Category: खेलकुद

  • रोबोट र एआईले बदलिदिएको चीनको १५औँ राष्ट्रिय खेलकुद

    रोबोट र एआईले बदलिदिएको चीनको १५औँ राष्ट्रिय खेलकुद

    गुआङझाउ, २ मङ्सिर (रासस–सिन्ह्वा) । चीनको १५औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अहिले अत्याधुनिक प्रविधिको प्रदर्शन हुँदैछ । रोबोटहरूले खेलाडीहरूलाई मेडल प्रदान गर्दै दर्शकहरूको ध्यान तानेका छन् । प्रविधिको शहरका रूपमा चिनिने शेन्जेनमा रोबोटहरूले पोडियमसम्म पदक पु–याउँदा दर्शकहरू उत्साहित हुँदै तस्बिर खिचिरहेका छन् । ९२ किलोग्राम बक्सिङका रजत पदक विजेता मेङ फानलोङ्ग भने, “म निकै आश्चर्यचकित छु । भविष्यमा रोबोटहरू हामीभन्दा धेरै सक्षम हुनेजस्तो लाग्छ ।”

    यसपटकको ‘क्रस–बाउन्डरी’ खेलकुदमा विभिन्न प्रतिस्पर्धाहरूमा रोबोटहरूको व्यापक र प्रभावकारी प्रयोग भइरहेको छ । एथलेटिक्स मैदानमा रोबोटिक कुकुरहरूले जेभेलिन बोकेर कर्मचारीहरूको काम सजिलो बनाइरहेका छन्, जबकि अन्य रोबोटहरू स्थल गस्ती, पावर प्रणाली निरीक्षणको भूमिकासमेत निभाइरहेका छन् ।

    आयोजकका अनुसार प्रतियोगितामा कृत्रिम बुद्धिमत्ता (एआई) र उन्नत सूचना प्रविधिसहित १३० भन्दा बढी हाई–टेक उपकरण प्रयोगमा छन् । उद्योग विशेषज्ञ पान हेलिनका अनुसार, यस्तो ठूलो स्तरको प्रतियोगिताले रोबोटिक्स र स्वचालित सवारीहरूको वास्तविक परीक्षण गर्ने उत्कृष्ट अवसर प्रदान गर्छ ।
    साइकल दौडमा उच्च प्रविधिको योगदान

    हङकङ–झुहाइ–मकाउ पुल हुँदै तीनै क्षेत्र जोड्ने पुरुष रोड साइकल दौडमा प्रविधिले सुरक्षा र व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेलेको छ । लिङडिङयाङ समुद्री क्षेत्रमा चालकविहीन गस्ती र एचडी क्यामेरासहित गस्ती गरिरहेका छन् ।

    दर्शकहरूका लागि समावेशी प्रविधि

    दर्शकहरू अहिले एकै क्लिकमा साङ्केतिक भाषा सुविधा प्रयोग गरिरहेका छन्, जसले खेल हेर्ने अनुभवलाई अझ समावेशी बनाइरहेको छ ।

    उद्योगमा दीर्घकालीन प्रभाव

    विशेषज्ञहरूका अनुसार राष्ट्रिय खेलकुदमा प्रयोग भएका यी प्रविधिहरूले खेल प्रविधि उद्योगमा सकारात्मक र दिगो प्रभाव पारिरहेका छन् ।

    शेन्जेनस्थित एक प्रविधि कम्पनीका प्रमुख ली जीले एआईको विकाससँगै खेल प्रकाश प्रणाली र डिजिटल सामग्रीको संयुक्त प्रदर्शन समाधान झनै लोकप्रिय बन्दै गएको बताउ । पान हेलिनका अनुसार, खेलकुदमा देखाइएको प्रविधिले उद्योग उत्पादनकर्ताहरूलाई व्यावहारिक सन्दर्भ र दिशा प्रदान गर्दै ग्रेटर बे एरियाको डिजिटल तथा बुद्धिमान विकासलाई मजबुत बनाइरहेको छ।

  • एनपीएल क्रिकेट : आज चार टोली प्रतिस्पर्धा गर्दै

    एनपीएल क्रिकेट : आज चार टोली प्रतिस्पर्धा गर्दै

    काठमाडौँ, २ मङ्सिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ ।

    चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् ।यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौँले अङ्कतालिकामा दुई अङ्क पनि जोड्यो ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

  • पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खेलाडी मख्ख

    पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खेलाडी मख्ख

    २ मंसिर, काठमाडौं । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र मैदान बाहिरबाट पनि उल्लेख्य सङ्ख्यामा समर्थकको साथ । नेपाल प्रिमियर लिग ९एनपिएल०को उद्घाटन खेलमा सीमित सिटका कारण कैयौँ दर्शक मैदान बाहिरबाटै समर्थन जनाए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल हेर्ने दर्शक मात्रै होइन खेलाडीले पनि खुसी व्यक्त गरे । उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेपछि काठमाडौँ गोर्खाजका कप्तान करण केसीले यस मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्न पाउँदा निकै खुसी लागेको बताए ।

    “आजको खेलमा छुट्टै अनुभव भयो, पहिलोपटक घरेलु मैदान र दर्शकसामु फ्लडलाइटमा खेल्न पाउँदा भित्रैबाट खुसी लागेको छ”, उनले भने, “फ्लड लाइटमा पहिलो पटक खेल्नु ऐतिहासिक क्षण थियो, त्यसका पनि पहिलो खेलमै जित हाात पार्दा निकै खुसी छौँ ।” पहिलो खेलमा पिचले स्पिनरलाई साथ दिएको उनको भनाइ थियो । स्पिनरकै कारणले खेल आफूहरुले जितेको उनले प्रतिक्रिया दिए । “आगामी दिनमा पनि राम्रो गर्दै जानेछौँ”, उनले भने, “सुरुआत सुखद् छ, नेपाली र विदेशी सबै खेलाडीको प्रदर्शन राम्रो भयो ।” उनले गत संस्करणमा भएका कमीकमजोरी सच्याएर उपाधि जित्ने लक्ष्यका साथ आफूहरुले तयारी गरेको उनले बताए ।

