Category: बिचार

  • संविधान पक्षधरबीच समझदारी आवश्यक : गगन थापा

    संविधान पक्षधरबीच समझदारी आवश्यक : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अहिले देशमा केही भएको छैन भन्ने अहंकार कसैले राख्नु नहुने बताएका छन् । मङ्गलबार प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालको सम्बोधनपछि धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

    उनले वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको खण्डन गरे । उनले संविधान जारी भएपछि सबैभन्दा बढी समय नेकपा (माओवादी केन्द्र) नै सरकारमा रहेको उल्लेख गर्दै यसको मुख्य जिम्मेवार माओवादी भएको जिकिर गरे । उनले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले पनि राख्न नहुने बताए ।

    उनले भने, ‘‘जनता असन्तुष्ट छन्। असन्तुष्ट भएका जनतामा आक्रोश छ। आक्रोशलाई नजरअन्दाज गर्नु हुँदैन भन्ने कुरा म पनि मान्दछु। केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार कसैले पनि राख्नु हुँदैन। जसले व्यवस्था परिवर्तनका लागि हामीलाई साथ दियो। जो आज हामीसँग असन्तुष्ट छ, जो रिसाएको छ उनीहरूसँग संवाद गर्नुपर्छ भन्ने ठान्दछु। तर वर्तमान सरकार आएसँगै उनीहरू रिसाएका हुन भन्ने कुरामा चाहिँ कतै पनि चित्त बुझाउने ठाउँ छैन।’’ उनले व्यवस्थाको सुदृढीकरणका लागि संविधानका पक्षधरबिच समझदारी हुनु आवश्यक रहेको उल्लेख गरे ।

  • प्रचण्डले मंगलबार संसदमा सम्बोधन गर्ने

    प्रचण्डले मंगलबार संसदमा सम्बोधन गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ । भोलिको संसदमा बोल्नका लागि संसदसँग समय माग्नुभएको छ । उहाँले बोल्ने गरी समय निर्धारण भएको छ, मुख्य सचेतक बर्तौलाले बताए ।

    त्यस्तै दलहरूबीच लोकतन्त्र र गणतन्त्रविरुद्ध अराजकतावादी शक्तिहरूले गरेका गतिविधिलाई संसद्‍ले पनि ख्याल गर्नुपर्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ । त्यस्तै संसद्‍बाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिष्थापन विधेयक २८ गते बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखेर प्रक्रिया अघि बढाइने भएको छ ।

  • राष्ट्रपति र प्रधानमन्त्रबीच शितल निवासमा भेट

    राष्ट्रपति र प्रधानमन्त्रबीच शितल निवासमा भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शनिबार साँझ शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

    उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। पछिल्लो समय व्यवस्थामाथि नै प्रश्न गर्दै राजावादी दलहरुले माहोल तताइरहेको समयमा उनीहरुबीच भेट भएको हो ।

  • नारालाई व्यवहारमा कार्यान्वयन गर्न अझ सशक्त बन्नुपर्ने

    नारालाई व्यवहारमा कार्यान्वयन गर्न अझ सशक्त बन्नुपर्ने

    न्युयोर्क

    प्रत्येक वर्ष मार्च ८ का दिन गर्विलो नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस अर्थात् महिला श्रमिक दिवस मनाइन्छ । यस वर्ष “Accelerate Action” for gender equality भन्ने सन् २०२५ को लागि चयन गरेको नाराका साथ नारी दिवस विश्वभर मनाइदैं छ । सरकारी तथा गैरसरकारी संस्थाहरुको पनि दिवस मनाउँने तयारी व्यापक देखिन्छ ।

    हामीले कुनै पनि कार्य गर्दा त्यसको इतिहासलाई स्मरण गर्नुपर्ने हुन्छ । मानव सभ्यताको शुरुवातदेखि नै महिलाहरूले पुरुषसरह काम गर्ने गरेको र काम गरेबापतको ज्याला पुरुषको तुलनामा ज्यादै कम पाउने र पुरुषले भन्दा धेरै घण्टासम्म काम गर्नुपर्ने हुँदा आफूहरू शोषित भएको महसुस गरि आफ्नो अधिकारको लागि सन् १९०० देखि आवाज उठाउन थालेको इतिहासमा भेटिन्छ ।

    नारी सशक्तिकरणको अभियानलाई अगाडि बढाउदै जाँदा विश्वका महिलाहरु आज यो अभियानमा धेरै अगाडि बढिसकेका छन् । तर हामी नेपाली महिलाहरु भने आज पनि घरेलुहिंसा, बलात्कार, हत्या, आत्महत्या, दाइजोप्रथा जस्ता जघन्य अपराध र कुरीतिको घेराबाट बाहिर निस्कन सकेको अवस्था छैन । नेपालमा मात्र नभएर विदेशमा भएका नेपाली महिलाहरू पनि यस्तो अपराधबाट छुट्कारा पाउन नसकेको कुरा बेलाबेलामा हामीले सुन्दैं आएका छौं । केही वर्ष अगाडिसम्म हाम्रो छोरीचेलीहरु विभिन्न बहानामा जलाउने र झुन्ड्याउने गरिन्थ्यो भने आजकल स्वयं जल्ने र झुन्डिने गरेको दिनहॅु जस्तो घटिरहेको सुन्छौं र हामी सामाजिक संजालबाट हार्दिक श्रद्वाञ्जली दिएर आफ्नो कर्त्तव्य पूरा गरेको ठान्छौं ।किनभने हिंसामा परेको छोरीलाई हाम्रो समाजका तॅपाई हामीले बाँच्नुभन्दा मर्नु ठिक मान्छौं ।

    आजकल हिंसामा परेका छोरीहरुको आत्मबल कमभई आत्महत्या गर्नुमा यहीं समाजका तॅपाई हामी नै दोषि छौं ।यस्ता घटनामा परेका छोरीहरुलाई आत्मबल बढाउनको लागि आवश्यक काउंसलिंग गर्नुकोसट्टा दोष देखाई मनोबल कम गराउने काम तॅपाई हामीले नै गर्नेगर्छौं । सोचौं आज अरु कसैको घरमा घटेको घट्ना भोली तॅपाईको घरमा घट्न सक्छ किनभने तॅपाईको घरमा पनि कुनै न कुनैरूपमा नारी छिन्। तसर्थ नारीप्रतिको सोंच बदलौं ।

    हालसालै हाम्रा छोरीचेलीहरु अमेरिकामा चन्द्रमाया पौडेल रिमाल, ममता काफ्ले, मुना पाण्डे, अस्ट्रेलियामा कृति थापा त्यसैगरि इण्डियामा प्रकृति लम्सालले हिंसामा परि आत्महत्या गरेका छन् अर्थात् हत्या भएको छ । यी छोरीचेलीको हत्या अथवा आत्महत्याको कारण आफ्नै नजिकको पार्टनर र आफन्तबाट प्रताडित् भएर भएको देखिन्छ ।

    आज नारी दिवसले ११५ औं वसन्त पार गर्दै गर्दा पनि महिलाहरुलाई नेतृत्व तहमा र निर्णायक भूमिकामा सहर्ष स्विकार गर्न नसकेको अवस्था छ । नेतृत्व तहमा भएका केही महिलाहरु पनि राजनीतिक आस्थाको आधारमा, जातीय आधारमा र अरु विभिन्न कुराले विभाजित भएको देखिन्छ ।

    तसर्थ जेण्डर इक्वालिटीको लागि अझैं ५ पुस्ता निरन्तर यो अभियानमा लाग्नुप​र्ने एक सर्वेक्षणले देखाएको छ । यो अभियानलाई समर्थन गर्नको लागि सभा सम्मेलनबाट मात्र नभई घरबाट पनि गर्न सकिन्छ । हरेक महिलाले महिलाको सम्मान गर्दै समाज परिवर्तनको लागि हातेमालो गर्दै अगाडि बढ्न सक्नुपर्छ । व्यक्तित्व विकासको कमी भए विभिन्न तालिमहरु लिएर सशक्तिकरणको मार्गमा हिड्न महिलाहरु अब हिच्किचाउनु हुँदैन । महिला दिदीबहिनीहरू नेतृत्व तहमा आउन जरुरी छ । पुरुष दाजुभाइले पनि महिला दिदीबहिनीलाई नेतृत्व तहमा अगाडि बढाउनको लागि सहज वातावरण प्रदान गर्नुपर्छ र आफू पनि मानसिक रुपमा परिवर्तन हुनुपर्छ ।

    जुन घरमा, जुन समाजमा, जुन देशमा महिलाको सम्मान हॅुदैन त्यो घरमा, त्यो समाजमा, त्यो देशमा हिंसा र द्वन्द हुन्छ र त्यो घर, समाज र देश कहिले पनि सम्पन्न र सफल हॅुदैन ।
    ११५ औं अन्तराष्ट्रिय नारी दिवसको सबैमा शुभकामना ।

    (लेखिका एनआरएनए न्युयोर्क च्याप्टरको महिला उपाध्यक्ष हुनुहुन्छ)

  • अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवले के दिए सुझाव

    अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवले के दिए सुझाव

    काठमाडौं । अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ ।
    पूर्व अर्थ सचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन् ।
    अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन, वित्तीय संघीयतालाई प्रभावकारी बनाउन, पूँजीगत खर्चका लागि सम्बन्धित मन्त्रालय र विभागहरुलाई उत्तरदायी बनाउन, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउनुपर्ने सुझाव दिएका छन् ।


    त्यसैगरी चालू खर्चमा मितव्ययिता अपनाउन, आन्तरिक स्रोतलाई वृद्धि गर्न, राष्ट्रिय गौरवका आयोजनाहरुमा खर्चलाई प्रभावकारी बनाउन, अनौपचारिक अर्थतन्त्रलाई न्यूनीकरण गर्न सुझाव दिएका छन् ।


    पूर्व अर्थ सचिवहरुले बीमा, सहकारी, पूँजीबजार र संस्थानहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । सम्पत्ति शुद्धिकरण र अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत ल्याउनु पर्ने उनीहरुको भनाइ छ ।


