Category: बिचार

  • कांग्रेस सभापति थापाले दिए : आभार, सम्मान र बधाई

    कांग्रेस सभापति थापाले दिए : आभार, सम्मान र बधाई


    २१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताका लागि आभार, सम्मान र बधाई दिएका छन् । उनले यसबाट लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको बताएका छन् ।

    निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ ।’

    उनले केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् । निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई प्रकट गरेका छन् । साथै, निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेका राजनीतिक दलहरू, सञ्चारकर्मी मित्रहरू तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

  • पत्रकारलाई निर्वाचनमा सहज रूपमा समाचार सङ्कलनको व्यवस्था गर्न महासङ्घको माग

    पत्रकारलाई निर्वाचनमा सहज रूपमा समाचार सङ्कलनको व्यवस्था गर्न महासङ्घको माग

    काठमाडौँ, २१ फागुनः नेपाल पत्रकार महासङ्घले पत्रकारलाई मतगणनाको समाचार सङ्कलन रूपमा गर्ने व्यवस्थाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग माग गरेको छ । महासङ्घले बुधबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको समाचार सङ्कलनमा प्रशासनिक झन्झट व्यहोर्नुपरेको भनी देशभरबाट पत्रकार तथा सञ्चारगृहले गुनासो गरेको उल्लेख गर्दै सूचना विभाग तथा अन्य सरकारी निकायबाट जारी प्रेस पास, सम्बद्ध सञ्चारगृह वा नेपाल पत्रकार महासङ्घको परिचयपत्रका आधारमा मतदान, मतगणनाको समाचार सङ्कलनको व्यवस्था गर्न माग गरेको हो ।

    मतदानको अघिल्लो दिनसम्म पत्रकार र सञ्चारगृहले सहज रूपमा जनतासमक्ष सूचना पु¥याउने दायित्व पूरा गर्ने वातावरण नबनेकामा महासङ्घले दुःख व्यक्त गरेको छ । पारदर्शी, स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि नेपाली प्रेसजगत्को भूमिका रहिआएको सन्दर्भमा प्रेसलाई आफ्नो दायित्व निर्वाहमा सहजीकरण र समन्वय गर्नु सम्बद्ध निकायको कर्तव्य हुन आउने उल्लेख गर्दै महासङ्घले अन्यथा निर्वाचनप्रति नै आशङ्का सिर्जना हुन सक्नेतर्फ गम्भीर हुन महासङ्घ सम्बद्ध पक्षको ध्यानाकर्षणसमेत गराएको छ ।

    महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचनका क्रममा सबैखाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन महासङ्घ माग गर्दछ र पत्रकारहरूसमक्ष सुरक्षित रूपमा कार्यथलोमा खटिन र तटस्थता कायम राख्दै निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको परिपालना गर्न आहृवान गर्दछ । यसतर्फ प्रेरित गर्दै आफ्ना सदस्यहरूका समस्या समाधानमा क्रियाशील हुन महासङ्घका सबै प्रदेश समिति, शाखा समिति र संस्थागत सदस्य संस्थाहरूलाई अपिल गरिन्छ ।”

  • शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक दाहाल विश्वस्त

    शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक दाहाल विश्वस्त

    चितवन, २० फागुनः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने बताएका छन् । मतदानका लागि आज चितवन आएका दाहालले निर्वाचन शान्तिपूर्ण हुनेमा आफू विश्वस्त रहेको बताए । सबै राजनीतिक दलहरुको सहभागितामा निर्वाचन हुने भएकाले कुनै समस्या नहुनेमा आफू ढुक्क रहेको उनले बताए ।

    पूर्वप्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी स्कुल मतदान केन्द्रमा मतदान गर्नेछन् । यो स्थानमा एक हजार ८६५ मतदाता र दुई वटा मतदान केन्द्र छन् । यही केन्द्रबाट राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पनि मतदान गर्नेछन् ।

  • निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

    निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

    काठमाडौँ, २० फागुनः निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम मतदातालाई आग्रह गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरे ।


    कावा प्रमुख आयुक्त भण्डारीले लोकतान्त्रिक वैद्यतालाई नवीकरण गर्ने संवैधानिक अभ्यासका रूपमा हुन लागेको निर्वाचन सहभागी भई आफ्नो अमूल्य मत प्रदान गर्न आह्वान गरे । निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

    त्यस्तै सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।

    निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । एक सय ४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका कावा प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।

    निर्वाचनमा दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कूल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।

  • निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

    निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

    काठमाडौँ, २० फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि मतदान सुरक्षा पूर्ण रूपमा सुनिश्चित गरिएको जानकारी दिएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्र्दभमा समग्र शान्ति सुरक्षा र निर्वाचन तयारीबारे आज गृह मन्त्रालयमा सञ्चारकर्मीसँगको अन्तक्र्रियाका क्रममा नेपाल सरकारका प्रवक्ता अर्यालले यस पटकको निर्वाचन पहिलेभन्दा बढी सुदृढ, स्वच्छ र भयरहित हुने विश्वास व्यक्त गरे ।

    गृहमन्त्री अर्यालले भने, “सबै सुरक्षा संयन्त्रहरू मतदानस्थलसम्म परिचालित भइसकेका छन् । आवश्यक परेको खण्डमा सहज नियन्त्रणको लागि सबै तयारी छ ।” उनले निर्वाचनका क्रममा कुनै अवैध गतिविधि भए कानुनी कारबाही गर्ने र दोषीलाई अदालतमा पेस गरिने स्पष्ट गरे । यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यक परेमा नेपाली सेनाले सुरक्षा सहायता प्रदान गर्ने योजनाबारे समेत जानकारी दिए ।


    गृहमन्त्री अर्यालले मतदातालाई सुझबुझका साथ मतदान गर्न आग्रह गर्दै भने, “निर्वाचनले प्रतिनिधि छान्ने मात्र नभई राजनीतिक सुशासन कायम गर्न महत्वपूर्ण योगदान दिनेछ । मतदाताले सुझबुझका साथ मतदान गर्नुहुनेछ ।” मतपत्र व्यवस्थापन प्रक्रिया विगतमा झै एकीकृत निर्वाचन सुरक्षा योजनाअनुरुप हुने स्पष्ट पार्दै उनले मतदान समाप्त भएपछि मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा ल्याउने व्यवस्था पनि सुरक्षित रूपमा योजनाअनुरुप नै हुने बताए ।

  • सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

    सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

    काठमाडौँ, १८ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा सरिक आह्वान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर निर्णय लिन आह्वान गरेकी छिन् । प्रधानमन्त्रीले भनेकी छिन्, “भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईंले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो ।”

    यही फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दै भनेकी छिन्, “निर्वाचनको सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु, शान्ति नै नेपालको असली पहिचान हो ।” प्रधानमन्त्री कार्कीले एउटा विशेष घडीमा आफूले मनका केही कुरा राख्न चाहेको उल्लेख गर्दै देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको र यही फागुन २१ गतेका दिन आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्ने बताएकी छिन् ।


    “इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु,” प्रधानमन्त्री कार्कीले भनिन्, “मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ। अब केही दिनमा यो देशको बागडोर तपाईंहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ, आउनुहोस्, होलीको खुसी साटौँ, फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ ।”

    प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो । सडकमा युवाको आक्रोश, डर भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भनेकी छिन्, “त्यो कठिन सङ्क्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डो¥याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो ।” प्रधानमन्त्री कार्कीले चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिँदै भनेकी छिन्, “तपाईंहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो, चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनु हुँदैन ।”

    मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढङ्गले, एक–अर्कालाई सम्मान गर्दै उहाँले निर्वाचन प्रचार–प्रसार गर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई आग्रह गरेकी छिन् । “यस महान् कार्यमा खटिनुभएका निर्वाचन आयोग, सुरक्षा निकायका साथीहरू र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु,” प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा भनेकी छिन्, “तपाईंहरूको निष्पक्षता र मेहनतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ ।”

    प्रधानमन्त्री कार्कीले सांस्कृतिक पर्व होली अर्थात् फागु पूर्णिका अवसरमा रङहरूको यो उत्सव र निर्वाचनको यो तयारी दुवै हाम्रा लागि उत्तिकै अर्थपूर्ण रहेको बताएकी छिन् । “आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन सङ्क्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ । विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ,” प्रधानमन्त्रीले कार्कीले भनेकी छिन्, “यो उपलब्धि तपाईं–हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो ।”

    प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको उल्लेख गर्दै निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेको बताएकी छिन् । “प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग पुर्‍याएका छन्, नेपाल सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत–साधन परिचालन गरेका छन्,” प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा भनेकी छिन्, “राष्ट्रपतिले गर्नुभएको अभिभावकीय सहयोगप्रति व्यक्तिगत रूपमा म र वर्तमान सरकार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।”

    छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापन गर्न सकेकामा मित्रराष्ट्रहरू तथा अन्तरराष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेको र निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रहरूलाई सबैलाई प्रधानमन्त्री कार्कीले धन्यवाद दिन दिएकी छिन् ।
    साथै, उनले संयुक्त राष्ट्र सङ्घीय निकायहरूबाट प्राप्त सहयोगका लागि पनि आभारी व्यक्त गरेकी छिन् ।

    “सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको पनि तपाईंहरूलाई जानकारी गराउँदछु,” प्रधानमन्त्री कार्कीले आफ्नो अपिलमा भनेकी छिन्, “साथै त्यस्ता भ्रममा नपर्न, त्यस्ता तत्त्वको पछि नलाग्न र मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न म सबै देशवासीलाई विनम्र आग्रह गर्दछु ।”

    प्रधानमन्त्री कार्कीले मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम सरकारबाट नहुने उल्लेख गर्दै कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि नहट्ने बताएकी छिन् । “यो रङहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ । हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ, निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाओस्,” उनले भने, “तर, म आग्रह गर्छु– होली मनाउँदा संयम अपनाऔँ, कसैको इच्छाविपरीत रङ नलगाइदिऊँ ।”

    प्रधानमन्त्री कार्कीले मध्यपूर्वी क्षेत्रमा युद्धको सङ्कट गहिरिएको उल्लेख गर्दै इरान र वरपरको तनावले चिन्तित बनाएको उल्लेख गर्र्दै विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको र त्यहाँ रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय बताइन् । उनले भनेकी छिन्, “त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगलाई सुरक्षासहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ, परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ, हामी हरदम तपाईंहरूको साथमा छौँ, नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ ।”

  • राष्ट्रपतिबाट राष्ट्रका नाममा सम्बोधनः निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता

    राष्ट्रपतिबाट राष्ट्रका नाममा सम्बोधनः निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता

    रासस
    काठमाडौँ, १८ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको उल्लेख गरे ।

    राष्ट्रपति पौडेलले भने, “निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रूपमा हुन गइरहेको छ । यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर हो । त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व हो ।”

    उनले निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउने विश्वास व्यक्त गरे । “देशले विगतका केही वर्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । लामो सङ्घर्ष र त्यागपछि हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ । सबैलाई थाहा छ, आज नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित भएको छ”, राष्ट्रपति पौडेलले भने, “यस निर्वाचनले निरङ्कुशताविरुद्ध लामो सङ्घर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ ।”

    सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्दै प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्दै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, दलित, महिला तथा विपन्न समुदायको अधिकारलाई मजबुत बनाउने प्रयास सुरु भएको बताए । “पछिल्लो दशकमा शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा र सञ्चार पूर्वाधारमा उल्लेख्य प्रगतिका साथ देश अगाडि बढिरहेको छ । यी उपलब्धि सहजै प्राप्त भएका होइनन्, यी जनताको बलिदान र अटुट विश्वासका साथै उनीहरूको सक्रिय सहभागिताको परिणाम हुन्”, सम्बोधनमा उनलले भने ।


    सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम गनुपर्ने आश्यकता औँल्याउँदै राष्ट्रपति पौडेलले आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित निकायलाई निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहन आग्रह गरेका छन् ।

    राष्ट्रपति पौडेलले मतभिन्नता स्वाभाविक भए पनि सहिष्णुता, मर्यादा र विधिको शासनप्रति सम्मान हाम्रो साझा मूल्य हुनुपर्नेमा जोड दिए । उनले भने, “आउनुहोस्, हामी सबै मिलेर लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवर्द्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने सङ्कल्पका साथ यस ऐतिहासिक निर्वाचनमा सहभागी बनौँ ।”

  • सामाजिक सञ्जालमा मात्रै हैन घर-घरमा पुगौँः सभापति थापा

    सामाजिक सञ्जालमा मात्रै हैन घर-घरमा पुगौँः सभापति थापा

    गलकोट (बागलुङ), १५ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा ठूलो तागत सङ्गठन भएकाले त्यसैको सहारामा घर–घर पुग्नुपर्ने बताएका छन् । आज बागलुङ बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको तागतमा नभएर पार्टी आफ्नै सङ्गठनको तागतमा उभिएकाले जनताको घर–घरमा पुगेर आफ्ना कुरा राख्न र भोट माग्न आह्वान गरे । सभापति थापाले सामाजिक सञ्जालमार्फत अरूलाई टीकाटिप्पणी र आक्षेप नलगाई कार्यकर्ताको घरमा पुग्न र अबको पाँच वर्ष खेर नफाल्नेमा आश्वस्त पार्न आग्रह गरे ।


    “कांग्रेस एउटा सङ्कल्प र प्रतिज्ञा गरेर आएको छ, त्यसका लागि पाँच वर्ष जनताले मौका दिन आवश्यक छ । त्यसको आधार र कारणबारे बताउनुस् । यो पाँच वर्ष जोखिमपूर्ण ढङ्गले बनाइएको संविधान बचाउने र सहर तथा गाउँलाई जोड्नुपर्नेछ”, उनले भने, “सम्हाल्दै, सुधार्दै र अघि बढ्दै जाने तागत कांग्रेससँग मात्रै छ । मतदाताको बीचमा गएर यो कुरा भन्नुस् । खुलेर पार्टीको ‘भिजन १०’ का बारेमा बुझाउनुहोस् ।” कांग्रेस युवाहरूको मागअनुसार रूपान्तरण भएको बताउँदै सभापित थापाले अनुभवी र बदलिएको यही कांग्रेसले अब युवाहरूको भावनालाई सम्बोधन गर्ने बताए ।

  • सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेले नै जलाएः सभापति लामिछाने

    सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेले नै जलाएः सभापति लामिछाने

    चितवन, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा भएका आगजनीको आरोप पुराना दलहरूलाई लगाएका छन् । उनले आज यहाँ आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै भने, “सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनाए ।”

    आफूहरू जनतालाई सुशासनको प्रत्याभूति गराउन आएको उनको भनाइ थियो । उनले भने, “हामीलाई यसपटक हेर्नुस् परिवर्तन नभए तपाईँहरूको पार्टीमा समाहित हुन्छौँ ।” पाँच वर्ष रास्वपालाई काम गर्ने अवसर दिनसमेत उनले मतदातालाई आग्रह गरे । जेनजीको भावनालाई आत्मसात् गर्दै परिवर्तनको पक्षमा मतदान गर्न उनले आग्रह गरे ।


