Category: विश्व

  • चिलीद्वारा करिब दुई लाख आप्रबासीलाई कागजात दिने योजना रद्द गर्ने घोषणा

    चिलीद्वारा करिब दुई लाख आप्रबासीलाई कागजात दिने योजना रद्द गर्ने घोषणा

    सान्टियागो, चिली, १७ चैत (रासस–एएफपी) । चिलीको नयाँ दक्षिणपन्थी सरकारले सोमबार अनियमित रूपमा देश प्रवेश गर्ने दशौँ हजार आप्रवासीलाई कानुनी मान्यता दिने योजना रद्द गर्ने घोषणा गरेको छ । राष्ट्रपति ग्याब्रियल बोरिकको अघिल्लो वामपन्थी सरकारले कानुनी हैसियतका लागि आवेदन दिने एक लाख ८२ हजार मानिसलाई कानुनी मान्यता दिने प्रतिवद्धता व्यक्त गरेको थियो । आप्रवासनविरुद्ध कडाइ गर्ने प्रतिबद्धताका साथ अभियान चलाएको जोसे एन्टोनियो कास्टको नयाँ सरकारले यो आदेशलाई कार्यान्वयन नगर्ने आप्रवासन सेवाले बताएको छ।

    “हामी बोरिक सरकारले प्रस्ताव गरेजस्तो आवासीय कागजातहरूको ठूलो अनुमतिको लागि अगाडि बढ्ने छैनौँ,“ आप्रबासन सेवाका निर्देशक फ्रान्क साउरबाउमले भने । कास्टले पेरुको सीमामा नयाँ अवरोधहरू निर्माण गर्न यसै महिनाको सुरुमा आदेश दिएका थिए । कास्टले पेरू र बोलिभियाबाट आउने आप्रवासीहरूलाई रोक्न ‘सीमा निगरानी’ बढाउने र प्रवेशमा कडाइ गर्ने वाचा गरेका थिए । कास्टले हत्या, अपहरण र फिरौती असुलीमा वृद्धि रोक्न कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । उनले हत्या, अपहरण र फिरौती असुलीजस्ता घटनामा वृद्धि हुनुलाई कागजात नभएका आप्रवासीहरू प्रवेश दिइनु केही कारकमध्ये एक भएको बताए ।


    दक्षिणपन्थी राष्ट्रपति कास्टको निर्वाचन चिलीको इतिहासमा सन् १९७३ देखि १९९० सम्म अगस्टो पिनोचेको सेनाको नियन्त्रण रहेको सत्तापछि चिलीमा वर्तमान् राष्ट्रपति कास्टको निर्वाचनले देशमा एक अतिराष्ट्रवादी नेताको नेतृत्व दिएको छ। सरकारी अनुमान अनुसार चिलीमा रहेका करिब तीन लाख ३७ हजार विदेशी नागरिकहरूसँग आवासीय अनुमतिका लागि कागजातहरू छैनन् ।

  • श्रीलङ्कामा बिजुलीको मूल्य करिब ४० प्रतिशत वृद्धि

    श्रीलङ्कामा बिजुलीको मूल्य करिब ४० प्रतिशत वृद्धि

    कोलम्बो, १७ चैत (रासस–एएफपी) । श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका समय बुधबारदेखि बिजुलीको मूल्यमा करिब ४० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । श्रीलङ्काको सार्वजनिक उपयोगिता आयोगले विश्वव्यापी ऊर्जा मूल्यको आधारमा अप्रिलमा विद्युत शुल्कमा थपवृद्धि हुने बताएको हो । आयोगका अध्यक्ष केपीएल चन्द्रलालले कोलम्बोमा पत्रकारसँग भने, “आज हामीले घोषणा गरेको वृद्धिको गणना मध्यपूर्व द्वन्द्व अघि व्याप्त मूल्यको आधारमा गरिएको थियो।” अधिकांश मध्यम वर्गीय उपभोक्ताहरूको लागि, एक किलोवाट बिजुलीको प्रतिघण्टा लागत ८४ रूपैयाँ अर्थात् ०।२८ अमेरिकी डलर हुनेछ ।

    यो मूल्य समायोजनका कारण सबैभन्दा कम विद्युत उपभोग गर्ने उपभोक्ताले एक किलोवाट बिजुलीको प्रतिघण्टाको लागत ६१ रूपैयाबाट ३९.३४ प्रतिशत वृद्धि भई ८४ रूपैँया हुनेछ । यसैगरी, महिनामा ३० किलोवाट प्रतिघण्टा भन्दा कम प्रयोग गर्ने उपभौक्ताका लागि ११.११ प्रतिशतले मूल्यवुद्धि हुनेछ ।
    श्रीलङ्काले यस महिनामा तीन पटक इन्धनको मूल्य बढाइएको र यो एक तिहाईभन्दा बढीले बढेको छ । देशले ऊर्जा सङ्कट हुन नदिन इन्धनको बचत गर्नका लागि हप्तामा तीन दिन सार्वजनिक विदा तोकेको छ।

    सरकारले निजी क्षेत्रलाई पनि सम्भव भएसम्म घरबाटै काम गर्ने व्यवस्था पुनः लागू गर्न भनेको छ । गत महिनाको अन्त्यमा अमेरिका–इजरायलले गरेको आक्रमणपछि शान्तिकालमा विश्वव्यापी कच्चा तेल र ग्यास निर्यातको २० प्रतिशत हिस्सा ओहोरदोहोर गर्ने प्रमुख जलमार्ग हर्मुज घाँटी भएर ओहोर दोहोर गर्ने जहाजहरूलाई इरानले प्रभावकारी रूपमा बन्द गरेको छ। श्रीलङ्काले आफ्नो सबै तेल आयात गर्छ र बिजुली उत्पादनका लागि कोइला पनि खरिद गर्छ ।

    उसले भारत, सिङ्गापुर, मलेसिया र दक्षिण कोरियाबाट प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्छ भने इरानमा निर्मित श्रीलङ्काली प्रशोधन केन्द्रका लागि कच्चा तेल मध्यपूर्वबाट आयात हुने गरेको छ । मध्यपूर्वमा लडाइँ र कुनै पनि लामो युद्धले सन् २०२२ को आर्थिक मन्दीबाट बाहिर निस्कने उसको प्रयासलाई गम्भीर रूपमा कमजोर पार्न सक्ने सरकारले बताएको छ। यसबाट बच्न सरकारले मितव्ययी कार्यक्रमहरूको घोषणा गरेको हो । श्रीलङ्कामा विदेशी मुद्रा सकिएपछि सन् २०२२ मा ४६ अर्ब डलर बराबरको विदेशी ऋण तिर्न नसकेपछि त्यसयता कोलम्बोले आइएमएफको २.९ अर्ब डलरको ससर्त कर्जा सहयोग प्राप्त गरेको छ ।

  • भानुआटुमा शक्तिशाली भूकम्प

    भानुआटुमा शक्तिशाली भूकम्प

    सिड्नी, १७ चैत (रासस–एएफपी) । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो, जसले क्षेत्रीय स्तरमा मध्यम कम्पन महसुस गराएको छ । भूकम्प भानुआटुको दोस्रो ठूलो सहर लुगानभिलबाट करिब ३५ किलोमिटर उत्तरपूर्वमा केन्द्रित थियो । प्रारम्भिक रूपमा ७.२ म्याग्निच्युड आँकलन गरिएको यस भूकम्पको परिमाण पछि बढाएर ७.३ निर्धारण गरिएको हो ।

    प्रशान्त सुनामी चेतावनी सेन्टरका अनुसार यस भूकम्पपछि सुनामीको कुनै खतरा नदेखिएको स्पष्ट पारिएको छ, जसले तटीय क्षेत्रमा सम्भावित जोखिमलाई कम गरेको छ । युएसजिएसले भूकम्पको गहिराइ करिब ११५.८ किलोमिटर रहेको जनाएको छ, जसका कारण सतहमा व्यापक विनाशको सम्भावना घटेको बताइएको छ । प्रारम्भिक मूल्याङ्कनअनुसार ठूलो मानवीय क्षति वा आर्थिक नोक्सानी भएको सङ्केत छैन ।

    भानुआटु भूकम्पीय दृष्टिले सक्रिय क्षेत्र प्यासिफिक रिङ अफ फायरभित्र पर्ने भएकाले यस्ता घटनाहरू यहाँ सामान्य मानिन्छन । करिब तीन लाख २० हजार जनसङ्ख्या रहेको यस द्वीपसमूहमा समय–समयमा शक्तिशाली कम्पनहरू हुने गरेका छन् । गत महिना पनि एस्पिरिटु सान्टो टापु नजिक ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले स्थानीय बासिन्दालाई त्रसित बनाए पनि उल्लेखनीय क्षति भने पुर्‍याएको थिएन । यसपटकको भूकम्प पनि तुलनात्मक रूपमा कम जोखिमपूर्ण देखिएको छ, यद्यपि निगरानी भने जारी राखिएको छ ।

