Category: विज्ञान प्रविधि

  • यस्तो छ आजको मौसम पूर्वानूमान

    यस्तो छ आजको मौसम पूर्वानूमान

    २६ वैशाख, काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम सम्मको वर्षा साथै मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षारहिमपात साथै तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।

  • आज पनि केही स्थानमा मध्यमखालको वर्षा

    आज पनि केही स्थानमा मध्यमखालको वर्षा

    २५ वैशाख, काठमाडौं । पश्चिमी वायुको प्रभावले हाल देशका विभिन्न भागमा बदली भएको र केही स्थानमा मेघगर्जनसहित वर्षा पनि हुने पूर्वानुमान गरिएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ ।

    सो प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली छ । बाँकी तराई भागमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा पनि भइरहेको छ ।

    आज दिउँसो कोशी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बाँकी तराई क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

    आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै मधेश प्रदेशसहित अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

  • पठाओ नेपालबाट बाहिरिए प्रबन्ध निर्देशक बस्न्यात

    पठाओ नेपालबाट बाहिरिए प्रबन्ध निर्देशक बस्न्यात

    २३ वैशाख, काठमाडौँ । नेपालमा राइड–सेयरिङ सेवाको पर्यावाची बनेको पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात बाहिरिएका छन् ।
    सन् २०१८ मा सञ्चालनमा आएको पठाओ नेपालले नेपालमा राइड–सेयरिङ सेवाको नयाँ संस्कृतिको स्थापना गरेको मानिन्छ। प्रारम्भिक चरणमा नियामकीय अस्पष्टता, बजारको अविश्वास र पूर्वाधारको अभावजस्ता चुनौतीका बीच बस्न्यातको नेतृत्वले कम्पनीलाई अघि बढाएको थियो । उनको नेतृत्वमा पठाओले केवल सेवा विस्तार मात्र गरेन, शहरी जीवनशैलीमै परिवर्तन ल्याउने गरी राइड–सेयरिङ प्रयोगको बानी बसाल्यो। यसको जस बस्न्यातको नेतृत्वलाई नै जान्छ।

    हाल पठाओ नेपाल काठमाडौँ उपत्यका र देशका सातै प्रदेशमा सञ्चालनमा छ। यसले हजारौं चालक साझेदारलाई रोजगारी तथा आम्दानीको अवसर उपलब्ध गराएको छ, जसले गिग अर्थतन्त्रको विस्तारमा समेत योगदान पुर्‍याएको छ। पछिल्लो समय कम्पनी बहुआयामिक सेवातर्फ विस्तार हुँदै गएको छ। अब यो केवल सवारी सेवा मात्र नभई लामो दूरीका सवारी बुकिङ, सहरबीचको आवतजावत सेवा, खाना डेलिभरी, नेपाल भर पार्सल डेलिभरी र बजार प्लेटफर्मजस्ता सुविधासहित एकीकृत डिजिटल सेवा केन्द्रका रूपमा विकास हुँदै गएको छ।

    पठाओ नेपालले बस्न्यातको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै उनको आगामी यात्राका लागि शुभकामना दिएको जनाएको छ।

  • मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीबारे ऊर्जा मन्त्रीको चासो

    मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीबारे ऊर्जा मन्त्रीको चासो

    २३ वैशाख, काठमाडौं । मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बुधबार जल तथा मौसम विज्ञान विभाग पुगेका छन् । त्यस क्रममा मन्त्री श्रेष्ठले आजको मौसम अवस्था, विशेष तथा २४ घण्टे पूर्वानुमान, तीनदिने पूर्वानुमान, हवाई मौसम सेवा, विशेष मौसम विश्लेषण तथा बाढी सम्बन्धी पूर्वसूचना प्रणालीबारे विभागका प्राविधिक तथा अधिकारीहरूसँग विस्तृत छलफल गरे ।

    त्यस्तै चालू आर्थिक वर्षका कार्यक्रमको समीक्षा तथा आगामी आर्थिक वर्षका कार्यक्रमबारे पनि छलफल भएको थियो । सो अवसरमा मन्त्री श्रेष्ठले आगामी दिनमा विभागलाई थप प्रविधिमैत्री बनाउँदै हालको तीनदिने पूर्वानुमान क्षमतालाई विस्तार गरी सात दिनसम्मको पूर्वानुमान गर्न सक्ने बनाउनेतर्फ मन्त्रालयले पहल गर्ने बताए । उनले मनसुन सुरु हुने समय नजिकिँदै गएको उल्लेख गर्दै सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र लक्षित समुदायसम्म पुग्ने बनाउन निर्देशनसमेत दिए ।

    उनले विभागलाई मौसमको अध्ययन केन्द्र बनाउनुपर्ने र त्यहाँबाट प्राप्त सूचना र तथ्यांकलाई सरकारी निकाय र अन्य सेवाप्रदायकले लाभ उठाउनुपर्ने बताए । मन्त्री श्रेष्ठले सीमित स्रोत साधन र जनशक्तिका बाबजुद निरन्तर रूपमा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रवाहमा खटिएका प्राविधिक र कर्मचारीहरूको कामप्रति धन्यवाद दिँदै कर्मचारीलाई प्रोत्सहानका कार्यक्रम ल्याउने समेत बताए । उक्त कार्यक्रममा जलस्रोत सचिव सरिता दवाडी र विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले विभागका वर्तमान गतिविधि, मौसम पूर्वानुमान प्रणाली र बाढी पूर्वसूचनासम्बन्धी कार्यप्रगतिबारे जानकारी गराइन् ।

  • पाथीभरामा टेलिकमको फोरजी सेवा

    पाथीभरामा टेलिकमको फोरजी सेवा

    काठमाडौँ, वैशाख २३ गते । नेपाल टेलिकमले ताप्लेजुङ जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सोमबारदेखि सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले पाथीभरा मन्दिर र आसपासका स्थानीय तहलाई समेट्ने गरी उच्च गतिको फोरजी सेवा सञ्चालनमा ल्याइएको जनाएको छ ।

    समुद्र सतहबाट करिब तीन हजार ७९४ मिटरको उचाइमा रहेको सो विकट भौगोलिक क्षेत्रमा नेटवर्क विस्तार भएसँगै पाथीभराको दर्शन गर्न जाने भक्तजनका साथै मन्दिरआसपास जोडिएका फुङलिङ नगरपालिका, फक्ताङ्लुङ गाउँपालिका, सिरीजङ्घा गाउँपालिका र पाथीभरा याङवाराक गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् । उच्च गतिको फोरजी डाटा सेवामार्फत मन्दिरपरिसरका तस्बिर, भिडियो तथा लाइभ अपडेट सामाजिक सञ्जालमा सहजै आदानप्रदान गर्न सकिने छ ।

    टेलिकमको सेवा विस्तारसँगै सञ्चारको पहुँचबाट टाढा रहेका सो जिल्लाका नगरपालिका तथा गाउँपालिकास्थित दुर्गम बस्तीका बासिन्दा अब सूचना प्रविधिको मूलधारमा जोडिएका छन् । यसले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूर्तिमा सहयोग पु¥याउनुका साथै दैनिक जनजीवनलाई सहज र सुविधायुक्त बनाउने नेपाल टेलिकमका प्रवक्ता रकिन्द्र मानन्धरले जनाए ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    २३ वैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।
    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी, मधेस, बागमती प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।गएको चौबीस घन्टामा सातै प्रदेशमा हल्कादेखि मध्यम र भारी वर्षा भएको छ।

    इलामको कन्याममा ५३.८ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै हिमाली गाउँमा ५३.२ मिलिमिटर, सुनसरीको चतारामा ७६.३ मिलिमिटर, चितवको झुवानीमा ५१.६ मिलिमिटर वर्षा मापन भएको छ। बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ्सहित मध्यम सम्मको वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    बुधबार राति कोशी प्रदेशको केही स्थानहरूमा, मधेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्ग सहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्ग सहित हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ।

  • हुलाकबाट १९ जिल्लामा व्यक्तिको घरमै पुर्‍याउन थालियो सरकारी कागजात

    हुलाकबाट १९ जिल्लामा व्यक्तिको घरमै पुर्‍याउन थालियो सरकारी कागजात

    २२ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी कागजात व्यक्तिको घरमै वितरण गर्न थालेको छ । हालसम्म १९ जिल्लामा यो सेवा सञ्चालनमा आइसकेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ । १३ चैत २०८२ मा सरकारले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १ सय दिने कार्यसूची अन्तर्गत हुलाक सेवा आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने लक्ष्य राखेको थियो ।


    उक्त योजना कार्यान्वयनका लागि सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले सम्बन्धित निकायसँग कार्यप्रगति र देखिएका समस्याका सन्दर्भमा निरन्तर समन्वय तथा छलफल गरिरहेको मन्त्रालयले उल्लेख गरेको छ । सञ्चार मन्त्रालयका अतिरिक्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र ती मातहत निकायले काम गरिरहेका छन् ।

    हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार कार्यक्रम सुरु भएपछि हालसम्म ३ हजार १ सय ३१ थान राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ । तीमध्ये ६ सय ६७ राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको छ । यसले नागरिकलाई राहदानी प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटाएको छ ।

    विभागका अनुसार काठमाडौं, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा, बैतडी लगायत १९ जिल्लामा यो सेवाका लागि सम्झौता भइसकेको छ । अन्य जिल्लामा पनि विस्तार प्रक्रिया अगाडि बढाइएको छ । हाल सबै जिल्ला प्रशासन कार्यालयले राहदानी आवेदन दिँदै सेवाग्राहीको ठेगाना संकलन थालेका छन्, जसले भविष्यमा वितरण झन् व्यवस्थित बनाउने विभागको भनाइ छ ।

    राहदानीसँगै अन्य सरकारी कागजात पनि घरमै पुर्‍याउन थालिएको छ । हालसम्म २ सय ६० वटा शैक्षिक प्रमाणपत्र वितरण भइसकेको छ । यातायात सेवा अन्तर्गत मंगलबार दिउँसो ३ बजेसम्म २ लाख ९६ हजार ५ सय ४५ थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धित यातायात कार्यालयमा पठाइएको छ भने मोरङ, कास्की लगायत जिल्लामा लाइसेन्स घरमै पुर्‍याउने सेवा सुरु गरिएको छ ।

    स्वास्थ्य क्षेत्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा १४ वटा प्रयोगशालामा नमुना ढुवानी गरिएको छ । सुर्खेत, बाँके र काठमाडौंबाट यो सेवा थालिएको हो । सेवा विस्तारसँगै संस्थागत सुधारका काम पनि अगाडि बढेका छन् । नेपाल टेलिकमसँग सहकार्य गरी सिमकार्ड घरमै पुर्‍याउने सेवा चाँडै सुरु गर्ने तयारी छ ।

    मध्यपश्चिम विश्वविद्यालयसँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी कार्य सुरु भइसकेको छ भने नेपाल खुला विश्वविद्यालयसँग शैक्षिक प्रमाणपत्र ढुवानीका लागि छलफल अगाडि बढेको विभागले जनाएको छ ।

    प्रणालीगत सुधारतर्फ राहदानी विभागसँग प्रणाली अन्तरआबद्धता गर्न अध्ययन समिति गठन गरिएको छ भने महालेखा नियन्त्रकको कार्यालयसँग प्रणाली एकीकरण पहल भइरहेको छ । त्यस्तै प्रदेश निर्देशनालय र जिल्ला कार्यालयहरूसँग सहकार्य गरी डाँक रेखा पुनरावलोकन तथा ‘पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम’ (पिट्स) मा पोस्टल कोड स्तरोन्नति गर्ने कार्य अगाडि बढाइएको विभागले जनाएको छ ।

  • स्थलमार्गबाट आउने पर्यटक सवारीसाधन अब अनलाइनबाटै दर्ता

    स्थलमार्गबाट आउने पर्यटक सवारीसाधन अब अनलाइनबाटै दर्ता

    २२ वैशाख, काठमाडौं । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ ।
    अर्थ मन्त्रालय मातहत भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारीसाधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रणाली सुरुवात गरे । नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजस्व तिर्न सक्नेछन् ।

    यसअघि भन्सार नाकामा आएर यस्ता सवारीसाधनले भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो । नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिबाना तिर्नुपर्ने अवस्था थियो । तर, नयाँ अनलाइन प्रणाली सुरु भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्ना सवारीसाधनको इजाजतपत्र घरैबाट अनलाइन मार्फत भरेर अनलाइनबाटै पैसा तिरेर विनाझन्झट घुम्न आउन सक्छन् । नयाँ अनलाइन सहजीकरण सेवा सुरु गर्दै अर्थमन्त्री वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताए ।

    ‘सरकारले अनुशरण गरेको सुशासन र छरितो गुणस्तरीय सार्वजनिक सेवा दिने घोषणा कार्यन्वयन क्रममा यो कार्य सुरु गरिएको हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘पर्यटकलाई कुनै कठिनाइ नहोस्, सरकारी सेवा छिटो र छरितो होस् भन्ने हामी चाहन्छौं ।’ भन्सार विभागका महानिर्देशक श्यामप्रसाद मैनालीले नेपाल भित्रिने पर्यटक बोकेका विदेशी सवारीसाधनको इजाजत अब डिजिटल भएको बताए । उनका अनुसार अब नेपाल प्रवेश गर्ने यात्रु तथा पर्यटकले प्रयोग गर्ने विदेशी सवारीसाधन सम्बन्धी विवरण अनलाइनमै स्वयं घोषणा गर्न सकिने छ । जसले प्रक्रिया थप पारदर्शी र प्रभावकारी बनाउने छ ।

    नेपाल सरकारलाई तिर्ने राजस्व पनि त्यस्ता पर्यटकवाहक सवारीले अनलाइनबाटै वा बैंक काउन्टरबाट तिर्न सक्छन् । अनलाइनबाट पैसा तिरेका गाडीले भन्सारमा आफ्नो इमेलमा प्राप्त क्यूआर कोड देखाएरै नेपाल छिर्न सक्ने उनको भनाइ छ । यसरी प्राप्त हुने क्यूआर बोकेर पर्यटकवाहक सवारी आफ्नो गन्तव्यमा पुग्न सक्ने विभागले जनाएको छ ।

    विभागका अनुसार यस्ता सवारीसाधनले आफ्नो यात्रा अवधि सकिएको खण्डमा पनि आफू रहेको नेपालस्थित ठेगानाबाट अनलाइन मार्फत नै यात्रा अवधि थप गर्न सक्नेछन् । यो सबै सेवा लिन भन्सार विभागको वेबसाइटमा गएर हाम्रा सेवाहरू शीर्षकमा रहेको टीआईभी शीर्षकमा क्लिक गर्नुपर्छ र त्यसबाट भित्र रहेको विवरण अनलाइनबाट भर्न सकिन्छ ।

    सबै विवरण अद्यावधिक गरिसकेपछि अन्तिममा ग्राहकलाई विवरण सबै खुल्ने क्यूआरकोड प्राप्त हुुन्छ । त्यसका आधारमा आफूले तिर्नुपर्ने शुल्क तिरेर सवारीसाधन नेपाल भित्रिन सक्छन् । नेपालभरिका सडकमा त्यस्ता सवारीले सोही क्यूआर कोड देखाएर यात्रा गर्न पाउँछन् । विभागका अनुसार नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत नेपाल भित्रिने विदेशी नागरिकलाई सहजता प्रदान गर्न अस्थायी सवारी आयात (टीआईभी) मोड्युल विकास गरिएको हो ।

    तत्कालका लागि यो सेवा नेपाल भित्रिने भारतीय तथा तेस्रो देशका पर्यटकले प्रयोग गर्ने सवारीसाधनका लागि लागु गरिएको भन्सार विभागले स्पष्ट पारेको छ । हाललाई चिनियाँ नाका भएर स्थलमार्गबाट चिनियाँ सवारीसाधन सहित पर्यटक आउने नगरेको र आएको खण्डमा उनीहरूका हकमा पनि यो सेवा रहेको विभागले जनाएको छ । तत्कालका लागि यो सेवाबाट भारत र बंगलादेशका पर्यटक लाभान्वित हुने विश्वास विभागको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानूमान

    यस्तो छ आजको मौसम पूर्वानूमान

    २२ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गरेको जनाएको छ । केही दिनदेखि बदली भएको मौसम अझै केही दिन जारी रहनेछ । जसका कारण देशका सबै प्रदेशका विभिन्न ठाउँमा हावाहुरीका साथै वर्षासमेत भइरहेको छ । मंगलबार आज पनि देशका केही ठाउँमा हावाहुरी र वर्षाको सम्भावना कायमै छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहे मौसम पूर्वानुमान महााशखाले जनाएको छ ।

    अन्य प्रदेशका थोरै स्थानमा वर्षा हुने सम्भावना छ । राति यी प्रदेशमा बदली रहने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ ।
    बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहनेछ । ती क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ भने तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने जनाइएको छ । विभागले हुरीबतास, चट्याङ र सम्भावित भारी वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

  • वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै

    वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै

    काठमाडौँ, वैशाख २१ गते । हावाहुरी र चट्याङसहितको वर्षा गराउने प्रणाली विस्तारै कोशी प्रदेशतर्फ अघि बढिरहेको छ। मौसम पूर्वअनुमान शाखाका मौसमविद् सञ्जीव अधिकारीले हावाहुरी र चट्याङसहितको वर्षा गराउने प्रणाली विस्तारै कोशी प्रदेशतिर अगाडि बढिरहेको जानकारी दिए । उनी भन्छन्, “हाल गण्डकी र लुम्बिनी र बागमती प्रदेशमा सक्रिय रहेको उक्त प्रणाली बागमती विस्तारै कोही प्रदेशतिर अगाडि बढेको छ । कोशी प्रदेशमा केही बेरमा मा मेघगर्जन चट्याङसहित पानी पर्न सक्छ ।”

    अधिकारीका अनुसार गएको १२ घण्टामा सबैभन्दा बढी पानी धनगढीमा पानी परेको छ । धनगढीमा गएको १२ घण्टामा ६० मिलिमिटर वर्ष भएका उनले जानकारी दिए । त्यसैगरी लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा हल्का देखि मध्ययन वर्षा भएको छ । हावाहुरी र चट्याङका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई उनले अनुरोध गरे ।

  • सार्वजनिक सेवा प्रसारण नेपालद्वारा पहिलो वार्षिक प्रतिवेदन पेश

    सार्वजनिक सेवा प्रसारण नेपालद्वारा पहिलो वार्षिक प्रतिवेदन पेश

    काठमाडौँ, २१ वैशाख । सार्वजनिक सेवा प्रसारण नेपालले आफ्नो पहिलो वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गरेको छ । सार्वजनिक सेवा प्रसारण नेपालका सञ्चालक समिति अध्यक्ष डा.महेन्द्र विष्टले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनासमक्ष उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।


    सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ को व्यवस्थाअनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नुपर्ने प्रावधान रहेको छ । साथै, उक्त प्रतिवेदन सरकारले संघीय संसदको सम्बन्धित समितिमा पेश गर्नुपर्ने व्यवस्था पनि ऐनमा उल्लेख गरिएको छ ।


    प्रतिवेदन पेश गर्नुहुँदै अध्यक्ष विष्टले नेपाल टेलिभिजन र रेडियो नेपालको वर्तमान अवस्था, प्राविधिक क्षमता, संगठनात्मक संरचना, प्रसारण प्रणाली, वित्तीय अवस्था, हालसम्म गरिएका सुधारका प्रयास, विद्यमान चुनौतीहरू तथा आगामी कार्ययोजनालगायतका विषय समेटिएको जानकारी दिनुभयो ।

    रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएपछि गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी सामग्रीमार्फत जनउत्तरदायी प्रसारण सेवा प्रवाह गर्ने उद्देश्यका साथ संस्थाले आफ्ना गतिविधिहरूलाई अगाडि बढाइरहेको उनको भनाई छ ।


    प्रतिवेदन ग्रहण गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्थाको सुदृढीकरणका लागि भएका प्रयासप्रति धन्यवाद व्यक्त गर्दै प्रतिवेदनको अध्ययन गरी त्यसमा समेटिएका सुझावहरू कार्यान्वयनमा ल्याइने बताए । साथै, विभिन्न सार्वजनिक संस्थाहरूमा लामो समयदेखि विद्यमान समस्याहरूलाई जरैदेखि समाधान गर्न आवश्यक रहेको उल्लेख गर्दै संस्थागत सुधारका लागि आधारभूत तहबाटै पुनःसंरचना आवश्यक रहेको धारणा व्यक्त गरे ।

    सार्वजनिक सेवा प्रसारण संस्थाले २०८२ चैत मसान्तसम्म सम्पन्न गरेका प्रमुख गतिविधिहरू, लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित मुख्य विषयहरू तथा संस्थाको समग्र प्रगतिसम्बन्धी विवरण प्रतिवेदनमा समावेश गरिएको छ । उक्त प्रतिवेदन संस्थाको वैशाख ९ गते बसेको सञ्चालक समिति बैठकबाट स्वीकृत गरिएको थियो । मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चार मन्त्रालका सचिव लक्ष्मी कुमारी बस्नेत, सञ्चालक समिति सदस्यहरू गौरव गिरी, अनिता गुरुङलगायतको उपस्थिति रहेको थियो ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    २१ वैशाख, काठमाडौं । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेशबाट क्रमशः पूर्वतिर सरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसबाट थप वर्षा हुन सक्ने र चट्याङ तथा हावाहुरीले क्षति पुर्‍याउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले सुझाव समेत दिएको छ ।

    विभागले आज बिहान सूचना जारी गर्दै भनेको छ, ‘हाल सुदूरपश्चिम प्रदेशका पहाड र तराई क्षेत्रहरूमा मेघगर्जन, चट्याङ् तथा हावाहुरी सहित वर्षा गराउने प्रणाली विकसित भई मध्यमसम्मको वर्षा भइरहेको छ । उक्त प्रणाली उत्तर पूर्व सरिरहेको हुनाले ती क्षेत्रहरू र आसपासको क्षेत्रहरूमा थप वर्षा हुने देखिएकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।’

    विपद्विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार भारतको पन्जाब, हरियाणा, हिमान्चल, उत्तराखण्ड हुँदै सुदूरपश्चिमको लगभग सबै भागमा मेघगर्जनसहित पानी पार्ने बादल प्रवेश गरेको छ । त्यसले सुदूरपश्चिम र आसपासका क्षेत्रमा पानी पारिरहेको छ । सो प्रणालीको प्रभाव लुम्बिनी प्रदेशका जिल्लाहरुमा सरिरहेको छ । जसका कारण आज दिनभरजसो बादल लाग्ने र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति पनि देशभर बादल लाग्नुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार यो साताभर देशका विभिन्न भागमा चट्याङसहित पानी पर्ने सम्भावना छ । उनका अनुसार मंगलबारसम्म कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका धेरै ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ । यी प्रदेशका एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना पनि छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने थोरै ठाउँहरुमा मात्रै मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको ढकालले बताए । बुधबारदेखि विहीबारभित्र सबै प्रदेशका तराई क्षेत्रमा थोरै ठाउँहरुमा मध्यमसम्म पानी पर्ने प्रक्षेपण छ । पहाडी र हिमाली भेगमा पनि यो साताभर वर्षा वा हिमपातको सम्भावना छ ।

  • डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

    डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

    २० वैशाख, काठमाडौँ । चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा उन्नत प्रविधि र डेटा विकासका विविध प्रयोगहरू प्रस्तुत गरिएका छन् । करिब ५६ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा मानवजस्तै रोबोटहरूले आगन्तुकलाई स्वागत गरेका छन्, जहाँ लेखन गर्ने, चिया बनाउने तथा खेल खेल्ने रोबोटहरूले वास्तविक जीवनमा प्रविधिको प्रयोग देखाएका छन् ।

    आगलागीजस्ता जोखिमपूर्ण अवस्थामा प्रयोग हुने सुरुङ निरीक्षण तथा उद्धार रोबोटदेखि स्वचालित रूपमा अवरोध छल्ने चारखुट्टे रोबोटसम्मका नवीन उपकरणहरू प्रदर्शनमा राखिएका छन् । करिब ४०० उद्यमहरूले ६ हजारभन्दा बढी अत्याधुनिक प्रविधि र उत्पादन सार्वजनिक गरेका छन्, जसमा चिप, औद्योगिक मोडेल र विभिन्‍न प्रणालीहरू समावेश छन् ।

    यससँगै कृषि, उत्पादन, स्वास्थ्य र पर्यटन क्षेत्रमा डेटा एकीकरणका करिब १०० उदाहरण पनि प्रस्तुत गरिएका छन् । उच्च गुणस्तरको डेटा कृत्रिम बुद्धिमत्ता विकासका लागि अत्यन्त आवश्यक बन्दै गएको बताइएको छ, विशेषगरी मानवजस्तै रोबोट विकासमा डेटा अभाव चुनौतीका रूपमा देखिएको छ ।

    शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले पाठ्यसामग्री निर्माणको समय एक हप्ताबाट एक घण्टामा झारेको छ भने स्वास्थ्य क्षेत्रमा परम्परागत चिनियाँ चिकित्सा प्रणालीलाई डिजिटल बनाउँदै सेवा गुणस्तर सुधारिएको छ ।
    रासस

  • मौसम प्रतिकुल साताभर, विभिन्न स्थानमा वर्षाको सम्भावना

    मौसम प्रतिकुल साताभर, विभिन्न स्थानमा वर्षाको सम्भावना

    २० वैशाख, काठमाडौं । मौसमविदले अहिलेको मौसमी अवस्थामा तत्काल उल्लेख्य सुधार नहुने जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविदले यो साताभर देशभर नै वर्षाको सम्भावना औंल्याएका छन् । सबैभन्दा धेरै प्रभावित गण्डकी प्रदेश हुने छ । गण्डकीको तराई, पहाड र हिमाल भेगमा यो हप्ताभरी नै हिमपात तथा वर्षाको सम्भावना छ । एक–दुई ठाउँमा त भारी हिउँ वा पानी पर्ने सम्भावनासमेत छ ।

