Category: समाचार

  • आइबिस पुनः आकाशमा

    आइबिस पुनः आकाशमा

    टोकियो, १९ जेठ (रासस–एपी) । दशकौँअघि जापानबाट लोप भइसकेका क्रेस्टेड आइबिस (टोकी) पुनः जङ्गलमा फर्किएका छन् । उत्तर–मध्य जापानको नोटो क्षेत्रमा आइतबार आयोजित विशेष समारोहमा आठवटा प्रजननमार्फत हुर्काइएका आइबिसहरू औपचारिक रूपमा स्वतन्त्र रूपमा उड्नका लागि आकाशमा छोडिएका छन् । यसलाई संरक्षण अभियानको ऐतिहासिक सफलता मानिएको छ ।

    नोटो क्षेत्रको हकुई सहरमा भएको उक्त समारोहमा लोपोन्मुख चराहरूलाई तिनीहरूकै काठका पिँजडाबाट बाहिर निकालेर जङ्गलमा प्रवेश गराइएको थियो । सोही स्थानमा अन्तिम पटक जङ्गली अवस्थामा देखिएका यी चराहरूको पुनःस्थापनालाई स्थानीय समुदायले भावनात्मक क्षणका रूपमा स्वागत गरेको थियो । समारोहमा जापानका क्राउन प्रिन्स अकिशिनो, उहाँकी श्रीमती किको तथा अन्य सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो । पिँजडा वरिपरि रिबन काट्ने औपचारिकता सम्पन्न हुनासाथ चराहरू आकाशतर्फ उडेपछि उपस्थित बासिन्दाहरूले उत्साहका साथ स्वागत गरेका थिए ।

    साडो टापुस्थित संरक्षण केन्द्रमा सफल बन्दी प्रजनन कार्यक्रममार्फत हुर्काइएका यी आठ आइबिसहरूलाई अहिले जङ्गलमा पुनःस्थापित गरिएको हो । अधिकारीहरूका अनुसार थप १० वटा आइबिस पनि निकट भविष्यमा स्वतन्त्र रूपमा छोडिने तयारीमा छन् । जापानमा ‘टोकी’ भनेर चिनिने क्रेस्टेड आइबिस पूर्वी एसियाको मूल प्रजाति हो । यसको सेतो शरीर, खुट्टामा देखिने सुन्तला–गुलाबी रङ र आँखाको वरिपरि रहेको चम्किलो रातो चिह्नका कारण यो चरा विशेष आकर्षणको रूपमा चिनिन्छ ।

    इतिहासअनुसार सन् १९७० को दशकसम्म आइपुग्दा अत्यधिक सिकार र वातावरणीय क्षतिका कारण जापानको मुख्य टापु होन्सुबाट यो प्रजाति पूर्ण रूपमा विलुप्त भएको थियो । अन्तिम स्थानीय क्रेस्टेड आइबिस सन् २००३ मा साडो टापुमा मरेपछि जापानी मूल सङ्ख्या समाप्त भएको घोषणा गरिएको थियो । तर चीनको सहयोगमा सुरु गरिएको संरक्षण प्रयासपछि यस प्रजातिको पुनर्जीवन सम्भव भएको हो । सन् १९९९ मा चीनबाट प्राप्त एक जोडी आइबिसको सफल कृत्रिम प्रजननबाट जापानमा पहिलो पटक संरक्षण केन्द्रमै बच्चा जन्मिएको थियो, जसले संरक्षण अभियानलाई नयाँ गति दिएको वातावरण मन्त्रालयले जनाएको छ ।

    त्यसयता निरन्तर प्रजनन र संरक्षण प्रयासमार्फत आइबिसको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । सन् २००८ मा साडो संरक्षण केन्द्रबाट १० वटा आइबिसलाई जङ्गलमा छोडिएको थियो । त्यसपछि उनीहरूको सङ्ख्या बढेर करिब ५०० पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । हाल नोटो क्षेत्रमा गरिएको यो पुनःस्थापनालाई केवल जैविक विविधता संरक्षणको उपलब्धि मात्र नभई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रका लागि आशाको प्रतीकका रूपमा पनि हेरिएको छ । सन् २०२४ को विनाशकारी भूकम्पबाट प्रभावित नोटो क्षेत्र अझै पुनर्निर्माणको चरणमा रहेकाले आइतबारको यो क्षणलाई स्थानीयहरूले सकारात्मक सङ्केतका रूपमा लिएका छन् ।

  • नाइजेरियामा अपहरणको घटनाप्रति विरोध जनाउँदै शिक्षक हड्तालमा

    नाइजेरियामा अपहरणको घटनाप्रति विरोध जनाउँदै शिक्षक हड्तालमा

    लागोस, १९ जेठ (रासस–एएफपी) । मे २०२६ मध्यमा दर्जनौँ बालबालिका र उनीहरूका शिक्षकहरूको अपहरणको विरोधमा नाइजेरिया युनियन अफ टिचर्स (एनयुटी) ले ओयो राज्यमा सोमबारदेखि शैक्षिक हडतालको आह्वान गरेको छ । नाइजेरियाको सेनाले बोको हराम भनिने जिहादी समूह दोषी भएको आरोप लगाएका बन्दुकधारीहरूको समूहले दक्षिणपश्चिमी राज्य ओयोका तीन विद्यालयका विद्यार्थी र कर्मचारीहरूलाई अपहरण गरेका थिए।

    नाइजेरियामा कोको हराम र अन्य केही अतिवादी मुस्लीम समूहहरूले सरकारलाई आफूविरूद्धको कारबाहीलाई कम गर्न दवाव दिन लामो समयदेखि विद्यालयहरूमा आक्रमण गर्ने र विद्यार्थीसहित शिक्षक तथा कर्मचारीलाई अपहरण गर्ने गरेको पाइन्छ । फिरौतीका लागि अपहरण उत्तरी नाइजेरियाका लागि निरन्तरको प्रमुख समस्या हो तर नाइजेरियाको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्यमध्ये एक ओयोका लागि सामूहिक अपहरण असामान्य घटना हो ।

    अधिकारीहरूका अनुसार यहाँ हालै सात जना शिक्षकहरू र दुई देखि १६ वर्षका २५ देखि ३९ जना बालबालिकाहरू अपहरण भएका छन्। उनीहरुको खोजी कार्य जारी छ । एनयुटीले ओयो राज्यका प्राथमिक र माध्यमिक विद्यालयका शिक्षकहरूलाई सोमबारदेखि अर्को सूचना नभएसम्मका लागि विद्यालयमा काम बहिस्कार (हडताल) गर्न आग्रह गरेको छ । युनियनले भनेको छ, “अपहरणकर्ताहरूले हाम्रा सहकर्मी र शिक्षार्थीहरूलाई उनीहरूको समयानुकूल उद्धार र सुरक्षित रिहाइको कुनै स्पष्ट सङ्केत बिना निरन्तर हिरासतमा राखेको’ विरोधमा हडताल गरिएको हो ।”

    यो अवस्थाले शिक्षकहरूमा डर र निराशा सिर्जना गरेको छ, अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई विद्यालय पठाउन निरुत्साहित गरेको छ र राज्यका सबै समुदायहरूमा त्रास र तनाव निम्त्याएको छ। शिक्षक युनियनले सरकारलाई ‘अपहरणकारीहरूलाई सुरक्षित रूपमा र कुनै ढिलाइ नगरी फिर्ता ल्याउने रणनीतिहरू तीव्र पार्न’ आग्रह गरेको छ र शिक्षकहरूलाई घरमै बस्न र ‘निर्देशन पालना गर्न’ सल्लाह दिएको छ।

