Category: घूमघाम

  • आजबाट अन्तराष्ट्रिय उडान बन्द

    आजबाट अन्तराष्ट्रिय उडान बन्द

    काठमाडौं । नेपाल आउने अन्तराष्ट्रिय वायुसेवा कम्पनीको उडान आजबाट बन्द हुँदैछ । सरकारले विदेशी यात्रुको आवतजावत रोक्ने उद्देश्यले आजबाट अन्तराष्ट्रिय उडान तथा अवतरण रोक्ने निर्णय गरेको छ ।

    यसको कार्यान्वयन आजबाट हुने भएको छ । नेपालमा २९ कम्पनीका ६५ भन्दा बढी उडान अवतरण हुने गरेका थिए ।

    संसारका १८५ भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएसँगै सरकारले विदेशबाट नेपालसँगको सम्पर्क विच्छेद गर्न लागेको हो ।

    अब आकस्मिक सेवाका उडान, एयर एम्बुलेन्सलगायत उड्नै पर्ने सेवाबाहेक अन्य सबै सेड्यूल उडान रोक्ने निर्णय गरेको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी चैत २१ गतेसम्म सबै उडान तथा अवतरण बन्द हुन लागेको जानकारी गराएको हो । अब भारतीय स्थल नाकाबाट आउने यात्रुबाहेक सबै विदेशी यात्रुको आवागमन रोकिने भएको छ ।

  • प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स

    प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स

    काठमाडौं । सरकारले अनअराइभल भिषा रोकेको छ । यूरोपसहित ६६ देशबाट आजका दिनसम्म नेपाल भित्रन नपाउने नियम छ । तर, आइतबार रातीसम्म प्रतिवन्धित मुलुकबाट वायुसेवा कम्पनीले यात्रु ल्याउन भने छाडेनन् ।

    आइतबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिंगापुरबाट सिल्क एयरले आकस्मिक अवतरण गर्यो । इन्धन सकिएको बाहनामा अवतरण गरेको जहाजमा ८५ जना यात्रु रहेको पाइएको छ ।

    त्यसमध्ये नेदरल्याण्डबाट आएका एक नेपालीसमेत रहेको पाइएपछि तिब्र विवाद भएको थियो । करीव एक घण्टा यात्रुलाई जहाज भित्रै राखिएको थियो ।

    पछि पर्यटन मन्त्रालयको समन्वयमा यात्रुलाई बाहिर निकालियो । उनीहरुमध्ये ३ जनालाई खरीपाटीस्थित क्वारेन्टाइनमा पठाइयो ।

    अन्य यात्रुलाई भने होम क्वारेन्टाइनमा बस्ने शर्तसहित घर पठाइएको छ । यसअघि पनि वायुसेवा कम्पनीहरुले पटक पटक प्रतिवन्धित मुलुकबाट यात्रु ल्याएका छन् ।

    यसरी आएका यात्रुलाई खरीपाटी पठाइएको छ भने वायुसेवा कम्पनीहरुलाई कारवाही गर्ने तयारी छ ।

    शनिबार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमा ल्याएका थिए ।

    उनीहरु पनि प्रतिवन्धित मुलुकबाट आएका थिए । कोरोनाको संक्रमणको जोखिमले अहिले सरकारले यात्रामा कडाई गरेको छ ।

  • कोरोनाको डरले काठमाडौं छाड्ने बढे, सडक र आकास दुबैमा उत्तिकै चाप

    कोरोनाको डरले काठमाडौं छाड्ने बढे, सडक र आकास दुबैमा उत्तिकै चाप

    काठमाडौं । कोरोना भाइरस संक्रमणको डरले काठमाडौं उपत्यका छाड्ने क्रम तिब्र भएको छ । पछिल्लो तीन दिनयता मात्र करीव ३ लाख मानिसले सडक मार्ग हुँदै काठमाडौं छाडेको प्रहरीका तथ्यांक छ ।

    आकासमा पनि उत्तिकै चाप छ । बिहीबारबाटै जहाजहरु पूर्ण क्षमतामा उडिरहेका छन् । शुक्रबार र शनिबारसम्म पनि जहाजमा उत्तिकै भीड छ ।

    काठमाडौं छाड्नेको संख्या बढेसँगै वायुसेवा कम्पनीले भाडा बढाएका छन् । तराईका ठूला विमानस्थलमा यात्रुको चाप उत्तिकै बढेको हो ।

    राजमार्गहरु व्यस्त भएका छन् । सरकारले कोरोना संक्रमणको डरले विद्यालय बन्द गरेको छ । एसइइ परीक्षासमेत स्थगित भएको छ ।

    यससँगै शहर छाडेर गाउँ फर्कनेको ताँती लागेको हो । सरकारले काठमाडौंमा समेत घर भित्रै बस्न र अत्यावश्यक नपरेसम्म घर बाहिर ननिस्कन जनतालाई आह्वान गरेको छ ।

    २५ जना भन्दा बढीको संख्यामा भेला नहुन समेत आग्रह गरिएको छ । ९ चैतबाट विदेशबाट आउने हवाईजहाज र १० चैतबाट लामो दूरीमा सडक यात्रा समेत गर्न नपाउने गरी प्रतिवन्ध लागिसकेको छ ।

    अहिले बसपार्क र विमानस्थलमा अधिक भीड बढेको छ । यी स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आह्वान गरिएको छ ।

  • ९ चैतबाट १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द, सार्वजनिक सवारी साधन रोकिने

    ९ चैतबाट १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द, सार्वजनिक सवारी साधन रोकिने

    काठमाडौं । अब सरकारले नेपाल र विदेशबीच हवाई सम्पर्क टुटाउने भएको छ । ९ चैतबाट १८ चैतसम्म नेपाल भित्रने सबै वायुसेवा कम्पनीको उडान रद्द गरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । उनका अनुसार सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको छ ।

    यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने उनले उल्लेख गरे ।

    देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गने समेत उनले घोषणा गरेका छन् ।

    आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।

    मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ । महामारीको अवस्थालाई हेरी थप कदम पनि चाल्न सकिने उनले उल्लेख गरे ।

  • यातायातका साधनलाई रुट परमिट खुला

    यातायातका साधनलाई रुट परमिट खुला

    काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमणको डरले चैत महिनाभर स्कुल कलेजसहित विभिन्न शैक्षिक संघ संस्था बन्द गरेको छ ।

    यसले काठमाडौं तथा शहरी इलाका छाडी ग्रामिण भेगमा फर्कने यात्रुको चाप बढ्न सक्ने आंकलन गर्दै सरकारले रुट परमिट खुला गरेको हो ।

