Category: खेलकुद

  • टी २० आइ सिरिज : नेपालले ओमानलाई हरायो

    टी २० आइ सिरिज : नेपालले ओमानलाई हरायो

    काठमाडौं । कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–२० आई सिरिजमा ओमानलाई ५६ रनले हराउँदै उपाधि जित्ने सम्भावना कायमै राखेको छ । १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अल आउट भयो । ओमानका जिशान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । नेपालका कुशल भुर्तेलले ३, रिजन ढकाल, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए ।

    त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा २ चौका र ४ छक्कासहित ५६ रनको अविजित अर्धशतकीय इनिङ खेलेका थिए । ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी १, गुल्सन झा २ र कुशल भुर्तेल ११ रनमा आउट भए । ओमानका फयाज बटले, ३ कलिमुल्लाह, सकिल अहमद र अकिब इलियासले १–१ विकेट लिए ।

    नेपाल पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल क्यानडासँग ४ विकेटले हार्न पुग्यो । नेपाल ४ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ । क्यानडा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा । क्यानडा ओमानसँग ८ विकेटले पराजित भएको थियो ।

    ओमान १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । बिहीबार ओमान र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा ओमान विजयी भएमा नेटरनरेटका कारण नेपाल च्याम्पियन बन्ने समिकरण देखिन्छ । नेपालले अव क्यानडा ए सँग ४, ६ र ८ अक्टोबरमा तीन एकदिवसीय अभयास खेल खेल्नेछ ।

  • विश्व वरीयतामा दीपेन्द्रको छलाङ, दोस्रो नम्बरमा उक्लिए

    विश्व वरीयतामा दीपेन्द्रको छलाङ, दोस्रो नम्बरमा उक्लिए

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार जारी गरेको नयाँ वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो ओगट्न सफल भए । यसअघि दीपेन्द्र छैटौँ स्थानमा थिए ।


    शीर्षस्थानमा इङ्गल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन छन् । दीपेन्द्रको रेटिङ दुई सय ३० छ भने लिविगंस्टोनको दुई सय ५३ रहेको छ । नेपालबाट अलराउन्डतर्फ गुलशन झाले एघार स्थान सुधार गरेका छन् । यथा स्थानमा रहेका कप्तान रोहितकुमार पौडेल र गुलशन ५३औँ स्थानमा छन् । यस्तै कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ६०औँ र कुशल मल्ल ४०औँ स्थानमा छन् । ब्याटिङतर्फको दीपेन्द्र दुई स्थान सुधार गरेका छन् । ब्याटिङमा उनी ४३औँ स्थानमा छन् ।


    कप्तान रोहितको एक खस्कँदै ६१औँ र दुई स्थान खस्किएको आसिफ शेख ७०औँ स्थानमा छन् । एक स्थान सुधार गरेका कुशल मल्ल एक सयौँ स्थानमा छन् । बलिङतर्फ दीपेन्द्र २३ स्थान सुधार गर्दै ७०औँ स्थानमा उक्लिएका छन् । एक स्थान खस्किएको सोमपाल कामी ९१औँ स्थानमा छन् । राष्ट्रिय टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा कायम छ ।

  • टी-२० आई सिरिज : नेपाल क्यानडासँग पराजित

    टी-२० आई सिरिज : नेपाल क्यानडासँग पराजित

    काठमाडौं । नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना निकै न्यून बनेको छ । १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । साद बिन जाफर १८ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा रविन्द्रपाल सिंह २० रनमा नट आउट रहे ।

    दीलप्रित बाजवा २५, नवनित धालिवाल १२, निकोलस किर्तोन २६ र हर्ष ठाकेर ११ रनमा आउट भए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।

    त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । नेपालका अनिल साहले ३० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए । आसिफ शेख ३० बलमा ३ चौका र १ छक्कासहित ३० रन जोडे । नेपाललाई ओपनर आसिफ र अनिलले ९।१ ओभरमा ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । हर्ष ठाकेरको बलमा ठूलो सट खेलेका अनिल अखिल कुमारबाट क्याच आउट भएपछि मध्यक्रमका ब्याटरले राम्रो गर्न सकेनन् ।

    कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, रोहित पौडेल र कुशल मल्ल ४–४ रन बनाए । गुल्सन झा १६ बलमा २ छक्कासहित २३ र करण केसी ८ रनमा नट आउट रहे । क्यानडाका हर्ष ठाकेरले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । प्रविन कुमार, डिलोन हेलिगर र साद बिन जाफरले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो । नेपालले अन्तिम खेल बुधकार राती ओमानसँग खेल्नेछ ।

  • टी-२० आइमा नेपालले ओमानलाई सजिलै हरायो

    टी-२० आइमा नेपालले ओमानलाई सजिलै हरायो

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा ओमानलाई ३७ रनले पराजित गरेको छ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए । नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले २, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।


    त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । नेपालको जितमा तल्लोक्रममा गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्कासहित ४८ रनको अविजित इनिङ खेले । दीपेन्द्रसिंह ऐरी ५ बलमा २ छक्का र १ चौकासहित १८ रनमा नट आउट रहे ।

    ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । सकिल अहमद, फयाज बट र जिशान मकसुदले १–१ विकेट लिए । नेपाल त्रिकोणात्मक टी२० सिरिजमा पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । अव मंगलबार क्यानडा र बुधबार ओमानसँग खेल्नेछ ।

