तिबीचको प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ । चीनको अन्तरिक्ष स्टेशन टियाङ्गोङले पहिलोपटक सन् २०२१ मा चिनियाँ चालक दललाई स्वागत गरेको थियो । त्यसयता यो चीनको मानव अन्तरिक्ष अभियानको मुख्य आधार बनेको छ । टियाङ्गोङको अर्थ ‘स्वर्गीय महल’ भन्ने हुन्छ ।

    गत वर्ष शेनझोउ कार्यक्रममा आपतकालीन उद्धार मिसनसमेत सञ्चालन गरिएको थियो । ‘दिव्य पोत’ भन्ने अर्थ दिने यस कार्यक्रमअन्तर्गत क्षतिग्रस्त अन्तरिक्ष यानका कारण अन्तरिक्ष स्टेशनमा अड्किएका अन्तरिक्ष यात्रीहरूको टोलीलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काइएको थियो । शेनझोउ–२३ को प्रक्षेपणसँगै चीनले अब दीर्घकालीन अन्तरिक्ष बसाइ, वैज्ञानिक अनुसन्धान र चन्द्र अभियानतर्फ आफ्नो रणनीतिक तयारीलाई अझ अगाडि बढाएको सङ्केत दिएको छ ।

  • सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

    सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

    काठमाडौँ, ११ जेठः सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले आज पूर्वप्रधानमन्त्री देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

    आदेशमा भनिएको छ, “माथिल्लो प्रकरण नं (८) मा उल्लेख र विश्लेषण गरिएअनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनुपूर्व काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्न दिइएको अनुमति स्वतः निष्कृय हुने देखियो, तसर्थ काठमाडौँ जिल्ला अदालतबाट निवेदकलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गरिएको आधारमा निवेदकलाई पक्राउ नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिएको छ ।”

    अनुसन्धानका लागि प्रचलित कानुनको अधिनमा रही पक्राउ गर्न सकिने भए पनि त्यस्तो पक्राउ ‘स्वेच्छाचारी’ हुन नहुने र कानुनी प्रक्रिया तथा स्थापित पद्धतिको पालना नगरी गरिने पक्राउले व्यक्तिको स्वतन्त्रता हनन हुने भएकाले अदालत र अनुसन्धान निकाय सचेत हुनुपर्ने आदेशमा भनिएको छ ।

  • नेपाली क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक

    नेपाली क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक

    काठमाडौँ, ११ जेठः नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२६ का लागि ३८ पुरुष तथा २५ महिला क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ ।
    क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार खेलाडीको खेल प्रदर्शन र योगदानका आधारमा उनीहरुलाई विभिन्न श्रेणीमा विभाजन गरिएको हो । पुरुषतर्फको ‘ए’ प्लस श्रेणीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी तथा सन्दीप लामिछाने परेका छन् ।

    सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसीलाई ‘ए’ श्रेणीमा समावेश गरिएको छ । यस्तै ‘बी’ श्रेणीमा ललितनारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुलशन झा रहेका छन् भने ‘सी’ श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, ईशान पाण्डे, बशिर अहमद, लोकेश बम, शाहव आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल साह परेका छन् ।

    विकासतर्फको ‘डी’ श्रेणीमा त्रितराज दास, राशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिश जिसी र सागर ढकाल समावेश छन् । यसैगरी महिला क्रिकेट टोलीतर्फ इन्दु वर्मा, पूजा महतो, रुविना क्षेत्री र सिता राना मगर ‘ए’ श्रेणीमा परेका छन् ।

    कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय ‘बी’ श्रेणीमा रहेका छन् । त्यसैगरी इन्दु रावल, कविता जोशी, रुवी पोदार र रिया शर्मा ‘सी’ श्रेणीमा समावेश हुँदा विकासतर्फको ‘डी’ श्रेणीमा रोमा थापा, सुमन विष्ट, इश्वरी विष्ट, सोनु पाख्रिन, साना प्रवीन, सवित्री धामी, काजल श्रेष्ठ, सीमा केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अस्मिना कर्माचार्य र रचना चौधरी रहेका छन् ।

    क्यानले पुरुषतर्फ ‘ए प्लस’ श्रेणीका खेलाडीलाई मासिक रु एक लाख २० हजार पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । ‘ए’ श्रेणीका खेलाडीले रु एक लाख, ‘बी’ श्रेणीका खेलाडीले रु ७५ हजार, ‘सी’ श्रेणीका खेलाडीले रु ५५ हजार तथा विकासतर्फ ‘डी’ श्रेणीका खेलाडीले मासिक रु ३५ हजार पाउनेछन् ।
    यस्तै महिलातर्फ ‘ए’ श्रेणीका खेलाडीलाई मासिक रु ५५ हजार, ‘बी’ श्रेणीलाई रु ४० हजार, ‘सी’ श्रेणीलाई रु ३० हजार तथा विकासतर्फ ‘डी’ श्रेणीलाई मासिक रु २५ हजार पारिश्रमिक दिइने क्यानले जनाएको छ ।

  • शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतहरुको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतहरुको शिष्टाचार भेट

    काठमाडौँ, ११ जेठः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)मा आबद्ध विभिन्न मुलुकका राजदूतहरुले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज नेपालस्थित इयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैरआवासीय राजदूतहरुले शिक्षामन्त्री पोखरेलसँग संयुक्त रुपमा भेटवार्ता गरेका हुन् । भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचार–विमर्श भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

    नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा इयूलगायत मुलुकले गर्दै आएको सहयोगका निम्ति धन्यवाद दिँदै आगामी दिनहरूमा यी देशहरुसँग थप साझेदारी बढाउन मन्त्रालय तत्पर रहेको बताए । मन्त्री पोखरेलले सरकारको नीति र प्राथमिकताबारे जानकारी गराउँदै विद्यमान शिक्षाका समावेशिता, पूर्वाधार विकास शिक्षक पेसागत विकास लगायतका क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने विचार व्यक्त गरे । शिक्षामा प्रविधिको पहुँच विस्तार, उच्च शिक्षामा साझेदारिता आदि विषयमा एक अर्का मुलुकहरूबीचको समन्वयलाई बलियो बनाएर लैजानुपर्नेमा उनले जोड दिए ।

    मन्त्री पोखरेलले मन्त्रालयले चालेका कदमबारे थप प्रष्ट पार्दै शिक्षामा डिजिटाइजेसन, उच्च शिक्षामा विद्यार्थी मात्रै नभएर विश्वविद्यालयहरूका ‘फ्याकल्टी मेम्बर’ को एक्सचेन्जका कार्यक्रमहरू सञ्चालन गर्न तथा भविष्यमा शैक्षिक संस्था र विश्वविद्यालयहरूसँग थप सहकार्य तथा साझेदारीता बढाउन मन्त्रालय तयार रहेको उल्लेख गरे । मन्त्री पोखरेलले उच्च शिक्षाको पुनःसंरचना गर्न लागिरहेको सन्दर्भमा विभिन्न मुलुकको विज्ञता र अनुभव साझा गर्न आग्रह गरे ।

    उनले दुईदेशबीचमा खुला छलफलबाट आगामी दिनमा के कस्ता सहकार्य गर्न सकिने धारणा राखे ।
    युरोपेली सम्बद्ध मुलुकका प्रतिनिधिहरूले नेपालको परिवर्तित सन्दर्भमा सरकारको प्राथमिकताको क्षेत्रका साथै नेपालको शिक्षा, खासगरी उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न चासो देखाउनुभएको थियो । साथै, उहाँहरूले नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिङ्गो इयू इच्छुक रहेको बताउँदै नेपालको शिक्षा क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिने र उच्च शिक्षामा कसरी सहकार्य तथा साझेदारीलाई अगाडि बढाउने विषयमा जोड दिएका थिए ।

    साइप्रस, रोमानिया, नेदरल्याण्डलगायत मुलुकका राजदूतहरूले शिक्षाको क्षेत्र विशेषतः उच्च शिक्षाको क्षेत्रमा सहकार्य गर्न आफूहरू तत्पर रहेको बताए । नेपालबाट साइप्रस, रोमानिया लगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि नेपालीहरु जाने गरेका सन्दर्भमा दुई देशबिचको सम्बन्धलाई थप बिस्तार गरेर अगाडि बढ्नुपर्ने उनीहरुको जोड थियो ।

  • नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डङ्गोल नियुक्त

    नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डङ्गोल नियुक्त

    काठमाडौँ, ११ जेठः सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डङ्गोललाई क्यानको महानिर्देर्शक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    मन्त्रिपरिषद् बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । यस्तै बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको प्रति क्विन्टल रु तीन हजार ६६० र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ८६० तोकेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल–चीन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना (चिलिमे–केरुङ)को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र ‘लेटर अफ रिप्लाइङ’ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताए ।

  • विषाक्त खानाले एकै घरका चार बिरामी, एकको अवस्था गम्भीर

    विषाक्त खानाले एकै घरका चार बिरामी, एकको अवस्था गम्भीर

    गाईघाट (उदयपुर), ११ जेठः त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना टोलका स्थानीय छिमेकी राधा बुढाथोकीका अनुसार विषाक्त खानाका कारण २३ वर्षीय हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी र नन्दहरु १४ वर्षीय यशोदा र अर्का ९ वर्षीय यासिका बुढाथोकी रहेका छन् ।

    छिमेकी राधा बुढाथोकीका अनुसार शनिबार हेमा बुढाथोकीले घरमा बजारबाट ल्याएको मुसुरोको दालसहितको खाना खाएको र शनिबार रातिदेखि नै बान्ता तथा बेहोस हुने लक्षण देखिएपछि परिवारका सबै बिरामीलाई आफन्त र छिमेकीले उपचारका लागि जिल्ला अस्पतालमा लगेको राधा बुढाथोकीले बताए ।

    तीन जना योगेश, यासिका र यशोदाको उपचारपछि घर फर्केको जिल्ला अस्पताल उदयपुरले बताएको छ । तर, २३ वर्षीया हेमा बुढाथोकीको अवस्था चिन्ताजनक भएका कारण थप उपचारका लागि विराटनगर पठाइएको उदयपुरका प्रमुख डा मुकेश झाले बताए । हेमाको श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजागारमा विदेशमा रहेका छन भने घरमा हेमासहित छोरा योगेश र नन्दहरु यशोदा र यसिकासहित बस्दै आएको छिमेकीहरुले बताएका छन् ।

  • ऊर्जामन्त्री भन्छन् : जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा

    ऊर्जामन्त्री भन्छन् : जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा

    काठमाडौँ, ११ जेठः ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए ।

    मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पारे । उनले यस्ता आयोजना विद्युत् उत्पादनका लागि मात्र नभई पानी व्यवस्थापन, बाढी नियन्त्रण, सिँचाइ विस्तार र पर्यटन प्रवद्र्धनका लागि समेत मेरुदण्ड बन्ने उल्लेख गरे ।


    कुलेखानीका तीनवटै जलविद्युत् केन्द्रका कर्मचारीसँगको छलफलमा मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक जोखिम र अनियमित वर्षालाई मध्यनजर गर्दै भविष्यका लागि पानी भण्डारण गर्ने संरचनाको महत्व अझ बढेको उल्लेख गरे । “जलवायु परिवर्तनले हिमनदी पग्लिने र वर्षाको स्वरूप बदलिने जोखिम बढाएको छ, यस्तो अवस्थामा ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाको विकल्प छैन”, मन्त्री श्रेष्ठले भने ।

