Category: खेलकुद

  • निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान निरीक्षणमा पुगे प्रधानमन्त्री

    निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान निरीक्षणमा पुगे प्रधानमन्त्री

    २५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए ।

    उनलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठसहित निर्माण व्यवसायीले हालसम्मको कार्यप्रगतिबारे जानकारी गराए ।

    प्रधानमन्त्री केपी शर्मा ओली आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गर्नुहुँदै । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

    प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुई महिनाभित्र काम सक्न निर्देशन दिए । प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरकफरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

  • नेपाललाई स्कटल्यान्डले दियो तीन सय २४ रनको विशाल चूनौति

    नेपाललाई स्कटल्यान्डले दियो तीन सय २४ रनको विशाल चूनौति

    २५ जेठ, काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली स्कटल्यान्डले नेपाललाई जितका लागि ३२४ रनको विशाल लक्ष्य दिएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३२३ रनको योगफल बनायो । स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले ।

    उनले बेरिङ्टनले ११४ बलमा छ चौका र चार छक्काको सहयोगमा १०२ रनको शतकीय पारि खेले । चार्ली टेयरले ६५ बलमा नौ चौकाको सहयोगमा ६८ रन जोडे । त्यसैगरी, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए । नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

  • पोखरामा पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु

    पोखरामा पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु

    २३ जेठ, पोखरा । पोखरा रङ्गशालामा आजदेखि पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु भएको छ । गण्डकी प्रदेश आर्चरी सङ्घको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले उद्घाटन गरे । पोखरामा यसअघि ‘आउटडोर’ च्याम्पियनसिप भए पनि रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा ‘इन्डोर’ पहिलोपटक गरिएको हो ।

    प्रतियोगितामा तीन विभागीय टोलीसहित कोशी, बागमती र गण्डकी प्रदेशका खेलाडी सहभागी छन् । प्रतियोगितामा महिला २२ र पुरुष ४८ गरी कुल ७० जना खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने आर्चरी सङ्घका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले जानकारी दिए । प्रतियोगितामा ‘रिकर्व’ महिला÷पुरुष, ‘रिकर्व टिम इभेन्ट’, ‘रिकर्व मिक्स इभेन्ट’, ‘कम्पाउण्ड’, महिला र पुरुष ‘इन्डिभिजुअल’, ‘स्टाण्डर्ड’ महिला÷पुरुष ‘इन्डिभिजुअल’, ‘स्टाण्डर्ड मेन्स टिम इभेन्ट’ र ‘मिक्स इभेन्ट’ गरी कुल १० इभेन्टमा १० स्वर्ण, १० रजत र १० कास्य पदकका लागि प्रतिस्पर्धा हुने शेरचनले बताए ।


    कार्यक्रममा सदस्यसचिव घिसिङले निर्धारित मितिमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसक्दा आर्चरीसहित अन्य खेलकुद प्रभावित बनेको बताए । उनले प्राविधिक समस्याका कारणले तोकिएको मितिमा प्रतियोगिता नभएको उल्लेख गरे । “राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुँदा तयारी गरिरहेका खेलाडीलाई समस्या परेको छ । हामी तयारीलाई पूर्णता दिएर प्रतियोगिताको नयाँ मिति सार्वजनिक गर्नेछौँ”, सदस्यसचिव घिसिङले भने । उनले इन्डोर प्रतियोगिताले खेलाडीभित्र रहेको क्षमता प्रदर्शनका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

    घिसिङले १९औँ एसियाली खेलकुदमा पनि नेपाली खेलाडीको सहभागिताले नेपालको आर्चरी खेलले प्रशंसा पाएको बताए । गण्डकी प्रदेशसभाका सांसद विकल शेरचनले ‘इन्डोर’ आर्चरीले गण्डकी प्रदेशको आर्चरी खेलको विकासमा सहयोेगी पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिता यही जेठ २४ गतेसम्म सञ्चालन हुनेछ । यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् गण्डकी तथा नेपाल आर्चरी सङ्घको प्राविधिक सहयोग रहेको छ ।

  • नेपाल र हङ्कङबीचको खेल बराबरीमा सकियो

    नेपाल र हङ्कङबीचको खेल बराबरीमा सकियो

    २२ जेठ, काठमाडौं । नेपाल र हङ्कङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । हङ्कङको राष्ट्रिय रङ्गशालामा आज सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो ।

    नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए । एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङ्कङले आज मैत्रीपूर्ण खेल खेलेका हुन् ।

  • आइसिसी विश्वकप लिग २ः नेपाल विजयी

    आइसिसी विश्वकप लिग २ः नेपाल विजयी

    २१ जेठ, काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत आज सम्पन्न खेलमा नेपाल विजयी भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा आरिफले महत्वपूर्ण अर्धशतक बनाए । उनले ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ७८ रनमा आउट भए ।

