Category: विज्ञान प्रविधि

  • बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

    बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा


    काठमाडौँ, १५ भदौः हाल देशभर साधारण बादल लागेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही स्थान बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको छ । महाशाखाद्वारा मौसम बुलेटिनका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    देशको पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको हिमाली, पहाडी र तराई भू–भाग तथा बागमती प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।

  • भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

    भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती


    काठमाडौँ, १४ भदौः भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेकाले उद्धार कार्य प्रभावित हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बादल लागिरहेको बाढी प्रभावित क्षेत्रमा दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना रहेको छ । विभागका मौसमविद् डेविट ढकालले भने, “बाढीप्रभावित क्षेत्रमा अहिले बादल देखिएको छ । दिउँसोपछि रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ । अपराह्न ४ः०० बजेपछि भने खोज तथा उद्धारका लागि मौसम केही अनुकूल हुने सम्भावना रहेको छ ।”

    विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली प्रदेशको पहाडी भू–भाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसैगरी, देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    यसैबीच, विज्ञहरूले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको र माथिल्लो क्षेत्रमा बनेको हिमताल फुट्ने सम्भावनासमेत रहेकाले थप वर्षाका कारण राहत, उद्धारमा समस्या आउने भनी सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । यसकिसिमको विषम परिस्थितिमा नदी तटीय क्षेत्रका प्रभावित बासिन्दा तथा खोज–उद्धारमा खटिएका सुरक्षाकर्मी र अन्य जनशक्तिलाई विशेष सतर्कता अपनाउन उनीहरुले अनुरोध गरेका छन् ।

  • बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

    बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन


    काठमाडौँ, १३ भदौः नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा पुनःसञ्चालनमा ल्याएको छ । यससँगै बाढीका कारण प्रभावित भएका कुल १२० साइटमध्ये ९३ वटा साइट सञ्चालनमा आएका छन् । टेलिकमका अनुसार रसुवाको त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत सेवा सञ्चालन गरिएको छ । यसबाट आयोजनाको सुरुङमार्गमा भइरहेको उद्धारका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ । सेवा सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री सवारीसाधन र भरियामार्फत ढुवानी गरिएको थियो ।

    नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार रसुवाको उत्तरगया गाउँपालिकास्थित कालिकास्थानको टावरबाट पनि सेवा पुनःसञ्चालनमा आएको छ । त्यस्तै, नुवाकोटका तुप्चे र बुङ्ताङ बिटिएस पनि आजदेखि सञ्चालनमा आएका छन् । ती टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टरमार्फत ढुवानी गरिएको टेलिकमले जनाएको छ । यसबाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सञ्चालन भएका छन् ।

  • डिएनए सुरक्षित राखेर पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिँदै

    डिएनए सुरक्षित राखेर पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिँदै

    काठमाडौँ, १३ भदौः बाढी प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका तर पहिचान गर्न नसकिएका शवको व्यवस्थापन सुरु गरेको छ । ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन ९पहिलो संशोधन० निर्देशिका, २०८३’ बमोजिम ती शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको हो । शवको डिएनएलगायत अन्य पहिचान सहयोग गर्ने आधारहरू सुरक्षित राखेर मात्रै सरकारले शवलाई जमिनमुनि व्यवस्थापन गर्न लागेको हो । पछि आफन्त–परिवारसँग डिएनए ‘म्याच’ गराइ ती शव अन्त्येष्टिका लागि जिम्मा लगाइनेछ । निर्देशिकामा भविष्यमा हकवाला पहिचान भएमा गाडिएको शव वा मानव अङ्ग उत्खनन गरी सम्मानपूर्वक परिवारलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

    यद्यपि सरकारको यो कार्यलाई लिएर भ्रम सृजना गर्ने प्रयास भइरहेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । उनले भने, “हामीले शव जमिनमुनि व्यवस्थापन गर्दा निर्देशिका पालना गरेका छौँ, त्यति मात्रै होइन वैज्ञानिक प्रक्रियासमेत पूरा गरेका छौँ । त्यसैले यस विषयलाई लिएर जनमानसमा भ्रम नफैलाउन आग्रह गर्दछौँ ।”

    शव लामो समयसम्म अलपत्र पर्दा जनस्वास्थ्यमा असरपर्ने जोखिम बढेको थियो । त्यसकारणले पनि शवको जमिनमुनि व्यवस्थापन अत्यावश्यक भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्यविद् डा अमृत पोखरेलको भनाइ छ । “शव लामो समयसम्म व्यवस्थापन नगरी राख्दा वातावरणीय तथा स्वास्थ्य जोखिम बढ्दै जाने भएकाले वैज्ञानिक विधिबाट व्यवस्थापन गर्नु आवश्यक हुन्छ । पहिचान नभएका शव तथा मानव अङ्गको डिएनए नमुना सङ्कलन गरी सुरक्षित राख्दै जमिनमुनि व्यवस्थापन गर्नु वैज्ञानिक र जिम्मेवार कदम हो”, उनले भने ।

    शव आफन्तले कसरी पहिचान गर्ने ?

    पहिचान नभएका शव गाडिएपछि आफन्तले कहिल्यै पहिचान गर्न नसक्ने भन्ने होइन । सरकारले प्रत्येक शवको डिएनए नमुना सुरक्षित राख्ने व्यवस्था गरेको छ । त्यसैगरी, प्रत्येक शवलाई छुट्टै र विशिष्ट सङ्केत नम्बर दिइनेछ । शवको विवरण, सङ्केत नम्बर र डिएनए नमुनासहितको अभिलेख सुरक्षित राखिने भएकाले भविष्यमा कसैले आफ्नो आफन्त भएको दाबी गरेमा वैज्ञानिक परीक्षणमार्फत पहिचान गर्न सकिनेछ । अर्थात्, शवलाई जमिनमुनि व्यवस्थापन गरिए पनि पहिचानका लागि आवश्यक वैज्ञानिक प्रमाण सुरक्षित रहनेछ ।

    पहिचान खुलेपछि शव निकाल्न मिल्छ ?
    ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ ले भविष्यमा हकवाला पहिचान भएमा गाडिएको शव वा मानव अङ्ग उत्खनन गरी सम्मानपूर्वक परिवारलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । संशोधित निर्देशिकाले विपद्का कारण मृत्यु भएको पुष्टि भएपछि पहिचानका लागि आवश्यक परीक्षण गर्ने प्रक्रियालाई पनि सहज बनाएको छ ।

  • भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

    भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती


    काठमाडौँ, १३ भदौः जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम रहेको जनाएको छ । महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अधिकांश स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको राससलाई जानकारी दिए । “एकदुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार प्रभावित हुनसक्छ । त्यसैले सतर्कता आवश्यक छ,” उनले भने ।


    महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै तथा मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका धेरै स्थान तथा अन्य केही हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका धेरै तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भागका केही स्थानमा पनि वर्षाको सम्भावना छ ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा भारी तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

  • विपद् प्रभावित क्षेत्रमा उपचारसहितको कृषि प्राविधिक टोली परिचालन

    विपद् प्रभावित क्षेत्रमा उपचारसहितको कृषि प्राविधिक टोली परिचालन


    काठमाडौँ, ११ भदौः कृषि सेवा विभागले विपद् प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धार, आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा जैविक सुरक्षाका लागि औषधि उपचारसहितको प्राविधिक टोली परिचालन गरेको छ । विपद् प्रभावित क्षेत्रमा प्रदेश तथा स्थानीय सरकार र सुरक्षा संयन्त्रको समन्वयमा विभागले घाइते पशुपन्छीको उद्धार, आकस्मिक उपचार मृत पशुपन्छीको सुरक्षित विसर्जन र जैविक सुरक्षाको प्रबन्ध गर्न औषधि उपचारसहितको प्राविधिक टोली परिचालन गरेको हो ।

    विभागका महानिर्देशक उमेश दाहालका अनुसार भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा कृषि, वन तथा पर्यावरणमन्त्री मन्त्री गिता चौधरीको समन्वयमा सो प्राविधिक टोली पठाइएको छ । विभागले प्रभावित क्षेत्रको पशुपन्छीको प्रभावकारी उद्धार उपचार असह्य पशुपन्छीको आकस्मिक व्यवस्थापन तथा सम्भावित महामारीको रोकथाम कार्यमा जुट्न पशु सेवासँग सम्बन्धित सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, पेसागत सङ्घसंस्था उद्यमी तथा व्यवसायी पशु कल्याणसम्बन्धी संस्थाहरू नागरिक समाजलगायतलाई आग्रह गरेको छ ।

