Category: विज्ञान प्रविधि

  • भूकम्प सुरक्षा दिवस मनाइँदै, प्रधानमन्त्रीको उपस्थितिमा विषेश कार्यक्रम

    भूकम्प सुरक्षा दिवस मनाइँदै, प्रधानमन्त्रीको उपस्थितिमा विषेश कार्यक्रम


    काठमाडौं । आज भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यस वर्ष ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको छ ।

    चन्द्रागिरि नगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृहमन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका उप-सचिव एवं प्रवक्ता ध्रुव बहादुर खड्काका अनुसार भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिनेछ ।

    उपत्यकाका तीन स्थान काठमाडौँको चन्द्रागिरी, ललितपुर र भक्तपुरमा मूख्य समारोह आयोजना हुनेछ ।

    विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २:२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार विस १९९० को भूकम्पमा परी आठ हजार ८१९ जनाको मृत्यु भएको थियो । असी हजार घर ध्वस्त भएका थिए ।

    ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८  संरचना भत्किएको थियो ।

    यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार ६७० जनाको निधन भएको थियो भने सातलाख भन्दा बढी आवासमा क्षति पुगेको थियो ।

  • मेलम्चीको पानी भोलीबाट काठमाडौंमा वितरण गरिँदै

    मेलम्चीको पानी भोलीबाट काठमाडौंमा वितरण गरिँदै

    काठमाडौं । काठमाडौं उपत्यकामा सोमवारबाटै मेलम्चीको पानी वितरणको तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा एक कार्यक्रममा मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गर्ने तयारी गरिएको छ । भोलीबाटै उपत्यकावासीको धारामा पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएइको छ । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलबाट पानी पुस २५ बाट हेडवर्क्समा पठाइएको छ ।

    पानी सुन्दरीजल आइसकेको र सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाडौंका विभिन्न भण्डार केन्द्रका लागि पानी छोडिने भएको छ । सुरुमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, केयूकेएललाई पाँच करोड लिटर पानी उपलब्ध गराइने छ । पहिलो दिन अनामनगर र मीनभवन वितरण केन्द्रबाट पानी वितरण गरिने आयोजनाले जनाएको छ ।

  • माघे संक्रान्तीबाट हिउँदे वर्षाको सम्भावना

    माघे संक्रान्तीबाट हिउँदे वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको देखिएको छ । जसका कारण पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ। आज बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु्कुहिरो लागेको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    सोमबार र मंगलबार भने देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका थोरै ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटिएको लाइन जोडियो

    डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटिएको लाइन जोडियो

    काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा विद्युत प्राधिकरणले काटेको उद्योगको बिजुली शुक्रबार मध्यराति जोडिएको छ । मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय मंगलबार गरेको थियो । प्राधिकरणले त्यसको चार दिनपछि मात्र लाइन जोडेको हो । शुक्रबार राति १-२ बजेसम्म उद्योगहरूमा लाइन जोडिएको हो । विद्युत प्राधिकरणले ६ पुसबाट धेरै बक्यौता रहेका उद्योगमा लाइन काट्न थालेको थियो । यस विवादको अध्ययन गर्न सरकारको आयोग गठन गरेको छ ।

  • अमेरिकाको चन्द्र मिसन असफल

    अमेरिकाको चन्द्र मिसन असफल

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले चन्द्रमातिर प्रक्षेपण गरेको एउटा मानवरहित निजी रकेट आफ्नो गन्तव्यमा पुग्न नसक्ने निश्चित भएको उक्त अभियानमा संलग्न प्राविधिकहरूले बताएका छन्। यसअघि फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही अनपेक्षित समस्या देखा परेको उक्त रकेट निर्माण गर्ने एस्ट्रोबटिक कम्पनीले जनाएको छ। उक्त रकेटले अमेरिकी अन्तरिक्षयान पेरग्रीन ल्यान्डर बोकेको छ।

    इन्धन चुहावटको समस्याका कारण पेरग्रीन अन्तरिक्षयानका सौर्य प्यानलहरू सूर्यतिर फर्किएर स्थिर भई बस्न सकेका थिएनन्। पेरग्रीन ल्यान्डरलाई अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले चन्द्रमामा आफूले गर्न खोजेको व्यावसायिक कामको योजनामा राखेको थियो।


    यो अमेरिकी अन्तरिक्ष अभियान आगामी महिना चन्द्रमामा पुग्ने ठानिएको थियो। त्यसो हुँदा आधा शताब्दीको अवधिपछि अमेरिकी अन्तरिक्षयानले पहिलो पटक चन्द्रमामा सुरक्षित अवतरण गर्ने थियो। तर, यस पटक अमेरिकी चन्द्र मिसन असफल हुने देखिएको छ ।

  • अनलाइनबाट जुवा खेलाउने तीन जना पक्राउ

    अनलाइनबाट जुवा खेलाउने तीन जना पक्राउ

    काठमाडौं । अनलाइनमार्फत जुवा खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरे्को छ । क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डा लगायतका एप्लिकेसनमार्फत विभिन्न खेल खेलाएर सट्टेबाजी गर्ने–गराउने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका १ घर भई काठमाडौंको कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, सर्लाहीको बागमती नगरपालिका २१ को निशानराज कार्की र सर्लाही बरहथवा नगरपालिका ११ हिरापुरा घर भई भक्तपुरको सुर्यविनायक नगरपालिका(४ अनामनगर बस्ने २५ वर्षीय निशान गौतम छन्।

    प्रहरीले उनीहरूको साथबाट अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइल बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए। उनीहरूलाई आवश्यक कारबाहिका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले बताए ।

