Category: समाचार

  • प्रतिनिधिसभा बैठक सुरूः श्रम संस्कृति पार्टीको विरोध कायमै

    प्रतिनिधिसभा बैठक सुरूः श्रम संस्कृति पार्टीको विरोध कायमै

    काठमाडौँ, १३ जेठ । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकको सुरूआतमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट ‘रूलिङ’ हुनुपर्ने माग दोहो¥याउँदै त्यसो नहुँदासम्म आफ्नो विरोध कायमै रहने बताए । सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई आशन ग्रहण गर्न आग्रह गरे । यसपछि सांसद राईले विरोध जनाउँदै बैठक बहिष्कार गरे ।

    प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२्–८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन् । राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण– विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक बैठकमा टेबुल भएका छन् । संसद् सचिवालयका अनुसार बैठकमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।

  • स्वच्छतामन्त्री मेहताको भूटानी समकक्षीसँग भेटवार्ता

    स्वच्छतामन्त्री मेहताको भूटानी समकक्षीसँग भेटवार्ता

    काठमाडौँ, १३ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भूटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच भेटवार्ता भएको छ । स्विट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा मङ्गलबार उनीहरुबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । सो अवसरमा नेपाल र भुटानको समस्या करिब उस्तै रहेकाले आपसी सहयोग र सहकार्यका आधारमा समाधान गर्नुपर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

    भेटका क्रममा स्वास्थ्य क्षेत्रमा लचिलो, समावेशी र जनमुखी स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्ने विषयमा पनि उनीहरुबीच छलफल भएको डा अधिकारीले बताए । सो क्रममा उनीहरुबीच दुई देशबीचको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन सहकार्य गर्ने विषयमा समझदारी भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । यसअघि मन्त्री मेहताले सभामा भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

  • हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

    हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

    काठमाडौँ, १३ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज यहाँ आयोजना गरिएको ‘सगरमाथा समिटर्स समिट–२०२६’ लाई सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका हुन् ।

    “सगरमाथा केबल नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिङ्गो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा हो, यी सम्पदाको संरक्षण, सम्वद्र्धन, प्रचारप्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्रमार्फत हाम्रो अर्थतन्त्रमा टेवा पुगेको छ”, उनले भने ।


    राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहर थुप्रिनेजस्ता समस्या अहिले चुनौती बनेको बताए । “यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भने ।


    हिमाल र हिमाली पर्यावरणको संरक्षणका लागि अन्तरराष्ट्रिय सहकार्य, संवाद तथा सचेतना अभिवृद्धिमा विश्वभरिका सगरमाथा आरोहीलाई एकैठाउँमा भेला गराएर विशेषतः सगरमाथासहित हिमाली क्षेत्रको बहुआयामिक पक्षबारे सार्थक छलफल हुने यो सम्मेलनको विशेष महत्व रहेको धारणा उनले व्यक्त गरे ।


    “आरोहणका क्रमका भोगाइ र अनुभवबाट प्राप्त गरेको ज्ञान नेपाल र नेपालीको मात्र नभएर विश्वकै गौरव, शान र पहिचानका रुपमा रहेको सगरमाथालाई यसको प्राकृतिकस्वरुपमा जीवन्त राख्न पनि यस सम्मेलनले विशेष ध्यान दिने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको पर्यटन प्रवद्र्धनमा ‘सगरमाथा समिटर्स समिट–२०२६’ फलदायी हुने विश्वास व्यक्त गरे । उनले जलवायु परिवर्तनको असर सगरमाथा र नेपालका हिमालमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

  • जलजलामा हिमाल र बादलको लुकामारी

    जलजलामा हिमाल र बादलको लुकामारी

    म्याग्दी, १३ जेठः पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालसहित सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

    धवलागिरि गाउँपालिका–७ की शान्ति थापाले जलजलाको समथर फाँटमा बसेर आँखैअगाडि हिमालको लर्कन हेर्दा चित्रकारले कोरेको क्यानभासजस्तो अनुभूति भएको बताए । “छिनछिनमा हुने बादल र हिमालको लुकामारी जलजलाको फरक आकर्षण रहेछ,” उनले भने, “दृश्यावलोकनसँगै गुर्जाघाट, छेन्तुङ, ढोरपाटनको जनजीवन, उत्तरगङ्गाको दर्शन तथा घोडा सवारीले यात्राको थकान नै बिर्सायो ।” बर्खायाममा पशुगोठ, समथर फाँट, वनजङ्गल र पहाडी भूगोल तथा वसन्त ऋतुमा गुराँसे जङ्गल अवलोकन गर्न पाइने भएकाले जलजलाको आकर्षण थपिएको धवलागिरि गाउँपालिका–३ का नरेश विश्वकर्माले बताए ।


    ‘रेडपान्डा’को बासस्थान
    जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा)को बासस्थान भएकाले थप महत्व रहेको छ । समुन्द्री सतहबाट दुई हजार २०० देखि चार हजार ५०० मिटरको उचाइमा बसोबास गर्ने रेडपान्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले जलजलामा तीन वटा क्यामेरा जडान गरिएकोमा दुई वटामा रेडपान्डा भेटिएको थियो । सो क्षेत्रमा छदेखि २५ वटासम्म रेडपान्डाको बसोबास भएको वायोकस नेपालका कार्यक्रम अधिकृत पवन राइले बताए ।


    स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन सिकार आरक्षको गुर्जाघाट, २०८१ को मङ्सिर र २०८३ वैशाख ३१ गते मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर भिडियो सार्वजनिक गरेका थिए । विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपान्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपान्डाको दिसा भेट्टाएका थिए । रेडपान्डाका कारण जलजला क्षेत्रमा साहसिक पदयात्रामा रमाउन चाहने पर्यटकहरुलाई आकर्षित गर्न सकिने धवलागिरि गाउँपालिका–३ का भोम पुनले बताउनुभयो ।

    सडक सुविधापछि पर्यटक बढे

    माथिल्लो जलजलामा ६ वर्षदेखि ‘गोठ स्टे’ सञ्चालन गर्दै आएका धवलागिरी गाउँपालिका–२ लुलाङका फुलबहादुर विकले दैनिकजसो पर्यटकहरु आउन थालेका बताए । “यसअघि ढोरपाटनमा आएका सीमित पर्यटकहरु मात्रै जलजलामा आउने गरेका थिए,” उनले भने, “म्याग्दी–ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार÷पाँच वटा गाडी तथा १५÷२० वटा मोटरसाइकलमा पर्यटकहरु आउन थालेका छन् ।”

    बेनी देखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुन महिनामा मार्ग खुलेपछि पूर्वी रुकुमको पुथाउत्तरगङ्गा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउनेहरु जलजलादेखि मुना हुदै फर्कने ‘रुट’ बनाउन थालेका छन् । मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरुका लागि जलजला साहासिक र आकर्षक गन्तव्य बनेको छ । तकसेरा–ढोरपाटन–जलजला हुँदै पोखराको यात्रा गरेकी बागलुङकी सपना रोकाले नयाँ मार्गमा साहासिक र रोमाञ्चक यात्रा भएको अनुभव सुनाए ।
    जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएको धवलागिरि गाउँपालिका–७ का विविधजङ थापाले बताए । नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षको दुई वटा मनसुुन र बार्से ब्लकसहित १३ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । जलजला ढोरपाटन सिकार आरक्षको ‘भ्यू पोइन्ट’का रुपमा विकास हुन थालेको छ । आवास र खानेपानी अभाव जलजलाको मुख्य समस्या बनेको छ ।

    पूर्वाधार निर्माण र प्रवर्द्धन अभियान सुरु

    गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा पर्यटक आगमन बढ्न थालेपछि धवलागिरी गाउँपालिकाले पूर्वाधार निर्माण र प्रर्वद्धनको काम थालेको छ । जलजलाको सम्भावनाको उजागर, समस्या समाधानका लागि साझा मुद्दा तय गरि जिल्ला, प्रदेश, संघीय तहमा पहल गर्ने उद्देश्यले यसै हप्ता पर्यटन प्रर्वद्धन कार्यक्रम सम्पन्न गरेको धवलागिरी गाउँपालिकाले खानेपानीको ब्यवस्था मिलाएको र शौचालय निर्माण थालेको उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।


    ताकमकोत, मुनामालिका, जलजला, गुर्जाघाट, रुघाचौर, गुर्जा, धौलागिरि आधार शिविर जोड्ने पदमार्गको अवधारणा अघि सारिएको छ । बस्ती देखि टाढा होटल र रेष्टुरेन्ट नभएको जलजलामा म्याग्दीको लुलाङका विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आउनुभएको छ । च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैंसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैं बन्दोबस्तीको सामान लगेर जानुपर्छ ।

