Category: खेलकुद

  • राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना पुष्टी

    राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना पुष्टी

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबारदेखि ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । त्यसमध्ये चार जना खेलाडीमा कोरोनाबाट भाइरसको सङ्क्रमण पुष्टी भएको हो । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा छन् ।

    नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । सोही प्रयोजनका लागि एन्फाले बिहीबारदेखि प्रशिक्षण थालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरू भएको प्रशिक्षणमा ३० खेलाडी मात्र उपस्थित छन् ।

    नेपालले बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ मा खेल्नेछ । दोस्रो मैत्रीपूर्ण खेल २ मंसिरमा तय भएको छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक नेपाली फुटबल टोलीले अन्तर्राष्ट्रिय सहभागिता जनाउन लागेको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी थालेको छ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा छन् ।

  • कोरोनाले रोक्यो मेसी र रोनाल्डोको भेट, बार्सिलोना विजयी

    कोरोनाले रोक्यो मेसी र रोनाल्डोको भेट, बार्सिलोना विजयी

    काठमाडौं । वर्तमान फुटबलका सबैभन्दा महान खेलाडी हुन् लियोनल मेसी र क्रिष्ट्रियानो रोनाल्डो । यी दुई खेलाडीले स्पेनमा लामो समय एक अर्काविरुद्ध खेले । तर, दई वर्ष अगाडी रोनाल्डो इटली गएपछि भने दुई महान खेलाडीको भेट भएको थिएन । तर, बुधबार राती भने दुई खेलाडीबीच युरोपियन च्याम्पियन्स लिगमा भेट्ने अवसर थियो ।

    तर, कोरोना भाइरसले दुई खेलाडीबीचको भिडन्त भने हेर्न पाइएन । रोनाल्डो अहिले कोरोनाको सामना गरिरहेका छन् । उनी होम आइसोलेसनमा बसेका छन् । उता, खेलमा भन स्पेनिस महारथी बार्सिलोनाले इटालियन च्याम्पियन युभेन्ट्समाथि जित निकालेको छ । जसमा कप्तान मेसीले एक गोल गर्न सफल भएका छन ।

    बार्सिलोनाले युभेन्ट्सलाई उसकै होम ग्राउण्डमा हराएको हो । समूह जी अन्तर्गत बार्सिलोनाले युभेन्ट्सलाई २-० गोलले पराजित गरेको छ । खेलको १४ मिनेटमा बार्सिलोनाले उस्मान डेम्बेलेको गोलबाट अग्रता लियो । उनलाई लिओनल मेसीले पास दिएका थिए ।

    खेल सकिन पाँच मिनेट बाँकी रहेको अवस्थामा युभेन्ट्स १० खेलाडीमा सीमित भयो । डिफेन्डर मेरिह डेमिरल दोस्रो पहेँलो कार्ड पाउँदै बाहिरिए । दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो।

    अन्सु फातीमाथि भएको फउलमा मेसीले पेनाल्टीमार्फत बार्सिलोनाका लागि दोस्रो गोल गरे । लगातार दोस्रो जित निकालेको बार्सिलोना समूहको पहिलो स्थानमा छ ।

  • मुम्बई पुग्यो आइपीएलको प्लेअफमा, कोहलीको टीम पराजित

    मुम्बई पुग्यो आइपीएलको प्लेअफमा, कोहलीको टीम पराजित

    अबुधाबी । विराट कोहलीको टीम रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध रवाफिलो जित निकाल्दै मुम्बई इन्डियन्स जारी आइपिएलमा प्लेअफ पुगेको छ । प्लेअफ पुग्ने मुम्बई पहिलो टिम बन्न समेत सफल भएको छ । बुधबार राति अबुधाबीमा सम्पन्न खेलमा मुबईले बेंग्लोरलाई ५ विकेटले हराएको हो ।

    पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकेटको क्षतिमा १६४ रन जोडेको थियो । टीमका लागि देवदुत पडिकलले सर्वाधिक ७४ रनको योगदान गरे । बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले किफायति बल फाले । उनले ३ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन राखेर मात्र १४ रन दिए ।

    १६५ रनको लक्ष्य मुम्बईले ५ विकेटको क्षतिमा १९.१ ‌ओभरमा भेट्टायो । मुम्बईको जितमा सूर्यकुमार यादवले नटआउट ७९ रनको योगदान गरे ।

  • रोमाञ्चक बन्दै आइपीएल, पंजावले हरायो कोलकात्तालाई

    रोमाञ्चक बन्दै आइपीएल, पंजावले हरायो कोलकात्तालाई

    दुबई । आईपीएल क्रिकेट रोमाञ्चक बन्दै गएको छ । खासगरी अंक तालीकाको तल्लो क्रममा रहेका टोलीले माथिल्लो स्तरमा रहेका टोलीलाई रोक्न थालेपछि अंक तालीका रोमाञ्चक बन्दै गएको छ । आइपीएलमा गएराति किंग्स इलाभेन पन्जाबले कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराएको छ ।

    कोलकाताको तर्फबाट जितका लागि पाएको १५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाउँदै जित निकालेको छ । पन्जाबका लागि मन्दीप सिंह र क्रिस गेलले १०० रनको साझेदारी गरेका थिए । मन्दीप सिंहले नटआउट ६६ र क्रिस गेलले ५१ रन जोडे ।

    दुबईमा जारी आईपीएलको १३ औं संस्करणमा यो पन्जाबको छैठौं जित र कोलकाताको छैटौं हार हो । जितपछि पन्जाब १२ अंकसहित अंक तालिकाको चौथो नम्बरमा पुगेको छ ।

