Category: खेलकुद

  • कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

    कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

    काठमाडौं, २ कात्तिक, त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ । फ्लडलाइटको निर्माणव्यवसायीले आइतबार एक दिनमै दुईवटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०÷३० टनका हाइमास्ट लाइट जडान गरिएको हो ।

    पोल नं १, ४, ५ र ६मा फ्लडलाइट आंशिक रुपमा जडान भइसकेको छ । पोल ठड्याइसकिएकाले दुईवटामा अब लाइट राख्ने काम सुरु हुने आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले गत २३ असोजमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको अनुगमन गरेका थिए ।

    दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै प्यारापेट र फ्लडलाइट जडान सक्ने प्रतिबद्धता जनाएका थिए । परापेटको निर्माण व्यवसायीले काम सम्पन्न गरिसकेको छ । एनपिएल आगामी १ मङ्सिरबाट सुरु हुँदैछ ।
    सरकारले गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गर्दै रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माण सुरु गर्ने निर्णय गरिसकेको छ ।

    मन्त्रिपरिषद्को ३० असोजको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्दै दोस्रो चरणको निर्माण अगाडि बढाउने निर्णय गरेको थियो ।

  • एनपिएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

    एनपिएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

    महेन्द्रनगर (धनुषा), १ कात्तिकः जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको आज पूजापाठ गरी नगर परिक्रमा गराइएको छ । सात वटै प्रदेशमा ट्रफी परिक्रमा गराउने कार्यक्रमअन्तर्गत मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरिएको हो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि आयोजकले जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मञ्चमा राखेर उक्त कपको प्रदर्शन गर्नुका साथै नगरका विभिन्न भागमा परिक्रमा गराइएको हो ।

    जानकी मन्दिरबाट सुरु भएको नगर परिक्रमा राम मन्दिर–मुरलीचौक–जिरो माइल–रामानन्द चौक–पिडारी चौक–मिल्स एरिया–भानु चौक–कदम चौक–मुरलीचौक जिरोमाइल हुँदै बसपार्कमा पुगेर सम्पन्न भएको आयोजकले जनाएको छ । नेपाल प्रिमियर लिगको पहिलो शृङ्खला जनकपुर बोल्ट्सले जितेको थियो ।

  • पाकिस्तानी हमलामा मारिए ३ अफगान क्रिकेटर

    पाकिस्तानी हमलामा मारिए ३ अफगान क्रिकेटर

    १ कात्तिक, काठमाडौं । अफगानिस्तानको पक्तिका प्रान्तमा पाकिस्तानले गरेको हवाई हमलामा परी तीन क्लब क्रिकेटर सहित आठ जना नागरिकको मृत्यु भएको छ । यस घटनाको पुष्टि गर्दै अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले विरोधस्वरूप नोभेम्बरमा पाकिस्तानमा हुने त्रिकोणीय टी–२० शृंखलाबाट बाहिरिने निर्णय गरेको छ। एसीबीले शुक्रबार साँझ पाकिस्तानबाट भएको यस हमलाको कडा शब्दमा निन्दा गरेको छ। पाकिस्तानको तर्फबाट भएको हमलामा क्लब स्तरका तीन क्रिकेटरहरू कबीर, सिब्घतुल्लाह र हारून सहित पाँच अन्य नागरिकहरूको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

    एसीबीका अनुसार, मृत्यु भएका तीनै जना खेलाडीहरू पक्तिका प्रान्तको राजधानी शरानामा एउटा मैत्रीपूर्ण क्रिकेट म्याच खेलेर फर्किंदै गर्दा उनीहरूमाथि हमला भएको थियो। खेलाडीहरूको सम्मान र यस दुखद घटनाको प्रतिक्रियास्वरूप एसीबीले आगामी नोभेम्बरको अन्त्यमा पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच हुने त्रिकोणीय टी–२० शृंखलाबाट पछि हटेको घोषणा गरेको छ। प्रस्तावित टी–२० शृंखला नोभेम्बर १७ देखि २९ तारिखसम्म लाहोर र रावलपिण्डीमा हुने तय भएको थियो। अफगानिस्तानले पाकिस्तानी भूमिमा पाकिस्तानसँग क्रिकेट खेल्न लागेको यो पहिलो पटक हुनेवाला थियो ।

    यस संवेदनशील घटना र एसीबीको निर्णयबारे पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। अफगान मिडिया टोलो न्यूजका अनुसार, हमलामा अर्गुन र बर्मल जिल्लाका धेरै घरहरू निशाना बनेका छन्। यो क्षेत्र दुई देशको सीमा डुरन्ड रेखा नजिक पर्छ। संयुक्त राष्ट्रसंघका अनुसार यस हप्ता पाकिस्तानी हमलामा अफगानिस्तानका ६ प्रान्तमा ३७ नागरिक मारिएका र ४२५ जना घाइते भएका छन्।

    अफगानिस्तानको तालिवान सरकारले पाकिस्तानमाथि नागरिक क्षेत्रलाई निशाना बनाएको आरोप लगाएको छ, जबकि पाकिस्तानले आफूले आतंकवादीहरूका अखडाहरूमा कारबाही गरेको दाबी गर्दै आएको छ। दुई देश ८ अक्टोबरमा सुरु भएको संघर्षपछि ४८ घण्टाको युद्धविराममा सहमत भएका थिए, तर यो हवाई हमला युद्धविराम सहमति जनाइएकै अवधिमा भएको बुझिएको छ।

    यस घटनापछि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले तालिवानको निर्णय ‘दिल्लीबाट भइरहेको’ भन्दै भारतमाथि ‘प्रोक्सी वार’ लडेको आरोप लगाएका छन्। उनले युद्धविराम टिक्नेमा शंका व्यक्त गर्दै पाकिस्तानलाई उक्साएमा सैन्य कारबाही गर्ने चेतावनी पनि दिएका छन्। यस घटनाले दुई देशबीच लामो समयदेखि जारी सीमा विवाद र राजनीतिक तनावलाई थप चर्काएको छ।