    ढोरपाटन सिकार आरक्ष, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर पर्यटकहरुका लागि आश्रयस्थल, पदमार्ग निर्माण, विद्युत् र सञ्चार सुविधा विस्तारका लागि पहल गर्न कार्यक्रममार्फत सातबुँदे जलजला घोषणापत्र जारी गरिएको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए । ‘चिनौँ जलजला, घुमौँ जलजला’ डिजिटल अभियान सुरु गरिएको उनले बताए । जलजला देउरालीलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने अध्यक्ष पुनले बताए ।


    मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक म्याग्दीको बेनी हुँदै बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा जोड्ने सडक मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा विकास हुने सम्भावना देखिएको छ । हालै मार्ग खुलेको १२२ किलोमिटर दूरीको बेनी–ढोरपाटन–तकसेरा सडक बागलुङ–काँक्री खण्डभन्दा करिब ५० किलोमिटर छोटो रहेको छ ।

    ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप तथा मोटरसाइकलमार्फत करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट जिप वा मोटरसाइकलमा करिब दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ । दुवै तर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्ने स्थानीयवासीले बताएका छन् ।

    म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले मुना हुँदै ढोरपाटन र पूर्वी रुकुमको तकसेरा जोड्ने सडक खोल्नुको मुख्य उद्देश्य जलजलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु रहेको बताए । “पुरानो पदमार्गलाई आधार मानेर खोलिएको यो सडक स्तरोन्नति गर्न सके पूर्वी र पश्चिम रुकुम, जाजरकोट र डोल्पाका बासिन्दालाई पोखरा र काठमाडौँ आउजाउ गर्न छोटो र सहज हुनेछ,” उनले भने, “यो सडक स्तरोन्नति भए मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प तथा उच्च पहाडी राजमार्ग बन्न सक्ने सम्भावना छ ।”

    हाल सडकको विभिन्न स्थानमा स्तरोन्नति र खोलामा मोटर चल्ने पुल निर्माण गर्न बाँकी रहेको छ । यद्यपि नयाँ मार्ग सञ्चालनमा आएपछि ढोरपाटन, जलजला र तकसेरा भ्रमण गर्ने पर्यटकलाई सहज भएको छ । प्रदेश सांसद जुग्जालीका अनुसार बेनी–ढोरपाटन–तकसेरा सडकलाई मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न प्राथमिकता दिइएको छ ।

  • तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    दमौली (तनहुँ), १३ जेठः कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका धानबालीको स्थलगत प्राविधिक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ । म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न कृषि क्षेत्रमा गरिएको अनुगमनमा प्रदेश तथा जिल्लास्तरका कृषिसम्बन्धी निकायका विज्ञ प्राविधिकहरूको सहभागिता थियो । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, प्रदेश कृषि प्रयोगशाला पोखरा, कृषि अनुसन्धान केन्द्र पोखरा तथा कृषि विकास कार्यालयका प्राविधिक कर्मचारीको संयुक्त टोली सहभागी भएको कृषि विकास कार्यालयले जनाएको छ ।

    अनुगमनका क्रममा कृषकहरूले खेतीपातीमा भोगिरहेका समस्या स्थलगत रूपमा अवलोकन गरिएको थियो । खेतबारीमै पुगेर बालीमा देखिएका रोग तथा किराको पहिचान गर्नाका साथै त्यसको नियन्त्रण, व्यवस्थापन र उत्पादन वृद्धिसम्बन्धी प्राविधिक सुझाव प्रदान गरिएको कार्यालयका सूचना अधिकारी किरण परियारले जानकारी दिए । उनका अनुसार म्याग्दे गाउँपालिका–२ मा धान बालीमा मरुवा रोग देखिएको पाइएको छ । धानको वृद्धि प्रभावित हुने तथा बोट सुक्दै जाने समस्या देखिएपछि प्राविधिक टोलीले रोग नियन्त्रणका लागि आवश्यक व्यवस्थापन विधिबारे कृषकलाई जानकारी दिएको थियो ।

    म्याग्दे गाउँपालिका–३ मा धान बालीमा खैरो फड्के किराको प्रकोप देखिएको छ । उक्त किराले धानको बोटमा क्षति पु¥याई उत्पादनमा असर गर्ने भएकाले समयमै नियन्त्रणका उपाय अपनाउन किसानलाई सुझाव दिइएको परियारले जानकारी दिए । आँबुखैरेनी गाउँपालिका–१ मा भने विभिन्न लहरे तरकारी बालीमा डाउनी मिल्ड्यू रोग देखिएको अनुगमन टोलीले पहिचान गरेको छ । विशेषगरी लौका, करेला, काँक्रालगायत बालीमा देखिएको उक्त रोगका कारण पात पहेँलो हुने, बोट कमजोर बन्ने तथा उत्पादन घट्ने समस्या देखिएको किसानले बताएका छन् । प्राविधिकहरूले रोग नियन्त्रणका लागि खेत व्यवस्थापन, उचित विषादी प्रयोग तथा सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् ।

    अनुगमनका क्रममा किसानले यस वर्ष पर्याप्त वर्षा तथा मौसम प्रतिकूलताका कारण गत वर्षको तुलनामा उत्पादन घटेको गुनासो गरेका थिए । लगातारको वर्षा, असिना तथा हावाहुरीका कारण धान, तरकारी र मकै बाली प्रभावित भएको किसानको भनाइ थियो । किसानले विषादी प्रयोगसम्बन्धी अन्योल, समयमा पर्याप्त रासायनिक मल उपलब्ध नहुने समस्या तथा वर्णशङ्कर (हाइब्रिड) जातको कानुनी नियमनसम्बन्धी जिज्ञासा प्राविधिक टोलीसमक्ष राखेका थिए । उनीहरूले बजारमा पाइने बीउको गुणस्तर, विषादीको सही प्रयोग विधि र सरकारी नियमन प्रभावकारी हुनुपर्ने आवश्यकता औँल्याएका थिए ।

    सूचना अधिकारी परियारका अनुसार अनुगमन टोलीले किसानसँग प्रत्यक्ष छलफल गर्दै समस्या समाधानका सम्भावित उपायबारे जानकारी गराएको छ । बाली संरक्षण, रोग तथा किराको पहिचान, सन्तुलित विषादी प्रयोग, माटो व्यवस्थापन तथा उत्पादन वृद्धिसम्बन्धी प्राविधिक पृष्ठपोषण दिइएको उनले बताए । “किसानले खेतबारीमै भोगिरहेका समस्या बुझेर समाधानका उपाय दिनु नै कार्यक्रमको मुख्य उद्देश्य हो,” उनले भने, “प्राविधिक टोलीले रोग र किराको पहिचानसँगै तत्काल अपनाउनुपर्ने व्यवस्थापनका उपायबारे सुझाव दिएको छ ।” कृषि विकास कार्यालयले आगामी दिनमा पनि जिल्लाका विभिन्न क्षेत्रमा यस्ता संयुक्त प्राविधिक अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

  • मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    मुस्ताङ, १३ जेठः यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्याक्टर (मिनी ट्रेलर) हस्तान्तरण गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीरकण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले यहाँका किसानलाई ५० प्रतिशत अनुदान सहुलियतमा हाते ट्याक्टरसहित नौ प्रकारका कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरेको हो ।

    एकाइले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत ‘जोन सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रमअन्तर्गत यहाँका किसानकोमा माग सङ्ख्याका आधारमा कृषि यान्त्रिक उपकरण प्रविधि हस्तान्तरण गरेको हो । कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङका प्रमुख भरत गौतमका अनुसार स्याउ र आलु जोनमा सूचीकृत किसानलाई कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरिएको हो ।

    पाँच स्थानीय तहका स्याउ र आलु जोनमा सूचीकृत ५७ जना किसानलाई उनीहरुको मागमा आधारित कृषि यान्त्रिक उपकरण ५० प्रतिशत अनुदान सहुलियत मङ्गलबारदेखि हस्तान्तरण गरिन थालिएको उनको भनाइ छ । कार्यालयअनुसार चालु आवमा एकाइबाट १९ लाख र लाभग्राही किसानबाट १९ लाख गरी ३८ लाख बढीको यान्त्रिक कृषि उपकरण हस्तान्तरण भएको हो ।

    एकाइले स्याउ र आलु जोनमा सूचीकृत किसानलाई एक लाख २० हजार मुल्य पर्ने डिजेलवाला हाते ट्याक्टर १२ थान, ८० हजार मूल्य पर्ने पेट्रोलवाला हाते ट्याक्टर १७ थान र सानो खालको पेट्रोलवाला हाते ट्याक्टर दुई थान गरी ३१ थान हाते ट्याक्टर हस्तान्तरण गरेको हो ।