  • साफ यू–१७ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

    साफ यू–१७ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

    काठमाडौं । घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा कृष्ण बहादुर आले र सुजन डंगोलले दोस्रो हाफमा गोल गरेपछि नेपालले भुटानलाई पराजित गरेको हो । जितपछि नेपाल तीन खेलबाट ६ अंक जोडेर समूह बी को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । दुई जित र एक बराबरीसहित ७ अंक जोडेको पाकिस्तान समूह बी को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ ।

    नेपालले अब सेमिफाइनलमा समूह्य ए को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा भारतले बंगलादेश र माल्दिभ्स दुवैलाई पराजित गरेको थियो । खेलमा अग्रता भने भुटानले लिएको थियो । तर भुटानले अग्रता कायम राख्न सकेन भने दोस्रो हाफमा नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ४३औं मिनेटमा छिमी तोब्देन दोर्जीले नेपाली खेलाडीको गल्तीमा गोल गर्दै भुटानलाई पहिले अग्रता दिलाएका थिए । नेपाली गोलकिपर पेम्बा नोर्बु भोटेको गल्तीमा नेपालले गोल खाएको थियो ।

    गोलकिपर भोटेले कलेक्ट गर्न नसकेको बलमा छिमीले सहजै गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल गर्‍यो । ५५औं मिनेटमा कृष्ण बहादुर आलेले नेपालक लागि बराबरी गोल फर्काए । उनले करिब २५ यार्डमा प्राप्त फ्रिकिकमा उत्कृष्ट गोल गरे । बराबरीतर्फ अग्रसर भइरहेको खेलको ८४औं मिनेटमा सुजल डंगोलले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए ।

    सुरुवाती गोल खाँदा गल्ती गरेका नेपाली गोलकिपर भोटेले यस पटक भने चलाखीपूर्ण पास दिँदा त्यसमा सुजलले गोल गरे । गोलकिपर भोटेले हानेको लामो बलमा भुटानी डिपेण्डरले क्लियर गर्न नसक्दा सुजनले विपक्षीको पेनाल्टी बक्सबाट भली गोल गरे । नेपालले अब शनिवार भारतसँग पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल पाकिस्तान र बंगलादेशबीच शनिवारै हुनेछ । सेमिफाइनल विजेताबीच आउने सोमबार फाइनल खेल हुनेछ ।

  • क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

    क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

    काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज अन्तिम खेल खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल सुरू हुनेछ। नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेल हारेको छ । घरेलु टोलीसँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल हारेको हो । ओमानसँगको पहिलो खेलमा नेपाल एक विकेटले पराजित भएको थियो। विश्वकप लिग २ मा नेपालले कुल ७ खेल खेलिसकेको छ। त्यसमध्ये नेपालले एक मात्रै जित निकालेको छ।

    गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो। एकदिसवीय सिरिजपछि असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ। त्रिकोणात्मक टी–२० सिरिज खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ।

    त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ। अमेरिका भ्रमणमा पनि नेपालले लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ। लिग–२ को सिरिज अमेरिकाको टेक्सासस्थित ह्युस्टनको प्रिएरी भ्यूमा हुने तय भएको छ। सबै खेल अमेरिकाको स्थानीय समयअनुसार विहान १०ः३० र नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ।

  • लगातार तेस्रो हार बेहोर्दै नेपालको कमजोर प्रदर्शन

    लगातार तेस्रो हार बेहोर्दै नेपालको कमजोर प्रदर्शन

    काठमाडौं । आईसीसी विश्वकप लिग २ मा नेपालले लगातार कमजोर प्रदर्शन गरिरहेको छ । आइतबार राती क्यानडाले आईसीसी विश्वकप लिग २ मा नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । १८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

    क्यानडा जितमा नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाए । परगत सिंहले ८३ बलमा ७ चौका र २ छक्कासहित ६४ रन बनाए । दोस्रो विकेटलाई परगन र नवनीतले १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरे । नेपालका सन्दीप लामिछाने २, करण केसी, गुलशन झा र ललित राजवंशीले १–१ विकेट लिए ।

    त्यसअघि किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६.१ ओभरमा १८१ रनमा अल आउट भएको थियो ।
    सन्दीप लामिछानेले ४८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाएका थिए । गुलशन झाले ५६ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । एक समय २७.१ ओभरमा ८७(७ को अवस्थामा पुगेको नेपाललाई सन्दीप र सोमपालले आठौं विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।

    करण केसीले २८ बलमा २ चौका र १ छक्कासहित २४, अर्जुन साउद १०, आसिफ शेख २, भीम सार्की र रोहित पौडेल ४९(४ रनमा आउट भए । आरिफ शेख १०, अनिल साह १ र सोमपाल कामी २१ रनमा आउट भए । क्यानडाका कलिम सानाले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । हर्ष थाकेर २, डिलोन हेलिगर, प्रवीन कुमार र साद बिन जाफरले १–१ विकेट लिए ।

    नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रन र दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो । नेपालले अव अन्तिम खेल मंगलबार ओमानसँग खेल्नेछ । नेपाल ७ खेलमा १ मा जितसहित २ अंकका साथ सातौं स्थानमा छ । क्यानडा ११ खेलमा ७ मा जित र ४ मा हारसहित १४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ ।

  • आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र क्यानडा भिड्दै

    आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र क्यानडा भिड्दै

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो । शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् ।

    यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्नेछ । सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ । तालिकामा नेपाल छ खेलमा दुई अङ्कसहित सातौँ स्थानमा छ ।

  • काभा महिला क्लव भलिवलको उपाधी नेपाल पुलिसलाई

    काभा महिला क्लव भलिवलको उपाधी नेपाल पुलिसलाई

    काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि जितेको हो । मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५–१६, २५–२२, २५–२३ ले पराजित गरेको हो ।

