Category: विज्ञान प्रविधि

  • डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा

    डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा

    काठमाडौँ, १० जेठः नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सुरु गरेको छ । समुन्द्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको सङ्ख्या ७५० पुगेको छ ।


    माथिल्लो डोल्पामा सञ्चालनमा ल्याइएको यो पहिलो फोरजी साइट हो । अब डोल्पा जिल्लाकै डोल्पो बुद्ध गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा टेलिकमको फोरजी सेवा पुग्न बाँकी छ । नेपाल टेलिकमले निकट भविष्यमा ती स्थानीय निकायहरुमा समेत फोरजी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ ।

    फोरजी सेवा विस्तारसँगै स्थानीय बासिन्दा, पदमार्गका पदयात्री र पर्यटकहरूको सञ्चार पहुँच सहज हुनुका साथै विभिन्न प्रशासनिक, सुरक्षा, स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने र दुर्गम हिमाली क्षेत्रलाई आधुनिक डिजिटल नेटवर्कसँग जोड्दै समग्र क्षेत्रीय विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । ‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानहरूमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पु¥याउँने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको जनाएको छ ।

  • क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावटका कारण हजारौँ विस्तापित

    क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावटका कारण हजारौँ विस्तापित

    लस एन्जलस (अमेरिका), १० जेठ (रासस–एएफपी) । अमेरिकाको क्यालीफेर्नियामा एउटा रासायनिक ट्याङ्की चुहावट हुन थाले पछि दशौं हजार मानिसहरूलाई आफ्नो घर छोड्न आदेश दिइएको जनाइएको छ । ट्याङ्कीमा २६ हजार लिटर मिथाइल मेथाक्रिलेट जनाइएको छ । जुन प्लास्टिक बनाउन प्रयोग हुने अस्थिर र ज्वलनशील तरल पदार्थ हो । अग्निन नियन्त्रकहरूले स्थिति गम्भीर रहेको चेतावनी दिएका थिए ।

    ट्याङ्कीमा निरन्तर चुवावट भएमा त्यस क्षेत्रको पार्किङ स्थलमा उक्त खराब रसायनहरू छरिने वा उड्ने सम्भावना रहेको हुँदा यसले वरपरका ईन्धन वा रसायनहरू भएका ट्याङ्कीहरूलाई असर गर्ने जनाइएको छ । लस एन्जलसको दक्षिणपूर्वमा रहेको ओरेन्ज काउन्टीको गार्डेन ग्रोभ क्षेत्रमा यो घटना भएको हो । गार्डेन ग्रोभ प्रहरी प्रमुख अमिर एल–फर्राले निकासी आदेश जारी गरी करिब ४० हजार मानिस प्रभावित भएको र हजारौंले आफ्नो घर छोड्न अस्वीकार गरेको बताउनु भएको छ ।

    स्थानीय टिभीले खिचेको हवाई फुटेजमा ट्याङ्कीमा पानी छर्किरहेको देखाइएको छ । भने ट्याङ्की चिसो पार्ने प्रयास सफल भएको बताइएको छ । हाल ६१ डिग्रीको तापक्रममा झरेको छ भने ५० डिग्रीमा झरे पछि यसको अवस्था सहज भएको मानिने छ त्यसैले हाल सम्मका प्रयासहरू सफल भइरहेको जनाइएको छ । स्वास्थ्य अधिकारी रेजिना चिन्सियो क्वाङले ट्याङ्की वरपरको प्रभावित क्षेत्रमा आवश्यक सावधानी अपनाइ रहेको बताएका छन् ।


    उनले विस्पोट र गन्ध थाहा पाउने जो कोहीलाई पनि सम्बन्धित अधिकारीहरूलाई सचेत गराउन अपील गरेका छन् । शुक्रबार सम्म कोहि प्रभावित तथगा घाइते भएको रिपोर्ट गरिएको छैन भने चुहावटको कारण पनि अनुमान गर्न नसकिएको जनाइएको छ । रासायनिक फैलावटको लागि आवश्यक पूर्व तयारी गरिरहेको बताइएको छ ।

    हावा र समुद्रमा समाहित हुने नदीहरूमा पुग्नबाट कुनै पनि छरिएको सामग्रीलाई रोक्न रोकथाम अवरोधहरू कायम राख्ने काम गरिरहेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी वातावरणीय संरक्षण एजेन्सीले मिथाइल मेथाक्रिलेटले मानिसमा छाला, आँखा र झिल्लीमा जलन गरिरहेको बताएको छ । यसले मानिसहरुमा अल्पकालीन र दीर्घकालीन प्रभाव पछि श्वासप्रश्वासका प्रभावहरू रिपोर्ट गरिएको छ ।

  • गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

    गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

    नयाँदिल्ली, ८ जेठ (रासस–एएफपी) । भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्र रूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ । भीषण गर्मीबीच ऊर्जा उत्पादकहरूले रेकर्ड स्तरमा विद्युत् उत्पादन गर्दै देशको अहिलेसम्मकै उच्च माग पूरा गरेका छन् । भारतको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार लगातार चौथो दिन देशको चरम बिजुली मागले नयाँ सर्वकालिक उच्च रेकर्ड कायम गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बिहीबार दिउँसो ३ः४५ बजे भारतको चरम बिजुली माग २७०.८२ गिगावाट पुगेको थियो, जुन सफलतापूर्वक आपूर्ति गरिएको बताइएको छ ।

    उक्त समयमा राजधानी नयाँदिल्लीको तापक्रम ४५.३ डिग्री सेल्सियस पुगेको थियो । मन्त्रालयले यो स्तरलाई भारतको इतिहासकै सबैभन्दा उच्च चरम बिजुली मागको रूपमा वर्णन गरेको छ । यसअघि बुधवार २६५.४४ गिगावाटको रेकर्ड कायम भएको थियो, जसलाई एक दिनमै उछिन्दै नयाँ कीर्तिमान बनेको हो ।ऊर्जा मन्त्रालयले बढ्दो तापक्रमका कारण एयर कन्डिसनर, कुलर तथा अन्य शीतलन उपकरणहरूको प्रयोग अत्यधिक बढेकाले बिजुलीको माग अस्वाभाविक रूपमा चुलिएको जनाएको छ ।

    मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा माग वृद्धिको मुख्य कारण यही भएको उल्लेख गरिएको छ । भारतको कुल विद्युत् उत्पादनमा अझै पनि थर्मल पावर, विशेषगरी कोइलामा आधारित उत्पादनको प्रभुत्व रहेको छ । हाल देशको कुल बिजुली उत्पादनमध्ये ६२ प्रतिशत हिस्सा कोइलाजन्य थर्मल पावरबाट प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ । सौर्य ऊर्जाबाट २२ प्रतिशत, हावा र जलविद्युत्बाट पाँच प्रतिशत तथा बाँकी अन्य स्रोतहरूबाट उत्पादन भइरहेको छ ।

