Category: खेलकुद

  • एनपीएलका खेल युट्युबमा समेत हेर्न पाइने

    एनपीएलका खेल युट्युबमा समेत हेर्न पाइने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो। दर्शकहरूले एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।

    प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कबाट प्रसारण हुनेछ । प्रतियोगिता यही मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ । पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्ने छन् ।

  • आइपीएल अक्सनमा के के भयो ?

    आइपीएल अक्सनमा के के भयो ?

    काठमाडौं । आइपीएल २०२५ को अक्सन सम्पन्न भएको छ । यस पटक साउदी अरवको जेद्दामा अक्सन आयोजना गरिएको हो । अक्सनबाट १८२ जना खेलाडी बिक्रि भए । जसमाथि ६ अर्ब ३९ करोड रुपैयाँ खर्च गरियो । यस पटक कैंयौं रेकर्ड समेत बने । जसमध्ये केही रोचक आंकडा यहाँ प्रस्तुत गरिएको छ । यस पटक ६२ जना विदेशी खेलाडीले आइपीएलमा आफ्नो स्थान बनाउन सफल भए । यस पटक एक जना पनि नेपाली खेलाडीले आफ्नो नाम टिपाएका थिएनन् ।

    यस पटक ऋषभ पन्त सबैभन्दा महंगो खेलाडी बने । उनलाई लखनऊ सुपर जायन्टले २७ करोड रुपैयाँमा खरीद गर्यो । उता १३ वर्षिय वैभव सूर्यवंशी सबैभन्दा कम उमेरका खेलाडी बने । उनलाई राजस्थान रोयल्सले १ करोड १० लाखमा किनेको छ । यस पटक श्रेयस अय्यर दोस्रो महंगो खेलाडी बने । उनलाई पन्जाव किंसले २६ करोड ७५ लाखमा किन्यो । वंैकटेश अय्यर तेस्रो सबैभन्दा महंगो खेलाडी बने । उनलाई कोलकाताले २३ करोड ७५ लाखमा किन्यो ।


    यस पटक केही दिग्गज खेलाडी भने बिक्रि भएनन् । जसमा अष्ट्रेलियाका डेविड वार्नर एक हुन् । जोन वेयरेष्टो, केन विलिम्सन, स्वीव स्मीथ, शार्दुल ठाकुरजस्ता ठूला खेलाडी समेत यस पटक बिक्रि भएनन् । यस पटक चेन्नई सुपर किंसले २५ खेलाडी किन्यो । जसमा ७ विदेशी खेलाडी छन् । दिल्लीले २३, गुजरातले २५, कोलकाताले २१, मुम्बईले २३, पन्जावले २५, राजस्थानले २० र बैंलौरले २२ खेलाडी किनेका छन् । सनराइजर्सले २० खेलाडी किनेको छ ।

  • एनपीएलको टिकट दर सार्वजनिक

    एनपीएलको टिकट दर सार्वजनिक

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ । क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ । क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ तोकिएको छ ।

    त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरल तर्फको टिकट मूल्य ३०० र भीआईपी टिकटको मूल्य ५००‌ रुपैयाँ तोकिएको छ । प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट ७००‌ रुपैयाँको‌ हुनेछ । त्यस्तै फाइनल खेलमा जनरल टिकट ५००‌ र भीआईपी टिकट १००० रुपैयाँको हुनेछ ।

  • आइपीएलमा खेलाडीमाथि करौडौंको दाउ, पन्त २७ करोडमा बिक्रि

    आइपीएलमा खेलाडीमाथि करौडौंको दाउ, पन्त २७ करोडमा बिक्रि

    काठमाडौं । आइपिएल २०२५ का लागि मेघा अक्सन आइतबारबाट सुरू भएको छ। विभिन्न आठ टोलीले अक्सन सूचीमा समावेश ५७७ खेलाडीका लागि बोली लगाइरहेका छन्। दुई दिनसम्म चल्ने अक्सनमा पहिलो दिनमा कीर्तिमानी रकममा विकेकिपर ब्याटर ऋषभ पन्त बिक्री भएका छन्। उनलाई लखनउ सुपर जायन्टले कीर्तिमानी रकम २७ करोड भारूमा टोलीमा आबद्ध गरेको छ ।

    त्यसको केहीबेरअघि ब्याटर श्रेयर अय्यर पञ्जाब किंग्समा आबद्ध भए। उनलाई पञ्जाब किंग्सले २६ करोड ७५ लाख भारूमा टोलीमा भित्र्याएको थियो। यसअघि आइपिएलका महँगा खेलाडी अस्ट्रेलियाका माचेल स्टार्क थिए। उनलाई सन् २०२४ को अक्सनमा कोलकता नाइटराइडर्सले २४ करोड ७५ लाख भारूमा टोलीमा आबद्ध गरेको थियो। अर्शदीप सिंहलाईे १८ करोड भारूमा पञ्जाबले किनेको छ । कागिसो रबाडालाई १०.७५ करोड भारूमा गुजरातले किनेको छ । जोस बटलरलाई १५.७५ करोड भारूमा गुजरातले किनेको छ ।

