Category: समाचार

  • मुस्ताङमा शालिग्राम मूर्ति स्थापना

    मुस्ताङमा शालिग्राम मूर्ति स्थापना

    मुस्ताङ, १५ जेठः मुस्ताङमा शालिग्राम मूर्ति उद्घाटन गरिएको छ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी तटमा मूर्तिकारले कुदेको २२ फिट अग्लो विशाल मूर्ति बिहीबार साँझ धार्मिक विधिपूर्वका समुद्घाटन गरिएको हो । मुक्तिनाथ दर्शनका लागि आएका दक्षिण भारत कर्नाटक राज्यको शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगदगुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजद्वारा विशाल शालिग्रामको समुद्घाटन गरेका हुन् । शालिग्राम शिलाको समुद्घाटन गरिएकाले यहाँको धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

    घरपझोङ गाउँपालिका र एकीकृत सामाजिक विकास कार्यालयको संयुक्त आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा तीन हप्ताअघि मुस्ताङको मूर्तिकला कार्यशाला चलाइएको थियो । प्रज्ञा प्रतिष्ठानमा आबद्ध तीन दर्जन मूर्तिकारले कालीगण्डकी नदीका विशाल ढुङ्गाहरूमा विभिन्न स्वरुपमा मूर्तिका आकार भरेका थिए । सोही निर्माण गरिएका मूर्तिमध्ये कालीगण्डकी नदी तटमा निर्माण गरिएको विश्वकै ठूलो आकारको शालिग्राम शिला मूर्तिको भारतीय जगद्गुरुद्वारा धार्मिक विधिपूर्वक उद्घाटन भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।


    राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै विशेष सुरक्षा निगरानीसहित बुधबार दिउँसो मुक्तिनाथ दर्शन गर्न पुगेका भारतीय जगद्गुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारतीसहितको टोली त्यहाँबाट फर्किएलगत्तै जोमसोममा निर्मित शालिग्राम शिलाको उद्घाटन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।


    कार्यक्रममा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकालीसहित पालिकाका जनप्रतिनिधि र कर्मचारी, प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, जोमसोम गाउँ समाज, महिला समूह र स्थानीय नागरिकको उल्लेख्य सहभागिता थियो । यसअघि मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किएका जगदगुरु शङ्कराचार्य महाराजको ठूलो सङ्ख्यामा स्वागत तथा नागरिक अभिनन्दन गरिएको थियो ।

    भारतीय जगदगुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजसहितको टोलीले मुक्तिनाथ मन्दिरको दर्शन गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । मन्दिरमा करिब एक घण्टा दर्शन तथा पूजाअर्चनामा बिताएका महाराजले १०८ धारा र मन्दिर परिसरको कुण्डमा स्नान गरेको व्यवस्थापक भुसालले जानकारी दिए ।

    नेपाल सरकार गृह मन्त्रालयको विशेष सुरक्षा व्यवस्थासहित मुस्ताङ आउनुभएका भारतीय जगदगुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहजीकरण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।

    धर्मगुरु जगदगुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजको आगमनले मुस्ताङको धार्मिक पर्यटन प्रवर्द्धनमा निकै ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । मुस्ताङमा विदेशी पर्यटकको आमगनमध्ये ८० प्रतिशत पर्यटक भारतीय रहने गरेका छन् । मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको आगमन बर्सेनि वृद्धि हुने गरेको छ । अब जोमसोम निर्मि शीला उद्घाटनले थप भारतीय दर्शनार्थी बढ्ने अपेक्षा गरिएको छ ।

  • सुशासन र आर्थिक पुनरुत्थान केन्द्रित बजेट सार्वजनिक हुँदै

    सुशासन र आर्थिक पुनरुत्थान केन्द्रित बजेट सार्वजनिक हुँदै

    काठमाडौँ, १५ जेठः सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार सदनमा आयव्ययको विवरण पेस हुन लागेको हो ।

    अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिँदै रु १८ खर्ब ९० अर्बदेखि रु २० खर्बसम्मको बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहेको अर्थ मन्त्रालयका एक जना वरिष्ठ अधिकारीले राससलाई जानकारी दिएका छन् । सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट सार्वजनिक हुने उनको भनाइ छ ।

    राष्ट्रिय योजना आयोगले आगामी आवका निम्ति रु १८ खर्ब ९० अर्ब बराबरको बजेट बनाउन सरकारलाई सुझाएको थियो । आयोगले निर्धारण गरेको सीमामा रहेर बजेट तयार गर्न कठिन हुने भएकाले त्यसलाई पुनरवलोकन गर्न सरकारबाट अनुरोध भएपछि राष्ट्रिय स्रोत अनुमान समितिले त्यसलाई बढाएर¥याएको थियो ।

    सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना, सरकारको नीति तथा कार्यक्रममा तथा संसद्मा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाएर बजेट तयार गरिएको जनाइएको छ । सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिएका सुझाव, सरकारको सुशासनको मार्गचित्र, आर्थिक सुधार, उत्पादन वृद्धि तथा सेवा प्रवाहलाई बजेटको केन्द्रमा राखिएको बताइएको छ ।

    सरकारी कर्मचारीको तलब वृद्धि, केही करका दरमा पुनरावलोकन, उद्योग–व्यवसायमैत्री नीति तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रमसमेत बजेटमा समेटिने चर्चा छ । सूचना प्रविधि, साना तथा मझौला उद्योग र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिइएको जनाइएको छ ।

  • संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना दिवस मनाइँदै

    संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना दिवस मनाइँदै

    काठमाडौँ, १५ जेठः संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तरराष्ट्रिय दिवस मनाइँदैछ । यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आगामी जुन ५ मा दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदैछ । कार्यक्रममा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाउनुभएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ‘ड्याग ह्यामार्शोल्ड पदक’ प्रदान गर्नेछन् । सम्मानित हुनेमध्ये गत वर्ष निधन भएका ५९ जना शान्ति सेना पनि रहेको नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयले जनाएको छ ।

    ‘ड्याग ह्यामार्शोल्ड पदक’बाट मरणोपरान्त सम्मानित हुनुहुने शान्ति सेनामध्ये नेपालका दुई जना पनि छन् । सन् २०२५ मा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा कार्यरत रहँदा निधन भएका कर्पोरल सुरज लामिछाने तथा सन् २००० मा पूर्वी टिमोरमा सेवाका क्रममा निधन भएका सिपाही देवीराम जैसीलाई उक्त पदक प्रदान गरिनेछ ।

    हाल विश्वका सबैभन्दा जटिल परिस्थितिमध्ये केही क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको झन्डामुनि ५० हजारभन्दा बढी नागरिक, सैनिक तथा प्रहरी शान्ति सेना कार्यरत छन् । द्वन्द्वहरू झन् विभाजित, दीर्घकालीन तथा डिजिटल उपकरणको दुरुपयोग र हानिकारक सूचनाको फैलावटजस्ता नयाँ चुनौतीबाट प्रभावित बन्दै गइरहेका सन्दर्भमा शान्ति सेनाहरूले सेवा प्रदान गरिरहेका छन् । हाल ११ वटा शान्ति स्थापना मिसनमा ११८ देशबाट सुरक्षाकर्मी खटिएका छन् ।

    शान्ति स्थापनामा सुरक्षाकर्मी योगदान गर्ने सबैभन्दा ठूलो मुलुक नेपाल

    नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा सुरक्षाकर्मी योगदान गर्ने सबैभन्दा ठूलो मुलुक हो । हाल नेपालले ३६४ महिलासहित चार हजार ३०० भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारी अबेई, मध्य अफ्रिकी गणतन्त्र, साइप्रस, कङ्गो लोकतान्त्रिक गणतन्त्र, कोसोभो, लेबनान, लिबिया, मध्यपूर्व, सोमालिया, दक्षिण सुडान तथा पश्चिमी सहारास्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानहरूमा परिचालन गरेको छ ।

    शान्ति स्थापनाले राजनीतिक समाधानलाई सहयोग गर्ने, द्वन्द्व चर्किन नदिने, सर्वसाधारणको सुरक्षा गर्ने, युद्धविरामको अनुगमन गर्ने, मानवीय सहायता पुर्याउन सहयोग गर्ने, बारुदी सुरुङ हटाउनेलगायतका महत्त्वपूर्ण कार्य गर्दै आएको संयुक्त राष्ट्रसङ्घको भनाइ छ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २००२ मा यस दिवसको स्थापना गरेको थियो । सन् १९४८ मा सुरक्षा परिषद्ले मध्यपूर्वमा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान ‘संयुक्त राष्ट्रसङ्घ ट्रुस सुपरभिजन अर्गनाइजेसन’ स्थापना गरेको दिनको स्मरणमा मे २९ लाई यस दिवसका रूपमा चयन गरिएको हो ।

    यस वर्षको दिवसको मुख्य नारा ‘शान्तिमा लगानी’ रहेको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूले घट्दो स्रोतसाधनको सामना गरिरहेका बेला यो नाराले द्वन्द्व समाधानका लागि शान्ति स्थापना अझै पनि अन्तरराष्ट्रिय समुदायसँग भएको सबैभन्दा प्रभावकारी माध्यममध्ये एक रहेको सन्देश दिन्छ ।

    शान्ति सेनामाथिका आक्रमण मानवीय कानुनको उल्लङ्घनः महासचिव गुटेरेस

    महासचिव गुटेरेसले दिवसका अवसरमा सन्देश जारी गर्दै शान्ति सेनामाथिका आक्रमण अन्तरराष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन भएको र संयुक्त राष्ट्रसङ्घीय कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सदस्य राष्ट्रहरूले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, “यस अन्तरराष्ट्रिय दिवसमा हामी विगत र वर्तमानका सम्पूर्ण शान्ति सेनालाई सम्मान गर्दछौँ र उहाँहरूको कार्यप्रति सम्मान तथा सुदृढ समर्थन गर्ने साझा जिम्मेवारी पुनः दोहोर्याउँछौँ । सन् १९४८ यता शान्तिको सेवामा ज्यान गुमाएका झन्डै चार हजार ५०० शान्ति सेनाप्रति हामी श्रद्धाञ्जली अर्पण गर्दछौँ, जसमा गत वर्ष निधन भएका ५९ जना पनि समावेश हुनुहुन्छ । शान्तिको सेवामा कसैले पनि ज्यान गुमाउन नपरोस् ।”

    उनले थप भनेका छन्, “तनाव बढिरहेको यस समयमा शान्ति स्थापना स्थायित्व र आशा पुनःस्थापित गर्ने प्रमाणित तथा लागत–प्रभावकारी उपाय हो । तर यसका लागि निरन्तर राजनीतिक समर्थन र भरपर्दो वित्तीय सहयोग आवश्यक हुन्छ ।”

    विशेष समारोहका क्रममा महासचिव गुटेरेसले ‘असाधारण साहसका लागि क्याप्टेन म्बाये डियाग्ने पदक’ उरुग्वेका कर्पोरल माटियास रेयेसलाई प्रदान गर्नेछन् । उनले सन् २०२५ को प्रारम्भमा कङ्गो लोकतान्त्रिक गणतन्त्रको पूर्वी क्षेत्र गोमामा सङ्कट उत्कर्षमा पुगेका बेला साहसिक भूमिका निर्वाह गरेका थिए । त्यस्तै, दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनमा निजी ठेकेदारका रूपमा कार्यरत रहँदा गत वर्ष मार्चमा घेराबन्दीमा परेका सैनिकहरूको उद्धार अभियानका क्रममा मारिएका युक्रेनका स्वर्गीय सर्गी प्राइकोडकोलाई पनि उक्त पदक प्रदान गरिनेछ ।