  • क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

    क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

    नयाँदिल्ली, १३ जेठ (रासस–एपी) । अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीहरूले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा, बन्दरगाह पूर्वाधार तथा ऊर्जा सुरक्षासम्बन्धी नयाँ संयुक्त पहलहरू सार्वजनिक गर्दै क्वाड सहकार्यलाई थप सुदृढ बनाउने घोषणा गरेका छन् ।

    नयाँदिल्लीमा भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशङ्कर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगी र अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङबीच भएको उच्चस्तरीय वार्तापछि यी पहलहरू सार्वजनिक गरिएको हो । बैठकमा चारै देशले क्षेत्रीय स्थिरता, आपूर्ति शृङ्खला र रणनीतिक सहकार्यलाई प्राथमिकतामा राख्दै साझा कार्यक्रम अघि बढाउने सहमति जनाएको बताइएको छ ।

    वार्ता सम्पन्न भएपछि अमेरिकी विदेशमन्त्री रुबियोले इन्डो–प्यासिफिक समुद्री निगरानी पहलको घोषणा गरे । यसअन्तर्गत चार देशबीच निगरानी क्षमताको एकीकरण र वास्तविक–समय सूचना आदान–प्रदानलाई सुदृढ पारिनेछ । साथै, प्रशान्त टापु राष्ट्र फिजीसँग सहकार्य गर्दै बन्दरगाह पूर्वाधार स्तरोन्नति गर्ने पहिलो संयुक्त क्षेत्रीय परियोजना पनि अघि बढाइने उनले जानकारी दिए ।


    त्यसैगरी, ऊर्जा आपूर्ति प्रणालीलाई सुरक्षित र स्थिर बनाउन इन्डो–प्यासिफिक ऊर्जा सुरक्षा पहल सुरु गरिएको छ । अमेरिकी पक्षले यसै वर्ष क्वाड इन्धन सुरक्षा फोरम आयोजना गर्ने तयारीसमेत गरेको रुबियोले बताए । उनका अनुसार यो साझेदारी अमेरिकी विदेश नीतिको प्रमुख आधारमध्ये एक हो र यसलाई अझ व्यावहारिक तथा परिणाममुखी बनाउने लक्ष्य राखिएको छ ।

    क्वाड समूह अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाबीचको रणनीतिक सहकार्य संरचना हो । यसले समुद्री सुरक्षा, आपूर्ति शृङ्खला र क्षेत्रीय रणनीतिक सन्तुलनमा सहकार्य गर्दै आएको छ । चीनले इन्डो–प्यासिफिक क्षेत्रमा आफ्नो सैन्य तथा आर्थिक प्रभाव विस्तार गरिरहेकै सन्दर्भमा यो समूहको सक्रियता बढ्दै गएको देखिन्छ ।

    समूहले बारम्बार दक्षिण चीन सागरमा चीनको सैन्य गतिविधि र क्षेत्रीय दाबीलाई लिएर चिन्ता व्यक्त गर्दै आएको छ । चीनले भने आफ्ना गतिविधिलाई रक्षात्मक र सार्वभौमिक अधिकारको संरक्षणका रूपमा व्याख्या गर्दै क्वाडलाई आफ्नो आर्थिक तथा रणनीतिक प्रभाव नियन्त्रण गर्ने प्रयासका रूपमा चित्रण गर्ने गरेको छ । यो बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणपछि केही दिनमै भएको हो र अन्तर्राष्ट्रिय समुदायले यसलाई वासिङ्टनको चीन नीतिमा सम्भावित परिवर्तनको सङ्केतका रूपमा नजिकबाट नियालिरहेको छ ।

    वार्ता अघि रुबियोले क्वाडलाई केवल संवादको मञ्च नभई ठोस कार्यान्वयन गर्ने संरचनामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार महत्त्वपूर्ण खनिज, समुद्री सुरक्षा र रणनीतिक आपूर्ति शृङ्खलाजस्ता क्षेत्रमा थप व्यावहारिक कदम आवश्यक छन् । उनले यसै वर्ष चार नेताहरूको शिखर सम्मेलनका लागि तयारी भइरहेको भए पनि मिति भने तय नभएको जानकारी दिए । यसअघि गत वर्ष भारतमा हुने भनिएको क्वाड शिखर सम्मेलन व्यापार शुल्कलगायत अमेरिका–भारत सम्बन्धमा देखिएको तनावका कारण स्थगित भएको थियो ।

    भारतका विदेशमन्त्री जयशङ्करले यस बैठकलाई ‘उच्च मूल्यको अभ्यास’ भन्दै क्षेत्रीय समुद्री व्यापार, ऊर्जा, मल आपूर्ति र महत्त्वपूर्ण खनिज विषयमा गहिरो छलफल भएको बताए । उनका अनुसार इन्डो–प्यासिफिकमा आर्थिक गतिविधि तीव्र रूपमा बढ्दै जाँदा क्वाडको जिम्मेवारी पनि सोही अनुपातमा विस्तार भइरहेको छ, जसका लागि चारै देश तयारी अवस्थामा रहनुपर्ने आवश्यकता छ । बैठकमा इरानसँग सम्बन्धित द्वन्द्व र हर्मुज जलघाँटी हुँदै हुने ऊर्जा आपूर्तिमा देखिएको अवरोधबारे पनि छलफल भएको बताइएको छ ।

    अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो आर्थिक तथा रणनीतिक दबाबप्रति चिन्ता व्यक्त गर्दै कुनै पनि अवरोध वा शुल्क प्रणालीले क्षेत्रीय ऊर्जा सुरक्षामा गम्भीर असर पार्न सक्ने चेतावनी दिए । उनले जलमार्गको स्वतन्त्रता कायम राख्नुपर्ने आवश्यकता दोहोर्‍याउँदै इरानद्वारा सम्भावित शुल्क वा नियन्त्रण योजनाप्रति असहमति जनाए । उनले क्वाडलाई स्वतन्त्र, खुला र नियम–आधारित इन्डो–प्यासिफिक निर्माण गर्ने साझा प्रतिबद्धता भएको संरचना भन्दै चार राष्ट्रबीच बढ्दो रणनीतिक समन्वयले क्षेत्रीय स्थायित्वमा योगदान दिने विश्वास व्यक्त गरे ।

  • कङ्गोमा इबोला फैलिँदै, स्वास्थ्य केन्द्रमाथि आक्रमण

    कङ्गोमा इबोला फैलिँदै, स्वास्थ्य केन्द्रमाथि आक्रमण

    बुनिया (कङ्गो),१२ जेठ (रासस–एपी) । कङ्गोको पूर्वी भागमा ुइबोलाु भाइरसको प्रकोप तीव्र बन्दै गएको छ । संक्रमितको संख्या झण्डै एक हजार नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीय विरोध र आक्रमणका कारण प्रभावित भइरहेका छन् । स्वयंसेवी स्वास्थ्यकर्मीहरूले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने, गालीगलौज गर्ने जस्ता व्यवहार सामना गर्नुपरेको छ । कतिपय मानिसहरू रोगप्रति शंका व्यक्त गर्दै स्वास्थ्यकर्मीमाथि अविश्वास देखाइरहेका छन् ।

    स्वास्थ्य केन्द्र र उपचार शिविरहरूमाथि आक्रमण र आगजनीका घटना पनि भएका छन् । केही स्थानमा संदिग्ध बिरामी राखिएका केन्द्रहरू जलाइएको छ भने कतिपय ठाउँमा अस्पतालबाट बिरामीहरू भाग्न बाध्य भएका छन् । विशेषज्ञहरूका अनुसार स्थानीय समुदायमा डर, भ्रम र अविश्वास बढेकाले रोग नियन्त्रण झनै कठिन बनेको छ ।

    साथै सुरक्षा चुनौती र मानवीय द्वन्द्वले पनि स्वास्थ्य अभियानलाई असर पारेको छ । यस प्रकोपमा देखिएको इबोला प्रकार दुर्लभ मानिन्छ र यसका लागि प्रभावकारी खोप वा उपचार सीमित रहेको बताइएको छ । स्वास्थ्यकर्मीहरू भने जोखिमका बाबजुद पनि सङ्क्रमण रोकथाम र जनचेतना फैलाउने प्रयास जारी राखिरहेका छन् ।

