Category: खेलकुद

  • जनकपुर बोल्ट्सलाई एनपीएलको उपाधि, रच्यो इतिहास

    जनकपुर बोल्ट्सलाई एनपीएलको उपाधि, रच्यो इतिहास

    काठमाडौं । जनकपुर बोल्ट्सले प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जितेको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाए । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गर्न सफल भयो ।

    सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिंदै जनकपुर च्याम्पियन बन्न सफल भयो । बलिङमा सुरुमा रन खर्चिए पनि पुनरागमन गर्दै सुदूरपश्चिमलाई १८४ रनमै रोकेपछि जनकपुरले जवाफमा उत्कृष्ट ब्याटिङ गर्दै खेल जितेको हो ।

    जनकपुरलाई च्याम्पियन बनाउन मिलान्थाले फाइनलमा उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बल खेल्दै ९ चौका र ४ छक्काको मदतमा सर्वाधिक ८७ रन बनाएका हुन् । पहिलो विकेटका लागि मिलान्था र कप्तान आसिफ शेखले ७३ रनको साझेदारी गरेका थिए ।

    आसिफले सातौं ओभरको अन्तिम बलमा आउट हुनुअघि १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए । यस्तै हर्शक थाकरले अविजित ३० रन जोडे । थाकरले २४ बल खेल्दै २ छक्का प्रहार गरे । वान डाउनमा ब्याटिङमा आएका मोहम्मद मोहसिनले ९ रन बनाएर आउट भए । जिमी नीशम ४ र आकाश त्रिपाठी २ रनमा आउट भए । विजयी रन प्रहार गरेका मयन यादव २ रनमा अविजित रहे ।

    बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइन, कप्तान दीपेन्द्र सिंह ऐरी, सैफ अली जैब र इशान पाण्डेले समान १–१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

    सुदूरपश्चिम रोएल्सका ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का मदतमा सर्वाधिक ६९ रन बनाएका हुन् । अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्दै १ चौका र ३ छक्का मदतमा ४१ रन जोडे । जैब र विनोदले पहिलो विकेटका लागि १२ ओभरमा ११७ रनको साझेदारी गरेका थिए ।

    ओपनरले राम्रो सुरुवात दिलाए पनि मिडल अर्डर र लोअर अर्डरले राम्रो कन्ट्रिब्युट गर्न सकेनन् । सुदूरपश्चिमले अन्तिम दुई ओभरमा ५ विकेट गुमाएको थियो । बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३–३ विकेट लिए । जनकपुरका ललित राजवंशीले किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै १५ रन मात्र खर्चेर १ विकेट लिए ।

    जारी एनपीएलमा ललितले सर्वाधिक ५ मेडन फालेका छन् । जनकपुरका ललित र सुदूरका स्कट कुगेलेइन दुवैले संयुक्त रुपमा सर्वाधिक १७ विकेट लिए । फाइनलमा सानदार ब्याटिङ गर्दै विजयी इनिङ्स खेलेका मिलान्था सर्वाधिक रन बनाउने खेलाडी बने । पहिलो खेलमा पनि अर्धशतक बनाएका उनले दुई अर्धशतक सहित १० खेलमा सर्वाधिक २९३ रन बनाएका हुन् ।

  • एनपीएल फाइनल आज : विजेताले सवा करोड पुरस्कार सहित इतिहास रच्दै

    एनपीएल फाइनल आज : विजेताले सवा करोड पुरस्कार सहित इतिहास रच्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरू हुने फाइनल खेल नेपाली क्रिकेटका लागि एक इतिहास बन्ने छ । नेपालमा सर्वाधिक पुरस्कार राशी र चर्चा कमाएको यो प्रतियोगिताले विश्व क्रिकेटमा राम्रो छाप पार्न सफल भएको छ ।

    फाइनल खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी र जनकपुरका कप्तान आसिफ शेख दुवैले हजारौं दर्शकमाझको यस फाइनल खेलका लागि तयार रहेको बताए । मैदानमा दर्शकको उपस्थितिले ऊर्जा र मोटिभेसन मिल्ने दुवैको साझा धारणा थियो ।

    राम्रो तालिम भइरहेको बताउँदै सुदूरका कप्तान दिपेन्द्रले जनकपुरलाई लिग चरणमा दुईपटक हराएको भएपनि हल्का रूपमा लिन नहुने बताए । ‘जनकपुरको टिम पनि राम्रो छ, टफ नै हुन्छ । हामी जुन प्लानिङ गर्दै खेलिरहेका छौं त्यसैगरी फाइनलको लागि पनि तयारी गरिरहेका छौं’ दिपेन्द्रले भने ।


    जनकपुरका कप्तान आसिफले सुदूरपश्चिम बलियो टोली रहेको बताउँदै पछिल्ला खेलमा आफूहरूले बेस्ट दिन नसकेको उल्लेख गरे । जित्नु छ भने आफ्नो बेस्ट दिनुपर्छ, दुई खेल खेल्दा पनि बेस्ट दिएका छैनौं, शनिबारको खेलमा उत्कृष्ट खेल्ने प्रयास रहनेछ, कम्पिटेटिभ हुनेछ गेम’ उनले भने, ‘हामी प्रोसेसलाई फलो गर्दै जाने हो, खेलाडीहरूलाई ब्याक गरिराख्छौं अनि हौसला पनि दिइरहेका छौं।’