  • सरकारले घटायो भन्सार दर

    सरकारले घटायो भन्सार दर

    काठमाडौं । सरकारले सुनको भन्सार दर घटाएको छ । भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्ने आशंकासहित सरकारले भन्सार दर घटाएको हो । सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने मन्त्रिपरिषद्को निर्णय आज मात्र विभागमा आइपुगेको भन्सार विभागले जनाएको छ । यससँगै नयाँ दर कार्यान्वयनमा आएको उनले जानकारी दिए ।

    चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको छ । भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको बताइएको छ । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्‍याएको थियो ।


    उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ ।

  • विश्वकप छनोट : पेरुमाथि अर्जेण्टिनाको जित

    विश्वकप छनोट : पेरुमाथि अर्जेण्टिनाको जित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित निकालेको छ। बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुलाई १–० गोलले हरायो । अर्जेन्टिनाको जितमा मार्टिनेजले गरेको गोल निर्णायक भयो।

    उनले खेलको ५५ मिनेटमा गोल गरे । अघिल्लो खेलमा पाराग्वेसँग पराजित भएको अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा छ। अर्जेन्टिनाको १२ खेलबाट २५ अङ्क छ। पेरु अङ्क तालिकाको पुछारमा छ। दशौँ स्थानको पेरुले सात अंक मात्र जोड्न सकेको छ।

  • एनपीएलको तालिका सार्वजनिक, पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने

    एनपीएलको तालिका सार्वजनिक, पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन् । खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुनेछ । फाइनल खेल ६ पुसमा हुनेछ । एनपीएलमा कुल ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
    यस्तो छ खेल तालिका

  • पुरुष फूटबलमा फर्किएको आशा : अफगानिस्तानविरुद्ध सानदार जित

    पुरुष फूटबलमा फर्किएको आशा : अफगानिस्तानविरुद्ध सानदार जित

    काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २–० गोल अन्तरले हराएको हो । दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो । नेपालले १३ वर्षपछि अफगानिस्तानलाई हराउन सफल भयो । पछिल्लो पटक सन् २०११ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा नेपालले अफगानिस्तानलाई १–० ले हराएको थियो । दशरथ रंगशालमा भएको त्यस खेलमा भरत खवासले गोल गरेका थिए ।

    डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा भएको खेलमा नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक–एक गोल गरे । दुवै गोल‌ दोस्रो हाफमा भएको थियो ।

    जिलेस्पीले दोस्रो हाफको सुरुवातमै गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । रोहितले ७८औं मिनेटमा गोल थपे । रोहितले नेपालका लागि करियरकै पहिलो गोल गरेका हुन् । उनले डेब्यू गरेको १५ वर्षपछि नेपालका लागि गोल गरेका हुन् । नेपालले पुरुष फुटबलमा एक वर्षपछि पहिलो जित हा तपारेको हो ।

    फिफा विश्वकप र एएफसी एसियन कप संयुक्त छनोट अन्तर्गत २०२३ अक्टोबरमा प्रारम्भिक चरणमा लाओस विरुद्ध अवे खेलमा जित हात पारे यता यो नेपालको पहिलो जित हो । लाओसलाई हराएपछि नेपाल ७ खेलमा जितविहिन थियो । विश्वकप छनोटको दोस्रो चरणमा ६ मध्ये ५ खेलमा पराजित नेपालले एक खेल बराबरी गरेको थियो ।

  • नेपाल प्रिमियर लिग स्टार स्पोर्ट्सबाट लाइभ हुने

    नेपाल प्रिमियर लिग स्टार स्पोर्ट्सबाट लाइभ हुने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो ।

    क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन् । ८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

    यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैँक रहेको छ ।क्यानले शुक्रबार एक कार्यकम आयोजना गर्दै सिद्धार्थ बैक टाईटल स्पोनसर रहेको जनाएको छ । क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैँक टाइटल स्पोनसर रहेको जानकारी दिए ।

  • यू-१९ विश्वकप पुगेको टोलीलाई जनही २ लाख दिइने

    यू-१९ विश्वकप पुगेको टोलीलाई जनही २ लाख दिइने

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ । क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिइनेछ । टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

    बुधबार भएको निर्णायक खेलमा यूएईलाई हराउँदै नेपाल आगामी जनवरीमा मलेसियामा हुने यु–१९ महिला विश्वकपमा छनोट भएको थियो । त्यस्तै नेपाल यसै वर्ष डिसेम्बरमा मलेसियामै हुने एसिसी यू–१९ महिला एसिया कपका लागि पनि छनोट भएको छ । विश्वकपमा छनोट भएको नेपाली महिला टोली बिहिबार साँझ नेपाल आइपुगेको छ ।

  • आइपीएल स्टार शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने

    आइपीएल स्टार शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने

    काठमाडौं । विश्व क्रिकेट स्टार शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल)मा आवद्ध भएका छन् । उनलाई कर्णाली याक्सले अनुवन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका स्टार क्रिकेटर धवनलाई अनुबन्ध गरेको हो । कर्णाली याक्सको टिम भारतमै पुगेर धवनसँग एनपीएलका लागि सम्झौता गरेको छ ।