    यसैगरी, नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा तीन चौकाको सहयोगमा ‘नट आउट’ ३८ रन बनाए । पाँचौँ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपूर्ण साझेदारी गरे । ओपनर कुशल भुर्तेलले ४२ बलमा तीन चौकाको सहयोगमा २५ रन जोडे । कप्तान रोहित पौडेल ३९ बलमा एक चौकाको सहयोगमा २३ रनमा आउट भए । अर्का ओपनर आसिफ शेखले २२ बलमा तीन चौका प्रहार गर्दै १९ रन बनाए । भीम सार्की २६ बलमा एक चौकाको सहयोगमा ११ रनमा आउट भए ।

    नेदरल्यान्डसका लागि माइकल लेभिटले दुई विकेट लिए भने भिभियन किंग्मा र पल भान मेकरेनले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्डस ४९ दशमलव एक ओभरमा २२५ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि नोहा कोर्सले ५५ बलमा पाँच चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए ।

    यसैगरी, कप्तान स्कट एडवार्डसले ७१ बलमा चार चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे । विक्रमजित सिंहलाई ३८ रन बनाए । ज्याक लायन ३४ बलमा २७ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए । यो जितसँगै नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौँ स्थानमा छ । पराजित नेदरल्यान्डस २१ खेलमा २६ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा यथावत् छ ।

  • नेदरल्याण्ड्सले नेपाललाई दियो दुई सय २६ रनको चुनौती

    नेदरल्याण्ड्सले नेपाललाई दियो दुई सय २६ रनको चुनौती

    २१ जेठ, काठमाडौं । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका लागि २२६ रनको लक्ष्य दिएको छ । स्कटल्याण्ड्सको डुन्डेस्थि फोर्थहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रनको योगफल बनाएको हो । नेदरल्याण्ड्का लागि नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए ।

    त्यसैगरी कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे । विक्रमजित सिंहलाई ३८ रन बनाए । ज्याक लायनले ३४ बलमा २७ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुईरदुई विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

  • आरसीबीले जित्यो आइपीएल उपाधी, विराट बने भावुक

    आरसीबीले जित्यो आइपीएल उपाधी, विराट बने भावुक

    काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । यस टिमका लागि भारतीय पूर्व कप्तान तथा क्रिकेट स्टार विराट कोहली लगातार १८ वर्ष खेल्दा पहिलो पटक उपाधी जिते । सो क्रममा उनी भावुक देखिएका थिए । मंगलबार सम्पन्न फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएल उपाधि उचालेको हो । बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो ।

    Royal Challengers Bengaluru’s Virat Kohli holds the winners trophy and poses with his wife Anushka Sharma after their win in the Indian Premier League final cricket match against Punjab Kings at Narendra Modi Stadium in Ahmedabad, India, Wednesday, June 4, 2025. (AP Photo/Ajit Solanki)

    अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरेपनि पर्याप्त हुन सकेन । शशांक ३० बलमा ६१ रनमा अविजित रहे । जोश इङ्लिसले ३९ रन बनाए । बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २(२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १(१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए ।

  • स्कटल्याण्डमाथि नेपालको कीर्तिमानी जित, करण बने हिरो

    स्कटल्याण्डमाथि नेपालको कीर्तिमानी जित, करण बने हिरो

    २० जेठ, काठमाडौं । करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पराजित गर्दै विजयी भएको छ । स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको हो ।

    दुई सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव पाँच ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा करण केसी नायक बनेका छन् । उनले ४१ बलमा तीन चौका र चार छक्काको सहयोगमा अविजित ६५ रन जोडे । त्यसैगरी ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोड्दै अर्धशतक बनाए ।

    कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए आसिफ ३३ बलमा दुई चौकाको सहयोगमा २० रनमा आउट भए । गुलशन झा ३० बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४२ रन बनाएर आउट भए । भीम सार्कीले ४८ बलमा तीन चौकाको सहयोगमा ४० बनाउँदा कप्तान रोहितकुमार पौडेल ५६ बलमा ३७ रनमा आउट भए ।

    स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलानले तीन, माइकल लिस्क र ज्याक जार्भिसले समान दुई र जसपर डेभिडसनले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ९६ रन बनाएको थियो ।

    स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । फेन्ली म्याक्रिथले ६७ बलमा तीन चौका र एक छक्काको सहयोगमा ५५ रनमा आउट भए । कप्तान रिची बेरिङ्टन ४६ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४० रनमा आउट भए । म्याथ्यु क्रस ५६ बलमा तीन चौकाको सहयोगमा ३९ रनमा आउट भए भने माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए ।

    ब्रेण्डन मक्कमुलनले ३१ बलमा दुई चौकाको सहयोगमा १९ रन जोड्दा ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए । नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान दुई र सन्दीप लामिछानेले एक विकेट लिए । नेपालले अब नेदरल्यान्डससँग यही जेठ २१ गते खेल्नेछ ।

  • आइसिसी विश्वकप लिग–२ : स्कटल्यान्ड र नेपाल भिड्दै

    आइसिसी विश्वकप लिग–२ : स्कटल्यान्ड र नेपाल भिड्दै

    १९ जेठ, काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि २९७ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डका डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रनको योगफल बनायो । स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ८० रन बनाएका हुन् ।