  • आइपीएलमा समुह चरणबाटै बाहिरियो चेन्नई, मुम्बईको सानदार जित

    आइपीएलमा समुह चरणबाटै बाहिरियो चेन्नई, मुम्बईको सानदार जित

    यूएई । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३ औं संस्करणमा चेन्नई सुपर किग्ङ्स समुह चरणबाटै बाहिरिएको छ । साविक विजेता मुम्बई इन्डियन्ससँग १० विकेटको अन्तरले पराजित हुँदै चेन्नई समुह चरणबाटै बाहिरिएको हो ।

    शुक्रबार राती सम्पन्न खेलमा मुम्बई भने शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल इतिहासमा पहिलो पटक चेन्नई लिग चरणबाट नै बाहिरिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ११४ रन बनायो ।

    १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा विना विकेटको क्षतिमा भेटायो । जितपछि मुम्बईको १० खेलमा १४ अंक भएको छ । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरको समेत १४ अंक नै छ । तर रन रेटका आधारमा मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

  • आइपीएलमा दिल्लीको निरन्तर जित

    आइपीएलमा दिल्लीको निरन्तर जित

    दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले आफ्नो विजयी यात्रा कायम राखेको छ । बुधबार राती सम्पन्न खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले हराएको हो । आइपीएलमा अब दोस्रो राउण्डका खेलहरु शुरु भएका छन् । पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा १६१ रन मात्र जोडको थियो ।

    मध्यम योगफललाई राजस्थानले भेटाउन सकेन । राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १४७ रन बनायो । दिल्लीका लागि शिखर धवनले अर्धशतकीय पारी खेलेका थिए । उनले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५७ रन योगदान गरे । कप्तान श्रेयस अय्यर ४३ बलमा ३ चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाए ।

  • लयमा फर्कियो अर्जेन्टिना, लगातार दोस्रो खेलमा जित

    लयमा फर्कियो अर्जेन्टिना, लगातार दोस्रो खेलमा जित

    काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले संतोषजनक खेल देखाइरहेको छ । यसअघि स्टार खेलाडी मेसीमा अधिक भर पर्ने यो टोलीमा अब भने अन्य खेलाडीले समेत कौशल देखाउन थालेका छन् ।

    बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले दोस्रो खेलमा बोलिभियामाथि २-१ गोल अन्तरको जित निकाल्यो । खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो ।
    खेलको २४ मिनेटमा घरेलु टिम बोलिभियाले खेलमा अग्रता लियो । उसका लागि मार्टिन्सले गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्कायो ।

    टोलीका लागि मार्टिनेजले दर्शनीय गोल गरेका थिए । दोस्रो हाफमा मैदान छिरेका योकिन कोरियाले ७९ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई जित तर्फ डोर्याएका थिए । कप्तान मेसी र फरवार्ड मार्टिनेजको तालमेलबाट निस्किएको सटीक पासलाई उनले गोलमा परिणत गरेका थिए । त्यसपछि दुबै टोलीबाट थप गोल भएनन् । एजेन्सी

  • विश्वकप छनोट : नेयमार चम्किएको खेलमा ब्राजिल विजयी

    विश्वकप छनोट : नेयमार चम्किएको खेलमा ब्राजिल विजयी

    काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र पेरुबीचको खेलमा ब्राजिलियन स्टार नेयमारले उत्कृष्ट खेल कौशल देखाए । उनले ह्याट्रिक गरेको खेलमा ब्राजिलले पेरुमाथि ४-२ गोल अन्तरको जित निकाल्यो । नेइमारका पहिलो दुई गोल पेनाल्टी थिए । दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थप्दै उनले ह्याट्रिक पुरा गरे ।

    बुधबार बिहान भएको खेलमा ह्याट्रिक गरेका नेइमार ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा समेत उक्लिए । उनले रोनाल्डोको कीर्तिमान तोडेका हुन् । नेइमारले १०३ खेलबाट देशका लागि ६४ गोल गरिसकेका छन्।

    रोनाल्डोले भने ब्राजिलका लागि ९८ खेलबाट ६२ गोल गरेका थिए। पहिलो नम्बरमा पेले छन् । पेलेले ब्राजिलका लागि ७७ गोल गरेका छन् । एजेन्सी

  • न्यूह्यामसर नेपाली खुल्ला टेनिसको उपाधि भट्ट र हुमागाईलाई

    न्यूह्यामसर नेपाली खुल्ला टेनिसको उपाधि भट्ट र हुमागाईलाई

    न्यूह्याम्पसर राज्यमा स्थापित नेपालीभाषीहरुको छाता संस्था न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता २०२० (पुरुष सिंगल्स) को उपाधि सरोज भट्टले जितेका छन् ।

    शनिबार सम्पन्नफाइनल खेलमा किरण हुमागाईलाई ६–४, ५–७, ६–४ को सेटमा पराजित गर्दै भट्टले सिङ्गल्सतर्फको उपाधि हासिल गरेका हुन् । यस्तै प्रतियोगिताको डबल्स संस्करणमा मनिश हुमागाई र किरण हुमागाईको जोडी बिजयी भएको छ । उनीहरुले फाइनलमा रविन थापा र दिपकअमात्यको जोडीलाई ६–३, ५–७ र ६–४ को अन्तरमा पारजित गरेका हुन् ।