  • कीर्तिपुरमा १० अर्ब लगानीमा यस्तो बन्ने भयो क्रिकेट मैदान

    कीर्तिपुरमा १० अर्ब लगानीमा यस्तो बन्ने भयो क्रिकेट मैदान

    ३१ असोज, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा निर्माणाधीन कीर्तिपुर क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलमैदानका रूपमा विकास गर्न गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गरेको हो । गुरुयोजना अनुसार रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रूपियाँ लाग्ने अनुमान गरिएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान भएकाले यसको आधुनिकीकरण र विस्तारले देशको खेलकुद, पर्यटन र अन्तर्राष्ट्रिय पहिचानमा उल्लेखनीय योगदान पुर्‍याउने बताए । “रङ्गशालाको विकास नेपालका लागि रणनीतिक दृष्टिले महत्वपूर्ण छ । अन्तर्राष्ट्रिय खेल खेलाउन सुविधा सम्पन्न रङ्गशाला आवश्यक भएकाले गुरुयोजना अनुसार स्रोत सुनिश्चित गरी निर्माण अघि बढाउने निर्णय गरिएको हो,” मन्त्री घिसिङले भने ।


    उनका अनुसार मन्त्रिपरिषद्ले गुरुयोजना बमोजिम जग्गा सम्बन्धी सम्झौता गर्न, वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) लाई अन्तिम रूप दिन र दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया सुरु गर्न स्वीकृति प्रदान गरेको छ । केही दिनअघि मन्त्री घिसिङ स्वयं कीर्तिपुरस्थित रङ्गशालाको निर्माणस्थल पुगेका थिए । स्थलगत निरीक्षणपछि उनले निर्माण कार्यलाई गुरुयोजना अनुसार राष्ट्रिय प्राथमिकतामा राखी बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए ।


    त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट सङ्घ (क्यान)बीचको कीर्तिपुर क्रिकेट मैदान प्रयोगसम्बन्धी जग्गा करार सम्झौताको म्याद २०८३ वैशाखमा सकिँदैछ ।
    यस सन्दर्भमा मन्त्रिपरिषद्ले त्रिवि र युवा तथा खेलकुद मन्त्रालयरराष्ट्रिय खेलकुद परिषद्बीच आवश्यक सम्झौता गर्न निर्देशन दिएको छ, जसअनुसार रङ्गशालाको जग्गा दीर्घकालीन रूपमा खेल प्रयोजनका लागि सुरक्षित हुनेछ । हाल रङ्गशालाको पहिलो चरणअन्तर्गतका संरचना निर्माणाधीन छन् । मन्त्रालयका अनुसार आगामी १ मङ्सिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) अगावै रङ्गशालाको निर्माण कार्य सक्ने लक्ष्यका साथ काम तीव्रगतिमा भइरहेको छ ।

  • नेपालले जित्यो आईसीसी टी–२० विश्वकप एसिया  छनोट उपाधि

    नेपालले जित्यो आईसीसी टी–२० विश्वकप एसिया छनोट उपाधि

    ३१ असोज, काठमाडौं । नेपालले अपराजित रहेर आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो । नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनायो । सिन सोलियाले सर्वाधिक ४० रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १–१ विकेट लिए ।


    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए । दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रन बनाए । लोकेश बमले ११ बलमा ३९ रन बनाएर फिनिसिङ गरे । रोहित पौडेल २१ रनमा अविजित रहे । कुशल भुर्तेलले १७ रन बनाए । सामोआका लागि डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले १–१ विकेट लिए । नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा कुनै उपाधि जितेको हो । यसअघि सन् २०२३ मा विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।

    पछिल्लोपटक नेपालले सन् २०१४ मा आईसीसी डिभिजन चारको उपाधि जितेको थियो । त्यसअघि सन् २०१० मा डिभिजन ४ को उपाधि जितेको थियो । २०१४ यता आईसीसीको आयोजनामा हुने छनोटलगायतका प्रतियोगिता नेपालले जित्न सकेको थिएन । नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । कुवेत समूह चरणबाट अघि नबढेकाले जापानसँगको जितको २ अंक बोकेर सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्सको पहिलो खेलमै यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो ।

    त्यसपछि दोस्रो खेलमा कतारविरुद्ध ५ रनको जित निकालेपछि नेपाल विश्वकपमा छनोट हुने लगभग पक्का भइसकेको थियो । त्यसपछिको खेलमा अनुकुल नतिजा आएपछि नेपाल २ खेल खेल्नुअगावै विश्वकपमा छनोट भएको थियो । तेस्रो खेलमा ओमानमाथि भने नेपालले ३८ रनको जित निकाल्यो र उपाधिकै नजिक पुगेको थियो । छनोटबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपको टिकट काटिसकेका छन् ।

  • मलेसियाविरुद्धको हार उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन

    मलेसियाविरुद्धको हार उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन

    काठमाडौँ, ३१ असोजः एसियन कप छनोटका क्रममा मलेसियासँग हार व्यहोरेको नेपालले सो नतिजा उल्ट्याउन औपचारिक निवेदन दिएको छ । साउदी अरेबियामा सन् २०२७ मा हुने एसिएन कप छनोट प्रक्रियाअन्तर्गत ‘२–०’ले नेपाल पराजित भएको थियो । सो छनोट प्रतियोगितमा भाग लिने मलेसियन खेलाडी प्रतिबन्धित भएसँगै विश्व फुटवल नियामक संस्था ‘फिफा’समक्ष नेपालले निवेदन दिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले राससलाई जानकारी दिए ।