  • नेपाल टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा बिस्तार

    नेपाल टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा बिस्तार

    काठमाडौं । नेपाल टेलिकमको फाइबर टू द होम (एफटीटीएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटीटीएच ७४ जिल्लामा पुगेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयबाटै रुकुम पूर्वको रूकुमकोट र रुकुमपश्चिमको मुसीकोटमा एफटिटिएच नेटवर्क वितरणको भर्चुअल सुरुवात गरेसँगै रुकुमपूर्व र रुकुमपश्चिमका सदरमुकाममा एकैसाथ अप्टिकल फाइबर सेवा आरम्भ भएको छ । यसबाट ग्राहकले द्रूतस्तरको इन्टरनेट, फोन र टेलिभिजन हेर्ने सुविधा प्राप्त गर्नेछन् ।

    रुकुमपश्चिमको चौरजहारी र आठबिसकोटमा यसअघि नै एफटीटीएच सेवा विस्तार गरिएको भए पनि रुकुमपूर्व भने यो सेवा विस्तार हुने नयाँ जिल्लाको रुपमा थपिएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘यो सँगै आजदेखि देशका ७४ जिल्लामा नेपाल टेलिकमको एफटीटीएच सेवा पुगेको घोषणा गर्न पाउँदा गौरव महसुस भएको छ । बाँकी तीन जिल्लामा पनि जतिसक्दो चाँडो सेवा पुर्याउन नेपाल टेलिकमलाई आग्रह गर्न चाहन्छु ।’

    अब कर्णालीका हुम्ला, मुगु र डोल्पामा अप्टिकल फाइबर पुग्न बाँकी छ । नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्र थप दुई जिल्ला मुगु र डोल्पामा एफटीटीएच सेवाको पहुँच विस्तार गर्ने योजना बार्षिक कार्यक्रममै राखेको जानकारी दिंदै मन्त्री शर्माले यो कामलाई शीघ्र रुपमा अघि बढाउन आग्रह गरिन् ।

    उनले भनिन्, ‘एकातिर ७७ वटै जिल्लामा सेवा विस्तारका लागि लाग्नुपर्ने छ भने अर्कोतिर जिल्ला सदरमुकाबाट पालिका र वडा तहसम्म सेवा विस्तारका लागि ध्यान दिनुपर्ने आवश्यकता छ ।’

    सल्यानबाट करिब एक सय किलोमिटर अप्टिकल फाइबर तानेर मुसीकोटहुँदै रुकुमकोटसम्म पुर्याएर दुवै जिल्लाका सदरमुकाममा एकैसाथ आजदेखि सेवा आरम्भ गर्न सफल भएकोमा नेपाल टेलिकम तथा यस कार्यमा निरन्तर खट्ने कर्मचारी र प्राबिधिकहरुलाई धन्यवाद दिंदै मन्त्री शर्माले द्रुत क्षमताको इन्टरनेट सेवा प्राप्त गर्न सफल भएकोमा दुवै जिल्लाका बासिन्दालाई बधाइ ज्ञापन पनि गरिन् ।

    सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिंदै उनले पछिल्लो समयमा भूकम्पबाट प्रभावित रुकुमपश्चिम, जाजरकोटलगायत १९ जिल्लामा नमूना सेवा पुर्याउने जिल्लाको रुपमा अभियान थालिएको जानकारी दिइन् ।

  • बोइङ ७३७ का नट बोल्ट नकस्दा सिकायत आएको निष्कर्ष

    बोइङ ७३७ का नट बोल्ट नकस्दा सिकायत आएको निष्कर्ष

    काठमाडौं । बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानका नट बोल्ट कसिलो गरी नकस्दा सिकायत आएको पाइएको छ । प्राविधिक टोलीको जाँचपछि यस्तो निष्कर्ष निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अलास्का एयरलाइन्सको उडिरहेको एक विमानको एक ढोका भुइँमा खसेपछि बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानहरु निरीक्षणको क्रममा बोल्टहरु अझै कस्नुपर्ने जरुरी देखिएको शिकागोस्थित युनाइटेड एयरलाइन्सले जनाएको हो ।


    गत शुक्रबार अमेरिकाको पोर्टल्याण्ड ९ओरेगान०बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानको आपतकालीन ढोका हावाको दबावमा अलग्गिएर भुइँमा खसेको थियो । उक्त घटनापछि बोइङ ७३७ म्याक्स ९ मोडेलका सबै १७१ वटा विमानहरुलाई अमेरिकाको संघीय उड्डयन प्रशासनले ग्राउन्डेड गरिदिएको छ । त्यसपछि युनाइटेड एयरलाइन्सको प्राविधिक टोलीले त्यो मोडेलका सबै विमानहरुको प्राविधिक जाँच गरेको थियो । सोही जाँचपछि ७३७ म्याक्स ९ मोडलका विमानका विभिन्न बोल्टहरुलाई अझै अलिकति कस्नुपर्ने निष्कर्ष निकालिएको बीबीसीले लेखेको छ ।

    युनाइटेड एयरलान्यसका अनुसार ती विमानहरुको डोर प्लगसँग सम्बन्धित इन्सटलेसनको समस्या पनि समाधान गरिएको छ । युनाइटेड एयरलाइन्सले विज्ञप्ति जारी गरेर भनेको छ, ‘शनिबार हामीले प्रारम्भिक जाँच गर्यौं । हामीलाई डोर प्लगको इन्सटलेसनसँग सम्बन्धित सामान्य समस्या देखियो । हामीले बोल्टहरुलाई अझै अलिकति कस्नु जरुरी छ ।’

    ‘डोर प्लग’ आपतकालीन निकासको बेला प्रयोग हुने ढोकाको एक हिस्सा हो । अलास्का एयरलाइन्सको विमानको यही हिस्सा विमान उडिरहेको बेला निस्किएर भुइँमा खसेको थियो । त्यसपछि १७१ यात्री र चालक दलका ६ सदस्यहरु रहेको उक्त विमानलाई आकस्मिक अवतरण गराउनु परेको थियो । विमानमा रहेका सबै जना सकुशल रहे । विमानबाट अलग भएको ढोका भने एक शिक्षकको बगैंचामा भेटिएको थियो ।