    तीन सातासम्म चलेको प्रतियोगिको सिंगल्स तर्फ १८ जना र डबल्स तर्फ नौ जोडी खेलाडीहरुले भाग लिएका थिए । राज्यको म्याम्चेष्टर स्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगिताका विजयी एवं सहभागी खेलाडीलाई फाइनलपछि आयोजित समारोहमा न्यूह्याम्पसर नेपाली समाजकाअध्यक्ष सोम गुरुङले ट्रफी एवं प्रमाणपत्र वितरण गरे । यसैगरी प्रतियोगिता अवधिभर एम्पायरको भूमिका निर्वाह गर्ने वीर शाह, विनित शाह, गोविन्द गुरुङ र प्रतियोगिता संयोजक दिनेश गुरुङलाई प्रमाणपत्र एवं मायाको चिनो प्रदान गरिएको थियो ।

    कार्यक्रममा समाजका अध्यक्ष गुरुङले खेल मार्फत राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुमा भाइचारा अभिबृद्धि गर्ने समाजको अभियानबारे चर्चा गरेका थिए । ‘हामीले हरेक बर्ष फुटबल, टेनिस लगायतका खेलकुद प्रतियोगिताआयोजना गरिरहेका छौँ, उनले भने ‘यसले न्यूह्याम्पसर मात्र नभइ अन्यछिमेकी राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुबीच पनि आत्मियता र भाइचारा बढाएको अनुभव गरेका छौँ ।’ टेनिस प्रतियोगितामा बर्षेनीबढ्दो सहभागिताले नेपालीहरुले आफ्नो समुदायमा मात्र नभइ अरु खुलाप्रतिस्पर्धामा पनि छिटै आफ्नो पहिचान स्थापित गर्ने विश्वास आफुले लिएको उनको भनाइ छ ।

    प्रतियोगितामा राज्यका विभिन्न ठाउँहरुमा बसोबास गर्ने विभिन्न उमेर समूहका पुरुषहरुको सहभागिता रहेको थियो । ‘सहभागीहरुको संख्या बर्षेनी बढ्दो छ’ विगत केही बर्षदेखि खेलकुद प्रतियोगिताको संयोजन गर्दै आएका समाजका सदस्य दिनेश गुरुङले भने ‘नयाँ पिँढीका भाइबहिनीहरुले पनि टेनिस खेलप्रति उत्साहजन सहभागिता जनाउँदै आएका छन् ।’

    यसबर्ष कोरोना भाइरस महामारीबीच प्रतियोगिता आयोजना भएकाले सामाजीक दूरीलगायत सुरक्षाका उपायहरुमा विषेश ध्यान दिइएको थियो ।

  • आइपीएल : साविक विजेता मुम्बईको विजयी यात्रा जारी, राजस्थानको रोमाञ्चक जित

    आइपीएल : साविक विजेता मुम्बईको विजयी यात्रा जारी, राजस्थानको रोमाञ्चक जित

    दुबई । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार दुई खेल भए । खेलमा मुम्बईले पाँचौ जित हात पार्दा राजस्थान रोयल्स रोमाञ्चक खेलमा विजयी भएको छ । यूएईमा गत राति भएको खेलमा नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने आबद्ध रहेको दिल्ली क्यापिटल्सलाई मुम्बईले ५ विकेटले हराएको हो । यद्दपी सन्दीप यो वर्ष अझै प्लेइग ११ मा परेका छैनन् । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पुरा पूरा गर्यो ।

    मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादवले अर्धशतक बनाए । दुवै खेलाडीले समान ५३ रन बनाए । इशान किशनले २८ रन बनाए । दिल्लीका कागिसो राबडाले २ विकेट लिए । जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लियो ।

    आइतबार नै भएको अर्को खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकाल्यो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सनराइजर्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५८ रन बनाएको थियो ।

    उसका लागि कप्तान डेभिड वार्नरले ४८ रन र मनिष पाण्डेले ५४ रन जोडे । एक सय ५९ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको राजस्थानले एक बल बाँकी छँदा फेला पार्यो । टीमका लागि राहुल तेवतियाले ४५ र रियान परागले ४२ रनको नटआउट इनिंग खेलेका छन् ।

  • धोनीको टीम चेन्नाईलाई बढ्दो संकट, कोहली चम्किएपछि फेरी हार्यो

    धोनीको टीम चेन्नाईलाई बढ्दो संकट, कोहली चम्किएपछि फेरी हार्यो

    दुबई । जारी इण्डियन प्रिमियर लिगमा तीन पटकको उपाधी विजेता चेन्नाई सुपर किंग्स निरन्रता हार बेहोर्न बाध्य भएको छ । यसले कप्तान महेन्द्रसिहं धोनीको टीम लिग चरणबाटै बाहिरिने सम्भावना समेत बढेको छ । शनिबार राती सम्पन्न खेलमा पनि रोयल च्यालेन्जर्स बैंग्लोरले चेन्नाई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको हो । यो जारी लिगमा पाँचौ हार हो ।

    शनिबार कप्तान बिराट कोहली चम्किए । उनले ९० रनको अविजित पारी खेले । बैंग्लोरले चेन्नाईसामु १७० रनको लक्ष्य राखेको थियो । चेन्नाई निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १३२ रनमा समेटियो ।


    चेन्नाईका लागि अम्बाती रायडुले सर्वाधिक ४२ रन बनाए । बैंग्लोरका लागि क्रिस मोरिसले ३ र वाशिंग्टन सुन्दरले २ विकेट लिए । जारी आईपीएल प्रतियोगितामा बैंग्लोरको यो चौथो जित हो ।


    दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । बैंग्लोरका लागि कप्तान बिराट कोहलीले ५२ मा ४ चौका र ४ छक्का प्रहार गर्दै ९० रन जोडेका थिए ।

  • सन्दीप लामिछाने र सुमन गौतम लंका प्रिमियर लीको ड्राफ्टमा

    सन्दीप लामिछाने र सुमन गौतम लंका प्रिमियर लीको ड्राफ्टमा

    काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपिएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा पर्न सफल भएका छन्। उनी रहेको श्रेणीका खेलाडीले न्यूनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन्।

    ड्राफ्टबाट कुनै टीमले लिएमा सन्दीप उक्त लीगको समेत खेलाडी बन्नेछन् । सन्दीप अहिले इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न दिल्ली क्यापिटलमा रहेका छन् । यद्दपी जारी लिगमा उनले खेल्ने मौका भने पाएका छैनन् ।

    एलपीएलको ड्राफ्टमा अर्का नेपाली खेलाडी सुमन गौतम समेत परेका छन् । सुमन अहिले अष्ट्रेलियामा छन्। गौतम रहेको श्रेणीका खेलाडीले १५ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउँछन् । ड्राफटमा परेका खेलाडीको अक्सन शनिबार हुँदैछ ।

    यसले सन्दीप र सुमनको छनोटबारे टुंगो लाग्नेछ । लंका लिग नोभेम्बर २१ तारिखदेखि सुरु हुनेछ। श्रीलंका क्रिकेट बोर्डले पहिलो पटक लंका प्रिमियर लिग आयोजना गर्न लागेको हो ।

  • ब्याटिङ चल्न नसकेपछि चेन्नाई पराजित

    ब्याटिङ चल्न नसकेपछि चेन्नाई पराजित

    दुबई । आइपीएलमा सबैभन्दा खतरनाक ब्याटिङ लाइनअप भएको टोली मानिन्छ, चेन्नाई सुपर किंग्स । तर, बुधबार यही टीम कमजोरी ब्याटिङ गर्दै पराजित हुन पुगेको छ । कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्सलाई १० रनले हराएको हो ।

    आईपीएल क्रिकेट अन्तर्गत गतराती सम्पन्न खेलमा कोलकाताले चेन्नाईलाई जितका लागि १६८ रनको चुनौति दिएको थियो । चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदा मात्र १५७ रन जोड्यो । कोलकाताको जितमा ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाए । ५१ बल खेलेको उनले ८ चौका र ३ छक्का हानेका थिए ।

    चेन्नाईलाई जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको थियो । आन्द्रे रसेलले मात्र १५ रन खर्चिए । चेन्नाईले पहिलो १० ओभरमा एक विकेट मात्रै गुमाएर ९० रन बनाएको थियो । तर त्यसपछिको बाँकी १० ओभरमा उसको ब्याटिङलाई कोलकत्ताका बलरले खलबलाइदिए । चेन्नाइका लागि शेन वाटसनले ५० रन बनाए ।

    कप्तान महेन्द्र सिंह धोनीले ११ रन मात्रै बनाउन सके । अम्बाती रायडुले ३० तथा फाप डु प्लेसिस र साम कुरानले समान १७–१७ रन जोडे । रविन्द्र जडेजा २१ रनमा नटआउट खेले ।

  • मुम्बई सामु निरिह राजस्थान

    मुम्बई सामु निरिह राजस्थान

    अबुधावी, २१ असोज । जारी आईपीएल क्रिकेटमा मुम्बई इन्डियन पुनः अंक तालीकोको शिर्ष स्थानमा उक्लिएको छ । मंगलबार अबुधाबीमा भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले हरायो ।

    मुम्बईले ब्याट, बल र फिल्ड तीन वटै क्षेत्रमा उत्कृष्ट खेल देखाएको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा मात्र चार विकेट गुमाएर १९३ रन जोड्यो । १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १३६ रनै अलआउट भएको छ ।

    मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक नटआउट ७९ रन जोडे । बलमा मुम्बईका लागि जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सले उत्कृष्ट खेल पस्किए । बुमराहले २० रन खर्चेर ४ विकेट लिए । बोल्टले २६ रन खर्चेर २ विकेट हात पारे । जेम्स प्याटिन्सनको नाममा २ विकेट रह्यो

  • दिल्लीको टीममा अझै परेनन् सन्दीप, टोली भने विजयी

    दिल्लीको टीममा अझै परेनन् सन्दीप, टोली भने विजयी

    दुबई । नेपाली स्टार सन्दीप लामिछानेलाई पाँचौं खेलमा समेत दिल्ली क्यापिटल्सले खेलाएन । यद्दपी दिल्ली सोमबारको खेलमा भने विजयी भयो । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको हो । जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

    दुबईमा सम्पन्न खेलमा दिल्लीले बैंगलोरलाई १९७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा मात्र १३७ रन बनायो । टोलीका लागि कप्तान विराट कोहलीले सबैभन्दा धेरै ४३ रन जोडेका थिए ।

    दिल्लीका कागिसो रबाडाले चार विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९६ रन बनाएको थियो । मार्कस स्टोइनिसले नटआउट ५३ रन बनाउँदै सर्वाधिक रन हानेका थिए । पृथ्वी शा ४२, शिखर धवन ३२ र रिसभ पन्त ३७ रनमा आउट भएमा थिए ।