    सम्झौतामा टिम मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम गोप्य राखिएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र धवनसँगै भारतका लागि कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे उपस्थिति थिए ।

    ३८ वर्षीय बायाँ हाते ओपनर धवनले भारतका लागि च्याम्पियन ट्रफी देखि एसिया कप जितेका छन् । यस्तै धवनले सनराइजर्स हैदरवादबाट इन्डियन प्रिमियर लिग (आईपीएल) समेत जितेका छन् । आईपिएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् ।

    धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्त खनालले खुसी व्यक्त गरे । उनले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धी रहेको बताए । ‘विश्व
    धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताए । शिखर धवनको अनुबन्धपछि कर्णाली याक्सको टिम अझ बलियो बनेको छ । कर्णालीले यसअघि नै पाकिस्तानका हुसेन तलात, वेष्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हायतलाई अनुबन्ध गरिसकेको छ ।

    नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामी मार्की प्लेअर रहेको कर्णालीको मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् । कर्णाली याक्सको अन्य खेलाडीमा गुल्शन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे छन् ।

  • नेपाल पहिलो पटक यु-१९ महिला विश्वकप प्रवेश

    नेपाल पहिलो पटक यु-१९ महिला विश्वकप प्रवेश

    काठमाडौं । नेपाल पहिलोपटक १९ वर्ष मुनिको महिला विश्वकपमा प्रवेश गरेको छ । बुधबार निर्णायक खेलमा युएइलाई हराउदै नेपाल पहिलोपटक यु १९ विश्वकप पुगेको हो । युएइले नेपाललाई ८४ रनको लक्ष्य दिएको थियो । नेपालले १४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि सना प्रविनले सर्वाधिक ३५ रन बनाइन । विश्वकप आगामी वर्ष मलेशियामा आयोजना हुदैछ ।

  • नेपाली फूटबल टोली आज ताजिकिस्तानसँग भिड्दै

    नेपाली फूटबल टोली आज ताजिकिस्तानसँग भिड्दै

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग भिड्दैछ । नेपाल र घरेलु टोलीवीरुद्धको खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुने एन्फाले जनाएको छ । फिफाको नोभेम्बर विन्डो अन्तर्गत दुई अन्तर्रारष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली मंगलबार डुसानबे पुगेको हो ।


    फिफा वरीयतामा नेपालभन्दा ७१ स्थान माथि रहेको ताजकिस्तानविरुद्ध उसैको मैदानमा उत्रन लागेको हो । नेपालले सन् २०१७ पछि पहिलो पटक ताजिकिस्तानसँग खेल्न लागेको हो ।

    एएफसी एसियन कप छनोटका दुई खेलमा नेपाल हारेको थियो । २०१६ को बंगबन्धु गोल्डकपमा पनि नेपाल ताजिकस्तानसँग हारेको थियो । ताजकिस्तानले पछिल्लो समय प्रदर्शनमा सुधार गरिरहँदा नेपालको प्रदर्शन भने कमजोर छ । नेपाली पुरुष टोली ५ महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेल्दैछ ।

  • विश्वकप छनोट : जित्नै पर्ने दवावका बीच नेपाल र यूएई भिड्दै

    विश्वकप छनोट : जित्नै पर्ने दवावका बीच नेपाल र यूएई भिड्दै

    काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ । यूएईसँगको यसअघिको खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।

    हिजो भएको खेलमा नेपालले कुवेतलाई १ सय ६५ रनले हराएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै चौथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो ।

    प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

  • काठमाडौं महानगरले ११ हजार विद्यार्थीबाट खेलाडी छान्ने

    काठमाडौं महानगरले ११ हजार विद्यार्थीबाट खेलाडी छान्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल प्रशिक्षणमा इच्छा व्यक्त गर्ने १० हजार ९९५ जना खेलाडीबाट छनोट प्रक्रिया अगाडि बढाएको छ । महानगरले चालु आर्थिक वर्षको बजेटमा रहेको स्वर्णिम योजना अन्तर्गतको ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुका लागि प्रशिक्षण सञ्चालन गर्न लागेको हो ।

    शहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार १६ वटा खेल विधामध्ये सबैभन्दा धेरै फुटबलमा २ हजार ३८ जनाले सहभागी हुन इच्छा व्यक्त गरेका छन् । फुटबलपछि व्याटमिन्टन (१,२४७ जना), भलिबल (१,२४७ जना), क्रिकेटमा (९६० जना), तेक्वान्दोमा (९२५ जना) विद्यार्थीले रुची देखाएका छन् ।

    बास्केटबलमा (८,९९ जना), कराँते (८९३ जना), कवड्डी (६९० जना), एथलेटिक्स (५४९ जना), बक्सिङ् (४७१ जना), चेसमा (३४६ जना), टेबुलटेनिस (२७८ जना), खोखो (२४५ जना), हक्कीमा (१४९ जना), उसुमा (६६ जना) र जुडो (४० जना) जना विद्यार्थीको रुची छ ।