    महासचिव गुटेरेसले सन् २०२५ का लागि ‘वर्षकै उत्कृष्ट सैन्य लैङ्गिक पक्षधर’ पुरस्कार लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बलमा कार्यरत भारतकी मेजर अभिलाषा बराकलाई तथा ‘वर्षकै उत्कृष्ट महिला प्रहरी अधिकारी’ पुरस्कार दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनमा कार्यरत जर्मनीकी स्टेफानी कोनिग्सलाई प्रदान गर्नेछन् ।


    संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानसम्बन्धी उपमहासचिव जाँ–पियरे लाक्र्वाले पनि दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गरी शान्ति स्थापनामा लगानी गर्नु भनेको स्थायित्व, रोकथाम र शान्तिको सम्भावनामै लगानी गर्नु हो भनी उल्लेख गरेका छन् । उनले भनेका छन्, “द्वन्द्व बढिरहेको र स्रोतसाधन खुम्चिँदै गएको समयमा पनि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाले सर्वसाधारणको सुरक्षा गरिरहेका छन्, हिंसा फैलिनबाट रोकिरहेका छन् र विश्वका सबैभन्दा कठिन परिस्थितिहरूमा आशालाई जीवित राखिरहेका छन् ।”

  • समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकताः राष्ट्रपति पौडेल

    समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकताः राष्ट्रपति पौडेल

    काठमाडौँ, १५ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्यको आवश्यकता औँल्याए ।


    उनले भनेका छन्, “गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य, सुसंस्कृत तथा समुन्समाज निर्माण गर्न आआफ्नो क्षेत्रबाट योगदान पुर्याउनका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछु ।”

    नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ । साथै, राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका श्रद्धेय नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवं राजनीतिक कार्यकर्ताको योगदानको उच्च प्रशंसा पनि गरेका छन् ।


    उनले भनेका छन्, “लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, आजको यस ऐतिहासिक दिवसले हामी सबै नेपालीहरूबीच आपसी विश्वास, सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ हुँदै जाओस् भन्ने कामना व्यक्त गर्दछु ।”

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, १५ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने तराई भू–भागमा आंशिक बदली भएको छ ।

    कोशी,बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने जनाइएको छ ।

    महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

    त्यसैगरी, आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहने तथा अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ । सुदूरपश्चिम, लुम्बिनी, कर्णाली तथा बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । देशका केही तराई तथा पहाडी क्षेत्रमा हुरीको सम्भावना रहेकाले महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • आज सगरमाथा दिवसः विश्वसामु नेपालको गौरव र हिमाली पर्यटनको आधार

    आज सगरमाथा दिवसः विश्वसामु नेपालको गौरव र हिमाली पर्यटनको आधार

    काठमाडौँ, १५ जेठः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज यहाँ विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

    सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तरराष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ । पर्यटन विभागका अनुसार आठ हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । विश्वका १४ वटा अग्ला हिमालमध्ये आठ वटा नेपालमा छन् । सन् २०२१ मा नेपाल र चीनले संयुक्त रूपमा गरेको पुनःमापनअनुसार सगरमाथाको उचाइ आठ हजार ८४८ दशमलव ८६ मिटर निर्धारण भएको छ ।

    यस दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसायी, पर्वतारोहणसम्बन्धी सङ्घसंस्था तथा स्थानीय तहले हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरेका छन् । जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लिने, हिमतालको जोखिम बढ्ने तथा वातावरणीय प्रभाव देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् ।

    पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण आधार मानिन्छ । प्रत्येक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौँ पर्यटक तथा पर्वतारोही नेपाल आउने गरेका छन् । सगरमाथा आरोहणले नेपाललाई विश्व पर्यटन नक्सामा विशेष पहिचान दिलाउन महत्वपूर्ण योगदान पु¥याएको मानिन्छ ।

    यस अवसरमा नेपाल पर्वतारोहण सङ्घले हिमाली क्षेत्रको दिगो संरक्षण, स्वच्छता, सुरक्षित आरोहण र स्थानीय समुदायको जीवनशैली जोगाउन सबै पक्षको साझा प्रयास आवश्यक भएको जनाएको छ ।

  • नुवाकोटमा जिप दुर्घटनाः एक जनाको मृत्यु

    नुवाकोटमा जिप दुर्घटनाः एक जनाको मृत्यु

    त्रिशूली (नुवाकोट), १५ जेठः नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो । उनलाई उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए । साथमा रहेको सवारी चालक अनुमतिपत्रका आधारमा उहाँको सनाखत गरिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका सुनसरीको इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडाँै महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार ढिकुरेबाट काठमाडौँ जाँदै गरेको बिएई ०५६९ नम्बरको विद्युतीय कार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङ नजिकै अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो । स्थानीयवासीको सहयोगमा प्रहरीले जङ्गल क्षेत्र र अँध्यारो अवस्थाका बाबजुद शीघ्र उद्धार गरेर घाइतेलाई उपचारका लागि काठमाडौँ पठाएको थियो ।

    सञ्चारमन्त्रीबाट दुःख व्यक्त

    नुवाकोटमा भएको सवारी दुर्घटनाबाट एक जनाको निधन र दुई जना गम्भीर घाइते भएको घटनाप्रति सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले दुःख व्यक्त गरेका छन् । दिवङ्गत सञ्जीवकुमार चौधरीप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति मन्त्री डा तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत समवेदना प्रकट गरेका छन् । यस्तै, दुर्घटनामा घाइते भएका उत्सव पोखरेल र लोकेश मिश्रको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मन्त्री तिमिल्सिनाले दुर्घटनापश्चातका विभत्स तस्बिर सामाजिक सञ्जालमा साझा भएकाले त्यसो नगर्न पनि अनुरोध गरेका छन् ।

  • एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छः परराष्ट्र मन्त्री

    एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छः परराष्ट्र मन्त्री

    काठमाडौँ, १४ जेठः परराष्ट्रमन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजानिक गरिएको गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदमा सबै सरोकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताएका छन् । एशोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) केन्द्रीय समितिका तर्फबाट उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उनले हाल सार्वजनिक भएको मस्यौदा एकप्रकारले ‘शून्य ड्राफ्ट’ भएको जानकारी दिँदै त्यसमा सबै पक्षसँग बृहत् छलफल गरेर मात्र संसद्मा पेस हुने बताए ।


    एएनओले ऐनको सार्वजनिक मस्यौदाका कतिपय बुँदा अव्यावहारिक रहेका र विदेशिएका नेपालीलाई नेपालसँग जोड्नका लागि पर्याप्त नरहेको भन्दै मन्त्री खनालको ध्यानाकर्षण गराएको थियो । एएनओको ध्यानाकर्षणपत्र ग्रहण गर्दै मन्त्री खनालले यो विधेयकका सम्बन्धमा आफूले प्रश्नावली तयार गरेको बताउँदै संसद्मा पेस गर्नुअघि यस विषयमा सरोकार भएकाहरू सबैसँग रायसुझाव लिइने आश्वासन दिए ।


    त्यस अवसरमा उपाध्यक्ष पन्तले उक्त प्रस्तावित कानुनले नेपाली पन र नेपाली मनलाई नेपालसँग दीर्घकालसम्म सेतुका रुपमा जोड्न सक्नुपर्ने धारणा राखे । उक्त पत्रमा नेपाली उत्पत्तिका व्यक्तिसम्बन्धी परिभाषामा संशोधनको आवश्यकता रहेको, तीनपुस्ताभित्र र त्यस बाहिरका पुस्ताका विदेशिएका नेपालीलाई सम्बोधन गर्न मस्यौदामा व्यापक छलफल र परिमार्जनको आवश्यकता रहेको उल्लेख छ । प्रतिनिधिमण्डलमा एएनओका महासचिव चूडामणि भट्टराई, बोर्ड अफ ट्रस्टी सदस्य बाबुकृष्ण कार्की, एएनओ नेपालका अध्यक्ष कृष्णप्रसाद सापकोटालगायत थिए ।

  • शुक्रबार आगामी आवको बजेट सार्वजनिक गरिँदै, ४ बजे बजेट भाषण

    शुक्रबार आगामी आवको बजेट सार्वजनिक गरिँदै, ४ बजे बजेट भाषण

    काठमाडौँ, १४ जेठ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले बजेट प्रस्तुत गर्दैछ । निर्वाचनका क्रममा सो पार्टीले प्रस्तुत गरेको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने बताइएको छ ।

    सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिनुभएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई बजेटको केन्द्रमा राखिएको छ । यही जेठ १५ गते गणतन्त्र दिवसको दिन सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अपराह्न ४ः०० बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

    यसपटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि रु १८ खर्ब ९० अर्ब बराबरको बजेट सिलिङ तय गरेको थियो । सरोकारवाला निकायको सुझावलाई बजेटमा यथेष्ट स्थान दिइएको बताइएको छ । चालु आवको बजेट रु १९ खर्ब ६४ अर्ब बराबरको थियो । गत भदौ २३ र २४ मा भएको आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार रु १६ खर्ब ८८ अर्ब बराबर बनाएका थिए ।

  • मौसम बदली र वर्षाले आगामी केही दिन शीतल महसुस

    मौसम बदली र वर्षाले आगामी केही दिन शीतल महसुस

    काठमाडौँ, १४ जेठः पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा केही राहत महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदलीका कारण केही दिन विभिन्न जिल्लामा वर्षासहितको हावाहुरी चल्ने र तराई क्षेत्रमा शीतल महसुस हुने जनाएको छ । दुई दिनअघि तराइका विभिन्न जिल्लामा ४१ डिग्री नाघेको तापक्रम अहिले ३९ डिग्रीभन्दा तल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मापन केन्द्रमा भएको अभिलेखअनुसार आज सबैभन्दा बढी तापक्रम धनगढीमा ३८ दशमलव सात डिग्री मापन भएको छ । यस्तै नेपालगञ्जमा ३८ दशमलव दुई डिग्रीसम्म तापक्रम पुगेको छ ।

    अन्य जिल्लामा ३६ डिग्रीभन्दा माथि आज तापक्रम नगएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले देशभर केही शीतल महसुस भएको बताए । उनले अहिले विभिन्न जिल्लामा वर्षा हुने क्रम बढेको भन्दै काठमाडौँसहित कतिपय जिल्लामा वर्षा भइरहेको जानकारी दिए । आजमात्रै धनकुटामा सबैभन्दा बढी ८७ मिलिमिटर वर्षा भएको छ । काठमाडौँसहितका कतिपय जिल्लामा भने मध्यमसम्म वर्षा भएको विभागले जानकारी दिएको छ । भोलिदेखि भने वर्षा केही बढ्ने जनाइएको छ ।

    विभागले आज साँझ जारी गरेको बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसका कारण अहले देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशका केही स्थानमा, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए ।