  • बार्सिलोनाको विजयी यात्रा रोकियो, सेभियाले रोक्यो बराबरीमा

    बार्सिलोनाको विजयी यात्रा रोकियो, सेभियाले रोक्यो बराबरीमा

    बार्सिलोना । साविक विजेता बार्सिलोना स्पेनिस ला लिग फुटबलमा बराबरीमा रोकिएको छ । जारी सिजनको तेस्रो खेलमा बार्सिलोनालाई सेभियाले बार्सिलोनाकै मैदानमा बराबरीमा रोकेको हो । आइतबार राति दुई टोलीको खेल १–१ गोलको बराबरीमा टुंगियो ।

    सेभियाका डी जोङले आठौं मिनेटमा गोल गरेका थिए । त्यसको दुई मिनेटमै फिलिप कौटिन्होले गोल गरे । खेल बराबरीमा आएको त्यसपछि भने कुनै गोल हुने सकेनन् । सोहीकारण बार्सिलोनाले अंक बाँडेको हो ।

    बराबरीपछि बार्सिलोना ३ खेलबाट ७ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लियो । आइतबार नै भएको खेलमा प्रतिस्पर्धी क्लव रियल म्याड्रिड विजयी भएको छ । ४ खेलबाट १० अंक जोडेको रियल शीर्ष स्थानमा रहेको छ ।

  • आइपीएल : मुम्बई शीर्ष स्थानमा, चेन्नईको रवाफिलो जित

    आइपीएल : मुम्बई शीर्ष स्थानमा, चेन्नईको रवाफिलो जित

    दुवई । जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । आइतबार सनराइजर्स हैदराबादलाई ३४ रनले हराउँदै मुम्बईले चौथो जित हात पारेको छ । मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबाद २० ओभरमा सात विकेट गुमाउँदा १ सय ७४ रनमा रोकियो ।

    हैदरावादको लागि कप्तान डेभिड वार्नरले ६० रन बनाए । मुम्बईका टे्रन्ट बोल्ट, जेम्स प्याटिन्सन र जसप्रित बुमराहले समान दुई÷दुई विकेट झारे । यूएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाएर २ सय ८ रनको विशाल योगफल बनाएको थियो ।

    मुम्बईका क्विन्टन डी ककले ६७ रन जोडे । मुम्बई ६ अङ्कका साथ मुम्बई शीर्ष स्थानमा आएको हो ।

    उता, आइतबार राती नै सम्पन्न अर्को खेलमा चेन्नई सुपर किङ्सले किङ्स इलाभेन पन्जाबविरुद्ध रवाफिलो जित निकालेको हो । यूएईमा राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई चेन्नईले १० विकेटले हरायो । यो उसको दोस्रो जित हो ।

    यूएई क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा कुनै पनि विकेट नगुमाई फेला पारेको हो । चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले पुरै साझेदारी गरेका हुन् ।

    पहिलो विकेटका लागि प्लेसिस र वाट्सनले अविजित १ सय ८१ रन जोडे । प्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे । वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन बनाए ।

  • प्रतिस्पर्धात्मक खेलमा दिल्ली विजयी

    प्रतिस्पर्धात्मक खेलमा दिल्ली विजयी

    सारजहाँ\युएई । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ । शनिबार राती सम्पन्न खेलमा दिल्लीले निर्धारित २० ओभरमा कोलकातासामु २२९ रनको विशाल लक्ष्य राखेको थियो ।

    जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले २ सय १० रन जोड्यो । कुनै समय यो रनसमेत भेटाउने संकेत गरेको कलकत्तालाई दिल्लीले अन्तिम दुई ओभरमा निरास बनायो । जीतसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

    शनिबार पनि नेपाली स्टार सन्दीपलाई भने दिल्लीले खेलाएन । शनिबार स्पीनर चलेनन् । फास्ट बलरको सहायतामा दिल्ली विजयी भएको हो ।


    शारजहाँ क्रिकेट मैदानमा भएको खेलमा कोलकाताका नितिश राणाले ५८, इयान मोर्गनले ४४ र राहुल त्रिपाठीले ३६ रन जोड् । दिल्लीका एनरिच नोर्जेले तीन र हर्शल पटेलले दुई विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २२८ रन बनायो । यो जारी आईपीएलको सबैभन्दा ठूलो स्कोर हो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले ८८, पृथ्वी शाले ६६ र ऋषभ पन्तले ३८ रन जोडे ।

  • चेन्नई लगातार तेस्रो खेलमा पराजित

    चेन्नई लगातार तेस्रो खेलमा पराजित

    यूएई । जारी आइपीएलमा बलियो टीम मानिएको चेन्नई सुपर किंग्स लगातार तेस्रो खेलमा समेत पराजित भएको छ । युएईमा गत राती सम्पन्न खेलमा सनराइजर्स हैदरावादले ७ रनले पराजित गरेको हो । आइपिएल इतिहासमै चेन्नई पहिलोपटक लगातार तीन खेलमा पराजित भएको हो ।

    हैदरावादले दिएको १६५ रनको लक्ष्य पन्छाएको चेन्नई निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५७ रनमा रोकिएपछि हैदरावाद विजयी भएको हो । चेन्नईका लागि रविन्द्र जडेजाले सर्वाधिक ५० रन बनाए र कप्तान महेन्द्रसिंह धोनी ४७ रनमा अविजित रहे ।

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको हैदारवादले २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । उसका लागि प्रियम गार्गले अविजित ५१ रन बनाए।