    त्यसैगरी फेन्ली म्याक्रिथले ६७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५५ रन जोडे । कप्तान रिची बेरिङ्टन ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रनमा आउट भए । यसैगरी म्याथ्यु क्रस ५६ बलमा ३ चौकाको सहयोगमा ३९ रनमा आउट भए । माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए । ब्रेण्डन मक्कमुलनले ३१ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे । त्यस्तै ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए । नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान दुई÷दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

  • त्रिवि क्रिकेट रङ्गशालाको प्यारापिट ढलान आजदेखि सुरु

    त्रिवि क्रिकेट रङ्गशालाको प्यारापिट ढलान आजदेखि सुरु

    १३ जेठ, कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालाको प्यारापिट ढलान आजदेखि सुरु भएको छ । यही जेठ महिनाभित्र सम्पन्न गर्नेगरी सबै कार्य अगाडि बढाइएका सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले बताउए । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको बनाउने कार्यक्रमअन्तर्गत पहिलो चरणमा पश्चिमी र पूर्वी भागतर्फ गरी कूल १० हजार जना दर्शक अट्ने गरी प्यारापिट बनाउन लागिएको छ ।

    पहिलो चरणमा निर्माण गर्नुपर्ने प्यारापिटलाई १२ भागमा विभाजन गरिएको र त्यसमध्ये आज पहिलो भागको ढलान सुरु भएको कण्ठले जानकारी दिए । “प्रयोगशालामा गुणस्तर नियन्त्रण गरिएका कङ्क्रिटमाथि उच्चस्तरको ‘फ्लोर हार्डनर’ प्रयोग गरिएको छ । रङ्गशालाको कङ्क्रिट सतह अत्यधिक घोटिने भएकाले यसको प्रयोग गरिएको हो’, उनले भने, “ रङ्गशालाको भूबनोटअनुसार पश्चिमी र दक्षिणी भागको जमिन मैदानभन्दा अग्लो भएका कारण जमिनकै सतहमाथि पिसिसी गरि ढ्लान गरिएको छ ।

    पूर्वी भागको जमिन भने मैदान सरहकै भएका कारण पिलर उठाएर आवश्यक स्लोप कायम गरिएको छ । सबै कार्य जेठ महिनाको अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य छ ।” प्यारापिटबाहेक रातिको समयमा खेल सञ्चालन गर्न आठ वटा फ्लडलाइटसमेत जडान हुँदैछन् । यी सबै कार्यको निरीक्षण गर्न त्यहाँ पुगेका सहरी विकास सचिव गोपालप्रसाद सिग्देलले गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै कार्यसम्पन्न गर्न निर्देशन दिए ।

  • बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

    बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

    १० जेठ, भक्तपुर । भक्तपुरमा सुरू भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरूमध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिक प्रतिस्पर्धामा उत्रिएका छन् । भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा सुरू भएको प्रतियोगिता भारत, इङ्ग्ल्याण्डसमेत र नेपालको २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा भारतबाट चार र इङ्ग्ल्याण्डबाट एक जना खेलाडीको सहभागी रहेको छ ।

    नेपालको पहिलो अन्तरराष्ट्रिय आरविटर ज्ञानेन्द्र खाइजुले प्रतियोगितामा शुक्रबार पाँच राउण्ड सम्पन्न भएको र शनिबार चार राउण्ड खेलिने बताए । प्रतियोगिताको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीको सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले बुद्धिचाल प्रतियोगिता बुद्धिअर्थात् दिमाग लगाएर खेल्ने खेल भएको बताउँदै अन्तरराष्ट्रिय क्षेत्रमा हुने खेलमा नेपालको अब्बल प्रतिस्पर्धा हुने गरी खेलाडी उत्पादन गर्नुपर्ने बताए ।

  • नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा

    नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा



    नेपाल पहिलोपटक महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्न सफल भएको छ । एसिया छनोटमा युएइलाइ ५ विकेटले हराउदै नेपालले इतिहास बनाएको हो । सोमबार सुपर ३ अन्तर्गत नेपाल र युएइ भिडेका थिए । युएइले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको थियो ।

    नेपालले सो लक्ष्य १९.३ ओभरमा ५ विकेट गुमाउदै भेटाएको हो । कप्तान इन्दु बर्माले ३० रनको योगदान दिइन । उनी आउट भइनन । युएइलाई मध्यम योगफलमा समेट्न नेपालकि मनिषा उपाध्यायले ४ विकेट लिइन । अब नेपालले विश्वकप छनोटमा ठुला टिमहरुसङ्ग खेल्ने अवसर पाएको छ ।


  • प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई

    प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई

    ४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उहाँले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा विजयी हुन शुुभकामना दिए । अखिल नेपाल टेबल टेनिस सङ्घद्वारा गत २४ देखि २७ एप्रिलसम्म काठमाडौँमा आयोजित प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कास्यसहित नेपालले १२ पदक जितेको थियो । प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण पदक प्राप्त गरे ।