    यससँगै अब जुनसुकै स्थानको सवारी साधन जुनसुकै स्थानमा समेत खुला परमिटका साथ पुग्न सक्नेछ । सामान्यतया दशैंको समयमा सरकारले यसरी परमिट खुला गर्छ ।

    सरकारले जारी गरेको परमिट विपि राजमार्गमा भने लागु हुने छैन ।

    किनकी यहाँ दूर्घटनाको जोखिम धेरै भएका कारण राजमार्गलाई निर्धारित रुटका सवारी साधनमात्र गुड्न पाउँछन् । रुट परमिट ३ वैशाखसम्म जारी रहनेछ ।

    सवारीले यात्रुलाई गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पटके पनि काट्नुपर्ने छैन । विभागले नेपाल र भारतको रुटमा संचलनमा रहेका बससेवा भने स्थगित गर्ने निर्णय गरेको छ ।

  • आन्तरिक उडानको भाडा घट्यो, यात्रु नपाएपछि जहाज ग्राउन्डेड

    आन्तरिक उडानको भाडा घट्यो, यात्रु नपाएपछि जहाज ग्राउन्डेड

    काठमाडौं । आन्तरिक उडानमा वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन्। सरकारले आन्तरिक हवाई इन्धनको मूल्यमा ४ रुपैयाँ ५० पैसा घटाएपछि कम्पनीहरुले समेत हवाई भाडा कम गरेका हुन् ।

    घटेको भाडा शुक्रबारदेखि लागु हुनेछ । वायुसेवा कम्पनीले कम्तीमा २५ रुपैयाँदेखि बढीमा २ सय रुपैयाँसम्म हवाइ भाडा घटाएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिएका छन् ।

    कोरोना भाइरसले आन्तरिक उडानका कम्पनीहरुतर्फ पनि हेलिकोप्ट र  साना विमानस्थलमा उड्ने कम्पनीको व्यापार भने घटेको छ ।

    किनकी पर्यटक आगमन ठप्प भएपछि यी वायुसेवा कम्पनीको व्यापार घटेको हो । ठूला विमानस्थलमा भने नेपाली यात्रुकै कारण पर्याप्त व्यापार भइरहेको छ ।

    साना विमानस्थलमा उडाउने जहाजमध्ये केही जहाज ग्राउन्डेड गर्ने निष्कर्षमा व्यवसायी पुगेका छन् । हेलिकोप्टर समेत केही समय थन्किएर बस्नेछन् ।

    कोरोना भाइरसका कारण नेपालमा पर्यटन व्यवसाय सबैभन्दा धेरै प्रभावित भएको छ ।

  • नेपाल एयरलाइन्सको नारिता र दुवई उडान स्थगित

    नेपाल एयरलाइन्सको नारिता र दुवई उडान स्थगित

    काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिता र यूएईको दुवईबाट नियमित उडान बन्द गरेको छ ।

    कोरोना भाइरसविरुद्ध सतर्कता अपनाउन सरकारले जापान र यूएईसहित ६६ मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

    सरकारले शुक्रबार राती बाट लागु हुने गरी ती मुलुकका नागरिक, त्यहास्थित नेपाली नागरिक र गैरआवासीय नेपालीलाई समेत नेपाल आउन रोकेको छ ।

    यी दुई गन्तब्यको उडान चैत मसान्तसम्म स्थगित गरिएको नेपाल एयरलाइन्सले उल्लेख गरेको छ ।

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ती दुई गन्तव्यको नियमित उडान ३० चैतसम्मका लागि स्थगित गरिएको कम्पनीले जानकारी दिएको छ ।

    चैत्र ७ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने कम्पनीले उल्लेख गरेको छ ।

    यसका अतिरिक्त नियमित उडान चालु रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुहरुले उडानको एक दिन अघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पुरै रकम उपलब्ध गराइने कम्पनीले विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ ।

    यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको समेत नेपाल एयरलाइन्सको विज्ञप्तीमा उल्लेख छ ।

  • यूरोप, जापान, कोरिया र खाडीबाट नेपालीलाई घर फर्कन रोक

    यूरोप, जापान, कोरिया र खाडीबाट नेपालीलाई घर फर्कन रोक

    काठमाडौं । सरकारले कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन यात्रुलाई रोकेको छ । यससँगै अब ती मुलुकमा रहेका नेपाली नागरिकसमेत आफ्नो मातृभूमि फर्कन पाउने छैनन् ।

    सरकारले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भन्दै युरोप, खाडी राष्ट्र इरान, मलेसिया तथा दक्षिण कोरिया र जापानबाट मानिसहरुलाई नेपाल आउन रोकिएको छ ।

    यूरोपका सबै मुलुकका नागरिक अब नेपाल आउन पाउने छैनन् । अहिले यूरोप सबैभन्दा बढी प्रभावित बनेको छ । इटलीमा मात्र २ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।

    यो प्रावधान मार्च २० अर्थात् शुक्रबार रातिदेखि लागु हुनेछ । सरकारले यी मुलुकमा भइरहेको उडान भने रोकेको छैन । तर, यात्रुलाई भने आउन नपाउने प्रावधान ल्याएको छ ।

    यससँगै अब यी मुलुकमा उडान पनि रोकिने पक्का छ । ‘सरकारको यो निर्णयले यी मुलुकमा रहेका नेपाली र यी मुलुक हुँदै स्वदेश आउने नेपाली समेत प्रभावित हुने भएका हुन् ।

    कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हवाइ मार्गबाट नेपाल आउने सबै यात्रुलाई प्रतिबन्ध लगाएको हो । यो समिति उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको छ ।

    सरकारले ‘युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्मका आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

  • कोरोनाविरुद्ध सरकारको कडा निर्णय, देश करीव लकडाउन

    कोरोनाविरुद्ध सरकारको कडा निर्णय, देश करीव लकडाउन

    काठमाडौं । सरकारले यूरोप, मध्य एसिया र खाडी क्षेत्रका नागरिकलाई नेपाल आउन प्रतिवन्ध लगाउँदै करीव लकडाउन घोषणा गरेको छ ।

    यसअघि अनअराइभल भिसा मात्र रोकिएकोमा अब यी मुलुक र यी मुलकमा ट्रान्जिट भएर आउने संसारकका सबै मुलुकका नागरिकले अब नेपालमा प्रवेश पाउने छैनन् ।

    बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    सरकारले भारतसँगको सीमा नाका पनि सबै बन्द गर्ने तयारी गरेको छ । यद्दपी बुधबार यसको निर्णय भएको छैन । बिहीबार भारतसँगको समन्वयमा सीमा नाका बन्द गर्ने तयारी गरिएको छ ।