    गत महिना ‘फिफा’ले मलेसियाको राष्ट्रिय फुटवल टोलीमा सङ्लग्न सात जना विदेशी खेलाडीलाई एक वर्षका लागि प्रतिबन्ध लगाउँदै फुटबल सङ्घ (एफएएम)लाई चार लाख ४० हजार अमेरिकी डलर जरिवाना गरेको अन्तरराष्ट्रिय समाचार एजेन्सी ‘एएफपी’ले जनाएको छ । यसरी प्रतिबन्धित खेलाडीमध्येका एक ‘हेक्टर हेभल’ले मलेसियाको ‘जोहोर’मा सम्पन्न छनोट खेलमा नेपालका विरुद्ध पहिलो गोल गरेका थिए ।

    “हामीले उक्त खेलमा अयोग्य खेलाडी खेलेको विषयमा ‘फिफा’सँग सम्पर्क गरिसकेका छौँ । त्यसैले नतिजा उल्ट्याउनुपर्छ भन्ने हाम्रो माग हो, सोहीबमोजिम निवदेन दिएका हौँ ।” एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने । मलेसियाका तर्फबाट खेलेका ती सात खेलाडीले आफ्ना मलेसियाली पुर्खाको दाबी गर्न नक्कली कागजात प्रयोग गरेको फिफाको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । फिफाका अनुसार तिनीहरूमध्ये कसैको पनि आमाबाबु वा हजुरबुबा मलेसियामा नजन्मेको ‘एएफपी’ले जनाएको छ ।

    यसैबीच मलेसियाको फुटवल सङ्घले सो सम्बन्धमा जानाजानी कुनै पनि गलत काम नगरेको स्पष्ट गर्दै खेलाडीहरूको योग्यतासम्बन्धी निर्णय ‘कानुनी प्रक्रियाअनुसार’ नै भएको भन्ने दावी गरेको छ । प्रतिबन्धित ती सात खेलाडी गत जुनमा भियतनामविरुद्ध भएको खेलमा पनि सहभागी भएको र उक्त एसिएन कप छनोट खेलमा मलेसियाले ४–० को विजय हासिलसमेत गरेको एएफपीले जनाएको छ ।


    हालसम्म चार खेल खेलिसकेको नेपाल कुनै पनि अङ्क प्राप्त गर्न नसकेर समूह ‘एफ’को अन्तिम स्थानमा रहेको छ । मलेसिया १२ अङ्कका साथ शीर्ष स्थानमा छ भने भियतनाम नौ अङ्कसहित दोस्रो र लाओस तीन अङ्क प्राप्त गरी तेस्रो स्थानमा रहन सफल भएको छ ।

  • विश्वकपमा स्थान बनाइसकेका दुई टोलीको भिडन्त, नेपाल विजयी

    विश्वकपमा स्थान बनाइसकेका दुई टोलीको भिडन्त, नेपाल विजयी

    काठमाडौँ, ३० असोज । आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुई\दुई विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए ।

    त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले दुई छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए ।

    ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान दुईरदुई विकेट लिए । यसअघि नै टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपाल आठ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क छ । अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ ।

  • क्रिकेटः नेपाल टी–२० विश्वकपमा छनोट

    क्रिकेटः नेपाल टी–२० विश्वकपमा छनोट

    काठमाडौँ, २९ असोजः नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो । जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न सफल भएको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।

    गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अङ्कको आवश्यक पर्दथ्यो । तर खेल युएईले जित निकालेसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो । साथै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको छ । आजै सम्पन्न अर्को खेलमा कतारले जापानलाई तीन विकेटले हराएसँगै ओमान पनि विश्वकपमा पुगेको हो । नेपाल र ओमानले हाल तीन खेलबाट ६ अङ्क जोडेका छन् । युएईको चार अङ्क रहँदा जापान र कतारको समान दुई अङ्क छ । अब अन्तिम खेलमा युएईले जापानको सामना गर्दैछ । उक्त खेलपछि विश्वकपमा पुग्ने तेस्रो टोलीको टुङ्गो लगाउने छ । आजै हुने सुपर सिक्सको आफ्नो तेस्रो खेलमा नेपाल ओमानसँग खेलिरहेको छ ।

  • विश्वकप छनोटः नेपालद्वारा कतार पराजित

    विश्वकप छनोटः नेपालद्वारा कतार पराजित

    काठमाडौँ, २८ असोजः ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ१ मा आज भएको खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै सुपर सिक्समा लगातार दोस्रो जित दर्ता गराएको हो । आइतबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो ।

    नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ दशमलव पाँच ओभरमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा सर्वाधिक ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानले पाँच विकेट लिए । त्यस्तै नन्दन यादवले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए भने गुल्शन झाले १६ रन जोडे । यता कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान तीन÷तीन विकेट लिए भने मुहम्मद असिमले १ विकेट लिए । नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो ।

  • आईसीसी टी-२० विश्वकप छनोट : यूएईमाथि नेपालको रोमाञ्चक जित

    आईसीसी टी-२० विश्वकप छनोट : यूएईमाथि नेपालको रोमाञ्चक जित

    २६ असोज, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेले । उनले ५८ रन बनाए ।

    ध्रुव पराशरले ३८ रन बनाए । अन्तिम ओभरमा १० रन आवश्यक हुँदा बलिङमा आएका दीपेन्द्रलाई पराशरले एक छक्का प्रहार गरेपनि लगत्तै दीपेन्द्रले उनलाई क्याचआउट गराए । त्यसपछि २ बलमा ३ रन आवश्यक हुँदा अर्को रनआउट भयो साथै शर्ट रनका कारण यूएईले कुनैपनि रन जोड्न सकेन । १ बलमा ३ रन चाहिँदा यूएईले १ रन मात्र जोड्न सक्यो ।