    जितपछि हैदरावादमा चार खेलमा दुई जित र दुई हारसहित चार अंक बटुल्दै अंक तालिकाको चौथो स्थानमा उक्लियो । समान अंक रहे पनि रनरेटका आधारमा मुम्बई, दिल्ली, कोलकाता अगाडी छन् ।

  • १० खेलाडीमा सिमित बार्सिलोनाको लगातार दोस्रो जीत

    १० खेलाडीमा सिमित बार्सिलोनाको लगातार दोस्रो जीत

    काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित हात पारेको छ । बार्सिलोनाले सेल्टा डि भिगोमाथि ३–० को सहज जित हात पारेको हो । बार्सिलोना ४२औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । डेनिस सुआरेजमाथि फल गरेपछि डिफेन्डर क्लेमेन्ट लेङ्लेट दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाड्न बाध्य भएका थिए ।

    बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० ले हराएको हो । यो जीतलाई महत्वपूर्ण मानिएको छ । किनकी सेल्टा लालीगामा तुलनात्मक रुपमा बलियो टोली मानिन्छ । शुक्रबार बिहान सम्पन्न खेलमा बार्सिलोनका लागि युवा स्टार अन्सु फाती र सर्जियो रोबर्टोले गोल गरे ।

    एक गोल भने आत्मघाती थियो । ११औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले फिलिपे कौटिन्होको पासमा गोल गरेका हुन् । ५१औं मिनेटमा लुकास ओलाजाले आत्मघाती गोल गरे ।

    पेनाल्टी बक्सभित्रबाट कप्तान लियोनेल मेस्सीले गरेको प्रहार लुकास ओलाजासँग डिफ्लेक्ट भएर गोलपोष्ट छिरेको थियो । ५९औं मिनेटमा मेस्सीले गोल गरे पनि मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा मेसीको पासमा सर्जी रोबर्टोले गोल गरे । जितपछि बार्सिलोनाको दुई खेलबाट ६ अंक भएको छ ।

  • पञ्जावविरुद्ध मुम्बईको प्रभावशाली जीत

    पञ्जावविरुद्ध मुम्बईको प्रभावशाली जीत

    आबुधावी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले दोस्रो जीत प्राप्त गरेको छ । किंग्स इलाभेन पन्जाबविरुद्ध ४८ रनको प्रभावशाली जीत निकाल्ने क्रममा मुम्बईले विहीबार साँझ अलराउण्ड प्रदर्शन गर्यो ।

    ब्याट, बल र फिल्ड तीन वटै फम्र्याटमा मुम्बई चलेको थियो । मुम्बईले दिएको १९२ रनको विजय लक्ष्य पछ्याएको पन्जाब निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रनमा समेटियो । पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४४ रन बनाए ।

    अबुधाबीको शेख जायद रंगशालामा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९१ रन जोडेको थियो । कप्तान रोहित शर्माले ७० रन जोडेका थिए । पहिलो खेल हारेको मुम्बईले दोस्रो र तेस्रो खेलमा भने जीत निकालेको छ ।

  • लगातार तेस्रो खेलमा पनि टीममा परेनन् सन्दीप, दिल्ली पराजित

    लगातार तेस्रो खेलमा पनि टीममा परेनन् सन्दीप, दिल्ली पराजित

    आवुधावी । जारी आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्स तेस्रो खेलमा पराजित भएको छ । यो खेलमा पनि नेपाली स्टार सन्दीप लामिछानेले भने खेल्ने मौका पाएनन् । दिल्लीलाई मंगलबार राति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले १५ रनले पराजित गरेको हो । प्रारम्भिक दुई खेल हारेको हैदरावादले कसिलो बलिङमार्फत दिल्लीलाई हराउन सफल भएको हो ।

    पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेटको क्षतिमा १६२ रन जोड्यो। उसका लागि जोनी वायस्टोले ४८ बलमा ५३ रन जोडे । कप्तान तथा ओपनर डेभिड वार्नरले ३३ बलमा ४५ रन र केन विलियमसनले २६ बलमा ४१ रन बनाएका थिए ।

    बलिङमा दिल्लीका अमित मिश्रा र कागिसो रबाडाले २, २ विकेट लिए। १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्र जोड्न सक्यो। दिल्लीका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले सर्वाधिक ३४ रन बनाए ।

    रिशव पन्तले २८ रन तथा शिमरन हेटमेयरले २१ रन मात्र बनाउन सके । अन्य ब्याट्सम्यान चल्न सकेनन् । बलिङमा हैदरावादका रासिद खानले ३ विकेट लिए। उनले ४ ओभरमा १४ रन मात्र दिएका थिए ।

  • रोमाञ्चक खेलमा मुम्बईलाई आरसीबीले हरायो

    रोमाञ्चक खेलमा मुम्बईलाई आरसीबीले हरायो

    आबुधावी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार राती एक रोमाञ्चक प्रतिस्पर्धामा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई हराएको छ । दुबै टोलीबाट २० ओभरमा समान २ सय १ रन बनेपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा भने बैंगलोरले बाजी मार्यो ।

    टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । २०२ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले ५ विकेटको क्षतिमा २०१ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

    आईपीएलको इतिहासमै यो सर्वाधिक रनमा बनेको टाइ थियो । कमजोर अवस्थामा रहेको मुम्बईलाई किरोन पोलार्ड र इशान किशनले उकासेका थिए । पोलार्डले २४ बलमा ६० रन र इशानले ५८ बलमा ९९ रन बनाएपछि खेल बराबरीमा आउने अवस्था बनेको हो ।