    अब होटेल, सार्वजनिक यातायात तथा अन्य धेरै मानिस जम्मा हुने क्षत्रे कोरोना भाइरस मुक्त पारेर मात्र संचालन गर्नुपर्ने भएको छ ।

    यसका लागि संचालकले त्यसको व्यवस्था गर्नुपर्ने छ । यूरोपमा धेरै मानिसमा यसको संक्रमण फैलिएको छ ।

    नेपाली नागरिक धेरै रहेको खाडी मुलुकमा पनि यसको फैलावट तिब्र रहेको छ । यससँगै सरकारले यी मुलुकसँगको हवाई सम्बन्ध तत्कालका लागि तोडेको छ ।

    जसले गर्दा नेपालमा तत्काल कोरोना नभित्रने आशा गरिएको छ । सरकारको यस निर्णयले करीव ५५ मुलुकबाट नेपाल आउने नागरिकको आवागमन रोकिने भएको छ । यसमा नेपाली पनि आउन पाउने छैनन् ।

  • नेपाल एयरलाइन्सले झिक्यो मलेसिया उडान

    नेपाल एयरलाइन्सले झिक्यो मलेसिया उडान

    काठमाडौं । नेपाल एयरलाइन्सले मलेसियाको क्वालाम्पुरमा गर्दै आएको नियमित उडान स्थगित गरेको छ ।

    कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेश रोकेको छ । त्यसपछि नेपाल एयरलाइन्सले क्वालालाम्पुरको नियमित उडान रोक्ने निर्णय गरेको हो ।

    क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको नेपाल एयरलाइन्सले जनाएको छ ।

    २०२० मार्च १७ तारिख र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । २०२० मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

    मलेसियाले दुई साता विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेश नदिने र मलेसियाका नागरिकलाई पनि विदेश भ्रमणमा नजान सूचित गरेको छ ।

    पछिल्ला दिनमा नेपाल एयरलाइन्सले आफ्नो अधिकांश गन्तब्यको उडान कटौती गर्नु परेको छ । यसले कम्पनीलाई मूख्य सिजनमै ठूलो घाटा लाग्ने निश्चित देखिएको छ ।

  • नेपाल र भारतका चार नाकाबाट मात्र आवतजावत गर्न सकिने

    नेपाल र भारतका चार नाकाबाट मात्र आवतजावत गर्न सकिने

    काठमाडौं । कोरोना भाइरसको संक्रमणको डरले आजबाट नेपाल र भारतको स्थलमार्गमा समेत कडाई शुरु भएको छ । आजबाट नेपाल भारतका प्रमुुख चार नाका बाहेक सबै नाका बन्द गर्ने निर्णय भएको छ ।

    भारतले नेपालसँगका प्रमुख ४ नाका मात्र खोल्ने निर्णय लिएको हो । वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, धनगढीको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टा नाकामात्र खुला हुनेछन् ।

    आयात निर्यात वा सामानको ढुवानी भने सबै नाका निर्वाध हुनेछ । मानिसको आवात जावत रोकिएको हो ।

    भारतको निर्णयले स्थानीय तहमा जावतजावत प्रभावित हुनेछ । हरके दिन हजारौं मानिस सीमा वारपार गर्छन् ।

    नेपालमा वा भारतमा निर्वाचन हुने समयमबाट बाहेक नाका बन्द भएको थिएन् । यसअघिको नाकाबन्दीको समयमा पनि मानिस रोकिनु परेको थिएन ।

  • नेपाल एयरलाइन्सद्धारा विदेशी गन्तब्यको तालीका हेरफेर, के के भयो परिवर्तन ?

    नेपाल एयरलाइन्सद्धारा विदेशी गन्तब्यको तालीका हेरफेर, के के भयो परिवर्तन ?

    काठमाडौं । नेपाल एयरलाइन्सले विदेशमा गरिरहेको नियमित उडानको तालीका हेरफेर गरेको छ । कतिपय गन्तब्यको उडान कटौती भएको छ भने कतिपय गन्तब्यको उडान रद्द गरिएको छ ।

    कम्पनीका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा निर्धारित उडान कटौती भएको छ । दैनिक दुई उडान भइरहेको यस रुटमा अब आइतबारदेखि मात्र एक उडान दैनिक हुने नेपाल एयरलाइन्सले स्पष्ट पारेको छ ।

    कोरोना भाइरसको संक्रमणका कारण यात्रुको संख्यामा कमी आएका कारण नेपाल एयरलाइन्सले विभिन्न रुटमा आफ्नो उडान तालीका परिवर्तन गरेको जनाएको छ ।

    नेपाल एयरलाइन्सले बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरेको छ । मुम्वईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिलसम्म स्थगित गरिएको छ ।

    थाइल्याण्डको बैंककमा मार्च ११ र मार्च २५ को उडान रद्द गरिएको छ । हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीले काठमाडौं दोहा उडान फागुन २७ गते देखि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको थियो ।

    उडानका टिकट खरीद गरेका यात्रुले टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध हुने नीति ल्याएको छ ।

    टिकट उडानको मिति १ पटक परिवर्तन गर्न समेत शुल्क नलाग्ने व्यवस्था गरिएको नेपाल एयरलाइन्सले शुक्रबार जानकारी गराएको हो ।

  • बुद्ध एयरले काठमाडौं बनारस उडान कटौती गर्ने

    बुद्ध एयरले काठमाडौं बनारस उडान कटौती गर्ने

    काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट भारतको बनारसमा गरिरहेको उडान बन्द गर्ने घोषणा गरेको छ । आइतबारबाट ३० अप्रिलसम्म बुद्धको बनारस उडान बन्द हुने भएको कम्पनीले जानकारी दिएको छ ।

    भारत सरकारले विदेशी नागरिकको हकमा १४ मार्चदेखि अप्रिल ३० सम्म भिसा रद्द गर्ने निर्णय गरेको छ ।

    तर, यो निर्णयले नेपाली यात्रुलाई भने प्रभाव पार्दैन । तर, यात्रामा झण्झट हुने र कोरोनाबाट बच्न भन्दै बुद्धले यसै अवधिमा बनारस उडान बन्द गर्ने निर्णय लिएको हो ।

    टिकट काटिसकेका व्यक्तिले टिकट सार्न वा फिर्ता गर्न सक्ने कम्पनीले जानकारी गराएको छ । बुद्धले विगत दुई वर्षदेखि वनारसमा नियमित उडान गरिरहेको छ ।