    मौसमविदहरुले बेला–बेलामा एकछिन पानी पर्न रोकिए पनि फेरि पानी पर्ने प्रक्षेपण गरेका छन् । हिजोदेखि नै विभिन्न जिल्लाहरुमा वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालले यो हप्ताभर देशका विभिन्न भागमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको बताए । उनका अनुसार मंगलबारसम्म कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका धेरै ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ । यी प्रदेशका एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना पनि छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने थोरै ठाउँहरुमा मात्रै मध्यमसम्मको मात्रै पानी पर्ने सम्भावना रहेको ढकालले बताए । बुधबारदेखि विहीबारभित्र सबै प्रदेशका तराई क्षेत्रमा थोरै ठाउँहरुमा मध्यमसम्म पानी पर्ने प्रक्षेपण छ ।

    पहाडी भेगमा पनि यो साताभर वर्षाको सम्भावना

    मौसमविदहरुका अनुसार पहाडी भेगमा आगामी मंगलबारभित्र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ । बुधबारदेखि विहीबारभित्र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ ।

    गण्डकी प्रदेशमा यो हप्ताभरी तथा कोशी, बागमती लुम्बिनीमा मंगलबारभित्र एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ ।

    हिमाली भेगमा पनि हिउँ वा पानीको सम्भावना

    मौसमविद ढकालका अनुसार यो हप्ताभर हिमाली क्षेत्रमा पनि हिउँ वा पानी पर्ने सम्भावना छ । आतबार, सोमबार र मंगलबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ । बुधबारदेखि भने हिमाली भेगमा केही ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ ।

    हाल मधेश र सुदूरपश्चिम बाहेकका सबै प्रदेशमा वर्षा भइरहेको छ । अहिले पनि लुम्बिनी र गण्डकीमा मध्यम खालको वर्षा भइरहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा आज दिउँसो पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदको भनाइ छ । त्यसैले मौसमको अध्यावधिक जानकारी लिएर मात्रै कामको योजना बनाउन मौसमविदले सुझाव दिएका छन् ।

    गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीको मुसिकोटमा

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गत चौबिस घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीको मुसिकोटमा भएको छ । मुसिकोटमा ८६.६ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी देवघाट, नवलपुरको देउराली, दुम्कौली लगायतका स्थानमा तथा अछामको असराघाटमा पनि भारी वर्षा भएको छ । तीन घण्टायता भने पर्वतको कार्की नेटा, स्याङ्जाको पञ्चमुल, कास्कीको पोखरा र लमजुङको राइनासटारमा भारी वर्षा भएको छ । काठमाडौंका कपन, कीर्तिपुर, सुन्दरीजल लगायतका स्थानमा सामान्य खालको वर्षा मापन भएको छ ।

  • आज पनि देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना

    आज पनि देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ, वैशाख १८ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    शुक्रबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्यतया बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा आंशिक बदली रहने सम्भावना छ । कोशी र मधेश प्रदेशका साथै देशका हिमाली तथा पहाडी भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै हिमाली तथा पहाडी भू–भागमा अधिकांश बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । रासस

  • स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार, मन्त्रालयले थाल्यो हस्तान्तरणको प्रक्रिया 

    स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार, मन्त्रालयले थाल्यो हस्तान्तरणको प्रक्रिया 

    १८ वैशाख, काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक देखिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साता नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक पालिकाहरूलाई सहभागीका लागि सूचना आह्वान गरेको थियो । 
    सोही अनुसार बिहीबार सम्म धरान उपमहानगरपालिका सहित २०७ वटा पालिकाले स्थानीय तहबाट सेवा दिन इच्छुक रहेको जानकारी सहित मन्त्रालयमा निवेदन पठाएका छन् । 

    हुम्लाको सर्केगाड गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, सर्लाहीको चक्रभट्टा गाउँपालिका, कञ्चनपुरको बेलडाँडी गाउँपालिका सहित घोराही उपमहानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिका समेत रहेका छन् । यस्तै भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाले समेत स्थानीय तहबाटै नापी तथा मालपोतको सेवा दिन तयार रहेको भन्दै मन्त्रालयमा निवेदन पठाएका छन् । 

    मन्त्रालयले प्राप्त निवेदन उपर अध्ययन थालेको छ । मन्त्रालयले चरणबद्ध रूपमा इच्छुक सबै पालिकालाई सेवा हस्तान्तरण गर्ने योजना अनुसार पहिलो चरणमा केही पालिकाहरू छनोट गरी नापी तथा मालपोतसम्बन्धी सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी समेत सुरु गरेको छ । पालिका छनोट गर्दा सेवाग्राहीको चापको अवस्था, पहुँच तथा व्यवस्थापन क्षमतालाई आधार मानी कम भिडभाड भएका साथै अत्यधिक सेवा चाप रहेका पालिकालाई प्राथमिकता दिइने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ । 

    इच्छुक पालिका रहेका जिल्ला स्थित नापी तथा मालपोतका अधिकारीहरूलाई तत्कालै स्थानीय तहमा पुगेर स्थलगत अनुगमन गरी वस्तुस्थिति जानकारी गराउन मन्त्रालयले बिहीबार नै पत्राचार समेत गरेको छ । लगत्तै नापी तथा मालपोत सेवा प्रवाहका लागि स्थानीय तहलाई आवश्यक प्राविधिक तथा जनशक्ति व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले पालिकाहरूलाई आवश्यक सामाग्री सहित कर्मचारीहरूलाई समेत तालिम र प्रशिक्षण दिने तयारी गरेको छ । एक सातामै भित्रै सबै तयारी पुरा गरेर केही पालिकामा नापी र मालपोत सेवा हस्तान्तरण गर्ने मन्त्री रावलको सचिवालयले जनाएको छ ।

  • अब लाइन होइन, अनलाइन : देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत धाउनै नपर्ने

    अब लाइन होइन, अनलाइन : देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत धाउनै नपर्ने

    १८ वैशाख, काठमाडौं। सरकारले मालपोत कार्यालयहरूमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्न जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ। भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले शासकीय सुधार सम्बन्धी कार्यसूचीअन्तर्गत नतिजामा आधारित शासकीय प्रवन्ध लागू गर्ने क्रममा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

    भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकीको कामलाई अनिवार्य अनलाइन गर्न निर्देशन दिएको हो । यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएपछि ऋण लिन वा चुक्ता गरेपछि जग्गा रोक्का र फुकुवा गर्न सेवाग्राही आफैँ मालपोत धाउनुपर्ने र बिचौलियालाई अतिरिक्त रकम बुझाउनुपर्ने बाध्यताको अन्त्य हुने दाबी गरिएको छ ।

    यसअन्तर्गत मालपोत कार्यालयबाट प्रदान हुँदै आएको धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी सेवा अब अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन हुने भएको छ। नागरिकलाई छिटो, सहज तथा बिचौलिया(मुक्त सेवा पूर्वानुमानयोग्य समयभित्र उपलब्ध गराउने तथा सेवा प्रक्रियालाई मुहारविहीन, समयबद्ध र पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यअनुरूप यो व्यवस्था लागू गरिएको हो।

    भूमि प्रशासन निर्देशिका, २०८१ को दफा (९) को उपदफा (४) बमोजिम बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी कार्यलाई चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरिएको हो। यसअनुसार तोकिएका बैंक तथा वित्तीय संस्थाबाट मिति २०८३ साल वैशाख २१ गतेदेखि र अन्य क, ख, ग तथा घ वर्गका बैंक तथा वित्तीय संस्थाबाट मिति २०८३ साल जेठ १ गतेदेखि उक्त सेवा अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन गरिनेछ।

    हालसम्म अनलाइन प्रणाली सञ्चालनका लागि अनुमति नलिएका र सम्झौता नगरेका अन्य बैंक तथा वित्तीय संस्थाहरूका हकमा आगामी जेठ १ गतेदेखि यो व्यवस्था अनिवार्य गर्न भनेको छ । विभागले ती संस्थाहरूलाई जेठ १ अगावै अनुमति पत्र लिई आवश्यक तयारी गर्न आग्रहसमेत गरेको छ।

    सरकारले यस व्यवस्थाबाट सेवा प्रवाहमा पारदर्शिता, उत्तरदायित्व र समयबद्धता सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ। साथै, यसले सेवाग्राहीलाई अनावश्यक झन्झट तथा बिचौलियाबाट मुक्त गर्दै डिजिटल सुशासन प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।यस कार्यले मालपोत कार्यालयहरुमा हाल रहेको सेवा चाप ६० प्रतिशतले कम हुने अनुमान गरिएको छ।