  • भारतले पठाएको सूर्ययान गन्तब्यमा पुग्यो

    भारतले पठाएको सूर्ययान गन्तब्यमा पुग्यो

    काठमाडौं । भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा पुगेको छ । भारतले ५ अगष्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण भएको एक सातापछि भारतले सूर्यको अध्ययनका लागि अर्को यान पठाएको थियो ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सूर्यको अध्ययन गर्नका लागि भारतको पहिलो आदित्य–एल १ आफ्नो गन्तव्यमा पुगेको छ । यसले हाम्रा वैज्ञानिकहरुको प्रयासले कठिन आन्तरिक अभियानलाई वास्ताविकतामा बदल्दैछ भन्ने देखाउने छ ।’

    यो भारतको पहिलो सूर्य मिसन हो । आदित्यको अर्थ संस्कृतमा सूर्य हो । एल १ अर्थचाहिँ पृथ्वी र सूर्यको यस्तो विन्दुको हो, जहाँ दुबै ग्रहको गुरुत्व शक्ति समान हुन्छ । यहाँ रहेको वस्तुलाई दुबैले आफूतर्फ आकर्षित गर्ने क्षमता राख्दैन । त्यही स्थानमा रहेर आदित्य एल १ ले पृथ्वीले जसरी नै सूर्यको परिक्रमा गर्ने छ । यसअघि अमेरिकी अन्तरीक्ष निकाय नासा र युरोपेली अन्तरीक्ष एजेन्सी ईएसएले पनि सौर्य मिसन पठाइसकेको छ ।

    भारतीय अन्तरीक्ष यान कुल ७ वटा ‘पे लोड’ लिएर गएको छ । यसले फाटोस्फेयर र क्रोमोस्फेयर नामले चिनिने सूर्यको सबभन्दा बाहिरी सतहको अध्ययन गर्नेछ । यसले अन्तरीक्षको मौसमबारे पनि अध्ययन गर्ने छ । अन्तरीक्षमा आउने सौर्य आँधी र त्यसको कारण पत्ता लगाउने कोसिस गर्नेछ ।

    एक पटक आफ्नो कक्षमा स्थापित भएपछि यसले सूर्यलाई निरन्तर र प्रष्ट रुपमा अवलोकन गरिरहन सक्ने भारतको अन्तरीक्ष अनुसन्धान निकाय इसरोले बताएको छ । उसले भनेको छ, ‘यसले सौर्य आँधीलाई नजिकबाट अध्ययन गर्ने र रियल टाइममा अन्तरीक्षको मौसममा के असर पर्छ भनेर जानकारी दिने छ ।’

  • पाकिस्तानले गर्यो नयाँ शक्तिशाली रकेट परीक्षण, भारत चिन्तित

    पाकिस्तानले गर्यो नयाँ शक्तिशाली रकेट परीक्षण, भारत चिन्तित

    काठमाडौं । पाकिस्तानले केही दिनअघि एकैपटक धेरैवटा क्षेप्यास्त्र प्रक्षेपण गर्ने क्षमता भएको फतह–२ रकेट सफलतापूर्वक परीक्षण गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार यो रकेट ४०० किलोमिटरको दूरीसम्म प्रहार गर्न सकिन्छ र यसमा लक्ष्यभेदन गर्न सक्ने क्षमता छ। यसअघि पाकिस्तानले सन् २०२१ को अगस्ट २४ मा परीक्षण गरेको थियो। आईएसपीआरका अनुसार ‘फतह-२’ क्षेप्यास्त्र प्रणालीमा उडानको आधुनिक क्षमता र लक्ष्यभेदन गर्न सघाउने प्रविधि प्रयोग गरिएको छ।

    लक्ष्यभेदनका लागि उन्नत प्रविधि प्रयोग गरिएकाले फतह–२ फरक क्षेप्यास्त्र भएको आईएसपीआरको तर्क छ। यो क्षेप्यास्त्रको सम्पर्क भूउपग्रहसँग हुन्छ र हावामा उडान गर्न सक्ने यसको क्षमताका कारण यो अझै बढी प्रभावशाली बनेको छ। आईएसपीआरका अनुसार प्रक्षेपण गरेपछि यो क्षेप्यास्त्र चुक्दैन।

    सैन्य अस्त्र र सामग्रीका विशेषज्ञका अनुसार फतह-२ ‘फ्ल्याट ट्र्याजक्टरी भिअकल’ हो। अर्थात् रेडारले यसलाई पत्ता लगाउन सक्दैन। रक्षा मामिला विशेषज्ञ ब्रिगेडियर (अवकाशप्राप्त) साद मोहम्मदले बीबीसीसँग कुरा गर्दै फतह २ फ्ल्याट ट्र्याजक्टरी भिअकल भएको र यसलाई रेडारमा देख्न र नष्ट गर्न असाध्यै कठिन हुने बताए।

    “बलिस्टिक क्षेप्यास्त्रको आफ्नो बाटो हुन्छ। त्यो हावामा जान्छ र त्यहाँबाट फेरि जमिनमै फर्किएर आउँछ। त्यो अवधिमा शत्रुपक्षको रेडारले क्षेप्यास्त्र पत्ता लगाउँछ र जबाफी कारबाही गर्छ जबकि त्यसको ट्र्याजक्टरी (प्रक्षेपमार्ग) फरक हुन्छ।”

    केही विशेषज्ञका अनुसार फतह २ को सफल परीक्षणपछि भारतको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसँग जुध्न यो एक प्रभावकारी हतियार बनेको छ। तर भारतले केही समयदेखि आफ्नो क्षेप्यास्त्र प्रणालीलाई झन् राम्रो बनाइरहेको कुरा यहाँ बिर्सिन हुँदैन।

    भारतले आफ्नो रक्षाप्रणालीमा लामो दूरीसम्म पठाउन सक्ने एस-४०० ट्रायम्फबाहेक स्थानीय स्तरमा निर्मित र कम दूरीसम्म पुग्ने समर र डीआरडीओले बनाएको भीशोराड्स क्षेप्यास्त्र पनि समाविष्ट गरेको छ। यो क्षेप्यास्त्रले एकदमै कम दूरीमा रहेको लक्ष्यलाई निसाना बनाउन सक्छ।