    मौसमविद् धर्मराज उप्रेतीका अनुसार पश्चिम तराईको लु अर्थात् अत्यधिक गर्मीको अवस्था आज रातिदेखि कमी आउने र आगामी तीन–चार दिन शीतल महसुस हुने सम्भावना छ । उनका अनुसार जेष्ठ १५ गते बिहानैदेखि पश्चिम नेपालका तीन प्रदेश (सुदुर पश्चिम, कर्णाली अनि लुम्बिनी)मा वर्षा, असिना, हावाहुरीको संभावना रहेको र जेष्ठ १८ गतेसम्म यो प्रणालीको प्रभाव रहने छ । यो प्रणालीको प्रभाव गण्डकी, कोशी र मधेसमा पनि देखिने हुँदा शीतल महसुस हुने बताइएको छ ।

    विभागका अनुसार शुक्रबार देशभर साधारणतया बादल लागी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशका तराई भू(भागका एक(दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू(भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

  • विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन-सिफारिस आह्वान

    विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन-सिफारिस आह्वान

    काठमाडौँ, १४ जेठः परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत पदमा आवेदन\सिफारिसका लागि आह्वान गरेको छ । मुलुकको परराष्ट्र नीति, अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्द्धन गर्नका लागि मन्त्रालयले आज राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकको दरखास्त÷सिफारिस आह्वान गरेको हो । मन्त्रालयको सूचनाअनुसार यस नियुक्ति प्रक्रियाअन्तर्गत इच्छुक तथा योग्य उम्मेदवारहरूले स्वयंले पनि आफ्नो दरखास्त पेस गर्न सक्नेछन् । साथै अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ ।

    राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को अधीनमा रही तयार गरिएको वेबसाइटमा उपलब्ध कार्यशर्तबमोजिमको आवश्यक योग्यता पुगेका उम्मेदवारको सिफारिस गर्न सकिनेछ । सम्भावित उम्मेदवारहरूको आवेदन÷सिफारिस गर्दा मन्त्रालयको वेबसाइटमा उपलब्ध फारममार्फत विस्तृत व्यक्तिगत विवरणलगायतका कागजातहरू पेस गर्नुपर्नेछ वा मन्त्रालयले दिएको इमेल ठेगानामा सम्पर्क पनि गर्न सकिने सूचनामा उल्लेख छ ।

    दरखास्त÷सिफारिस बुझाउने अन्तिम मिति यही जेठ २२ गते अपराह्न ५ः०० बजेसम्म निर्धारण गरिएको छ भने रीत नपुगेका वा तोकिएको म्याद नाघी आएका आवेदनहरूलाई छनोट प्रक्रियामा समावेश नगरिने सूचनामा उल्लेख छ । त्यसैगरी, मन्त्रालयले प्राप्त आवेदन तथा सिफारिसहरूबाट प्रारम्भिक सूची तयार गरी योग्यता र उपयुक्तताका आधारमा उम्मेदवारहरूको ‘सर्टलिस्ट’ गर्नेछ र ‘सर्टलिस्ट’मा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिने छ ।

  • नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

    नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

    काठमाडौँ, १४ जेठः नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा सम्पन्न भएको छ । नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसर पारेर आयोजित उक्त बैठकमा दुई देशबीचको समग्र सम्बन्ध र सहकार्यका विविध पक्षबारे समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा दुवै पक्षले दुई देशबीचको लामो समयदेखिको मित्रता र घनिष्ठ साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाली पक्षले स्विस पक्षलाई नेपालको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाबारे जानकारी गराउँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, डिजिटल रूपान्तरण तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई नयाँ सरकारका प्राथमिकताका रूपमा प्रस्तुत गरेको थियो । साथै जलविद्युत् उत्पादन तथा प्रसारण, पर्यटन र सूचना प्रविधि क्षेत्रको विकास सरकारका प्रमुख आर्थिक लक्ष्य रहेको जानकारी पनि गराइएको थियो ।

    नेपाली पक्षले स्विस सरकारद्वारा स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसनमार्फत नेपाललाई निरन्तर प्राथमिकतामा राखिएकोप्रति आभार व्यक्त गरेको थियो । सङ्घीयता कार्यान्वयन, झोलुङ्गे पुल निर्माण, आप्रवासन व्यवस्थापन, सामुदायिक वन, प्राविधिक तथा व्यावसायिक शिक्षा र विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिजस्ता क्षेत्रमा स्विट्जरल्याण्डले पु¥याएको सहयोगको प्रशंसा गर्दै नेपालको प्राथमिकताअनुसार सहयोगको दायरा अझ विस्तार गर्न आग्रह गरिएको थियो ।

    बैठकमा जलवायु परिवर्तनलगायत साझा चासोका क्षेत्रीय तथा विश्वव्यापी विषय र बहुपक्षीय मञ्चमा सहकार्यका विषयमा पनि विचार आदानप्रदान भएको थियो । दुवै पक्षले प्रस्तावित समझदारीपत्र तथा सम्झौताहरू शीघ्र निष्कर्षमा पु¥याउने सहमति जनाएका छन् । बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका युरोप महाशाखा प्रमुख तथा सहसचिव गणेशप्रसाद ढकाल र स्विट्जरल्याण्डको सङ्घीय परराष्ट्र विभागअन्तर्गत एसिया तथा प्रशान्त महाशाखाका प्रमुख मार्कस लाइटनरले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बैठकको सहअध्यक्षता गरेका थिए ।


    नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको युरोप महाशाखा तथा सम्बन्धित मन्त्रालयका अधिकारी सहभागी थिए भने स्विस प्रतिनिधिमण्डलमा नेपालका लागि स्विस राजदूत डानिएल मेउलीसहित उक्त महाशाखाका पदाधिकारी र यहाँस्थित स्विस दूतावासका अधिकारी सहभागी थिए ।

    यसैगरी, बुधरबार नै स्विस प्रतिनिधिमण्डलले परराष्ट्र सचिव अमृतबहादुर राईसँग उनको कार्यकक्षमा शिष्टाचार भेट गरेको थियो । उक्त अवसरमा दुवै पक्षले संयन्त्रको बैठकका उपलब्धिप्रति सन्तोष व्यक्त गरेका थिए । नेपाल र स्विट्जरल्याण्डबीच संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा सन् २०१५ नोभेम्बर ४ मा हस्ताक्षर भएको हो ।

  • एआई प्रभावले चिप कम्पनीहरूको सेयरमा तीव्र वृद्धि

    एआई प्रभावले चिप कम्पनीहरूको सेयरमा तीव्र वृद्धि

    हङकङ, १४ जेठ (रासस–एएफपी) । एशियाली शेयर बजार बुधबार मिश्रित देखिए पनि प्रविधि (टेक) सेयरको तीव्र उछालका कारण केही बजारमा मजबुत वृद्धि देखिएको छ । लगानीकर्ताहरू संयुक्त राज्य अमेरिका र इरानबीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर सावधानीपूर्वक आशावादी बनेका छन् ।
    कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी प्रविधि कम्पनीहरूको सेयरमा आएको ठूलो वृद्धिका कारण यस वर्ष बजार लगातार नयाँ उचाइमा पुगेको छ ।

    दक्षिण कोरियाको बजारमा बुधबार २ प्रतिशतभन्दा बढी वृद्धि भयो, जसमा चिप निर्माता एसके हाइनिक्सको सेयर ११ प्रतिशतले बढेर १ ट्रिलियन अमेरिकी डलर बजार मूल्य पुगेको छ । यससँगै एसके हाइनिक्स एशियाका केवल तीन १ ट्रिलियन डलर कम्पनीमध्ये एक बनेको छ, स्यामसुङ इलेक्ट्रोनिक्स र ताइवानको टीएसएमसीसँगै, जसले एआई प्रणालीका लागि चिप उत्पादन गर्छन् ।

    एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टेफेन इनिसका अनुसार बजारले स्पष्ट रूपमा एउटा सन्देश दिएको छ—एआईको माग अब केवल ठूला भाषा मोडेल चलाउने चिपमा सीमित छैन, बरु ती मोडेललाई ठूलो स्तरमा सञ्चालन गर्न आवश्यक मेमोरी प्रणालीसम्म विस्तार भएको छ । यसैबीच, मध्यपूर्वमा युद्ध रोक्ने उद्देश्यले वासिङ्टन र तेहरानबीच भइरहेको वार्तामा पनि लगानीकर्ताहरूले नजर राखिरहेका छन् । हालै युद्धविरामको रिपोर्ट आए पनि सोमबार भएको अमेरिकी आक्रमणपछि तनाव फेरि बढेको छ ।

    तेहरानले अमेरिकाले युद्धविराम तोडेको आरोप लगाउँदै खाडी क्षेत्रमा रहेका अमेरिकी लक्ष्यहरूमा जवाफी कारबाही गर्न सक्ने चेतावनी दिएको छ । अमेरिकी आक्रमणपछि अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य मङ्गलबार करिब ४.५ प्रतिशतले बढेर प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

  • जलजलामा ‘गोठस्टे’ को स्वागत

    जलजलामा ‘गोठस्टे’ को स्वागत

    सन्तोष गौतम –रासस
    जलजला (म्याग्दी), १४ जेठः म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा बस्तीदेखि टाढा रहेको जलजला घुम्न आउने पर्यटकलाई खाने बस्ने सुविधाका लागि स्थानीय पशुपालक किसानहरुले गोठबास सञ्चालन गरेका हुन् । गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने ढोरपाटन शिकार आरक्षमा समेटिएको जलजलामा बस्ती, होटल र रेष्टुराँ छैन ।

    ढोरपाटन शिकार आरक्षको नीतिगत व्यवस्थाका कारण पक्की संरचना बनाउन नमिल्ने भएपछि गोठमा पर्यटक राख्ने नयाँ अवधारणा अघि सारिएको गोठबास सञ्चालक फुलबहादुर विश्वकर्माले बताए । “पर्यटकहरुको अनुरोधमा गोठमै खाने बस्ने सुविधा दिएको हो”, उनले भने, “गोठालाहरुलाई अतिरिक्त आम्दानी र पर्यटकहरुलाई सहज भएको छ ।” गोठबासमा बस्नका लागि पाहुनाहरुले अग्रिम रुपमा फोन गरेर ‘बुक’ गर्नुपर्छ । बीस जनाभन्दा बढी पाहुना भएमा पालो लगाउने गरिएको विकले बताए ।


    “यसअघि ढोरपाटनमा आएका सिमित पर्यटकहरु मात्रै जलजलामा आउने गरेका थिए”, उनले भने, “म्याग्दी–ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार÷पाँच वटा गाडी तथा १५÷२० वटा मोटरसाइकलमा १०० जनासम्म पर्यटक आउन थालेका छन् ।”

    पर्यटकलाई सहज

    गोठबासमा च्याउ, टुसा, ढकायोको तरकारी, ढिडो, आटो, गाईभैँसीको दूध, दही, मोही, खसीको मासुको परिकारको स्वाद लिन पाइन्छ । आन्तरिक पर्यटक प्रतापजङ्ग थापाले गोठबासको सुविधा भएपछि टेन्ट लगेर जानुपर्ने अथवा ओडार खोजेर रात कटाउनुपर्ने अवस्था हटेको बताए । घुम्ती गोठको महशुस गर्न पाइने उनले सुनाए । जलजला धौलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । बर्खायाममा जलजला उपत्यकामा भेडाबाख्रा, गाईभैँसी र घोडाको घुम्ती गोठ लैजाने चलन छ ।

    बेनीदेखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुन महिनामा मार्ग खुलेपछि पूर्वी रुकुमको पुथा उत्तरगङ्गा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउने जलजलादेखि मुना हँुदै फर्कने ‘रुट’ बनाउन थालेका छन् ।

    मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरुका लागि जलजला साहासिक र आकर्षक गन्तब्य बनेको छ । नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षको दुई वटा मनसुुन र बार्से ब्लकसहित १३ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । जलजला ढोरपाटन शिकार आरक्षको ‘भ्यू पोइन्ट’को रुपमा विकास हुन थालेको छ ।

    जलजलाको आकर्षण

    समथर पाटनको शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउनुु जलजला उपत्यकाको विशेषता हो । समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गराउँछ । जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे« र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।

    बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विशेषता हो । जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को वासस्थान भएकाले थप महत्व रहेको छ ।

    पूर्वाधार थपिँदै

    धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले गोठबास प्रभावकारी बनेको बताए । “जलजलामा खानेपानीको व्यवस्था मिलाएको र सार्वजनिक शौचालय निर्माण थालिएको छ”, उनले भने, “ढोरपाटन शिकार आरक्षसँग समन्वय गरेर अस्थायी टहरा र गोठ बनाएर गोठबासको क्षमता बढाउन पहल गरिएको छ ।”

    सार्वजनिक शौचालय र खानेपानी निर्माणका लागि चालु आर्थिक वर्षमा रु नौ लाख बजेट विनियोजन गरेको धौलागिरि गाउँपालिकाले यसै हप्ता जलजलामा पर्यटन प्रवद्र्धन कार्यक्रम पनि सम्पन्न गरेको छ । ताकमकोत, मुनामालिका, जलजला, गुर्जाघाट, रुघाचौर, गुर्जा, धौलागिरि आधार शिविर जोड्ने पदमार्गको अवधारणा अघि सारिएको छ ।

    कसरी पुग्ने ?

    धौलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि जिप र मोटरसाइकलमा दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ । ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा ३० मिनेट यात्रा गर्नुपर्छ । दुईतर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्छ ।

  • बेल्जियम रेल–मिनीबस दुर्घटनामा ४ को मृत्यु

    बेल्जियम रेल–मिनीबस दुर्घटनामा ४ को मृत्यु

    बुगेनहाउट, (बेल्जियम), १४ जेठ (रासस–एपी) । बेल्जियमको बुगेनहाउट सहर नजिक मङ्गलबार बिहान उच्च गतिमा आएको रेल र रेलवे क्रसिङ पार गरिरहेको मिनीबसबीच भएको भीषण ठक्करमा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ भने पाँच जना बालबालिका गम्भीर रूपमा घाइते भएका छन् । ब्रसेल्सबाट करिब ३० किलोमिटर उत्तरपश्चिममा रहेको उक्त क्षेत्रमा व्यस्त बिहानको समयमा भएको दुर्घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ । प्रारम्भिक विवरणअनुसार मिनीबस बन्द गरिएको रेल क्रसिङ अवरोध पार गर्दै अघि बढिरहेको देखिएको थियो । सोही क्रममा तीव्र गतिमा आएको रेलले ठक्कर दिएको हो ।

    इस्ट फ्ल्यान्डर्स सार्वजनिक अभियोजन कार्यालयकी प्रवक्ता लिसा डे वाइल्डका अनुसार बस चालक, १२ र १५ वर्ष उमेरका दुई बालबालिका तथा एक एस्कर्टको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका अन्य बालबालिकालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । अधिकारिहरूका अनुसार दुर्घटनाको वास्तविक कारण अझै स्पष्ट हुन बाँकी छ । तर प्रवक्ता डे वाइल्डले प्रारम्भिक जानकारी उद्धृत गर्दै क्रसिङको अवरोध बन्द अवस्थामा रहेको र रातो बत्ती बलिरहेको अवस्थामा पनि मिनीबस अघि बढेको देखिएको बताए ।


    सङ्घीय प्रहरी प्रवक्ता एन बर्जरका अनुसार मिनीबस चालकले क्रसिङको अवरोध पार गरेको देखिन्छ । यता रेल सञ्चालन निकाय इन्फ्राबेलले क्रसिङ प्रणाली ठीक रूपमा काम गरिरहेको स्पष्ट पारेको छ । इन्फ्राबेलका प्रवक्ता फ्रेडरिक स्याक्रेले रेल करिब १२० किलोमिटर प्रतिघण्टाको गतिमा आइरहेको र ठक्कर टार्न पर्याप्त समय नभएको बताए । उनका अनुसार ‘प्रभाव अत्यन्तै हिंसक’ थियो ।

    घटनास्थलमा उपस्थित एक एएफपी पत्रकारका अनुसार मिनीबस पल्टिएको अवस्थामा भेटिएको थियो र यसको अगाडिको भाग पूर्ण रूपमा कुचिएको थियो । रेल भने अपेक्षाकृत सुरक्षित अवस्थामा रहेको बताइएको छ । रेलमा करिब १०० यात्रु सवार रहेको भए पनि कुनै पनि यात्रु घाइते नभएको प्रारम्भिक जानकारीमा उल्लेख छ । दुर्घटनापछि उक्त क्षेत्रमा रेल सेवा केही समयका लागि अवरुद्ध गरिएको थियो ।

    स्थानीय अधिकारीहरूले पत्रकार सम्मेलनपछि एक मिनेट मौन धारण गर्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले बुगेनहाउटमा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले प्रभावित परिवारप्रति समवेदना प्रकट गर्दै सबैको विचार उनीहरूसँग रहेको उल्लेख गरे । दुर्घटनास्थल नजिकै रहेको विद्यालय क्षेत्रमा त्यस समयमा बालबालिकाहरू बास्केटबल खेल्दै र साइकल चलाउँदै रहेको दृश्यले घटनाको संवेदनशीलता अझ बढाएको स्थानीयले बताएका छन् ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, १४ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा हल्का वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    कोशीलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भाग तथा बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हुरीको पनि सम्भावना रहेको छ ।

  • च्याङथापूका २६ घर उच्च जोखिममा

    च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर, १४ जेठ । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँका २६ घर उच्च जोखिममा रहेका पाइएको छ । याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार पहिरोका कारण साविक च्याङथापू गाविसका छ वडा प्रभावित भएका छन् । यहाँका ठिङ्गेपुर कोप्चे, बिरुवा, पेरुङ्गे, चाम्लिङडाँडा, एकराते, खोलाघारी र सुन्दरपुर टोल पहिरोबाट प्रभावित भएका हुन् । जहाँ २६ घर उच्च जोखिममा रहेका र करिब ७० घर पहिरोको जोखिममा रहेको पाइएको वडाध्यक्ष खालिङले जानकारी दिए ।


    पहिरो झरेर चाम्लिङडाँडाका महमलाल खवास र कविरमान खवासको तथा कोप्चेको गङ्गाराम बेघाको घर बगाएको थियो । अन्य घरहरू नबगाए पनि जोखिमपूर्ण अवस्थामा रहेको खालिङको भनाइ छ । “कसैको घरमाथि पहिरो छ त कसैको घरमुनिबाट पहिरो गएको थियो”, उनले भने, “पानी प¥यो कि सबैजना त्राहिमान हुने अवस्था छ, सुरक्षित स्थानतर्फ भाग्नुपर्ने स्थिति रहेको छ । यहाँ बाढीपहिरोले मानवीय क्षति नभएपछि पशुचौपाया बगाएको, खेतीयोग्य जमिन र अलैँची बगानमा क्षति पुगेको छ ।”

    च्याङथापूमा तीन वर्षअघि पनि भीषण वर्षापछि पहिरो गएको थियो । विसं २०८० असार ३ मा यहाँको मेवाखोलासहितका खोलामा बाढी आउनुका साथै धेरै स्थानमा पहिरो गएको थियो । त्यसबेला यहाँको चोक, खोलाघारी, एकरातेलगायत टोल प्रभावित भएका थिए, तर तीन वर्षपछि पहिलेभन्दा ठूलो वर्षा भएको र बाढीपहिरो गएको थियो । वडाध्यक्ष खालिङले भने, “तीन वर्षअघि जसरी पहिरोले धुजाधुजा पारेको थियो, हाल त्यस्तै अवस्था आएको छ । हामीलाई प्रकृतिले पीडामाथि पीडा दिइरहेको छ ।”

    जिल्ला समन्वय समितिका पूर्वसदस्य नरबहादुर गुरुङ पहिरो प्रभावित क्षेत्रमा त्रासको अवस्था रहेको बताउँछन् । “बादल लाग्यो कि दिउँसै पनि भाग्ने अवस्था छ । यहाँ जताततै पहिरो गएको छ । बाढीले खोलाकिनारका सबै संरचना बगाएको छ”, उनले भने ।


    बाढीपहिरोले यहाँका आठवटा सिँचाइ योजना, तीनवटा खानेपानी योजना ध्वस्त भएका र तीनवटा झोलुङ्गे पुलमा क्षति पुगेको गुरुङले बताए । बाढीपहिरोले पुष्पलाल (मध्यपहाडी) राजमार्गको च्याङथापू खण्ड, फाक्लुङ–फालोट मोटरबाटो, च्याङथापू–समरजुङ र च्याङथापू–लामपोखरी मोटरबाटोमा धेरै क्षति पुगेको छ । च्याङथापू–लामपोखरी मोटरबाटो अवरुद्ध हुँदा सुकाढापमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट (बीओपी)मा सामग्री ढुवानी गर्न नसकिने अवस्था आएको छ ।

    बाटो नै नभएपछि यहाँका ५० जनाभन्दा बढी विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ भने गर्भवतीको नियमित परीक्षण प्रभावित भएको छ । तीन वर्षअघिको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण नहुँदै पुनः क्षति भएपछि यहाँका सरोकार भएकाहरूले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिरहेका छन् ।

    याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढीपहिरोले वडा नं १, २ र ३ मा अत्यधिक क्षति पु¥याएको छ भने वडा नं ४ र ५ मा सामान्य आंशिक क्षति पुगेको छ । वडा कार्यालयहरूले अझै क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । बाढीपहिरोपछि यस गाउँपालिकाका सबै वडालाई जोड्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको ओयाम–च्याङथापू–चिवाभञ्ज्याङ खण्ड अवरुद्ध छ । अवरुद्ध राजमार्गलाई ओयामबाट खुलाउन सुरुआत गरिएको छ ।

    “बाटो सफा गरेर वडा नं ३ को फलामखोलासम्म सम्पर्क स्थापित गरेका छौँ । बाँकी काम भइरहेको छ”, उपाध्यक्ष मेन्याङ्बोले भने । सडक अवरुद्ध भएपछि च्याङथापू र फलैँचा पुग्न नसकिएको र राहत वितरण पनि हुन नसकेको उनले बताए । “हामी ओयामदेखि माथि जाने अवस्था छैन । हाल त्यहाँका जनप्रतिनिधिलाई नै क्षतिको विवरण सङ्कलनलगायत काम गर्न भनेका छौँ”, उपाध्यक्ष मेन्याङ्बोले भने ।

  • पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    राम थापा र ऋषिराम बराल–रासस
    गण्डकी, १४ जेठः अरू दिनभन्दा बुधबार पोखराको हङकङ बजारछेउको दृश्य भिन्न थियो । किनमेलले भीडभाड हुने पसलका सटर सुनसान देखिन्थे । व्यवसायीहरू सामान पोकापुन्तुरा पारिरहेका थिए । कोही गाडीमा सामान चढाउँदै थिए । हतारहतार सटर खाली गर्दा भुइँ र सडकछेउ पसलको फोहर असरल्ल देखिन्थ्यो ।

    पोखरा महानगरपालिकाले पृथ्वीचोकको मूल सडक भएर हङकङ बजार हुँदै नयाँबजार निस्कने सडकछेउका अतिक्रमित संरचना हटाउने भएपछि ती ठाउँमा व्यवसायीले धमाधम सटर खाली गरेका हुन् । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गा अतिक्रमण गरी बनाइएका भवनमा बिहीबार डोजर लगाउने महानगरको तयारी छ ।

    त्यहाँ रहेका नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ट गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाइने महानगरपालिकाले जनाएको छ । महानगरले डोजर लगाएर हटाउने भएपछि ती संस्थाले केही दिनअघि नै भवन खाली गरेका थिए । महानगर प्रमुख धनराज आचार्यले जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएर त्यस क्षेत्रमा दुई लेनको सडक बनाइने बताए ।

    राजनीतिक संरक्षणका आडमा ती भवनलाई भाडामा लगाएर सीमित संस्थाले गैरकानुनी रूपमा आर्थिक आर्जन गर्दै आएका थिए । महानगरपालिकाले आयोजना गरेको सर्वदलीय÷सर्वपक्षीय छलफलपछि राजनीतिक दलका भ्रातृ संस्थालगायतले भवन खाली गर्न राजी भएका थिए ।

    महानगर र उपत्यका नगर विकास समितिले गत वैशाख पहिलो साता सूचना जारी गरी अतिक्रमित संरचना खाली गराउन निर्देशन दिएको थियो । उक्त सूचनाको म्याद सकिएपछि बिहीबार संरचना हटाउन लागिएको हो । त्यस क्षेत्रमा फेन्सी व्यवसाय गर्दै आउनुभएका रामचन्द्र पोखरेलले महानगरको अभियानमा सघाउन व्यवसायीहरूले आफैँ सटर खाली गरेको बताए । “हामीले भाडा तिरर बसेका हौँ, महानगरले भवन नै हटाउने भएपछि हामीले अर्को विकल्प खोज्नुपर्ने भयो”, उनले भने ।


    वर्षौँदेखि व्यवसाय गर्दै आएको ठाउँ छाड्नुपर्दा व्यवसायीहरूलाई मर्का भने परेको पोखरेलले बताए । यसकै कारण कतिपय व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना पनि हटाउने तयारी गरेको छ । यही जेठ १० गते पोखरा उपत्यका नगर विकास समितिले सूचना जारी गरी १५ दिनभित्र त्यस्ता संरचना खाली गर्न निर्देशन दिएको हो ।

    समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सघाउन सूचित गरेको हो । तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुलउपर गरिने जनाइएको छ ।

    समितिले बसपार्क क्षेत्रभित्र लालपुर्जा भएका जग्गाधनीहरूलाई सात दिनभित्र नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, चालु आवको सम्पत्ति÷भूमिकर तिरेको रसिद र जग्गासम्बन्धी प्रमाण पुग्ने अन्य कागजात समितिको कार्यालयमा बुझाउन निर्देशनसमेत दिएको छ ।

    पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्कको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन यसअघि गत वैशाख ४ गते पोखरा महानगरपालिकाले पनि सार्वजनिक रुपमा सूचित गरेको थियो । ३५ दिने उक्त सूचनाको अवधि पोखरा उपत्यका नगर विकास समितिले अर्को सूचना जारी गरेको हो ।

    पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको जग्गामा सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरू रहेका छन् । आधुनिक सुविधासम्पन्न बसपार्क बनाउन २०३२ सालमा २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणा पर्दै गएर अहिले करिब ६० रोपनी क्षेत्रफलमात्र बाँकी छ । प्रस्तावित आधुनिक पोखरा बसपार्कको अतिक्रमित जग्गा खाली गराई बसपार्क निर्माणको प्रक्रियालाई अगाडि बढाउने महानगरको योजना छ ।

    भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा झन्डै पाँच सय परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बसेको महानगरले जनाएको छ । वास्तविक सुकुम्बासीलाई उचित व्यवस्थापन गरी अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाइने महानगरप्रमुख आचार्यले बताए । महानगरले बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गा खोजी गर्न समिति पनि गठन गरिसकेको छ । सुकुम्बासी र भूमिहीन परिवारको व्यवस्थापनका लागि जग्गा पहिचान तथा सिफारिस गर्न वडा नं १७ का वडाध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा सात सदस्यसीय जग्गा व्यवस्थापन (खोजी) समिति गठन गरिएको हो ।

    बसपार्क क्षेत्रभित्र बसोबास गर्दै आएका तथा पछिल्लोपटक अद्यावधिक विवरण÷लगत बुझाएका ५७२ सुकुम्बासी तथा भूमिहीन परिवारको लगत छानबिन तथा सत्यतथ्य पहिचानका लागि अर्को समिति पनि गठन भएको छ । महानगरपालिकाका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा गठित सात सदस्यीय उक्त समितिले ‘सुकुम्बासी समस्या सहजीकरण समिति’ सँग आवश्यक समन्वय र सहकार्य गरी तथ्यगत अध्ययनका आधारमा महानगरपालिकालाई प्रतिवेदन पेस गर्नेछ ।

    बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्रीवितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन तथा न्यायिक निरूपण गर्न तीन सदस्यीय अर्को समिति पनि गठन गरिएको छ । पूर्वन्यायाधीश शङ्करराज बराल अध्यक्ष रहनुभएको उक्त समितिमा पूर्वजिल्ला न्यायाधिवक्ता गोविन्द गिरी सदस्य र पोखरा उपत्यका नगर विकास समितिका प्रशासकीय अधिकृत प्रकाश सुवेदी सदस्यसचिव रहेका छन् ।


    महानगरपालिकाले पोखराको मध्यभागबाट बग्ने फिर्केखोलाको अतिक्रमित जग्गा पनि खाली गराउन सुरु गरेको छ । गत आइतबारदेखि सुरु भएको उक्त अभियानअन्तर्गत पोखरा–१८ अँधेरीकुनादेखि २, ४, ५, ७, ८, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने पिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाइने भएको हो । प्राविधिक टोलीले नापजाँच गरी पोल गाडिएको क्षेत्रभित्रका सबै संरचना हटाइने महानगरपालिकाले जनाएको छ ।

  • मासिँदै सनपाट

    मासिँदै सनपाट

    महोत्तरी, १४ जेठ । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान सनपाटखेतीमा लाग्ने गरेका थिए । अचेल भने यहाँका फाँटमा न सनपाट देखिन्छ, न त यो खेती गर्नेमा युवा पुस्ताको आकर्षण छ । किसानका गोठमा पशुवस्तु घट्दै गएसँगै सनपाटको खेती पनि मासिँदै गएको जानकारहरू बताउँछन् । विगतमा पशुवस्तु बाँध्न, डुलाउनमात्र होइन, कैयौँ काममा प्रयोग हुने डोरीको प्रयोग हुने गरेको थियो । एकातिर पशुवस्तु पाल्न छोडिएको र अर्कोतिर प्लाष्टिकका बनिबनाउ डोरी सजिलै पाउने भएकाले सनपाटखेतीतर्फ किसानको सरकार घट्दै गएको हो ।

    “मेरै गोठमा जहिले पनि दुई हल गोरु, दुईवटा भैँसी र एउटा गाई हुन्थ्यो”, दुई दशक पहिलेको आफ्नो गुहाली (गोठ) सम्झँदै बर्दिबास–९ पशुपतिनगरका ७० वर्षीय किसान कारी महतो भन्छन्, “यिनै वस्तुसँग जोडेर बर्सेनि केही जग्गामा सनपाट लगाइन्थ्यो, अब न गोठमा वस्तु छन्, न पाटखेती नै गरिन्छ ।”

    उनी मात्रै होइन, यताका सबैजसो किसानका गोठमा जग्गाको अनुपातमा गोरु पालिन्थे, दूधका लागि घरघरै गाईभैँसी हुन्थे । किसानहरूले ती पशुवस्तु बाँध्न डोरी, दाम्ला बनाउन आफैँ सनपाटखेती गर्थे । पुरानो पुस्ताको अवसानसँगै त्यो प्रचलन हराएको छ । नयाँ पुस्ता पढाइ र कामका लागि विदेसिने क्रम बढेपछि वस्तुपालन र पाटखेती हराएको महतोकै छिमेकी सूर्यदेव सिंह बताउँछन् ।


    यहाँको भङ्गाहा–६ हतिर्साको मजरा बस्तीका ६० वर्षीय सुरेश बाँतरका अनुसार पशुवस्तुका दाम्ला बनाउन मात्र नभइ घरायसी प्रयोजनका लागि विगतमा पनि डोरी र मोटो रस्सी बाट्न पनि सनपाटको सुत्री चाहिन्थ्यो । दाम्लो, डोरी र मोटो रस्सा बनाउनमात्र नभइ प्राङ्गारिक मलका लागि पनि सनपाटखेती गर्ने चलन रहेको उनको भनाइ छ ।

    “सनपाटका जरामा हुने साना गिर्खा ९गाँठा० मा माटोलाई चाहिने उर्वर शक्ति नाइट्रोजन हुन्छ, अनि डाँठ र पातबाट कम्पोष्ट मल बन्छ” नेपाल सरकारको कृषि सेवाको सहसचिबबाट अवकास प्राप्त भङ्गाहा–५ सीतापुरका ७५ वर्षीय कृषिविज्ञ रामबहादुर भुजेल भन्छन्, “मधेसमा मलका लागि लगाइएको सनपाट खेतमा धान रोप्न, खेत हिल्याउँदा जोतेर केही दिन छाडिने चलन छ । हिलो पानीले सनपाट गलेपछि फेरि दाँदे लगाएर धान रोपिन्छ ।”

    सनपाटको यस्तो मल धानखेतीका लागि निकै उर्वर हुँदा विगतमा किसानको रोजाइमा पर्ने गरेको भुजेलको भनाइ छ । उनले कृषि कार्यालयहरूले किसानलाई मलका लागि यो खेती गर्न कार्यक्रम नै बनाएर अभिप्रेरित गर्ने गरेको पनि स्मरण गरे । सनपाट दाम्ला, डोरी र रस्साका लागि खेती गरिँदा यो छिप्पिएपछि काटेर मुठा बनाइ गहिरो पानीमा डुबाउन पर्छ ।