    खेलपछि जनकपुरका बोल्ट्सका कप्तान अनिल साहले पनि पहिलोपटक नेपालमै फ्लड लाइटमा खेल्न पाउँदा सुखी लागेको प्रतिक्रिया दिए । उनले भने, “नेपालको आफ्नै मैदानमा फ्लड लाइटमा खेल्ने सपना थियो, त्यो पूरा भएको छ, यसमा हामी एकदमै खुसी छौँ ।” आफू ब्याटिङमा चुक्दा खेल आफ्नो पक्षमा नपरेको उल्लेख गर्दै साहले ब्याटिङमा लामो साझेदारी बन्दा नसक्दा पराजित हुनुपरेको बताए । उनले भने, “पारीको सुरुआत राम्रो भयो, आसिफले राम्रो ब्याटिङ गरे पनि उनीसँगको साझेदारी अन्य ब्याटरको हुन सकेन, लक्ष्य कम भएकाले दोस्रो पारीमा खेलमा फर्कनसक्ने अवस्था रहेन ।” प्रतियोगिताको पहिलो खेलमा हार बेहोरे पनि आगामी खेलमा राम्रो प्रदर्शन गर्दै अगाडि बढ्ने उनको भनाइ थियो ।

    एनपिएलको पहिलो संस्करण सफल भएपछि सरकारले मैदानमा फ्लड लाइट जडानमा चासो देखाएको थियो । फ्लड लाइटका जडानका लागि सरकारले रु ४२ करोड १९ लाख खर्च गरेको छ । निर्माण कम्पनी विशन–ईश्वरी ज्वाइन्ट भेञ्चरका अनुसार मैदानमा राखिएका छ वटा खम्बामा फ्लडलाइट जडान गरिएको छ । कम्पनीका अनुसार एउटा खम्बामा ७० वटा लाइट गरी कूल ४२० वटा लाइट जडान भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एनपिएलका कूल ३२ खेलमध्ये २३ फ्लड लाइटमा खेलाउने तालिका बनाएको छ । सोमबारदेखि सुरु एनपिएल यही मङ्सिर २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा आठ टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।

  • एनपीएल उद्घाटनमा भीआइपी, प्रधानमन्त्रीबाट शुभारम्भ

    एनपीएल उद्घाटनमा भीआइपी, प्रधानमन्त्रीबाट शुभारम्भ

    काठमाडौँ, १ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गरेकी छिन् । कीर्तिपुरस्थित र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भव्य कार्यक्रमबीच प्रधानमन्त्री कार्कीले उक्त प्रतियोगिताको उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।

    उद्घाटन समारोह त्रिवि मैदानमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । आजको उद्घाटन खेलमा काठमान्डु गोर्खाजले टस जितेर साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध फिल्डिङ रोजेको थियो । खेल काठमाडौंले जितेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म चल्ने छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।

  • एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

    एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

    काठमाडौँ, १ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जनकपुरमाथि पाँच विकेटको जित निकालेको हो । जितको लागि एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो ।

    काठमाडाँैको जितमा बेन चाल्र्सवर्थले ४६ रन बनाए । उनले २३ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाए । यसैगरी आकाश त्रिपाठीले ३९ रन बनाए । मिलिन्द कुमारले १९ रन बनाए भने जोहन सिम्पसनले १३ रन जोडे । बलिङतर्फ जनकपुरका किशोर महतो, अनिल साह, सञ्जय कृष्णमूर्ति र ललित राजवंशीले समान एक÷एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रनको योगफल बनाएको थियो । जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाएका हुन् । यस्तै, मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाए । लाहिरु मिलन्था सात रनमा आउट भए ।

    काठमाडौं गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिए भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक÷एक विकेट लिए । यसअघि भएको पहिलो संस्करणको खेलमा भने जनकपुरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको थियो ।

    आजदेखि सुरु भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले टोलीले रु करोड १० लाख पाउने छ । दोस्रो हुनेले रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो हुनेले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ । मङ्गलबारको पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ । दोस्रो खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच हुनेछ । पहिलो खेल बिहान ११ः४५ बजे हुनेछ भने दोस्रो खेल दिउँसो ४ः०० बजे हुनेछ ।

  • स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल

    स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल

    बिलबाओ (स्पेन), १ मंसिर, (रासस–एपी) । प्यालेस्टिनी फुटबल खेलाडीहरूको चयन गरिएको टोलीले शनिबार बास्क देशका स्पेनी खेलाडीहरूको समूहसँग राजनीतिक सन्दर्भले भरिएको मैत्रीपूर्ण प्रतिस्पर्धा खेलेको छ । यसको पृष्ठभूमि गाजामा इजरायलको सैन्य कारबाहीसँग जोडिएको छ । आयोजकहरूका अनुसार एथलेटिक बिलबाओको घरेलु मैदान सान मेम्स स्टेडियममा आयोजित खेलका लागि करिब ५० हजार दर्शकका लागि टिकट छुट्याइएको थियो । खेल सुरू हुनुअघि नै स्टेडियममा ठूलो भीड जम्मा भइसकेको थियो । धेरै समर्थकले प्यालेस्टिनी झण्डासँगै उत्तरी बास्क देशलाई प्रतिनिधित्व गर्ने झण्डाहरू समेत फहराउँदै ऐक्यबद्धता व्यक्त गरेका थिए ।

    यसअघि हजारौँ मानिसले समेत व्यापक समर्थन प्रदर्शन गर्दै झण्डा बोकी पदयात्रा गरेका थिए । सन् २०२३ अक्टोबरमा हमासद्वारा गरिएको आक्रमणपछि इजरायलको सैन्य प्रतिक्रियाविरुद्ध स्पेनभरि निरन्तर विरोध प्रदर्शनहरू जारी रहेका छन् । यसको प्रभाव यस खेलमा पनि देखिएको हो । सेप्टेम्बर महिनामा स्पेनका विभिन्न स्थानमा इजरायली स्वामित्वको साइक्लिङ टोलीविरुद्ध भएको विरोध अभियानको पहिलो केन्द्र बिलबाओ नै बनेको थियो । बास्क टोलीमा एथलेटिक बिलबाओ र रियल सोसिडाडका पेशेवर खेलाडीहरू सहित अन्य टोलीका खेलाडीहरूको सहभागिता रहेको थियो ।

    यसै समयमा स्पेनका राष्ट्रिय खेलाडीहरू विश्वकप छनोट खेलमा व्यस्त रहेका कारण उनीहरू यस मैत्रीपूर्ण खेलमा उपलब्ध थिएनन् । प्यालेस्टिनी टोलीले यही यात्राका क्रममा आगामी मङ्गलबार बार्सिलोनामा स्पेनको क्याटालोनिया क्षेत्रमा चयन गरिएका खेलाडीहरूको समूहसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ ।