    ६ टोली सहभागी प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जित्यो । लिग चरणमा पाँचवटै खेल जितेर शीर्षमा रहेको पुलिसले फाइनल समेत जितेको हो । पुलिसले लिग चरणामा हुमोसहित, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० ले पराजित गरेको थियो भने माल्दिभ्सको वाम्को क्लबलाई ३–२ ले तथा माल्दिभ्सको माल्दिभ्स लिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका र ताजकिस्तानका समान १ तथा माल्दिभ्सको २ गरी कूल ६ टोलीको सहभागिता थियो ।

  • आईसीसी विश्वकप लिग २ : नेपालको लगातार दोस्रो हार-गुल्सनको अलराउण्ड प्रदर्शन खेर

    आईसीसी विश्वकप लिग २ : नेपालको लगातार दोस्रो हार-गुल्सनको अलराउण्ड प्रदर्शन खेर

    काठमाडौं । आईसीसी विश्वकप लिग२ मा नेपाल लगातार दोस्रो हार बेहोर्न बाध्य भएको छ । गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेको खेलमा नेपाल ओमानसँग १ विकेटले हारेको हो । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।

    ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक रन बटुले । दोस्रो बलमा सकिल अहमदको ब्याटबाट एज लागेर विकेटकिपरकै छेऊबाट चौका गयो । तेस्रो बल सोमपालले डट राखे । चौथो बलमा एक रन बटुले । त्यसपछि दुई बलमा दुई रन आवश्यक थियो ।

    पाँचौं बलमा कलिमुल्लाहले चौका हान्दै ओमानलाई रोमान्चक जित दिलाए । सकिल १७ र कलिमुल्लाह ६ रनमा नट आउट रहे । ओमानका जतिन्दर सिंहले ४९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए । नेपालका ािग गुलशनले १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिए । करण केसीले १० ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।

    त्यसअघि किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो । कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेलेका थिए ।

    तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । जसक्रममा उनले ४६ औं ओभरमा ओमानका कप्तान अकिब इलियासलाई समान दुई चौका र छक्कासहित २३ रन प्रहार गरेका थिए । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । नेपालले अव आइतबार क्यानडा र मंगलबार ओमानसँग खेल्नेछ ।

  • आईसीसी विश्वकप लिग २ : आज नेपाल र ओमान भिड्दै

    आईसीसी विश्वकप लिग २ : आज नेपाल र ओमान भिड्दै

    काठमाडौं । आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो ।

    नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो । ७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको थियो । नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो ।क्यानडा भ्रमणका क्रममा पनि नेपालले हारको शृङखला दोहोर्‍याएको छ, जुन जित्न आवश्यक थियो । नेपाल शीर्ष स्थानमा रहँदै नम्बर वान एशोसिएट राष्ट बन्न देशबाहिरका खेल जित्न जरुरी छ ।

    नेपाल लिग २ का पाँच खेलमध्ये ४ मा पराजित हुँदा २ अंकका साथ सातौं स्थानमा छ । आजको प्रतिस्पर्धी ओमान चार खेलबाट ३ अंक जोडेर नेपालभन्दा एक स्थान माथि छ । पछिल्ला पाँच खेलमा नेपाल ३ र ओमान २ खेलमा विजयी भएका छन् ।

    यो सिरिजअन्तर्गत नेपालले क्यानडासँग अर्को खेल ६ गते र ओमानसँग ८ गते खेल्नेछ । ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी–२० सिरिज पनि खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ । यो सिरिज सकेर नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछ ।

    क्यानडा र अमेरिकामा हुने खेलका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्सयीय टोली घोषणा गरेको छ भने जगत टमटालाई कन्सल्टेन्ट कोचसमेत नियुक्त गरेको छ ।

  • क्यानडासँग हार्यो नेपाल, ब्याटिङ कमजोर

    क्यानडासँग हार्यो नेपाल, ब्याटिङ कमजोर

    काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो । २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए ।


    ओपनर कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, रोहित पौडेल ५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६, सन्दीप लामिछाने २२ र गुलशन झा १५ रनमा आउट भए । क्यानडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । अखिल कुमार र अंश पटेलले २-२ विकेट लिए । सादविन जाफरले १ विकेट लिए ।

    त्यसअघि किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । एक समय ४० ओेभरमा १४९-५ को अवस्थामा रहेको क्यानडाले अन्तिम १० ओभरमा १०४ रन जोड्दै बलियो योगफलमा पुगेको थियो ।

    कप्तान निकोलस किर्टोनले ४४ बलमा ३ चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेले । नवनीत धालिवालले ९० बलमा ४ चौकासहित ४८, आरोन जोनसन १०, परगत सिंह १७, हर्ष थाकेर २७, डिलोन हेलिगर ३० र साद बिन जाफरले १७ रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले २-२ विकेट लिए ।

    सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले १-१ विकेट लिए । नेपालले बुधबार ओमानसँग खेल्नेछ । नेपाल लिग २ मा ५ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । क्यानडा भने ९ खेलमा १० अंकका साथ दोस्रो स्थानमा पुगेको छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ ।

  • आईसीसी विश्वकप लिग–२मा नेपालका खेल आजदेखि, क्यानडाविरुद्ध भिड्दै

    आईसीसी विश्वकप लिग–२मा नेपालका खेल आजदेखि, क्यानडाविरुद्ध भिड्दै

    काठमाडौं । सोमबार घरेलु टोली क्यानडाविरुद्ध खेल्दै नेपाल ७ महिनापछि आईसीसी विश्वकप लिग–२ मा फर्किर्दैछ । फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेलबाट सन् २०२४–२०२६ अन्तिम सम्म चल्ने लिग–२ को सुरुवात भएको थियो । नेपालले दुबै टोलीसँग समान दुई खेल खेलेको थियो ।