    सुदूर र जनकपुर प्रतियोगितामा तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि लिग चरणमा भएको भेटमा सुदूरले जनकपुरलाई ५१ रनमा अलआउट गर्दै ७२ रनको फराकिलो जित निकालेको थियो । त्यसैगरी पहिलो क्‍वालिफायरमा जनकपुरमाथि ८ विकेटको जित निकालेर सुदूर सोझै फाइनलमा पुगेको थियो ।

  • एनपिएल : फाइनल प्रवेशका लागि कर्णाली र जनकपुर भिड्दै

    एनपिएल : फाइनल प्रवेशका लागि कर्णाली र जनकपुर भिड्दै


    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

    खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ । लिग चरणमा चौथो स्थानमा रहेको कर्णाली याक्सले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो ।

    लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर वान मा सुदूरपश्चिम रोएल्ससलाई पारजित भएपछि क्वालिफायर टु खेल्न लागेको हो । सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर प्राप्त भएको छ ।

    लिगको अन्तिम खेलमा पराजित भएपनि कर्णालीले एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई हराएकोले लयमा छ । चितवन विरुद्ध विशेषगरी कर्णालीको ब्याटिङ राम्रो देखिएको थियो । त्यसमा विदेशी खेलाडीहरुको प्रदर्शन अझ प्रभावकारी रह्यो । त्यही अनुसार नेपाली ब्याटरले ब्याटिङ गरेमा कर्णालीको ब्याटिङ अज राम्रो बन्नेछ ।

  • एसीसी यू-१९ महिला एसिया कप : आज नेपाल र श्रीलंका भिड्दै

    एसीसी यू-१९ महिला एसिया कप : आज नेपाल र श्रीलंका भिड्दै


    काठमाडौं । मलेसियामा जारी  एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा आज देखि सुपर फोर चरणका खेलहरु सुरु हुनेछन् ।

    नेपालले सुपर फोरको पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।

    नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका भने समूह ए को दुवै खेल जितेर समूह विजेता बनेको थियो ।

    भारत र पाकिस्तानजस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो । भारतविरुद्ध दोस्रो खेल भने वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडेका थिए । समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेको हो ।

    समूह ए बाट बंगलादेश दुवै खेल जितेर समूह विजेताको हैसियतमा सुपर फोरमा पुग्दा श्रीलंकाले एक खेल जितेको थियो । पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराएको श्रीलंका त्यसपछि बंगलादेशसँग पराजित भएको थियो ।

    पाकिस्तानलाई पराजित गर्दै मनोबल उच्च बनाएको नेपालले श्रीलंकाविरुद्ध सुपर फोरमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

  • कर्णाली याक्स एनपिएल क्वालिफायरमा

    कर्णाली याक्स एनपिएल क्वालिफायरमा


    काठमाडौं । चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ ।एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो 
    कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ । १७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो ।


    चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । अन्यबाट उल्लेख्य योगदान हुन सकेन । जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिए ।
    बोपाराले ३४ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा ५३ रन बनाए । एनपीएलमा उनको यो तेस्रो अर्धशतक हो । कप्तान कुशल मल्लले २१ रन बनाए ।

    त्यसअघि जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाए । यस्तै बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए ।

    चाडविक वाल्टनले अविजित ४६ रन जोडे । २३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । जिसन मक्सुदले १४ रन योगदान गरे ।ओपनर रित गौतम र गुल्सन झाले खाता खोल्न सकेनन् । बलिङमा चितवनका सोहेल तनविरले २ तथा रवि बोपारा र कप्तान कुशल मल्लले समान एक विकेट लिए ।

  • एनपिएल : चितवन कर्णाली बिच खेल जारी

    एनपिएल : चितवन कर्णाली बिच खेल जारी


    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटर खेलमा बुधबार (आज) चितवन राइनोज र कर्णाली याक्सबिच प्रतिस्पर्धा सुरु भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा चितवनले टस जितेर पहिले फिल्डिङ रोजेको छ । चितवनका कप्तान कुशल मल्लले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिए ।  

    यस खेल दुवै टोलीका लागि ‘नकआउट’ हुनेछ । यस खेलमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । जित्ने टोलीले भने फाइनल पुग्न अर्को खेल खेल्न पाउनेछ । 

    लिग चरणमा चितवनले सात खेलमा चार जित र तीन हारको नितजासहित आठ अङ्क जोडेर तेस्रो बन्दै प्लेअफमा स्थान बनाको हो । कर्णाली पनि सोही नजिता र समान आठ अङ्क जोड्दै नेट रन रेटको आधारमा प्लेअफमा पुगेको थियो ।