  • नेपालको इतिहासमा पहिलो पटक फ्लडलाइट र प्यारापिटसहितको रंगशालामा ठूलो प्रतियोगिता

    नेपालको इतिहासमा पहिलो पटक फ्लडलाइट र प्यारापिटसहितको रंगशालामा ठूलो प्रतियोगिता

    १ मंसिर, काठमाडौं । नेपालको इतिहामा पहिलो पटक प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रंगशालामा ठूलो क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । नेपाल प्रिमियर लीग क्रिकेटको दोस्रो संस्करण आजबाट कीर्तिपुरमा सुरु हुँदैछ । यो खेलले धेरै अर्थमा कीर्तिमान राख्ने छ । सरकारको लगानीमा काठमाडौं कीर्तिपुरमा प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रंगशालाको पहिलो चरणको काम पूरा भएसँगै आइतबार साँझ विशेष कार्यक्रमका बीच यो रंगशाला हस्तान्तरण गरिएको हो । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्रिकेट रंगशालाको पहिलो चरणमा निर्माण गरिएका प्यारापिट र फ्लड लाइट नेपाल क्रिकेट संघ (क्यान)लाई आइतबार हस्तान्तरण गरेको हो ।

    अहिले रंगशालाको पहिलो चरणका काम पूरा गरी क्यानलाई हस्तान्तरण गरिएको हो । दोस्रो चरणमा थप १० अर्ब लगानीको योजना छ । ३१ असार २०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने निर्णय गरेको थियो । सोही बैठकले रंगशालामा दर्शक बस्ने प्यारापिट, रात्रिकालीन खेलकुदका लागि फ्लड लाइट र अन्य संरचना बनाउने तथा त्यस कामका लागि ३ सय दिनको समयसीमा समेत निर्धारण गरेको थियो । तर, समयसीमा अनुसार काम भने हुन सकेन ।

    त्यसो त चैत २०७९ मै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा कीर्तिपुर मैदानमा फ्लड लाइट जडान प्रक्रिया अगाडि बढाइएको थियो । त्यो कामले समेत गति लिन सकेको थिएन । पछिल्लो पटक फागुन २०८१ मा प्यारापिट निर्माण र फ्लड लाइट जडान गर्न ठेक्का लागेको थियो । २४ वैशाख २०८२ भित्र काम सक्ने गरी सुरुमा सम्झौता भए पनि पुनस् म्याद थप्दै कामलाई तीव्रता दिइएको थियो । यस रंगशालामा ४३ करोड ७७ लाख लागतमा प्यारापिट निर्माण गरिएको छ । जसको क्षमता १० हजार सिट बराबर छ । बीकेओआई केसीडीसी बिजी जेभीले प्यारापिट निर्माण गरेको हो । फ्लड लाइट जडानको काम विशाण–ईश्वरी जेभीले गरेको हो । जसको लागत ४२ करोड १९ लाख रुपैयाँ छ ।

  • बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

    बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

    कीर्तिपुर (काठमाडौँ) । १ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ । यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्

    त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो सम्स्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिट्मै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् भने फ्लड लाइटका कारण खेलहरु अन्य देशका रङ्गशाला सरह रातिसमेत सञ्चालन हुनेछन् । सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई पहिलो एनपिएलको पूर्व सन्ध्यामा आइतबार साझ मात्र चरणका संरचना हस्तान्तरण गरेको थियो ।

    प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरूप रु एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ । एनपिएल दोस्रोका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ । पहिलो दिनको खेलको टिकट दुई दिन अगाडि नै बिक्री भइसकेको छ ।

    उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ रु एक हजार ५०० राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ । प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ रु दुई हजार राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार तय गरेको छ ।

    एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक एनपिएलबाट रु ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य छ ।

  • एनपिएलमा सुरक्षा प्रबन्ध चुस्त–दुरुस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन

    एनपिएलमा सुरक्षा प्रबन्ध चुस्त–दुरुस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन

    काठमाडौँ, ३० कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि सुरु हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिगको (एनपिएल) का बारेमा त्यसको सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे जानकारी लिएका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग आज एनपिएलको सुरक्षा तयारीबारे गृहमन्त्री अर्यालले जानकारी लिएका हुन् ।

    गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा अर्यालले प्रतियोगिता अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए । “पहिलोपटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरुरी भएकाले सोही अनुसार प्रबन्ध मिलाउन हुन निर्देश गर्दछु”, मन्त्री अर्यालले बैठकमा भने ।

  • खेल पर्यटन प्रवर्द्धन गर्न ‘एनपीएल-२’ मा बोर्ड र क्यानबीच समझदारी

    खेल पर्यटन प्रवर्द्धन गर्न ‘एनपीएल-२’ मा बोर्ड र क्यानबीच समझदारी

    ३० कात्तिक, काठमाडौं । नेपालको खेल पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले नेपाल प्रिमियर लिग सिजन-२ प्रवर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ । यो साझेदारी मार्फत एनपीएल–२ लाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्ल्याटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य छ । समझदारी अनुसार बोर्डले एनपीएल–२ को ब्रान्डिङ, प्रचार तथा अन्तर्राष्ट्रिय पहुँच वृद्धिमा सक्रिय भूमिका खेल्ने छ ।

    छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो फ्रेन्चाइज क्रिकेट लिगका रूपमा स्थापिते एनपीएल(२ लाई नेपालमा क्रिकेट प्रशंसक, विदेशी खेलाडी, टिप्पणीकार तथा खेलकुदमा रुचि राख्ने पर्यटक आकर्षित गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा हेरिएको छ । बोर्डका अधिकारीहरूका अनुसार नेपालमा क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरको इभेन्ट आयोजना गर्न सक्ने प्रमुख खेलका रूपमा लिइएको छ ।

    एनपीएल–२ को सफलताले नेपालमा खेलकुद पर्यटन विकासमा क्रिकेटलाई केन्द्रीय आधार बनाउने अपेक्षा छ । एनपीएल–२ को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट गरिने भएको छ । जसले गर्दा विश्वभरिका करोडौं दर्शकसम्म नेपालको क्रिकेट, खेल पर्यटन र नेपालका पर्यटकीय गन्तव्य प्रचारप्रसारमा थप टेवा पुग्‍ने बोर्डको विश्‍वास छ ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले देशभरि बढ्दो खेलकुद गतिविधि विशेषगरी एनपीएल–२ ले खेलकुद पर्यटनको नयाँ आयाम खुला गरेको बताए । ‘एनपीएल–२ नेपाललाई विश्वमञ्चमा स्थापित गर्ने ठूलो अवसर हो,’ जोशीले भने, ‘यो लिगले नेपालको भौगोलिक र प्राकृतिक विविधतालाई अन्तर्राष्ट्रिय दर्शक समक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने हाम्रो विश्‍वास छ ।’