    प्राविधिक टोली बाढी प्रभावित क्षेत्रमा पुगेको विभागले जनाएको छ । उक्त टोलीले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा खटिनुका साथै टोलीको पहलमा उद्धार तथा राहतसम्बन्धी गतिविधि सञ्चालन गरिएको महानिर्देशक दाहालले बताए । टोलीले नुवाकोटका भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका सम्बन्धित अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा आवश्यक पर्ने पशुको औषधि, खोप तथा अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको विभागले जनाएको छ ।

  • नुवाकोटको बट्टार र त्रिशूली बजारमा विद्युत सुचारु

    नुवाकोटको बट्टार र त्रिशूली बजारमा विद्युत सुचारु


    नुवाकोटका विभिन्न बजारमा विद्युत सेवा सूचारु गरिएको छ । बालाजु–त्रिशुली र चपली–देविघाट ६६ के. भि. लाइनलाई ११ के. भि. चार्ज गरि विद्युत सुचारू गरिएको नेपाल विद्युत प्राधिकरण्णले जनाएको छ । रसुवा तथा नुवाकोटमा अन्य स्थानमा विद्युत् आपूर्ति पुनर्स्थापना तथा उद्धार कार्य जारी रहेको बताइएको छ । भोटेकोशी बाढीका कारण प्रभावित रसुवा तथा नुवाकोट क्षेत्रमा विद्युत् आपूर्ति पुनर्स्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणले उपलब्ध वैकल्पिक प्राविधिक उपायहरू अवलम्बन गरी काम अघि बढाइरहेको छ। सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु गरिएको छ।


    रसुवामा विद्युत् आपूर्ति सुचारु गर्न सम्भावित सान्जेन जलविद्युत् आयोजनालाई आइसोलेटेड मोडमा सञ्चालन गरी धादिङ फिडरमार्फत त्रिशूली पश्चिम तथा धुन्चे फिडर पुनर्स्थापना गर्ने प्रयास भइरहेको छ। अत्यावश्यक स्थानमा विद्युत् आपूर्ति उपलब्ध गराउन ३ थान डिजेल जेनेरेटर त्रिशूली पठाइएको छ। अपर त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, रसुवागढी तथा चिलिमे जलविद्युत् आयोजनामा फसेका कामदार तथा कर्मचारीको उद्धारका लागि आवश्यक उपकरणसहित नेपाली सेनाको टोली परिचालन भएको छ।

    अपर त्रिशूली–३ ‘ए’ को शान्ति बजारमा फसेका सुत्केरीसहित ७ जनालाई उद्धार गरी त्रिशूली ल्याइएको छ भने थप व्यक्तिहरूको उद्धारका लागि प्रयास जारी छ। प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना तथा बाँकी व्यक्तिहरूको उद्धारका लागि सम्बन्धित प्राविधिक तथा सुरक्षा निकायहरूबाट निरन्तर प्रयास भइरहेको छ।

  • बाढीको कारण हिउँ–चट्टानको हिमपहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

    बाढीको कारण हिउँ–चट्टानको हिमपहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

    भीष्मराज ओझा –रासस
    काठमाडौँ, ११ भदौः रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरुले सजगता अपनाउन आग्रह गरेका छन् । बुधबार बिहान करिब ९ः०० बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको थियो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएको छ ।

    अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकले यो बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ–चट्टानको हिमपहिरो (आइस–रक एभालान्च)का कारण आएको हुन सक्ने विषयमा अनुसन्धान गरिरहेका छन् । भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक नदी ल्हेन्दे खोलामा खसेको हुन सक्छ । अनुसन्धानकर्ताका अनुसार उक्त घटनाले अचानक ठूलो बहाव सिर्जना गरेको हुन सक्छ, जसले पानी, गेग्रान र ठूला ढुङ्गाहरूलाई तल्लो तटतर्फ बगाएको थियो ।

    जलविज्ञानसम्बन्धी अवलोकनले बाढीको बहावको गति र परिमाण असाधारण रहेको देखाएको छ । गल्छीमा त्रिशूली नदीको पानीको सतह ३० मिनेटमा नौ मिटरसम्म बढेको तथा मलेखुमा सोही अवधिमा सात मिटरले बढेको बताइएको छ । त्रिशूली नदीको किनारमा रहेका धेरै पानी मापन केन्द्र बाढीका क्रममा क्षतिग्रस्त वा बगाएको बताइएको छ । यद्यपि, गल्छीको पानी मापन केन्द्र भने सञ्चालनमै रहेको इसिमोडले जनाएको छ ।

    विशेषज्ञले गेग्रानले नदीको साँघुरो भागमा अस्थायी रूपमा नदी थुनेर पहिरो बाँध (ल्यान्डस्लाइड ड्याम) बनाएको थियो कि थिएन भन्ने विषयमा पनि मूल्याङ्कन गरिरहेका छन् । यस्तो अवरोधका कारण जम्मा भएको पानी अचानक बाहिर निस्किएमा दोस्रो चरणको जोखिम उत्पन्न हुन सक्छ । सम्भावित अवरोधको आकार, स्थान र स्थायित्वबारे अधिकारी तथा वैज्ञानिकहरूले निरन्तर मूल्याङ्कन गरिरहेका छन् ।

    विपद्को समयमा ‘रेकर्ड’ गरिएका भूकम्पीय तथ्याङ्कको प्रारम्भिक विश्लेषणले असामान्य सङ्केत पहिचान गरेको छ । प्रभावित क्षेत्रबाट उत्तरतर्फ करिब १२ किलोमिटर टाढा जिलुङमा रहेको भूकम्पमापन केन्द्रले असामान्य सङ्केत रेकर्ड गरेको थियो भने झाङ्मुस्थित अर्को केन्द्रले पनि असमान्य गतिविधि रेकर्ड गरेको थियो ।

    वैज्ञानिकहरूले ती सङ्केत सम्भावित हिमपहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने अध्ययन गरिरहेका छन् । हालसम्म भूकम्पीय गतिविधि र बाढीबीच कुनै कारणात्मक सम्बन्ध स्थापित भएको छैन । इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्षको रसुवा बाढीबाट ध्वस्त भएको यही क्षेत्र फेरि एकपटक जोखिममा परेको बताउँदै ल्हेन्दे खोलामा आएको बाढीको सम्भावित कारण हिमपहिरो भएको उल्लेख गरे ।
    “नेपाल–चीन सीमास्थित नदीको माथिल्लो क्षेत्रमा अझै अवरोध कायम रहेकाले अधिकारीहरुले दोस्रो बाढी आउन सक्ने चेतावनी दिएका छन् र जिलुङ बन्दरगाह सुरक्षित स्थानमा सार्ने आदेश अहिले नै जारी गरिएको छ,” उनले भने । बाढीका कारण प्रभावित क्षेत्रमा जलविज्ञान मापन केन्द्रलगायतका पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ । भोटेकोशी नदी तथा यससँग जोडिएका नदी प्रणालीका किनारमा धेरै जलविद्युत् आयोजना छन् ।

    सीमापार विपद् जोखिमको सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक

    इसिमोडका वरिष्ठ ‘क्रायोस्फियर विशेषज्ञ’ (हिमनदी, हिउँको अवस्था, जलवायु परिवर्तनको प्रभाव र हिमताल फुट्ने जस्ता जोखिमको अध्ययन गर्ने वैज्ञानिक) मोहम्मद फारुक आजमले क्रायोस्फियरसँग सम्बन्धित जोखिमको बढ्दो आवृत्ति पहिलेभन्दा स्पष्ट रूपमा देखिन थालेको बताए । “परिवर्तनको गति यति तीव्र छ कि विद्यमान प्रयासहरु त्यससँग जुध्न कठिनाइमा परिरहेका छन् । आज ल्हेन्दे खोलामा भएको विपद्ले सीमापार जोखिमको सामना गर्न अझ बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको देखाएको छ । सीमापार जोखिमको प्रतिकार्यका लागि सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्छ,” उनले भने ।


    इसिमोडका विज्ञले घटनाको कारण र तल्लो तटीय समुदायमा जारी जोखिमलाई अझ राम्रोसँग बुझ्न जलविज्ञान, भूकम्पीय, रिमोट सेन्सिङ तथा स्थलगत तथ्याङ्कको विश्लेषण जारी राखेको जनाएका छन् । इसिमोडले नेपाल सरकार, वैज्ञानिक संस्थाहरू तथा चीनका साझेदारसँग मूल्याङ्कनको काम जारी रहँदा नजिकबाट सम्पर्क र समन्वय गरिरहेको जनाएको छ ।

    इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले अचानक र अप्रत्याशित रूपमा आएको दुःखद विपद्बाट मर्माहत भएको उल्लेख गर्दै यो कठिन समयमा नेपालका जनता र सरकारप्रति ऐक्यबद्धता व्यक्त गरे । उनले पीडित तथा उनीहरूका परिवार र प्रभावित सबैप्रति समवेदना प्रकट गर्दै सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


