Category: खेलकुद

  • पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काश्य पदक

    पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काश्य पदक

    काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल भएकी छिन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा कांस्य जितिन् । कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गरिन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बनिन् ।

    नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारा ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । त्यसअघि पहिलो रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २–१ ले पराजित गर्दै पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् । पलेशाले आजै भएको पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनल पुगेकी थिइन् ।

    क्वाटरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०–८ ले पराजित भइन् ।पलेशाले यसअघि २०२१ मा टोकियो पारा ओलम्पिकमा दुई बाउट जितेर पदक नजिक पुगेकी थिइन् । तर कांस्य पदक भिडन्तमा उनी चिनियाँ खेलाडीसँग पराजित भइन् । लगातार दोस्रो पटक पारा ओलम्पिक खेलेकी पलेशा यस पटक भने छनोट चरण पारा गरेर पारा ओलम्पिक पुगेकी हुन् ।

    गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।
    यस्तै चीनको हान्झाउमा भएको चौथो एसियाली पारा खेलकुदमा पेलाशाले नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी थिइन् ।

    पलेशाले २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कांस्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।

  • आईसीसी विश्वकप लिग-२ तयारीका लागि श्रीलंका जाँदै

    आईसीसी विश्वकप लिग-२ तयारीका लागि श्रीलंका जाँदै

    काठमाडौं । नेपाल क्रिकेट टिम आईसीसी विश्वकप लिग २ को तयारीका लागि श्रीलंका जाने भएको छ । भारतको नेशनल क्रिकेट एकेडेमी बेंगलोरमा दुई साता अभ्यास गरेर नेपाल दुई दिनअघि मात्रै स्वदेश फर्किएको थियो । सेप्टेम्बर २ देखि ९ सम्म नेपालले श्रीलंकामा अभ्यास गर्ने भएको छ ।

    नेपालले श्रीलंका डेभ्लपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा मा तीन एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ । अघिल्लो महिना नै क्यानडा टी–२० लिग खेल्न गएका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरी भने श्रीलंका भ्रमणमा हुने छैनन् ।

    नेपालले रोहितको कप्तानीमा श्रीलंका भ्रमणलाई १९ सदस्य टोली घोषणा गरेको छ । उक्त टोलीबाट नेपालले क्यानडा जाने अन्तिम टोली पनि घोषणा गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार दीपेन्द्र र रोहित टोलीसँगै क्यानडामा जोडिनेछन् । आईसीसी विश्वकप लिग–२ घरेलु टोली क्यानडासँगै, नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ । लिग २ पछि यी तीन टोलीबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । नेपाली टोली आइतबार श्रीलंका भ्रमणमा जानेछ ।

    नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

  • पारसले भारतमा लिजेन्ड्स लिग क्रिकेट खेल्ने

    पारसले भारतमा लिजेन्ड्स लिग क्रिकेट खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । भेट्रान खेलाडीहरूले खेल्ने यो लिगका लागि पारसलाई गुजरात लायन्सले १२ लाख ५० भारतीय रुपैयाँ भाउ लगाएको थियो । भारतमा भएको अक्सनमा गुजरातले पारसलाई ‘बेस प्राइस’ मा लिएको थियो । गुजरातले पारससहित वेस्ट इन्डिजका क्रिस गेल, वेस्ट इन्डिजका लेन्डल सिमोन्स, अफगानिस्तानका पूर्वकप्तान अस्घर अफगानलाई समावेश गरेको छ ।

    सेप्टेम्बर २० बाट तेस्रो संस्करणको यो लिग सुरु हुनेछ । स्थान भने तय भइसकेको छैन । गुजरातसहित लिजेन्ड्स लिगमा भलवारा किंग्स, मणिपाल टाइगर्स, साउथर्न सुपर स्टार्स र उर्बानराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्दै छन् । नेपाल क्रिकेट संघका सचिव पारसले २०२२ को मार्चमा कतारमा भएको पहिलो संस्करण एसियन लायन्सबाट खेलेका थिए ।

  • विश्वकप खेलेका क्रिकेटरले जनही ३\३ लाख प्रोत्साहन भत्ता पाउने

    विश्वकप खेलेका क्रिकेटरले जनही ३\३ लाख प्रोत्साहन भत्ता पाउने

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० विश्वकप खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । क्यानको बिहीबार बसेको कार्यसमिति बैठकले १५ जना खेलाडीलाई जनही ३ लाख प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

    अमेरिका र वेष्ट इण्डिजमा भएको आईसीसी पुरुष टी–२० क्रिकेट विश्वकपमा सहभागी मुख्य प्रशिक्षकलाई ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय पनि बैठकले गरेको छ । अन्य सपोर्ट स्टाफले भने जनही १ लाख ५० हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता पाउने भएका छन् ।

    क्यानले प्रत्येक प्रदेशका २ जना महिला र ३ जना पुरुष खेलाडी गरी देशका सबै ७ प्रदेश क्रिकेट सङ्घका कुल ३५ जना प्रादेशिक खेलाडीलाई १५ हजार रुपैयाँ मासिक तलब पनि दिने भएको छ । म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका क्रिकेटर आदिल आलमको निलम्बन फुकुवाबारे भने क्यानले आईसीसीको निर्देशन पर्खेको छ ।

    निलम्बित राष्ट्रिय क्रिकेट खेलाडी आलमको फुकुवाबारे आईसीसी एन्टी करप्सन युनिटमा पेस गरी त्यहाँबाट प्राप्त निर्देशनअनुसार सङघबाट निर्णय गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । क्यानले आउँदो नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाण्डौमा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा ८ टोलीको सहभागिता रहने पनि जनाएको छ ।