    वैदेशिक सहयोगमा सहयोग र ऋण भन्दा लगानीमा जोड दिनुपर्ने, जलवायु वित्तलाई जोड दिनु पर्ने, तथ्यपरक र कार्यान्वयन गर्ने गरी बजेट ल्याउनुपर्ने पनि पूर्व सचिवहरुको सुझाव छ ।
    सामाजिक सुरक्षाबारे समीक्षा गरी एकीकृत गर्न, रुग्ण उद्योगहरुलाई अध्ययनका आधारमा हटाउन, कर छुट दिँदा विचार गर्न, राजस्व परिचालनका क्षेत्रमा थप विकल्प खोज्न, बजारमा तरताल बढाउन, राज्यलाई दीर्धकालीन दायित्व पर्ने क्षेत्रमा विशेष ध्यान पुर्याउन पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका छन् ।


    त्यसैगरी वैकल्पिक वित्त व्यवस्थापनलाई प्राथमिकता दिन, राजस्वको लक्ष्य महत्वकांक्षी भन्दा यथार्थपरक राख्न, पूँजी खर्च वृद्धि गर्न, वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल मिलाउन, तथ्यमा आधारित भएर नीति र बजेट बनाउन, भएका ऐन कानूनको प्रभावकारी कार्यान्वयन गर्न, नीतिगत स्थिरता कायम गर्न, सेवा क्षेत्रमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिएका छन् ।
    पूर्व अर्थ सचिवहरुले निजी क्षेत्रलाई सहज हुने गरी व्यवसायिक वातावरण वृद्धि गर्न पनि सुझाव दिएका छन् ।


    कार्यक्रममा पूर्व मुख्य सचिव एवं पूर्व अर्थ सचिव डा. बिमल कोइराला, पूर्व अर्थ सचिवहरु रामेश्वर खनाल, भानु आचार्य, कृष्णहरि बाँस्कोटा, सुमन शर्मा, डा. राजन खनाल, शिशिर ढुङ्गाना, मधु मरासिनी र पूर्व राजस्व सचिवद्वय लालशंकर घिमिरे र रामशरण पुडासैनी सहभागी थिए ।
    अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेशकुमार घिमिरले पूर्व सचिवहरुबाट प्राप्त सुझावलाई ध्यान दिएर अघि बढ्ने बताए ।

  • शिवरात्रीका अवसरमा राष्ट्रपतिको सन्देश : पशुपति समस्त हिन्दुको गौरव हो

    शिवरात्रीका अवसरमा राष्ट्रपतिको सन्देश : पशुपति समस्त हिन्दुको गौरव हो

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको बताएका छन् । महाशिवरात्रि पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै उनले भने, “नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूहरूको लागि पनि गौरवको विषय हो ।”

    उनले हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको उल्लेख गर्दै आराध्यदेव श्री पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको बताए ।

    “वैदिक परम्परामा शिवलाई मुलतः संहारका शक्ति मानिएको भएता पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सृजनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन्”, उनले भने, “सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यं शिवं सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा छ ।”

    रौद्र शक्तिले खराब रोजाइबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ । यसरी मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्वजस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरिरहेको उनको भनाइ छ ।

    निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवं शिव महिमा कीर्तन शिवरात्रि पूजाअर्चनाका मुख्य अङ्ग मानिन्छ भने शिवरात्रिको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको उनले बताए ।

    “महाशिवरात्रीको यस पावन अवसरमा हामीले पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवं संवर्द्धन गर्न प्रण गर्नुपर्छ”, उनले भने, “हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । काठमाडौँ उपत्यकाको जलाधारका रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राख्नु हामी सबैको दायित्व हो ।”

    राष्ट्रपति पौडेलले महाशिवरात्री पर्व, २०८१ ले हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । रासस

  • नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध : परराष्ट्रमन्त्री

    नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध : परराष्ट्रमन्त्री

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव प्रतिबद्ध रही आएको बताएकी छिन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले सीमित स्रोत साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनका क्षेत्रमा नेपाल विश्वकै अग्रपंक्तिको राष्ट्रका रुपमा रहँदै आएको बताएकी हुन् ।

    ‘नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अधिकारहरूलाई मौलिक अधिकारका रुपमा समेटेको छ । नेपाल सरकार लोकतान्त्रिक मूल्य मान्यता, कानूनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रही आएको छ, परराष्ट्रमन्त्री राणाले भनिन् ।

    नेपालमा हाल लोकतन्त्र र मानवअधिकारका लागि लामो समयदेखि सङ्घर्ष गर्दै आएका राजनीतिक दलहरुको सरकार रहेकाले पनि नेपाल सरकार प्रजातन्त्र र मानवअधिकारको रक्षा तथा प्रवर्द्धनप्रति थप प्रतिबद्ध रहेको उनले बताइन् । नेपालले दशवर्षे सशस्त्र द्वन्द्वको समाधानका लागि अपनाएको शान्ति प्रक्रियाको मोडल विश्वमै उदाहरणीय रहेको उल्लेख गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई छिट्टै टुङ्ग्याउने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जानकारी गराइन् ।

    नेपालको संविधानले सङ्घीय र प्रादेशिक संसदमा महिलाको एक तिहाई र स्थानीय सरकारमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको तथा अल्पसङ्ख्यकहरुको मानवअधिकारको व्यवस्था र रक्षाप्रति प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारिन् । नेपाल सरकार सदैव राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रताका पक्षमा रही आएकाले ‘गानरी’ प्रमाणीकरणमा स्थापनादेखि नै नेपालको आयोग ‘ए ग्रेड’ मा रहँदै आएको उल्लेख गर्दै उनले नेपाल प्रेस स्वतन्त्रताको सुनिश्चितताको पक्षमा रही आएको बताइन् ।
    जलवायु परिवर्तनले नेपाललाई परेको असर, नेपालको अवस्था र जलवायु न्यायका विषयमा नेपालले अन्तरराष्ट्रिय मञ्चहरुमा वकालत गरिरहेको बताउँदै परराष्ट्रमन्त्री राणाले नेपालले आगामी मे महिनामा काठमाडौँमा ‘सगरमाथा संवाद’ कार्यक्रमको आयोजना गरेको जानकारी गराइन् ।


    जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यु मुख्य शीर्षक रहेको सो संवादमार्फत् अन्तरराष्ट्रिय समुदायलाई यस महत्त्वपूर्ण पहलमा सामेल गराउने प्रयास नेपालले गरेको उनको भनाइ थियो । नेपालले मानवअधिकारका क्षेत्रमा व्यक्त गर्दै आएको यही प्रतिबद्धताका साथ यस परिषद्को आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएको जानकारी दिँदै उनले संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरुसँग नेपाललाई समर्थन गर्न आह्वान पनि गरिन् ।

  • प्रधानमन्त्री भन्छन् : राधिकाले मलाई भित्राएकी हुन्

    प्रधानमन्त्री भन्छन् : राधिकाले मलाई भित्राएकी हुन्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यले आफूलाई विवाह गरेर घर भित्र्याएको बताएका छन्। शनिबार श्रीमती राधिकाको आत्मकथा करूणा लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले राधिकालाई नभई राधिकाले चाहीँ आफूलाई विहे गरेर भित्र्याएको बताए ।


    त्यो कुरा उनले पुस्तकमा पनि उल्लेख रहेको प्रधानमन्त्री ओलीले बताए। ‘उनले ठीकै लेखेकी छन् कि मलाई केपी ओलीले भित्र्याएको होइन, मैले डेरा खोजेर बिहे गरेर केपी ओलीलाई भित्र्याएको हो। भएको कुरा त्यही हो मलाई नै भित्र्याएको हो। धाकधक्कु विना त्यो स्वीकारेको छु, प्रधानमन्त्री ओलीले भने।

    प्रधानमन्त्री ओलीले सांसद भएर गृहमन्त्री हुँदा क्वाटरमै बस्दा सहज भएपनि त्यसपछि डेरा खोज्न सकस भएको बताए। त्यसपछि सालोले डेरा नपाउन्जेल यहीँ बसौं भने। पछि साथीहरूले कहाँ बस्नुभाछ भनेर सोध्दा घरज्वाइँ बसेको छु भनेपछि उनीहरूले पनि सोध्न छाडे, प्रधानमन्त्री ओलीले भने।

    बालकोटको घर पनि श्रीमतीले नै बनाएको प्रधानमन्त्रीले बताए। ‘घर पनि राधिकाले बनाएकी हुन्। मेरो बुताले मेरो हुतीले होइन। त्यो घर पनि ट्रस्टलाई दान गरिदिइसकेको छ, उनले भने। प्रधानमन्त्री ओलीले विवाह गर्नेबेलैमा राधिका शाक्यलाई खान लगाउन सक्दिनँ भनेर गरेको पनि स्मरण गरे।

    ‘सुरूमै कुरा छिनालेर गरेको छु। जीन्दगीमा एक कप चिया खुवाउन सक्दिनँ। एक धरो कपडा दिन सक्दिनँ। एउटा रूमाल दिन सक्दिनँ भनेको थिएँ, ‘प्रधानमन्त्री ओलीले भने, ‘एक छाक खुवाउने त टाढाको कुरो जीन्दगीभरि साथ दिन्छु पनि भनिनँ, जीवन नै अनिश्चित थियो।’ उनले आत्मकथा पढेरै श्रीमतीको पनि केही इच्छा र मागहरू रहेको थाहा पाएको बताए।

    ‘केही इच्छाहरू रहेछन्। यसो गर्दिए हुन्थ्यो उसो गर्दिए हुन्थ्यो भन्ने रहेछ, उनले भने, ‘जन्मदिनमा फूल दिऊँ भने भोलिपल्ट थाहा पाउँछु। सम्झिएर दिए हुन्थ्यो भन्ने उनलाई पर्दो रहेछ। भन्दिए हुन्थ्यो भन्ने मलाई पर्थ्यो। म सम्झिन नसक्ने उनले नसम्झाउने। ३७ वटा जन्मदिन, विवाह उत्सव यसैगरी बिते।’ श्रीमतीले आफ्नो जन्मदिन भने सधैँ भव्यताका साथ मनाउने गरेको पनि प्रधानमन्त्रीले बताए। अझै आफू बिरामी भएपछि भव्यताका साथ श्रीमतीले आफ्नो जन्मदिन मनाइदिने उनले बताए।