  • मेटामाथि इयूको बालसुरक्षा उल्लंघनको आरोप

    मेटामाथि इयूको बालसुरक्षा उल्लंघनको आरोप

    लन्डन, वैशाख १७ । युरोपेली सङ्घ (इयू)ले सामाजिक सञ्जालमार्फत बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै प्रविधि कम्पनी मेटामाथि औपचारिकरूपमा दबाब बढाएको छ । नियामकले फेसबुक र इन्स्टाग्राम जस्ता प्लेटफर्ममा कम उमेरका प्रयोगकर्तालाई रोक्न असफल भएको निष्कर्ष सार्वजनिक गर्दै कडा कारबाहीको चेतावनी दिएका छन् ।

    इयुको कार्यकारी निकाय युरोपेली आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक मूल्याङ्कनमा मेटाले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्लेटफर्ममा साइन अप गर्नबाट रोक्न प्रभावकारी प्रणाली विकास गर्न नसकेको जनाएको छ । आयोगका अनुसार खाता खोलिसकेपछि पनि यस्ता प्रयोगकर्तालाई पहिचान गरी हटाउने काम पर्याप्तरूपमा भइरहेको छैन ।

    मेटाले आफ्नै नियम अनुसार फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न न्यूनतम उमेर १३ वर्ष तोकेको भए पनि व्यवहारमा त्यसको कार्यान्वयन कमजोर देखिएको आयोगको ठहर छ । यसले बालबालिकालाई प्लेटफर्ममा प्रवेश मात्र होइन, उनीहरूलाई उमेर अनुसार अनुपयुक्त सामग्री र अनुभवको जोखिममा पनि राखिरहेको उल्लेख गरिएको छ ।

    यो मुद्दा केवल पहुँचमा सीमित नभएको आयोगले जनाएको छ । १३ वर्षमुनिका बालबालिकाले प्लेटफर्म प्रयोग गर्दा उनीहरू कस्तो सामग्रीसँग सम्पर्कमा आउँछन् भन्ने जोखिमको मूल्याङ्कनसमेत मेटाले पर्याप्तरूपमा नगरेको निष्कर्ष निकालिएको छ । युरोपेली आयोगले यो कारबाही डिजिटल सेवा ऐन (डिएसए) अन्तर्गत अघि बढाएको हो । उक्त ऐनले २७ सदस्य राष्ट्रमा सञ्चालन गर्ने ठुला प्रविधि कम्पनीलाई प्रयोगकर्ताको सुरक्षा, विशेष गरी नाबालिगको सुरक्षामा थप जिम्मेवार बनाउने व्यवस्था गरेको छ ।

    आयोगका कार्यकारी उपाध्यक्ष हेना विर्ककुनेनले सन् २०२४ देखि सुरु गरिएको अनुसन्धानले मेटाका प्लेटफर्मले आफ्नै नियम र सर्तमा १३ वर्षमुनिका प्रयोगकर्तालाई लक्षित नगर्ने उल्लेख गरे पनि व्यवहारमा त्यसलाई लागु गर्न ‘अत्यन्त सीमित प्रयास’ मात्र गरिएको देखाएको बताउनुभयो । उहाँका अनुसार नियम केवल कागजमा सीमित नहुने, प्रयोगकर्ताको सुरक्षाका लागि ठोस कार्यमा रूपान्तरण हुनुपर्ने स्पष्ट सन्देश दिनुपर्ने समय आएको छ ।

    अब मेटालाई आयोगको प्रारम्भिक निष्कर्षमा आफ्नो प्रतिक्रिया दिने अवसर दिइने छ । अन्तिम निर्णयपछि यदि उल्लङ्घन प्रमाणित भएमा कम्पनीलाई विश्वव्यापी वार्षिक आम्दानीको छ प्रतिशतसम्म जरिवाना लगाइने सम्भावना रहेको छ । यस विषयमा मेटाले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन । इयूको यो कदमले विश्वभर सामाजिक सञ्जाल कम्पनीमाथि बालसुरक्षा सम्बन्धी जिम्मेवारी कडा पार्ने सङ्केतका रूपमा हेरिएको छ । रासस-एपी

  • निजामती कर्मचारीको विवरण अब अनलाइनमै

    निजामती कर्मचारीको विवरण अब अनलाइनमै

    १७ वैशाख, काठमाडौं । निजामती कर्मचारीहरूले अब आफ्ना विवरण अनलाइनबाटै हेर्न तथा अद्यावधिक गर्न सक्ने भएका छन् । बुधवारबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताब खाना (निजामती) ले आफ्ना सबै सेवाहरू अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ।


    योसँगै अब सेवाग्राही तथा सम्बन्धित कर्मचारीहरूले निजामती सम्बन्धी सेवाका लागि विभागमा भौतिक रूपमा उपस्थित हुने पर्ने छैन । अनलाइन मार्फत सिट रोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक जस्ता सेवाहरू आफ्नै स्थानबाट सेवा लिन सकिने किताबखानाले जनाएको छ ।

    पूर्ण रूपमा डिजिटल सेवा दिन सुरु गरेको किताब खानामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अनुगमन समेत गरिन् । अनुगमनपछि मन्त्री रावलले प्रविधिमैत्री सेवालाई अझ प्रभावकारी र गुनासोरहित बनाउन निर्देशन दिइन् ।

  • थामियो हावाहुरी, फाटफुट वर्षा भने शुक्रबारसम्मै

    थामियो हावाहुरी, फाटफुट वर्षा भने शुक्रबारसम्मै

    १७ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजबाट मौसममा क्रमिक सुधार आउने जनाएको छ । तर कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा भने आगामी शुक्रबारसम्मै वर्षाको सम्भावना छ । तर यो वर्षा वैशाख हिजो अस्तिको जस्तो ठूलो नहुने मौसमविदहरुको भनाइ छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हिजो मंगलबार र बुधबार देशका अधिकांश स्थानमा वर्षा भएको थियो । कतिपय स्थानमा भारी वर्षा समेत भएको छ । गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा प्युठानको हंसपुरमा भएको छ । त्यहाँ १०४.६ मिलिमिटर वर्षा मापन भएको छ ।

    यसैगरी कास्कीको रिभानमा ८१ मिलिमिटर वर्षा मापन भएको छ । आज पनि केही स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज वैशाख १७ गते कोशी, मधेश प्रदेश लगायत हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

    आज राति पनि कोशी, बागमती गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी भू–भागको थोरै स्थानहरुमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ । वैशाख १८ गते शुक्रबार दिउँसोस् कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने सम्भावना छ । र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा साथै बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ ।

  • बालकुमारीमा सबस्टेशन निर्माण सुरु हुने

    बालकुमारीमा सबस्टेशन निर्माण सुरु हुने

    काठमाडौँ, वैशाख १६ गते । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि आवश्यक जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केयूकेएलको स्वामित्वमा रहेको करिब ४ रोपनी जग्गा उपयोग गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएसँगै प्रक्रिया टुङ्गिएको हो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा जग्गा प्राप्ति प्रक्रियाले मूर्त रूप लिएको हो । काठमाडौँ र ललितपुरमा विद्युत् वितरण प्रणालीलाई सुदृढ, भरपर्दो र दिगो बनाउन उच्च क्षमताको जीआईएस सबस्टेशन निर्माण प्रक्रिया अघि बढाइएको थियो । तर, जग्गा प्राप्त नहुँदा चार वर्षभन्दा बढी समयदेखि परियोजना अवरुद्ध थियो ।

    उक्त सबस्टेशन एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा करिब २ अर्ब रुपियाँको लागतमा निर्माण हुनेछ । भक्तपुरको ठिमीबाट आउने भूमिगत प्रसारण लाइन बालकुमारीस्थित जीआईएस सबस्टेशनमा जोडिनेछ र त्यसपछि टेकु सबस्टेशनमा जडान गरिनेछ । सबस्टेशन निर्माण सम्पन्न भएपछि आगामी पाँच वर्षसम्मको विद्युत् माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

    केयूकेएलले बालकुमारीमा स्थापना गर्ने ढल प्रशोधन केन्द्रलाई आवश्यक विद्युत् प्राधिकरणले निःशुल्क उपलब्ध गराउने र त्यसको बदलामा प्राधिकरणले २५ वर्षका लागि ३ रोपनी १३ आना २ पैसा जग्गा उपभोग गर्ने सहमति भएको छ । अब जग्गा प्राप्तिको प्रक्रिया पूरा भएसँगै सबस्टेशन निर्माणका लागि बोलपत्र आह्वान गरिनेछ ।

    यसैबीच, वर्षौँदेखि अवरुद्ध हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्ड (हेटौंडाको हटिया क्षेत्र) मा टावर निर्माण कार्य अघि बढेको छ । मन्त्री श्रेष्ठको पहलमा सरोकारवाला पक्षसँग सहमति भएपछि निर्माण प्रक्रिया अगाडि बढाइएको हो ।