    पोखरेलका अनुसार प्रारम्भिक अवस्थामा १७ वटा विधाका खेलमा विद्यार्थीको रुचि बुझ्दा १२ हजार १२१ जना विद्यार्थी आवेदनमार्फत इच्छा व्यक्त गरेका थिए । यसमा रहेको पौडी खेललाई जाडो मौसमका कारण अहिले हटाइएको छ । यसको सट्टा विद्यार्थीको रुचिका आधारमा एउटा विधा खेल थप्ने योजना रहेको पोखरेलको भनाइ छ ।

    शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार १८ वटा केन्द्रबाट कार्तिक मसान्तभित्र छनोट प्रक्रिया सम्पन्न हुनेछ । यसबाट छानिएका विद्यार्थीहरुलाई मंसिर १ गतेदेखि तालिम दिइनेछ । छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबिच हुनेछ ।

    मंसिर, पुस र माघ गरी करिब ३ महिनाभरि जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा तालिम सञ्चालन हुनेछ । जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ । कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसइइको तयारीमा प्रोत्साहन गरिने महानगरले जनाएको छ ।

    माघको अन्तिम सातातिर संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुका बिचमा प्रतियोगिता आयोजना गरिनेछ । यसरी आयोजना हुने प्रतियोगितालाई अन्तरराष्ट्रिय मापन पद्धतिअनुसार सञ्चालन गरिने महानगरले जनाएको छ । खेलका लागि सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाको अध्यक्षतामा ९ सदस्यीय निर्देशक समिति गठन भइसकेको छ ।

  • नेपाल र स्कटल्याण्डबीचको खेल रद्द, अंक बाँडे

    नेपाल र स्कटल्याण्डबीचको खेल रद्द, अंक बाँडे

    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । आँधीहुरीको सम्भावनापछि खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको थियो । जहाँ खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाएर २६ रन बनाएको थियो । डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपालका अनिल शाह १० रन बनाएर बउट भएका थिए ।

    आसिफ शेख ९ रनमा नटआउट थिए । लिग टु मा नेपालले वर्षाका कारण अंक बाँडेको यो दोस्रोपटक हो । यसअघि क्यानडा भ्रमणमा पनि नेपालले वर्षाकै कारण ओमानसँग अंक बाँडेको थियो । अहिलेसम्म लिग टु का तीन सिरिज खेलेको नेपालले जम्मा २ खेल मात्र जितेको छ र १२ खेलबाट ६ अंक जोडेर अंकतालिकाका सातौं स्थानमा छ । स्कटल्याण्ड १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ ।

  • विश्वकप लिग टु : आज नेपाल र स्कटल्याण्ड भिड्दै

    विश्वकप लिग टु : आज नेपाल र स्कटल्याण्ड भिड्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । स्कटल्याण्डविरुद्ध यसअघिको पहिलो खेल ५ विकेटले जितेको नेपाल त्यो प्रदर्शनलाई कायम राख्न चाहन्छ ।

    तर घरेलु टोद्यी अमेरिकाविरुद्धको दुवै खेल हारेको नेपाल दबाबमा छ । स्कटल्याण्डलाई नेपालले १५४ रजमा अलआउट गर्दै २९.५ ओभरमा १५७ रन बनाउँदै जित निकालेको थियो । अमेरिकाविरुद्ध पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो ।

    स्कटल्याण्डले भने अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । लिग टु को यस सिजनमा स्कटल्याण्ड र अमेरिकाले २–२ खेल जितेर समान ४ अंक जोडेका छन् । नेपालले भने ३ खेलबाट २ अंक मात्र जोडेको छ । अब सिरिजको अन्तिम खेल जित्दै सुखद रुपमा अमेरिका टुर सकाउने नेपालको लक्ष्य छ ।

    स्कटल्याण्डविरुद्ध हेड टु हेडमा नेपाल अघि छ । अहिलेससम्म यी दुई टोलीले कूल ७ ओडीआई खेल खेल्दा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । लिग टु मा अहिलेसम्म अमेरिका र क्यानडाले १२ खेल खेल्दै समान १६ अंक जोडेका छन् । तर नेटरनरेटमा अमेरिका अघि रहँदै शीर्ष स्थानमा छ ।

    स्कटल्याण्ड १० खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा छ । नेपाल ११ खेलबाट ५ अंकसहित सातौं स्थानमा छ । लिग टु मा अहिलेसम्म नेपाल सबैभन्दा धेरै ८ खेलमा पराजित भएको छ । नेपालभन्दा पछि यूएई मात्र छ । यूएईले ९ खेलमा २ खेल जित्दै ४ अंक जोडेको छ ।

  • विश्वकप लिग २ : अमेरिकासङ्ग हार्यो नेपाल

    विश्वकप लिग २ : अमेरिकासङ्ग हार्यो नेपाल


    काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा पनि अमेरिकासँग नेपाल ३ विकेटले पराजित भएको थियो ।