    विश्वकै तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जक भारतले सन् २०७० सम्म ‘शुद्ध–शून्य उत्सर्जन’ हासिल गर्ने प्रतिबद्धता जनाएको भए पनि ऊर्जा सुरक्षाका लागि अझै कोइलामाथि ठूलो निर्भरता कायम रहेको देखिएको छ । रेकर्ड स्तरमा बिजुली उत्पादन भइरहेको सरकारी दाबीबीच सामाजिक सञ्जाल एक्समा धेरै प्रयोगकर्ताले भने आफ्ना क्षेत्रमा अझै पनि विद्युत् कटौती भइरहेको गुनासो गरेका छन् । अत्यधिक गर्मीका कारण पुराना विद्युत् तार र ट्रान्सफर्मरहरूमा अत्यधिक चाप परेर स्थानीय स्तरमा ब्ल्याकआउट हुने जोखिम बढिरहेको बताइएको छ ।

    दक्षिण एसियाको एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा अप्रिलदेखि जुनसम्म तीव्र गर्मी सामान्य मानिए पनि पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै गएको छ । वैज्ञानिक अनुसन्धानहरूले जलवायु परिवर्तनका कारण तातो हावाका लहरहरू अझ लामो, बारम्बार र खतरनाक बन्दै गएको निष्कर्ष निकालेका छन् । भारतको मौसम विभागका अनुसार बिहीबार उत्तर प्रदेश राज्यको बान्दा सहरमा अधिकतम तापक्रम ४७.६ डिग्री सेल्सियस मापन गरिएको थियो । यो हप्ताको सुरुआतमा त्यही क्षेत्रमा पुगेको ४८.२ डिग्री सेल्सियसभन्दा केही कम भए पनि अवस्था अझै अत्यन्त गर्मीपूर्ण रहेको विभागले जनाएको छ ।

    भारतमा हालसम्म आधिकारिक रूपमा मापन गरिएको सबैभन्दा उच्च तापक्रम राजस्थानको फलोदीमा सन् २०१६ मा रेकर्ड गरिएको ५१ डिग्री सेल्सियस हो । यसैबीच, अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन प्लेटफर्म ‘एक्युआई’ ले अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदनमा विश्वका सबैभन्दा तातो ५० सहरमध्ये सबै भारतमै रहेको उल्लेख गरेको थियो । तापक्रम, सौर्य विकिरण, हावाको अवस्था, वर्षा र आद्र्रतासहितका विभिन्न सूचकलाई आधार बनाएर तयार गरिएको दैनिक ‘गर्मी सूचकाङ्क’ मा भारतीय सहरहरू अत्यधिक तापको चपेटामा परेको देखाइएको थियो ।

  • नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने

    नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने

    काठमाडौँ, ८ जेठः काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा सिसि क्यामरा जडान गर्न बिहीबार नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नगरपालिका क्षेत्रभित्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सिसि क्यामरा जडान गर्न लागिएको हो ।

    उक्त समझदारीमा नगरपालिकाका प्रमुख घनश्याम गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गरे । नगरप्रमुख गिरीले काठमाडौँ उपत्यका भित्रिने सबैभन्दा ठूलो र मुख्य नाका नागढुङ्गा चन्द्रागिरि नगरपालिकामा पर्ने भएकाले यस क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी र प्रविधिमैत्री बनाउन प्रहरीसँग सहकार्य गरिएको बताए । उनले सिसिटिभी जडानपछि आपराधिक गतिविधि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


    प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नागरिक र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । “सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ, स्थानीय सरकारले सुरक्षाको क्षेत्रमा गरेको यो लगानीको हामी उच्च कदर गर्दछौँ र समस्या समाधानमा प्रहरीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु”, उनले बताए ।


    हाल चन्द्रागिरि नगरपालिकाभित्र झण्डै ४०० सिसि क्यामेरा जडान गरिएका छन् । नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले नगरपालिकाभित्र जडान गरिएका क्यामराको सङ्ख्या थप गरी एक हजार ५०० पुर्याइनुका साथै नगरभित्रको सुरक्षा गर्ने लक्ष्यका साथ सिसि क्यामेरा जडान गर्न नेपाल प्रहरीसँग सम्झौता गरिएको बताए ।

  • आजको मौसमः पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा

    आजको मौसमः पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा

    काठमाडौँ, ८ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज केही जिल्लामा भारी वर्षा समेत भएको छ । आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ ।

    लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केही स्थानमा, मधेश प्रदेश लगायत कोसी, बागमती, गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा\हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा तातोलहर हुने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।

    यसैगरी, कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्म वर्षा\हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • उत्तर भारतमा भीषण गर्मीले जनजीवन प्रभावित

    उत्तर भारतमा भीषण गर्मीले जनजीवन प्रभावित

    नयाँदिल्ली, ७ जेठ (रासस–एपी) । उत्तर भारतमा चर्किएको अत्यधिक गर्मीको लहरले दैनिक जनजीवन अस्तव्यस्त बनाएको छ । दिनको समयमा सडक र बजारहरू प्रायः सुनसान बनेका छन् भने किसानदेखि व्यापारीसम्मले असह्य तापक्रमबाट बच्न आफ्नो काम गर्ने समय नै राततर्फ सार्न बाध्य भएका छन् । तापक्रम निरन्तर बढ्दै जाँदा भारतका धेरै भागमा जीवनशैलीमै ठूलो परिवर्तन देखिएको छ ।

    भारतको मौसम विभागले राजधानी नयाँदिल्लीमा बिहीबार अधिकतम तापक्रम करिब ४५ डिग्री सेल्सियस (११३ फरेनहाइट) पुग्ने पूर्वानुमान गरेको छ । अत्यधिक गर्मीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले नागरिकलाई राहत दिन विभिन्न स्थानमा अस्थायी ‘कुलिङ जोन’ स्थापना गरेका छन् । त्यस्ता ठाउँमा मानिसहरूले केही समय शीतल वातावरणमा बिताउन सक्ने व्यवस्था गरिएको छ ।

    मौसम विभागले आगामी दिनहरूमा उत्तरी क्षेत्रका धेरै स्थानमा तापक्रम मौसमी औसतभन्दा अझै माथि रहने चेतावनी दिएको छ । अधिकारीहरूले विशेषगरी दिउँसोको अत्यधिक गर्मीमा घरभित्रै बस्न, अनावश्यक बाहिर ननिस्कन र गर्मीजन्य स्वास्थ्य समस्या रोक्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । भारतमा मैदानी क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ फरेनहाइट) र पहाडी क्षेत्रमा ३० डिग्री सेल्सियस (८६ फरेनहाइट) वा सोभन्दा बढी पुगेको अवस्थालाई गर्मीको लहर (हीटवेभ) घोषणा गरिन्छ ।

    भीषण गर्मीले विशेषगरी उत्तर प्रदेशसहित उत्तर भारतका धेरै राज्यहरूमा जनजीवन ठप्प जस्तै बनाएको छ । दिउँसोको समयमा सडक र बजारहरू बन्दजस्तै भएका छन् भने मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन् । दिउँसोको तापक्रम असहनीय बनेसँगै केही व्यापारीहरूले कामको समय बिहानतर्फ सार्न थालेका छन् भने किसानहरूले पनि खेतमा काम गर्ने समय राति सार्न थालेका छन् ।