    बन्दुकधारीहरूले यावोता समुदायमा रहेको ‘ब्याप्टिस्ट’ नर्सरी र प्राइमरी र नजिकैको एसिलेका दुई अन्य विद्यालयहरूमा एकैसाथ छापा मारी विद्यार्थी, शिषक तथा कर्मचारीहरूलाई अपहरण गरेको थियो । नाइजेरियाको प्रहरीले उक्त घटनाहरूलाई ‘समन्वित आक्रमण’ भनेको छ। ‘क्रिश्चियन एसोसिएसन अफ नाइजेरिया’ले ३९ जना बालबालिका र सात शिक्षकलाई विद्यालयबाट अपहरण गरिएको जनाएको छ भने राज्यका गभर्नरले २५ जना विद्यार्थी र सात शिक्षकलाई पक्राउ गरिएको बताएका छन् ।

    नाइजेरियाली सेनाले अमेरिकी सेनासँग मिलेर देशको उत्तरी क्षेत्रमा जिहादीविरुद्ध अभियान बढाएपछि यसले केही समूहलाई दक्षिणतर्फ भाग्न बाध्य पारेको छ। आइतवार राष्ट्रपति बोला तिनुबुले ओयो राज्यमा विद्रोहीलाई लक्षित गरी एक हजार वनपाले भर्ती गरिरहेको र उनीहरूले त्यहाँ सरकारका मन्त्री र राष्ट्रिय प्रहरी महानिरीक्षक सम्मिलित ‘उच्च–स्तरीय’ प्रतिनिधिमण्डल पठाउन लागेको बताएका छन् ।

  • अमेरिकासँगको सन्देश आदानप्रदानलाई रोकिएको इरानको भनाइ, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने निर्णय

    अमेरिकासँगको सन्देश आदानप्रदानलाई रोकिएको इरानको भनाइ, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने निर्णय

    तेहरान, १९ जेठ (रासस–एएफपी) । इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदान रोकेको इरानको अर्धसरकारी समाचार संस्था तस्निमले सोमबार जनाएको छ । “गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता हुँदैन,” इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी राख्नका लागि लेबनानमा युद्धविराम इरानको पूर्व सर्तमध्ये एक हो, तर अहिले त्यहाँ सबै मोर्चामा युद्धविराम उल्लङ्घन गरिएको छ।

    इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने र बदलामा बाब अल–मन्डेब घाँटीसहित अन्य विकल्पहरूलाई सक्रिय पार्ने एजेन्डामा रहेको बताएको छ। इरानका विदेशमन्त्री सइद अब्बास अराघचीले सामाजिक सञ्जालमा एक पोस्टमा इरान र अमेरिकाबीच कुनै पनि मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु सबै मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु बराबर भएको बताएका छन् । इरानी संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढाएको युद्ध अपराध अमेरिकाले युद्धविरामको पालना नगरेको स्पष्ट प्रमाण भएको बताए ।

    यसैबीच, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाको ‘नयाँ र विरोधाभासी’ मागका कारण युद्ध अन्त्यका लागि भएको वार्ता प्रक्रिया रोकिएको बताए । इरान र अमेरिकाबीच ४० दिनको लडाइँपछि अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि उनीहरूले अप्रिल ११ र १२ मा पाकिस्तानको इस्लामावादमा एक चरणको शान्ति वार्ता गरेका भएपनि सहमति हुन सकेको थिएन ।

    बितेका हप्ताहरूमा, दुई पक्षले पाकिस्तानको मध्यस्थतामार्फत शान्तिका सर्तहरू उल्लेख गर्दै धेरै प्रस्तावित योजनाहरू आदानप्रदान गरेका थिए र युद्ध अन्त्य गर्ने उद्देश्यका साथ एक समझदारी पत्रलाई अन्तिम रूप दिने काम गरिरहेका थिए । इजरायल र लेबनानले अप्रिलको मध्यमा युद्धविराम गरेका थिए तर युद्धविरामका बाबजुद इजरायलले लेबनानमा दैनिक आक्रमण जारी राखेको छ । हेजबुल्लाहले पनि उसको क्षमता अनुसार इजरायली सैन्य चौकीमा आक्रमण सुरु गरेको छ ।

    आइतवार इजरायलले दक्षिणी लेबनानको ब्यूफोर्ट रिज कब्जा गरेको दाबी गरेको छ जसमा मध्ययुगीन ब्यूफोर्ट महल इजरायलको नियन्त्रणमा गएको छ । यो इजरायलले लेबनानसँग युद्धविराम पछि कायम गरेको ‘सुरक्षा घेरा’ भन्दा बाहिरको क्षेत्र हो । दुई दशकभन्दा बढी समयपछि लेबनानमा इजरायलको यो सबैभन्दा भित्री भागमा भएको आक्रमण हो । यस कदमलाई अरब जगतका साथै फ्रान्स, जर्मनी र बेलायतले निन्दा गरेका छन् ।

    यसअघि सोमबार इजरायली प्रधानमन्त्री नेतन्याहु र रक्षामन्त्री इजरायली काट्जले एक संयुक्त वक्तव्यमा बेरुतको दक्षिणी उपनगरमा आक्रमण गर्न सेनालाई आदेश दिएको बताएका थिए । काट्जले पछि दक्षिणी लेबनानको लितानी नदीको क्षेत्रलाई सैन्य नियन्त्रित क्षेत्रमा परिणत गर्ने र हेजबुल्लाहले आक्रमण नरोकेसम्म बेरुतमा आक्रमण जारी राख्ने वाचा गरेका थिए ।

  • मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

    मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

    काठमाडौँ, १९ जेठः आज मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ । यस्तै, देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    यसैगरी, देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यमसम्मको वर्षा सम्भावना रहेको छ । आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यसैगरी कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

  • वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

    वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

    वीरगञ्ज (पर्सा), १९ जेठः वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ । पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि आज उनलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु कार्कीले लुकीछिपी बसेका नगरप्रमुख सिंहलाई ठोरीबाट पक्राउ गरिएको पुष्टि गरे ।

    “हामीले उहाँको खोजीका लागि विशेष टोली परिचालन गरेका थियौँ, यसैक्रममा ठोरीमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको हो । नगरप्रमुख सिंहलाई सम्भवत् आजै अदालतमा पेस गर्नेछौँ”, उनले भने । नगरप्रमुख सिंहले अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएर लिखतसम्बन्धी कसुर गरेको आरोप लागेको छ ।

    पर्सा जिल्ला अदालतले गत जेठ ८ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर लियाकत अलीको जाहेरीले लिखतसम्बन्धी कसुर मुद्दामा प्रमुख सिंहसहितका तीन जनालाई सात दिनभित्र खोजतलास गरेर अदालतमा पेस गर्न भनेको थियो ।

  • बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

    बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

    सिद्धार्थनगर (भैरहवा), १९ जेठः वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै आएको बुटवल–नारायणगढ सडक खण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ । सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यात्रुले राहत महसुस गर्न थालेका छन् ।

    निर्माणाधीन सडकका प्रमुख भागमा ढलानको काम लगभग सकिएको र सवारीसाधन सञ्चालनका लागि सडक अवस्था सुधार भएकाले यात्रा अवधि छोटिएको छ । यसअघि घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था रहेकामा बुटवल–नारायणगढ यात्रा तुलनात्मक रूपमा सहज र छिटो भएको यात्रुले बताएका छन् ।

    सडक विस्तार आयोजनाका अनुसार अधिकांश क्षेत्रमा ढलान तथा कालोपत्र सम्पन्न भइसकेको छ भने बाँकी काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्यले गति लिएसँगै सडकमा सवारीसाधनको चाप व्यवस्थापन हुन थालेको र आवागमनमा सुधार देखिएको छ ।

    विसं २०७५ देखि विस्तारको काम सुरु भएको यस सडक खण्डमा निर्माण ढिलाइका कारण यात्रुले लामो समय सास्ती भोग्नुपरेको थियो । तर हाल काम सम्पन्नतर्फउन्मुख भएपछि यात्रु, व्यवसायी तथा यातायात व्यवसायीले राहत महसुस गरेका छन् । आयोजना पूरा भएपछि बुटवल–नारायणगढ सडक खण्डमा यात्रा अझ सुरक्षित, सहज र समय बचत हुने अपेक्षा गरिएको छ ।

  • हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

    हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

    काठमाडौँ, १९ जेठः नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ । कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।

    नयाँ उडान सेवाअन्तर्गत काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तरराष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन गरिनेछ । कम्पनीका अनुसार काठमाडौँबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट काठमाडौँ फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ ।

    हिमालय एयरलाइन्सले यो सेवा नेपाल–चीन हवाई सम्पर्क विस्तारको दिशामा महत्वपूर्ण कदम भएको जनाउँदै यात्रुको मागका आधारमा भविष्यमा उडान सङ्ख्या थप्ने योजना पनि बनाएको उल्लेख गरेको छ । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तरराष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताए ।

    उनले काठमाडौँ–शेन्जेन उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै पर्यटन, व्यापार तथा लगानीका अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । “हिमालय एयरलाइन्सले चीनका विभिन्न सहरसँग नेपाललाई जोड्ने प्रयास निरन्तर गर्दै आएको छ । शेन्जेन उडानले नेपाल र चीनबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनेछ”, उपाध्यक्ष श्रेष्ठले भने ।

    चीनको ‘सिलिकन भ्याली’ का रूपमा परिचित शेन्जेन विश्वका प्रमुख प्रविधि, उत्पादन तथा नवप्रवर्तन केन्द्रमध्ये एक मानिन्छ । नयाँ हवाई सेवाले व्यापारिक यात्रु, पर्यटक, विद्यार्थी तथा लगानीकर्तालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । हिमालय एयरलाइन्सले यात्रुलाई सुरक्षित, सहज र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले नयाँ उडान सञ्चालनसँगै नेपाल र चीनबीच पर्यटन प्रवद्र्धन, व्यापार विस्तार तथा जनस्तरको सम्बन्ध सुदृढ हुने अपेक्षा गरेको छ ।

  • तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ

    तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ

    कर्णाली, १९ जेठः सुर्खेत प्रहरीले रु तीन करोड बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकस्थित ‘शिव ईम्पोरिय’ पसलबाट रु तीन करोड बराबरका सुनचाँदीका गहनासहित अग्रवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।


    उनका अनुसार व्यापारी अग्रवालबाट विभिन्न दरका नेपाली रुपैयाँ दुई लाख १९ हजार ५००, विभिन्न दरका भारतीय रुपैयाँ आठ लाख ११ हजार ९००, नगद रुपैयाँ गन्ती गर्न प्रयोग हुने मेसिन एक थान र विभिन्न किसिमका सुन तथा चाँदीका गरगहना राखिएको बट्टा (पोका) र डिब्बा गरी १८५ थान अनुमानित रु तीन करोड बराबरको सुनचाँदीका गरगहना बरामद गरिएको हो । पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • विकासले फेरिँदै नगरकोटको मुहार

    विकासले फेरिँदै नगरकोटको मुहार

    भक्तपुर, १९ जेठः चाँगुनारायण नगरपालिका–६ को पर्यटकीय आधारशिलाका रुपमा पहिचान बोकेको नगरकोट, यतिखेर तीन तहकै सरकारको लगानीले मुहार फेरिँदै गएको छ । नगरकोट जाने सडकको १० वर्षको कुरुपताले खस्कँदै गएको यहाँको पहिचानलाई नगरपालिकाले सडक कालोपत्र गरेसँगै र तीन तहकै सरकारको वार्षिक रु २० करोडभन्दा माथिको लगानीले नगरकोटमा विकासले मुहार फेरिँदै गएकामा यहाँका बासिन्दा खुसी छन् ।

    चाँगुनारायण नगरपालिका–६ वडा कार्यालय अगाडिको खुला चौतारोमा राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा आज सम्पन्न सार्वजनिक सुनुवाइमा स्थानीय दलीय जनप्रतिनिधिदेखि स्थानीयवासीले नगरकोटको विकासले फड्को मारेको देखेर खुसी व्यक्त गरेका छन् ।

    कार्यक्रममा वडाध्यक्ष धनबहादुर लामाले नगरपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारको वार्षिक रु २० करोडभन्दा बढीको लगानीबाट नगरकोटको मुहार फेरिएको बताए । उनले भने, “विगत चार वर्षमा नगरकोटले मुहार फेरेको छ, ठेकेदारले अलपत्र पारेको भक्तपुर नगरकोट सडक नगरपालिकाले कालोपत्र गर्यो, नगरकोट भ्रमण वर्ष २०८२ को आयोजना भयो, यसक्रममा चाँगुनारायण नगरपालिकासँगै नगरकोटसँग छोएको काभ्रेको मण्डन देउपुर, बनेपा, काठमाडौँको शङ्करापुर नगरपालिकाले नगरकोट जोड्ने सडक कालोपत्र गरे, पर्यटकको आगमन ह्वात्तै बढ्यो, नगरकोटवासीमा खुसी छायो ।”

    खानेपानीको ट्याङ्की निर्माण गरि घरघरमा धारो वितरण, बतासेडाँडामा बुद्ध मूर्तिदेखि शालिक, विभिन्न पर्यटकीय संरचना निर्माण, नगरकोट बसपार्कदेखि होटलमा जाने सडकको स्तरोन्नति, स्वास्थ्य, शिक्षाको पहुँचमा वृद्धि, सरसफाइ अभियान, शुक्रबारे हाटबजार, पर्यटकको सुरक्षा यहाँको विकासको गति भएको वडाध्यक्ष लामाले बताए । नगरकोटमा तामाङ सङ्ग्रहालय बनाउने योजनालाई उपयुक्त विकल्पको खोजी भइरहेको, यहाँ कम्तीमा १० श्ययाको अस्पताल सञ्चालन गर्ने योजना रहेको बताउँदै नगरकोटलाई सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरिरहेको उनले बताए ।


    कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), राप्रपालगायत जनप्रतिनिधिले नगरकोटको विकास देखेर जनप्रतिनिधिको कार्यप्रति खोट लाउने ठाउँ नभएको र सन्तुष्ट रहेको बताएका थिए । कार्यक्रममा वडासचिव राजेन्द्र गणेशले वडामा चालु आवमा यस वडाबाट चालु आव रु एक करोड ४७ लाख विभिन्न शीर्षकमा रावस्व सङ्कलन गरेको बताए ।

    उनले १०० योजना स्वीकृत भएकामा हालसम्म ६२ वटा सम्पन्न भइसकेको र ३८ वटा निर्माणको प्रक्रियामा रहेको १०१ वटा घटना दर्ता गराइएको, चालु आवमा ३९१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताए । कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष पेशल आचार्यले नगरकोटको विकासले यहाँका बासिन्दाको आयस्तरले फड्को मारेको र रोजगार सृजना भएको बताए ।

  • वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

    वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

    काठमाडौँ, १९ जेठः विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ । आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने बताइएको छ । आज भैरहवामा अधिकतम तापक्रम ३७.५ डिग्री पुगेको छ ।

    पछिल्लो २४ घण्टामा पनि दैलेखलगायत केही जिल्लामा हल्का वर्षा भए पनि अन्य क्षेत्रमा खास वर्षा रोकिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार जेठ १९ गते मधेस प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ । देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ । तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

    बुधबार देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ बुलेटिन जारी गरी जानकारी दिएको छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको बताइएको छ ।

  • कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

    कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

    धरान (सुनसरी), १९ जेठः कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको छ । सुनसरीको इटहरीमा आइतबारदेखि सञ्चालन भएको प्रतियोगिताको अन्तिम दिन आज सुनसरीले २१ स्वर्ण पदक जित्दै उपाधि हात पारेको हो । झापाले १८ स्वर्णपदकसहित दोस्रो तथा मोरङले १६ स्वर्णपदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।

    कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाबाट छनोट भएका एक हजार ७०० खेलाडीको सहभागिता रहेको बोर्डका सदस्य सचिव विप्लब घोषले जानकारी दिनुभयो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा गराइएको थियो ।