    द टाइम्स अफ इन्डियाका अनुसार भारतले ‘एल आर साम को नामबाट क्षेप्यास्त्र प्रणाली निर्माण गरिरहेको छ। यो प्रणाली रुसको एस ४०० ट्रायम्फ रक्षाप्रणालीजस्तै हो। यो प्रणालीबाट लामो दूरीसम्मको निगरानी गर्न र रेडार नियन्त्रण गर्न सकिन्छ। त्यसै गरी यसबाट १५० किमि, २५० किमि र ३५० किमिको दूरीमा वास्तविक समयमै क्षेप्यास्त्र पत्ता लगाउन र त्यसलाई नियन्त्रणमा लिने क्षमता पनि हुने छ।
    बीबीसीको सहयोगमा

  • ३.७ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

    ३.७ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

    काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम ३.७ डिग्रिमा झरेको छ । आज यो सिजनकै सबैभन्दा चिसो दिन समेत भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा हिँजो ५ डिग्रि तापक्रम रहेको थियो । देशका उच्च पहाडी भेगमा केही दिनदेखि हिमपात भैरहेको छ ।

    यसले अझै चिसो बढाउने देखिएको छ । आज पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि पानी पर्ने सम्भावना भने छैन ।

  • यूरोपेली मुलुकमा माइनस ४० डिग्रीसम्म झर्यो तापक्रम

    यूरोपेली मुलुकमा माइनस ४० डिग्रीसम्म झर्यो तापक्रम

    काठमाडौं । फिनल्यान्ड र स्विडेनमा यस वर्ष जाडो शुरु भएपछि अहिलेसम्मकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । त्यहाँको न्यूनतम तापक्रम हिजो शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेको स्विडेनको मौसम तथा जलविज्ञान संस्थानले जनाएको छ । न्यूनतम तापक्रम कम भएपछि नर्डिक क्षेत्रमा चिसो बढेको छ । चिसो र हिउँले सबै क्षेत्रमा यातायात अवरुद्ध भएको छ ।

    मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । स्विडेनमा चिसोका कारण रेल सञ्चालनका लागि धेरै समस्या भएको छ । मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्विडेनमा धेरै ठाँउमा तापक्रम माइनस डिग्रीमा झरेको जनाउँदै दक्षिणी स्विडेनमा आजसम्मका लागि हिउँ र तीव्र गतिको हावाको चेतावनी जारी गरेको छ । फिनल्यान्डका केही ठाँउमा एक हप्तासम्म तापक्रम शून्यदेखि ४० डिग्री सेल्सियससम्म झर्ने खबरमा उल्लेख छ ।

  • जापान विमान आगलागी : कम्तिमा ५ जनाको मृत्यु

    जापान विमान आगलागी : कम्तिमा ५ जनाको मृत्यु

    काठमाडौं । जापानका यातायातमन्त्रीले मङ्गलबार टोक्योको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा तट रक्षकको विमानमा सवार पाँचजनाको मृत्यु भएको जानकारी दिएका छन् । “तट रक्षकको विमानका बारेमा कप्तान भागेको र पाँचजनाको मृत्यु भएको पुष्टि भएको हामीलाई जानकारी गराइएको छ”, मन्त्री तेत्सुओ साइतोले पत्रकारहरूसँग भने ।

    जापान एयरलाइन्सको विमान धावनमार्गमा तट रक्षकको विमानसँग ठोक्किएपछि आगलागी भएको मिडिया रिपोर्टले जनाएको छ । प्रसारक एनएचकेमा तस्बिरहरूमा विमानको तल पछाडि सुन्तला रङको आगोको विस्फोट हुनुअघि विमान धावनमार्गमा अगाडि बढिरहेको देखाइएको छ ।

    एनएचकेका अनुसार एयरबस विमानमा सवार सबै तीन सय ६७ यात्री र चालक दलका १२ सदस्यलाई सुरक्षित निकालिएको छ । क्योदो समाचारअनुसार विमानमा आठ बालबालिका पनि थिए । यसअघि तट रक्षक विमानमा चालक दलका छ सदस्यमा एकजना सुरक्षित रहेको र अन्य पाँच जनाको अवस्था थाहा नभएको एनएचकेले बताएको थियो । घटनाको कारण तत्काल स्पष्ट नभए पनि टेलिभिजन रिपोर्टअनुसार एयरबस तट रक्षक विमानसँग ठोक्किएको थियो ।

    जिजी समाचार समितिका अनुसार सोमबार मध्य जापानमा गएको महाभूकम्पपछि उद्धार प्रयासमा सहयोगका लागि तट रक्षक विमान प्रस्थान गर्न लागेको थियो । तट रक्षक विमान भर्खरै मात्र उत्तरी जापानी टापु हो । रासस

  • काठमाडौंमा न्यूनतम तापक्रम ५.६ डिग्रिमा झर्यो, तराईमा हुस्सुले सास्ती

    काठमाडौंमा न्यूनतम तापक्रम ५.६ डिग्रिमा झर्यो, तराईमा हुस्सुले सास्ती

    काठमाडौं । काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम घट्ने क्रम जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस थियो ।


    उपत्यका र आसपासका क्षेत्रमा अहिले कुहिरो र हुस्सु लागेको छ । त्यस्तै, तराई–मधेसका केही ठाउँमा बाक्लो हुस्सु र कुहिरो छ । घाम लाग्दै जाँदा मौसममा क्रमिक सुधार हुँदै जाने बताइएको छ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    देशका कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली छ । यी प्रदेशका हिमाली क्षेत्रमा भने हल्का हिमपात हुने सम्भावना छ । आज राति पूर्वी पहाडी जिल्लामा मौसम आंशिक बदली हुने अनुमान छ । देशका बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।

  • हिमाल स्टीलले तिर्यो बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

    हिमाल स्टीलले तिर्यो बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

    काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न शुरु गरेको छ । ८ करोड १२ लाख रुपैयाँ बक्यौतामध्ये हिमाल आइरनले सोमवार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

    उपकार्यकारी निर्देशक सिलवालले उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि गएराति सवा ९ बजे विद्युत् लाइन जोडिएको जानकारी दिए । प्राधिकरणले उद्योगको लाइन शुक्रवार काटेको थियो । उद्योगले ३६ किस्तामा बक्यौता रकम तिर्नेछ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्ताहरुलाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ ।

    पुस ६ गतेयता प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत् लाइन काटेको थियो । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

  • सर्वाधिक सब्सक्राइब भएका युट्युव स्टार मिस्टर बिस्ट नेपालमा, के छ उनको योजना ?