    वैज्ञानिकहरूले हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी, हिउँको अवस्था, पर्माफ्रस्ट (स्थायी रूपमा जमेको भू–सतह) तथा हिमाली भिरालो भूभागमा परिवर्तन भइरहेको भए पनि यस विशेष घटनामा जलवायु परिवर्तनको भूमिका के थियो भन्ने निर्धारण गर्न अहिले नै हतार हुने बताएका छन् ।

  • ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’


    काठमाडौँ, ११ भदौः रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ । महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवम् हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ ।

    उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ । नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ । त्यस्तो अवस्थामा ‘एसएमएस’लगायत उपलब्ध सञ्चारमाध्यमबाट यथाशीघ्र आधिकारिक पूर्वसूचना प्रवाह गरिनेछ । महाशाखाले बाढीसम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

  • मनसुनयता सरदरभन्दा कम वर्षा

    मनसुनयता सरदरभन्दा कम वर्षा

    काठमाडौँ, ९ भदौः यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागअन्तर्गत हावा पानी विश्लेषण शाखाका इन्जार्ज सुजन सुवेदीले असार ५ देखि भदौ १ गतेसम्म देशभर मापन गरिएको कुल वर्षा ७४६ दशमलव ८ मिलिमिटर रहेको जानकारी दिए । सो अवधिमा सामान्यतया ८३० दशमलव ६ मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष सरदरको ८९ दशमलव ९ प्रतिशत मात्र वर्षा भएको उनले बताए ।


    यसअनुसार मनसुनको उक्त अवधिमा सरदरभन्दा ८३ दशमलव ८ मिलिमिटर कम वर्षा भएको देखिन्छ । “यस वर्षको मनसुन अवधिमा वर्षाको मात्रा सरदरभन्दा कम देखिए पनि वर्षाको वितरण र स्थानअनुसारको अवस्थालाई समेत विश्लेषण गर्नुपर्ने हुन्छ,” उनले भने । सुवेदीले मनसुन नेपालको सबैभन्दा संवेदनशील मौसम प्रणाली भएको उल्लेख गर्दै वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुन अवधिमै हुने जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले यस मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको थियो ।

    विभागका प्रक्षेपणअनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भू–भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भाग, मधेस प्रदेशका पश्चिमी भू–भाग तथा कोशी प्रदेशका मध्य भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।

    कर्णाली र कोशी प्रदेशका उत्तरी भू–भागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताइएको छ । बाँकी अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको आँकलन छ । अधिकतम तापक्रमतर्फ सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न भू–भागमा सरदरभन्दा बढी तापक्रम रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

    न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको विभागको निष्कर्ष छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका केही क्षेत्रमा न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको बताइएको छ ।

  • फ्रान्सका विद्यालयमा अर्को महिनादेखि मोबाइल फोन निषेध गरिने

    फ्रान्सका विद्यालयमा अर्को महिनादेखि मोबाइल फोन निषेध गरिने

    पेरिस, ९ भदौ (रासस–एएफपी) । फ्रान्सले अर्को महिनाबाट माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ । तर ट्रेड युनियनहरूले यो उपाय छिटो कार्यान्वयन गर्न कठिन हुन सक्ने चेतावनी दिएका छन्। फ्रान्सको संसद्ले जुलाईमा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेको थियो।

    यो राष्ट्रपति इमानुएल म्याक्रोँको बालबालिकालाई स्क्रिन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबाबको एक हिस्सा हो । सरकारले बालबालिका तथा किशोरकिशोरीलाई स्क्रिनको लतले उनीहरूको विकास रोकिरहेको छ भन्ने धारणा राख्छ । यस महिनाको सुरुमा देशको सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी प्रावधान खारेज गरेपछि म्याक्रोँलाई यस मुद्दामा अघि बढ्न अलमल पारेको थियो ।

    तर संवैधानिक परिषद्ले माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग प्रतिबन्ध लगाउने छुट्टै प्रावधानबारे कुनै निर्णय गरेन। सोमबार सरकारकी प्रवक्ता मोद ब्रेजोँले भनिन्, “संवैधानिक परिषद्ले यसको मुख्य प्रावधान खारेज गरे पनि म्याक्रोँले फोन प्रतिबन्धसहितको कानून ‘प्रख्यापन गर्ने निर्णय गर्नुभएको छ।”

    उनले मन्त्रिपरिषद् बैठकपछि भनिन्, “माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै लागू हुन सक्छ। यसका लागि स्थिर, सुदृढ र वैधानिक कानूनी ढाँचा छ।” फ्रान्सको शैक्षिक सत्र सेप्टेम्बरमा सुरु हुन्छ।

    फ्रान्सले पहिले नै ११ देखि १५ वर्ष उमेरका विद्यार्थी जाने कलेज, माध्यमिक विद्यालय र प्राथमिक विद्यालयमा बालबालिकालाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाइसकेको छ । संसदले त्यस महिनापछि पारित गर्नुअघि नै जुलाईको सुरुमा माध्यमिक विद्यालयहरूलाई सेप्टेम्बरबाट यो उपाय कार्यान्वयन गर्न तयारी गर्न निर्देशन दिइएको थियो । प्रतिबन्ध लागू गर्न स्कूलहरूले आफ्ना आन्तरिक नियम संशोधन गर्नुपर्नेछ र यसका लागि केही समय अवश्य लाग्नेछ ।

  • देशभर मनसुनी वायुको प्रभाव सक्रिय : मौसम पूर्वानुमान महाशाखा

    देशभर मनसुनी वायुको प्रभाव सक्रिय : मौसम पूर्वानुमान महाशाखा

    काठमाडौँ, ९ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।

    महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बलेटिनमा उल्लेख छ ।

    महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।

  • नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री

    नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री

    ८ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पी(२’ सार्वजनिक गरेका छन् । सिप्रदी यात्री कम्पनीले नेपालमै निर्माण गरेको उक्त स्कुटरको सोमबार सार्वजनिक गर्दै उनले नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास जगाएको बताए । ‘बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो।

    नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो, अर्थमन्त्री डा. वाग्लेले भने । नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास पनि जगाएको उनको भनाई छ । अर्थमन्त्रीले उक्त स्कुटर इटालीका प्रख्यात ब्रान्डहरूभन्दा पनि अब्बल बनोस् र विश्व बजारमा फैलिन सकोस् भन्दै शुभकामना पनि दिए । सो क्रममा उनले नेपालमै बनेको यति राम्रो विद्युतीय स्कुटरको विस्तारका लागि सरकारले भरपूर सहयोग र संरक्षण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

  • टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’रोबोट्याक्सी सार्वजनिक गर्ने

    टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’रोबोट्याक्सी सार्वजनिक गर्ने

    सान फ्रान्सिस्को, ८ भदौ (रासस–सिन्ह्वा) । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको अस्टिनमा आफ्नो ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने तयारी गरेको मिडिया रिपोर्टहरूले जनाएका छन् । टेस्लाकेन्द्रित समाचार संस्था ‘टेस्लाराटी’का अनुसार उक्त कार्यक्रम कम्पनीको मुख्यालय रहेको अस्टिनमा आयोजना हुनेछ । संस्थाले कार्यक्रमको निमन्त्रणा प्राप्त भएको दाबी गरेको छ । यद्यपि, टेस्लाले कार्यक्रमको मिति आधिकारिक रूपमा पुष्टि गरेको छैन ।

    साइबरक्याब विशेष रूपमा स्वायत्त सञ्चालनका लागि डिजाइन गरिएको सवारी साधन हो । यसमा स्टेयरिङ ह्वील र पेडल राखिएको छैन र पूर्ण रूपमा स्वचालित सञ्चालनका लागि टेस्लाको ‘सेल्फ ड्राइभिङ’ सफ्टवेयरमा निर्भर रहनेछ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले यसअघि साइबरक्याब निजी ग्राहकलाई प्रतिएकाइ ३० हजार अमेरिकी डलरभन्दा कम मूल्यमा बिक्री गर्ने योजना रहेको बताउनुभएको थियो ।

    सन् २०२४ को अक्टोबरमा पहिलो पटक सार्वजनिक गरिएको साइबरक्याब टेस्लाको रोबोट्याक्सीसम्बन्धी योजनाको प्रमुख हिस्सा हो । कम्पनीले यसलाई ‘मोडल वाई’ सवारीसँगै स्वायत्त यात्रु सेवामा प्रयोग गर्ने योजना बनाएको छ । मोडल वाईका केही सवारी एक वर्षभन्दा बढी समयदेखि वास्तविक सडकमा स्वायत्त यात्रु सेवा परीक्षणमा प्रयोग हुँदै आएका छन् ।