    जितका लागि २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रन बनाउँदै अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे ।

    अर्का ओपनर आसिफ शेखलाई ६ रनमा आउट भए । जसदीप सिंहको बलमा उनी बोल्ड भए । दोस्रो विकेटका लागि अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए ।

    भुर्तेल २९ रनमा बोल्ड आउट भए । त्यसपछि कुशल मल्ल ५४ बलमा १ चौका र १ छक्कासहित ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए । यस्तै सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेले । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए ।

    अमेरिकाका सौरभ नेत्रवालकरले ९.५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।
    त्यसअघि ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो ।

    अमेरिकाका युवा ब्याटर साइतेजा मकामल्लाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए ।

    नेपालका गुल्शन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।

    नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । नेपालले अमेरिका भ्रमणमा अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ । नेपाल लिग २ मा ११ खेल खेल्दै २ मा जित र ८ मा हारसहित ५ अंक जोडेर सातौं स्थानमा छ ।

  • नेपाल र अमेरिका भिड्दै, नेपाल बलिङ गर्दै

    नेपाल र अमेरिका भिड्दै, नेपाल बलिङ गर्दै


    काठमाडौं । आइसिसी विश्वकप लिग-२ मा नेपालले अमेरिकाविरूद्ध पहिले बलिङ गर्ने भएको छ। अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी स्टेडियममा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।

    त्रिकोणात्मक सिरिजमा नेपालको यो तेस्रो खेल हो। यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो। दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो।

    आजको प्लेइङ इलाभेनमा कुनै परिवर्तन गरिएको छैन। प्लेइङ इलाभेनमा रोहित पौडेल, आशिफ शेख, कुशल भूर्तेल, अनिल साह, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछाने छन्।

    नेपालले लिग-२ का ८ खेल खेलिसक्दा दुई खेल मात्रै जितेको छ।

    गत फेब्रुअरी १७ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेपछि नेपाल लिग-२ का सात खेलमा जितविहीन बनेको थियो। ७ मध्ये ६ खेलमा नेपाल पराजित हुँदा १ खेल वर्षाका कारण रद्द भएको थियो।

    नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, देव खनाल, सागर ढकाल छन्।

  • हङकङ सिक्सेसमा नेपालको सनसनिपूर्ण प्रदर्शन जारी, दोस्रो खेलमा अष्ट्रेलिया पराजित

    हङकङ सिक्सेसमा नेपालको सनसनिपूर्ण प्रदर्शन जारी, दोस्रो खेलमा अष्ट्रेलिया पराजित

    काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले हराएको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनायो । अष्ट्रेलियाका ज्याक उडले ५५ र अलेस रोसले १४ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन् । नेपालको जितका लागि प्रतीश जिसी एक्लैले तीन विकेट लिए । उनी प्लेर अफ दी म्याच बने । लोकेश बम र विवेक यादवले एक–एक विकेट लिए ।

    यसअघि ब्याटिङ गरेको नेपाललले २ विकेट गुमाएर १११ रन बनाएको थियो । नेपालका लिग कप्तान सन्दीप जोराले १६ बलमा ४ छक्का र ५ चौका मद्दतमा ५१ रनको योगदान गरे । उनको यो लगातार दोस्रो अर्धशतक हो । यस्तै लोकेश बमले ३३, विवेक यादव र राशिद खानले १२र१२ रन जोडे भने नारायण जोशी एक रनमा नटआउट रहे । अष्ट्रेलियाका ज्याक उडले २ विकेट लिए ।

    समूह बीमा रहेको नेपाले यसअघि पहिलो खेलमा इंग्ल्यांडलाई पराजित गरेको थियो । यससँगै नेपाल समूह विजेता हुँदै क्वाटर फाइनल पुगेको छ । नेपालसँग पराजित भएको अष्ट्रेलिया पनि क्वाटर फाइनल पुगेको छ । नेपालले क्वाटरफाइनलमा आजै दिउँसो १ः३५ बजे श्रीलंकासँग खेल्नेछ ।

  • एक खेल अगाडी नै नेपाल हङ्कङ सिक्सेसको दोस्रो चरणमा

    एक खेल अगाडी नै नेपाल हङ्कङ सिक्सेसको दोस्रो चरणमा

    काठमाडौं । नेपाल ‘हङ्कङ सिक्सेस’को क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा इङ्ल्याण्डमाथि छ विकेटले विजयी भएको थियो। नेपालको समूहमा रहेको अस्ट्रेलियाले ३४ रनको जित निकालेसँगै नेपाल एक खेल अगाडि क्वाटरफाइनल पुगेको हो। इग्ल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ। नेपालले समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग शनिबार बिहान खेल्दैछ। हङ्कङको मोङ ककमा शुक्रबार भएको पहिलो खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गरेको थियो।

    नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए । उनले १२ बलमा चार चौका र छ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाएका हुन् । त्यसैगरी लोकेश बमले ११ बलमा एक चौका र दुई छक्काको सहयोगमा २० रन बनाए । राशिद खानले पाँच बलमा दुई चौका र दुई छक्काको सहयोगमा २१ रन जोडेका छन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङल्याण्डले पाँच दशमलव पाँच ओभरमा छ विकेट गुमाएर ९७ रन बनाएको थियो।

    इङल्याण्डका लागि कप्तान रवि भोपाराले १२ बलमा एक चौका र सात छक्काको सहयोगमा ४९ रन जोडे । स्मिथ पटेलले १७ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ३९ रन बनाए । नेपालका प्रतिश जिसीले दुई विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले समान एक–एक विकेट लिए ।

  • हङकङ सिक्सेसमा नेपालको ऐतिहासिक जित

    हङकङ सिक्सेसमा नेपालको ऐतिहासिक जित

    काठमाडौं । नेपालले हङकङमा भइरहेको २० औं हङकङ सिक्सेसमा शुक्रबार तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि प्रभावशाली ६ विकेटको जित निकालेको छ । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित निकाल्न सफल भएको हो । नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएकोमा नेपालले त्यसलाई बिना विकेटको क्षति हात पारेको थियो ।

    नेपालले ४.२ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो र सनसनीपूर्ण ब्याटिङको नमुना पेस गर्‍यो । नेपालको जितमा कप्तान सन्दीप जोरा नायक रहे । उनले १२ बलमा ५० रन बनाए । उनको ब्याटबाट ४ चौका र ६ छक्का निस्केको थियो । लोकेश बमले ११ बलमा २० रन बनाए । उनले एक चौका र दुई छक्का प्रहार गरे ।

    नेपालले टस जितेर इंग्ल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । यसक्रममा इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । त्यसमा सबैभन्दा ठूलो योगदान कप्तान रवि बोपाराको रह्यो । उनले १२ बलमा ४९ रन बनाए । उनले एक चौका र सात छक्का प्रहार गरे । यसतै समित पटेलले १७ बलमा ३९ रन बनाए । उनले भने तीन तीन चौका र छक्का प्रहार गरे । अरू ब्याटरले भने गतिलो योगदान दिन सकेनन् ।

    नेपाली बलरमध्ये विवेक यादव र प्रतिश जीसीले दुई–दुई विकेट हात पारे । यस्तै नारायण जोशी र लोकेश बमको नाममा एक एक विकेट रह्यो । रसिद खान मात्र विकेट लिन नसक्ने बलर रहे । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ । नेपालले अब शनिबार अस्ट्रेलियाको सामना गर्नेछ ।

  • खेल सकिएपछि होटेलमै पुगेर फूटबल खेलाडीलाई बालेनले दिए नगद पुरस्कार

    खेल सकिएपछि होटेलमै पुगेर फूटबल खेलाडीलाई बालेनले दिए नगद पुरस्कार

    काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली महिला फुटबल टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ । दशरथ रंगशालमा बुधबार साँझ भएको फाइनलमा नेपाल बंगालदेशसँग २–१ ले पराजित हुँदै उपविजेतामै सिमित भएको थियो । काठमाडौं महानगरपालिकाले बुधबारै राती सोल्टी होटलमा कार्यकम गर्दै टोलीका खेलाडीलाई १ लाख नगद र सम्मान पत्रसहित सम्मान गरेको हो ।

    महानगरले नेपाली टिमका खेलाडी र अफिसियल सबैलाई गरेर कूल २७ लाख ५० हजारबाट सम्मान गरेको जनाएको छ । तर सम्मान का क्रममा भने २५ लाखको डेमो चेक प्रदान गरिएको थियो । महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोललगायतले खेलाडी र अफिसियललाई सम्मान गरे । सम्मान कार्यक्रममा एन्फा अध्यक्ष पंकज विकम नेम्वाङ लगायत एन्फा पदाधिकारी पनि उपस्थित थिए ।

    महानगरले २३ खेलाडीर टिम लिडर सरिला श्रेष्ठ मलेकु, टिम म्यानेजर बिन्द्रा देवान, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक भगवती थापा, गोलकिपिङ प्रशिक्षक विनोद महर्जन, टिम डक्टर ज्योती राई, फिजियो नविना श्रेष्ठ, पंकज बहादुर शाही, किट म्यानेजर विकास गुरुङलाई सम्मान गरेको हो ।

    मेयर बालेनले नेपाली टिमलाई उपविजेता भएकोमा बधाई दिँदै सारा नेपाललाई जोड्ने काम गरेको भन्दै धन्यवाद दिए । उनले हारले दुस्खी हुनु भन्दा अब आउने दिन राम्रो खेल्नुपर्ने बताए । उपमेयर सुनिताले एउटा नै अन्त्य नभएको र दुखी हुनु नपर्ने बताइन् ।

  • नेपाली महिला टोलीका मूख्य परीक्षकले छाडे पद

    नेपाली महिला टोलीका मूख्य परीक्षकले छाडे पद

    काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन् । साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हारपछि मुख्य प्रशिक्षक तामाङले पद छाड्ने घोषणा गरेका हुन् ।

