Category: विज्ञान प्रविधि

  • जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

    जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

    टोकियो, २१ जेठ (रासस–एपी) । उष्णकटिबन्धीय आँधी जाङ्मीका कारण परेको लगातार भारी वर्षाले जापानको टोकियो क्षेत्रसहित पूर्वी र मध्य भागमा बाढीको जोखिम उल्लेखनीय रूपमा बढाएको छ । जनघनत्व अत्यधिक रहेको राजधानी क्षेत्रमा आँधी प्रवेश गरेसँगै सडक यातायात अवरुद्ध भएको छ, सयौँ उडान रद्द भएका छन्, रेल सेवा प्रभावित बनेका छन् र हजारौँ घर अन्धकारमा परेका छन् ।

    बुधबार उत्तरपूर्वतर्फ सर्दै गरेको जाङ्मीले भारी वर्षासहित तीव्र हावा ल्याएपछि दैनिक जनजीवन अस्तव्यस्त बनेको हो । राजधानी क्षेत्रलाई सेवा दिने टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङका अनुसार पाँच हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । टोकियोको मुख्य सहरी क्षेत्रमा पर्ने जेनपुकुजी नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सर्न र आवश्यक परे आश्रय लिन आग्रह गरिएको छ । स्थानीय टेलिभिजनहरूले नदी किनार नजिकै माटोमिश्रित पानी सतहभन्दा माथि उठ्दै जोखिमपूर्ण अवस्थामा पुगेको दृश्य प्रसारण गरेका छन् ।

    जापान मौसम विज्ञान एजेन्सीका अनुसार उष्णकटिबन्धीय आँधी जाङ्मी बुधबार बिहान शिमा सहरको पूर्वी क्षेत्रमा अवस्थित थियो र उत्तरपूर्वतर्फ अघि बढिरहेको थियो । आँधीसँग अधिकतम ९० किलोमिटर प्रतिघण्टा गतिको निरन्तर हावा कायम रहेको बताइएको छ । एजेन्सीले पूर्वी र मध्य जापानका विभिन्न क्षेत्रमा उच्चस्तरीय बाढी चेतावनी जारी गर्दै नदी किनार र पहिरो तथा डुबानको जोखिम भएका स्थानमा बसोबास गर्ने मानिसलाई सुरक्षाका लागि उच्च भूभागतर्फ जान आग्रह गरेको छ ।

    मध्य जापानको ओवासे क्षेत्रमा पछिल्लो २४ घण्टामा करिब ५० सेन्टिमिटर वर्षा मापन गरिएको छ । मौसम निकायका अनुसार टोकियोसहित केही क्षेत्रमा बिहीबार बिहानसम्म थप २० सेन्टिमिटरसम्म वर्षा हुनसक्ने अनुमान गरिएको छ, जसले बाढी र भूक्षयको जोखिम अझ बढाउन सक्छ । जाङ्मीले यसअघि दक्षिणी टापु ओकिनावामा प्रभाव पारेको थियो, जहाँ कम्तीमा १५ जना सामान्य घाइते भएका थिए ।

    त्यसपछि आँधी वाकायामा प्रान्ततर्फ बढ्ने क्रममा केही कमजोर बनेको जनाइएको छ । एक समय टाइफुनको स्तरमा पुगेको यस आँधीमा १२६ किलोमिटर प्रतिघण्टासम्मको हावा मापन गरिएको थियो । भित्री भूभागतर्फ प्रवेश गरेपछि यसको शक्ति केही घटे पनि दिनभर उष्णकटिबन्धीय आँधीको स्तर कायम रहने पूर्वानुमान गरिएको छ ।


    मौसमविद्हरूले भारी वर्षा, नदीको सतह बढ्दो अवस्था र निरन्तर अस्थिर मौसमका कारण प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र स्थानीय प्रशासनका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन् ।

  • तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो

    तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो

    काठमाडौँ, २० जेठः नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन अघिसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम आज बढेर ४१ डिग्रीसम्म पुगेको छ । विभागका मौसमविद् सरोज पुडासैनीले विस्तारै तापक्रम वृद्धिकै चरणमा रहेको जानकारी दिँदै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको जानकारी दिए ।

    विभागमा अहिले राति प्राप्त तापक्रम मापनअनुसार आज सबैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री पुगेको छ । यस्तै नेपालगञ्जमा ३९.५ र जनकपुरमा ३८.२ डिग्री तापक्रम मापन भएको छ । यस्तै सिमरामा पनि ३८.२, धनगढीमा ३८.१, चन्द्रगढीमा ३६.९, धरानमा ३६.५ र विराटनगरमा ३६.१ डिग्री तापक्रम मापन भएको छ ।

    यस्तै काठमाडौँमा पनि केही दिन अघि २५ डिग्रीमा झरेको तापक्रम आज बढेर ३०.६ डिग्री मापन भएको छ । हाल नेपालको पश्चिम भू–भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । भोलि बिहीबार देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू–भागमा आंशिक बादल लाग्ने छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको जनाइएको छ ।

    मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।
    अभिलेख अनुसार आज कतैकतै वर्षा भएको र यो क्रम भने जारी नै रहने छ । आज काठमाडौँसहित केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।

  • बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    काठमाडौँ, २० जेठः आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने दिशामा सरकारले लिएका सकारात्मक नीतिगत कदमहरूको नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनीले स्वागत गरेको छ । नेपालको आइटी निर्यात वृद्धि, विदेशी मुद्रा आर्जन, उच्च गुणस्तरीय रोजगारी सृजना तथा नेपाललाई विश्वव्यापी डिजिटल सेवा गन्तव्यका रूपमा स्थापित गर्न सकारात्मक योगदान पुर्याउने विश्वास लिँदै कम्पनीले विज्ञप्तिमार्फत बजेटको स्वागत गरेको जनाएको छ ।

    बजेटमा सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त आम्दानीमा कर सहुलियत, आइटी क्षेत्रका जनशक्तिलाई प्रदान गरिने स्वेट इक्विटीसम्बन्धी कर व्यवस्थामा सुधार, पेसाकर्मीहरूका लागि उच्चतम व्यक्तिगत आयकर दरलाई ३९ प्रतिशतबाट २९ प्रतिशतमा सीमित गर्ने व्यवस्था, भ्याट फिर्ता प्रक्रियालाई थप व्यवस्थित र स्वचालित बनाउने प्रतिबद्धता, दोहोरो कर परिहार सम्झौता विस्तार गर्ने घोषणा तथा कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन र डिजिटल अर्थतन्त्र प्रवर्द्धनका कार्यक्रमहरू समावेश गरिनु आइटी उद्योगको विकासका लागि महत्त्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ ।

    नेपाल सरकारको डिजिटल अर्थतन्त्र तथा सूचना प्रविधिसम्बन्धी दीर्घकालीन लक्ष्यहरू हासिल गर्न तथा नेपाललाई विश्वस्तरमा प्रतिस्पर्धी आइटी गन्तव्यका रूपमा स्थापित गर्न अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी र आकर्षक कर तथा लगानीमैत्री नीतिहरू अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । सरकारसँग सहकार्य गर्दै नेपाललाई दक्षिण एसियाको एक अग्रणी डिजिटल तथा आइटी सेवा केन्द्रका रूपमा स्थापित गर्न तथा नेपालमै लाखौँ उच्च पारिश्रमिकयुक्त प्रविधि रोजगारी सृजना गर्ने अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

    सरकारको १०० बुँदे कार्यक्रम तथा राष्ट्रिय प्रतिबद्धतापत्रमा यसअघि नै समावेश भएका आईटी क्षेत्रसँग सम्बन्धित केही महत्त्वपूर्ण नीतिगत तथा संरचनात्मक व्यवस्थाहरू बजेटमा समेटिन नसकेकामा कम्पनीले सरकारको ध्यानाकर्षण गराएको छ ।

  • चीनको अन्तरिक्ष कार्यक्रममा अर्को सफलता, लङ मार्च–१२-बीको सफल प्रक्षेपण

    चीनको अन्तरिक्ष कार्यक्रममा अर्को सफलता, लङ मार्च–१२-बीको सफल प्रक्षेपण

    जिउछ्वान, २० जेठ (रासस–सिन्ह्वा) । चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमअन्तर्गत विकसित ‘लङ मार्च–१२बी वाई–१’ वाहक रकेटको पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । यो प्रक्षेपण चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट सोमबार अपराह्न ४ः४० बजे गरिएको थियो । प्रक्षेपणपछि रकेटले छ्यानफान उपग्रह समूहका लागि तयार गरिएका नेटवर्किङ उपग्रहहरूलाई सफलतापूर्वक अन्तरिक्षको निर्धारित कक्षामा पु¥याएको चिनियाँ पक्षले जनाएको छ । सबै उपग्रहहरू योजना अनुसार आफ्नो कक्षामा स्थापित भएपछि अभियानलाई पूर्ण रूपमा सफल घोषित गरिएको थियो ।

    लङ मार्च–१२बी रकेटको यो पहिलो उडान भएकाले यसलाई चीनको अन्तरिक्ष प्रविधिको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । नयाँ रकेटको सफल परीक्षणले भविष्यमा थप व्यावसायिक तथा वैज्ञानिक अन्तरिक्ष अभियान सञ्चालन गर्ने चीनको क्षमतालाई बलियो बनाउने अपेक्षा गरिएको छ ।


    छ्यानफान उपग्रह समूह चीनले निर्माण गरिरहेको विशाल सञ्चार तथा इन्टरनेट सेवा सञ्जालको हिस्सा हो। यी उपग्रहहरूको प्रयोग उच्च गतिको सञ्चार सेवा विस्तार, डिजिटल पूर्वाधार सुदृढीकरण तथा दुर्गम क्षेत्रसम्म इन्टरनेट पहुँच पु¥याउन गरिने जनाइएको छ ।

    लङ मार्च चीनको सबैभन्दा प्रमुख वाहक रकेट शृङ्खला हो, जसले दशकौँदेखि विभिन्न प्रकारका उपग्रह, अन्तरिक्ष यान तथा अनुसन्धान सामग्री अन्तरिक्षमा पठाउँदै आएको छ । लङ मार्च–१२बीको सफल प्रक्षेपणसँगै यस शृङ्खलाको कुल उडान संख्या ६४७ पुगेको छ । पछिल्ला वर्षहरूमा चीनले अन्तरिक्ष क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको छ । उसले आफ्नै अन्तरिक्ष स्टेशन सञ्चालन गरिरहेको छ भने चन्द्रमा तथा मङ्गल ग्रहसम्बन्धी अनुसन्धान अभियानहरू पनि अघि बढाइरहेको छ ।

    साथै, व्यावसायिक अन्तरिक्ष उद्योगलाई विस्तार गर्दै उपग्रह प्रक्षेपण तथा अन्तरिक्ष सेवामा विश्वव्यापी प्रतिस्पर्धा बढाउने रणनीति अवलम्बन गरेको छ। विशेषज्ञहरूका अनुसार लङ मार्च–१२बीको सफल पहिलो उडानले चीनको बढ्दो अन्तरिक्ष महत्वाकांक्षालाई थप मजबुत बनाएको छ र आगामी दिनमा अझ जटिल तथा महत्वाकांक्षी अन्तरिक्ष अभियानका लागि मार्ग प्रशस्त गरेको छ ।

  • नासाका चन्द्रमा योजनामा असर पर्ने चिन्ता, ब्लु ओरिजिनको पुनर्निर्माण २०२८ सम्म लम्बिन सक्ने

    नासाका चन्द्रमा योजनामा असर पर्ने चिन्ता, ब्लु ओरिजिनको पुनर्निर्माण २०२८ सम्म लम्बिन सक्ने

    लस एन्जलस, २० जेठ (रासस–सिन्ह्वा) । अमेरिकी अन्तरिक्ष संस्था नासाका प्रशासकले निजी अन्तरिक्ष कम्पनी ‘ब्लु ओरिजिन’ को हालै विस्फोटबाट क्षतिग्रस्त भएको प्रक्षेपण स्थल (लन्चप्याड) सन् २०२८ सम्म पूर्ण रूपमा पुनःस्थापित नहुन सक्ने बताएका छन् । यस घटनाले कम्पनीका आगामी अन्तरिक्ष अभियानहरू मात्र होइन, नासाको चन्द्रमा अन्वेषण कार्यक्रमको तालिकामै असर पार्न सक्ने चिन्ता बढाएको छ ।

    गत बिहीबार राति अमेरिकी पूर्वी समयअनुसार करिब ९ बजे फ्लोरिडास्थित केप क्यानाभेरल अन्तरिक्ष बल केन्द्रको प्रक्षेपण परिसर–३६ मा ब्लु ओरिजिनको ‘न्यु ग्लेन’ रकेटको इन्जिन परीक्षणका क्रममा शक्तिशाली विस्फोट भएको थियो । परीक्षण उडानअघि गरिने स्थिर इन्जिन परीक्षण (हट–फायर परीक्षण) चलिरहेको बेला भएको उक्त विस्फोटले प्रक्षेपण स्थलमा ठूलो क्षति पुर्‍याएको बताइएको छ ।

    यो स्थल हाल ‘न्यु ग्लेन’ रकेट प्रक्षेपण गर्न सक्षम ब्लु ओरिजिनको एकमात्र सञ्चालनयोग्य प्रक्षेपण केन्द्र हो । त्यसैले यसको क्षतिले कम्पनीका निकट भविष्यका अन्तरिक्ष कार्यक्रमहरूमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । नासा प्रशासक जारेड आइज्याकम्यानले एक अन्तर्वार्तामा क्षतिग्रस्त संरचनाको मर्मत र पुनर्निर्माण प्रक्रिया जटिल हुने संकेत गर्दै सन् २०२८ सम्म पुनःस्थापना सम्भव हुने समयसीमा हुन सक्ने बताएका छन् । उहाँका अनुसार सम्बन्धित निकायहरू दुर्घटनाको कारण पत्ता लगाउने, प्राविधिक मूल्याङ्कन गर्ने तथा पुनर्निर्माण योजना तयार पार्ने कार्यमा जुटेका छन् ।

    उहाँले ब्लु ओरिजिन सफल हुनुपर्नेमा सबै पक्ष सकारात्मक रहेको उल्लेख गर्दै दुर्घटनाको वास्तविक कारण पत्ता लगाएर भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय अवलम्बन गर्नुपर्ने बताए । यता ब्लु ओरिजिनका प्रमुख कार्यकारी अधिकृत डेभ लिम्पले सामाजिक सञ्जालमार्फत कम्पनीले प्रक्षेपण स्थलमा सीमित पहुँच पुनःप्राप्त गरिसकेको जानकारी दिए । उनका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी छ र क्षतिग्रस्त संरचनाको सरसफाइ तथा पुनर्निर्माणको योजना तयार पार्ने काम सुरु गरिनेछ ।

    विशेषज्ञहरूका अनुसार ‘न्यु ग्लेन’ ब्लु ओरिजिनको महत्वाकांक्षी भारी–क्षमताको रकेट परियोजना हो, जसलाई व्यावसायिक उपग्रह प्रक्षेपणदेखि चन्द्रमा तथा गहिरो अन्तरिक्ष अभियानसम्म प्रयोग गर्ने लक्ष्य राखिएको छ। त्यसैले प्रक्षेपण स्थल लामो समय बन्द रहँदा कम्पनीको प्रतिस्पर्धात्मक क्षमता र व्यावसायिक सम्झौताहरूमा समेत असर पर्न सक्छ।

    यस घटनाको प्रभाव नासाको ‘आर्टेमिस’ चन्द्र अभियानमा पनि पर्न सक्ने अनुमान गरिएको छ। ब्लु ओरिजिन नासाको प्रमुख व्यावसायिक साझेदारमध्ये एक हो र चन्द्रमामा मानव अवतरण तथा आवश्यक उपकरण ढुवानीसम्बन्धी योजनामा कम्पनीको महत्वपूर्ण भूमिका रहेको छ ।

    यदि प्रक्षेपण स्थलको पुनर्निर्माण अपेक्षाभन्दा लामो समय लाग्यो भने चन्द्रमा अन्वेषणसँग सम्बन्धित केही निर्धारित अभियानहरू पछि सर्न सक्ने सम्भावना पनि बढेको छ । हाल अनुसन्धानकर्ताहरू विस्फोटको मूल कारण पहिचान गर्ने तथा क्षतिको पूर्ण मूल्याङ्कन गर्ने कार्यमा केन्द्रित छन् ।

  • यस्तो रहनेछ आजको मौसम

    यस्तो रहनेछ आजको मौसम

    काठमाडौँ, २० जेठः आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यसैगरी देशको हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ ।

    आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशको हिमाली र पहाडी भू—भागलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाहिमपातको सम्भावना रहेको छ ।

  • मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

    मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

    क्वालालम्पुर, १९ जेठ (रासस–एपी) । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ । सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन् । नयाँ व्यवस्थाअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ । साथै, १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने तथा त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुनेछ ।

    यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबलगायत लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुनेछ । नियमको पालना नगर्ने कम्पनीहरूलाई १ करोड मलेसियन रिंगिटसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ । मलेसिया सरकारले बालबालिकालाई अनलाइन माध्यमबाट फैलिने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाब तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगाउने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ । सरकारका अनुसार पछिल्ला वर्षहरूमा बालबालिकामाथि डिजिटल माध्यमबाट हुने विभिन्न जोखिम बढ्दै गएकाले कडा नियमन आवश्यक भएको हो ।

    यद्यपि, बालबालिकाले विभिन्न उपाय अपनाएर नियम छल्दै खाता खोलेको अवस्थामा अभिभावकलाई कुनै कानुनी कारबाही गरिने छैन । सरकारको ध्यान मुख्य रूपमा सामाजिक सञ्जाल कम्पनीहरूलाई उत्तरदायी बनाउनेतर्फ केन्द्रित रहेको बताइएको छ । मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगले यो नीति बालबालिकालाई इन्टरनेटबाट टाढा राख्ने उद्देश्यले नभई उनीहरूका लागि सुरक्षित र उमेरअनुकूल डिजिटल वातावरण निर्माण गर्न ल्याइएको स्पष्ट पारेको छ ।

    मलेसिया यस्तो कदम चाल्ने विश्वका केही देशहरूमध्ये एक बनेको छ । यसअघि अष्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरियालगायत देशहरूले पनि यस्तै नीति निर्माणको प्रक्रिया अगाडि बढाइरहेका छन् ।

  • बालबालिकासँग हुँदा फोन टाढा राख्न आग्रह

    बालबालिकासँग हुँदा फोन टाढा राख्न आग्रह

    स्टकहोम, १९ जेठ (रासस–एएफपी) । स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले आमाबाबुको मोबाइल प्रयोगले बालबालिकाको व्यवहार, बानी र पारिवारिक अन्तरक्रियामा असर पार्न सक्ने निष्कर्ष सार्वजनिक गर्दै बालबालिकासँग समय बिताउँदा फोन प्रयोग सीमित गर्न आग्रह गरेको छ । नयाँ सिफारिसमार्फत एजेन्सीले आमाबाबुलाई बच्चासँग हुँदा सकेसम्म फोन टाढा राख्न र अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्न सुझाव दिएको हो ।

    स्विडेनको जनस्वास्थ्य एजेन्सीले सोमबार जारी गरेको नयाँ मार्गनिर्देशन स्क्रिन प्रयोगसम्बन्धी पछिल्ला अनुसन्धानमा आधारित रहेको जनाएको छ । एजेन्सीले सन् २०२४ देखि नै आमाबाबुलाई बालबालिकाको वरिपरि स्मार्टफोन प्रयोगबारे सचेत हुन सुझाव दिँदै आएको भए पनि यसपटक थप स्पष्ट र व्यवहारिक सल्लाह अघि सारेको छ ।

    स्वास्थ्य प्राधिकरणले जारी गरेको वक्तव्यमा भनिएको छ, “जब तपाईं आफ्नो बच्चासँग हुनुहुन्छ, आफ्नो फोन टाढा राख्नुहोस् । आवश्यक परेमा मात्र प्रयोग गर्नुहोस् वा बच्चासँगै प्रयोग गरिरहनुभएको अवस्थामा मात्र प्रयोग गर्नुहोस् ।” एजेन्सीले आमाबाबुलाई आफ्नै जीवनमा पनि ‘स्वस्थ स्क्रिन बानी’ विकास गर्न आग्रह गरेको छ । यसको कारण के हो भने बालबालिकाले वयस्कहरूको व्यवहारबाट प्रत्यक्ष प्रभाव ग्रहण गर्ने भएकाले आमाबाबुको डिजिटल बानीले उनीहरूको आचरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने अनुसन्धानले देखाएको छ ।

    स्वास्थ्य एजेन्सीका अनुसार अध्ययनहरूले आमाबाबुको अत्यधिक स्क्रिन प्रयोगले बालबालिकासँग हुने प्रत्यक्ष संवाद र भावनात्मक सम्बन्धमा नकारात्मक असर पार्न सक्ने देखाएका छन् । त्यस्तै, धेरै समय मोबाइल वा अन्य स्क्रिनमा बिताउने आमाबाबुका बच्चाहरूमा पनि त्यस्तै बानी विकास हुने सम्भावना उच्च रहने उल्लेख गरिएको छ । नयाँ सिफारिसमा घरभित्र ‘स्क्रिन–मुक्त क्षेत्र’ बनाउने अभ्यासलाई पनि प्राथमिकता दिइएको छ । एजेन्सीले शयनकक्ष, खाना खाने टेबल वा परिवार सँगै समय बिताउने स्थानहरूमा मोबाइल तथा अन्य स्क्रिन उपकरणको प्रयोग नगर्न सुझाव दिएको छ ।

    एजेन्सीमा कार्यरत मनोचिकित्सक हेलेना फ्रिलिङ्स्डोर्फले बालबालिकाले केवल वयस्कका शब्द मात्र नभई, उनीहरूको व्यवहार पनि नजिकबाट सिक्ने बताउनुभयो । उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “बालबालिकाहरू वयस्कहरूले के भन्छन् भन्ने कुराले मात्र प्रभावित हुँदैनन्, उनीहरूले वयस्कहरूले के गर्छन् भन्ने कुरा पनि हेर्छन् । त्यसैले दैनिक जीवनका साना परिवर्तनहरूले तत्कालको पारिवारिक अन्तरक्रिया र दीर्घकालमा बच्चाको आफ्नै बानी दुवैमा प्रभाव पार्न सक्छन् ।”

    हालका वर्षहरूमा स्विडेनले बालबालिकाको अत्यधिक स्क्रिन समय घटाउन विभिन्न नीति र कदम अघि बढाउँदै आएको छ । त्यसैको निरन्तरतामा जनवरीमा सरकारले कक्षा ९ सम्मका विद्यार्थीका लागि विद्यालयभित्र स्मार्टफोन प्रयोगमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको थियो । यो नियम लागू भएमा करिब १५–१६ वर्ष उमेरसम्मका बालबालिकाहरू विद्यालयमा स्मार्टफोन प्रयोग गर्न पाउने छैनन् । स्विडेनको पछिल्लो सिफारिसलाई केवल फोन प्रयोग घटाउने प्रयासका रूपमा मात्र नभई परिवारभित्र प्रत्यक्ष संवाद, सहभागिता र स्वस्थ डिजिटल संस्कार प्रवद्र्धन गर्ने अभियानका रूपमा पनि हेरिएको छ ।

  • मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

    मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

    काठमाडौँ, १९ जेठः आज मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ । यस्तै, देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    यसैगरी, देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यमसम्मको वर्षा सम्भावना रहेको छ । आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यसैगरी कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

  • वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

    वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

    काठमाडौँ, १९ जेठः विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ । आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने बताइएको छ । आज भैरहवामा अधिकतम तापक्रम ३७.५ डिग्री पुगेको छ ।

    पछिल्लो २४ घण्टामा पनि दैलेखलगायत केही जिल्लामा हल्का वर्षा भए पनि अन्य क्षेत्रमा खास वर्षा रोकिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार जेठ १९ गते मधेस प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ । देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ । तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

    बुधबार देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ बुलेटिन जारी गरी जानकारी दिएको छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको बताइएको छ ।

  • वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

    वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

    काठमाडौँ, १८ जेठः वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति स्वचालित प्रणालीमार्फत गर्ने जनाएको छ । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजनाअनुसार पुनः श्रम स्वीकृतिलाई स्वचालित बनाइएको जनाएको हो । वैदेशिक रोजगार विभागले अनलाइनमार्फत स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति लिँदा पालना गर्नुपर्ने नयाँ शर्तसहित विभिन्न मापदण्ड अनिवार्य गरेको हो ।


    विभागका अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति आवेदन दिँदा यसअघि श्रम स्वीकृति प्राप्त गरेको देश र कम्पनीका लागि मात्र आवेदन दिएको हुनुपर्ने छ । संस्था वा कम्पनी परिवर्तन भएकाहरूको हकमा यो नियम लागू नहुने विभागले जनाएको छ ।

    विभागले विज्ञप्तीमार्फत कम्तीमा तीन महिना अवधि भएको राहदानी हुनुपर्ने, भिसा वैध हुनुपर्ने, कम्पनीसँग करार सम्झौता गरेको हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको हुनुपर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने, आवधिक जीवन बिमा गरेको हुनुपर्नेलगायत शर्त अनिवार्य गरेको हो ।


    अनलाइन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र सञ्चारमैत्री बनाउन यी शर्तहरू अघि सारिएको जनाइएको छ । विभागले शर्त पूरा नभएका आवेदनलाई प्रणालीले स्वतः अस्वीकृत गर्ने भएकाले आवश्यक सजगता अपनाउन सेवाग्राहीलाई आग्रह गरेको छ ।

  • देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

    देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ, १८ जेठः आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

  • लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

    काठमाडौँ, १७ जेठस् उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ । तराई क्षेत्रमा आंशिक बदली भएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ । यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही तथा लुम्बिनी प्रदेशको तराई र कोशी तथा बागमती प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि छ । महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, १५ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने तराई भू–भागमा आंशिक बदली भएको छ ।

    कोशी,बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने जनाइएको छ ।

    महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

    त्यसैगरी, आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहने तथा अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ । सुदूरपश्चिम, लुम्बिनी, कर्णाली तथा बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । देशका केही तराई तथा पहाडी क्षेत्रमा हुरीको सम्भावना रहेकाले महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • मौसम बदली र वर्षाले आगामी केही दिन शीतल महसुस

    मौसम बदली र वर्षाले आगामी केही दिन शीतल महसुस

    काठमाडौँ, १४ जेठः पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा केही राहत महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदलीका कारण केही दिन विभिन्न जिल्लामा वर्षासहितको हावाहुरी चल्ने र तराई क्षेत्रमा शीतल महसुस हुने जनाएको छ । दुई दिनअघि तराइका विभिन्न जिल्लामा ४१ डिग्री नाघेको तापक्रम अहिले ३९ डिग्रीभन्दा तल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मापन केन्द्रमा भएको अभिलेखअनुसार आज सबैभन्दा बढी तापक्रम धनगढीमा ३८ दशमलव सात डिग्री मापन भएको छ । यस्तै नेपालगञ्जमा ३८ दशमलव दुई डिग्रीसम्म तापक्रम पुगेको छ ।

    अन्य जिल्लामा ३६ डिग्रीभन्दा माथि आज तापक्रम नगएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले देशभर केही शीतल महसुस भएको बताए । उनले अहिले विभिन्न जिल्लामा वर्षा हुने क्रम बढेको भन्दै काठमाडौँसहित कतिपय जिल्लामा वर्षा भइरहेको जानकारी दिए । आजमात्रै धनकुटामा सबैभन्दा बढी ८७ मिलिमिटर वर्षा भएको छ । काठमाडौँसहितका कतिपय जिल्लामा भने मध्यमसम्म वर्षा भएको विभागले जानकारी दिएको छ । भोलिदेखि भने वर्षा केही बढ्ने जनाइएको छ ।

    विभागले आज साँझ जारी गरेको बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसका कारण अहले देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशका केही स्थानमा, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए ।


    मौसमविद् धर्मराज उप्रेतीका अनुसार पश्चिम तराईको लु अर्थात् अत्यधिक गर्मीको अवस्था आज रातिदेखि कमी आउने र आगामी तीन–चार दिन शीतल महसुस हुने सम्भावना छ । उनका अनुसार जेष्ठ १५ गते बिहानैदेखि पश्चिम नेपालका तीन प्रदेश (सुदुर पश्चिम, कर्णाली अनि लुम्बिनी)मा वर्षा, असिना, हावाहुरीको संभावना रहेको र जेष्ठ १८ गतेसम्म यो प्रणालीको प्रभाव रहने छ । यो प्रणालीको प्रभाव गण्डकी, कोशी र मधेसमा पनि देखिने हुँदा शीतल महसुस हुने बताइएको छ ।

    विभागका अनुसार शुक्रबार देशभर साधारणतया बादल लागी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशका तराई भू(भागका एक(दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू(भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

  • नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    केप क्यानभेरल (फ्लोरिडा), १४ जेठ (रासस–एपी) । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्वजनिक गर्दै चार अमेरिकी कम्पनीलाई सयौँ करोड डलरका ठेक्का प्रदान गरेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सीले मङ्गलबार सार्वजनिक गरेको योजनाअनुसार चन्द्र आधार विकासको प्रारम्भिक चरणमा चन्द्र सतहमा ल्यान्डर, रोभर र ड्रोन जस्ता उपकरणहरू पठाइनेछ, जसले भविष्यको मानव बसोबास र अनुसन्धानका लागि आधार तयार गर्नेछ ।

    जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनले चन्द्रमाको दक्षिणी ध्रुव नजिक ल्यान्डर उपलब्ध गराउनेछ, जसले चन्द्र सतहमा रोभरहरू पुर्‍याउने काम गर्नेछ । ती चन्द्र भू–सवारी साधनहरू एस्ट्रोल्याब र लुनार आउटपोस्ट कम्पनीहरूले निर्माण गर्नेछन् । यस्तै, गत वर्ष सफल अवतरण गरिसकेको फायरफ्लाई एरोस्पेसले चन्द्रमामा पहिलो ड्रोन पठाउने जिम्मेवारी पाएको छ ।


    नासाका अनुसार यी सबै उपकरणहरू सन् २०२८ को सुरुआतमा प्रस्तावित पहिलो मानव अवतरणअघि नै चन्द्रमामा पुगिसक्नुपर्नेछ, जसले आर्टेमिस कार्यक्रमको मानव मिशनलाई आधार प्रदान गर्नेछ । यसै क्रममा गत अप्रिलमा सम्पन्न आर्टेमिस–२ मिसनमा चार अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको परिक्रमा गर्दै ऐतिहासिक यात्रा गरेका थिए । यसलाई अपोलो युगपछिको सबैभन्दा गहिरो अन्तरिक्ष यात्रा मानिएको छ । आगामी आर्टेमिस–३ मिसनमा अन्तरिक्ष यात्रीहरूले चन्द्र कक्षामा अभ्यास गर्ने योजना रहेको छ, जहाँ ब्लू ओरिजिन र एलन मस्कको स्पेसएक्सले विकास गरिरहेका ल्यान्डरहरूसँग डकिङ अभ्यास गरिनेछ ।

    नासाले सन् २०२७ को मध्यतिर आर्टेमिस–३ मिसन सञ्चालन गर्ने लक्ष्य राखेको छ भने सन् २०२८ सम्ममा चन्द्रमामा मानव अवतरण गराउने योजना अघि बढाएको छ । त्यसपछि सन् २०२९ देखि सन् २०३० को बीचमा चन्द्र आधारको दोस्रो चरण सुरु हुनेछ, जसमा पावर ग्रिडसहित प्रारम्भिक स्थायी पूर्वाधार निर्माण गरिनेछ । सन् २०३० को दशकमा तेस्रो चरणमा पुगेर दीर्घकालीन बसोबासका लागि आवास संरचना तयार गर्ने लक्ष्य राखिएको छ ।

    नासाको चन्द्र आधार कार्यक्रमका कार्यकारी कार्लोस गार्सिया–गालानले भविष्यको संरचना सयौँ वर्गमाइल क्षेत्रमा फैलिने र ड्रोनहरूद्वारा यसको सीमाना चिह्न लगाइने बताउनुभयो । ती ड्रोनहरूलाई ‘मुनफल’ नाम दिइनेछ, जसले चन्द्र आधारको परिधि निर्धारण गर्नेछ । नासाका प्रशासक जारेड आइज्याकम्यानले यस प्रणालीलाई अन्य अन्तरिक्ष मिशनहरूसँग समन्वयमा राखिने र अन्तर्राष्ट्रिय अन्तरिक्ष यान तथा उपकरणहरूको सम्मान गर्दै सञ्चालन गरिने बताए । उनले यस विषयमा पारस्परिक सहकार्य अपेक्षित रहेको पनि उल्लेख गरे ।


    उनका अनुसार चन्द्र आधार केवल अनुसन्धानका लागि मात्र नभई भविष्यको मङ्गल अभियानको आधार निर्माण, वैज्ञानिक अनुसन्धान विस्तार र चन्द्र अर्थतन्त्रको विकासका लागि महत्त्वपूर्ण हुनेछ । “धैर्यपूर्वक प्रतीक्षा गरिरहेकाहरूका लागि यो भव्य पुनरागमन हो र हामी सुस्त हुने छैनौँ”, नासाका प्रशासक आइज्याकम्यानले भने, “हामी त अहिले मात्र सुरु गर्दैछौँ ।”

  • नवीकरणीय ऊर्जा क्षेत्रमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ सफलता

    नवीकरणीय ऊर्जा क्षेत्रमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ सफलता

    बेइजिङ, १४ जेठ (रासस–सिन्ह्वा) । चिनियाँ अनुसन्धानकर्ताहरूको एक टोलीले सौर्य सेलको कार्यक्षमता र सञ्चालन स्थायित्व दुवै उल्लेखनीय रूपमा सुधार गर्ने नयाँ संरक्षण रणनीति विकास गरेको छ । यो सम्बन्धी अनुसन्धान हालै एक वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ । यस प्रकारको सौर्य सेलमा माथिल्लो भागमा विशेष प्रकाश रूपान्तरण तह र तल्लो भागमा सिलिकन आधारित तह प्रयोग गरिन्छ । यस्तो संरचनाले सूर्यको प्रकाशलाई उच्च दक्षताका साथ विद्युत्मा रूपान्तरण गर्न मद्दत गर्छ, जसले हल्का तथा उच्च–क्षमतायुक्त सौर्य प्रविधिको सम्भावना बढाएको छ ।
    तर औद्योगिक सिलिकन सतहको पिरामिड–जस्तो बनावटका कारण माथिल्लो तह समान रूपमा राख्न कठिन हुने समस्या थियो । यसले स्थानीय विद्युतीय चुहावट निम्त्याएर व्यावसायिक प्रयोगमा चुनौती सिर्जना गर्दै आएको थियो । चिनियाँ अनुसन्धानकर्ताहरूले पूर्वी चीनका दुई विश्वविद्यालयसँगको सहकार्यमा ‘चुचुरो–केन्द्रित संरक्षण’ नामक नयाँ रणनीति विकास गरेका हुन् ।


    उहाँहरूले सूक्ष्म कणलाई नमूनाको रूपमा प्रयोग गरी पिरामिडको चुचुरो भागमा एल्युमिनियम अक्साइडको अत्यन्त पातलो अवरोधक तह राख्ने विधि अपनाए, जसले विद्युतीय चुहावट रोक्न मद्दत गर्छ । यस प्रविधिबाट तयार गरिएको सौर्य सेलले करिब ३३ प्रतिशत ऊर्जा रूपान्तरण दक्षता हासिल गरेको छ, जुन करिब एक वर्ग सेन्टिमिटर सक्रिय क्षेत्रफल भएको सौर्य सेलमा प्राप्त गरिएको हो ।


    त्यसैगरी, उक्त उपकरणले लगातार एक हजार घण्टा सञ्चालनपछि पनि आफ्नो प्रारम्भिक कार्यक्षमताको करिब ९० प्रतिशत कायम राखेको अनुसन्धानले देखाएको छ, जसले यसको दीर्घकालीन स्थायित्व पनि प्रमाणित गरेको छ । अध्ययनका एक सह–लेखकका अनुसार, “यो रणनीति सरल छ र हालका औद्योगिक उत्पादन प्रणालीसँग सजिलै मिल्न सक्छ । यसले नयाँ प्रकारका सौर्य सेललाई व्यावसायिक प्रयोगतर्फ अझ नजिक पु¥याएको छ ।”

  • एआई प्रभावले चिप कम्पनीहरूको सेयरमा तीव्र वृद्धि

    एआई प्रभावले चिप कम्पनीहरूको सेयरमा तीव्र वृद्धि

    हङकङ, १४ जेठ (रासस–एएफपी) । एशियाली शेयर बजार बुधबार मिश्रित देखिए पनि प्रविधि (टेक) सेयरको तीव्र उछालका कारण केही बजारमा मजबुत वृद्धि देखिएको छ । लगानीकर्ताहरू संयुक्त राज्य अमेरिका र इरानबीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर सावधानीपूर्वक आशावादी बनेका छन् ।
    कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी प्रविधि कम्पनीहरूको सेयरमा आएको ठूलो वृद्धिका कारण यस वर्ष बजार लगातार नयाँ उचाइमा पुगेको छ ।

    दक्षिण कोरियाको बजारमा बुधबार २ प्रतिशतभन्दा बढी वृद्धि भयो, जसमा चिप निर्माता एसके हाइनिक्सको सेयर ११ प्रतिशतले बढेर १ ट्रिलियन अमेरिकी डलर बजार मूल्य पुगेको छ । यससँगै एसके हाइनिक्स एशियाका केवल तीन १ ट्रिलियन डलर कम्पनीमध्ये एक बनेको छ, स्यामसुङ इलेक्ट्रोनिक्स र ताइवानको टीएसएमसीसँगै, जसले एआई प्रणालीका लागि चिप उत्पादन गर्छन् ।

    एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टेफेन इनिसका अनुसार बजारले स्पष्ट रूपमा एउटा सन्देश दिएको छ—एआईको माग अब केवल ठूला भाषा मोडेल चलाउने चिपमा सीमित छैन, बरु ती मोडेललाई ठूलो स्तरमा सञ्चालन गर्न आवश्यक मेमोरी प्रणालीसम्म विस्तार भएको छ । यसैबीच, मध्यपूर्वमा युद्ध रोक्ने उद्देश्यले वासिङ्टन र तेहरानबीच भइरहेको वार्तामा पनि लगानीकर्ताहरूले नजर राखिरहेका छन् । हालै युद्धविरामको रिपोर्ट आए पनि सोमबार भएको अमेरिकी आक्रमणपछि तनाव फेरि बढेको छ ।

    तेहरानले अमेरिकाले युद्धविराम तोडेको आरोप लगाउँदै खाडी क्षेत्रमा रहेका अमेरिकी लक्ष्यहरूमा जवाफी कारबाही गर्न सक्ने चेतावनी दिएको छ । अमेरिकी आक्रमणपछि अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य मङ्गलबार करिब ४.५ प्रतिशतले बढेर प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

  • तापक्रम वृद्धि सङ्गै वन्यजन्तुको मृत्यु जोखिम बढ्दैः अध्ययन

    तापक्रम वृद्धि सङ्गै वन्यजन्तुको मृत्यु जोखिम बढ्दैः अध्ययन

    सिड्नी, १४ जेठ (रासस–सिन्ह्वा) । अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा पनि वन्यजन्तु बिरामी पर्ने, अस्पताल भर्ना हुने तथा मृत्यु हुने जोखिम उल्लेखनीय रूपमा बढ्ने देखाएको छ । अनुसन्धानले जलवायु परिवर्तनका कारण वन्यजन्तुमाथि गम्भीर खतरा बढ्दै गएको चेतावनी दिएको छ । सिड्नी विश्वविद्यालयको नेतृत्वमा गरिएको अध्ययनमा न्यू साउथ वेल्स राज्यका करिब १२ हजार वन्यजन्तुको दुई दशकको स्वास्थ्य अभिलेख विश्लेषण गरिएको थियो । अध्ययनअनुसार औसत तापक्रम २७ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि बिरामी हुने र मृत्यु दर बढ्न थालेको पाइएको छ ।

    अनुसन्धानले ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा अस्पताल भर्ना हुने वा मृत्यु हुने सम्भावना २५ डिग्रीको तुलनामा १.५ देखि ३.५ गुणासम्म बढी हुने देखाएको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनसँगै बढ्दो गर्मीबाट वन्यजन्तुको संरक्षणका लागि तत्काल प्रभावकारी कदम आवश्यक रहेको बताएका छन् । अध्ययनमा सबैभन्दा बढी असर उत्तर–पश्चिमी भित्री क्षेत्रमा देखिएको छ, जहाँ बढ्दो तापक्रम र खडेरीका कारण वन्यजन्तुको संख्या तीव्र रूपमा घटिरहेको छ ।

    अनुसन्धानकर्ताहरूका अनुसार रोग, वन विनाश र चरम गर्मीले वन्यजन्तुको जोखिम अझ बढाएको छ । अनुसन्धानकर्ता भ्यालेन्टिना मेल्लाले छोटो समयसम्म तातो मौसम सहन सकिए पनि दीर्घकालमा यस्तो अवस्था टिकाउ नहुने भने । उनले चेतावनी दिँदै भने, “यदि समयमै संरक्षणका उपाय अपनाइएन भने बढ्दो गर्मीले सङ्कटमा रहेका वन्यजन्तुलाई विलुप्तिको नजिक पु¥याउन सक्छ ।”

  • चीनद्वारा नयाँ सञ्चार परीक्षण उपग्रह सफल प्रक्षेपण

    चीनद्वारा नयाँ सञ्चार परीक्षण उपग्रह सफल प्रक्षेपण

    बेजिङ,१४ जेठ (रासस–सिन्ह्वा) । चीनले नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चीनको दक्षिणी द्वीपीय प्रान्त हाइनानस्थित अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार बिहान यो उपग्रह अन्तरिक्षतर्फ पठाइएको हो । चिनियाँ समाचार संस्थाका अनुसार उपग्रहलाई बेइजिङ समयअनुसार राति १२ बजेर १६ मिनेटमा परिमार्जित वाहक रकेटमार्फत प्रक्षेपण गरिएको थियो । प्रक्षेपणपछि उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षामा प्रवेश गरेको पुष्टि गरिएको छ ।

    यो नयाँ परीक्षण उपग्रह मुख्य रूपमा बहुब्यान्ड तथा उच्चगतिको उपग्रह सञ्चार प्रविधिको परीक्षण र प्रमाणीकरणका लागि प्रयोग गरिने बताइएको छ । यसबाट भविष्यमा अझ छिटो, सुरक्षित र स्थिर सञ्चार सेवा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी अन्तरिक्षमार्फत सञ्चार सेवा विस्तार, सूचना आदानप्रदानको गति वृद्धि तथा आधुनिक सञ्चार प्रणालीको क्षमता अभिवृद्धिमा यस अभियान महत्वपूर्ण हुने चीनको विश्वास छ ।

    उक्त अभियानका लागि प्रयोग गरिएको वाहक रकेट चीनको अन्तरिक्ष कार्यक्रमअन्तर्गत विकसित अत्याधुनिक प्रक्षेपण प्रणालीमध्ये एक मानिन्छ । यो प्रक्षेपणसँगै उक्त रकेट शृङ्खलाको ६४५औँ उडान अभियान सफलतापूर्वक सम्पन्न भएको छ, जसलाई चीनको अन्तरिक्ष प्रविधि विकासको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

    हालका वर्षहरूमा चीनले अन्तरिक्ष अनुसन्धान, सञ्चार प्रविधि, चन्द्र अभियान तथा अन्तरिक्ष केन्द्र निर्माणलगायत क्षेत्रमा तीव्र रूपमा प्रगति गरिरहेको छ । नयाँ परीक्षण उपग्रहको सफल प्रक्षेपणले चीनको अन्तरिक्ष तथा सञ्चार प्रविधि क्षमतालाई थप सुदृढ बनाउने विश्लेषण गरिएको छ ।

  • भारतमा चरम गर्मी चेतावनी

    भारतमा चरम गर्मी चेतावनी

    नयाँदिल्ली, १४ जेठ (रासस–एएफपी) । भारतमा बढ्दो चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कडा चेतावनी जारी गरेका छन् । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा तापक्रम असामान्य रूपमा बढिरहेका बेला उहाँले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् । यसैबीच, जङ्गलमा लागेको आगो नियन्त्रण गर्न सेनाले लामो समयसम्म सङ्घर्ष गरिरहेको छ भने गर्मीका कारण मृत्युका घटनासमेत रिपोर्ट भएका छन् ।

    अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन प्लेटफर्म एक्युआईका अनुसार बुधबार दिउँसो विश्वका ४५ सबैभन्दा तातो सहरमध्ये अधिकांश भारतमै रहेका थिए, जहाँ तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । यस्तो अवस्थाले देशका धेरै भागमा जनजीवन प्रभावित बनेको छ ।

    प्रधानमन्त्री मोदीले आफ्नो कार्यालयमार्फत जारी गरेको सन्देशमा भारतका विभिन्न क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको र यसले नयाँ चुनौती सिर्जना गरिरहेको उल्लेख गरे । उनले गर्मीको असरलाई हल्का रूपमा नलिन आग्रह गर्दै सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अपिल गरे ।


    उनले अत्यधिक गर्मीले शरीरमा पानीको कमी (डिहाइड्रेसन) ल्याउने, रगत गाढा बनाउने तथा गम्भीर अवस्थामा अङ्ग फेल हुने जोखिम हुने बताए । चेतावनीको सङ्केतलाई बेवास्ता गर्दा अवस्था अझ खतरनाक बन्न सक्ने र ‘हिट स्ट्रोक’ को सम्भावना बढ्ने उनको भनाइ छ । यसैबीच, गत साता मात्रै दक्षिणी राज्य तेलङ्गानामा गर्मीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । गर्मीबाट बालबालिका, वृद्ध तथा बाहिर काम गर्ने श्रमिकहरू सबैभन्दा बढी जोखिममा रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

    भारत मौसम विज्ञान विभाग (आइएमडी) का अनुसार उत्तर प्रदेशको बान्दा सहरमा मङ्गलबार ४७.४ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ । यो सामान्यभन्दा ३.८ डिग्री बढी हो । यस महिनाको सुरुमै सोही क्षेत्रमा तापक्रम ४८.२ डिग्री सेल्सियससम्म पुगेको थियो । राजधानी नयाँदिल्लीमा बुधबार दिउँसो तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ । विज्ञहरूका अनुसार गर्मी बढ्दै जाँदा वन डढेलोको जोखिम पनि उच्च बन्दै गएको छ ।

    यसै सन्दर्भमा भारतीय सेनाले हिमालयन क्षेत्रको पहाडी सहर कसौली नजिक लागेको डढेलो नियन्त्रण गर्न १६ घण्टाभन्दा बढी समयसम्म प्रयास गरेको जनाएको छ । सेनाका अनुसार वायु सेनाका हेलिकप्टरहरूले ठूलो मात्रामा पानी खसालेर आगो नियन्त्रणमा निर्णायक भूमिका खेलेका छन्, यद्यपि आगो निभाउने कार्य अझै जारी छ । मौसम विभागले गर्मी बढेसँगै देशका विभिन्न भागमा पानीको अभाव गहिरिँदै गएको चेतावनीसमेत दिएको छ । ‘नदीहरू सुक्ने, भू–जल स्तर घट्ने, खडेरी र पानी सङ्कट बढ्ने अवस्थाबीच प्रत्येक थोपा महत्त्वपूर्ण हुन्छ’ भन्दै विभागले नागरिकलाई पानी बचत गर्न आग्रह गरेको छ ।

    विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण उष्ण लहरहरू पहिलेभन्दा लामो, बारम्बार र बढी तीव्र हुँदै गएका छन् । दिनको उच्च तापक्रमसँगै राति पनि न्यून तापक्रम नघट्दा मानिसहरूलाई राहत मिल्न कठिन भइरहेको छ । भारतमा हालसम्मकै उच्च आधिकारिक तापक्रम सन् २०१६ मा राजस्थानको फलोदीमा ५१ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । वर्तमान अवस्थाले त्यसतर्फ पुनः उन्मुख हुने सङ्केत देखिन थालेको भन्दै स्वास्थ्य र वातावरणीय जोखिमप्रति थप सतर्कता अपनाउन विशेषज्ञहरूले आग्रह गरेका छन् ।

  • अष्ट्रेलियामा औद्योगिक प्रदूषण नियन्त्रणका लागि कडा कदम

    अष्ट्रेलियामा औद्योगिक प्रदूषण नियन्त्रणका लागि कडा कदम

    क्यानबेरा, १३ जेठ (रासस–सिन्ह्वा) । अष्ट्रेलियाले खानी उद्योगसहित ठूला औद्योगिक कम्पनीहरूलाई उत्पादनस्थलमै प्रदूषण उत्सर्जन घटाउन आग्रह गरेको छ । प्रमुख खानी कम्पनीले कार्बन उत्सर्जन न्यूनीकरणसम्बन्धी केही महत्वपूर्ण योजना पछाडि सारेको समाचार सार्वजनिक भएपछि सरकारको यस्तो प्रतिक्रिया आएको हो । जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनले उत्सर्जन नियन्त्रणसम्बन्धी अष्ट्रेलियाको ‘सुरक्षा संयन्त्र’ अन्तर्गत पर्ने ठूला उद्योगहरूले उत्सर्जन घटाउन लचकता पाउने भए पनि प्राथमिकता भने उत्पादनस्थलमै प्रदूषण घटाउनुपर्ने बताए । “यो व्यवस्था सबै कम्पनीमा लागू हुन्छ,” उनले भने ।


    सञ्चारमाध्यममा सार्वजनिक भएका गोप्य कागजातअनुसार अष्ट्रेलियाको सबैभन्दा ठूलो डिजेल प्रयोगकर्ता मानिने उक्त खानी कम्पनीले नवीकरणीय ऊर्जा परियोजना तथा डिजेलमा चल्ने खानी उपकरणलाई विद्युतीय बनाउने योजना ढिलाइ गरेको देखिएको छ । यसले कम्पनीको सन् २०५० सम्म शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धतामाथि प्रश्न उठाएको बताइएको छ ।


    स्वतन्त्र सांसद केट चेनीले हालको संयन्त्र पर्याप्त कडा नभएको टिप्पणी गरे । उनका अनुसार कम्पनीहरूले प्रत्यक्ष रूपमा प्रदूषण घटाउनुको सट्टा कार्बन क्षतिपूर्ति खरिद गरेर लक्ष्य पूरा गर्न सक्ने अवस्था रहेको छ । उनले डिजेलमा दिइने कर छुटले पनि उत्सर्जन न्यूनीकरण प्रयासलाई कमजोर बनाएको बताउँदै ठूला र अत्यधिक नाफामुखी कम्पनीका लागि यस्तो सुविधा सीमित गर्नुपर्ने धारणा राखे ।

    तर किसान तथा साना व्यवसायका लागि भने सुविधा कायम राख्नुपर्ने उनको भनाइ थियो । सार्वजनिक कागजातअनुसार पश्चिम अष्ट्रेलियास्थित फलाम खानी सञ्चालनबाट सन् २०३० सम्म केवल करिब १ प्रतिशत मात्रै उत्सर्जन घट्ने अनुमान गरिएको छ । उक्त सञ्चालन कम्पनीको विश्वव्यापी कुल उत्सर्जनको करिब एकतिहाइ हिस्सा मानिन्छ ।


    कम्पनीले भने सन् २०२० को तुलनामा हालसम्म ३६ प्रतिशत उत्सर्जन घटाइसकेको र सन् २०५० सम्म शून्य उत्सर्जनको लक्ष्यप्रति प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले विशेषगरी ब्याट्रीबाट चल्ने विद्युतीय ट्रकको अभावजस्ता प्राविधिक सीमाका कारण प्रगति सुस्त भएको उल्लेख गरेको छ ।

  • चीनको सांस्कृतिक उद्योगमा ‘एआई’को प्रभाव बढ्दो

    चीनको सांस्कृतिक उद्योगमा ‘एआई’को प्रभाव बढ्दो

    सेनझेन, १३ जेठ (रासस–सिन्ह्वा) । दक्षिण चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेनझेन शहरमा आयोजित सांस्कृतिक उद्योगसम्बन्धी एक मञ्चले कृत्रिम बुद्धिमत्ता (एआई) अब चीनको सामग्री निर्माण, वितरण तथा विश्वव्यापी प्रचारप्रसारमा गहिरोसँग समाहित भइसकेको उल्लेख गरेको छ । हालै आयोजित ‘चीनको सांस्कृतिक शक्ति निर्माण २०२६’ मञ्चमा विभिन्न संस्थाहरूले कृत्रिम बुद्धिमत्ताबाट निर्माण गरिएका वृत्तचित्र, एनिमेटेड श्रृङ्खला तथा अनुवादित अनलाइन उपन्यासजस्ता नवीन कार्य प्रस्तुत गरेका थिए । यसले कृत्रिम बुद्धिमत्ताले चीनको सांस्कृतिक परिदृश्यलाई तीव्र रूपमा परिवर्तन गरिरहेको देखाएको छ ।


    सहभागीमध्ये हुनान प्रसारण प्रणालीले विशाल भाषा नमुना र मेघ गणना प्रविधिको प्रयोगमार्फत कृत्रिम बुद्धिमत्ताद्वारा सञ्चालित दृश्य सामग्री निर्माण संरचना विकास गरेको जानकारी दिएको थियो । सृजनात्मक तथा प्राविधिक टोलीलाई एकीकृत गरी अनुसन्धान संस्थासँग सहकार्य गरेपछि संस्थाले पूर्ण रूपमा कृत्रिम बुद्धिमत्ताद्वारा निर्मित वृत्तचित्र तथा छोटो नाटक सार्वजनिक गरिसकेको छ भने अहिले लामो धारावाहिक निर्माणमा काम गरिरहेको छ ।

    चीनका अनलाइन उपन्यासहरू लामो समयदेखि अन्तर्राष्ट्रिय विस्तारमा दुई प्रमुख समस्याबाट प्रभावित थिए । धेरै कल्पनात्मक तथा विज्ञान कथामा आधारित कथाहरूलाई परम्परागत चलचित्रमा रूपान्तरण गर्न कठिन थियो भने विश्वव्यापी पाठकका लागि अनुवाद गर्नु समय र खर्च दुवै हिसाबले चुनौतीपूर्ण थियो ।
    युएवेन समूहका उपाध्यक्ष सिए लानफाङका अनुसार कृत्रिम बुद्धिमत्ताले यी दुवै समस्या समाधान गरेको छ । कम्पनीले पाठ विश्लेषणदेखि दृश्य निर्माणसम्म काम गर्ने कृत्रिम सहायक विकास गरेको छ, जसले उपन्यासलाई एनिमेटेड भागमा रूपान्तरण गर्छ ।


    २०२५ को दोस्रो भागमा कृत्रिम चित्रकथा सेवा सुरु गरेपछि कम्पनीले करिब एक हजार कृत्रिम बुद्धिमत्ताद्वारा निर्मित कृतिहरू सार्वजनिक गरिसकेको छ । तीमध्ये एक सयभन्दा बढीले एक करोडभन्दा बढी अवलोकन प्राप्त गरेका छन् भने १२ वटा कृतिले १० करोडभन्दा बढी अवलोकन पाएका छन् । टेन्सेन्ट अनुसन्धान संस्थानका प्रमुख सी सियाओले कृत्रिम बुद्धिमत्ताले सामग्री निर्माणकर्ताको दायरा उल्लेखनीय रूपमा विस्तार गरेको बताउनुभयो । उहाँका अनुसार यसले हरेक व्यक्तिलाई सम्भावित सर्जक बनाउँदै उत्पादन खर्च र समय घटाएको छ तथा उत्पादन क्षमता बढाएको छ ।


    कृत्रिम बुद्धिमत्ताले पूर्ण रूपमा नयाँ सांस्कृतिक स्वरूप तथा प्रयोगको विकास पनि गरिरहेको छ । २२औँ चीन अन्तर्राष्ट्रिय सांस्कृतिक उद्योग मेलामा मानिसहरूले ‘चियानवेन’ कृत्रिम चस्मा प्रयोग गर्न लामो लाइन बसेका थिए । बेइजिङस्थित एक प्रविधि कम्पनीद्वारा विकसित उक्त चस्मामा विशाल भाषा नमुना जडान गरिएको छ, जसले मार्गनिर्देशन, वस्तु पहिचान तथा आवाजमार्फत प्रश्नोत्तर सुविधा प्रदान गर्छ ।
    कम्पनीका कर्मचारी वु जियानजुनका अनुसार संग्रहालय तथा सांस्कृतिक सम्पदा स्थलमा यस्ता चस्माको ठूलो सम्भावना छ ।

    कुनै चित्र वा वस्तुबारे जानकारी नभएका दर्शकलाई यसले गहिरो बुझाइ दिन सहयोग पु¥याउँछ । कृत्रिम बुद्धिमत्ताले चिनियाँ सांस्कृतिक सम्पदाको विश्वव्यापी प्रसारमा पनि सहयोग गरिरहेको छ । ‘डिजिटल पुस्तकालय गुफा’ परियोजनाले प्राचीन धार्मिक ग्रन्थलाई स्वचालित रूपमा पहिचान गरी टिप्पणी सच्याउने काम गरिरहेको छ, जसले विश्वभरिका दर्शकलाई प्राचीन भित्तेचित्रका सम्पदा अवलोकन गर्ने अवसर दिएको छ ।


    त्रि–आयामिक पुनर्निर्माण तथा डिजिटल अभिलेखीकरणमा विशेषज्ञता हासिल गरेको एक कम्पनीले विदेशमा हराएका चिनियाँ सांस्कृतिक वस्तुहरूको डिजिटल अभिलेख तयार गरिरहेको छ, जसले ती सम्पदालाई व्यापक दर्शकमाझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । कम्पनीले भविष्यमा स्थिर सांस्कृतिक सम्पदाको सुरक्षात्मक अवस्थाको परीक्षण गर्न पनि कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्ने योजना बनाएको जनाएको छ ।


    स्थानीय नीतिहरूले पनि कृत्रिम बुद्धिमत्तामा आधारित सांस्कृतिक विकासलाई थप बल प्रदान गरिरहेका छन् । सांघाईले सूक्ष्म नाटक क्षेत्रलाई सहयोग गर्न प्राविधिक सहायता तथा गणनाशक्ति अनुदान उपलब्ध गराएको छ । चीनको सिचुआन प्रान्तमा सांस्कृतिक तथा विज्ञान विभागहरूले संयुक्त परियोजना स्थापना गरी प्रमुख प्रविधि तथा उपकरण विकासलाई तीव्र बनाएका छन् ।

    मञ्चमा सहभागी धेरै उद्योग प्रतिनिधिहरूले सांस्कृतिक क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी राष्ट्रिय मार्गनिर्देशन आवश्यक रहेको बताएका छन् । उहाँहरूले प्राविधिक मापदण्ड, तथ्यांक नियम, प्रतिलिपि अधिकार तथा सामग्री चिन्हांकनसम्बन्धी स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्दै नैतिक र दिगो विकास सुनिश्चित गर्न आग्रह गरेका छन् ।

  • आजको मौसम : तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

    आजको मौसम : तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

    काठमाडौँ, १३ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा मङ्गलबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

    कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेश हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा अपराह्नपछि हुरीको सम्भावना रहेको छ ।

  • आजको मौसम : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

    आजको मौसम : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

    काठमाडौँ, १२ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित देशका केही भागमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै लुम्बिनी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यसैगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


    कोशी र मधेस प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षारहिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भाग तथा सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागको एकदुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशखाले जनाएको छ ।

  • चीनको नयाँ अन्तरिक्ष यात्रा

    चीनको नयाँ अन्तरिक्ष यात्रा

    जियुकुआन (चीन), ११ जेठ (रासस–एपी) । चीनले आफ्नो अन्तरिक्ष महत्त्वाकांक्षालाई नयाँ चरणमा पुर्‍याउने प्रयासस्वरूप आइतबार राति शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । तीन अन्तरिक्ष यात्री बोकेको यो मिसनमा एक जना सदस्यलाई अन्तरिक्ष स्टेशनमा पूरा एक वर्ष बसाउने योजना समावेश गरिएको छ ।

    यसलाई लामो अवधिको मानव अन्तरिक्ष बसाइसम्बन्धी महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ । शेनझोउ–२३ अन्तरिक्ष यान उत्तरपश्चिम चीनस्थित जियुकुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ पठाइएको हो । चीनले सन् २०३० भित्र पहिलोपटक मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्यतर्फ तयारी तीव्र बनाइरहेका बेला यो प्रक्षेपणलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

    यस मिसनमा कमान्डर झु याङ्झु, झाङ झियुआन र लाइ का–यिङ सहभागी छन् । चिनियाँ अधिकारीहरूले लाइलाई उहाँको नामलाई म्यान्डारिन भाषामा उच्चारणअनुसार रूपान्तरण गरेर ‘ली जियायिङ’ नामले पनि चिनाउने गरेका छन् । हङकङमा जन्मिनुभएका तथा त्यहीँ हुर्किनुभएका लाइले कम्प्युटर फरेन्सिक विषयमा विद्यावारिधि हासिल गरेका छन् । उनलाई अन्तरिक्ष मिसनमा सहभागी हुने सहर पृष्ठभूमिबाट आएका पहिलो चिनियाँ अन्तरिक्ष यात्रीका रूपमा पनि प्रस्तुत गरिएको छ ।

    सरकारी सञ्चारमाध्यमका अनुसार शेनझोउ–२३ को टोलीले अन्तरिक्षमा दर्जनौँ वैज्ञानिक तथा प्रयोगात्मक परियोजनाहरू सञ्चालन गर्ने तयारी गरेको छ । यो टोलीले हाल २०० दिनभन्दा बढी समयदेखि टियाङ्गोङ अन्तरिक्ष स्टेशनमा कार्यरत शेनझोउ–२१ का चालक दलसँग कक्षामा भेट गर्ने तथा कार्य हस्तान्तरण प्रक्रिया पूरा गर्ने अपेक्षा गरिएको छ ।


    यस मिसनको सबैभन्दा उल्लेखनीय पक्ष भनेको तीन सदस्यीय टोलीमध्ये एक अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष स्टेशनमा लगातार एक वर्ष राख्ने योजना हो । यो बसाइ सफल भएमा त्यसलाई अन्तरिक्षमा मानवको सबैभन्दा लामो एकल प्रवासमध्ये एक मानिनेछ । सरकारी सञ्चारमाध्यमका अनुसार यस प्रयोगको उद्देश्य लामो अवधिको अन्तरिक्ष वातावरणमा मानव शरीरको अनुकूलन क्षमता, सहनशीलता तथा कार्यसम्पादन सीमाबारे विस्तृत अध्ययन गर्नु हो ।

    पछिल्ला वर्षहरूमा चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई तीव्र रूपमा विस्तार गर्दै आएको छ । टियाङ्गोङ अन्तरिक्ष स्टेशनलाई केन्द्रमा राखेर चिनियाँ अन्तरिक्ष यात्रीहरूले लगातार नयाँ मिसनहरू सञ्चालन गरिरहेका छन् । यो अन्तरिक्ष स्टेशन चीनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अमेरिकी प्रतिबन्धका कारण प्रभावकारी रूपमा बाहिरिएपछि आफ्नै पहलमा विकास गरेको संरचना हो । विश्व अन्तरिक्ष प्रतिस्पर्धामा अमेरिकालाई चीनको प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेरिन्छ ।

    अमेरिकी अन्तरिक्ष निकाय नासाले पनि सन् २०२८ सम्ममा पुनः चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य अघि सारेको छ । यसले अन्तरिक्ष क्षेत्रमा दुई शक्तिबीचको प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ । चीनको अन्तरिक्ष स्टेशन टियाङ्गोङले पहिलोपटक सन् २०२१ मा चिनियाँ चालक दललाई स्वागत गरेको थियो । त्यसयता यो चीनको मानव अन्तरिक्ष अभियानको मुख्य आधार बनेको छ । टियाङ्गोङको अर्थ ‘स्वर्गीय महल’ भन्ने हुन्छ ।

    गत वर्ष शेनझोउ कार्यक्रममा आपतकालीन उद्धार मिसनसमेत सञ्चालन गरिएको थियो । ‘दिव्य पोत’ भन्ने अर्थ दिने यस कार्यक्रमअन्तर्गत क्षतिग्रस्त अन्तरिक्ष यानका कारण अन्तरिक्ष स्टेशनमा अड्किएका अन्तरिक्ष यात्रीहरूको टोलीलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काइएको थियो । शेनझोउ–२३ को प्रक्षेपणसँगै चीनले अब दीर्घकालीन अन्तरिक्ष बसाइ, वैज्ञानिक अनुसन्धान र चन्द्र अभियानतर्फ आफ्नो रणनीतिक तयारीलाई अझ अगाडि बढाएको सङ्केत दिएको छ ।

  • गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

    गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

    पेरिस, ११ जेठ (रासस–एएफपी) । ग्यालापागोस टापु नजिक गहिरो समुद्रमा वैज्ञानिकहरूले दुर्लभ नीलो रङको नयाँ अक्टोपस प्रजाति फेला पारेका छन् । समुद्री सतहबाट करिब एक हजार ८०० मिटर तल भेटिएको यो सानो समुद्री जीवले अनुसन्धानकर्ताहरूलाई केवल आफ्नो असामान्य रङका कारण मात्र नभई, शरीरको बनावट, बासस्थान र व्यवहारका सम्भावित विशेषताका कारण पनि आश्चर्यचकित बनाएको छ ।

    समुद्रको गहिराइमा वैज्ञानिकहरूद्वारा नियन्त्रित पनडुब्बीमार्फत गरिएको अवलोकनका क्रममा यो अक्टोपस पहिलो पटक देखिएको थियो । समुद्रजत्तिकै नीलो देखिने र आकारमा गल्फ बलभन्दा पनि ठूलो नभएको यो जीव देख्नेबित्तिकै एक वैज्ञानिकले उत्साहपूर्वक ‘ऊ सानो छ , यो नीलो छ ,’ भन्दै प्रतिक्रिया दिएको भिडियोमा रेकर्ड भएको थियो ।

    चार्ल्स डार्विन फाउन्डेसनको टोलीले पत्ता लगाएको यस नयाँ प्रजातिबारेको अनुसन्धान सोमबार सार्वजनिक गरिएको हो । अक्टोपससम्बन्धी विज्ञ जेनेट भ्वाइटका अनुसार पहिलो दृश्य हेर्नेबित्तिकै उनलाई यो अत्यन्तै विशेष जीव भएको अनुभूति भएको थियो । अनौठो प्रजातिको पहिचान गर्न आग्रह गरिएपछि उनले यसको अध्ययन सुरु गरेका थिए ।


    सुरुमा शिकागोस्थित फिल्ड म्युजियम अफ नेचुरल हिस्ट्रीका क्युरेटरहरूले उक्त जीवको तस्बिर र विवरणको अध्ययन गरेका थिए । त्यसपछि संरक्षित नमूना हुलाकमार्फत उहाँसम्म पुगेको थियो । नमूना प्राप्त गरेपछि उनी चकित भए । उनका अनुसार त्यो जीव निकै आकर्षक र असाधारण देखिन्थ्यो ।

    यो प्रजातिप्रति उहाँको रुचि तत्काल बढ्नुको एउटा कारण यसको सबैभन्दा नजिकको ज्ञात प्रजाति उरुग्वेको तटमा, दक्षिण अमेरिकाको अर्कै समुद्री क्षेत्रमा बसोबास गर्ने तथ्य पनि थियो । यसले वैज्ञानिकहरूलाई यसको उत्पत्ति, विकास र वितरणबारे थप प्रश्न उठाउन प्रेरित गरेको छ ।

    सामान्यतया नयाँ अक्टोपस प्रजातिको वैज्ञानिक विवरण तयार गर्न यसको शरीरको नमूना काटेर मुख, चुच्चो, दाँत तथा अन्य आन्तरिक संरचनाको परीक्षण गरिन्छ । तर यसपटक अनुसन्धानकर्ताहरूसँग एउटा मात्र नमूना भएकाले त्यसलाई काटेर जोखिम मोल्न उनीहरू इच्छुक थिएनन् ।

    त्यसको विकल्पस्वरूप फिल्ड म्युजियमको टोलीले आधुनिक प्रविधिको सहारा लिएको थियो । सीटी स्क्यान प्रयोग गरी हजारौँ एक्स–रे तस्बिरहरू तयार गरियो र ती सबैलाई संयोजन गरेर अक्टोपसको विस्तृत त्रिआयामिक (३डी) मोडेल बनाइयो । यस प्रक्रियाले बाह्य संरचना बिगार्नुपर्ने आवश्यकता बिना नै यसको भित्री बनावट अध्ययन गर्न सम्भव बनायो ।

    फिल्ड म्युजियमको एक्स–रे प्रयोगशालाकी प्रमुख स्टेफनी स्मिथले कुनै पनि व्यक्तिले पहिले कहिल्यै नदेखेको जीवको भित्री संरचना अवलोकन गर्दै दिन बिताउनु विशेष अनुभव हुने बताएका थिए । वैज्ञानिकहरूले यस नयाँ प्रजातिलाई माइक्रोएलडोन ग्यालापाजेन्सिस नाम दिएका छन् । यो प्रजाति आफ्नो नीलो रङका कारण विशेष रूपमा चिनिएको छ, किनभने प्रकृतिमा यस्तो रङ अपेक्षाकृत दुर्लभ मानिन्छ ।

    अनुसन्धानअनुसार यो अक्टोपस सम्भवतः मेगालेडोनिडे परिवारसँग सम्बन्धित देखिन्छ । यस परिवारका सदस्यहरू प्रायः आकारमा धेरै ठूला हुन्छन् र अन्टार्कटिका आसपासको दक्षिणी महासागरमा पाइन्छन् । तर नयाँ प्रजाति भने सानो आकारको छ र फरक वातावरणमा भेटिएको छ ।

    भ्वाइटका अनुसार यसको शरीरमा देखिने जिद्दी साना हात, प्रत्येक हातमा रहेको केवल एक पङ्क्तिको चुस्ने संरचना र पछाडिको सतहमा रहेको चिल्लो छालाले यसलाई धेरैजसो परिचित अक्टोपसहरूबाट अलग बनाउँछ । छोटा हात र एकल चुस्ने पङ्क्ति भएका अन्य प्रजातिसँग तुलना गर्दा पनि यसको रङ र छालाको बनावटले यसलाई विशिष्ट बनाएको उनले बताए ।


    रङको बनावट पनि रोचक देखिएको छ । यसको माथिल्लो भाग हल्का नीलो देखिन्छ भने तल्लो भाग निकै गाढा बैजनी रङको रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । वैज्ञानिकहरूको अनुमानमा यो रङ संयोजनले जीवलाई गहिरो समुद्रमा सुरक्षा प्रदान गर्न मद्दत गर्छ । भ्वाइटका अनुसार यदि अक्टोपसले प्रकाश उत्सर्जन गर्ने कुनै शिकार समात्यो भने त्यसबाट निस्कने उज्यालोले ठूला शिकारीलाई आकर्षित गर्न सक्छ । यस्तो अवस्थामा अक्टोपसले आफ्नो गाढा रङयुक्त भाग प्रयोग गरेर शिकारमाथि छोप्ने सम्भावना हुन्छ, जसले आफैँलाई शत्रुबाट जोगाउन सहयोग पुर्‍याउँछ ।

    वैज्ञानिकहरूले अझै पर्याप्त अध्ययन हुन नसकेका समुद्री क्षेत्रहरूमा गहिरो समुद्रका नयाँ अक्टोपस प्रजाति भेटिनु पूर्ण रूपमा असामान्य नभएको बताएका छन् । पृथ्वीको विशाल समुद्री भूभागको ठूलो हिस्सा अझै विस्तृत रूपमा अन्वेषण हुन बाँकी रहेको उनीहरूको भनाइ छ । यस सन्दर्भमा भ्वाइटले पृथ्वीको सम्पूर्ण स्थलीय भूभागलाई एकै ठाउँमा जोड्दा पनि प्रशान्त महासागर पूर्ण रूपमा नढाकिने उल्लेख गर्दै समुद्री गहिराइ कति विशाल र अझै अनपेक्षित रहस्यले भरिएको छ भन्ने कुरा औँल्याए ।


    उनले पछिल्लो पटक सन् २०२३ मा कोस्टा रिकाको तट नजिक नयाँ अक्टोपस प्रजाति अवलोकन गरिएको जानकारी पनि दिए । हाल चर्चामा रहेको यो नीलो अक्टोपस भने पहिलो पटक सन् २०१५ मा डार्विन टापु नजिक देखिएको थियो । उक्त टापुको नाम ग्यालापागोस भ्रमणबाट विकासवादको सिद्धान्त निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अङ्ग्रेजी वैज्ञानिक चार्ल्स डार्विनको नाममा राखिएको हो । यस नयाँ प्रजातिसम्बन्धी विस्तृत अनुसन्धान प्रतिष्ठित वैज्ञानिक जर्नल जुटाक्सामा प्रकाशित गरिएको छ ।

  • भारतमा तापलहर (लु) बाट कम्तिमा १६ को मृत्यु

    भारतमा तापलहर (लु) बाट कम्तिमा १६ को मृत्यु

    नयाँदिल्ली, १० जेठ (रासस–एएफपी) । दक्षिणी भारतमा यस गर्मी मौसममा तापलहर (लु) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन् । देशका विभिन्न भागमा फैलिएको तीव्र लुपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ । भारतमा गर्मी असामान्य कुरा नभए पनि वैज्ञानिक अध्ययनहरूले जलवायु परिवर्तनका कारण लुहरू पहिलेभन्दा लामो, बढी आवृत्तियुक्त र बढी तीव्र हुँदै गएको देखाएको छ । एक अर्ब ४० करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली राष्ट्रका विभिन्न सहरमा हालै तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेसँगै जनजीवन प्रभावित बनाएको छ ।

    दक्षिणी राज्य तेलङ्गानामा सबैभन्दा बढी मृत्यु दर्ता भएको छ । त्यहाँका राजस्वमन्त्री पोङ्गुलेटी श्रीनिवास रेड्डीले जनस्वास्थ्य सुरक्षाका लागि राज्यव्यापी सतर्कता अपनाउन आह्वान गरे । उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा गर्मीको तीव्रता अभूतपूर्व स्तरमा पुगेको उल्लेख गर्दै समयमै चेतावनी प्रणाली र सावधानी उपायहरू अपनाउन निर्देशन दिइएको छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीले शरीरमा पानीको कमी (डिहाइड्रेसन) गराउन सक्छ, जसले रगत बाक्लो बनाउने र गम्भीर अवस्थामा अङ्गहरू काम गर्न छोड्ने जोखिम बढाउने गर्छ ।

    तेलङ्गानाको स्थानीय प्रशासनले वृद्ध, बालबालिका र गर्भवतीलाई अत्यावश्यक नभएसम्म दिनको समयमा बाहिर ननिस्कन आग्रह गरेको छ । यसैबीच, भारतीय मौसम विभागले देशका धेरै भागमा सामान्यभन्दा बढी तापक्रम र तीव्र लु जारी रहने चेतावनी दिएको छ । राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा यस हप्ता लगातार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले विद्युत मागलाई रेकर्ड स्तरमा पुर्‍याएको छ ।

    विशेषज्ञहरूका अनुसार दिउँसो मात्र नभई रातको तापक्रम पनि उच्च रहँदा मानिसहरूले पर्याप्त आराम नपाइरहँदा स्वास्थ्य जोखिम अझ बढाएको छ ।
    विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारत हरितगृह ग्यास उत्सर्जन गर्ने देशमध्ये तेस्रो स्थानमा पर्छ र विद्युत् उत्पादनका लागि कोइला उपयोगमा उच्च निर्भरता राख्छ । भारतले सन् २०७० सम्ममा शुद्ध–शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धता जनाएको छ । यो प्रतिबद्धता धेरै औद्योगिक पश्चिमी देशहरूको लक्ष्यभन्दा करिब दुई दशक पछिको हो । यसअघि सन् २०१६ मा राजस्थानको फलोदीमा ५१ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । यसलाई भारतमा हालसम्मको सबैभन्दा उच्च आधिकारिक तापक्रम मानिन्छ ।

  • आजको मौसम : हिमाल–पहाडका केही स्थानमा मध्यम वर्षा र हिमपात, तराईमा तातो हावा

    आजको मौसम : हिमाल–पहाडका केही स्थानमा मध्यम वर्षा र हिमपात, तराईमा तातो हावा

    काठमाडौँ, ११ जेठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

    मधेश प्रदेशलगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल तथा बाँकी तराई भू–भागमा मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ ।

    आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

  • आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

    आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

    काठमाडौँ, १० जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा शनिबार वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

    कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केही स्थानहरूमा, मधेस प्रदेशलगायत बागमती, गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ विभागले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको पनि विभागले जनाएको छ ।