    प्रविधि प्रकाशन ‘द इन्फर्मेसन’का अनुसार टेस्लाले व्यावसायिक रोबोट्याक्सी सेवा सुरु गर्नुअघि साइबरक्याबमार्फत आफ्ना कर्मचारीलाई सार्वजनिक सडकमा सेवा उपलब्ध गराउने योजना बनाएको छ । रोबोट्याक्सी सेवा टेस्लाको भविष्यको राजस्व तथा कृत्रिम बुद्धिमत्ता (एआई) रणनीतिको महत्त्वपूर्ण हिस्सा हुने अपेक्षा गरिएको छ ।

  • एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

    एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

    हङकङ, ८ भदौ (रासस–एएफपी) । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता ९एआई० क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा नयाँ शेयर निष्कासनमार्फत ८० अर्ब हङकङ डलर (करिब १०.२ अर्ब अमेरिकी डलर) जुटाउने योजना बनाएको आइतबार जनाएको छ । हाङजाउमा मुख्यालय रहेको अलिबाबाले एआई क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । कम्पनीका शेयरधारकहरूले भने उक्त लगानीबाट प्रतिफल प्राप्त गर्ने विषयमा चासो व्यक्त गर्दै आएका छन् ।

    “कम्पनीको विश्वव्यापी एआई नेतृत्व विस्तार गर्न शेयर निष्कासन गर्न लागिएको हो”, अलिबाबाले विज्ञप्तिमा भनेको छ । कम्पनीका अनुसार शेयर निष्कासनबाट प्राप्त सम्पूर्ण रकम एआईसम्बन्धी पूर्वाधार विस्तार तथा आफ्नो ‘फुल–स्ट्याक एआई क्षमता’ विकासमा लगानी गरिनेछ । अलिबाबाले बिहीबार सार्वजनिक गरेको पछिल्लो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको राजस्व करिब २६९ अर्ब युआन (करिब ४० अर्ब अमेरिकी डलर) पुगेको छ । विश्वव्यापी रूपमा एआईसम्बन्धी प्रविधिको माग बढेसँगै कम्पनीका उत्पादनको मागमा समेत वृद्धि भएको जनाइएको छ ।

    अलिबाबा आफ्नो खुला स्रोतको ‘क्वेन’ एआई मोडेलका लागि परिचित छ । उक्त मोडेल विश्वभरका विकासकर्तामाझ लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ ।

  • अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

    अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

    मेलबर्न, ८ भदौ (रासस–सिन्ह्वा) । अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ । दक्षिण अस्ट्रेलिया राज्यमा ‘लङ–नोज्ड फर सिल’ नामक समुद्री स्तनधारी जीवमा भाइरसको सङ्क्रमण देखिएपछि अधिकारीहरूले पुष्टि गरेका हुन् । कृषि, मत्स्यपालन तथा वनमन्त्री जुली कोलिन्सले सङ्क्रमित सिल दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको बीचपोर्टमा फेला परेको बताइन् । “अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो”, कोलिन्सले पत्रकारहरूलाई बताइन् ।


    सङ्क्रमित जङ्गली चराहरू वा तिनको साझा वातावरणको सम्पर्कमा आएपछि सिलमा भाइरस सरेको हुन सक्ने उनले बताइन् । हालसम्म यो घटना अन्य बिरामी वा मृत समुद्री स्तनधारी जीवसँग सम्बन्धित रहेको कुनै प्रमाण फेला नपरेको उनले बताइन् । अधिकारीहरूका अनुसार अस्ट्रेलियाभर एच–५ बर्ड फ्लुका २९८ सङ्क्रमण पुष्टि भएका छन् । तीमध्ये १८३ वटा घटना दक्षिण अस्ट्रेलियामा देखिएका छन् । यद्यपि, अस्ट्रेलियाको कुखुरापालन तथा कृषि उत्पादन प्रणालीमा एच–५ बर्ड फ्लुको सङ्क्रमण फैलिएको कुनै प्रमाण फेला नपरेको अधिकारीहरूले बताएका छन् ।

  • अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटक ४० करोड डलर तिर्न सहमत

    अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटक ४० करोड डलर तिर्न सहमत

    सान फ्रान्सिस्को, संयुक्त राज्य अमेरिका, ७ भदौ (रासस–एएफपी) । भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी कानुन उल्लङ्घन गरेको दाबीसहित अमेरिकी न्याय मन्त्रालयसँगको मुद्दा मिलाउन ४० करोड अमेरिकी डलर तिर्न सहमत भएको मन्त्रालयले जानकारी गराएको छ । विश्वभरका नियामक निकायहरूले बालबालिकाको तथ्याङ्क, गोपनीयता र सुरक्षा संरक्षणसम्बन्धी कानुन उल्लङ्घन गर्ने सामाजिक सञ्जाल कम्पनीहरूविरुद्ध कारबाही तीव्र बनाएका छन्।

    चिनियाँ कम्पनी बाइटडान्सले ट्रम्प प्रशासनको प्रतिबन्धबाट बच्न यस वर्षको सुरुमा आफ्नो अमेरिकी एकाईको बहुमत सेयर बिक्री गरेको थियो । यो जरिवानाका लागि टिकटकको अमेरिकी एकाई ‘टिकटक युएस’ पनि बाध्य हुनेछ । अमेरिकी सञ्चारमाध्यमका अनुसार टिकटक युएसको टिकटकमा १९.९ प्रतिशत स्वामित्व सेयर छ । “सम्झौताअनुसार, टिकटकले ३० करोड अमेरिकी डलर तुरुन्तै तिर्नेछ र टिकटकको पूर्ववर्ती म्युजिकल.लीविरुद्ध प्रविष्ट गरिएको अघिल्लो सहमति आदेश खारेज गर्ने आदेश जारी भएपछि थप १० करोड डलर तिर्नेछ,” मन्त्रालयले एक वक्तव्यमा भनेको छ ।

    “यो बाल अनलाइन गोपनीयता संरक्षण ऐन (सीओपीपीए) सम्बन्धी मुद्दाबाट प्राप्त ‘अहिलेसम्मकै सबैभन्दा ठूला क्षतिपूर्तिमध्ये एक’ हो,” वक्तव्यमा थपिएको छ। सीओपीपीएले वेबसाइटहरूलाई अभिभावकको अनुमतिबिना १३ वर्षमुनिका बालबालिकाको व्यक्तिगत जानकारी सङ्कलन गर्न प्रतिबन्ध लगाउँछ । न्याय मन्त्रालय र संघीय व्यापार आयोगले सन् २०२४ मा संयुक्त रूपमा टिकटकविरुद्ध मुद्दा दायर गरेका थिए, जसमा कम्पनीले अभिभावकको अनुमतिबिना उनीहरूको व्यक्तिगत तथ्याङ्क सङ्कलन गरेर लाखौँ बालबालिकाको सुरक्षालाई जोखिममा पारेको आरोप लगाइएको थियो।

    उनीहरूले दाबी गरेका थिए, “टिकटकले बालबालिकालाई एप प्रयोग गर्न दिएको थियो र युवा प्रयोगकर्ताहरूबाट व्यक्तिगत तथ्याङ्क सङ्कलन तथा प्रयोग गर्दा उनीहरूका अभिभावकलाई जानकारी दिएको थिएन।” टिकटकको १३ वर्षमुनिका प्रयोगकर्ताका लागि बनाइएको ‘किड्स मोड’ मा सिर्जना गरिएका अकाउन्टहरूले पनि इमेल ठेगाना र अन्य व्यक्तिगत जानकारी सङ्कलन गरेको मुद्दामा दाबी गरिएको थियो ।

    सन् २०१९ मा अमेरिकाले म्युजिकल.ली नामक एपविरुद्ध सीओपीपीए मुद्दा दायर गरेको थियो, जसलाई बाइटडान्सले सन् २०१७ मा खरिद गरी पछि टिकटकमा विलय गराएको थियो। टिकटकले टिप्पणीका लागि गरिएको अनुरोधमा तुरुन्तै प्रतिक्रिया दिएन। मे महिनाको एबीसी न्यूजको रिपोर्टअनुसार, ट्रम्प प्रशासनले यी रकमलाई लिङ्कन मेमोरियल रिफ्लेक्टिङ पूलको सतह सुधार, ह्वाइट हाउसको बलरुमको नवीकरण र एउटा आर्च निर्माण लगायतका जारी ‘सुन्दरता’ परियोजनाहरूका लागि प्रयोग गर्ने विचार गरिरहेको बताएको थियो । सम्झौताबाट प्राप्त रकम केमा प्रयोग गरिनेछ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

    विश्वव्यापी कारबाही

    भिडियो एपविरुद्ध बढ्दो विश्वव्यापी कारबाहीका बीच टिकटकसँगको अमेरिकी सम्झौता आएको हो । ब्रसेल्सले सन् २०२४ मा डिजिटल सेवा ऐन (डीएसए) अन्तर्गत टिकटकमाथि अनुसन्धान सुरु गरेको थियो । यो ऐन सामग्रीसम्बन्धी कानुन र युरोपेली सङ्घको ठूला प्रविधि कम्पनीहरूलाई नियन्त्रण गर्न प्रयोग गर्ने प्रमुख कानूनी हतियार हो। जुलाईमा युरोपेली सङ्घले टिकटकलाई ‘साइबरबुलिङ’ र आक्रामक व्यवहारजस्ता जोखिमहरूमा बालबालिकालाई उजागर गर्न सक्ने खाता सेटिङमार्फत बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप लगाएको थियो, जसले कम्पनीलाई ठूलो जरिवानाको जोखिममा पार्न सक्छ ।

    युरोपेली सङ्घले भनेको छ, “तेह्र वर्ष र माथिका बालबालिकाले टिकटक प्रयोग गर्न सक्छन् तर नाबालिगहरूका अकाउन्टहरू उनीहरूले अनुमति दिएका व्यक्तिहरूलाई मात्र देखिनुपर्छ । १३ वर्ष र माथिका बालबालिकाले टिकटक प्रयोग गर्न सक्छन्। “उच्च स्तरको सुरक्षा वैकल्पिक हुनु हुँदैन; यो पूर्वनिर्धारित हुनुपर्छ,” युरोपेली सङ्घका प्रविधि प्रमुख हेन्ना भिरक्कुनेनले त्यतिबेला वक्तव्यमा भन्नुभएको थियो, “डीएसएअन्तर्गत, बालबालिकाका अकाउन्ट सेटिङहरू पूर्वनिर्धारित रूपमा सबैभन्दा बलियो सुरक्षाको घेरामा हुन्छन्।”

    “टिकटकका खाता सेटिङहरू यो मापदण्ड पूरा गर्न असफल छन्, किनकि तिनीहरूले नाबालिगहरूका खाता र सामग्रीलाई अत्यधिक व्यापक रूपमा उजागर गर्छन्,” युरोपेली सङ्घले आफ्नो प्रारम्भिक दृष्टिकोणमा भनेको छ। बेलायतको सञ्चार नियामकले पनि जुलाईमा टिकटकमाथि अनुसन्धान सुरु गरेको थियो।

    बेलायती अनुसन्धानले टिकटकले हानिकारक सामग्रीबाट बालबालिकालाई जोगाउन बेलायती कानुनअन्तर्गत पर्याप्त काम गरिरहेको छ कि छैन भनेर हेर्नेछ। “यो अनुसन्धानले टिकटकले आफ्ना कानूनी दायित्वहरू पूरा गर्न असफल भएको छ भन्ने विश्वास गर्ने उचित आधार छ कि छैन भनेर स्थापित गर्नेछ,” अफकमले वक्तव्यमा उल्लेख गरेको छ । यसले विशेष गरी टिकटकको उमेर–प्रमाणीकरण मोडेललाई हेर्ने जिम्मेवारी थपिएको छ।

  • आजको मौसमः देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

    आजको मौसमः देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ, ७ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही स्थानमा तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।

  • यस वर्ष शक्तिशाली एल निनोको सम्भावना

    यस वर्ष शक्तिशाली एल निनोको सम्भावना

    लन्डन, ६ भदौ (रासस–एएफपी) । बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एल निनो एक शताब्दीभन्दा बढी अवधिमै सबैभन्दा शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ । उष्णकटिबन्धीय प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्दा विश्वका विभिन्न क्षेत्रमा मौसमको ढाँचा प्रभावित हुने सम्भावना रहेको कार्यालयले जनाएको छ ।

    उष्णकटिबन्धीय पूर्वी प्रशान्त महासागरको समुद्री सतहको तापक्रम दीर्घकालीन औसतभन्दा कम्तीमा शून्य दशमलव पाँच डिग्री सेल्सियस माथि पुगेपछि एल निनो घोषणा गरिन्छ । यसले हावाको बहाव, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउनुका साथै विश्वको औसत तापक्रम बढाउन सक्छ ।मौसम कार्यालयका दीर्घकालीन पूर्वानुमान प्रमुख एडम स्काइफले यस वर्ष समुद्री तापक्रमको असामान्यता तीन डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने बताए । उनले यस्तो तीव्र एल निनोको सङ्केत यसअघि नदेखेको बताउँदै यसलाई ‘अभूतपूर्व घटना’ भने ।


    उनका दक्षिण अमेरिका र पश्चिमी प्रशान्त क्षेत्रमा गम्भीर तथा लामो खडेरी पर्न सक्नेछ । क्लाइमेट ब्रिङ्क ड्यासबोर्डका अनुसार उक्त क्षेत्रमा समुद्री तापक्रम हाल ३० वर्षको औसतभन्दा २।६ डिग्री सेल्सियस माथि छ । स्काइफले एल निनोको प्रभाव छोटो अवधिको मौसममा मात्र सीमित नहुने बताउँदै खाद्य उत्पादन र खाद्य सुरक्षामा समेत असर पर्न सक्ने उल्लेख गरे । बेलायतमा भने नोभेम्बरतिर सामान्यभन्दा बढी वर्षा र आँधीबेहरीको सम्भावना रहेको उनले बताए ।

  • ‘एलनिनो’ले जलविद्युत्, सिँचाइ र समग्र खाद्य सुरक्षामा गम्भीर असर पार्दै

    ‘एलनिनो’ले जलविद्युत्, सिँचाइ र समग्र खाद्य सुरक्षामा गम्भीर असर पार्दै

    ६ भदौ, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले एलनिनोको संकटसँग जुध्न पूर्वतयारीमा लाग्नुपर्ने बताएका छन् । ८ हप्तापछि नेपाल भित्रिन लागेको अत्यधिक बलियो एननिनोको प्रभावले निम्त्याउने खडेरी र सुख्खायामलाई सामना गर्न सबै निकाय तयार रहनुपर्ने उनको भनाइ थियो ।

    जल तथा ऊर्जा आयोगको सचिवालय र जल तथा मौसम विज्ञान विभागले शुक्रबार आयोजना गरेको सुपर एल निनो र जलवायु जोखिमसम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आगामी अक्टोबरदेखि फेब्रुअरीसम्म प्रभाव देखिने एलनिनोले नेपालको जलविद्युत, सिँचाइ र समग्र खाद्य सुरक्षामा पार्ने गम्भीर असरबारे समयमै चनाखो बन्नुपर्नेमा जोड दिए ।

    ‘यसमा पूर्वसूचना र पूर्वतयारी आवश्यक छ । यो नहुँदा कृषकहरु मारमा पर्छन् । तर यसबाट कोही पनि अछुतो रहँदैन । जब किसानले आफ्नो उत्पादनलाई ध्यान दिन सक्दैन, त्यसले प्रत्यक्ष असर खाद्य सुरक्षामा पर्छ । ऊर्जा पनि असर गर्छ । किनभने धेरैजसो जलविद्युत उत्पादन रन अफ रिभरमा आधारित छ । त्यसै त सुख्खायाममा पानी पुगेको छैन । झन् त्यसको असर भएर पानी कम हुँदा के हुन्छ ? अथवा अर्को साइडमा हामीले के अनुमान गर्न सक्छौं भन्दा हाम्रा हिमतालहरु केही गरी पग्लेर यसले ल्यायो भने के हुन्छ ? त्यसैले गम्भीर विषय छ,’ उनले भने ।

    मन्त्री श्रेष्ठले मौसम विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय निकाय (एनओएए)का अनुसार यस वर्ष हालसम्मकै शक्तिशाली एल निनो ९० प्रतिशतभन्दा बढी सम्भावनाका साथ आउन लागेको र यसको प्रभाव अक्टोबरदेखि फेब्रुअरीसम्म देखिने बताए । यसको असर विद्युत प्रणालीमा पर्ने उनले बताए । हिउँदको मुख्य आयातको समय (नोभेम्बरदेखि अप्रिल) र एल निनोको पिक समय आपसमा जुध्ने भएकाले नेपालको जलविद्युत उत्पादन र भारतबाट हुने विद्युत आयात दुवै एकसाथ प्रभावित हुन सक्ने जोखिम रहेको मन्त्री श्रेष्ठले बताए ।

    मन्त्री श्रेष्ठले अधिकांश सिँचाइ प्रणालीहरू मनसुनमा आधारित भएकाले सुक्खायाममा पानीको अभाव हुने र यसले गहुँ तथा जौ जस्ता हिउँदे बालीको उत्पादनमा ठूलो असर पार्ने चिन्ता पनि व्यक्त गरे । त्यसैले पूर्वानुमान र पूर्वतयारीमा काम गर्नुपर्ने उनको भनाइ थियो । ‘अचानक हुने विपद्को विपरीत सुक्खापन ढिलो गरी आउने विपद् भएकाले क्षति भइसकेपछि घोषणा गर्नुको सट्टा पूर्व(निश्चित मापदण्डका आधारमा अग्रिम योजना र नीतिगत कदम चाल्नुपर्छ,’ उनले भने ।
    यो संकटविरुद्ध ऊर्जा र कृषि मन्त्रालयले संयुक्त रूपमा सिँचाइ र कृषिलाई जोडेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

    मन्त्री श्रेष्ठले विकसित देशका कारण सिर्जित जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेको पनि बताए । ‘अन्तर्राष्ट्रिय समुदायलाई पनि भन्न चाहन्छु कि स्टेज अफ हर्मुजमा पेट्रोल रोकेको न्युजहरु ठूलो ठूलो बन्छ । जबकी जलवायु परिवर्तन र कार्बन उत्सर्जनको मारमा नेपाल परिरहेको छ । नखाएको विष लागेजस्तै भएको छ । यसमा अन्तर्राष्ट्रिय समुदायको ध्यान जानुपर्छ,’ उनले भने । जलवायु परिवर्तन आगामी पुस्ता, अर्थतन्त्र, ऊर्जादेखि लिएर सबैलाई असर गर्ने मुद्दा भएको बताए । यो संवेदनशील मुद्दामा सबै गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।


    छोटै समय भए पनि ऊर्जा मन्त्रालयले सम्भावित ठूलो विपद् पूर्वतयारीमा तदारुकता देखाएको, जल तथा मौसम विज्ञान विभागले राम्रो तयारी गरेको भन्दै मन्त्री श्रेष्ठले सबै मिलेर एलनिनो संकटको सामना गर्नुपर्नेमा जोड दिए । सम्भावित संकटसँग जुध्न मन्त्रालयले जेठमै तराई(मधेश सुक्खा लचकता रणनीति तयार गरिसकेको, तराईका २२ जिल्लामा जमिनमुनिको पानीको अनुगमन सुरु गरिएको बताए ।

    जल तथा ऊर्जा आयोगलाई असोज मसान्तभन्दा अगाडि नै क्षेत्रगत आकस्मिक फ्रेमवर्क तयार गर्न निर्देशन पनि दिए । यसैगरी ऊर्जा आयोगले जल तथा मौसम विज्ञान विभाग, सिँचाइ विभाग, खानेपानी विभाग, विद्युत प्राधिकरण र विद्युत विकास विभागसँगको सहकार्यमा जल-ऊर्जा सुक्खा निगरानी संयन्त्र निर्माण गरी समन्वय गर्ने पनि मन्त्री श्रेष्ठले बताए ।

  • देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

    देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, ६ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।

    कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भेग र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका स्थानमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम हुन सक्ने तथो ती क्षेत्रमा दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने जनाउँदै महाशाखाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै महाशाखाबाट जारी हुने मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ ।

  • सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा

    सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा

    काठमाडौँ, ५ भदौः नेपाली भाषा (खस भाषा) को उद्गमस्थल जुम्लाको हाट सिञ्जामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि फोर–जी सेवा सुरु भएको हो । नेपाल टेलिकम जुम्ला कार्यालयका प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर–जी सेवा उपलब्ध हुनेछ ।

    उक्त टावरबाट गौरी, ओखरवाडा, हाट सिञ्जा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच, गोडिङ्गालगायत क्षेत्रमा सेवा पुग्नेछ । टावर सञ्चालनका लागि हाल सोलार ब्याट्री प्रयोग गरिएको छ । टावर स्थापना भएको दुई महिनाभन्दा बढी समय भए पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण सेवा सञ्चालनमा ढिलाइ भएको कार्यालय प्रमुख पुजाराले बताउनुभयो ।

    राष्ट्रिय प्रसारणलाइनबाट विद्युत् जडान गर्न नसकेपछि तत्कालका लागि सोलार प्रणालीमार्फत टावर सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ । सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । सोही योजनाअनुसार बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा यस हप्ताभित्रै फोर–जी सेवा सञ्चालनमा आइसक्ने छ । सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोर–जी सेवा विस्तारका लागि अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ ।

    यसअघि उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा पनि फोर–जी सेवा विस्तार भइसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार ९०० मिटर उचाइमा फोर–जी सेवा सञ्चालनमा छ । त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार ४०० मिटर उचाइमा फोर–जी सेवा सुरु भइसकेको छ ।

    देशका अन्य दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमासमेत सेवा विस्तार गर्ने सरकारको योजना छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो । हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आवमा मात्रै रु छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।

  • मङ्गोलियामा विद्यालयमा सामाजिक सञ्जाल रोक

    मङ्गोलियामा विद्यालयमा सामाजिक सञ्जाल रोक

    तेहरान, ५ भदौ (रासस–सिन्ह्वा) । मङ्गोलियाले विद्यार्थीको अनलाइन सुरक्षा र स्क्रिनमा निर्भरता घटाउने उद्देश्यले आगामी शैक्षिक वर्षदेखि देशभरका विद्यालयमा सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । शिक्षा तथा विज्ञानमन्त्री लुभ्सान्तेरेन एन्ख–अमगालनले बुधबार यस्तो निर्णय भएको बताए । सन् २०२६–२०२७ को शैक्षिक वर्षदेखि शिक्षक, विद्यार्थी र अभिभावक सहभागी सामाजिक सञ्जालका च्याट समूह तथा पृष्ठ सञ्चालन गर्नसमेत रोक लगाइने उनले बताए । मङ्गोलियामा फेसबुक, इन्स्टाग्राम र टिकटक बढी प्रयोग हुने सामाजिक सञ्जाल हुन् ।

    विद्यालयमा शिक्षकहरूले फेसबुक समूह तथा च्याटमार्फत विद्यार्थी र अभिभावकसँग सम्पर्क गर्ने तथा गृहकार्य पठाउने अभ्यास रहेकाले नयाँ व्यवस्थाले विद्यालय र अभिभावकबीचको सञ्चारमा समेत परिवर्तन ल्याउनेछ । मङ्गोलियामा नयाँ शैक्षिक वर्ष सामान्यतया सेप्टेम्बर १ देखि सुरु हुन्छ ।

  • विद्युत् खरिद सम्झौता खोल्न सरकारले अघि बढायो प्रक्रिया

    विद्युत् खरिद सम्झौता खोल्न सरकारले अघि बढायो प्रक्रिया


    काठमाडौँ, ४ भदौः सरकारले विद्युत् खरिद सम्झौता (पिपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा आज बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले पिपीए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले सात दिनभित्र मापदण्ड तयार पारेर बोर्डमा पेस गर्नेछ । उपसमितिमा विद्युत् विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सिडिइ शालिग्राम भण्डारी र विज्ञ रिवाज शर्मा सदस्य रहेका छन् भने व्यापार शाखाका निर्देशक सदस्य सचिव छन् ।


    सञ्चालक समितिको निर्णयमा भनिएको छ, “आर्थिक ऐन, २०८३ मा व्यवस्था भएबमोजिम उत्पादन अनुमति प्राप्त उर्जा उत्पादकहरुसँग विद्युत खरिद सम्झौता (पिपीए) गर्ने सम्बन्धमा विद्यमान आधार र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट गठित समितिको सिफारिससमेतको अध्ययन विश्लेषण गरी विद्युत् खरिद सम्झौता (पिपीए) को मापदण्ड सात दिनभित्र तयार गर्न सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।”

  • चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

    चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

    बेइजिङ, ४ भदौ (रासस–एपी) । चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ । अन्तरिक्ष प्रविधिमा पुनःप्रयोग गर्न सकिने रकेट विकासलाई तीव्रता दिइरहेको चीनका लागि यो महत्त्वपूर्ण उपलब्धि मानिएको छ । राज्य सञ्चारमाध्यमका अनुसार बुधबार प्रक्षेपण गरिएको ‘झुक–३’ रकेटको पहिलो चरण सफलतापूर्वक पृथ्वीमा फर्काइएको हो ।

    यसअघि जुलाईमा चीनले समुद्री प्लेटफर्ममा रकेटको पहिलो चरण पुनःप्राप्त गरेको थियो । त्यसैले भूमिमा गरिएको बुधबारको सफलता चीनले रकेट चरण पुनःप्राप्त गरेको दोस्रो अवसर हो भने भूमिमा गरिएको पहिलो सफल परीक्षण हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पुनःप्रयोग गर्न सकिने ‘झुक–३’ रकेट बुधबार बिहान प्रक्षेपण गरिएको थियो । त्यसपछि रकेटको पहिलो चरण पृथ्वीमा फर्किएर सुरक्षित रूपमा अवतरण गरेको हो । यस क्रममा पहिलोपटक तैनाथ गर्न सकिने अवतरण खुट्टाको प्रयोग गरिएको सिन्ह्वाले जनाएको छ । चीनले यसलाई पुनःप्रयोग गर्न सकिने रकेट प्रविधिमा महत्त्वपूर्ण सफलता मानेको छ ।

    रकेटको प्रयोगपछि पहिलो चरणलाई पुनःप्राप्त गरी फेरि प्रयोग गर्न सकिने प्रविधिले प्रक्षेपणको लागत घटाउन सहयोग गर्छ । यस क्षेत्रमा अमेरिकी कम्पनी स्पेसएक्स र ब्लु ओरिजिनले सन् २०१५ देखि रकेट पुनःप्राप्तिको प्रविधि प्रयोग गर्दै आएका छन् । उपग्रह तथा अन्य सामग्री अन्तरिक्षमा पठाएपछि रकेटलाई फ्याँक्नुपर्ने अवस्थाको अन्त्य गर्दै एउटै हार्डवेयर पुनः प्रयोग गर्न सकिने भएकाले अन्तरिक्ष प्रक्षेपण सस्तो बनाउन यस्तो प्रविधि महत्त्वपूर्ण मानिन्छ ।

    चीनले गत जुलाई १० मा ‘लङ मार्च–१०बी’ रकेटको पहिलो चरण पनि सफलतापूर्वक पुनःप्राप्त गरेको थियो । प्रक्षेपणपछि पहिलो चरण दोस्रो चरणबाट अलग भएर समुद्री प्लेटफर्ममा फर्किएको थियो । त्यसबेला रकेटलाई जालोमा समात्ने ‘नेट–क्याप्चर’ प्रणाली प्रयोग गरिएको थियो ।

    चीनसँगै जापानले पनि पुनःप्रयोग गर्न सकिने रकेट प्रविधिमा लगानी बढाइरहेको छ । जुलाई ११ मा जापानले प्रयोगात्मक पुनःप्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान गरेको थियो । उक्त रकेट उडान भरेपछि सुरक्षित रूपमा अवतरण गर्न सफल भएको थियो । दुवै देशले प्रक्षेपण लागत घटाउँदै विश्वव्यापी अन्तरिक्ष बजारमा प्रतिस्पर्धा बढाउने उद्देश्यले पुनःप्रयोग गर्न सकिने रकेट प्रविधिको विकासलाई प्राथमिकता दिएका छन् ।

  • विभिन्न तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    विभिन्न तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, ४ भदौ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पनि साधारणतया बादल लाग्नेछ

    । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थान, मधेस तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । —

  • कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना


    काठमाडौँ, ३ भदौ स् हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो पनि साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

    त्यसैगरी आज राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थान, मधेस तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

  • विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गरौं : सञ्चारमन्त्री

    विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गरौं : सञ्चारमन्त्री


    काठमाडौँ, २ भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सबै दूरसञ्चार सेवा प्रदायकले कानुनी र नियामकीय व्यवस्थाअनुसार स्वच्छ तथा व्यावसायिक ढङ्गले काम गर्नुपर्ने बताएका छन् । एनसेल आजियाटा लिमिटेडका प्रतिनिधिले आज सञ्चार मन्त्रालयमा गरेको भेटका क्रममा उनले दूरसञ्चार क्षेत्रलाई स्वच्छ, पारदर्शी र स्वस्थ प्रतिस्पर्धामा आधारित बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले सञ्चार मन्त्रालयका लागि सबै सेवा प्रदायक समान रहेको उल्लेख गर्दै कानुनअनुसार व्यावसायिक गतिविधि सञ्चालन गर्ने कम्पनीलाई सरकारले आवश्यक सहयोग गर्ने बताए ।


    “एनसेलले स्वच्छ प्रतिस्पर्धा गर्ने र विगतमा भएका कमिकमजोरी पनि सच्याउने प्रतिबद्धतासहित आउनुपर्छ । कानुनअनुसार काम गर्ने कम्पनीलाई सरकारले समान व्यवहार गर्छ,” सञ्चारमन्त्री तिमिल्सिनाले भने । उनले विगतमा भएका एनसेलका विवाद र कानुनी प्रश्नको पारदर्शी ढङ्गले छानबिन हुने स्पष्ट पार्दै आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित कम्पनीले पनि आफ्नो कार्यशैली सुधार गर्नुपर्ने बताए । दूरसञ्चार क्षेत्रमा स्वच्छ र स्वस्थ पारिस्थितिक प्रणाली (इकोसिस्टम) निर्माण गर्न सरकार तथा नियामक निकाय तयार रहेको र त्यसका लागि सेवा प्रदायक संस्थाहरूले पनि समन्वयात्मक ढङ्गले अघि बढ्नुपर्ने सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ छ ।

    मन्त्रालयका सहसचिवद्वय उदयबहादुर रानामगर र गौरव गिरी तथा मन्त्रालयको कानुन शाखा उपसचिव राजेशकुमार थापा सहभागी रहेको सो भेटका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रलाई स्वच्छ र व्यावसायिक बनाउन विगतका गल्ती सच्याउने तथा भविष्यमा गल्ती हुन नदिने जिम्मेवारी सरकार तथा नियामकको रहेको बताए । साथै, एनसेलका विगतका विवादको निरुपण तथा लाइसेन्स अवधि सकिएपछिको स्वामित्व हस्तान्तरणको काम विद्यमान विधि र कानुनभित्रै रहेर सम्पादन हुने स्पष्ट पारे ।


    छलफलमा एनसेल आजियाटा लिमिटेडका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले कम्पनीको सेवा र व्यावसायिक प्रणाली सुधारका लागि विभिन्न काम अघि बढाएको जानकारी गराए । सब्स्क्रिप्सन मोडल सुधार र ‘पे एज यु गो’ प्रणाली लागू गर्ने तथा फाइभजी सेवा सुरु गर्ने सरकारी पहललाई पनि एनसेलले सकारात्मक रूपमा लिएको उनको भनाइ थियो।

  • मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, २ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा\हिमपातको सम्भावना छ ।

    देशका पहाडी भू–भागका धेरै स्थानमा तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

    आज राति हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

  • अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

    अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

    काठमाडौँ, १ भदौः काठमाडौँ उपत्यकाभित्र सहरी क्षेत्रमा सडक किनारका पोलमा गुजुल्टिएका, चुँडिएका र प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानमा उल्लेख्य प्रगति भएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रगति प्रतिवेदनअनुसार अधिकांश क्षेत्रमा तारको बन्डलिङ गर्ने काम सम्पन्न भए पनि फिनिसिङ, ट्यागिङ र बन्डल बाहिर रहेका खुला तार व्यवस्थापनमा अझै सुधार आवश्यक देखिएको छ ।

    काठमाडौँ उपत्यकाका विद्युत् पोलमा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकका अत्यन्त अव्यवस्थित अवस्थामा रहेका तारले सहरी सौन्दर्यसँगै सुरक्षामा पनि चुनौती थपेको भन्दै सरकारले त्यस्ता तार व्यवस्थापनको अभियान चलाइरहेको छ । त्यस अभियानका क्रममा पहिलो चरणमा प्रमुख छ वटा स्थानमा तार व्यवस्थापन गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिए । पहिलो चरणमा त्रिपुरेश्वर–कलङ्की–कालीमाटी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–जमल–लाजिम्पाट, सामाखुसी–टाउन प्लानिङ–गोँगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–चाबहिल–गौशाला क्षेत्रका तार व्यवस्थापन गरिएको छ ।

    तार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्राधिकरणले गत जेठ २९ गते विशेष उपसमिति गठन गरेको थियो । उपसमितिमा दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी कार्यालय, इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान), नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडका प्रतिनिधि रहेका छन् ।


    सोही दिन एनटीएले १५ दिनको समय सीमा तोकेर सूचना जारी गर्दै सम्बन्धित सेवा प्रदायकलाई तोकिएको रुटमा आफ्ना तारमा अनिवार्य रूपमा पहिचान खुल्ने ट्याग राख्न निर्देशन दिएको थियो । अभियानलाई प्रभावकारी बनाउन गत जेठ १६ गते प्राधिकरणले पुरानो बानेश्वर–गौशाला–चाबहिल रुटमा प्रयोगविहीन तार हटाउने र बाँकी तारमा ट्याग लगाउने काम १० दिनभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो । तर, प्रारम्भिक चरणमै अपेक्षित गतिमा काम अघि बढ्न नसकेपछि प्रत्येक क्षेत्रका प्रमुख अपरेटर अर्थात् ‘लिड अपरेटर’ र फोकल पर्सन तोकेर कामको नियमित अनुगन गर्न थालिएको थियो ।

    त्यसबाट कुन रुटको कामको नेतृत्व कसले गर्ने र समस्याका लागि कसलाई जिम्मेवार बनाउने भन्ने विषय स्पष्ट पार्ने प्रयास भएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणको त्यस्ता पहलबाट पनि कामले अपेक्षित गति लिन नसकेपछि सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा गत असार ३१ र साउन १५ गते गरी दुईपटक उच्चस्तरीय समीक्षा बैठक बसेको थियो ।

    मन्त्रालयस्तरीय छलफल र निर्देशनपछि प्राधिकरणले नयाँ कार्ययोजना बनाएर तार व्यवस्थापन अभियान अघि बढाउने निर्णय गरेकोछ । त्यसअनुसार सेवा प्रदायकलाई पुनः जिम्मेवारी बाँडफाँड गरी १३ दिने परिमार्जित कार्ययोजना लागू गरियो । त्यसमा कुन सेवा प्रदायकले कुन क्षेत्रमा नेतृत्व गर्ने, कति दूरीमा काम गर्ने, कति पोल व्यवस्थापन गर्ने र कति जनशक्ति परिचालन गर्ने भन्ने विवरणसमेत पुनःनिर्धारण गरिएको थियो ।

    प्राधिकरणको रुटगत अनुगमनअनुसार जडीबुटी क्षेत्रमा तार व्यवस्थापनको काम सम्पन्न भएको छ । अधिकांश तार बन्डलिङ गरिएको भए पनि कामको अन्तिम ‘फिनिसिङ’ भने कमजोर देखिएको जनाइएको छ । त्यस क्षेत्रमा अत्यन्त थोरै स्थानमा मात्र सेवा प्रदायकको पहिचान खुल्ने ट्याग राखिएको पाइएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । त्यहाँ बन्डलिङ गरिए पनि ‘केबल लूप’ भने अझै देखिन्छन् । त्यहाँ तारलाई एकै ठाउँमा बाँध्ने काम मात्र नभई प्रत्येक तारको पहिचान र अन्तिम व्यवस्थापन पनि आवश्यक रहेको प्राधिकरणको निश्कर्ष छ ।

    बानेश्वर क्षेत्रमा भने समग्र अवस्था सन्तोषजनक देखिएको प्राधिकरणको मूल्याङ्कन छ । अधिकांश खुला तथा लत्रिएका तार हटाइएका वा व्यवस्थित गरिएका छन् । यद्यपि, केही स्थानमा ट्याग छुटेका छन् । आइस्पानले प्रयोग गरेका केही ट्यागमा च्यातिने समस्या पनि देखिएको छ । त्यस क्षेत्रमा पनि केबल लूप रहेको प्राधिकरणले जनाएको छ ।

    सामाखुसी क्षेत्रमा तार बन्डलिङ गरिएको भए पनि समग्र दृश्य अझै फोहोर तथा अव्यवस्थित अवस्थामै रहेको प्राधिकरणको भनाइ छ । त्यहाँ सबै स्थानमा समान ढङ्गले ट्यागिङ गरिएको पाइँदैन । अर्थात् तार बाँध्ने काम भए पनि तारको पहिचान, लूप व्यवस्थापन र अन्तिम फिनिसिङमा एकरूपता कायम हुन सकेको देखिन्न ।

    त्यस्तै, लाजिम्पाट–त्रिपुरेश्वर रुटमा आंशिक प्रगति भएको छ । अधिकांश क्षेत्रमा तार बन्डलिङ गरिएको भए पनि दरबार हाइस्कुलको विपरीत दिशामा केही खुला तार अझै देखिएका छन् । केही स्थानमा नेपाल टेलिकमका ट्याग देखिएका छन् । केही क्षेत्रमा आइस्पानका ट्याग राखिएको पाइएको छ । तर, समग्र रुटमा ट्यागिङ सम्पन्न हुन सकेको छैन । यस क्षेत्रमा पनि केबल लूप अझै छन् ।

    त्रिपुरेश्वर–कलङ्की रुटमा अभियानको प्रगति तुलनात्मक रूपमा राम्रो देखिएको छ । अधिकांश क्षेत्रमा बन्डलिङ सम्पन्न भएको छ र तारलाई व्यवस्थित गर्ने काम प्रभावकारी रूपमा अघि बढेको छ । यद्यपि, केही निश्चित स्थानमा बन्डलभन्दा बाहिर खुला तार अझै बाँकी छन् । अन्य रुटको तुलनामा यस क्षेत्रमा ट्यागिङ भने राम्रो देखिएको छ । सेवा प्रदायकका तारमा आवश्यक पहिचान खुल्ने ट्याग सही ढङ्गले राखिएको पाईएको प्राधिकरणले जनाएको छ ।

    कीर्तिपुर क्षेत्रमा पनि तार व्यवस्थापनमा राम्रो प्रगति भएको छ । अधिकांश क्षेत्रमा बन्डलिङ सम्पन्न गरिएको छ । तर, केही स्थानमा बन्डलभन्दा बाहिर खुला तार बाँकी छन् । ट्यागिङ भने सीमित स्थानमा मात्र गरिएको पाइएको छ । त्यसैले बन्डलिङ सम्पन्न भएको भए पनि ट्यागिङ र अन्तिम फिनिसिङको काम अझै पूरा गर्नुपर्ने देखिएको छ ।

    प्राधिकरणको अनुगमनमा एउटा समान समस्याका रुपमा ‘केबल लूप’ लगभग सबै रुटमा देखिएको छ । जडीबुटीदेखि बानेश्वर, सामाखुसी, लाजिम्पाट–त्रिपुरेश्वर, त्रिपुरेश्वर–कलंकी र कीर्तिपुरसम्मका रुटमा केबल लूपहरू रहेको प्राधिकरणले जनाएको छ । सेवा विस्तार वा मर्मतका लागि केही अतिरिक्त केबल राख्ने अभ्यास भए पनि त्यसको उचित व्यवस्थापन नहुँदा यस्ता लूपले फेरि सडकको दृश्य अव्यवस्थित बनाउने जोखिम रहन्छ । त्यसैले तार व्यवस्थापन अभियानमा लूप राख्ने निश्चित मापदण्डसमेत आवश्यक देखिएको छ ।

    त्यस्तै तार व्यवस्थापन अभियानको अर्को प्रमुख कमजोरी ट्यागिङमा देखिएको छ । प्राधिकरणले तारमा सेवा प्रदायकको पहिचान खुल्ने ट्याग अनिवार्य गरे पनि सबै रुटमा समान रूपमा ट्यागिङ हुन सकेको छैन । कतिपय क्षेत्रमा ट्याग नै नभएको, कतिपय ठाउँमा ट्याग छुटेको र केही स्थानमा ट्याग च्यातिएको पाइएको छ । ट्यागिङ प्रभावकारी नहुँदा भविष्यमा बिग्रिएको वा प्रयोगविहीन तार कुन कम्पनीको हो भनेर पहिचान गर्न पुनः समस्या आउन सक्छ ।

    त्यसैले तार व्यवस्थापनसँगै ट्यागिङलाई अनिवार्य र स्थायी व्यवस्थापन प्रणालीका रूपमा लागू गर्नुपर्ने देखिएको छ । अधिकांश रुटमा तार बन्डलिङ भइसकेको भए पनि खुला तार, केबल लूप, असमान ट्यागिङ र कमजोर फिनिसिङका समस्या बाँकी छन् । त्यसैले अबको चरणमा ‘बन्डलिङ सम्पन्न’ भएको घोषणा मात्र नगरी प्रत्येक रुटको अन्तिम निरीक्षण गरेर बाँकी समस्या सच्याउनुपर्ने आवश्यकता देखिएको प्राधिकरणले जनाएको छ ।

    त्यस्तै विद्युत् तथा दूरसञ्चार पूर्वाधार निर्माण गर्दा भविष्यमा तार पुनःजथाभावी फैलिन नदिन साझा पूर्वाधार तथा भूमिगत युटिलिटी डक्टको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि प्राधिकरणले औंल्याएको छ । सरकारले यसअघि पनि काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा अव्यवस्थित तार हटाउने अभियान सञ्चालन गर्दै आएको थियो । तर, नयाँ तार थपिँदै जाने र पुराना तार समयमै नहटाउने प्रवृत्तिका कारण समस्या पुनः दोहोरिँदै आएको छ ।