    शिक्षा क्षेत्रमा पनि गर्मीको असर गहिरो देखिएको छ । विभिन्न स्थानका अधिकारीहरूले विद्यालयहरूमा गर्मी बिदा घोषणा गरेका छन् र कक्षाहरू स्थगित गरिएको छ । यसैबीच, मङ्गलबार बान्दा सहरमा अधिकतम तापक्रम ४८.२ डिग्री सेल्सियस (११८.८ फरेनहाइट) पुगेको थियो । यो यस वर्षको अत्यधिक उच्च रेकर्डमध्ये एक हो ।

    स्वास्थ्य अधिकारीहरूले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । उनीहरूले दिउँसोको अत्यधिक घाममा बाहिर ननिस्कन, पर्याप्त मात्रामा पानी पिउन र चक्कर लाग्ने, अत्यधिक थकान वा उच्च ज्वरो जस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सा सहायता लिन सुझाव दिएका छन् । राजधानी नयाँदिल्लीमा समेत राहतका उपायस्वरूप विभिन्न स्थानमा शीतलन आश्रय (कुलिङ शेल्टर) स्थापना गरिएको छ । यी स्थानहरूमा एयर कुलर, पङ्खा, पिउने पानी र मौखिक पुनर्जलीकरण झोल (ओआरएस) उपलब्ध गराइएको छ, जसले नागरिक र पर्यटकलाई केही राहत दिएको छ । बुधबार एउटा शीतलन टेन्टभित्र मानिसहरू एयर कुलरको छेउमा बस्दै गर्मीबाट राहत लिइरहेका देखिएका थिए । त्यहाँ अधिकारीहरूले नुन मिसाइएको पानी वितरण गरिरहेका थिए ।

    त्यहाँ आएका २५ वर्षीय पर्यटक बशारत अहमद मल्लाले आफ्नो अनुभव सुनाउँदै अत्यधिक गर्मीका कारण बाहिर घुम्न गाह्रो भएको बताए । उनका अनुसार शीतलन केन्द्रले केही समयका लागि भए पनि सहजता प्रदान गरेको छ । जलवायु विज्ञहरूका अनुसार भारतमा देखिएको यो बढ्दो तापक्रम केवल मौसमी अवस्था मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । पछिल्ला वर्षहरूमा भारतले बारम्बार अत्यधिक गर्मीका लहरहरूको सामना गर्दै आएको छ र पछिल्लो दशक देशकै सबैभन्दा तातो दशकमध्ये एक रहेको तथ्याङ्कले देखाएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रतिवेदनसँग सम्बन्धित तथा पुणेस्थित फ्लेम विश्वविद्यालयका सार्वजनिक नीति प्राध्यापक अञ्जल प्रकाशका अनुसार मानव–सिर्जित जलवायु परिवर्तनका कारण भारतको तापक्रम उल्लेखनीय रूपमा बढिरहेको छ । उनका अनुसार उत्तरपश्चिम भारत अन्य क्षेत्रको तुलनामा अझ तीव्र रूपमा तातिरहेको छ ।

    उनले भारत गर्मीको मौसमसँग केही हदसम्म अभ्यस्त भए पनि जलवायु परिवर्तनले चरम र व्यापक स्तरका गर्मीका घटनाहरूलाई अझ तीव्र बनाइरहेको बताए । जनस्वास्थ्य क्षेत्रका अध्ययनहरूले सन् २००८ देखि २०१९ सम्म प्रत्येक वर्ष औसत एक हजार ११६ जनाको मृत्यु गर्मीका कारण भएको देखाएको छ । तर विज्ञहरूका अनुसार वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने अनुमान छ । धेरै अवस्थामा मृत्यु प्रमाणपत्रमा गर्मीलाई प्रत्यक्ष कारणका रूपमा उल्लेख नगरेका कारण वास्तविक तथ्याङ्क आधिकारिक रूपमा कम देखिने गरेको छ ।

  • कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

    कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

    काठमाडौँ, ७ जेठः कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउन सार्वजनिक गरिएको छ । गत वैशाख २७ गते कानुन दिवसको अवसरमा घोषणा भएको उक्त प्लेटफर्ममार्फत नागरिकले ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र असहमति सिधै पठाउन सक्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माण प्रक्रियामा नागरिकलाई प्रत्यक्ष रूपमा सहभागी गराउने उद्देश्यले डिजिटल प्लेटफर्म सार्वजनिक गरिएको बताइन् । उनले कानुनहरू नागरिककै लागि बन्ने भए पनि निर्माण प्रक्रियामा जनसहभागिता पर्याप्त नभएको औँल्याउँदै यस पहलले कानुनी सचेतना विस्तार र नागरिक सहभागिता दुवै सुनिश्चित गर्ने जानकारी दिइन् ।

    कानुन मन्त्रालयको आधिकारिक वेबसाइटमा गई सम्बन्धित ट्याबमा क्लिक गरेर नागरिकले कुनै पनि विधेयक वा कानुनको दफामा संशोधन वा सुझाव दिन सकिने जनाइएको छ । त्यस्तै भाषागत कठिनाइ भए पनि मन्त्रालयले सुझावलाई कानुनी भाषामा रूपान्तरण गर्ने बताएको छ । तथापि सुझाव दिनुअघि सम्बन्धित कानुन अनिवार्य रूपमा अध्ययन गर्नुपर्ने सर्त राखिएको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    ७ जेठ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी वर्षा समेत भएको थियो ।

    आज दिउँसो कोशीलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । साथै मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।


    महाशाखाका अनुसार कोशीलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा, मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एकदुई स्थानहरूमा मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने मधेसलगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा\हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

    चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

    कुरु, फ्रेन्च गिआना, ६ जेठ (रासस–सिन्ह्वा) । चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) बीचको संयुक्त अन्तरिक्ष मिसनअन्तर्गत ‘सोलर विन्ड म्याग्नेटोस्फियर आयनोस्फियर लिङ्क एक्सप्लोरर (स्माइल)’ उपग्रह मङ्गलबार सफलतापूर्वक प्रक्षेपण गरिएको छ । यो उपग्रह युरोपको अन्तरिक्ष केन्द्रबाट भेगा–सी रकेटमार्फत प्रक्षेपण गरिएको हो।

    प्रक्षेपणपछि उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा पुगेको पुष्टि गरिएको छ । साथै, यसको सोलार प्यानलहरू पनि सफलतापूर्वक खुलिसकेका छन् र सम्पूर्ण प्रणाली सामान्य रूपमा सञ्चालन भइरहेको बताइएको छ । यो सफलतासँगै चीन र युरोपबीचको अन्तरिक्ष विज्ञान सहकार्यमा एक महत्वपूर्ण उपलब्धि हासिल भएको मानिएको छ ।