    नेपालका लागि दीपेन्द्रले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए ।

    गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए । सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको भएपनि त्यसपछि रनगति सुस्त हुँदा नेपालले स्कोरलाई डबल पनि गर्न सकेन । यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १–१ विकेट लिए । जितसँगै नेपालले विश्वकप छनोटमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ ।

  • नेपालले कुवेतलाई हरायो

    नेपालले कुवेतलाई हरायो

    काठमाडौँ, २३ असोजः आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछाएको कुवेत १८ दशमलव एक ओभरमा सबै ‘विकेट’ गुमाउँदै ८३ रनमा समेटियो ।

    कुवेतका लागि ‘ओपनर’ क्लिन्टो आन्टोले २६ तथा यासिन पटेलले १९ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रोहित पौडेलले समान दुई –दुई विकेट लिए भने कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले समान एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाए । यस्तै, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०÷२० रन बनाए भने कप्तान रोहित पौडेलले १६ बनाए ।

    कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई–दुई विकेट लिए । मोहम्मद आकिफ फरुकले एक विकेट लिए । अब नेपालले समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ ।

  • मलेसियाविरुद्धको अन्तरराष्ट्रिय शृङ्खला नेपालले जित्यो

    मलेसियाविरुद्धको अन्तरराष्ट्रिय शृङ्खला नेपालले जित्यो

    काठमाडौँ, २२ असोजः मलेसियाविरुद्धको महिला टि–ट्वान्टी अन्तराष्ट्रिय शृङ्खला नेपालले जितको छ । मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा आज सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेसँगै नेपालले पाँच खेलको उक्त शङ्खला जितेको हो । यस जितसँगै नेपालले पाँच खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

    यसअघिको खेलमा मलेसिया तीन र १३ रनले विजयी हुँदा यता नेपालले दुवै खेलमा ६ विकेटको जित हासिल गरेको थियो । मलेसियाले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पच्छाएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि रुवि पोदारले २६, पूजा महतोले २३, रुविना क्षेत्रीले अविजित १५ तथा सम्झना खड्काले १३ रन बनाए ।

    मलेसियाका लागि आइन हामिजा हसिम, नुर डानिया स्युहदा, आइसा एलिसा फिर्डाजु र नुर आल्याले समान एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय तीन रनको योगफल बनाएको थियो । मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रनको योगदान दिइन । त्यसैगरी माहिरा इज्जती इस्माइलले १९, आइन हामिजा हसिमले १५ र नुर डानिया स्युहदाले ११ रन बनाए ।

    नेपालका लागि कविता कुँवर र राजमति ऐरीले समान तीन/तीन विकेट लिए भने रचना चौधरीले एक विकेट लिइन् । रासस

  • आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

    आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

    काठमाडौँ, २२ असोजः तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली आज आइसिसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक रिजनल छनोट खेलअन्तर्गत आज कुवेतसँग आमनेसामने हुँदैछ । ओमानमा आजदेखि सुरु हुने उक्त प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजे हुनेछ । यसअघि नेपाल सन् २०१४ र २०२४ को विश्वकपमा सहभागी भएको थियो ।

    आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एण्ड इष्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ छ । यो समूहमा कुवेत र जापान छन् । प्रतियोगितामा नौ टोली सहभागी हुँदैछन् । सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा मलेसिया, कतार र युएई छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ आइल्याण्ड छन् । समूहको शीर्ष दुई टिम सुपर सिक्समा पुग्नेछन् ।

    नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामी छ्न ।

  • तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित, सिरिजमाथि कब्जा

    तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित, सिरिजमाथि कब्जा

    १४ असोज, काठमाडौं । युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो ।
    आजको तेस्रो खेलमा पराजित भए पनि नेपालले यस सिरिजको उपाधि भने जितेको छ । यसअघि लगातार दुई खेलमा जितेकाले नेपालले वेस्ट इण्डिजलाइ २–१ ले पराजित गरेको हो । नेपालले पहिलो खेलमा वेष्ट इण्डिजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो ।

    आज जितको लागि १२३ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले १२ दशमलव दुई ओभरमा कुनै विकेट नगुमाइ पूरा ग¥यो । वेस्ट इण्डिजको जितमा ओपनर अमिर जाङ्गुले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४५ बलमा अविजित ७४ रन बनाएका हुन् । यस्तै, अकिम अगस्टेले अविजित ४१ रन बनाए ।
    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय २२ रनको योगफल बनाएको थियो ।

  • युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो, रच्यो इतिहास

    युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो, रच्यो इतिहास

    १४ असोज, काठमाडौं) । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । यससँगै नेपालले इतिहास रचेको छ । सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा राती भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो ।

    पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । सोमबारको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटियो ।

    वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । उनले १५ बलमा दुई छक्कासहित सर्वाधिक २१ रन बनाए । यस्तै, एकिम अगष्टले १७ तथा अमिर जांगो १६ रन जोडे । नेपालको लागि आदिल आलमले ४ विकेट लिए । यस्तै, कुशल भुर्तेलले तीन, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७३ रनको योगफल बनाएको थियो ।

    नेपालका लागि आसिफले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रन बनाए । यस्तै, मोहम्मद आदिल आलमले ११ रन बनाए । यता वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई दुई विकेट लिए भने जेडिया ब्लेड्सले एक विकेट लिए ।

  • एसिया कप विवाद : भारत–पाकिस्तानबीच आरोप–प्रत्यारोप

    एसिया कप विवाद : भारत–पाकिस्तानबीच आरोप–प्रत्यारोप

    १३ असोज, काठमाडौं । एसिया कप–२०२५ को फाइनलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरी उपाधि जितेपछि दुवै देशका खेलाडीबीच आरोप–प्रत्यारोप चर्किएको छ । पाकिस्तानका कप्तान सलमान अघाले भारतको व्यवहारलाई ‘क्रिकेटप्रति अनादर’ भनेका छन् । भारतीय कप्तान सूर्यकुमार यादवले च्याम्पियन टोलीलाई ‘ट्रफीबाट वञ्चित’ गरिएको गुनासो सार्वजनिक गरेका छन् ।