    बुधबार दशरथ रंगशालामा भएको खेलमा २–१ ले नेपाललाई हराउँदै बंगलादेशले उपाधि जितेको हो । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पराजित भएको यो १२ औं पल्ट हो । हारसँगै नेपालको पहिलोपल्ट उपाधि जित्ने सपना अधूरै रह्यो । बंगलादेशले सन् २०२२ को उपाधि दशरथ रंगशालामै जितेको थियो ।

  • प्रधानमन्त्रीले गरे नेपाली टोलीको प्रसंशा

    प्रधानमन्त्रीले गरे नेपाली टोलीको प्रसंशा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको भन्दै प्रशंसा गरेका छन् ।
    आज भएको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्को खेल जित्ने गरी मिहिनेत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिएका छन् । बुधबार साँझ नै प्रधानमन्त्री केपी शर्मा ओलीले विजयी टिम र खेलाडीहरूलाई दशरथ रंगशालामा पुरस्कार प्रदान गरेका छन् ।

  • साफ वुमन्सको फाइनलमा हार्यो नेपाल

    साफ वुमन्सको फाइनलमा हार्यो नेपाल

    काठमाडौं । नेपाल एक पटक फेरि घरेलु मैदानमा फाइनलमा चुक्दा साफ वुमन्स च्याम्पियनसिप जित्ने लक्ष्य अधुरै बनेको छ । बुधबार भएको साफ वुमन्स च्याम्पियनसिप २०१४ को फाइनलमा घरेलु टोली नेपाललाई २–१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि ८२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिशा कार्कीले ५६ औं मिनेटमा गोल फर्काइन् ।


    खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोल गर्ने केही अब पाएपनि सदुपयोग गर्न सकेनन् । ऋतुले गोल गर्दै दशरथ रंगशालमा उस्थित १५ हजार धन्दा बढी दर्शकलाई साइलेन्ट बनाइन् । उनको सेलेब्रेसन पनि त्यस्तै शैलीको थियो । त्यसपछि नेपाली दर्शकले लगातार नेपाल नेपाल ’ भनेर हुटिङ गरिरहेका थिए ।

    नेपाल बराबरी गोल फर्काउन प्रयास गरिरहेपनि सफल हुन सकेन । घरेलु मैदानमा साफको उपाधि जित्ने नेपालको लक्ष्य तेस्रो प्रयासमा पनि पूरा भएन । यसअघि २०१९ मा विराटनगरमा भएको साफमा भारतसँग फाइनलमा हारेको नेपाल २०२२ मा काठमाडौंमै बंगलादेशसँग पराजित भएको थियो ।

  • क्रिकेट विश्वकप लिग–२ : बलियो स्कटल्याण्डविरुद्ध नेपालको महत्वपूर्ण जित

    क्रिकेट विश्वकप लिग–२ : बलियो स्कटल्याण्डविरुद्ध नेपालको महत्वपूर्ण जित

    काठमाडौं । नेपालले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा मङ्गलबार राति टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २–२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् ।

    स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५–२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १–१ विकेट लिए । लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

  • साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि भिडन्त आज, नेपाल र बंगलादेश भिड्दै

    साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि भिडन्त आज, नेपाल र बंगलादेश भिड्दै

    काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।
    दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् । नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।नेपाल र बंगलादेश दुवै यस संस्करणमा अपराजित छन् र उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने दुवै टिमको दावी छ ।

    नेपाल आज बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । यसअघिका ६ मध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बंगलादेशसँग एकपटक पराजित भएको थियो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

    नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहोर्‍याइ फाइनल खेलको नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताए । उनले भने, ‘यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी च्याम्पियन बन्न सकेका छैनौं । तर यसपटक बङ्गलादेशलाई पराजित गर्दै उपाधि जित्ने गरी योजना बनाएका छौं ।’ प्रशिक्षक तामाङले बङ्गलादेश बलियो टोली भएको टिप्पणी गर्दै आफ्नो टोलिमा घरेलु समर्थकको साथ भएकाले उपाधि जित्नेमा विश्वास व्यक्त गरे ।

    बंगलादेशका प्रशिक्षक पिटर बटलरले नेपाल घरेलु टिम भएकाले सम्मान दिएर अट्याकिङ फुटबल खेल्ने बताएका छन् । बंगलादेशकी कप्तान सबिना खातुनले फाइनल प्रतिस्पर्धात्मक हुने बताएकी छन् । नेपाली टिमकी गोल मसिन साबित्रा भण्डारी (साम्बा)ले पनि यसपटक साफ च्याम्पियनसिपको उपाधि जित्दै आम नेपालीलाई खुसी प्रदान गर्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । बङ्गलादेश बलियो टोली भ एको उल्लेख गर्दै उनले नेपालले उपाधि जित्नेमा विश्वास व्यक्त गरिन् ।