    प्रधानमन्त्री ओलीले विजेता र सहभागीलाई टेबल टेनिस खेल्न लगाइ अवलोकनका साथै उनीहरुसँग आफूूले पनि केहीबेर खेलेर प्रोत्साहन गरे । प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट उत्कृष्ट र सहभागी खेलाडीहरुलाई आकस्मिकरुपमा नगद पुरस्कार प्रदान गरे । सङ्घका उपाध्यक्ष पूर्णशङ्कर श्रेष्ठले यसरी प्रधानमन्त्रीस्तरबाट टेबल टेनिसलाई पहिलो पटक स्नेह प्राप्त भएकाले यस खेलले भविष्यमा देशलाई राम्रो नतिजा दिने विश्वास व्यक्त गरे । सङ्घका सचिव एवं दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिताका टोली व्यवस्थापक राजेन्द्रबहादुर दुुलालले अन्तरराष्ट्रिस्तरमा टेबल टेनिसमा भाग लिँदा युवा खेलाडीका अभिभावकले आफै शुल्क तिर्नुपर्ने अवस्था अन्त्यका लागि सरकाबाट सहयोग हुनुुपर्ने आग्रह गरे ।

  • आइसिसी विश्वकप लिग २ खेल्न स्कटल्याण्ड उड्यो नेपाली क्रिकेट टोली

    आइसिसी विश्वकप लिग २ खेल्न स्कटल्याण्ड उड्यो नेपाली क्रिकेट टोली

    ३१ वैशाख, काठमाडौं । नेपाल क्रिकेट सङ्घ९क्यान०ले आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरेको छ । नेपाली टोली आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रीय सदस्य छुम्बी लामालगायतले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

    क्यानका अध्यक्ष चन्दले बेलायतमा हुने अभ्यास खेलले टोलिलाई हौसला प्रदान गर्ने भन्दै लिग २ शृङ्खलाका लागि शुभकामना प्रदान गरे । नेपालले लिग २ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग आगमी जुन २ देखि १० तारिख (आगामी जेठ १९–२७ गतेसम्म सिरिज खेल्नेछ । लिग २ सिरिजपछि नेपालले ती देशसँग टी–२० आई सिरिजसमेत खेल्ने क्यानले जनाएको छ । उक्त सिरिज भने जुन १५ देखि २० तारिख (आगामी असार १–६ गते) सम्म सञ्चालन हुनेछ ।

    लिग २ खेल्नु अगाडि नेपालले बेलायतको स्थानिय टोली तथा स्टकल्याण्डको ‘ए’ टोलीसँग अभ्यास खेलसमेत खेल्नेछ । लिग २ को शृङ्खलाका लागि नेपाली टोलीको कप्तान रोहितकुमार पौडेलसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन् ।

  • फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी

    फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी

    २७ वैशाख, काठमाडौं । सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पु¥याइने भएको छ । विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो । फिफाका अनुसार, विश्वव्यापी रूपमा महिलाको फुटबलमा आएको उल्लेखनीय प्रगतिको कदरस्वरूप यो निर्णय लिइएको हो ।

    यसले थप राष्ट्र र खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गर्नुका साथै विश्वभर महिला फुटबलमा लगानी तीव्र बनाउन मद्दत गर्ने विश्वास गरिएको छ । अठचालिस टोली सहभागीताको नयाँ ढाँचामा अब १२ समूह रहनेछ, जसले कुल खेल सङ्ख्या ६४ बाट बढाएर १०४ पु¥याउनेछ र प्रतियोगिता एक हप्ता थप लम्बिनेछ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भन्नुभयो, “यो केवल थप १६ टोली खेलाउने कुरा मात्र होइन, यो निर्णयले सदस्य राष्ट्रहरूलाई समग्र रूपमा महिला फुटबल संरचना विकास गर्न प्रेरित गर्नेछ ।”

    महिला विश्वकपको सुरुआत सन् १९९१ मा १२ टोलीसहित भएको थियो। त्यसपछि सन् २०११ सम्म १६ टोलीले भाग लिए भने क्यानडा र फ्रान्समा सम्पन्न सन् २०१९ संस्करणमा २४ टोली सहभागी थिए । सन् २०२३ मा अष्ट्रेलिया र न्युजिल्यान्डद्वारा सह–आयोजित प्रतियोगितामा पहिलोपटक ३२ टोली सहभागी भएका थिए । सन् २०२७ मा आगामी विश्वकप ब्राजिलमा आयोजना हुनेछ । यसैबीच, पुरुष विश्वकप पनि सन् २०२६ देखि ४८ टोलीसहित आयोजना हुँदैछ, जुन संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन् ।

  • भारत-पाकिस्तान तनाव : आइपिएल स्थगित

    भारत-पाकिस्तान तनाव : आइपिएल स्थगित

    भारत र पाकिस्तान बीचको तनाव सङ्गै भारतले सबैभन्दा ठूलो क्रिकेट इभेन्ट इन्डियन प्रिमियर लिग स्थगित गरेको छ । भारतीय क्रिकेट बोर्डले यस्तो निर्णय लिएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार आजबाट खेलहरु हुने छैनन् ।

    विदेशी खेलाडीलाई सुरक्षित घर फर्काउने अभियानलाई प्राथमिकता दिइने बताइएको छ । साथै परिस्थिति हेरेर नयाँ मिति घोषणा गर्ने समेत बिसिसिआइले जनाएको छ । अहिलेसम्म आइपिएलमा ५८ खेल भइसकेका छन् । यसअघि बिहिवारको खेल चल्दाचल्दै बन्द गरिएको थियो ।