  • रोकियो पर्वतारोहण, मूख्य सिजनमा पर्यटन शून्य

    रोकियो पर्वतारोहण, मूख्य सिजनमा पर्यटन शून्य

    काठमाडौं । वसन्तु ऋतुका लागि हुने पर्वतारोहणका सबै गतिविधि स्थगित भएका छन् । यसको मतलव अब संसारको चुुचुरो चुम्न आउने हजारौं पर्यटकको सपना यस वर्ष अधुरै रहने भएको हो ।

    यसबाहेक ८ हजार मिटर माथि का हिमाल र साना हिमाल चढ्न समेत पर्यटकको उत्तिकै घुइचो लाग्छ ।

    बसन्तु ऋतु नेपालमा पर्वतारोहणको मूख्य सिजन हो । तर, सरकारले कोरोना भाइरसको संक्रमण भित्रन नदिने भन्दै पर्वताराहणका रोक लगाउने निर्णय गरेको हो ।

    यसअघि चीनले पनि आफ्नो तर्फबाट आरोहणअनुमति नदिने निर्णय गरेको छ । सगरमाथामा आरोहणका लागि बाटो बनाउन टोली लागिसकेका छन् ।

    आधार शिविरमा पुगिसकेको यो टोली यसपटक आरोहणमा जाने नेपालीलाई मात्र सहयोग गर्न सक्नेछ ।

  • नेपालले समेत रोक्ने भयो पर्यटक भिसा

    नेपालले समेत रोक्ने भयो पर्यटक भिसा

    काठमाडौं । सरकारले पर्यटक भिसा रोक्ने भएको छ । बिहीबार उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो ।

    तर, कहिलेबाट कहिलेसम्म रोक्ने र कुन मुलुकका नागरिकलाई रोक्ने भन्ने बारेमा भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले निर्णय गर्ने भएको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि पहिलो पटक उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो ।

    बैठकले तत्कालका लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको छ । भारततर्फ आवतजावत गर्न सिमित मात्र नाका खोल्ने भएको छ ।

    सो प्रयोजनका लागि भने भारत सरकारसँग समेत समन्वयको आवश्यकता पर्नेछ । यसको जिम्मा परराष्ट्र मन्त्रालयलाई दिइएको छ ।

    बैठकले संक्रमण देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन, आइसोलेसन वार्डका साथै स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि चाहिने उपकरणको आपूर्ति बढाउने निर्णय गरेको छ ।

    सम्भव भएसम्म घनाबस्ती भन्दा पर यस्ता संरचनाको व्यवस्था हुने छ ।

    आवश्यक परे सैनिक परिचालनको योजनामा समेत नेपाल सरकार रहेको छ ।

    स्वास्थ्य जनशक्तिका लागि मेडिकल कलेजका साथै स्काउटलगायत संघ संस्थाबाट पनि स्वयमसेवक खटाउन सकिने अर्थमन्त्री डा. युवराज खतिवडाले बैठकपछि जानकारी दिए ।

    नेपालमा कोरोनाको संक्रमण नदेखिएका कारण यो सबै काम पूर्वतयारी स्वरुप नै भएको उनको भनाई छ । उच्चस्तरीय समन्वय समितिको बैठकले यस सिजनका लागि हिमाल आरोहण पनि स्थगित गर्ने निर्णय गरेको छ । विद्यालय तथा कलेज भने बन्द हुने छैनन् ।

  • भारतले पर्यटक भिसा बन्द गर्यो

    भारतले पर्यटक भिसा बन्द गर्यो

    नयाँ दिल्ली । कोरोना भाइरसका कारण संसारभर महामारी फैलिएसँगै भारतले पर्यटक भिसा बन्द गरेको छ ।

    भारतले विशेषज्ञ, कूटनीतिक नियोगका प्रतिनिधि तथा कर्मचारी, यूएन तथा अन्य एजेन्सीमा कार्यक्रम कर्मचारी र प्रतिनिधि, विभिन्न परियोजनामा कार्ययत कर्मचारीबाहेक अन्य सबै प्रकारका भिसा बन्द गर्ने निर्णय गरेको हो ।

    भारत सरकारले १५ अप्रिलसम्म भिसा रद्द गर्ने निर्णय गरेको हो । यसको कार्यान्वयन शुक्रबारबाट लागु हुने भएको छ ।

    तर, कुनै नागरिकले भारत आउन चाहेमा उसले भारतीय कूटनीतिक नियोगमा सम्पर्क राखेर उचित कारण भने देखाउन सक्छन् ।

    त्यसअवस्थामा उले यात्राको अनुमति पाउन सक्छ । चीनसहित अतिप्रभावित मुलुकबाट भारत छिर्ने सबै यात्रु अब अनिवार्य १४ दिनको क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ ।

    चीन, इटली, कोरिया, फ्रान्स, जर्मनी र स्पेनका नागरिकमा यस्तो प्रावधान ल्याइएको हो । भारतीय नागरिकलाई समते भारतले विदेश यात्रामा नजान कडा निर्देशन जारी गरेको छ । भारतमा बुधबार सम्म ६० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

  • पोखरा एयरपोर्टमा काम गर्ने ७१ कामदार सेल्फ क्वारेन्टाइनमा

    पोखरा एयरपोर्टमा काम गर्ने ७१ कामदार सेल्फ क्वारेन्टाइनमा

    पोखरा । पोखरामा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ७१ कामदारलाई ‘सेल्फ क्वारेन्टाइन’मा राखिएको छ ।

    चीनबाट आएका कामदारलाई क्वारेन्टाइनमा राखेर मात्र काममा लगाउने नीति अनुसार यसो गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले जनाएको छ ।

    विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा नफैलियोस भन्ने उद्देश्यले चीनबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्नु परेको कार्यालयको भनाई छ ।

    अहिले पोखरा विमानस्थल धमाधम बनिरहेको छ । त्यहा विशेषज्ञ कर्मचारी चीनबाटै ल्याउनुपर्छ । किनकी यो विमानस्थल चिनियाँ ठेकेदार कम्पनीले नै बनाइरहेको छ ।

    चीनमा कोरोना भाइरस फैलिइसकेपछि २० जना पुरानै कामदार र ८७ जना नयाँ कामदार चिनियाँ कामदार नेपाल आएका छन् ।

    शुरुमा आएका ३६ जना क्वारेन्टाइनमा बसेर काममा फर्किसकेका छन् । अघिल्लो साता आएका ७१ जना कामदारलाई भने अहिले क्वारेन्टाइनमा राखिएको छ ।

    उनीहरु १४ दिनपछि मात्र फिल्डमा काममा उत्रन पाउनेछन् । चीनदेखि आएका कामदार चीनमै २ हप्ते क्वारेन्टाइनमा बसिसकेका व्यक्ति हुन् ।