    उनले नेपाल अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूको आकर्षक गन्तव्य बन्दै गएको पनि उल्लेख गरे । त्यसैगरी क्यानका महासचिव पारस खड्काले यस सहकार्यप्रति खुसी व्यक्त गरे । ‘खेलकुद र पर्यटन दुवैलाई सँगै अघि बढाउन पर्यटन बोर्डसँग हातेमालो गर्न पाउँदा हामी उत्साहित छौ,’ उनले भने, ‘पछिल्ला वर्षहरूमा नेपालमा क्रिकेटको उभारले देशलाई विश्वभरि प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ र एनपीएल-२ ले यसलाई अझ उचाइमा पुर्‍याउने छ ।’

    अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति, विश्वस्तरका कमेन्टेटर तथा उच्च गुणस्तरको प्रसारणसहित एनपीएल–२ ले नेपालले विश्वस्तरीय खेलकुद कार्यक्रम आयोजना गर्न सक्ने क्षमता स्पष्ट रूपमा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

    बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस लिगले फ्रेन्चाइज खेलकुद मार्फत नेपालमा पर्यटनका अवसर विस्तार गर्न, विविधता थप्न र नेपाललाई आकर्षक ‘स्पोर्ट्स टुरिज्म डेस्टिनेसन’ का रूपमा स्थापित गर्न मद्दत गर्ने छ । एनपीएल–२ को सफलतामा नेपालले आफ्नो क्रिकेट क्षमता मात्रै होइन, आफ्ना मनमोहक गन्तव्य, साहसिक अनुभव र सांस्कृतिक समृद्धि समेत विश्वसामु प्रस्तुत गर्दै दक्षिण एसियाको उदीयमान खेल पर्यटन हबका रूपमा आफ्नो पहिचान मजबुत बनाउँदै लैजाने लक्ष्य राखेको छ ।

  • त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्लड लाइट क्यानलाई हस्तान्तरण

    त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्लड लाइट क्यानलाई हस्तान्तरण

    कीर्तिपुर (काठमाडौँ), ३० कात्तिकः त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माण गरिएको प्यारापिट र ‘फ्लड लाइट’ नेपाल क्रिकेट सङ्घ (क्यान)लाई हस्तान्तरण गरिएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत् ती संरचना क्यानलाई हस्तान्तरण गरेको हो । सहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले आज साँझ ‘फ्लड लाइट’को ‘स्विच’ थिचेर क्यानलाई हस्तान्तरण गरे ।


    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले त्रिवि क्रिकेट रङ्गशाला नेपालमा चाँडोभन्दा चाँडो सम्पन्न भएको योजना हुन पुगेको बताए । उनले सरकारबाट दोस्रो चरणको स्तरोन्नतिका लागि रु १० अर्बको गुरुयोजना र ठेक्का प्रक्रियाका लागि स्वीकृति दिइसकेको जानकारी दिए । “सबै पूर्वाधार सम्पन्न क्रिकेट मैदान बनाउने सपना पूरा हँुदै छ, नेपाली क्रिकेटको बढ्दो अन्तरराष्ट्रियस्तरअनुरुप सरकारले आवश्यक सबै स्रोतसाधन उपलब्ध गराउने छ,” मन्त्री घिसिङले भने । नेपालमा क्रिकेट एउटा खेल मात्र नभई राष्ट्रिय एकता र आर्थिक समृद्धिको माध्यमसमेत भएको उनको भनाइ थियो ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले त्रिवि रङ्गशालामा नेपाली क्रिकेटप्रेमीको नेपालमा नै अन्तरराष्ट्रिय क्रिकेट हेर्ने सपना पूरा हुने कामको सुरुआत भएको बताए । उनले क्रिकेट सङ्घले तोकेका प्राथमिकताअनुसार क्रिकेट मैदान बनाउन राजनीतिक नेतृत्वसँग आग्रह गरे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले खेलप्रेमी नेपालीको सपना पूरा भएको बताउँदै अब दोस्रो चरणका संरचना निर्माण गर्न उत्तिकै प्राथमिकता दिन सरकारलाई आग्रह गरे । देशका अन्य भागमा पनि एनपिएल जस्ता खेल आयोजना गर्न सक्ने संरचना बनाउनुपर्ने उनको भनाइ थियो ।

    कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले कीर्तिपुरको आँगनमा अन्तरराष्ट्रिय खेल हुनु समग्र कीर्तिपुरवासीकै गौरवको विषय भएको बताए । “कीर्तिपुरको नाम अन्तरराष्ट्रिय स्तरमा प्रख्यात हुने अवसर आएको छ”, उनले भने । कार्यक्रममा निर्माणमा महत्वपूर्ण योगदानकर्तालाई मन्त्री घिसिङले सम्मानित गरे । देशमा नै पहिलोपटक आधुनिक प्यारापिट र ६ वटा फ्लड लाइटसहित पुनर्निर्माण गरिएको त्रिवि क्रिकेट रङ्गशाल एनपिएलको दोस्रो संस्करणको पूर्वसन्ध्यामा सहरी विकास मन्त्रालयले हस्तान्तरण गरेको हो ।

    त्रिभुवन विश्वविद्यालयको आन्तरिक खेल मैदानका रुपमा रहेको मैदान २०५५ सालदेखि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका रुपमा विकास गर्ने काम सुरु भएको हो । देशमा क्रिकेट खेलको मोह बढ्दै गएपछि पूर्ववर्ती केपी शर्मा ओली सरकारले गत २०८१ मङ्सिरमा मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा त्रिवि क्रिकेट रङ्गशालालाई प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रङ्गशालामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

    यसअन्तर्गत पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र रात्रिको समयमा पनि खेल सञ्चालन गर्न सकिने गरी ६ फ्लड लाइट जडान गरिएका हुन् । सरकारले बनाएको गुरुयोजनाअनुसार दोस्रो चरणमा कुल २५ हजार दर्शक अट्ने तथा अन्तरराष्ट्रियस्तरका सबै आधुनिक क्रिकेट सुविधासहितको रङ्गशाला बनाइने छ ।