  • ललितपुरले जित्यो एनएसएलको उपाधि

    ललितपुरले जित्यो एनएसएलको उपाधि

    १३ वैशाख, काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । ललितपुरले उपाधिसहित रु ८० लाख प्राप्त ग¥र्यो भने पोखराले रु ३० लाख पायो । ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । ललितपुरले खेलको ४२औँ मिनेटमा अग्रता बनायो । उसका लागि इमोह इजाकियलको गोल गरे । पहिलो हाफमा ललितपुरले १–० को अग्रता बनायो ।

    खेलको ६४औँ मिनेटमा भने सुदील राइले पोखरालाई खेलमा फर्काए । स्टेफन समीर बिनोङले हेडरमार्फत प्रहार गरेको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले बचाएका थिए तर रिबाउन्डमा आएको बललाई सुदीलले गोलमा परिणत गरे । त्यसपछि खेलको ७४औंँ मिनेटमा पोखराका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा इमोहको क्रसमा पापा इबाउले बक्सभित्रबाट गोल गरे । ललितपुर प्रतियोगितामा अपराजित रहँदै अङ्क तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा दुई पटकको उपविजेता धनगढी एफसीलाई पराजित गरेको थियो ।

    ललितपुरले लिग चरणको सुरूआतमा काठमाडौंँसँग २–२ को बराबरी खेलेको थियो । त्यसपछि पोखरामाथि ३–२ को जित निकाल्यो । धनगढीसँग गोलरहित बराबरी, चितवनमाथि २–१, बुटवलविरुद्ध २–० को जित र झापासँग १–१ को बराबरी खेल्दै प्रतियोगितामा अपराजित रह्यो । यस्तै, ३ जित र ३ बराबरीसहित १२ अङ्क जोड्दै ललितपुरले अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको थियो । ललितपुरले धनगढीलाई २–१ ले हराउदै फाइनल यात्रा तय गरेको थियो । पोखराले लिग चरणको सुरुआत चितवनसँग २–० को हारबाट गरेको थियो । त्यसपछि ललितपुरसँग ३–२ ले पराजित भयो ।

    काठमाडौँमाथि २–० को जितले पुनरागमन गर्दै धनगढीसँग गोलरहित बराबरी र झापासँग १–१ गोलको बराबरी खेलेपछि बुटवलमाथि २–० को जित निकालेको थियो । २ जित, २ बराबरी र २ हारसहित पोखराले ८ अङ्क जोड्दै गोलअन्तरको आधारमा काठमाडौँलाई पछि पार्दै प्लेअफमा पुग्ने चौँथो टोली बनेको थियो । इलोमिनेटरमा चितवनसँग लिग चरणमा भोगेको हारको बदला लिँदै ३–० को जित निकाल्यो । दोस्रो क्वालिफायरमा धनगढीलाई १–० ले हराउँदै पोखराले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

  • प्रधानमन्त्री र ब्राजिलियन फुटबलस्टार कार्लोसबीच भेटघाट

    प्रधानमन्त्री र ब्राजिलियन फुटबलस्टार कार्लोसबीच भेटघाट

    १० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भेटघाट भएको छ । विश्वविजेता कार्लोस नेपाल सुरपल लिग एनएसएल को तेस्रो सिजनको खेल हेर्न काठमाडौँमा छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए ।

    प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।

  • छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा फर्कियो खेलकुद रौनक

    छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा फर्कियो खेलकुद रौनक

    ६ वैशाख, बाँके । लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रङ्गशालामा रौनक थपिएको छ ।
    बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब छ वर्षसम्म ठूलो प्रतियोगिता हुन नसक्दा अलपत्र रहेको नेपालगञ्ज रङ्गशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताए ।

    “लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबलका लागि रङ्गशालालाई चिटिक्क पारिएको छ, आठौँ राष्ट्रिय खेलकुदपछि ठूलो प्रतियोगिता नेपालगञ्ज रङ्गशालामा भएकाले स्थानीय खेलाडी तथा फुटबलप्रेमीमा खुसी छाएको छ”, अध्यक्ष शाहीले भने, “नियमति रुपमा ठूला खेलकुद प्रतियोगिता हुनसके नेपालगञ्ज रङ्गशालाको रौनक अझै बढ्दै जानेछ ।”

    अन्तरराष्ट्रियस्तरको प्रतियोगिता भएकाले लुम्बिनी कप महिला फुटबललाई लक्षित गरी केही महिनादेखि नै रङ्गशालाको सजावट थालिएको थियो । नियमित पानी राख्दा दुबो पलाएर यतिबेला रङ्गशालामा हरियाली छाएकोे लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजक अन्तरालाका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । विगतमा सरसफाइ र मर्मतमा उचित बजेट नहुँदा जीर्ण बन्दै गएको यो रङ्गशालामा नियमित अभ्यास हुन सकेको थिएन ।