    घरेलु दर्शकको भरपुर साथ र समर्थन हुने भएकाले पनि आफूहरुलाई फाइदा हुने उनको भनाइ थियो । उनले भनिन्, ‘यसअघि पाँच पटक उपविजेतामा चित्त बुझाएका थियौं, विगतका हारबाट धेरै कुरा सिकेका छौं । विगतका गल्तीलाई नदोहोर्‍याइ उपाधि उचाल्ने सोचका साथ मैदानमा उत्रनेछौं ।’ साम्बालाई फाइनलमा गोलको कीर्तिमान बनाउने अवसरसमेत छ । उनले सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल गर्दै साफ च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक २१ गोल गर्ने नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाको कीर्तिमान बराबरी गरेकी थिइन् । अब त्यो कीर्तिमान तोड्ने अवसर साम्बालाई छ ।

  • साफ वुमन्स च्याम्पियनसिप फाइनलको टिकट अनलाइनमा बिक्रि नहुने

    साफ वुमन्स च्याम्पियनसिप फाइनलको टिकट अनलाइनमा बिक्रि नहुने

    काठमाडौं । बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ ।

    जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने उनको भनाइ छ । प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमता छ । यसअघि अनलाइन टिकट खरिद गरेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।

    एन्फाले एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानबाट टिकट बिक्री गरिनेसमेत जानकारी दिएको छ । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ । त्यस्तै एन्फाले टिकटमा पनि सीमितता तोकेको छ । जसअनुसार एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउनेछन् ।

    साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ । आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको भन्दै एन्फाले टिकट बिक्रीमा रोक लगाएर टिकट बिक्रीको जिम्मा आफैं लिएको हो । यसअघि खेलको टिकट बिक्री गर्ने जिम्मा माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट प्रालिले लिएको थियो ।

    फिफा नियमअनुसार र‌ंगशालाको कुल क्षमताको २० प्रतिशत कममात्रै टिकट बिक्री गर्नुपर्ने नियम छ । तर आइतबारको नेपालभारतबीचको सेमिफाइनल खेलमा टिकट बेच्ने जिम्मा लिएको कम्पनीले हेलचक्र्याइँ गरेको एन्फाको ठहर छ । ‘खेल आधा हुँदासम्म टिकट बिक्री भइरहेको थियो । असाध्यै ठूलो कमजोरी भएकाले फाइनलमा त्यस्तो हुन्न दिन्नौं’, मिश्रले भने ।

  • बालोन डी’ ओर अवार्ड रोड्रीलाई

    बालोन डी’ ओर अवार्ड रोड्रीलाई

    काठमाडौं । स्पेन तथा म्यानचेष्टर सिटीका मिडफिल्डर रोड्रीले बालोन डी’ ओर अवार्ड जितेका छन् । यस पटक दुई महान खेलाडी रोनाल्डो र मेसी बीना प्रतिस्पर्धा भएको हो । सोमबार राति फ्रान्सको पेरिसमा भएको समारोहमा रोड्रीले वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै उक्त प्रतिष्ठित अवार्ड जिते । २८ वर्षीय रोड्रीले गत सिजन सिटीका लागि प्रिमियर लिग यूईएफए सुपर र क्लब विश्वकप साथै स्पेनको राष्ट्रिय टोलीबाट युरोकप जितेका थिए ।

    सिटीका खेलाडीले बालोन डी’ओर अवार्ड जितेको यो पहिलोपटक हो । उनले रियल मड्रिडका भिनिसियस जुनियर र जुड बेलिङघहम अनि आफ्नै टिममेट एर्लिङ हालान्डलाई पछि पारे । भिनिसियस दोस्रो र बेलिङघहम तेस्रो स्थानमा रहे ।

    अवार्ड प्राप्त गरेपछि रोड्रीले आफ्नो लागि उत्कृष्ट क्षण भएको बताए । ‘म र मेरो परिवारको लागि यो एकदमै विशेष क्षण हो,’ उनले भने । बालोन डे’ओभरमा फिफा वरियतामा शीर्ष सयमा रहेका राष्ठ्रका पत्रकारहरुको जुरीले गरेको भोटका आधारमा उत्कृष्ट पुरुष खेलाडी छनोट गरिएको हो । यस्तै महिलातर्फको अवार्ड स्पेनकी आइतना बोनमाटीले जितिन् । उनले लगातार दोस्रो सिनज यो अवार्ड जितेकी हुन् ।

    रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते भने रियल मड्रिडले क्लब अफ दि इअरको अवार्ड पायो । बार्सिलोनाका युवा स्टार लामिन यामलले कोपा ट्रफी जिते भने अर्जेन्टिनाका गोलकिपर एमिलयानो मराटिनेजले उत्कृष्ट गोलकिपर बन्दै यासिन ट्रफी जिते । ह्यारी केन र केलिएन एमबाप्पेले गर्ड मुलर अवार्ड जिते । महिलातर्फ उत्कृष्ट क्लबको अवार्ड बार्सिलोनाले जित्यो । महिलातर्फको उत्कृष्ट प्रशिक्षकको अवार्ड इंग्ल्याण्डकी प्रशिक्षक एम्मा हायसले जिते ।