    मन्त्री श्रेष्ठले यसै साता जग्गाधनी र स्थानीय जनप्रतिनिधिसँग छलफल गरी मुआब्जा विवाद समाधान गर्नुभएको थियो । जग्गाधनीले मुआब्जा स्वीकार गरेपछि एक साताभित्रै सात वटा टावरको जग खन्ने र कङ्क्रिटिङ गर्ने काम तीव्र गतिमा सुरु भएको छ ।

    सन् २०१२ देखि निर्माण सुरु भएको उक्त प्रसारण लाइनअन्तर्गत हेटौंडाको हटिया क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा परियोजना वर्षौँदेखि अलपत्र परेको थियो । नेपालको विद्युत् प्रणालीको मेरुदण्डका रूपमा लिइने यो परियोजना सम्पन्न भएपछि विद्युत् आपूर्ति प्रणाली थप विश्वसनीय बन्नुका साथै विद्युत् निर्यातका लागि आवश्यक पूर्वाधार तयार हुने अपेक्षा गरिएको छ । उक्त प्रसारण लाइनको पूर्वी खण्ड (ढल्केबर–इनरुवा) भने तीन वर्षअघि नै सम्पन्न भइसकेको छ ।

  • उच्च क्षमताका प्रसारण लाइन निर्माण सरकारको प्राथमिकतामा

    उच्च क्षमताका प्रसारण लाइन निर्माण सरकारको प्राथमिकतामा

    रमेश लम्साल-रासस
    १६ वैशाख, काठमाडौँ । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ । प्रसारण लाइन निर्माणमा देखिएको बेथिती अन्त्य गर्ने, तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउने भएको हो । प्रसारण लाइन निर्माणमा देखिएको रुख कटानको समस्या समााधान गर्ने, मुआब्जा वितरणमा देखिएको जटिलता फुकाउने तथा लगानीको विविधकरण गर्ने कार्यक्रम निर्धारण गरेको छ ।


    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको ‘विद्युत् खपत वृद्धि तथा ऊर्जा निर्यात रणनीति, २०८२’ प्रसारण लाइन निर्माण सम्पन्न गर्ने समयसीमा निर्धारण गरेको छ । रणनीतिअनुसार, हेटौडा– ढल्केबर इनरुवा प्रसारण लाइनको हेटौडा ढल्केबर खण्ड चालु आवको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने समयसीमा निर्धारण गरिएको छ । सो प्रसारण लाइनको पूर्वी खण्ड ढल्केबर–इनरुवा खण्ड भने यसअघि नै सम्पन्न भइसकेको छ ।

    सो आयोजनालाई शीघ्र निर्माण सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणलाई जिम्मेवार बनाइएको छ । रुख कटान, वन क्षेत्रको जग्गा प्रयोग, मुआब्जालगायतका समस्याका कारण सो आयोजना लामो समयदेखि समस्यामा परेको थियो । पछिल्ला दिनमा सो समस्या समाधान भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा नियमित काम सुरु भइसकेको छ ।

    यसैगरी नयाँ खिम्ती बाह्रबिसे काठमाडौँ प्रसारण लाइनको काम आव २०८४\८५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त प्रसारण लाइनको क्षमता चार सय केभीको हो । सो प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय तह र वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवार बनाइएको छ ।

    हेटौँडा–रातमाटे लप्सीफेदी न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन आव २०८६\८७ सम्म निर्माण सम्पन्न हुनेछ । सो प्रसारण लाइन चार सय केभी क्षमताको हो । यसैगरी नयाँ बुटवल–लमही प्रसारण लाइन आव २०७८\८८ सम्म निर्माण सम्पन्न हुनेछ ।

    यस्तै, लहमी–छिन्चु दोदोधारा प्रसारण लाइन आव २०८९\९० सम्म निर्माण सम्पन्न हुनेछ । किमाथांका– हाइटार सितलपाटी प्रसारण लाइन आव २०८९\९० सम्म सम्पन्न हुनेछ ।

    अरुण हब इनरुवा प्रसारण लाइन, इनरुवा–अनारमणी प्रसारण लाइन, फुकोट बेतन दोदोधारा प्रसारण लाइन, तिंगला दुधकोशी–ढल्केबर प्रसारण लाइन आव २०९०\९१ सम्म सम्पन्न गर्ने लक्ष्य रणनीतिमा समावेश गरिएको छ ।

    भेरी करिडोर प्रसारण लाइन र सेती करिडोर प्रसारण लाइन पनि आव २०९०\९१ मा सम्पन्न हुनेछ । दोदोधारा–अत्तरिया लम्की प्रसारण लाइन भने आव २०९१\९२ सम्म सम्पन्न हुनेछ । ती सबै प्रसारण लाइनको क्षमता चार सय केभीको छ ।

    उत्पादित बिजुलीलाई सहज रुपमा प्रसारण गराएर लाड सेन्टरहरुमा पुर्याउने लक्ष्यका साथ सरकारले प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । आवश्यक संरचनागत सुधार गरिने, नीतिगत अस्पष्टता हटाउने तथा तोकिएको समयमा नै आयोजना सम्पन्न गर्ने लक्ष्यलाई रणनीतिले विशेष प्राथमिकतामा राखेको छ ।

    यस्तै, अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई पनि उत्तिकै महत्वका साथ रणनीतिले समेटेको छ । अन्तरदेशीय प्रसारण लाइनको क्षमता अभिवृद्धि पनि अर्को महत्वपूर्ण पक्ष छ ।

    ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन आव २०८३\८४ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन, नानपारा नेपालगञ्ज, इनरुवा पूर्णिया, लम्की बेरली, लमही लखनउ, निजगण मोतिहारी, चमेलिया जौलजिवी, ढल्केबर मुजफ्फरपुर र चिलिमे हब केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माण प्राथमिकतामा छ ।

    आन्तरिक रुपमा बिजुलीको खपत बढाउने, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरण गर्ने लक्ष्यलाई रणनीतिले स्पष्ट रुपमा सूचीकृत गरेको छ । त्यस्तै, स्मार्ट ग्रिड र सवस्टेशनको आधुनिकीकरण निरन्तर रुपमा अगाडि बढाइनेछ । सवस्टेशनको क्षमता विस्तार गरेर ४० हजार एमभीए पुर्याइनेछ । सो कार्य आव २०९२\९३ सम्म सम्पन्न हुनेछ ।

    कृषि क्षेत्रको आधसनिकीकरण र किसानको खेतसम्म नै फिडर पुर्याउने लक्ष्यलाई पनि उत्तिकै महत्व दिएको रणनीतिमा भूमिगत वितरण प्रणालीको काम २०८५ सम्म सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

    आव २०९२\९३ सम्म एलपी ग्यास अनुदान खारेजी गर्ने र विद्युतीय चुल्होमा अनुदान दिइनेछ । देशभर चार्जिङ स्टेशन सञ्जाल विस्तार गर्ने, प्रमुख शहरहरुमा विद्युतीय बस र ट्रली बस सञ्चालन गरी आन्तरिक विद्युत् खपत क्षमता विकास गरिनेछ ।

    हाल नेपालको कूल जडित क्षमता चार हजार ८६ मेगावाट पुगेको छ । राष्ट्रिय प्रसारण ग्रिडको विस्तारसँगै ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने राष्ट्रिय प्रतिवद्धता अनुरुप खनिज इन्धनको परनिर्भरता घटाई स्वदेशी बिजुलीको खपत बढाउन अबलम्बन गर्नुपर्ने सबै काम अगाडि बढाउने रणनीतिको लक्ष्य छ ।

    नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरिसकेको छ । हाल करिब एक हजार दुई सय मेगावाट बिजुली भारत र बंगलादेशतर्फ आयात निर्यात भइरहेको अवस्था छ ।

  • नेपालद्वारा एसियाव्यापी विरोध प्रदर्शनमा ऐक्यबद्धता

    नेपालद्वारा एसियाव्यापी विरोध प्रदर्शनमा ऐक्यबद्धता

    काठमाडौँ, वैशाख १६ । जीवाश्म इन्धन ९पेट्रोल(डिजेल०को अनियन्त्रीत खनन् र खपतले जलवायु परिवर्तनका घटनामा तीव्र वृद्धि गराउने भएकोले जीवाश्म इन्धनको विकल्पको उपयोगमा जोड दिँदै नेपालका नागरिक समाजले एसियाव्यापी विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाएको छ । कोलम्बिया र नेदरल्यान्ड्स सरकारद्वारा संयुक्तरूपमा आयोजित “जीवाश्म इन्धन मुक्त रूपान्तरण” (ट्रान्जिसिनिङ वे फ्रम फोसिल फ्युल)सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय शिखर सम्मेलनको अवसरमा एसियासहित अफ्रिका, ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपमा समेत यस्ता प्रदर्शन भएका हुन् ।