    मन्त्री श्रेष्ठले औद्योगिक क्षेत्र, डाटा सेन्टर र सूचना प्रविधि उद्योगका लागि दिगो ऊर्जा आपूर्ति सुनिश्चित गर्न जलाशययुक्त आयोजनाबाट ‘पिक आवर’ (उच्च मागको समय)मा बढी विद्युत् उत्पादन गर्न सकिने उल्लेख गरे । उनले नेपाल विद्युत् प्राधिकरणलाई जलाशययुक्त आयोजनाको एकीकृत विकास मोडल तयार गर्न निर्देशन दिँदै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए । सरकारले निजी क्षेत्रलाई आकर्षित गर्न यस्ता आयोजनाको लाइसेन्स अवधि ५० वर्ष कायम गरिसकेको जानकारी दिँदै उनले लगानीकर्तालाई यस क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।


    कुलेखानीलाई नेपालको ‘रोल मोडल’ परियोजनाका रूपमा व्याख्या गर्दै मन्त्री श्रेष्ठले स्थानीयस्तरबाट उठेका सामाजिक विषय र गुनासोलाई तत्काल सम्बोधन गर्न निर्देशन दिए । उनले जलाशय वरपर बढ्दो पर्यटकीय गतिविधिसँगै फोहर व्यवस्थापन चुनौतीपूर्ण बनेको भन्दै इन्द्रसरोवर क्षेत्रको वातावरण जोगाउन स्थानीय तह र व्यवसायीसँग समन्वय गर्न आग्रह गरे ।

    मन्त्री श्रेष्ठले आइतबार आयोजना अवलोकन गरेपछि आयोजना क्षेत्रभित्रको जग्गा सीमाङ्कन गर्न, बाढीपहिरोबाट जलाशयमा आउने ढुङ्गा–माटो व्यवस्थापन गर्न र पुराना उपकरणको मर्मत तथा प्रतिस्थापनका विषयलाई चाँडो सक्न निर्देशन समेत दिएका थिए । सन् १९८२ मा निर्माण सम्पन्न भएको कुलेखानी आयोजना नेपालकै पहिलो जलाशययुक्त जलविद्युत् आयोजना हो । यसको कूल जडित क्षमता १०६ मेगावाट रहेको छ कुलेखानी–१ (६० मेगावाट) कुलेखानी–२ (३२ मेगावाट) र कुलेखानी–३ (१४ मेगावाट) रहेको छ ।

  • एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

    एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

    भक्तपुर, ११ जेठः नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई जिम्मेवारी दिइएको छ । एमालेले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनसमेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई सथानीय तहकेन्द्रित र जनसङ्गठनको इञ्चार्जको जिम्मेवारी दिएको छ ।

    एमालेका अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा सम्पन्न सचिवालय बैठकमा प्रस्तुत सो प्रस्तावमाथि आएका सुझावलाई ध्यान दिएर महासचिव पोखरेलले अध्यक्षको परामर्शमा आवश्यक परिमार्जन गर्ने र अध्यक्षले अन्तिमरूप दिई सर्कुलर पठाउने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । तीन दिनसम्म चलेको बैठकको अन्तिम दिन अध्यक्ष ओलीले सम्बोधन गर्दे पार्टीमा एकता कायम राख्न आग्रह गरेका थिए ।


    बैठकले पार्टी पुनर्गठन र प्रतिनिधिसभा निर्वाचनको समीक्षालगायतका विषयमा थप अध्ययन गरी एक महिनाभित्र सुझाव दिन पार्टीका उपाध्यक्ष रामबहादुर थापा संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको भट्टले जानकारी दिए । समितिमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव पोखरेल, उपमहासचिव भट्ट, सचिवहरू छविराज विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र आठ प्रदेशका इञ्चार्ज रहने निर्णय भएको नेता भट्टले बताए ।

    विसं २०७२ को भूकम्पबाट पार्टी कार्यालय भवन क्षतिग्रस्त भएपछि विभिन्न ठाउँमा कार्यालय सञ्चालन गर्द आएकामा सचिवालय बैठकले मदननगर बल्खुस्थित आफ्नै जग्गामा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिए । सो पार्टीको केन्द्रीय कमिटीको बैठक आउँदो असार दोश्रो साता बस्ने तय भएको छ ।

  • फिलिपिन्समा भवन दुर्घटना

    फिलिपिन्समा भवन दुर्घटना

    मनिला, ११ जेठ (रासस–एपी) । फिलिपिन्सको राजधानी मनिलाको उत्तरमा रहेको एन्जलस सहरमा निर्माणाधीन नौ तले भवन आइतबार बिहान ढल्दा दर्जनौँ कामदार फसेको आशङ्का गरिएको छ । दुर्घटनापछि उद्धार अभियान तीव्र पारिएको छ भने कम्तीमा २२ जना कामदार जीवितै बाहिर निस्कन सफल भएका छन् । प्रहरीका अनुसार पम्पङ्गा प्रान्तस्थित एन्जलस सहरमा आँधीबेहरीका बीच बिहान सबेरै निर्माणाधीन भवन एक्कासि ढलेको थियो । घटनापछि १०० भन्दा बढी प्रहरी, उद्धारकर्मी र सरकारी कर्मचारीहरू भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धारमा खटिएका छन् ।

    दुर्घटनास्थलमै रहेका प्रहरी ब्रिगेडियर जनरल जेस मेन्डेजले तत्काल मृत्युको पुष्टि नभएको जानकारी दिए । उनका अनुसार भवनबाट बाहिर निस्कन सफल भएका २२ जना कामदारमध्ये केही घाइते भएका छन् । मेन्डेजले भग्नावशेषभित्र कति जना अझै फसेका छन् भन्ने यकिन तथ्याङ्क तत्काल उपलब्ध नभएको बताए । तर एन्जलस सिटी सूचना कार्यालय प्रमुख जे पेलायोले एक निर्माण फोरम्यानलाई उद्धृत गर्दै कम्तीमा ३० जना कामदार अझै भग्नावशेषमुनि फसेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।


    उद्धार टोलीहरूले भारी उपकरणसहित भग्नावशेष हटाउने, सम्भावित जीवित व्यक्तिको खोजी गर्ने तथा जोखिमयुक्त संरचनाको मूल्याङ्कन गर्ने काम जारी राखेका छन् । अधिकारीहरूले भवन किन ढल्यो भन्ने विषयमा पनि प्रारम्भिक अनुसन्धान सुरु गरेका छन् । एन्जलस सहर फिलिपिन्सको प्रमुख आर्थिक र व्यावसायिक केन्द्रमध्ये एक मानिन्छ । यो क्षेत्र सन् १९९० को दशकको सुरुसम्म अमेरिकी मुख्य भूमिबाहिरका सबैभन्दा ठूला अमेरिकी वायुसेना अड्डामध्ये एकको केन्द्रका रूपमा परिचित थियो । अमेरिकी सैन्य अड्डा बन्द भएपछि एन्जलस र आसपासका क्षेत्रहरू क्रमशः व्यापार, सेवा र मनोरञ्जन केन्द्रका रूपमा विकसित भएका थिए ।

    पुरानो अमेरिकी वायुसेना अड्डा अहिले ‘क्लार्क फ्रिपोर्ट जोन’का रूपमा सञ्चालनमा रहेको छ । उक्त क्षेत्र एन्जलस सहरमा, मेट्रो मनिलाबाट करिब ८० किलोमिटर उत्तरतर्फ अवस्थित छ ।

  • गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

    गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

    पेरिस, ११ जेठ (रासस–एएफपी) । ग्यालापागोस टापु नजिक गहिरो समुद्रमा वैज्ञानिकहरूले दुर्लभ नीलो रङको नयाँ अक्टोपस प्रजाति फेला पारेका छन् । समुद्री सतहबाट करिब एक हजार ८०० मिटर तल भेटिएको यो सानो समुद्री जीवले अनुसन्धानकर्ताहरूलाई केवल आफ्नो असामान्य रङका कारण मात्र नभई, शरीरको बनावट, बासस्थान र व्यवहारका सम्भावित विशेषताका कारण पनि आश्चर्यचकित बनाएको छ ।

    समुद्रको गहिराइमा वैज्ञानिकहरूद्वारा नियन्त्रित पनडुब्बीमार्फत गरिएको अवलोकनका क्रममा यो अक्टोपस पहिलो पटक देखिएको थियो । समुद्रजत्तिकै नीलो देखिने र आकारमा गल्फ बलभन्दा पनि ठूलो नभएको यो जीव देख्नेबित्तिकै एक वैज्ञानिकले उत्साहपूर्वक ‘ऊ सानो छ , यो नीलो छ ,’ भन्दै प्रतिक्रिया दिएको भिडियोमा रेकर्ड भएको थियो ।

    चार्ल्स डार्विन फाउन्डेसनको टोलीले पत्ता लगाएको यस नयाँ प्रजातिबारेको अनुसन्धान सोमबार सार्वजनिक गरिएको हो । अक्टोपससम्बन्धी विज्ञ जेनेट भ्वाइटका अनुसार पहिलो दृश्य हेर्नेबित्तिकै उनलाई यो अत्यन्तै विशेष जीव भएको अनुभूति भएको थियो । अनौठो प्रजातिको पहिचान गर्न आग्रह गरिएपछि उनले यसको अध्ययन सुरु गरेका थिए ।


    सुरुमा शिकागोस्थित फिल्ड म्युजियम अफ नेचुरल हिस्ट्रीका क्युरेटरहरूले उक्त जीवको तस्बिर र विवरणको अध्ययन गरेका थिए । त्यसपछि संरक्षित नमूना हुलाकमार्फत उहाँसम्म पुगेको थियो । नमूना प्राप्त गरेपछि उनी चकित भए । उनका अनुसार त्यो जीव निकै आकर्षक र असाधारण देखिन्थ्यो ।

    यो प्रजातिप्रति उहाँको रुचि तत्काल बढ्नुको एउटा कारण यसको सबैभन्दा नजिकको ज्ञात प्रजाति उरुग्वेको तटमा, दक्षिण अमेरिकाको अर्कै समुद्री क्षेत्रमा बसोबास गर्ने तथ्य पनि थियो । यसले वैज्ञानिकहरूलाई यसको उत्पत्ति, विकास र वितरणबारे थप प्रश्न उठाउन प्रेरित गरेको छ ।

    सामान्यतया नयाँ अक्टोपस प्रजातिको वैज्ञानिक विवरण तयार गर्न यसको शरीरको नमूना काटेर मुख, चुच्चो, दाँत तथा अन्य आन्तरिक संरचनाको परीक्षण गरिन्छ । तर यसपटक अनुसन्धानकर्ताहरूसँग एउटा मात्र नमूना भएकाले त्यसलाई काटेर जोखिम मोल्न उनीहरू इच्छुक थिएनन् ।

    त्यसको विकल्पस्वरूप फिल्ड म्युजियमको टोलीले आधुनिक प्रविधिको सहारा लिएको थियो । सीटी स्क्यान प्रयोग गरी हजारौँ एक्स–रे तस्बिरहरू तयार गरियो र ती सबैलाई संयोजन गरेर अक्टोपसको विस्तृत त्रिआयामिक (३डी) मोडेल बनाइयो । यस प्रक्रियाले बाह्य संरचना बिगार्नुपर्ने आवश्यकता बिना नै यसको भित्री बनावट अध्ययन गर्न सम्भव बनायो ।