    उनले आफू अहिलेसम्म बँच्नुको कारण पनि श्रीमतीको हेरचाह रहेको बताए। ‘राधिका नहुने हो भने म अहिलेसम्म बाँच्न सम्भव थिएन। म आँगनको माथिल्लोपट्टी जतन गरेर मठ बनाएर हरेक बिहान बेलुका पानी हालेर हुर्काएको तुलसी जस्तै गरेर बाँचेको मान्छे हो। जतनले मात्रै बाँचेको मान्छे हुँ,’ उनले भने।

  • विपि र प्रचण्ड यूगनायक हुन् : वर्षमान

    विपि र प्रचण्ड यूगनायक हुन् : वर्षमान

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले बीपी र प्रचण्ड युगनायक भएको बताएका छन् । झापामा शुक्रबार आयोजित एक कार्यक्रममा पुनले नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युग परिवर्तन गर्ने आन्दोलनको नेतृत्व गरेको बताए । कोही इतिहास बदल्ने नेता र कोही नियमित नेता हुन्छन् भन्दै पुनले यी दुई नेता मुलुकको राजनीतिक इतिहास बदल्ने नेताका रूपमा स्थापित भएको उल्लेख गरे ।

    ‘नेता त्यसै जन्मिँदैन । नेता इतिहासले जन्माउने हो । बीपीले जहाँनिया राणशासन फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो । प्रचण्डले सामन्तवादी राजतन्त्र फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो’, पुनले भने, ‘यी नेपाली राजनीतिका इतिहास बदल्ने आन्दोलनहरू हुन् । त्यस अर्थमा प्रचण्ड माओवादीको मात्र नेता होइन । उहाँ युग बदल्ने नेता हो, राजनेता हो ।’

    मुलुकमा ठूलो आन्दोलनको आवश्यकता छ : प्रचण्ड

    प्रचण्ड १०औं हजारको बदिलानबाट निर्माण भएको टावर भन्दै पुनले उनलाई व्यक्ति पुष्पकमल दाहाल प्रचण्ड नभई आन्दोलनको प्राधिकारयुक्त नेताका रूपमा इतिहासले स्वीकार गर्ने दाबी गरे । यसको अर्थ प्रचण्डको देवत्वकरण गर्ने वा कमीकमजोरी भए ढाकछोप गर्नु नभएको प्रष्टीकरण पनि पुनले दिए । आफूले प्रचण्डसँग २८ वर्ष लामो सहकार्य गरेको भन्दै पुनले सधैं उनलाई सहयोग गर्ने र उनकै वरिपरि केन्द्रित हुने गरेको बताए ।

    जनयुद्धदेखि शान्ति प्रक्रिया, पहिलो र दोश्रो संविधानसभा निर्वाचन, संविधान निर्माण, कटवाल प्रकरण, पार्टी विभाजनजस्ता महत्वपूर्ण राजनीतिक घटनाक्रमहरूमा आफू जहिले पनि प्रचण्डसँगै उभिएको स्मरण पुनले गरे । ‘म जनयुद्धको पहिलो फौजी कमाण्डको कमाण्डर हुँ । २८ वर्षदेखि प्रचण्डसँग काम गर्दै आएको छु ।

    बिग्रिएका जति सबै प्रचण्डको थाप्लोमा हाल्ने र राम्रो सबै हामीले गरेको भन्ने पक्षमा हामी हुनुहुँदैन’, पुनले भने, ‘मेरो भनाइ कोही साथीप्रति लक्षित छैन । हामीले राम्रा जति सबै प्रचण्डबाट भएको भन्ने वा नराम्रा जति सबै प्रचण्डको टाउकोमा हाल्ने र जसजति आफूले लिने गल्ती गर्नुहुँदैन । राम्रा र नराम्रा सबै कुराको जिम्मेवारी नेतृत्वमा भएका हामी सबैले लिनुपर्छ ।’

    पुनले पार्टीभित्र आफ्नो छुट्टै समूह नभएको पनि स्पष्ट गरे । कार्यशैली, विचार र दृष्टिकोणमा समानता हुनेहरूबीच बढी नजिक सम्बन्ध हुनुलाई अन्यथा मान्न नहुने भए पनि त्यसैलाई स्थायी गुट बनाउन नहुने भन्दै उनले आफूले गुट निर्माण नगरेको बताए ।

    फरक प्रसँगमा पुनले आगामी ०८४ को निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा कसैसँग तालमेल नगरिने दोहोर्‍याए । प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि चालेका कदमका कारण जनतामा माओवादीको लोकप्रियता बढेको भन्दै उनले त्यही एजेण्डाका साथ चुनावमा जाने नीति रहेको बताए ।

    उनले सरकारले राम्रो गर्दा समर्थन र खराब काम गर्दा प्रतिपक्षमा रहेर भण्डाफोर र प्रतिवाद गर्ने भन्दै सरकार प्राथमिकतामा नरहेको स्पष्ट गरे ।
    ‘प्रचण्ड नेतृत्वको सरकारको सुशासन र भ्रष्टाचारविरोधी अभियानबाट डराएर कांग्रेस र एमाले मिलेका हुन् । हामी ०८४ सम्म यही सरकार चलोस् भन्ने चाहन्छौं’, पुनले भने, ‘सरकारमा हाम्रो ध्यान छैन । राम्रो गर्दा सरकारलाई साथ दिन्छौं । नराम्रो गर्दा भण्डाफोर र प्रतिवाद गर्छौ ।’

    कांग्रेस र एमालेसँग आफूहरूले राजतन्त्र अन्त्यदेखि संविधान निर्माणसम्म सहकार्य गरेको र त्यो सही रहेको भन्दै उनले संविधान कार्यान्यवनसम्म आउँदा आधारभूत रूपमै ती दुई दलसँग फरक परेको बताए । कांग्रेस र एमाले प्राप्त उपलब्धीबाट पछि फर्कन खोजेको आरोप पनि पुनले लगाए । अर्को एक प्रसंगमा पुनले प्रधानमन्त्री केपी ओलीको लोकप्रियताको ग्राफ धेरै घटेको दाबी गरे ।

  • ट्रम्पलाई बालेनको मेन्सन : हाम्रा रत्न फिर्ता देउ, हामी आफ्नो देश बनाउँछौं

    ट्रम्पलाई बालेनको मेन्सन : हाम्रा रत्न फिर्ता देउ, हामी आफ्नो देश बनाउँछौं

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् । उनले अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी लट्रीं बारे धारणा सार्वजनिक गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाएका छन् ।

    भूमी सम्बन्धी अध्यादेश जारी भएपछि बालेनको कटाक्ष

    उनले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, ‘धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो ।’ बालेनको स्टाटस अनुसार, नेपाल गरिब हुनुको मुख्य कारण आफ्नो जनशक्ति विदेश पलायन हुनु हो, तर अमेरिकाको समस्या उल्टो रहेको उनको दाबी छ । उनले अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गरेका छन् ।

    साथै, उनले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै नेपालका रत्न फिर्ता गरिनुपर्ने माग समेत गरेका छन् । उनले अमेरिका लगायतका विकसित मुलुकहरूलाई विश्वलाई स्वतन्त्र रूपमा अगाडि बढ्न दिन सुझाव दिएका छन् । उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्को बहस निम्त्याएको छ । कतिपयले उनको विचारको समर्थन गरेका छन् भने कतिपयले यस्तो कडा अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्बन्धका लागि हानिकारक हुन सक्ने तर्क गरिरहेका छन् ।

  • ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई किन भने तानासाह ?

    ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई किन भने तानासाह ?

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की ‘तानाशाही’ भनेका छन् । जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको टिप्पणी गरेपछि ट्रम्पले जेलेन्स्कीबारे कडा टिप्पणी गरेका हुन् । उनले सोसल मिडिया ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनावविना राष्ट्रपति बनेको तानाशाहको संज्ञा दिएका हुन् ।

    रुसलाई घातक हतियार प्रयोग गर्नबाट रोक्न विश्वले तत्काल कदम चाल्नुपर्छ : जेलेन्स्की

    जेलेन्सीको राष्ट्रपतिको कार्यकाल सन् २०२४ को मे महिनामा समाप्त हुने थियो । तर सन् २०२२ को फेब्रुअरीदेखि रुससँग युद्ध सुरु भएपछि त्यहाँ चुनाव हुन सकेको छैन । ट्रम्पले यसअघि जेलेन्स्कीको लोकप्रियता जम्मा चार प्रतिशत रहेको समेत बताएका थिए । तर बीबीसीको फ्याक्टचेकमा अझै पनि ५७ प्रतिशत युक्रेनी जनता जेलेन्स्कीको पक्षमा रहेको पाइएको थियो ।

  • कुलमानले टेरेनन्, लगाम लगाउनु पर्छ : ऊर्जा मन्त्री

    कुलमानले टेरेनन्, लगाम लगाउनु पर्छ : ऊर्जा मन्त्री

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई नटेरेको बताएका छन् । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा घिसिङसँग रुष्ट रहेका ऊर्जामन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको निर्णय कार्यान्वयन नगरेको समेत आरोप लगाए ।

    कुलमानलाई सरकारले पुनः सोध्यो स्पष्टीकरण

    ‘प्राधिकरणको सञ्चालक समितिले निर्णय गर्छ, उहाँ कार्यान्वयन गर्नुहुन्न, सरकारलाई टेर्नुहुन्न,’ प्रतिनिधिसभा बैठकमा उनले भने, ‘प्राधिकरणमा सय प्रतिशत लगानी सरकारको छ, तर एउटा कर्मचारी भाषण गर्दै हिँड्नुहुन्छ । यस्तो अराजक गतविधिलाई सरकारले सधै हेरेर बस्नु हुँदैन । लगाम लगाउनुपर्छ ।’ स्ययम ऊर्जा मन्त्री भने विभिन्न ठेक्का पट्टामा विवादित बन्दै गएका छन् । आज संसदमा सांसदहरुले उनलाई विभिन्न प्रश्न गरेका थिए ।

  • पूर्वराजा ज्ञानेन्द्रको सन्देश : व्यवस्था बदल्नले अवस्था बदल्न सकेनन्

    पूर्वराजा ज्ञानेन्द्रको सन्देश : व्यवस्था बदल्नले अवस्था बदल्न सकेनन्

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश प्रसारित गर्दै शाहले व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्रोसँग बदल्न नसक्नु दुःखद् भएको टिप्पणी गरेका हुन् । राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न आफूलाई साथ दिन नागरिकलाई उनले आह्वान गरे । जनताको भलोका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको शाहको दाबी छ । राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न शाहले दलहरुलाई चेतावनी दिए । नेपालको उन्नतिका लागि त्याग गरेको र जनहितमा अन्य कुरा पनि त्याग्न तयार रहेको बताए ।

    ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको प्रचण्डले गरे खण्डन

    जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी रहेको उल्लेख गरे । प्रजातन्त्र आजको शासन पद्धतिमा उच्चतम पद्धति हुनुपर्ने शाहले बताए । प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व हुनुपर्ने उनले बताए । ‘पक्ष विपक्षको अहंकार आ आफ्नै खालको स्वार्थ तथा हठले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।’ ‘निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन’ शाहले भिडियो वक्तव्यमा भनेका छन्, ‘पक्ष विपक्षको अहंकार आआफ्नै खालको स्वार्थ तथा हठले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।’

    देशको इतिहास मेटिँदै गएको अनुभूति पूर्व राजा शाहले गरेका छन् । नेपालीको पसिना स्वदेशमा नभई बाहिर पोखिएको शाहले बताए । ‘जन्मदै नेपालीको शिरमा हजारको होइन, लाखको ऋणभार बोझ छ,’ शाहले भने । विद्यार्थी र शिक्षक पातलिँदै गएको र व्यवसाय, व्यापार निरन्तर धरासायी भएको शाहको बुझाइ छ ।

  • प्रधानमन्त्री आज दाङ जादैं, लुम्बिनी प्रदेश सभामा सम्बोधन

    प्रधानमन्त्री आज दाङ जादैं, लुम्बिनी प्रदेश सभामा सम्बोधन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाने भएका छन् । उनी बिहान नेपाली सेनाको हेलिकोप्टरबाट ओली दाङ जानेछन् । उनले आज मध्याह्न दाङ देउखुरीस्थित लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सदरमुकाम घोराहीमा आयोजित जनसभालाई पनि उनले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

    संसदको प्रश्नोत्तरमा प्रधानमन्त्री : विपक्षी सांसदसँग झर्किए

    जनसभा शहीदमञ्चमा दिउँसो २ बजे कार्यक्रम राखिएको छ । उनले तुलसीपुरमा होटल उदघाट्न गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । दाङमा रहँदा प्रधानमन्त्री ओलीले कार्यकर्ता र व्यापारी व्यवसायीसँग पनि भेटघाट गरी त्यहाँका समस्या सुन्ने भएका छन् ।

  • संसदको प्रश्नोत्तरमा प्रधानमन्त्री : विपक्षी सांसदसँग झर्किए

    संसदको प्रश्नोत्तरमा प्रधानमन्त्री : विपक्षी सांसदसँग झर्किए

    काठमाडौं । आफ्नो भारत भ्रमणबारे सोधिएको प्रश्नको जबाफ नदिई प्रधानमन्त्री केपी ओलीले संसद्‌मा प्रश्नोत्तर सकाएका छन्। आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर राखिएको थियो। पूर्वनिर्धारित कार्यसूची अनुसार १० जना सांसदहरूले दर्ता गराएका प्रश्नको जबाफ दिन प्रधानमन्त्री ओली रोष्ट्रममा उक्लिएका थिए। प्रधानमन्त्रीलाई प्रश्न सोध्ने अन्तिम पालो आम जनता पार्टीका सांसद प्रभु साहको थियो।


    साहले वैदेशिक रोजगारीमा रहेका युवाहरूको समस्या देखि राजधानी जोड्ने सडकमार्गको दुरावस्था लगायतका विषयमा आठ वटा प्रश्न प्रधानमन्त्रीलाई सोधेका थिए। उनको पाँचौँ प्रश्न प्रधानमन्त्रीको भारत भ्रमणबारे थियो। ‘तपाईँले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदै छु भन्नुभएको थियो, त्यो जाँदै छु भनेको कहिले हो ? निम्तो नै नआईकन किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन ? साहले प्रधानमन्त्री ओलीलाई सोधे।

    गत असारमा प्रधानमन्त्री भएका ओली उत्तरी छिमेकी चीन भ्रमणमा गए पनि दक्षिणी छिमेक भारतको भ्रमणमा गएका छैनन्। यसबारे राजनीतिक वृत्तमा चर्चा चलिरहँदा गएको मङ्सिर २३ गते दमकमा सरकारी लगानीमा बनेको व्यापारिक कम्प्लेक्स उद्घाटनका लागि पुगेका ओलीले आफ्नो भारत भ्रमणको योजना सुनाएका थिए। तर आइतवार ‌ओलीले सांसद साहले सोधेका भारत भ्रमणसहित कुनै पनि प्रश्नको जबाफ दिएनन्।

    ूउहाँका प्रश्नहरू उहाँको मनमा रहेका विरोध, घृणा आक्रोश आदिले अपमानजनक समेत रहेका छन्। संसद्जस्तो गरिमामय ठाउँमा यस्तो भाषा‘, ओलीले भने। ‘उहाँले गर्नुभएका प्रश्नहरूमा खासै जबाफ दिइरहनु पर्ने छैन। सबैको उत्तर आफैँ प्रश्नमा बोकेर आउनुभएको छ। त्यसकारण मैले उत्तर दिइरहनु परेन। यहाँलाई धन्यवाद छ।’

    प्रधानमन्त्रीले आफ्नो विषयमा टिप्पणी गरेपछि सांसद साह उठेर बोल्न समय मागेका थिए। तर सभामुख देवराज घिमिरेले प्रतिप्रश्न नहुने भन्दै उनलाई रोकेपछि प्रश्नोत्तर कार्यक्रम सकिएको थियो। साहको पार्टीबाट प्रतिनिधिसभामा उनी एक्ला सांसद हुन्। पूर्वमन्त्री समेत रहेका उनी गएको निर्वाचनमा रौतहटबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। त्यसअघि उनी नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा अलग हुँदा ओली नेतृत्वको नेकपा एमालेमा आबद्ध थिए।


    प्रधानमन्त्री ‌ओलीलाई सत्ता र प्रतिपक्षमा रहेका सांसदहरूले सरकारका काम कारबाहीबारे प्रश्न सोधेका छन्। आज सत्तारुढ दलका प्रश्नमा नरम सुनिएका प्रधानमन्त्री विपक्षी दलका नेताले सोधका प्रश्नमा निरन्तर झर्किएका थिए । उल्टो प्रतिप्रश्न तेस्राएका थिए । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले अर्थतन्त्रमा देखिएको शिथिलताबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। यसअघिका अर्थमन्त्री समेत रहेका पुनका प्रश्नमा जवाफ दिँदै ओलीले अघिल्लो सरकारका पालामा भन्दा राम्रो काम भइरहेको दाबी गरे।

  • प्यूठान कांग्रेस सूर्य थापासँग किन बिच्कियो ?

    प्यूठान कांग्रेस सूर्य थापासँग किन बिच्कियो ?

    काठमाडौं । नेपाली कांग्रेस प्युठानले प्युठानले नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाका व्यवहार र गतिविधिको विरोध गरेको छ।
    कांग्रेसका प्युठान जिल्ला सभापति विष्णु गिरीले विज्ञप्ति जारी गरी सांसद थापाको व्यवहारको विरोध गरेका हुन्।

    गिरीले सांसद थापामाथि फागुन १ गते झिमरुक गाउँपालिका – ५ मा भएको नेपाल टेलिकमको टु जी र फोर जी विस्तार कार्यक्रम प्रतिनिधिसभा सदस्य थापा र लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले संयुक्त रुपमा उद्घाटन गर्ने भनेर लेखेको ब्यानर कार्यक्रमस्थलमा टाँस्न नदिएको, टेलिकमका कर्मचारीलाई थर्काएको, सरुवाको धम्की दिने जस्ता अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्नुको साथै हेट स्पिच दिएको आरोप लगाएका छन्।

    त्यस्तै गत पुस ११ गते जिल्ला समन्वय समितिको सभामा थापाले समावेशी समानुपातिक प्रणालीविरूद्ध अभिव्यक्ति दिएको, त्यो भन्दा पहिला कार्यक्रमस्थलमै पुगेर माइन्युट च्यात्न लगाएको, कांग्रेसबाट प्रदेशमा मन्त्री भएका व्यक्ति इंगित गरी ‘क्याटवाक् गर्दै हिँडेर विकास हुन्छ,’ भन्ने जस्ता अभिव्यक्ति दिएको आरोप पनि थापामाथि लगाइएको छ।

    ‘जनप्रतिनिधि गाउँ जाने वा आफ्ना मतदातालाइ भेट्ने र मतदातासँग के बोल्ने भन्ने कुरा सूर्य थापासँग अनुमति लिनुपर्ने होरु,’ विज्ञप्तिमा भनिएको छ। गिरीले गठबन्धनको गरिमालाई बिखण्डन गर्ने हेटस्पिच बन्द गर्न तथा जितको उन्माद नराख्न ध्यानाकर्षकण गराएका छन्।

    जिल्ला सभापति गिरीले एमाले सांसद थापामाथि अनपेक्षित जीतको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादाविपरीत चरित्र पर्दशन गरेको तथा वहुदलीय सिद्धान्तलाई अनदेखा गरी निरन्तर असमावेशी स्वभाव पर्दशन गर्ने गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

  • रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

    रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन दिएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री लगायत मन्त्रालयका कर्मचारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन पनि निर्देशन दिए ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सधैं समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे । उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाइ वितरण गरिसक्न पनि आग्रह गरे ।