    चितवन आज लिग चरणमा कर्णालीसँग हारेको बदला लिने दाउमा छ । यता कर्णाली लिग चरणको जितलाई कायम राख्दै अगाडि बढ्ने अभियानमा छ । लिग चरणको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो ।

    आजै दिउँसो पहिलो क्वालिफायर खेलमा लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्स प्रतिस्पर्धा हुँदैछ । 

  • एनपिएल बिजेताले १ करोड १० लाख पाउने

    एनपिएल बिजेताले १ करोड १० लाख पाउने


    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो ।

    क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् ।

    प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ । प्रतियोगिताको पुरस्कार घोषणा आज गरिएको हो ।

    एनपीएलमा बुधबारदेखि प्लेअफका खेलहरू सुरू हुँदे छन् । सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स शीर्ष चारमा रहँदै प्लेअफमा पुगिसकेका छन् ।

  • २०३४ विश्वकप साउदी अरेबियामा

    २०३४ विश्वकप साउदी अरेबियामा


    काठमाडौं । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा हुने भएको छ । ४८ टोली सहभागी यो संस्करणको विश्वकप पहिलोपटक एकमात्र राष्ट्रले आयोजना गर्ने ४८-देशीय विश्वकप हुनेछ ।

    साउदी अरेबियाका पाँच आयोजक शहरहरू रियाद, जेद्दा, अल खोबर, आभा र निओमका १५ वटा रङ्गशालाहरूमा खेलहरू खेलाइने एजन्सीले जनाएको छ ।
    ९२ हजार दर्शक क्षमता भएको रियादको किंग सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुने अनुमान गरिएको छ । खेल हुने १५ रङ्गशालाहरूमध्ये ४ वटा रङ्गशालाहरू बनेको बीबीसीले जनाएको छ ।

    त्यसैगरी स्पेन, पोर्चुगल र मोरक्कोले सन् २०३० को विश्वकप संयुक्त रूपम आयोजना गर्नेछन्  । प्रतियोगिताको १०० वर्ष पुगेको उपलक्ष्यमा सन् २०३० मा हुने प्रतियोगिताका तीन खेलहरू अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछन् ।

  • एनपीएल : आज दुई खेल हुँदै

    एनपीएल : आज दुई खेल हुँदै

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा जनकपुर र सुदूरपश्चिम भिड्नेछन् । दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । पहिलो खेल दिउँसो १ बजे र दोस्रो खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

    चार वटै टोलीलाई आजको खेल महत्वपूर्ण छ । जनकपुर र सुदूरपश्चिमबीचको खेललाई फाइनल अगाडीको रिहर्सलका रुपमा हेरिएका छ । दुबै टोलीले उत्कृष्ट क्रिकेट पस्किरहेका छन् । काठमाण्डु र लुम्बिीनको खेलमा भने आफ्नो अस्तित्व जिवित राख्ने प्रयास हुनेछ ।

  • विश्व क्रिकेटका स्टार ब्रायन लारा नेपाल आउँदै

    विश्व क्रिकेटका स्टार ब्रायन लारा नेपाल आउँदै

    काठमाडौं । वेष्टइण्डिजका पूर्व कप्तान एवम् लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग आयोजक क्यानले लारा एनपीएलकै सन्दर्भमा नेपाल आउन लागेको जानकारी गराएको छ । ‘ब्रायन लारा यो हप्ता भित्र आइपुग्ने भएका छन् । उनी अहिले भइरहेको एनपीएल हेर्न आउन लागेको बताइएको छ ।

    लाराको आगमनले प्रतियोगिताले थप नयाँ उचाइ लिने क्यानको भनाइ छ । उनी पहिलोपटक नेपाल आउन लागेका हुन् । यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी–२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै उनले आफू नेपाल आउन चाहेको बताएका थिए ।

  • एनपीएलमा आज दुई खेल

    एनपीएलमा आज दुई खेल

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्नेछन् । चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा छ। उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अंक छ।

    कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ। कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अंक जोडेको छ। कर्णाली चौथो स्थानमा छ। पोखरा एभेन्जर्स दुई अंकसहित पाँचौं थानमा छ। उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ। लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ।

  • एभरेष्ट वेसक्याम्पमा पुगे क्रिकेटर धवन

    एभरेष्ट वेसक्याम्पमा पुगे क्रिकेटर धवन

    काठमाडौं । नेपाल प्रिमियर लिए (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका छन् ।
    उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरुले ३–४ घन्टा एभरेस्ट बेसक्याम्पमा बिताएका थिए ।

    एभरेस्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् । यसअघि उनले पशुपतिनाथ मन्दिरको दर्शन समेत गरेका थिए । शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् ।

    कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए । उनलाई कर्णालीले प्रत्येक खेलको ३० हजार डलर पारिश्रमिक दिने गरी एनपीएलमा भित्राएको थियो । भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए । ‘राम्रो अनुभव भयो । नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाएँ’ उनले भने ।

  • विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

    विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

    काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्चक खेलमा कर्णालीले विराटनगर किङ्ग्सलाई सात रनले हरायो । जितका लागि एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटिएको थियो । विराटनगरका लागि निकोलश कीर्तनले सर्वाधिक ४० रन बनाए । ओपनर लोकेश बमले १९ र दीपक बोहराले १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन् सकेनन् ।

    बलिङमा कर्णालीका नन्दन यादवले कसिलो बलिङ गर्दै तीन विकेट लिए । उनले चार ओभरमा १९ रन खर्चिए । विपिन शर्माले दुई तथा युनिस ठकुरी, विलियम वसिस्टो र कप्तान सोमपाल कामीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो ।

    कर्णालीका लागि विलियम वसिस्टो र देव खनालले अर्धशतकीय इनिङ्स खेले । विलियमले सर्वाधिक ६६ रन बनाए । उनले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाए । देवले ४८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा विराटनगरका प्रतिश जिसी चार विकेट लिए ।


    उनले १७ रन खर्चिए । वसिर अहमद र क्रिस सोलले दुई दुई तथा अकिव इल्यासले एक विकेट लिए । कर्णालीको यो चार खेलमा दोस्रो जित हो । यता चार खेल खेलेको विराटनगरले तेस्रो हार खेपेको छ ।

  • एनपीएल : लुम्बिनीको लगातार तेस्रो हार

    एनपीएल : लुम्बिनीको लगातार तेस्रो हार

    काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित निकाल्दै लुम्बिनी लायन्सले भने लगातार तेस्रो खेल गुमाएको छ । शनिबार सम्पन्न खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

    सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । १९ रनमै ५ विकेट गुमाएको लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए । अविजित रहेका उनले ५४ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले २० तथा दिनेश अधिकारीले १४ रन बनाए भने बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका तीन खेलाडीले खाता समेत खोल्न सकेनन् ।

    बलिङमा सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलेन ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । यस्तै सैफ जैबले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट नै लिए । स्कट कुगेलेइनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । त्यसअघि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सैफ जैबको सानदार ब्याटिङमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

    ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ९० रन बनाए । शतकतर्फ अग्रसर भएका जैब १८ ओ ओभरको चौथो बलमा आउट भए । उनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४९ रनको साझेदारी गरेका थिए भने त्यसपछि दुई अर्धशतकीय साझेदारी गरे । जैब र ब्राण्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि जैब र कप्तान दीपेन्द्र सिंह ऐरीले ५३ रनको साझेदारी गरे ।

    म्याकमुलेनले २० बलमा २३ तथा विनोदले १३ बलमा १७ रन जोडे । आरिफ शेख खाता नखोली आउट भए । कप्तान दीपेन्द्रले १९ बल खेल्दै ४ चौका र २ छक्का मदतमा अविजित ३९ रन बनाए । स्कट कुगेलेइन ११ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेल र विवेक यादवले ११ विकेट लिए ।

  • अमेरिकी ब्याटर एन्ड्रिस बने एनपीएलमा शतक हान्ने पहिलो खेलाडी

    अमेरिकी ब्याटर एन्ड्रिस बने एनपीएलमा शतक हान्ने पहिलो खेलाडी

    काठमाडौं । अमेरिकी ब्याट्सम्यान एन्ड्रिस गौस र दीनेश खरेलले विस्फोटक ब्याटिङ गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हरायो । जितका लागि एक सय ७१ रनको चुनौती पूर्ण लक्ष्य पोखराले १६.५ ओभरमा विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । पोखराका लागि एन्ड्रिसले ऐतिहासिक शतक पूरा गरे ।


    उनले ५५ बलमा १२ चौका र पाँच छक्काको सहयोगमा अविजित एक सय चार रन बनाए । यो जारी एनपीएलमा कुनै पनि खेलाडीले एउटै इनिङ्समा बनाएको सर्वाधिक रन हो । एन्ड्रिस प्लेयर अफ दि म्याच बने । ओपन दीनेशले अविजित ६१ रन बनाए । उनले ४६ बलमा चार चौका र चार नै छक्का हाने । एन्ड्रिस र दीनेशको यो सर्वाधिक एक सय ७६ को पाटनरसिप हो ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । लुम्बिनीले चुनौतीपूर्ण लक्ष्य खडा गरेपछि बलिङ चल्न नसक्दा हार खेप्न बाध्य बन्यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अविजित ९५ रन बनाएका थिए । उनले ५९ बलमा १० चौका र चार छक्काको सहयोगमा उक्त रन बनाए । टोम मूर्सले ४५ रन बनाए । उनले ३८ बलमा दुई चौका र दुई छक्का हाने । सन्दीप जोराले १८ रन जोडे ।

    बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिए । म्याट क्रिच्ट्लीले एक विकेट लिए । दोस्रो खेल खेलेको लुम्बिनीको यो दोस्रो नै हार हो । यसअघि लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो । तीन खेलमा पहिलो जित निकालेको पोखराले यसअघि चितवन राइनोज र जनकपुर बोल्ट्ससँग हार खेपेको थियो ।