    आठौँ राष्ट्रिय खेलकुदपछि पहिलोपटक प्रतियोगिता सुरु भएपछि रङ्गशालामा चहलपहल बढेको साविक मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए । आठौँ राष्ट्रिय खेलकुदका बेला रोपिएको रु ४० लाखको बर्मुडा दुबोको नामोनिसान मेटिए पनि दैनिक स्याहार गर्दा स्थानीय दुबो पलाएर अहिले नेपालगञ्ज रङ्गशाला आकर्षक देखिएको छ ।

    जिल्ला फुटबल सङ्घ बाँकेको सहकार्यमा शुक्रबार सुरू भई वैशाख १२ गतेसम्म चल्ने ‘लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल’ प्रतियोगितामा भारतको सिलगुडीसहित आठवटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता समूहले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता समूहले रु दुई लाख ५० हजार, ट्रफी, मेडल प्राप्त गर्ने आयोजक अन्तरालका प्रमुख कार्यकारी शाहले जानकारी दिए ।

  • पोर्चुगलमा ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता हुने

    पोर्चुगलमा ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता हुने

    ४ वैशाख, काठमाडौं । मोन्तिजो नेपाली समाज, पोर्चुगलले प्रथम ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर समाजले यही अप्रिल २० तारिखका दिन प्रथम मोन्तिजो कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । खेलकुदको माध्यमबाट नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समाजका अध्यक्ष प्रवल भट्टराईले जानकारी दिए ।

    पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा पोर्चुगलमा क्रियाशील नेपाली सङ्घसंस्था र क्लबका गरी १६ भन्दा टोलीको सहभागिता रहने उनले बताए । प्रतियोगिताबाट बचत भएको रकमले पोर्चुगलमा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने संस्थाको योजना रहेको उनले जानकारी दिए । प्रतियोगिताको विजेताले तीन हजार ५०० युरो नगद, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछभने उपविजेताले दुई हजार युरोसहितपुरस्कार प्राप्त गर्नेछ ।

    यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकीपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई कप तथा प्रमाणपत्रले पुरस्कृत गरिने समाजले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि पोर्चुगलस्थित सङ्घसंस्था, क्लबका साथै खेलप्रेमीहरूलाई समाजले विशेष आग्रहसमेत गरेको छ । मोन्तिजोस्थित नगरपालिकाको खेल मैदानमा खेल हुने समाजले जनाएको छ । सन् २०२३ मा स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै विभिन्न खालका सामाजिक एवं रचनात्मक गतिविधिहरू गर्दै आएको छ ।

  • यू-१९ विश्वकप एसिया छनोट आजबाट काठमाडौंमा

    यू-१९ विश्वकप एसिया छनोट आजबाट काठमाडौंमा

    काठमाडौं । आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपको एसिया छनोट आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । मुलपानीस्थित दुई मैदानमा सञ्चालन हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दैछ । खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । अघिल्लोपटक नेपालले यूएईमाथि नै रोमाञ्चक जित निकालेर विश्वकपमा छनोट भएको थियो जतिबेला दिपेश कँडेलले म्याच विनिङ ह्याट्रिक लिएका थिए ।

    यसपटक अफगानिस्तान पनि छनोटमा तानिएको छ, त्यसकारण अफगानिस्तान पनि नेपालका लागि चुनौतीका रूपमा छ । छनोटअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले अफगानिस्तानसँग ३ खेलको शृंखला खेलेको थियो जहाँ २ खेल गुमाउँदा १ खेल जितेको थियो । नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यू–१९ विश्वकपमा छनोट हुने छन् ।

  • चार देशीय सिरिजको फाइनलमा आज नेपाल र कुवेत भिड्दै

    चार देशीय सिरिजको फाइनलमा आज नेपाल र कुवेत भिड्दै

    काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत भिड्दैछन् । खेल मोङ कोकमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी प्रतियोगितामा नेपालले २ जित निकाल्दा १ खेल नतिजाविहीन भएको थियो । कुवेतले २ जित निकाल्दा नेपालसँग पराजित भयो ।

    पहिलो खेलमा कतार तथा दोस्रो खेलमा कुवेतलाई हराएको नेपालले शनिबार हङकङसँग खेल्दै गर्दा वर्षाले खेल रोकिएपछि त्यसपछि सुरु हुन सकेन र दुवै टोलीले अंक बाँड्दा नेपालको ३ खेलमा ५ अंक भयो र चार टिममा शीर्षमा रह्यो । हङकङ र कतारलाई हराएको कुवेत ४ अंकसहित दोस्रो हुँदा आयोजक हङकङ भने ३ अंकमै सीमित रहेर फाइनल पुग्न सकेन । यसै वर्ष हुने आईसीसी टी–२० विश्वकप छनोटको तयारीका रूपमा नेपालले विभिन्न शृंखला तथा अभ्यास खेलहरू खेल्ने तय भएका छन् । यस प्रतियोगिता पनि त्यही तयारीको सुरुवाती हो ।

  • चारदेशीय टी–२० आई सिरिजको फाइनल पुग्यो नेपाल

    चारदेशीय टी–२० आई सिरिजको फाइनल पुग्यो नेपाल

    काठमाडौं । नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा पुगेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा आज भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो ।

    आज टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । हङकङले ९ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान अङ्क एकएक पाएका हुन् ।

  • धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने

    धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने

    २९ चैत, धरान । बक्सिङ खेलको प्रवर्द्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले धरानमा पहिलो पटक राष्ट्रियस्तरको ‘आइबिए प्रो एन्ड एमेचर महिला–पुरुष फाइट नाइट २०२५’ हुने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर आगामी वैशाख १२ गते यहाँ कार्यक्रम आयोजना गरिएको आयोजक धरान बक्सिङ सङ्घका अध्यक्ष दीपक राईले बताए । धरानमा राष्ट्रियस्तरको यो प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको उनले जानकारी दिए । प्रतियोगितामा ‘प्रोफेसनल’ (प्रो) र ‘एमेचर’ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगितामा कोशी प्रदेशबाट प्रो प्रतिस्पर्धामा धरान, धनकुटा, झापा र उदयपुर तथा गण्डकी प्रदेशका पोखरा र बाग्मती प्रदेशको काठमाडौँबाट खेलाडी सहभागि हुनेछन् । एमेचर विधामा भने धरान, धनकुटा, उदयपुर र झापाका खेलाडीले सहभागिता जनाउने धरान बक्सिङ संस्थाका सचिव महेश आले मगरले जानकारी दिए । ‘फाइट नाइट’ प्रतियोगितामा महिला र पुरुष दुवै राष्ट्रियस्तरका खेलाडीबीच प्रदेशस्तरीय प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता धरान उपमहानगरपालिका(१५ स्थित किरात याक्थुङ चुम्लुङहिमको हलमा विभिन्न साङ्गीतिक कार्यक्रमसहित हुने संस्थाका सचिव आले मगरले बताए । (

  • ब्राजिलको पोष्टमा अर्जेण्टिनाको चार गोल, विश्वकपमा छनोट

    ब्राजिलको पोष्टमा अर्जेण्टिनाको चार गोल, विश्वकपमा छनोट

    काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिलमाथि ४–१ को सानदार जित निकालेको छ । बोलिभियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेपछि यसअघि नै अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकपमा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले लिओनल मेसीविनै ब्राजिललाई हराएको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमीओनीले गोल गरे । ब्राजिलका लागि माथिउस कुन्हाले एक गोल फर्काए ।

    अल्भारेजले खेलको चौथो मिनेटमै थियागोल अल्माडाको पासमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । एन्जो फर्नान्डेजले १२औं मिनेटमा नाहुल मोलिनाको पासमा गोल गरी अग्रता दोब्बर पारे । कुन्हाले २६औं मिनेटमा गोल गर्दै ब्राजिलला२ खेलमा फर्काउने संकेत देखाएका थिए । तर म्याक एलिस्टरले ३७औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमै ३–१ को अग्रता दिलाए । दोस्रो हाफमा अर्जेटिनाले एक गोल थप्यो । अर्जेन्टिनाका लागि सिमीओनीले ७४औं मिनेटमा गोल गरे ।

    ब्राजिलमाथि जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा १४ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट २१ अंक रहेको ब्राजिल चौथो स्थानमा छ । १४ खेलबाटै २३ अंकसहित इक्वेडर दोस्रो र २१ अंक जोडेको उरुग्वे तेस्रो स्थानमा छ । यस्तै पाराग्वेको पनि समान २१ अंक छ र अंकतालिकामा पाँचौ स्थानमा छ ।

    कोलम्बिया २० अंकसहित छैटौं स्थानमा छ । दक्षिण अमेरिकी छनोटबाट शीर्ष ६ स्थानमा रहने टोली सिधै विश्वकपमा छनोट हुनेछ भने सातौं स्थानमा रहने टिमले अन्तरमहादेशिय प्लेअफ खेल्नेछ । छनोट अन्तर्गत उरुग्वे र बोलिभिया तथा इक्वेडर र चिलीले गोलरहित बराबरी खेलेका थिए । यस्तै कोलम्बिया र पाराग्वेले २(२ को बराबरी खेल्दा भेनेजुएलालेल पेरुलाई १० ले हरायो ।

  • एएफसी एसियन कप २०२७ को छनोट : नेपाल र मलेसिया आज भिड्दै

    एएफसी एसियन कप २०२७ को छनोट : नेपाल र मलेसिया आज भिड्दै

    काठमाडौं । एफसी एसियन कप २०२७ को छनोट चरणको तेस्रो चरणमा नेपालले मंगलबार आफ्नो पहिलो खेल मलेसियासँग खेल्दैछ। छनोटमा नेपाल समूह एफ मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्। खेल नेपाली समयअनुसार राति ७ः४५ मा मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा हुँदैछ । यो खेल नेपालमा हुनु पर्ने थियो । तर दशरथ रंगशालालाई एसियाली फुटबल महासंघले मान्यता दिएको छैन ।

    यो छनोटअघि नेपालले शुक्रबार सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलमा हराएको थियो । नेपालका प्रशिक्षक म्याट रसले मलेसियाविरूद्ध जितका लागि खेल्ने बताएका छन्। उनले नेपालले तीन अंकका लागि खेल्ने बाहेक अरु नसोचेको बताए । उनले मलेसिया बलियो टोली भएको बताउँदै बराबरीमा पनि सन्तुष्ट हुन सकिने भए पनि नेपालको सोच जित मात्र भएको प्रतिक्रिया दिए।