    जीवाश्म इन्धनको अनियन्त्रित खनन्ले विश्वमा तीव्ररूपमा जलवायु परिवर्तनका घटनामा वृद्धि भइरहेकोले जीवाश्म इन्धनमुक्त भविष्यका लागि द्रुत, न्यायोचित र समतामूलक रूपान्तरणको माग गर्दै सोमबार एसियाली राष्ट्र नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश र फिलिपिन्सका हजारौं मानिसले प्रदर्शन गरेका छन् । एसियामा भइरहेको विरोध कार्यक्रमको नेतृत्व “एसियन पिपुल्स मुभमेन्ट अन डेब्ट एण्ड डेभलपमेन्ट”ले गरिरहेको छ ।

    नेपालको सन्दर्भमा, नेपाल ट्रेड युनियन महासङ्घका महासचिव लक्ष्मण शर्माले विकसित राष्ट्रले जलवायु परिवर्तनको असर कम गर्न योगदान दिनैपर्ने बताए । उनले जलवायु वित्तका नाममा ऋण नभई अनुदानमा आधारित खर्बौ डलरको सार्वजनिक वित्त उपलब्ध गराउनुपर्नेमा जोड दिए । सामाजिक अभियन्ता टिकाश्वरी राईले जीवाश्म इन्धनको मूल्यवृद्धिको प्रत्यक्ष असर साधारण नागरिक र विशेष गरी श्रमिक महिलामा परिरहेको बताए ।


    उनका अनुसार इन्धनको मूल्य बढ्दा उपभोग्य वस्तु महँगो हुने र श्रमिकको ज्यालाको क्रयशक्ति घट्दा श्रमिक वर्ग झनै गरिब हुँदै जाने बताए । विगत तीन दशकदेखि जलवायु परिवर्तन र यसले जनजीवनमा पारेको असरबाट जोगिन विश्वभर एकताबद्ध भएर विविध कार्यक्रमको माध्यमबाट जनजागरण फैलाउने काम भइरहेका छन् । यसै सन्दर्भमा कोलम्बियाको सान्ता मार्टामा आयोजित यस शिखर सम्मेलनले जीवाश्म इन्धनको अन्त्यका लागि सामुहिक ऐक्यबद्धतासहितका निर्णय हुने अपेक्षा गरिएको छ ।

    जलवायु परिवर्तनको मुद्दामा काम गरिरहेका नेपाली सङ्घ संस्था र नागरिक समाजको तर्फबाट श्रमिक, युवा तथा महिलाले सान्ता मार्टामा आफ्ना मागहरू पठाउँदै विश्वव्यापी ऐक्यबद्धतामा जोड दिएका छन् । सान्ता मार्टा सम्मेलनले “जीवाश्म इन्धन सन्धि” को विकासमा देशहरूलाई सहभागी गराउने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

  • आज र भोली देशका धेरैजसो स्थानमा वर्षा

    आज र भोली देशका धेरैजसो स्थानमा वर्षा

    १५ वैशाख, काठमाडौं । आज र भोलि देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । यसबाट हवाई र सडक यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ । जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका जिल्लाहरुलाई पहेँलो रंगले संकेत गर्दै वैशाख १५ र १६ गतेको मौसमको अध्यावधिक जानकारी लिएर मात्रै आफ्नो काम गर्न सतर्क गराएको छ ।

    विभागका मौसमविद सरोज पुडासैनीले वैशाख १५ र १६ गते दुई दिनसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिए । हिमाली भेगमा पनि मध्यम खालको हिउँ पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए ।

    उनले भने, ‘वैशाख १५ र १६ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका बासिन्दाले मौसमबारे पछिल्लो जानकारी लिएर मात्रै काम गर्नुपर्ने हुन्छ ।’ उनका अनुसार वैशाख १५ गते कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई ठाउँमा भारी पानी वा हिउँ पर्ने सम्भावना छ ।

    वैशाख १६ गते बुधबारको दिन पनि वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरुमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको पानी वा हिउँ पर्ने सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिए । यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँहरुमा पनि पानी वा हिउँ पर्ने सम्भावना छ ।

    १६ गते बुधबार नै कोशी र मधेश प्रदेशका एक–दुई ठाउँहरुमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ । यो वर्षाले गर्मी र डढेलो, प्रदूषण कम हुनेछ । केही दिनअघिसम्म पश्चिमका तराई भूभागमा पानी नपरेर गर्मी भए पनि आज र भोलि पर्ने पानीले शीतल महसुस गराउने मौसमविदहरुको भनाइ छ ।

    मौसम विज्ञान विभागका अनुसार अहिले गण्डकी प्रदेशका लमजुङ, कास्की, पर्वत, स्याङ्जाका साथै बागमतीको नुवाकोटका एक–दुई ठाउँमा पानी परिरहेको छ । सबैभन्दा धेरै लमजुङको बेँसीसहरमा एक घण्टाको अवधिमै १२.२ मिलिमिटरसम्म वर्षा रेकर्ड भएको छ । यो भनेको मध्यम खालको वर्षा हो ।

  • डिजिटल रूपान्तरणका लागि सरकार र एडिबीबिच ऋण सम्झौता

    डिजिटल रूपान्तरणका लागि सरकार र एडिबीबिच ऋण सम्झौता

    काठमाडौँ, वैशाख १४ गते । नेपाल सरकार र एसियाली विकास बैँक (एडिबी) बिच नेपाल डिजिटल रूपान्तरण परियोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक विशेष समारोहका बिच ४० मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

    सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडिबीका तर्फबाट नेपालका लागि देशीय निर्देशक आर्नो कास्वाहले हस्ताक्षर गरे । अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार यो परियोजना दक्षिण एसियामै पहिलो पटक एडिबी र विश्व बैँकको पूर्ण पारस्परिक निर्भरता ढाँचा (एफएमआरएफ)अन्तर्गत सह–वित्तीय लगानीमा सञ्चालन हुन लागेको हो । परियोजनाका लागि प्रमुख ऋणदाताको रूपमा विश्व बैँकले ५० मिलियन डलर उपलब्ध गराउने छ, जसको सम्झौता यसअघि नै भइसकेको छ ।

    यस परियोजनाले सरकारी डेटा होस्टिङ तथा साइबर सुरक्षा पूर्वाधारलाई सुदृढ गर्दै डिजिटल प्रणालीको सुरक्षा र लचिलोपन अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
    आधुनिक र सेवाग्राहीमैत्री सेवा प्रवाहका लागि आवश्यक डिजिटल सार्वजनिक पूर्वाधारको विकास गर्नु यसको मुख्य उद्देश्य रहेको छ । यसले सरकारी डिजिटल प्रणालीको आधुनिकीकरण, संस्थागत संरचनाको सुदृढीकरण तथा डिजिटल प्लेटफर्मको प्रयोग विस्तार गरी पारदर्शिता र नागरिकको सरकारी सेवामा पहुँच पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    विशेष गरी यो परियोजना सरकारको सोह्रौँ पञ्चवर्षीय योजना तथा प्रधानमन्त्रीको १०० दिने सुशासन सुधार कार्ययोजनासँग प्रत्यक्ष जोडिएको छ । परियोजना अन्तर्गत सरकारी डिजिटल प्लेटफर्म र साझा सेवाहरूको स्तरोन्नति गरिनुका साथै साइबर सुरक्षा तयारी र मानव स्रोत क्षमताको विकासमा जोड दिइने छ । यसमा महिला, कमजोर वर्ग र डिजिटल सेवामा पहुँच सीमित भएका समुदायलाई लक्षित गरी समावेशी डिजिटल समाधानहरू विकास गर्ने कार्यक्रम समेत समावेश छन् ।

    हस्ताक्षरपश्चात् मन्तव्य व्यक्त गर्दै एडिबीका देशीय निर्देशक आर्नो कास्वाहले नेपाल सरकारको समावेशी विकास र प्रभावकारी सेवा प्रवाहको प्रतिबद्धतालाई कार्यान्वयन गर्न यो परियोजनाले जगको काम गर्ने बताए । उनले डिजिटल आधार सुदृढ भएसँगै सार्वजनिक संस्थाप्रति नागरिकको विश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरे । अर्थ सचिव डा. उपाध्यायले नेपालले डिजिटल सुशासनमा प्रगति गरे पनि संस्थागत प्रणाली र अन्तरआबद्धतामा थप सुधार आवश्यक रहेको औँल्याए । एडिबीको यो सहयोगले डिजिटल रूपान्तरणका प्राथमिकताहरूलाई तीव्रता दिने र नागरिकमैत्री सेवा विस्तारमा ठुलो मद्दत पुग्ने उनको भनाइ थियो ।