    प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने छन् । प्रतियोगिताबाट राष्ट्रियस्तरका लागि छनोट भएका ११५ खेलाडी तथा अफिसियललाई आज साँझ बिदाइ गरी काठमाडौँ पठाइएको छ । बिदाइ कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनमार्फत कोशी प्रदेशले धेरैभन्दा धेरै पदक जित्ने विश्वास व्यक्त गरे । उनले खेलाडीलाई अनुशासन, मेहनत र खेल भावनाका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे ।


    त्यसैगरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही जेठ २० गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सातै प्रदेशका कुल ६८६ खेलाडीको सहभागिता रहने (राखेप)ले जनाएको छ ।

    प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेल समावेश गरिएका छन् । ती खेलमा कुल ६६ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ भने भलिबल र कबड्डीमा समान दुई–दुई स्वर्ण पदकका लागि खेल हुनेछ । कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

    राखेपका सदस्य सचिवका रामचरित्र मेहताका अनुसार एथलेटिक्सका खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा, भलिबल राखेपको कभर्डहलमा, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा, कराते कीर्तिपुरस्थित कभर्डहलमा, तेक्वान्दो सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा तथा उसुका खेल त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा सञ्चालन हुने छन् ।

  • मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

    मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

    दमौली ९तनहुँ०, १८ जेठः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको पुलको आज निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्त्री लम्सालले निर्धारित समयमा निर्माण पूरा गर्न निर्माता कम्पनीलाई निर्देशन दिए । पुलको भौतिक प्रगति ८४ प्रतिशत भएको छ । तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान हुनेछन् । पुल निर्माणको ठेक्का रु एक अर्ब २१ करोडमा दिइएको हो ।

    मन्त्री लम्सालले आजै मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पूर्वी र पश्चिमी खण्डको समेत निरीक्षण गरेका मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

  • कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

    कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

    काठमाडौँ, १८ जेठः नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान गरेको छ । पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको संयोजकत्वमा आज केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्वदेश तथा विदेशमा रहेका इच्छुक नेपाली नागरिकका लागि नयाँ क्रियाशील सदस्यता आह्वान गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले नयाँ क्रियाशील सदस्य बन्न इच्छुक व्यक्तिले पार्टीको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

  • पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश

    पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश

    काठमाडौँ, १८ जेठः विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई रु एकलाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले निजलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । महराविरुद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ७ करोड ७८ लाख ६८ हजार ९५ बराबरको सुन भन्सार छली तस्करी गरेर राज्यलाई हानी नोक्सानी पु¥याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

  • न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधानन्यायाधीशको २१ बुँदे निर्देशन

    न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधानन्यायाधीशको २१ बुँदे निर्देशन

    काठमाडौँ, १८ जेठः प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमान्दारपूर्वक लाग्न २१ बुँदे निर्देशन दिएका छन् । आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्यायसम्पादन तथा सुशासनयुक्त न्याय प्रशासनको अपेक्षा राखेकाले न्यायालयप्रतिको जनआस्था कायम राख्न समर्पणभाव, जिम्मेवारीबोध, लगनशीलता र इमान्दारिताका साथ कार्य गर्न उनले निर्देशन दिएका हुन् ।


    प्रधानन्यायाधीश शर्माले वर्तमान समयमा जनताको चाहनाअनुसार राज्यका सबै निकायले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई छिटो, सहज तथा प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । न्यायपालिकाले तयार गरेको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना तथा गत वर्ष भदौ २३ र २४ गतेको घटनापछि तयार गरिएको सङ्कट व्यवस्थापन कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमार्फत न्यायपालिकाप्रति जनताको विश्वास र आस्था कायम राख्नुपर्ने उनको जोड छ ।

    निर्देशनमा रणनीतिक योजना र कार्ययोजनालाई सुधारको आधार बनाउने, बक्यौता मुद्दा न्यूनीकरण गर्ने, मुद्दा प्रवाह व्यवस्थापन प्रभावकारी बनाउने, पेशी, कजलिस्ट तथा इजलास व्यवस्थापन सुधार गर्ने, विकृति, विसङ्गति र अनियमितताप्रति शून्य सहनशीलता अपनाउने तथा सुशासनसम्बन्धी प्रतिवेदन प्रणालीलाई सुदृढ बनाउन भनिएको छ ।

    गुनासो सुनुवाइका प्रभावकारी संयन्त्र सञ्चालन गर्ने, नागरिक बडापत्र, सूचना कक्ष तथा सेवाग्राहीमैत्री व्यवहारलाई प्रभावकारी बनाउने, म्याद तामेली व्यवस्थित गर्ने, सूचना प्रविधिको प्रयोग बढाउने, अनलाइन बहस, ‘भिडियो कन्फरेन्सिङ’ तथा ‘लाइभ स्ट्रिमिङ’को उपयोग विस्तार गर्ने, स्वचालित पेशी–तारेख प्रणाली र पारदर्शितालाई संस्थागत गर्ने तथा फैसला लेखन र कार्यान्वयनलाई तीव्रता दिन निर्देशन दिइएको छ ।

    प्रधानन्यायाधीश शर्माले पीडितमैत्री न्याय र क्षतिपूर्तिसहितको न्याय सुनिश्चित गर्ने, मेलमिलाप तथा विवाद समाधानका वैकल्पिक उपायलाई प्रभावकारी बनाउने, न्यायमा पहुँच अभिवृद्धि गर्ने, बयान, बकपत्र र प्रमाण परीक्षणमा न्यायाधीशको निगरानी सुनिश्चित गर्ने, वित्तीय अनुशासन कायम गर्ने, बजेटको प्राथमिकताका आधारमा पारदर्शी खर्च सुनिश्चित गर्ने तथा न्यायाधीश र कर्मचारीको आचरण, उपस्थिति, सुरक्षा र जनआस्था अभिवृद्धिमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

  • एक अनुकरणीय प्रतिष्ठान गोपीकृष्ण स्मृति

    एक अनुकरणीय प्रतिष्ठान गोपीकृष्ण स्मृति

    • योगेश आदी

    पितापूर्वज, वंश मावाली नै व्यक्ति तथा परिवारको रक्तनली हुन्। संस्कृति, संस्कार र परंपराको सञ्चार यसैबाट हुन्छ । आफ्ना अग्रजको नाममा स्मरण एवम् सम्मानको हेतु उहाँहरुको योगदानउपर कदरस्वरुप प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने प्रचलन हरेक सभ्य समाजमा हुन्छ ।

    खनाल परिवारले पिता गोपीकृष्ण खनालको नाममा विसं. २०७६ सालमा स्थापना गरेको ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ यसैको उदाहरण हो । स्थापनापछि निरन्तर समाजसेवा र साहित्यमा पुर्याउँदै आएको योगदानको बदौलत आज यो प्रतिष्ठान सबैको लागि अनुकरण बनेको छ । झापाको बिर्तामोडमा अवस्थित यस प्रतिष्ठानका संरक्षक श्री रुपादेवी खनालले पुस्तकालय निर्माण, साहित्यिक पुरस्कार, धार्मिक सहयोग तथा गरिब असहायप्रति मानवीय सहयोग निरन्तर गर्दै प्रतिष्ठानको गरिमा उँचो राख्नुभएको छ ।

    लेखन साहित्य र समाजसेवामा सक्रिय रहँदा गोरखा दक्षिणबाहु पदक पाउनु भएका पत्रकार, साहित्यकार, समाजसेवी स्व. गोपीकृष्ण खनालको असामयिक निधन ७१ वर्षको उमेरमा भएपछि परिवारजन तथा शुभचिन्तकको पहलमा यो प्रतिष्ठानको स्थापना भएको हो ।