    सर्वाधिक सब्सक्राइब भएका युट्युव स्टार मिस्टर बिस्ट नेपालमा, के छ उनको योजना ?

    काठमाडौं । विश्वमै दोस्रो सर्वाधिक पछ्याइएका ‘युट्युव स्टार’ मिस्टर बिस्टको टीम नेपाल आइपुगेको छ । उनले ‘सेक्रेट मिसन’का लागि आफ्नो टीम नेपाल आएको जानकारी आफ्नै युट्युव भिडियोबाट दिएका छन्। मिस्टर बिस्ट सन् २०२३ मा टि सिरिजपछि दोस्रो सर्वाधिक पछ्याइएका युट्युबर हुन् । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २२ करोड ४० लाख (२२४ मिलियन) छ ।

    उनको अर्को परोपकारी च्यानल ‘बिस्ट फिलान्थ्रोपी’लाई युट्युबमा २ करोड ५० लाख जनाले पछ्याएका छन् । विश्वभर नै उनको फ्यान फलोइङ उच्च छ । उनी परोपकारी कार्यका लागि विभिन्न मुलुकमा घुमिरहेका हुन्छन् । उनले भिडियोमा आफू टिमसहित नेपाल आइपुगेका बताएका छन् ।

    भिडियोमा उनी डेरेन नामक सहयोगीसहित हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविरमा पुगेको देखिन्छ । नेपाल आइपुगेको गोप्य कारण भने नयाँ वर्ष २०२४ मा मात्र खुलाउने उनको भनाइ छ । यद्यपि, उनको नेपालको ‘मिसन सेक्रेट’ परोपकारी कार्यबाट प्रेरित रहेको हुनसक्ने अनुमान छ ।

  • सिन्धुपाल्चोक केन्द्र भएर गयो भूकम्प

    सिन्धुपाल्चोक केन्द्र भएर गयो भूकम्प

    काठमाडौं । सिन्धुपाल्चोकमा ५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको लिस्टिकोट रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लामा पनि महसुस भएको छ ।

  • आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

    आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

    काठमाडौं । आज मुलुकको पहाडी भूभागमा आज पनि मौसम आंशिक रुपमा बदली भएको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ । अन्य भूभागमा सामान्यतया मौसम सफा रहने पूर्वानुमान छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । आइतबार र सोमबार पनि देशका हिमाली क्षेत्रसहित उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • एनसेल खरीद -बिक्रिमा कानूनी प्रक्रिया पुरा नभएको प्राधिकरणको स्पष्टोक्ति

    एनसेल खरीद -बिक्रिमा कानूनी प्रक्रिया पुरा नभएको प्राधिकरणको स्पष्टोक्ति

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी गराएको हो । जसमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्त पूँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनु पर्ने कानुनी प्रावधान पूरा नभएको उल्लेख छ ।

    नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली २०७६ को विनियम ४ (क) बमोजिम समेत आफ्ना सेयर धनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको अनुमति वा स्वीकृति लिनुपर्ने उल्लेख छ । यो कानुनको परिपालना नभएको अवस्थामा प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार कारवाही प्रक्रिया अगाडि बढाउन सक्ने समेत प्राधिकरणले स्पष्ट पारेको छ ।

    प्राधिकरणले लेखा समितिमा बताए अनुसार मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको भनी खरिद बिक्री सम्झौता र प्रेस विज्ञप्तिमार्फत गराएको जानकारीबारे आधिकारिक विवरण उपलब्ध गराउन १५ र २५ मंसिरमा पत्र लेखिएको छ । त्यसको आधिकारिक कागजात प्राप्त नभएको समेत प्राधिकरणले जनाएको छ ।

    यस कारोबारको वास्तविक सेयर खरिद मूल्यको जानकारी सेयर खरिद सम्झौताबाट स्पष्ट हुन सक्ने भएकाले सो को प्राप्ती पश्चात यकिन हुन सक्ने जानकारी समेत प्राधिकरणले लेखा समितिलाई गराएको छ । सेयर खरिद सम्झौतामा उल्लेखित रकम सन्देहात्मक देखिएमा कम्पनीको डीडीए गरी यथार्थ जानकारी लिइने समेत प्राधिकरणले जनाएको छ ।

    बिक्रीकर्ता दोहोरो कर हो वा होइन यकिन गर्ने निकाय आन्तरिक राजस्व विभाग रहेको समेत प्राधिकरणले बताएको छ । पूँजीगत लाभकरका विषय समेत सोही विभागले हेर्ने प्राधिकरणले स्पष्ट पारेको छ ।

  • ५ महिनामा भित्रिए साढे ३ हजार विद्युतीय सवारी

    ५ महिनामा भित्रिए साढे ३ हजार विद्युतीय सवारी

    काठमाडौं । सरकारले विद्युतीय गाडीमा प्रोत्सानको नीति लिएपछि त्यसको आयातमा झण्ढै ३ गुणाले वृद्धि भएको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको ५ महिनामा नेपालले ३ वटा फरक फरक इन्जिन क्षमताका ३ हजार ६७५ थान विद्युतीय कार, जीप र भ्यान आयात गरेको छ । जसको लागत ९ अर्ब २ करोड ९४ लाख ३३ हजार रुपैयाँ बराबर छ । जबकि गत वर्षको यही अवधिमा नेपालमा एक हजार ३ सय ५३ वटा मात्रै विद्युतीय कार, जीप र भ्यान भित्रिएका थिए । चालु आर्थिक वर्षको ५ महिनामा विद्युतीय कारको आयातबाट सरकारले ३ अर्ब ९२ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