  • दशौं राष्ट्रिय खेलकुदको मिति तय

    दशौं राष्ट्रिय खेलकुदको मिति तय

    काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८१ चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य(सचिव टंकलाल घिसिङले जानकारी दिए ।

    यसअघि राखेपले दशौं राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ कात्तिक २ गते बसेको राखेपको ११५ औं बोर्ड बैठकले उक्त मितिमा दशौं राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

  • नेपाली फुटबल टिमकी कप्तान एन्जिलाले ग्रिसमा व्यवसायिक फुटबल खेल्ने

    नेपाली फुटबल टिमकी कप्तान एन्जिलाले ग्रिसमा व्यवसायिक फुटबल खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाले ग्रीसको सुपर लिग क्लब नीस अत्रोमितोउबाट खेल्ने भएकी छन् । उनले स्वीडिस एजेन्टमार्फत् नीस अत्रोमितोउसँग गएको ‘सेप्टेम्बर’ मै सम्झौता गरेकी थिइन् ।

    तर भिसा प्रक्रिया र साफ महिला च्याम्पियनशिप २०२४ खेल्न राष्ट्रिय टिमसँग रहेकाले उनले ग्रिक सुपर लिगका सुरुआती खेल गुमाएकी छिन् । उनले क्लबसँग २०२५ ‘मे’ सम्मका लागि हस्ताक्षर गरेकी छन् ।

  • एसीसी यु १९ एसिया कप : नेपालको सान्त्वना जित

    एसीसी यु १९ एसिया कप : नेपालको सान्त्वना जित

    काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सान्त्वना जित निकालेको छ । यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा मङ्गलबार अफगानिस्तानलाई एक विकेटले हरायो । संयुक्त अरब इमिरेट्स (युएई) स्थित शारजाह क्रिकेट स्टेडियममा जितका लागि अफगानिस्तानले दिएको एक सय २४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो ।

    नेपालका लागि नरेन साउदले २६ रन बनाउनुभयो । कप्तान हेमन्त धामीले अविति २२, अर्जुन कुमालले २१ र अभिषेक तिवारीले १३ रन बनाउनुभयो । बलिङमा अफगानिस्तानका खातिर खान स्तानिकजाई र अल्लाह गजन्फरले तीन तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तान ३५.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो ।

    अफगानिस्तानका लागि फैसल सिनोजादाले ५२ र खातिर स्टानिकजाईले १५ रन बनाए । बलिङमा नेपालका सन्तोष यादव र यूनिस ठकुरीले तीनरतीन विकेट लिए । हेमन्त धामी र अभिषेक तिवारीले दुई दुई विकेट झारे । समूह ‘बी’ मा रहेको नेपाल यसअघि बङ्गलादेशसँग पाँच विकेट र श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो ।

  • फुटबल खेलका दौरान गुएनामा भागदौड, कम्तिमा ५६ को ज्यान गयो

    फुटबल खेलका दौरान गुएनामा भागदौड, कम्तिमा ५६ को ज्यान गयो

    काठमाडौं । रेफ्रीको विवादास्पद निर्णयपछि उत्पन्न विवादबीच भएको भागदौडमा परेर दक्षिणपूर्वी गुएनामा ५६ को मृत्यु भएको सरकारले सोमबार पुष्टि गरेको छ । गुएनाको दोस्रो ठूलो सहर एनजेरेकोरेमा दुई प्रतिद्वन्द्वी टिमका समर्थकबीचको झपडमा यति ठूलो हताहत भएको हो भने मृत्यु हुनेमा बच्चाहरूसमेत रहेका छन् । गुएना सरकारका अनुसार घटना आइतबार एक फुटबल खेलका क्रममा भएको थियो । सैनिक नेता ममाडी डोम्बोयाको सम्मानमा आयोजित प्रतियोगिताको फाइनलमा स्थानीय लाबे र एनजेरेकोरे भिडेका थिए ।

    यसैक्रममा भागदौड र झपड चलेको थियो । गुएना सरकारले सोमबार मात्रै ५६ को मृत्यु भएको पुष्टि गरेको थियो । विवाद एउटा विवादास्पद गोलपछि सुरु भएको मानिएको छ । रेफ्रीले भ्रमणकारी टिम लाबेका दुई खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । यसैक्रममा रेफ्रीले पेनाल्टीको पनि निर्णय दिएका थिए । गुएनाका प्रधानमन्त्री ओरे बाहले घटनाको छानबिन गर्न आदेश दिएका छन् र दोषीलाई कडा कारबाही गर्ने दाबी गरेका छन् । प्रधानमन्त्री बाहले घटना देशकै इतिहासको सबैभन्दा दुःखद रहेको बताएका छन् ।

  • एनपीएल : आज दुई खेल हुँदै

    एनपीएल : आज दुई खेल हुँदै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर र सुदूरपश्चिम भिड्रदैछन् । दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेल ९ बजे र दोस्रो खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ । सोमबारको पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले हराएको चितवन भोलिपल्ट नै दोस्रो खेल खेल्न लागेको हो ।

    पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेल खेल्दैछ । यस खेललाई दुई कुशलबीचको कौशलताको खेल भनेर पनि भन्न सकिन्छ । चितवनको कप्तानमा कुशल मल्ल छन् भने पोखराको कप्तानमा कुशल भुर्तेल छन् । उता पहिलो खेलमा विराटनगर जनकपुरसँग पराजित भएको थियो । विराटनगर पहिलो जितको खोजीमा हुनेछ । सुदूरपश्चिम भने उत्कृष्ट सुरुवातका लागि भिड्नेछ ।

  • एनपीएलमा आज दुई खेल हुँदै

    एनपीएलमा आज दुई खेल हुँदै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ ।

    काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन् । त्यसैगरी काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन् ।

    नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ््ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर यसैटोलीबाट खेल्दै छन् । चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन् । उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ ।

    चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् । त्यस्तै, विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन पनि यसैटोलीबाट खेल्दैछन् ।

    त्यस्तै, आजै दिउँसो १ः१५ बजे दोस्रो खेल हुनेछ । यो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । एनपिएलको पहिलो उद्घाटन खेलमै विराटनगर किङ्सलाई ८ विकेटले हराएको जनकपुर बोल्ट्ससँग आत्मविश्वास छ । जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन् । टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी विकेटकिपर अनिल शाह छन् ।

    उनीहरूसँगै स्पिनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरको टोलीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान र इङ्ल्याण्डका अलराउण्डर बेन माइक छन् ।

    यता, हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले पनि राम्रो प्रदर्शन गर्ने आशा लिइएको छ । कर्णाली याक्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अलराउण्डर सोमपाल कामी मार्की खेलाडीका रूपमा रहेका छन् । उनी नेपालको तर्फबाट दुई पटक विश्वकप खेल्ने खेलाडी पनि हुन् ।

    सोमपालसँगै टोलीमा राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा, देव खनाल, रित गौतम, नन्दन यादव, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन् । त्यस्तै, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरी पनि टोलीमा छन् ।

    कर्णालीले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा भारतीय चर्चित क्रिकेटर शिखर धवनसहित हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद छन् । धवनलाई टोलीलाई अनुबन्ध गरेर चर्चा कमाएको कर्णाली याक्सको खेल हेर्न क्रिकेटप्रेमीहरु उत्साहित छन् ।

  • यू-१९ एसिया कप : आज नेपाल र बंगलादेश भिड्दै

    यू-१९ एसिया कप : आज नेपाल र बंगलादेश भिड्दै

    काठमाडौं । एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपको आफ्नो दोश्रो खेलमा नेपालले आज साविक विजेता बङ्गलादेशसँग खेल्दैछ । यूएईको दुबई क्रिकेट रङ्गशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरू हुने छ । यसअघि अस्ति शुक्रवार नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो ।

    अहिलेसम्म आठ पटक एशिया कप खेलिसकेको नेपाल भने एक पटक मात्र सन् २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो । यसैबीच आज हुने अर्को खेलमा अफगानिस्तान र श्रीलङ्काका युवा टोलीले खेल्दैछन् । प्रतियोगितामा एशियाका आठ देश सहभागी छन् ।

    नेपाल रहेको समूह ‘बी’मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । नेपालले आफ्नो तेस्रो खेल मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्ने छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

  • एनपीएल : भब्य उद्घाटन खेलमा जनकपुर विजयी

    एनपीएल : भब्य उद्घाटन खेलमा जनकपुर विजयी

    काठमाडौं । ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको उत्कृष्ट प्रदर्शन र लाहिरु मिलान्थाको सानदार अर्धशतकको जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग
    (एनपीएल) को पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराउन सफल भएको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउँदै पूरा गर्‍यो ।

    मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा २ चौका प्रहार गर्दै अविजित २९ रन बनाए । स्कोर टाई भएको अवस्थामा उनले विजयी चौका प्रहार गरेका थिए ।

    विराटनगरका क्रिस सोलले वाइड फालेपछि जनकपुरले पहिलो ओभरको पहिलो बलमै ११ रन जोडेको थियो । तर, सोलले आसिफ शेखलाई बोल्ड गर्दै विराटनगरलाई विकेट दिलाए । कप्तान अनिल शाह व्यक्तिगत ५ रनमा आउट भए । मिलान्था र हर्ष थाकरले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे ।

    विराटनगरका क्रिस सोल र प्रतिश जिसीले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । गप्टिल एनपीएलमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नै एनपीएलको पहिलो छक्का पनि प्रहार गरेका थिए ।

  • टीयू मैदानमा धकेकाधकेल, ७ जना घाइते

    टीयू मैदानमा धकेकाधकेल, ७ जना घाइते

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न त्रिवि मैदान पुगेका दर्शकसँग धकेलाधकेलपछि भएको झडपका क्रममा दुई जना प्रहरी जवान घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार दिउँसो जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीचको खेल हेर्न पुगेका दर्शकबीच धकेलाधकेल हुँदा केहीबेर झडपको अवस्था सिर्जना भएको थियो । सो क्रममा संघीय संसद् सुरक्षा बेस, नयाँ बानेश्वरमा कार्यरत २६ वर्षीय प्रहरी जवान अजय तामाङ र २८ वर्षीय दानबहादुर राउत घाइते भएका हुन् ।