    फिल्ड म्युजियमको एक्स–रे प्रयोगशालाकी प्रमुख स्टेफनी स्मिथले कुनै पनि व्यक्तिले पहिले कहिल्यै नदेखेको जीवको भित्री संरचना अवलोकन गर्दै दिन बिताउनु विशेष अनुभव हुने बताएका थिए । वैज्ञानिकहरूले यस नयाँ प्रजातिलाई माइक्रोएलडोन ग्यालापाजेन्सिस नाम दिएका छन् । यो प्रजाति आफ्नो नीलो रङका कारण विशेष रूपमा चिनिएको छ, किनभने प्रकृतिमा यस्तो रङ अपेक्षाकृत दुर्लभ मानिन्छ ।

    अनुसन्धानअनुसार यो अक्टोपस सम्भवतः मेगालेडोनिडे परिवारसँग सम्बन्धित देखिन्छ । यस परिवारका सदस्यहरू प्रायः आकारमा धेरै ठूला हुन्छन् र अन्टार्कटिका आसपासको दक्षिणी महासागरमा पाइन्छन् । तर नयाँ प्रजाति भने सानो आकारको छ र फरक वातावरणमा भेटिएको छ ।

    भ्वाइटका अनुसार यसको शरीरमा देखिने जिद्दी साना हात, प्रत्येक हातमा रहेको केवल एक पङ्क्तिको चुस्ने संरचना र पछाडिको सतहमा रहेको चिल्लो छालाले यसलाई धेरैजसो परिचित अक्टोपसहरूबाट अलग बनाउँछ । छोटा हात र एकल चुस्ने पङ्क्ति भएका अन्य प्रजातिसँग तुलना गर्दा पनि यसको रङ र छालाको बनावटले यसलाई विशिष्ट बनाएको उनले बताए ।


    रङको बनावट पनि रोचक देखिएको छ । यसको माथिल्लो भाग हल्का नीलो देखिन्छ भने तल्लो भाग निकै गाढा बैजनी रङको रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । वैज्ञानिकहरूको अनुमानमा यो रङ संयोजनले जीवलाई गहिरो समुद्रमा सुरक्षा प्रदान गर्न मद्दत गर्छ । भ्वाइटका अनुसार यदि अक्टोपसले प्रकाश उत्सर्जन गर्ने कुनै शिकार समात्यो भने त्यसबाट निस्कने उज्यालोले ठूला शिकारीलाई आकर्षित गर्न सक्छ । यस्तो अवस्थामा अक्टोपसले आफ्नो गाढा रङयुक्त भाग प्रयोग गरेर शिकारमाथि छोप्ने सम्भावना हुन्छ, जसले आफैँलाई शत्रुबाट जोगाउन सहयोग पुर्‍याउँछ ।

    वैज्ञानिकहरूले अझै पर्याप्त अध्ययन हुन नसकेका समुद्री क्षेत्रहरूमा गहिरो समुद्रका नयाँ अक्टोपस प्रजाति भेटिनु पूर्ण रूपमा असामान्य नभएको बताएका छन् । पृथ्वीको विशाल समुद्री भूभागको ठूलो हिस्सा अझै विस्तृत रूपमा अन्वेषण हुन बाँकी रहेको उनीहरूको भनाइ छ । यस सन्दर्भमा भ्वाइटले पृथ्वीको सम्पूर्ण स्थलीय भूभागलाई एकै ठाउँमा जोड्दा पनि प्रशान्त महासागर पूर्ण रूपमा नढाकिने उल्लेख गर्दै समुद्री गहिराइ कति विशाल र अझै अनपेक्षित रहस्यले भरिएको छ भन्ने कुरा औँल्याए ।


    उनले पछिल्लो पटक सन् २०२३ मा कोस्टा रिकाको तट नजिक नयाँ अक्टोपस प्रजाति अवलोकन गरिएको जानकारी पनि दिए । हाल चर्चामा रहेको यो नीलो अक्टोपस भने पहिलो पटक सन् २०१५ मा डार्विन टापु नजिक देखिएको थियो । उक्त टापुको नाम ग्यालापागोस भ्रमणबाट विकासवादको सिद्धान्त निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अङ्ग्रेजी वैज्ञानिक चार्ल्स डार्विनको नाममा राखिएको हो । यस नयाँ प्रजातिसम्बन्धी विस्तृत अनुसन्धान प्रतिष्ठित वैज्ञानिक जर्नल जुटाक्सामा प्रकाशित गरिएको छ ।

  • पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    कास्की, ११ जेठः पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन सफल भएको छ । बजारको मध्यभाग भएर बग्ने यस खोलाको अतिक्रमण हटाउने योजना अघिल्लो कार्यकालकै जनप्रतिनिधिको थियो । तत्कालीन प्रमुख मानबहादुर जिसीले डोजर चलाएर सुरुआतसमेत गर्नुभएको थियो । तर त्यो काम एक दिनपछि अघि बढ्न सकेन । फिर्के मापदण्डको विरोधमा स्थानीयले न्यायालयसम्म गुहारेका थिए । यसलगायत विविध कारणले अतिक्रमण हटाउने प्रयास सफल हुन सकेको थिएन ।

    अहिले भने पोखरा महानगरपालिकाले सङ्घीय सरकारको समेत बलियो साथ पाएपछि फिर्केको खोलाघर हटाउने कार्य आइतबारदेखि सुरु गरेको । पहिलो दिन शान्तिपूर्ण रुपमा सो कार्य सम्पन्न भयो । खोलघरमा निजी÷व्यक्तिगत स्थायी ३५ र अस्थायी ९७ संरचना बनेका छन् । यसैगरी संस्थागत स्थायी १८ र अस्थायी १० वटा संरचना छन् ।

    महानगरले अतिक्रमण हटाउने कार्य निरन्तर अभियानका रूपमा चल्ने जनाएको छ । स्थानीयले समेत खोलाघर हटाउने कार्यमा महानगरलाई साथ दिएका छन् । खोलाघरमै बनेका संरचना हटाउनपर्छ भने पनि त्यसपछिको मापदण्डको भने स्थानीयले विरोध गरेका छन् । फिर्के मापदण्ड छ मिटर वैज्ञानिक र व्यवहारिक नभएको गुनासो फिर्के क्षेत्रका नागरिकको छ ।

    फिर्केको खोलाघर खाली गरेपछि महानगरले फिर्के करिडोर परियोजना सुरु गर्ने योजना बनाएको छ । यस परियोजनाका लागि दातृ निकायबाट सहयोग प्राप्त हुने महानगरले जनाएको छ । पोखरालाई ‘हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोर सहर’ का रूपमा स्थापित गर्ने दूरदर्शी अभियान फिर्के करिडोर परियोजना रहेको महानगर प्रमुख धनराज आचार्यले बताए । प्रमुख आचार्यका अनुसार फिर्के करिडोरको मुख्य अवधारणामा फिर्के खोलाको दायाँ–बायाँ कम्तीमा छ मिटर मापदण्ड कायम गर्दै व्यवस्थित फुटट्रेल, सुरक्षित साइकल लेन, ‘मर्निङ’ तथा ‘इभिनिङ’ वाकका लागि आकर्षक पदमार्ग निर्माण गरिनेछ ।

    “फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ सहरी पहिचान दिने लक्ष्य राखिएको छ । खोलाको प्राकृतिक बहाव संरक्षण गर्दै दुवै किनार हरियाली बेल्ट, रैथाने बोटबिरुवा, ढुङ्गे तटबन्ध, स्मार्ट एलइडी लाइटिङ तथा वातावरणमैत्री सार्वजनिक खुला क्षेत्रले सजाइनेछ,” महानगरले प्रमुख आचार्यले भने ।


    करिडोरभित्र ठाउँठाउँमा पोखरेली शैलीमा विश्रामस्थल, कफी पोइन्ट तथा खुला क्याफे, सेल्फी पोइन्ट र दृश्यावलोकनस्थल, सानो खुला पार्क तथा बस्ने चौतारी, सांस्कृतिक तथा कलात्मक संरचना, बालमैत्री र ज्येष्ठ नागरिकमैत्री खुला क्षेत्र निर्माण गरिने महानगरको योजना छ । “फिर्के करिडोरलाई केवल हिँड्ने बाटो होइन, जीवनशैली र मनोरञ्जनको सार्वजनिक गन्तव्य बनाउने छौँ । यो भविष्यको पोखराको नयाँ सहरी पहिचान बन्नेछ, जहाँ प्रकृति, आधुनिक पूर्वाधार, पर्यटन, स्वास्थ्य, वातावरण र नागरिक जीवनशैलीको सुन्दर सङ्गम हुनेछ,” आचार्यले भने ।


    पोखरा गणेशटोलका लोकनाथ भण्डारी खोलाघर भत्काइसकेपछि उचित व्यवस्थापन र दिगो विकास योजना ल्याउनुपर्ने बताउँछन् । “फिर्केखोला खाली गर्ने कार्यमा हामी स्थानीयको सहयोगनै छ । तर मापदण्डको नाममा व्यक्तिको जमिनमा मनपरि मापदण्ड लागू गर्न पाइँदैन । महानगरलाई आवश्यक परे मुआब्जा दिनुपर्दछ । फिर्के वरपरका संरचना भत्काइसकेपछि यसको व्यवस्थित विकासको योजना ल्याउनुपर्छ”, भण्डारीले भने । पोखरा १८ अधेरिकुनादेखि वडा न २.४.५.७.८.१७ हुँदै वडा नं ६ स्थित पर्यटकीय गन्तव्य फेवाताल–गाईघाटसम्म फैलिएको फिर्के आठ किमी लामो छ ।

  • आजको मौसम : हिमाल–पहाडका केही स्थानमा मध्यम वर्षा र हिमपात, तराईमा तातो हावा

    आजको मौसम : हिमाल–पहाडका केही स्थानमा मध्यम वर्षा र हिमपात, तराईमा तातो हावा

    काठमाडौँ, ११ जेठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

    मधेश प्रदेशलगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल तथा बाँकी तराई भू–भागमा मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ ।

    आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

  • बुटवल–पाल्पा सुरुङमार्गमा आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

    बुटवल–पाल्पा सुरुङमार्गमा आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

    सिद्धार्थनगर (भैरहवा), ११ जेठः सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ । आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ ।

    आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ । पाँच वर्षे निर्माण अवधि तय गरिएको उक्त आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा निर्माण भइरहेको छ । यस ‘मोडल’अन्तर्गत ‘डिजाइन’, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था गरिएको छ ।

    आयोजनाका प्रमुख राजेश पौडेलले सुरुङमार्गमार्फत आगामी असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्यअनुसार कामलाई तीव्रता दिइएको जानकारी दिए । उनका अनुसार निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले सञ्चालन, मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी बहन गर्नेछ । त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डिएलपी) का रूपमा रहने व्यवस्था गरिएको छ ।