  • गाजामा इजरायली हवाई आक्रमण ७ जनाको मृत्यु

    गाजामा इजरायली हवाई आक्रमण ७ जनाको मृत्यु

    गाजा, १३ जेठ (रासस–सिन्ह्वा) । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार इजरायली हवाई आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। तीमध्ये ५ जनाको ज्यान एउटा आक्रमणमै गएको बताइएको छ। यो घटना इजरायल र हमासबीच अक्टोबर १० देखि लागू भएको युद्धविरामका बीच पनि गाजामा जारी हिंसाको पछिल्लो उदाहरण हो। हमासअन्तर्गत सञ्चालन हुने नागरिक सुरक्षा एजेन्सीले जारी गरेको वक्तव्यमा भनिएको छ कि पूर्वी अल–मघाजी क्षेत्रमा नागरिकहरूको समूहलाई लक्षित गर्दै गरिएको इजरायली ड्रोन आक्रमणपछि ५ जनाको शव र केही घाइतेलाई अस्पताल लगिएको थियो।

    अल–अक्सा शहीद अस्पताल तथा एक प्यालेस्टिनी सुरक्षा स्रोतले पनि घटनाको पुष्टि गरेका छन्। इजरायली सेनाले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार मंगलबार बिहान केही सशस्त्र व्यक्ति अल–मघाजी शरणार्थी शिविरमा प्रवेश गरी एउटा घरमा जबर्जस्ती पसेका थिए। त्यसपछि स्थानीय बासिन्दाले ढुंगा र लाठी प्रयोग गरेर उनीहरूको विरोध गरेका थिए। सोही क्रममा इजरायली ड्रोनले आक्रमण गर्दा ५ स्थानीय बासिन्दाको मृत्यु भएको बताइएको छ।

    ती सशस्त्र व्यक्तिहरू त्यसपछि इजरायली नियन्त्रणमा रहेको पूर्वी सीमाक्षेत्रतर्फ भागेको स्रोतले जनाएको छ। उनीहरूको पहिचान खुल्न सकेको छैन। यद्यपि, हालका दिनहरूमा हमासविरोधी तथा इजरायल समर्थित भनिएका सशस्त्र समूह र स्थानीय बासिन्दाबीच यस्तै झडपका घटनाहरू दोहोरिँदै आएका छन्।

  • चीनको सांस्कृतिक उद्योगमा ‘एआई’को प्रभाव बढ्दो

    चीनको सांस्कृतिक उद्योगमा ‘एआई’को प्रभाव बढ्दो

    सेनझेन, १३ जेठ (रासस–सिन्ह्वा) । दक्षिण चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेनझेन शहरमा आयोजित सांस्कृतिक उद्योगसम्बन्धी एक मञ्चले कृत्रिम बुद्धिमत्ता (एआई) अब चीनको सामग्री निर्माण, वितरण तथा विश्वव्यापी प्रचारप्रसारमा गहिरोसँग समाहित भइसकेको उल्लेख गरेको छ । हालै आयोजित ‘चीनको सांस्कृतिक शक्ति निर्माण २०२६’ मञ्चमा विभिन्न संस्थाहरूले कृत्रिम बुद्धिमत्ताबाट निर्माण गरिएका वृत्तचित्र, एनिमेटेड श्रृङ्खला तथा अनुवादित अनलाइन उपन्यासजस्ता नवीन कार्य प्रस्तुत गरेका थिए । यसले कृत्रिम बुद्धिमत्ताले चीनको सांस्कृतिक परिदृश्यलाई तीव्र रूपमा परिवर्तन गरिरहेको देखाएको छ ।


    सहभागीमध्ये हुनान प्रसारण प्रणालीले विशाल भाषा नमुना र मेघ गणना प्रविधिको प्रयोगमार्फत कृत्रिम बुद्धिमत्ताद्वारा सञ्चालित दृश्य सामग्री निर्माण संरचना विकास गरेको जानकारी दिएको थियो । सृजनात्मक तथा प्राविधिक टोलीलाई एकीकृत गरी अनुसन्धान संस्थासँग सहकार्य गरेपछि संस्थाले पूर्ण रूपमा कृत्रिम बुद्धिमत्ताद्वारा निर्मित वृत्तचित्र तथा छोटो नाटक सार्वजनिक गरिसकेको छ भने अहिले लामो धारावाहिक निर्माणमा काम गरिरहेको छ ।

    चीनका अनलाइन उपन्यासहरू लामो समयदेखि अन्तर्राष्ट्रिय विस्तारमा दुई प्रमुख समस्याबाट प्रभावित थिए । धेरै कल्पनात्मक तथा विज्ञान कथामा आधारित कथाहरूलाई परम्परागत चलचित्रमा रूपान्तरण गर्न कठिन थियो भने विश्वव्यापी पाठकका लागि अनुवाद गर्नु समय र खर्च दुवै हिसाबले चुनौतीपूर्ण थियो ।
    युएवेन समूहका उपाध्यक्ष सिए लानफाङका अनुसार कृत्रिम बुद्धिमत्ताले यी दुवै समस्या समाधान गरेको छ । कम्पनीले पाठ विश्लेषणदेखि दृश्य निर्माणसम्म काम गर्ने कृत्रिम सहायक विकास गरेको छ, जसले उपन्यासलाई एनिमेटेड भागमा रूपान्तरण गर्छ ।


    २०२५ को दोस्रो भागमा कृत्रिम चित्रकथा सेवा सुरु गरेपछि कम्पनीले करिब एक हजार कृत्रिम बुद्धिमत्ताद्वारा निर्मित कृतिहरू सार्वजनिक गरिसकेको छ । तीमध्ये एक सयभन्दा बढीले एक करोडभन्दा बढी अवलोकन प्राप्त गरेका छन् भने १२ वटा कृतिले १० करोडभन्दा बढी अवलोकन पाएका छन् । टेन्सेन्ट अनुसन्धान संस्थानका प्रमुख सी सियाओले कृत्रिम बुद्धिमत्ताले सामग्री निर्माणकर्ताको दायरा उल्लेखनीय रूपमा विस्तार गरेको बताउनुभयो । उहाँका अनुसार यसले हरेक व्यक्तिलाई सम्भावित सर्जक बनाउँदै उत्पादन खर्च र समय घटाएको छ तथा उत्पादन क्षमता बढाएको छ ।


    कृत्रिम बुद्धिमत्ताले पूर्ण रूपमा नयाँ सांस्कृतिक स्वरूप तथा प्रयोगको विकास पनि गरिरहेको छ । २२औँ चीन अन्तर्राष्ट्रिय सांस्कृतिक उद्योग मेलामा मानिसहरूले ‘चियानवेन’ कृत्रिम चस्मा प्रयोग गर्न लामो लाइन बसेका थिए । बेइजिङस्थित एक प्रविधि कम्पनीद्वारा विकसित उक्त चस्मामा विशाल भाषा नमुना जडान गरिएको छ, जसले मार्गनिर्देशन, वस्तु पहिचान तथा आवाजमार्फत प्रश्नोत्तर सुविधा प्रदान गर्छ ।
    कम्पनीका कर्मचारी वु जियानजुनका अनुसार संग्रहालय तथा सांस्कृतिक सम्पदा स्थलमा यस्ता चस्माको ठूलो सम्भावना छ ।

    कुनै चित्र वा वस्तुबारे जानकारी नभएका दर्शकलाई यसले गहिरो बुझाइ दिन सहयोग पु¥याउँछ । कृत्रिम बुद्धिमत्ताले चिनियाँ सांस्कृतिक सम्पदाको विश्वव्यापी प्रसारमा पनि सहयोग गरिरहेको छ । ‘डिजिटल पुस्तकालय गुफा’ परियोजनाले प्राचीन धार्मिक ग्रन्थलाई स्वचालित रूपमा पहिचान गरी टिप्पणी सच्याउने काम गरिरहेको छ, जसले विश्वभरिका दर्शकलाई प्राचीन भित्तेचित्रका सम्पदा अवलोकन गर्ने अवसर दिएको छ ।


    त्रि–आयामिक पुनर्निर्माण तथा डिजिटल अभिलेखीकरणमा विशेषज्ञता हासिल गरेको एक कम्पनीले विदेशमा हराएका चिनियाँ सांस्कृतिक वस्तुहरूको डिजिटल अभिलेख तयार गरिरहेको छ, जसले ती सम्पदालाई व्यापक दर्शकमाझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । कम्पनीले भविष्यमा स्थिर सांस्कृतिक सम्पदाको सुरक्षात्मक अवस्थाको परीक्षण गर्न पनि कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्ने योजना बनाएको जनाएको छ ।


