Category: बिचार

  • असन्तुष्टि सम्बोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

    असन्तुष्टि सम्बोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

    काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नागरिक असन्तुष्टिलाई शान्तिपूर्ण तरिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा महतले सुशासन र स्थिरताबिना समृद्धिको परिकल्पना गर्न नसकिने बताए । “असन्तुष्टि प्रकट हुनु स्वाभाविक हो । तर त्यसको अभिव्यक्ति पनि शान्तिपूर्ण हुनुपर्छ, र सरकारको प्रतिक्रिया पनि शान्तिपूर्ण तथा कानुनी प्रक्रियाभित्रै सीमित हुनु अत्यावश्यक छ,” उनले भने ।

    महतले गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शनका आडमा भएका हिंसालाई कुनै पनि बहानामा वैधानिकीकरण गर्न नहुने बताए । ती घटनाबाट राष्ट्रले ठूलो आर्थिक र मनोवैज्ञानिक क्षति बेहोर्नु परेको उल्लेख गर्दै महतले लगानीकर्ताको विश्वास घटेको र पुँजी पलायनको सम्भावना बढ्दै गएको बताए ।

  • सुरक्षा प्रत्याभूतिका लागि ठोस कदम चाल्न निजी क्षेत्रको आग्रह

    सुरक्षा प्रत्याभूतिका लागि ठोस कदम चाल्न निजी क्षेत्रको आग्रह

    काठमाडौँ, १६ पुस । निजी क्षेत्रका छाता संस्थाहरूले लगानीयोग्य वातावरण सिर्जना गर्न तथा व्यवसायको सुरक्षा प्रत्याभूतिका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेका छन् । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ शीर्षकको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गरी मनोबल उकास्न सरकारसँग आग्रह गर्नुभयो ।

    उनले निजीक्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याए । ढकालका अनुसार मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको संरक्षण र सम्वद्र्धन अनिवार्य छ । शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउन, बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता हुँदाहुँदै पनि निजी क्षेत्र लगानीमा अघि नबढ्नु, निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनामा सुरक्षाको प्रत्याभूति नहुनु र रोजगारीको अवसर अभावमा युवा वैदेशिक रोजगारीतर्फ धकेलिनुपरेको समस्या समाधानका लागि सामूहिक छलफल आवश्यक रहेको उनको भनाइ थियो ।

    गत भदौ २३ र २४ का दिन भएको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रले झेल्नुपरेको प्रत्यक्ष भौतिक क्षति करिब रु ४० अर्ब र अप्रत्यक्ष क्षति रु ८१ अर्ब पुगेको उनले जानकारी दिए । उद्योग क्षेत्रलाई प्राथमिकता क्षेत्र घोषणा गर्नुपर्ने, निजी क्षेत्रको सुरक्षाका लागि ‘हटलाइन’ तथा द्रुत सुरक्षा दस्ता गठन गर्नुपर्ने माग पनि उनले राखे । नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजीक्षेत्र स्थायित्व, लगानीको संरक्षण र समृद्धिका लागि सरकारको प्रभावकारी सहयोग अपेक्षित रहेको बताए । सुशासन, पारदर्शिता, नीतिगत स्पष्टता र स्थायित्वले मुलुकको समग्र अर्थतन्त्रलाई फाइदा पुग्ने विश्वास निजीक्षेत्रले लिएको उनको भनाइ थियो ।

    प्रधानमन्त्रीले सार्वजनिक तथा निजी संरचनाको पुनर्निर्माणमा निजी क्षेत्रलाई साथ लिएर अघि बढ्नुपर्ने सुझाव पनि उनले राखे । पाण्डेले निजीक्षेत्रले विगतका राजनीतिक उतारचढावबीच पनि रोजगार सिर्जना र राजस्वमार्फत राज्यलाई योगदान दिँदै आएको उल्लेख गर्दै उद्योग–व्यवसायलाई स्थायी क्षेत्रका रूपमा मान्यता नदिइकन शान्ति, विकास र समृद्धि सम्भव नहुने बताए । नीतिगत स्थायित्व, स्वदेशी लगानीको संरक्षण र दीगो आर्थिक नीतिबिना समृद्धिको लक्ष्य पूरा नहुने उनको तर्क थियो ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले शान्ति, स्थायित्व र समृद्धिका लागि न्याय, समानता, संवाद, भरोसा र नीतिको निरन्तरता अनिवार्य भएको बताए । शान्ति केबल द्वन्द्वको अभाव नभई न्याय र अवसरको सुनिश्चितता हो भन्ने उल्लेख गर्दै उनले राजनीतिक तथा नीतिगत स्थायित्वबिना निजी क्षेत्रले जोखिम लिन नसक्ने र युवाले भविष्यप्रति विश्वास नसक्ने उल्लेख गरे । अग्रवालका अनुसार निजी क्षेत्र समृद्धिको इन्जिन हो जसले रोजगारी सिर्जना, करको योगदान, नवप्रवर्तन र उत्पादन वृद्धिमा यसको भूमिका निर्णायक छ ।

    तर नेपालमा निजीक्षेत्र आज पनि नीतिगत अस्थिरता, जटिल कानुनी प्रावधान, वित्तीय जोखिम र अविश्वासको वातावरणबाट गुज्रिरहेको उल्लेख गर्दै उनले सरकारले नीतिमा नेतृत्व लिनु, राजनीतिक दलहरूले स्थायित्वप्रति प्रतिबद्ध हुनुपर्ने र निजी क्षेत्रले नयाँ लगानी र रोजगारी सिर्जनामा अग्रसर हुनुपर्ने धारणा राखे । आसन्न निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गरिए स्थायित्व बलियो हुने र समृद्धि सम्भव हुने उनको विश्वास थियो ।

    कार्यक्रममा नेपाल उद्योग तथा व्यवसायी महासङ्घका अध्यक्ष भागिरथ सापकोटाले मुलुक राजनीतिक रूपमा विभाजित अवस्थामा पुगेको र राजनीतिक दलहरूले अर्थतन्त्रलाई प्राथमिकतामा राख्न नसकेको आरोप लगाए । आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र राजस्वमार्फत राज्यको सहारा निजीक्षेत्र नै भएकाले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने माग उनले राखे ।

  • पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

    पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

    काठमाडौँ, १५ पुस । पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा आज भएको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ । उनीहरुबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

  • युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँ : प्रधानमन्त्री

    युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँ : प्रधानमन्त्री

    काठमाडौँ, १५ पुस । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताएकी छिन् । उनले जतिसुकै मतभेद भए पनि एकापसमा हातेमालो गर्दै आपसी संवाद र सहमतिका आधारमा मुलुकलाई राजनीतिक निकास दिनेगरी निर्वाचनका पक्षमा देश होमिएको बताइन् । ‘तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्’द्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको मुख्य आधार उल्लासमय वातावरणसहित स्वच्छ र निष्पक्ष निर्वाचन रहेको बताइन् ।


    उनले राजनीतिक दलका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस भएसँगै प्रतिनिधि सभा सदस्यको निर्वाचन सुनिश्चित भएको छ भनिन् । आसन्न निर्वाचनका सन्दर्भमा जिम्मेवार राजनीतिक दलसहित र युवाहरूबाट प्राप्त अमूल्य सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले सम्बद्ध सबै पक्षको सहयोगमा उत्साहपूर्ण ढङ्गबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गरिन् ।

    शान्ति, सुरक्षाको प्रत्याभूतिसहित भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गरी मुलुकलाई राजनीतिक निकास दिन अहोरात्र खटिरहेको सरकारलाई साथ दिन सबैसँग अनुरोध गरेकी छिन् ।

  • ओलीको व्यङ्ग्य : जसलाई भेट्यो उसलाई प्रधानमन्त्री बाँडेर केही हुँदैन

    ओलीको व्यङ्ग्य : जसलाई भेट्यो उसलाई प्रधानमन्त्री बाँडेर केही हुँदैन

    काठमाडौँ, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन् । ‘नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक आज मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित विचारगोष्ठीमा पूर्वप्रधानमन्त्री ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पदका सहमति गरेर भन्ने खबर आफूले सुनेको उल्लेख गर्दै एमाले–कांग्रेस बाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरे ।


    अध्यक्ष ओलीले भने, “जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन ।” उनले मोर्चाबन्दीले एमालेलाई कुनै फरक नपर्ने टिप्पणी गर्दै ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने विश्वास व्यक्त गरे । संसद् पुनःस्थापना आफूहरूको प्राथमिकता रहेको स्पष्ट पार्दै अध्यक्ष ओलीले पछिल्लो राजनीतिक निकासको सोही बाटो अपनाउनुपर्नेमा जोड दिए ।


    एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले लोकतन्त्र र मुलुकको रक्षाका लागि वामपन्थी र लोकतन्त्रवादीहरू मिलेर जानुपर्ने बताए । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भदौ २३ र २४ को घटनापछि पुराना ठूला दलका नेतालाई छानी छानी आक्रमण गर्ने प्रवृत्ति गलत भएको बताए । प्रतिष्ठानका अध्यक्ष एवं एमालेका नेता प्रदीपकुमार ज्ञवालीले लोकतन्त्र र मुलुकको रक्षाका लागि पुराना दलहरूको सक्रियताको विकल्प नरहेको बताए ।

    एमालेका केन्द्रीय सदस्य एवं काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले एमालेको महाधिवेशनमा नयाँ र पुराना पुस्ताका नेता कार्यकर्ताबीच अनुभव आदान प्रदान भई अहिलेको परिस्थितिमा ऊर्जा उत्पन्न भएको बताइन् ।

  • पति पत्नीबीचको सम्वन्धमा धोका

    पति पत्नीबीचको सम्वन्धमा धोका

    योगेश आदी

    विधुतीय उपकरण वा सवारी साधन जस्तै श्रीमान श्रीमतीबीचको सम्वन्धले पनि बिग्रनै लाग्दा गाडीमा ‘चेक इन्जिन लाइट’ बले झैं संकेतहरु देखाइ सकेको हुन्छ । मेसिनमा खरखर आवाज आउने बित्तिकै मर्मत गर्ने कि नचल्ने भइसकेपछि मर्मत गर्ने आफ्नै हातमा छ । हामी एक आर्काको हौं/भयौं/रहनेछौं । ‘एउटै रथका दुइ पाङ्ग्रा हौं’ भन्दै अगाडि बढाएको सम्वन्धको रथ बिग्रन लागेको कसरी थाहा पाउने ? बिग्रनै लागेको सुचक के हो ?