    समारोहमा अर्थ मन्त्रालयका सह-सचिव डा. धनीराम शर्मासहित परियोजनासँग सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरू, एडिबी र विश्व बैँकका प्रतिनिधिहरूको उपस्थिति थियो । सम्झौतासँगै नेपालको सार्वजनिक क्षेत्रको कार्यक्षमता अभिवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिइएको छ ।

  • एनटिसी प्रिपेडका सबै प्याकेज अब ३० दिन

    एनटिसी प्रिपेडका सबै प्याकेज अब ३० दिन

    काठमाडौँ, वैशाख १४ गते । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ । एनटिसीले आफ्नो ‘कम्बो–२९९ प्याक’ को समयावधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिसकेको हो । यो अवधिका सबै प्याकेज वैशाख ११ गतेबाट केही मूल्य समायोजनसहित ३० दिन अवधिको बनाइएको एनटिसीका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए । यस व्यवस्थाबाट एनटिसीका ग्राहकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ । यो अवस्था लागू भएसँगै अब महिनामा एक पटक रिचार्ज गर्दा पुग्नेछ, जसले प्रयोगलाई सहज बनाउने विश्वास गरिएको छ ।

    उही मूल्यमा दुई दिन बढी सेवा पाउने भएकाले ग्राहकले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा अतिरिक्त सुविधा प्राप्त गर्ने छन् । यसले खर्च व्यवस्थापनलाई पनि सहज बनाउने र उपभोक्ता सन्तुष्टि बढाउने विश्वास गरिएको छ। एनटिसीको यस्तो सेवालाई उपभोक्तामैत्री सुधारको रूपमा लिइएको छ । यसले टेलिकम क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरणलाई समेत थप गतिशील बनाउने अपेक्षा गरिएको छ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, वैशाख १४ गते । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आइतबार बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस

  • चट्याङ लागेर प्यूठानमा दुई जनाको मृत्यु

    चट्याङ लागेर प्यूठानमा दुई जनाको मृत्यु

    प्यूठान, वैशाख १३ गते । प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका वडा ६ लिवाङका बाबुछोराको चट्याङ लागेर ज्यान गएको हो । ७० वर्षीय केदार बोहोरा क्षेत्री र २६ वर्षीय रामु बोहरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृतकको शवलाई जिल्ला अस्पतालमा राखिएको छ । शवको सोमबार विहान पोष्टमार्टम गरिने प्यूठान अस्पतालले जनाएको छ । चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाईते भएका छन ।

    गौमुखी गाउँपालिका वडा ४ निवासी २४ वर्षीया सिर्जना न्यौपाने र गौमुखी गाउँपालिका वडा ६ निवासी ५४ वर्षीया गमी बोहोराको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ । शनिबार दिउँसो माण्डवी गाउँपालिका वडा २ रातापानीका दुई जना दिदिबहिनीलाई चट्याङ लागेको थियो । २० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारीको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

  • अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    काठमाडौँ, वैशाख १३ गते । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ डिसेम्बर ८ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष अप्रिल २६ लाई यस दिवसका रूपमा मनाउने घोषणा गरेको हो । सन् २०१७ देखि यो दिवस नियमित रूपमा मनाउन थालिएको हो । चेर्नोबिल आणविक दुर्घटना भएको यो ४० औँ वर्ष हो । युक्रेनस्थित चेर्नोबिल आणविक विद्युत् केन्द्रमा भएको विस्फोटपछि रेडियोधर्मी बादल सोभियत सङ्घका विशाल भू–भागमा फैलिएको थियो । ती हाल बेलारुस, युक्रेन र रुसी महासङ्घका क्षेत्रहरूमा पर्दछन् । उक्त दुर्घटनाबाट ती तीन देशका ८४ लाख मानिस विकिरणको प्रभावमा परेका थिए ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार चेर्नोबिल दुर्घटनापछि तीन दशक बितिसक्दा पनि दीर्घकालीन गम्भीर असर रहेको र प्रभावित समुदायले अझै सहयोगको आवश्यकता महसुस गरिरहेको छ । चेर्नोबिल दुर्घटनापछि संयुक्त राष्ट्रसङ्घ, बेलारुस, रुसी महासंघ र युक्रेन सरकारहरूले प्रभावित क्षेत्रको पुनःस्थापना तथा विकासका प्रयासहरू अघि बढाउँदै आएका छन् । प्रारम्भिक मानवीय सहयोगपछि प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, विकिरणको जोखिम घटाउने, प्रभावितलाई स्वास्थ्य सेवा उपलब्ध गराउने र स्वास्थ्य असरबारे निरन्तर अध्ययन हुँदै आएका छन् । रासस

  • इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

    इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

    तेहरान, वैशाख १२ गते । इरानमा फेब्रुअरी २८ देखि जारी इन्टरनेटको अवरोधले ५७ दिन पूरा गरेको छ । यो एक विश्वव्यापी रेकर्ड हो । युद्ध र आन्तरिक सुरक्षाको नाममा लगाइएको यो प्रतिबन्धले देशको अर्थतन्त्र तहसनहस भएको दाबी गरिएको छ । यति मात्र होइन, नागरिकलाई सूचनाको मौलिक हकबाट पनि वञ्चित गरिएको छ । इरान अहिले अकल्पनीय डिजिटल सङ्कटबाट गुज्रिरहेको छ ।

    इन्टरनेट निगरानी संस्था नेटब्लक्सको रिपोर्टका अनुसार इरानमा पछिल्लो ५७ दिनदेखि इन्टरनेट पूर्ण रूपमा बन्द छ । यो कुनै पनि देशमा लगाइएको विश्वको सबैभन्दा लामो राष्ट्रव्यापी इन्टरनेट प्रतिवन्ध हो । आठ हप्ताअघि सुरु भएको यो प्रतिबन्धले इरानका नौ करोडभन्दा बढी नागरिकलाई विश्वबाट अलग मात्र गरेको छैन, देशको अर्थव्यवस्थामा पनि ठूलो धक्का लागेको छ ।

    अमेरिका–इजरायल आक्रमणपछि फेब्रुअरी २८ मा अचानक इन्टरनेट सेवा बन्द गरिएको थियो। क्षेत्रीय अस्थिरता र युद्धको खतराको बिचमा, इरानी प्रशासनले सूचनाको प्रवाहलाई पूर्ण रूपमा नियन्त्रण गर्न यसको सहारा लियो। नेटब्लकको तथ्याङ्क अनुसार यो अवरोधले अब एक हजार ३४४ घण्टाको अवधि पार गरेको छ । यसअघि सन् २०२६ जनवरीमा सरकारले विरोध प्रदर्शनको क्रममा आन्तरिक अशान्तिको समाचार बाहिर जानबाट रोक्न यस्तै प्रतिबन्ध लगाएको थियो ।

    इन्टरनेटको यो लामो अवरोधले इरानको सामान्य जनजीवन अस्तव्यस्त पारेको छ। बैंकिङ सेवाहरू, अनलाइन व्यापार र यातायात नेटवर्कहरू पूर्ण रूपमा ठप्प भएका छन्। विज्ञहरुले इन्टरनेट सेवाको सहज पहुँच नहुदा इरानको अर्थतन्त्रलाई अहिलेसम्म कुल २।५ अर्ब डलर नोक्सानी भएको छ । प्रतिवन्धका कारण हरेक दिन करिब तीन लाख ७० करोड इरानी रियलको आम्दानी प्रभावित भइरहेको छ ।

    मानिसहरू आफ्ना परिवारका सदस्यहरूसँग सम्पर्क गर्न असुविधा भइरहेको छ । विदेशी मिडिया र स्वतन्त्र सूचना स्रोतहरूमा पहुँच पूर्ण रूपमा अवरुद्ध छ, जसले देशभित्र डर र अनिश्चितताको वातावरण सिर्जना गरेको छ । इरानी अधिकारीहरूले स्टारलिङ्क जस्ता स्याटेलाइट इन्टरनेटलाई रोक्न सैन्य ‘ग्रेड ज्यामर’हरू प्रयोग गर्न थालेका छन्, साथै सञ्चारको वैकल्पिक मार्गहरू पनि बन्द गरेका छन्।

    एकातिर इरान डिजिटल रूपमा विश्वबाट छुट्टिएको छ, अर्कोतिर अमेरिका र इजरायलसँग उसको कूटनीतिक गतिरोध पनि गहिरिँदै गएको छ । इरानका विदेश मन्त्री अब्बास अराघची हालै पाकिस्तान पुग्नुभएको छ्, जहाँ उहाँ क्षेत्रीय सुरक्षाबारे छलफल गरिरहनुभएको छ । हाल इरानमा इन्टरनेटको पुनस्र्थापनाका लागि कुनै समयसीमा तय गरिएको छैन, जसका कारण यो ‘डिजिटल अन्धकार’ अझ लम्बिने सम्भावना छ । एएफपी, रासस