    स्थानीय नीतिहरूले पनि कृत्रिम बुद्धिमत्तामा आधारित सांस्कृतिक विकासलाई थप बल प्रदान गरिरहेका छन् । सांघाईले सूक्ष्म नाटक क्षेत्रलाई सहयोग गर्न प्राविधिक सहायता तथा गणनाशक्ति अनुदान उपलब्ध गराएको छ । चीनको सिचुआन प्रान्तमा सांस्कृतिक तथा विज्ञान विभागहरूले संयुक्त परियोजना स्थापना गरी प्रमुख प्रविधि तथा उपकरण विकासलाई तीव्र बनाएका छन् ।

    मञ्चमा सहभागी धेरै उद्योग प्रतिनिधिहरूले सांस्कृतिक क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी राष्ट्रिय मार्गनिर्देशन आवश्यक रहेको बताएका छन् । उहाँहरूले प्राविधिक मापदण्ड, तथ्यांक नियम, प्रतिलिपि अधिकार तथा सामग्री चिन्हांकनसम्बन्धी स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्दै नैतिक र दिगो विकास सुनिश्चित गर्न आग्रह गरेका छन् ।

  • वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

    वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

    कोलम्बो, १३ जेठ (रासस–सिन्ह्वा) । श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा अहिलेसम्मकै उच्च वार्षिक कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ । श्रीलंका वैदेशिक रोजगार ब्यूरोका अध्यक्ष कोसला विक्रमसिंघेले सोमबार जानकारी दिए । उनका अनुसार सन् २०२६ को पहिलो चार महिनामा मात्रै ३ अर्ब ६ करोड अमेरिकी डलर बराबरको विप्रेषण प्राप्त भएको छ ।

    सन् २०२५ को सोही अवधिमा २ अर्ब ४० करोड डलर विप्रेषण प्राप्त भएको थियो, जुन त्यसअघिसम्मकै उच्च तथ्यांक मानिएको थियो । अध्यक्ष विक्रमसिंघेले विप्रेषण वृद्धिको प्रमुख कारण श्रीलंकाली वैदेशिक कामदारहरूको आधारभूत तलबमा भएको वृद्धि, नयाँ सरकारले लागू गरेका सुधारात्मक उपायपछि अन्तर्राष्ट्रिय स्तरमा वैदेशिक रोजगार क्षेत्रप्रतिको विश्वास अभिवृद्धि हुनु तथा कामदारका लागि कल्याणकारी सुविधा विस्तार हुनु रहेको बताए ।

    उनले मध्यपूर्वका केही क्षेत्रमा द्वन्द्वको अवस्था रहे पनि विप्रेषण आप्रवाह निरन्तर रूपमा बढिरहेको उल्लेख गरे । मध्यपूर्व श्रीलंकाली आप्रवासी कामदारहरूको प्रमुख गन्तव्य क्षेत्र मानिन्छ । विप्रेषण श्रीलंकाको प्रमुख वैदेशिक मुद्रा आम्दानी स्रोतहरूमध्ये एक हो ।

  • पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा

    पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा

    लिस्बन (पोर्चुगल), १३ जेठः लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको छ । दूतावासले कोइम्ब्राको मरिन्हा दास ओन्दासमा दुईदिने घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको हो । घुम्ती शिविरबाट कूल ८२ जना सेवाग्राही नेपालीले सेवा लिएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिए ।


    जसमा ४० जना नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको छ । यस्तै नौ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरण, ३१ जनाको शैक्षिक तथा अन्य कागजात प्रमाणीकरण र दुई जनाको राहदानी वितरण गरिएको नेपालले बताए । शिविरबाट छ हजार ७४५ युरो अर्थात् झण्डै रु १२ लाख राजस्व सङ्कलन भएको उनले बताए ।
    राजधानी लिस्बनदेखि टाढा रहेका नेपालीलाई सोही स्थानमै पुगेर सहज रुपमा दूतावासको सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप घुम्ती सेवा सञ्चालन गरिएको नेपालले बताए ।

    शनिबार र आइतबार सञ्चालन भएको शिविरमा राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको थियो । तयार भएर आएको राहदानी वितरण, प्रहरी रिपोर्टलगायतका अन्य कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरिएको दूतावासले जनाएको छ ।

    दूतावासले मदेइराको फुन्चालमा आगामी जुन ५ र ६ तारिख र एजोरेसको पोन्टा डेलगाडामा आगामी जुन २० र २१ तारिखमा घुम्ती शिविर सञ्चालन गरी सो क्षेत्रका नेपालीलाई सेवा प्रदान गर्ने जनाएको छ । यसअघि दूतावासले पोर्चुगलको फारो, मदेइरा, पोर्तो र ओदिमिरामा घुम्ती शिविर सञ्चालन गरेर नेपालीलाई सेवा प्रदान गरेको थियो ।

  • प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौँ, १३ जेठ : सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ ।

    साथै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२\८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । संसद् सचिवालयका अनुसार आजको बैठकमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।

    साथै राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२\८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

  • आजको मौसम : तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

    आजको मौसम : तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

    काठमाडौँ, १३ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा मङ्गलबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

    कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेश हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा अपराह्नपछि हुरीको सम्भावना रहेको छ ।

  • सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

    म्याग्दी, १३ जेठः मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरेर अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरिएको छ ।

    सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । स्थानीयवासीका साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् । सिरुवारी क्षेत्रमा वर्षा हुनेबित्तिकै पहिरो खस्ने समस्या दोहोरिने गरेको छ । उक्त पहिरो बेनी–जोमसोम सडकमा नियमित र सहज यातायात सञ्चालनका लागि मुख्य चुनौती बन्दै गएको छ ।

  • पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

    पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

    कास्की, १३ जेठः पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । पोखरा उपत्यका नगर विकास समितिले पूर्वन्यायाधीश शङ्करराज बरालको अध्यक्षतामा समिति गठन गरेको हो ।

    समितिमा पूर्वजिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्यसचिव छन् । बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको १९६ रोपनी जग्गामध्ये राजमार्ग विस्तारका क्रममा करिब नौ रोपनी क्षेत्रफल प्रयोग भएपछि बाँकी रहेको १८७ रोपनी जग्गासम्बन्धी सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति प्रक्रियाबारे विभिन्न गुनासा, लिखित उजुरी तथा प्रश्नहरू उठ्दै आएका छन् ।

    विशेषगरी केही व्यक्तिले नपाउनुपर्ने क्षतिपूर्ति प्राप्त गरेको, वितरण प्रक्रियामा असमानता भएको लगायत आरोप सार्वजनिक भएपछि सत्यतथ्य छानबिनका लागि समिति गठन गरिएको नगर विकास समितिका अध्यक्ष तथा पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार समितिलाई विगत ५१ वर्षको अवधिमा विभिन्न चरणमा भएका निर्णय, सट्टापट्टा तथा वितरण प्रक्रियासम्बन्धी कागजातको अध्ययन, विश्लेषण र परीक्षण गरी न्यायिक दृष्टिकोणबाट प्रतिवेदन तयार गर्न जिम्मेवारी दिइएको छ । समितिलाई प्रतिवेदन पेस गर्न १५ कार्यदिनको समय तोकिएको छ ।

    “समितिले निष्पक्ष र तथ्यमा आधारित प्रतिवेदनमार्फत बसपार्क जग्गासम्बन्धी देखिएका, सुनिएका तथा उठाइएका सबै विषयको यथार्थ उजागर गर्नेछ । आधा शताब्दीदेखि चर्चामा रहेको बसपार्क परियोजनालाई अब सफल विकासको उदाहरणका रूपमा स्थापित गर्नका लागि सबैको साथ र सहयोग आवश्यक छ,” महानगरप्रमुख आचार्यले भने । यसैगरी, महानगरले बसपार्क क्षेत्रभित्र बसोबास गर्दै आएका सुकुमवासी तथा भूमिहीन परिवारको वास्तविक अवस्था पहिचान गर्न तथा जग्गा व्यवस्थापनका लागि दुई छुट्टाछु्ट्टै समिति गठन गरेको छ ।

    महानगरपालिकाका अनुसार पोखरा बसपार्क क्षेत्रभित्र बसोबास गर्दै आएका तथा यही जेठ ८ गतेसम्म आफ्नो विवरण तथा लगत अद्यावधिक गराएका ५७२ सुकुमवासी तथा भूमिहीन परिवारको तथ्यगत अध्ययन, छानबिन र सत्यतथ्य पहिचान तथा वास्तविकसा सुकुमवासीको व्यवस्थापनका लागि समिति गठन गरिएको हो ।

  • हत्या अभियोगमा खोटाङबाट तीन युवा पक्राउ

    हत्या अभियोगमा खोटाङबाट तीन युवा पक्राउ

    खोटाङ, १३ जेठ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुइचुम्मा –४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका छन् । गत भदौ ३० गते राति रेश्मिका मृतावस्था फेला परेकी थिइन् । घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाउन उच्च अदालत ओखलढुङ्गाको आदेशका आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