    तर, कतै संक्रमण नेपालमा नआओस भनेर क्वारेन्टाइनको व्यवस्था गरिएको हो । उनीहरुलाई आफ्नो कोठादेखि बाहिर निस्कन दिइएको छैन । दैनिक स्वास्थ्य परीक्षण गरिएको छ ।

  • पर्वतारोहणमा पनि सचेतना, आरोहीले यात्रा विवरण बुझाउनु पर्ने

    पर्वतारोहणमा पनि सचेतना, आरोहीले यात्रा विवरण बुझाउनु पर्ने

    काठमाडौं । पर्वतारोहणमा आउने पर्यटकमार्फत नेपालमा कारोना नफैलियोस भन्ने उद्देश्यले सरकारले सचेतना बढाएको छ । बसन्त ऋतुमा हुने पर्वतारोहणमा सरकारले कडा नियम ल्याएको छ ।

    पर्यटन विभागका अनुसार आरोहीले पर्वतारोहण अनुमति पत्र लिनु अगाडि गरेको १४ दिनको यात्रा विवरण पेश गर्नुपर्ने भएको छ । यसको व्यवस्थापन भने ट्राभल एजेन्सीले गर्नेछ ।

    अहिले विश्वभर कोरोनाको संक्रमण फैलिएको छ र विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि व्यक्तिमा कारोना भाइरस संक्रमण भएको २ देखि १४ दिनमा देखिन सक्ने बताइन्छ ।

    आरोहीहरु कोरोना प्रभावित मुलुक भएर आए नआएको थाहा पाउन यसो गर्न लागिएको हो । त्यसरी आएको भए उनीहरुमा जोखिमको समेत विश्लेषण गर्न सकिने हुन्छ ।

    आरोही र पर्वतारोही दलका सम्पूर्ण सदस्यको स्वास्थ्य रिपोर्ट आरोहण व्यवस्थापन गर्ने सम्बन्धित ट्राभल एजेन्सीले अनलाइनमार्फत विभागमा बुझाउनु पर्ने नियम ल्याइएको छ ।

    त्यसलाई विभागले स्वीकृत गरेपछि मात्र आरोहण अनुमति जारी हुने भएको छ । पर्वतारोही दलले पर्वतारोहणबाहेक अन्य गतिविधि गर्ने भएमा पर्यटन विभागमा पूर्व जानकारी दिनुपर्ने भएको छ ।

    पर्वतारोही दलले पर्वतारोहणमा प्रयोग गर्न लैजाने सम्पूर्ण सामग्रीको सूचि पनि विभागमा उपलब्ध गराउनु पर्ने गरि नियम तोकिएको छ ।

    आरोही दलसम्बद्ध पर्वतारोहण दलका साथमा जाने आरोहीको बीमा गर्दा उसको जुन भूमिका हो, त्यो खुलाउनुपर्छ ।

    नभए आरोहण प्रमाणपत्र जारी नहुने विभागले जानकारी गराएको छ । नेपालमा आरोहणको मूख्य सिजन नै वसन्त ऋतु हो । यसबेला सगरमाथा आरोहणका लागि ठूलो संख्यामा पर्यटक आउने गर्छन् ।

  • अब कोटेश्वर-कलंकी रोडमा डेडिकेटेड लेन

    अब कोटेश्वर-कलंकी रोडमा डेडिकेटेड लेन

    काठमाडौं । कोटेश्वर-कलंकी सडकमा अब डेडिकेटेड लेन तोकिने भएको छ । त्यसअनुसार अब यात्रुबाहक तथा मालबाहक सवारी साधनले छुट्टै लेनमा मात्र गुड्न पाउने छन् ।

    ८ लेन सडक रहेको यहाँ निजी र द्रुत गतिमा गुड्ने सवारी साधनले भने छुटटै लेनको प्रयोग गर्नुपर्ने भएको छ ।

    यद्दपी यो नियम २ चैतबाट मात्र कार्यान्वयनमा आउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । यस रुटमा अब यात्रुवाहक तथा मालवाहक गाडी बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधन दाहिने मुख्य (द्रुत) लेनबाट मात्र चलाउन पाइने छ ।

    यो रुटमा सबै सवारी साधन एकै लेनमा दौडिदा दूर्घटना बढेको छ । सडक लेन अनुशासित पालना गर्न, यातायात व्यवस्थित गर्न र सवारी आवागमनलाई सहज बनाउन यस्तो नियम ल्याउन लागिएको कार्यालयको भनाई छ ।

    यसले ट्राफिक नियमको पालनामा समेत चालकहरुलाई सचेत गराउने छ । यो सडक खण्ड काठमाडौंमा तुलनात्मक रुपमा व्यबस्थित र सुविधायुक्त रहेको छ ।

    यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय प्रचलन अनुसार यहाँ समेत सोही अपनाउन लागिएको हो । यो नियम अहिले जडिवुटी-सुर्यविनायक सडक खण्डमा कार्यान्वयनमा छ ।

  • नेपाल एयरलाइन्स र हिमालयद्धारा कतार उडान बन्द

    नेपाल एयरलाइन्स र हिमालयद्धारा कतार उडान बन्द

    काठमाडौं । कतार सरकारले नेपालीलाई कतार प्रवेशमा रोक लगाएसँगै दुई नेपाली कम्पनीले कतार सँगको हवाई उडान बन्द गरिदिएका छन् ।

    सरकारी कम्पनी नेपाल एयरलाइन्स र निजी कम्पनी हिमालय एयरलाइन्सले कतारको राजधानी दोहामा गर्दै आएको उडान बन्द गरेका हुन् ।

    कतारले नेपाललाई रोकसँगै यहाँ एक त विजेनश नहुने र अर्कोतर्फ झण्झटसमेत उत्तिकै हुने भएपछि कम्पनीले उडान झिकेका हुन् । कतार सरकारले कोरोनाको संक्रमण फैलन सक्ने भन्दै नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेश रोकेको छ । कतारको जहाजले भने काठमाडौं उडान निरन्तर गरिरहेको छ ।

    नेपाल एयरलाइन्स र हिमालयका यात्रुले अब पहिले टिकट काटेको भए त्यसलाई निशुल्क फिर्ता गर्न वा निशिल्क परिवर्तनसमेत गर्न सक्ने भएका छन् ।

    यद्दपी कोरोना कहिले नियन्त्रणमा आएर कहिले उडान खुल्छ भन्ने निश्चित नभएपछि दुबै कम्पनीले अनिश्चित कालका लागि कतार उडान बन्दगरेका हुन् ।