    त्यसरी केही दिन पानीमा डुबाइएको सनपाटको डाँठबाट रेसा अलग्गिन थालेपछि त्यसलाई धोइपखाली घर ल्याएर सुकाएपछि पाट तयार हुन्छ । यसरी तयार भएको पाट सुत्री कातेर दाम्ला, डोरी र रस्सा बनाउनसँगै उब्रेको पाट बजारमा बेचेर किसान घरखर्चको जोहोसमेत मिलाउने गरेका गौशाला–१० लक्ष्मीनियाँका ७५ वर्षीय किसान लक्ष्मी महतोको सम्झना ताजै छ ।

    “पहिले पो जोत्न गोरु चाहिन्थ्यो र घरघरै जसको जति खेत छ, त्यसअनुसार गोरु पाल्थे, अब सबै ट्रेक्टरबाटै जोत्छन्”, उनी भन्छन्, “गोरुसँगै घरघरैजसो भैँसी र कमसेकम एउटा गाई पालिन्थ्यो, अब न गोठमा वस्तु नै छन्, न यिनलाई बाँध्न चाहिने दाम्ला÷डोरीका लागिको सनपाटखेती ।” व्यावसायिक रूपमा आधुनिक तवरले पशुपालन गर्ने किसान निकै कम भएका र अब बजारमा प्लाष्टिकका दाम्ला, डोरी सजिलै पाइन थालेपछि सनपाटको सम्झना नै हुन छाडेको उनको भनाइ छ ।

    विराटनगरको जुटमिल बन्द हुनु, पशुपालन घट्दै जानु, नयाँ पुस्ताले यसबारे रुचि नदेखाउनु, पोखरी÷दहमा पानी सुक्नु र खेतीमा रासायनिक मलमा निर्भरता बढ्नुले सनपाटखेती हराएको औरही–७ भोइलका पाका किसान ७० वर्षीय मोहन महतोको बुझाइ छ । “करिब दुई दशक अघिसम्म जिल्लाका सबैजसो भेगमा आमकिसानले धेरथोर सनपाटखेती लगाउँथे । यहाँ कुत्रुङ, कश्मिरा र पटुवा जातका सनपाटको खेतीबाट आपूmलाई आवश्यक पर्ने सुत्री कातेर अरु बेचेर घरखर्चका लागि नगदको जोहो गर्थे”, एकडारा गाउँपालिकाको अजमरपट्टी बस्तीका ६० वर्षीय हरिदेव मण्डलले भने, “यो सबै हिजोझैँ लाग्दैछ । अहिलेका किशोर उमेरका नातिनातिनालाई सनपाट भनेको नै थाहै नपाउने अवस्था बनिसक्यो ।”

    सनपाट घरायसी प्रयोजनका डोरी, नाम्ला, दाम्ला र रस्सा एवं प्राङ्गारिक मलका लागिमात्र नभई कागज, बोरा, झोला, कपडा बुन्न उद्योगले समेत किन्ने गरेकाले विगतमा राम्रो आम्दानीको स्रोतको रूपमा थियो । यहाँबाट तयार गरिएको पाट विराटनगर जुट मिलमा जाने गरेकाले आम्दानी गर्न सहज भएको भङ्गाहा–५ धतीयाटोलका ६५ वर्षीय किसान सुपतलाल यादवको सम्झनामा छ । उनी भन्छन्, “मल र घरायसी प्रयोजका लागि सनपाट प्रयोग गथ्र्यौं । बढी भएपछि उद्योगलाई बेचेर कमाउथ्यौँ ।”

    सनपाटको सन्ठी अत्यन्त प्रज्वलनशील हुने हुँदा गाउँघरमा आगो सल्काउनरजगाउन बचाएर राख्ने पुरानो चलनसमेत रहेको थियो । खासगरी सन्ठी दीपावलीमा ‘हुक्कालोलि’ खेल्न प्रयोग गर्ने मधेशको चलन छ । ‘हुक्कालोलि’ मिथिला संस्कृतिकै अङ्ग मानिन्छ । यस प्रयोजनका लागि सन्ठी जोगाएर राखिने गरेको विगत यहाँका पाका किसानले बताउने गरेका छन् ।

    सनपाटखेती गर्मी हावापानीमा हुने गर्छ । छरेको करिब ४५ दिनमा काट्न तयार हुने यो खेतीका लागि महोत्तरीको माटो र वातावरण अनुकूल भएको कृषि प्राविधिक बताउँछन् । पानीका दह घट्दै गएपछि पाटका लागि यो खेती असजिलो हुँदै गए पनि खेतबारीको मलका लागि भने किसानलाई अझै यसतर्फ उत्प्रेरित गर्न आवश्यक रहको कृषिविज्ञ राजकिशोर यादवको भनाइ छ ।

  • मनाइँदै बकर इद (इदुल जोहा)

    मनाइँदै बकर इद (इदुल जोहा)

    काठमाडौँ, १४ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

    यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए ।


    मुस्लिम धर्म गुरु (मौलाना) रहमत अलीले ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिइएको बताए । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्त्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेको उनले बताए ।


    “जुन ग्रन्थलाई हाल मुस्लिम धार्मिक विद्यालय (मदरसा)मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको इतिहास छ । त्यही सम्झनामा हाल पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, मौलाना अलीले भने ।


    पर्वका अवसरमा मक्कामदिना जानु शुभ मानिएअनुसार त्यहाँ जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । मक्कामदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुस्लिम धमालेले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिन्छन् ।

    धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

    निःसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका बताइन्छ । अल्लाहले सन्तान सुख दिए कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धताअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका मुस्लिम धर्मावलम्बीको विश्वास छ । उनले धेरै जनावर कुर्बानी गर्दा पनि अल्लाह खुसी नभएपछि अन्तिममा आफ्ना सबैभन्दा प्यारा सन्तानलाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका किंवदन्ती छ । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको बताइन्छ ।

    परम्पराअनुसार कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ । मुस्लिम धर्मावलम्बीले शनिबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदले जनाएको छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

  • विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछः राष्ट्रपति

    विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछः राष्ट्रपति

    काठमाडौँ, १४ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) को अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मातृभूमिसँगको आत्मिय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गरेका छन् ।


    मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने तथा खुलास्थान, इदगाह वा मस्जिदहरूमा गई इद–उल–अज्हाको नमाज पढ्नुका साथै शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ । राष्ट्रपति पौडेलले विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विशेष विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम गर्ने उल्लेख गरेका छन् ।

    उनले यस पर्वले सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्वका आधारमा आआफ्नो मौलिक संस्कृति तथा परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेका छन् । इद–उल–अज्हा (बकर इद) को माध्यमबाट सबै नेपालीबीच प्रेम, करुणा, त्याग, सहिष्णुता, सद्र राष्ट्रिय एकताको भावना प्रगाढ बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गरेका छन् ।

  • पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

    पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

    काठमाडौँ, १४ जेठः मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार, यातायात तथा सञ्चार क्षेत्रमा पछिल्ला वर्षमा लगानी विस्तारसँगै सडक सञ्जाल, रणनीतिक मार्ग तथा डिजिटल पहुँचमा उल्लेख्य प्रगति भएको देखिएको छ । आर्थिक सर्वेक्षण २०८२–८३ ले सडक निर्माण, राष्ट्रिय गौरवका आयोजना तथा सञ्चार पूर्वाधार विस्तारमा प्रगति भएको देखाएको छ ।

    सर्वेक्षणअनुसार सङ्घीय सरकारबाट निर्मित कालोपत्रे सडकको घनत्व १३८.७ मिटरप्रति वर्ग किलोमिटर पुगेको छ । साथै डिजिटल टेलिभिजनको पहुँच ८२ प्रतिशत घरधुरीसम्म पुगेको छ भने मोबाइल टेलिफोन ग्राहकको घनत्व जनसङ्ख्याको १०३.२ प्रतिशत पुगेको छ ।

    विसं २०८२ फागुनसम्म रणनीतिक तथा स्थानीय सडक सञ्जाल गरी कूल ३६ हजार ८०६ किलोमिटर सडक निर्माण भएको छ । यसमध्ये २० हजार ४५६ किलोमिटर कालोपत्रे, सात हजार ६०२ किलोमिटर ग्राभेल र आठ हजार ७४८ किलोमिटर कच्ची सडक रहेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कूल सडक लम्बाइ ३६ हजार २२६ किलोमिटर रहेको थियो । आर्थिक वर्ष २०८१–८२ मा ३०१ किलोमिटर नयाँ कच्ची सडक निर्माण भएको थियो भने एक हजार २३५ किलोमिटर सडक कालोपत्रस्तरमा स्तरोन्नति गरिएको थियो । चालु आर्थिक वर्षको फागुनसम्म ७६ किलोमिटर नयाँ सडक निर्माण, ४१३ किलोमिटर सडक कालोपत्रे स्तरोन्नति तथा १०२ पुल निर्माण सम्पन्न भएका छन् ।

    राष्ट्रिय गौरवका आयोजनामा पनि उल्लेख्य प्रगति भएको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत एक हजार ८७९ किलोमिटर सडकमा एक हजार ५२९ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । त्यस्तै, १३७ पुलमध्ये ११४ पुल निर्माण सम्पन्न भएका छन् । हुलाकी लोकमार्गमा पनि निर्माण कार्यले गति लिएको छ । एक हजार ८५७ किलोमिटर सडक लम्बाइमध्ये एक हजार ३८१ किलोमिटर सडक कालोपत्रे भएको छ भने २५० पुलमध्ये १४३ पुल निर्माण सम्पन्न भएको छ ।

    उत्तर–दक्षिण लोकमार्गअन्तर्गत कालीगण्डकी कोरिडोरमा २९२ किलोमिटर सडक कालोपत्रे भएको छ भने ३६ पुल निर्माण सम्पन्न भएका छन् । कर्णाली कोरिडोरमा सम्पूर्ण ट्रयाक निर्माण कार्य सम्पन्न भएको छ भने हालसम्म ४१।५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ । कोशी कोरिडोरअन्तर्गत थप १४ किलोमिटर सडक कालोपत्रे तथा ११ पुल निर्माण सम्पन्न भएका छन् । मदन भण्डारी राजमार्गमा ७४० किलोमिटरमध्ये ३९५.५ किलोमिटर सडक कालोपत्रे भएको छ ।

    ठूला सडक आयोजनामा नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत ९५.५ किलोमिटर चार लेन सडक निर्माण सम्पन्न भएको छ । मुग्लिन–पोखरा सडकमा ७८.४ किलोमिटर चार लेन सडकमा पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ । सुरुङमार्ग निर्माणतर्फ सिद्धबाबा सुरुङमार्गमा मुख्य सुरुङको एक हजार १२६ मिटर कङ्क्रिट लाइनिङको काम सम्पन्न भएको छ । नागढुङ्गा सुरुङमार्गमा टनेल संरचना निर्माण पूरा भइसकेको छ भने प्रकाश, भेन्टिलेसन, अग्नि नियन्त्रण र सूचना प्रणाली जडानसम्बन्धी काम पनि सम्पन्न भएको छ ।

    काठमाडौँ–तराईरमधेस द्रुतमार्गमा निर्माणाधीन सातवटै सुरुङको काम जारी रहेको छ । यस आयोजनाअन्तर्गत पुल निर्माणतर्फ पनि विभिन्न चरणका संरचना निर्माण भइरहेको आर्थिक सर्वेक्षणले जनाएको छ । यद्यपि, पूर्वाधार निर्माणको विस्तारसँगै सडकको गुणस्तर, समयमै सम्पन्न हुने अवस्था, सडक सुरक्षा तथा दीर्घकालीन दिगोपनामा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

  • उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

    उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

    काठमाडौँ, १४ जेठ : मुलुकमा औद्योगिक तथा लगानीमैत्री वातावरण अभिवृद्धि हुँदै गएपछि उद्योग दर्ता करिब १२ प्रतिशतले बृद्धि भएको छ । विसं २०८१ फागुनसम्म नौ हजार ९६३ उद्योग दर्ता भएकामा २०८२ को सोही अवधिमा ११ हजार १४० वटा उद्योग दर्ता भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षणअनुसार ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १३.९, २०.० र ६६.१ प्रतिशत रहेको छ ।

    विसं २०८२ असारसम्म उद्योग विभागमा दर्ता भएको उद्योगको स्वीकृत लगानी रु ३३ खर्ब ३७ अर्ब ८० करोड रहेकामा चालु आवको फागुनसम्म रु तीन खर्ब ८९ अर्ब ७४ करोड थप लगानी स्वीकृत भएको छ । सो अवधिसम्म रु ३७ खर्ब २७ अर्ब ५४ करोड उद्योगका लागि लगानी स्वीकृत भएको छ । चालु आवको फागुन मसान्तसम्म ९२१ नयाँ उद्योग दर्ता भएका छन् । यस्ता उद्योगको सञ्चालनबाट ३९ हजार ५४६ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।

    गत आवको सोही अवधिमा ४३८ उद्योगको रु एक खर्ब ७१ अर्ब ३६ करोड लगानी स्वीकृत भई २३ हजार ६४ प्रत्यक्ष रोजगारी सिर्जना हुने अनुमान थियो ।गत फागुनसम्म दर्ता भएका उद्योगको सङ्ख्याका आधारमा सबैभन्दा बढी हिस्सा उत्पादनमुलक उद्योगको रहेको छ । ३३ दशमलव ३ प्रतिशत उत्पादनमुलक उद्योग दर्ता हुँदा सबैभन्दा कम ० दशमलव ७ प्रतिशत पूर्वाधार क्षेत्रका उद्योग रहेका छन् ।

    दर्ता भएको उद्योगमध्ये सेवामूलक उद्योग २३।९ प्रतिशत, पर्यटन उद्योग २३.५ र अन्य उद्योगको हिस्सा १९.३ रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । गत फागुनसम्म तीन हजार ७१५ उत्पादनमुलक, दुई हजार ६५८ सेवामूलक, दुई हजार ६१३ पर्यटन, ६२७ ऊर्जामुलक, ५८१ कृषि तथा वन पैदावरमा आधारित, ७७० सूचना प्रविधिमा अधारित, ९९ खरिज र ७७ उद्योग पूर्वाधार क्षेत्रका उद्योग दर्ता भएका छन् । चालु आवको फागुन मसान्तसम्म ऊर्जामूलक उद्योगमा सबैभन्दा बढी ५५.१ प्रतिशत लगानी स्वीकृत भएको छ । उत्पादनमूलक उद्योगमा यस्तो स्वीकृति १९.५ प्रतिशत छ भने सबैभन्दा कम खनिज उद्योगमा ०.३ प्रतिशत मात्रै रहेको छ ।

  • पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

    पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

    काठमाडौँ, १३ जेठः विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ । देशभरका झण्डै ९९ दशमलव एक प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको छ । सहरी क्षेत्रमा विद्युत् खपत क्रमशः बढ्दै गएको छ । सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोग बढ्दै जाँदा खाना पकाउने ग्यासको खपत क्रमशः घट्दै गएको छ ।

    आर्थिक सर्वेक्षण २०८२–८३ अनुसार चालु आवको फागुन मसान्तसम्म पेट्रोल र डिजेलको खपत गत आवको सोही अवधिको तुलनामा क्रमशः १० प्रतिशत र नौ दशमलव नौ प्रतिशतले घटेको छ । विद्युतीय खपत बढ्दै जाँदा पेट्रोलियम पदार्थको आयात घट्दै जाने देखिन्छ । यस्तै, आर्थिक सर्वेक्षणअनुसार कर्णाली प्रदेशका केही गाउँपालिका र सुदूरपश्चिम प्रदेशको केही गाउँपालिकाबाहेक अन्य स्थानमा विद्युतीय पहुँच पुगेको छ ।

    विद्युतीय पहुँच पुगेको स्थानमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउनुपर्ने चुनौती कायमै छ । त्यसका लागि सरकारले प्रयास गरिरहेको छ । एकाध वर्षभित्रै शतप्रतिशत घरधुरीमा विद्युत् सेवा पु¥याउने र थप गुणस्तरीय बनाउने सरकारको प्रयासलाई सरोकारवाला निकायले पनि साथ र सहयोग प्रदान गरेका छन् ।

    गत फागुन मसान्तसम्म मुलुकको कूल विद्युत् जडित क्षमता चार हजार १०५ मेगावाट बराबर पुगेको छ । त्यसमा जलविद्युत्को जडित क्षमता तीन हजार ७९८ मेगावाट बराबर छ । चालु आवमा भारततर्फ दुई हजार ९१८ गिगावाट घण्टा बराबरको विद्युत् निर्यात भएको छ ।

    त्यस्तै, आधारभूत खानेपानीको पहुँच ९७ प्रतिशत जनसङ्ख्यामा पुगेको भएपनि सुरक्षित खानेपानीको पहुँच २९ प्रतिशतमा मात्रै सीमित रहेको छ । स्वास्थ्य बिमा कार्यक्रम सबै स्थानीय तहमा विस्तार भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार श्रमिक सूचीकृत भएका छन् । त्यसमध्ये वैदेशिक रोजगारीमा जानेको हिस्सा ७५ दशमलव नौ प्रतिशत बराबर छ ।

  • आर्थिक सर्वेक्षण २०८२–२०८३ : सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी

    आर्थिक सर्वेक्षण २०८२–२०८३ : सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी

    काठमाडौँ, १४ जेठः देशभरका ७५३ स्थानीय तहमध्ये ६० वटामा कृषक घर धुरी सूचिकृत गर्ने कार्य सम्पन्न भएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–२०८३ को आर्थिक सर्वेक्षणमा फागुन मसान्तसम्म मुलुकभरका २३ लाख ८३ हजारभन्दा बढी किसान सूचिकरण सम्पन्न भएको उल्लेख छ । किसानको अलग अलग पहिचान गरी कृषि अनुदानका कार्यक्रमलाई व्यवस्थित गर्न, कृषिसम्बन्धी योजना, कार्यक्रम तथा नीति निर्माण गर्न र कृषकले प्राप्त गर्ने सुविधाको दोहोरोपना न्यूनीकरण गर्न किसान सूचीकरण कार्यक्रम सञ्चालनमा रहेको छ ।

  • कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत रहने अनुमान

    कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत रहने अनुमान

    काठमाडौँ, १३ जेठः चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत अनुमान रहेको छ । गत वर्ष यस क्षेत्रको यस्तो योगदान आठ दशमलव ८६ प्रतिशत रहेको थियो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सदनमा पेस गर्नुभएको आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षणमा पछिल्लो दशकमा कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान वार्षिक औसत आठ दशमलव प्रतिशत र वृद्धिदर चार दशमलव १६ प्रतिशत रहेको छ ।

    सर्वेक्षणमा सरकारी शैक्षिक संस्थामा विद्यार्थी सङ्ख्या घटेको, निजी शैक्षिक संस्थामा विद्यार्थी सङ्ख्या न्यून भएको तथा शिक्षा क्षेत्रमा खर्चसमेत कमी आएकाले चालु आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि एक दशमलव ५० प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ । गत आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि दुई दशमलव ३६ प्रतिशतले बढेको थियो ।

    सर्वेक्षणअनुसार विद्यालय तहमा कुल भर्नादर बढेको छ । शैक्षिकसत्र २०८२ मा आधारभूत तह ९कक्षा १–८० को कुल भर्नादर १३६ दशमलव २ प्रतिशत र माध्यमिक तह ९कक्षा ९–१२० को कुल भर्नादर ८५ दशमलव ७ प्रतिशत पुगेको छ । गत शैक्षिक सत्रमा यस्तो भर्नादर क्रमशः १२४ दशमलव ८ प्रतिशत र ८० दशमलव ६ प्रतिशत रहेको थियो । शैक्षिकसत्र २०८२ मा १०४ विद्यालय थप भई विद्यालय सङ्ख्या ३५ हजार ९५१ पुगेको छ । यसमध्ये सामुदायिक विद्यालयको हिस्सा ७१ दशमलव २७, संस्थागत विद्यालयको २४ दशमलव ८७ र परम्परागतरधार्मिक विद्यालय ३ दशमलव ८६ प्रतिशत रहेका छन् ।

    तथ्याङ्कअनुसार सामुदायिक विद्यालयमध्ये १०० भन्दा कम विद्यार्थी भएका विद्यालय ५० दशमलव ८५ प्रतिशत रहेका छन् । दुई हजारभन्दा कम विद्यार्थी भएका विद्यालय शून्य दशमलव ४७ प्रतिशत रहेका छन् । सहरी क्षेत्रमा बढ्दै गएको बसाइँसराइ र जन्मदरमा आएको कमीले ग्रामीण क्षेत्रमा विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको छ । विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयलाई नक्साङ्कन गरी समायोजन गर्दै लगिएको छ ।

  • आर्थिक सर्वेक्षण २०८२–८३ः कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत

    आर्थिक सर्वेक्षण २०८२–८३ः कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत

    काठमाडौँ, १३ जेठ । सरकारले वार्षिक रूपमा सङ्कलन गर्ने राजस्वको ठूलो अंश सङ्घ सरकारबाट उठ्ने गरेको देखिएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२–८३ अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारको एकीकृत राजस्व सङ्कलन ११ दशमलव चार प्रतिशतले वृद्धि भई रु १२ खर्ब ८१ अर्ब ७० करोड पुगेको थियो । समग्र सञ्चित कोष र विभाज्य कोषमा जम्मा भएको राजस्वलाई आधार मान्दा यो वृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा उच्च वृद्धि हो । अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा यस्तो राजस्व सङ्कलन १० दशमलव ४ प्रतिशतले बढेको थियो ।

    आर्थिक सर्वेक्षणअनुसार कुल सङ्कलित राजस्वमध्ये सङ्घीय सरकारले सङ्कलन गरेको राजस्वको हिस्सा ९२ दशमलव एक प्रतिशत रहेको छ भने प्रदेश तथा स्थानीय तहको हिस्सा जम्मा सात दशमलव नौ प्रतिशत मात्र रहेको छ । यसले अझै पनि राजस्व सङ्कलनको मुख्य आधार सङ्घीय सरकार नै रहेको देखाएको छ । कुल राजस्वमध्ये कर राजस्वको हिस्सा ८७ दशमलव एक प्रतिशत रहेको छ भने गैरकर राजस्व १२ दशमलव नौ प्रतिशत रहेको छ ।