    मानिस कर्मले महामानव बन्छ । सही विचार र जीवनशैली भाविपुस्ताको लागि पथ बन्छ । मातापिताले पुर्याएको सामाजिक योगदानको कदर दरसन्तानले यस्ता सामाजिक प्रतिष्ठानमार्फत गर्ने प्रचलन समाजमा अझ बढी चल्नु जरुरी छ । थुप्रै पत्रपत्रिकामा आबद्दरहेका स्वर्गीय खनालका कयौं कृतिहरु प्रकशित छन् । समाजमा सन्तानले गर्वकासाथ नाम लिन सक्ने काम अग्रजले गर्ने र भावि सन्ततिले यस्तै स्मृति प्रतिष्ठान स्थापना गरेर सम्मान व्यक्त गर्ने प्रचलन चलिरहोस् ।

    गोपीकृष्ण खनाल स्मृति प्रतिष्ठानको काम र योगदानको बारेमा बृस्तित जानकारी वेबसाइट् www.gkmemorial.org बाट लिन सकिन्छ । गत वर्ष प्रकाशित ‘गोपीकृष्ण खनाल स्मृतिग्रन्थ’ हात परेपछि मलाई समाजप्रति थप जिम्मेवारी बोध भएको छ । आदरणीय मनोज खनालज्यु तथा गीता खनालज्युमा हार्दिक आभार ।

  • भिरबाट लडेर दुई जनाको मृत्यु

    भिरबाट लडेर दुई जनाको मृत्यु

    बाजुरा, १८ जेठः जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिए ।

    यस्तै, सोही नगरपालिका–६ कोर्धका बलबहादुर खड्काकी छोरी छ वर्षीया जसना खड्काको पनि भिरबाट लडेर मृत्यु भएको छ । प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भिरबाट चिप्लिएर निजको मृत्यु भएको हो ।

  • शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

    शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

    अमरगढी (डडेल्धुरा), १८ जेठः डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो । यस्तै, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको हो ।

    मामाभान्जा नाता पर्ने दुवै जना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेलापरेको थियो । सोही आधारमा नदीमा बगेको हुनसक्ने आशङ्कासहित खोजी अभियान सञ्चालन गरिएको थियो । त्यसक्रममा थापाको शव कल्पठ्ठे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो भने जवान पुन मगरको शव नदीले बगाएर कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पु¥याएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • पूर्वाधारमन्त्री लम्सालद्वारा सेती पुल निरीक्षण

    पूर्वाधारमन्त्री लम्सालद्वारा सेती पुल निरीक्षण

    कास्की, १८ जेठः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पोखरा पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन सेती पुलको आज निरीक्षण गरेका छन् । सो अवसरमा मन्त्री लम्सालले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, आयोजना प्रमुख कुँवर, निर्माण कम्पनी, परामर्शदातालगायतसँग पुल निर्माणमा विलम्ब नगर्न र समस्या भए समाधान गरेर अघि बढ्न निर्देशन दिए । मन्त्री लम्सालले पछिल्लो पटक थप गरिएको समयावधि आगामी फागुन २१ गतेभित्रै काम सम्पन्न गर्न निर्देशनसमेत दिए । “काममा केही समस्या भए जानकारी गराउनु, पूर्वाधार निर्माण तोकिएको समयमै सकिनुपर्दछ । ढिला सुस्ती हुनुहुँदैन । अब तोकिएको समयभित्रमै काम गर्नुहोला ।”

    यसअघि मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्ड आयोजना प्रमुख कृष्णबहादुर कुँवरले निर्माणाधीन पुलको हालसम्म भौतिक र वित्तीय प्रगति तथा आयोजनामा देखिएका समस्याबारे उनलाई जानकारी गराएका थिए । मन्त्री लम्सालसँगै अनुगमनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेल सहभागी थिए ।

    सेती नदीको उत्तरतर्फका केही जग्गाधनी तथा व्यवसायीलाई सडकबाट एसियाली विकास बैङ्कको नीतिअनुसार सडक पहुँच दिनुपर्ने कारणले दुई वटा घर भत्काउनु परेको र यसको क्षतिपूर्ति दिनुपर्नेलगायत विषयमा सहमति जुटाउन लामो समय लागेकाले आयोजना केही ढिलाइ भएको प्रमुख कुँवरले जानकारी गराए ।


    क्षतिपूर्तिको विषय प्रशासनबाट टुङ्गो लागिसकेकाले अब काममा ढिलाइ नहुने जानकारी दिँदै आयोजना प्रमुख कुँवरले हालसम्म पुलको ६० प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ५५ प्रतिशत भएको जानकारी गराए । विसं २०७९ साउन २६ गतेदेखि निर्माण सुरु गरिएको उक्त पुलको लागत रु एक अर्ब सात करोड छ ।

  • छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

    छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

    झापा, १८ जेठः मेचीनगर नगरपालिका-१५ स्थित माँ पाथीभरा प्लाई फ्याक्ट्रीमा कार्यरत रामबहादुर गौतमको कुटपिटबाट स्थानीय ५५ वर्षीय रुद्र श्रेष्ठको आज मृत्यु भएको छ । सामान्य भनाभन र वादविवादमा श्रेष्ठलाई फ्याक्ट्रीका कामदार ३५ वर्षीय गौतमले कुटपिट गरी घाइते बनाएको थाहा पाएपछि स्थानीय ज्यामिरगढी प्रहरी चौकीको टोली घटनास्थल पुगेर घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।


    टाउकामा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्था भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । प्रहरीले कुटपिटमा संलग्न गौतमलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । यसैगरी, दमक नगरपालिका-१० सेतुमारीस्थित रतुवा खोलाको पुलमुनि प्लास्टिकको बोराभित्र फेला परेको महिलाको शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काका अनुसार शनिबार दिउँसो पुलमुनि खोलामा बगिरहेको अवस्थामा महिलाको शव बोराभित्र भेटिएको थियो ।

    निज मृत व्यक्ति दमक नगरपालिका–८ वसन्त टोलकी २१ वर्षीया रमा तिवारी रहेको आइतबार सनाखत भएको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए । तिवारी गत बुधबार राति ९ः३० बजेतिर घरबाट आफूखुसी हिँडेपछि त्यसयता सम्पर्कविहीन भएकी मृतककी आमा मुना तिवारीलाई उद्द्धृत गर्दै प्रहरीले जनाएको छ ।

    मेचीनगर र विर्तामोडमा दुई व्यक्ति मृतावस्थामा फेला परेका छन् । मेचीनगर–८ जोरसिमलस्थित महेन्द्र राजमार्गबाट ५० मिटर दक्षिणतिर अन्दाजी ३५ वर्षीय एक पुरुष मृतावस्थामा शुक्रबार फेला परेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, इलामको फाकफोक गाउँपालिका–३ निवासी ४५ वर्षीय राज थेगिमलाई शनिबार विर्तामोड नगरपालिका-३ स्थित सडकमा लडेर घाइते भएको अवस्थामा प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको थियो । अत्यधिक मदिरा सेवन गर्दै आएका थेगिमको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हुनसक्ने प्रहरी प्रवक्ता खड्काले जानकारी दिए ।

  • संसदमा आइतबार भएको घटनाको छानबिन गर्न समिति गठन

    संसदमा आइतबार भएको घटनाको छानबिन गर्न समिति गठन

    काठमाडौँ, १८ जेठ : प्रतिनिधिसभाको आजको बैठककले संसदको आइतबारको बैठकमा सांसद सदस्यले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै तीन सदस्य छानबिन समिति गठन गरेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना प्रमुख र प्रविधि महाशाखा प्रमुख सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेका हुन् । उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउनु भनिएको छ ।


    प्रतिनिधिसभाको आइतबारको बैठकमा केही सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक क्षतिसमेत पु¥याउने काम गरेको सभामुखले जानकारी गराए । प्रतिपक्षले आजपनि सदन अवरुद्ध गरेपछि सोमबारका लागि तय भएका बैठकको कार्यसूचीका विषयहरु हटाइएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १९ गते १ बजे बस्नेछ ।

  • सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

    सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

    काठमाडौँ, १८ जेठ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच आज सूचना तथा सञ्चार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तारलगायत विषयमा छलफल भएको थियो । साथै नेपाल–अमेरिका सहकार्यलाई सूचना प्रविधि, डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा लगानी विस्तारका क्षेत्रमा थप सुदृढ बनाउने विषयमा पनि विचारविमर्श भएको सञ्चार मन्त्रालयले जनाएको छ ।

    अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपाल–अमेरिका सम्बन्ध मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै सूचना प्रविधि तथा दूरसञ्चारका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताइन् । उनले अमेरिकी कम्पनीहरू नेपालमा लगानी विस्तार गर्न चाहिरहेका उल्लेख गर्दै त्यसका लागि लगानीमैत्री वातावरण, नीतिगत स्थिरता तथा आवश्यक सहजीकरणको अपेक्षा गरिन् ।


    उनले इन्टरनेट स्वतन्त्रताको संरक्षणसँगै डिजिटल माध्यमबाट हुने चुनौती व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउँदै अनलाइन ठगी, अश्लील सामग्रीको प्रसार तथा संवेदनशील सामग्रीको नियन्त्रणमा सहकार्य गर्न सकिने बताइन् । लगानी विस्तार र डिजिटल पूर्वाधार विकासका क्षेत्रमा अमेरिका सहयोग गर्न तयार रहेको उनले बताइन् ।


    सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाल सूचना प्रविधिमार्फत आर्थिक तथा प्रशासनिक रूपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गर्दै यस क्षेत्रमा हुने सबै प्रकारका द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई नेपालले स्वागत गर्ने बताए । सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रमा लगानीका लागि हाल कायम रहेको नीतिगत तथा कानूनी व्यवस्थाबारे पनि जानकारी गराए ।


    सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकार सामाजिक सञ्जाल नियन्त्रणको पक्षमा नरहेको स्पष्ट पार्दै जिम्मेवार र उत्तरदायी डिजिटल वातावरण निर्माणका लागि आवश्यक नियामकीय प्रबन्ध गर्न आवश्यक रहेको बताए ।

  • अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान

    अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान

    तेहरान, १८ जेठ (रासस–एएफपी) । अमेरिकाले इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले आइतबार तेहरान संयुक्त राज्य अमेरिकासँग जस्तोसुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका छन् । प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र स्ट्रेट अफ हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ । न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै शनिबार लेखेका छन्, “ट्रम्पले ‘कडा’ सर्तहरू साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनुभएको छ । यद्यपि विस्तृत विवरण खुलाइएको छैन ।

    सरकारी टेलिभिजनमा प्रसारण गरिएको भिडियोमा मोहम्मद बाघर गालिबाफले भनेका छन्, “इरानी जनताको अधिकार सुनिश्चित नभएसम्म हामी कुनै पनि सम्झौतालाई अनुमोदन गर्दैनौँ ।” ट्रम्पले आफ्ना प्राथमिकताहरूमा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुजको जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताएका छन् । उनले भने, “मलाई इरानले एउटा सुनिश्चितता यो गरेको छ कि उनीहरूसँग यस्ता आणविक हतियार हुनेछैनन् । उनीहरू यसमा सहमत भएका छन्, र यो धेरै अनौठो कुरा भएको छ,” उनले शनिबार राति फक्स न्यूजको कार्यक्रममा प्रसारित एक अन्तर्वार्तामा भने ।

    तेहरानले यसअघि ट्रम्पको भनाइमा शङ्का व्यक्त गर्दै आएको छ र दुई पक्षहरू मुख्य विवादका मुद्दाहरूबाट टाढा छन्। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनुअघि रोक्का गरिएको १२ अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ । तेहरानले पनि जारी लडाइँको बाबजुद लेबनानलाई कुनै पनि सम्झौतामा समावेश गर्ने कुरालाई जोड दिएको छ । इजरायलले इरान समर्थित हेजबुल्लाहबिरूद्ध अभियान विस्तार गरेपछि बेरुतले उसलाई ‘विनासको नीति’ अबलम्बन गरेको आरोप लगाएको छ ।

    यसअघि सम्झौता नजिकिँदै आएको सङ्केत दिएपछि ट्रम्पले फक्ससँगको अन्तर्वार्तामा नयाँ सैन्य कारबाही हसनसक्ने तर हतार नगरिने सङ्केत गरेका थिए ।
    “मलाई कुनै हतार छैन,” ट्रम्पले भने, “यदि हामीले चाहेको कुरा पाएनौँ भने, हामी फरक तरिकाले अन्त्य गर्नेछौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पिट हेगसेथले शनिबार एसियामा भएको रक्षा सम्मेलनमा वासिङ्टन आवश्यक परेको खण्डमा युद्ध पुनः सुरु गर्न ‘आवश्यकताभन्दा बढी सक्षम’ रहेको बताएका थिए ।


    गत अप्रिलमा तेहरान र वासिङ्टनले अस्थायी युद्धविराम गरेपछि र पाकिस्तानको मध्यस्थतामा वार्ता भएपछि इरान र खाडीमा दैनिक आक्रमणहरू रोकिए पनि छिटपुट लडाइँ जारी छ। यसैबीच, इरानको रिभोलुसनरी गार्डले आइतबार इरानको जलक्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ । यसै हप्ताको सुरुवातमा इरानको बन्दर अब्बासस्थित बन्दरगाहमा अमेरिकी सेनाले आक्रमण गरेपछि युद्धविरामपछिको सबैभन्दा खराब द्वन्द्व सुरु भएको थियो ।

    जे होस्, कूटनीतिक नीतिले ट्रम्पलाई एक सम्झौता सुरक्षित गर्न दबाबमा राखेको छ जसले स्ट्रेट अफ हर्मुज वरपरको प्रतिस्पर्धात्मक अमेरिका र इरानको नाकाबन्दी हटाउनेछ, जसले विश्वव्यापी तेल आपूर्तिको लागि महत्त्वपूर्ण मार्गको आवागमन रोकेको छ। ट्रम्पले कुनै पनि सम्झौताअन्तर्गत उक्त जलसन्धि भएर जान सक्ने पानीजहाजमा इरानले कुनै शुल्क नलिने बताएपछि इरानी समाचार एजेन्सी फार्सले स्रोतलाई उद्धृत गर्दै भनेको छ, “त्यस्तो कुनै प्रावधान सम्भावना छैन।” इरानको समाचार संस्था (आइएसएनए) ले सांसद अलिरेजा सलिमीलाई उद्धृत गर्दै नियन्त्रित जलक्षेत्रमा इरानको व्यवस्थापन र सार्वभौमिकता कार्यान्वयन गर्ने योजना छिट्टै संसदमा पेश गरिने बताएको छ ।

  • म्यान्मामा गोदाममा विस्फोट हुँदा दर्जनौँ व्यक्तिको मृत्यु, करिब ७४ जना घाइते

    म्यान्मामा गोदाममा विस्फोट हुँदा दर्जनौँ व्यक्तिको मृत्यु, करिब ७४ जना घाइते

    याङ्गुन, १८ जेठ (रासस–एएफपी) । उत्तरपूर्वी म्यान्माको एक भवनमा भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा दर्जनौँ घाइते भएका छन् । भवनमा खानीका लागि प्रयोग हुने विस्फोटक पदार्थ राखिएको र दुर्घटनाबाट नजिकैका दर्जनौँ घरमा पनि क्षति पुगेको बताइएको छ ।

    नाम्खाम शहरको काउङटुप गाउँमा दिउँसो भएको विस्फोटमा अन्य ७० जनाभन्दा बढी घाइते भएका छन् । यो क्षेत्र चीनको सीमाबाट करिब तीन किलोमिटर दक्षिणमा अवस्थित छ । यो म्यान्मा सरकारविरुद्ध लड्दै आएको सशस्त्र जातीय समूह ताङ नेशनल लिबरेसन आर्मीको नियन्त्रणमा रहेको क्षेत्र हो ।