    ‘स्माइल’ चीन र ईएसए बीचको पहिलो मिशन–स्तरीय संयुक्त परियोजना हो, जसले पृथ्वीको चुम्बकीय क्षेत्र (म्याग्नेटोस्फियर)को ठूलो संरचनालाई पहिलो पटक समग्र रूपमा अवलोकन गर्ने लक्ष्य राखेको छ । उपग्रहले सॉफ्ट एक्स–रे इमेजिङ प्रविधिको प्रयोग गर्दै पृथ्वीको चुम्बकीय क्षेत्रको विस्तृत अध्ययन गर्नेछ । यस मिसनबाट अन्तरिक्ष मौसम पूर्वानुमान र चुम्बकीय क्षेत्रसम्बन्धी आधारभूत भौतिक विज्ञानमा महत्वपूर्ण वैज्ञानिक उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।

  • मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

    मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

    रासस
    मुस्ताङ, ६ जेठ । मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरिएको जनाएको छ । मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्वलगायत श्रव्यदृष्यहरु छायाङ्कन गरिने गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो एआई प्रविधिको ड्रोन क्यामेरा वन गस्ती गर्ने कार्यमा प्रयोगमा ल्याएको हो ।

    यहाँको कठिन भूगोल र यहाँका उच्चस्थानका न्यून मानव वस्ती रहेका स्थानमा वन अनुगमन गर्नका लागि पहिलो पटक एआई ड्रोन प्रविधि प्रयोगमा ल्याइएको हो । एक्याप संरक्षित वन तथा वनपैदावारको संरक्षण तथा वन्यजन्तुको चोरी शिकारीलगायत वन क्षेत्रहरुमा हुने विभिन्न प्रकारका अवाञ्छित गतिविधि नियन्त्रणका लागि उक्त प्रविधि प्रयोगमा ल्याइएको एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले जानकारी दिए ।


    थकालीका अनुसार वारागुङ मुक्तिक्षेत्र–१ को लुप्रा लेंक र घरपझोङ गाउँपालिकाको भ्रप्सा र नमखुलेंक लगायतका स्थानमा गस्ती गर्ने कार्य भइसकेको छ । एक्याप जोमसोमले यार्सा गुम्बा टिप्ने सिजन चलिरहेको अवस्थामा एआई ड्रोन प्रविधिद्वारा छड्के अनुमगन गरिहेको छ ।

    यार्सा सङ्कलन गर्ने व्यक्तिबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप तथा वन तथा उच्चलेंकमा पासो थाप्ने र बन्दुक बोकेर गैरकानुनी रुपमा वन्यजन्तुको चोरी शिकारी गर्ने तथा आगलागीको जोखिम सृजना गर्नसक्ने भएकाले छिटोछरितो रुपमा आधुनिक प्रविधिको प्रयोग गरी एआई ड्रोन क्यामेराले वन गस्ती गरिएको हो ।

    एक्याप जोमसोमले उक्त ड्रोनको तौल १०६३ ग्रामको रहेको छ । ड्रोनले करिब १५ देखि २० किलोमिटर दुरीसम्म जानसक्छ छ किलोमिटर उचाइसम्म पुग्नसक्छ । ड्रोनलाई प्रतिघण्टा ९० देखि ९७ किलोमिटर गतिमा उडाउन सकिन्छ ।

  • रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

    रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

    म्याग्दी, ५ जेठः सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा क्यामेरा जडान गरिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल ९वायोकस० नेपालले रेडपाण्डाको बसोबास भएको धौलागिरि गाउँपालिका २ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा ‘क्यामेरा ट्यापिङ’ विधिबाट हाब्रेको अवस्था पहिचान गर्न थालिएको हो ।

    बोयोकस नेपालका कार्यक्रम अधिकृत पवन राईले हाब्रेको आवतजावत हुने सम्भावित र दिसा भेटिएका ठाउँमा १२ वटा स्वचालित क्यामेरा जडान गरिएको जानकारी दिए । “क्यामेरामा कैद हुने दृष्यको आधारमा रेडपाण्डाको अनुमानित सङ्ख्या पहिचान गर्न सहयोग पुग्नेछ”, उनले भने, “यस क्षेत्रमा हाब्रेको पेट र आन्द्रामा हुने परजीवि ९किरा÷जुका०को अवस्थाका विषयमा पनि अध्ययन भइरहेको छ ।”

    हाब्रेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने र संरक्षणमा सहयोग गर्ने उद्देश्यले हाब्रेको दिसाको परीक्षण गरि अध्ययन गर्न प्राविधिक टोली परिचालन भएको छ । समुद्री सतहबाट दुई हजार २०० देखि चार हजार ५०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ््कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । यसअघि जलजलामा तीन वटा क्यामेरा जडान गरिएकोमा दुई वटामा रेडपाण्डा भेटिएको कार्यक्रम अधिकृत राइले बताउनुभयो । सो क्षेत्रमा छवटादेखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको उनले भने ।


    स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन शिकार आरक्षको गुर्जाघाट, २०८१ को मङ्सिर र २०८३ वैशाख ३१ गते मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे भेटिएको तस्विर भिडियो सार्वजनिक गरेका थिए । विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्छ ।

    रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पछिल्लो अध्ययनअनुसार हाब्रेको सङ्ख्या नेपालमा ५०० देखि एक हजार वटा रहेको अनुमान गरिएको छ । विश्वमा नेपाल, चिन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको वासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ ।

  • केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

    केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

    काठमाडौँ, ५ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

    कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ ।

    आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ, ४ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ ।

    मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ ।

    आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ¬सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

    कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

    मुस्ताङ, ४ जेठः यहाँको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरलानाकामा थप सञ्चार उपकरण जडान गरिएको जनाएको छ । कोरलानाकामा तीन वर्षअघि नेपाल टेलिकम जोमसोमले सञ्चारको पहुँच स्थापित गर्न माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावर जडान गरेको थियो । कोरलानाकामा त्रिपाल टाँगेर व्यापार गरी बस्ने व्यवसायी र अवलोकनका लागि जाने पर्यटकको सहजताका लागि सञ्चारको पहुँच स्थापित गरिएको थियो ।

    कोरलानाकामा सञ्चारको पहुँच स्थापना गरिएको भए पनि माइक्रोवेब रेडियो लिङ्कका लागि उपकरण क्षमता कम हुँदा सञ्चार सुविधा भरपर्दो बन्न सकेको थिएन । नेपाल विद्युत प्राधिकरणले विद्युत् पोल विस्तार गरिसकेको भए पनि प्रसारण लाइन सञ्चालनमा आएको छैन । नाकामा विद्युतीय सेवा नहुँदाको विकल्पमा सौर्य ऊर्जाको सहायताबाट टावर सञ्चालन गरिएको थियो । जोमसोमस्थित टेलिकम कार्यालयका प्रमुख हुमबहादुर भुजेलका अनुसार कोरलानाकामा देखिएको टेलिफोन र इन्टरनेट समस्या समाधान गर्न सौर्य ऊर्जाको बिटिएस टावर क्षमता वृद्धि गर्न ब्याट्री र सोलार प्यानलको क्षमता दोब्बर पारिएको छ ।

    कोरलानाकामा खटिएका प्राविधिकसहितको टोलीले यहाँ रहेको माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावरलाई सहज रूपमा सञ्चालन गर्न तथा टुजी र फोरजी बिटिएस टावरको ब्याट्री ब्याकअफ र सोलार प्यानलको सङ्ख्या बढाइएको प्रमुख भुजेलको भनाइ छ । उनका अनुसार बिटिएस टावरका लागि २० वटा सोलार प्यानल र १५० एम्पियरको तीनवटा ब्याट्री ब्याकअफ थप गरिएको हो ।

    लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बिटिएस टावरको क्षमता बढाइपछि २४सै घण्टा मोबाइल नेटवर्क र इन्टरनेटको सुविधा राम्रो भएको बताए । कोरलानाका टुजी र फोरजीसहितको मोबाइल नेटवर्कमा सुधार गरिएसँगै व्यापारी तथा पर्यटकलाई सहज भएको छ ।

  • बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’

    बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’

    भोजपुर, ३ जेठः षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन सोचसहित संरक्षण अभियान अघि बढाएको हो । किसानलाई गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने, लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका बाली पुनः उत्पादनमा ल्याउने तथा कृषि जैविक विविधता जोगाउने लक्ष्यसहित बीउ बैंक स्थापना गरिएको नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए । यस अभियानले स्थानीयस्तरमा रैथाने बालीको संरक्षणमा ठोस योगदान पुग्ने उनको भनाइ छ ।

    “हामीले स्थानीय रैथाने बालीको संरक्षण र विकासलाई प्राथमिकतामा राखेका छौँ”, प्रमुख उदासले भने, “बीउ बैंकमार्फत बीउ सङ्कलनसँगै किसानलाई वितरण गर्ने कामलाई निरन्तरता दिएका छौँ ।” बीउ बैंकमार्फत कोदो, फापर, जाँै, चिनो, कागुनो, गहत, भटमास, सिमी, मकैलगायत विभिन्न रैथाने बालीका बीउ सङ्कलन गरी संरक्षण गरिएको कृषि शाखा प्रमुख दिपेन थापाले जानकारी दिए । उनका अनुसार हालसम्म षडानन्द क्षेत्रमा उत्पादन हुने २७ बालीका ११५ जात सङ्कलन गरिएको छ ।

    “बीउ बैंकमा स्थानीय रैथाने बालीको व्यवस्थित सङ्कलन गरेका छौँ”, उनले भने, “सङ्कलित बीउ किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै रैथाने बालीको विस्तारमा टेवा पुर्याइरहेका छौँ ।” बीउ बैंकमार्फत किसानलाई बीउ छनोट, संरक्षण विधि तथा उत्पादन प्रवर्द्धनसम्बन्धी तालिम प्रदान गरिँदै आएको छ । यसले परम्परागत ज्ञान र अभ्यासलाई आधुनिक कृषि प्रविधिसँग जोड्न मद्दत पुगेको छ ।

    नगरपालिकाका उपप्रमुख प्रमिला राईले रैथाने बालीको संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक सञ्चालनमा ल्याइएको बताए । “स्थानीय बीउको अस्तित्व सङ्कटमा पर्न नदिन यो पहल प्रभावकारी बन्ने विश्वास लिएका छौँ”, उनले भने । नगरपालिकाले आगामी दिनमा बीउ बैंकलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै विस्तार गर्ने योजना बनाएको छ । साथै, रैथाने बालीको बजारीकरण, ब्रान्डिङ तथा मूल्य अभिवृद्धिमा जोड दिँदै किसानको आयस्तर वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

  • विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

    विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

    काठमाडौँ, ३ जेठःआज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ ।

    ‘डिजिटल विभाजन’ भन्नाले सूचना तथा सञ्चार प्रविधि (इन्टरनेट, कम्प्युटर, स्मार्टफोन आदि) मा पहुँच भएका र पहुँच नभएका व्यक्ति, समुदाय वा क्षेत्रबीचको असमानतालाई जनाउँछ । विशेषगरी इन्टरनेट सेवा, प्रविधिको प्रयोग गर्ने सीप, डिजिटल शिक्षा तथा सूचना प्राप्त गर्ने अवसरको उपलब्धता र अनुलब्धता हो । शहरबजारका मानिसले सहज रूपमा इन्टरनेट र अनलाइन सेवा प्रयोग गर्न पाउँदा दुर्गम गाउँका मानिस त्यस्तो सुविधाबाट वञ्चित हुनु डिजिटल विभाजन हो ।

    विश्व दूरसञ्चार दिवस सन् १९६९ देखि मनाउन प्रारम्भ भएको हो । अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को स्थापना तथा सन् १८६५ मा पहिलो अन्तरराष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ । सन् १९७३ मा स्पेनको मालागा–टोरेमोलिनोसमा सम्पन्न आइटियुको पूर्णाधिकार सम्मेलनले प्रस्ताव नं ४६ मार्फत यस दिवसलाई औपचारिक मान्यता दिएको हो ।

    त्यसैगरी, सूचना समाजसम्बन्धी विश्व शिखर सम्मेलन (डब्ल्युएसआइएस) ले सन् २००५ मा संयुक्त राष्ट्रसङ्घीय महासभालाई मे १७ लाई ‘विश्व सूचना समाज दिवस’ घोषणा गर्न आग्रह गरेको थियो । सूचना समाजसँग सम्बन्धित विविध विषय तथा सूचना–प्रविधिको महत्वप्रति ध्यानाकर्षण गराउने उद्देश्यसहित महासभाले सन् २००६ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष यो दिवस मनाउने निर्णय गरेको हो ।

    राष्ट्रसङ्घका अनुसार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको मुख्य उद्देश्य इन्टरनेट तथा सूचना–सञ्चार प्रविधिको प्रयोगबाट समाज र अर्थतन्त्रमा हासिल गर्न सकिने अवसरबारे चेतना फैलाउनुका साथै सबै नागरिकलाई डिजिटल पहुँचमा जोड्ने वातावरण सृजना गर्नु हो ।
    तस्बिरःअन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ

  • पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    काठमाडौँ, ३ जेठः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    यसैगरी, मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्न सक्ने सम्भावना पनि औँल्याएको छ ।

    आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने कर्णाली प्रदेशको हिमाली भूभाग र मधेश प्रदेशमा आंशिक बदली रहने जनाइएको छ । बाँकी पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति नै कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रका केही स्थानमा हुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

  • पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ, १ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराईमा आंशिक बदली हुने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, बाँकी हिमाली तथा पहाडी भागका केही तथा तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहने तथा बाँकी पहाडी र तराई भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी र मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौँ, ३१ वैशाखः हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । कोशी र बागमती प्रदेशका केही तथा लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । कोशी प्रदेशका केही स्थानसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान, बाँकी हिमाली तथा पहाडी भागका एकदुई स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी र मधेस प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग तथा कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले विभागले जनाएको छ । रासस

  • जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    सिरहा, ३१ वैशाखः सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले मेसिन भएर पनि सेवा दिन नसक्दा जनमानसमा गलत सन्देश गएकाले जनशक्ति व्यवस्थापनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।