  • एनपिएलको तयारी पूरा, सोमबारबाट खेल सुरु

    एनपिएलको तयारी पूरा, सोमबारबाट खेल सुरु

    काठमाडौँ, २९ कात्तिकः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरुप रु एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

    त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ ।
    एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । जहाँ यस पटक प्याराफिट र रात्रिकालिन खेल हुन सक्नेगरी लाइट जडान गरिएको छ ।

  • सन् २०२६ को विश्वकप खेल्ने रोनाल्डोको घोषणा

    सन् २०२६ को विश्वकप खेल्ने रोनाल्डोको घोषणा

    रियाद, २६ कात्तिक (रासस\एएफपी) । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरेका ४० वर्षे फरवार्ड रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने बताए । “यो निश्चित हो,” उनले भिडियो लिङ्कमा साउदी फोरमसँग भने, उनलाई सोधिएको प्रश्नमा उनले भनेका छन्, “सन् २०२६ मेरोे विश्वकप खेलका लागि अन्तिम स्पर्धा हुनेछ।”

    “म ४१ वर्षको हुनलागेँ र मलाई लाग्छ यो क्षण अन्तराष्ट्रिय खेलबाट विदा लिन उपयुक्त हुनेछ।” सन् २०२३ मा साउदी अरबको अल नासरमा आकर्षक कार्यकाल सुरु गरेका रोनाल्डोले गत हप्ता आफूले चाँडै नै संन्यास लिने बताए । “सम्भवतः अझै एक वा दुई वर्ष हो म खेलमा हुनेछु,” उनले भने । पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले आगामी वर्ष छैटौँ पटक विश्वकप खेलमा प्रतिस्पर्धा गर्ने लक्ष्य राखेका छन् । सन् २००६ मा पोर्चुगल सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो र यो नै उनको नेतृत्वमा पोचुगलका लागि उपाधिको लागि सबैभन्दा उत्कर्ष अवस्था थियो ।

    पोर्चुगलले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा छनोट हुन सकेको छैन तर बिहीबार आयरल्यान्डलाई पराजित गरेमा पोर्चुगलले आफ्नो स्थान सुरक्षित गर्नेछ । रोनाल्डो २०२२ को अन्त्यमा दोस्रो पटक म्यानचेस्टर युनाइटेड छोडेपछि अल नासरमा सामेल भएका थिए । उनको आगमनले तेलको धनी राष्ट्र साउदी अरबमा पछिल्लो समय विश्वका प्रसिद्ध खेलाडी आगमनका लागि तयार बनेका छन् ।

    आर्थिक विविधीकरण योजनाअन्तर्गत खेलकुद र मनोरञ्जनमा ठूलो रकम खर्च गरिरहेको साउदी अरबलाई गत डिसेम्बरमा सन् २०३४ को विश्वकप आयोजनाको लागि अवसर दिने फुटकलको सबैभन्दा उच्च अन्तर्राष्ट्रिय समिति फिफाले घोषणा गरेको थियो ।

  • महिला क्रिकेट टोली भारत प्रस्थान

    महिला क्रिकेट टोली भारत प्रस्थान

    दोधारा चाँदनी (कञ्चनपुर), २५ कात्तिकः नेपाल महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा यही कात्तिक २७ गतेदेखि मङ्सिर ३ गतेसम्म भारतको देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न उक्त टोली भारत प्रस्थान गरेको हो । महिला टोलीलाई जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरले आज यहाँ एक कार्यक्रमबीच बिदाइ गरेको हो ।

    देहरादुनमा हुने सो प्रतियोगितामा नेपालले भारतको राजस्थान, पश्चिमबङ्गाल र उत्तराखण्डसँग ६ खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष एवं क्यानका केन्द्रिय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार नेपालले पहिलो खेल कात्तिक २७ गते राजस्थानविरुद्ध खेल्नेछ । यस्तै कात्तिक २८ गते उत्तराखण्डसँग, कात्तिक २९ गते पश्चिमबङ्गालसँग, आगामी मङ्सिर १ गते राजस्थानसँग, मङ्सिर २ गते उत्तराखण्डसँग र अन्तिम खेल मङ्सिर ३ गते पश्चिम बङ्गालविरुद्ध खेल्ने छ ।

    “विश्वकप क्रिकेट छनोटको तयारीका लागि महिला टोली भारत गएको हो, यो प्रतियोगिताबाट खेलाडीको क्षमता बढ्ने छ”, उनले भने । टोलीमा कप्तान इन्दु बर्मा, कविता कुँवर, साना परविन, रुबिवना क्षेत्री, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सवनम राई, विन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी र ममता चौधरी रहेका छन् ।

  • एनपिएलको खेल तालिका सार्वजनिक

    एनपिएलको खेल तालिका सार्वजनिक

    काठमाडौं, २४ कात्तिकः नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको तालिका आज सार्वजनिक गरेको छ । आगामी मङ्सिर १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ । आगामी मङ्सिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । उक्त खेल दिउँसो ४ बजे हुने तय भएको छ ।

    प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । दिनमा दुई वटा खेल हुँदा पहिलो खेल दिउँसो ११ः४५ र दोस्रो खेल ३ः३० तथा ४ बजे सुरू हुनेछन् । प्लेअफका तीन खेल भने दिउँसो ४ बजे सुरू हुनेछन् । आगामी मङ्सिर २७ गते हुने फाइनल पनि फ्लडलाइटमा हुने तयारी रहेको क्यानले जनाएको छ । कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइनेछन् ।

  • दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता हुने गरी तय

    दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता हुने गरी तय

    काठमाडौँ, २४ कात्तिकः सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियामावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको छ । साथै गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीबाट ११ जना कर्मचारी थप्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिए ।


    सरकारले यही कात्तिक २६ गतेदेखि २८ गतेसम्म भारतको नयाँदिल्लीमा आयोजना हुने नेपाल–इन्डिया कोअर्डिनेसन बैठकको नवौँ बैठकमा सहभागी हुन सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल संयोजकत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने, भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने समेत बैठकले निर्णय गरेको मन्त्री खरेलले बताए ।

  • हङकङ सिक्सेस क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

    हङकङ सिक्सेस क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

    काठमाडौँ, २१ कात्तिक । हङकङमा आजदेखि सुरु भएको हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा आज भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो । जितका लागि ११३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए । उनले १४ बलमा ८ छक्का र १ चौकाको सहयोगमा ५३ रन जोडे । त्यस्तै राशिद खान र मोहम्मद आदिल आलमले समान ११÷११ रन जोडे । अर्को ओपनर लोकेश बमले १० रन बनाए । रुपेश श्रेष्ठ १ रनमा अविजित रहे ।