    विभागकाअनुसार मंसिरम्म ५० किलोवाट भन्दा तल्लो रेन्जका एक हजार ५ सय ९५ थान विद्युतीय कार नेपाल भित्रिएका छन् । ती गाडीको लागत २ अर्ब ९५ करोड ४३ लाख रुपैयाँ छ । यस्तै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका २ हजार २८ थान विद्युतीय कार नेपाल आयात भएको छ जसको लागत ५ अर्ब ८१ करोड २३ लाख रुपैयाँ हाराहारी छ भने २ सय किलोवाट मुनिको सेग्मेन्टका २६ करोड २६ लाख रुपैयाँ बराबरको ५२ थान यस्ता भ्यान, कार र जीप आयात भएका छन् ।

  • डेडिकेटेड लाइन विवादमा चार उद्योगको लाइन काटियो

    डेडिकेटेड लाइन विवादमा चार उद्योगको लाइन काटियो

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चार ठूला उद्योगको लाइन काटेको छ । डेडिकेटेड लाइनको बक्यौता नतिरेका उद्योगहरुमध्ये ठूलो बक्यौता रहेका चार वटा उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले स्रोतले जनाएको छ । जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले मात्र ४ अर्ब १४ करोड तिर्न बाँकी छ । रिलायन्सले १ अर्ब ९४ करोड तिर्न बाँकी छ । घोराही सिमेन्टको १ अर्ब ३६ करोड बक्यौता रहेको छ । अर्घाखाँचीको १ अर्ब ३० करोड बक्यौता रहेको प्राधिकरणले जनाएको छ । यसअघि बिहीबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले डेडिकेटेट लाइनको बक्यौता कुनै पनि हालतमा उठाउन निर्देशन दिएका थिए । उनले विद्युतको बक्यौता नतिर्ने उद्योगको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएका थिए ।

  • ट्रंक र डेडिकेटेड लाइनको बक्यौता उठाउन प्रधानमन्त्रीको निर्देशन

    ट्रंक र डेडिकेटेड लाइनको बक्यौता उठाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले ठूला उद्योगबाट सुरु गरेर सबै बक्यौता उठाउन निर्देशन दिएका हुन् ।

    ‘ठूलाको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्छ । त्यसैले यसमा कसैसँग सम्झौता नगर्नुस्,’ उनले भने, ‘डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको लाइन तुरून्त काटौं । ठूलाबाट सुरू गरेर सबै बक्यौता उठाउनेतर्फ जाऊँ ।’ यसअघि गत भदौ २५ गते उद्योगीहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले बक्यौता महसुलबारे अध्ययन गरी समाधानको उपाय निकाल्ने भन्दै तत्काल लाइन नकाट्न विद्युत प्राधिकरणलाई निर्देशन दिएका थिए ।


    आफ्नै निर्देशन विपरित प्रधानमन्त्री अहिले फेरि लाइन काट्ने नयाँ निर्देशन दिएका छन् । कानुनी आधार र बिजुली प्रयोगको प्रमाणविनै बिद्युत प्राधिकरणले लोडसेडिङका बेला उद्योगले चलाएको बिजुलीको बिल भन्दै कुलमान घिसिङ कार्यकारी निर्देशक भएपछि अरबौं रुपैयाँको नयाँ बिल पठाएको थियो । प्राधिकरणलाई नाफा लैजाने उपायस्वरुप कुलमानले फर्जी बिल काटेको भन्दै उद्योगीले बिरोध जनाएपवछि लामो समयदेखि सो बिलको भुक्तानी हुन सकेको छैन् । बिद्युत प्राधिकरणले बिलको औचित्य पुष्टि नगरी लाइन काट्ने चेतावनी दिँदै आएको छ ।

    प्रधानमन्त्री प्रचण्डले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिए । ‘झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा छ। लाइसेन्स लिने, होल्ड गरेर राख्ने तर काम नगर्ने कुरा देशका लागि घातक छ। यहाँ हामी लचिलो हुन जरूरी नै छैन। निश्चित मापदण्ड बनाएर त्यसलाई खारेज गर्नुपर्छ। त्यो काम गर्नुस,’ उनले भने।

    प्रधानमन्त्री दाहालले उत्पादन वृद्धिका निम्ति सिँचाइको व्यवस्था आवश्यक रहेको बताए । लिफ्ट इरिगेसनका बारेमा पनि सोच्नुपर्ने उनको तर्क छ । ‘नदी प्रणालीलाई जोडेर सिँचाइको दीर्घकालीन व्यवस्थापन गर्नेतिर सोच्नुपर्छ,’ उनले भने, ‘सिँचाइको समस्या कृषिसँग पनि गहिरो गरी जोडिएको छ। कृषिको उत्पादकत्व बढाउन यतातर्फ आवश्यक गृहकार्य गरौं ।’ आफ्नो कार्यकालको एक वर्ष पुग्न लागेको र अर्को वर्ष नयाँ ढंगले सकारले अगाडि बढ्ने उनले बताए ।

    ‘मेरो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्दैछ, अर्को वर्ष हामी नयाँ ढंगले जाँदैछौं,’ उनले भने, ‘त्यसका लागि हाम्रो सोंच बदलौं, कार्यशैली पनि बदलौं। म गम्भीर ढंगले मन्त्रालयका कुरा सुन्ने, बुझ्ने र परिणाम ल्याउनेमा छु। मैले कार्यशैली परिवर्तन गर्दैछु, तपाईंहरू के गर्नुहुन्छ रु’

    देश र जनताका लागि दृढ भएर अगाडि बढ्नेतिर सोच्न उनले निर्देशन दिए । ‘हामीले राम्रो काम गर्दै गएपछि नराम्रो उद्देश्य बोकेकाहरू पर्दाफास हुन्छन्। त्यसरी काम गरौं,’ उनले भने। उनले विज्ञापन सम्बन्धी नीतिलाई सरल बनाउन र देशको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेको बेला सञ्चार उद्योगको रक्षा गर्नेतर्फ सोच्न सञ्चार मन्त्रालयलाई निर्देशन दिए ।