    सुपर ओभरमा मुम्बईले बैंगलोरलाई मात्र ८ रनको लक्ष्य दिन सक्यो । यो लक्ष्य बैंगलोरका विराट कोहली र एबी डिभिलयर्सले सहजै पच्छ्याउन सफल भए । जारी आईपीएलमा यो दोस्रो सुपर ओभर हो । यसअघि दिल्ली क्यापिटल्स र किंग्स इलाभेन पन्जाबबीच सुपर ओभर भएको थियो । यो खेल दिल्लीले जितेको छ ।

  • सिजनको पहिलो खेलमा चम्कियो बार्सिलोना, मेसी र फातीको गोल

    सिजनको पहिलो खेलमा चम्कियो बार्सिलोना, मेसी र फातीको गोल

    बार्सिलोना । १७ वर्षिय युवा स्ट्राइकर अंशु माने फाती र कम्प्तान लियोनल मेसी चम्किएपछि स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो खेलमा बार्सिलोनाले सानदार जीत प्राप्त गरेको छ । बार्सिलोनाले भिल्लारियललाई ४–० गोल अन्तरले हराएको हो । बार्सिलोनाका लागि युवा स्टार अंशु फातीले दुई कप्तान लियोनल मेस्सी एक गोल गरेका थिए ।

    एक गोल विपक्षी टोलीले आत्मघाती गरेको थिया । त्यसमा मेसीले असिष्ट गरेका थिए । खेलको सुरुवात मै दुई गोल गर्दै टीमलाई सहज बनाएका फातीलाई मेसीले भरपुर साथ दिए । मेसी यो सिजन बार्सिलोना छाड्न चाहन्थे । तर, सम्झौताका कारण त्यो सम्भव भएन ।

    यद्दपी बार्सिलोनामै रहेको अवस्थामा पहिलो खेलको नतिजाले भने उनमा उत्साह थपेको छ । भिल्लारियलविरुद्ध कप्तान मेस्सीले खेलको ३५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।


    नयाँ प्रशिक्षकका रुपमा रोनाल्डो कोइमयान बार्सिलोना आएपछिको पहिलो खेलमा अपेक्षित नतिजा प्राप्त गरेको छ । कोइमयानले नयाँ र युवा खेलाडीलाई प्राथमिकता दिएका छन् । अनुभव खेलाडी कम राखेका छन् । सोहीक्रममा उनले सुवारेज, भीडाल, र्याकिटिकजस्ता अनुभवी खेलाडीलाई यो सिजनमा बिदा गरिसकेका छन् ।

  • आइपीएल : चेन्नईलाई राजस्थानले हरायो

    आइपीएल : चेन्नईलाई राजस्थानले हरायो

    यूएई । १३ औं संकरणको इन्डियन प्रिमियर लिग (आइपीएल) २०२० अन्तगर्त गत राती सम्पन्न खेलमा चेन्नई सुपरकिंस पराजित भएको छ । रोमाञ्चक खेलमा राजस्थान रोयल्सले चेन्नईलाई १६ रनले हराएको हो । २ सय १७ रनको लक्ष्य पछ्याएको चेन्‍नइ २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएर ओभर सकायो ।

    उसका लागि मुरली विजय र सेन वाटसनले पहिलो विकेटका लागि ६.४ ओभरमा ५६ रनको साझेदरी गरेका थिए। वाटसन ३३ र विजय २१ रन जोड्दै आउट भए । ११४ रन जोडेर पाँच विकेट गुमाएको अवस्थामा चेन्‍नइका फाप डु प्लेसिसले आक्रामक ब्याटिङ गर्दै जीतको आशा देखाएका थिए । तर, उनी १९ औं ओभरमा आउट भए। उनले ३७ बलमा १ चौका र ७ छक्कासहित ७२ रन जोडेका थिए ।

    कप्तान महेन्द्रसिंह धोनीले १७ बलमा नटआउट २९ रन जोडे । राजस्थानका लागि टेवाटियाले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए। आर्चर, गोपाल र करनले १\१ विकेट झारेका थिए । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो ।

    राजस्थानलाई विशाल योगफलमा पुर्‍उन सञ्जु स्यामसन र स्टिभ स्मिथ चम्किए । स्यामसनले ३२ बलमा ९ छक्का र १ चौका सहित ७४ रन जोडे। कप्तान स्टिभ स्मिथ ४७ बलमा ४ चौका र ४ छक्कासहित ६९ रनमा बनाए।

    अन्तिम ओभरमा जोफ्रा आर्चरले ८ बलमा ४ छक्का सहित २७ रन जोड्दै टोलीलाई विशाल योगफलतर्फ अगाडी बढाएका थिए । प्रतियोगिताअन्तर्गत बुधबार कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स भिड्दैछन् ।

  • आइपीएल : बैंगलोरले हैदरावादलाई हरायो

    आइपीएल : बैंगलोरले हैदरावादलाई हरायो

    यूएई । १३ औं इण्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको हो ।

    बैंगलोरले हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । हैदराबाद भने १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा सिमित भयो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

  • आइपीएल : दिल्लीको रोमाञ्चक जीत

    आइपीएल : दिल्लीको रोमाञ्चक जीत

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले किंग्स एलेभेन पञ्जाबलाई रोमाञ्चक खेलमा हराएको छ । निर्धारित ओभरमा दुबै टोलीको स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा दिल्लीले बाजी मार्यो ।

    युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा दुवै टोलीले समान १५७ रन बनाए । त्यसपछि खेल सुपर ओभरमा पुगेको हो । त्यसक्रममा पञ्जावले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर जम्मा २ रन जोड्यो ।

    पञ्जावका कप्तान केएल राहुल र निकोलस पुरनले सुपर ओभरमा ब्याटिङका लागि आएका थिए । दिल्लीका फास्ट बलर कागिसो रबाडाले दुवै खेलाडीलाई आउट गराउन सफल भए । उनी चम्किएको खेलमा पहिलो बलमा रबाडाले २ रन दिए । तर, त्यसपछि भने रन दिएनन् ।


    दिल्लीले सुपर ओभरमा ३ रनको लक्ष्य २ बल खेल्दै पूरा गरेको हो । त्यसअघि मार्कुस स्टोइनिसको विष्फोटक इनिंगको मद्दतमा दिल्लीले निर्धारित २० ओभरमा १५७ रन जोडेको थियो । उनले २१ बलमा ५३ रन बनाए ।

    उनले टोलीका लागि अन्तिम ओभरमा मात्रै २५ रन जोडे । स्टोइनिसले ७ चौका र ३ छक्का प्रहार गरे । १५८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले पनि १५७ रन मात्रै जोडपछि खेल सुपर ओभरमा पुगेको हो ।

  • आइपीएलको १३ औं संस्करण : मुम्बईलाई चेन्नईले हरायो

    आइपीएलको १३ औं संस्करण : मुम्बईलाई चेन्नईले हरायो

    काठमाडौं । कोरोना महामारीका बीच इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३ औं संस्करण शुरु भएको छ । उद्घाटन खेलमा चेन्नई सुपर किङ्सले मुम्बईलाई हराएको छ । गतराति युएईको आबुधाबीमा सम्पन्न खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो ।

    शेख जायद स्टेडियममा पहिले ब्याटिंग गरेको मुम्बईले १ सय ६२ रन जोडेको थियो । १६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

    उता, चेन्नईका फाप डु प्लेसिसले अविजित ५५ रनको योगदान गरे । मुम्बई साविक विजेता समेत हो । १२ औं संस्करणको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराउँदै उपाजी हात पारेको थियो ।

  • लामो दूरीका यातायात र एयरलाइन्स १ असोजबाटै चलाउन सकिने

    लामो दूरीका यातायात र एयरलाइन्स १ असोजबाटै चलाउन सकिने

    काठमाडौं । सरकारले लामो दूरीका यातायातका साधन १ असोजबाटै चलाउन सकिने गरी निर्णय सार्वजनिक गरेको छ । यसअघि सोमबार मन्त्रिपरिषद् बैठकपछि भने मन्त्रिहरुले लामो दूरीका यातायात र आन्तरिक उडान ५ असोजबाट खुल्ने निर्णय भएको बताएका थिए ।

    तर, औपचारिक निर्णय सार्वजनिक गर्दै सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले १ असोजबाटै यी सेवा संचालनमा आउने निर्णय भएको बताएका छन् । उनका अनुसार सार्वजनिक यातायातमा भने भाडा ५० प्रतिशत बढी लिन पाइने भएको छ ।

    स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न पाइने छ । उनका अनुसार संक्रमणको जोखिम बढेमा भने स्थानीय प्रशासनबाटै आवश्यक निर्णयहरु हुनेछन् । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ। जहाजमा समेत यस्तै गरी यात्रा गर्न पाइने भएको छ ।

  • सर्वाधिक कमाई गर्ने खेलाडीको नम्बर वानमा मेसी

    सर्वाधिक कमाई गर्ने खेलाडीको नम्बर वानमा मेसी

    काठमाडौं । अर्जेन्टाइन स्टार लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बन्न सफल भएका छन् । फोर्ब्सले सन् २०२० को खेलाडीहरुको कमाई सम्बन्धी सूचि सार्वजनिक गरेको छ । शीर्ष १० को सूचिको पहिलो नम्बरमा मेसी रहेका छन् । उनलाई र्पोचुगिष्ट स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पच्छ्याइरहेका छन् । फोर्ब्सले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष मेसीको वार्षिक कमाइ १२६ मिलियन अमेरिकी डलर पुगेको छ ।

    रोनाल्डोको कमाई मेसीको भन्दा ९ मिलियन कम छ । यो वर्ष मेसीले पारिश्रमिकबाट ९२ मिलियन डलर र एन्डोरसमेन्टबाट ३४ मिलियन डलर कमाएका छन् । रोनाल्डोले भने पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियन कमाए । उनको कुल कमाई ११७ मिलयन डलर रहेको छ ।
    सर्वाधिक कमाइ गर्ने शीर्ष १० खेलाडी को को हुन् ?

    लियोनल मेसी : १२६ मिलियन अमेरिकी डलर
    क्रिस्टियानो रोनाल्डो : ११७ मिलियन डलर
    नेमार : ९६ मिलियन डलर
    किलिएन एमबाप्पे : ४२ मिलियन डलर
    मोहम्मद सालाह : ३७ मिलियन अमेरिकी डलर
    पउल पोग्बा : ३४ मिलियन अमेरिकी डलर
    एन्टोनी ग्रीजमन : ३३ मिलियन अमेरिकी डलर
    गारेथ बेल : २९ मिलियन अमेरिकी डलर
    रोवर्ट लेवान्डोस्की : २८ मिलियन अमेरिकी डलर
    डेविड डे हेअ : २७ मिलियन अमेरिकी डलर