    नामिबियासँग दुबैमा हार र नेदरल्यान्ड्सविरुद्ध १–१ जित र हार व्यहोरेको थियो । त्यसपछि नेपाल टी–२० विश्वकपमा ब्यस्त रह्यो । जुन १७ मा बंगलादेशविरुद्ध टी–२० विश्वकप खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किदैछ ।नेपाल, नामिबिया, नेदरल्यान्डस्, स्कटल्यान्ड, ओमान, युएई, क्यानडा र अमेरिकाबीच २०२६ डिसेम्बरसम्म लिग–२ मा प्रतिस्पर्धा चल्नेछ ।

    एउटा देशले घरेलु मैदानमा तीन र विदेशी भूमिमा ६ त्रिकोणात्मक सिरिज खेल्नेछन् । हरेक देशले समान ३६ खेल खेल्नेछन् । एउटा सिरिजमा तीन देशबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष चार टोलीले २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । बाँकी चार टोलीले विश्वकप छनोट खेल्न प्लेअफ खेल्नुपर्छ । सोझै ओडीआई मान्यता जोगाउन शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

    नेपालको टोली
    रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ)

    लिग–२ मा नेपालको खेल तालिका

    ३१ भदौ ( १६ सेप्टेम्बर) – क्यानडाविरुद्ध नेपाल
    २ असोज (१८ सेप्टेम्बर) – नेपालविरुद्ध ओमान
    ६ असोज (२२ सेप्टेम्बर) – क्यानडाविरुद्ध नेपाल
    ८असोज (२४ सेप्टेम्बर) – नेपालविरुद्ध ओमान

  • दुई दर्जनभन्दा बढी मुलुकबाट आएका खेल पत्रकारसँग राष्ट्रपतिको भलाकुसारी

    दुई दर्जनभन्दा बढी मुलुकबाट आएका खेल पत्रकारसँग राष्ट्रपतिको भलाकुसारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यस सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गरेका छन् । एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) कांग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतल निवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले विश्व खेलक्षेत्रमा नेपालबारे प्रचार गर्न आह्वान गरे ।

    राष्ट्रपति पौडेलले भने, “नेपालमा साहसिक र हाई अल्टिच्युड खेल, अल्ट्रा दौडको धेरै सम्भावना छ । एभरेष्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाइसकेका छन् ।” हालै पेरिसमा सम्पन्न पाराओलम्पिकमा पलेशा गोवर्द्धनले तेक्वान्दोमा पदक जितेर देशको गरिमा बढाएको बताए । नेपालको परिचय सगरमाथा र बुद्धको जन्मस्थल मात्र नभई खेलकुद क्षेत्र पनि भएको सन्देश विश्व समुदाय समक्ष प्रवाह गर्न आवश्यक रहेको राष्ट्रपति पौडेलले बताए । उनले राष्ट्रका उत्कृष्ट खेलाडीलाई निरन्तर सम्मान गरेर एआइपीएस एसियाले असल परम्परा स्थापित गरेकामा त्यसको सराहना गरे ।

  • क्यानडामा अभ्यास खेलमा नेपाल विजयी

    क्यानडामा अभ्यास खेलमा नेपाल विजयी

    काठमाडौं । नेपालले अभ्यास खेलमा क्यानडाको एचपी जागर्सलाई ६६ रनले हराएको छ । जितको लागि २४८ रनको लक्ष्य पछ्याएको जागर्स ३९ ओभरमा १८१ रनमा अल आउट भयो । उसका लगि अजयविर सिंहले ७५ बलमा ७ चौका र १ छक्कासहित ५५, नदिम मजिर २९ र अनुप चिमाले १९ रन बनाए । नेपालका स्पिनर ललित नारायण राजवंशीले ४, सन्दीप लामिछाने ३, करण केसी र कुशल मल्लले एक–एक विकेट लिए ।

    त्यसअघि पहिला ब्याटिङ गर्दै नेपाल ४७।५ ओभरमा २४७ रनमा अल आउट भएको थियो । ओपनर कुशल भुर्तेल ६० बलमा ६ चौकासहित ४१, आसिफ शेख १९, अर्जुन साउँद ८, भीम सार्की २१, रोहितकुमार पौडेल ३३, आरिफ शेख एक, कुशल मल्ल ९ रनमा आउट भए । त्यस्तै अनिल शाह ३७ बलमा ४ चौका र २ छक्कासहित ४७, गुलशन झ १९ र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए । जागर्सका जसकरण बटर, इफरान शादत र शाहिल पटेलले दुईदुई विकेट लिए ।

  • रोहित बने वर्षका उत्कृष्ट खेलाडी

    रोहित बने वर्षका उत्कृष्ट खेलाडी

    काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर रोहितलाई प्रदान गरिएको हो । रोहित क्यनडामा रहेकाले उनका आमा र दाजुले अवार्ड लिएका थिए ।

    रोहित अहिले राष्ट्रिय टोलीका साथमा क्यानडामा छन् । यो अवार्डका लागि रोहितसँगै फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् ।

  • अमेरिकामा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

    अमेरिकामा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

    काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी कात्तिक ९ देखि १९ गतेसम्म अमेरिकामा हुने नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार सोमबार सार्वजनिक गरेको तालिका अनुसार सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