    बैठकमा उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बस्नेतले जलविद्युत् उत्पादन र खपतका दृष्टिले हिउँदमा आयात गर्नुपर्ने र वर्षायाममा निर्यात गर्नुपर्ने परिस्थिति रहेको बताए । उनले ट्रान्समिसन लाइनको निर्माण र व्यवस्थापनका कारण उत्पादित विद्युतको खपत र निर्यातमा समस्या रहेको बताउँदै त्यसका लागि सरकारको तर्फबाट साझा समाधान खोज्नुपर्ने बताए ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमको गुणस्तरीयता र विश्वासनियतामा वृद्धि गर्न आवश्यक गृहकार्य गरिएको बताइन् । राज्यका सम्पूर्ण निकायमा अहिलेको नवीनतम् अवस्थाअनुसार जनशक्ति विकासमा जोड दिनुपर्ने बताउँदै प्रविधिमैत्री कर्मचारी प्रशासन जरूरी रहेको उनले बताइन् ।

  • नाबालिकामाथि अनलाइन दुर्व्यवहार गरेको आरोपमा दुबईबाट एक नेपाली पक्राउ

    नाबालिकामाथि अनलाइन दुर्व्यवहार गरेको आरोपमा दुबईबाट एक नेपाली पक्राउ

    काठमाडौं । नाबालिकालाई अनलाइन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुबईबाट एक जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोले इन्टरपोलको सहयोगमा रेड कर्नर नोटिस जारी गरी एक जना पुरूषलाई दुबईबाट पक्राउ गरी काठमाडौं ल्याएको एसपी पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा प्युठान सरूमारानी गाउँपालिका वडा नम्बर १का ३३ वर्षीय सगीर अहमद छन्।

    उनले नाबालिकालाई फेसबुकमार्फत चिनजान गरी ग्रुमिङ गराएको आरोप छ। ग्रुमिङ भनेको अनलाइन उत्पीडनका लागि बालिकालाई विभिन्न तरिका अपनाएर तयार बनाउनु हो। त्यसरी ग्रुमिङ गराइ जबरजस्ती अश्लिल क्रियाकलाप गर्न लगाएर बारम्बार दुस्ख, हैरानी तथा मानसिक यातना दिएको प्रहरीले जनाएको छ। यसरी यतना दिएको अभिभावकले थाहा पाएपछि परिवारले साइबर ब्युरोमा उजुरी दिएका थिए।
    त्यसमाथि ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरी २०७९ माघ २५ गते अदालतमा मुद्दा दर्ता भएको थियो। तर उनी वैदेशिक रोजगारीका लागि दुबईमा रहेको खुलेपछि प्रहरीले इन्टरपोलको सहयोग लिएको हो। उक्त सहयोगमार्फत प्रहरीले उनलाई पक्राउ गरी काठमाडौं ल्याएको हो।

  • काठमाडौंका आज यस वर्षकै चिसो

    काठमाडौंका आज यस वर्षकै चिसो

    काठमाडौं । काठमाडौंमा आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गतरातिदेखि अहिले बिहान ७ बजेसम्म पनि न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंको हकमा यो यस वर्षको अहिलेसम्मकै कम रेकर्ड हो ।

    काठमाडौंको तापक्रम अझै घट्ने सम्भावना रहेको बताइएको छ । देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सुझाव दिएको छ । मौसमविद अधिकारीका अनुसार आगामी तीन दिनसम्म मौसम सामान्य अवस्थामै रहने सम्भावना छ । मध्य र पश्चिम तराईका एक–दुई स्थानमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । घाम लागेसँगै त्यो बिस्तारै हट्दै जाने छ । काठमाडौंमा पनि हल्का हुस्सु लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा भिजिबिलिटी चार किलोमिटरसम्म छ ।

  • सरकारी गाडीमा फागुन भित्र अनिवार्य इम्बोस्ड नम्बर

    सरकारी गाडीमा फागुन भित्र अनिवार्य इम्बोस्ड नम्बर

    काठमाडौं । सरकारी सवारी साधनमा आगामी फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल सरकारका मन्त्रालयहरुलाई पत्र लेख्दै फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको हो ।

    मन्त्रालयले १ मंसिर २०७९ मै सरकारी कार्यालयहरुलाई पत्र लेखी इम्बोस्ड नम्बर जडान गर्न भनेको थियो । तर, अधिकांश सरकारी तथा सार्वजनिक संस्थानका सवारी साधनले इम्बोस्ड नम्बर जडान नगरेका कारण अल्टिमेटम तोक्नु परेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले २८ मंसिरमा सो मिति तोकेर अन्य मन्त्रालयहरुलाई कार्यान्वयनका लागि पत्र काटेको हो ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्ता हुने तथा दर्ता कायम रहेका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने गरी २२ कात्तिक २०७८ मा राजपत्रमा सूचना प्रकाशन भएको थियो ।

  • एनसेल प्रकरणमा सरकारले दियो यस्तो स्पष्टीकरण

    एनसेल प्रकरणमा सरकारले दियो यस्तो स्पष्टीकरण


    काठमाडौं । नेपाल सरकारका प्रवक्तासमेत रहेकि  सञ्चार तथा  सूचना प्रविधि मन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गरेकि छिन् ।

    मङ्गलबार साँझ सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘‘दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न सम्माननीय प्रधानमन्त्रीले मिति २०८० मंसिर १८ गते सम्बन्धित निकायलाई निर्देशन दिइसक्नु भएको छ ।’’

    नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने विज्ञप्तिमा उल्लेख छ । 

    ‘‘अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउनेछ । नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुनको पालना गर्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको छ।’’ 

  • अफवाह फैलाउने १८ युट्युव च्यानल कारवाहीमा

    अफवाह फैलाउने १८ युट्युव च्यानल कारवाहीमा

    काठमाडौं । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई सञ्चालित भई अफवाहपूर्ण सामाग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युब च्यानललाई कारबाहीको लागि सिफारिस गरेको छ ।