    आइतबार दुबईमा भएको उपाधि निर्णायक खेलपछि तेस्रो खेलमा जस्तै दुवै टोलीले हात मिलाउन अस्वीकार गरे । भारतीय टोलीले पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष तथा एसिसीका प्रमुख मोहसिन नकवीबाट ट्रफी लिन नमानेपछि र विजय समारोहमा समेत सहभागी नभएपछि स्थिति झनै बिग्रियो । पत्रकारहरूसँग कुरा गर्दै कप्तान सूर्यकुमारले भने, “मैले क्रिकेट खेल्न थालेदेखि आजसम्म कहिल्यै देखेको थिइनँ कि च्याम्पियन टोलीलाई ट्रफी दिनै नमानिएको होस् । हामीले मैदानमै बसेर सामूहिक निर्णय गरेका थियौँ । वास्तविक ट्रफी त मेरा खेलाडी र सहयोगी स्टाफ हुन्, जुन ड्रेसिङ रुममै छन् । ठूलो पर्दामा ‘भारत एसिया कप २०२५ को विजेता’ भनेर देखिनु नै हाम्रो लागि ठूलो गौरव हो ।”

    फाइनलपछि करिब एक घण्टा ढिलाइ गर्दै गरिएको समारोहमा उद्घोषक साइमन डुलले सार्वजनिक रूपमा भने, “भारतीय टोलीले पुरस्कार ग्रहण नगर्ने निर्णय गरेको एसिसीले मलाई जानकारी गराएको छ । यसैसँगै आजको प्रस्तुती समारोह समाप्त हुन्छ ।” यस घटनापछि पाकिस्तानका कप्तान सलमान अघा असन्तुष्ट देखिए । उनले भने, “प्रतियोगिताभर भारतले जे व्यवहार देखायो, त्यो क्रिकेटका लागि निकै निराशाजनक हो । यदि उनीहरूले हामीसँग हात नमिलाएर हाम्रो अनादर गरेको सोच्दा हुन् भने, वास्तवमा उनीहरूले खेलको नै अनादर गरेका हुन् । हामीले भने खेल ‘स्पिरिट’ अनुसार पदक लिएर फर्कियौँ ।”

    यस पटकको एसिया कप विशेष संवेदनशील मानिएको थियो, किनकि यसअघि मात्र आणविक–सशस्त्र दुवै छिमेकीबीच घातक झडप भएको थियो । प्रतियोगिताका अघिल्ला खेलमै राजनीतिक सङ्केतहरू र मैदानमै आक्रामक शैली देखिँदा तनाव बढेको थियो । अघाले अन्त्यमा भने, “यो पहिलोपटक देखिएको घटना हो । यसरी चलिरह्यो भने भविष्यमा कहाँ पुग्छ भन्ने अनुमान गर्नै सकिँदैन । यो क्रिकेटका लागि राम्रो होइन ।”

  • नेपालले टेष्ट राष्ट्रविरुद्ध पहिलो पटक जित निकाल्दै रच्यो इतिहास

    नेपालले टेष्ट राष्ट्रविरुद्ध पहिलो पटक जित निकाल्दै रच्यो इतिहास

    १२ असोज, काठमाडौं । वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो ।
    नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २९ रन मात्र बनाउन सक्यो । उसका लागि नवीन विदायसीले सर्वाधिक २२ रन बनाए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए ।

    नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए भने कप्तान रोहित पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४८ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रनको योगफल बनाए । उनले ३५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३८ रन बनाएका हुन् । त्यस्तै कुशल मल्लले २१ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

    वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने नवीन विदायसीले तीन तथा कप्तान अकिल होसेनले एक विकेट लिए । नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता वेष्ट इन्डिजविरुद्ध खेलेको हो । अर्को सातादेखि ओमानमा हुने आइसीसी टी–२० एसिया कप क्षेत्रीय छनोटको तयारीस्वरुप नेपालले वेष्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तरराष्ट्रिय सिरिज खेल्न लागेको हो । नेपाल र वेष्ट इण्डिजसँग दोस्रो खेल यही असोज १३ गते हुनेछ ।

  • लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने

    लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने

    १६ भदौ, कास्की । विश्वकै उच्च भागमा हुने प्रतिष्ठित गल्फ प्रतियोगिता ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण यही भदौ २८ र २९ गते हुने भएको छ । मुस्ताङको लोमान्थाङमा अवस्थित समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको लोवथाङ गल्फ कोर्समा प्रतियोगिता हुने आयोजक मुस्ताङ गल्फ कोर्सले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

    उक्त प्रतियोगितामा स्वदेश तथा विदेशबाट गरी ६० भन्दा बढी गल्फरहरूको सहभागिता रहने आयोजक संस्था मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार यस संस्करणमा नेपालका शीर्ष गल्फ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । गत वर्षसम्म नौ होलमा सीमित प्रतियोगिता यस वर्ष १८ होलमा विस्तार गरिएको छ । प्रतियोगिताका विजेतालाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित ट्रफी प्रदान गरिने छ ।