    सामान्यतया मानिस एकआर्कासँग सधैका लागि शरिर, सरोकार र सम्वन्ध जोडेर सम्पूर्ण जीवन व्यतित गर्नै पर्छ भनेर बनेको प्राणी होइन । अन्य प्राणी जस्तै निस्फिक्री बाँच्नु पर्ने प्राणी नै हो । तर रेप्टायलिक र म्यामलिक ब्रेन भन्दा भिन्दै विकसित नियोकोर्टेक्स ब्रेनको उच्चतम् चेतनाको कारण खाना उत्पादन गर्ने र संचय गरेर खाना राख्ने तरिकासँगै समाजको परिकल्पना गरियो । जुन अप्राकृतिक प्रयोग थियो । केटा र केटीमार्मत बच्चा जन्माउने प्रकृयालाई जिम्मेवारी र कर्तव्यसँगै जीवन पनि सँगै व्यतित गर्ने परिपाटीले बिवाह भन्ने सँस्थाको स्थापना हुन गयो । जुन अति नै अप्राकृतिक थियो तर आवश्यकताले मान्यता प्रदान गर्दै लग्यो । कालान्तरमा अपरिहार्य चलन होकि भनेर बुझ्न थालियो । अप्राकृतिक प्रकृयालाई प्राकृत सरह काम गर्ने बनाउन पक्कै पनि थुप्रै जटिलताहरु व्यहोर्नै पर्छ । एक्कै बाँच्नु र मर्नु सजिलो हुन्छ तर सम्वन्धको दायित्व र कर्तव्य लिएर बाँच्नु र मर्नु कठिन हुन्छ । त्यसैले थप मेहेनत गर्नुपर्दछ ।

    आखिर के हो त सम्वन्धको रातो बत्ति ?

    सम्वन्ध दीगो राख्ने हो भने वा सम्वन्धको माया छ भने; श्रीमान र श्रीमती दुबैले एकआर्कालाई पहिलो प्राथमिकतामा राख्नु पर्छ । ‘जन्मदिने आमाबुवा समेत दोश्रो प्राथमिकता हो’ भन्ने बुझ्नुपर्छ । एकैछन तपाई आमाबुवा नहुँदाको तपाईको अवस्थाको कल्पना गर्नुस्… केही दिन दुख लाग्छ तर तँपाईको जीवन सामान्य नै चल्न थाल्छ । अब फेरी जीवनसाथीको मृत्यु भएर एक्लो भइयो भने बाँकी जीवन के हुन्छ कसरी बित्नेछ ? त्यो सोच्नुस्… अब मैले थप भनिराख्न परेन ।
    तथापि तँपाई जीवनसाथीसँग खुसी छैन वा बिकल्पको खोजिमा हुनुहुन्छ वा सम्वन्धको माया छैन भने परिदृष्य अर्कै हुनसक्ला । त्यसैले उस्को प्राथमिकता आफू होइन भने बुझ्नुस् यो एउटा सूचक हो ।

    तँपाईको जीवनसाथीलाई तँपाईले मुखै फोरेर पटक पटक तँपाईलाई मन पर्दैन भनेको त्यही चीज बिभिन्न बहानामा दोहोर्याई रहन्छ भने बुझ्नुस्, उस्लाई सम्वन्धको माया छैन ।

    तँपाईले बिवाह गर्दा कुनै एक पक्षलाई प्रत्यक्ष लाभ हुने अवस्था थियो भने मैले रातो बत्ति सहित बिहे गरेको छु भनेर थप सावधान भइराख्नुस् ।

    आफ्नो जीवनसाथीलाई योग्यता, रुप वा उमेरको कारण तँपाई भन्दा एडभान्टेजमा छु जस्तो व्यवहारमा झल्काउँछ भने बुझ्नुस् तँपाई थप चनाखो हुनुपर्छ ।

    तँपाईको कारण पार्टनरले उसको भित्री चाहना रहर इच्छा दबाइराखेको छ भने बुझ्नस् कि त्यो चाहना लाभा अवस्था मिल्यो भने कुनै दिन ज्वालामुखी बनेर निस्कन्छ ।

    पुरुष पार्टनरले धोका दिइराखेको कसरी थाहा पाउने ?

    त्यसो त पुरुष प्राकृतरुपमा नै पोलिगामस् हो । तर यहाँ बिवाह जस्तो अप्राकृतिक प्रकृयामा सामेल भइसकेपछि त्यसो भन्न पाइएन । बिवाहको समाजिक मान्यता भित्र बस्नै पर्ने हुन्छ ।

    १, पुरुष अप्रत्यासितरुपमा राम्रो बनेर हिड्न थाल्यो, नयाँ नयाँ कुराको रहर गर्न थाल्यो, सामान्य भन्दा भन्दै दैनिकी गर्न थाल्यो भने मसिन आवाज दिन थालेको ठान्नुस् ।

    २, जुनसुकै बेला पनि काम छ, कल आउँछ भनेर अगाडि नै फोन राखेर बस्छ । पासवर्ड भन्न खोज्दैन । फोन लिएर बाथरुममा धेरैबेर बस्छ । फोन गर्दा तुरुन्तै उ्दैन । लोकेशन शेयर गर्न आनाकानि गर्छ ।कामबाट ढिलो फर्कन्छ । भिडियो कल नगर भन्छ; भने सोच्नुस् बत्ति चहकिलो नै बलिसक्यो ।

    ३, यौन कार्यमा अरुची देखाउने वा नयाँ नयाँ आयाम भित्र्याउने । कि त वास्था नगर्ने वा अत्याधिक माया चासो देखाको जस्तो गर्न थाल्यो भने बुझ्न शुरु गर्नुस् ।

    ४, खर्च बढी गर्ने, रिसाउने, दिक्क मानेको जस्तो गर्ने, अरुसँग तुलना गर्ने, बच्चालाई रिस पोख्ने, नयाँ नयाँ योजना र प्लान गरिराख्ने गर्न थाल्यो भने सचेत रहनुस् ।

    तर मनोवैज्ञानिकहरुले के पनि भनेका छन् भने पुरुष जोखिमसँग खेल्न रुचाउने प्राणी हो । ऊ जानिजानि पनि गलत गरेर फेयर खेलाडि देखिन रुचाउँछ । कहिलेकाँही मनोरञ्जनको लागि भावना बिर्सन्छ तर पुरुष सकेसम्म अर्को बिवाहसम्म पुग्न चाहँदैन ।

    महिला पार्टनरले धोका दिइराखेको कसरी थाहा पाउने ?

    त्यसो त महिलाले अर्को पुरुष हेर्ने भने कै; भइरहेको पार्टनरलाई अवस्था मिलेसम्म छोड्ने मन बनाएपछि मात्र हर्ने गर्छ । महिला; पुरुषले जस्तो एउटाले राम्रै साथ दिंदादिंदै पनि अर्कोलाई हेर्ने गर्दैनन् । यदि कुनै महिलाले अर्कोतिर मन लैजानुको मतलव सोचेजस्तो मान्छेले ‘बिहे नै गर्छु’ भन्यो भने छोड्न तयार भएर नै अगाडि बढेको हुन्छ ।

    १, महिला पार्टनरले धोका दिइराखेको थाहा पाउने संकेतहरु पनि सामान्यतया पुरुषलाई लेखिएको बुँदा जस्तै भएपनि माथिको ३ नम्बरको बुँदा चाहिँ बिल्कुल फरक हुन्छ । महिलाले दोश्रोसँग सम्पर्क हुन थालेपछि पहिलोसँग बिभिन्न बहाना गरेर अनिच्छा देखाउने गर्दछ । छुट्टै सुत्न खोज्छ वा बच्चासँग सुत्ने गर्दछ । पुरुष मनैदेखि मन परेको छ वा प्रेम गर्छिन भने पुरुषमा यौन दुर्बलता नै भएपनि महिलाले अर्को पुरुष हेर्दिनन् । यौन महिलाको पुरुषको जस्तो पहिलो प्राथमिकता होइन् ।