    कतारले नेपालीलाई प्रवेश बन्द गरेसँगै यहा जाने कामदार सबैभन्दा बढी प्रभावित हुुने भएका छन् ।

  • नेपालले थप तीन देशका नागरिकलाई रोक्यो अनअराइभल भिसा

    नेपालले थप तीन देशका नागरिकलाई रोक्यो अनअराइभल भिसा

    काठमाडौं । सरकारले नेपाल आउने विश्वका विभिन्न मुलुकलाई अनअराभइल सुविधा दिने गरेको छ । त्यसमध्ये कोरोना भाइरसको संक्रमण बढी फैलिएका ५ मुलुकलाई अनअराइभल भिसा नदिने निर्णय भएकोमा त्यसलाई थपेर ८ देश पुर्याइएको छ ।

    यो नीति आजैबाट लागु हुँदैछ । अब अब स्पेन, फ्रान्स र जर्मनीका नागरिकले समेत नेपाल आउन ‘अन–अराइभल’ भिसा नपाउने भएका छन् ।

    अध्यागमन कार्यालयका अनुसार यी मुलुकमा कोरोनाले संक्रमण बढाएसँगै अनअराइभद सुविधा बन्द गर्ने निर्णय गरिएको हो ।

    यसअघि नेपालले चीन, इरान, दक्षिण कोरिया, जापान र इटलीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय गरेको थियो ।

    यी मुलुकबाट नेपाल आउन चाहेमा अब सम्बन्धित मुलुकस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमै सम्पर्क गर्नुपर्छ ।

    त्यहा नियोगहरुले एक निरोगिताको फारम भर्न लगाउने छ । त्यसको प्रमाण पेश गर्न सक्ने व्यक्तिमाथि नेपाल आउन पाउने भएका छन् ।

    उनीहरु स्थलमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जहाँबाट आएपनि निरोगिताको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

    नेपालले आतंकवादी क्रियाकलाप हुने एक दर्जन मुलुकका नागरिकलाई बाहेक अन्य मुलुकलाई अनअराइभल सुविधा दिएको थियो । यस्तो सुविधा पाएको देशका नागरिकले नेपाल छिर्ने नाकामा आएर भिसा लिन पाउने प्रावधान थियो ।

  • अब भेडेटारमा समेत जीपलाइनको मज्जा

    अब भेडेटारमा समेत जीपलाइनको मज्जा

    धरान । अब धरानमा समेत जीपलाइन चढ्न पाइने भएको छ । शनिबार धरान ४ स्थित भेडेटारमा साहसिक खेल जीपलाइनको औपचारिक शुभारम्भ भएको छ ।

    भेडेटार देवीथान जीपलाइनको शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।

    मुख्यमन्त्रीले उद्घाटन गरेको यस जीपलाइनमा धरानकी उपप्रमुख मन्जु भन्डारी आफै चढेर जीपलाइनको उद्घाटनमा सहभागी भइन् ।

    उनले सुपरम्यान जीपलाइन गरिन् । धरान ४ तर्फको भेडेटारबाट सुरुवाती बिन्दु राखिएको छ । देवीथानमा ल्याण्डिङ बिन्दु बनाइएको छ ।

    जीपलाइन ६ सय ५० मिटर लामो रहेको छ । उचाई भने १५० मिटरसम्म रहेको छ । यसको दूरी करीव ४५ सेकेण्डमा पार हुने भएको छ ।

    वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले यहाँ जीपलाइन शुरु भएको हो । यसको लागत ३ करोड भएको कार्यक्रममा जानकारी दिइयो ।

    जीपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम गरी तीन वटा प्रडक्ट विकास गरिएको छ । यो जीपलाइन धुलिखेल जीपलाइन कै एक शाखा हो ।

    सोही समूहले विभिन्न स्थानमा जीपलाइनको विकास र बिस्तार गरिरहेका छन् ।

  • वायुसेवा कम्पनीहरुले कर्मचारीको सेवा सुविधा कटौती गर्ने

    वायुसेवा कम्पनीहरुले कर्मचारीको सेवा सुविधा कटौती गर्ने

    काठमाडौं । नेपाली आन्तरिक वायुसेवा कम्पनीले कर्मचारीको सेवा सुविधा कटौती गर्ने भएका छन् । सेवा सुविधा कटौती गर्नुका साथै बेतलवी बिदामा बस्न समेत प्रोत्साहन गर्ने नीति कम्पनीले लिने भएका छन् ।

    कोरोना भाइरसका कारण पर्यटक आगमन ८० प्रतिशतसम्म ओरालो लागेको छ ।

    यस अवस्थामा व्यवसाय नचल्ने र खर्च धान्न मुस्किल पर्ने भन्दै व्यवसायीले कर्मचारीको सेवा सुविधा कटौतीको तयारी गरेका हुने । उनीहरुले सरकारसँग बैंकको ब्याजमा सहजिकरण गर्न समेत माग गरेका छन् ।

    अब मागको तुलनामा आपूर्तिसमेत धेरै भएका कारण जहाजहरु ग्राउन्डेड समेत गरिने भएको छ । आवश्यक नभएको अवस्थामा सबै जहाज चलाउनुको साटो बन्द गर्न लागिएको वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सचालक संघ (आयोन)ले जानकारी दिएको छ ।

    वायुसेवा सञ्चालकहरुले कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमन घटेका कारण आन्तरिक हवाई सेवा प्रभावित भएको बताएका हुन् । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसले नेपालका मूख्य पर्यटकीय स्रोत बजार सबैभन्दा बढी प्रभावित भएका छन् ।

    त्यसमा पनि संक्रमणले विश्वव्यापी रुप लिएसँगै संसारभर पर्यटन सेवा नराम्रोसँग प्रभावित भएको छ ।

    यसले आन्तरिक वायुसेवा कम्पनीको व्यापार उल्लेख्य घटेको वायुसेवा सञ्चालकहरुको भनाई छ । नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करीव ४ अर्ब रुपैयाँ बराबरको क्षतिको अनुमान वायुसेवा कम्पनीहरुले गरेका छन् ।

    सन् २०२० को पहिलो दुई महिनामा आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको अनुमानका आधारमा यस्तो क्षतिको आंकलन गरिएको हो ।

    नजिकिएको बसन्तु ऋतुको पर्यटक बुकिङ समेत धमाधम रद्द भइरहेको अवस्थामा आगामी दिनमा अझै नराम्रोसँग व्यवसाय प्रभावित हुने आंकलन कम्पनीहरुको रहेको छ ।