    त्यसैगरी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले नेपालको उत्पादनलाई प्रयोग गर्ने प्रचलन बढाउन आवश्यक रहेको बताए । अहिले कृषि र पर्यटन क्षेत्रमा समस्या रहेकाले उहाँले आगामी दिनमा यी समस्याहरूको समाधान गर्न आफूहरूलाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन् । चितवनले सिङ्गो देशलाई पर्यटन व्यवसाय कसरी गर्ने भनेर सिकाइ रहेको बताउँदै उनले चितवनले बदलेको देशलाई सबैले मिलेर सहयोग गर्न आवश्यक रहेको बर्ताए ।

    उनले भने, “आफ्नो घरमा खाने गरेको खानेकुरा पर्यटकलाई बेचेर पर्यटन व्यवसायमात्रै गरेका छैनन्, नेपाललाई विश्वमा चिनाएका छन् । चितवनवासीबाट सिङ्गो देशले सिक्नुपर्छ ।” किसानले उत्पादन गरेको दूध, तरकारी सडकमा बगाउनुको एउटै कारण तिनै नेताको सिन्डिकेटका कारण भएको उनले बताए ।

    कार्यक्रममा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा जनतालाई भयबाट मुक्त गर्दै आशाको राजनीतिबाट माथि उठाउन आएको बताए । कार्यक्रममा रास्वपाका नेताहरू सोविता गौतम, हरि ढकाल, गण्डकी प्रदेश अध्यक्ष राजन गौतमलगायतले सम्बोधन गरेका थिए ।

  • सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : सभापति लामिछाने

    सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : सभापति लामिछाने

    गोरखा, १४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताएका छन् । आज रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गरे ।

    “यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार जलायो, विध्वंस ग¥यो भनेर । तर २३ गते गोली नचलेको भए केही पनि जल्ने थिएन”, उनले भने, “जो ढल्यो, त्यो फेरि कहिल्यै उठ्दैन । रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन । सिंहदरबार हामी पुनः निर्माण गर्छौँ । सरकारी संरचना जलेकामा हामीले गौरव गरेका छैनौँ ।” आफू वा कोही पनि प्रश्न भन्दामाथि नरहेको उनले बताए । लामिछानेले आजै पालुङटार नगरपालिकामा आयोजित चुनावी सभामा समेत सम्बोधन गरेका थिए ।

  • पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुस्ः सभापति थापा

    पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुस्ः सभापति थापा

    जानकी (बाँके), १४ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताएका छन् । उनले आगामी चुनावपछि काम गरेर देश अघि बढाउनुपर्ने बताएका थिए । बाँकेको जानकी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति थापाले मतदातालाई घरघरमा गएर रुखमा मतदानका लागि अनुरोध गर्दै उक्त कुरा बताएका हुन् । बाँकेका मतदातालाई सम्बोधन गर्दै थापाले स्व सुशील कोइरालाले बनाएको संविधानको राजमार्गमा कांग्रेसको गाडी रफ्तारमा दौडाउने उल्लेख गरे ।

    सुशासनका लागि आगामी ५ वर्षका लागि कांग्रेसले ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गर्नुपर्ने उनको भनाइ थियो । विसं २०४६ पछिका भ्रष्टाचारका मुद्दा छानबिन गर्ने भन्दै सभापति थापाले हिजो गरेका गल्ति सच्याउनुपर्ने र हिजोको फोहर सफा गरिने बताए । पेटमा भोक छ, आँखामा सपना छ अनि सङ्कल्पसहित अघि बढ्ने योजना रहेको उल्लेख गर्दै सभापति थापाले पार्टी एक ढिक्का रहेको र कुनै समस्या नभएको बताए । चुनाव केन्द्रित कांग्रेसका सभालाई सम्बोधन गर्ने कार्यक्रमअन्तर्गत उनी आज बाँके पुगेका हुन् ।

  • नेकपा पहिलो दल बन्छ : प्रचण्ड

    नेकपा पहिलो दल बन्छ : प्रचण्ड

    काठमाडौँ, १३ फागुनः नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दल पहिलो हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज वाम बुद्धिजीवीसँगको छलफलमा उनले ६५ देखि ७० सिटसम्म प्रत्यक्षमै निर्वाचित हुने एक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको बताएका हुन् ।

    निर्वाचनको मितिसम्म पुग्दा नेकपाले अझै बढी मेहनत गरेमा नतिजा झनै राम्रो आउनसक्ने सम्भावना रहेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले पार्टीका चुनावी कार्यक्रम जनतालाई बुझाउन जरुरी रहेको उल्लेख गरे । पार्टीका पक्षमा जनमत सिर्जना गर्न बुद्धिजीवीहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले प्रतिबद्धतापत्र हरेक वडामा पु¥याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले भने, “अब निष्पक्ष निर्वाचन हुने हो भने परिणाम राम्रै हुने देखिन्छ ।”

  • कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा

    कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा

    धनकौल, १३ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई सम्हाल्ने सोच र योजनासहित चुनावमा आएको बताएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं ४ को बलरा नगरपालिकास्थित मिर्जापुरमा आज आयोजित चुनावी कार्यक्रममा उनले पुराना अनुभवलाई प्रयोग गरेर देशलाई जनअपेक्षाअनुसार सुधार गरेर अगाडि बढाउने बताए । सभापति थापाले सर्लाही ४ लाई लक्षित गर्दै सार्वजनिक गरिएको प्रतिज्ञा पत्रमा रहेको ‘जनता दलान’ कार्यक्रमअन्तर्गत क्षेत्रका मतदातासँग आफू सिधै सम्पर्कमा रहने बताए ।

    “मेरो कार्यालय यहाँ रहन्छ, यस क्षेत्रका मतदाताले मलाई उक्त कार्यालयमार्फत सिधै सम्पर्क गर्नसक्नु हुनेछ । म आफैँ पनि प्रत्येक महिनाको दुई दिन यहाँ आएर जनतासँग छलफल गर्नेछु”, उनले भने, “म यहाँको बेटा हुन आएको हुँ, बेटा बनेपछि निभाउने कर्तव्य मैले राम्रोसँग बुझेको छु । यस क्षेत्रका जनताले गर्व गर्ने किसिमले आगामी पाँच वर्ष काम गर्नेछु ।”

    सभापति थापाले मधेसको नेतृत्व गरेपछि मात्र आफू सिङ्गो राष्ट्रको नेतृत्वका लागि योग्य हुने बुझाइका साथ सर्लाहीबाट नै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिन आएको बताए । उनले यस क्षेत्रमा देखिएका धेरै समस्या आगामी एक वर्षभित्रमै न्यूनीकरण हुने बताए ।

    “मैले असल नियतले चुनौती दिएको हुँ । मधेसबाट निर्वाचन लड्ने आफ्नै पार्टीका अग्रज नेतालाई पनि मैले भनेको छु, आगामी एक वर्षमा मधेसका ३२ क्षेत्रमा हुने कामको मूल्याङकन गर्दा मेरो अङ्क बढी आउँछ । सबै प्रतिनिधिले आफ्ना क्षेत्रमा जनताको सेवासँगै शिक्षा, स्वास्थ्य र आवश्यकताअनुसारका काम गर्न सके गुनासो विस्तारै कम हुन्छ”, सभापति थापाले भने ।

  • रोजगारी, सुशासन र पारदर्शिता प्राथमिकतामाः सभापति लामिछाने

    रोजगारी, सुशासन र पारदर्शिता प्राथमिकतामाः सभापति लामिछाने

    धरान (सुनसरी), १२ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने बताएका छन् । आज इटहरीमा आयोजित पार्टीको परिवर्तन उद्घोष सभामा उहाँले देश नयाँ इतिहास लेख्ने चरणमा पुगेको उल्लेख गर्दै आगामी २१ मा हुने मतदानले परिवर्तनको दिशालाई स्पष्ट पार्ने विश्वास व्यक्त गरे ।

    निर्वाचनपछि प्राप्त परिणामलाई सबैले स्वीकार गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन आवश्यक रहेको उनले बताए । सभापति लामिछानेले देशमा विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचारविरुद्ध आफ्नो पार्टी कठोर रूपमा प्रस्तुत हुने बताए । उनले विसं २०४६ सालदेखि भएका सबै काण्डको छानबिन हुने बताए ।

  • ट्रम्पको प्रश्न : इरान किन झुकेको छैन ?

    ट्रम्पको प्रश्न : इरान किन झुकेको छैन ?

    जेरुसेलम, ११ फागुन (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन सम्झौतामा झुकेको छैन भन्ने प्रश्न उठाएको अमेरिकी दूत स्टिभ विटकफले बताएका छन् । आणविक सम्झौताबारे दबाब बढाइरहेका ट्रम्पले इरानले वासिङ्टनको चेतावनीलाई गम्भीर रूपमा किन नलिएको भन्ने जिज्ञासा व्यक्त गरेको उनले खुलासा गरे ।


    ओमानको मध्यस्थतामा संयुक्त राज्य अमेरिका र इरानबीच जेनेभामा वार्ता पुनः सुरु भइरहेका बेला वासिङ्टनले क्षेत्रमा दुई विमानवाहक पोत, लडाकू जेट र अतिरिक्त हतियार पठाएर आफ्नो चेतावनीलाई बलियो बनाएको छ । यसै सन्दर्भमा फक्स न्युजमा ट्रम्पकी बुहारी लारासँगको अन्तर्वार्तामा विटकफले राष्ट्रपति इरानको अडानप्रति ‘उत्सुक’ रहेको बताए ।

    “म ‘निराश’ शब्द प्रयोग गर्न चाहन्नँ, किनकि उहाँसँग धेरै विकल्प छन् भन्ने उहाँ बुझ्नुहुन्छ”, विटकफले भने, “तर उहाँ उत्सुक हुनुहुन्छ, उनीहरूले किन आत्मसमर्पण गरेनन् ?” उनले ‘आत्मसमर्पण’ शब्द प्रयोग गर्न हिच्किचाए पनि तीव्र सैन्य उपस्थिति र समुद्री शक्तिको दबाबका बीच इरान किन वार्तामा निर्णायक रूपमा अघि नबढेको भन्ने प्रश्न राष्ट्रपति उठाइरहेको उल्लेख गरे । “किन उनीहरू हामीकहाँ आएर ‘हामीलाई हतियार चाहिँदैन, हामी यस्तो गर्न तयार छौँ’ भनेर भन्दैनन् ?” उनले प्रश्न गरे ।


    अन्तर्वार्तामा विटकफले सन् १९७९ को इस्लामिक क्रान्तिपछि देश फर्कन नपाएका पूर्वयुवराज रेजा पहलवीसँग राष्ट्रपतिको निर्देशनमा भेट गरेको पुष्टि गरे । तर विस्तृत विवरण दिएनन् । गत साता अमेरिकास्थित पहलवीले म्युनिखमा ट्रम्पद्वारा शासन परिवर्तन इरानका लागि उपयुक्त हुनसक्ने चर्चा भइरहेका बेला आफू ‘धर्मनिरपेक्ष लोकतान्त्रिक भविष्य’ का लागि देशको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।
    विटकफको टिप्पणी इरानी विदेशमन्त्री अब्बास अराघचीले वासिङ्टनसँग सम्भावित सम्झौताको मस्यौदा प्रस्ताव केही दिनभित्र तयार हुने सङ्केत दिएको पृष्ठभूमिमा आएको हो ।

    ट्रम्पले बिहीबार इरानलाई आफ्नो आणविक कार्यक्रमसम्बन्धी चिन्ताहरूमा सहमति जनाउन अधिकतम १५ दिनको समयसीमा दिएका थिए । जेनेभामा वार्ता जारी रहँदा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले मङ्गलबार ट्रम्प इस्लामिक गणतन्त्रलाई नष्ट गर्न सफल नहुने बताएका थिए । पश्चिमी मुलुकहरूले इरानमाथि आणविक हतियार विकास गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै आएका छन्, जसलाई तेहरानले अस्वीकार गर्दै नागरिक प्रयोजनका लागि युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार रहेको दाबी गर्दै आएको छ ।

    इरानले आर्थिक प्रतिबन्धका कारण अर्थतन्त्रमा परेको ठूलो दबाब अन्त्य गर्न वार्ता चाहेको बताउँदै आएको छ । तेहरानले डिसेम्बरमा भएको सरकारविरोधी प्रदर्शनमा बाह्य शक्तिको भूमिका रहेको आरोप लगाउँदै आएको छ । यी सबै घटनाक्रमबीच ट्रम्प प्रशासनको कडा अडान र इरानको प्रतिरोधी प्रतिक्रिया आगामी दिनमा वार्ताको दिशानिर्देशन गर्ने निर्णायक तत्व बन्न सक्ने देखिएको छ ।

  • निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री

    निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री

    काठमाडौँ, १० फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् । आज रासससँग कुराकानी गर्दै उनले भने, “सरकारको प्रमुख प्राथमिकता तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हो । त्यसैले निष्पक्ष निर्वाचनका लागि अपरिहार्य मानिएको सुरक्षा व्यवस्था चुस्त र मजबुत बनाएका छौँ । सबै मतदातालाई निर्धक्क र ढुक्क भएर शान्तिपूर्ण रूपमा मतदान गर्न आग्रह गर्दछौँ ।”

    सरकारले निर्वाचन प्रहरी छनोटदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने काम गरेको उल्लेख गर्दै उनले एकीकृत सुरक्षा योजना लागू गरेर सुरक्षा संवेदनशीलताका आधारमा देशैभरि सुरक्षा व्यवस्थालाई सुदृढ र सबल बनाइएको बताए । मन्त्री अर्यालले निर्वाचनसम्बन्धी कमान्ड पोष्ट केन्द्रमार्फत प्रदेश तथा जिल्लास्तरमा रहेर काम भइरहेको, एकीकृत सुरक्षा योजनाले परिकल्पना गरेका संयन्त्रमार्फत निर्वाचन सेलहरु परिचालन गरिएको र गृह प्रशासनले दिनहुँजसो अवस्था, आवश्यकता र चुनौती विश्लेषण गरेर काम गरिरहेको जानकारी दिए । एक प्रश्नको जवाफमा हालै देखिएका केही छिटपुट झडपलगायत घटनाले निर्वाचनलाई कुनै असर नगर्ने उनको भनाइ थियो ।

    ती घटना नियन्त्रणभित्रै रहेका र चुनावलाई असर नपार्ने किसिमले गृह प्रशासनले ‘ह्यान्डल’ गरिरहेको उनको भनाइ थियो । मन्त्री आर्यालले गत भदौको जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी एवं लुटिएका हतियार अब सुरक्षा चुनौती नरहेको पनि स्पष्ट गरे ।

    उनले भने, “धेरैजसो हतियार र भागेका कैदीबन्दी फिर्ता गरिसकेका छौँ । जेजति बाहिर हुनुहुन्छ उहाँहरूलाई पनि फिर्ता गराउन पहिलाभन्दा अझ बढी मेहनत गरिरहेका छौँ । सबैतिर सुरक्षाकर्मी परिचालित छन् र सरोकार भएकाहरूलाई पनि त्यस्तो कुनै सूचना भएमा जानकारी गराउन अनुरोध गरेका छौँ । भागेकाहरूले बाहिर गएर फेरि अपराध गरेका तथा ती हतियार प्रयोग गरेका सूचना अहिलेसम्म आएका छैनन् । अब त्यस खालको असुुरक्षाको भय छैन ।”

    एक अर्को प्रश्नमा मन्त्री अर्यालले फागुन २१ गते निर्वाचन नगर्ने छुट सरकारलाई नरहेको पनि स्पष्ट गरे । वर्तमान सरकार विशेषतः चुनावी सरकार रहेकाले सोहीबमोजिम निर्वाचनलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँदै उनले संविधानले नै संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था गरेकाले सरकार या कोही पनि यो चुनावबाट भाग्ने या पन्छिने कुरै नआउने बताए ।


    “यो निर्वाचन एक प्रकारले हाम्रो निष्ठाको जाँच नै भन्दा हुन्छ । हामीले समयमै निष्पक्ष निर्वाचन गराउने र निर्वाचित सरकारलाई प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने शपथ खाएका छौँ । चुनाव सार्ने या सर्ने भन्ने नै हुँदैन”, मन्त्री अर्यालले भने, “सबै खाले परिस्थितिलाई काबुमा राखेका छौँ र निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण प्रक्रिया पनि पूरा गरिसकेका छौँ । अब मतदानका लागि धेरै दिन बाँकी छैनन् । त्यसैले चुनाव नहुने भन्ने आशङ्का या भय कसैले पनि पाल्नु हुँदैन ।”

    उनले निर्वाचन सार्ने भाष्य बनाउने र त्यस खालको परिस्थिति निर्माण गर्न खोज्ने प्रवृत्तिलाई मुलुकको राज्य संयन्त्रले निस्तेज पार्ने र जनताको साथ तथा सहयोगका साथ अघि बढ्ने पनि बताए । मन्त्री अर्यालले भने, “यो सरकार संवैधानिक रिक्ततालाई परिपूर्ति गर्ने र संवैधानिक व्यवस्थालाई पूर्ण रूपमा बहाली गर्ने प्रयोजनले आएको हो ।

    यो सरकार राज्यको एक अत्यन्तै फरक परिस्थितिले जन्माएको हो । राष्ट्रपतिज्यूले फागुन २१ गते नै निर्वाचनको मिति तोक्नाका कारण पनि संसद् विघटन भएको छ महिनाभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप नै हो । हामीले संविधानको रक्षा गर्ने र संविधानअनुसार चल्ने शपथ खाएका छौँ । सोही अनुसार हामीले निष्ठा जाँचिने गरी नै काम गर्नुपर्छ र समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ । यसबाट हामी या कोही पनि दायाँबायाँ हुने छुट नै छैन ।”

    उनले सरकार विधिको शासन र सुशासन बहाली गर्ने, जनतालाई दिनुपर्ने सेवा प्रवाहको अवस्थालाई अझ सुदृढ गर्ने र जनताको मन जित्ने बाटोबाट अगाडि बढेको बताए । मन्त्री अर्यालले सरकारले कुनै शासक नभएर सहजकर्ताका रूपमा राज्यस्तरमा समन्वयात्मक काम गरिरहेको बताए ।

    सरकार बनेको भोलिपल्टदेखि नै निर्वाचन आयोगलाई सम्पर्क गरेर मतदाता नामावली अद्यावधिकलगायत कामबाट निर्वाचन प्रक्रिया सुरु गरेको स्मरण गर्दै उनले अब मतदानको दिन आइसकेकाले जनताले निर्धक्क भएर मतदान गर्ने अवस्था रहेको उल्लेख गरे । “जसरी राज्यमा सिर्जना भएको विशेष परिस्थितिमा यो सरकार बन्यो, त्यस्तै विशिष्ट परिस्थितिमा यो निर्वाचन हुन गइरहेको छ । समयमै निर्वाचन सम्पन्न गरेर निर्वाचित प्रजातान्त्रिक सरकारलाई सत्ता हस्तान्तरण गर्न सबैले आ–आफ्ना स्थान र कामबाट सहयोग गर्नुपर्छ ।”

    मन्त्री अर्यालले भदौ अन्तिम साताको जेनजी आन्दोलनको त्यो परिस्थतिबाट सबै राजनीतिक दल तथा सरोकार भएकाहरूको सहमतिमा निर्धक्कसँग मतदान गर्नसक्ने आजको अवस्था निर्माण गर्न र त्यस्तो असहज अवस्थामा पनि राजनीतिक सहमतिका माध्यमबाट सबैलाई निर्वाचनमा जान तयार पार्न यो सरकारले निकै मेहनत गरेको बताए । उनले निर्वाचन सफल बनाउने कामलाई सरकारले अर्जुनदृष्टि दिँदै आएको भन्दै यस्तो असहज परिस्थितिमा पनि समयमै हुन गइरहेको निर्वाचनलाई विश्वले नै हेरिररहेको बताए ।

    मन्त्री अर्यालले भने, “यो निर्वाचनले सही पात्र छनोट गर्ने र प्रजातान्त्रिक प्रणालीलाई थप सुदृढ र समावेशी बनाउने भएकाले शान्तिपूर्ण र अहिंसात्मक रूपमा सहभागी भई निर्धक्क भएर मतदान गर्न सबै देशवासीसँग हाम्रो आग्रह छ ।” आज भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा मन्त्री अर्यालले राससको समाचार उत्पादन तथा वितरण प्रणालीको अवलोकन गरी जानकारी लिएका थिए ।

  • राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा

    राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा

    धरान (सुनसरी) ७ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता, नयाँ पुस्तामा बढ्दो असन्तुष्टि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न परिपक्व नेतृत्व आवश्यक रहेको बताएका छन् । आज धरानमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का उम्मेदवार सुजेन्द्र तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा उनले वर्तमान परिस्थितिमा जिम्मेवार र अनुभवी राजनीतिक दलले देशको नेतृत्व गर्नुपर्ने धारणा राखे ।

    उपसभापति शर्माले ‘जेनजी’ आन्दोलनलाई नयाँ पुस्ताको चेतना, अपेक्षा र असन्तुष्टिको संकेतका रूपमा उल्लेख गर्दै त्यसको सूक्ष्म अध्ययन आवश्यक रहेको बताए । समस्याको मूल कारण पहिचान गरी समयमै समाधान गर्न नसके भविष्यमा अझ अर्को विद्रोह हुन सक्ने उनको भनाई थियो । उनले भने, “यस्तो बेला अनुभवहीनको हातमा नेतृत्व सुम्पिनु भन्दा परिपक्व राजनीतिक शक्तिले जिम्मेवारी लिनु जरुरी छ ।”

  • कांग्रेसले सरकार चलाएको २०४६ देखि २०५१ स्वर्णिम युग थियोः सभापति थापा

    कांग्रेसले सरकार चलाएको २०४६ देखि २०५१ स्वर्णिम युग थियोः सभापति थापा

    काठमाडौँ, ७ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्म पार्टीले सरकार चलाएको समयलाई कांग्रेसले स्वर्णिम युगका रूपमा लिने बताएका छन् । पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा आज भएको खुला प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले त्यसैबलाको जगमा अहिलेसम्म मुलुकको आर्थिक विकास टिकेको बताए । तर समयानुकूल परिवर्तन हुँदै मुलुकको समृद्धिको यात्रा तय गर्नुपर्ने उनले बताए ।


    “विसं २०४६ सालपछि ०५१ सालसम्मको कांग्रेसले चलाएको सरकारकैबेला आर्थिक सुधारका दह्रो पाइला टेकिएको थियो”, उनले भने, “कांग्रेसले त्यसैका कारण लामो समयसम्म कम्युनिष्ट पार्टीका साथीहरूबाट निरन्तर लखेटिनुप¥र्यो । हामी निरन्तर लखेटियौँ । हाम्रा सार्वजनिक नीतिहरूका बारेमा नागरिकलाई बुझाउन सकेनौँ त्यो हाम्रो कमजोरी रह्यो । तर आज पनि नेपालमा जे–जति कुरा आएका छन् त्यसको कथा खोज्दै गयो भने २०५९ साल सुरु गरेकै योजनाको जगमा आएका छन् ।”

    पार्टी स्थापनाकालमा नेताहरूले ३० वर्षपछिसम्मको सपना देखेको विषयलाई उनले स्मरण गरे । “जननायक बिपी कोइरालाले त्यसबेला प्रत्येक नेपाली म जस्तै मध्यमवर्गीयस्तरको हुनुपर्छ भनेर सपना देख्नुभयो”, सभापति थापाले भने, “आज हामी हिजो गरेका उपलब्धिप्रति गौरब गर्छौं । हाम्रा ऐतिहासिक मूल्यमान्यतालाई अझै उज्याले बनाउछौँ ।”

    विसं २०३३ को अप्ठ्यारा दिनमा सात वटा ज्यान मुद्दा बोकेर राष्ट्रियता जोगाउन नेताहरू नेपाल आएको उनको भनाइ छ । सभापति थापाले भने, “हाम्रा आफ्ना सङ्घर्षका दिनहरू सम्झन्छौँ । तीस वर्षको पञ्चायती कालरात्रिमा एकपटक पनि हाम्रो नेतृत्वले सत्तातिर हेरेर फर्केन ती दिनहरू सम्झदै हामी अघि बढ्ने छौँ ।” मुलुकको समृद्धि र समुन्नतिका लागि कांग्रेसले आगामी ३० वर्षपछिको सपना देखेर अघि बढेको उनको दाबी छ।

  • राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

    राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ, ७ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दैै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको सुरुआत भएको स्मरण गर्दै आजको दिनलाई निर्वाचन दिवसका रुपमा समेत उल्लेख गरिन् ।

    सामाजिक सञ्जालमा उनले भनेकी छिन्, “लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ । पटकपटक आन्दोलन गर्नुपर्यो । अब त्यस नियतिको अन्त्य गर्नैपर्छ । भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको सङ्कल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ ।”


    आजको दिनलाई निर्वाचन दिवसका रुपमा उल्लेख गर्दै प्रधानमन्त्रीले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट बन्न आग्रह गरेकी छिन् । प्रधानमन्त्री कार्कीले प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।

  • आज प्रजातन्त्र दिवस मनाइदै, राष्ट्रपतिले दिए शुभकामना

    आज प्रजातन्त्र दिवस मनाइदै, राष्ट्रपतिले दिए शुभकामना

    काठमाडौँ, ७ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गरेका छन् । उनले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनि कामना गरेका छन् ।


    शुभकामना सन्देशमा भनिएको छ, “प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान एवम् श्रद्धा प्रकट गर्दछु ।’ राष्ट्रपति पौडेलले संविधान, लोकतन्त्र र जनताले चाहेको सुशासन र तीव्र विकासको बाटो पहिल्याउन यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै त्यसमा योगदान गर्न सबैलाई अपिल पनि गरेका छन् ।


    विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा नागरिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अङ्कित भएको राष्ट्रपति पौडेलको भनाइ छ ।

    लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने कुरालाई बिर्सन नहुने बताउँदै उनले प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउनाका साथै सहिदहरूको अमर गाथा पनि सदैव स्मरण गराउने उल्लेख गरेका छन् ।

    “सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि हो । लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने छ”, शुभकामना सन्देशमा उल्लेख छ,“जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।”

    राष्ट्रपति पौडेलले सुशासनमार्फत मुलुकको विकास र समृद्धि नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट भएकाले यस कार्यमा लाग्न अपिलसमेत गरेका छन् ।

  • प्रजातन्त्र दिवसमा पूर्वराजाको सन्देश : के भने ?

    प्रजातन्त्र दिवसमा पूर्वराजाको सन्देश : के भने ?

    काठमाडौँ, ७ फागुनः पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औँल्याए ।

    पूर्वराजा शाहले भनेका छन् , “विगतमा भएका आन्दोलन र सङ्घर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको छ । अधिकार मात्र खोज्ने, तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाउँदै गएको अवस्था छ । त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्छ ।” एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा पूर्वराजा शाहको जोड छ । उनले निर्वाचनमा जानु अगाडी मुलुकमा रहेका समस्या समाधानमा समेत जोड दिएका छन् ।

  • क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँः संयोजक दाहाल

    क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँः संयोजक दाहाल

    रुकुमपूर्व, ६ फागुनः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा जनतासँगको भेटघाट तथा अन्तरक्रियामा क्रान्तिको आधारभूमिलाई विकासको नमुना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सिस्ने गाउँपालिकाको खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा उनले जनयुद्धकालीन स्मृतिहरू सम्झँदै रुकुम–रोल्पा आफ्नो राजनीतिक कर्मथलो रहेको बताए । “रुकुमपूर्व मेरा लागि नयाँ ठाउँ होइन । म ४१ वर्ष पहिले नै यहाँ आएको थिएँ । रुकुम–रोल्पा मेरै नेतृत्वमा भएको जनयुद्धको आधार इलाका हो । यहीँबाट मैले क्रान्तिको नेतृत्व गरेँ”, उनले भने ।


    संयोजक दाहालले रुकुमपूर्वलाई आफ्नो अर्को कर्मथलोका रूपमा उल्लेख गर्दै यहाँ आउँदा नयाँ ऊर्जा प्राप्त भएको बताए । जनतासँगको भेटघाटलाई उनले विजय उत्सवसँग तुलना गरे । “कतै भव्य जुलुस छ, कतै पञ्चेबाजा बजेका छन् । मत माग्न होइन, विजय उत्सव मनाइरहेको जस्तो लाग्छ”, उनले भने । उनले वर्तमान निर्वाचनलाई नियमित प्रक्रिया नभई विशिष्ट समयको राजनीतिक प्रतिस्पर्धा भएको उल्लेख गरे । आफ्नो नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको बताउँदै जनताले सकारात्मक शक्तिलाई विजय गराउने विश्वास व्यक्त गरे ।


    उनले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै सेना र प्रहरीप्रति भरोसा व्यक्त गरे । “यो निर्वाचन राष्ट्रका लागि महत्वपूर्ण छ । देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्छ”, उनले भने । भौतिक कठिनाइका बाबजुद जनताबीच पुग्दा आफूले नयाँ ऊर्जा प्राप्त गरेको बताउँदै दाहालले रुकुमपूर्वलाई विकासको नमुना जिल्ला बनाउने प्रतिबद्धता दोहोर्‍याए ।

  • देशमा सुशासन स्थापना गर्ने सभापति थापाको प्रतिज्ञा

    देशमा सुशासन स्थापना गर्ने सभापति थापाको प्रतिज्ञा

    काठमाडौँ, ६ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा सुशासन स्थापना गर्ने प्रतिज्ञा गरेका छन् । जनकपुरको तिरूहुतिया गाछीमा आज आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै उनले सबैलाई समेटेर लैजान कांग्रेस सक्षम रहेको दाबी गरे । सभापति थापाले भने, “मधेशबाट कांग्रेसले देश बदल्ने सहास लिएको छ । आट लिएको छ । अब मधेसले देशको सङ्घीयतालाई कार्यान्वयन गराउन जरूरी छ ।”

    उनले मधेसले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेशले अब परिवर्तिन गर्नुपर्ने बताए । उनले भने, “मधेसको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो । पहाडमा मधेसका शिक्षकले पढाएका हुन् । उनकै शिक्षाले देश शिक्षित भएको छ । तर आज मधेसको शिक्षा, स्वास्थ्य र बिमाको अवस्था जरजर छ, यहाँ किसान, उखु किसानको अवस्था, पर्यावर्यावरणको अवस्था भयावह छ । खानेपानीको समस्या समाधान गर्न म मधेस आएको हुँ ।”

    सभापति थापाले सिङ्गो देशलाई पाल्न सक्ने तागत बोक्न सक्ने मधेस बनाउने कांग्रेसले प्रतिज्ञा गरेको बताए । उनले मधेसका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह गर्ने व्यवस्था गर्ने उल्लेख गरे । सभापति थापाले भने, “अब मधेश वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दूतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ ।”

    सभापति थापाले मधेसको वित्तीय संरचना खल्बलिएकाले यहाँका सहकारी ठगलाई तह लगाउन कांग्रेस मधेस आएको बताए । “यहाँको वित्तीय संस्था खल्बलिएको छ”, उनले भने, “सहकारी ठगको बिगबिगी बढेको छ । सहकारी ठगहरूलाई तह लगाउन कांग्रेस मधेस झरेको छु ।” सभापति थापाले मधेसका युवाहरूले देखेको क्रिकेटको सपना पूरा गराउन चाहेकोले यहाँ क्रिकेट एकाडेमी बनाउने रहेको बताएका छन् ।

    उनले भने “मैले यहाँका युवाको क्रिकेटको सपना पूरा गर्न चाहन्छु ।” उनले आफू मधेसको बेटा बन्न आएको भन्दै दुर्गानन्दको सहास, कुशेश्वरको रगतको सम्मान र महेन्द्रनिधिको जीवनशैली रहेकोले यहाँ आफू मधेसमा आएको बताए । कांग्रेस पखालिएर जनविश्वास लिन मधेस आएको सभापति थापाले बताए । “अब हामी मत मात्रै होइन विश्वास र भरोसा लिन आएक छौँ । देशलाई सँगसँगै हिँडाउन र परिवर्तन देख्न आएको हुँ । म सबै युवाको सपना पूरा गर्न र युवाहरूको साँझा पार्टी बनाउन आएको हुँ”, उनले भने ।

  • सही व्यक्तिलाई मतदान गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

    सही व्यक्तिलाई मतदान गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

    कञ्चनपुर, ५ फागुनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गलत व्यक्तिलाई मतदान गर्दा देशले दीर्घकालीन दुःख भोग्नुपर्ने भएकाले सही व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मतदातालाई गम्भीर र सचेत भएर मतदान गर्न उनले आग्रह गरे । “मतदान सामान्य प्रक्रिया होइन, यो भविष्य निर्माण गर्ने निर्णय हो,” उनले भने, “जनता सार्वभौम सत्ताका मालिक भएकाले आफ्नो मत प्रयोग गर्दा हजार पटक सोच्नुपर्छ ।”

    उनले देश हाल भू–राजनीतिक चक्रब्यूहमा फसेको उल्लेख गर्दै राष्ट्रिय हित केन्द्रमा राखेर नयाँ समझदारी र स्पष्ट दिशाको आवश्यकता औँल्या्रए । सबै राजनीतिक दललाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्न आग्रह गर्दै उनले देश जोगाउने शक्ति कुन दलसँग छ भन्ने विवेकपूर्ण निर्णय गर्न मतदातासँग अपिल गरे । राजा र राजनीतिक शक्तिबीच सहकार्य भए मात्र देश सुरक्षित रहनसक्ने उनको दाबी थियो ।

    अध्यक्ष लिङ्देनले युवाहरू रोजगारीको अभावमा विदेशिन बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त गरे । “आमा–बुवा र परिवार छाडेर युवाहरू विदेश जानुपरेको अवस्था अन्त्य गर्न सकिन्छ,” उनले भने, “दृढ इच्छाशक्ति र सही नीति भए पाँच वर्षमै देशको मुहार फेर्न सकिन्छ ।” देशको वर्तमान अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्दै उनले बढ्दो वैदेशिक ऋण र कमजोर आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरे ।

    राष्ट्रको सुरक्षा र स्वाधीनताको रक्षा गर्न राप्रपालाई प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ मतदान गर्न उनले आग्रह गरे । यसैबीच, कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तीर्थराज चटौतले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता व्यक्त गरे । विजयी भए राज्यबाट पाउने कुनै पनि सेवा–सुविधा नलिने घोषणा गर्दै उनले स्वच्छ राजनीति र पारदर्शीताको अभ्यास गर्ने प्रतिबद्धता जनाए ।

  • देशलाई नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग छः उपसभापति शर्मा

    देशलाई नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग छः उपसभापति शर्मा

    डुम्रे (तनहुँ), ४ फागुनः नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो अवस्थामा पुस्तान्तरबीचको दूरी घटाएर गरी समन्वय गर्दै देशलाई विश्वासको नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँद्वारा दमौलीमा आज आयोजित आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोजित बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गरे ।

    चुनाव केवल दलको जित हारको विषय नभई देशलाई सङ्कटबाट निकास दिने क्षमताको परीक्षण गर्ने समय भएको उनको भनाइ थियो । उनले भने, “मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, विषम परिस्थितिमा देशलाई कसले संयमतापूर्वक समन्वय गर्न सक्छ र कसले परिपक्व तवरबाट फूलको माला जसरी गाँस्न सक्छ र देशलाई स्वच्छ बनाएर हाँक्न सक्छ भन्ने हो ।”

    उनले ऐतिहासिक तथ्यका आधारमा कांग्रेसले मुलुकलाई सही ढङ्गले अघि बढाएको उदाहरण जनतामाझ लैजान आग्रह गरे । कांग्रेस यतिबेला सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानमा लागेको बताउँदै उनले भने, “त्यही अभियानको लहर तनहुँमा पनि मिसिनेछ । देशलाई नवीन सपनामा, नवीन मार्गमा लैजानुछ । यदि सही ढङ्गले देशलाई अघि बढाउन सकेनौँ भने अहिले जेनजी विद्रोह भयो । दश वर्षपछि फेरि अल्फाको विद्रोह हुनेछ । हामी त्यो अवस्था बन्न दिने छैनौँ ।”

    नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले यहाँ सुशासन, समृद्धि कायम गर्दै आमनागरिकको माग पूरा गर्न प्रतिबद्ध रहेको बताए । विषम् परिस्थितिलाई चिरेर देशकै जिम्मेवारी लिने गरी अगाडि बढेकाले कांग्रेसलाई मतदान गर्न उनले आग्रह गरे ।

  • निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

    निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन


    काठमाडौँ, १ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । उहाँले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

    राष्ट्रपति भवन शीतलनिवासमा आज गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँगको भेटघाटमा राष्ट्रपति पौडेलले यस्तो निर्देशन दिनुभएको हो । “लोकतन्त्रमा जनताको अभिमत बुझ्ने उपयुक्त माध्यम निर्वाचनले नै मुलुकको वर्तमान अवस्थालाई निकास दिन्छ, त्यसैले यो निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन”, सो भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्यृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

    सो भेटघाटमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको उपस्थिति रहेको थियो ।

  • सोलुखुम्बु पुगेर प्रधानमन्त्रीले भनिन् : निर्वाचनको विकल्प छैन

    सोलुखुम्बु पुगेर प्रधानमन्त्रीले भनिन् : निर्वाचनको विकल्प छैन

    सोलुखुम्बु, २९ माघः प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताएकी छिन् । हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु पुगेकी उनले सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको जानकारी दिइन् ।


    प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गरिन् । उनले भनिन्, “देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन । हिमाली भेगका चुनौतीलाई मध्यनजर गर्दै सरकारले आवश्यक सबै व्यवस्था गरिसकेको छ ।”

    प्रधानमन्त्री कार्कीले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरिन् । सरकारको सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन केन्द्रित रहेको जनाउँदै उहाँले सम्बद्ध सबै निकायलाई आफ्नो सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिइन् ।


    जिल्ला सुरक्षा समितिसँगको ‘ब्रिफिङ’मा प्रधानमन्त्री कार्कीले मतदाताले कुनै पनि किसिमको डर, दबाब वा प्रभावबिना मतदान गर्न सक्ने वातावरण सिर्जना गर्न विशेष निर्देशन दिइन् । हिमाली भेगका दुर्गम मतदान केन्द्रहरूमा सुरक्षामा कुनै सम्झौता नगर्न र आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गर्न उनले निर्देशन दिइन् ।


    सो अवसरमा प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डे केसीले प्रस्तुत गरेको अभिलेखीय सामग्रीमार्फत जिल्लाको समग्र सुरक्षा अवस्था, मतदान केन्द्रको भौतिक अवस्था तथा पहुँचसम्बन्धी विवरण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री कार्कीले सबै मतदान केन्द्रहरूको विशेष अवलोकन गर्दै सुरक्षा, सामग्री ढुवानी र मतपत्र सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । जिल्लामा १२३ मतदानस्थल छन् ।

    यसमा सातवटा हिमाली क्षेत्रमा पर्ने प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । विशेष गरी हिमपात, मौसम परिवर्तन र भौगोलिक जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक योजनासमेत तयार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले हिमाली जिल्लाका मतदाताको मताधिकार सुनिश्चित गर्नु सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै सोलुखुम्बु जस्ता दुर्गम जिल्लामा पनि मतदाताले सहज रूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताइन् ।

  • देशलाई विकास र सुशासन चाहिएको छ : सभापति लामिछाने

    देशलाई विकास र सुशासन चाहिएको छ : सभापति लामिछाने

    गण्डकी, २८ माघ (रासस) । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र सुशासन चाहिएकाले त्यसका लागि आफू नेतृत्वको पार्टी जनतामाझ आएको दाबी गरेका छन् । पोखरामा आज आयोजित रास्वपाको चुनावी कार्यक्रममा उहाँले आगामी निर्वाचनबाट मुलुकले सक्षम नेतृत्व पाउने विश्वास व्यक्त गरे । सुशासनको एजेण्डासहित निर्वाचनमा होमिएको भन्दै अघिल्लो निर्वाचनको तुलनामा बढी सिट जितेर रास्वपा ससंद्मा पुग्ने उनको दाबी थियो ।

    सभापति लामिछानेले न्याय र सुशासनको माग गर्दा सहिद भएका नवयुवाहरूको सपनालाई खेर जान नदिने बताए । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकलाई नयाँ दिशादिर्नेशन गर्ने बताए । सुशासन र समृद्धिसहित देशभित्रै रोजगारी सिर्जना गर्न सके युवाको विदेश पलायनलाई रोक्न सकिने सभापति लामिछानेको भनाइ छ ।

  • निर्वाचन सुरक्षित सम्पन्न गर्न प्रधानसेनापतिको निर्देशन

    निर्वाचन सुरक्षित सम्पन्न गर्न प्रधानसेनापतिको निर्देशन

    काठमाडौँ, २८ माघ । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न निर्देशन दिएका छन् । जङ्गी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई आज सम्बोधन गर्दै उनले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार समन्वयात्मकरूपमा निर्वाचनमा परिचालित हुन निर्देशन दिए ।

    प्रधान सेनापति सिग्देलले सकलदर्जाको सामूहिक भावना र एकढिक्कापनलाई कायम राख्दै जिम्मेवारीमा खटिइन निर्देश गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनले पृतनास्तरमा भएको प्रभावकारी कार्यका लागि पृतनापतिलाई धन्यवादसमेत दिए ।

    बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती पक्षलगायत समसामयिक विषयमा छलफल भएको निर्देशनालयले जनाएको छ । बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्दलगायत अधिकृतको उपस्थिति थियो ।

  • वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल

    वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल

    ढोरपाटन (बागलुङ), २८ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नभएको बताएका छन् । आज यहाँ आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै देश मुलुक अप्ठ्यारो अवस्थामा रहेको हुँदा यसको निकास निर्वाचनले मात्रै दिने बताए । केही दलहरुले संसद् पुनःस्थापना र सर्वदलीय सरकार गठनका मुद्दा उठाए पनि नेकपाले त्यतापट्टि ध्यान नदिएको संयोजक दाहालले बताए ।


    उनले भने, “यो हामीहरुले चाहेर आएको निर्वाचन होइन, हामीहरुले त २०८४ मा गएर गर्ने भन्ने सोचेका थियौँ, असाधारण परिस्थितिमा आइपरेको निर्वाचन हो, यो निर्वाचनलाई सदुपयोग गर्नुको विकल्प पनि छैन, इमानदार कम्युनिष्ट र देशभक्तहरुको अगाडि जनतामा जाने बलियो माध्यम निर्वाचन नै हो ।”

    मुलुकको अहिलेको परिस्थिततिमा देशमा भएका वामपन्थी र देशभक्त एकताबद्ध हुने उद्देश्यले नेपाली कम्युनिष्ट पार्टी बनाएको दाहालले बताए । अहिले देखिएको असहज परिस्थितिबाट देशको रक्षा गर्ने, लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त गरेका उपलब्धिहरुको रक्षा गर्न नेकपा प्रतिबद्ध भएर लागेको उनले उल्लेख गरे ।
    जेनजी आन्दोलन देशलाई भ्रष्टाचारमुक्त गर्न, सुशासन स्थापित र नागरिक स्वतन्त्रता कायम गर्न भए पनि देशीविदेशी शक्तिहरुको स्वार्थका कारण विध्वंश मच्चिएको संयोजक दाहालले बताए ।

    उनले अब मुलुकको परिवर्तनका निम्ति वामपन्थी एक हुनुपर्ने बताए । “जेनजी आन्दोलन देशमा भ्रष्टाचार, सुशासन कायम, नागरिक स्वतन्त्रता कायम होस् भन्ने मनशायले युवा सडकमा उत्रिएका थिए, हामी सबैले सम्मान नै गरेका थियौँ, तर त्यहाँ घुसपैठ भयो”, उनले भने, “देशीविदेशी शक्तिहरुले आफ्नो स्वार्थअनुसार देशलाई विध्वंसमा बदल्ने काम भयो, त्यो हामी सबैका दुःखद् हो ।”