    मन्त्रालयका अनुसार वार्षिक पाँच लाख ५० हजार मेट्रिक टन मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन गरिएको छ । हालसम्म दुई लाख ४० हजार मेट्रिक टन मल आयात भएको छ भने गत वर्षको मौज्जादसमेत गरी दुई लाख ६३ हजार मेट्रिक टन बिक्री भइसकेको छ । यस्तै, हाल ३० हजार मेट्रिक टन युरिया मल आयात हुने क्रममा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा युरिया मलको मूल्य बढ्दै गएकाले आयातकर्तासँग सम्झौता भइसकेको मल आपूर्ति हुन समस्या हुने र ग्लोबल टेण्डरका लागि ४५ दिनसम्मको अवधि दिनुपर्ने कानुनी व्यवस्थाले समस्या हुने गरेको मन्त्रालयले ब्रिफिङ गरेको छ ।

    प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने खालको कृषि नीति बनाउन र विद्यमान रूपमा अनावश्यक भएका संरचनाहरू थप गरी स्रोत साधनको उपयोगिता बढाउन आग्रह गरे । यस्तै, आगामी २६, २७ चैत मा काठमाडौँमा हुने बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक० कृषिमन्त्रीस्तरीय बैठकको तयारी भव्य रूपमा गर्न छलफल भएको छ ।

    प्रधानमन्त्री ओलीले यस्ता मञ्चमा सहभागिता प्रभावकारी र वस्तुगत बनाउन तथा नेपालको समृद्धिको अपेक्षा पूरा गर्ने योजनामा सहयोग पुग्ने गरी प्रस्तुत हुन निर्देशन दिए ।

    बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, कृषि मन्त्रालयका सचिवद्वय डा. गोविन्द शर्मा र डा. राजेन्द्रप्रसाद मिश्रसमेत सहभागी थिए । बैठकमा कृषि लगानी दसक (२०८१–२०९१), राष्ट्रिय कृषि नीति र कृषि विधेयक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल कृषि अनुसन्धान परिषद्को पुनः संरचना, मासु निर्यातका लागि भैँसी पाडापालन कार्यक्रम, उखु किसानको अनुदान र सहुलियत कृषि कर्जालगायत विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्रधानमन्त्रीको नाम हटाउन पनि स्मरण गराए ।

  • ३० औं जनयुद्ध दिवस मनाउँदै माओवादी, प्रचण्डले दिए यस्तो सन्देश

    ३० औं जनयुद्ध दिवस मनाउँदै माओवादी, प्रचण्डले दिए यस्तो सन्देश

    काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाइरहेका छन् । २०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादी धारले ‘जनयुद्ध दिवस’ मनाउने गरेका छन् । जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण गरेका छन् ।

    ‘अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न मनमा लाग्न सक्छ । यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझ्नु जरुरी हुन्छ’, उनले भनेका छन् । दमनविरुद्धको प्रतिरोध नै जनयुद्धका रूपमा प्रकट भएकोसमेत प्रचण्डले दाबी गरेका छन् । उनले भनेका छन्, ‘जनताले यो स्तरको प्रतिरोध नगरेको भए हामी अहिले पनि सामन्ती शोषणमै हुने थियौं । राजनीतिक अधिकारदेखि समाजमा यो स्तरको चेतनाको विकास हुने थिएन । त्यसैले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना थियो, हामी यसमा गर्व गर्छौं ।’

    दिवस मनाउन भन्दै माओवादीले जितेका देशका विभिन्न पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् । सर्वोच्च अदालतको फैसलाविपरीत बिदा दिइएको भन्दै अन्य दलले भने विरोध गरिरहेका छन् । ०७९ माघ २९ गते बसेको तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले हरेक वर्षको फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्‍को उक्त निर्णय सर्वोच्च आदेशले रोक लगाएको थियो । ०८० पुल १३ गते जारी भएको आदेशले ‘जनयुद्ध दिवस’को अवसरमा देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई बदर गरेको थियो ।

  • कांग्रेस नेता कोइरालाले गरे अध्यादेशको विरोध

    कांग्रेस नेता कोइरालाले गरे अध्यादेशको विरोध

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताएका छन् । भक्तपुरमा जिपि कोइराला फाउन्डेसनले सोमबार आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा नेता कोइरालाले अध्यादेशबाट देश चलाउने संस्कारको विकास गर्न नहुने बताएका हुन् ।

    ‘दुईतिहाइको सरकारलाई अध्यादेश ल्याउनु पर्ने जरुरी नै थिएन,’ उनले भने, ‘संसद्लाई छलेर जान खोजियो भने निरंकुशता हावी हुन्छ । त्यसैले अध्यादेशबाट देश चलाउने संस्कार त्यागेर संसद्बाटै नियम, कानुन, ऐनहरू बनाइ अगाडि जानुपर्छ ।’

    नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले राजनीति र प्रजातन्त्र बिग्रियो भने देश पनि बिग्रिने बताइन् । कांग्रेस नेता एनपी साउद, स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायतका नेताले गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानको चर्चा गरेका थिए ।

  • मस्कको आलोचना हुन थालेपछि बचाउमा उत्रिए ट्रम्प

    मस्कको आलोचना हुन थालेपछि बचाउमा उत्रिए ट्रम्प

    काठमाडौं । इलन मस्कले ट्रम्प शासनमा गरिरहेको मनपरीको विपक्षी दलबाट विरोध सुरु भएको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उनको बचाउ गरेका छन् । उनले अमेरिकी सरकारका तर्फबाट मस्कले फजुल खर्च कम गर्न काम गरिरहेको बताएका छन् ।

    यसअघि यस्ता कदमबाट सरकार भन्दा मस्कलाई बढी फाइदा पुगेको भन्दै डेमोक्रेटिक पार्टीले विरोध जनाएको थियो । ट्रम्पले रक्षा र शिक्षामा भइरहेको खर्चको समेत जाँच गर्ने बताएका छन् । यी विभागमा अर्बौ रुपैयाँको घाटाला भएको हुन सक्ने उनको आशंका छ ।

  • मुलुकमा ठूलो आन्दोलनको आवश्यकता छ : प्रचण्ड

    मुलुकमा ठूलो आन्दोलनको आवश्यकता छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थालेको बताएका छन् । प्रदेशलाई अधिकार दिन नचाहने, स्थानीय तहलाई बलियो बनाउन नचाहने तर शासनमा बसिरहने गर्दा अधिकारको लागि एउटा ठूलो आन्दोलनको महसुस भइरहेको हो कि भन्ने आफूलाई लाग्न थालेको प्रचण्डले बताए ।

    संविधान निगरानी समूह र आइएसएसआरले आइतबार काठमाडौंमा गरेको ‘संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता’ विषयक कार्यक्रममा प्रचण्डले भने, ‘ जनतामा बढ्दै गएको निराशा र असन्तुष्टिले आन्दोलनको आवश्यकता भएको हो कि भन्ने आफूलाई लाग्न थालेको बताएका हुन् ।

    ‘म अहिले विद्रोह गर्ने निष्कर्षमा पुगेँ भनेको होइन । तर, जनतामा असन्तुष्टि र निराशा बढेको बढ्यै छ । युवामा देखिएको निराशा हेर्दा, दलहरूले संविधान मिचिरहेको देख्दा यो प्रश्न मानिसहरूको मनमा आउँदैछ भन्ने लाग्न थालेको छ,’ उनले भने । पछाडि फर्कन चाहने सोच भएकाहरू मुलुकमा हावी भइरहेको भन्दै प्रचण्डले संविधानले दिएका अधिकार कार्यान्वयन हुन नदिने अवस्था सिर्जना गरेर असन्तुष्टि बढाइएको बताए ।

    उनले संविधान मिचेर तथा राष्ट्रपतिलाई निरिह बनाएर वर्तमान सरकार गठन भएको जिकिर गरे । ‘संविधान मिचेर, राष्ट्रपतिलाई जबरजस्ती दबाब दिएर, निरिह बनाएर बनेको सरकार हो यो,’ प्रधानन्यायाधीशसमेत उपस्थित कार्यक्रममा उनैलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सम्माननीय प्रधानन्यायाधीश यहीँ हुनुहुन्छ । संविधानको धारा ७६ को २ अनुसार बनेको सरकारले विश्वासको मत लिन नसकेपछि स्वतः ७६ को ३ अनुसार सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने हो । तर, संविधान मिचेर यो सरकार बन्यो ।’

    उनले लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर बन्ने सरकार लोकतान्त्रिक हुन नसक्ने भन्दै सरकारले संविधानलाई कर्नरमा पार्न खोजेको बताए । त्यसअघि नै संविधानलाई ट्र्याकमा ल्याउने प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

  • पाथिभरा केवलकार विवादमा चन्द्र ढकाल भन्छन् : केबलकारले पहिचान प्रवद्र्धन गर्छ-नागरिकको जीवनस्तर सुधार गर्छ

    पाथिभरा केवलकार विवादमा चन्द्र ढकाल भन्छन् : केबलकारले पहिचान प्रवद्र्धन गर्छ-नागरिकको जीवनस्तर सुधार गर्छ

    काठमाडौं । कोशी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चामा छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार भएको देखिएको छ । पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो ।

    यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमती लिएको थियो । यसै सन्दर्भमा लगानीकर्ताले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजनाबारे स्पष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका प्रमुख चन्दै ढकालले करिब दुईवर्ष अघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयाजना निर्माणले गति लिन थालेको बताएका छन् ।

    नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने सबै सरकारी तथा कानुनी अनुमतीहरु प्राप्त गरेपछि यस आयोजनालाई राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गत समावेश गरी आयोजना अघि बढाउने काम भएको उनले बताए । आइएमई समूहले मुलुकका सातवटै प्रदेशमा केबलकार सहितका पर्यटकीय गन्तब्यहरु बनाउने उद्देश्यसहित २०७९ सालमा यस केबलकारको ठूलो शेयर लिएर काम अगाडि बढाएको हो ।

    केबलकारका लागि आवश्यक जग्गाको भोगाधिकार प्राप्त गर्ने र नेपाल सरकारलाई सट्टा भर्ना जग्गा दिने काम सम्पन्न भइसकेको छ । केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र डीपीआर स्वीकृत गर्ने काम समेत सम्पन्न भई केबलकार निर्माण कार्यको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माणको काम सुरु भएको उनले जानकारी दिए ।


    ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका ११, काफ्लेपाटीदेखि पाथीभरा देवी मन्दिर परिसरभन्दा करिब ७०० मिटर पश्चिमसम्म २ दशमलव ७५ किलोमिटर लामो केबलकारमा ३६ वटा यात्रुवाहक गोन्डोला र दुईवटा सामान ओसारपसार गर्ने गोन्डोला रहनेछन् । केबलकार निर्माण भएपछि तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म पुग्न जम्मा १० मिनेट ३१ सेकेन्ड जति समय लाग्नेछ । केबलकारको सबै उपकरण तथा पार्टस् विश्व प्रसिद्ध केबलकार कम्पनीको प्रयोग गरिनेछ ।


    केबलकारको माथिल्लो स्टेसनमा तीर्थयात्रीको सुविधाको लागि पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना मात्र बनाइने छ । यी आधारभूत आवश्यकतका संरचनाबाहेक यहाँ अरु केही नबन्ने भएकाले मन्दिर परिसर तथा यस वरपरको पर्यावरण, सौन्दर्य र सांस्कृतिक अवस्थितिमा कुनै असर पर्दैन ।

    केबलकार निर्माणले बालबालिका, बृद्धबृद्धा, शारिरीक रुपमा अशक्त र उकालो ओरालो हिड्न नसक्नेहरुका लागि सहज हुनुका साथै सम्पूर्ण तिर्थयात्री तथा पर्यटकलाई सुविधा पुग्ने छ । हिडेर जान चाहनेहरुको लागि अहिले भइरहेको बाटोमा केबलकारले कुनै बाधा पुर्‍याउने छैन । यसका साथै स्वदेशी तथा विदेशी तिर्थयात्री र पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास छ ।

    पाथीभरा केबलकारको अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको छ । केबलकार निर्माणपछि करिब ३०० जनालाई प्रत्यक्ष रोजगारी प्राप्त हुनेछ । यसमा करिब ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइनेछ । साथै आइएमई ग्रुपका यस अघिका पर्यटन पूर्वाधारहरुमा जस्तै यहाँ पनि स्थानीयलाई आयोजनाको शेयर तथा लगानीको अवसर मिल्ने कुरा त छदैछ ।

    केबलकार निर्माण हुँदा तिर्थयात्री तथा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने र यसले स्थानीय उत्पादन (कृषि, घरेलु तथा हस्तकलाका सामग्री) प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने उनले बताए । आर्थिक गतिविधिको विकास र विस्तारसँगै मेची हाइवेको झापा तथा तमोर कोरिडरको सुनसरीको बराह क्षेत्रदेखि नै होटल, रेष्टुरेन्ट, यातायातलगायत थुप्रै क्षेत्रमा स्वरोजगार तथा व्यवसाय विस्तारमा उल्लेख्य वृद्धि हुने छ । यसबाट राज्यलाई कर तथा राजश्व पनि वृद्धि हुनेछ ।

    केबलकार विश्वमा अहिले प्रचलनमा रहेका यातायतका साधनमध्ये सबैभन्दा सुरक्षित र वातावरणमैत्री यातायातको साधन हो । विद्युतीय यातायातको यस साधनले कुनै पनि किसिमको प्रदुषण नगर्ने हुनाले यसलाई दिगो विकासको मापदण्डभित्र राखिएको छ ।

    यसका साथै, वातावरणमा हुने प्रभावलाई कम गर्न केबलकारको एलाइनमेन्ट क्षेत्रभित्र काट्नुपर्ने १ रुख बराबर २५ रुखका दरले बृक्षारोपण गरी बृक्षारोपण गरिएका ती विरुवालाई ५ वर्षसम्म स्याहार तथा संरक्षण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिने छ । त्यसैले, यस केबलकार आयोजना सञ्चालन हुँदा पनि जैविक विविधता र वातावरण विग्रिने नभई यसलाई जोगाउन थप सहयोग पुग्ने छ ।

    पाथीभरा केबलकार शिलान्यास भएसँगै केही व्यक्तिहरुले निर्माणका काममा अवरोध सृजना गर्ने र निजी लगानीलाई दुरुत्साहन गर्ने गतिविधि सुरु गरेका छन् । त्यतिमात्र नभएर निजी क्षेत्रलाई नै कलुषित गर्ने र उनीहरुका व्यवसाय, व्यक्तिगत प्रतिष्ठा र सम्मानमा आँच पुर्‍याउने खालका आक्षेपहरु लगाएका छन् । केबलकार आयोजनाको विषयलाई लिएर समग्र निजी क्षेत्रमाथि प्रहार गर्नु र समाज, अर्थतन्त्र र मुलुककै सम्मृद्धिमा उनीहरुको योगदानको अनादर गर्नु अत्यन्त दुखद् विषय भएको उनले बताए ।


    विकट भौगोलिक अवस्थिति, हाइ अल्टिच्युड र ठाडो उकालो बाटोले गर्दा तीर्थयात्री तथा पर्यटकलाई मन्दिरसम्मको आवागमन अत्यन्तै कठिन छ । अझ हिड्न नसक्ने, विरामी, अशक्त, बालबालिका र बृद्धबृद्धाहरुलाई त त्यहाँसम्म पुग्न निकै संघर्षमय नै हुन्छ । पैसा तिर्न सक्नेहरु मान्छेलाई बोक्न लगाएर प्रति किलो २०० रुपैयाँसम्म तिरेर मन्दिरसम्म पुग्ने गरेको पाइन्छ ।

    यसरी एक जनाको १०,००० देखि १५–२० हजारसम्म पर्ने गरेको तीर्थयात्रीहरुको गुनासो छ । त्यस्तै हुने खानेका लागि त हेलिकप्टर चार्टर्ड गरी पाथीभरा मन्दिर पुग्ने व्यवस्था पनि छ । त्यसैले आम नागरिकलाई पाथीभरा देवीको दर्शनलाई सहज बनाउने, अहिलेको तुलनामा तीन चार गुणा तीर्थयात्रीरपर्यटक भित्र्याउने, स्थानीयलाई रोजगारी र स्वरोजगारीको अवसर सृजना गर्ने, नागरिकको जीवनस्तर सुधार्ने, वातावरण र जैविक विविधता जोगाउने उष्कृष्ट यातायातको एकमात्र माध्यम केबलकार हो ।


    यसका अतिरिक्त केबलकारले आर्जन गरेको नाफाको केही प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय निकायमार्फत स्वास्थ्य, शिक्षा, स्थानीय पूर्वाधारलगायतमा खर्च गरिने कुरा आयोजनाले स्पष्ट गर्दै पनि आएको छ ।

    आइएमई समूह पाथीभरा केबलकार कम्पनीमा करिब दुई वर्ष पहिलेमात्र संलग्न भएको हो । चार दशकअघिदेखि केबलकार निर्माणको विषय उठेको यस पवित्र धार्मिकस्थलमा २०७५ मा केबलकार कम्पनी स्थापना गरी काम अघि बढेको देखिन्छ । त्यसैले केबलकार बनाउने वा नबनाउने कुरा आज आएर राष्ट्रियकरण गएिको उनले बताए । आइएमई ग्रुपको संलग्नतापछि केबलकार निर्माणको विषयले गति लिएको हो ।

  • प्रधानमन्त्री र सातै प्रदेशका मूख्यमन्त्रीहरु बीच भर्चुअल बैठक, के भयो कुराकानी ?

    प्रधानमन्त्री र सातै प्रदेशका मूख्यमन्त्रीहरु बीच भर्चुअल बैठक, के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रूम’ बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग पहिलो पटक यसप्रकारको संवाद गरेका हुन् ।

    करिब साढे दुई घण्टा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्लाएक्लै छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी जुट्दा थप छलफल गर्दै जाने विश्वास दिलाए ।

    प्रधानमन्त्री ओलीले सकेसम्म प्रदेशमै पुगेर र कतिपय प्रदेशसभामा पनि पुगेर राष्ट्र निर्माणबारे केन्द्र र प्रदेशका सोचबारे विमर्श गर्ने र समस्याको पहिचान गरी कार्यान्वयनको ‘एक्सन’ मा जाने जानकारी दिए । उनले अहिलेको सूचना र प्रविधिको जमानामा यसको उपयोग गरी जिल्ला तह र आयोजनागत रूपमा मुख्यमन्त्रीहरूले यस्ता छलफल गर्न सकिने सुझाव दिए ।

    प्रधानमन्त्री ओलीले आफू पहिला प्रधानमन्त्री हुँदा सिंहदरबारस्थित कार्यालयमा एक्सन रूमबाट देशभरका निर्माणाधीन आयोजनाबारे अनुगमन र छलफल गर्न थालेको स्मरण गराउँदै यस कक्षको उपयोगलाई बढाउँदै जाने बताए । प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई०मा ४८ प्रतिशत विद्यार्थी मात्रै उतीर्ण हुने अवस्था सुधार्न आफूले केही युवाको सहयोगमा अनलाइन माध्यमबाट मुख्य विषयमा अतिरिक्त कक्षा सञ्चालनको आरम्भ गराएको बताउँदै यसमा ५७ हजार विद्यार्थी सहभागी जानकारी गराए ।

    आगामी वर्षदेखि यसैवर्षदेखि यसप्रकारको तयारी गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले विकासको आधारका रूपमा शिक्षालाई लिनुपर्नेमा जोड दिए । उनले डिजिटल नेपालतर्फ आफूहरू अघि बढेकाले स्वास्थ्यलगायत अन्य क्षेत्रमा पनि सूचना र प्रविधिको उपयोग गरेर जनतालाई लाभ दिन सकिने बताए ।