    आयोजनाको प्रारम्भिक चरणमा कानुनी तथा प्राविधिक जटिलताका कारण निर्माण कार्य प्रभावित भएको थियो । नेपालमा इपिसी मोडलको नयाँ अभ्यास भएकाले आवश्यक कागजात व्यवस्थापन, रुख कटान अनुमति तथा बजेट व्यवस्थापनमा देखिएका समस्याले केही समय ढिलाइ भएको आयोजनाले जनाएको छ । हाल ती समस्या समाधानतर्फ उन्मुख रहेको र म्याद थप तथा ‘माइलस्टोन’ समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको पौडेलले बताए ।


    सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भइसकेको छ । सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा भिर संरक्षणसम्बन्धी काम गरिने योजना रहेको आयोजनाले जनाएको छ । पैदलयात्रीका लागि ‘रकसेड’भित्र सुरक्षित बाटो निर्माण गरिने तथा बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापनसमेत गरिनेछ ।

    आयोजनाको प्रारम्भिक लागत अनुमान करिब रु १० अर्ब रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब रु सात अर्बमा सम्झौता गरिएको हो । सिद्धार्थ राजमार्गको उक्त खण्ड पहिरो तथा भूक्षयका दृष्टिले जोखिमयुक्त मानिएकाले सुरक्षित यात्रा सुनिश्चित गर्नु तथा जनधनको क्षति न्यूनीकरण गर्नु सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।

  • रौतहटमा बाघ गणना जारी

    रौतहटमा बाघ गणना जारी

    चन्द्रपुर (रौतहट) । ११ जेठः बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ । बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै आइतबार चन्द्रनिगाहपुरमा आयोजित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले यस्तो बताए । बाघप्रति आमनागरिकले सकारात्मक धारणा बनाए मात्रै बाघको संरक्षण हुने र बाघ भएको ठाउँ सुन्दर जङ्गल भएको हँुदा बाघ मार्ने र बाघसँगको दुस्मनी कसैले पनि गर्न नहुने उनको भनाइ थियो ।

    उनले भने, “रौतहटको जङ्गलमा बाघको सङ्ख्या यकीन नभए पनि यहाँका विभिन्न जङ्गलमा बाघ बस्दै आएको देखिएको छ । लोपन्मुख अवस्थामा रहेको पाटेबाघ छ । लमाहा नदीको माथिदेखि तल्लो क्षेत्रमा, धन्सारको वन क्षेत्रमा, हातेमालो सामुदायिक वन उपभोक्ता समुह र रङ्गपुर साझेदारी वनको सतियारी वनक्षेत्र, गैँडाटारको वनक्षेत्र, बागमतीको जुडिबेला र पौराइको वनक्षेत्र, रामलाल वृन्दावन साझेदारीको वनक्षेत्र, फतुवा विजयपुरको नमस्ते सामुदायिक वन क्षेत्रमा बाघको बसोबास रहँदै आएको छ ।”

    बाघले मुख्य रूपमा जरायो, चित्तल, बँदेल, बाह्रसिङ्गालगायत जनावरलाई आहाराका रूपमा प्रयोग गर्ने उनले जानकारी दिए । नेपालमा बाघको सङ्ख्या ३५५ रहेको जानकारी दिँदै डिभिजन वन प्रमुख साहले रौतहटमा पनि बाघको गणना भइरहेको र केही समयपछि बाघको सङ्ख्या यकीन हुने बताए । उनले पाटेबाघको शारीरिक बनावट, स्वभाव, आहारा, बासस्थान तथा आक्रमण गर्ने शैलीबारे जानकारी दिँदै बाघले सामान्यतया मानिसबाट टाढा बस्न रुचाउने, तर आत्मसुरक्षा वा बच्चाको सुरक्षाका लागि आक्रमण गर्नसक्ने बताए ।


    साहले बाघ संरक्षणको महत्व, चुनौती तथा रौतहटमा बाघको अवस्थाबारे जानकारी दिए । विसं २०७७ असोज १४ गते रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । चन्द्रपुर नगरपालिका नगरपालिका– ६ का २७ वर्षीय सङ्गम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको थियो । भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा जङ्गलमा शव फेला परेको थियो । भण्डारीलाई खोज्न गएको दुई युवकलाई पनि सोही समयमा आक्रमण गरी घाइते बनाएको थियो ।

    यसैगरी, २०७८ साल असोज २१ गते रौतहटको लमहा जङ्गलमा बाघले आक्रमण गर्दा चन्द्रपुर–६ थोकरटोलका यज्ञबहादुर रायमाझी घाइते भएका थिए । बिहान घाँस लिन जङ्गल गएका रायमाझीलाई राजमार्ग छेउमै बाघले आक्रमण गरेको थियो । त्यस्तै, २०८१ मङ्सिर १५ गते रौतहटको गुजरा नगरपालिका–१ का वडाध्यक्ष रामजित चौधरी र बौराही चौधरीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । गुजरा–१ राईटोलमा आफ्नै घर नजिक रहेको आलुबारीमा पानी लगाउन गएकाबेला बौराहीमाथि बाघले आक्रमण गरेको देखेर बचाउन गएका गुजरा–१ का वडाध्यक्ष रामजीतलाई झम्टिएर घाइते बनाएको थियो ।

  • हावाहुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

    काठमाडौँ, ११ जेठ । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी रुपमा बिजुली आपूर्तिमा अवरोध उत्पन्न भएपछि मर्मतसम्भारको कामलाई तीव्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण रुख ढल्दा केही स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएपछि मर्मतको काम तीव्र पारिएको हो । प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिइ मर्मत तथा पुनःसञ्चालनको कार्य तीव्र गतिमा अघि बढाइरहेका छन्

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तत्काल मर्मतको काम अगाडि बढाउन प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिएका छन् । विवरणअनुसार पिलुवा–पथलैया–चन्द्रनिगाहपुर खण्डको टावर नं १२२–१२३ बीच रुख ढलेर प्रसारण लाइन प्रभावित भएकामा उक्त रुख हटाउने कार्य सम्पन्न भइसकेको छ । हाल सर्किट चार्ज गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।

    यस्तै सोही खण्डको ९टावर नं १३६–१३७० मा तीन वटा रुख हटाइएको छ तथा लाइन पुनःसञ्चालनका लागि आवश्यक प्राविधिक कार्य जारी रहेको छ ।

    अमलेखगञ्ज–कामाने खण्डको टावर नं ४६–४७ बीच एक रुखका कारण प्रसारण लाइनको कन्डक्टरमा क्षति पुगेको छ । मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको छ र ‘स्ट्रिङिङ’ कार्य सुरु गरिएको छ । आइतबार दिउँसोको हुरीले देशका विभिन्न स्थानमा बिजुली आपूर्तिमा समस्या आएको थियो । सोमबार बिहानसम्म सहज रूपमा बिजुली आपूर्ति गराउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

  • मापसे गरेर सवारी चलाउँदा एक महिनामा १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    मापसे गरेर सवारी चलाउँदा एक महिनामा १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    काठमाडौँ, ११ जेठ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।


    उनका अनुसार कोशी प्रदेशमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । मधेस प्रदेशमा २० सवारी दुर्घटनामा २७ जना घाइते भएका छन् । बागमती प्रदेशमा १२ वटा दुर्घटनामा एक जनाको मृत्यु र १९ जना घाइते भएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु तथा तीन जना घाइते भएका छन् ।

    लुम्बिनी प्रदेशमा नौ वटा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । उता कर्णाली प्रदेशमा तीन वटा दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका पनि तीन दुर्घटनामा चार जना घाइते भएका प्रहरीले जनाएको छ ।


    मापसेका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको बताउँदै ट्राफिक नियमको पालना गर्न सबै चालकलाई प्रवक्ता काफ्लेले आग्रह गरे । उनले विशेषगरी रातिको समयमा, सार्वजनिक बिदा तथा विभिन्न पर्व–उत्सवका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम बढी देखिने गरेको जानकारी दिए । उनले मापसे गरी सवारी चलाउनु आफैँमा गम्भीर कानुनी अपराध मात्र नभई मानवीय जीवनका लागि अत्यन्त जोखिमपूर्ण कार्य भएको उल्लेख गरे ।


    ट्राफिक प्रहरीले पछिल्लो समय देशभर मापसे नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ । विशेषगरी शहरी क्षेत्र, राजमार्ग, व्यस्त चोक तथा रातिको समयमा ट्राफिक चेकजाँचलाई कडाइ गरिएको प्रहरीले जनाएको छ । मापसे गरी सवारी चलाउने चालकलाई कानुनअनुसार कारबाही गर्नुका साथै जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए ।


    उनले भने, “मापसे गरी सवारी नचलाउन तथा सुरक्षित यात्राका लागि जिम्मेवार बन्न सम्पूर्ण चालक तथा सर्वसाधारणलाई अनुरोध गर्दै ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।”उनका अनुसार मादक पदार्थ सेवन गरेपछि चालकको निर्णय क्षमता कमजोर हुने, सवारी नियन्त्रणमा कठिनाइ हुने तथा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्ने भएकाले दुर्घटनाको सम्भावना अत्यधिक रहने गर्दछ । सवारी चलाउँदा पूर्ण रूपमा सतर्कता अपनाउन र ट्राफिक नियमको पालना गर्न उहाँले सबै चालकहरुलाई आग्रह गर्नु भएको छ ।

  • पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु

    पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु

    क्वेटा (पाकिस्तान), ११ जेठ (रासस–एएफपी) । पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आइतबार गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएको एक वरिष्ठ अधिकारीले बताएका छन् ।
    प्रान्तीय राजधानी क्वेटा नजिकै भएको उक्त आक्रमणपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ र उद्धार कार्य जारी रहेको बताइएको छ ।

    प्राप्त तस्बिरहरूमा रेलका डिब्बा पल्टिएको र क्षतिग्रस्त अवस्थामा देखिएको छ, जहाँ स्थानीय बासिन्दा र उद्धारकर्मीहरू भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका छन् । घाइते तथा मृतकलाई स्ट्रेचरमार्फत सुरक्षित स्थानमा सारिँदै गरेको दृश्य पनि देखिएको छ भने सुरक्षा बलले घटनास्थलमा कडा पहरा दिएको छ ।

    अधिकारीका अनुसार क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको उक्त रेलले चमन क्षेत्रको पटरी पार गरिरहेको बेला विस्फोटक पदार्थ बोकेको एक सवारीसाधनले रेलको डिब्बासँग ठक्कर दिएपछि ठूलो विस्फोट भएको थियो । विस्फोटका कारण रेलका झ्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । अर्का अधिकारीले एएफपीलाई बताएअनुसार उक्त रेलमा सवार सैनिकहरू आगामी मङ्गलबारदेखि सुरु हुने ईद बिदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए ।

    बलुचिस्तान पाकिस्तानको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो तर विकासका सूचकाङ्कहरूमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ । यहाँका बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीय जनतालाई लाभ नदिई प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ ।

  • बागमती नदीमा डुबेका दुई युवकको शव भेटियो

    बागमती नदीमा डुबेका दुई युवकको शव भेटियो

    बरहथवा (सर्लाही), १० जेठ । नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ । बागमती नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट शनिबार दुई युवक बेपत्ता भएका थिए । खोलामा डुबेर बेपत्ता भएका लालबन्दी नगरपालिका–९ बस्तीपुरका अन्दाजी १८ वर्षका रोहित महतो र लालबन्दी नगरपालिका–६ का अन्दाजी २० वर्षका गणेश महतोको शव खोजतलासका क्रममा आज बागमती नगरपालिका–११ स्थित खोलाकिनारमा फेलापरेको प्रहरीले जनाएको हो ।

    शनिबार खोला तर्ने क्रममा झप्सी झुलुङ्गे पुलमुनिबाट उनीहरू दुई जनासहित बरहथवा नगरपालिका–५ का अन्दाजी २८ वर्षका सहमद मोमिन, २४ वर्षका मोहम्द अखतर र ब्रहमपुरी गाउँपालिका–३ का अन्दाजी २० वर्षका श्याम भण्डारीलाई समेत खोलाले बगाएको थियो । बगेका तीन जना भने त्यसको केही मिटरको दूरीमा रहेको नुनथर क्षेत्रमा पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।


    उनी शनिबार बिहानै घुम्न निस्किएको र उक्त स्थानमा पुगेको परिवारको भनाइ छ । बेपत्ता रोहित र गणेशको भने खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव घटनास्थलको मुचुल्कापछि परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ । घटनापछि मृतक युवकहरूको गाउँ शोकमा डुबेको छ ।

  • बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन

    बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन

    काठमाडौँ, १० जेठ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा एक समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

    समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक–एक जना प्रतिनिधि सदस्य रहनेछन् । त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ ।

    बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल सहभागी थिए । यस्तै, नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव भिम बुढा, नापी विभागका निर्देशक दयानन्द जोशी र नापी अधिकृत ज्योति ढकालको सहभागिता थियो ।

  • एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

    एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

    काठमाडौँ, १० जेठ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । प्रतियोगिता मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्य नेपाली खेलाडी छनोट गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । छनोट हुने टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी रहेका छन् । त्यस्तै टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामीलगायतका खेलाडी समावेश छन् । त्यसैगरी, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की पनि रहेका छन् ।

  • जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    रासस
    म्याग्दी, १० जेठ । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना उजागर गर्न र समस्या पहिचान गरी त्यसलाई सुल्झाउने प्रयास सुरु गरिएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलाको सम्भावना उजागर, समस्या समाधानका लागि साझा मुद्दा तय गरी जिल्ला, प्रदेश, सङ्घीय तहमा पहल गर्ने उद्देश्यले आइतबारदेखि सुरु भएको पर्यटन प्रर्वद्धन कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

    समुद्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको र ढोरपाटन सिकार आरक्षमा समेटिएको जलजला म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं २ को भूगोलमा पर्छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले ढोरपाटन र जलजलाबाट म्याग्दीले लाभ लिने वातावरण सृजना गराउने उद्देश्यले म्याग्दीका जनप्रतिनिधि, निजी क्षेत्र, स्थानीय सरोकारवालाको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।


    “बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरीया–मरेनी– जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि सृजना भएको अवसरको सदुुपयोग र देखिएका समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउन कार्यक्रम गरिएको हो”, उनले भने, “सङ्घीय, प्रदेश सांसद, म्याग्दीका छवटै स्थानीय तह, जलजलासँग सरोकार राख्ने बागलुङको ढोरपाटन, पूर्वीरुकुमको पुथाउत्तरगङ्गा र भुुमे गाउँपालिकाका जनप्रतिनिधि, अगुवा र विज्ञहरूको उपस्थितिमा बृहत् छलफल गरी साझा धारणा र योजना तय गरिनेछ ।”

    कार्यक्रममा सहभागी हुुन अतिथिहरू आज दिउँसो जलजलामा पुुगिसकेका छन् । सोमबार बिहान जलजला घोषणापत्र जारी गर्दै कार्यक्रम समापन गरिने तय भएको छ । गुर्जा, धवलागिरि, चुुरेन, पुथा, अन्नपूूर्ण हिमालको काँखमा समथर भूगोलमा रहेको जलजला ढोरपाटन सिकार आरक्षको ‘भ्यूप्वाइन्ट’ हो । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षको दुईवटा मनसुुन र बार्से ब्लकसहित १३ प्रतिशत भूगोल म्याग्दीमा परे पनि सलामी दस्तुुर नपाएको र गुर्जाघाटलगायत ठाउँमा रहेको सीमा विवादको समस्या समाधानका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराइने धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

    “गत फागुनमा मार्ग खुुलेको बेनीदेखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकलाई स्तरोन्नति गरी मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पका रूपमा विकास गराउन प्रदेश र सङ्घीय सरकारलाई दबाब दिन म्याग्दीको साझा मुद्दा तय हुुनेछ”, उनले भने, “जलजला घुुम्न आउने पाहुुनाहरूको सुविधा र सहजताका लागि पूर्वाधार तयार पार्न र सिकार आरक्ष वरपरका बस्तीका नागरिकले प्राकृतिक स्रोतसाधनको उपभोगमा भोगेको समस्या समाधानका लागि दबाब दिनलाई पनि सम्बन्धितस्थलमै कार्यक्रम गरिएको हो ।”

    समथर पाटनको शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउनुु जलजला उपत्यकाको विशेषता हो । समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गराउँछ जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता हो ।

    गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ती, होटल र रेष्टुरेन्ट छैन । म्याग्दीको लुलाङका फुलबहादुर विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आउनुभएको छ । च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैँसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैँ बन्दोबस्तीको सामान लगेर जानुपर्छ ।

    ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि जिप र मोटरसाइकलमा दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ । जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे ९रेडपाण्डा०को बासस्थान भएकाले थप महत्त्व रहेको छ ।

    दुईतर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्छ । जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । यस वर्ष धवलागिरि गाउँपालिकाले जलजलामा सार्वजनिक शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण गरेको छ । आवास र खानेपानी अभाव जलजलाको मुख्य समस्या बनेको छ ।

  • नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छः शिक्षामन्त्री पोखरेल

    नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छः शिक्षामन्त्री पोखरेल

    रासस
    काठमाडौँ, १० जेठः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानीलगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाए ।

    सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद एवं मन्त्री पोखरेलले निर्वाचनका दौरानमा महिनामा एउटा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने घोषणा गरिएअनुरूप आज काठमाडौँ महानगरपालिका–४स्थित विशाल मिलन केन्द्रमा पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम गरेका हुन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघिबढ्ने सरकारको नीति रहेको स्पष्ट पारे । उनले शिक्षा मन्त्रालयका साथै सरकारको प्राथमिकता र हालसम्म भएका कार्यसम्पादनबारे स्थानीयलाई जानकारी गराए ।


    मन्त्रालयको कार्यप्रगति विवरण सुनाउँदै मन्त्री पोखरेलले देशभरका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर अर्को वर्षदेखि प्राथमिकताको आधारमा बजेट विनियोजनलगायत अन्य स्रोतसाधनको सुनिश्चितता गरिने विश्वास व्यक्त गरे । यसअघि सबै विद्यालयलाई समाज बजेट पठाउँदा समस्या उत्पन्न भएको भन्दै उनले अर्को वर्षदेखि कुन सामुदायिक विद्यालयलाई कति बजेट चाहिन्छ सोहीअनुरूप बजेट पठाइने उल्लेख गरे ।


    मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियालाई पारदर्शी र व्यावसायिक बनाउन विज्ञ समितिले दक्षता र विशिष्टताका आधारमा छनोट गर्ने जानकारी दिए । स्थानीयले उठाएका सरोकार भएका विषयको गुनासो सुन्दै तिनको समाधानका लागि प्रयत्न गर्ने प्रतिबद्धता उनले जनाए ।


    सार्वजनिक सुनुवाइमा स्थानीयले विद्यालय भर्ना शुल्कदेखि क्षेत्रगत समस्या सडक, बिजुली, खाने पानीलगायतका विषयमा गुनासो गरेका थिए । सो निर्वाचन क्षेत्रमा मेलम्चीको खानेपानी आई नपुगेकाले पानीको समस्या भोगिरहनुपरेको तथा जारको पानी फोहोर भएको गुनासो राखेका थिए ।

    उनीहरुले विद्यार्थी भर्ना शुल्क, खानेपानीको समस्या, ढल व्यवस्थापन वैज्ञानिक तरिकाले हुन नसकेको, सडक बक्ति, सिसिटिभी व्यवस्थापनका विषय सम्बोधन गर्न मन्त्री पोखरेलसमक्ष आग्रह गरेका थिए । यस्तै त्रिवि सेवा आयोगको परीक्षा भएको छ महिना भइसक्दा पनि परीक्षाफल प्रकाशित नभएको गुनासो उनीहरुको गुनासो थियो ।

    स्थानीय जनताको गुनासो सुनिसकेपछि शिक्षामन्त्री पोखरेलले विद्यार्थी भर्नाबारे स्थानीय तहलाई पत्राचार भई तोकिएबमोजिम गर्न निर्देशन दिइएको बताए । उनले खानेपानीको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वय गरेर पानीको गुणस्तर मापन गरी सफा खानेपानीको सुनिश्चित गरिने बताए । त्यसैगरी उनले सडक बत्ती र सिसिटिभीको विषयमा काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर चाँडै समाधान गर्ने प्रतिबद्धता जनाए ।

    मन्त्री पोखरेलले उपकुलपतिको छनोट प्रक्रिया सकिएलगत्तै त्रिवि सेवा आयोगलगायत सबै परीक्षाको परीक्षाफल नियमित समयमा ल्याइने विश्वास व्यक्त गरे । काठमाडौँ क्षेत्र नं ५ मा १५ वडामध्ये हरेक महिना कम्तीमा एक–एक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी जनताको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी अघिबढेको मन्त्री पोखरेलले उल्लेख गरे ।

    उनले आफ्नो मन्त्रालय र सरकारको कामबारे जनतालाई सुसूचित गराइने कार्यक्रमलाई निरन्तरता दिइने पनि बताए । कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले जनसरोकारका विषयलाई संसद् र सरकारले आवश्यक सम्बोधन गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा क्षेत्र नं ५ का उल्लेख्य सङ्ख्यामा स्थानीय जनता, बुद्धिजीवी, समाजसेवीलगायत उपस्थिति थियो ।

  • तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

    तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

    काठमाडौँ, १० जेठः वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको पाइएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार गत वैशाख महिनामा देशभर दुई हजार २९४ दुर्घटना भएकामा एक हजार २५३ दुर्घटना तीव्रगतिका कारण भएको थियो ।

    सो अवधिमा १३७ दुर्घटना चालकको असक्षमता, १३३ दुर्घटना हतारमा बाटो काट्नु, ११२ दुर्घटना मादक पदार्थ सेवा तथा ४६ वटा दुर्घटना अनावश्यक ओभरटेकका कारण भएका थिए । दुर्घटनामा १५८ पुरुष, ५४ महिला र २७ बालबालिका गरी २३९ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ । ती दुर्घटनामा परी ७५२ जना गम्भीर तथा तीन हजार २२० जना सामान्य घाइते भएका छन् ।

    वैशाख महिनामा ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध एक लाख ३७ हजार ९४ वटा कारबाही भएको छ भने सोबापत रु ११ करोड ८२ लाख ७४ हजार १८९ राजस्व असुली भएको छ । सो अवधिमा भएका ती दुर्घटनामा तीन हजार ३३४ वटा सवारी साधन संलग्न भएका थिए । सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेका थिए ।

    साँझ ६ देखि राति १२ बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको पाइएको छ । सो समयमा ८५९ दुर्घटना भएका थिए । यस्तै मध्याह्न १२ देखि साँझ ६ बजेसम्म ८५०, बिहान ६ देखि मध्याह्न १२ बजेसम्म ५०६ तथा मध्यराति १२ बजेदेखि बिहान ६ बजेसम्म ७८ वटा दुर्घटना भएको प्रहरी तथ्याङ्कले जनाएको छ ।

    पछिल्लो २४ घन्टामा तीन जनाको मृत्यु

    पछिल्लो २४ घन्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएका छन् । बागमती प्रदेशमा दुई र काठमाडौँ उपत्यकामा एक जनाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

    सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

    रासस
    काठमाडौँ, १० जेठः सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने जनाएको छ । कामपा–११, १४, ३१ र ३२ आसपासमा नदी किनारामा बसेका नागरिकलाई हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने कामपाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए ।

    “विगतका वर्षमा नदी आसपासका स्थानमा नै बाढीजन्य घटना बढी घट्ने गरेका थिए । उक्त स्थानमा रहेको बसोबास हटाइएपछि यस वर्ष एक–दुई स्थान छिट्फुटबाहेक नदीजन्य विपद्का घटनामा कमी आउने विश्वास छ,” उनले भने । उनका अनुसार सामाखुसीदेखि खाडीपाखासम्मको स्थानमा भने सावधानी अपनाउनुपर्ने छ । बर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि कामपाले स्थान पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिए ।


    सहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, विपद्को समयमा गर्नुपर्ने व्यवस्थापनका काम र विपद्पछिको पुनस्र्थापना, लागि वडा र समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय योजनामा समेटिने गरी कामपाले काम गरिसकेको भनाइ छ । सहर सुरक्षित बनाउन सहभागितामूलक संयन्त्र निर्माणको आवश्यकता रहेको पनि उनले बताए । सामूहिक ज्ञान, सीप र सोच विकासबाट जोखिम घटाउने काम गर्नुपर्ने आवश्यकतालाई रणनीतिक योजनाले पूरा विश्वास लिइएको छ । आगामी वर्ष रणनीतिक योजना कार्यान्वयन थालिने र त्यसैअनुसार कार्यक्रम र बजेट प्रस्ताव गरिने उनको भनाइ छ ।

    विपद् व्यवस्थापनको सवालमा विभिन्न पूर्व तयारी संयन्त्र, ती संयन्त्रसँग पालिका र वडास्तरीय सम्बन्धबाट प्रभावकारी सेवा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भइसकेको उनको भनाइ छ। “वडास्तरीय विपद् व्यवस्थापनका लागि पूर्वाधार विकासजन्य जोखिमसहित पूर्वानुमान गर्ने, कामपाका केन्द्र र वडास्तरीय क्षमता विकास गर्ने गरी नीति ल्याउनुपर्ने आवश्यकता छ,” उनले भने । सहरको पहिलो जोखिम आगलागी रहेको भन्दै जोशीले जोशीले विद्युत्जन्य आगलागीको जोखिम बढ्दै गएको बताए । “आगलागीको खबर प्राप्त भएको आधा मिनेटभित्र दमकल स्टेसनबाट बाहिर निस्किने गरेका छन् । सडकमा यातायातको चापका कारण गन्तव्यमा पुग्न कठिन छ,” जोशीले भने ।

  • अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    रासस
    गण्डकी, १० जेठः पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि अधुरै छ । बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा उल्टो अतिक्रमणमा परेर साँघुरिँदै गएको छ । पोखरा उपत्यका नगर विकास समितिले बसपार्कका लागि सुरुमा २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । समयमा बसपार्क नबन्दा उक्त जग्गा अतिक्रमणमा परेर अहिले झण्डै ६० रोपनीमा मात्र सीमित भएको छ ।

    बचेखुचेको जग्गामा पनि व्यवस्थित ढङ्गले बसपार्क सञ्चालन हुन सकेको छैन । जग्गा अतिक्रमण गरी बनाइएका घरटहराले बसपार्क क्षेत्र ढाकिएको छ । फोहोरको दुर्गन्ध र बिजुलीका जीर्ण पोल त्यसमा लत्रिएका तार अनि धुलाम्मे सडक । पानी जमेका खाल्डाखुल्डी । न व्यवस्थित टिकट काउण्टर न बस राख्ने ट्रयाक । अस्तव्यस्त पार्किङ । पोखरा बसपार्कको अवस्था झल्काउने दृश्य हुन् यी । जीर्ण र अव्यवस्थित बसपार्कले पर्यटकीय राजधानी पोखरालाई गिज्याइरहेको भान मिल्छ ।

    पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको बसपार्कको जग्गा अतिक्रमण हटाएर सुविधासम्पन्न बसपार्क बनाउन पटकपटक गरिएको प्रयास सफल हुन सकेको छैन । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा स्थानीयवासी, पुरानो विमानस्थल बनाउँदा सारिएका र सुकुम्बासी परिवारको बसोबास छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको जग्गा पटकपटक अतिक्रमणमा पर्दै आएको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए ।


    उनका अनुसार बसपार्क क्षेत्रमा बसोबास गरिरहेका ५७५ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारले वडामा विवरण बुझाएका छन् । महानगरपालिकाले यसअघि वितरण गरिएको निस्साको प्रतिलिपि, घरमुली र परिवारका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, घरमुली र परिवारका अन्य सदस्यको नाता प्रमाणित वा घरमुली आफैले नाता खुलाएको स्वःघोषणापत्र बुझाउन केही दिनअघि सार्वजनिक सूचना गरेको थियो ।

    पोखरा बसपार्कभित्र बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको टोल सहजीकरण समितिका संयोजक असिम तामाङले बसपार्कको जग्गा खाली गराउनुपूर्व सुकुम्बासीहरुको उचित व्यवस्थापन हुनुपर्ने बताए । “महानगरप्रमुखज्यूसँग हाम्रो दुईपटक छलफल भयो, उहाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको छानबिन गरी वास्तविक सुकुम्बासीको उचित व्यवस्थापन गरेर मात्र बसपार्क निर्माणको प्रकृया अगाडि बढाइने आश्वासन दिनुभएको छ”, संयोजक तामाङलले भने ।


    बसपार्क निर्माणमा आवश्यक सहयोग र सहजीकरण गर्न आफू तयार रहेको उनको भनाइ छ । पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले सुरुमा अधिग्रहण गरिएको २०५ रोपनीमध्ये पृथ्वी राजमार्गको निर्माणपछि कायम भएको १८७ रोपनी जग्गामै बसपार्क बनाउनुपर्ने बताए । “बसपार्क क्षेत्रको सबै जग्गामा बसपार्क बनाउनुपर्छ, कसैलाई त्यही राख्ने, कसैलाई हटाउने गर्नुहुँदैन”, उनले भने, “बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन राज्यले गर्नुपर्छ ।”

    आफू समितिको नेतृत्वमा छँदा विसं २०६४ मै आधुनिक बसपार्क निर्माणको योजना अगाडि बढाए पनि विविध कारणले बसपार्क बन्न नसकेको उनको भनाइ छ । पर्यटनका माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय जगतमा चिनाएको पोखरामा स्तरीय बसपार्क बन्न नसकेमा स्थानीय यातायात र पर्यटन व्यवसायीको दुःखेसो छ । यातायात व्यवसायी योगेन्द्र केसीका अनुसार पोखरा बसपार्क भएर दैनिक झण्डै ३०० सवारी देशका विभिन्न गन्तव्यमा गुड्छन् । गण्डकी प्रदेशको राजधानी पोखरासँग ६३ जिल्ला यातायात सञ्जाल जोडिएको छ ।

    बसपार्कमा ढलान, पार्किङ ट्रयाक, यात्रु विश्राम कक्ष निर्माण, शौचालय, खानेपानीलगायत पूर्वाधारको खाँचो छ । यातायात व्यवसायीले पोखरा महानगरपालिका र प्रदेश सरकारसमक्ष पटकपटक बसपार्क स्तरोन्नतिको माग गर्दै आएका छन् । बसपार्क अस्तव्यस्त भएपछि गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन् । टिकट काउण्टर पनि बाहिरी सडकमा छन् । अहिलेसम्म बसपार्कलाई चाहिने कुनै पनि पूर्वाधार बन्न सकेको छैन । तीव्र सहरीकरण र सवारीसाधनको चापलाई दृष्गिगत गरेर पोखरामा आधुनिक सुविधायुक्त बसपार्क बनाउनुपर्ने आवाज उठ्दै आएको छ ।

    बसपार्क नबन्दा ट्राफिक व्यवस्थापन पनि चुनौती थपिएको छ । जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने\ओराल्ने गर्दा पृथ्वीचोक क्षेत्र अस्तव्यस्त देखिन्छ । कति जग्गा घडेरीका रुपमा बिक्री भयो, कति अतिक्रमणमा प¥यो भन्ने एकिन तथ्याङ्क कुनै निकायसँग छैन । पोखरा महानगरपालिका र नगर विकास समितिले बसपार्क निर्माणको प्रकृयालाई अगाडि बढाउन अतिक्रमित जग्गा खाली गराउन पहल अगाडि बढाएका छन् ।

    महानगरले गत वैशाखमा ४ गते सार्वजनिक सूचनामार्फत बसपाकभित्रका अतिक्रमित संरचना हटाउन निर्देशन दिएको थियो । ३५ दिने उक्त सूचनाको अवधि शनिबार सकिएपछि पोखरा उपत्यका नगर विकास समितिले शनिबार अर्को सूचना जारी गरेको छ । समितिले पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।

    पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रकृयामा सहजीकरण गर्न व्यवसायीहरुलाई सूचित गरिएको हो । तोकिएको मितिभित्र संरचना नहटाएमा समिति आफैले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपर गरिने सूचनामा उल्लेख छ ।

    समितिले बसपार्क क्षेत्रभित्र लालपूर्जा भएका जग्गाधनीलाई सात दिनभित्र नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, चाल आवको सम्पत्ति÷भूमिकर तिरेको रसिद र जग्गासम्बन्धी प्रमाण पुग्ने अन्य कागजात समितिको कार्यालयमा बुझाउन निर्देशनसमेत दिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बसपार्कको अतिक्रमित जग्गा खाली गराई बसपार्क निर्माणको प्रकृयालाई अगाडि बढाइने बताए ।

    “भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा झण्डै ५०० परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बस्नुभएको छ, उहाँहरुको वास्तविक अवस्था छानबिन गर्दैछौँ, सुकुम्बासीलाई उचित व्यवस्थापन गछौँ”, उनले भने, “बसपार्क बन्नुपर्छ भन्नेमा सर्वपक्षीय र सर्वदलीय सहमति छ, बसपार्कको गुरुयोजना पनि बनिसकेको छ, अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाउँछौँ ।”

    प्रमुख आचार्यले राजनीतिक दल, नागरिक समाज, यसबीचमा भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासी, व्यवसायीलगायतसँग जग्गा अतिक्रमण हटाएर बसपार्क बनाउने विषयमा छलफल गर्नुभएको छ । महानगरपालिकाले पोखराको मध्यभाग भएर बग्ने फिर्केखोलाको अतिक्रमित जग्गा पनि आइतबारदेखि खाली गराउन सुरु गरेको छ । पोखरा–१८ अँधेरीकुनादेखि २, ४, ५, ७, ८, १७ हुँदै वडा नं। ६ गाईघाट पुगेर फेवातालमा मिसिने पिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाइने भएको हो ।