    सिरिजको सबै खेल अमेरिकाको टेक्सासमा हुनेछ । यस सिरिजपछि तीन टोलीबिच टी–२० सिरिज पनि हुनेछ । त्यसअघि नेपालले भदौ ३१ देखि असोज १० गतेसम्म क्यानडामा आयोजक क्यानडा, नेपाल र ओमानले लिग–२ कै सिरिज खेल्नेछ । सिरिजमा सहभागिता जनाउन नेपाली टोली क्यानडा प्रस्थान गरिसकेको छ ।

  • विश्वविजेता अर्जेण्टिनालाई कोलम्बियाले हरायो

    विश्वविजेता अर्जेण्टिनालाई कोलम्बियाले हरायो

    काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २–१ ले पराजित गरेको छ । कोलम्बियाको लागि कप्तान जेम्स रोड्रिग्वेज एक गोल र एक असिस्ट तथा यरसन मोस्केराले एक गोल गरे । खेलको २५औं मिनेटमा मोस्केराले रोड्रिग्वेजको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा सुरुमै गोल फर्कायो । निको गोन्जालेजले ४८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

    तर, ६०औं मिनेटमा जेम्स रोड्रिग्वेजले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २१ को अग्रता दिलाए । त्यसपछि थप गोल नहुँदा कोलम्बयालाई विजयी हुँदै ३ अंक जोडेको हो । जितपछि ८ खेलबाट १६ अंक जोडेर कोलम्बिया दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको अर्जेन्टिनाभन्दा कोलम्बिया २ अंकले पछि छ । कोलम्बियाले ८ खेलमा ४ खेल जित्दा ४ बराबरी खेलेको छ ।

    छनोट दोस्रो हार व्यहोरेको अर्जेन्टिना भने १८ अंकसहित शीर्ष स्थानमै छ । दक्षिण अमेरिकी छनोटको अन्य खेलमा इक्वेडरले पेरुलाई १–० ले पराजित गरेको छ । चिली बोलिभियासँग २–१ ले पराजित भएको छ । उरुग्वे र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • नम्बर वान वरियताका सिनरले जिते यूएस ओपन टेनिसको उपाधी

    नम्बर वान वरियताका सिनरले जिते यूएस ओपन टेनिसको उपाधी

    काठमाडौं । विश्व नम्बर १ यानिक सिनरले टेलर फ्रिट्जको चुनौती पार गर्दै आइतबार यूएस ओपन(२०२४ को उपाधि जितेका छन् । यो वर्ष उनले जितेको यो दोस्रो ग्रान्ड स्लाम उपाधि हो । उनले जनवरीमा अस्ट्रेलियन ओपनको उपाधि पनि हात पारेका थिए । फ्लेसिङ मेडोसमा भएको फाइनलमा इटालीका सिनरले अमेरिकी प्रतिद्वन्द्वी फ्रिट्जलाई ६–३, ६–४ र ७–५ ले हराए । सन् १९७७ यता सिनर आफ्ना सुरुआती दुई ग्रान्ड स्लाम उपाधि एकै वर्ष जित्ने पहिलो खेलाडी पनि बने ।

    यसअघि यस्तै उपलब्धि गुलेरमो भिलासको नाममा थियो । यस्तै २३ वर्षीय सिनर यूएस ओपनको पुरुष एकल जित्ने पहिलो इटालीका खेलाडी पनि बने । डोपिङको आरोपबाट मुक्त भएको १९ दिनपछि उनले अहिलेको सफलता आत्मसात् गरेका हुन् ।मार्चमा दुई पल्ट उनी शक्तिवर्द्धक प्रतिबन्धित औषधि प्रयोगमा दोषी पाइएको थियो ।

  • पारा ओलम्पिक सम्पन्न, चीन प्रथम स्थानमा

    पारा ओलम्पिक सम्पन्न, चीन प्रथम स्थानमा

    काठमाडौं । फ्रान्सको पेरिसमा आयोजित पारालिम्पिक समापन भएको छ । आइतबार राति अबेर पेरिसमा भव्य समापन समारोह आयोजना गरियो । समापन समारोहमा विश्व चर्चित कलाकारहरु र खेलाडीहरुले प्रस्तुती दिए । यस वर्षको पारालिम्पिक नेपालका लागि ऐतिहासिक रह्यो । नेपालले पहिलोपटक एउटा पदक जित्न सफल भयो । तेक्वान्दोको के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशा गोबर्धनले कांस्य पदक जितिन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

    पदक तालिकामा पहिलो स्थान चीनको रह्यो । चीनले ९४ स्वर्ण, ७५ रजत र ५० कांस्यसहित कुल २१९ पदक जित्न सफल भयो । दोस्रो भएको बेलायतले ४९ स्वर्ण, ४४ रजत र ३१ कांस्यसहित कुल १२४ पदक जित्यो । अमेरिकाले ३६ स्वर्ण, ४२ रजत र २७ कांस्यसहित १०५ र नेदरल्याण्ड्सले २७ स्वर्ण, १७ रजत र १२ कांस्यससहित ५६ पदक जितेर क्रमशः तेस्रो र चौथो स्थानमा रहे ।

    यसैगरी क्रमशः ब्राजिल, इटली, युक्रेन, फ्रान्स, अष्ट्रेलिया र जापान क्रमशः टप टेनमा स्थान बनाउन सफल भए । नेपाल ७९औं स्थानमा रहेको छ । यही स्थानमा पाकिस्तान, भियतनाम, मोरिसस, मोन्टेनेग्रो, लक्जम्बर्ग र लिथुआनिया पनि छन् ।

  • ३२ सय मिटर उचाईमा मैत्रीपूर्ण फुटबल हुँदै, के छ तयारी ?

    ३२ सय मिटर उचाईमा मैत्रीपूर्ण फुटबल हुँदै, के छ तयारी ?

    काठमाडौं । हिउँ चितुवा र याकको संरक्षण तथा दीगो पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङमा असोज ३ देख ७ गतेसम्म दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ ।

    जैविक विविधता संरक्षण समाज नेपाल (बायोकोस) नेपाल र आन्ट फाउडेशनको सयूक्त आयोजना तथा चामे गाँउपालिका र मनाङ्ग ङिस्याङ गाँउपालिको सहकार्यमा विभिन्न संघसस्थाहरु राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल संघ मनाङको सहभागिता तथा नमस्ते मनाङको संयोजनमा मैंत्रीपूण फुटबल आयोजना गर्न लागिएको आईतबार काठाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


    हिँउ चितुवाले हिमालको पारिस्थतिक प्रणालीलाइ सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेल्ने मात्र नभई हिँउ चितुवा र यसको वासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि भएकोले यसको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्न लागिएको बाइकोस नेपालका संस्थापक तथा संरक्षणविद डा.पारसविक्रम सिंहले जानकारी दिए ।

    संस्थाले गतवर्ष भदौ २५ देखि २७ गतेसम्म मनाङ्गका विभिन्न ३ स्थानमा मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो । समूह सतहबाट २६०० मिटर उचाईमा रहेको तिमाङ, र ३२०० मिटर उचाईमा रहेको मुङ्जी फुटबल मैदानमा सेलिब्रेटि टिम हिमालयन स्नो लिवपर्ड (राष्ट्रिय स्तरका ख्याती प्राप्त खेलाडीहरु, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका बिजेताहरु) र स्थानिय खेलाडी टिम कान्जिसरा याक र मनाङ ङिस्याङ याक (स्थानिय युवाहरु) विच मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्न लागिएको आयोजक आन्ट फाउण्डेनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिए ।


    नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर अनिल गुरुङले मनाङलाई हाइ अल्टिच्युट टेनिङ सेन्टरको हबको रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । पत्रकार सम्मेलनमा फुटबल टीमका टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो ।

  • पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले गर्यो ५ लाख नगदसहित सम्मान

    पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले गर्यो ५ लाख नगदसहित सम्मान

    काठमाडौं । पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने पारा तेक्वान्दो खेलाडी खेलाडी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले पाँच लाख रुपैयाँसहित सम्मान गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले गोवर्धनलाई पाँच लाखको चेकसहित सम्मान गरेका हुन्।

    पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते भएको के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन्। उनी पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्।

    यस्तै खेलाडी भरतसिंह महतालाई ५० हजार र प्रशिक्षक कविराज नेगी लामालाई एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति देउवाले पारालिम्पिकमा पहिलो पटक नेपाललाई कास्य पदक जिताएकोमा खेलाडीहरूलाई बधाई दिएका थिए।

  • बेलारूसकी अर्यनालाई पहिलो पटक यूएस ओपन टेनिसको उपाधी

    बेलारूसकी अर्यनालाई पहिलो पटक यूएस ओपन टेनिसको उपाधी

    काठमाडौं । बेलारूसकी अर्यना साबालेन्काले पहिलोपटक युएस ओपन टेनिसको उपाधि जितेकी छन्। गत वर्षको फाइनलमा भोगेको पराजय बिर्साउँदै उनले यसपटक महिला एकलको उपाधि जितेकी हुन्। ‌उनी २०२३ मा कोको गफसँग पराजित भएकी थिइन्। यद्यपि १२ महिनापछि बेलारुसकी साबालेन्काले अमेरिकाकी जेसिका पेगुला माथि ७–५र ७–५ को रोमाञ्चक जित हात पारेर पहिलोपटक उपाधि जित्न सफल सफल भइन्।

    जनवरीमा आफ्नो अष्ट्रेलियन ओपनको उपाधि सफलतापूर्वक रक्षा गरेपछि साबालेन्काका लागि यो तेस्रो ग्रान्डस्लाम एकल ट्रफी हो। पेगुलामाथिको जितसँगै उनको प्रमुख टुर्नामेन्टहरूमा अपराजित दौड १४ खेलसम्म पुगेको छ।

  • एनपीएलमा ८ टोली भिड्ने, कुन टीमको भ्यालू कति ?

    एनपीएलमा ८ टोली भिड्ने, कुन टीमको भ्यालू कति ?

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टोलीको स्वामित्व लिने कम्पनीको नाम सार्वजनिक भएको छ। टेन्डर प्रक्रियामा सहभागी भएका टोलीमध्येबाट टोलीको स्वामित्वका लागि बोली लगाइएको थियो। जसमा कान्तिपुर पब्लिकेसन प्रालिले टिम काठमाडौं ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रूपैयाँमा खरिद गरेको छ।

    यस्तै नेपाल टी–२० क्रिकेट प्रालिले टिम पोखरा ३ करोड ५७ लाख रूपैयाँमा स्वामित्व लिएको छ। टिम चितवनलाई चितवन मेडिकल प्रालिले १ करोड ७६ लाख १ हजार रूपैयाँमा लिन सफल भएको छ। फर्चुना हेल्थकेयर प्रालिले टिम लुम्बिनी १ करोड ८६ लाख ४ रूपैयाँमा स्वामित्व ग्रहण गरेको छ।

    यस्तै ड्रिम स्पोर्ट्स प्रालिले टिम जनकपुरलाई लिएको छ। जनकपुरका लागि २ करोड ५ लाख रूपैयाँ रकम दिइएको छ। यस्तै एमएडी ड्रिम्स स्पोर्ट्सले टिम विराटनगर १ करोड ५१ लाख रूपैयाँमा लिएको छ। टिम कर्णालीका लागि हिमालयन बिल्डर्सले १ करोड ११ लाख रूपैयाँ लिर्ने भएको छ। टीम सुदूरपश्चिमलाई इम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रूपैयाँमा खरिद गरेको छ।

    एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। क्यानको महत्वाकांक्षी परियोजनाको रुपमा प्रतियोगिता आफैँ आयोजना गर्न लागेको हो। यसअघि क्यानले दुई वर्षअघि नेपाल टी-२० लिग नाममा भारतीय कम्पनीलाई आयोजनाको अधिकार बेचेको थियो। तर सो लिग विवादित बन्नुका साथै म्याच फिक्सिङको समेत आशंका भएको थियो। अब क्यानले लिगको टोली घोषणा गरेसँगै खेलाडी आबद्ध गर्ने प्रकिया अघि बढाउनेछ।

  • पलेशा गोवर्धनले ६५ लाख पुरस्कार पाउने

    पलेशा गोवर्धनले ६५ लाख पुरस्कार पाउने

    काठमाडौं । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनले नियम अनुसार ६५ लाख राशिको पुरस्कार पाउने छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यो पुरस्कारमा कर छूट दिने घोषणा गरेका छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

    प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताए । “नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यस पटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ । पलेशाको जित नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ ।’’,

    प्रधानमन्त्री ओलीले भने, “यो कीर्तिमान इतिहासमा लेखिनेछ । हामीले पुुराना कीतिमानहरु तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुुझाएर बस्नुु हुँदैन । हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ ।’’ सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए ।

  • सन् २००३ यता पहिलो पटक मेसी र रोनाल्डो बीना बालोन डे’ओर

    सन् २००३ यता पहिलो पटक मेसी र रोनाल्डो बीना बालोन डे’ओर

    काठमाडौं । फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने विश्वकै चर्चित फुटबल अवार्ड बालोन डे’ओरको विभिन्न विधाको मनोनयन सार्वजनिक भएको छ ।
    फ्रान्स फुटबलले बुधबार राति पुरुष वर्ष खेलाडी महिला वर्ष खेलाडी प्रशिक्षक युवा खेलाडी र गोलकिपरको मनोनयन सार्वजनिक गरेको हो ।

    मनोनयनमा विश्व फुटबलका दुई सुपर स्टार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो दुवै सन् २००३ पछि पहिलो पटक अटाउन सकेनन् । मेसीले सर्वाधिक ८ पटक बालोन डे’ओर जितेका छन् भने रोनाल्डोले ५ पटक जितेका छन् ।

    पुरुष वर्ष खेलाडीतर्फ जुड बेलिङघम, रुबेन डियाज, फिल फोडेन, फेडेरिको भलभर्डे, एमिलियानो मार्टिनेज, एर्लिङ हालान्ड, निको विलियम्स, ग्रान्ट जाका, अर्टेम डोभबिक, टोनि क्रुस, भिनिसियस जुनियर, डानी ओल्मो, फ्लोरिन विट्ज, मार्टिन ओडेगार्ड, माट्स हुमेल्स, रोड्री, ह्यारी केन, डेक्लान राइस, भितिन्हा, कोल पाल्मर, डानी कार्भाजल, लामिन यामल, बुकायो साका, हाकन चाल्हानोग्लु, विलियम सालिवा, केलिएन एमबाप्पे, लाउटारो मार्टिनेज, एडेमोला लुकमन, एन्टोनियो रुडिगर, अलेजान्द्रद्य ग्रिमाल्डो ३० जनाको मनोनयनमा परेका छन् ।

    यस्तै महिलातर्फ पनि ३० खेलाडी मनोनयनमा परेका छन् । जसमा अइताना बोनमाटी, लुसी ब्रोन्ज, लाउरेन्स जेम्स लगायत खेलाडी छन् । यसैगरी उत्कृष्ट गोलकिपरतर्फ डिएगो कोस्टा, जियानलुजी डोनारुम्मा, ग्रगोर कोबेल, आन्द्रे लोउनिन, माइक माइगनान, जिओर्जी मामार्दाच्भिली, एमिलियानो मार्टिनेज, उनाइ सिमोन, यान सोमेर र रोनवेन विलियम्स मनोनयनमा छन् ।

    उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिने कोपा ट्रफीका लागि पाउ कुबार्सी, अलेजान्द्र गार्नाचो, अर्दा गुलेर, जाओ नेभेस, करिम कोनाटे, कोबी माइनो, साभिन्हो, माथिस तेल, लामिन यामल र वारेन जायर एमेरी मनोनयनमा छन् । उत्कृष्ट प्रशिक्षक पुरुषतर्फ जाबी अलोन्सो, कार्लो एन्सेलोट्टी, लुइस डे ला फुएन्टे, लियोनल स्कालोनी, पेप ग्वार्डिओला र जियान पिएरो गास्पेरिनी मनोनयनमा छन् ।

    महिलातर्फको प्रशिक्षकमा सोनिया बोम्वास्टोर, आर्थर एलियास, जोनाथन गिराल्डेज, एम्मा हायेस, फिलिपा पाटाओ, सारिना विएगमान मनोनयनमा छन् । यसैगरी वर्षको उत्कृष्ट क्लबतर्फ रियल मड्रिड, म्यानचेष्टर सिटी, बायर लेभरकुजन, बोरुसिया डर्टमण्ड र जिरोना मनोनयनमा छन् ।

  • पारा ओलम्पिकमा पदक विजेता पलेशा राष्ट्रपतिबाट सम्मानित, गराइयो नगर परिक्रमा

    पारा ओलम्पिकमा पदक विजेता पलेशा राष्ट्रपतिबाट सम्मानित, गराइयो नगर परिक्रमा

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमकाबिच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरे ।


    राष्ट्रपति पौडेलले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए ।सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शिर उँचो पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए ।

    सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मङ्गलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

    पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् । बुधबार नै उनी स्वदेश फर्किएकी हुन् । उनीसहितको टोलीलाई आज नगर परिक्रमासहित स्वागत गरियो ।

  • भेट्रान फूटबलर सुआरेजले गरे फुटबललाई अलबिदा

    भेट्रान फूटबलर सुआरेजले गरे फुटबललाई अलबिदा

    काठमाडौं । उरुग्वेका भेट्रान फुटबलर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । उनी ३७ वर्षका भए । लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड समेत रहेका सुआरेजले शुक्रबार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने भएका छन् । उनी उरुग्वेका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले उरुग्वे राष्ट्रिय टिमबाट १४२ खेल खेल्दै ६९ गोल गरेका छन् ।

    सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै सुआरेजले शुक्रबार राष्ट्रका लागि अन्तिम खेल खेल्ने बताए । ‘यो भन्दा मलाई दुःख लाग्छ, तर शुक्रबार मेरो देशको राष्ट्रिय टोलीसँग अन्तिम खेल हुनेछ ।’ विश्वकप छनोटको खेलमा उरुऊवेल पाराग्वेसँग घरेलु मैदानमा खेल्नेछ । सन् २००७ देशि उरुग्वेका लागि खेलेका सुआरेजले यो सन्यासको लागि सही समय भएको बताएका छन् । ‘मलाई थाहा छ, अर्को विश्वकपमा पुग्न मलाई गाह्रो छ । चोटका कारण नभई आफैंले सन्न्यास लिनु सान्त्वनादायी छ,’ उनले भने ।

    सुआरेजले उरुग्वेको राष्ट्रिय टिमबाट ४ पटक विश्वकप र ५ पटक कोपा अमेरिका खेलेका छन् । उनले सन् २०११ मा कोपा अमेरिकाको उपाधि समेत जितेका थिए । उनले कोपा अमेरिका जित्न आफ्नो करियरको सबैभन्दा उत्कृष्ट क्षण रहेको बताएका छन् । सुआरेजले हाल आफ्नो नजिकका साथी लिओनल मेसीसँगै मेजर सकर लिग क्लब इन्टर मायमीमा खेल्छन् । उनले क्लब करियरलाई भने निरन्तरता दिनेछन् ।

    सुआरेज र मेसीले सन् २०१४ देखि २०२० सम्म सँगै बार्सिलोनामा खेलेका थिए । यस्तै सुआरेजले अयाक्स, लिभरपुल, एट्लेटिको मड्रिड र ग्रेमियोका लागि पनि खेलेका छन् ।

  • नेपाली महिला फूटबल टोलीकी कप्तान एञ्जिलाले यूरोपमा व्यवसायिक लिग खेल्ने

    नेपाली महिला फूटबल टोलीकी कप्तान एञ्जिलाले यूरोपमा व्यवसायिक लिग खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् । एञ्जिलालाई ग्रिसको महिला ए डिभिजन लिग क्लब निस अट्रोमिटोउले नयाँ सिजनका लागि अनुबन्ध गरेको छ । उनलाई क्लबले २०२४–२५ को सिजनका लागि सम्झौता गरेको जनाएको छ । सम्झौता रकम खुलाइएको छैन ।

    एक दशकभन्दा बढी समय एपीएफबाट घरेलु फुटबल खेलेकी एन्जिलाले पहिलो पटक युरोपियन लिग खेल्न लागेकी हुन् । उनले यसअघि नेपालबाहेक भारत र पाकिस्तानमा फुटबल खेलेकी थिइन् । पहिलो पटक युरोपियन लिग खेल्न अनुबन्ध भएकोले खुशी लागेको एन्जिलाले बताइन् ।
    ‘
    एन्जिला युरोपमा लिग खेल्ने सावित्रा भण्डारीपछि दोस्रो खेलाडी हुनेछिन् । सावित्रा भण्डारीले इजरायली क्लबबाट युरोपियन फुटबलमा इन्ट्री मारेकी थिइन् भने हाल फ्रान्सेली शीर्ष डिभिजनको क्लब गुइग्याम्पमा खेलिरहेकी छन् । एन्जिलाले यसअघि भारतीय क्लब सेथु एफसीबाट दुई सिजन र पाकिस्तानको मासा युनाइटेडबाट एक सिजन खेलेकी थिइन् । उनले दुवै क्लबमा कप्तानी समेत गरेकी थिइन् ।

  • पारा ओलम्पिकमा नेपाललाई पदक जिताउने खेलाडीलाई नेताहरुको बधाई

    पारा ओलम्पिकमा नेपाललाई पदक जिताउने खेलाडीलाई नेताहरुको बधाई

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालबाट गोवर्धनलाई बधाई दिएका हुन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जितेकी हुन् ।

    पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् । उता, माओवादी अध्यक्ष प्रचण्ड, रास्वपा सभापति रवी लामिछाने, कांग्रेस नेता गगन थापासहितका नेताले समेत उनलाँई बधाई दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले समेत नेपाली खेलाडीलाई बधाई भनेका छन् ।