    यसअघि रेश्मिका हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १६ वर्षीय एक किशोरलाई गत असोज १ गते पक्राउ गरेर जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । परिवारका सदस्यले थप तीन जनाको नाम उल्लेख गरेर गत चैत २१ गते उच्च अदालत ओखलढुङ्गामा किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा अदालतले चैत २८ गते घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो ।

  • हावाहुरीले ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु

    हावाहुरीले ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु

    दाङ, १२ जेठः रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । उनका अनुसार रुजुको घटनास्थलमा नै र मनबुजीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा आज मृत्यु भएको थियो ।

    उनीहरू दुवै जना सोमबार बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए । बिरामी भेटेर घरतर्फ फर्किने क्रममा बेलुकी हावाहुरीसहितको पानी पर्दा बाटोमाथिबाट उत्तिसको रूख ढलेपछि उनीहरूलाई च्यापेको थियो । रूख ढलेर मानिसहरू च्यापेको भन्ने खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई उद्धार गरेको थियो ।

  • प्रतिनिधिसभामा छिट्टै प्रधानमन्त्री आएर जवाफ दिनुहुन्छः सभामुख अर्याल

    प्रतिनिधिसभामा छिट्टै प्रधानमन्त्री आएर जवाफ दिनुहुन्छः सभामुख अर्याल

    काठमाडौँ, १२ जेठः प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह छिट्टै सदनमा आउने तयारीमा रहेको जानकारी गराएका छन् । सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको उपस्थिति र जवाफको लगातार माग गरेपछि सभामुख आर्यालले आफूले गरेको अनौपचारिक संवादका क्रममा प्रधानमन्त्री शाह सदनमा आउने तयारीमा रहेकाले अवरोध नगर्न आग्रह गरे ।

    उनले सरकारका तर्फबाट औपचारिक पत्र प्राप्त भएपछि प्रधानमन्त्री शाह आउने मिति तय गर्ने जनाए । सभामुख अर्यालले कानुन निर्माणका प्रक्रियामा धेरै काम बाँकी रहेकाले सदनमा अवरोध नगर्न विपक्षी दलका सांसदलाई आग्रह गरे । यसअघि बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले एक साताभित्र प्रधानमन्त्री शाह सदनमा आउने अवगत गराएका छन् ।

  • रोजगार सेवा केन्द्र अब ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’मा रूपान्तरण हुने

    रोजगार सेवा केन्द्र अब ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’मा रूपान्तरण हुने

    काठमाडौँ, १२ जेठः सरकारले देशभरका स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’का रूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै नयाँ व्यवस्था कार्यान्वयनका लागि ‘रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधि, २०८३’ स्वीकृत भई कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पठाइएको जनाएको छ ।

    नेपाल सरकार (मन्त्रिपरिषद्) को गत २०८२ चैत १३ गतेको निर्णयबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ को बुँदा नं ५९ बमोजिम देशमा रोजगारी सिर्जना, सीप विकास तथा उद्यमशीलता प्रवद्र्धनलाई एकीकृत रूपमा सुदृढ गर्ने उद्देश्यले विद्यमान रोजगार सेवा केन्द्रलाई ६० दिनभित्र रूपान्तरण गर्ने नीतिगत मार्गदर्शन प्राप्त भएको मन्त्रालयले उल्लेख गरेको छ ।

    उक्त विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न युवा, श्रम तथा रोजगार मन्त्रीस्तरको २०८२ चैत १९ गतेको निर्णयबाट मन्त्रालयका सचिवको संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सम्मिलित उच्चस्तरीय समिति गठन गरिएको थियो । सो समितिले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयको आन्तरिक रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा मस्यौदा कार्यदल गठन भई कार्यविधि तयार गरिएको हो ।

    युवा, श्रम तथा रोजगार मन्त्रीस्तरको २०८३ जेठ ६ गतेको निर्णयबाट स्वीकृत भएको उक्त कार्यविधि यही जेठ ११ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दर्ता भई कार्यान्वयनका लागि पठाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता पितम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ कार्यविधिअनुसार स्थानीय तहले सञ्चालन र व्यवस्थापन गर्ने गरी रूपान्तरित केन्द्र मार्फत बेरोजगार दर्ता, सार्वजनिक रोजगार कार्यक्रम, स्थानीय श्रम बजार विश्लेषण, सीप तथा माग नक्साङ्कन, सीप विकास तालिम समन्वय, रोजगार परामर्श, जब म्याचिङ, उद्यमशीलता प्रवद्र्धन तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरणसम्बन्धी सेवा एकद्वार प्रणालीमार्फत प्रवाह गरिने व्यवस्था गरिएको छ ।

    हाल विभिन्न मन्त्रालय र निकायबाट छुट्टाछुट्टै रूपमा सञ्चालन हुँदै आएका रोजगार, सीप विकास तथा उद्यमशीलताका कार्यक्रमलाई अब सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा प्रभावकारी र एकीकृत रूपमा सेवा प्रवाह गरिने अपेक्षा मन्त्रालयले लिएको छ । नागरिकको नजिकमा रहेको स्थानीय तहको रोजगार, सीप तथा उद्यमशीलता केन्द्रमार्फत निजी क्षेत्रका रोजगारदाता, तालिम प्रदायक संस्था, ट्रेड युनियन तथा सम्बन्धित सबै सरोकारवालालाई सहकार्य र सहभागिताका लागि मन्त्रालयले अनुरोधसमेत गरेको छ ।

  • अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

    अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

    काठमाडौँ, १२ जेठः सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान, वकपत्र गराउन सकिने आदेश गरेको छ । न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान, वकपत्र गर्न सकिने आदेश गरेको हो । अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र वकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहर गर्दै उक्त आदेश गरेको हो ।

    विशेष अदालत काठमाडौँका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दामा दुई सदस्य श्रेष्ठ र थापाले विदेशबाट अनलाइनमा बयान, वकपत्र गर्न अनुमति दिन नसकिने र अध्यक्ष कुँवरले अनुमति दिन सकिने राय दिएका थिए । उक्त मुद्दामा भएको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो ।

  • निर्वाचनसम्बन्धी दुई विधेयक पारित

    निर्वाचनसम्बन्धी दुई विधेयक पारित

    काठमाडौँ, १२ जेठः प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ । बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि तत्कालीन सरकारले ल्याएका निर्वाचन कानुन संशोधनसम्बन्धी अध्यादेशहरू विस्थापन गर्न हाल यी विधेयक प्रस्तुत भएका हुन् ।

    पारित विधेयकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ छन् । ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफाबार छलफलमा सांसद प्रेमबहादुर बयकले भाग लिँदै निर्वाचनमा समानुपातिकतर्फ अपाङ्गता भएका व्यक्तिको निर्वाचनमा सहभागितालाई थप सुनिश्चित गर्न आग्रह गरे । ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफलका लागि भने कुनै पनि सदस्यले नाम दिएका थिएनन् । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १३ गते बुधबार बिहान ११ः०० बजे बस्नेछ ।

  • ‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’

    ‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’

    काठमाडौँ, १२ जेठः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकार निजी क्षेत्रमैत्री नीति लिई अघि बढिरहेकाले व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यदलले उद्योग, वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग संविधान संशोधनका विषयमा आज सुझाव लिने क्रममा संयोजक शाहले निजी क्षेत्रसँग सहकार्य नगरी देशको आर्थिक विकास सम्भव छैन भन्नेमा सरकार जानकार रहेको बताए ।


    सरकारले कुनै पनि व्यवसायीलाई लक्षित गरेर धरपकड नगरेको दाबी गर्दै उहाँले गम्भीर आपराधिक गतिविधि र राज्यलाई क्षति पुर्‍याउने कार्यमा संलग्नहरूमाथि मात्रै कानुनी कारबाही भइरहेको स्पष्ट पारे । “प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय वा अन्य कुनै निकायबाट कसैलाई समात्ने वा नसमात्ने भन्नेजस्ता निर्देशन दिइएको छैन । सिस्टमले निष्पक्षरूपमा आफ्नो काम गरिरहेको छ,” उनले भने, “उद्यमी–व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न कोही कसैलाई चन्दा दिन पर्दैन । पार्टी वा सरकारका कुनै पदाधिकारीबाट यस्तो दबाब आए हामीलाई जानकारी दिनुहोस् । इमान्दारीताका साथ ढुक्क भएर काम गर्नुहोस् ।”