    प्रहरीले दिएको जानकारी अनुसार कीर्तिपुरमा शनिबार ३८४ जना प्रहरीको टोली खटिएको थियो । प्रहरी जवान तामाङको कीर्तिपुर अस्पतालमा सामान्य उपचार पछि अहिले वीर अस्पताल रिफर गरिएको थियो । त्यहाँबाट उनलाई बाँसबारीस्थित न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । तामाङको अवस्था गम्भीर रहेको जानकारी गराउँदै प्रहरीले उनी बोल्न नसक्ने अवस्थामा रहेको बताएको छ ।

    उनको टाउकोमा चोट लागेको छ । त्यस्तै, अर्का जवान राउतको पनि कीर्तिपुर अस्पतालमा सामान्य उपचारपछि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको छ । उनको अनुहार, टाउको र घाँटीमा चोट लागेको छ । राउत भने बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ । केही सर्वसाधारण समेत घाइते छन् ।

  • एनपीएलमा टीयूका विद्यार्थीलाई ५० प्रतिशत छूट

    एनपीएलमा टीयूका विद्यार्थीलाई ५० प्रतिशत छूट

    काठमाडौं । शनिबारदेखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको टिकट खरिद गर्दा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले छुट पाउने भएका छन् । त्रिविमा अध्ययनरत विद्यार्थीहरूले एनपीएलको टिकट खरिद गर्दा ५० प्रतिशत छुट पाउने भएका हुन् ।

    क्यानले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । ‘प्रतियोगिता अवधिभरका लागि त्रिवि मैदान कीर्तिपुरमा हुने खेलहरूका लागि क्यान र त्रिभुवन विश्वविद्यालयबीच भएको सम्झौता अनुसार त्रिविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि टिकट खरिदमा ५० प्रतिशत छुट कायम गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

    क्यानले लिग चरणका खेलहरूमा जनरल टिकटको रु ३०० तथा भीआईपी टिकटको रु ५०० तोकेको छ । त्यसैगरी प्लेअफमा जनरलको ५०० र भीआईपीको ७०० रुपैयाँ तथा फाइनलको दिनमा सामान्यको ५०० र भीआईपी टिकटको १००० रुपैयाँ तोकिएको छ । ८ टोली सम्मिलित एनपीएल शनिबारदेखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुँदै छ । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्दै छन् ।

  • नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु लीग एनपीएल आजबाट

    नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु लीग एनपीएल आजबाट

    काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) टी२० फ्रेन्चाइज लिग आजबाट सुरु हुँदैछ । एनपीएल–फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिम प्रतिस्पर्धामा छन् । खेल स्टार स्पोर्ट्सबाट पहिलो पटक प्रत्यक्ष प्रशारण हुँदैछ । टीयू मैदानमा विभिन्न खालका सुविधा थपिएका छन् । करोडौँ लगानी भएको छ । साथमा स्टार विदेशी खेलाडी आएका छन् । एनपीएले सुरु हुनु अघि नै निकै ठूलो हाइप पाइसकेको छ ।

    आयोजक नेपाल क्रिकेट संघले दुई वर्षअघि नेपाल टी२० लिग गरेपनि त्यसलाई निरन्तरता दिन सकेन र नयाँ शैलीमा एनपीएल आयोजना गर्न लागेको हो । क्यानले एनपीएलको पहिलो संस्करण भनेको छ । एनपीएलको पहिलो संस्करणको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । त्यसअघि टीयू मैदानमा उद्घाटन समारोह हुने क्यानले जनाएको छ । जसमा केही प्रस्तुती पनि हुने जनाइएको छ ।

    विराटनगर किंग्सको कप्तानी लेगस्पीनर सन्दीप लामिछाने र जनकपुरको कप्तानी टप अर्डर ब्याटर अनिल शाहले गर्नेछन् । सन्दीप विराटनगरका मार्की खेलाडी पनि हुन् । जनकपुरको मार्की आसिफ शेख हुन् तर अनिललाई कप्तान चयन गरेको हो । जनकपुरले मात्र मार्की बाहेक फरक खेलाडी कप्तान बनाएको हो । उद्घाटन खेलका लागि दुवै टोली तयार रहेको कप्तानले बताएका छन् ।

  • यू–१९ एसिया कपमा नेपाल पराजित

    यू–१९ एसिया कपमा नेपाल पराजित

    काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू–१९ एसिया कपअन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भयो । ओपनर मयन यादवले सर्वाधिक ६२ रन बनाए । श्रीलंकाका प्रवीण मनीशाले ९ ओभरमा ३० रन दिएर ३ विकेट लिए ।

    न्यूथन रन्जितकुमार, मथुलान कुगथास, विहास थ्योमिकाले २–२ विकेट लिए ।
    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाए । त्यस्तै लकविन अभेसिङ्गेले ५० रन बनाए । कविजा गमागेले ३७ रन बनाए । नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए । त्यस्तै युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले ११ विकेट लिए ।