    खासगरी नेपालको स्रोत बजार चीन, हङकङ, कोरिया, थाइल्याण्ड, भारत तथा मध्यपूर्वी मुलुकमा कोरोनाले प्रभाव देखाइसकेको छ ।

  • आन्तरिक उडानमा समेत शुरु भयो कोरोना जाँच

    आन्तरिक उडानमा समेत शुरु भयो कोरोना जाँच

    काठमाडौं । नेपालमा कोरोनाबाट बच्न सचेतना तीब्र पारिएको छ । शुक्रबारबाट आन्तरिक विमानस्थल र जहाजमा समेत कोरोनाको जाँच प्रारम्भ गरिएको छ ।

    बुद्ध एयरले चेकइन काउन्टरबाट ज्वरो नाप गरी १ सय फरेनहाइडभन्दा बढी तापक्रम भएका यात्रुलाई काउन्टरबाटै घर फर्काउन शुरु गरेको छ ।

    त्यसो त तराईका विमानस्थलमा हेल्थ डेस्कसमेत संचालनमा आएको पर्यटन सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् ।

    विमानस्थलमा ज्वरो नाप्ने उपकरणले यात्रुको ज्वरो नाप्ने र बिरामी भए सोही विमानस्थलबाट सिधै अस्पताल पठाइने भएको छ ।

    विमान भित्र थप यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै वायुसेवा कम्पनीहरुले स्वास्थ चेकजाँच कडा गर्न लागेका हुन् ।

    बुद्ध एयरका अनुसार शुक्रबारबाट सबै यात्रुको ज्वरो नाप गर्न थालिएको छ ।

    विमान चढ्न जानुअघि ‘चेक इन काउन्टर’मा कर्मचारीले सबै यात्रुको ज्वरो नाप्ने र १ सय फरेनहाइट तथा त्यो भन्दा माथिको ज्वरो देखिने सबै यात्रुलाई घर पठाउन थालेका छन् । बुद्धले काठमाडौंबाट उड्नु अघि र अन्य गन्तब्यबाट काठमाडौं उड्नुअघि विमानस्थलमै ज्वरो नाप्न थालेको बताएको छ ।

    सिम्रिक एयरले समेत अब ज्वरो नापेर मात्र यात्रुलाई चढाउने भएको छ । कम्पनीहरुले ज्वरो आएमा हवाई यात्रा नगर्न र त्यसको साटो टिकट रद्द गरी पैसा फिर्ता लैजान आहृवान गरेका छन् ।

  • भ्रमण वर्षका कार्यक्रमबारे अझै अन्यौल

    भ्रमण वर्षका कार्यक्रमबारे अझै अन्यौल

    काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको काम रोकेको छ । विदेशमा हुने सबै प्रकारका यस्ता कार्यक्रम रोकिएका हुन् ।

    तर, नेपाल भ्रमण वर्षलाई भने के गर्ने भन्ने सम्बन्धमा अझै अन्यौल कायम छ । यही संकेत सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् ।

    उनका अनुसार सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेको नेपाललाई विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले प्रभावित पारेको हो ।

    भ्रमण वर्षका कार्यक्रम तत्कालका लागि स्थागित गर्ने निर्णय भएको छ । तर, यो अभियान के गर्ने भन्नेबारे भने कुनै निर्णय भइसकेको छैन ।

    कोरोनाको विश्वव्यापी हल कसरी हुन्छ, त्यसका आधारमा भ्रमण वर्षका कार्यक्रम अगाडि बढाइने उनले उल्लेख गरे ।

    बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनका दौरान अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिएको भएपनि अन्य निर्णय नभएको स्पष्ट पारे ।

    सरकारले भ्रमण वर्ष लक्षित अन्तर्राष्ट्रिय प्रवर्द्धन रोक्ने निर्णय गरेपनि भ्रमण वर्ष अभियान, भ्रमण वर्ष सचिवालय, यसका पदाधिकारीका सम्बन्धमा कुनै निर्णय गरिसकेको छैन ।

    सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको थियो । तर, कोरोनाको संक्रमणसँगै पर्यटक आगमन खस्कने पक्का भएको छ ।

  • विमानस्थलमा काम नपरी नजान आह्वान, जानै परे मास्क अनिवार्य

    विमानस्थलमा काम नपरी नजान आह्वान, जानै परे मास्क अनिवार्य

    काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक काम नपरेसम्म नजान आह्वान गरेको छ ।

    त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने भिजिटर पास वितरण बन्द गर्दै सर्वसाधारणमा यस्तो आह्वान गरेको हो ।

    अर्को व्यवस्था नभएसम्म पास वितरण बन्द गरिएको विमानस्थलले उल्लेख गरेको छ ।

    चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनु पर्ने भएकाले विमानस्थलभित्र प्रवेशमा कडाई गरिएको कार्यालयको भनाई छ ।

    विमानस्थल क्षेत्रभित्र अत्यावश्यक काम नपरेसम्म नआउन र आउनै परे मास्क अनिवार्य लगाउन समेत सर्वसाधारणलाई आग्रह गरिएको छ ।

    यात्रुलाई ल्याउन र पुर्‍याउन आउने मानिसले अनिवार्य मास्क लगाउनु पर्ने भएको छ ।

    कोरोनाको संक्रमण नेपालमा समेत फैलन सक्ने सम्भावना रहेको र विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो नियम ल्याउनु परेको विमानस्थल कार्यालयले उल्लेख गरेको छ ।

    पछिल्लो केही दिन यता नेपाल सरकारले समेत कोरोनासम्बन्धमा उच्च सतकर्ता अपनाउन थालिसकेको छ ।

  • नेपालले जारी गर्यो ट्राभल एडभाइजरी, विदेश यात्रामा सचेत रहन आग्रह

    नेपालले जारी गर्यो ट्राभल एडभाइजरी, विदेश यात्रामा सचेत रहन आग्रह

    काठमाडौं । नेपाल सरकारले आफ्ना नागरिकलाई विदेश यात्रामा सचेत रहन आग्रह गरेको छ । नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै सरकारले ट्राभल एड्भाइजरी जारी गरेको हो ।

    कोरोना भाइरसले पछिल्लो समय बढी नेपाली बढी आवत जावत हुने देशमा संक्रमण बढाएको छ । सोहीकारण सरकारले विदेश यात्रामा सचेत रहन आग्रह गरेको हो ।

    तत्कालका लागि विदेश भ्रमणको योजना नबनाउन देशबासीलाई अपील गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

    कोरोना भाइरसको गम्भीर संक्रमण देखिएका देशमा अत्यावश्यक काममा बाहेक नजान नेपालीलाई आग्रह गरिएको उनले बताए ।

    सरकारले वैदेशिक रोजगारीमा जाने योजना समेत तत्कालका लागि स्थगित गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

    दक्षिण कोरियामा इपीएस प्रणालीबाट कामदार नपठाउने निर्णय समेत भएको छ ।

    अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले समेत अब तत्काल एनओसी नपाउने भएका छन् । पछिल्लो समय सरकारले कोरोनाबारे सचेतना अपनाउन थालेको छ । सोही अनुसार यात्रामा सचेत गराइएको हो ।

  • चीनबाट आउने पर्यटक ह्वात्तै घटे, बौद्धमार्गी बढे

    चीनबाट आउने पर्यटक ह्वात्तै घटे, बौद्धमार्गी बढे

    काठमाडौं । नेपालमा चीनबाट आउने पर्यटकको संख्या ओरालो लागेको छ । कोरोनाको प्रकोप फैलिएसँगै चीनबाट पर्यटक आवागमन करीव ठप्प प्राय छ ।

    फेब्रुअरी महिनामा मात्र ३ हजार २ सय ८५ जना चिनियाँ पर्यटक नेपाल आएका छन् ।

    सन् २०१९ को फेब्रुअरीमा चीनबाट करीव १४ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए ।

    यो वर्ष आएका चिनियाँमध्ये पनि अधिकांश कूटनीतिक नियोगमा कार्यरत कर्मचारी तथा विभिन्न आयोजनामा काम गर्ने कर्मचारी रहेको बताइएको छ । पर्यटक आगमन भने रोकिएको छ ।

    चीनबाट साविकमा सातामा ६५ उडान हुने गरेकोमा अहिले खुम्चिएर सातामा ४ उडानमा सिमित भएको छ ।

    चिनियाँ पर्यटकको आगमन घटेपछि समग्र पर्यटक आगमन समेत प्रभावित भएको छ ।

    नेपाल भ्रमण वर्ष २०२० को दोस्रो महिनामा ०.९९ प्रतिशतले पर्यटक आगमन कम भएको हो ।

    सन् २०१९ को दोस्रो महिनामा १ लाख २ हजार ४ सय २३ जना पर्यटक नेपाल आएका थिए ।

    फेब्रुअरी २०२० मा कूल १ लाख १ हजार ४ सय जना पर्यटक नेपाल आएको तथ्यांक विभागले सार्वजनिक गरेको छ । फेब्रुअरीमा हवाई यात्राबाट ७७ हजार ६४ जना पर्यटक आएका छन् ।

    गत वर्षभन्दा यो वर्ष हवाई यात्रु केही बढेका छन् ।

    स्थलमार्गबाट भने २४ हजार ३ सय ३६ जना पर्यटक नेपाल आएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।

    समग्रमा पर्यटक आगमन खस्किएपनि म्यानमार, श्रीलंका र थाइल्याण्डबाट आउने पर्यटकमा भने ठूलो वृद्धि पाइएको छ ।

    यी बौद्धमार्गी मुलुक हुन् । म्यानमार, श्रीलंका र थाइल्याण्डबाट अघिल्लो वर्षको यसै महिनाको तुलनामा क्रमशः ४५९५.६, ११२६.८ र ५६५.५ प्रतिशत बढी पर्यटक भित्रिएका छन् ।

  • ५ मुलुकका नागरिकलाई नेपालमा अनअराइभल भिषा बन्द

    ५ मुलुकका नागरिकलाई नेपालमा अनअराइभल भिषा बन्द

    काठमाडौं । सरकारले कोरोना भाइरसबाट अतिप्रभावित ५ मुलुकका नागरिकलाई अनअराइभल भिषा बन्द गरेको छ ।

    गृह मन्त्रालयले आगामी १० मार्चबाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित देशबाट नेपाल आउने नागरिकका लागि अनअराइभल भिसा बन्द गरेको हो ।

    दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकले यस महिनाभर अब नेपाल आएर भिषा पाउने छैनन् ।

    उनीहरुले नेपाल आउनु परेमा अब सोही मुलुकस्थित नेपाली कूटनीतिक नियोगमा पुगेर सम्पर्क राख्नु पर्नेछ ।

    नेपालले यसअघि पनि कतिपय मुलुकलाई अनअराइभल भिषा दिने गरेको थिएन ।

    खासगरी आतंकबादी क्रियाकलाप भइरहेका मुलुकका नागरिकले नेपालमा अनअराइभल भिषा पाउने थिएनन् ।

    पछिल्लो समय कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिन थालेपछि नेपालमा सतर्कता अपनाउन थालिएको हो ।

    अध्यागमन विभागले ९ वटा प्रवेश तथा प्रस्थान विन्दुबाट नेपाल आइसकेपछि अनअराइभल भिषा दिने गरेको छ ।

    नेपालले अनअराइभल भिषा मात्र पर्यटक भिषाका लागि दिने गरेको छ ।

  • भ्रमण वर्ष स्थगित गरिने

    भ्रमण वर्ष स्थगित गरिने

    काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गर्ने भएको छ । यी दुबै कार्यक्रम स्थगित गर्ने प्रस्ताव प्रधानमन्त्रीले गरेका छन् ।

    अब विभागीय मन्त्रालयले यसको प्रस्ताव मन्त्रीपरिषद्मा लगेर यसको औपचारिक निर्णय हुने भएको छ ।

    आइतबार साँझ मन्त्रीपरिषद् बैठक बसेको थियो । मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भएको छ ।

    चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ । यसको बिस्तार तिब्र रुपमा भइरहेको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि नेपाललाई उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेको छ । सोहीकारण भ्रमण वर्ष स्थागित गर्ने र आन्तरिक पर्यटकीय प्रवद्र्धनमा केन्द्रित हुने तयारी सरकारले गरेको छ ।

    कोरोनाको संक्रमणबारे सतर्कतामा जोड दिने समय भएकाले पर्यटन प्रवर्द्धनमा ध्यान दिन नसकिने भन्दै भ्रमण वर्ष रोक्न लागिएको हो ।

    मन्त्रीपरिषद् बैठकमा सरकारले विभिन्न कोरोना अतिप्रभावित मुलुकबाट आउने विमान र यात्रुलाई समेत रोक्ने गरी छलफल भएको थियो ।

    चीन, जापान, दक्षिण कोरिया, हङकङ र इरानका यात्रुहरुलाई रोक्ने तयारी सरकारले गरेको छ ।

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत आइतबारबाटै बाहिरने र भित्रिने हरेक यात्रुको स्वास्थ्य चेकजााच गर्न थालिएको छ ।