    एक उद्धारकर्ताले सुरक्षा संवेदनशिलता देखाउँदै नाम नबताउने सर्तमा भने, “आइतबार साँझसम्म छ जना बालबालिकासहित ४६ जनाको शव फेला परेको छ । ७४ जना घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । उद्धार कार्य जारी रहेको छ।” अर्का एक उद्धारकर्ताले विस्फोट भएको स्थानमा करिब ५९ जनाको मृत्यु भएको र १०० भन्दा बढी घरहरूमा क्षति पुगेको बताएका छन् । भग्नावशेषमा मानिसहरू फसिरहेकाले उद्धार कार्य अझै जारी रहेको छ ।

  • बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’

    बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’

    मलेखु (धादिङ), १८ जेठः विभिन्न पोसाकमा सजिएका सयौँ बालबालिका । कसैको हातमा आफैँले बनाएका विज्ञानका सामग्री छन् भने कोही मञ्चमा सानदार नृत्य देखाउँदै छन् । कोहीले मञ्चमा उभिएर निर्धक्क आफ्ना विचारहरू राख्दै छन् । यो दृश्य धादिङको थाक्रे गाउँपालिकामा आइतबार आयोजित ‘प्रथम थाक्रे बाल महोत्सव’ को हो ।

    यहाँका हरेकजसो दृश्य निकै लोभलाग्दो देखिन्थे । विद्यार्थीहरूले तयार पारेका विज्ञान प्रदर्शनी महोत्सवको आकर्षण बने । महोत्सवमा सहभागी जनजागृति मावि, कक्षा १० मा अध्ययनरत प्रतिमा घलानले आफ्नो अनुभव सुनाउँदै भनिन्, “किताबमा पढेका कुरालाई आफैँले बनाएर देखाउन पाउँदा रमाइलो लाग्यो । यसले हाम्रो आत्मविश्वास बढाएको छ ।”

    यस्तै भनाइ थियो, कक्षा ८ मा अध्ययनरत रविना ठकुरीको । “हामीले कक्षाकोठामा पढेको विज्ञानको सिद्धान्तलाई प्रयोग गरेर देखायौँ । साथीहरू र अभिभावकले हाम्रो कामको प्रशंसा गर्दा छुट्टै रमाइलो हुने रहेछ”, विज्ञान प्रदर्शनीदेखि विभिन्न क्रियाकलापमा भाग लिनुभएकी ठकुरीले सुनाइन् ।


    महोत्सवमा थाक्रे गाउँपालिका क्षेत्रका ४२ विद्यालयबाट विद्यार्थी सहभागी थिए । विद्यार्थीहरूले बनाएका विभिन्न आकृतिमध्ये स्थानीय अन्नबालीको प्रयोग गरेर नेपालको नक्सामाथि बनाइएको कलात्मक बुट्टा सबैभन्दा आकर्षक बन्यो । विभिन्न जातजातिका पहिचान झल्कने सांस्कृतिक प्रस्तुतिहरूले महोत्सवमा थप रौनक थपेको अभिभावकहरुले प्रतिकृया दिए ।

    बालबालिकाको सोच्ने शैलीलाई नयाँ उचाइ दिन र सिर्जनशीलताको विकास गर्न महोत्सवले निकै सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको भनाइ थियो । सैद्धान्तिक शिक्षालाई व्यावहारिक रूप दिन महोत्सवले ठूलो मद्दत पु¥याएको र थाक्रेका बालबालिकालाई नयाँ कुरा सिक्ने र सिकाउने राम्रो अवसर मिलेको उनले बताए ।


    महोत्सवले बालबालिकाको नेतृत्व क्षमता विकास र व्यावहारिक शिक्षाको प्रवर्द्धनमा सहयोग पुगेको जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रतिक्रिया थियो । उनले भनिन्, “बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित राख्नुहुँदैन । उनीहरूले समाज र संसारलाई बुझून्, आफ्नो प्रतिभा चिनून् र भोलि समाजको नेतृत्व गर्न सकून् भन्ने नै हाम्रो मुख्य चाहना हुनुपर्छ ।

    बाल महोत्सवले बालबालिकाको चौतर्फी विकासका लागि बाटो देखाएको छ ।”
    जेठ १६ र १७ गते दुईदिन सञ्चालन भएको महोत्सवमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी र उनीहरू आबद्ध विद्यालयलाई पुरस्कार वितरण गरिएको थियो ।

  • देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

    देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ, १८ जेठः आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

  • छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’

    छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’

    रासस
    कर्णाली, १८ जेठः कर्णालीका छोरीहरूको सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको छ । ज्योति फाउन्डेसनले सुर्खेत वीरेन्द्रनगरमा आज सम्पन्न ‘कर्णाली छोरी सम्मेलन–२०८३’ कार्यक्रमबाट ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरेको हो । जेठ १६–१७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा १० बुँदे कर्णाली घोषणापत्र सार्वजनिक गरिएको छ ।

    सम्मेलन मुलतः कर्णालीका छोरीहरूको उज्ज्वल भविष्य निर्माणका लागि बाधक बनेका बालविवाह, लैङ्गिक विभेद, कुप्रथालगायत विभेदहरूको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ ।

    त्यसैगरी, महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू समूल नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन सङ्घ, प्रदेश र स्थानीय कानुनको पूर्ण कार्यान्वयन गर्न सरोकारवाला निकायसँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ ।

    छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र ७९ वटै स्थानीय तहलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन, सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय एवं समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरुपयोगबाट हुने हिंसा र दुव्र्यवहारको अन्त्यका लागि प्रभावकारी कानुनी, शैक्षिक र संरचनागत सुधारको पैरवी गर्ने घोषणापत्रमा उल्लेख छ ।

    विद्यालय एवं समुदायस्तरमा किशोर–किशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, आवश्यक सूचना केन्द्र तथा सेवा र जीवनोपयोगी सीप एवं रुपान्तरणकारी शिक्षा प्रवर्द्धन, २०८० साल कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट भत्किएका विद्यालय पुनर्निर्माणका लागि तत्काल पहल गर्न र पठनपाठनको प्रभावकारी प्रबन्ध गर्न माग गरिएको छ ।

    त्यसैगरी, छोरीहरूलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागी गराउने वातावरण निर्माणका लागि सबै स्थानीय तह एवं समुदायस्तरमा प्रवर्द्धनात्मक क्रियाकलाप सञ्चालन गर्न माग गर्दै घोषणपत्रले २०८२ साल वैशाख २७, २८ र २९ गते सम्पन्न कर्णाली छोरी सम्मेलन ९पहिलो संस्करण०बाट जारी गरिएको घोषणापत्रका बुँदाहरू कार्यान्वयन गर्न सरोकारवालाको पुनः ध्यानाकर्षण गराएको छ ।

    सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्य एवं समन्वयमा ज्योति फाउन्डेसनले दुई दिनसम्म सञ्चालन गरेको सम्मेलनमा कक्षा ११ र १२ अध्ययनरत कर्णालीका ७९ स्थानीय तहबाट दुई–दुई जना छोरी, राउटे, राजी, कुसुण्डा, बादी, बोटे, समुदाय, अपाङ्गता भएका तथा लैङ्गिक तथा यौनिक, अल्पसङ्ख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायका छोरीसहित करिब २५० भन्दा बढी छोरीहरूको सहभागिता थियो ।

    कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही, नेकपा (एमाले) दलका सदस्य जीतबहादुर मल्ल, मन्त्रीलगायत प्रदेशसभा सदस्यहरू, प्रमुख सचिव तथा प्रदेश सचिवहरू, सुरक्षा निकायका प्रमुख, गैरसरकारी सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी सहभागी उक्त सम्मेलन अवधिभर ८५ छोरीहरूले आफ्नो जीवन सङ्घर्षका कथा प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष ज्योति कटुवालले जानकारी दिए ।

  • दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

    दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

    तुलसीपुर (दाङ), १८ जेठः दाङ तुलसीपुर उपमहानगरपालिकाले दोस्रो पञ्चवर्षे आवधिक विकास योजना निर्माण थालेको छ । आइतबार उपमहानगरपालिकाले दोस्रो आवधिक योजनाबारे छलफल गरेको छ । उपमहानगरपालिकाका पाँच शाखा तथा सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गरेको छ । यसअघि पहिलो पञ्चवर्षीय योजना आर्थिक वर्ष २०८२\८३ मा सकिएकाले दोस्रो पञ्चवर्षीय योजना बनाउन लागिएको हो । त्यस क्रममा विपद् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले एक वडा, एक पार्क, मुहान सुकाउने बिरुवा विस्थापन, स्थानीय उद्योगीलाई प्रवर्द्धन गर्नुपर्ने बताए ।

    त्यसैगरी, आर्थिक विकास शाखाअन्तर्गत घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले स्थानीय उद्योगलाई प्रवर्द्धन गर्नुपर्ने, कालोबजारी ऐन संशोधन गर्नुपर्नेजस्ता सुझाव दिए । कृषि तथा पशुपन्छी समितिको तर्फबाट पशु शाखा प्रमुख डा मनोज वलीले कौशीखेती कार्यक्रम, कृषक सञ्जाल कार्यक्रम, इन्डोर एग्रिकल्चरजस्ता कुराहरू थप गरिएको भन्दै यसले कृषि क्षेत्रलाई प्रभावकारी बनाउने बताए ।


    शिक्षा शाखा प्रमुख चक्र भण्डारीले राष्ट्रिय खेलाडीलाई प्रोत्साहन, उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्न कोष निर्माण गर्ने कुरा सकारात्मक रहेको बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख माया श्रेष्ठले वडावडामा महिला सेल बनाउने, महिला उद्यमीको तथ्याङ्क सङ्कलन गर्नेजस्ता कार्यक्रम हुनुपर्ने बताए ।
    त्यस्तै, सुशासन समितिको तर्फबाट अधिकृत शिवकुमार शर्माले ‘हेलो जनता’ कार्यक्रम, ‘जनताको कर, जनतालाई खबर’ कार्यक्रम पनि प्रभावकारी हुने बताए ।

    पूर्वाधार विकास समितिको तर्फबाट इन्जिनियर श्रीनारायण चौधरीले टुक्रे योजनाभन्दा पनि ठूला योजनालाई प्रथमिकता दिनुपर्ने बताए । साना योजना हुँदा बजेट खर्च हुने तर, उपलब्धि नदेखिने उनले बताए । त्यस अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा नहकुल केसीले योजना बनाएरमात्रै नहुने बताए । उनले कार्यान्वयन नै महत्त्वपूर्ण पाटो रहेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताए ।


    तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सङ्घीय सरकारसँग टरिगाउँ एयरपोर्टलाई विस्तार गर्न पहल गर्ने, तुलसीपुरमा चक्रपथ निर्माण गरी नगरबस सञ्चालन गर्ने, दङ्गीशरण राजा बसेको स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, चमेरे गुफालाई पर्यटनको केन्द्र बनाउने, मानव इतिहास बोकेको फूलबारीलाई पर्यटनका रूपमा विकास गर्ने, जलाशय निर्माण गरी सिँचाइ व्यवस्थापन गर्ने, नगरस्तरीय मेघा अस्पताललाई व्यवस्थित बनाउने योजना रहेको बताए । हाल उक्त मस्यौदामाथि छलफल भएर सुझाव सङ्कलन गरिएको भन्दै त्यसलाई केही समयपछि अन्तिम रुप दिने तयारी रहेको समेत नगरप्रमुख खड्काले बताए ।

  • नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

    नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

    राँझा (बाँके), १८ जेठः जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनका अनुसार शनिबारमात्रै कोहलपुर नगरपालिका–७ लखनहवा र बैजनाथ गाउँपालिका–२ जब्दहवा क्षेत्रमा अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानीमा संलग्न तीन सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले एक थान जेसिबी, एक थान टिपर र एक थान ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरी उपरीक्षक जिसीले बताए । नदीजन्य पदार्थको अवैध रूपमा उत्खनन र ढुवानी भइरहेको जनगुनासोका आधारमा जिल्ला प्रहरी कार्यालयले प्राकृतिक स्रोत तथा साधनको अवैध दोहन रोक्न नियमित अनुगमन तथा निगरानीलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ।

  • पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति

    पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति

    म्याग्दी, १८ जेठः बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्री सतहदेखि दुई हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल, पहाडी भूगोलको अवलोकनका लागि पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

    स्थानीय पूर्वाधार आयोजना पोखरामार्फत पात्लेखेत–वाखेत–टोड्के सडकअन्तर्गत गहतेचोकदेखि वाखेत हुँदै राम्जाली मन्दिर खण्डमा ढलान गरेर सडकलाई पक्की बनाएको बेनी नगरपालिका–१० का वडाध्यक्ष मसवीर रोकाले जानकारी दिए । “सडक ढलान गरेर पक्की बनाएपछि यसअघि २० मिनेट लाग्ने गहतेचोक–राम्जाली मन्दिर खण्डको यात्रा पाँच मिनेटमा छोटिनुका साथै स्थानीयवासी र टोड्के आवातजावत गर्ने पर्यटकलाई सहज भएको छ”, उनले भने, “राम्जाली मन्दिरदेखि बराहथान हँुदै टोड्के जोड्ने सडक स्तरोन्नति योजनालाई निरन्तता दिन नगरपालिका, प्रदेश र सङ्घीय सरकारसँग पहल गरेका छौँ ।”

    वाखेत–टोड्के सडक स्तरोन्नति योजना निर्माणका लागि गत माघ १० गते दुप्चेश्वर शुभम् बिल्डर्सले रु दुई करोड ३६ लाख २३ हजार १५२ मा ठेक्का सम्झौता गरेको थियो । एक किलोमिटर ७०० मिटर सडक स्तरोन्नति गर्ने आगामी असार ३० गतेसम्म ठेक्काको म्याद रहेको योजना निर्माण कम्पनीले लक्ष्यभन्दा दुई महिनाअघिनै सम्पन्न गरेको हो ।

    निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै उपकरण र मजदुर परिचालन तथा निर्माण सामग्रीको व्यवस्थापन गरेर इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुुद लक्ष्यअघिनै काम सम्पन्न गरेको बताउनुभयो । निर्माण सकिए पनि प्राविधिक नापजाँच र भुक्तानीको काम बाँकी रहेको उनले बताए । तीन दशमलव पाँचदेखि चार मिटर फराकिलो सडकमा ढलान गरेर पक्की बनाइएको छ । बेनी नगरपालिका–१० का वडासदस्य बेगम पाइजाले २०६६ सालमा मार्ग खुलेको सडक १६ वर्षपछि पक्की भएको बताए ।


    पक्की सडक बनेपछि स्थानीयवासी उत्साही भएका छन् । आवतजावत सहज भएको वाखेतका बासिन्दा अर्जुुन पुुनले बताए । “साँघुुरो र कच्ची सडकमा यात्रा गर्न असहज भएको थियो”, उनले भने, “सडक ढलान भएपछि यात्राअवधि छोटिनुका साथै सहज भएको छ ।” बेनी नगरपालिका–१० वाखेत, रघुगङ्गा गाउँपालिका–५ झिँ, बेनी नगरपालिका–५ डडुवा, मङ्गला गाउँपालिका–१ पूर्णगाउँ र कुहुँ–भिरकटेरा हुँदै टोड्के जोड्ने सडक छन् ।

    गुर्जा, चुरेन, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो । हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमीका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ ।

    डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्धारी, शिष्यहरू पुजारी महाराज र रखाल महाराजलगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि छ ।