    यसअघि गत वैशाख ४ गते सार्वजनिक सूचनामार्फत ३५ दिनभित्र फिर्केखोला खोलाघरभित्रका संरचना हटाउन महानगरले सार्वजनिक रूपमा सूचित गरेको थियो । उक्त सूचनाका आधारमा केही व्यक्ति तथा संस्थाले अतिक्रमित संरचना आफैँ हटाएका छन् । पिर्केखोलाको खोलाघर क्षेत्रलाई आकर्षक गन्तव्यस्थल बनाउने महानगरको योजना छ ।

  • समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

    समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

    पाल्हीनन्दन (नवलपरासी), १० जेठः छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका लागि पटकपटक म्याद थपिए पनि निर्माण हुन सकेको छैन । बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुरबाट हरपुरसम्म एक किलोमिटर र सुनवल बजारको ५०० मिटर सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बुटवलले गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन कम्पनीलाई जिम्मा दिएको थियो ।

    विसं २०८१-०१-२६ गते निर्माण सम्पन्न गर्नेगरी २०८०–०१–२६ गते सम्झौता गरिएकामा हालसम्म ६५ प्रतिशत मात्र सडकको काम सम्पन्न भएको डिभिजन कार्यालय बुटवलका इन्जिनियर सुशील पौडेलले बताए । उनका अनुसार बिजुलीको खम्बा तथा खानेपानीको पाइप सार्न ढिलाइ भएकाले ठेकेदारले समयमा काम सम्पन्न गर्न सकेको छैन ।

    महेशपुर सडकको काम सम्पन्न गर्नका लागि जेठसम्म तेस्रो पटक (अन्तिम) म्याद थप गरिएको इन्जिनियर पौडेलको भनाइ छ । यद्यपी अलकत्राको मूल्य वृद्धि भएको भन्दै ठेकेदारले अहिले काम बन्द गरेको छ । अलकत्रा अभावको कारण देखाउँदै समयमा काम सम्पन्न गर्न नसकेको गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन कम्पनीका दिलीप लामाले बताए ।


    निर्माण व्यवसायीले सडकको काम समयमा नगरेपछि धुलैधुलो भएर घरको आँगनमा बस्न नमिल्ने, यात्रुहरू सडकमा आवतजावत गर्दा नाकमुख छोप्नुपर्ने तथा भारतबाट आउने मालवाहक सवारीहरूलाई आवतजावत गर्न समस्या भइरहेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदीश गुप्ताले बताए ।

    उनी भन्छन्, “समयमै सडक निर्माण हुन नसक्दा पानी नपर्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे हुने अवस्था छ, जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायी इमान्दार नहुँदा राज्यको रकम खेर गएको छ भने जनताले दुःख पाएका छन् ।”

  • पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

    पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

    हेमन्त केसीरासस
    काँक्रेविहार (सुर्खेत), १० जेठः पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको निर्माणले गति लिएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा तीन पुलहरू निर्माण हुन गइरहेका हुन् । जाजरकोट–जुम्ला सडकखण्डभित्र पर्ने छेडागाड नगरपालिका–१०र११ को बीचमा रहेको लम्तीखोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ । २५ मिटर लामो पुल निर्माण कार्य सुरु भएपछि यहाँका स्थानीयवासी खुसी भएका छन् । रु तीन करोड ४२ लाख १० हजार ६१२.२२ मा बजरङ्गा ग्लोरियस एमबिएस जेभी काठमाडौँले उक्त ठेक्का लिएको छ ।

    विसं २०८३ वैशाख २ गते सम्झौता भई २०८५ वैशाख २ गते निर्माण कार्य पूरा गर्ने गरेर कामको सुरुआत गरिएको छ । यो पुल निर्माण भइरहेको ठाउँमा हालसम्म सात जना मानिसको खोलामा बगेर मृत्यु भएको छेडागाड नगरपालिका–१० वडाध्यक्ष जयनाथ योगीले जानकारी दिए । उनले भने, “अब पश्चिम जाजरकोटका पालिकासँगको सिधा सम्पर्क जोडिने भएको छ । छेडागाड, कुशे हुँदै जुम्ला जोड्ने सडक निर्माण गर्ने सामग्री लिनेदेखि अन्य पालिकाका कामहरू गर्न सहज भएको छ । अब मानिसहरू पुलको अभावमा मृत्यु हुनुपर्ने छैन । बरु पुल निर्माणको काम समयमै सम्पन्न होस् यही हाम्रो माग रहेको छ ।”

    त्यसैगरी, छेडागाड नगरपालिका–६ सुवानाउली र जुनिचाँदे–५ लामाताराको छेडाखोलामा ४२।७ मिटर लामो ‘बेलिब्रिज’ निर्माणकार्य पूरा भएको छ । पुल निर्माण भएसँगै यहाँका दुई पालिकालाई यात्रा गर्न सहज भएको छ । विसं २०८१ चैत २२ गते सम्झौता भई २०८३ वैशाख ३० गते निर्माण कार्य पूरा गर्नुपर्ने सहमतिअनुसार गौरव हेन्ड्रिक इन्जिनियरिङ जेभी भरतपुर –१६ चितवनले निर्माण गरेको हो ।

    रु तीन करोड ८२ लाख २८ हजार ३७६.६० मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सम्झौता समयभन्दा अगाडि पुल निर्माण भएको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले निर्माण व्यवसायीको धन्यवाद दिए । उनले भने, “यहाँ ठेक्का लिने तर बीचमै अलपत्र धेरै भएका छन् । तर, यो पुल सम्झौता मितिभन्दा अगाडि निर्माण भएको छ ।”

    त्यसैगरी, शिवालय गाउँपालिका–२र८ जोड्ने २५ मिटर लम्बाइको दुई पीपल सडक पुलको काम सुरु भएको छ । रु तीन करोड १५ लाख ७९ हजार ७८२ मा निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख इन्जिनियर भूपेन्द्र जैसीले जानकारी दिए । विसं २०८३ वैशाख २ गते सम्झौता भई २०८५ वैशाख २ गते निर्माण कार्य पूरा गर्ने सहमतिअनुसार कामको सुरुआत भएको उनले जानकारी दिए । बजरङ्गा ग्लोरियस एमबिएस जेभी काठमाडौँले नै निर्माणको जिम्मेवारी लिएको छ ।

    पाँच वर्षदेखि पुल अलपत्र

    छेडाचाँदे–जुम्ला सडकखण्डभित्र पर्ने जाजरकोटको साल्मा खोलामा (खारा) पक्की पुल निर्माण नहुँदा समस्या भएको छ । छेडागाड नगरपालिका–१ र ४ जोड्ने साल्मा खोला (खारा)मा पुल नेपाल मेघा सिस्ने जेभी नेपालगन्जसँग २०७८ साल असोज २९ गते सम्झौता गरेको थियो । रु चार करोड ८८ लाख एक हजारमा २०८० साल माघ २८ गते सम्पन्न गर्ने जिम्मा लिएको निर्माण व्यवसायीले दुईवटा पिलरको काम गरेर बीचमै छोडेर अलपत्र परेको छ ।

    हाल ठेक्का तोडेपछि निर्माण व्यवसायीले मुद्दा दायर गरेको पूर्वाधार कार्यालय प्रमुख जैसीले जानकारी दिए । पाँच वर्षदेखि अलपत्र परेको सो पुलको अनुगमनपछि मन्त्री शाहले भने, “कामको जिम्मेवारी लिने तर बीचमै काम छाडेर भाग्दा परिणाम आउन नसकेको अवस्था छ । बर्सेनि यस्ता खालका आयोजनामा आफूले बजेट विनियोजन गर्र्दै आएको भए पनि खर्च हुन नसक्दा ‘फ्रिज’ हुने गरेको छ । त्यसपछि प्रदेश सरकारको प्रगतिमा समेत बाधा पुगेको छ । चार वटा आर्थिक वर्षमा बजेट विनियोजन गरे पनि काम नहुँदा रकम मूल खातामा आइरहेको छ ।”

    प्रदेश सरकारले लगाएका केही ठेक्काहरूमा निर्माण व्यवसायीले काम नगर्दा बर्सेनि विनियोजन गरेको बजेट राज्यकोषमा जम्मा हुँदै आएको छ । पूर्वाधार विकास कार्यालय, जाजरकोटले लगाएको ठेक्काको काम बीचमै अलपत्र पर्दा दैनिक यो सडक खण्डभित्र चल्ने यातायातका साधनले सास्ती भोग्नुपरेको छ । उक्त निर्माण व्यवसासी लालमाया चलाउने शाहीले भने, “पूर्वाधार विकास कार्यालयले बैङ्क ज्ञारेन्टी निकाल्यो, सामान पनि त्यही छ । म्याद थप पनि गरेनन् त्यसैले अदालत गएको हो ।”

    जुनीचाँदे गाउँपालिका, कुसे गाउँपालिका र छेडागाड नगरपालिकाका सबै वडाका बासिन्दाको मुख्य सडकको साल्मा खोलामा पुल नभएपछि नेपालगन्ज, सुर्खेत, काठमाडौँ आवतवाजत गर्न, स्थानीय तहमा सेवा लिन आउँदाजाँदा स्थानीयले सास्ती भोग्ने गरेको छेडागाड नगरपालिकाका इन्जिनियर प्रेम केसीले जानकारी दिए ।
    छेडागाड नगरपालिका–१ र २ बासिन्दाले प्रशासनिक केन्द्र आउनजान वैकल्पिक बाटो नहुँदा खोलामै पस्नुपर्ने बाध्यता छ । पूर्वाधार विकास कार्यालयका प्रमुख जैसीका अनुसार २०८० असार मसान्तसम्म म्याद थप मागेपछि १३औँ संशोधनले निर्माणाधीन अवस्थाका योजनाको म्याद थप गर्ने व्यवस्थाअनुसार नेपाल मेघा सिस्ने जेभी नेपालगन्जले म्याद थपको निवेदन दिएपछि म्याद थप्दा पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन । म्याद थप्ने काम कामबाहेक अन्य कुनै पनि काम नभएको पाइएको छ ।

    यही ठाउँमा छेडागाड नगरपालिका, जुनीचाँदे, कुसे गाउँपालिकाका अधिकांश बासिन्दालाई यातायातमा सहजता ल्याउन छेडागाड नगरपालिकाले पहिलो कार्यकालमा साल्मा खोलामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट करिब रु ८० लाखभन्दा बढी रकम खर्च गरी कजवे निर्माण गरेको थियो । असारमा निर्माण गरेको कजवे साउनको भेलले बगाएपछि बर्खाको समयमा सर्वसाधारणले सहज रूपमा आवतजावत गर्न मुस्किल भएको थियो । एउटै ठेक्काको काम पाँच वर्षसम्म काम पूरा नगरी अलपत्र पार्ने निर्माण व्यवसायीलाई यहाँका जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायले कुनै खबरदारी नगरेको स्थानीयले आरोप लगाएका छन् । यही पुलबाट मध्यपहाडी लोकमार्ग र भेरी करिडोर जोडिने गर्दछ ।

  • पोखराको अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    पोखराको अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    कृष्ण दवाडी/रासस

    कास्की, १० जेठः पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनाबाट सुरु हुने फिर्के फेवातालमा गएर मिसिन्छ । तर फिर्केखोला अहिले अतिक्रमणको सिकार मात्र बनेको छैन, फोहर विसर्जन गर्ने स्थलसमेत बनेको छ । अतिक्रमणका कारण खोलाको प्राकृतिक बहाव नै रोकिने अवस्थाका बीच लामो समयदेखि फिर्के चर्चामा रह्यो । यसैबीच, अन्ततः खोलाघरभित्रका अतिक्रमित संरचना आजदेखि अभियानका रूपमा हटाउन सुरु गरिएको छ ।

    महानगरले लामो प्रयासपछि अन्ततः फिर्केका अतिक्रमित संरचना हटाउन डोजर चलाएको हो । महानगरले फिर्केको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको थियो । महानगरले गत वैशाख ३ गते सार्वजनिक सूचना प्रकाशित गरी सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो ।

    खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थाहरूलाई पूर्वसूचना दिई सकिएकाले आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताए । अतिक्रमित संरचना हटाउने कार्यको औपचारिक सुरुआत महानगर प्रमुख आचार्यले जिरोकिमी नजिक फिर्केपुलबाट गरेका छन् । महानगरले अतिक्रमित संरचना हटाउनका लागि सुरु गरिने अभियानको सबै तयारीका काम सकिएको जनाएको छ ।

    महानगरका फिर्केका तीन स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिनेछ । पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नम्बर ५ र ८ तर्फ र पोखरा–७ र ८ को सिमाना जिरोकिलो मिटरस्थित लायन्स भवनदेखि फेवातालतर्फ गरी तीन स्थानबाट डोजरहरू चलाइने छ । अतिक्रमित संरचना हटाउने अभियान बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा सञ्चालन हुने महानगरले जनाएको छ । “फिर्के खोला लगायतका सबै स्थानका सार्वजनिक जमिनका संरचना हटाएर सार्वजनिक सम्पत्तिको संरक्षणका लागि महानगरले योजनाबद्ध हिसाबले काम सुरु गरेको छ । आजदेखि खाली गराउन सुरु गरिएको क्षेत्र खोलाघरभित्रको भाग हो । खोला कसैको निजी सम्पत्ति हुन सक्दैन भन्ने तथ्यलाई हामी सबैले गम्भीरतापूर्वक मनन गरौँ,” महानगर प्रमुख आचार्यले भने ।


    महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाहरूले भने आफ्ना संरचना खाली गरिसकेका छन् । फिर्केमा रहेको लायन्स क्लबले शुक्रबार नै सबै सामान सारिसकेको छ । त्यसैगरी, फोटोग्राफर सङ्घलगायतले पनि भवन खाली गरेका छन् । महानगरले गरेको फिर्के नापजाँच प्रतिवेदनअनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका १६० संरचना निर्माण गरिएका छन् । फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण गरेको पाइएको नाप जाँच प्रतिवेदनमा उल्लेख छ ।

    यसैगरी, खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरू निर्माण गरिएका छन् । साबिक ग्यारजातीपछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिका–१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३।३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको छ । फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सीमास्तम्भहरू गाडिएका थिए ।

  • ‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

    ‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

    म्याग्दी, १० जेठः अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम हो । समुुन्द्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुङ्गे घरहरु रहेको लेकगाउँले ‘ मगर सङग्रालय’ को पहिचान बनाएको हो । करिब एक सय परिवारको बसोबास रहेको लेकगाउँमा सबै मगर समुुदायका छन् । अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले सयौँ वर्षअघि स्थानीय सीपको प्रयोग गरेर निर्माण गरिएका मौलिक घरहरु भएको लेकगाउँमा परम्परागत मगर जीवनशैली र संस्कृति जीवित रहेकाले बस्तीलाई नै ‘मगर म्युुजियम’ भनिएको बताए ।


    “पुुर्खाहरुले स्थानीय सीप र सामग्रीको प्रयोग गरेर बनाएका मौलिक ढुङ्गेघरहरु मात्र नभएर अर्मपर्म गरेर खेतीबाली लगाउने, घुुम्ती गोठमा पशुपालन गर्ने, पुुख्र्यौली नाच्ने, भूमे पूजा गर्ने पुुरानो चलनले निरन्तरता पाएको छ,” उनले भने, “मगर समुदायको संस्कार, संस्कृति, कला र सीपको अध्ययन स्थलका रुपमा लेकगाउँलाई विकास गर्ने प्रयासमा छौँ ।”

    संस्कृतिसँगै लेकगाउँ प्राकृतिक रुपमा सुुन्दर र रमणीय छ । लेकगाउँको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी र बराह शिखर हिमाल छन् । अन्नपूूर्ण हिमालबाट हिउँपहिरो खसेको दृश्य नजिकबाट नियाल्न सकिन्छ । लेकगाउँको नजिकै समथर स्वाँराफाँट छ । स्वाँराफाँटमा स्थानीयवासीले खाद्यबाली खेती गर्छन् । हिउँदमा गाईभैँसी र भेडाबाख्राको घुम्ती गोठ राख्छन् ।

    वनस्पतिविद् कमल मादेनको नेतृत्वमा केही वर्षअघि आएको टोलीले स्वाँराफाँट धेरै प्रजातिका चराहरुको बासस्थान र नजिकैको जङ्गलमा प्रशस्त जडीबुटी पाइने प्रतिवेदन सार्वजनिक गरेको थियो । खोप्रा लेकको फेदीमा रहेको लेकगाउँ हुुदै अन्नपूर्ण आधार शिविर पनि जान सकिन्छ । घोडेपानी, बयली, खोप्रा हुँदै नारच्याङ जोड्ने पदमार्ग रहेको छ ।

    प्रचारप्रसारको अभावमा पर्यटकहरुको आगमन हुुन नसकेको वडा सदस्य पुर्जाले बताउनुभयो । पर्यटकको सुविधाका लागि लेकगाउँमा रेष्टुुरेष्ट र घरबास छन् । पर्यटकले चाहनाअनुुसार होटल र घरबासमा बस्न सक्छन् । घुम्तीगोठमा पालिएका गाईभँैसी र भेडाबाख्रा अवलोकन गर्न पाइन्छ । लेकगाउँमा मगर संस्कार र जीवनशैलीको नजिकबाट अवलोकन गर्न पाइने गुल्मीबाट आउनुभएका होमनाथ पाण्डेले बताए ।


    बेनी–जोमसोम सडकमा पर्ने भुुरुङ्ग तातोपानी हुुँदै लेकगाउँ जाने क्रममा नारच्याङ बेँसीमा रहेको नारच्याङ झरना अवलोकन गर्न सकिन्छ । भुरुङ्ग तातोपानीदेखि दुई घण्टा पैदलयात्रा र एक घण्टा गाडीको यात्रा गरेपछि लेकगाउँ पुुगिन्छ । लेकगाउँबाट नारच्याङमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाहरुको अवलोकन गर्न सकिन्छ ।

    अन्नपूूर्ण गाउँपालिका–४ का वडाअध्यक्ष लोकबहादुर फगामीले लेकगाउँ हँुुदै खोप्रा र अन्नपूूर्ण आधार शिविर जाने बाटोमा पर्ने बासबोटलाई पदमार्गले जोडिएको बताए । पूर्वाधार निर्माणसँगै लेकगाउँको संस्कृति र प्राकृतिक सौन्दर्यको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने, विदेशिएका र बजार गएकाहरुलाई गाउँ फर्काउने प्रयासमा रहेको उनले बताए ।

  • चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान

    चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान

    १० जेठ, काठमाडौं । चीनको ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर ९जीआईटीएफ० २०२६ मा नेपालले ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान प्राप्त गरेको छ । नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणको आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो ।

    नेपाल पर्यटन बोर्डले २१ देखि २३ मे २०२६ सम्म आयोजित तीनदिने अन्तर्राष्ट्रिय पर्यटन मेलामा “नेपालः अ लाइफटाइम एक्सपेरियन्स” भन्ने नारासहित नेपालको सहभागिता समन्वय गरेको थियो । मेलामा नेपालले वेलनेस, सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लक्जरी पर्यटनका विविध सम्भावनाबारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीलाई जानकारी गराएको थियो ।

    चीनको ग्वाङ्झाउ सहर हङकङ तथा ग्रेटर बे एरिया नजिकको प्रमुख व्यापारिक तथा पर्यटन केन्द्र भएकाले नेपाली पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण बजारका रूपमा हेरिएको छ । विशेषगरी वेलनेस, धार्मिक, सांस्कृतिक र लक्जरी पर्यटनका क्षेत्रमा चिनियाँ पर्यटक आकर्षित गर्ने सम्भावना उच्च रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

    मेलाको उद्घाटन दिन २१ मेमा नेपाली सांस्कृतिक नृत्य प्रस्तुति तथा ‘डेस्टिनेसन नेपाल’ सम्बन्धी विशेष प्रस्तुति आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाली कला, संस्कृति र पर्यटन सम्पदाबारे चिनियाँ आगन्तुक तथा पर्यटन व्यवसायीलाई जानकारी गराइएको थियो ।

    २२ मे मा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक विमल कँडेलले नेपालको पर्यटन सम्भावना, गन्तव्य र प्रवर्द्धन रणनीतिबारे ‘कन्ट्री प्रेजेन्टेसन’ दिएका थिए । उनले नेपालको पर्यटन बजार विस्तार रणनीतिबारे आयोजित प्यानल छलफलमा समेत सहभागिता जनाएका थिए । बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतसहितको टोलीले मेलामा नेपालको प्रतिनिधित्व गरेको थियो ।

    नेपालको स्टलमा ‘स्पिन एन्ड विन’ लक्की ड्र कार्यक्रम तथा वेलनेस पर्यटन प्रवर्द्धनअन्तर्गत नेपाली सिङ्गिङ बाउलको प्रदर्शन मुख्य आकर्षणका रूपमा रहेका थिए । मेलामा नेपालका आठ पर्यटन व्यवसायी कम्पनी सहभागी भएका थिए । सहभागी कम्पनीहरूले ट्रेकिङ, भ्रमण, होटल तथा आतिथ्य सेवासम्बन्धी प्याकेजहरूबारे चिनियाँ तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीलाई जानकारी दिएका थिए ।

    यसअघि नेपाल पर्यटन बोर्डले २० मे २०२६ मा ग्वाङ्झाउस्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा चीनको सेन्जेनमा आयोजित “नेपालः अ लाइफटाइम एक्सपेरियन्स” पर्यटन प्रवर्द्धन तथा बीटुबी नेटवर्किङ कार्यक्रममा पनि सहभागिता जनाएको हो ।

    हाल नेपाल वायुसेवा निगम र चाइना साउदर्न एयरलाइन्सले काठमाडौं–ग्वाङ्झाउ सिधा उडान सञ्चालन गरिरहेका छन् । यसले नेपाल र चीनबीचको पर्यटन पहुँच विस्तार हुनुका साथै चिनियाँ पर्यटक आगमन बढाउन सहयोग पुग्ने बोर्डको विश्‍वास छ ।