  • माओवादी विद्रोहमाथि भारतले विजय गरेको गृहमन्त्रीको घोषणा

    माओवादी विद्रोहमाथि भारतले विजय गरेको गृहमन्त्रीको घोषणा

    बस्तर, भारत, १७ चैत (रासस–एएफपी) । भारतले दशकौँ लामो विद्रोहलाई परास्त गर्न लामो समयसीमा पूरा गर्दै सोमबार मुलुकलाई माओवादी द्वन्द्वमुक्त मुलुक घोषणा गरेको छ । गृहमन्त्री अमित शाहले नक्सल चिनिने विद्रोहीहरूबाट भारत ’स्वतन्त्र’ बनेको संसदमा घोषणा गरे । “म खुल्लमखुल्ला भन्न सक्छु कि हामी नक्सलवादीमुक्त भएका छौँ, यो भन्न कुनै हिचकिचाहट छैन,” उनले भने, “सम्पूर्ण अभियान सकिएपछि म देशलाई सार्वजनिकरूपमा पनि जानकारी दिनेछु ।”

    भारतले विगत दुई वर्षमा नक्सलवादी विद्रोहको अन्तिम अवशेषविरुद्ध आफ्नो अभियान तीव्र बनाएको बताउँदै आएको थियो । यो आन्दोलनको नाम पश्चिम बङ्गालको हिमालयको फेदीमा रहेको नक्सलबारी गाउँको नामबाट राखिएको छ । यो छ दशकअघि माओवादी प्रेरित विद्रोह सुरु भएको स्थानबाट नै उक्त आन्दोलनको नाम राखिएको थियो ।

    विद्रोहले देशको लगभग एक तिहाइ भाग नियन्त्रण गरेको थियो र सन् २००० को दशकको मध्यमा अनुमानित १५ हजार देखि २० हजार लडाकुहरू भएको आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । तर हालैका वर्षहरूमा यो नाटकीय रूपमा कमजोर भएको थियो। अधिकांश सशस्त्र विद्रोहीहरू मध्य छत्तीसगढ राज्यको बस्तर क्षेत्रसम्म सीमित थिए, जुन घना जङ्गल र पहाडहरूको विशाल खनिज–समृद्ध क्षेत्र हो । “बस्तर अब नक्सलमुक्त छ,” ९० मिनेटको भाषणका क्रममा शाहले विद्रोह अन्त्यका लागि सुरक्षा बलले अपनाएको इतिहास र रणनीतिबारे जानकारी दिँदै भने । उनले भने, “माओवादी हिंसा गर्ने, नक्सलवाद हिंसा गर्नेहरुको दिन अब सकिएको छ ।”

    सन् २०२५ मा सुरक्षा फौजले ३६४ विद्रोहीहरूलाई मारेको र एक हजार २२ लाई पक्राउ गरेको थियो भने वरिष्ठ नेताहरूसहित अन्य दुई हजार ३३७ जनाले आत्मसमर्पण गरेका थिए । सन् २०१० यता नागरिक र सुरक्षा बलको मृत्युमा ९० प्रतिशतले कमी आएको छ भने माओवादी आक्रमणको संख्या एक हजार ९०० बाट घटेर गत वर्ष करिब २०० मा झरेको छ । शाहले सरकारले विद्रोहबाट प्रभावित राज्यहरूमा स्थानीय प्रहरी बलको क्षमतालाई बलियो बनाएको र सुरक्षा बलहरूबीच समन्वय गहन बनाएको बताए ।

    “हामीले हतियार मात्र होइन, सबै निकायको दृष्टिकोण अपनाएका छौँ,” शाहले भने, “माओवादीका दुई कमान्डरबाहेक सबै या त मारिएका छन् वा आत्मसमर्पण गरेका छन्। उनीहरूले पनि चाँडै आत्मसमर्पण गर्नेछन्।” छत्तिसगढका उपमुख्यमन्त्री विजय शर्माले यसअघि एएफपीलाई राज्य नक्सलवादी विद्रोहीहरूबाट पूर्ण रूपमा मुक्त रहेको बताएका थिए । उनले भने, उनीहरुको सम्पूर्ण सशस्त्र लढाकू मारिएका छन् ।”

    माओवादीले वन क्षेत्रमा सीमान्तकृत आदिवासी जनजातिको अधिकारका लागि आफूहरू लडिरहेको बताएका थिए । सन् १९६७ मा मुट्ठीभर गाउँलेहरूले आफ्ना सामन्ती शासकहरूविरुद्ध विद्रोह गरेपछि १२ हजारभन्दा बढी विद्रोही, सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ। माओवादी केन्द्रका पूर्व विद्रोही २६ वर्षीय विष्णु माडवीले छापामारसँग सात वर्षपछि गत जनवरीमा आत्मसमर्पण गरेका थिए । “मेरो कमान्डर सन् २०२५ मा प्रहरीको कारबाहीमा मारिएकोमा मुस्किलले बाँचेको छ,” माड्वीले सोमबार एक शिविरबाट एएफपीलाई बताए । उनले भने, “हाम्रा शीर्ष नेताहरू सबै यात शाहदत प्राप्त गरिसकेका छन् या आत्म समर्पण । प्रहरीले हामी घेराबन्दी गरेको अवस्थामा आन्दोलन छोड्नुको विकल्प थिएन।”

  • युरोपतर्फ लैजाँदै गर्दा लाखौँ चकलेट चोरी

    युरोपतर्फ लैजाँदै गर्दा लाखौँ चकलेट चोरी

    स्विट्जरल्याण्ड, १६ चैत (रासस–एपी) । स्विट्जरल्याण्डस्थित बहुराष्ट्रिय खाद्य कम्पनी ‘नेस्ले’ ले करिब १२ टन अर्थात् ४ लाख १३ हजारभन्दा बढी किटक्याट चकलेट चोरी भएको जनाएको छ । यी चकलेटहरू इटालीमा उत्पादन भएर पोल्याण्डतर्फ लैजाँदै गर्दा बाटोमै हराएका हुन् । कम्पनीका अनुसार चकलेट बोकेको सवारीसाधनसहित सम्पूर्ण सामान अझै फेला परेको छैन ।

    उक्त चकलेटहरू युरोपभर वितरणका लागि पठाइएका थिए, तर बीच बाटोमै हराएपछि ती अवैध बजारमार्फत बिक्री हुन सक्ने आशङ्का गरिएको छ । कम्पनीले प्रत्येक चकलेटमा रहेको विशेष ब्याच नम्बरमार्फत ती सामान पहिचान गर्न सकिने जनाएको छ । उपभोक्ता, खुद्रा विक्रेता र थोक व्यापारीहरूले उक्त नम्बर स्क्यान गरेर चोरी भएको चकलेट हो वा होइन भनेर सजिलै थाहा पाउन सक्नेछन् ।

    कम्पनीले यस्तो प्रकारको ढुवानी चोरी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यो घटना सार्वजनिक गरेको जनाएको छ । उनीहरुका अनुसार पछिल्लो समय सङ्गठित रूपमा गरिने चोरीका तरिकाहरू झन् जटिल हुँदै गएका छन्, जसले ठूला मात्र होइन साना व्यवसायहरूलाई पनि असर पारिरहेको छ ।

  • युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    ब्रसेल्स, १६ चैत (रासस–एपी) । युरोपेली सङ्घ (इयु)ले आप्रवासन नियन्त्रणलाई अझ कडा बनाउने दिशामा निर्णायक मोड लिँदै निगरानी, पक्राउ र निर्वासनको दायरा विस्तार गरिरहेको छ । यसलाई कतिपयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकालीन रणनीतिसँग तुलना गर्न थालेका छन् । सत्ताइस राष्ट्रहरूको यो समूहले आप्रवासीहरूलाई युरोप प्रवेश गर्नुअघि नै रोक्ने, तेस्रो देशहरू—विशेषगरी अफ्रिकी मुलुकहरू—मा पठाउने र भित्र प्रवेश गरेपछि छिटो निर्वासन गर्ने नीति अघि बढाइरहेको छ । सन् २०२४ मा विभिन्न देशहरूमा दक्षिणपन्थी दलहरूको उदयपछि यस्तो नीति झन् कडाइका साथ लागू गर्न थालिएको हो ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले नयाँ उपायहरूले सन् २०१५ मा सिरियाली गृहयुद्धका कारण उत्पन्न शरणार्थी सङ्कट दोहोरिन नदिने दाबी गरेका छन् । त्यसबेला करिब १० लाख मानिस युरोप पुगेका थिए । “हामीले विगतका पाठ सिकेका छौँ र अहिले हामी अझ तयार छौँ”, उनले भने । ‘माइग्रेसन र शरण सम्झौता’ नाम दिइएको नयाँ नीति जुन १२ देखि लागू हुने तय भएको छ ।

    यद्यपि, मानव अधिकार समूहहरूले यस्ता कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार युरोपेली देशहरूले पहिलेदेखि नै सीमा क्षेत्रमा ‘पुशब्याक’ अर्थात् आप्रवासीहरूलाई कानूनी प्रक्रिया बिना फर्काउने अभ्यास गरिरहेका छन्, जसले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गर्ने जोखिम बढाएको छ ।
    इटालीले यसमा एउटा नमूना प्रस्तुत गरेको छ । प्रधानमन्त्री जर्जिया मेलोनीको नेतृत्वमा त्यहाँ कडा आप्रवासन नीति लागू गरिएको छ, जसअन्तर्गत अल्बानियामा शरण अस्वीकृत भएका आप्रवासीहरूका लागि हिरासत केन्द्र सञ्चालनमा छन् । त्यहाँ राखिएका आप्रवासीहरू भय र अन्योलमा रहेको एक सांसदले अवलोकनपछि बताउनुभयो ।

    मेलोनी सरकारको नयाँ प्याकेजले नौसेनालाई अन्तर्राष्ट्रिय पानीमै शङ्कास्पद जहाज रोक्ने अधिकार दिएको छ भने आप्रवासीहरूलाई उनीहरूको मूल देश वा तेस्रो देशमा फर्काउने प्रक्रिया पनि तीव्र बनाइएको छ । आपराधिक अभियोग लागेका विदेशी नागरिकहरूको निर्वासन झनै छिटो गरिने व्यवस्था गरिएको छ ।
    जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, डेनमार्क र ग्रिसलगायत देशहरूले पनि तेस्रो देशमा निर्वासन केन्द्र स्थापना गर्ने योजनामा छलफल अघि बढाइरहेका छन् । केही देशले केन्याजस्ता राष्ट्रहरूसँग यस विषयमा वार्ता गरिरहेको जनाइएको छ । यस्ता पहलहरू ट्रम्प प्रशासनले एल साल्भाडोरसँग गरेको सम्झौता जस्तै भएको टिप्पणी पनि गरिएको छ । विशेषगरी अफगानिस्तान र सिरियाबाट आएका मानिसहरूलाई लक्षित गर्दै स्विडेनले समेत युरोप बाहिर शरण खोज्नेहरूका लागि केन्द्र खोल्ने योजना अघि सारेको छ ।

    यसबीच, युरोपभित्रै ट्रम्प शैलीका कडा उपायहरूको समर्थन र विरोध दुवै देखिएको छ । केही समूहले अमेरिकी अध्यागमन निकाय आइसिईको कार्यशैलीको प्रशंसा गर्दै युरोपमा पनि त्यस्तै विशेष प्रहरी एकाइ गठन गर्नुपर्ने माग गरेका छन् । युरोपेली सीमा एजेन्सी फ्रन्टेक्सले बेल्जियममा आप्रवासी नियन्त्रणका लागि प्रहरीसँग संयुक्त छापा मार्न थालेको पनि जनाइएको छ ।

    इयुबाट बाहिरिए पनि बेलायतमा आप्रवासन नियन्त्रण प्रमुख राजनीतिक एजेन्डा बनेको छ । त्यहाँको सरकारले सन् २०२४ जुलाईदेखि अहिलेसम्म करिब ६० हजार मानिसलाई निर्वासित गरिसकेको जनाएको छ भने सन् २०२५ मा मात्रै करिब नौ हजार अवैध कामदार पक्राउ परेका छन् । मानव अधिकार समूहहरूले भने यस्ता नीतिहरूले कानूनी सुरक्षा कमजोर पार्ने चेतावनी दिएका छन् । उनीहरूका अनुसार सीमा क्षेत्रमा दैनिक औसत २२१ ‘पुशब्याक’ घटना हुने गरेका छन् र सन् २०२५ मा मात्रै विशेषगरी इटाली, पोल्यान्ड, बुल्गेरिया र लाटभियामा ८० हजारभन्दा बढी यस्ता घटना रेकर्ड भएका छन् ।

    प्रतिवेदनहरूमा आप्रवासीहरूमाथि कुटपिट, प्रहरी कुकुर प्रयोग, लुगा खोस्ने, नदी पार गर्न बाध्य पार्ने र व्यक्तिगत सामान लुट्ने जस्ता दुर्व्यवहार भएको उल्लेख गरिएको छ । निगरानीका लागि ड्रोन, थर्मल क्यामेरा र स्याटेलाइट प्रविधिको प्रयोग पनि बढ्दो छ । मानव अधिकारकर्मीहरूका अनुसार युरोपमा अझै पनि कानूनी र संस्थागत सुरक्षा अमेरिकाभन्दा बलियो भए पनि राजनीतिक रूपमा कडा नीतितर्फ झुकाव बढ्दो छ । “संस्थागत स्वतन्त्रता अझै कायम छ, तर नीतिगत दिशाले मानवीय परिणामहरूमा गम्भीर असर पार्न सक्छ”, एक विज्ञले चेतावनी दिए ।

  • मध्यपूर्व युद्धमा पाकिस्तानको कूटनीतिक सक्रियता

    मध्यपूर्व युद्धमा पाकिस्तानको कूटनीतिक सक्रियता

    इस्लामावाद, १६ चैत (रासस–एएफपी) । मध्यपूर्वमा फैलिँदै गएको युद्धका बीच तनाव कम गर्ने प्रयासस्वरूप पाकिस्तानले साउदी अरेबिया, टर्की र इजिप्टका विदेशमन्त्रीहरूलाई इस्लामावादमा आमन्त्रण गर्दै महत्त्वपूर्ण कूटनीतिक पहल अघि बढाएको छ । आइतबार हुने चारपक्षीय बैठकमा क्षेत्रीय सुरक्षा, युद्धको अवस्था र तनाव न्यूनीकरणका उपायहरूबारे विस्तृत छलफल हुने पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । पाकिस्तानले यसबीच अमेरिका र इरानबीच संवादको पुलका रूपमा भूमिका निर्वाह गरिरहेको छ ।

    बैठकका लागि टर्कीका विदेशमन्त्री हाकान फिदान र इजिप्टका बद्र अब्देलट्टी शनिबार राति इस्लामावाद आइपुग्नुभएको थियो भने साउदी अरेबियाका विदेशमन्त्री फैसल बिन फरहान आइतबार दिउँसो पुग्नुभएको थियो । उच्चस्तरीय भ्रमणलाई ध्यानमा राख्दै राजधानीको रेड जोन क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ र त्यहाँ जाने मुख्य सडकहरू बन्द गरिएका छन् । सरकारी कार्यालय र कूटनीतिक क्षेत्रहरू रहेको उक्त इलाकामा चारै देशका झण्डाले वातावरण सजाइएको देखिएको छ ।

    बैठकअघि पाकिस्तानका विदेशमन्त्री इशाक दारले इजिप्ट र टर्कीका समकक्षीसँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता गरेका थिए । त्यसपछि ती तीनै देशका मन्त्रीहरूले संयुक्त रूपमा पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असीम मुनीरसँग भेटवार्ता गरे । मध्यपूर्वको द्वन्द्व चर्किँदै जाँदा पाकिस्तानले आफूलाई एक महत्त्वपूर्ण मध्यस्थकर्ताको रूपमा प्रस्तुत गरेको छ । तेहरानसँग पुरानो सम्बन्ध र खाडी मुलुकहरूसँगको नजिकको सम्पर्कका साथै प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख मुनीरको अमेरिकी नेतृत्वसँगको व्यक्तिगत सम्बन्धले पनि इस्लामावादलाई कूटनीतिक रूपमा सक्रिय बनाएको देखिन्छ ।

    यद्यपि इरानले अमेरिकासँग औपचारिक वार्ता स्वीकार नगरेको जनाइएको छ, तर इरानी सञ्चारमाध्यम तस्निमले इस्लामावादमार्फत अमेरिकी प्रस्ताव—ट्रम्पको १५ बुँदे योजना—बारे प्रतिक्रिया पठाइएको उल्लेख गरेको छ । शनिबार प्रधानमन्त्री सरिफले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग एक घण्टाभन्दा लामो टेलिफोन संवाद भएको जानकारी दिँदै जारी कूटनीतिक पहलहरूबारे छलफल भएको बताएका थिए । पेजेस्कियानले क्षेत्रीय तनाव कम गर्न पाकिस्तानले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गरेका थिए ।


    यसैबीच, विदेशमन्त्री दारले इरानले थप २० वटा पाकिस्तानी झण्डा भएका जहाजलाई होर्मुज जलडमरूमध्य पार गर्न अनुमति दिएको जानकारी दिए । जसअनुसार दैनिक दुईवटा जहाज आवागमन गर्न पाउनेछन् । दारले सामाजिक सञ्जालमार्फत संवाद, कूटनीति र विश्वास निर्माण नै वर्तमान सङ्कट समाधानको एक मात्र उपाय भएको उल्लेख गर्दै अमेरिका र इरानका शीर्ष अधिकारीहरूलाई पनि यस दिशामा अघि बढ्न आग्रह गरे ।

  • इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    तेहरान, १६ चैत (रासस–सिन्ह्वा) । अमेरिकी रक्षा विभाग पेन्टागनले इरानमा केही हप्तासम्म चल्ने सम्भावित सशस्त्र अभियानको तयारी गरेको छ । हाल हजारौं अमेरिकी सेनाका सदस्य मध्यपूर्व क्षेत्रमा तैनाथ गरिएको छ । यो तयारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई तीव्र बनाउने निर्णय गरेमा नयाँ, जोखिमपूर्ण चरणको सुरुवात हुनसक्ने सङ्केतको रुपमा लिइन्छ ।

    पेन्टागन स्रोतका अनुसार सम्भावित अभियान पूर्ण रूपमा आक्रमणको आकारमा नहुन सक्छ । यसको सट्टा, विशेष अपरेसन बल र नियमित सैनिकको संयुक्त टोलीमार्फत ‘छिटो र सटीक’ लक्ष्यमा आक्रमण गर्ने योजना हुनसक्छ । यस्तो अभियानमा अमेरिकी सेनालाई इरानी हवाई ड्रोन, क्षेप्यास्त्र, जमीनबाट गोलीबारी र विभिन्न प्रकारका बिस्फोटकबाट खतरा हुनसक्ने चेतावनी दिइएको छ ।

    अमेरिकी प्रशासनको निर्णय यसबारे अस्थिर देखिएको छ । कहिले युद्धको समाप्ति घोषणा गरिन्छ भने कहिले यसलाई बढाउने चेतावनी दिइन्छ । यसले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय व्यापार मार्गमा अस्थिरता बढाउने आशंका गरिएको छ । विशेषज्ञहरूले इरानमा यस्तो अभियानले स्थानीय जनसङ्ख्या र पूर्वी भूमध्यसागर क्षेत्रका जलमार्गमा असर पार्न सक्ने अनुमान गरेका छन् । यसले ऊर्जा आपूर्ति र तेल मूल्यमा पनि असर पु¥याउने सम्भावना छ ।

  • अमेरिकामा नो किङ्ग्स’ आन्दोलनको लहर, कहाँ कस्तो छ अवस्था ?

    अमेरिकामा नो किङ्ग्स’ आन्दोलनको लहर, कहाँ कस्तो छ अवस्था ?

    मिनियापोलिस (संयुक्त राज्य अमेरिका), १६ चैत रासस–एएफपी) । अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिका बीच ‘नो किङ्ग्स’ आन्दोलनले मिनियापोलिसलाई फेरि राष्ट्रिय ध्यानको केन्द्रमा ल्याएको छ । यस सहरमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । सङ्घीय आप्रवासन छापापछि केही महिनाअघि हिंसात्मक घटनाले स्तब्ध बनेको यो सहरमा पुनः ठूलो सङ्ख्यामा नागरिकहरू भेला भएका हुन् ।

    आयोजकहरूका अनुसार करिब दुई लाख मानिस सहभागी भएको यो प्रदर्शन ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको विरोधमा केन्द्रित थियो । जनवरीमा गरिएको विवादास्पद छापाका क्रममा सङ्घीय एजेन्टहरूको हातबाट दुई अमेरिकी नागरिक रेनी गुड र एलेक्स प्रिटीको मृत्यु भएपछि मिनियापोलिस राष्ट्रिय बहसको केन्द्र बनेको थियो । उक्त घटनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति विरुद्ध व्यापक आक्रोश जन्माएको थियो ।

    गत वर्षदेखि आम नागरिकको पहलमा सुरु भएको ‘नो किङ्ग्स’ आन्दोलन अन्तर्गत यो तेस्रो ठूलो प्रदर्शन हो, जसले ट्रम्पको नेतृत्व शैली र दक्षिणपन्थी एजेन्डाप्रति असहमति जनाउँदै आएको छ । प्रदर्शनमा सहभागीहरूले ‘कुनै राजा छैन, कुनै आइस छैन, कुनै युद्ध छैन ?’ जस्ता नाराहरू घन्काएका थिए, जसले आप्रवासन कार्यान्वयन निकाय ‘आइस’ (आइसिई) विरुद्धको असन्तोषलाई समेत प्रस्ट पारेको थियो ।

    कार्यक्रमको सांस्कृतिक पक्ष पनि प्रभावशाली देखिएको थियो । चर्चित सङ्गीतकार ब्रुस स्प्रिङ्गस्टीनले छिमेकी सेन्ट पल सहरमा आयोजित कार्यक्रममा प्रस्तुति दिँदै ‘स्ट्रिट्स अफ मिनियापोलिस’ गीतमार्फत मृतक गुड र प्रिटीप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले उनीहरूको बलिदान र साहसलाई स्मरण गर्दै उनीहरूको नाम कहिल्यै नबिर्सिने बताए ।


    ¥यालीमा सहभागी ७३ वर्षीया पामेला सिन्नेसले आफू सबै मानिसहरूको समान अधिकारको पक्षमा उभिन आएको बताइन् । उनका अनुसार, सहरले हालैको हिंसात्मक घटनाबाट गहिरो आघात भोगेको छ र त्यस्तो अवस्थाको पुनरावृत्ति नहोस् भन्ने भावना लिएर मानिसहरू सडकमा आएका हुन् । राजनीतिक नेतृत्वले पनि विरोधमा स्वर मिलाएको देखिएको छ । मिनेसोटाका गभर्नर टिम वाल्जले प्रदर्शनकारीहरूलाई धन्यवाद दिँदै ट्रम्पको आलोचना गरेका थिए । त्यस्तै, वामपन्थी नेता बर्नी स्यान्डर्सले पनि सम्बोधन गर्दै ट्रम्पमाथि संविधान र कानूनी शासनको अवमूल्यन गरेको आरोप लगाए ।


    प्रदर्शनमा सहभागी जिना बिलोटा–रेसेलिसले ट्रम्प नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँलाई अयोग्य रहेको टिप्पणी गरेकी थिइन् । उनले मध्यपूर्वमा भइरहेको युद्ध, बढ्दो तेल मूल्य र आन्तरिक नीतिगत विवादहरूले सरकारको विश्वसनीयता घटाएको धारणा राखिन् । उनका अनुसार आगामी नोभेम्बरको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले आफ्नो सङ्कीर्ण बहुमत जोगाउन कठिन हुने देखिन्छ । “मतदानको प्रवृत्ति हेर्दा परिवर्तनको सङ्केत देखिन्छ”, उनले भनिन्, “मलाई लाग्छ उनीहरूले हार्नेछन् ।”

  • उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र

    उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र

    सियोल, १६ चैत (रासस–एपी) । उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिनको परीक्षण गरेको छ । यसलाई अमेरिकाको मुख्य भूमिसम्म प्रहार गर्न सक्ने मिसाइल कार्यक्रमसँग जोडेर हेरिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त इन्जिन परीक्षण प्रत्यक्ष अवलोकन गरेका छन् ।

    यसलाई देशको सैन्य शक्ति थप उकास्ने महत्त्वपूर्ण उपलब्धि बताएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)ले जनाएको छ । परीक्षण गरिएको इन्जिन कम्पोजिट कार्बन फाइबर सामग्री प्रयोग गरी उन्नत बनाइएको बताइएको छ । यसको अधिकतम थ्रस्ट दुई हजार ५०० किलोटन पुगेको उल्लेख गरिएको छ । यसअघि सेप्टेम्बरमा परीक्षण गरिएको यस्तै इन्जिनको क्षमता करिब एक हजार ९७१ किलोटन रहेको थियो ।

    विश्लेषकहरूका अनुसार इन्जिनको थ्रस्ट क्षमता वृद्धि गर्नुको उद्देश्य एउटै क्षेप्यास्त्रमा बहु वारहेड जडान गर्ने सम्भावना बढाउनु हुन सक्छ, जसले प्रतिरक्षा प्रणाली छल्ने क्षमता थप मजबुत बनाउँछ । यद्यपि परीक्षण कहिले र कहाँ गरिएको हो भन्नेबारे केसिएनएले स्पष्ट जानकारी दिएको छैन । यो परीक्षण उत्तर कोरियाको पाँच वर्षे सैन्य आधुनिकीकरण योजनाअन्तर्गत गरिएको हो, जसको लक्ष्य ‘रणनीतिक आक्रमणका साधनहरू’ लाई स्तरोन्नति गर्नु रहेको बताइएको छ ।

    यसले अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आइसिबिएम) विकासलाई सङ्केत गर्छ, जसले अमेरिकाको मुख्य भूमिसम्म प्रहार गर्न सक्ने क्षमता राख्ने मानिन्छ ।
    किमले पछिल्लो परीक्षणले देशको रणनीतिक शक्ति उच्च स्तरमा पु¥याउने महत्त्व राख्ने बर्ताका छन् ।

    पछिल्ला वर्षहरूमा उत्तर कोरियाले विभिन्न प्रकारका आइसिबिएम परीक्षण गर्दै आएको छ, विशेषगरी ठोस इन्धन प्रयोग गर्ने प्रविधिमा प्रगति गरेको छ । यस्तो इन्धनयुक्त मिसाइलहरू छिटो प्रक्षेपण गर्न सकिने र पहिल्यै पत्ता लगाउन कठिन हुने भएकाले अझ खतरनाक मानिन्छ । यसअघि प्रयोग हुँदै आएका तरल इन्धन मिसाइलहरू प्रक्षेपणअघि लामो तयारी आवश्यक पर्ने र लामो समयसम्म तयार अवस्थामा राख्न नसकिने कमजोरी रहेका थिए ।

    तर केही अन्तर्राष्ट्रिय विज्ञहरूले उत्तर कोरियाले अझै पूर्ण रूपमा कार्यक्षम आइसिबिएम विकास गर्न प्राविधिक चुनौतीहरू सामना गरिरहेको बताएका छन् । विशेषगरी वारहेडलाई वायुमण्डलीय पुनःप्रवेशका क्रममा हुने अत्यधिक ताप र दबाबबाट सुरक्षित राख्ने विषय चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ । यद्यपि अन्य विश्लेषकहरू भने उत्तर कोरियाले लामो समयदेखि गरेको लगानी र परीक्षणका आधारमा ती अवरोधहरू पार गरिसकेको हुन सक्ने तर्क गर्छन् ।

    यसैबीच, उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई थप विस्तार गर्ने नीति निरन्तर अघि बढाइरहेको छ । किमको अमेरिकासँगको उच्चस्तरीय कूटनीतिक प्रयास सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग असफल भएपछि यस्तो रणनीति थप आक्रामक बनेको देखिन्छ । हालै फेब्रुअरीमा आयोजित सत्तारूढ वर्कर्स पार्टीको बैठकमा किमले अमेरिकासँग वार्ताका लागि ढोका खुला राखे पनि त्यसका लागि उत्तर कोरियाको आणविक निशस्त्रीकरणको माग त्याग्न वासिङ्टनलाई आग्रह गरेका थिए ।


    यसबीच, किमले हालै संसद्मा सम्बोधन गर्दै आफ्नो देशको आणविक शक्ति हैसियतलाई अपरिवर्तनीय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । मध्यपूर्वको विकसित परिस्थितिलाई उल्लेख गर्दै अमेरिकामाथि ‘वैश्विक राज्य आतङ्कवाद र आक्रामकता’ को आरोप लगाएका थिए ।

  • जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

    जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

    नयाँदिल्ली, १४ चैत (रासस–सिन्ह्वा) । जम्मु कश्मीर नजिकैको अग्लो पाहाडी पास जोजिला पासमा हिम–पहिरो जाँदा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै र पाँच जना घाइते भएको स्थानीय अधिकारीले शनिबार पुष्टि गरेका छन् । प्राकृतिक प्रकोप पछि धेरै सवारी साधनहरू भग्नावशेष मुनि फसेको जनाउँदै दुर्घटना पछि हालसम्म राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको मिडियाले रिपोर्ट गरेका छन् । पछिल्लो मिडिया रिपोर्टका अनुसार शवहरुको बरामद र घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिए सँगै उद्धार कार्य सम्पन्न भइसकेको जनाइएको छ।

  • नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

    नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

    काठमाडौँ, १४ चैत्र ।नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । यहाँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।

  • प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्रीको बधाई

    प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्रीको बधाई

    काठमाडौँ, १३ चैतः प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । शाहले नेपालको प्रधानमन्त्री पदको शपथ लिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिएका हुन् । सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, “नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकामा बालेन्द्र शाहलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईंको नियुक्ति नेपाली जनताले तपाईंको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो ।”

    सो बधाई सन्देशमा समकक्षी मोदीले प्रधानमन्त्री शाहसँग मिलेर नेपाल–भारत सम्बन्धलाई अझै उचाइमा पु¥याउने काममा उत्सुक रहेको धारणा राखेका छन् । भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशको पारस्परिक हितका लागि थप उचाइमा पु¥याउन आफू इच्छुक रहेको प्रधानमन्त्री मोदीले बताए ।

  • भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि न्यूयोर्क अदालतमा पेश

    भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि न्यूयोर्क अदालतमा पेश

    न्यूयोर्क, १३ चैत (रासस–एएफपी) । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक न्यूयोर्कको एक अदालतमा बिहीबार सुनुवाईका लागि उपस्थित गराइएको छ । अमेरिकी सेनाले भेनेजुयालाको राष्ट्रपति भवनमा छापा मारी पक्राउ परेपछि उहाँलाई जनवरीमा अमेरिका पु¥याइएको थियो र उहाँमाथि अमेरिकाले लगाएको ‘नार्को–आतङ्कवाद’, कोकिन कारोबार, मेसिनगन र विध्वंसक उपकरणहरू राखेको र मेसिनगन र विनाशकारी उपकरणहरू राख्ने षड्यन्त्र गरेको चार अभियोगमा न्यायिक कारबाहीका लागि उक्त अदालतमा पेश गरिएको थियो ।

    मदुरोसँगै र उनकी पत्नी सिलिया फ्लोरेसलाई पनि लगिएको थियो र तीन महिनादेखि ब्रुकलिनको जेलमा राखिएको छ । मदुरोले आफूलाई ‘युद्धबन्दी’ घोषित गरेका छन् । तर ‘नार्को–आतङ्कवाद’ षड्यन्त्र, कोकिन आयात षड्यन्त्र, मेसिनगन र विध्वंसक उपकरणहरू राखेको र मेसिनगन र विनाशकारी उपकरणहरू राख्ने षड्यन्त्र गरेको चार अभियोगमा दोषी नभएको दावी गरेका छन् ।


    बिहीबारको सुनुवाइमा बिहान ११ः०० बजे मदुरोले आफ्नो मुद्दा खारेज गर्न आफ्नो अडान दोहोर्याउने सम्भावना छ । उनको मुद्दा हेरिरहेका वकिलहरूले पूर्व नेताको कानुनी शुल्क कसले तिर्ने भन्ने विषयमा निर्णयको पर्खाइमा रहेका छन्। भेनेजुयलाको सरकारले खर्च बेहोर्न खोजिरहेको छ, तर वाशिङ्गटनको प्रतिबन्धका कारण, उनका वकिल ब्यारी पोलाकले अमेरिकी लाइसेन्स लिनु पर्छ जुन जारी गरिएको छैन।

    पोलाकले अदालतमा पेश गरेको निवेदनमा तर्क गरेका छन् । “लाइसेन्सको आवश्यकताले मदुरोको कानुनी प्रतिनिधित्वको संवैधानिक अधिकारको उल्लङ्घन गरेको छ र प्रक्रियागत आधारमा मुद्दा खारेज गर्न माग गर्दछ।” मदुरो र फ्लोरेसलाई बोकेको मानिएको एक प्रहरी लस्कर बिहान ४ः०० बजे जेलबाट म्यानह्याटन अदालत पुग्न जेलबाट बाहिरिएको एएफपीका पत्रकारहरूले देखेको बताएका छन्।

    ब्रुकलिनको ‘महानगरीय कैदी केन्द्रमा हिरासत’मा रहेका मदुरोलाई इन्टरनेट वा अखबारको पहुँच नभएको कोठामा एक्लै राखिएको छ । भेनेजुएला सरकार निकट स्रोतका अनुसार जेलमा रहेका मदुरोले बाइबल पढ्छन् र उनका केही सहकर्मीले उनलाई ‘राष्ट्रपति’ भनेर सम्बोधन गर्छन् । स्रोतका अनुसार उनले आफ्नो परिवार र वकिलसँग फोनमा अधिकतम १५ मिनेट मात्र कुराकानी गर्न पाउँछन् ।


    वकिलहरूले हामी (पत्रकार)लाई दिएको जानकारीमा मदुरो ‘सशक्त’ रहेको बताइएको छ । उनका छोरा निकोलस मदुरो गुएराले आफ्ना पिताका सम्बन्धमा सोधिएको प्रश्नमा भने, “हामी ठीक छौँ किनकि हामी लडाकु हौँ ।” मदुरो र उनकी पत्नीलाई अमेरिकी कमान्डोहरूले जनवरी ३ को बिहान भेनेजुएलाको राजधानीमा लडाकु विमानको सहयोगमा हवाई आक्रमण गरेर जबरजस्ती नियन्त्रणमा लिई गोप्यरूपमा अमेरिका पुर्याएका थिए ।

  • इजरायली आक्रमणमा इरानी नौसेनाका कमान्डरको मृत्यु

    इजरायली आक्रमणमा इरानी नौसेनाका कमान्डरको मृत्यु

    वासिङ्टन, १३ चैत (रासस–एएफपी) । अमेरिकी सेनाले बिहीबार इजरायली हवाई आक्रमणमा इरानी रिभोलुसनरी गाड्र्सको नौसेनाका कमान्डर मारिएको बताएको छ । “इरानी नौसेना कमाण्डरको मृत्युले मध्यपूर्वलगायत समग्र खाडी क्षेत्रलाई थप सुरक्षित बनाएको छ,” अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का कमान्डर एडमिरल ब्राड कूपरले भने । उनले भने, “आइआरजिसीको नौसेनामा सेवा गर्ने प्रत्येक इरानीले ‘अनावश्यक चोट वा मृत्युको थप जोखिमबाट बच्न आफ्नो पद छोड्नु पर्छ र घर फर्कनु पर्छ।”

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्ध अमेरिकी सैन्य कारबाही निर्धारित समयभन्दा अगावै आफ्नो उद्देश्य प्राप्ति गर्न सफल भएको बताएका छन् । “हाम्रो अभियान सफल पार्न हामीले लगभग चारदेखि छ हप्ता लाग्ने अनुमान गरेका थियौँ । आक्रमणको छब्बीस दिनपछि नै हामी निर्धारित लक्ष्यभन्दा धेरै अगाडि पुगेका छौँ,” ट्रम्पले द्वन्द्व सुरु भएपछिको आफ्नो पहिलो क्याबिनेट बैठकमा भने ।

  • अमेरिकासँगको व्यापार कर सम्झौता इयूको संसदबाट ससर्त अनुमोदन गर्ने सङ्केत

    अमेरिकासँगको व्यापार कर सम्झौता इयूको संसदबाट ससर्त अनुमोदन गर्ने सङ्केत

    ब्रसेल्स, बेल्जियम, १३ चैत (रासस–एएफपी) । युरोपेली युनियनका सांसदहरूले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युरोपेली संघको व्यापार कर सम्झौतालाई सर्तसहित अनुमोदन गर्ने सङ्केत दिएका छन्, जसलाई युरोपले बचाउन चाहन्छ र इयूले विश्वभरको व्यापार सम्बन्धलाई विविधीकरण गर्न पनि दौडिरहेको छ। ब्रसेल्स र वाशिङ्गटनबिच गत ग्रीष्म ऋतुमा इयुका अधिकांश सामानहरूको लागि १५ प्रतिशत कर निर्धारण गर्ने सम्झौता भएको थियो ।

    राष्ट्रपति ट्रम्पले स्टिल, एल्युमिनियम र कारका पार्टपुर्जाहरूमा भारी कर सहित सन् २०२५ को अतिरिक्त कर लगाउने नीतिले २७ देशहरूको समूह ययुलाई विश्वभरि व्यापार सम्बन्ध विकास गर्न बाध्य बनाएको थियो । इयूले त्यसपछि दक्षिण अमेरिकादेखि अष्ट्रेलियासम्म सम्झौताहरूमा हस्ताक्षर गरेको छ र अन्यलाई पछ्याइरहेको छ। यसको अर्थ यो होइन कि उसले आफ्नो सबैभन्दा ठूलो व्यापार साझेदार अमेरिकासँगको १.६ ट्रिलियन युरो (१.९ ट्रिलियन डलर) सम्बन्धबाट टाढा जान चाहन्छ।

    युरोपेली सङ्घका अधिकांश सांसदहरूले सन् २०२५ को सम्झौता कार्यान्वयन गर्ने पहिलो कदमको रूपमा केही अमेरिकी आयातमा इयुको करवृद्धि कटौती गर्न सहमति जनाएका छन् । “आजको मतदान एक महत्त्वपूर्ण प्रक्रियागत कदम हो र इयु आफ्नो वचनमा अडिग छ भन्ने राजनीतिक सङ्केत हो,” युरोपेली सङ्घका अर्थव्यवस्था प्रमुख वाल्डिस डोम्ब्रोभ्स्किसले मतदानअघि बिहीबार संसदीय बहसमा भने ।


    युरोपेली सङ्घका व्यापार आयुक्त मारोस सेफकोभिकले यो कदमलाई ‘महत्वपूर्ण कदम’ भन्दै शुक्रबार क्यामरुनमा विश्व व्यापार सङ्गठनको बैठकका क्रममा अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग भेट गर्ने बताएका छन् । युरोपेली सङ्घका लागि अमेरिकी राजदूत एन्ड्रयु पुज्दरले पनि मतदानको तयारीपछि यसको स्वागत गरेका छन् ।


    उनले सामाजिक सञ्जाल एक्समा भने, “तपाईहरुको प्रयासका लागि धन्यवाद, हामी अमेरिका–इयु व्यापार सम्बन्धमा एक महत्वपूर्ण कोशेढुङ्गाको नजिक छौँ, जसले हाम्रा व्यवसाय, कामदार र उपभोक्ताका लागि ट्रान्सएटलान्टिक स्थिरता र आर्थिक अवसर प्रदान गर्नेछ ।” पुज्दरले यसअघि इयुलाई संशोधन बिना नै सम्झौता पारित गर्न सुझाब दिएका थिए । अमेरिकी कर सम्झौता इयुले लागू गर्नुअघि यसका लागि अझै इयु राष्ट्रहरूसँग वार्ता गर्न आवश्यक छ जुन वार्ता कठिन हुने अपेक्षा गरिएको छ तर इयु कूटनीतिज्ञहरूले यो चाँडै समाप्त हुने आशा गरेका छन् ।

  • तेहरानद्वारा अमेरिकी शान्ति योजना अस्वीकार

    तेहरानद्वारा अमेरिकी शान्ति योजना अस्वीकार

    तेहरान, १२ चैत (रासस–एएफपी) । इरानको सरकारी टेलिभिजनले एक अज्ञात वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बुधबार मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकाले प्रस्ताव गरेको शान्ति योजनालाई इरानले अस्वीकार गरेको जनाएको छ । “जारी युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावप्रति इरानले नकारात्मक प्रतिक्रिया दिएको छ,” ती अधिकारीले भने। “ट्रम्पले युद्धको निष्कर्षको कल्पना गर्दैमा युद्धको अन्त्य नहुने यो इरानका लागि पनि मान्य हुन्ुपर्नेछ,” उनले भने ।


    इरानले उक्त कथित शान्ति योजनाबारे कुनै आधिकारिक भनाइ दिएको छैन । अमेरिकासँग युद्धपूर्व वार्ताको नेतृत्व गरेका विदेशमन्त्री अब्बास अराघचीले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । मेहर र तस्निम एजेन्सीजस्ता इरानी मिडियाले प्रेस टिभीको रिपोर्टलाई आधार बनाएर समाचार सम्प्रेषण गरेका छन् । यसअघि बुधबार दुई वरिष्ठ पाकिस्तानी अधिकारीले मध्यस्थताको प्रयासमा इस्लामाबादले इरानलाई १५ बुँदे योजना दिएको र यसमा करिब एक महिना लामो इरान युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव समावेश रहेको पनि उल्लेख छ ।

    तेहरानले शत्रुता अन्त्यका लागि आफ्नै पाँच सर्त अघि सारेको प्रेस टिभीले नाम उल्लेख नगरीकन एक इरानी अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।
    सर्तमा देश र यसका नेताहरू विरुद्ध ‘आक्रमण र हत्या’ अन्त्य गर्ने, इजरायल र संयुक्त राज्य अमेरिका दुवैले युद्ध पुनः सुरु नगर्ने सुनिश्चितता गर्ने बलियो संयन्त्र स्थापना गर्नु, साथै पुनर्निर्माणको दृष्टिकोणले भएको विनाशको क्षतिपूर्ति पनि समावेश छ।

    इरानको सर्तहरूमा विशेष गरी तेहरान समर्थित लेबनानी समूह हेजबुल्लाहको लागि एक अप्रत्यक्ष सन्दर्भसहितको सबै क्षेत्रीय मोर्चा र सबै प्रतिरोध समूहविरुद्ध शत्रुताको अन्त्य पनि उल्लेख छ । इरानी अधिकारीका अनुसार तेहरानले अन्तर्राष्ट्रिय मान्यता पनि चाहन्छ र वर्तमान युद्धको केन्द्रमा रहेको विश्व व्यापारको प्रमुख समुद्री मार्ग हर्मुजको जलमार्गमा आफ्नो सार्वभौमिकता प्रयोग गर्ने इरानको अधिकारको सुनिश्चितता चाहन्छ ।

  • बङ्गलादेशमा बस नदीमा खस्दा दुई जनाको मृत्यु, दर्जनौँ डुबेको आशङ्का

    बङ्गलादेशमा बस नदीमा खस्दा दुई जनाको मृत्यु, दर्जनौँ डुबेको आशङ्का

    ढाका, १२ चैत (रासस–सिन्ह्वा) । ढाकाबाट १२५ किलोमिटर दक्षिणमा करिब ४० जना बोकेको बस दुर्घटना भई नदीमा डुब्दा यसमा सवार अधिकांश नदीमा डुवेको आशङ्का गरिएको छ। दुर्घटनाको केही समयपछि ११ जना यात्रु मात्र पौडी खेली जीवन जोगाउन सफल भएको उनीहरूले बताएका छन्। बङ्गलादेशको राजबारी जिल्लाको एक सडकमा बुधबार साँझ ५ः१५ बजे ढाकाका लागि छ्टेको यात्रुवाहक बस अनियन्त्रित भई पद्मा नदीमा खस्दा कम्तीमा दुई महिलाको मृत्यु भएको छ भने अन्य धेरै जना पानीमा डुबेको आशङ्का गरिएको छ ।

    राजबारीका डेपुटी कमिस्नर तथा जिल्ला प्रशासक सुल्ताना अख्तरले बसमा ४० जना यात्रु सवार रहेको र बुधबार साँझ समाचार तयार पार्दासम्म दुई महिलाको शव पानीबाट निकालिएको छ । डुबेको बस पानीमुनि रहेको अधिकारीहरुले बताएका छन् । फायर सर्भिस र सिभिल डिफेन्सका अधिकारी ताल्हा बिन जासिमले नदीमा डुबेका भनिएका यात्रुको खोजी अभियान जारी छ र बसलाई उद्धार गर्न स्थानीय प्रयासलाई सशक्त पारिएको छ ।

    उद्धारका लागि डुङ्गाहरू बोलाइएको छ। प्रत्यक्षदर्शीका अनुसार करिब ४० जना यात्रु बोकेर बस राजबारीबाट हिँडेको थियो ।

  • सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो

    सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो

    जेनेभा, ११ चैत (रासस–एएफपी) । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्गठनले यसलाई सुडानको विनाशकारी युद्धमा जीवनमाथिको आक्रमण भनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, पूर्व डारफुरको राजधानी शहरमा रहेको शिक्षण अस्पतालमा शुक्रबार भएको आक्रमणमा घाइते हुनेको सङ्ख्या पनि ८९ बाट बढेर १४६ पुगेको छ । हाल उक्त अस्पताल पूर्ण रूपमा सञ्चालनमा छैन ।

    सुडानका लागि संगठनकी उपप्रतिनिधि तथा स्वास्थ्य आपतकालीन प्रमुख हाला खुडारीले यस घटनालाई ‘भयानक आक्रमण’ बताए । उनका अनुसार मृतकमध्ये सात महिला, १३ बालबालिका, एक चिकित्सक र दुई नर्स रहेका छन् । घाइतेहरूमा बिरामी, उनीहरूका परिवारका सदस्य तथा आठ स्वास्थ्यकर्मी समेत रहेका छन् । उनले भने, “अस्पतालको बाह्य सेवा र आकस्मिक कक्षमा विशेष गरी गम्भीर क्षति पुगेको छ ।”

    यो अस्पताल यसअघि पनि सन् २०२४ को अगस्टमा भएको अर्को आक्रमणमा क्षतिग्रस्त भएको थियो । पछिल्लो आक्रमणपछि अस्पताल अब सञ्चालनयोग्य नरहेको बताइएको छ । उक्त अस्पतालले पूर्व डारफुरका विभिन्न क्षेत्रमा रहेका करिब २० लाखभन्दा बढी जनतालाई सेवा प्रदान गर्दै आएको थियो । अब बिरामीहरूले अर्को सन्दर्भ अस्पताल पुग्न करिब १६० किलोमिटर टाढा जानुपर्ने अवस्था आएको छ ।

    खुडारीले भने, “अस्पतालमाथिको आक्रमण केवल भवनमाथिको आक्रमण मात्र होइन, उपचार खोजिरहेका मानिस, अरूको ज्यान बचाउन जोखिम उठाउने स्वास्थ्यकर्मी र सङ्कटको समयमा बाँच्ने सम्भावनामाथिको आक्रमण पनि हो ।” “स्वास्थ्य सेवामा पहुँच घट्दै गएको छ र क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गर्ने प्रयासहरू पनि प्रभावित भइरहेका छन् ।” उनका अनुसार सन् २०२६ का लागि सुडानको स्वास्थ्य प्रतिक्रिया योजनामा हालसम्म मात्र ५.७ प्रतिशत रकम उपलब्ध भएको छ ।

    सन् २०२३ को अप्रिलदेखि सुरु भएको द्वन्द्वमा सरकारी सेना र अर्धसैनिक बलबीचको संघर्षका कारण दशौँ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब १ करोड १० लाख मानिस विस्थापित भएका छन् । मानवअधिकार समूह ‘आपतकालीन वकिलहरू’ का अनुसार उक्त अस्पतालमाथि सेनाले ड्रोन आक्रमण गरेको थियो । पश्चिमी सुडानको विशाल डारफुर क्षेत्रमा अर्धसैनिक बलको प्रभाव रहेको छ भने देशको पूर्व, मध्य र उत्तर भागमा सरकारी सेनाको नियन्त्रण रहेको छ । अर्धसैनिक नियन्त्रणमा रहेको उक्त शहरमा नियमित रूपमा सरकारी सेनाले आक्रमण गर्दै आएको छ ।

  • श्रीलङ्कामा इन्धन र ऊर्जा बचतका नयाँ निर्देशिका जारी

    श्रीलङ्कामा इन्धन र ऊर्जा बचतका नयाँ निर्देशिका जारी

    कोलम्बो,११ चैत (रासस–सिन्ह्वा) । मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन आयातमा सम्भावित अवरोधहरू आउन सक्ने अवस्थामा श्रीलङ्काको प्रमुख आवाश्यक सेवा कार्यालयले सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचतसम्बन्धी निर्देशिका जारी गरेको छ । यो निर्देशिका मन्त्रालय सचिव, प्रादेशिक तथा जिल्ला सचिव र सरकारी तथा कानूनी संस्थाहरूका प्रमुखहरूलाई वितरण गरिएको छ । यसमा सार्वजनिक क्षेत्रभरि इन्धन र बिजुलीको खपत घटाउने उपायहरू अपनाउन सुझाव दिइएको छ ।

    निर्देशिकाअनुसार, कर्मचारीहरूले व्यक्तिगत सवारीसाधन प्रयोग नगरी सम्भव भएमा सार्वजनिक यातायात वा समूहिक यातायातको प्रयोग गर्नुपर्छ । साथै, क्षेत्रीय कार्यका लागि सवारी साधनको सङ्ख्या घटाउन दैनिक यातायात योजना तयार गर्न सरकारी निकायहरूलाई निर्देशन दिइएको छ । बिजुली र ऊर्जा बचतका लागि सुझावहरूमा प्राकृतिक प्रकाशको अधिकतम प्रयोग, एयर कन्डिसनको सट्टा बिजुली पङ्खाको प्रयोग र सिँढीको प्रयोग प्रोत्साहित गरी लिफ्टको सीमित प्रयोग समावेश छ ।

    स्थानीय सरकारका निकायहरूले अनावश्यक समयमा सडक बत्ती निभाउन र उच्च सुरक्षा क्षेत्रबाहेक सडक बत्ती अस्थायी रूपमा बन्द गर्न निर्देशन पाएका छन् । निर्देशिकाले संस्थाहरूका प्रमुखलाई पनि प्रविधि उपलब्ध भएमा कर्मचारीलाई कार्यालय उपस्थितिका सट्टा घरबाट काम गर्न अनुमति दिन प्रेरित गरेको छ । सबै सार्वजनिक अधिकारीहरूलाई जिम्मेवार व्यवहार गर्न, जनता माझ उदाहरण प्रस्तुत गर्न र राष्ट्रिय ऊर्जा संरक्षण तथा सुरक्षा प्रयासमा पूर्ण समर्थन जनाउन आग्रह गरिएको छ ।

  • नाइजरमा क्षयरोगको बढ्दो जोखिम

    नाइजरमा क्षयरोगको बढ्दो जोखिम

    नियामे,११ चैत )रासस–सिन्ह्वा) । पश्चिम अफ्रिकाको देश नाइजरमा सन् २०२५ मा क्षयरोगको अवस्था अझै गम्भीर रहेको पाइएको छ । त्यहाँ वर्षभरिमा कुल १७ हजार ४०६ क्षयरोगका बिरामी दर्ता भएका छन्, जसमध्ये १३ हजार ६०७ नयाँ फोक्सोसम्बन्धी बिरामी रहेका छन्, जुन सबैभन्दा छिटो सर्ने र खतरनाक प्रकार मानिन्छ । यी तथ्याङ्कहरू स्वास्थ्यमन्त्री गार्बा हाकिमीले विश्व क्षयरोग दिवसको अवसरमा सार्वजनिक गरेका छन् । उनका अनुसार क्षयरोग अझै पनि देशका लागि ठूलो सार्वजनिक स्वास्थ्य समस्याका रूपमा रहेको छ, तर यसलाई नियन्त्रण गर्न सकिने सम्भावना पनि रहेको छ ।

    विश्व स्तरमा हेर्दा विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्षयरोग अझै पनि संसारकै सबैभन्दा घातक सङ्क्रामक रोगमध्ये एक हो । यसले विश्वभर स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती सिर्जना गरेको छ, विशेषगरी कमजोर स्वास्थ्य सेवा भएका देशहरूमा यसको प्रभाव बढी देखिएको छ ।यस समस्यालाई नियन्त्रण गर्न नाइजर सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । देशमा बहु–क्षेत्रीय उत्तरदायित्व प्रणाली लागू गरिएको छ, जसले रोगको पहिचान, जाँच, उपचार र हेरचाहलाई अझ प्रभावकारी बनाएको छ । यसको परिणामस्वरूप क्षयरोगको जाँच दर सन् २०२१ को ६० प्रतिशतबाट बढेर सन् २०२५ मा ८७ प्रतिशत पुगेको छ, जुन उल्लेखनीय प्रगति हो । यसले धेरै बिरामीहरूलाई समयमै पत्ता लगाएर उपचार सुरु गर्न सहयोग पुगेको देखिन्छ ।

    स्वास्थ्यमन्त्रीका अनुसार क्षयरोग अन्त्य गर्नका लागि निरन्तर प्रयास, पर्याप्त बजेट, जनचेतना वृद्धि, प्रारम्भिक जाँच र गुणस्तरीय उपचार अत्यन्त आवश्यक छन् । यदि यी सबै क्षेत्रमा सशक्त रूपमा काम गरियो भने भविष्यमा क्षयरोगलाई पूर्ण रूपमा नियन्त्रण गर्न वा अन्त्य गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।

  • अफगानिस्तानमा पक्राउ अमेरिकी नागरिक रिहा हुने

    अफगानिस्तानमा पक्राउ अमेरिकी नागरिक रिहा हुने

    काबुल, ११ चैत (रासस–एएफपी) । अफगानिस्तानको तालिबान सरकारले एक वर्षभन्दा बढी समयदेखि पक्राउ परेका एक अमेरिकी नागरिकलाई रिहा गर्ने घोषणा गरेको छ । विदेश मन्त्रालयका अनुसार भाषा विज्ञ तथा अनुसन्धानकर्ता डेनिस कोयलका परिवारले ईदको अवसरमा उनको रिहाइका लागि अफगानिस्तानका सर्वोच्च नेतासमक्ष निवेदन दिएका थिए । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इस्लामिक इमिरेटको सर्वोच्च अदालतले उनको हिरासत अवधि पर्याप्त ठहर गर्दै रिहा गर्ने निर्णय गरेको हो ।”

    यो घोषणा विदेशमन्त्री अमिर खान मुत्ताकी, अफगानिस्तानका लागि पूर्व अमेरिकी विशेष दूत जाल्माय खलिलजाद, काबुलका संयुक्त अरब इमिरेट्सका राजदूत सैफ मोहम्मद अल–केतबी तथा कोयलका एक परिवार सदस्यबीच भएको भेटपछि आएको हो । मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्सले रिहाइ प्रक्रियामा सहजीकरण गरेको थियो र मङ्गलबार कोयल आफ्ना परिवारसँग काबुलमै पुनर्मिलन भएका छन् ।