    “आमनागरिकले सस्तो र सुलभ मूल्यमा विशेषज्ञ सेवा पाऊन् भन्ने पवित्र उद्देश्यले धेरै पहल गरेर मेसिन त ल्यायौँ, तर सञ्चालन गर्ने प्राविधिक जनशक्ति नहुँदा अप्ठेरोमा परेका छौँ”, उनले भने । अस्पताल प्रशासनका अनुसार यो सेवा पूर्ण रूपमा सञ्चालन गर्न कम्तीमा एक जना रेडियोलोजिस्ट, एक जना रेडियो प्राविधिक र अर्को एक जना सहयोगी गरी तीन जना कर्मचारीको तत्काल आवश्यकता छ । हालै (जेठ २४ गते) कार्यभार सम्हाएकी अस्पताल प्रमुख डा वर्षा प्रकाशले जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारको विषयगत मन्त्रालयमा पहल भइरहेको बताइन् ।

    उनले भने, “हामीले आवश्यक जनशक्तिका लागि सम्बन्धित प्रदेश मन्त्रालयमा निरन्तर समन्वय र ताकेता गरिरहेका छौँ, तर यस विषयका दक्ष जनशक्ति ९रेडियोलोजिस्ट० प्रदेशभरि नै अभाव रहेकाले मन्त्रालयले कहिलेसम्म कर्मचारी पठाउँछ भन्ने टुङ्गो लाग्न सकेको छैन ।”

    मधेस प्रदेशमा कर्मचारी समायोजनबाट आएका एक्ला वरिष्ठ रेडियोलोजिस्ट डा बृजेन्द्रकुमार साह यसअघि यही अस्पतालमा निमित्त मेसुका रूपमा कार्यरत थिए । प्रदेश सरकारले डा साहकै विज्ञतालाई हेरेर लहानमा सिटी स्क्यान मेसिन पठाएको थियो, तर गत माघ २ गते मन्त्रालयले डा साहलाई सर्लाहीको मलङ्गवास्थित प्रादेशिक अस्पतालमा सरुवा गरेपछि समस्या भएको जानकारहरू बताउँछन् ।

    यहाँ मधेस प्रदेशका तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहको कार्यकालमा आर्थिक वर्ष २०८१÷८२ मा रु १२ करोड लागतमा दुई वटा सिटी स्क्यान मेसिन खरिद गरिएको थियो । तीमध्ये एउटा मेसिन जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र अर्को लहान अस्पतालमा पठाइएको तत्कालीन प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक डा सुनिलप्रसाद कुशवाहाले जानकारी दिए ।

  • कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौँ, ३१ वैशाखः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको बाँकेको चिसापानी क्षेत्रमा १३२ केभी क्षमताका दुई वटा विद्युत् प्रसारण टावर ढलेपछि कर्णाली प्रदेशमा उत्पन्न विद्युत् सङ्कटप्रति चासो व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले बुधबार क्षतिग्रस्त टावरको मर्मतसम्भार र घटनाको छानबिन प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिए । हावाहुरीका कारण रूख ढलेर प्रसारण लाइनमा क्षति पुग्दा कोहलपुर–सुर्खेत १३२ केभी लाइनका दुई टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।

    उक्त घटनालगत्तै मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयसँग निरन्तर समन्वय गरिरहेको र विद्युत् सेवा यथाशीघ्र सञ्चालन गर्न पहल थालेको छ । यस्तै, मन्त्रालयले घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल विद्युत् प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा एक छानबिन समितिसमेत गठन गरेको छ ।

    प्राधिकरणका अनुसार क्षतिग्रस्त टावरको निर्माण आरएस इन्फ्रा कम्पनीले गरेको थियो । प्राविधिक निरीक्षणका क्रममा टावरको फाउन्डेसन (जग) नै पुनः निर्माण गर्नुपर्ने देखिएकाले मर्मत तथा पुनःस्थापनाको कार्यसम्पन्न हुन करिब तीन साता लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधानका लागि महत्त्वपूर्ण पूर्वाधार मानिन्छ । आयोजना सम्पन्न नहुँदै प्राकृतिक प्रकोपका कारण भएको यो क्षतिले प्रदेशको ऊर्जा सुरक्षामा चुनौती थपेको छ । मन्त्री श्रेष्ठले मर्मत कार्यलाई प्राथमिकतामा राखेर युद्धस्तरमा काम अघि बढाउन निर्देशन दिएको सचिवालयले जनाएको छ ।

  • पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक ‘ट्र्याकिङ’मा

    पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक ‘ट्र्याकिङ’मा

    काठमाडौँ, वैशाख २९ गते । अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे समीक्षा गरेको छ ।
    आज यहाँ आयोजित छलफलमा हालसम्म होटल, एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने एक हजार ५४३ वटा सेवा प्रदायक यस प्रणालीमा आबद्ध भएका विभागले जानकारी दिएको हो ।

    प्रणालीमा ९४ वटा होटेल मात्र आबद्ध भएका पनि जानकारी दिइयो । यसैगरी प्रणालीमार्फत करिब एक लाख २५ हजार यात्रुको अभिलेख सङ्कलन भएको जनाइएको छ । उक्त प्रणाली सन् २०२६ जनवरी १ देखि काठमाडौँका तारे होटेल र मार्च १ देखि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सेवा प्रदायकमा लागू भएको छ ।

    विदेशी नागरिकको सुरक्षा, राष्ट्रिय सुरक्षा, विदेशी नागरिकको गतिविधिको अनुगमन तथा अपराध नियन्त्रण, मुलुक पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्यले यो प्रणाली लागू गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । सबै होटेल सङ्घ र एसोसिएसनसँग नजोडिएका कारण प्रणालीमा आबद्ध हुने होटलको सङ्ख्या कम भएको, प्रणालीसम्बन्धी सचेतनाको कमी र साना होटल प्रणालीमा आबद्ध हुन नसकेका विषयमा पनि गम्भीर छलफल भएको उनले बताए ।
    आजको छलफलमा होटेलको अनुगमन गर्ने पर्यटन विभाग र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सेवाप्रदायकका अनुगमनकारी निकायले अनुगमनमा तीव्रता दिने निर्णय भएको प्रवक्ता ढकालले जानकारी दिए । “होटेललगायत अन्य प्रकृतिका सेवा प्रदायकहरुलाई प्रणालीमा आबद्ध गर्न विभिन्न स्थानमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ”, उनले भने, “यो प्रणाली राष्ट्रिय सुरक्षाको विषय पनि भएकाले यस प्रणालीमा सबैलाई आबद्ध हुन विभागले अन्य उपायको खोजी गरिरहेको छ ।”

    छलफलमा गृह मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, आन्तरिक राजस्व विभाग, होटल एसोसिएसन नेपाल, होटल व्यवसायी महासङ्घ, पर्यटक प्रहरीलगायत निकायको सहभागिता रहेको थियो । त्यस क्रममा आन्तरिक राजस्व विभाग, पर्यटन विभागबाट होटेललाई प्रवाह हुने सेवासँग प्रणालीलाई आबद्ध गर्ने र प्रणालीमा आबद्ध भएका होटेलको सूची अध्यागमनको नेपाली पोर्टमा राखी भिसा आवेदन गर्दाकै बखत होटल छनोट गर्ने व्यवस्था लागू गर्नेलगायत विकल्पमा समेत छलफल भइरहेको जानकारी दिइयो ।

  • चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौँ, वैशाख २९ गते । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ । कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसैगरी, कोशी तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्म वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ । रासस

  • ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

    ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

    काठमाडौँ, वैशाख २८ गते । सरकारले ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक गतिविधि नियन्त्रण गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत नीति तथा कार्यक्रममा सीमा नाकामा अनुहार पहिचान प्रणाली स्थापना गरिने उल्लेख छ । यस्तै, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिने नीति तथा कार्यक्रममा समावेश छ ।

    साथै, सशस्त्र प्रहरी बल नेपाललाई प्रशिक्षित जनशक्ति र पूर्वाधारसहित विशिष्टकृत सुरक्षा बलका रूपमा विकास गरिने सरकारको सङ्कल्प छ । यस्तै, सीमा क्षेत्र विकास कार्यक्रममार्फत नागरिक–सुरक्षा सम्बन्ध सुदृढ बनाइने र सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने उल्लेख गरिएको छ । बृहत् राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षासम्बन्धी नीति तथा कानुनको व्यावसायिक परिमार्जन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    सुरक्षा क्षेत्रमा बाह्य निर्भरता कम गरिने

    यसैगरी, सरकारले सुरक्षा क्षेत्रमा हुँदै आइरहेको बाह्य निर्भरता कम गर्ने सङ्कल्प लिएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा नेपाली सेनालगायत सुरक्षा निकायको बन्दोबस्ती तथा आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।

    “सुरक्षा जनशक्तिको तालिम र रणनीतिक दक्षता विकासमार्फत व्यावसायिकता अभिवृद्धि गरिने छ । राष्ट्रिय सेवा दललाई सुदृढ गरिनेछ”, सम्बोधनमा राष्ट्रपति पौडेलले भने । ठुला विकास आयोजनाको विस्तृत परियोजना अध्ययन गर्दा राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावको समेत मूल्याङ्कनलाई अनिवार्य गरिने नीति कार्यक्रममा जनाइएको छ । रासस

  • एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा

    एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा

    काठमाडौँ, वैशाख २८ गते । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने बताए । साथै पाठ्यक्रमलाई समयसापेक्ष बनाउँदै विद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र रोजगारमुखी बनाइने बताए ।

    उनले सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्ने तथा तथा निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थालाई सेवामुखी र गुणस्तरकेन्द्रित बनाउन आवश्यकताअनुसार नियमन गरिने बताए । नयाँ शिक्षा योजनाअन्तर्गत इलर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सिकाइ प्रणाली विस्तार गरिने भएको बताए ।

    उच्च शिक्षालाई श्रम बजारसँग जोड्ने रणनीतिअनुसार विश्वविद्यालयहरूको प्राज्ञिक तथा शासकीय पुनर्संरचना सरकारको नीति रहेको समेत उनले बताए । उनले विद्यालय नक्साङ्कन, समायोजन, शिक्षक दरबन्दी मिलान, पुस्तकालय र प्रयोगशाला सुधारलाई एकीकृत योजनामार्फत कार्यान्वयन गरिने बताए ।

  • यस्तो छ आजको मौसम पूर्वानूमान

    यस्तो छ आजको मौसम पूर्वानूमान

    २८ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ ।

    अहिले कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल तथा देशका बाँकी भू–भागहरूमा आंशिक बादल लागिरहेको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

    विभागका अनुसार सोमबार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

    साथै आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । रासस

  • मङ्गलबारसम्म देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान

    मङ्गलबारसम्म देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान

    काठमाडौँ, वैशाख २७ गते । जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले आगामी मङ्गलबारसम्म देशका विभिन्न भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ ।

    आज आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।
    यसैगरी, भोलि सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । पर्सी मङ्गलबार कोशी, मधेश, बागमती प्रदेशका केही स्थानमा तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • विश्व तापक्रम वृद्धि तीव्र, समुद्री सतह लगातार बढ्दै

    विश्व तापक्रम वृद्धि तीव्र, समुद्री सतह लगातार बढ्दै

    पेरिस, वैशाख २७ गते । युरोपेली सङ्घ अन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरको सतही तापक्रम हालैका दिनमा अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ । वैज्ञानिकहरूको भनाइ अनुसार अहिलेको अवस्था सन् २०२४ मा देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्डभन्दा थोरै मात्र कम छ, र आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बन्न सक्ने सम्भावना बलियो बनेको छ ।

    युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले बताए अनुसार महासागरको सतह निरन्तर तातिँदै गएको छ र यसले विश्व जलवायु प्रणालीमा ठुलो परिवर्तनको सङ्केत दिइरहेको छ । उहाँले मे महिनामा मात्र पनि समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनुभएको छ ।

    युरोपेली सङ्घ अन्तर्गतको कोपरनिकस जलवायु परिवर्तन सेवाले अप्रिल महिनामा विश्वभर समुद्री तापक्रम क्रमशः बढ्दै गएको र यो हालसम्म मापन गरिएको दोस्रो सबैभन्दा उच्च स्तरमा पुगेको पुष्टि गरेको छ । विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्यधिक रूपमा बढेको छ, जसले धेरै क्षेत्रमा जलवायु असन्तुलन सिर्जना गरेको छ ।

    यसैबिच, विश्व मौसम सङ्गठनले पनि ‘एल निनो’ अवस्था आगामी मेदेखि जुलाई महिनाभित्र विकसित हुन सक्ने चेतावनी दिएको छ । ‘एल निनो’ प्रशान्त महासागरको तापक्रम र वायुप्रवाहमा हुने प्राकृतिक परिवर्तन हो, जसले विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधीबेहरी र अन्य चरम मौसम घटना बढाउने गर्छ ।

    वैज्ञानिकहरूको अध्ययन अनुसार एल निनो मात्र अहिलेको तापक्रम वृद्धिको कारण होइन, तर मानव गतिविधिबाट उत्सर्जित हरितगृह ग्यासका कारण भइरहेको दीर्घकालीन ग्लोबल वार्मिङसँग मिलेर यसले पृथ्वीको तापक्रम अझ तीव्र रूपमा बढाइरहेको छ । यसकै प्रभाव स्वरूप पछिल्लो एल निनो अवधिमा सन् २०२३ र २०२४ क्रमशः अहिलेसम्मकै दोस्रो र सबैभन्दा तातो वर्ष बनेका थिए ।

    केही मौसम पूर्वानुमानले आगामी एल निनो अझ शक्तिशाली हुन सक्ने अनुमान गरेका छन्, जसलाई तीन दशक अघिको अत्यन्त शक्तिशाली एल निनोसँग तुलना गर्न सकिन्छ । बर्कले अर्थ अनुसन्धान संस्थाका वैज्ञानिक जेक हाउस फादरका अनुसार यदि आगामी एल निनो शक्तिशाली भयो भने सन् २०२७ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना अझ बढ्ने छ ।