  • यू-१९ एसिया कपमा आज नेपाल र श्रीलंका भिड्दै

    यू-१९ एसिया कपमा आज नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं । युएईमा आजबाट सुरु एसीसी यू–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल शारजहास्थित शारजहा क्रिकेट स्टेडियममा ९ बजे सुरु हुनेछ । आजै समूह बी मा रहेका बंगलादेश र अफगानिस्तानबीच पनि खेल हुनेछ ।

    राष्ट्रिय टिमबाट खेलिसकेका पेस बलर हेमन्त धामीको कप्तानीमा रहेको नेपाली टोली बुधबारै युएई पुगिसकेको छ । नेपालको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् । नेपालले यू(१९ एसिया कपको तयारी स्वरुप घरेलु मैदानमा भारतको कर्नाटक यू–१९ टोलीसँग ५ अभ्यास खेलको सिरिज खेलेको थियो ।

    त्यो अभ्यास खेलबाट टिमको बलियो र कमजोर पक्ष थाहा हुने अवसर सँगै टिम कम्पोजिसन बनाउन सहज हुने प्रशिक्षक गौचनले बताएका छन् । पहिलो पटक यू(१९ टिमको प्रशिक्षण सम्हालेका गौचनले राम्रो नतिजा ल्याउने आशा राखेका छन् । यू–१९ एसिया कपको समूह बी मा भारत र पाकिस्तानसँगै घरेलु टोली युएई र जापान छन् ।

  • लिभरपुलसँग रियल मड्रिड हार्यो

    लिभरपुलसँग रियल मड्रिड हार्यो

    काठमाडौं । लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत एन्फिल्डमा बिहीबार बिहान सकिएको खेलमा इंग्लिस टोली लिभरपुलले स्पेनिस टोली रियल मड्रिडमाथि २–० गोलको जित निकालेको हो। लिभरपुलको जितमा अलिस्टर र कोडी गाक्पोले गोल गरे। दुवै गोल पहिलो हाफपछि भएको थियो।

    ५२ मिनेटमा अलिस्टरले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाएका थिए। ७६ मिनेटमा गाक्पोले गरेको गोल निर्णायक भएपछि लिभरपुल विजयी भएको हो। च्याम्पियन्स लिगमा लिभरपुलको यो पाँचौं जित हो। ऊ अहिलेसम्म अपराजित छ। रियलको भने यो लगातार दोस्रो हार हो। अघिल्लो खेलमा एसी मिलानसँग पराजित भएको थियो।

    जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। उसले पाँच खेलबाट १५ अंक जोडेको छ। रियल मड्रिड २४ औं स्थानमा छ। उसको ६ अंक छ। १३ अंकसहित इन्टर मिलान दोस्रो स्थानमा छ। गएराति नै एस्टन भिल्ल र युभेन्ट्सले गोलरहित बराबरी खेले भने रेड स्टार बेलग्रेडले स्टुटगार्टलाई ५–१ गोलले पराजित गरेको थियो।

  • एनपीएलको उद्घाटन खेलका टिकट सोल्ड आउट

    एनपीएलको उद्घाटन खेलका टिकट सोल्ड आउट

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) आगामी शनिबार सुरू हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आफैँ आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज लिगको चर्चा चुलिएको छ। त्रिवि मैदानका हुने उद्घाटन खेलका लागि क्यानले खुला गरेको १० हजार टिकट तीन दिनअघि बिक्री भएको छ।

    विराटनगर किंग्स र जनकपुर बोल्टबीच हुने उद्घाटन खेलका लागि भाइआइपीतर्फ ८ सय टिकट बिक्री भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए। खल्ती एपबाट टिकट बिक्री खुला गरिएकोमा साधारण टिकट पनि सबै बिक्री भएको उनको भनाइ छ।

    क्यानले अरु दिन भने १३ हजार टिकट बिक्री गर्ने योजना बनाएको छ। पहिलो दिन साधारणतर्फ ३ सय र भिआइपीतर्फ ७ सय रूपैयाँ टिकट दर तोकिएको थियो। पहिलो दिनमा नै टिकट बिक्रीबाट क्यानले ३३ लाख रूपैयाँ बढी कमाइसकेको छ। क्यानले अरू दिनका लागि टिकट बिक्री सुरु गरिसकेको छ।

    अरू दिनको पनि टिकट किन्नेको चाँप बढेको प्रवक्ता लामाले बताए। लिग खेलको ३ सय र ५ सय टिकट मूल्य तोकिएको छ। लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ। प्लेअफको ५ सय र ७ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ।

    फाइनल खेलको ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य छ। सिजनल पासको लागि साधारणतर्फ ४४ सय ८० रुपैयाँ र भिआइपीतर्फ ८२ सय ४० रुपैयाँ मूल्य तिर्नुपर्नेछ। मंसिर र १५ देखि पुस ६ गतेसम्म कीर्तिपुर स्थित त्रिवी मैदानमा हुने प्रतियोगितामा ८ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ।