Category: विज्ञान प्रविधि

  • चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

    चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, साउन १६ गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशका तराईमा आंशिक बदली भएको छ भने बाँकी भागमा साधारणतया बदली भएको छ । बागमती प्रदेशका केही तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    शनिबार दिउँसो देशभर साधारणतया बदली हुनेछ । हिमाली भेगका केही तथा पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ । साथै, तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति पनि देशभर साधारणतया बदली हुने पूर्वानुमान गरिएको छ । हिमाली र पहाडी भागका केही तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरोको जोखिम बढ्ने तथा दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत आंशिक असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । रासस

  • उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा अनलाइन

    उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा अनलाइन

    १४ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवाहरू पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

    मन्त्री यादवले उद्योग प्रशासनलाई डिजिटल प्रविधिमैत्री बनाउँदै सेवाग्राहीले अनावश्यक रूपमा विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिएपछि विभागले सूचना जारी गर्दै उद्योग दर्ता, नवीकरण, उद्योग अद्यावधिक, उद्योग स्थानान्तरण, पुँजी तथा क्षमता वृद्धि, नाम तथा उद्देश्य संशोधन, विदेशी लगानी स्वीकृति, व्यावसायिक भिसा सिफारिस, वार्षिक प्रगति विवरण, सीएसआर सम्बन्धी सेवा तथा आइइइ÷टीओर स्वीकृतिलगायतका अधिकांश सेवा अब आइएमआइएस मार्फत अनलाइनबाटै उपलब्ध हुने जनाएको छ।

    विभागका अनुसार अनलाइन प्रणालीमा समावेश भइसकेका सेवाका लागि सेवाग्राही स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ। आवश्यक परे सम्बन्धित उद्योग वा कम्पनीका आधिकारिक प्रतिनिधिले मात्र आवश्यक परिचयपत्रसहित उपस्थित भई सेवा लिन सक्नेछन्। त्यस्तै, अनलाइन प्रणालीमा समावेश भएका सेवाका आवेदन र कागजात अब भौतिक रूपमा दर्ता गरिने छैनन्। सम्पूर्ण प्रक्रिया विद्युतीय माध्यमबाटै सम्पन्न गरिने विभागले स्पष्ट पारेको छ।

    मन्त्री गौरी यादवले मन्त्रालयको नेतृत्व सम्हालेसँगै उद्योग प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी बनाउने अभियानलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन निरन्तर निर्देशन दिँदै आएकी छन्। विभागले लागू गरेको यो व्यवस्था सोही अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उद्योग विभागले उद्योगी–व्यवसायीलाई अनलाइन प्रणालीको अधिकतम उपयोग गर्न आग्रह गर्दै आवश्यक जानकारी विभागको वेबसाइट तथा प्रणालीमार्फत प्राप्त गर्न सकिने जनाएको छ।

  • नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन निर्देशन

    नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन निर्देशन

    १४ साउन, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन् ।

    सञ्चार मन्त्रालयमा आयोजित अन्तर निकाय छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायतका पदाधिकारीहरु उपस्थित थिए । छलफलमा नेपाल टेलिकमका ‘बेस ट्रान्ससिभर स्टेशन’ (बीटीएस), टावर तथा अन्य दूरसञ्चार उपकरणमा भरपर्दो विद्युत् आपूर्ति नपुग्दा देशका विभिन्न क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवामा समस्या देखिएको विषयमा विस्तृत समीक्षा गरिएको थियो ।

    सो छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्रै सीमित नभई नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिए । उनले नेपाल टेलिकमले राख्ने टेलिफोन टावरमा विद्युत् पहुँच पुर्याउनका लागि टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच स्थायी समन्वय प्रणाली विकास गर्न कार्यसमूह गठन गरी स्पष्ट कार्ययोजना सहित अघि बढ्न निर्देशनसमेत दिए ।

    “विगतमा अन्तरनिकाय समन्वय कमजोर हुँदा अहिलेका धेरै समस्या देखिएका छन् । अब प्रत्येक निकायले सम्पर्क व्यक्ति तोकेर नियमित समन्वय गर्ने व्यवस्था मिलाउनुहोला । मन्त्रालय नीतिगत समन्वयका लागि आवश्यक सहयोग गर्न तयार छ, सञ्चारमन्त्री तिमिल्सिनाले भने ।

    सम्भव भएसम्म सबै टेलिकम टावरमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुर्‍याउने विषयमा सञ्चार मन्त्रालय र ऊर्जा मन्त्रालय दुवै प्रतिबद्ध रहेको उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाल टेलिकमका टावरमा विद्युत् पहुँच नपुगेका स्थानहरूको स्पष्ट तथ्यांक नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराउनुपर्ने र त्यसका आधारमा प्राथमिकताका साथ विद्युत् विस्तारको योजना बनाउनुपर्ने बताए ।

    विद्युत् पुगेका क्षेत्रमा समेत कमजोर भोल्टेजका कारण सेवा प्रभावित भइरहेको गुनासो आउने गरेका छन् । त्यस्ता समस्या समाधानका लागि वितरण प्रणालीको क्षमता विस्तार गरिनुपर्ने सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाई थियो ।

    उहाँले फोरजी सेवाको गुणस्तर सुधार गर्दै क्रमशः फाइभजी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिए । दुर्गम तथा ग्रामीण क्षेत्रमा टेलिफोन र उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को रकम प्रभावकारी रूपमा परिचालन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।

    उनले काठमाडौँ उपत्यकासहित प्रमुख सहरमा अव्यवस्थित रूपमा झुन्डिएका तार व्यवस्थापनका लागि पनि नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउँदै सहरी सौन्दर्य र सुरक्षित पूर्वाधार निर्माणका लागि तार व्यवस्थापनलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
    छलफलमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले विद्युत् पहुँचको अभाव दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तारको प्रमुख चुनौती बनेको बताइन् । उनका अनुसार हाल नेपाल टेलिकमका ३१६ वटा टावरमा राष्ट्रिय प्रसारण लाइनबाट भरपर्दो विद्युत् उपलब्ध छैन र ती टावर सोलार ऊर्जाको भरमा सञ्चालन भइरहेका छन् ।

    साथै उनले नेपाल टेलिकमले करिब दुई हजार नयाँ टावर निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिँदै तीमध्ये करिब १४ सय टावरमा नेपाल विद्युत् प्राधिकरणबाट नयाँ विद्युत् लाइन विस्तार गर्नुपर्ने अवस्था रहेको बताइन् । सञ्चालनमा रहेका कतिपय टावरमा समेत कम भोल्टेजका कारण उपकरण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उल्लेख गर्दै नयाँ साइटमा विद्युत् जडान, पुराना साइटमा भरपर्दो आपूर्ति तथा भोल्टेज क्षमता वृद्धि आवश्यक रहेको धारणा राखिन् ।

    नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूले टेलिकमका टावरमा विद्युत् पहुँच विस्तार गर्न हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विगतमा दुई निकायले छुट्टाछुट्टै योजना बनाउँदा आवश्यक समन्वय हुन नसकेको बताए । आगामी दिनमा नेपाल टेलिकमले नयाँ टावर निर्माण गर्ने स्थानमा विद्युत् पूर्वाधार पनि सँगसँगै विस्तार गर्ने गरी संयुक्त योजना बनाउनुपर्नेमा उनीहरुको जोड थियो ।

    प्राधिकरणले कम भोल्टेजको समस्या समाधान गर्न प्रसारण तथा वितरण लाइनको क्षमता विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिने जानकारी दिँदै विगतका कमजोर पूर्वाधारलाई क्रमशः सुधार गरी सेवा थप भरपर्दो बनाइने बताएको छ । साथै, नियमित समन्वयका लागि संयुक्त समिति गठन गर्न सकिए समस्या समाधान अझ प्रभावकारी हुने प्राधिकरणको भनाई छ । काठमाडौँ उपत्यका, पोखरा, चितवनलगायत क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने कार्यसँग दूरसञ्चार पूर्वाधारलाई कसरी समन्वय गर्ने भन्ने विषयमा पनि छलफल भएको छ ।

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले देशव्यापी पूर्ण विद्युतीकरण अभियानमा नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य भइरहेको जानकारी दिँदै दुर्गम तथा ग्रामीण क्षेत्रमा लघुजलविद्युत् र सौर्य ऊर्जामार्फत टेलिकम टावरमा विद्युत् उपलब्ध गराउन केन्द्रले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विशेषगरी राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन कठिन हुने स्थानमा सौर्य प्रविधि जडानमार्फत दूरसञ्चार सेवा निरन्तर सञ्चालनमा सहयोग गर्ने उनले बताए ।

  • हुलाकमार्फत ८,१८० राहदानी सेवाग्राहीको घरमा

    हुलाकमार्फत ८,१८० राहदानी सेवाग्राहीको घरमा

    १४ साउन, काठमाडौं । सरकारले हुलाकमार्फत ८ हजार १८० राहदानी सेवाग्राहीको घरमै पुर्याएको छ । सञ्चार मन्त्रालयको आंकडा अनुसार कूरियर सेवामार्फत ती राहदानी घरमै लगिएको हो । हुलाकमार्फत हालसम्म हुम्लाबाहेक सबै जिल्लामा राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य प्रयोगशाला नमुनालगायतका सामग्री नागरिकको घरसम्मै पुर्‍याउन थालिएको छ। हालसम्म हुलाकमार्फत २,३७,८४० वटा राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ढुवानी गरिएको छ ।

    ८,१८० वटा राहदानी सेवाग्राहीको घरमै पुर्‍याइएको छ। सवारी चालक अनुमतिपत्रतर्फ १०,३८,५२३ वटा अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयसम्म ढुवानी गरिएको छ भने १,०९४ वटा लाइसेन्स सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरिएको छ। यसैगरी, हालसम्म त्रिभुवन विश्वविद्यालयका २६३ वटा शैक्षिक प्रमाणपत्र तथा विभिन्न १७ वटा अस्पतालका १,४३६ वटा स्वास्थ्य प्रयोगशाला नमुना ढुवानी गरिसकिएको छ।

  • यस्तो छ आजको मौसम पूर्वानूमान

    यस्तो छ आजको मौसम पूर्वानूमान

    १४ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिमा उल्लेखछ । कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी कोशी प्रदेशको पहाडी र तराई भू–भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । रासस

  • विद्युत् महसुल संरचना समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया सुरु

    विद्युत् महसुल संरचना समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया सुरु

    १३ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो ।


    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न १५ दिनको समय सीमासहित समिति गठन गरेको जनाएको छ । समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोगसमक्ष प्रक्रिया अघि बढाउनेछ ।


    प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार अनुसार पछिल्ला वर्षहरूमा जलविद्युत् उत्पादन उल्लेख्य रूपमा बढ्दै गएको छ । विशेषगरी वर्षायाममा उत्पादन भएको विद्युत् पूर्ण रूपमा खपत हुन नसक्दा आन्तरिक उपभोग बढाउने नीति आवश्यक देखिएको छ । सोही सन्दर्भमा घरायसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचनामा सुधार गर्ने तयारी गरिएको हो ।


    प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा उच्च विद्युत खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त दरमा विद्युत् उपलब्ध गराउने लक्ष्य राखिएको जनाएको छ । यसबाट उपभोक्ताको मासिक विद्युत् खर्चमा कमी आउनुका साथै उद्योगहरूको उत्पादन लागत घट्ने अपेक्षा गरिएको छ।


    महसुल पुनरावलोकनका लागि सञ्चालक समितिका सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा ऊर्जा मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा तथा वित्त क्षेत्रका विज्ञ, उपभोक्ता प्रतिनिधि तथा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।


    त्यस्तै सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजनासम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ । सञ्चालक समितिका सदस्य शम्भु केसीको संयोजकत्वमा प्राविधिक, कानुनी तथा सार्वजनिक खरिदसम्बन्धी तीन जना विज्ञ सदस्य रहनेछन् भने प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य सचिव रहनेछन् ।


    छानबिन समितिलाई विगतका खरिद प्रक्रिया, सञ्चालन परियोजना तथा प्राप्त उजुरीहरूको अध्ययन गरी सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानूमान

    यस्तो छ आजको मौसम पूर्वानूमान

    १२ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ ।

    महाशाखाका अनुुसार मङ्गलबार दिउँसो हिमाली र पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा कोशी प्रदेशको तराई भू–भाग र मधेश प्रदेशका थोरै स्थान मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशको हिमाली र पहाडी भू–भाग तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    देशको हिमाली भू–भागका थोरै स्थानमा र पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा\हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान, कोशी र सुदूरपश्चिम प्रदेशको तराई तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । रासस

  • अव्यवस्थित तार हटाउने काम समयसीमाभित्र नसक्ने निकायलाई कारबाही गरिने

    अव्यवस्थित तार हटाउने काम समयसीमाभित्र नसक्ने निकायलाई कारबाही गरिने

    काठमाडौँ, ११ साउन : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे आज संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् ।

    दुई मन्त्रीले गौशाला, पुरानो बानेश्वर, जडीबुटीलगायत क्षेत्रमा पुगेर तार व्यवस्थापनको कामको निरीक्षण गर्नुका साथै सम्बन्धित निकायका पदाधिकारीसँग प्रगति र देखिएका समस्याबारे जानकारी लिनुभएको हो । सरकारले पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी छ वटा रुटमा अव्यवस्थित तथा प्रयोगविहीन तार हटाउने अभियान सञ्चालन गरिरहेको छ ।


    अनुगमनका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल दूरसञ्चार प्राधिकरणले साउन १५ गतेभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अपेक्षित प्रगति नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले नागरिकले प्रत्यक्ष परिणाम महसुस गर्ने गरी निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै काममा ढिलाइ गर्ने कुनै पनि निकाय वा व्यक्तिलाई छुट नहुने स्पष्ट पारे ।


    “साउन १५ भित्र काम सम्पन्न गर्ने प्रतिबद्धता गरिएको थियो, तर अहिलेको प्रगति हेर्दा लक्ष्यअनुसार काम अघि बढेको देखिँदैन । यो समस्या कुनै एक निकायको मात्र होइन, हामी सबैको साझा कमजोरीका कारण सिर्जना भएको हो । अब सबै निकायबीच प्रभावकारी समन्वय गरेर समाधानमा केन्द्रित हुनुपर्छ´´ उनले भने “नागरिकले परिणाम चाहेका छन्, त्यसैले काममा ढिलाइ गर्ने छुट कसैलाई छैन । निर्धारित समयभित्र काम भए नभएको निरन्तर अनुगमन हुनेछ र जिम्मेवारी पूरा नगर्ने निकाय तथा व्यक्तिलाई आवश्यक कारबाही गरिनेछ ।”


    सञ्चारमन्त्री तिमिल्सिनाले प्रयोगमा नरहेका केबल तत्काल हटाउन निर्देशन दिँदै पोलमा तार झुण्ड्याउने सेवा प्रदायकले नै त्यसलाई हटाउने जिम्मेवारी पनि लिनुपर्ने बताए । कामका क्रममा कुनै कानुनी, प्राविधिक वा प्रशासनिक समस्या आए तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्दै उनले नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी नियामकको भूमिका निर्वाह गर्न तथा सबै सेवा प्रदायकबीच समन्वय गरी स्पष्ट समयसीमासहितको एकीकृत कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिए ।


    उनले वर्षायामका बाबजुद निरन्तर काम गरिरहेका प्राविधिक जनशक्तिको प्रशंसा गर्दै कामको गति अझ तीव्र बनाउनुपर्नेमा जोड दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पनि अव्यवस्थित तार व्यवस्थापन र भूमिगत केबलिङ दुवै कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सबै निकाय जवाफदेही हुनुपर्ने बताए ।

    उनले न्युरोड र विशालबजार क्षेत्रमा तार व्यवस्थापनपछि सहरी सौन्दर्यमा आएको सुधार उदाहरणीय रहेको उल्लेख गर्दै अन्य क्षेत्रमा पनि त्यही ढाँचामा काम विस्तार गरिने जानकारी दिए । उनले भने, “अव्यवस्थित तार हटाउने अभियान सरकार वा कुनै एक संस्थाको एकल प्रयासबाट सफल हुँदैन । नियामक निकाय, सेवा प्रदायक र स्थानीय तह सबैले एउटै लक्ष्यका साथ काम गर्नुपर्छ । यो नागरिकको सुरक्षासँग मात्र होइन, व्यवस्थित र सुन्दर सहर निर्माणसँग पनि जोडिएको विषय हो ।´´

    अनुगमनका क्रममा मन्त्रीद्वयले विद्युत् वितरण पूर्वाधारको अवस्थासमेत अवलोकन गरे । सरकारले काठमाडौँका विभिन्न छ क्षेत्रमा पाइलट परियोजनाका रूपमा तार व्यवस्थापन अभियान सञ्चालन गरी त्यसबाट प्राप्त अनुभवका आधारमा अन्य क्षेत्रमा पनि अभियान विस्तार गर्ने तयारी गरेको छ । यसका लागि विषयगत मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा आवश्यक कानुनी सुधारको प्रक्रिया पनि अघि बढिरहेको छ ।्


    नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले वर्षात्का कारण कार्यसम्पादनमा केही ढिलाइ भएको जानकारी दिँदै साउन १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य अब थप १५ दिनभित्र पूरा गर्ने गरी काम भइरहेको बताए । उनका अनुसार धेरै स्थानमा पोलमा रहेका तार कसको स्वामित्वका हुन् भन्ने पहिचान गर्न कठिनाइ भएको, कतिपय तारमा सेवा प्रदायकको पहिचान खुल्ने ट्याग नभएको तथा सडक क्षेत्रमा दिउँसो काम गर्न नपाउने व्यवस्थाका कारण पनि काम प्रभावित भएको छ ।


    हाल पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा तार हटाउने कार्य तीव्र रूपमा भइरहेको छ भने काठमाडौँ महानगरपालिकाले प्राथमिकतामा राखेका अन्य स्थानमा पनि चरणबद्ध रूपमा व्यवस्थापन भइरहेको प्राधिकरणले जनाएको छ । साथै, सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई आफ्ना तारमा संस्थाको स्पष्ट पहिचान खुल्ने ट्याग अनिवार्य रूपमा राख्न निर्देशन दिइएको छ ।


    सरकारले गत असार ३१ गते नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पानलाई एकीकृत कार्ययोजना बनाएर साउन दोस्रो साताभित्र पहिलो चरणको काम सम्पन्न गर्न निर्देशन दिएको थियो । त्यसअघि जेठ २८ गते दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विभिन्न छ क्षेत्रमा चरणबद्ध रूपमा अव्यवस्थित तथा प्रयोगविहीन तार हटाउन निर्देशन दिएको थियो ।


    अव्यवस्थित तारका कारण नागरिकको सुरक्षामा जोखिम बढ्नुका साथै सहरी सौन्दर्यसमेत प्रभावित भएको छ । यो समस्या निराकरण गर्न सरकारले अभियानकै रुपमा घोषणा गरी समयबद्ध, समन्वित र परिणाममुखी बनाउँदै राजधानीलाई सुरक्षित, व्यवस्थित र सुन्दर बनाउने लक्ष्यका लिएको छ ।

  • पूर्वी नेपालमा विद्युतकाे आपूर्ति सुनिश्चित गरिँदै

    पूर्वी नेपालमा विद्युतकाे आपूर्ति सुनिश्चित गरिँदै

    ९ साउन, काठमाडाैं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको छ ।


    विराटनगरलगायत पूर्वी क्षेत्रमा पटक–पटक विद्युत अवरुद्ध हुने र झ्याप्प–झ्याप्प बत्ती जानेबारे जनगुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिएका थिए ।

    सोही निर्देशनअनुसार प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख तथा उपकार्यकारी निर्देशक राजन ढकालसहितको टोली पूर्वी क्षेत्रमा पुगेको हो ।


    प्राधिकरणको उच्च नेतृत्वले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ र सुनसरीलगायतका जिल्लाका वितरण शाखा प्रमुखहरूसँग विद्युत आपूर्तिको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे छलफल गरेको छ । प्रादेशिक कार्यालयमा २४ जना कार्यालय तथा केन्द्र प्रमुखसँग भएको समन्वयात्मक बैठकमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।


    टोलीले ट्रान्सफर्मर मर्मत कार्यशालाको निरीक्षण गर्नुका साथै दुहबी ग्रिड महाशाखाअन्तर्गतको दुहबी सबस्टेसनको अवस्था अवलोकन गरी आवश्यक तयारीलाई तीव्र बनाउन निर्देशन दिएको छ ।


    त्यसैगरी, सुनसरीको बर्जुस्थित १३२ केभी सबस्टेसन निर्माण तीन महिनाभित्र सम्पन्न गर्ने गरी कर्मचारी र निर्माण कम्पनीलाई स्पष्ट कार्यादेश दिइएको छ । मोरङको केरङस्थित सबस्टेसन पनि एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका बनाएर निर्माण कार्य अघि बढाउन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

    दुवै सबस्टेशन रणनीतिक रुपमा महत्वपूर्ण रहेकाले आवश्यक समन्वय, सहजीकरण गर्न कर्मचारीलाई निर्देशन दिइएको छ । साथै पर्याप्त मजदूर परिचालन गर्न ठेकेदार कम्पनीलाई समेत निर्देशन दिइएको छ ।


    प्राधिकरणका अनुसार पूर्वी क्षेत्रमा सञ्चालित अन्य आयोजना, प्रादेशिक कार्यालय तथा वितरण शाखाको अनुगमनसमेत जारी छ । विद्युत सेवालाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन कर्मचारीलाई आवश्यक समन्वय, सहजीकरण र जिम्मेवारीपूर्वक काम गर्न प्रोत्साहित गरिएको प्राधिकरणले जनाएको छ।

  • नुवाकोटको विद्युत् समस्या समाधान गर्न निर्देशन

    नुवाकोटको विद्युत् समस्या समाधान गर्न निर्देशन

    काठमाडौँ, ८ साउन : नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोट जिल्लाको समग्र विद्युत् आपूर्ति अवस्था, विद्युत् पूर्वाधार तथा नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रवाहको अवस्थाबारे जानकारी लिदै सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

    सञ्चारमन्त्री डा. तिमिल्सिनाले आज नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणसँग छलफल गदै जिल्लामा विद्युत् आपूर्तिको अवस्था, वितरण प्रणाली, आवश्यक पूर्वाधार, सेवा प्रवाहमा देखिएका समस्या तथा तिनको समाधानका थालिएका पहलबारे विस्तृत जानकारी लिए ।

    छलफलका क्रममा उनले जिल्लावासीबाट पटक–पटक विद्युत् ‘झ्यापझ्याप’ जाने (बारम्बार विद्युत् अवरुद्ध हुने) समस्याबारे गुनासो आउने गरेकाले यसलाई प्राथमिकताका साथ समाधान गर्न निर्देशन दिए । विद्युत् आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन आवश्यक प्राविधिक सुधार तथा व्यवस्थापनका काम तत्काल अघि बढाउन भनिएको छ ।

    सञ्चारमन्त्री तिमिल्सिनाले नागरिकको माग र आवश्यकता अनुसार ट्रान्सफर्मर, विद्युत्‌का पोल, तार तथा अन्य आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिदै जिल्लाको वास्तविक आवश्यकता अनुसार विद्युत् पूर्वाधार पर्याप्त भए–नभएको मूल्याङ्कन गरी आवश्यक स्थानमा तत्काल विस्तार गर्नुपर्ने बताए ।

    उनले पहिरो, प्राकृतिक विपद् वा अन्य कारणले ढलेका विद्युत्‌का पोल तत्काल प्रतिस्थापन गरी अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्नसमेत निर्देशन दिए । साथै जोखिमपूर्ण अवस्थामा रहेका झुन्डिएका तथा अव्यवस्थित विद्युत्‌का तारको व्यवस्थापनलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।

    जिल्लाका केही स्थानमा नेपाल टेलिकमका टावरसम्म विद्युत् पहुँच नपुग्दा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको विषयमा समेत मन्त्री तिमिल्सिनाले चासो व्यक्त गरे । दुरसन्चार सेवा प्रभावकारी बनाउन आवश्यक स्थानमा विद्युत् विस्तार गरी टेलिकमका टावरमा नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न आग्रह गरे ।

    उनले विद्युत् सेवा केवल बत्ती बाल्ने विषय मात्र नभई शिक्षा, स्वास्थ्य, सञ्चार, डिजिटल सेवा, व्यापार तथा दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएको आधारभूत सेवा भएकाले नागरिकले सहज, सुरक्षित र गुणस्तरीय सेवा पाउने वातावरण बनाउन प्राधिकरणले सक्रिय रूपमा काम गर्नुपर्ने बताए ।

    छलफलका क्रममा नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणले जिल्लामा विद्युत्‌को ठूलो प्रकृतिको समस्या नरहेको जानकारी दिए ।उनका अनुसार केही स्थानमा अझै पुराना नाङ्गा तार प्रयोगमा रहेकाले त्यस्ता क्षेत्रमा क्रमशः कालो (इन्सुलेटेड) तार प्रतिस्थापन गर्ने प्रक्रिया अघि बढाइनेछ ।

    प्रमुख रमणले आवश्यक पूर्वाधार निर्माण तथा सेवा सुधारका लागि बजेटको अभाव नरहेको उल्लेख गर्दै नागरिकले गुनासो गरेका स्थानमा तत्काल प्राविधिक टोली परिचालन गरी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले हाल एकल फेज (सिंगल फेज) र तीन फेज (थ्री फेज) विद्युत् जडानका अधिकांश सेवाहरू एउटै दिनमा उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए । त्यसैगरी, उद्योग तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक ‘टाइम अफ डे (टिओडी) मिटर’ जडानको सेवा अधिकतम दुई दिनभित्र उपलब्ध गराउने गरी सेवा प्रवाहलाई थप छिटो र प्रभावकारी बनाइएको उनको भनाइ थियो ।


    छलफलमा नुवाकोटमा विद्युत् पूर्वाधारको सुदृढीकरण, सेवा प्रवाहमा देखिएका समस्या तत्काल समाधान, जोखिमयुक्त संरचनाको व्यवस्थापन तथा दूरसञ्चार सेवासँग सम्बन्धित विद्युत् आपूर्तिलाई थप भरपर्दो बनाउने विषयमा विशेष जोड दिइएको थियो ।

  • सरकारले बन्द गर्यो दुई लाख बढी वेबसाईट तथा एप

    सरकारले बन्द गर्यो दुई लाख बढी वेबसाईट तथा एप

    ८ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ।
    सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमै अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथामको विषय समेटेको थियो। कार्यसूचीको ४२ औँ बुँदामा भनिएको छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने।’
    सोही निर्णयअनुसार त्यतिखेर नेपालमा सञ्चालित सबै सट्टेबाजी वेबसाइट बन्द गरिएको थियो। यस्ता वेबसाइट बन्द भएपछि पनि नयाँ नाममा खुल्ने क्रम जारी रहन्छ।

    यो वर्षको फिफा विश्वकप आयोजना भएयता फेरि दुई लाख २३ हजार ५६८ त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। विश्कपका बेला यस्ता बेटिङ एपको प्रयोग बढ्नसक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि यसमा विशेष चासो देखाएपछि प्राधिकरणले तदारुकताका साथ कारबाही अगाडि बढाएको हो। प्राधिकरणले यसका लागि छुट्टै टाक्स फोर्स पनि गठन गरेको छ।


    टाक्स फोर्समा रहेका दूरसञ्चारका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप शुरु भएपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी)का प्रतिनिधिहरुलाई प्राधिकरणमै राखेर त्यस्ता वेबसाइटलाई बन्द गर्ने काम गरिएको थियो।


    आईएसपीसँगको सहकार्यमा त्यस्ता वेबसाइट चल्ने यूआरएललाई ब्लक गरिने सहायक निर्देशक महतोले बताए । उनका अनुसार यति धेरै वेबसाइट एकएक गरेर खोज्न कठिन हुने भएको अधिकार प्रदत्त विभिन्न संस्था तथा निकायले पहिचान गरेर राखेका त्यस्ता बेटिङ साइट तथा अवैधानिक वित्तीय कारोबार हुने वेबसाइटहरुलाई आईएसपीसँगको सहकार्यमा बन्द गरिन्छ।


    यसमा पनि एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खुलिरहने चुनौती हुन्छ। यस्तो अवस्थामा जति नयाँ खुल्दै जान्छन् त्यतिलाई बन्द गर्दै जानुपर्छ। यसका लागि ‘थ्रेड इन्टिेलिजेन्स टुल’ प्रयोग गरेर हन्टिङ गर्ने गरिन्छ। यसका लागि पनि छुट्टै जनशक्तिको व्यवस्था गरिएको उनको भनाइ छ।
    कसैलाई यस्ता अवैधानिक वेबसाइटबारे थाहा भए github.com/NTA-OPM लिंकमा अपडेट गराउन सकिने पनि प्राधिकरणले जनाएको छ।

  • ऊर्जा व्यापारमा ऐतिहासिक कीर्तिमान: भारत र बङ्गलादेश निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड

    ऊर्जा व्यापारमा ऐतिहासिक कीर्तिमान: भारत र बङ्गलादेश निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड

    ७ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणद्वारा सार्वजनिक आर्थिक वर्ष २०८१/०८२ र समीक्षा वर्ष २०८२/०८३ को क्रस-बोर्डर विद्युत् आयात-निर्यातको तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको छ। समीक्षा वर्ष २०८२/०८३ मा भारत तथा बङ्गलादेशतर्फको विद्युत् निर्यातबाट नेपालले कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशतले बढी हो।

    प्राधिकरणको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो। तर समीक्षा वर्ष २०८२/०८३ मा निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ। भारतीय खुला बजार (IEX-DAM, IEX-RTM, NVVN) तथा बङ्गलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत समीक्षा वर्षमा औसत ७.५६ रुपैयाँ प्रति युनिटका दरले बिजुली बिक्री गरी यो ऐतिहासिक आम्दानी हासिल भएको हो।

    निर्यात आम्दानीमा अभूतपूर्व वृद्धि हुँदा समीक्षा वर्षमा बाह्य स्रोतबाट हुने विद्युत् आयात भने उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो। तर समीक्षा वर्ष २०८२/०८३ मा आयात परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ। आयात परिमाण घटेसँगै समीक्षा वर्षमा कुल आयात खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशतले कम हो।

    समीक्षा वर्ष २०८२/०८३ मा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको निर्यात आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको कुल आयात खर्च कटाउँदा नेपालले विद्युत् व्यापारबाट मात्रै कुल १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत (Net Trade Surplus) हासिल गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा यस्तो खुद बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्र रहेकोमा समीक्षा वर्षमा यो बचत ३१३ प्रतिशत (करिब चार गुणाभन्दा बढी) ले वृद्धि भएको छ।

    देशभित्रै जलविद्युत् उत्पादनमा भएको वृद्धि, सीमापार प्रसारण लाइनको विस्तार र प्रभावकारी ऊर्जा व्यवस्थापनका कारण नेपाल दक्षिण एसियाली क्षेत्रमै एक सबल, आत्मनिर्भर र नाफामूलक ऊर्जा निर्यातक राष्ट्रको रूपमा स्थापित भएको पुष्टि हुन्छ।

  • कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


    काठमाडौँ, ६ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ ।

    बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ ।

  • टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

    टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

    काठमाडौँ, ५ साउन : नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पुर्याउने अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेँसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ ।

    भौगोलिक रूपमा अतिविकट हुम्लाको नाम्खा गाउँपालिकास्थित केर्मी टावर सञ्चालनमा आएसँगै नाम्खा गाउँपालिका–२ र ४ अन्तर्गतका केर्मी, च्यादुक र चालागाउँका साथै सिमकोट–हिल्सा सडकखण्ड, तातोपानी खोला पर्यटकीय क्षेत्र, स्थानीय स्वास्थ्य एकाइ, सरकारी कार्यालय, विद्यालय तथा गुम्बाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

    त्यसैगरी, बारा जिल्लाको मधुरीजाब्दी टावरबाट इटहर, औलिया, बेलाही, सिर्सिया, कलैयामाईलगायत क्षेत्रका चारवटा विद्यालय क्षेत्र र भगवानपुर टावरबाट पटेर्वा, हरिहरपुर, हर्नैयाचोक, सिम्रौनगढ क्षेत्रका पाँचवटा विद्यालय क्षेत्र आसपासका बस्तीहरू लाभान्वित भएका छन् ।

    रसुवाको टिमुरेस्थित टावरबाट उत्तरी सीमानाका आसपासका बस्तीहरू लाभान्वित भएका छन् भने नुवाकोटको जिम्नाङ टावरबाट दुप्चेश्वर गाउँपालिकाका वडा नं ३ र ४ तथा बाहुनबेँसी टावरबाट तादी, लिखु र चौघडा क्षेत्रका बासिन्दाले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै सो क्षेत्र आसपासका बस्तीहरू लाभान्वित भएका छन् ।

  • केही स्थानमा भारी वर्षाको सम्भावना

    केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, ५ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

  • ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा


    काठमाडौँ, ४ साउन : जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ । जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ ।

    विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ । सो अवधिमा नेपालभर औसत ११.७ मिलिमिटर वर्षा मापन गरिएको छ । पछिल्लो २४ घण्टामा कपिलवस्तुको पथरकोटामा सबैभन्दा धेरै १६७.० मिलिमिटर वर्षा भएको छ

    अधिकतम तापक्रम रामेछापको मन्थलीमा ३५.७ डिग्री सेल्सियस मापन गरिएको छ भने न्यूनतम तापक्रम मनाङको हुम्देमा ९.६ डिग्री सेल्सियस छ । विभागका मौसमविद् डेविट ढकालका अनुसार मनसुन सक्रिय रहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना कायम छ । विशेष गरी पहाडी तथा तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

  • कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

    कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

    काठमाडौँ, ३ साउन । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ । उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलसतह सोमबारसम्म सतर्कता तह पार गर्नसक्ने सम्भावना रहेको जनाएको विभागले जनाएको छ ।

    विभागका बाढीविद् सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव उल्लेख्य बढ्नसक्ने बताइन् । “आज साँझसम्म कोशी नदीको जलसतह चार दशमलव ७८ मिटर पुगेको छ र बहाव बढ्दो क्रममा छ । आज राति पनि उपल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेकाले सोमबार बिहानसम्म नदीले छ मिटरको सतर्कता तह पार गर्न सक्छ”, उनले भनिन् ।

    विष्टका अनुसार नदीको जलसतह छ मिटर पुगेमा सतर्कता तह र सात मिटर पुगेमा खतरा तह पार गर्नेछ । नदी तटीय क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका ५२ वटा ढोका खोल्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए ।

    उनले बाढीको अवस्था निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार पूर्वतयारी तथा प्रतिकार्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको बताए । विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

    भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

    काठमाडौँ, २ साउनः काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले यहाँ आज र भोलि अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेर काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई सावधानी अपनाउन अनुरोध गरेको हो ।

    सकेसम्म राति यात्रा नगर्न, अत्यावश्यक भएमा मौसमी विवरणमा आफूलाई अद्यावधिक गर्न र सडकको अवस्थाबारे स्थानीय प्रशासनबाट पूर्वजानकारी लिएरमात्र सवारीसाधन सडकमा निकाल्न उक्त कार्यालयले यात्रा सचेतना जारी गरेको हो ।

  • आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ, २ साउनः जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ ।

    आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।


    विभागका अनुसार सम्भावित वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनु पर्नेछ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने भएकाले विभागका पछिल्ला मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपातसमेत हुनसक्ने विभागले जनाएको छ । आज राति पनि देशभर अधिकांश स्थानमा बदली रही पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षासम्म हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

  • नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

    नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

    काठमाडौँ, १ साउन । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले शुक्रबार सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला परेको निष्कर्ष निकालेको छ ।


    स्याटेलाइट ब्याण्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर सञ्चार मन्त्रालयले २०८३ जेठ २२ गते अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले शुक्रबार मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा विभिन्न अवधिमा भएका खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्था उल्लङ्घन भएको तथा त्यसबाट नेपाल टेलिभिजनलाई आर्थिक नोक्सानी पुगेको उल्लेख छ । जसबाट करिब रु २० करोड ६१ लाख ७३ हजार ४६९ बराबरको हानीनोक्सानी भएको देखिएको प्रतिवेदनमा जनाइएको छ ।


    प्रतिवेदनअनुसार स्याटेलाइट ब्याण्डविथ भाडा खरिदका क्रममा प्रतिस्पर्धात्मक प्रक्रिया नअपनाई पुरानै दररेटमा सम्झौताको म्याद थप गरिएको, सेवा सुरु हुनुअघि नै भाडा भुक्तानी गरिएको, सेवा सुरु भएपछि पनि बढी रकमको बिल भुक्तानी गरिएको तथा लागत अनुमान अस्वाभाविक रूपमा बढाई आवश्यकताभन्दा बढी ब्याण्डविथ खरिद गरिएको पाइएको छ । सन् २०१२ मा प्राविधिक रुपमा असफल बोलपत्रदातालाई नै सेवा खरिदका लागि छनौट गरिएको गम्भीर विश्लेषणसहितको प्रतिवेदन समितिले मन्त्रालयलाई बुझाएको छ ।

    त्यस्तै, प्रयोग गरिरहेको स्याटेलाइटको ‘डिजाइन लाइफ’ सकिने बेलामा सोहि सेवा प्रदायकसँग थप १० मेगाहर्ज ब्याण्डविथ खरिद गर्नेगरी सम्झौता गरिएको प्रतिवेदनले औंल्याएको छ ।


    यस्ता कार्यका कारण विभिन्न अवधिमा नेपाल टेलिभिजनलाई आर्थिक क्षति पुगेको अध्ययन समितिले उल्लेख गरेको छ । त्यस्तै, स्याटेलाइट ब्याण्डविथको भुक्तानी प्रक्रियामा नेपाल सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने कर तथा अन्य राजस्व दायित्वसमेत पूर्ण रूपमा पालना नभएको प्रतिवेदनमा उल्लेख छ । यसले वित्तीय अनुशासन र राजस्व व्यवस्थापनमा समेत गम्भीर कमजोरी देखिएको समितिको निष्कर्ष छ ।


    अध्ययन समितिले सन् २०१२ को मूल सम्झौतादेखि त्यसपछिका पूरक सम्झौतासम्म संलग्न उच्च व्यवस्थापनका सदस्य तथा सञ्चालक समितिका पदाधिकारीले संस्थाको हितविपरीत निर्णय गरेको देखिएको उल्लेख गरेको छ । प्रतिवेदनमा उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपाल टेलिभिजनलाई हानि पुग्ने गरी निर्णय गरेको भन्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउनका लागि सिफारिस गरिएको छ । सञ्चालक समितिले निर्णयमा हेलचक्य्राइँ गर्दा सन् २०२२ जुन ६ मा नेपाल टेलिभिजनको सबै च्यानल करिब ३० मिनेट प्रशारण बन्द भएको पनि प्रतिवेदनमा जनाइएको छ ।


    त्यस्तै, नेपाल टेलिभिजनभन्दा बाहिरबाट सञ्चालक समितिमा नियुक्त भएका पदाधिकारीलाई संस्थाभित्रका उच्च व्यवस्थापनबाट यथार्थपरक सूचना उपलब्ध नगराइएको तथा मन्त्रालय र नेपाल टेलिभिजनका प्राविधिक कर्मचारीले आफ्नो विज्ञताअनुसार जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको पनि प्रतिवेदनले औँल्याएको छ । लागत अनुमान तयार गर्ने क्रममा भएको लापरबाही तथा अस्वाभाविक निर्णयले संस्थालाई गम्भीर आर्थिक भार परेको निष्कर्ष अध्ययन समितिको छ ।


    नेपाल टेलिभिजनले आफ्ना च्यानल भू–उपग्रहमार्फत प्रसारण गर्न सन् २००२ देखि विदेशी स्याटेलाइट ब्याण्डविथ सेवा प्रदायक कम्पनीसँग निरन्तर रूपमा भाडा सम्झौता गर्दै आएको छ । यस अवधिमा च्यानल थप गर्ने, स्ट्यान्डर्ड डेफिनेसन (एसडी)बाट हाई डेफिनेसन (एचडी) मा स्तरोन्नति गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिदसम्बन्धी निर्णयहरूमा विभिन्न समयमा प्रश्न उठ्दै आएका थिए ।

    प्रतिस्पर्धा बिनै खरिद, प्रक्रियागत अनियमितता, अनावश्यक आर्थिक भार, वित्तीय अनुशासन उल्लङ्घन तथा स्वार्थको द्वन्द्वजस्ता विषय देखिएको निष्कर्षसहित प्रतिवेदनले सम्बन्धित व्यक्तिमाथि कानुनबमोजिम आवश्यक कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

  • देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    काठमाडौँ, १ साउनः देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मधेस र कोशी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि छ ।

    महाशाखाका अनुसार देशका पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति पनि देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस र कोशी प्रदेशका पहाडी तथा तराईका साथै कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा तथा हिमपात हुने छ ।

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भूभाग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भाग तथा लुम्बिनी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

    भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

  • एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा

    एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा

    सिड्नी, ३३ असार (रासस–एएफपी) । अष्ट्रेलियाले “आर्टिफिसियल इन्टेलिजेन्स” (ए आई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवाश्यक कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गरेका छन् । सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धि भाषणमा, अल्बेनिजले एआईमाथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हित तर्फ अघि बढाउने तरिका अपनाउन सकिने बताएका छन् ।


    एआईमा विश्वास निर्माण गर्न र राष्ट्रिय सुरक्षाको रक्षा गर्न अर्को वर्ष पेस गरिने प्रस्तावित नयाँ कानुनबारे छलफल गर्न अस्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरूबीच छलफल हुने जनाइएको छ । अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्द लगाउन अन्य देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै उहाँले तर अस्ट्रेलियाको सन्दर्भमा एआईलाई आकार नियमन गर्ने चुनौती अझै ठूलो भएको जनाइएको छ ।

    अमेरिकी स्टार्टअप एन्थ्रोपिकले एआई मोडेलहरूको प्रशिक्षणमा सहयोग गर्न प्रतिलिपि अधिकार कानुन परिवर्तन गर्न अष्ट्रेलियाका अधिकारीहरूसँग समन्वय गरेको कुरा यस हप्ता बाहिर आएपछि अल्बनिजको घोषणा आएको हो । यसैबीच सङ्गीतकार, लेखक तथा प्रकाशकहरूले यस्तो दबाबको प्रतिरोध गर्न र आफ्नो कामको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् ।

    कुनै पनि कम्पनीले कलाकारको नियन्त्रणबिना एआई निर्माण गर्न वा तालिम दिन अस्ट्रेलियाली पुस्तक, सङ्गीत, कला वा समाचार प्रयोग गर्नु नहुने बताउदै यस्ता कार्यहरु गौर कानूनी भएको उनले बताएका छन् । सरकारी तथ्याङ्क अनुसार मार्च सम्मका तीन महिनामा देशको आर्थिक वृद्धिमा डाटा सेन्टरमा भएको लगानी सबैभन्दा ठुलो योगदान भएको जनाइएको छ । अल्बनिजले सरकारले अष्ट्रेलियाको रोजगार बजारमा एआईको प्रभाव अहिलेसम्म नदेखेको बताएका छन् । सरकारले आफ्नो विभागको नीति निरीक्षण गर्न समर्पित कार्यालयसहित एआइ प्रति आफ्नो प्रतिक्रिया अगाडी बढाउने उनले बताए ।

  • ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    चितवन, ३२ साउनः चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि)गरी रेडियो कलर लगाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्ट गरी घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ । त्यसपछि दाह्रा काटेर छाडिएको हो ।

    रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जिपिएस ट्र्याकिङमार्फत गतिविधि निगरानी गर्न सकिने उहाँले बताए । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसहितको टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो ।

    गत असार २० गते भरतपुर–२३ मा सोही हात्तीको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले हात्तीको खोजी र निगरानी बढाएको थियो । प्रतिकूल मौसम र घना झाडीका कारण हात्तीलाई नियन्त्रणमा लिन समय लागेको निकुञ्जले जनाएको छ । निकुञ्जले स्थानीय बासिन्दालाई सचेत रहन, जारी सूचनाको पालना गर्न र जङ्गली हात्ती देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ ।

  • सिसी क्यामेराको निगरानीमा भरतपुर

    सिसी क्यामेराको निगरानीमा भरतपुर

    चितवन, ३२ असारः भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा २९ वटै वडामा सिसी क्यामेरा जडान गरेको छ ।महानगरपालिकाले कुल ४१८ वटा सिसी क्यामेरा जडान गरेको सूचना प्रविधि अधिकृत विकल्प काफ्लेले जानकारी दिए । उनका अनुसार महानगरको सहरी क्षेत्रमा बढी र ग्रामीण क्षेत्रका सडकमा आवश्यकताअनुसार क्यामेरा जडान गरिएको छ ।

    एउटा वडामा आवश्यकताअनुसार आठदेखि २० वटासम्म क्यामेरा जडान गरिएको छ । महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ५८ लाख २० हजार ६५९ खर्च गरी क्यामेरा जडान गरेको हो । महानगरले पहिलोपटक आह्वान गरेको बोलपत्र प्राविधिक मूल्याङ्कनमा असफल भएपछि पुनः बोलपत्रमार्फत क्यामेरा जडान गरिएको जनाएको छ । जडान गरिएका क्यामेरामध्ये आठ वटा गति मापन गर्ने र चार वटा स्वचालित नम्बर प्लेट पहिचान गर्ने छन् । त्यस्तै, ३६० डिग्री घुमाउन र जुम गर्न मिल्ने नौ वटा छन् ।

    गति मापन र नम्बर प्लेट पहिचान गर्ने क्यामेरा भरतपुर महानगरपालिका प्रवेश गर्ने नाकामा राखिएका छन् । मानिसको आवतजावत र भीडभाड बढी हुने मुख्य सहरी क्षेत्रमा जडान गरिएको क्यामेरा प्रभावकारी देखिएको छ । प्रहरीको अध्ययनका आधारमा संवेदनशील क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको हो । साथै, नेपाल टेलिकमको तार प्रयोगका लागि टेलिकमसँग सम्झौता भएको छ ।

    महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार नेपाल टेलिकम भरतपुरको जिपिएन नेटवर्क प्रयोग गरेबापत वार्षिक रु ४७ लाख भुक्तानी गर्ने गरी सम्झौता गरिएको छ । सिसी क्यामेराको मनिटर जिल्ला प्रहरी कार्यालयमा रहेको छ । यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने, सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्ने, अपराध नियन्त्रण तथा शान्तिसुरक्षामा प्रभावकारी भूमिका खेल्ने महानगरको विश्वास छ । महानगरपालिकाले समग्र सहरी क्षेत्रलाई लक्षित गरी सिसी क्यामेरा जडान गरिएको जनाएको छ ।

  • राजधानीको सौन्दर्य बढाउने प्रयासः दुई साताभित्र अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन

    राजधानीको सौन्दर्य बढाउने प्रयासः दुई साताभित्र अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन

    काठमाडौँ ३१ असारः काठमाडौँ उपत्यकामा वर्षौंदेखि सडकका खम्बामा गुजुल्टिएका र सडकपेटीमा लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापन गर्न सरकारले समयसीमासहितको कार्ययोजना बनाएर अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा आज ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय अन्तरनिकाय बैठकले नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आईस्पानलाई एकीकृत कार्ययोजना बनाएर साउन दोस्रो साताभित्र पहिलो चरणमा उपत्यकाका छ स्थानका प्रयोगविहीन तार हटाउन निर्देशन दिएको हो ।

    बैठकले तार व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले नेतृत्व निर्वाह गर्ने, सबै सेवा प्रदायकले आफ्ना तारमा स्पष्ट पहिचान खुल्ने ‘ट्याग’ अनिवार्य रूपमा राख्ने, सम्बन्धित निकायबीच नियमित समन्वय कायम गर्ने तथा कामको प्रगतिको नियमित समीक्षा गर्दै नागरिकले परिणाम महसुस गर्नेगरी काम गर्ने निर्णय पनि गरेको छ ।

    अव्यवस्थित तारका कारण नागरिकको सुरक्षामा जोखिम उत्पन्न हुनका साथै सहरी सौन्दर्यसमेत प्रभावित भएकाले पहिलो चरणमा अब त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोँगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी छ स्थानमा तार व्यवस्थापन हुनेछ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ २८ गते १५ दिनभित्र तार व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरेको भए पनि अपेक्षित प्रगति हुन नसकेपछि आजको बैठकमा त्यसको समीक्षा गरिएको थियो । बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले अव्यवस्थित तारको समस्या सबै निकायको साझा कमजोरीका कारण सिर्जना भएको बताउँदै अब समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने, “यो हामी आफैँले सिर्जना गरेको समस्या हो । कतै न कतै सबै निकायका कमजोरी छन् । पन्ध्र दिनभित्र तार व्यवस्थापन गर्ने सूचना जारी भएको थियो तर अपेक्षाअनुसार काम हुन सकेन । अब तत्काल के गर्न सकिन्छ, त्यहीबाट सुरु गरौँ ।”

    मन्त्री तिमिल्सिनाले प्रयोगविहीन केबल तत्काल हटाउन निर्देशन दिँदै त्यसका लागि आवश्यक सहयोग कुन निकायबाट चाहिन्छ वा कहाँ समस्या छ भन्ने जानकारी मन्त्रालयलाई दिन आग्रह गरे । “तार झुण्ड्याएपछि त्यसलाई हटाउने जिम्मेवारी पनि सम्बन्धित सेवा प्रदायककै हो। नागरिकले तत्काल परिणाम चाहेका छन् । समस्या समाधानमा ढिलाइ गर्ने छुट कसैलाई छैन,” उनले भने ।


    उनले नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी नियमन गर्दै सबै निकायबीच समन्वय कायम गर्न तथा कुन क्षेत्रमा कहिले काम गर्ने भन्ने स्पष्ट समयसीमासहितको एकीकृत कार्ययोजना तयार गर्न निर्देशन दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अव्यवस्थित तार व्यवस्थापनका लागि सबै निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए । कसैलाई अप्ठ्यारो पार्ने उद्देश्य नभई दीर्घकालीन समाधान खोज्ने लक्ष्यका साथ सरकारले पहल गरिरहेको उनको भनाइ थियो ।

    “हामी सबैले एउटै समस्या र चुनौती भोगिरहेका छौँ । त्यसलाई सबै मिलेर समाधान गर्नुपर्छ । नियामक र सेवाप्रदायक दुवैले यस काममा सहयोग गर्नुपर्छ,” मन्त्री श्रेष्ठले भने । उनले निश्चित क्षेत्र तोकेर पाइलट परियोजनाका रूपमा काम सुरु गरी त्यसबाट प्राप्त अनुभवका आधारमा अन्य क्षेत्रमा विस्तार गरिने बताए । साथै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने आवश्यक कानुनी सुधारका काम पनि अघि बढिरहेको जानकारी दिए ।


    इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले नेपाल विद्युत् प्राधिकरणलाई तिर्न बाँकी पोल भाडा असुलीसम्बन्धी विषयमा सरकारले छिट्टै आवश्यक निर्णय लिने पनि उनले बताए । दूरसञ्चार तथा विद्युत् तार व्यवस्थापनका लागि पूर्वाधार कम्पनी स्थापना गर्ने विषयमा सरकार सकारात्मक रहेको उल्लेख गर्दै उनले सबै निकायले व्यवहारिक रूपमा जिम्मेवारी निर्वाह गरे दीर्घकालीन समाधान सम्भव हुने विश्वास व्यक्त गरे ।


    बैठकमा आईस्पानले पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा तार हटाउने काम भइरहेको र काठमाडौं महानगरपालिकाले प्राथमिकतामा राखेका अन्य क्षेत्रमा पनि व्यवस्थापन जारी रहेको जनाएको छ । वर्षायामका कारण विद्युत् पूर्वाधारसँगै काम गर्न कठिनाइ भएको तथा दिउँसो सडक क्षेत्रमा काम गर्न अनुमति नपाउँदा लक्ष्यअनुसार काम अघि बढाउन समस्या भएको संस्थाको भनाइ थियो ।

    नेपाल विद्युत् प्राधिकरणले धेरै स्थानमा विद्युत्का तार व्यवस्थापन गरिसकेको भए पनि पोलमा रहेका विभिन्न सेवा प्रदायकका तार यथावत् रहेको जनाएको छ । ती तार कसको स्वामित्वका हुन् भन्ने पहिचान गर्नसमेत कठिनाइ भइरहेको, अधिकांश सेवा प्रदायकले पोल भाडा नियमित रूपमा नतिरेको तथा नयाँ केबल जडान गरेपछि पुराना केबल नहटाइएकाले समस्या जटिल बनेको प्राधिकरणले जनाएको छ ।

    आईस्पानका अध्यक्ष सुधीर पराजुलीले धेरै ठाउँमा पोलमा रहेका तारको स्वामित्व नै स्पष्ट नरहेकाले व्यवस्थित पहिचान आवश्यक रहेको बताए । उनले भूमिगत विद्युत् संरचना निर्माण गर्दा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारलाई समेट्ने व्यवस्था नगरिएकाले समस्या बढेको उल्लेख गरे । इन्द्रचोक र असनजस्ता घना बस्तीमा तत्काल भूमिगत केबल विस्तार सम्भव नभए पनि बानेश्वर क्षेत्रमा पाइलट परियोजनाका रूपमा इन्टरनेटका तार भूमिगत गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

    नेपाल टेलिकमले हाल दुई वटा रुटमा सक्रिय रूपमा काम भइरहेको र आगामी एक महिनाभित्र जनशक्ति दोब्बर बनाएर आफ्ना सबै तारमा ट्यागिङ गर्ने प्रतिबद्धता जनाएको छ । एनसेलले पनि आफ्ना तार क्रमिक रूपमा व्यवस्थापन गरिरहेको जनाएको छ । बैठकले प्रत्येक सेवा प्रदायकले छुट्टाछुट्टै ट्यागिङ गर्नुको सट्टा आगामी दिनमा संयुक्त टोलीमार्फत एउटै मापदण्डअनुसार ‘ट्यागिङ’ गरे काम अझ प्रभावकारी हुने निष्कर्ष निकालेको छ

    नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी छ स्थानमा चरणबद्ध रूपमा तार व्यवस्थापन जारी छ । ती क्षेत्रमा कार्यरत सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई आफ्ना पहिचान खुल्नेगरी ‘ट्याग’ राख्न निर्देशन पनि दिइएको छ ।

  • उत्तर कोरियामा बावी आँधी नजिकिँदै जाँदा उच्च सतर्कता अपनाउन आग्रह

    उत्तर कोरियामा बावी आँधी नजिकिँदै जाँदा उच्च सतर्कता अपनाउन आग्रह

    सियोल, ३१ असार (रासस–एएफपी) । उत्तर कोरियाले मङ्गलबार टाइफुन बावी नजिकिँदै गर्दा भारी वर्षा र तीव्र हावाको चेतावनी जारी गरिएको छ भने उत्तरकोरियाली नेता किम जोङले क्षति रोक्न “अधिकतम सतर्कता“ अपनाउन आग्रह गरेका छन् । प्राकृतिक प्रकोपहरूले उत्तर कोरियाको पूर्वाधार तथा अर्थतन्त्रका अत्यधिक प्रभाव पार्ने गरेको जनाइएको छ ।

    प्योङयाङको सरकारी रोडोङ सिनमुन अखबारका अनुसार मङ्गलबार र बुधवारको बीचमा पहेंँलो सागर हुँदै देशको मध्य क्षेत्र पार गर्नु अघि टाइफुन कमजोर भएर कम चापको प्रणालीमा परिणत हुने अपेक्षा गरिएको छ । उत्तर कोरियाको मौसम विज्ञान विभागले भारी वर्षा र तीव्र हावाको चेतावनी जारी गरेको जनाइएको छ ।

    उत्तरकोरियाका अधिकारी तथा श्रमिकहरुलाई यो समयमा “अधिकतम सतर्क रहन र क्षति कम गर्न आवाश्यक कदम चाल्न आग्रह गरिएको किमलाई उद्धृत गर्दै विभागले जनाएको छ । यसैबीच मङ्गलबार उत्तरकोरियाको उत्तरी र मध्य क्षेत्रका केही भागहरूमा ८०–१२० मिलिमिटर ३०–६० मिलिमिटर प्रति घण्टाको दरमा वर्षा हुने पूर्वानुमान गरिएको जनाइएको छ ।

    दक्षिणी क्षेत्रहरूमा १५०–२०० मिलिमिटर वर्षाका साथै पश्चिमी तट र केही भित्री क्षेत्रहरूमा १०–१५ मिटर प्रति सेकेन्डको दरमा हावा आउने अनुमान गरिएको छ । यसैबीच उत्तर कोरियाले विपद् रोकथाम प्रयासहरू उच्च बनाएको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले अस अघिनै रिपोर्ट गरेको थियो ।

    पछिल्लो समयमा दक्षिण कोरियामा आएको भारी वर्षाले केही क्षेत्रमा २०० मिलिमिटर सम्म माटो बगाएको जनाइएको छ । मध्य चुङचेओङ प्रान्तका सयौँ बासिन्दाहरूले प्रभावित क्षेत्र खाली गरेको जनाएका छन् । केबिएसका अनुसार ग्योंगसाङको दक्षिणी क्षेत्रमा उच्च बहावको नदीले बगाउदा एक जना व्यक्ति बेपत्ता भएको बताइएको छ ।

    सियोलको मौसम विज्ञान विभागले मङ्गलबार देखि बुधवार सम्म देश भरि वर्षाको पूर्वानुमान गर्दै मध्य क्षेत्र र दक्षिणी प्रान्त जियोल्लामा भारी वर्षाको पूर्वानुमान गरिएको छ । वैज्ञानिकहरूले मानवीय क्रियाकलापका कारण भएको जलवायु परिवर्तनले चरम मौसमी जोखिमलाई बारम्बार, निम्त्याउने गरेको जनाएका छन् ।

    गत वर्षको गर्मी दक्षिण कोरियाको रेकर्डमा सबै भन्दा तातो थियो, भने दुवै कोरियाहरूले आफ्नो सबै भन्दा तातो समय गत जुन महिनामा रेकर्ड गरेको जनाइएको छ । यस वर्षको एल निनोको पुनरागमन, एसियाका केही भागहरूमा गर्मी, खडेरी र भारी वर्षासँग जोडिएको प्राकृतिक ढाँचाले जोखिम बढाएको जनाइएको छ।

  • एआईको मागले चीनको निर्यातमा उछाल

    एआईको मागले चीनको निर्यातमा उछाल

    हङकङ, ३१ असार (रासस–एपी) । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ । अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढाएको छ ।

    चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा १९.४ प्रतिशतले बढेको निर्यात जुनमा थप तीव्र हुँदै २७ प्रतिशत पुगेको हो । आयात पनि जुनमा ३६ प्रतिशतले बढेको छ । यो मे महिनाको २७.४ प्रतिशत वृद्धिभन्दा उच्च हो । विश्लेषकहरूले इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा आयात लागत बढेकाले आयातको मूल्य पनि उल्लेखनीय रूपमा बढेको बताएका छन् ।

    जुन महिनामा चीनले एक खर्ब २५ अर्ब ६० करोड अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ । यो मे महिनाको एक खर्ब पाँच अर्ब ४० करोड डलरको तुलनामा उल्लेखनीय वृद्धि हो । क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स–प्रिचार्डले एआई प्रविधिको तीव्र विस्तारका कारण सेमिकन्डक्टरको मूल्य बढ्नु व्यापार वृद्धिको प्रमुख कारण रहेको बताउनुभयो । उहाँका अनुसार त्यसबाहेक पनि चिनियाँ उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो नै रहेको देखिन्छ ।

    विशेषगरी विद्युतीय सवारीसाधन (इभी), सेमीकन्डक्टर, इलेक्ट्रोनिक उपकरण तथा अन्य प्रविधिमूलक वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । एआईको विस्तारसँगै विश्वभर सेमिकन्डक्टर र उच्च प्रविधियुक्त उपकरणको माग बढेपछि चीनका उद्योगहरूले त्यसको प्रत्यक्ष लाभ लिइरहेका छन् ।निर्यात क्षेत्रको मजबुतीले लामो समयदेखि सुस्त रहेको चीनको रियल स्टेट, घरेलु उपभोग र लगानीमा आएको कमजोरीको प्रभाव केही हदसम्म कम गर्न सहयोग पुगेको विश्लेषण गरिएको छ ।

    भन्सार तथ्याङ्कअनुसार चालु वर्षको जनवरीदेखि जुनसम्म चीनको निर्यात वार्षिक आधारमा १७.६ प्रतिशत र आयात २६.६ प्रतिशतले बढेको छ । चीनसँगको बढ्दो व्यापार घाटालाई लिएर अमेरिका र युरोपेली मुलुकहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । उच्च भन्सार महसुललगायतका अवरोध पार गर्न चिनियाँ कम्पनीहरूले युरोपलगायत अन्य क्षेत्रमा उत्पादन केन्द्र विस्तार गरिरहेका छन् । साथै चीनले दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र अफ्रिकी बजारमा पनि निर्यात उल्लेखनीय रूपमा बढाएको छ ।

    बीएनपी पारिबास सेक्युरिटिज (चीन) का वेई लीले आगामी महिनाहरूमा निर्यात वृद्धि कायम रहने सम्भावना भए पनि यसको गति क्रमशः केही कमजोर हुन सक्ने बताए । उनका अनुसार अटोमोबाइल र एआईसँग सम्बन्धित उत्पादनको निर्यात विश्वव्यापी माग तथा विभिन्न देशका नियामकीय नीतिमा निर्भर रहनेछ ।

    जुन महिनामा दक्षिणपूर्वी एसियातर्फ चीनको निर्यात करिब ३५ प्रतिशतले बढेको छ भने युरोपेली सङ्घ (इयु) तर्फ १८ प्रतिशत र ल्याटिन अमेरिकातर्फ २८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । अमेरिकातर्फको निर्यात पनि वार्षिक आधारमा करिब १४ प्रतिशतले बढेको छ । विश्लेषकहरूका अनुसार गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च भन्सार महसुल लागू गरेपछि आएको गिरावटको आधार प्रभावका कारण पनि पछिल्लो वृद्धि देखिएको हो ।

    चीनले बुधबार अप्रिल–जुन त्रैमासिक आर्थिक वृद्धिदर सार्वजनिक गर्ने तयारी गरेको छ । चिनियाँ नेतृत्वले यस वर्ष ४.५ देखि ५ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । गत साता अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चीनको यस वर्षको आर्थिक वृद्धिदरको अनुमान ४.६ प्रतिशतमा पु¥याएको थियो भने सन् २०२७ मा ४.१ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ ।

    यद्यपि सरकारले अटोमोबाइल र घरेलु उपकरणमा ‘ट्रेड–इन’ अनुदानजस्ता कार्यक्रममार्फत उपभोक्ता खर्च बढाउने प्रयास गरिरहे पनि सुस्त आर्थिक गतिविधिका कारण धेरै चिनियाँ उपभोक्ता अझै ठूलो मूल्यका वस्तु खरिद गर्न सावधानी अपनाइरहेका छन् ।

  • कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ, ३१ असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग र मधेस तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन महाशाखाले अनुरोध गरेको छ ।

  • अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

    अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

    काठमाडौँ, ३० असारः हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई, कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    विभागले वर्षा हुने क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन अनुरोध छ ।

  • राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

    राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

    काठमाडौँ, २९ असार । राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ ।
    परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले मुलुकको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसनको सफलतापूर्वक सम्पन्न गरी राहदानी सेवा सञ्चालनमा ल्याएको हो ।

    करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ । यस्तो बृहत् सूचना प्रविधि प्रणालीको कार्यान्वयन भएपछि सुरूआतका दिनहरुमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता, राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक हुनेछ ।

    विभागले यस्ता सम्भावित अवस्थाको पूर्वतयारी स्वरूप विभागका प्राविधिक टोली एवं कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ चौबीसैँ घण्टा तयारी अवस्थामा रही प्रणालीको निरन्तर अनुगमन, परीक्षण तथा सुधारमा खटिरहनुभएको जनाएको छ । यस किसिमका समस्याहरूको शीघ्र तथा दीर्घकालीन समाधान गर्न विभाग पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको विभागले विश्वास दिलाएको छ ।

    यस नयाँ प्रणालीको सुरुआती चरणमा, राहदानी अत्यावश्यक भएका सेवाग्राहीहरूले मात्र आवेदन दिनुहुन अनुरोध गरिएको छ । यस सहयोगले नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । साथै, राहदानी सेवासम्बन्धी कुनै पनि सूचना विभाग वा मन्त्रालयको आधिकारिक माध्यमबाट प्रकाशित सूचना र समाचारलाई मात्र आधार बनाउन सम्पूर्ण सेवाग्राही अनुरोध गरेको छ ।