    यता अफगानिस्तानका लागि फरमुल्ला र इजाज अहमद अहमदजाइले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको थियो । उसका लागि करिम जनितले सर्वाधिक ३५ रन बनाएका थिए । त्यस्तै फरमनुल्लाह सफी ३० रनमा अविजित रहदा गुल्बादिन नाइबले २२ रन बनाए । नेपालका लागि रसिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । अर्को विकेट लोकेश बमले लिए । भोलि नेपालले समूह चरणको अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्नेछ ।

  • आइसीसी विश्वकप लिग २ मा नेपालको लगातार चौथो हार

    आइसीसी विश्वकप लिग २ मा नेपालको लगातार चौथो हार


    १९ कात्तिक, काठमाडौं । आइसिसी विश्वकप लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भएको छ ।
    नेपालको यो शृङ्खलामा लगातार चौथो हार हो । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा बुधबार भएको खेलमा नेपाल घरेलु टोली युएईसँग पुनस् स्तब्ध बन्यो । यसअघि यस शृङ्खलामा पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रन र दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।

    जितका लागि दुई सय ४० रनको लक्ष्य पछ्याएको युइर्एले ४९।५ ओभरमा ६ विकेटको क्षतिमा दुई सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो । युएईका लागि मुहमद साहदद र मुहमद वासिमले अर्धशतकीय पारी खेले । शतकबाट चुक्नुभएका साहददले एक सय २३ बलमा ६ चौका तीन छक्काको सहयोगमा ९६ रन बनाए । मुहमद वासिमले ७६ रन बनाए । यस्तै सोहिव खानले २९, कप्तान अलिसान सरर्फुले १८ र हर्षित कौशिकले १३ रन जोडेका छन् ।

    बलिङमा नेपालका करण केसीले तीन तथा नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए ।
    यस्तै कुशल मल्लले ४५ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७, ओपर आशिफ शेखले ३४, आरिफ शेखल ३० र सन्दीप लामिछानेले १५ रन बनाए । बलिङमा युएईका ध्रुव परासर, जुनैद सिद्धीकी र मुहमद जवादुल्लाहले दुई दुई तथा जाहिद अलले एक विकेट लिए । नेपाल आज यस शृङ्खलामा सान्त्वना जित निकाल्ने अभियानमा थियो । तर, असफल भएको छ । युएईसँगको हारसँगै २० खेलबाट १२ अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । विजेता युएई समान खेलबाट १० अङ्क जोड्दै अन्तिममा छ । यस्तै २४ खेलबाट ३६ अङ्क बनाएको अमेरिका शीर्षस्थानमा छ ।

    आठ टोली सहभागी लिगमा दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३० अङ्क छ । यस्तै तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २४ खेलबाट २८, चौथो स्थानमा रहेको ओमानको २० खेलबाट २४, पाँचौँ स्थानमा रहेको क्यानडाको २४ खेलबाट २१ र छैटौँ स्थानमा रहेको नामिबियाको २४ खेलबाट १९ अङ्क छ ।

    लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

  • आइसिसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र युएई भिड्दै

    काठमाडौँ, १९ कात्तिक । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सान्त्वना जित हात पार्ने नेपालको लक्ष्य छ । अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छभने युएई एक खेलमा विजयी भएको छ ।

    नेपाली टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशीलगायत छन् ।

  • लिग-२ मा नेपालको कमजोर प्रदर्शन जारी, अमेरिकासँग पुनः हार

    लिग-२ मा नेपालको कमजोर प्रदर्शन जारी, अमेरिकासँग पुनः हार

    १५ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा भइरहेको ओडिआई शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाललाई अमेरिकाले ४ विकेटले हराएको हो । नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । अमेरिकाका लागि साइतेजा मुक्कमल्लाले सर्वाधिक ७५ रन बनाए । त्यस्तै मिलिन्द कुमारले ७० रन बनाए । शयान जहागिरले ३६ रन बनाए ।

    नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ५३ रन दिएर ३ विकेट लिए । नन्दन यादव, करण केसी र गुल्शन झाले १–१ विकेट लिए । त्यसअघि दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतक तथा करण केसीको फिनिसिङ मद्दतमा ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ रन बनाएको थियो ।

    दीपेन्द्रले सर्वाधिक ७५ रन बनाए । करण केसीले अन्त्यतिर आक्रामक फिनिसिङ गर्दै ३१ बलमा ४९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए । अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २-२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १-१ विकेट लिए ।

    जारी शृंखलामा लगातार तेस्रो जित निकालेको अमेरिका लिग २ तालिकाकै शीर्ष स्थानमा यथावत् छ । अमेरिकाको २३ खेलमा ३४ अंक छ । नेपाल १९ खेलमा १२ अंकसहित सातौंमा यथावत् छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको ठूलो हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो ।

  • विश्व क्रिकेट लिग २ मा आज नेपाल र अमेरिका भिड्दै

    विश्व क्रिकेट लिग २ मा आज नेपाल र अमेरिका भिड्दै

    १५ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । जारी शृंखलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको ठूलो हार बेहोरेको थियो ।

    त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो । नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ । अमेरिकाले भने नेपाल र यूएई दुवैलाई हराइसकेको छ र लिग २ मा दबदबा कायमै राखेको छ । लिग २ को तालिकामा हाल अमेरिका २२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १८ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ ।

  • दक्षिण अफ्रिकी क्रिकेट स्टार फाप डु प्लेसिस एनपीएल खेल्न नेपाल आउने, विराटनगरमा आवद्ध

    दक्षिण अफ्रिकी क्रिकेट स्टार फाप डु प्लेसिस एनपीएल खेल्न नेपाल आउने, विराटनगरमा आवद्ध

    १४ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका मध्यक्रमका ब्याटर फाप डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्। उनी अर्को महिनादेखि सुरु हुने एनपिएलका लागि विराटनगर किंग्समा आवद्ध भएका हुन् । ४१ वर्षीय प्लेसिस पछिल्लो समय व्यवसायिक क्रिकेटमा व्यस्त छन् । उनी सन् २०२१ देखि भने राष्ट्रिय टोलीमा छैनन् । पछिल्लो पटक उनले अमेरिकाको फ्रेञ्चाइज लिग खेलेका थिए।

    आइपिएल टोली दिल्ली क्यापिटल्स, चेन्नई सुपरकिंग्स, राइजिङ पुने सुपर जायन्ट र रोयल च्यालेन्जर्स बेंगलुरु गरी चार टोलीबाट उनले १५४ वटा आइपिएल खेल खेलेका छन्। आइपिएलमा उनले ४७ सय रन बनाउँदा ३९ पटक अर्धशतक पूरा गरेका छन्। उनले चेन्नईबाट सन् २०१८ र २०२१ मा उपाधि समेत जितेका छन्। अस्ट्रेलिया, पाकिस्तान र वेस्ट इन्डिजको फ्रेञ्चाइज क्रिकेट लिग समेत खेलेका प्लेसिसले राष्ट्रिय टोलीबाट ६९ टेस्ट, १४३ एकदिवसीय र ५० टी२० खेल खेलेका छन्। दक्षिण अफ्रिकाको कप्तानको भूमिका समेत निर्वाह गरेका उनले टेस्टमा १०, एकदिवसीयमा १२ र टी–२० मा १ शतक प्रहार गरेका छन्।

    यसअघि विराटनगरले ‍स्टकल्यान्डको ओपनर ब्याटर जर्ज मुन्से र अस्ट्रेलियाका अलराउण्डर साम हिजलेटलाई अनुबन्ध गरेको थियो। आगामी मंसिर १ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएलका लागि विराटनगरको टोलीमा मार्की खेलाडी सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना छन्। उनी दोस्रो सिजनमा आवद्ध अहिलेसम्मकै ठूला खेलाडी हुन्
    ।

  • कप्तान रोहितको सानदार ब्याटिङका बावजुत हार्यो नेपाल

    कप्तान रोहितको सानदार ब्याटिङका बावजुत हार्यो नेपाल

    १३ कात्तिक, काठमाडौं । दुबईमा जारी आइसिसी विश्वकप लिग–२ शृङ्खलाको दोस्रो खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग पाँच विकेटले हारेको छ ।
    जारी श्रृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको थियो । दुबई एकेडेमी मैदानमा जितका लागि दुई सय ३४ रनको लक्ष्य पछ्याएको युएईले ४३.३ ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ३७ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

    युएईका लागि आर्याम्स शर्माले सर्वाधिक ९८ रन बनाए । उनले ९८ बलमा १० चौका र तीन छक्का प्रहार गरे । ओपनर आलिसान सरफुले ४५, मुहमद वासिमले २६, अर्षित कौशिकले १३, ध्रुव परासरले अविजित १६ र जाहिद अलीले अविजित ११ रन बनाए । कप्तान राहुल चोप्रा १५ रनमा रिटायर्ड हट भए ।


    बलिङमा नेपालका सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रसिंह एरीले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३३ रन बनाएको थियो ।

    नेपालका लागि कप्तान रोहितकुमार पौडेलले पाँच चौका र दुई छक्काको मद्दतमा १०९ रन बनाए । एकदिवसीयमा कप्तान पौडेलको यो दोस्रो शतक हो । यसअघि उनले पपुवा न्युगिनीविरुद्ध शतक प्रहार गरेका थिए । ओपनर आशिफ शेखले ३५, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरीले २३, करण केसीले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न जोड्न सकेनन् ।


    नेपाललाई सस्तैमा रोक्न यूएईका लागि जाहिद अलीले चार र जुनैद सिद्दिकीले तीन विकेट हात पार्दा मोहम्मद रोहिद र हैदर अलीले एकएक विकेट हात पारे । यस जितसँगै १८ खेलबाट आठ अङ्क बनाएको युएई अन्तिममै छ । समान खेलबाट १२ अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । नेपालले युएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ । आठ टोली सहभागी लिगमा हाल अमेरिका २२ खेलबाट ३२ अङ्क जोड्दै शीर्षस्थानमा छ ।

    दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३० अङ्क छ । यस्तै तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २४ खेलबाट २८, चौथो स्थानमा रहेको ओमानको २० खेलबाट २४, पाँचौँ स्थानमा रहेको क्यानडाको २४ खेलबाट २१ र छैटौँ स्थानमा रहेको नामिबियाको २४ खेलबाट १९ अङ्क छ । लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

  • जितको दवावमा रहेको नेपालले लिग २ मा यूएईको सामना गर्दै

    जितको दवावमा रहेको नेपालले लिग २ मा यूएईको सामना गर्दै

    १३ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ । जारी शृंखलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए । नेपालले १०६ रनको लज्जास्पद हार बेहोरेको थियो भने यूएई ४ विकेटले पराजित भएको थियो । दुवै टोली शृंखलामा पहिलो जितको खोजीमा हुनेछन् ।

    यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ । लिग २ को तालिकामा हाल अमेरिका २२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा छ । स्कटल्याण्ड ३० अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै १७ खेलमा १२ अंक जोडेर नेपाल सातौं स्थानमा छ भने १७ खेलमा ६ अंकसहित यूएई पुछारमा छ ।

  • महिला फुटबल : अन्जना चम्किएको खेलमा नेपालले भारतलाई पेनाल्टीमा हरायो

    महिला फुटबल : अन्जना चम्किएको खेलमा नेपालले भारतलाई पेनाल्टीमा हरायो

    १२ कात्तिक, काठमाडौं । मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा पराजित गरेको छ । सिक्किमको पाल्जोर स्टेडियममा बुधबार भएको अनअफिसियल मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३–० ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । जहाँ अन्जना राना मगर नायक बन्दै दुई पेनाल्टी बचाइन् ।

    पेनाल्टीसुटआउटमा नेपालका लागि सविता राना मगर, रश्मि कुमारी घिसिङ र निशा थोकरले गोल गरे । अनिता बस्नेतको प्रहार बाहिरिएको थियो । यस्तै भारतको दुई प्रहार नेपाली गोलकिपर अन्जना राना मगरले बचाइन् । उनले प्रियदर्शनी र अस्ताम ओरामको प्रहार बचाइन् भने सन्तोषको प्रहार बाहिरिएको थियो ।

    त्यसअघि निर्धारित समयमा भारतले पहिले अग्रता लिएको थियो । सौम्य गोगुलोथले ३०औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । नेपालका डिफेण्डर निशा थोकरको गल्तीमा सौम्यले गोल गरेकी हुन् । तर त्यो अग्रता लामो समय भने टिकेन । नेपालका लागि रश्मि कुमारी घिसिङले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल फर्काइन् । कप्तान अनिता बस्नेतको कर्नरमा पेनाल्टी बक्समा रहेकी रश्मिले गोल गरेकी हुन् ।