    संवादमा मुख्यमन्त्रीहरूले यस प्रकारको छलफलमा राखिएकामा आभार व्यक्त गर्दै आफ्ना सरकारले चालु आर्थिक वर्षको हालसम्म हासिल गरेका भौतिक र वित्तीय प्रगति, विद्यमान चुनौती र समस्या समाधानका उपायबारे अवगत गराएका थिए । उनीहरूले बहुवर्षीय ठेक्का लागेका कार्यक्रमहरूमा बजेटको निरन्तरतासहित अनुदान रकम वृद्धि हुनुपर्ने, आयोजना सञ्चालनका लागि रूख कटान र जग्गा प्राप्तिमा सहजता हुनुपर्ने, विपद् व्यवस्थापनमा बजेट थपिनुपर्ने, जनशक्ति व्यवस्थापन, भन्सारमा हुने चोरी–निकासी नियन्त्रण गर्नुपर्ने, गण्डकीलाई पर्यटकको केन्द्रका रूपमा विकास गर्न निर्माणाधीन सडक विस्तार छिटो सम्पन्न गर्नुपर्ने, पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि मुअब्जा विवाद टुङ्ग्याउनुपर्ने, कार्यविस्तृतीकरण पुनःविचार गर्नुपर्ने, प्रदेशमा पर्यटक र आम्दानी वृद्धिका लागि सहजीकरण गरिनुपर्नेलगायत सुझाव दिएका थिए ।

    सरकारका मुख्यसचिव एकनारायण अर्यालले मुख्यमन्त्रीहरूले उठाएका समस्याका विषय सङ्घीय मन्त्रिपरिषद्को बैठक र सरकारका सचिवहरूको बैठकमा छलफलको विषय बनाइ सम्बोधन गरिने बताए । संवादमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा र उच्चाधिकारीहरूको सहभागिता थियो ।

    rss

  • २०८४ अगाडी सरकारमा जान्नौं, त्यसपछि एकल बहुमतको सरकार चलाउँछौं : प्रचण्ड

    २०८४ अगाडी सरकारमा जान्नौं, त्यसपछि एकल बहुमतको सरकार चलाउँछौं : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ मा एकल बहुमतले सरकार बनाउने दावि गरेका छन् । शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पार्टी ०८४ अघि सरकारमा नजाने स्पष्ट पारे । उनले ०८४ मा माओवादीले एकल बहुमतको सरकार बनाउने बताए ।

    २०८४ सालको संसदीय चुनावमा माओवादी पहिलो पार्टी बन्ने दाबीसहित उनले भने, ‘पहिलो पार्टी बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्छ, सबै मिलेर पहिलो पार्टी बनाउनुपर्छ ।’ एकताबद्ध ढङ्गले अघि बढेमा जित सुनिश्चत भएको उनको भनाई छ । यसअघि प्रचण्डले बिहीबार संसदमा सम्बोधन गर्दै माओवादी सत्ताको खेलमा नरहेको बताएका थिए । उनले अब माओवादी सच्चिने र सोही अनुसार जनतामा फर्किएको समेत बताएका छन् ।

  • रविमाथि सरकारले प्रतिशोध साँधेको छ, संसदले समर्थन गर्यो : रास्वपा

    रविमाथि सरकारले प्रतिशोध साँधेको छ, संसदले समर्थन गर्यो : रास्वपा

    काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डिपी अर्यालले सार्वभौम संसदले पनि रवि लामिछानेमाथि सरकारले साँधेको प्रतिशोधको समर्थन गरेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका कार्यवाहक सभापतिसमेत रहेका अर्यालले संसदको चौथो ठूलो दलको सभापतिसँग सरकारले प्रतिशोध साँधेको र त्यसलाई संसदले समर्थन गरेको बताएका हुन्।

    सरकारले त प्रतिशोध साँध्यो साँध्यो, सार्वभौम संसदले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महशुस भएको छ, उनले भने। उनले संसदको चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोध साँधिएको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्ने बताए। झुट्टा मुद्दा लगाएर फसाउने सरकारको कूनीयत जनताले बुझिसकेका छन्। सरकारको यस्तो रवैयालाई संसदले समर्थन नगरोस्। प्रतिनिधि सभा नियमावलीको सही प्रयोग होस्, उनले भने।

    त्यसकारण थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न अर्यालले माग गरे।

  • प्रधानमन्त्रीले आज सातै प्रदेशका मूख्यमन्त्रीहरुसँग संवाद गर्ने

    प्रधानमन्त्रीले आज सातै प्रदेशका मूख्यमन्त्रीहरुसँग संवाद गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् । तत्कालीन समयमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी बनाइएको सोही एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् ।

    प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुम अघिल्लो कार्यकालमा ओली आफैंले स्थापना गरेका हुन् । उनले १५ जेठ २०७६ देखि अत्याधुनिक सुविधासहितको एक्सन रुम तयार गरेर सञ्चालनमा ल्याएका थिए । ६ असोज, २०७६ मा एक्सन रुममा करिब एक घण्टा बसेर उनले विभिन्न आयोजनाहरुको प्रगति र अवस्था जानकारी लिएका थिए ।

    तर, त्यसपछि उक्त एक्सन रुमको उपयोग गर्ने कार्ययोजना नबनाई बिदा भएका थिए । त्यसपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवा एक्सन रुम प्रयोगमै ल्याएनन् । करिब ४ वर्षभन्दा बढी समयसम्म एक्सन रुम प्रयोगमा नआउँदा त्यहाँ जोडिएका अधिकांश उपकरण बिग्रिएका थिए । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्सन रुमबारे चासो देखाएपछि मर्मत सम्भार गरिएको थियो । तर, नियमित प्रयोगमा आएको थिएन ।

  • संसदमा प्रचण्ड : गहकिलो भाषणले सरकारमाथि प्रहार

    संसदमा प्रचण्ड : गहकिलो भाषणले सरकारमाथि प्रहार

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वतयारीसहित आज संसदमा भाषणा गरेका छन् । उनको भाषणको अहिले चर्चा भइरहेको छ । उनले लिखित भाषणा गरेका थिए । गहकिला शब्द संयोजनसहित भाषण गरेका उनले सरकारमाथि दर्जनौं प्रश्न सोझाएका छन् ।

    आफू नेतृत्वको सरकारले सुरु गरेका भ्रष्ट्राचार छानबिन प्रकरण अघि बढाउन सरकारलाई चुनौती दिए । उनले कांग्रेस–एमालेले विगतमा ३५ वर्षसम्म शासन गरेको उदाहरण प्रस्तुत गर्दै संसद् अधिवेशन सुरु हुनुभन्दा छ दिनअघि मात्रै अध्यादेश जारी गरेर सरकारले संसद्‌को अवहेलना गरेको आरोप लगाए। यी अध्यादेशहरू विकासका लागि हुन्थे भने संसदीय समितिमा भएका विचाराधीन विधेयकको छलफलमा सरकार किन डरायो, उनले प्रश्न गरे।

    स्वार्थ समूहको प्रभावमा सरकारले अध्यादेश जारी गरेको आरोप प्रचण्डले सरकारमाथि लगाएका छन्। प्रचण्डले भूमिसम्बन्धी अध्यादेशले भूमिहीन दलित र सुकुम्बासीको भूमिसम्बन्धी अधिकार खोस्ने प्रयत्न गरेको आरोप लगाएका छन्। सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेलाई र विरोध जनाउने टिसर्ट लगाउनेलाई समेत सरकारले थुन्ने र मुद्दा चलाउने गरेको आरोप उनले लगाए। प्रचण्डले संसद्‌मा दर्ता भएको सामाजिक सञ्जाल नियमन विधेयकमा पनि आपत्ति जनाएका छन्।

    अहिले त नागरिकलाई बोलेकै भरमा हत्कडीमा जिल्ला घुमाइरहेको सरकारले भोलि यो विधेयक पारित भयो भने के गर्ला ? प्रचण्डले भने। उनले सामाजिक सञ्जाल नियमन विधेयकले सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी ओलीले विरोधको त के कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न, एमालेकै केही नेताहरूमाथि भएको कारबाहीको प्रसङ्गप्रति सङ्केत गर्दै प्रचण्डले भने।

    उनले सामाजिक सञ्जाल विधेयकमा कांग्रेसको आधिकारिक धारणा माग गरे । तपाईँहरू सत्तामा मात्रै साझेदार हुनुहुन्छ कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेर केपी ओलीकै ठाउँमा पुग्नुभएको हो भनेर सोध्न चाहन्छु, विगतमा कांग्रेसले यस्ता विषयमा विरोध जनाएको प्रसङ्ग कोट्याउँदै प्रचण्डले भने। पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारले विपक्षी नेताहरूमाथि प्रतिशोध लिएको आरोप लगाएका छन्।

    उनले सहकारी अपचलनमा सिधै नजोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिशोधकै कारण पक्राउ गरेर मुद्दा चलाइएको आरोप लगाए। प्रचण्डले नयाँ जन्मिएका राजनीतिक दलहरूलाई पनि गठबन्धनले निमोठ्न खोजेको आरोप लगाएका छन्। सरकारले साना दलहरूलाई संसद्‌मा रोक्न प्रस्ताव गरेको नयाँ ुथ्रेश्होल्डुको कानुनले भविष्यमा कांग्रेस(एमालेलाई नै समस्यामा पार्न सक्ने चेतावनी दिए।

    प्रचण्डले नुवाकोटको शेरा दरबारको सम्पत्ति निजीकरण प्रकरणमा आफ्नो नाम जोड्ने प्रयास गरिएको आरोप लगाउँदै उक्त प्रकरणमा छानबिन गर्न चुनौती दिएका छन्। शेरा दरबारमा मेरो कहीँ कतै संलग्नता छ भने छानबिन गरियोस्, उनले भने। गत असारसम्म प्रधानमन्त्री रहेका प्रचण्डले सरकारले पूर्वाधारहरूको निर्माणमा अहिलेको सरकारले जस खोस्न खोजेको आरोप लगाए।

    निर्माणाधीन अवस्थामा रहेको र ४० प्रतिशत मात्रै काम सकिएको सिद्धबाबा सुरुङमार्गको जस लिन प्रधानमन्त्रीले हतार गरेको उदाहरण दिँदै प्रचण्डले नयाँ पूर्वाधारको निर्माण सुरु गर्न सरकारलाई चुनौती दिएका छन्। २०७९ माघमा काम सुरु भएको र अहिलेसम्म जम्मा ४०.१८ प्रतिशतको हाराहारीमा प्रगति भएको सिद्धबाबाको जस पनि छ महिनाअघिका प्रधानमन्त्रीले लिनुपर्ने ? प्रचण्डको प्रश्न थियो।

    निवर्तमान प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा भन्दा केपी ओली नेतृत्वको सरकारमा मुद्रास्फीति र मूल्यवृद्धि दुवै बढेको आरोप लगाए। प्रधानमन्त्रीले देशलाई युरोपकै छेउछाउ पुगिसक्न लागेजसरी संसद्‌मा चर्चा गरेको आरोप उनको थियो। छ महिनाअघि २.६ प्रतिशतले घटेको व्यापार घाटा यो सरकारको छ महिने अवधिमा ४.४ प्रतिशतले बढेर ७ सय २३ अर्ब पुगेको छ प्रचण्डले भने।

    उनले सरकार अनौपचारिक तथा अवैधानिक माध्यमलाई प्रवर्द्धन गरेर देशको अर्थतन्त्र कमजोर बनाउन लागेको आरोप लगाएका छन्। मैले सरकार छोड्दा मुद्रास्फीति ३.५७ प्रतिशत थियो, अहिले बढेर ५.४१ प्रतिशत पुगेको छ। खाद्यान्न मूल्यवृद्धि झन् गम्भीर रूपमा २८.५२ प्रतिशतले बढेर औसतमा ७.६७ प्रतिशत पुगेको छ, उनले भने।

    प्रचण्डले ब्याङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा पनि आफ्नो सरकारको तुलनामा अहिले घटेको दाबी गरेका छन्। प्रचण्डले विगतमा चुनाव अघि गठबन्धन नगर्ने वाचा गरेको कांग्रेसले गएको उपनिर्वाचनमा चुनाव चिन्ह नै भाडामा दिएको आरोप लगाए। कांग्रेसमा पहिले सुनिने गरेको गठबन्धनविरोधी गनगन अहिले कतै सुनिने गरेको छैन, प्रचण्डले भने। प्रचण्डले माओवादीका कारण सत्ता तलमाथि हुने आशङ्का गठबन्धनका नेताहरूले गरेको आरोप लगाए।

    प्रधानमन्त्रीले संसद् अधिवेशन सुरु हुँदा ढलेँ-ढलेँ बोलको गीत सुनाएर विपक्षीमाथि कटाक्ष गरेका थिए। तर प्रचण्डले आफूहरू सरकार ढाल्ने खेलमा नभएको दाबी गरे। हामी अब तपाईँहरूको सत्ताको खेलमा छैनौँ र हुने छैनौँ उनले भने। मैले यो गठबन्धन प्राकृतिक छैन, आफ्नै बोझले ढल्छ मात्रै भनेको हो, ढाल्छुु भनेको होइन। प्रचण्डले अहिले सरकारको खेलमा नभए पनि भविष्यमा माओवादीले आफ्नै सामर्थ्यमा सरकार बनाएर देखाउने दाबी गरे।

    पूर्वप्रधानमन्त्री प्रचण्डले अन्तर्जातीय विवाह गरेको एक जोडीलाई छुटाउन राज्य संयन्त्रको दुरुपयोग भएको आरोप लगाए। नयाँ पत्रिका दैनिकले एक अन्तर्जातीय विवाह गरेको जोडीलाई छुटाउन गृहमन्त्रीकै निर्देशनमा प्रहरी र प्रशासनको दुरुपयोग भएको समाचार प्रकाशन गरेको थियो। यद्यपि गृह मन्त्रालय र प्रहरी प्रमुखको कार्यालयले समाचारको खण्डन गरेको छ। बिहीवारै पनि प्रचण्डले बोलेलगत्तै संसद्‌मा बोलेका गृहमन्त्री रमेश लेखकले उक्त आरोपको खण्डन गरेका छन्।

  • द्रुतमार्गको भौतिक प्रगति ३७ प्रतिशत मात्र, दुई वर्षमा सकिएला ?

    द्रुतमार्गको भौतिक प्रगति ३७ प्रतिशत मात्र, दुई वर्षमा सकिएला ?

    काठमाडौं । आगामी २०८३ सालमा सम्पन्न हुनुपर्ने गरी लक्ष्य राखिएको काठमाडौ–मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति ३७.६ प्रतिशतमात्र पुगेको छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यस आयोजनाबारे बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिफ्रिङ’ लिएका छन् । प्रधानमन्त्री ओलीले नेपाली सेनालाई दिएको जिम्मेवारी गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्देशन दिए ।

    उनले खोकना क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयलाई थप अध्ययन गरी प्रस्ताव ल्याउन समेत आग्रह गरेका छन् । बुधबारको छलफलमा सेनाले खोकनामा जग्गा अधिग्रहण र रुख कटानमा भएको ढिलाइबारे जानकारी गराएको थियो ।

    यो आयोजना २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतमा बन्दैछ । कुल ७०.९७ किलोमिटर लामो यो आयोजना २०७४ सालमा सुरु भएको थियो । आयोजना चैत २०८३ मा सक्नुपर्ने लक्ष्य छ । आयोजनाको वित्तीय प्रगति ३९.७४ प्रतिशत छ ।

  • पाथिभरा केवलकार विवाद : नेपालमा लगानीको वातावरण बिग्रने निजी क्षेत्रको चिन्ता

    पाथिभरा केवलकार विवाद : नेपालमा लगानीको वातावरण बिग्रने निजी क्षेत्रको चिन्ता

    काठमाडौं । नेपालका तीन निजी क्षेत्रका संस्थाहरुले पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न केबलकार निर्माणलाई लिएर भइरहेको बन्द हडतालले मुलुकको पूर्वाधार विकासका लगानीमैत्री वातावरण बिथोलिने बताएका छन् । केबलकार परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निजी क्षेत्रले बन्द हडतालका कार्यक्रम तत्काल रोक्नसमेत आग्रह गरेका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवनसमेत अस्तव्यस्त भएको, सर्वसाधारणले सास्ती भोग्नु परेको र यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुने बताएका छन् ।

    ‘नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सर्वविदितै छ, उद्योग, व्यापार, बैंकिङ, उर्जा, कृषि, पर्यटन, सञ्चारलगायत विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालाहरूलाई यस विषयमा गम्भीर बन्न, विकास निर्माणलाई सहज र निर्बाध रुपमा सञ्चालन गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दछौं । ’

    पर्यटनमा निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरिसकेको, हजारौं नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको अवस्थामा पाथीभरा ९मुक्कुम्लुङ० मा बन्ने पर्यटकीय पूर्वाधारले त्यहाँ जान चाहने वृद्धवृद्धा, अशक्त बालबालिकासहित अन्य यात्रुहरूलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउनुका साथै पूर्वाधार निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा सहासिक पर्यटन प्रवर्द्धन, कृषि, हस्तकलाको विकासमार्फत व्यवसायको प्रवर्द्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने र देशकै पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा उल्लेख छ ।

    ‘केबलकार निर्माणका लागि स्थानीय तह र स्थानीय बासिन्दाहरु सहमत रहेको बन्नु पर्छ भन्ने धारणा राखिरहेको सन्दर्भमा केबलकार बन्न दिनु हुँदैन भनेर बाहृय हस्तक्षेपसहित केबलकार निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद् मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयासका रुपमा निजी क्षेत्रले लिएको छ,ु विज्ञप्तिमा उल्लेख छ ।


    उनीहरुले विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोध मात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुनुको साथै नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई यसले नकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् । समस्याको समाधान वार्ताबाट गर्न सकिने जनाउँदै विकासको यो प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न र पाथीभरा (मुक्कुम्लुङ) केबलकार परियोजनालाई सहज र निर्वाध रूपमा अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई निजी क्षेत्रले आग्रह गरेका छन् ।

  • सेवा प्रवाह प्रभावकारी बनाउन प्रविधिमा जोड गरौं : अर्थमन्त्री

    सेवा प्रवाह प्रभावकारी बनाउन प्रविधिमा जोड गरौं : अर्थमन्त्री

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवा प्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणाली पूर्णरूपमा आधुनिक, प्रभावकारी एवं विश्वसनीय बनाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय र मातहत निकायमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित छलफलमा उनले त्यस्तो निर्देशन दिएका हुन् । वर्तमान अवस्थामा सेवा प्रवाह चुस्तदुरुस्त एवं छिटोछरितो र प्रभावकारी बनाउन सूचना प्रविधि प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अब तदर्थवादी ढंगले चल्ने स्थिति नरहेको बताए ।

    सेवा प्रवाह भरपर्दो र अविछिन्न ‍बनाउन अत्याधुनिक प्रविधि प्रयोग बढाउँदै जानुपर्ने, सूचना प्रणालीका कारण कुनै पनि काम प्रभावित हुन नहुने, साथै प्रविधि सञ्चालनका लागि आवश्यक योग्य जनशक्ति र प्राविधिक सक्षमता विकसित गर्दै जानसमेत उनले सम्बन्धित अधिकारीलाई निर्देशन दिए । हरेक निकाय सूचना प्रणालीमा सक्षम भएमात्र गुणस्तरीय सेवा प्रवाह हुन सक्ने अर्थमन्त्रीको भनाइ छ ।

    छलफलमा सहभागी निकायका अधिकारीले आ–आफ्ना निकायमा सञ्चालनमा रहेका सूचना प्रविधि सम्बन्धी प्रणालीको आवधिक सेक्युरिटी अडिट गर्ने गरिएको र सुरक्षाका दृष्टिकोणले सबल रहेको बताउँदै प्रणालीको ब्याकअप क्षमता वृद्धि गर्न थप लगानी योजना प्रस्तुत गरेका थिए । साथै, सूचना प्रविधि प्रयोग बढाउँदै जाँदा दक्ष प्राविधिक जनशक्ति माग बढ्दै जाने तर त्यस्ता जनशक्ति संस्थाभित्र टिकाइ राख्‍न न्यून सेवा सुविधाका कारण चुनौतीपूर्ण रहेको बताएका थिए ।

    यस्ता समस्या सम्बोधन गर्न सरकारले उपयुक्त नीतिगत निर्णय लिने पनि अर्थमन्त्री पौडेलले बताए । बैठकमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, महालेखा नियन्त्रकको कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नागरिक लगानी कोष, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नागरिक लगानी कोष, नेपाल स्टक एक्स्चेन्ज, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड लगायतका अधिकारीहरू सहभागी थिए ।