    प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक शाहले वर्तमान सरकार सुशासन र भ्रष्टाचार अन्त्यको ‘एजेन्डा’बाट बनेको सरकार भएकाले ‘शून्य सहनशीलता’ नीति अपनाएको बताए । सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउने तयारी गरिरहेको र आगामी बजेटले व्यवसाय गर्ने वातावरण सहज बनाउने उनको भनाइ थियो ।

    सरकारले ‘एकद्वार प्रणाली’मार्फत झन्झटिलो प्रशासनिक प्रक्रिया घटाउने तयारी गरिरहेको उनले जानकारी दिए । उत्पादन, लगानी, उद्योग तथा व्यवसायसँग सम्बन्धित नीतिमा सुधार भइरहेको उल्लेख गर्दै सल्लाहकार शाहले निजी क्षेत्रलाई हरेक परियोजनामा सहभागी गराइने धारणासमेत राखे । सरकारले ठूला परियोजनामा निजी क्षेत्रको सहभागिता बढाउन ‘बीओटी’ र ‘पीपीपी’ मोडल अपनाउने तयारी गरिरहेको उनले जानकारी दिए ।

    विगतमा सरकारी नीति, अस्थिरता वा अन्य कारणले व्यवसायीहरू समस्यामा परेको स्वीकार गर्दै उनले कर छुट, सहुलियत तथा राहतका कार्यक्रम ल्याउन सकिने सङ्केत गरे । तर, त्यसका लागि निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो । सो छलफलमा सहभागी उद्योगी तथा व्यवसायीहरूबाट प्राप्त सुझावलाई बहसपत्र तयारीका क्रममा प्राथमिकताका साथ समेटिने उनले स्पष्ट पारे ।


    छलफलमा उद्योग, वाणिज्य एवं निजी क्षेत्रका प्रतिनिधिहरू दिव्यमणि भण्डारी, अन्जन श्रेष्ठ, अरुण चौधरी, डा उपेन्द्र महतो, रवि केसी, शिवरतन शारदा, दीपक मल्होत्रा, राजेशकाजी श्रेष्ठ, राजुबाबु श्रेष्ठ, सुरेशलाल श्रेष्ठ, विजय राजभण्डारी, आनन्द बगरिया, प्रदीप श्रेष्ठ, कुशकुमार जोशी, भवानी राणा, सुरज वैद्य, शशी अग्रवाल, सुरहित ज्योती, प्रकाश डोटेल, शतिश शर्मा, सुदीप आचार्य, डा राजेन्द्र केसी, योगेन्द्र शाक्य, शेरसिंह श्रेष्ठ, सुमन पाण्डे, हेमन्त गोल्छा, दीपक दहाल, शङ्कर घिमिरे, क्याबिनेट श्रेष्ठ, हेमराज ढकाल, सङ्गीता श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, वीरेन्द्रराज पाण्डे र हरिभक्त शर्मा सहभागी थिए ।


    उनीहरुले संविधान संशोधन र आर्थिक सुधारका सुझावहरूसमेत प्रस्तुत गरेका थिए । निजी क्षेत्रले संविधान संशोधनलाई केवल राजनीतिक विषय नभई आर्थिक सुधार, लगानी सुरक्षा, कानुनी स्पष्टता, सुशासन र निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन गर्ने अवसरका रूपमा हेरेको उनीहरुको राय थियो । आर्थिक स्थायित्व, लगानीमैत्री वातावरण, कानुनी स्पष्टता, सुशासन र निजी क्षेत्रप्रति सम्मानजनक दृष्टिकोण आवश्यक रहेको उनीहरुको भनाइ थियो ।

    यस्तै, संविधानको प्रस्तावनामा ‘समाजवाद उन्मुख व्यवस्था’ भन्ने शब्द अस्पष्ट भएकाले यसलाई ‘प्रतिस्पर्धात्मक, खुला र नवप्रवर्तनमुखी बजार अर्थतन्त्र’ लेखिनुपर्ने उनीहरुको सुझाव थियो । यस्तै, निजी क्षेत्रलाई राज्यको प्रमुख आर्थिक साझेदारका रूपमा संवैधानिक मान्यता दिनुपर्ने उनीहरुको साझा राय थियो ।
    उद्योग वा परियोजना सञ्चालनका लागि धेरै निकायबाट अनुमति लिनुपर्ने झन्झट हटाउन माग राख्दै लगानी स्वीकृति, जग्गा, वातावरण, वनलगायतका प्रक्रिया छिटो र स्पष्ट हुनुपर्ने धारणा उनीहरुले प्रस्तुत गरे ।

  • बजेट लेखन अन्तिम चरणमा

    बजेट लेखन अन्तिम चरणमा

    काठमाडौँ, १२ जेठः सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्‍याएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिनुभएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन गरिरहेका छन् ।

    यही जेठ १५ गते गणतन्त्र दिवसको दिन सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम छ । नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ । पछिल्ला केही दिनदेखि अर्थमन्त्री डा वाग्लेले बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम रूप दिन लागि परेको उनका स्वकीय सचिव नवीन ढुङ्गानाले जानकारी दिए ।

    सङ्घीय संसद्ले सांसदहरूले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त माथिको छलफलमा क्रममा दिनुभएको सुझावलाई पनि लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थमन्त्रालयलाई उपलब्ध गराएको छ ।

    अर्थमन्त्री डा वाग्लेले पूर्वअर्थमन्त्री, अर्थविद्हरूसँग पनि बजेटका बारेमा छलफल गरिसकेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स जस्ता संस्थाको सुझाव यसअघि नै लिइसकेका छन् । महासङ्घले तीन महले नै बनाएर आगामी आवको बजेटमा समावेश गर्नुपर्ने विषय उपलब्ध गराएको छ । महासङ्घले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई बजेटका सुझाव पेस गर्दै महासङ्घले आगामी बजेट केवल सामान्य वार्षिक दस्तावेज मात्र नभई नेपालको आर्थिक इतिहासकै विशिष्ट मोडमा आउन लागेको भन्दै अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्न सुझाव दिएको छ ।

    अर्थमन्त्री डा वाग्लेले पनि नागरिकले अब भाषण होइन, परिणाम खोजेको उल्लेख गर्दै कानुनी सुधार, संस्थागत उत्तरदायित्व, समयसीमा, डिजिटल ट्र्याकिङ, प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य सञ्चालनको केन्द्रमा राखिएको बताएका छन् । उनले पहिलो पटक मिसन मोडका आधारमा अगाडि बढ्न खोजेको यसअघि नै स्पष्ट पारेका छन् ।


    झन्डै दुई तिहाइ जनमत प्राप्त सरकारले प्रस्तुत गर्न लागेको बजेटलाई अत्यन्तै महत्त्वका साथ हेरिएको छ । सिंहदरबारस्थित नवनिर्मित सङ्घीय संसद् भवनमा अर्थमन्त्री डा वाग्लेले बजेट प्रस्तुत गर्नेछन् । सङ्घीय संसद् सचिवालयका अनुसार बजेट प्रस्तुत गरिने भवनको निर्माण सम्पन्न भएको छ ।

    सभामुख डोलप्रसाद अर्याल र अर्थमन्त्री वाग्लेलगायतको टोलीले सोमबार नवनिर्मित भवनको अवलोकन निरीक्षण गरेका थिए । विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्ने क्रममा नै अर्थमन्त्री डा वाग्लेले नयाँ आधारमा नयाँ आवको बजेट आउने सङ्केत गरिसकेका छन् ।

  • बङ्गलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु

    बङ्गलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु

    ढाका, १२ जेठ (रासस–एपी) । मध्य बङ्गलादेशमा प्रमुख राजमार्गमा सोमबार बिहान भएको भीषण ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । फलामको रड र अतिरिक्त यात्रु बोकेको उक्त ट्रक अनियन्त्रित भई पल्टिँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटना राजधानी ढाकाबाट करिब ८३ किलोमिटर उत्तर–पश्चिममा पर्ने टाङ्गैल जिल्लाको सोराटोल क्षेत्रमा बिहान करिब ५ बजे भएको हो । स्थानीय प्रहरी प्रमुख फुआद हुसेनका अनुसार चालकले नियन्त्रण गुमाएपछि ट्रक सडकमा पल्टिएको थियो ।

    उनका अनुसार ट्रकले हिचहाइक (यात्राका लागि लिफ्ट लिएका) यात्रुहरू बोकेको थियो र ढाकाबाट उत्तरी क्षेत्रतर्फ जाँदै थियो । दुर्घटनापछि घटनास्थलमै धेरै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ । घटना इस्लामिक पर्व ईद अल–अधा अघि यात्रुहरूको चहलपहल बढिरहेका बेला भएको हो । आगामी बिहीबार मनाइने उक्त पर्वका लागि धेरै मानिसहरू आफ्नो परिवारसँग भेट्न देशभर यात्रा गरिरहेका छन् ।

    प्रहरीका अनुसार दुर्घटनामा परेकामध्ये अधिकांश दैनिक ज्यालादारीमा काम गर्ने मजदुर रहेका थिए । उनीहरू चाडपर्वका लागि आफ्ना परिवारसँग पुनः भेट गर्न यात्रा गरिरहेका थिए । प्रत्यक्षदर्शीहरूले स्थानीय टेलिभिजन च्यानलहरूलाई बताएअनुसार ठूलो आवाज सुनेपछि उनीहरू घटनास्थलमा पुगेका थिए । त्यसपछि फसेका यात्रुहरूलाई उद्धार गर्ने प्रयास गरिएको थियो ।

    बङ्गलादेशमा यस्ता सडक दुर्घटना बारम्बार हुने गरेका छन् । सत्र करोडभन्दा बढी जनसङ्ख्या भएको यस देशमा ट्राफिक नियमको कमजोर पालना, खराब सडक अवस्था र लापरवाह ड्राइभिङका कारण प्रत्येक वर्ष हजारौँ मानिसको ज्यान जाने गरेको अधिकारीहरूले जनाएका छन् ।

  • जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

    काभ्रेपलाञ्चोक, १२ जेठः जापानको सहयोगमा बिपी राजमार्गको पिप्लेदेखि बर्खेखोला सडकखण्डको आजदेखि पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरे ।

    जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडकखण्डमा पर्ने तीन दशमलव दुई किलोमिटर सडकखण्डको पुनर्निर्माण सुरु भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेहले जानकारी दिए । उनका अनुसार २०८१ असोज १२ को बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली करिब ३० किलोमिटर सडकखण्ड पुनर्निर्माण तथा मर्मत गर्नुपर्ने देखिएको छ ।

    पिप्ले–बर्खेखोला सडकखण्डको जापानस्थित सिमिजु कर्पोरेसनले निर्माणको जिम्मा लिएको हो । योगेशका अनुसार जापानले दुई अर्ब ८० करोड येन अनुदान दिनेगरी २०८२ कात्तिक १३ गते द्विपक्षीय सम्झौता भएको थियो । बाँकी प्रक्रिया पूरा गरेर निर्माण सुरु गरिएको जनाइएको छ । यसअघि जाइका टोलीले पूर्वतयारीस्वरुप क्याम्प बनाउने, अस्थायी बाटो बनाउनेलगायत काम गरेको छ । योसमेत गरी हाल बिपी राजमार्गको क्षतिग्रस्त सडक चार खण्डमा निर्माणाधीन अवस्थामा रहेको हो ।

    यसअघि हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा सडकखण्डमा कुल २५ प्रतिशत काम भएको योगेशको भनाइ छ । विसं २०८१ असोजकै बाढीपहिरो तथा २०८२ को वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि प्रक्रिया पु¥याएर स्थायी पुनःनिर्माण थालिएको हो । क्षति पु¥याएको विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि ‘आरसिसी’ पर्खाल लगाउन सुरु गरिएको योगशले जानकारी दिए ।


    यस्तै डालाबेँसी, मङ्गलटार खण्ड, चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको उनले बताए । गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ । यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाइ कालोपत्र गरी कामलाई तीव्रता दिइएको योगेशले बताए । अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो ।

    “पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई दुई लेनको निर्माण गरिनेछ”, योगेशले भने । उनका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्ने योजना बनाइएको छ । डालाबेँसीदेखि चारसयबेँसीसम्म ८ दशमलव ५ किमी सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाखमा निर्माण गर्नेगरी ठेक्का दिइएको छ ।

    यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक पुनःनिर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाख, नेपालथोकदेखि बर्खेखोलासम्म ४ दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड (भ्याटसहित)मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको छ ।

    कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्ड बाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको थियो । क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो ।

    जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

  • हुरीले घर भत्किँदा महिलाको मृत्यु

    हुरीले घर भत्किँदा महिलाको मृत्यु

    चन्द्रपुर (रौतहट), १२ जेठः रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक महिलाको ज्यान गएको छ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो ।

    फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिए । हुरीले रायको घरको टायलको छानो र बासको बार भएको एकतले कच्ची घर भत्किँदा फूलकुमारीको मृत्यु भएको उनले बताए । यसैबीच, जिल्ला प्रहरी कार्यालयले सोमबार विभिन्न मुद्दामा फरार रहेका १० व्यक्तिलाई पक्राउ गरेको छ ।

  • सार्वजनिक जग्गामा स्याउ बगैँचा

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    गलकोट (बागलुङ), १२ जेठः बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती विस्तार गरेको छ । गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा रु ४० लाख खर्चेर स्याउ बगैँचा निर्माण गरेको हो । गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधिसहित एक हजार ४०० स्याउका बिरुवा हुर्काइरहेको छ । गाउँपालिका–४ स्थित गोरदी र बयलीमा सार्वजनिक जग्गाको झाडी फाँडेर स्याउखेती विस्तार गरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।

    “गाउँपालिकाले वडा कार्यालयको संरक्षणमा स्याउ बगैँचा विस्तार गरेको र अहिले स्याउका एक हजार ४०० बिरुवा एक वर्षदेखि हुर्किरहेका छन्”, अध्यक्ष बुढाले भने, “चारदेखि पाँच वर्षमा स्याउ फल्ने गरी मुस्ताङबाट बिरुवा लिएर एक वर्षअघि लगाइएको छ, गाउँपालिकाले स्याउको प्रतिफल दिन थालेपछि स्थानीयलाई हस्तान्तरण गर्ने योजना छ, गाउँपालिकाले कार्यविधि बनाउँछ ।”

    पालिकाले गरेको लगानीको प्रतिफल उठाउने र समुदायमा संरक्षणका लागि स्याउ बगैँचा हस्तान्तरण गर्नेगरी अहिले वडा कार्यालयले स्याउ बगैँचा विस्तार र संरक्षणको काम गरिरहेको छ । गाउँपालिकाको ठूलो लगानीमा खेर गएको सार्वजनिक जग्गा सदुपयोग गर्दै कृषिलाई पर्यटनसँग जोड्नेगरी काम गरिरहेको तमानखोला गाउँपालका–४ का अध्यक्ष छ प्रसाद श्रीपालीले जानकारी दिए ।


    “गाउँपालिकाले उत्पादनको नीति ल्याएको हो, उत्पादनमा नोजोडिने हो भने गाउँको जमिन खाली हुन्छ, हामीले खेर गएको सार्वजनिक जग्गा व्यवस्थापन गरेर सिँचाइसहितको स्याउ बगैँचा स्थापना गरेको हो”, श्रीपालीले भने, “चौबिस रोपनी जग्गामा एकसाथ स्याउ फल्दा कृषिमा जोडेर पर्यटनकोसमेत विकास गर्ने र बयलीमा स्याउ बगैँचाका बीचमा रिसोर्ट बनाउने योजना छ ।”

    गोरदीमा रु सात लाख र बयलीमा रु ३३ लाख खर्च गरेर तारबार, सिँचाइसहितको स्याउ बगैँचा स्थापना गरिएको हो । सार्वजनिक जग्गालाई तारबार गरेर बिरुवा लगाउँदा संरक्षण भएको र उत्पादन खेर जाने समस्या अन्त हुने विश्वास गरिएको छ । मुस्ताङबाट पाँच वर्षभित्रै फल्ने गाला र गोल्डेन जातको स्याउको बिरुवा सम्भाव्यता अध्ययन गरेपछि लगाइएको गाउँपालिकाका कृषि प्राविधिक विधान बगालेले जानकारी दिनुभयो ।

    समुन्द्र सतहदेखि दुई हजार ३०० मिटरको उचाइमा चिसो मौसममा स्याउ राम्रो फल्ने सम्भावना रहेको बगालेको भनाइ छ । स्याउले उत्पादन राम्रो दिएमा पर्यटनलाई लक्षित गरेर घरबास र रिसोर्ट लगायतको पूर्वाधारमा पालिकाले थप लगानी गर्ने योजना बनाएको छ ।

  • प्रतिनिधिसभाको बैठक आज बस्दै

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    काठमाडौँ, १२ जेठः प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

    साथै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

    बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३, तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफाबार छलफल तथा पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।

  • आजको मौसम : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

    आजको मौसम : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

    काठमाडौँ, १२ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित देशका केही भागमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै लुम्बिनी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यसैगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


    कोशी र मधेस प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षारहिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भाग तथा सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागको एकदुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशखाले जनाएको छ ।