  • अब प्रदेशका क्रिकेट खेलाडीले समेत मासिक तलव पाउने

    अब प्रदेशका क्रिकेट खेलाडीले समेत मासिक तलव पाउने

    काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले प्रदेशका खेलाडीहरुलाई पनि मासिक तलब दिने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीलाई मासिक १५ हजार तलब पदने निर्णय गरेको हो ।

    खेलाडीहरुको पारिश्रमिक बापतको रकम प्रदेशहरुमा पठाइनेछ र प्रदेश क्रिकेट संघले खेलाडीहरुलाई सम्झौता गर्नेछ । यो निर्णयअनुसार हुने सम्झौता सेप्टेम्बर १ देखि एक वर्षसम्म लागू हुनेछ ।

    हाल राष्ट्रिय टिममा रहेका खेलाडीहरुलाई सेन्ट्र‍ल कन्ट्याक्ट गरिएको छ । ए ग्रेडमा रहेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउने छन् । पछिल्लो पटक हरेक प्रदेशबाट एकएक जनालाई समेत सेन्ट्राल कन्ट्याक्टमा राखिएको थियो ।

  • साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

    साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

    काठमाडौं । नेपालले घरेलु मैदानमा हार बेहोेरेको छ। दुई पटकको च्याम्पियन नेपाललाई पछी पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हराएर च्याम्पियन बनेको हो । सेमिफाइनलसम्म उत्कृष्ट खेल पस्किएको नेपाल फाइनलमा भने निरिह देखियो ।

  • यू-२० साफ च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र बंगलादेश भिड्दै

    यू-२० साफ च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र बंगलादेश भिड्दै

    काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो साढे दुई बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ । यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुन लागेको हो ।

    पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका हुन् । गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो ।

  • साफ यु–२० च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल फाइनलमा

    साफ यु–२० च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल फाइनलमा

    काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिजेट ११ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

    पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे । नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नायक बने । नेपालले अब भारत र बंगलादृशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।

  • साफ यु-२० च्याम्पियनसिप : आज नेपाल र भुटान सेमिफाइनलमा भिड्दै

    साफ यु-२० च्याम्पियनसिप : आज नेपाल र भुटान सेमिफाइनलमा भिड्दै

    काठमाडौं । घरेलु मैदानमा जारी साफ यु २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

    नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले दोस्रो खेलमा बंगलादेशलाई २–१ ले हराएको हो । भुटान समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा साविक विजेता भारतसँग १–० ले हारेको भए पनि दोस्रो खेलमा माल्दिभ्सलाई २–१ ले पराजित गरेको हो ।

  • नेपाल प्रिमियर लिग १५ मंसिरबाट

    नेपाल प्रिमियर लिग १५ मंसिरबाट

    काठमाडौं । टी–२० प्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आगामी मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघले सोमबार प्रतियोगिताको मिति घोषणा गरेको हो । १५ मंसिरदेखि हुने प्रतियोगिता ६ पुसम्म चल्नेछ ।

    कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको लोगो सार्वजनिक गरे । राष्ट्रिय खेदकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिमिङले प्रतियोगितामा आउने विदेशी खेलाडीहरुलाई सहयोग गर्न छुट्टै डेक्स राख्ने प्रतिवद्धता जनाए ।

  • साफ यू-२० च्याम्पियनसिप : आयोजक नेपालको विजयी सुरुवात

    साफ यू-२० च्याम्पियनसिप : आयोजक नेपालको विजयी सुरुवात

    काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा आजबाट सुरू भएको छ। दशरथ रंगशालाको मैदान खराब भएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा नेपालले जित निकालेको छ। आइतबार भएको खेलमा नेपालले श्रीलंकामाथि १–० गोलको जित निकालेको हो। नेपालको जितमा निराजन धामीले गरेको गोल निर्णायक सावित भयो। उनले खेलको २४ मिनेटमा डिबक्स भित्रबाट सशक्त प्रहार गर्दै गोल पोस्टको दिशा दिएका थिए।

    खेलमा नेपाली फरवार्ड पाएका अवसरमा पटकपटक चुकेका थिए। समिर तामाङले दुई सुन्दर अवसर खेर फालेका थिए। यस्तै अनिल बम्जन पनि प्राप्त अवसरमा सफल हुन सकेनन्। खेलको अन्तिम मिनेटमा निराजन धामीको प्रहार क्रस बारमा लाग्दा नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमेको थियो।

    प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्। अब नेपालले समूहको दोस्रो खेलमा बिहीबार बंगलादेशसँग खेल्नेछ। भोलि अर्को समूहको खेलमा भारत र भुटानबीच खेल हुनेछ।

  • नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने

    नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने

    काठमाडौं । नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अप्रिल १२ देखि २१ सम्म हुने प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् । छनोट चरणको विजेता टोली २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ ।

    एसिया डिभिजन १ क्षेत्रमा विजेता र उपविजेता बनेर ओमान र हङकङ नेपालमा हुने प्रतियोगिताका लागि छनोट भएका हुन् । नेपालले यसअघि सन् २००१ र २००५ मा एसीसी यू–१९ एसिया कप आयोजना गरेको थियो, दुवैपटक विजेता बन्दै नेपाल यू–१९ विश्वकपमा पुगेको थियो ।

    यसै वर्ष दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकप जितेको अस्ट्रेलियासहित भारत, इंग्ल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रीलंका, वेस्ट इन्डिज, बंगलादेश, आयरल्यान्ड र आयोजक जिम्बावे अब हुने विश्वकपका लागि सोझै छनोट भइसकेका छन् ।

    पछिल्लो एसिया छनोटचरणमा नेपालले यूएईलाई पराजित गर्दै यू–१९ विश्वकपमा पुगेको थियो । नेपालले यसै वर्ष भएको विश्वकपमा समूह चरणमा अफगानिस्तानलाई पराजित गर्दै सुपर ‘एट’ मा पुगेको थियो । समूह चरणबाटै बाहिरिएको अफगानिस्तानले यसपटक एसिया छनोट खेल्नुपर्ने भएको हो ।

    नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२, २०१६ र २०२४ मा गरी ८ पटक यू–१९ विश्वकप खेलिसकेको छ । २०००, २०१२ र २०१६ मा गरी तीनपटक यू–१९ विश्वकपको दोस्रो चरणमा पुगेको नेपालले २००६ मा प्लेट फाइनल जितेको थियो भने २००२ र २००६ मा प्लेट फाइनलको उपविजेता भएको थियो ।

  • यु-२० च्याम्पियनसिप आजबाट सुरु हुँदै

    यु-२० च्याम्पियनसिप आजबाट सुरु हुँदै

    काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ । समूह-ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।
    लगातार दोस्रोपटक प्रतियोगिता आयोजना गरिरहेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यमा छ ।

    श्रीलंकाले भने आन्तरिक कारण गत संस्करणको प्रतियोगिता खेलेको थिएन । नेपाली टोली कुशल देउवाको कप्तानीमा मैदान उत्रँदैछ । गत वर्ष साफ यु–१९ च्याम्पियनसिपमा नेपालको कप्तानी गरेका जियारथ शेख यसपटक पनि टिममा छन् । नेपाली टोलीमा यसपटक डिभिजन लिग र एनएसएल खेलेका खेलाडीहरू हुँदा टिम अनुभवी बनेको छ । यस्तै राष्ट्रिय टिमबाट खेलिसकका फरवार्ड समिर तामाङ पनि टिममा छन् ।

    अनुभवी खेलाडी, घरेलु मैदान र दर्शकको साथमा राम्रो प्रदर्शन गर्ने मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बताएका छन् । साफ यु२० च्याम्पियनसिपमा पाकिस्तानसहित दक्षिण एसियाका ६ टोलीको सहभागिता छ । समूह ए मा नेपाल र श्रीलंकासहित बंगलादेश छ भने साविक विजेता भारतसहित भुटान र माल्दिभ्स समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

  • यूईएफए सुपर कपको उपाधि रियललाई

    यूईएफए सुपर कपको उपाधि रियललाई

    काठमाडौं । स्पानिस क्लव रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई २–० ले हराउँदै यूईएफए सुपर कपको उपाधि हात पारेको छ । पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गतरात सम्पन्न खेलमा रियलका लागि फेडरिक भेलभेर्डले र केलिएन एमबाप्पेले एक–एक गोल गरे । एटालान्टाले पहिलो हाफमा रियललाई गोलरहित बराबरीमा रोकेपनि रियलले दोस्रो हाफमा दुई गोल गरेको हो ।

    ५८औं मिनेटमा फेडरिकले भिनिसियस जुनियरको पासमा गऊल गर्दै रियललाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा एमबाप्पेले जुड बेलिङघमको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । केही समयअघि रियलमा अनुबन्ध भएका एमबाप्पेले रियलका लागि डेब्यु खेलमै गोल गरेका हुन् र उनले उपाधि बाट रियलमा यात्रा सुरु गरेका छन् ।

    रियलको जर्सी लगाएर समर्थकअघि खेल्न पाउनु आफ्नो लागि गिप्ट भएको उनको प्रतिक्रिया थियो । रियलले कीर्तिमानी छैटौं पटक यूईएफए सुपर कपको उपाधि जितेको हो । यसअघि रियल र बार्सिलोनाले समान पाँचपटक उपाधि जितेका थिए । अब रियल सर्वाधिक युइएफए सुपर कप जित्ने टिम बनेको छ ।

    रियलले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा पनि यूईएफए सुपर कपको उपाधि जितेको थियो । नयाँ सिजन सुरु हुनुअघि युरोपियन च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच युइएफए सुपर कप खेल हुँदै आएको छ । रियलले गत सिजन च्याम्पियन्स लिग र एटलान्टाले युरोपा लिगको उपाधि जितेको थियो ।

  • एएफसी च्यालेन्ज कप : भुटानको पारोसँग हार्यो नेपालको चर्च ब्वाइज

    एएफसी च्यालेन्ज कप : भुटानको पारोसँग हार्यो नेपालको चर्च ब्वाइज

    काठमाडौं । अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज कप प्लेअफ खेलमा भुटानको पारो एफसीसँग २–१ ले पराजित भएको छ । खेलअघि पानी परेपछि हिलाम्मे बनेको दशरथ रंगशालामा भएको खेलमा लकेन लिमणबुको गोलमा चर्च ब्वाइजले सुरुवाती अग्रता लिएको थियो ।

    तर किङ्गा वाङ्चुक र विलियम ओपोकुको गोलमा पारो एफसीले पुनरागमन जित निकाल्यो । जितपछि पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ भने महादेशीय क्लब प्रतियोगितामा डेब्यु गरेको चर्च ब्वाइज बाहिरिएको छ । भुटानी क्लबले सिनियर स्तरमा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो ।

    पहिलो हाफमा मैदानको अवस्थाका कारण खेलाडीहरुलाई खेल्न कठिन भएको थियो । नियमित कप्तान किन्ले वाङ्चुक बेन्चमा राख्दै पारो जापानी खेलाडी केसुके होन्डाको कप्तानीमा मैदान उत्रेको थियो । पारोले होन्डाको कप्तानीमा पहिलो रोजाईँमा ९ विदेशी खेलाडी मैदान उतारेको थियो भने चर्च ब्वाईजमा ३ विदेशी खेलाडी मात्र खेलेका थिए ।

    दोस्रो हाफमा दुवै टोलीले खेलमा सुधार गर्दै आक्रमक खेल खेलेका थिए । दोस्रो हाफको सुरुवाती १५ मिनेट चर्च ब्वाईजले दबाब बनाएको थियो । ६६ मिनेटमा पारोका विलियम ओपोकुले गोल गर्दै पारोलाई २–१ को अग्रता दिलाए ।

  • २०२८ को ओलम्पिक अमेरिकाले आयोजना गर्ने, कस्तो रह्यो पेरिस ओलम्पिक ?

    २०२८ को ओलम्पिक अमेरिकाले आयोजना गर्ने, कस्तो रह्यो पेरिस ओलम्पिक ?

    काठमाडौं । ३४ औं ग्रीष्मकालीन ओलम्पिक अमेरिकाले आयोजना गर्ने भएको छ । पेरिस ओलम्पिकको समापनसँगै आगामी ओलम्पिकको आयोजनाको तयारीमा अमेरिका जुटेको हो । यस ओलम्पिकमा अमेरिका र चीनले समान ४० स्वर्ण जिते पनि रजत र कांस्यका आधारमा अमेरिका पहिलो स्थानमा रह्यो । कुल अमेरिकाले १२६ र चीनले ९१ पदक जिते । पेरिसमा ९१ राष्ट्रले कुनै न कुनै पदक जितेका छन् ।

    समापन समारोह संगीतमय रह्यो र त्यसमा रेड हड चिल्ली पेपर्स, बिली एलिस, स्नुप डग र डाक्टर ड्रेले आ–आफ्नो प्रस्तुति दिए । यस्तै फ्रान्सेली इतिहास, कला र संस्कृति झल्किने विभिन्न प्रस्तुति पनि प्रदर्शन पनि समापन समारोहमा राखिएको थियो ।त्यस अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले ३३ औं गृष्मकालीन ओलम्पिक सनसनीपूर्ण ढंगले सफल रहेको दाबी गरे । उनले ओलम्पिक इतिहासमा नयाँ युगको सुरुआत भएको पनि दाबी गरे ।

    अर्को संस्करणको ओलम्पिक अमेरिकाको लस एन्जलसमा सन् २०२८ मा हुनेछ । अमेरिकाले १९९६ को एटलान्टापछि पहिलो पटक ओलिम्पक आयोजना गर्न लागेको हो । अब पारा ओलम्पिक अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पेरिसमै आयोजना हुनेछ ।

  • विश्व चर्चित जापानीज खेलाडी होण्डा आज नेपालमा खेल्दै, चर्च ब्वाइज युनाइटेडविरुद्ध प्रतिस्पर्धा

    विश्व चर्चित जापानीज खेलाडी होण्डा आज नेपालमा खेल्दै, चर्च ब्वाइज युनाइटेडविरुद्ध प्रतिस्पर्धा

    काठमाडौं । एएफसी च्यालेन्ज लिग प्लेअफमा आज नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले भुटानको लिग च्याम्पियन पारो एफसीको सामना गर्दैछ । पारो टोलीमा जापानिस स्टार केसुके होन्डा मूख्य आकर्षण छन् । उनी तीन पटक विश्वकप खेलिसकेका जापानका विश्वचर्चित स्टार हुन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । खेलको विजेता एएफसी च्याल्नेज लिगको समूह चरणमा पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ ।

    राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजले करिब एक महिनादेखि यही खेलका लागि तयारी गरेको छ । राष्ट्रिय टिमका अधिकांश खेलाडी समावेश गरेको चर्चा ब्वाइजमा ३ मात्र विदेशी खेलाडी छ । उता किन्ले वाङचुकको कप्तानीमा रहेको पारो टोलीमा होन्डाहसित ११ विदेशी खेलाडी छन् ।


    चर्च ब्वाइजका मुख्य प्रशिक्षक बागोपाल महर्जनले पारोमा धेरै विदेशी हुँदा खेल्न गाह्रो हुने भए पनि आफूहरुले शतप्रतिशत दिएर खेल्ने बताए । पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिममा वर्ल्ड क्लास प्लेअर रहेको बताए । उनले पछिल्लो पटक नेपालमा खेल्न आउँदा मछिन्द्र एफसीसँग पराजित भएपनि यस पटक नतिजा सुधार गर्ने लक्ष्य रहेको बताएका छन् ।

    प्रशिक्षक शर्माले नेपालको मौसम र मैदानको कन्डिसनले गर्दा खेल्न केही कठिन हुने बताए । चर्च ब्वाइजले एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि महादेशिय क्लब प्रतियोगितामा डेब्यु गर्न लागेको हो । च्यालेन्ज कप प्लेअफ विजेता मुख्य समूह चरणमा प्रवेश गर्नेछ र विजेताले एक लाख डलर प्राप्त गर्छ ।

  • ग्लोबल टी–२० लिगको उपाधि रोहित आवद्ध टीमले जित्यो

    ग्लोबल टी–२० लिगको उपाधि रोहित आवद्ध टीमले जित्यो

    काठमाडौं । क्यानडामा सम्पन्न ग्लोबल टी–२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले हात पारेको छ ।
    आइतबार राति सम्पन्न फाइनलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले हराउन सफल भयो ।

    ९७ रनको सामान्य लक्ष्य लक्ष्य ३० बल बाँकी हुँदै मात्र दुई विकेट गुमाएर पूरा गरेको हो । टोरोन्टोका लागि आन्द्रिस गोसले ५८ र रासेइ भान डेर दुसेनले ३० रनको योगदान गरे । मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले एक–एक विकेट लिए ।

    पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो । जसमा कोर्बिनले सर्बाधिक ३५ रन बनाए भने जसकरण सिंहले १६ र अनुप रविले १० रन बनाउनबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । टोरोन्टोका जसन बेहरेन्डोर्फ तीन, रोमारिओ शेफर्डले दुई, जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले एकरएक विकेट लिए । तीन विकेट लिएकाजसन प्लेयर फ म्याच भए ।

    शनिबार भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टो फाइनल प्रवेश गरेको थियो । पहिलो क्वालिफायर्स वर्षाका कारण रद्द भए पनि लिगको शीर्ष स्थानमा रहॅंदै प्लेअफमा स्थान बनाएको कारण मोन्ट्रियल टाइगर्स फाइनलमा पुगेको थियो । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आवद्ध भएको टोली भने लिगको अन्तिममा रहँदै बाहिरएको थियो ।

  • पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका प्रथम, चीन अन्तिम दिन पछि पर्यो

    पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका प्रथम, चीन अन्तिम दिन पछि पर्यो

    काठमाडौं । पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका प्रथम बनेको छ । दुई सातासम्म चलेको ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेको थियो । अन्तिम दिन अमेरिकाले बाजी मार्न सफल भयो । पेरिस ओलम्पिकको अन्तिम दिन अमेरिकाले महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछिपछि पदक तालिकामा चीनलाई पछि पारेको हो । रोमाञ्चक खेलमा अमेरिकाले आयोजक फ्रामन्सलाई ६७–६६ ले पराजित गरेको थियो ।

    अमेरिका र चीनले समान ४० स्वर्ण जितेको थियो । तर रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो । अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्यो । चीन ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेर दोस्रो भयो । अर्को एसियाली राष्ट्र जापान तेस्रो भयो ।

    जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जित्यो । अष्ट्रेलिया १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जोडेर चौथो भयो । आयोजक फ्रान्स पाँचौ स्थानमा रह्यो । फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक जित्यो । पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए ।

  • पेरिस ओलम्पिकमा पनि पदकविहिन नेपाल

    पेरिस ओलम्पिकमा पनि पदकविहिन नेपाल

    काठमाडौं । पेरिस ओलम्पिक २०२४ को अन्तिम दिन महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठ ७९ स्थानमा रहन पुगिन् । आइतबार सम्पन्न महिला म्याराथनमा सन्तोषी भन्दा पछाडी एक जना मात्र धावक रहिन् । ११ जना धावकले भने दौड बीच बाटोमै छाडेका थिए । संतोषिले २ घन्टा ५५ मिनेट ६ सेकेन्डमा दौड पूरा गरिन् । उनकै नाममा २ घन्टा ४० मिनेटको राष्ट्रिय कीर्तिमान रहेको छ ।

    कठिन मानिएको पेरिसको म्याराथन उनले आफ्नै राष्ट्रिय कीर्तिमान भने पार गर्न सकिनन् । गत वर्ष चीनमा भएको एसियाली खेलकुदमा १० हजार मिटरमा दौडिएकी सन्तोषी सन् २०१९ मा नेपालमा भएको दक्षिण एसियाली खेलकुदमा १० हजार मिटरमा स्वर्ण जितेकी थिइन्। त्यो नेपाली महिला खेलाडीले एथ्लेटिक्समा जितेको पहिलो स्वर्ण हो ।

    महिला म्याराथनको स्वर्ण नेदरल्यान्ड्सकी हसन सिफनले २ घन्टा २२ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरेर जितिन्। इथियोपियाकी असेफा टेगेस्टले २ घन्टा २२ मिनेट ५८ सेकेन्डमा दौड पूरा गर्दै रजत र केन्याकी ओबिरी हलेनले २ घन्टा २३ मिनेट १० सेकेन्डमा कास्य पदक हात पारिन्।

    यसअघि नेपालबाट प्रतिस्पर्धा गरेका ६ खेलाडीको पनि पहिलो चरणमै चुनौती सकिएको थियो। जसमा ब्याडमिन्टमा प्रिन्स दाहाल, टेबलटेनिसमा स्यान्टु श्रेष्ठ,सुटिङमा सुस्मिता नेपाल, जुडोमा मनिता श्रेष्ठ प्रधान, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह थिए। यससँगै नेपाल यो ओलम्पिकमा पदक विहिन रहन पुग्यो ।

  • शरणार्थी शिविरबाट ओलम्पिक खेलेकी अफगानी खेलाडी किन घोषित भइन् अयोग्य ?

    शरणार्थी शिविरबाट ओलम्पिक खेलेकी अफगानी खेलाडी किन घोषित भइन् अयोग्य ?

    काठमाडौं । शरणार्थी ओलम्पिक टोलीका सदस्य अफगानिस्तानकी ’ब्रेकडान्सर’ मनीजा तलासलाई “अफगानी महिलालाई स्वतन्त्र गर’’ लेखिएको पहिरन प्रदर्शन गरेपछि पेरिस ओलम्पिकमा अयोग्य घोषित गरिएको छ । विश्व डान्सस्पोर्ट महासङ्घले शनिबार यसको जानकारी गराएको हो । २१ वर्षीया बी–गर्ल तलास नेदरल्यान्ड्सको इन्डिया सार्डजो विरुद्धको पहिलो प्रतिस्पर्धाको ठिक अघि शुक्रबार नारा सहितको निलो पहिरन पहिरिएर प्रस्तुत भएकी थिइन् ।

    “शरणार्थी टोलीका सदस्य एथलीट बी–गर्ल तलातले ओलम्पिक अधिकारपत्रको नियम ५० को उल्लङ्घन गर्दै आफ्नो पोसाकमा राजनीतिक नारा प्रदर्शन गरेकोमा अयोग्य घोषित गरिएको हो”, डान्सस्पोर्ट महासङ्घले विज्ञप्तिमा जनाएको छ । नियम ५० ले कुनै पनि ओलम्पिकस्थल वा अन्य क्षेत्रमा कुनै पनि प्रकारको प्रदर्शन वा राजनीतिक, धार्मिक वा जातीय प्रचारमा प्रतिबन्ध लगाएको छ ।

    सन् २०२१ देखि तालिबानको नियन्त्रणमा रहेको काबुलमा जन्मिएकी तलास देशबाट भागेर आफ्ना दुई दाजुभाइसँग स्पेनमा बस्दै आएकी छिन् ।
    “मैले तालिबानसँग डराएर वा अफगानिस्तानमा बस्न नसकेर देश छाडेको होइन । मैले अफगानिस्तानका महिलाहरूका लागि,आफ्नो भविष्यको लागि देश छोडेको हो”, उनले प्रतियोगिता अघि भनेकी थिइन् । ‘मैले आफ्नो लक्ष्य पुरा गर्ने जोखिम लिएँ। मेरो हृदयमा डर छ तर म हार मान्दिनँ”, उनले भनिन् ।

    पेरिस ओलम्पिकमा साइक्लिङ, एथलेटिक्स, पौडी खेल्ने र जुडो स्पर्धामा तालिबान सरकारले स्वीकार नगरेको तीन महिलासहित ६ जना खेलाडीले अफगानिस्तानको प्रतिनिधित्व गरेका थिए । राससएएफपी

  • पेरिस ओलम्पिक : नेपाली खेलाडी संतोषीले आज म्याराथनमा प्रतिस्पर्धा गर्दै

    पेरिस ओलम्पिक : नेपाली खेलाडी संतोषीले आज म्याराथनमा प्रतिस्पर्धा गर्दै

    काठमाडौं । नेपाली म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ मा आज महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् । सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् । दश दिनअघि नै पेरिस पुगेकी सन्तोषीले त्यहाँको वातावरणमा घुलमिल हुँदै अभ्यास गरेकी छन् ।

    राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्यसहित पेरिस पुगेकी सन्तोषीले म्याराथनको कोर्स देखेर सुरुमा केही हच्किए पनि पुरुष म्याराथनमा इथियोपियाका तोला तामिरले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेपछि उत्साह बढेको बताएकी छन् । सन्तोषीले आफूले गरेको अभ्यास अनुसार सक्दो राम्रो गर्न प्रयास गर्ने बताइन् । उनले पहिलो लक्ष्य म्याराथन पूरा गर्ने र त्यसपछि कीर्तिमानमा केन्द्रित हुने बताइन् ।

    सन् २०१९ मा काठमाडौंमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण जितेर गोल्डेन गर्लको रुपमा उदाएकी सन्तोषीले ओलम्पिकमा भने म्याराथन दौडन लागेकी हुन् । उनले मध्यम दूरीबाट दौड सुरु गर्दै हाफ म्याराथन अनि म्याराथन दौडन थालेकी हुन् ।

    बंगलादेशको ढाकामा भएको बंगबन्धु म्याराथनमा कीर्तिमानी स्वर्ण जितेपछि सन्तोषीले ओलम्पिकमा सहभागी हुने अवसर पाएकी हुन् । उनले अन्तर्राष्ट्रिय डेब्यु म्याराथनमै २ घण्टा ४६ मिनेट २३ सेकेन्डको कीर्तिमानी सममयमा स्वर्ण जितेकी थिइन् ।

    पेरिस ओलम्पिकमा नेपालमा यसअघि ६ खेलाडीले आफ्नो प्रतिस्पर्धा सकाएर फर्किसकेका छन् । पौडीका अलेक्जान्डर शाहले राष्ट्रिय कीर्तिमान सुधार गर्नु बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन । शाहसहित पौडीकै डुवाना लामा, टेबल टेनिसका श्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएका थिए ।

  • स्पेनले जित्यो पेरिस ओलम्पिकको फुटबलमा स्वर्ण

    स्पेनले जित्यो पेरिस ओलम्पिकको फुटबलमा स्वर्ण

    काठमाडौं । आयोजक फ्रान्सलाई हराउँदै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । अतिरिक्त समयमा ५–३ गोलले हराउँदै स्पेनले उपाधी जितेको हो । शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले रोमाञ्चक जित निकालेको हो ।

    स्पेनले ओलम्पिकमा पुरुष फुटबलका जितेको यो दोस्रो स्वर्ण हो । यसअघि सन् १९९२ मा स्पेनले स्वर्ण जितेको थियो । १९८४ मा पहिलो पटक फुटबलम स्वर्ण जितेको फ्रान्सको घरेलु मैदानमै स्वर्ण जित्ने चाहना भने पूरा हुन सकेन ।

    निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जहाँ कामेलोले १००औं मिनेटमा गोल गर्दै स्पेनको अग्रता ४–३ बनाएका थिए भने अतिरिक्त समयमको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।

    त्यसअघि खेलको सुरुमा फ्रान्सले गोल गर्दै अग्रता लिएपनि कायम राख्न सकेन । एन्जो मिलोटले ११औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर फर्मिन लोपेजले १८औं मिनेटमा स्पेनका लागि बराबरी गोल गरे । पर्मिनले नै २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाएका थिए । एलेक्स बाएनाले २८औं मिनेटमा गोल गरेपछि स्पेनले पहिलो हाफको आधा घण्टामै ३–१ को अग्रता बनायो ।

  • पाकिस्तानले ४० वर्ष पछि जित्यो ओलम्पिकमा स्वर्ण

    पाकिस्तानले ४० वर्ष पछि जित्यो ओलम्पिकमा स्वर्ण

    काठमाडौं । पाकिस्तानका अरशद नदीमले पेरिस ओलम्पिक २०२४ मा बिहीबार पुरुष ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका छन् । ओलम्पिक इतिहासमै पाकिस्तान व्यक्तिगत विधातर्फ स्वर्ण जितेको यो पहिलो पटक हो । नदीमले ओलम्पिक कीर्तिमान बनाउने क्रममा ९२.९७ मिटर थ्रो गरे । भारतका निरज चोपडा ८९.४५ मिटरको थ्रोमा दोस्रो भए । पाकिस्तानी खेलाडी सन् २०२२ को कमनवेल्थ गेम्सका च्याम्पियन पनि हुन् ।

    पाकिस्तानले ओलम्पिकमा स्वर्ण जितेको भने यो ४० वर्षयता पहिलो हो । यसअघि पाकिस्तानले सन् १९६०, १९६८ र १९८४ मा पुरुष हक्कीमा स्वर्ण पदक जितेको थियो । व्यक्तिगत विधातर्फ पाकिस्तानले सन् १९६० मा कुस्तीतर्फ तथा सन् १९८८ बक्सिङतर्फ एक एक कांस्य जितेको थियो ।

    प्रतियोगिताको समग्र पदक तालिकामा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कांस्यसहित शीर्ष स्थानमा छ । चीन २९ स्वर्ण, २५ रजत र १९ कांस्यसहित दोस्रोमा छ । यस्तै तेस्रो स्थानमा अस्ट्रेलियाको १८ स्वर्ण, १४ रजत र १३ कास्य रहेको छ । स्वर्ण जितेसँगै भारत भन्दा पाकिस्तान पदक तालिकामा अगाडी रहेको छ ।

  • दशरथ रङ्गशाला पुनः अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य

    दशरथ रङ्गशाला पुनः अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य

    काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न सक्षम बनेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले सोको अनुमति दिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफअनुसार दशरथ रङ्गशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको राखेपले जनाएको छ ।


    विभिन्न प्रश्न उठाउदै एएफसीले केही समयदेखि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य घोषित गरेको छ । यसले नेपाली टोलीले विश्वकप छनोट घरेलु मैदानमा खेल्न पाएको थिएन् । एएफसीले रङ्गशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भने पछि गत चैतदेखि राखेपले आफैले खेल मैदानको रेखदेख र संरक्षण शुुरु गरेको थियो ।

    त्यसअघि त्यो जिम्मेवारी राखेपले एन्फालाई दिएको थियो । यस बीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रङ्गशालाको निरिक्षण तथा अवलोकन गरि मापदण्ड पुरा भएको प्रतिवेदन दिएको एन्फाले जानकारी दिएको राखेपले बताएको छ ।

    दशरथ रङ्गशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही साउन २९ गते एएफसी च्यालेन्ज लिग छनौटको प्लेअप अन्तर्गत नेपालको लिग च्याम्पियन चर्चब्वाईज युनाईटेड र भुटानको लिग विजेता पारो एफसीबीच खेल हुने भएको छ ।

  • महिला भलिबल टीमका सदस्यलाई काठमाडौं महानगरले दियो एक\एक लाख पुरस्कार

    महिला भलिबल टीमका सदस्यलाई काठमाडौं महानगरले दियो एक\एक लाख पुरस्कार

    काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । नगद पुरस्कार पाउने खेलाडीमा कप्तान अरुणा शाही, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, पुनम चन्द, संगम महतो, कविता भट्ट, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन र आरती सुवेदी गरी १४ जना खेलाडी छन् ।

    प्रशिक्षक जगदिश भट्ट, सहायक प्रशिक्षक भरत यादव, फिजियो लोकेन्द्र कँवर र व्यवस्थापक निलम बज्राचार्यलाई जनही ५० हजार रुपैयाँ दिइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    काभा वुमन्स नेसन्स लिगको बुधबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । उक्त खेल हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोल त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा पुगेका थिए । बिहीबार आयोजित सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले खेल क्षेत्रको विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा बदल्न सरकारी निकायले काम गर्नुपर्ने बताए ।

    ‘काभाले सरकारी संयन्त्रलाई खेल विकासका लागि थप काम गर्न ध्यानाकर्षण गराएको छ । छुटेको काम गर्न सम्झाएको छ’, सम्मान कार्यक्रममा उनले भने ।
    फाइनल खेलमा नेपाली महिला टिमको प्रदर्शनले भलिबल राष्ट्रिय खेल भएको प्रमाणित गरेको भन्दै शाहले यो खेलले सबै नेपालीलाई एक भावनामा उभ्याएको बताए ।

    उपप्रमुख सुनिता डंगोलले खेलमा हार जित स्वभाविक हो भन्दै खेलाडीहरुमा ऊर्जा देखिनु महत्वपूर्ण भएको बताइन् । ‘खेलमा जित र हार हुन्छ नै । सबैभन्दा महत्वपूर्ण कुरा त खेलाडीको ऊर्जा हो । महिला भलिवल टोलीमा हामीले त्यो ऊर्जा पायौं’, उनले भनिन् । मुख्य प्रशिक्षक भट्टले, महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको बताए ।

  • ओलम्पिकमा तौल विवादले फाइनल गुमाएकी भारतीय कुस्तीवाज विनेशले कुस्तीलाई गरिन् अलबिदा

    ओलम्पिकमा तौल विवादले फाइनल गुमाएकी भारतीय कुस्तीवाज विनेशले कुस्तीलाई गरिन् अलबिदा

    काठमाडौं । अधिक भार सम्बन्धी विवादले पेरिस ओलम्पिकमा फाइनल खेल खेल्नबाट बन्चित भारतीय कुस्तीवाज विनेश फोगाटले कुस्तीलाई अलबिदा भनेकी छन् । उनले आफ्नो हिम्मत टुटिसकेको भन्दै कुस्तीलाई अलबिदा भनेकी हुन् । सामाजिक सन्जाल एक्समा उनले लेखेकी छन्, ‘आमा कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर्नुहोला तपाईंको सपना, मेरो हिम्मत सबै टुटिसक्यो । योभन्दा ताकत अब छैन ।’ उनले थप लेखेकी छन्, ‘अलबिदा कुस्ती २००१–२०२४ । म तपाईंहरु सबैको सदैव ऋणी रहने छु ।’

    कुस्तीको ५० केजी तौलको प्रतिस्पर्धामा बढी तौल भएपछि उनी फाइनल खेल्नबाट बन्चित भएकी थिइन् । मंगलबार ५० केजी फ्रिस्टाइलतर्फ विश्वकी नम्बर वान् तथा २०२० ओलम्पिककी च्याम्पियन यु सुसाकीलाई प्री क्वाटरफाइनलमा, युक्रेनकी ओक्सना लिभाचलाई क्वाटरफाइनलमा र क्युबाकी गुज्मानलाई सेमिफाइनलमा हराउँदै फोगाट फाइनलमा पुगेकी थिइन् ।

    सेमिफाइनलमा उनी ५–० ले विजयी भएकी थिइन् । तर फाइनल खेल अगाडि लिइएको तौलमा उनको वजन १०० ग्राम बढी भएको पाइएपछि फाइनल खेल्न बन्चित भएकी थिइन् । फोगाटले एक्स अकाउन्टमा लेखेको स्टाटसमा प्रतिक्रिया दिँदै भारतका पहलवान बजरंग पुनियाले विनेश फोगाट हारेको नभई हराइएको टिप्पणी गरेका छन् । उनले सान्त्वना दिँदै लेखेका छन्, ‘विनेश तिमी हारेकी होइनौ, हराइएको हो । हाम्रा लागि तिमी सदैव विजेता रहने छौ । तिमी भारतकी छोरी मात्र नभई भारतको गौरव पनि हौ ।’

  • काभा वुमन्स नेसन्स लिग २०२४ : फाइनलमा चुक्यो नेपाल

    काभा वुमन्स नेसन्स लिग २०२४ : फाइनलमा चुक्यो नेपाल

    काठमाडौं । काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले हात पारेको छ । दशरथ रंगशालास्थित कभर्ड हलमा बुधबार सम्पन्न खेलमा नेपाल पुनः भारतसँग हार्न पुग्यो । साथमा इतिहास रच्नबाट समेत नेपाल चुकेको छ । भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले हरायो ।

    भारतले दोस्रो, चौथो र पाँचौं सेट जित्दै उपाधि हात पार्न सफल भयो । पहिलो सेटको सुरुवातमा अग्रता बनाएको नेपालले त्यो सुरुवाती अग्रता जोगाउन सकेन । भारतले यसअघि २०१९ को दक्षिण एसियाली खेलकुद र २०२३ को काभा वुमन्स च्यालेन्ज कपको उपाधि हात पार्दा नेपाललाई नै हराएको थियो ।

  • काभा भलिवलको फाइनल आज : नेपाललाई इतिहास रच्ने अवसर

    काभा भलिवलको फाइनल आज : नेपाललाई इतिहास रच्ने अवसर

    काठमाडौं । महिला भलिबलका लागि आज इतिहास बनाउने अवसर आएको छ । नेपालले काभा वुमन्स नेसन्स लिगको फाइनलमा आज भारतको सामना गर्दैछ । मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै फाइनल पुगेका छन् । सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर आज छ ।

    यही प्रतियोगितामा शनिबार लिग चरणको खेलमा भारतलाई हराएकाले नेपाली टिम उच्च मनोबलका साथ उत्रने छ । नेपालले प्रतियोगितामा सहभागी सबै टिमलाई हराएको छ । नेपालले लिग चरणमा भारत, माल्दिभ्स र श्रीलंकालाई हराउन सफल भयो । इरानसँग भने हार व्यहोर्यो । इरानसँग लिग चरणमा भोगेको पराजयले कमजोरी सच्याउँदै सेमिफाइनलमा हराउन सफल भयो । मंगलबार इरानसँगको सेमिफाइनल खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो ।

  • काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनलमा

    काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनलमा

    काठमाडौं ।, काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३–० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराएको हो ।

    मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल बुधबार नै हुनेछ । लिग चरणमा वेष्ट अफ फाइभ खेलेर पराजित भएको नेपालले सेमिफाइनलमा इरानसँग बदला लिएको छ । अब फाइनलमा नेपाल र भारत उपाधीका लागि भिड्नेछन् ।