    निराधार, अफवाह र अतिरञ्जनापूर्ण शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन भएकोले कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ।

    मिडियाअन्तर्गत आवद्ध नभएका सामाजिक सञ्जाल (युट्यूब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिडिया अन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

    काउन्सिलले यसअघि सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतंकित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै मंसिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

  • ललितपुरका भित्रि सडकमा पनि अब झिलिमिलि विजुली

    ललितपुरका भित्रि सडकमा पनि अब झिलिमिलि विजुली

    काठमाडौं । ललितपुर महानगरको चक्रपथ बाहिर स्मार्ट स्ट्रिट लाइटको औपचारिक उद्घाटन भएको छ । विहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबू महर्जन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट स्ट्रिट लाइट कन्ट्रोल सेन्टरमा स्विच थिचेर उद्घाटन गरेको हुन् ।

    महानगरपालिकाले ‘ललितपुर स्र्माट स्ट्रिट लाईट परियोजना’ अन्तर्गत दोस्रो चरणमा १ हजार ४१२ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको हो । चक्रपथ बाहिर भैंसेपाटी, खोकना, बुङमती, धापाखेल, सुनाकोठी र हरिसिद्धी क्षेत्रमा बत्ती जोडेको बत्तीको उद्घाटन भएको होे । ९ करोड २५ लाख लागत रहेको स्मार्ट लाइटमा ललितपुर महानगरको ६० प्रतिशत र विद्युत प्राधिकरणको ४० प्रतिशत लागत रहेको छ ।

    जसमा ९० वाट्सको १ हजार १६१ स्मार्ट सडकबत्ती, ६० वाट्सको २३९ वटा र २ सय वाट्सको हाइमास्ट लाइट १२ वटा जडान भएको छ । यो क्रममा चक्रपथ बाहिर महानगरले ३७४ वटा नयाँ पोल गाडेको छ भने १ हजार ३ वटा पोल पहिल्यै रहेको महानगरले जनाएको छ ।

    यस्तै २४ वटा फिडर प्यानल महानगरले जडान गरेको जानकारी दिएको छ । ललितपुर महानगरपालिकाको कोर एरियाको रुपमा रहेको चक्रपथ भित्र भने ३ वर्ष अगाडि नै पहिलो चरण अन्तगर्त स्मार्ट स्ट्रिट लाइट जडान गरिसकेको छ । पहिलो चरणमा महानगरको पूर्ण लगानीमा ५ करोड ५ लाखमा ५० वाट्सका ४२५ वटा स्मार्ट लाईट, ८० वाट्सको २२० वटा, १२० वाट्सको २४ वटा स्मार्ट लाइट जडान भएका थिए ।


    यस अन्तर्गत मुख्य शहरी क्षेत्र कुपण्डोल, जावालाखेल,लगनखेल, सातदोबाटो, एकान्तकुना, मंगलबजार, पाटनढोका लगायत रहेको थियो । पहिलो चरणमा ३३१ नयाँ पोल जडान महानगरले गरेको थियो भने ३ सय वटा पोल पहिल्यै रहेको थियो ।

    महानगरका अनुसार स्मार्ट स्ट्रिट लाइटलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न ९डिमिङ० गर्न बत्ती जडान भएको ठाउँमा आउनु पर्दैन । सर्भर रुमबाट नै गर्न सकिन्छ । सडक बत्ती बाले बापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुन्छ । उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी गर्नेछ ।

  • भारतको गुजरातमा चट्याङका कारण १८ जनाको मृत्यु

    भारतको गुजरातमा चट्याङका कारण १८ जनाको मृत्यु

    काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण १८ जनाको मृत्यु भएको छ भने २३ जना जति घाइते भएको अधिकारीहरूले बताएका छन् । जाडोयाममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा नगरिएको त्यहाँका अधिकारीले बताएका छन् । आइतबार र सोमबार भिषण हावाहुरीसँगै परेको चट्याङले धेरैलाई प्रभावित बनाएको छ ।

    भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको भएपनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटनाहरू निम्त्याइरहेको बताएका छन् । भारी वर्षाका कारण कम्तीमा कम्तीमा ४० वटा जनावर पनि मारिएका गुजरात राज्यका अधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । भातरका गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै मृत्युबाट आफू निकै दुःखी भएको बताएका छन् ।

  • नेपालमा हिँउदे वर्षाको सम्भावना

    नेपालमा हिँउदे वर्षाको सम्भावना

    काठमाडौं । काठमाडौं उपत्यकासहित पश्चिमी भेगमा बादल लागेको छ । आज दिउँसोतिर भने पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत छ । आज रातिदेखि भने पश्चिमतिरबाट मौसममा क्रमिक सुधार देखिने मौसमविद लामिछानेले जानकारी दिए । नेपालमा अहिले पश्चिमी वायुको साथै राजस्थानमा बनेको न्यूनचापीय प्रणालीको असर छ । त्यसैको असरले बादल लागेको छ ।

    बादल लागेको बेला जाडो बढेको महसुस हुने भए पनि सोमबारको तुलनामा मंगलबार बिहान न्यूनतम तापक्रम बढी छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको रेकर्ड अनुसार आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२।२ डिग्री सेल्सियस छ । सोमबार योभन्दा पनि कम ९।५ डिग्री सेल्सियस मापन भएको थियो ।

    मौसम पूर्वानुमान महाशाखाका अनुुसार आज बिहान लुम्बिनी र गण्डकीमा मौसम सफा छ । तर सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश र कोशीमा आंशिकदेखि सामान्यदेखि बदली छ ।बादल लागेको बेला हुस्सु कुहिरो नलाग्ने भएकाले अहिले हुस्सु कुहिरोको रिपोर्ट प्राप्त नभएको महाशाखाका मौसमविद लामिछानेले बताए । काठमाडौं आसपासका उच्च पहाडी भागमा पनि हिमपातको सम्भावना नरहेको उनले बताए ।