    कप्तान किरण चेम्जोङले पनि मलेसियामा राम्रो खेल खेल्ने विश्वास गरेका छन्। नेपाल र मलेसियाबीच अन्तर्राष्ट्रिय फुटबलमा आठौं पटक प्रतिस्पर्धा हुन लागेको हो। नेपालले यसअघि खेलेका सात खेलमा जित निकाल्न सकेको छैन। सातमध्ये छ खेलमा मलेसिया विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ। फिफा वरीयतामा नेपाल १७५औं स्थानमा छ। मलेसिया नेपालभन्दा ४३ स्थानमाथि १३२औं स्थानमा छ।

    छनोटमा मलेसियासँग खेलेपछि नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग होम म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ। सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ।

  • विराट चम्किएपछि पहिलो खेलमै विजयी भयो आरसीबी

    विराट चम्किएपछि पहिलो खेलमै विजयी भयो आरसीबी

    काठमाडौं । विराट कोहली र फिलिप साल्टले अर्धशतक बनाएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औं संस्करणमा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा बेंगलुरुले साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो । कोलकाताले दिएको १७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।

    विराट कोहली ५९ रनमा अविहित रहे भने साल्टले ५६ रन बनाए । रजत पाटिदारले ३४ रन बनाए । लियाम लिभिङस्टोन १५ रनमा अविजित रहे । कोलकाताका वरुण चक्रवर्ती, वैभव अरोरा र सुनिल नरयानले समान १ विकेट लिए । त्यसअघि इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो । कप्तान अजिन्क्या रहानेले तथा सुनिल नरायनले ४४ रन बनाए ।

    अंग्क्रिश रघुवंशीले ३० रन बनाए । बेंगलुरुका क्रुनाल पाण्ड्याले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । जोश हेजलवूडले २ तथा यश दयाल, सुयाश शर्मा र रसिख सलामले १(१ विकेट लिए । यस जितसँगै बेंगलुरुले २ अंक जोडेको छ भने नेट रनरेट पनि सुरुवातमै राम्रो हासिल गरेको छ । आइतबार दुई खेल हुनेछन् । दिउँसो पौने ४‌ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्ने छन् भने बेलुकी पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने छन् ।

  • आइपीएलको १८ औं संस्करण आजबाट

    आइपीएलको १८ औं संस्करण आजबाट

    काठमाडौं । विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ ।
    उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ । उद्घाटन खेलअघि चर्चित कलाकारहरूले प्रस्तुति दिने पनि तय छ ।

    अभिनेत्री दिशा पटनी, गायिक श्रेया घोसाललगायतको प्रस्तुति रहनेछ । गत सिजनको फाइनलमा सनराइजर्स हैदराबादलाई हराउँदै तेस्रो उपाधि जितेको कोलकाताले पहिलो खेलदेखि नै विजयी सुरुवात गर्दै उपाधि रक्षा गर्ने अभियानमा हुनेछ । त्यस्तै हालसम्म उपाधि जित्न नसकेको बेंगलुरु यसपटक नयाँ कप्तानको साथमा पहिलो उपाधि जित्ने लक्ष्यमा फेरि पनि रहनेछ ।

    सन् २००८ देखि सुरु भएको आईपीएलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले समान ५ उपाधि जित्दै सर्वाधिक सफल टोली हुन् । त्यस्तै कोलकाताले तीनपटक उपाधि जित्दा डेक्कन चार्जर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १(१ पटक उपाधि जितेका छन् ।

  • नेपाली फूटबल टोली मलेसिया पुग्यो

    नेपाली फूटबल टोली मलेसिया पुग्यो

    काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेल खेल्न नेपाल शनिबार मलेसिया पुगेको छ । शुक्रबार सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली उतैबाट मलेसिया गएको हो । छनोटमा नेपालले मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ । नेपालले शुक्रबार सिंगापुरलाई हराउँदै इतिहास रचेको थियो । मलेसियाविरुद्ध सोही लय कायम गर्ने लक्ष्य नेपालको छ ।

  • सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

    सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

    काठमाडौं । जिलेस्पी जंग कार्कीको एक मात्र गोलको मद्दतमा नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित निकालेको छ । सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई १–० ले पराजित गरेको हो । नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको क्रसमा जिलेस्पीले पेनाल्टी बक्समा वान टच गोल गरेका हुन् ।

    त्यसपछि पनि नेपालले खेलमा गोल गर्ने मौका पाएको थियो तर सदुपयोग भएन । सिंगापुरले घरेलु मैदानमा बराबरी गोल फर्काउने लगातार प्रयास गरे पनि सफल भएन । सिंगापुरले अन्तिमतिर लगातार आक्रमण गरे पनि नेपाली डिफेन्स र कप्तान तथा गोलकिपर किरणले बचाएका थिए । एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारी स्वरुप सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि नेपालले सिंगापुरलाई हराउन सकेको थिएन ।

    तीन अफिसियल खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो भने नेपालमा भएको सिल्भर जुब्ली कपमा नेपाल र सिंगापुरले बराबरी खेलेको थियो ।
    नेपालले अब एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ ।