Category: खेलकुद

  • अन्तर्राष्ट्रिय शक्तित्तोलक रुप कार्की अस्ताए

    अन्तर्राष्ट्रिय शक्तित्तोलक रुप कार्की अस्ताए

    न्युयोर्क

    इन्टरनेशनल पावरलिफ्टिङ लिगमा स्वर्ण पदक हासिल गर्ने नेपाली शक्तित्तोलक रुप कार्कीको हृदयघातको कारण ५१ वर्षको उमेरमा भरतपुर अस्पताल चितवनमा निधन भएको छ । नेपालको बुटवलस्थित आफ्नै निवासमा बिहिबार साँझ डिनर खाँदैगर्दा स्वास्थ्यमा असहजता देखिए पश्चात तत्काल नजिकको अस्पताल लगिएको थियो । चिकित्सकले काठमाडौं लैजान भनेपछि एम्बुलेन्समा राजधानी लगिएको हो ।

    काठमाडौं लैजादै गर्दा बाटोमा नै थप अवस्था बिग्रिएकोले नजिक पर्ने भरतपुर अस्पताल पुर्याइए पनि चिकित्सकले तुरुन्तै मृत घोषित गरेको पारिवारिक श्रोतले जनाएको छ। लामो समयदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएका कार्की ५ महिनाअघि नपालमै केही गर्नुपर्छ भनि देश गएका थिए । केही महिना पहिले कोरोनाभाइरस पोजेटिभ देखिएतापनि हाल भाइरसबाट मुक्ति पाइसकेको थियो ।

    नेपालदेखि युरोप हुँदै अमेरिकासम्म पनि उहाँले पटकपटक बिभिन्न स्पर्धामा पदक हात पारिसकेका थिए । समाजसेवामा पनि सकृय कार्कीले असहायहरुलाई आर्थिक सहयोग समेत गर्ने गर्दथे ।
    अमेरिकाको भर्जिनियास्थित अस्पतालमा उहाँको आफ्नै बुहारी प्रसव व्यथा शुरु भई भर्ना हुने समय र नेपालमा आफैलाई गाह्रो भै “मलाई अस्पताल लैजाऊ” भनेको समय एकै पर्नु नियतिको उत्कर्ष मान्न सकिन्छ ।

  • नेपाली क्रिकेट टीमका प्रशिक्षक वाटमोर सार्वजनिक, एकदिवसीय मान्यता कायम राख्ने प्रतिवद्धता

    नेपाली क्रिकेट टीमका प्रशिक्षक वाटमोर सार्वजनिक, एकदिवसीय मान्यता कायम राख्ने प्रतिवद्धता

    काठमाडौं । नेपाली क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोर आज औपचारिक रुपमा सार्वजनिक भएका छन् । उनलाई क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान)ले १ जनवरीबाट लागु हुने गरी नेपालको प्रशिक्षकमा नियुक्त गरेको हो । आज औपचारिक कार्यक्रममार्फत उनले नेपालको एकदिवसीय मान्यता कायम राख्न आफ्नो प्रयास रहने बताएका छन् ।

    वाटमोर हालै नेपाल आएका हुन् । नेपाल आउनु आफ्ना लागि विशेष रहेको भन्दै नयाँ चूनौतिका लागि तयार रहेको समेत बताए । एकदिवसीय मान्यता जोगाउँदै वरीयतामा सुधार ल्याउनु आफ्नो लक्ष्य हुने उनले बताए । नेपालले सन् २०२३ को मार्चसम्मका लागि एकदिवसीय मान्यता पाएको छ ।

    नेपाललाई विश्वकपमा पुर्‍याउन भने सजिलो नभएको उनले स्वीकार गरे । यद्दपी विश्वकपका लागि प्रयास भने जारी रहने उनको भनाई छ । उनले भने, विश्वकप पुग्न धेरै गाह्रो हुन्छ, किनकी संसारभरका मुलुक यहाँ पुग्न चाहन्छन्, त्यसका लागि हामील निकै सुधार गर्नु पर्छ।

    श्रीलंकाली मुलका वाटमोर अस्ट्रेलियामा हुर्किएका थिए । त्यहीबाट उनले नागरिकता मात्र लिएनन्, अस्ट्रेलियाबाट मुलुकका लागि क्रिकेट समेत खेलेका छन् । उनले यसअघि टेस्ट मान्यता प्राप्त श्रीलंका, बंगलादेश, पाकिस्तान र जिम्बावेलाई प्रशिक्षण गरेको अनुभव छ ।

    भारतको यु१९ टिमदेखि आइपिएल टिम कोलकता नाइट राइडर्सलाई समेत उनले प्रशिक्षण दिइसकेका छन् । यसबाहेक उनीसँग सिंगापुरलाई समेत प्रशिक्षण गरेको अनुभव छ ।

  • अष्ट्रेलियालाई हराउँदै भारतले जित्यो ऐतिहासिक टेस्ट सिरिज

    अष्ट्रेलियालाई हराउँदै भारतले जित्यो ऐतिहासिक टेस्ट सिरिज

    ब्रिसबेन । चौथो तथा निर्णायक टेस्टमा भारतले अस्ट्रेलियालाई मंगलबार ३ विकेट पराजित गरी इतिहास रचेको छ । अष्ट्रेलियाको ब्रिसबेनमा घरेलु टीम ३३ वर्षयता पहिलो पटक कुनै पनि टोलीबाट पराजित भएको हो । आजको जितसँगै भारतले ४ खेलको सिरिज २, १ ले आफ्नो पक्षमा पारेको हो ।

    एक खेल बराबरीमा सकिएको थियो । पहिलो टेस्टमा अस्ट्रेलिया विजयी भएको थियो । दोस्रो टेस्ट भारतले जितेको थियो । तेस्रो टेस्ट बराबरीमा सकिएको हो । ब्रिसबेनमा सम्पन्न चौथो टेस्टमा अस्ट्रेलियाले अन्तिम इनिंगमा दिएको ३२८ रनको लक्ष्य भारतले ७ विकेटको क्षतिमा भेटायो ।

    भारतको जितमा रिशव पन्त चम्किए । उनी म्यान अफ दी म्याच समेत घोषित भए । उनले दोस्रो इनिङ्ग्समा नटआउट ८९ रन जोडेका हुन् । शुभमान गिलले ९१ रनको योगदान गरेपछि भारतको जग बलियो बनेको थियो । चेतेश्वर पुजाराले ५६ रन जोडे । वासिङटन सुन्दरको नाममा महत्वपूर्ण २२ रन रह्यो । बलिङतर्फ अस्ट्रेलियाका पाट कमिङ्ग्सले चार ४ विकेट हात पारेका छन् ।

  • मेसीलाई रातो कार्ड, बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पराजित

    मेसीलाई रातो कार्ड, बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पराजित

    काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेसीले आफ्नो करियरको तेस्रो रेड कार्ड प्राप्त परेका छन् । स्पेनिस सुपर कपको फाइनलमा एथ्लेटिक बिल्बाओसँग भिड्ने क्रममा उनले रातो कार्ड पाएका हुने । त्यसपछि १० खेलाडीमा सिमित भएको बार्सिलोना पराजित हुँदै उपाधीबाट वन्चित भएको छ ।

    आइतबार राति सम्पन्न फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो । निर्धारित समय २-२ गोलको बराबरीमा सकिएको थियो ।

    अतिरिक्त समयमा इनाकी विलियम्सले निर्णायक गोल गरे । बिल्बाओका भिलालिब्रामाथि फाउल गरेपछि मेस्सीलाई रातो कार्ड देखाइएको हो । त्यसअघि ग्रीजम्यानले ४० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

    ४२ औं मिनेटमा ओस्कार डी मार्कोसले गोल गर्दै बिल्बाओलाई १-१ गोलको बराबरीमा ल्याए ।

    खेलको ७७ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । खेलको ९० औं मिनेटमा इजर भिलालिब्राले गोल गर्दै बिल्बाओलाई २-२ को बराबरीमा पुर्याएका थिए ।

  • सचिन पुत्र अर्जुनले गरे मुम्बईको सिनियर टीममा डेब्यू

    सचिन पुत्र अर्जुनले गरे मुम्बईको सिनियर टीममा डेब्यू

    मुम्बई । विश्व क्रिकेटका एक महान हस्ती सचिन तेन्दुलकरका पुत्र अर्जुन सिनियर टीममा आएका छन् । २१ वर्षिय अर्जुनले मुम्बईको सिनियर टोलीबाट डेब्यु गरेका हुन् । भारतमा जारी सैयद मुश्ताक अली ट्रफी टी २० प्रतियोगितामा शुक्रबार अर्जुनले हरियाणाविरूद्ध मुम्बईबाट डेब्यू खेल खेलेका छन् ।

    उनी बलरको रुपमा टीममा आएका हुन् । अर्जुनले डेब्यू म्याचमै विकेट लिन सफल भए । ३ ओभर बलिङ गरेका उनले ३४ रन दिएर एक विकेट झारेका छन् । उनको टीम भने हारेको छ ।

    मुम्बईले दिएको १ सय ४४ रनको लक्ष्य हरियाणाले १७.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । अर्जुनको सिनियर टोलीमा डेब्यूसँगै आइपीएल खेल्ने बाटो खुलेको संचारमाध्यमले लेखेका छन् । अर्जुनले यसअघि भारतको १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

  • गौरीका र मन्देकाजी बने वर्ष खेलाडी (कसले कुन अवार्ड जिते)

    गौरीका र मन्देकाजी बने वर्ष खेलाडी (कसले कुन अवार्ड जिते)

    काठमाडौं । पौडीबाज गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ २०७६ सालका लागि वर्ष खेलाडी घोषित भएका छन् । उनीहरुले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’मा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । २०७६ साल भित्र भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा मनोनयन गरी पब्लिक भोटिंग समेत गरिएको थियो ।

    यस प्रतिस्पर्धामा मन्देकाजीले सुवास तामाङ (गल्फ), कमल श्रेष्ठ (तेक्वान्दो), गोपीचन्द्र पार्की (एथलेटिक्स) र विकेश कुथु (फुटबल) रहेका थिए । यी सबै खेलाडी अघिल्लो वर्ष नेपालमै सम्पन्न १३औं सागका स्वर्ण विजेता हुन् । मन्देकाजी सागमा (टिम काता र एकल) गरी दुई स्वर्ण जित्ने खेलाडी हुन् ।

    महिला तर्फ भने गौरिकाले अनु अधिकारी (कराते), आयशा शाक्य (तेक्वान्दो), सन्तोषी श्रेष्ठ (एथलेटिक्स) र सोनी गुरुङ (ट्रायथलन) लाई पछि पार्दै अवार्ड जितेकी छिन् । यी सबै खेलाडी समेत सागका स्वर्ण विजेता हुन् ।

    गौरिकाले १३औं सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक गरी नौ पदक प्राप्त गरेकी हुन् । वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । अन्य विधामा विजेता बनेका खेलाडीलाई भने जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।
    कुन खेलाडीले कुन अवार्ड जिते ?
    उत्कृष्ट खेलाडी (पुरुष) : मन्देकाजी श्रेष्ठ (कराते)
    उत्कृष्ट खेलाडी (महिला) : गौरिक सिंह (पौडी)
    पिपल्स च्वाइज : अरुणा शाही (भलिबल)
    उत्कृष्ट प्रशिक्षक : नवीन श्रेष्ठ (तेक्वान्दो)
    उत्कृष्ट युवा खेलाडी : सुवास तामाङ (गल्फ)
    पारा एथ्लेट ‍: दिगमसिंह चेम्जोङ (पारा क्रिकेट टोलीका कप्तान)
    स्पेशल अवार्ड : आयशा शाक्य (तेक्वान्दो), सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स)
    टिम अफ दि इयर : महिला भलिबल
    लाइफटाइम अचिभमेन्ट : सिजरन शाह र गीता क्षेत्री (टेबलटेनिस)

  • स्पोर्टस अवार्ड घोषणा आज

    स्पोर्टस अवार्ड घोषणा आज

    काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज वितरण हुँदैछ । नेपाली खेलकुदको सबैभन्दा ठूलो अवार्डका रुपमा यसलाई दिने गरिन्छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा आयोजना हुँदैछ ।

    अवार्ड कार्यक्रम अपरान्ह साढे ४ बजेबाट शुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण सेमी भर्चुअलको रुपमा आयोजना हुने अवार्ड कार्यक्रममा विभिन्न १० विधामा अवार्ड प्रदान गर्न लागिएको आयोजक जनाएको छ ।

    अवार्डका लागि वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेको मञ्चले जानकारी दिएको छ ।

  • क्रिकेटर कोहली र अभिनेत्री अनुष्कालाई पुत्रीलाभ

    क्रिकेटर कोहली र अभिनेत्री अनुष्कालाई पुत्रीलाभ

    काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा तथा क्रिकेटर विराट कोहलीलाई पुत्री लाभ प्राप्त भएको छ । अनुष्का स्वयमले यसको पुष्टी ट्वीटमार्फत गरेकी छिन् । सोमबार दिउँसो छोरीलाई जन्म दिएको उनको भनाई छ । उनीहरुलाई संसारभरबाट बधाई आइरहेको छ ।

    सिने सेलिब्रेटी तथा खेलकुद क्षेत्रबाट उनीमाथि बधाई आएको हो । लोकप्रिय तथा सफल क्रिकेटर छोरीको जन्मदिनको अवसर पारी अष्ट्रेलियासँगको टेस्ट छाडी स्वदेश आएका छन् । उनको साटो अजिंका रहानेले भारतीय टोलीको नेतृत्व गरिरहेका छन् ।

  • आज पिएसएलको अक्सन, कति नेपाली खेलाडीले अवसर पाउलान् ?

    आज पिएसएलको अक्सन, कति नेपाली खेलाडीले अवसर पाउलान् ?

    काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) को २०२१ सिजनका लागि नेपालबाट १० खेलाडी ड्राफ्टमा परेका छन्। उनीहरुको भविश्यबारे आज अक्सन हुनेछ । यसमध्ये सन्दीप लामिछाने ड्राफ्मा सबैभन्दा उच्च तलव पाउने श्रेणीमा छन् । अन्य ९ खेलाडी भने दोस्रो श्रेणीमा रहेका छन् ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सहित १० खेलाडीलाई कुन कुन टीमले आवद्ध गर्नेछन्, त्यो भने आजै निश्चित हुनेछ । नेपालबाट प्लेटिनम क्याटेगोरीमा सन्दीप लामिछाने छन् ।

    सिल्भर क्याटेगोरीमा पारससहित ९ खेलाडी रहेका छन् । नेपालबाट राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उप कप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख परेका छन् ।

    ड्राफ्टमा एक टोलीले कम्तीमा १६ र बढीमा १८ खेलाडी अनुबन्धन गर्न पाउने नियम छ । १६ मध्ये ११ खेलाडी भने पाकिस्तानी हुनुपर्छ । २० देशबाट ४ सय भन्दा बढी विदेशी खेलाडी पिएसएल ड्राफ्टमा छन् । प्रतियोगिता फेब्रुअरी २० देखि २२ मार्च सम्म चल्नेछ ।

  • लयमा फर्कदै मेसी, बार्सिलोनालाई दिलाए महत्वपूर्ण जीत

    लयमा फर्कदै मेसी, बार्सिलोनालाई दिलाए महत्वपूर्ण जीत

    काठमाडौं । कप्तान लियोनल मेसीको दाजुमयी खेल प्रदर्शनको जोडमा बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जीत निकालेको छ । उसले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको हो । बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले बिल्बाओलाई ३, २ गोलले हरायो । टोलीका लागि कप्तान मेसीले दुई गोल गरे । थप एक गोलका लागि समेत महत्वपूर्ण भूमिका खेलेका उनी म्यान अफ दी म्याच चुनिए ।

    जीतसँगै बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। मेसी जारी सिजनमा लालिगामा सर्वाधिक गोलकर्ताको सूचिमा बराबरीमा आइपुगेका छन् । खेलमा अग्रता भने बिल्बाओले विलियम्सको गोलबाट लिएको हो । खेलको १४ मिनेटमा बार्सिलोनाले फेड्रीको गोलबाट बराबरी गर्यो ।

    त्यसपछि कप्तान लिओनल मेसीले टिमका लागि दुई गोल गरेका हुन् । उनले ३८ औ र ६२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जीत निकालेका हुन् । खेलको ९० औं मिनेटमा बिल्बाओका मुनियनले गोल गरेका थिए । बार्सिलोनाले १७ खेलबाट ३१ अंक जोडेको छ। १५ खेलबाट ३८ अंक जोडेको एट्लेटिको म्याड्रिड शीर्ष स्थानमा रहेको दोस्रो स्थानको रियल म्याड्रिडको १७ खेलबाट ३६ अंक छ।

  • पिसिएल ड्राफ्टमा सन्दीप मंहगो श्रेणीमा परे, छनोट होलान ?

    पिसिएल ड्राफ्टमा सन्दीप मंहगो श्रेणीमा परे, छनोट होलान ?

    काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पिसिएल) को आगामी संस्करणका लागि ड्राफ्टमा पर्न सफल भएका छन् । यस पटक उनको नाम सबैभन्दा बढी मूल्यका खेलाडीको श्रेणीमा छन् । यस वर्गमा विश्वस्तरीय खेलाडीहरु क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान समेत छन् ।


    पाकिस्तान क्रिकेट बोर्डका अनुसार ड्राफ्टमा सन्दिप सहित पाकिस्तान र अन्य देशका गरी कुल ३ सय खेलाडी रहेका छन् । जनवरी ९ मा खेलाडीहरुको लिलामी हुनेछ । सार्वजनिक गरिएको ड्राफ्टमा प्लेटीनीएम, डाईमण्ड, गोल्ड, सील्भर र ईमरजीङ प्लेयर गरी कुल ५ श्रेणी रहेका छन् । सन्दीप सबैभन्दा महंगा खेलाडीको सूचिमा हटाएका छन् ।

    यस लीगमा केटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशवार जाल्मी र कराँची किङ्स गरि ६ फ्रेन्चाइज टोली खेल्दैछन् । प्लेटीनम श्रेणीमा अटाएका खेलाडीलाई कुनै टिमले १ लाख १७ हजार अमेरीकी डलरदेखि २ लाख १८ हजार अमेरीकी डलर सम्म किन्न सक्नेछन् । अर्थात सन्दीप छनोट भए भने कम्तिमा सवा करोड रुपैयाँ प्राप्त गर्नेछन् । यो लिगमा सन्दीप सन् २०१८ मा लाहोर कलन्दर्सबाट खेलेका थिए ।

  • एनएसजेफ स्पोर्ट्स अवार्डका लागि खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक, को को परे ?

    एनएसजेफ स्पोर्ट्स अवार्डका लागि खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक, को को परे ?

    काठमाडौं । नेपाल खेलकुद पत्रकारले हरेक वर्ष प्रदान गर्ने विभिन्न खेल विधाको अवार्डका लागि मनोनयन सार्वजनिक गरिएको छ । १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन मंगलबार सार्वजनिक भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का अनुसार चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक भएको छ ।

    साविकमा जस्तै मञ्चले वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको छ । वर्ष पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ मनोनयनमा पर्न सफल भएका छन् ।

    वर्ष महिला खेलाडीमा करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेको मञ्चले जनाएको छ । वर्ष युवा खेलाडीमा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सीना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयनमा परेका छन् ।

    वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेको जनाइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित ११ सदस्यीय छनोट समितिले खेलाडी तथा प्रशिक्षकको छनोट गरेको जनाएको छ ।

    २०७६ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनित गरिएको हो । मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन भने यसअघि नै सार्वजनिक गरेको थियो । यस विधामा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् ।

    उनीहरुबाट इ–सेवामार्फत भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुने भएको छ। कार्यक्रममा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत सम्मान गरिँदै आएको छ ।

    कार्यक्रम २८ पुसमा हुनेछ । वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्छन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने भएका छन् ।

  • स्पेनिस ला लिगा: बार्सिलोनाको संघर्षपूर्ण जित

    स्पेनिस ला लिगा: बार्सिलोनाको संघर्षपूर्ण जित

    काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना संघर्षपूर्ण जित निकालेको छ ।

    अंकतालिकाको पुछारमा रहेको हुएस्कामाथि बार्सिलोनाले १–० को संघर्षपूर्ण जित निकालेको हो । स्टेडियो एल अल्कोराजमा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि जित दर्ता गर्न निक्कै संघर्ष गर्नुपरेको थियो ।

    बार्सिलोनाको जितमा फ्रेन्की डी जोङले निर्णायक गोल गरे। उनले खेलको २७ औं मिनेटमा लियोनल मेस्सीको पासमा गोल गरेका हुन्।

    त्यसपछि खेलमा बार्सिलोना नै हावि भए पनि गोल गर्न नसक्दा घरेलु टोलीमाथि साँघुरो जित निकालेको हो।बार्सिलोनाको जितमा फ्रेन्की डी जोंगले खेलको एक मात्र गो गरेका थिए ।

    डी जोंगले खेलको २७औ मिनेटमा लियोनेल मेसीको असिस्टमा खेलको निर्णायक गोल गरेका थिए ।

    योसँगै मेसीले बार्सिलोनाका लागि आफ्नो ५ सयौं खेल खेलेका छन् । मेसीले ला लिगामा अहिलेसम्म आफ्नो ५०० खेल खेल्दै ४५१ गोल गरेका छन् ।

    त्यस्तै सबै प्रतियोगितामा भने मेसीले बार्सिलोनाका लागि अहिलेसम्म ७५० खेल खेलिसकेका छन् । मेसी अब जाभीको बार्सिलोनाका लागि खेलेको ५०५ ला लिगा खेल र कुल ७६७ खेलको रेकर्ड भन्दा केहि खेल मात्र पछाडी रहेका छन् ।

    यो जितपछि बार्सिलोनाको १६ खेलमा २८ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिड भन्दा १० अंकले पछाडी रहेको छ ।

    त्यस्तै हुएस्काको भने १७ खेलमा १२ अंक छ र लिगमा पुछारमा रहेको छ ।

  • दशककै उत्कृष्ट खेलाडीको अवार्डको जित्न पारसले सकेनन्, कोट्जरले पाए उपाधि

    दशककै उत्कृष्ट खेलाडीको अवार्डको जित्न पारसले सकेनन्, कोट्जरले पाए उपाधि

    काठमाडौं । स्कटल्यान्डका काइल कोट्जर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको दशककै उत्कृष्ट एशोसिएट खेलाडी चुनिएका छन् ।

    आईसीसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने एसोसिएट खेलाडीको लागि प्रदान गर्ने अवार्ड घोषणा गरेको थियो । उक्त उपाधिको बिजेता आइतबार घोषणा गरेको हो ।

    अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का यस अवार्डका लागि मनोनयनमा परे पनि अर्वाड भने जित्न सकेनन् ।

    यस विधामा पारस बाहेक स्कटल्यान्डका तीन तथा पपुवा न्युगिनी र नेदरल्यान्ड्सका १-१ जना खेलाडी रहेका थिए । नेपालका पारस र विजेता कोट्जर बाहेक स्कटल्यान्डका कलम म्याकलोयड र रिची बेरिङटन, नेदरल्यान्ड्सका पिटर बोरेन र पपुवा न्युगिनी अशद भाला यस विधाको मनोनयनमा परेका थिए ।

    सन् २००९ बाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानी सम्हालेका पारसको नेतृत्वमा नेपालले डिभिजन पाँच देखि एकदिवसीय राष्ट्र सम्मको यात्रा तय गरेको थियो ।

    त्यस्तै नेपाली टोलीले पारसको नै कप्तानीमा सन् २०१४ मा पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकप खेलेको थियो । सन् २०१९ मा नेपाली टोलीको कप्तानबाट राजिनामा दिएका पारसको कप्तानीमा नेपाल बलियो एशोसिएट राष्ट्र बन्न सफल भएको थियो । त्यस्तै स्कटल्याण्डले कोट्जरको कप्तानीमा सन् २०१५ मा अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा सम्पन्न भएको विश्वकप खेलेको थियो ।

  • प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदै

    प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदै

    दाङ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजबाट दाङमा सुरु हुँदैछ। यो प्रतियोगितालाई लुम्बिनी प्रदेशले आयोजनाको मौका पाएको हो । दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता संचालन हुनेछ ।

    लुम्बिनी प्रदेश क्रिकेट संघका अनुसार प्रतियोगिताको सबै तयारी पुरा भइसकेको छ । प्रतियोगितामा सात प्रादेशिक टोली र विभागीय टोली एपिएफले भाग लिएको छ । प्रतियोगिता दुई समूहमा विभाजन भएको छ ।

    समूह ‘ए’मा एपिएफ, प्रदेश २, कर्णाली र लुम्बिनी प्रदेश छन् भने समूह ‘बी’मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश १ भिड्ने भएका छन् । उदघाटन खेलमा लुम्बिनीले प्रदेश २ सँग प्रतिष्पर्धा गर्ने भएको छ ।

    समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलका दुवै खेल पुस १७ र फाइनल खेल १९ गते हुने गरी तालिका तय भएको छ ।

  • तीन नेपाली क्रिकेटरले खेल्ने भए टी–१० लिग

    तीन नेपाली क्रिकेटरले खेल्ने भए टी–१० लिग

    काठमाडौं । यूएईमा संचालन हुन टी–१० लिग क्रिकेट प्रतियोगितामा नेपालका तीन क्रिकेटर खेल्ने भएका छन् । पूर्व कप्तान पारस खड्काले भने कोचिंग टीममा आवद्ध भइसकेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र बलरद्वय सोमपाल कामी र करण केसी तथा युवा अलराउन्डर कुशल मल्ललाई युएईमा आयोजना हुने टी–१० क्रिकेट प्रतियोगितामा आवद्ध गरिएको हो ।

    युएईमा भएको ‘ड्राफ्ट’मा सोमपाललाई मराठा अरेवियन्सले अनुबन्ध गरेको हो । मराठा गत सिजनको उपाधि विजेता टोली हो। करण केसीलाई पुने डेभिल्सले अनुवन्ध गरेको छ । कुशललाई भने टिम आवुधावीले आवद्ध गरेको हो ।

    टी–१० लिगमा सन्दिप लामिछाने र पारस खड्काले अघिल्ला सिजनमा यो लीग खेलिसकेका छन् । अघिल्लो सिजन आबुधावीबाट खेलेका पारस यस सिजनका लागि सोही टीमकोइमर्जिङ प्लेयर मेन्टरको भूमिकामा छन् ।

  • मेसीले तोडे पेलेको ऐतिहासिक कीर्तिमान

    मेसीले तोडे पेलेको ऐतिहासिक कीर्तिमान

    काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन स्टार लिओनल मेसीले ब्राजिलियन महान खेलाडीले राखेको ऐतिहासिक कीर्तिमान तोडेका छन् । कुनै पनि एउटा क्लवका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान अब मेसीका नाममा बसेको छ ।

    यो रेकर्ड यसअघि पेलका नाममा थियो । मेसीले ला लिगाअन्तर्गत मंगलबार राती सम्पन्न रियल भालडोलिडविरुद्धको खेलमा गोल गर्दै बार्सिलोनाका लागि करियरमा ६४४ गोलको रेकर्ड राखे । यसअघि गत शनिबार उनले पेलेको कीर्तिमानसँग बराबरी ६४३ औं गोल गरेका थिए ।


    खेलमा बार्सिलोना ३-० ले विजयी भएको छ । मेसीले ६५ मिनेटमा टोलीका लागि तेस्रो र आफ्ना लागि एक कोशेढुंगा गोल गरेका छन् । सम्भवनतः यो कीर्तिमान तोड्न अन्य खेलाडीका लागि असम्भव जस्तै हुनेछ । किनकी मेसी सन् २००४ देखि बार्सिलोनका लागि मात्र खेलिरहेका छन् । पेलेले ब्राजिलियन क्लब सान्तोषमा १८ वर्ष खेलेका थिए ।

    त्यहाँ उनले ६५६ खेलमा ६४३ गोल गरेका थिए। यो रेकर्ड तोड्न असम्भव भनिएको थियो । सन् २००४ मा बार्सिलोनाको ए टीममा डेब्यू गरेका मेसीले अहिलेसम्म उक्त टीमलाई ठूलो योगदान गरेका छन् । बार्सिलोनाका लागि उनले १० लिग उपाधि, ४ च्याम्पियन्स लिग उपाधिसहित ३४ मुख्य उपाधि दिलाइसकेका छन् ।

  • मेसीले गरे कीर्तिमानी गोल, पेलेको रेकर्ड बराबरी

    मेसीले गरे कीर्तिमानी गोल, पेलेको रेकर्ड बराबरी

    काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीले शनिबार राती ऐतिहासिक रेकर्ड बनाएका छन् । ला लिगा फुटबलमा भ्यालेन्सियाबिरुद्ध बराबरी खेलेको खेलमा कप्तान लियोनेल मेसीले पेलेको कीर्तिमान भेट्टाउन सफल भएका हुन । एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानसँग मेसीले बराबरी गरेका छन् ।

    भ्यालेन्सियाबिरुद्ध बार्सिलोनाका लागि मेसीले करियरको ६४३ औं गोल गरे । यो संख्या महान फुटबलर पेलेले ब्राजिलियन क्लब सान्तोषका लागि गरेको अलटाइम करियर गोल थियो । मेसी सन् २००४ यता निरन्तर बार्सिलोनाबाट खेलिरहेका छन् ।

    सोहीकारण उनलाई यो ऐतिहोसिक अवसर प्राप्त भएको हो । जुन इतिहासमा सायदै अर्को खेलाडीले तोड्न सक्नेछन् । मेसीले बार्सिलोनाबाट खेल्दै कैयौं विश्वरेकर्ड कायम गरेका छन् । जसले उनलाई इतिहासकै सफल खेलाडी बनाउन सहयोग गरेको छ ।

    भ्यालेन्सियाबिरुद्ध शनिबार राति पहिलो हाफको इन्जुरी समयमा उनले दुर्लभ हेड गोल गरे । होचो कदका उनले हेडगोल एकदमै कम गरेका छन् ।


    मेसीले बार्सिलोनाका लागि अहिलेसम्म १० लिग उपाधि, ४ च्याम्पियन्स लिग उपाधिसहित ३४ मुख्य उपाधि जितिसकेका छन् । उनी सर्वाधिक ६ वटा बालोन डि ओरको उपाधि जित्ने एक मात्र खेलाडी हुन् ।

  • लेवान्डवस्की पहिलो पटक बने फिफा वर्ष खेलाडी

    लेवान्डवस्की पहिलो पटक बने फिफा वर्ष खेलाडी

    स्वीट्जरल्याण्ड । जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोवर्ट लेवान्डवस्कीले पहिलो पटक फिफा वर्ष खेलाडीको उपाधी जित्न सफल भएका छन् । विश्वको उत्कृष्ट खेलाडीको दौडमा रहेका लियानल मेसी र क्रिस्टियानो रोनाल्डोलाई जित्दै उनी पहिलो बन्न सफल भएका हुन् । विश्व फुटलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष यस्तो अवार्ड प्रदान गर्छन । मेसी गत वर्षका विजेता हुन ।

    पोल्याण्डका लेवान्डवस्कीले गत सिजन कुल ४७ खेलबाट ५५ गोल गरेका थिए । उनी आवद्ध क्लव बायर्नले युरोपियन च्याम्पियन्स, लिग बुण्डेसलिगा, जर्मन कपसहित पाँच उपाधि उचालेको थियो । महिलातर्फ इंग्ल्याण्डकी लुसी ब्राउण्जले पहिलो पटक फिफा बेस्ट अवार्ड जितिन ।

    वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले जिते । महिलातर्फ नेदरल्याण्ड्स महिला टिमका प्रशिक्षक सारिना विगमन विजयी भईन् । बायर्नका गोलकिपर मानुएल नोएले बेस्ट फिफा गोलकिपरको अवार्ड जिते ।

    महिलातर्फ लिइनका सारा बाउहाड्डी विजयी भईन् । प्रिमियर लिग क्लब टोटनहम हट्सपरका हेउन मिन सनले उत्कृष्ट गोल गर्ने खेलाडीले पाउने फिफा पुस्कार अवार्ड जिते । फिफा टिम अफ दि इअरमा बायर्न र लिभरपुलका खेलाडीको बाहुल्य रह्यो । स्ट्राइकरहरु भने लेवान्डवस्कीसहित मेसी र रोनाल्डो नै रहन सफल भए ।

  • नेपाली क्रिकेट टीमको मूख्य प्रशिक्षकमा अष्ट्रेलियाका वाटमोर नियुक्त

    नेपाली क्रिकेट टीमको मूख्य प्रशिक्षकमा अष्ट्रेलियाका वाटमोर नियुक्त

    काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त भएका छन् । उनी प्रशिक्षण करियरका सफल व्यक्ति मानिन्छन् । यसअघि उनले पाकिस्तान र श्रीलंकाको राष्ट्रिय टोलीलाई सम्हालिसकेका छन् ।

    नेपाल क्रिकेट संघ (क्यानले बिहिबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । प्रशिक्षकका लागि वाटमोरसहित १२ जनाबीच प्रतिस्पर्धा भएको थियो । उनको मासिक पारिश्रमिक करीव १० हजार डलर आसपास हुने भएको छ ।

    क्यानले महाप्रवन्धकमा रौनक मल्ल र क्रिकेट म्यानेजरमा विनोद दास नियुक्त भएको जनाएको छ । नेपालका पूर्व कप्तान एवं प्रशिक्षक समेत रहेका दासको जिम्मेवारी क्रिकेटसम्बन्धी सम्पूर्ण गतिविधि हेर्ने भएका हुन् । उनीहरुको नियुक्ति जनवरी १, २०२१ बाट लागू हुने भएको छ ।

    वाटमोर श्रीलंकामा जन्मिएका हुन् । सन् १९६२ मा परिवार बसाई सरेपछि अष्ट्रेलिया पुगेका उनले त्यहाँको राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएका थिए । एक दशक खेलाडी बनेका उनले १९८८, ८९ को सिजनबाट सन्यास लिएका थिए । त्यसपछि प्रशिक्षणमा लागेका उनी सफल प्रशिक्षकका रुपमा गनिन्छन् । श्रीलंकाका लागि उनले १९९६ मा प्रशिक्षकका रुपमा विश्वकप जिताएका थिए ।

    श्रीलंकालाई विश्वच्याम्पियन बनाएपछि उनी इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायर पुगेका थिए । उनले टीमलाई दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी जिताएका थिए । त्यसपछि उनी पुनः श्रीलंका फर्किए ।

    त्यसपछि उनको नेतृत्वमा श्रीलंकाले पुनः १९९९ को विश्वकपमा भाग लियो । २००३ को विश्वकप समेत श्रीलंकाले उनकै प्रशिक्षणमा खेलेको थियो । त्यसपछि उनी बंगलादेशको प्रशिक्षक बने । २००५ मा बंगलादेशले जिम्बाब्वेविरुद्ध पहिलो टेष्ट म्याच जित्दा उनी नै प्रशिक्षक थिए ।

    सोही वर्ष एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै बंगलादेशले इतिहास रचेको थियो । २००७ को विश्वकप बंगलादेश उनकै नेतृत्वमा खेलेको थियो ।


    २०१० र २०११ मा उनी आईपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक बनेका थिए । २०१२ मा उनी पाकिस्तान टिमको प्रशिक्षक बनेका थिए ।

    त्यसपछि उनी जिम्बाब्वेको राष्ट्रिय प्रशिक्षक बनेका थिए । २०२० फेब्रअरीयता सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेका उनी अब नेपाली टीम सम्हाल्न आएका हुन् ।

  • लीग लिडर सोसिडाडलाई हराउँदै बार्सिलोना पाँचौ स्थानमा उक्लियो

    लीग लिडर सोसिडाडलाई हराउँदै बार्सिलोना पाँचौ स्थानमा उक्लियो

    काठमाडौं । स्पेनिस लालिगामा निरन्तर खराब फर्मबाट गुज्रिरहेको बार्सिलोना क्रमशः लयमा फर्कने प्रयासमा छ । बुधबार राती सम्पन्न खेलमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोना पाँचौ स्थानमा उक्लिएको हो । सोसिडाड लीगको सबैभन्दा शीर्ष स्थानमा थियो ।

    तर, बार्सिलोनासँग २–१ गोलले पराजित भएसँगै उक्त टीम दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा एथ्लेटिको म्याड्रिड पुगेको छ । घरेलुु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जोर्डी आल्बा र डी योङले एक–एक गोल गरेका छन् । सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे।

    खेलमा सोसिडाडले २७ औं मिनेटमा जोसेको गोलबाट अग्रता लिएको थियो । तर, ४ मिनेटपछि आल्बाले घरेलु टीमलाई बराबरीमा ल्याए । ४३ औं मिनेटमा डी योङले गरेको गोल नै बार्सिलोनाको जीतका लागि निर्णायक बन्यो । किनकी त्यसपछि कुनै पनि टोलीबाट गोल हुन सकेन । जितसँगै बार्सिलोनाले १२ खेलबाट २० अंक जोडेको छ।

  • नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज मार्चमा

    नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज मार्चमा

    काठमाडौं । विश्वकप क्रिकेट २०२३ को छनोट अन्तर्गत नेपालले दोस्रो सिरिज आगामी मार्च २०२१ मा खेल्ने भएको छ । यस सिरिजमा नेपाल, अमेरिका र ओमान भिड्नेछन् । विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज २०२१ मार्च १९ देखि २८ सम्म ओमानको अल अमरितमा हुने गरी आइसीसीले खेल तालीका सार्वजनिक गरेको छ ।

    यो सिरिज सन् २०२० मै हुनुपर्ने थियो । तर, कोरोना भाइरसको महामारीका कारण स्थगित भएको हो । विश्वकप लिग २ अन्तर्गत विभिन्न सिरिजका खेल तालीका आईसीसीले सार्वजनिक गरेको छ । जसअनुसार नेपालले २०२१ जुलाईमा स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज खेल्ने भएको छ ।

    नेपालले गत फेब्रुअरीमा घरेलु मैदानमा ओमान र अमेरिकासहित पहिलो लिग २ सिरिज खेलेको हो । यस सिरिजमा नेपालले दुई खेल जित्दा दुई खेलमा हार बेहोरेको हो । आगामी सिरिजमा सन् २०२२ फेब्रुअरीमा नेपालले घरेलु मैदानमा पपुवा न्यु गिनी र युएईसँग सिरिज खेल्ने भएको छ ।

    त्यसपछि नेपाल सन् २०२२ मार्चमा नामिविया भ्रमणमा जानेछ । यस सिरिजमा स्कटल्याण्ड समेत सहभागी हुनेछ । सन् २०२२ को जुलाईमा नेपाल र ओमानले अमेरिकामा सिरिज खेल्ने भएका छन् । सन् २०२२ सेप्टेम्बर २२ देखि अक्टोबर २ सम्म नेपालले पीएनजीमा सिरिज खेल्न नेपाल जानेछ ।

    सन् २०२३ मा नेपालले नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज घरेलु मैदानमा खेल्ने भएको छ । लिग २ अन्तर्गत अन्तिम सिरिज नेपालले सन् २०२३ को फेब्रुअरीमा युएईमा खेल्ने गरी तालीका तय भएको छ ।

    यस सिरिजमा नेपालले पीएनजी र युएईसँग खेल्ने भएको छ । लिग २ का सिरिजहरूबाट शीर्ष ३ स्थानमा रहने राष्ट्रले आईसीसी क्रिकेट विश्वकपको मुख्य छनोटका लागि स्थान बनाउने भएका छन् ।

    विश्वकपको लागि अन्तिम छनोट २०२३ जुन १८ देखि जुलाइ ९ सम्म जिम्बावेमा हुनेछ । यस प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । यो प्रतियोगिताको शीर्ष दुईमा रहने टोली विश्वकप खेल्नेछन् ।

  • नेपालले टी-२० विश्वकप ग्लोबल छनोट खेल्न पाउने

    नेपालले टी-२० विश्वकप ग्लोबल छनोट खेल्न पाउने

    काठमाडौं । नेपालले सन् २०२२ मा आयोजना गरिने टी २० विश्वकप क्रिकेटमा स्थान बनाउन सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउनु भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले वरियतामा राम्रो गरेका कारण नेपालसहित चार मुलुकलाई सिधै ग्लोबल छनोटको स्थानमा लगेको हो । प्रतियोगिता अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुनेछ ।

    सोही प्रतियोगिताक लागि अहिले विभिन्न चरणमा छनोट प्रतियोगिताहरु जारी रहेका छन् । आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको छ । फेब्रुअरी र मे २०२२ मा ग्लोबल छनोटका खेल हुनेछन् ।

    यस प्रतियोगितामा भने कुल १६ टोली सहभागी हुनेछन् । यहाँबाट ४ टोलीले विश्वकपमा स्थान बनाउने भएका छन् । छनोटबाट पहिलो चार स्थानमा रहन सफल भएमा नेपालले सन् २०२२ अक्टोबरमा आयोजना हुने विश्वकप खेल्न पाउने छ ।

    नेपालले सन् २०१४ मा विश्वकप खेलिसकेको छ । त्यसपछि भने छनोट हुन सकेको छैन । दुई समूहमा हुने ग्लोबल छनोटबाट २, २ टोली विश्वकपमा खेल्नेछन् । ग्लोबल छनोटमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्ने भएको आइसीसीले जनाएको छ ।

    क्षेत्रीय छनोटबाट ८ टोली तथा सन् २०२१ को टि२० विश्वकप खेलेका विश्व वरियताको पुछारमा रहेका ४ टोली ग्लोबल छनोटमा पुग्नेछन् ।

  • मेसीको एक मात्र गोलले बार्सिलोना विजयी

    मेसीको एक मात्र गोलले बार्सिलोना विजयी

    काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । लियोनल मेसीको एक मात्र गोलमा बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा लेभान्टेमाथि १–० संघर्षपूर्ण जित निकालेको छ ।

    लगातारको खराब प्रदर्शनपछि राहतका रूपमा टिमले यो जित हात पारेको हो । बार्सिलोनाको जितमा लियोनेल मेसीले खेलको ७६औ मिनेटमा निर्णायक गोल गरेका थिए ।

    योसँगै मेसीले बार्सिलोनाका लागि १० नम्बर जर्सीमा आफ्नो ६ सय गोल पुरा गरेका छन् । यो जितपछि बार्सिलोनाको ११ खेलमा १७ अंक भएको छ भने लिगमा आठौ स्थानमा रहेको छ । त्यस्तै लेभान्टेको भने १२ खेलमा ११ अंक रहेको छ ।

  • फिफा वर्ष पुरुष खेलाडीको अन्तिम तीनमा मेसी, रोनाल्डो र लेवान्डोस्की

    फिफा वर्ष पुरुष खेलाडीको अन्तिम तीनमा मेसी, रोनाल्डो र लेवान्डोस्की

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको अन्तिम तीनमा पर्ने खेलाडीको सुचि सार्वजनिक गरेको छ । जसमा लियोनल मेसी, रोबर्ट लेवान्डोस्की र क्रिस्टियानो रोनाल्डो मनोनयनमा पर्न सफल भएका छन् ।

    यी तीन खेलाडीलाई सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरिएको फिफाले जनाएको छ। यसबाट एक जनाले अवार्ड प्राप्त गर्नेछन् । लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोत्कृष्ट क्लब बनाउन भूमिका खेलेका थिए ।

    रोनाल्डोले गएको सिजन इटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए । गत सिजन लियोनल मेस्सीको नाममा कुनै पनि उपाधी आएन । तर, उनी फुटबलमा हरेक वर्ष आफ्नो तर्फबाट भने उत्कृष्ट प्रदर्शन दिन सफल भएका छन् । सोहीकारण यस पटक पनि मेसी सूचिमा अटाएका हुन् ।

  • नेपालले खेल्न बाँकि विश्वकप छनोटका खेलको मिति तय

    नेपालले खेल्न बाँकि विश्वकप छनोटका खेलको मिति तय

    काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणका लागि खेलहरुको मिति तय गरेको छ । यसअघि यी खेल मार्च अप्रिलमै सकिनु पर्ने थियो । तर, कोरोना भाइरसको संक्रमणका कारण रोकिएका खेलहरु एक वर्षपछि पुनः सुचारु हुन लागेका हुन् ।

    खेलहरु २०२१ मार्च र जुनमा हुने एएफसीले जानकारी दिएको छ । छनोट चरणका खेलहरु जुन १५ सम्म सकिने छन् । नेपालले पहिलो चरणका खेल खेलिसकेको छ । अब दोस्रो चरणमा होम गेम बाँकि छन् । जुन दशरथ रंगशालामा हुनेछन् ।

    नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकि रहेको छ । तालीका अनुसार नेपालले आगामी २५ मार्चमा चाइनिज ताइपेई, ३० मार्चमा अस्ट्रेलिया र ७ जुनमा जोर्डनसँग खेल्ने भएको छ । समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

    नेपालले चाइनिज ताइपेईलाई मात्र हराउन सकेको छ । नेपालको समूहमा अस्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ । यो टीम यसअघि पटक पटक विश्वकप खेलिसकेको हो । समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

  • क्रिकेटर पारस खड्कालाई कोरोना पुष्टी

    क्रिकेटर पारस खड्कालाई कोरोना पुष्टी

    काठमाडौं । स्टार क्रिकेटर पारस खड्कालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उनको शुक्रबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना भाइरस संक्रमणको लक्षण देखिन थालेपछि दुई दिनदेखि आफू घरमा आइसोलेसनमा बसेको र बिहीबारदेखि स्वाद र गन्ध थाहा नपाएको पारसले सामाजिक संजालमा उल्लेख गरेका छन् ।

    उनले संक्रमण पुष्टि भएपछि सरकारले तोकेको मापदण्डअनुसार होम आइसोलेसनमा नै बस्ने बताएका छन् । सोहीकारण उनले चितवनमा आयोजना हुने गौतम बुद्ध कप गुमाउने भएका छन् ।

  • नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले बिग ब्यास लिगका ६ खेल गुमाउने

    नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले बिग ब्यास लिगका ६ खेल गुमाउने

    काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने बिग ब्यास लिगका सुरुवाती ६ खेल गुमाउने भएका छन् ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा रहेका सन्दिप अष्ट्रेलिया जान ढिला हुने भएकाले खेल गुमाउन भएका हुन् ।

    अष्ट्रेलिया सरकारको नियम अनुसार त्यहाँ पुगेपछि १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्नुपर्नेछ ।

    बिहिबारदेखि अष्ट्रेलियामा सुरु हुन लागेको लिगमा सन्दीपले यस सिजन म्याथिउ वेडको कप्तानीमा रहेको होबार्ट हुरिकेन्सबाट खेल्दै छन् । उनी डिसेम्बर १४ पछि मात्र अष्ट्रेलिया प्रस्थान गर्ने भएका छन् ।

    बिहिबार उद्घाटन खेलमा हुरिकेन्सले सिड्नी सिक्सर्ससँग खेल्दै छ । समग्रमा ह’रिकेन्सले डिसेम्बरमा कुल ६ खेल खेल्ने छ । सबै खेल सन्दीपले गुमाउने छन् ।

    सन्दीपले जनवरी २ मा पूर्वटोली मेलबर्न स्टार्ससँगको खेल खेल्ने सम्भावना छ । कोरोना रिपोर्ट नेगेटिभ आएमा मात्र उनी खेल्न पाउने छन् ।

  • आज मेसी र रोनाल्डो आमने-सामने

    आज मेसी र रोनाल्डो आमने-सामने

    काठमाडौं । फुटबल प्रेमीहरुका लागि आज खास दिन रहेको छ । समकालिन फुटबलका सर्वाधिक सफल दुई खेलाडी लियोनल मेसी र रोनाल्डोबीच आज दुई वर्षपछि पहिलो पटक मैदानमा भिडन्त हुँदैछ । अर्कोतर्फ यो अवसर पुनः कहिले जुट्ने हो भन्ने पनि निश्चित छैन ।

    यस अवस्थामा बहुप्रतिक्षित खेल आज राती नेपाली समय अनुसार राती पौने २ बजे हुँदैछ । युरोपियन च्याम्पियन्स लिगमा आज दुई टोली युभेन्टस र बार्सिलोना भिडन् लागेका हुन् । जसमा मेसी र रोनाल्डो एक अर्काविरुद्ध खेल्नेछन् । यसअघि रोनाल्डो स्पेनिस लालिगामा रियल म्याड्रिडको तर्फबाट खेल्ने गर्थे ।

    त्यसबेला उनीहरु बीचको भिडन्त रोमान्चक हुने गथ्र्यो । युरोपियन च्याम्पियन्स लिगको समुह चरणबाट दुबै टोली अन्तिम १६ मा पुगिसकेका छन् । तर, यो भिडन्त समुहको शीर्ष स्थानमा रहनु मात्र नभई मेसी र रोनाल्डोको उत्कृष्तता भिडन्तका रुपमा समेत हेरिएको छ ।

    खेल बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ । अपराजित रहेको बार्सिलोना शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । युभेन्टस दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।यसअघि बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा २–० गोलले हराएको थियो ।

  • बार्सिलोना काडिचसँग पराजित, ३२ बर्षकै खराब प्रदर्शन !

    बार्सिलोना काडिचसँग पराजित, ३२ बर्षकै खराब प्रदर्शन !

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना काडिजसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

    यो सिजन लगातार खराब प्रदर्शन गरिरहेको बार्सिलोनाको चौथो हार हो । घरेलु मैदानमा भएको खेलमा काडिचलाई जित दिलाउन आल्भारो गिमेन्ज र आल्भारो नेग्रेडोले एक–एक गोल गरे । उता पाहुना टोली बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो ।

    खेलको आठौं मिनेटमा गिमेन्जले गोल गर्दै काडिचलाई अग्रता दिलाए । ५७ औं मिनेटमा पेड्रोले आत्मघाती गोल गर्दा बार्सिलोना बराबरी स्थितिमा पुग्यो । ६३ औं मिनेटमा नेग्रेडोले गोल गर्दै काडिचलाई २–१ गोलको जित दिलाए ।

    जितसँगै काडिचले शीर्ष पाँचमा आफूलाई स्थापित गरेको छ । लिगमा १२ खेल खेलेको काडिचले १८ अंक जोडेको छ ।

    अहिलेसम्म १० खेलमा ४ जित २ बराबरी र ४ खेलमा हारेको बार्सिलोनाको १४ अंक रहेको छ भने लिगमा सातौ नम्बरमा रहेको छ ।

    बार्सिलोनाको ला लिगाको इतिहासमा सन १९८७-८८ सिजनपछि पहिलो पटक यस सिजनमा यति खराब प्रदर्शन गरेको छ । सो सिजनमा बार्सिलोनाको १० खेलमा केवल १३ अंक रहेको थियो ।

    बार्सिलोनाले अब अर्को खेल च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेल युभेन्टससँग आगामी मंगलबार राति खेल्दै छ ।