    सिक्किम राज्यको ५०औं स्थापना दिवसको अवसर पारेर नेपाल र भारतको महिला टिमबीच खेल आयोजना गरिएको हो । जहाँ नेपालले दोस्रो रोजाईँका खेलाडीहरुलाई अवसर दिइएको थियो । यस्तै भारतले पनि रिजर्भ टिम र युवा खेलाडीहरुलाई खेलाएको थियो । शिलोङमा भएको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाल र भारतको टोली सिक्किम पुगेको थियो । ट्राईनेसन्स मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई २१ ले पराजित गरेको थियो ।

  • महिला फुटबल : भारतविरुद्ध नेपालको सानदार जित

    महिला फुटबल : भारतविरुद्ध नेपालको सानदार जित

    १० कात्तिक, काठमाडौं । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतमाथि सानदार जित निकालेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २–१ ले हरायो । सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई अग्रता दिलाइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् ।

    सावित्राले नै ६२औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । घरेलु टोली भारतले ८१औं मिनेटमा गोल फर्कायो । भारतका लागि करिष्मा श्रीरभोइकारले गोल गरिन् । ट्राईनेसन्स कपमा इरानले भारत र नेपाललाई हराएर यसअघि नै उपाधि जितिसकेको छ । भारत विरुद्ध जितमा फेरि एकपटक सावित्रा नै नायक रहिन् । उनले भारत विरुद्ध अहिलेसम्म १० गोल गरिसकेकी छिन् । समग्रमा भने सावित्राले नेपालका लागि ६८ गोल पुर्‍याएकी छिन् । पहिलो खेलमा नेपाल इरानसँग ३–० ले हारेको थियो । त्यसअघि भारत इरानसँग २–० ले हारेको हो ।

  • अमेरिकासँग नेपालको लज्जाष्पद हार

    अमेरिकासँग नेपालको लज्जाष्पद हार

    ९ कात्तिक, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार जितका लागि दुई सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए । यस्तै आशिफ शेखले ३७, भिम सार्कीले २० र सोमपाल कामीले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    बलिङमा अमेरिकाका हर्मित सिंह एक्लैले ६ विकेट लिए । शुभम् रन्जनेले दुई तथा रसिल उर्गकरले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेल र मिलन्दु कुमारले शानदार अर्धशतक बनाए । पट्टेलले सय बलको सामना गर्दा नौ चौकाको मद्दतमा ७५ रन बनाएर अमेरिकी इनिङ् उकासे । मिलन्दुले ५० बलको सामना गर्दा नटआउट ७० रन बनाए ।


    सुरुको १० ओभर कसिलो बलिङ गरेको नेपालले त्यसपछि अमेरिकालाई रन दिएको हो । बलिङमा नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी एकएक विकेट हात पारे । त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र युएई छन् । जारी लिगमा नेपाल चार शृङ्खलामा १७ खेल खेलेर १२ अङ्कका साथ सातौँ स्थानमा छ । अमेरिका २१ खेलमा ३० अङ्कका साथ रन रेटका आधारमा शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३० अङ्क छ ।

    लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा कूल ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

  • विश्वकप लिग २ क्रिकेटको १५ औं शृंखला आजबाट सुरु, नेपाल र अमेरिका भिड्दै

    विश्वकप लिग २ क्रिकेटको १५ औं शृंखला आजबाट सुरु, नेपाल र अमेरिका भिड्दै

    ९ कात्तिक, काठमाडौं । नेपाल र अमेरिकाबीच विश्वकप लिग २ क्रिकेटको १५ औं शृंखला अन्तर्गत आज पहिलो भिडन्त हुँदैछ । खेल यूएईको दुबईमा आयोजना भएको छ । यस श्रृङ्खलामा नेपाल र अमेरिकासहित घरेलु टोली यूएईले प्रतिस्पर्धा गर्दैैछ । दुबई क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा हुने पहिलो दिनको खेलमा नेपाल र अमेरिका आमने सामने हुँदैछन् । नेपालले ओमानमा गएर ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिक छनोट जित्दै तेस्रो पटक विश्वकपमा पुगेलगत्तै दुबई पुगेको हो । आईसीसीले गत महिना अमेरिकाको क्रिकेटलाई निलम्बन गरेको थियो ।

    आईसीसीले पटकपटक सुधारका लागि चेतावनी दिँदा पनि अमेरिकी क्रिकेट बोर्डले त्यसको सुनुवाइ नगरेपछि निलम्बन गरेको थियो । तर टोलीले भने प्रतियोगिता खेल्न पाउनेछ । त्यसयता अमेरिकाले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । अमेरिका २० खेलमा २८ अंक लिएर लिग २ को अंक तालिकामा दोस्रो स्थानमा छ । स्कटल्यान्ड २४ खेलमा ३० अंक जोडि शीर्ष स्थानमा छ । नेपाल १६ खेल खेली १२ अंकसहित सातौं स्थानमा छ । यूएई १३ खेलमा ६ अंक जोडी पुछारमा रहेको छ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेबाट सुरु हुनेछ ।

  • मैत्रीपुर्ण फुटबल : इरान सङ्ग हार्यो नेपाल

    मैत्रीपुर्ण फुटबल : इरान सङ्ग हार्यो नेपाल


    ७ कात्तिक, काठमाडौं । मैत्रीपुर्ण फुटबलमा महिला राष्ट्रिय टोलि इरान सङ्ग पराजित भएको छ । भारतको सिलोङमा इरानसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको हो । इरानले नेपाललाई ३-० ले पराजित गरेको छ। नेपाली अब दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भारतसँग अक्टोबर २७ मा खेल्नेछ। पहिलो हाफ गोल रहित थियोे । दोस्रो हाफमा इरान आक्रामक खेलेको हो ।

  • लक्ष्मी पूजाकै दिन टियू मैदानमा फ्लडलाइट परीक्षण, यस्तो देखियो माहोल (फोटो फिचर)

    लक्ष्मी पूजाकै दिन टियू मैदानमा फ्लडलाइट परीक्षण, यस्तो देखियो माहोल (फोटो फिचर)

    ३ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज फ्लडलाइटको परीक्षण गरिएको छ । लक्ष्मी पूजाका दिन गरिएको यो परीक्षणका दौरान क्रिकेट मैदान मनमोहक देखिएको छ । अब यो विमानस्थलमा रातको समयमा समेत क्रिकेट खेल्न सम्भव हुने भएको छ ।

    यस्तो छ आजको दृष्य