    यसैगरी ‘होल इन वान’ गर्ने भाग्यशाली खेलाडीलाई पुरस्कार स्वरूप घोडा दिइने प्रबन्ध निर्देशक विष्टले बताए । यो पुरस्कार विश्वभरका गल्फरहरूका लागि अनौठो हुने उनको भनाई छ । प्रतियोगिता ‘स्टेवलफोर्ड’ ढाँचामा खेलाइने छ । जसअन्तर्गत विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, ‘क्लोजेस्ट टु द पिन’, ‘मस्ट बर्डिज’, र ‘लङ्गेस्ट ड्राइभ’ का लागि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    यसैगरी यसवर्षको संस्करण ‘टी फर क्लाइमेट’ भन्ने नारासहित सञ्चालन हुने विष्टले बताउनुभयो । “मुस्ताङ अहिले जलवायु सङ्कटको चपेटामा छ । यसबारेमा विश्वको ध्यानाकर्षण गराउन हामी उच्च स्थानको गल्फ कोर्सबाट सन्देश प्रवाह गर्दैछौँ”, प्रबन्ध निर्देशक विष्टले भने ।

    खेलसँगै स्थानीय कला, संस्कृति र सङ्गीतका विविध प्रस्तुतिहरू प्रतियोगिता अवधिभर प्रस्तुत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, लोमान्थाङ गाउँपालिका तथा विभिन्न सङ्घसंस्थाहरूले सहयोग गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न रु १० देखि रु १२ लाख खर्च हुने अनुमान गरिएको छ ।

  • साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

    साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

    १३ भदौ, काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

    डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छ भने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । नौ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् । खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ । उपाधि जित्ने होडबाट नेपाल बाहिरिएको छ ।

  • साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

    साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

    ११ भदौ, काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता ९यु–१७० च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ । गत आइतबार बङ्गलादेशसँग भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो ।

    डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत नौ अङ्कका साथ पहिलो स्थानमा छभने छ अङ्क लिएर बङ्गलादेश दोस्रो स्थानमा छ । तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् । खेल तालिकाअनुसार यही भदौ १३ गते नेपालले भारतको सामना गर्ने छभने १५ गते भुटानसँग भिड्ने छ ।

  • नेपाल बङ्गलादेशसँग पराजित

    नेपाल बङ्गलादेशसँग पराजित

    ८ भदौ, काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशसँग नेपाल ३–० ले पराजित भएको हो । यो जितसँगै तीन खेलमा छ अङ्क जोडेको बङ्गलादेश दोस्रो स्थानमा छ । पराजित नेपाल समान खेलबाट तीन अङ्कका सात तेस्रो स्थानमा छ । यसअघि भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई भने २–१ गोलले हराएको थियो ।

    यसैगरी भुटानलाई ३–१ ले हराएको बङ्गलादेशले भारतसँग २–० को पराजय बेहोरेको थियो । बङ्गलादेशको जितमा थुनुए मार्मा, सौरभी अखण्ड प्रीति र मामोनी चक्माले गोल गरे । खेलको ४१औँ मिनेटमा मार्माको गोलमार्फत बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै सौरभीले टोलीको अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलको इन्जुरी समयमा चक्माले गोल गर्दै बङ्गलादेशलाई सहज जित दिलाइन् ।

  • साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले भुटानलाई हरायो

    साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले भुटानलाई हरायो

    ६ भदौ, काठमाडौं । सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित निकालेको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै दुई खेल खेलेको नेपालले तीन अङ्क जोडेको छ । पहिलो खेलमा भारतसँग नेपाल ७–० ले पराजित भएको थियो । यता भुटानको भने यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो ।

    आज खेलको पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले खेलको ५८औँ मिनेटमा बराबरी गोल फर्कायो । नेपालको लागि साहरा लिम्बूले गोल गरिन् । त्यसअघि खेलको ४२औँ मिनेटमा भुटानका लागि कुन्डेन सोनाम शेगेलले गोल गरेकी थिइन् । खेलको ७७औँ मिनेटमा साहराले नै गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः नेपाल विजयी भयो ।

  • टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान भिड्दै

    टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान भिड्दै

    ६ भदौ, काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ । जित मात्र पर्याप्त भने हुने छैन । अन्य टोलीको खेल समेत नेपाल अनुकूल आउनु पर्छ ।

  • एनपीएल दोस्रो संस्करण मङ्सिरमा

    एनपीएल दोस्रो संस्करण मङ्सिरमा

    ५ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्ति जनाएको छ । उक्त प्रतियोगिता लागि खेलाडीको मिनी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ ।

    गत वर्ष मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना भएको पहिलो संस्करणको एनपिएल सफल भएसँगै दोस्रो संस्करणमा धेरैको ध्यान आकर्षित भएको छ । एनपिएलमा हाल आठ वटा टोली छन् । जसमा विराटनगर किङ्ग्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौँ गुर्खान, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स छन् ।

    एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्टस्ले जितेको थियो । एनपिएलको दोस्रो संस्करणको तयारी स्वरुप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति भइरहेको छ । हाल प्याराफिट निर्माण भइरहेको छ ।

  • टप एन्ड टी–ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जित

    टप एन्ड टी–ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जित

    ३ भदौ, काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको हो । अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको थियो । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्सले १६ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै ११४ रन मात्र बनायो । नेपाललाई विजयी दिलाउने क्रममा नन्दन यादव एक्लैले पाँच विकेट लिए । यस्तै कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले एक एक विकेट लिए ।

    होबार्ट हरिकेन्सका लागि ब्याटिङ गर्ने क्रममा ब्राड्ली होपले ३१ तथा चार्ली वाकिमले २८ रन बनाए । यसअघि होबार्ट हरिकेन्सविरुद्ध १८० रन बनाउने क्रममा नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका प्रहार गरे । त्यसैगरी आसिफ शेखले २८ बलमा दुई चौका प्रहार गर्दै २९ रन जोडे । लोकेश बमले अविजित २५ रन, कुशल भुर्तेलले २७, भीम सार्कीले १८ तथा कप्तान रोहितकुमार पौडेलले ९ रन जोडे ।

    बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले दुई÷दुई तथा मार्कस बेन, गाबे बेल र ब्राडली होपले एक एक विकेट लिए । नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ तथा मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । नेपालले अब बुधबार मेलवर्न रेनेगेड्ससँग तथा शुक्रबार पाकिस्तान शाहिन्ससित खेल्ने छ ।

  • प्रचलित कानुनबमोजिम मात्रै विज्ञापन गर्न बोर्डद्वारा क्यानलाई सचेत

    प्रचलित कानुनबमोजिम मात्रै विज्ञापन गर्न बोर्डद्वारा क्यानलाई सचेत

    ३ भदौ, काठमाडौं । विज्ञापन बोर्डले प्रचलित ऐन, कानुन, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गत मङ्सिर १५ देखि पुस ६ गतेसम्म आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपिएल)का खेलहरू ‘फस्र्ट सेञ्चुरी मिडिया’ नामक विदेशी कम्पनीमार्फत स्टार स्पोटर्स च्यानलबाट विज्ञापनसहित प्रसारण गरेको, जुवा खेलाउने विभिन्न साइटलगातमा ब्याटिङ गराएको भन्ने उजुरपछि बोर्डले उक्त निर्णय गरेको हो ।

    बोर्डको गत साउन २१ र २९ को बैठकबाट निर्णय भएकाले विज्ञापन नियमन गर्ने नियमावलीबमोजिम सूचना प्रकाशित गरिएको बोर्डका प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले जानकारी दिए । नेपाल क्रिकेट सङ्घले बोर्डका विभिन्न मितिका पत्रको जवाफ पेस नगरेको र कार्य व्यस्तताका कारण पत्रहरूको जवाफ पेस गर्न नसकिएको भन्दै पेस गरेको जवाफ चित्तबुझ्दो नभएको पाएको उनले बताए । बोर्डको निर्देशनलाई बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्न गराउनबाट रोक्का राख्ने, विज्ञापन प्रचलित ऐन तथा नियमविपरीत विज्ञापन नगर्न सचेत गराइएको छ ।

    बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न रहेको तथा प्रचलित कानुनविपरीतका विज्ञापन प्रदर्शन गरेको एजेन्सीलाई रु १० हजार जरिवाना गर्ने, तीन महिनासम्म विज्ञापन वा सूचना दिन वा लिन वा विज्ञापन वा सूचना प्रकाशन वा प्रसारणसम्बन्धी कार्य गर्न रोक लगाउने र उक्त अवधिसम्म उक्त एजेन्सीलाई बोर्डमा सूचीकरणसमेत नगर्ने निर्णय गरेको छ ।

    बोर्डले ब्राण्ड डिजिटल लजिक प्राली, ललितपुर र टिसिएम स्पोर्टस एण्ड मार्केटिङ प्राली टङ्गाल, काठमाडौँसँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न÷नगराउनुहुन सबै विज्ञापनदाता तथा सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।

  • पोखरामा खुला पर्वतीय दौड हुने

    पोखरामा खुला पर्वतीय दौड हुने

    ३ भदौ, कास्की । पोखरामा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर आगामी असोज ४ गते खुला पर्वतीय दौड प्रतियोगिता हुने भएको छ । पोखराको राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने तथा खेलका माध्यमबाट खेल पर्यटन प्रवर्द्धनका लागि दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
    सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामी असोज ४ गते खुला पर्वतीय दौड प्रतियोगिता आयोजना हुने जानकारी दिइएको हो ।

    पोखरा–२२ स्थित विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर दौड समापन हुने आयोजक पोखरा क्लिका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । उनका अनुसार आठ किमी पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यु–१६, पर्यटन तथा ४० वर्ष माथिका भेट्टानतर्फको प्रोत्साहन गरी छ वटा ‘इभेन्ट’ समावेश गरिने छ ।

    प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले नगद रु ५० प्राप्त गर्नेछन् । द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थानसम्मलाई क्रमशः रु ३० हजार, रु १५ हजार, रु सात हजार र रु तीन हजार वितरण गरिने अध्यक्ष बरालले जानकारी दिए ।
    वडास्तरीय, खुला महिला र यु–१६ तर्फका विजेतालाई जनही रु १५ हजार र उपविजेतालाई जनही रु सात हजारसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने उनले बताए । उनका अनुसार प्रतियोगितामा यसवर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारकोसमेत व्यवस्था गरिएको छ ।

    भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही रु १५ हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने बरालले बताए । प्रतियोगिताका लागि अनलाइन आवेदन दर्ता खुला गरिएको प्रतियोगिता निर्देशक ओम लामाले जानकारी दिए । उनका अनुसार यही भदौ २५ गतेसम्म धावकले अनलाइन फारममार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् । पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले दौड प्रतियोगितालाई वडाले आफ्नो चाडका रूपमा लिएको बताउँदै आगामी दिनमा विस्तार गरेर ‘हाफ म्याराथन’सम्म लैजाने योजना रहेको जानकारी दिए ।


    पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिबहादुर भुजेलले विश्वपर्यटन दिवसका अवसरमा हुने उक्त प्रतियोगितामा विदेशी धावकहरू बढीभन्दा सहभागी गराउन पहल गर्ने बताए । विश्वशान्ति स्तूप समितिका अध्यक्ष अशोक गुरुङले दौडको सुरुआत शान्ति स्तूपबाट हुने भएकाले आवश्यक व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

  • टप एण्ड टी–२० सिरिजः नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

    टप एण्ड टी–२० सिरिजः नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

    ३० साउन, काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एण्ड टी–२० सिरिज’को उद्घाटन खेल आज नेपाल र अस्ट्रेलियाली क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरबीच हुँदैछ । नेपाली समयअनुसार मरारा क्रिकेट मैदानमा आज अपराह्न २ः१५ बजे खेल सुरु हुनेछ ।

    ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप पहिलोपटक यो प्रतियोगितामा नेपाल सहभागी भएको हो । प्रतियोगितामा आयोजक अस्ट्रेलियासहित अमेरिका, पाकिस्तानलगायत ११ देशका टोली प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता आगामी भदौ ८ गतेसम्म जारी रहने छ ।

  • एनपीएल अक्सनबाट आठ टोलीले ३७ खेलाडी छाने

    एनपीएल अक्सनबाट आठ टोलीले ३७ खेलाडी छाने

    २५ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका लागि छनोट गरिएका १६४ खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् । ‘ए’ श्रेणीका चार खेलाडीलाई जनही रु १५ लाखमा खरिद गरिएको छ ।

    दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ । देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाण्डू गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने तय भएको छ । चारै खेलाडीलाई एउटाभन्दा बढी टोलीले भित्र्याउन खाजेबाट ‘लक्की ड्र’ मार्फत निर्णय गरिएको थियो ।


    यसैगरी दिलीप नाथ र शेर मल्ललाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सूदुरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किङ्ग्सले, सन्तोष यादवलाई काठमाण्डू गोर्खाजले र युवराज खत्रीलाई कर्णाली याक्सले जनही रु १० लाखमा अनुबन्ध गरेको छ । यस्तै मयन यादवलाई जनकपुर वोल्टस्ले रु ७ लाख ७५ हजारमा तथा आकाश त्रिपाठीलाई काठमाण्डू गोर्खाजले रु ७ लाखमा अनुबन्ध गरेको छ ।

    यसैगरी शङ्कर राना, नारायण जोशी र साहिल पटेललाई विराटनगर किङ्ग्सले, अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले, विशाल पटेल र दुर्गेश गुप्तालाई लुम्बिनी लायन्सले, आदित्य महता र विकास आग्रीलाई जनकपुर बोल्टसले, विपिन रावललाई चितवन राइनोजले तथा दिपक बोहरा र मिलन बोहरालाई सुदूरपश्चिम रोयल्सले जनही रु ५ लाखमा अनुबन्ध गरेको छ । उत्तम थापा मगरलाई काठामण्डु गोर्खाजलेरु रु ३ लाखमा अनुबन्ध गरेको छ ।

    यसैगरी टेकबहादुर रावत र दीपेन्द्र थापालाई सुदूरपश्चिम रोयल्सले, सन्दीप खत्री क्षेत्री, अभिषेख तिवारी र कृष्ण पौडेललाई पोखरा एभेन्जर्सले, सचिन भट्टलाई जनकपुर बोल्टसले, तुलबहादुर थापालाई काठमाण्डू गोर्खाजले, इमरान शेख र दीपक डुम्रेलाई कर्णाली याक्सले, लुम्बिनी लायन्सले आदिल खानलाई, विराटनगर किङ्ग्सले श्रवण किश्कुलाई तथा चितवन राइनोजले विपिन आचार्य र रञ्जित कुमारलाई जनही रु दुई लाखमा अनुबन्ध गरेको छ ।

    एनपीएलको शनिबारको मिनी अक्सनमा १५० खेलाडीले भाग लिएका थिए । दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई मिनी अक्सनका लागि छनोट गरिएको थियो । अक्सनमा ‘ए’ श्रेणीको न्यूनतम रु १० लाख र अधिकतम रु १५ लाख, ‘बी’ श्रेणीको न्यूनतम रु ५ लाख र अधिकतम रु १० लाख तथा ‘सी’ श्रेणीको न्यूनतम रु २ लाख र अधिकतम रु ५ लाख मूल्य राखिएको थियो । योसँगै आठ टोलीमा ८८ खेलाडी आबद्ध भएका छन् । प्रत्येक टोलीमा ११–११ नेपाली खेलाडी छनोट भएसँगै अब आठवटै टोलीले कम्तिमा चार विदेशी खेलाडी अनुबन्ध गर्नेछन् ।

    आठवटै टोलीको खेलाडी सूची

    जनकपुर बोल्ट्स स् आसिफ शेख (मार्की खेलाडी), अनिलकुमार साह, शुभ कङ्साकार, किशोर महतो, ललितनारायण राजवंशी, तुलबहादुर थापामगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकाश आग्री ।

    सुदूरपश्चिम रोयल्स : दिपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दिपक बोहरा र मिलन बोहरा ।

    कर्णाली याक्स : सोमपाल कामी (मार्की खेलाडी), गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री ।

    चितवन राइनोज: कुशल मल्ल (मार्की खेलाडी), रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमार ।

    काठमाण्डु गोर्खाज : करण केसी (मार्की खेलाडी), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम ।

    विराटनगर किङ्स : सन्दीप लामिछाने (मार्की खेलाडी), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शङ्कर राना ।

    पोखरा एभेन्जर्स : कुशल भुर्तेल (मार्की खेलाडी), दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री ।

    लुम्बिनी लायन्स : रोहित पौडेल (मार्की खेलाडी), सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता र आदिल खान ।

    शनिबार सम्पन्न अक्सनमा खेलाडीमाथि सबैभन्दा धेरै खर्च चितवन राइनोजले तथा कम पोखरा एभेन्जर्सले गरेको छ । चितवनले रु ३९ लाख, काठमाडौँले रु ३७ लाख, लुम्बिनीले रु ३२ लाख, कर्णालीले रु २९ लाख, विराटनगरले रु २७ लाख, सुदूरपश्चिमले रु २४ लाख, जनकपुरले रु १९ लाख ७५ हजार तथा पोखराले रु ११ लाख खर्च गरेको छ ।

  • प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

    प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

    १५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको आज शुभारम्भ गरेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा उनले ‘फिफा’को सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क रुपमा फुटबल वितरण गरिने अभियानको शुभारम्भ गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समग्र खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रङ्गशाला निर्माणको घोषणा गरे ।