    २, पार्टनरसँग सानो सानो कुरामा पनि झर्किने रिसाउने, कुरा गर्न नखोज्ने गर्न थालेको छ भने यकिन मान्नुस् उनी कसैसँग जान चाहन्छिन ।

    ३, तँपाई बिदेशमा हुनुहुन्छ तर श्रीमती भने नेपालमा छिन भने अझ सचेत रहनुपर्छ । घरमा भन्दा प्राय बाहिर रहने । सगोलमा बस्दा असुबिधा भएको, झगडा परिराख्ने भनेर छुट्टै बस्न जिद्दी गर्न थालिन् र हिसाबकिताव गोलमाल देखाउन थालिन भने जासुस् गर्न थाल्नुस् ।

    ४, नातेदार बाहेक मेरो स्कुल, कलेज, माइतितिरको वा अफिसको साथी भनेर केटाहरुसँग काम नपर्दा पनि कुरा गरिरहन्छिन् । केटीभन्दा केटाहरु धेरै साथी बनाउने गर्छिन् भने इन्क्वायरी शुरु गर्नुस् । किनकि सामान्यतया नाता पर्ने बाहेक केटा र केटीको फेयर फ्रेण्डशीप हुदैन । कि त केटाको तर्फबाट, कि त केटीको तर्फबाट मौका मिलेमा त्यहाँ गडबड हुने नै छ ।

    महिलाले मेरो पुरुष साथीसँग त्यस्तो फिल नै छैन भनेपनि पुरुष साथीको भित्र चाहीँ हुनसक्छ । एकपक्षसँग त्यस्तो फिल वा कुनै अन्य स्वार्थ नभै महिला र पुरुषबीच कुरा भइरहने खालको मित्रता हुनै सक्दैन ।

  • प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

    प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

    काठमाडौँ, १५ पुस । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेकी छिन् । तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् भन्ने शुभकामना व्यक्त गरिन् ।

    उनले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, “यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् । सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् ।”

  • सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

    सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

    पोखरा, १३ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी प्रतिनिधिसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताएका छन् । सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा यहाँ आयोजत अन्तरक्रिया कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै नेपाल सररकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनीतिक पार्टीहरूको तदारुकताका कारण निर्वाचन सुनिश्चित भएको बताए ।

    उनले प्रतिनिधिसभाको सदस्यका लागि निर्वाचनको माहोल बनेको उल्लेख गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धताका साथ अघि बढेको सरकारलाई सहयोग गर्न सबैसँग अनुरोध गरे । सञ्चारमन्त्री खरेलले जनतालाई सुसूचित गर्ने जिम्मेवारीमा रहेको आमसञ्चार क्षेत्रमाथि प्रश्न उठिरहेको चर्चा गर्र्दै सकारात्मक सोचका साथ अझ निष्पक्ष, सिर्जनशील, विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ट समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चारकर्मीसँग अनुरोध गरे ।

  • जनताले खोजेस्तो सहमति भयो : रवि लामिछाने

    जनताले खोजेस्तो सहमति भयो : रवि लामिछाने

    १३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भएको सहमतिलाई रास्वपा सभापति रवि लामिछानले जनताले खोजेको जस्तो सहमतिका रुपमा व्याख्या गरेका छन् । आज सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै उनले भनेका छन्, ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ ।’ सहमतिसँगै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडी सार्दै रास्वपा आगामी निर्वाचनमा होमिने भएको छ ।

  • कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव छैन : कुलमान

    कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव छैन : कुलमान

    काठमाडौँ, १२ पुसः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । आज उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताए । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे ।


    मन्त्री घिसिङले निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने भन्दै सबै नागरिक सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए । अब देश पुरानै ढर्राबाट अगाडि बढ्न सक्दैन”, उनले भने, “देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ । त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ ।”

    उज्यालो नेपाल पार्टीले देशभर आफ्ना सङ्गठनात्मक संरचना विस्तार गर्दै लगेको उल्लेख गर्दै मन्त्री घिसिङले सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विस्तार हुँदै गएको बताए । उनले भने, “एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदैछ, यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दैछ ।” कार्यक्रममा उनले राजनीतिक एकताको विषयमा आफ्नो धारणा स्पष्ट पारे ।


    कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने भन्दै नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए । “एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन”, उनले भने, “सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो ।”

    जनताको भावना र चाहना नयाँ शक्तिहरू एकजुट भएको हेर्न चाहेकाले जनताको इच्छा नयाँ राजनीतिक शक्तिहरू एक होऊन् भन्ने भएकाले नयाँ शक्तिहरुले अहङ्कार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने उनको भनाइ छ । उनले उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउँदै घरमा बत्ती बाल्ने बित्तिकै ‘उज्यालो’ को अनुभूति हुने भएकाले त्यसैलाई पार्टीको सन्देशका रूपमा गाउँ–गाउँसम्म पु¥याउन कार्यकर्ताहरूलाई निर्देशन दिए । “घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ, त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनुपर्छ”, उनले भने ।
    मन्त्री घिसिङले जनतामाझ उज्यालो पार्टीप्रति विश्वास बढ्दै गएको उल्लेख गरे । “हामीसँग आम जनताको विश्वास छ”, उनले भने, “यो विश्वासलाई अझ बलियो बनाउँदै निर्धक्क भएर अघि बढ्नुपर्छ ।” कार्यक्रममा उज्यालो नेपाल पार्टीका विभिन्न नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

  • बालेन, रास्वपा र कुलमानबीच पार्टी एकता पुनः अन्यौलमा

    बालेन, रास्वपा र कुलमानबीच पार्टी एकता पुनः अन्यौलमा

    १२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ऊर्जा मन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीबीच पार्टी एकताका लागि भएका सघन छलफलहरु निष्कर्षमा पुगेका छैनन् । शुक्रबार नै बालेन र रास्वपाबीच पार्टी एकता हुने गरी छलफल अगाडी बढेको भए पनि शनिबार समेत ठोस सहमति जुट्न सकेन । खासगरी कुलमान घिसिङ र उनको पार्टी व्यवस्थापनको कुरा नमिल्दा पार्टी एकता अन्यौलमा परेको बताइएको छ ।

    बालेन र रास्वपा रवि लामिछानेबीच भने बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडी सारेर जाने बारे सहमति जुटेको थियो । पार्टी सभापतिमा रवि नै रहने गरी सहमति जुटेको स्रोतहरुले बताएका छन् । तर, कुलमानलाई पनि सँगै लैजाने बालेनको प्रस्तावपछि पार्टी एकता अन्यौलमा पुगेको हो । आज पनि दिनभर जसो विभिन्न तहमा यसबारे छलफल भएको विवरण आएका छन् ।

  • निर्वाचन जसरी पनि सफल पारौँ : प्रधानमन्त्री कार्की

    निर्वाचन जसरी पनि सफल पारौँ : प्रधानमन्त्री कार्की

    काठमाडौँ, १२ पुस ः प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी छिन् । प्रधानमन्त्री निवासमा आज नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग भएको छलफलमा उहाँले ती दललाई निर्वाचनमा सहभागी हुन आग्रह गरिन् ।

    प्रधानमन्त्री कार्कीले निर्वाचनलाई राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका निम्ति लाग्न आह्वान गरिन् । उनले निर्वाचनलाई सफल बनाउनु सबैको जिम्मेवारी भएकामा जोड दिइन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार “यो निर्वाचन जसरी पनि सफल पारौँ । सबै यसमा सहभागी हुनुपर्छ । तपाईंहरू निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने सरकारले ठानेको छ । निर्वाचनको वातावरण बनिरहेको छ । यो स्वागतयोग्य छ”, तीन पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्रीले भनिन् ।


    निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन सरकारले उपलब्ध गराएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुरक्षाकर्मीको मनोबल बढेको बताइन् । छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित थिए । प्रधानमन्त्रीलाई बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले साथ दिएका थिए ।

  • निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    काठमाडौँ, १२ पुस । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकपछि नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ । कांग्रेस पनि तयार छ । एमाले पनि तयार छ । अरु दल पनि तयार छन् । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।”

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरिन् । उनले निर्वाचनमा सहभागी भई सफल तुल्याउन आग्रह गरिन् । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।

  • छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

    छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

    काठमाडौँ, ११ पुस । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य गर्ने बताएका छन् । मन्त्रालयमा आज पदबहालीका क्रममा उहाँले कुनै किसिमको सहकार्य गर्नुपर्ने लाग्यो भने त्यसलाई सही तरिकाले उठाउने काम आफ्नो हुने उल्लेख गरे । मन्त्री शर्माले भने, “दुई छिमेकी र अन्य मित्र राष्ट्रहरू नवोदित राष्ट्रहरू हुन् । उहाँहरूको अनुभव ज्ञान हामीहरूले लिनुपर्छ । सहकार्य गर्दै अगाडि बढ्ने वातावरण सिर्जना गर्न सकिन्छ भन्ने मलाई आशा छ ।”

    नवनियुक्त परराष्ट्रमन्त्री शर्माले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले शर्माको सिफारिसमा राष्ट्रपतिले उनलाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ ।

  • सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

    सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

    भक्तपुर, ११ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताएका छन् । आज गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीलाई भेटबारे जानकारी दिदै उनले सो बताएका हुन् ।

    मन्त्री खरेलले भने, “सरकार तोकिएकै दिन निर्वाचन गराउन पूर्ण रूपमा तयारी गरेको छ । निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थापन सुदृढ बनाउने छ । निर्वाचनको सबै तयारी तीव्र रूपमा भइरहेको सन्दर्भमा निर्वाचनकै विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आज छलफल भयो, अहिले एमाले अध्यक्ष केपीओलीसँग पनि छलफल भयो ।’

    अध्यक्ष ओलीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले सुरक्षालगायत सबै वातावरण सहज बनाउनुपर्नेमा जोड दिएको मन्त्री खरेलले जानकारी दिए । अध्यक्ष ओलीसँग शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चितताको कुरा भएको जानकारी दिदै राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले निर्धक्क भएर उम्मेदवारलाई जनताको घरदैलोमा मत माग्न जाने र मतदातालाई निर्धक्क भएर मतदान गर्न सक्नेगरी सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उहाँलाई अवगत गराएको बताए ।

    सरकारले निर्वाचनको वातावरण बनाएकाले ढुक्कसँग चुनावमा सहभागी हुन आफूले आग्रह गरेको जानकारी दिँदै मन्त्री खरेलले भने, “एमाले चुनावको पक्षमा छ, एमाले निर्वाचनबाट भाग्दैन भन्नुभएको छ, सुरक्षा चुनौती छ, वातावरण बनाउनुप¥यो भन्ने जुन कुरा उहाँले राख्नुभयो ती सबै सरकारले सम्बोधन गर्छ । सरकारले चुनावको वातावरण बनाउछ ।”

    एमाले अध्यक्ष ओलीमाथि लगाइएको स्थान हदबारे पुनर्विचार गर्ने कुरामा पनि सरकार सकारात्मक रहेको उनले बताए । सञ्चारमन्त्री खरेलले सरकारको लक्ष्य नै निर्वाचन भएकाले यो लक्ष्य प्राप्तिको लागि कुनै अल्झन्, अप्ठ्यारा, चुनौतीहरू भए त्यसलाई सहज बनाउँदै सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सम्पूर्ण काम गर्ने प्रतिबद्धता दोहोर्याए ।

  • कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

    कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

    काठमाडौँ, ११ पुस । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ ।

    आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महाराजगञ्जस्थित निवासमा छलफल गरिरहेका छन् । मन्त्री खरेलको सचिवालयका अनुसार आजै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ ।

  • एकताबद्ध हुन संयोजक प्रचण्डको अपिल

    एकताबद्ध हुन संयोजक प्रचण्डको अपिल

    काठमाडौँ, ११ पुसः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गरेका छन् । माओत्सेतुङको १३३ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले माओले देखाएको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण तथा जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने बाटोमा अग्रसर हुन अनुरोध गरेका छन् ।

  • बालेनको तुफानी सक्रियता, एकै दिन दर्जनौं नेतासँग भेटवार्ता

    बालेनको तुफानी सक्रियता, एकै दिन दर्जनौं नेतासँग भेटवार्ता

    १० पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले भेटवार्ता तीव्र बनाएका छन् । उनी बुधबार साँझदेखि नै आफ्ना सहयोगी कुमार बेनको घरमा थिए । रातीदेखि नै भेटघाट तिव्र बनाएका उनले आज बिहान करिब ८ बजेदेखि पुनः भेटवार्ता सुरु गरेका थिए । उनी साँझ करिब ८ बजे नै बारिए । त्यहाँ रहँदा दिनभर उनले राजनीतिक भेटघाटमा सक्रिय रहे।

    आफू राजनीतिमा आएको जानकारी दिँदै बालेनले ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित नेताहरू, कांग्रेस नेता सुनिल शर्मा, अमरेशकुमार सिंह, रक्षा बमसहित जेनजी प्रतिनिधिलगायतसँग भेट गरे । उनी दल गठन गरी निर्वाचनमा होमिने तयारीमा छन् । सोहीक्रममा वैकल्पिक शक्ति एक गराएर निर्वाचनमा जाने र त्यसको मियो आफु बन्ने लक्ष्यमा बालेन देखिन्छन् ।

  • राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

    राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

    काठमाडौँ, १० पुस । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा उनले यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने उल्लेख गरे ।

    सन्देशमा भनिएको छ, “इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्षको डिसेम्बर २५ लाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । नेपालमा यस अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यस पर्वलाई मनाउने गरिएको छ ।

    प्रेम, क्षमा, दया र शान्तिको आध्यात्मिक मार्गदर्शन रहेको यस पर्वमा मानवता, समानता र सेवाभावलाई बलियो बनाउँदै सामाजिक एकता कायम गर्न तथा इतिहास र संस्कृति जोगाउँदै असल आचरण, शान्तिपूर्ण जीवनशैली र भाइचारालाई प्रवद्र्धन गर्न यस दिनले प्रेरणा प्रदान गर्ने अपेक्षा गरिन्छ ।

    यस्ता पर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।” इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गरेका छन् ।

  • ऊर्जामन्त्रीका सय दिन : बक्यौता असुलीदेखि ठूला जलविद्युत् आयोजनामा लगानीको सुनिश्चितता

    ऊर्जामन्त्रीका सय दिन : बक्यौता असुलीदेखि ठूला जलविद्युत् आयोजनामा लगानीको सुनिश्चितता

    काठमाडौँ, ९ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मन्त्रालयमा आफ्नो १०० दिनको अवधिमा ऊर्जा उत्पादन, प्रसारण, लगानी व्यवस्थापन र विपद् न्यूनीकरणका क्षेत्रमा महत्वपूर्ण निर्णय तथा कार्यान्वयन भएको बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले १०० दिनमा सम्पादित १०१ कामको विवरण प्रस्तुत गर्दै प्रत्यक्ष निरीक्षण, सक्रिय निर्देशन र प्रशासनिक सुधारमार्फत विकास आयोजनालाई गति दिएको बताए ।

    उनले विद्युत् क्षेत्रमा सुधार गर्दै बूढीगण्डकी र अपर अरुण जलविद्युत् आयोजनाका लागि स्वदेशी लगानी सुनिश्चित भएको बताए । यी आयोजनामा स्वदेशी लगानीबाट निर्माण गर्ने गरी लगानी तथा वित्तीय ढाँचा तयार गरी अर्थ मन्त्रालयमा पठाइएको छ । विगतमा उठ्न नसकेको ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क’ लाइनको ‘प्रिमियम’ बक्यौता नियमित रूपमा उठाउन सुरु भएको उनले बताए ।

    “स्पष्ट निर्देशन र दृढ निर्णयका कारण सबै उद्योगले बक्यौता महसुल तिर्न सुरु गरेका छन् । बन्द उद्योग तथा एक किस्तासमेत नतिरेका उद्योगबाट समेत महसुल उठ्न थालेको छ”, मन्त्री घिसिङले भने, उनका अनुसार यस अवधिमा मन्त्रालयका आयोजनाको ठेक्का व्यवस्थापनमा सुधार गरिएको छ । ठेक्का सम्झौताको समय ६० प्रतिशत बित्दा पनि १० प्रतिशत मात्र कार्य सम्पन्न भएको राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देश्यीय आयोजनाको सहित जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका रु १४ अर्ब २२ करोड ठेक्का रकम भएका २२ रुग्ण ठेक्का तोडिएका छन् ।

    सिँचाइ अभावका कारण खेत बाँझो भएका किसानको समस्या बुझ्दै आयोजनालाई गति दिइएको छ । चैनपुर सेती आयोजनाको वित्तीय व्यवस्थापनका लागि बैंकहरूसँग ‘टर्मसिट’मा हस्ताक्षर भएको छ । यस अवधिमा मध्य भोटेकोशी जलविद्युत् आयोजना सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै व्यावसायिक उत्पादन सुरु भएको मन्त्री घिसिङले बताए ।
    यस्तै, भारत र बङ्गलादेशमा करिब रु १९ अर्ब बराबरको विद्युत् निर्यात भएको छ । विद्युत् प्रसारणतर्फ ‘टिबिसिबी’ मोडेलमार्फत प्रसारण लाइन निर्माणको कार्यढाँचा तयार गरिएको छ । नेपाल–भारतबीच इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन संयुक्त लगानीमा निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झौता सम्पन्न भएको छ ।

    नेपाल–भारत जोइन्ट टेक्नीकल टिम (जेटिटी) को १७औँ बैठकबाट नेपालबाट १,५०० मेगावाट निर्यात र भारतबाट एक हजार ४०० मेगावाट आयात क्षमता कायम गरिएको छ । नेपाल–बङ्गलादेश सचिवस्तरीय बैठकमार्फत बङ्गलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने सहमति गरेको छ । लगानी प्रवद्र्धनका लागि नेपाल विद्युत् प्राधिकरणलाई रु २० अर्बको ऊर्जा बन्ड जारी गर्न स्वीकृति, तथा २० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको मन्त्री घिसिङले बताए ।


    सिँचाइतर्फ ५०० डिप ट्युबेलमार्फत सर्लाही र रौतहटमा २२,५०० हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्न सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गर्ने निर्णय गरिएको छ । रुग्ण आयोजनाको समाधानका लागि ३३ मध्ये २२ रुग्ण ठेक्काको सम्झौता अन्त्य प्रक्रिया अघि बढाइएको छ । राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन आयोजनाको ठेक्का प्रगति नदेखिएकाले सम्झौता अन्त्य गरी नयाँ ठेक्का प्रक्रिया सुरु गरिएको छ ।

    यसैगरी रसुवागढी जलविद्युत् आयोजना बाढीपछिको मर्मतपछि ३७ मेगावाट उत्पादन पुनः सुरु, सिंहदरबारमा १३२ केभी सवस्टेसन निर्माणका लागि जग्गा व्यवस्थापन, तथा १३ ग्रिड सवस्टेसनमध्ये सात वटा स्वचालित रूपमा सञ्चालनमा ल्याइएको छ । एक सय दिनको अवधिमा विपद् व्यवस्थापनमा राज्यको क्षमता प्रमाणित भएको मन्त्री घिसिङले बताए ।

  • ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’

    ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’

    कर्णाली, ९ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताएका छन् । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन कार्यक्रममा गृहमन्त्री आर्यालले फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेगरी सरकार गृहकार्यमा लागेको बताए ।


    गृहमन्त्रीले भने, “हाम्रो मूल रणनीति कुनैपनि अवस्थामा द्वन्द्व हुन नदिने हो । मुलुकको सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण बनाउन शान्तिपूर्ण राजनीतिक वातावरणमा स्वच्छ र निर्भयपूर्ण प्रतिस्पर्धाका लागि निर्वाचनको तयारी गरिरहेका छौँ । संसद् विगठन भएको छ महिनाभित्र चुनाव हुनुपर्ने जनादेश भएकाले सुरक्षा चुनौतीलाई सुदृढ गर्दै निर्वाचन चुनाव सम्पन्न हुनेछ ।”

    जेनजीका आन्दोलनका सहिद पहिचान गरी सबैको नामावली राजपत्रमा प्रकाशन गरिएको जनाउँदै उनले सहिद परिवारलाई राहत प्रदानमा सरकार केन्द्रित रहेको बताए । गृहमन्त्री अर्यालले समृद्धि, विकास र सुशासन कायमका लागि जेनजीपुस्तालाई राजनीतिको मूलधारमा ल्याउनुपर्ने धारणा व्यक्त गरे । उनका अनुसार जेनजीपुस्ता दल विशेषको नभई सबैका साझा जनशक्ति भएकाले यो पुस्ताको सिर्जनशीलता र प्रतिभालाई राष्ट्र विकसमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार शान्ति सुरक्षा कायम गर्दै सुशासनमा केन्द्रित रहेको बताए । “सुरक्षा निर्देशन दिन सङ्घीय सरकारबाट आदेश लिनुपर्ने अवस्थाले पनि शान्ति सुरक्षामा प्रदेश सरकार सक्रिय रूपमा संलग्न हुन सकेको छैन”, उनले भने, “कर्णालीमा सुरक्षा जनशक्ति पनि दरबन्दी अनुसार छैन । यद्यपि, जनतालाई सुरक्षा प्रदान गर्न हामी प्रयासरत छौँ ।”

    मुख्यमन्त्री कँडेलले प्रदशेका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई प्रशासक मात्र नभई सुशासनको पहरेदारका रूपमा काम गर्न निर्देशन दिए । कर्णालीमा मनपरी भाडा असुली, असुरक्षित यात्रा, लागु पदार्थको प्रभाव र पछिल्लो समय दुव्र्यसनीको केन्द्रका रूपमा विकास भइरहेको अवस्थालाई गम्भीरताका साथ लिन र न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न उहाँले सङ्घीय सरकारसँग आग्रह गरे ।

    गृह सचिव रामेश्वर दङ्गालले गोष्ठीमा समग्र कर्णाली प्रदेशको सुरक्षा अवस्था, चुनौती र समाधानका लागि अवलम्बन गरिएका उपाय, व्यवस्थापनका बारेमा जानकारी दिइदिने बताए । गोष्ठीमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक टेकेन्द्र कार्की, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ, गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, दश वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता छ ।

  • संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

    संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

    रासस
    काठमाडौँ, ८ पुस । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ ।

    तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जङ्गीअड्डा लेखमा भनिएको छ, “सङ्कटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकाङ्क्षा देखाएको छ । जुन हाल विकसित परिस्थितिले उजागर गरेकै छ । यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो ।”

    सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको स्पष्ट गर्दै लेखमा भनिएको छ, “सेना संविधानप्रति निष्ठावान् छ, स्थापित सरकारको अधीनमा रही राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षामा प्रतिबद्ध छ ।” सेनामा राजनीतिक महत्वकाङ्क्षा पटक्कै नभएको उल्लेख गर्दै भनिएको छ, “तत्कालीन राजनीतिक शून्यताको अवस्थालाई अन्त्य गर्न सहजीकरण गरेको चाहिँ पक्कै हो । सेनामा यदि राजनीतिक महत्वकाङ्क्षा हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौँ र रु” विद्यमान अवस्थालाई मूल्याङ्कन गरी सुरक्षा निकायलाई मजबुत बनाउनु राष्ट्रको हितमा भएको उल्लेख गर्दै भनिएको छ, “परिस्थितिको सतहीभन्दा वस्तुपरक ढङ्गबाट विश्लेषण गरी नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूलाई मजबुत बनाउनु नै राष्ट्रको हितमा रहन्छ”, लेखको पूर्ण विवरण यसप्रकार छ स्

    भदौ २३–२४ गतेपश्चातको परिस्थिति : नेपाली सेनाको भूमिका

    गत भदौ २३–२४ गतेको जेनजी आन्दोलन र सोपश्चात् विकसित घटनाक्रममा सेनाको भूमिका र राष्ट्रिय सुरक्षाको सम्बन्धमा विभिन्न पक्षबाट बहस भएको देखिन्छ । लोकतन्त्रमा समालोचना अपरिहार्य हुन्छ । नेपाली सेनालगायत राज्यका संरचनाहरूको समालोचना, प्रशंसा तथा खबरदारी गर्न पाउनु जनताको लोकतान्त्रिक अधिकार हो । यसबाट उक्त निकायहरूलाई आआफ्नो जिम्मेवारी थप प्रभावकारी ढङ्गबाट निर्वाह गर्न सहयोगीसिद्ध हुने नै छ ।

    तत्कालीन सङ्कटको परिस्थितिमा भएको घटना सम्बन्धमा तीन महिनापछिसम्म पनि बहस कायम रहनु तथा विविध कोणहरूबाट विश्लेषण हुनु सुरक्षा सचेतनाको परिप्रेक्षमा सकारात्मक नै हो । नेपाली सेनाको भूमिकामा विभिन्न दृष्टिकोणबाट टिकाटिप्पणी तथा प्रश्नहरू आए । देशमा आइपरेको अकल्पनीय सङ्कटको अवस्थालाई पार लगाउने क्रममा राज्यको प्रमुख सुरक्षा अङ्गले खेलेको भूमिकाको सम्बन्धमा भएका टिकाटिप्पणी बारेमा यहाँ थप स्पष्ट पारिएको छ ।

    संवैधानिक दायरा र नागरिक सर्वोच्चता

    नेपालको संविधानले नेपाली सेनालाई पूर्णतः नागरिक सर्वोच्चता र निर्वाचित सरकारको अधिनमा राखेको छ । सेनाको परिचालन, भूमिका र सीमा स्पष्ट छन् । कार्यपालिकाको निर्णयबिना सेना आन्तरिक सुरक्षामा स्वतः प्रवेश गर्न सक्दैन । यही संवैधानिक मर्यादाले नेपाली सेनालाई आज पनि देशकै सबैभन्दा विश्वसनीय संस्था बनाएको हो । यो नेपाली सेनाको संविधान र लोकतान्त्रिक शासन प्रणालीप्रतिको सम्मान पनि हो । यदि सेनाले कार्यपालिकाको स्पष्ट आदेशबिना हस्तक्षेप गरेको भए र २४ गते थप नागरिकको मृत्यु भएको भए परिस्थिति सम्हालिन कठिन त हुने नै थियो । बिनाआदेश आफैँ परिचालन भयो भनी त्यसको दोष पनि सेनामाथि नै पर्ने थियो ।

    गत भदौ २४ मा तत्कालीन अवस्थाले उच्च जोखिममा परेका विशिष्ट व्यक्तिहरू, कूटनीतिज्ञ तथा सर्वसाधारणको जीवन रक्षा नेपाली सेनाको पहिलो दायित्व बन्यो । जीवन रक्षा कुनै व्यक्ति विशेषको संरक्षण होइन, यो राज्यको आधारभूत कर्तव्य हो । भदौ २४ मा अवस्था अझ व्यापक र अराजक बन्दा जीवन जोगाउने प्राथमिकतासहित संयमित रुपमा उपस्थित भयो सेना । उक्त दिन कुनै अकल्पनीय घटना भएको भए त्यसले निम्त्याउने थप द्वन्द्व र अस्थिरतातर्फ पनि गहिरिएर विचार पुर्याउनु पर्दछ ।

    भौतिक पूर्वाधार महत्त्वपूर्ण भए पनि जीवनभन्दा माथि कदापि हुँदैन । मानवीय क्षतिको मूल्यमा भौतिक संरचना जोगाएको भए पनि फेरि प्रश्न उठ्ने पक्का थियो कि, सेनाले सिंहदरबार जोगाउन जनतालाई किन गोली हान्यो रु सर्वसाधारण व्यक्तिहरूले पनि कठिन परिस्थितिमा सेनाले तत्काल सहयोग र उद्धार गरेको अनुभव सार्वजनिक गरेकै छन् । नेपाली जनताको जीवन रक्षालाई नै पहिलो प्राथमिकता दिएको थियो । भूकम्पजस्तो विपद्का समयमा मानिस घर÷सम्पत्ति छोडेर किन खुला ठाउँमा निस्कन्छन् रु यो पनि विचारणीय छ ।

    विश्वसनीयताको मेरुदण्ड, नागरिक सरकारको आदेशमा आधारित कार्यप्रणाली

    आन्तरिक दङ्गा नियन्त्रणमा प्रहरी र सशस्त्र प्रहरी बल नेपाल अग्रपङ्क्तिमा रहने संवैधानिक व्यवस्था छ । सेना अन्तिम उपायका रूपमा रहन्छ । यही विभाजनले लोकतन्त्रलाई सुरक्षित राख्छ । सोहीअनुसार आवश्यकताको सिद्धान्तले छिटोभन्दा छिटो पहलता लिई सेनाले उद्धार, मानवीय सहायता र संवेदनशील स्थानको संरक्षणमा संयमित भूमिका खेलेकै थियो । अप्रत्याशित रूपमा विकसित घटनाक्रममा सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद नेपाली सेनाले सङ्कटको व्यवस्थापन गरेको कुरामा पर्याप्त सार्वजनिक बहस भएकै छन् ।

    सङ्कटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरु आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकाङ्क्षा देखाएको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै हो, जुन हाल विकसित परिस्थितिले उजागर गरेकै छ । अन्ततः निर्णयको अधिकार कार्यपालिका र सम्माननीय राष्ट्रपतिको नै रह्यो र सेनाले त्यसलाई सम्मान ग¥यो । यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो ।

    पृथ्वीनारायण शाहको तस्बिर : राष्ट्रिय एकताको प्रतीक

    भदौ २४ गते सेना प्रमुखको सन्देशमा पृथ्वीनारायण शाहको तस्बिर देखिनुलाई विभिन्न ढङ्गबाट आलोचना गरेको देखिन्छ । पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माता र राष्ट्रिय एकताको प्रतीक हुन् भन्नेमा कोही पनि सच्चा नेपाली जनताको दुईमत नहोला । राष्ट्र निर्माता कुनै पनि तन्त्र र वादभन्दा माथि रहेको नेपालको ऐतिहासिक पहिचान हुन् । सङ्कटको क्षणमा राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको स्मरण गराउनु कुनै राजनीतिक सन्देश होइन, राष्ट्रिय चेतनाको आह्वान हो । त्यस सन्दर्भमा सेनाको नेतृत्वले एकताको सन्देश दिने प्रयास गर्नु सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम गर्नु पर्दछ भन्ने सन्देश थियो ।

    सेनाको विश्वसनीयता र प्रतिबद्धता

    इतिहासतर्फ फर्केर हेर्दा आजको दिनसम्म नेपाली सेनाले कहिल्यै सत्ता हस्तक्षेप गरेको छैन । बरु, संवैधानिक सङ्क्रमणको समयमा संयम र अनुशासित भई नागरिक सर्वोच्चताको पक्षमा उभिएको छ । इतिहासकालदेखि हालसम्म नेपालमा भएका परिवर्तनहरूलाई सेनाले आत्मसाथ गर्दै आएको छ । संयुक्त राष्ट्र सङ्घका शान्ति मिसनहरूमा निरन्तर सहभागी हुँदै फौज खटाउने राष्ट्रहरुको सूचीमा अग्रस्थानमा रहेको नेपाली सेनाले आफ्नो व्यावसायिकता, मानवअधिकारप्रतिको प्रतिबद्धता र अन्तरराष्ट्रिय विश्वसनीयता प्रमाणित गरेको छ । सेनामा राजनैतिक महत्वाकाङ्क्षा पटक्कै देखिँदैन । तत्कालीन राजनैतिक शून्यताको अवस्थालाई अन्त्य गर्न सहजीकरण गरेको चाहिँ पक्कै हो । सेनामा यदि राजनीतिक महत्वाकाङ्क्षा हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौँ र रु

    वर्तमान राष्ट्रिय सुरक्षा र आगामी निर्वाचन

    आज देश निर्वाचनको दिशामा अघि बढिरहेको छ । यस्तो समयमा संस्थागत धैर्य, सुरक्षा संयन्त्रबीच स्पष्ट कार्यविभाजन र सबै निकायका नेतृत्वहरुको जिम्मेवारी महत्त्वपूर्ण रहेको छ । सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र अन्य सरोकारवाला निकायहरुसँग समन्वय गर्दै संवैधानिक आदेशअनुसार भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याएको छ । नजिकिँदै गएको निर्वाचनलाई भयरहित ढङ्गबाट सुसम्पन्न गर्न आम जनसमुदायसहित सबै एकजुट हुनु पर्दछ ।

    अन्त्यमा, गत भदौ २३–२४ गतेको जटिल परिस्थितिमा सेनालगायत सबै सुरक्षा निकायको भूमिकाको सन्दर्भमा नागरिक वृत्तमा सकारात्मक छलफल तथा बहस गरी सुझाव दिनुलाई राम्रै मान्नुपर्छ । सोहीअनुसार सेनाले आन्तरिक रूपमा उक्त कार्य गरेकै छ । यद्यपि परिस्थितिको सतहीभन्दा वस्तुपरक ढङ्गबाट विश्लेषण गरी नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूलाई मजबुत बनाउनु नै राष्ट्रको हितमा रहन्छ ।

    सङ्कटको समयमा राष्ट्रिय सुरक्षाका अङ्गहरूबीच थप आपसी समन्वय, सद्भाव र सहकार्य हुनु जरुरी छ । उक्त घटनाक्रममा सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको छ । तत्कालीन परिस्थितिमा न त हस्तक्षेप गरेको छ, न कुनै राजनीतिक महत्वाकाङ्क्षा राखेको छ । जीवन रक्षालाई सधैँ प्राथमिकतामा राख्यो, संयमता अपनायो र अन्ततः निकास प्रक्रियाबाटै खोजियो । सेना संविधानप्रति निष्ठावान् छ, स्थापित सरकारको अधीनमा रही राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षामा प्रतिबद्ध छ ।
    (स्रोतः जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा)
    –––

  • निर्वाचन आयोगले भन्यो : तोकिएको मितिमै चुनाव गर्न तयार छौं

    निर्वाचन आयोगले भन्यो : तोकिएको मितिमै चुनाव गर्न तयार छौं

    काठमाडौँ, ७ पुस । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग सरकारको प्राथमिकताअनुसार आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन पूर्ण तयार रहेको बताएका छन् । सिंहदरबारमा आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकार भएकाहरूबीच भएको छलफलमा उनले तोकिएको समयमै निर्वाचन गर्न आयोगले आवश्यक सबै तयारी पूरा गरिसकेको जानकारी गराए ।


    “सरकारले निर्वाचन मिति घोषणा भएको साढे चार महिना बितिसकेको छ, अब हामीसँग करिब दुई महिना मात्र बाँकी छ । आयोगले प्रक्रियागत रूपमा थोरै कामबाहेक सबै काम सम्पन्न गरिसकेको छ”, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने । उनले मनोनयनपत्र दाखिल भइसकेपछि सुरक्षासम्बन्धी नीति तत्काल परिमार्जन नगरे निर्वाचनको समयमा समस्या आउनसक्ने भन्दै शान्ति सुरक्षासम्बद्ध निकाय र गृह मन्त्रालयलाई समयमै तयारीका लागि आग्रहसमेत गरे । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विगतमा गरिएको जोखिम वर्गीकरण यसपटक केही फरक देखिनसक्ने भन्दै सोहीअनुसार रणनीति अपनाएर तयारी गर्नुपर्नेमा जोड दिए ।
    “उम्मेदवार, पुराना र नयाँ शक्तिबीचको द्वन्द्व तथा शक्ति सङ्घर्षका कारण कतिपय स्थानमा शान्त मानिएका क्षेत्र जोखिमयुक्त र जोखिम मानिएका क्षेत्र सामान्य हुनसक्ने सम्भावना छ । त्यसैले निर्वाचनको विकल्प निर्वाचन मात्र हो, अरु कुनै विकल्प छैन भन्ने ध्येयका साथ सबैले निर्वाचन सफल बनाउन आवश्यक सहयोग गर्न मेरो आग्रह छ”, उनले भने ।


    भण्डारीले गृह मन्त्रालयले शान्ति सुरक्षाका विषयमा आवश्यक प्रत्याभूति गरिसकेको र निर्वाचन आयोग तथा सरकारबीचको छलफलबाट सुरक्षामा कुनै कमजोरी नरहेको प्रतिबद्धता जनाइएको बताए । उनले फागुन २१ गते हुने निर्वाचनका लागि मौजुदा कानुनअनुसार कार्यविधि, निर्देशिका र आचारसंहिता पनि तर्जुमा भइसकेको जानकारी गराउँदै अब दलीय सहमति र सरकारसँगको समन्वयमा आचारसंहिता लागू गरिने उल्लेख गरे ।


    बैठकमा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको नाम पेस गर्ने समय परिवर्तन गर्दा निर्वाचन प्रक्रियामा धक्का लाग्ने भन्दै समय परिवर्तन नगर्न राजनीतिक दलसमक्ष आयोगले आग्रहसमेत गरेको छ । घोषित निर्वाचन गर्न छोटो समय र सीमित जनशक्ति रहेकाले तालिका परिवर्तन गर्दा असहज हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले स्पष्ट पारे ।

  • प्रधानमन्त्रीले सर्वदलीय बैठकलाई सम्बोधन गर्दै भनिन् : समयमै निर्वाचन हुन्छ

    प्रधानमन्त्रीले सर्वदलीय बैठकलाई सम्बोधन गर्दै भनिन् : समयमै निर्वाचन हुन्छ

    काठमाडौँ, ७ पुसः प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गरेकी छिन् । सिंहदरबारमा आज निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकारभएकाहरूबीच भएको बैठकमा उनले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पारिन् ।

    प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचनका सवालमा धेरैले सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको छ । सरकार सम्पूर्ण रूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेको छ । सबै राजनीतिक दलले एकजुट भएर अगाडि बढे यहाँ कुनै आतङ्ककारी वा अपराधीले हमला गर्न सक्दैन । त्यसैले मेरो अनुरोध छ, सबै निर्वाचनमा आइदिनुहोस् ।”

    उनले निर्वाचनमा सहभागी नभएका दललाई पनि शान्ति र लोकतन्त्रका लागि निर्वाचन प्रक्रियामा आउन आग्रह गरिन् । मुलुकका ११४ वटै राजनीतिक दल एकजुट भए देशमा अशान्तिको कुनै सम्भावना नरहने भन्दै प्रधानमन्त्री कार्कीले शान्ति कायम गर्न दल, जेनजी प्रतिनिधि, नागरिक समाज, सञ्चारमाध्यम र कर्मचारीलाई आह्वान गरिन् । “सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पर्ने काम कसैले नगरौँ,” उनले भनिन्, “हामीसँग भएको समयलाई उपयोग गरेर निर्वाचनमा सहभागी होऔँ ।”

    प्रधानमन्त्री कार्कीले विगतमा भएका त्रुटि र गल्तीका कारण भदौ २३ र २४ का घटना घटेको भन्दै त्यसबाट उत्पन्न आवेग र आलोचनालाई सरकारले सामना गरिरहेको बताइन् । ती घटनाले जनतामा गहिरो प्रभाव पारेको उल्लेख गर्दै उनले सरकार र राजनीतिक दलले जनतालाई दिने सन्देश तथा परिवर्तनको उद्देश्यबारे गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औँल्याइन् ।

    “जेनजी र युवा पुस्ताले खोजेको परिवर्तन बुझ्नु अहिलेको मुख्य प्राथमिकता हो । जनताले परिवर्तन चाहेका छन्, त्यसैले राजनीतिक दललगायत सबै सच्चिनै पर्छ,” प्रधानमन्त्री कार्कीले जोड दिँदै भनिन्, “हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ । देशमा शान्ति र स्थायित्व कायम गर्ने सर्तमा हामी सबैले आफ्ना स्वार्थ त्याग्नुपर्छ, त्यसैमा मुलक र हामी सबैको भलाइ छ ।”

  • निर्वाचनको तयारीमा लाग्न सुहाङलाई प्रधानमन्त्रीको आग्रह

    निर्वाचनको तयारीमा लाग्न सुहाङलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ, ७ पुस । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन् ।
    प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरिन् ।

    उनले भनिन्, “हामी चुनाव गराउनै लागिरहेका छौँ । असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ । अबको हाम्रो लक्ष्य चुनाव गराउने हो । चुनाव भए मात्र मुलुकमा दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ ।”

    प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार पूर्वसांसद नेम्बाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भनेर शुभकामना पनि दिएका थिए । प्रधानमन्त्री कार्कीले यहाँसँग चुनावमा उठ्ने तयारी के छ भनेर पनि जिज्ञासा राखेकी थिइन् । जवाफमा उहाँले चुनावको तयारी गरिरहेको बताए । प्रधानमन्त्री कार्कीले उहाँलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने धारणा व्यक्त गरिन् ।

    प्रधानमन्त्रीले भनिन्, “चुनाव हुन्छ, तयारी अवस्थामा रहनू । तपाईँहरुजस्तो युवा आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ । अनि मात्र देशमा केही हुन्छ । बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन । पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ । देश युवाले नै हाँक्नुपर्छ । युवामा साहस र ऊर्जा छ ।”

    पूर्वसांसद नेम्बाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्ग र पुल पुनर्निर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ स्थलगत अवलोकन गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिइन् ।

  • ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

    ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

    काठमाडौँ, ७ पुस । प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएकी छिन् । आज अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्वसचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलसमेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायहरुबाट ब्रिफिङ लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    ती निकायका प्रमुखहरुले सम्पत्ति शुद्धीकरण कसुरमा समयमै अनुसन्धान तथा अभियोगनको प्रक्रियामा लैजाने, अपराधबाट आर्जित सम्पत्ति रोक्का र जफत गर्ने विषयमा भएको प्रगतिबारे जानकारी गराएका थिए । त्यस क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ उपत्यकाभित्र मात्र एक हजार ६०० रोपनी जग्गा रोक्का राखेको जानकारी गराएको थियो ।

  • समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : कुलमान

    समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : कुलमान

    चितवन, ५ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताएका छन् । उज्यालो नेपाल पार्टी चितवनको जिल्ला भेलामा आज उनले व्यक्ति र निहित स्वार्थका लागि राजनीति गर्दा समस्या हुने गरेको उल्लेख गर्दै अब समाज परिवर्तन र विकासका लागि केन्द्रीत हुनुपर्ने आवश्यकता औँल्याए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले भने, “कसैलाई गाली गरेर हुँदैन, आफ्नो कर्ममा लाग्नुहोस् । राजनीतिलाई आफ्नो पेसा नभइ समाज सेवामा लगाउन आवश्यक छ । अबको राजनीति सेवा समर्पित हुनुपर्छ ।”

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा आशुतोष विजय पन्त, रिमा विश्वकर्मा, सीता पाण्डेले पछिल्लो राजनीतिक परिवर्तनका लागि गरेको योगदानलाई रक्षा गर्दै नयाँ शक्तिका रूपमा आफूहरू आएको बताए । बागमती प्रदेश संयोजक प्रवीन तामाङको अध्यक्षतामा सम्पन्न भेलाले जिल्ला नगर तथा पालिका भेलाको मितिसमेत तय गरेको छ ।

  • निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

    निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

    नारायणगढ (चितवन), ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नरहेको बताएका छन् । कारागारबाट रिहा भएपछि चितवनको भरतपुरस्थित चौबिसकोठीमा आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै उनले जेनजीले देखाएको सपना पूरा गर्न निर्वाचनको विकल्प नरहेको बताएका हुन् । उनले नवपुस्ताका मागको सम्बोधन र निर्वाचन सम्पन्न गर्न दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गरे ।


    सभापति लामिछानेले भने, “निर्वाचनअघि जेनजी आन्दोलनको बलमा बनेको सरकारले उनीहरूका सपना पूरा गर्ने हिम्मत र क्षमता देखाओस् । रास्वपा जेनजीका माग पूरा गर्न र निर्वाचन सम्पन्न गर्ने हकमा सरकारसँग सधैँ खडा हुनेछ ।” उनले सुशासनका सवालमा सरकार दृढतापूर्वक उभिनुपर्नेमा जोड दिए ।

    सभापति लामिछानेले भने, “मेरो व्यक्तिगत माग केही छैन । जेनजीले जेका लागि बलिदानी दिएका थिए त्यो पूरा गर्न सरकार अडिग रहोस्, त्यसमा हामी साथ दिन्छौँ । सुशासनका भाइ–बहिनीले बगाएको रगत, तिनका परिवारको सपनाबारे सरकारले कुनै कसर बाँकी नराखोस् ।” देश जटिल परिस्थितिमा उभिएकाले सबैले संयमित भएर काम गर्नुपर्नेमा जोड दिँदै उनले आवेग वा उत्तेजनामा काम गरेर केही हासिल नहुने धारणा राखे । सभापति लामिछानेले प्रतिशोधपूर्ण राजनीति आफूबाट नहुने र सधैँ लोकतन्त्रमा विश्वास गर्दै जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

  • निर्वाचन सार्ने चेष्टा नगर्न सरकारलाई प्रचण्डको चेतावनी

    निर्वाचन सार्ने चेष्टा नगर्न सरकारलाई प्रचण्डको चेतावनी

    काठमाडौँ, ५ पुस । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेका बताउँदै केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेका बताएका छन् । नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताए ।

    आज प्रचण्ड सरकारप्रत तुलनात्मक रुपमा आक्रोसित सुनिएका छन् । उनले भने, “घोषणा भइसकेको निर्वाचन नै अहिलेको सहज विकल्प हो । जनता निर्वाचनका लागि तयार भइरहेका छन्, “निर्वाचन बिथोल्ने वा निर्वाचनको प्रक्रियामा अघि बढ्ने जनता र राजनीतिक दलको चाहनालाई कसैले भ्रमित नगरोस् ।”

    निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी सरकारको भएको जनाउँदै उहाँले संसद् पुनःस्थापनाको हल्ला चिरेर अघि बढ्नुपर्नेमा जोड दिए । “साँच्चै फागुन २१ गते निर्वाचन होला त ? मानिसहरुको मनमा संसद् पुनःस्थापना होला ? कि निर्वाचन होला भन्ने प्रश्न जन्मिरहेको छ”, उनले भने, “निर्वाचन नै सहज बाटो हो, निर्वाचनमार्फत नै मुलुकलाई नयाँ दिशा दिन सकिन्छ ।” उनले संसद् पुनःस्थापनाको बाटो सहज नभएको बताए ।


    संयोजक दाहालले भ्रष्टाचारविरुद्ध अभियान चलाउने, सुशासनको पक्षमा लड्ने, उत्पीडित जाति, वर्ग, क्षेत्र र समुदायको पहिचान र अधिकारका लागि योगदान गर्ने नै जेनजी पुस्ताको अभिभावक र प्रतिनिधि भएको बताए । देशको वाम इतिहासमा आफूहरुले बृहत् एकताको नयाँ पहल गरिरहेको जानकारी दिँदै उहाँले देशभरका अन्य वामपन्थी शक्तिलाई पनि एकता प्रक्रियामा सामेल हुन आह्वान गरे ।

  • फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री

    फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री

    रासस
    काठमाडौँ, ५ पुसः प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभएको छ । जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । उहाँले पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा कटौती गरेर जनताले तिरेको कर जोगाइएको बताउनुभयो ।

    “मापदण्डविपरीत खटिएका ५०० सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरी जनताको सेवामा परिचालन गरिएको छ, अनावश्यक ३८ वटा कार्यालय खारेज र ३२३ वटा दरबन्दी कटौती गरेर राज्यको व्ययभार घटाइएको छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “रु एक खर्ब १९ अर्ब बराबरको बजेट पुनःप्राथमिकीकरण गरी विकासका ठूला आयोजनामा स्थानान्तरण गरिएको छ, थलिएका व्यवसायीका लागि ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याइएको छ ।”

    ‘हेलो सरकार’मार्फत ५० हजारभन्दा बढी गुनासा सम्बोधन गरिएको र काठमाडौँमा दैनिक २० करोड लिटर मेलम्चीको पानी सुनिश्चित गरिएको छ भने राष्ट्रिय प्रसारण लाइनमा १०१ मेगावाट विद्युत थपिएको प्रधानमन्त्रीको भनाइ छ । “‘जेन–जी’ आन्दोलनले हाम्रा सडकमा एउटा फरक कम्पन पैदा गर्यो, त्यो छटपटी र त्यो आक्रोशले हाम्रो समाजलाई केही हदसम्म बिथोल्ने प्रयास गरे पनि, त्यसको भित्री सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएको छ” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक सङ्कटको निकास सडकको हिंसाबाट होइन, संवाद र जनताको मतबाट खोज्छ ।”

    निर्वाचनका लागि सरकारले आफ्नोतर्फबाट सम्पूर्ण तयारी पूरा गरेको र सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ । ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ स्वीकृत भइसकेको र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको समेत १००दिनको उपलिब्धमा उल्लेख छ । “आन्दोलनका क्रममा लुटिएका एक हजार ३४२ थानमध्ये अधिकांश हतियार बरामद गरिसकिएको छ, यस अतिरक्त अन्य ३२ थान हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको छ” प्रधानमन्त्रीले कार्कीले भन्नुभयो, “क्षतिग्रस्त भएका ४६५ वटा प्रहरी कार्यालयलाई पुनः सञ्चालनमा ल्याई सुरक्षा व्यवस्थालाई अभेद्य बनाइएको छ ।”

    प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई आवश्यक रु ६ अर्ब ७३ करोड बजेट सुनिश्चित गरिएको र मतदाता नामावली ऐनमा संशोधन गरी निर्वाचनको मिति घोषणापछि पनि आठ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरेका बताउनुभयो । “आज एक करोड ८१ लाखभन्दा बढी नेपालीको हातमा देशको भाग्य बदल्ने साँचो छ, ११४ वटा राजनीतिक दल यस प्रक्रियामा सहभागी हुनुले हाम्रो लोकतन्त्रको जरा कति बलियो छ भन्ने प्रमाणित गर्छ, उहाँले भन्नुभयो, “विचारमा मतभेद भए पनि देशलाई निकास दिन हामी सबै एक ठाउँमा छौँ ।”

    भदौ २३ र २४ को त्यो दुःखद् घटनापछि देश फेरी शान्तिको बाटोमा फर्किएको र ती घटनामा ज्यान गुमाउने योद्धालाई सहिद घोषणा गरी घाइते योद्धाको उपचारका साथै जीविका सुनिश्चित गर्ने प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ । साथै, क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मार्फत काम थालिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ती नमीठा पललाई बिर्सेर एउटा सुन्दर र स्थिर भविष्य निर्माणतर्फ हातमा हात मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    कतिपयको मनमा निर्वाचन र सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी दिन सक्छ त भन्ने विषयमा प्रधानमन्त्री कार्कीले भन्नुभयो, “२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एक मात्र निर्विकल्प मार्ग हो, म तपाइँहरूलाई आश्वस्त पार्न चाहन्छु, चुनाव सार्ने वा रोक्नेजस्ता हल्ला पूर्णतःनिराधार र भ्रमपूर्ण छन् । यो सरकार तोकिएको समयमै, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टानझैँ दृढ छ ।”

    उहाँले चुनाव कसैको हार–जित नभई लोकतन्त्र र सुशासन जिताउने अभियान भएको उल्लेख गर्दै भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त सरकारको चाहना पूरा गर्ने वैधानिक बाटो भएको स्पष्ट पार्नुभयो । “म विशेषगरी हाम्रा ‘जेन–जी’ युवालाई भन्न चाहन्छु, तपाइँहरूको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सडकको आन्दोलनले प्रश्न उठाउँछ, तर मतपत्रले समाधान दिन्छ, तपाइँको प्रत्येक भोटको सुरक्षा राज्यले गर्छ ।”

    प्रधानमन्त्री कार्कीले आजभन्दा १०० दिनअघि देशको अवस्था हेरेर सबै राजनीतिक पक्षलाई विनम्र अनुरोध गर्दै उहाँले असामान्य परिस्थितिलाई सामान्य अवस्थामा फर्काउन मेरो मन्त्रिपरिषद्का सदस्य, सुरक्षा निकाय, राष्ट्रसेवक र नागरिक समाजका सदस्यले अथक प्रयास गर्नुभएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “फलस्वरुप मुलुकमा शान्ति स्थापना गरी स्थितिको सामान्यीकरण र कानुनको शासन बहालीमा सफलता मिलेको छ । खासगरी सुरक्षा निकायको मनोबल अहिले र आजका लागि मात्र होइन, दीर्घकालसम्म बढाउने काम गर्दै छौँ ।”

    प्रधानमन्त्री कार्कीले विगतमा शक्तिको आडमा दबाउन खोजिएका अपराध र भ्रष्टाचारका प्रकरणमा अनुसन्धान गर्ने निकायले हाल पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ कारबाही अघि बढाएको र कारबाहीले जतिसुकै शक्तिशाली व्यक्ति वा पदाधिकारी भए पनि कानुनले उन्मुक्ति दिँदैन भन्ने मान्यता स्थापित गरेको भनाइ राख्नुभयो । “कुनै पद वा शक्तिको निकटता नहेरी प्राप्त उजुरी र गुनासाका आधारमा अनुसन्धान अघि बढाइएको छ” उहाँले थप्नुभयो, “मिलेमतोमा ठेक्का हात पार्ने, विकास आयोजनाको कामै नगर्ने र राज्यको स्रोतसाधन दुरुपयोग गर्नेको माखेसाङ्लो तोड्न पनि सरकार लागिपरेको छ ।”

    जेनजी आन्दोलनको भावनाअनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुनदृष्टि बनाएको उल्लेख गर्दै भन्नुभयो, “राष्ट्रिय एकताका लागि आह्वान गर्दछु, चुनावमा कसले जित्छ वा कसले हार्छ, त्यो गौण कुरा हो, हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा ठूलो कुरा हो, अराजकताले कसैलाई खुसी दिँदैन, केवल शान्ति र स्थिरताले नै समृद्धिको ढोका खोल्छ, हामीले खोजेको परिवर्तन एकै दिनमा प्राप्त हुने उपलब्धि होइन, यो त एउटा लामो र अबिराम यात्रा हो । यस ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्न हामी सबैबाट अथक पसिना र समयको माग गर्ने धैर्यको खाँचो छ ।”

    आगामी फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न र राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजाऔँ । यो निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने प्रधानमन्त्रीको भनाइ छ ।