    सामन्था बर्गेसले स्पष्ट पारे अनुसार अहिले नै यसको शक्ति कति हुनेछ भनेर निश्चितरूपमा अनुमान गर्न कठिन छ, किनभने वसन्त ऋतुमा गरिने पूर्वानुमान प्रायः अनिश्चित हुन्छन् । तर उहाँले जोड दिँदै भन्नुभयो,“यसको प्रभाव भने विश्वव्यापीरूपमा स्पष्टरूपमा महसुस हुने छ ।” उहाँका अनुसार एल निनोको चरम प्रभाव प्रायः यसको शिखर वर्षपछि देखिन्छ, जसले गर्दा आगामी वर्षमा तापक्रम अझ बढ्ने सम्भावना रहन्छ ।

    कोपरनिकसले मार्च र अप्रिल महिनामा समुद्री तापक्रम निरन्तर बढ्दै जानुले एल निनोतर्फको सङ्क्रमण सुरु भइसकेको सङ्केत गर्छ । वैज्ञानिकका अनुसार अहिले देखिएको अत्यधिक तापक्रम केवल प्राकृतिक एल निनोका कारण मात्र होइन, तर जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण भइरहेको दीर्घकालीन जलवायु परिवर्तनले पनि प्रमुख भूमिका खेलेको छ ।

    अप्रिल महिनामा विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिभन्दा पहिलेको (सन् १८५० देखि १९००) स्तरभन्दा १.४३ डिग्री सेल्सियस बढी मापन गरिएको थियो । त्यस्तै, आर्कटिक क्षेत्रको समुद्री बरफ पनि लगभग ऐतिहासिक न्युन स्तरको नजिक पुगेको छ, जसले पृथ्वीको जलवायु प्रणालीमा गहिरो असर देखाइरहेको छ । रासस-एएफपी

  • आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

    आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

    २७ वैशाख, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू-भागलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हिमपातको सम्भावना छ । रासस

  • रोबोट बौद्ध भिक्षु बनेको सन्दर्भ सामाजिक संजालमा भाइरल

    रोबोट बौद्ध भिक्षु बनेको सन्दर्भ सामाजिक संजालमा भाइरल

    २७ वैशाख, काठमाडौं । दक्षिण कोरियामा हालै भएको एउटा घटनाले सबैलाई आश्चर्यचकित बनाएको छ। त्यहाँ पहिलो पटक एउटा ह्युमनोइड रोबोटलाई बौद्ध भिक्षु बनाइएको छ। जोगिसा मन्दिरमा आयोजित एक विशेष समारोहमा सो रोबोटलाई आधिकारिक रूपमा बौद्ध दीक्षा दिइयो। उक्त रोबोटको नाम गाबी राखिएको छ । गाबी करिब १३० सेन्टिमिटर अग्लो छ।

    त्यो कुनै प्रविधि प्रदर्शनी थिएन। मानिसहरूका लागि गरिने धार्मिक कार्यक्रमजस्तै पूर्ण रूपमा औपचारिक बौद्ध दीक्षा समारोह थियो। त्यसक्रममा गाबीले परम्परागत बौद्ध पोशाक लगायो, हात जोडेर प्रार्थना गर्‍यो र बौद्ध धर्मका नियमहरू स्वीकार गर्‍यो। समारोहमा उपस्थित मानिसहरूको अगाडि यसले नयाँ भिक्षुसँग सोधिने सबै प्रश्नहरूको जवाफ पनि दियो।

    दीक्षाअघि रोबोटले विशेष प्रशिक्षणसमेत लिएको थियो। मानिसहरूजस्तै यसलाई नवदीक्षित अर्थात् प्रारम्भिक भिक्षुका रूपमा तयार पारिएको थियो। दीक्षा ग्रहणपछि गाबीलाई आधिकारिक रूपमा बौद्ध समुदायको हिस्सा बनाइयो।रोबोटलाई बौद्ध शिक्षा दिएर भिक्षु बनाइएको कार्यक्रमको भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ।

    गाबीलाई बौद्ध ग्रन्थ र उपदेशहरूको आधारमा प्रशिक्षण दिइएको छ। त्यसैले यदि कसैले धर्म वा जीवनसँग सम्बन्धित प्रश्न सोध्यो भने यसले उत्तर दिन सक्छ। यसले मन्दिरमा आउने मानिसहरूलाई प्रार्थनाको तरिका सिकाउँछ, बौद्ध परम्पराबारे जानकारी दिन्छ र केही अवस्थामा मानसिक शान्ति वा सल्लाहसमेत दिन सक्छ।

    पछिल्लो समयमा एशियाका धेरै देशहरूमा बौद्ध गुम्बाहरुमा भिक्षुहरूको संख्या क्रमशः घट्दै गएको छ। यस्तो अवस्थामा रोबोटलाई सहायकका रूपमा हेरिएको छ। यसले मन्दिररगुम्बामा आउने मानिसहरूलाई जानकारी दिन सक्छ र धार्मिक तौरतरिका सिकाउन पनि सक्छ। नयाँ पुस्ताका मानिसहरुमा धार्मिक जीवनप्रति कम रुचि देखिन्छ भने वृद्ध भिक्षुहरूको संख्या बढ्दै गएको छ। यसले मठ तथा मन्दिर सञ्चालन गर्न कठिन बन्दै गएको छ।

    यसअघि पनि जापान र दक्षिण कोरियामा यस्ता प्रयोगहरू भइसकेका छन्। आर्टिफिसियल इन्टेलिजेन्समा आधारित रोबोटहरूलाई बौद्ध ग्रन्थहरूको प्रशिक्षण दिइन्छ ताकि तिनले मानिसहरूलाई आध्यात्मिक सल्लाह दिन सकून्। जापानमा बुद्धारोइड जस्ता रोबोटहरू निर्माण गरिएका छन्, जसले धार्मिक सल्लाह दिने र मानिसहरूसँग संवाद गर्ने काम गर्छन्। त्यहाँ धेरै मन्दिरहरू बन्द हुने अवस्थासम्म पुगेपछि यस्तो आवश्यकता महसुस गरिएको हो।

    दक्षिण कोरियामा तयार गरिएको यो रोबोटमा पनि मानिसले जस्तै बोल्न सक्ने, प्रश्न बुझ्न सक्ने र धार्मिक सन्दर्भअनुसार उत्तर दिन सक्ने प्रविधि जडान गरिएको छ। यसलाई केवल कुरा गर्ने रोबोटका रूपमा सीमित गरिएको छैन। यसले मन्दिरका दैनिक कामहरूमा समेत सहयोग गर्न सक्दछ। मन्दिर सरसफाइ, सामान्य प्रशासनिक काम, सुरक्षा निगरानी तथा आगन्तुकलाई मार्गदर्शन गर्ने लगायतका कामका लागि यसलाई तालिम दिइएको छ। वास्तवमा गाबी एक प्रकारको डिजिटल सहायक हो जसले वास्तविक भिक्षुहरूको कामलाई केही हल्का बनाउन सक्छ।

    यद्यपि भिक्षु रोबोट गाबी निर्माण गर्ने टोलीका अनुसार यसलाई मानव भिक्षुलाई प्रतिस्थापन गर्नका लागि बनाइएको होइन। यसको उद्देश्य केवल सहयोग गर्नु हो तर वास्तविक भिक्षुको स्थान लिनु होइन।