    त्यसैगरी, आर्थिक वर्ष २०८१–८२ मा सङ्घ, प्रदेश र स्थानीय तहको सञ्चित कोषमा रहेको राजस्व ११ दशमलव तीन प्रतिशतले वृद्धि भएर रु १२ खर्ब ७२ अर्ब ७५ करोड पुगेको छ । कुल राजस्वमध्ये सङ्घीय सञ्चित कोषको हिस्सा ८१ दशमलव एक प्रतिशत रहेको छ भने प्रदेशको आठ दशमलव चार प्रतिशत र स्थानीय तहको १० दशमलव पाँच प्रतिशत हिस्सा रहेको छ ।

    सरकारको एकीकृत आयतर्फ हेर्दा, बाँडफाँट गर्न बाँकी राजस्वबाहेक तीन तहका सरकारको कुल आय १० दशमलव चार प्रतिशतले बढेर रु १३ खर्ब २६ अर्ब ३१ करोड पुगेको छ । कुल आयमध्ये ९६ प्रतिशत हिस्सा राजस्वको रहेको छ भने वैदेशिक अनुदान, अन्य प्राप्ति तथा आन्तरिक ऋण लगानी फिर्ताको हिस्सा चार प्रतिशत रहेको छ । आव २०८०–८१ मा यस्तो आय वृद्धि छ दशमलव पाँच प्रतिशत रहेको थियो ।

    त्यस्तै, अनुदान हस्तान्तरणबाहेक राजस्व, अनुदान, अन्य प्राप्ति तथा सार्वजनिक ऋण परिचालनसमेत समेटिएको कुल प्राप्ति १५ प्रतिशतले वृद्धि भएर रु १७ खर्ब ८२ अर्ब ४० करोड पुगेको छ । यो रकम मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को २८ दशमलव सात प्रतिशत बराबर हो । यस्तो कुल प्राप्तिमध्ये सङ्घीय सरकारको हिस्सा ८६ दशमलव तीन प्रतिशत रहेको छ भने प्रदेशको छ दशमलव एक प्रतिशत र स्थानीय तहको सात दशमलव छ प्रतिशत हिस्सा रहेको छ । कुल प्राप्तिमा ऋण परिचालनको हिस्सा २५ दशमलव छ प्रतिशत पुगेको छ भने राजस्व, अनुदान तथा अन्य आयको हिस्सा ७४ दशमलव चार प्रतिशत रहेको छ ।

    राजस्व बाँडफाँटतर्फ आर्थिक वर्ष २०८१–८२ मा तीन तहका सरकारबीच बाँडफाँट हुने राजस्व १२ दशमलव दुई प्रतिशतले वृद्धि भई रु पाँच खर्ब एक अर्ब १० करोड पुगेको छ । जुन जिडिपीको आठ दशमलव एक प्रतिशत बराबर हो । यसमध्ये रु चार खर्ब ९२ अर्ब १६ करोड तीन तहका सरकारबीच बाँडफाँट भइसकेको छ भने रु आठ अर्ब ९४ करोड अझै बाँडफाँट हुन बाँकी रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

    बाँडफाँट गरिएको राजस्वमध्ये सङ्घीय सरकारले ६६ दशमलव दुई प्रतिशत हिस्सा प्राप्त गरेको छ भने प्रदेश सरकारले १७ दशमलव एक प्रतिशत र स्थानीय तहले १६ दशमलव सात प्रतिशत हिस्सा प्राप्त गरेका छन् । अघिल्लो आवमा यस्तो बाँडफाँट हुने राजस्व पाँच दशमलव आठ प्रतिशतले बढेर रु चार खर्ब ४६ अर्ब ४६ करोड पुगेको थियो ।

    बाँडफाँट हुने राजस्वको संरचनामा मूल्य अभिवृद्धि कर (भ्याट) को हिस्सा सबैभन्दा धेरै रहेको छ । गत आर्थिक वर्षमा बाँडफाँट भएको राजस्वमध्ये भ्याटको हिस्सा ६८ दशमलव दुई प्रतिशत रहेको छ भने अन्तःशुल्क (आन्तरिक उत्पादन) को हिस्सा २४ दशमलव चार प्रतिशत र रोयल्टीसहित अन्य राजस्वको हिस्सा सात दशमलव चार प्रतिशत रहेको छ ।

    यसरी सरकारी तथ्याङ्कले राजस्व सङ्कलनमा सुधार देखिए पनि प्रदेश र स्थानीय तहको स्वायत्त राजस्व क्षमता अझै कमजोर रहेको देखाएको छ । कुल राजस्वमा सङ्घीय सरकारको अत्यधिक निर्भरता कायम रहँदा वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा चुनौती कायमै रहने देखिन्छ ।

  • जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने

    जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने

    काठमाडौँ, १३ जेठः आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ ।
    प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका हुन् ।

    नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो । यसैगरी प्रतिनिधिसभाको बैठक भने जेठ १५ गते शुक्रबार बेलुकी ०५ः३० बजे बस्ने जानकारी पनि सभामुख अर्यालले दिए ।

  • आर्थिक सर्वेक्षण : अर्थतन्त्रमा सकारात्मक सङ्केत- संरचनागत चुनौती कायमै

    आर्थिक सर्वेक्षण : अर्थतन्त्रमा सकारात्मक सङ्केत- संरचनागत चुनौती कायमै


    विश्व न्यूज

    काठमाडौं १३ जेठः मुलुकको अर्थतन्त्रमा केही सकारात्मक सङ्केत देखिए पनि संरचनात्मक चुनौती अझै पनि कायम रहेको सरकारको प्रतिवेदनले उल्लेख गरेको छ । नेपालको बाह्य क्षेत्र सुदृढ बन्दै गएको, मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषणमा उल्लेख्य वृद्धि भएको सर्वेक्षणले देखाएको छ । तर, पुँजीगत खर्च कमजोर रहनु, व्यापार घाटा बढ्नु, सार्वजनिक ऋण विस्तार हुनु तथा निजी क्षेत्रको कर्जा प्रवाह सुस्त रहनु अर्थतन्त्रका प्रमुख चुनौतीका रूपमा देखिएका छन् ।

    आर्थिक सर्वेक्षण २०८२–८३ अनुसार सामाजिक पूर्वाधार, सुशासन, सार्वजनिक वित्त, मौद्रिक अवस्था र बाह्य क्षेत्रको समग्र चित्र प्रस्तुत गर्दै सरकारले आगामी बजेटको आधार तयार गरेको देखिन्छ । नेपालको अर्थतन्त्र चालु आर्थिक वर्षमा तीन दशमलव ८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । यस्तै, नेपालको अर्थतन्त्रको आकार रु ६६ खर्ब पुग्ने तथा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार ५३५ अमेरिकी डलर पुग्ने अनुमान छ ।

    कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशगत रूपमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६ दशमलव सात प्रतिशत रहने अनुमान छ ।

    चालु आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति दुई दशमलव १३ प्रतिशत कायम रहेको छ, जुन अपेक्षाकृत नियन्त्रणमा रहेको मानिन्छ ।

    सङ्घीय राजस्व तीन दशमलव दुई प्रतिशतले बढेको भए पनि पुँजीगत खर्चमा अपेक्षित सुधार हुन सकेको छैन । चालू आवको फागुन मसान्तसम्म सरकारले आन्तरिक तथा बाह्य ऋणमार्फत करिब रु तीन खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ । यस अवधिमा वित्त सन्तुलन रु ५९ अर्ब र प्राथमिक सन्तुलन रु नौ अर्ब घाटामा रहेको उल्लेख गरिएको छ ।

    गत फागुनसम्ममा सार्वजनिक ऋण बढेर रु २८ खर्ब ७८ अर्ब पुगेको छ, जुन कुल गार्हस्थ उत्पादनको ४३ दशमलव छ प्रतिशत बराबर हो । व्यापार घाटा ११ दशमलव दुई प्रतिशतले बढेर रु १० खर्ब ९८ अर्ब पुगेको छ । यस्तै, विप्रेषण आप्रवाह ३७ दशमलव सात प्रतिशतले वृद्धि भई रु १४ खर्ब ५० अर्ब पुगेको छ । जसले बाह्य क्षेत्रलाई बलियो बनाएको छ ।

    शोधनान्तर स्थिति रु छ खर्ब ५८ अर्ब बचतमा तथा चालु खाता रु पाँच खर्ब ५३ अर्ब बचतमा रहेको छ । विदेशी विनिमय सञ्चिति रु ३४ खर्ब १४ अर्ब पुगेको छ । जसले १८ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता रहेको सर्वेक्षणमा उल्लेख छ । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता भए पनि निजी क्षेत्रतर्फ कर्जा विस्तार केबल छ दशमलव सात प्रतिशतमा सीमित रहेको छ । त्यसले निजी लगानी र आर्थिक गतिविधि अझै सुस्त रहेको सङ्केत गरेको छ ।

  • प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

    प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

    काठमाडौँ, १३ जेठः प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल र बेमौसमी वर्षाका कारण उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद साजिदा खातुन सिद्धिकीले ‘डायलाइसिस’ गर्ने मेसिन देशका सबै अस्पतालमा उपलब्ध गराउन माग गरिन् ।

    सांसद खड्गबहादुर शाहीले मुगुमा यार्सागुम्बा सङ्कलनका क्रममा यही जेठ १० गते टाँकेखोलामा लेक लागेर पेमा लामाको निधन भएको र अहिलेसम्म लास उठाउन नसकिएको समस्या राखे । सांसद जनकसिंह धामीले कञ्चनपुरको शुक्लाफाँटा क्षेत्रमा वीरेन्द्र ठगुन्ना र उनको परिवार बाघको आक्रमणबाट घाइते भएको विषयमा ध्यानाकर्षण गराउँदै वन्यजन्तुको आक्रमणबाट हुने यस किसिमको क्षति नियन्त्रण गर्न माग गरे ।


    सांसद अनुष्का श्रेष्ठले ट्राफिक व्यवस्थापनमा सुधार देखिए पनि अझ व्यवस्थित गर्न अनुरोध गरिन् । सांसद हरिमोहन भण्डारीले बैतडीमा असिनाबाट कृषिबालीमा क्षति भएको जनाउँदै भीषण वर्षापछिको बाढी, पहिराबाट हुने मानवीय क्षति हुन नदिन बस्ती सार्ने वा पहिरो नियन्त्रण गर्ने कार्यक्रम ल्याउन अनुरोध गरे । सांसद श्रीराम न्यौपानेले बाँदरका कारण पीडित भएका किसानलाई राहत दिन र देशभर बढिरहेको बाँदरको समस्या समाधान गर्न आग्रह गरे ।

    सांसद निष्कल राईले कामको सिलसिलामा विदेशमा रहेका नेपालीले दुःख व्यहोर्नुपरेको उल्लेख गर्दै क्रोयसियामा सडक दुर्घटनामा निधन भएका नेपालीको शव स्वदेश ल्याउन समस्या भएकाले त्यसतर्फ ध्यान दिन अनुरोध गरे । सांसद रमेशकुमार सापकोटा हावाहुरीका कारण कर्णालीका विभिन्न जिल्लामा बिजुली अवरुद्ध भएको अवगत गराए । सांसद ऐनबहादुर महरले सिंहदरबारभित्रको संसद् भवनलाई हतारमा नभई सही र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नुपर्ने बताए ।