    ६४ वर्षीय कोयललाई सन् २०२५ जनवरीमा अफगान अधिकारीहरूले पक्राउ गरेका थिए । परिवारद्वारा सञ्चालित एक विवरण अनुसार उनी शैक्षिक अनुसन्धानकर्ताको रूपमा अफगान समुदायलाई सहयोग गर्ने कानुनी काममा संलग्न रहेका बेला पक्राउ परेका थिए । परिवारले उनी लगभग एकान्त हिरासतमा राखिएको, सामान्य सुविधाका लागि समेत अनुमति लिनुपर्ने अवस्था रहेको र पर्याप्त स्वास्थ्य सेवाबाट वञ्चित गरिएको दाबी गरेको छ ।

    कोयल पहिलो पटक सन् २००० को दशकको सुरुवाततिर अफगानिस्तान पुगेका थिए, जहाँ उनले भाषिक विविधताको अध्ययन र स्थानीय भाषामा स्रोत विकास गर्न सहयोग गरेका थिए । उनी वर्षौँदेखि काबुलमै बसोबास गर्दै आएका थिए र अफगान जनतासँग गहिरो सम्बन्ध बनाएका थिए । यस महिनाको सुरुवातमा अमेरिकाले अफगानिस्तानलाई ‘गलत तरिकाले मानिसहरूलाई हिरासतमा राख्ने देश’ को सूचीमा समावेश गरेको थियो ।

    अफगान अधिकारीहरूले उक्त निर्णयलाई ‘दुःखद’ बताएका छन् र दुवै पक्षबीच वार्ता तथा अघिल्ला रिहाइ प्रक्रियामा मध्यस्थकर्ताको भूमिका रहेको उल्लेख गरेका छन् । सन् २०२५ मा तालिबान सरकारले ‘सद्भावना सङ्केत’ का रूपमा पाँच अमेरिकी नागरिकलाई रिहा गरेको जनाएको थियो ।

  • दासत्व पीडितहरूको स्मृति दिवस आज

    दासत्व पीडितहरूको स्मृति दिवस आज

    काठमाडौँ, ११ चैतः आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ । सन् २००६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले दास व्यापार र दासत्वलाई मानव इतिहासको सबैभन्दा गम्भीर मानवअधिकार उल्लङ्घन मानेर एक प्रस्ताव पारित गरेर सन् २००७ मार्च २५ लाई यसको द्विशतवार्षिकीका रूपमा मनाउने घोषणा गरेको हो ।

    त्यसपछिको वर्ष सन् २००८ देखि हरेक वर्ष मार्च २५ लाई दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाउन प्रारम्भ भएको हो । सन् १८०७ मा यही दिन बेलायतले दास व्यापार उन्मूलन ऐन पारित गर्दै अफ्रिकाबाट दास खरिद, बिक्री, साटासाट तथा स्थानान्तरणलाई गैरकानुनी घोषणा गरेको थियो ।
    तस्बिरःसंयुक्त राष्ट्रसङ्घ

  • इरान–इजरायल तनाव थप चर्कियो

    इरान–इजरायल तनाव थप चर्कियो

    तेहरान, १० चैत (रासस–एएफपी) । मध्यपूर्वमा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव फेरि तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘धेरै राम्रो’ वार्ता भइरहेको दाबी गरेको भए पनि तेहरानले औपचारिक रूपमा कुनै संवाद नरहेको स्पष्ट पारेको छ । ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि गोप्य वार्ता भइरहेको उल्लेख गर्दै पाँच दिनभित्र सहमति नभए कडा सैन्य कदम चालिने चेतावनी दिएका थिए ।

    उनको उक्त अभिव्यक्तिले विश्व बजारमा सकारात्मक सङ्केत देखिएको थियो भने तेलको मूल्यमा पनि गिरावट आएको थियो । तर इरानले भने यस्तो दाबी अस्वीकार गर्दै यसलाई बजारमा प्रभाव पार्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

    अमेरिकी पक्षले इरानका उच्च तहका नेतासँग संवाद भइरहेको जनाएको थियो । केही सञ्चारमाध्यमले इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफलाई वार्ताको प्रमुख पात्रका रूपमा उल्लेख गरेका छन् । साथै अमेरिकी प्रतिनिधिहरू स्टिभ विटकफ र जारेड कुशनरले पाकिस्तानमा सम्भावित भेटवार्ता गर्न सक्ने चर्चा पनि गरिएको छ । यद्यपि ह्वाइट हाउसले औपचारिक पुष्टि नगरेसम्म यस्ता विवरणलाई अन्तिम मान्न नहुने बताएको छ ।

    यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग संवाद गर्दै क्षेत्रीय शान्तिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तर इरानका अधिकारीहरूले प्रत्यक्ष वार्ता नभएको दोहोर्‍याइरहेका छन् । इजरायलतर्फ भने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकासँग सहमति सम्भव भएको सङ्केत पाए पनि आफ्नो देशको सुरक्षाका लागि इरान र लेबनानमा सैन्य कारबाही जारी रहने बताए । उनका अनुसार हालको सैन्य उपलब्धिलाई कूटनीतिक अवसरमा रूपान्तरण गर्न सकिने अवस्था देखिएको छ ।

    मङ्गलबार बिहान इरानी सरकारी सञ्चारमाध्यमहरूले इजरायलमाथि नयाँ क्षेप्यास्त्र आक्रमण भएको जानकारी दिएका छन् । इजरायलको उत्तर क्षेत्रमा केही संरचनामा क्षति पुगेको भए पनि मानवीय क्षति नभएको जनाइएको छ । उता, लेबनानमा इजरायलले दक्षिण बेरुतमा लगातार हवाई आक्रमण गरेको विवरण सार्वजनिक भएको छ । यसअघि ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । तर सम्भावित प्रतिशोधको जोखिमलाई ध्यानमा राख्दै उनी पछि हटेको विश्लेषकले बताएका छन् ।

    क्षेत्रीय ऊर्जा आपूर्ति र जलडमरूमध्यमा आवागमन अवरुद्ध हुँदा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढ्दै गएको छ । इरानले स्ट्रेट अफ होर्मुजमार्फत हुने तेल आपूर्ति प्रभावित पारेपछि विश्व बजारमा अस्थिरता देखिएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुखले यस्तो अवस्था लम्बिँदा ऐतिहासिक ऊर्जा सङ्कट निम्तिन सक्ने चेतावनी दिनुभएको छ । हाल तेलको मूल्य उच्च विन्दुमा पुगेपछि ट्रम्पको वार्ता दाबीले केही राहत दिएको देखिएको छ ।

    युद्ध विस्तारसँगै लेबनानमा इजरायलको स्थलगत अभियान पनि तीव्र बनेको छ । इजरायलले इरान समर्थित हिजबुल्लाहविरुद्ध कारबाही बढाएको छ भने हजारौँ मानिस प्रभावित भएका छन् । उपलब्ध विवरणअनुसार, द्वन्द्वमा हजारौँको ज्यान गइसकेको छ, तर स्वतन्त्र रूपमा तथ्य पुष्टि गर्न कठिन रहेको बताइएको छ । समग्रमा, कूटनीतिक संवादको चर्चा चलिरहे पनि मैदानमा सैन्य गतिविधि नरोकिनुले मध्यपूर्वमा द्वन्द्व झन् जटिल बन्दै गएको सङ्केत गरेको छ ।

  • कोलम्बियामा सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६६ पुग्यो

    कोलम्बियामा सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६६ पुग्यो

    बोगोटा, १० चैत (रासस–एपी) । कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार रहेको विमान उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने दर्जनौँ घाइते भएका छन् । कोलम्बियाका सशस्त्र बल प्रमुख ह्युगो अलेजान्द्रो लोपेज ब्यारेटोले दुर्घटनामा ६६ जना सैनिकको ज्यान गएको जानकारी दिए । उनका अनुसार अझै चार जना सैनिक बेपत्ता रहेका छन् । “यो अत्यन्त दुःखद घटना हो, जसले हाम्रो सेनामा ठूलो क्षति पुर्‍याएको छ”, उनले भने ।


    उनले प्रारम्भिक अनुसन्धानका आधारमा यो घटना कुनै अवैध सशस्त्र समूहको आक्रमणका कारण भएको देखिँदैन भन्दै त्यस्तो कुनै सङ्केत हालसम्म नदेखिएको स्पष्ट पारे । दुर्घटनास्थल पोर्टो लेगुइजामो, पुतुमायो प्रान्तमा पर्छ । यो इक्वेडर र पेरुको सीमासँग जोडिएको दुर्गम अमेजन क्षेत्र हो । स्थानीय उपमेयर कार्लोस क्लारोसले मृतकहरूको शव सानो सहरको शवगृहमा राखिएको र सीमित स्वास्थ्य पूर्वाधारका कारण घाइतेहरूलाई प्राथमिक उपचारपछि ठूला सहरतर्फ पठाइएको बताए । उनले स्थानीय बासिन्दाहरूले उद्धारमा सक्रिय सहयोग गरेको भन्दै आभार व्यक्त गरे ।


    कोलम्बियाका रक्षामन्त्री पेद्रो सान्चेजले दुर्घटनाग्रस्त विमानले पुतुमायोको अर्को क्षेत्रमा सेना लैजाँदै गरेको जानकारी दिए । विमानमा ११५ जना सैनिक, ११ जना चालक दलका सदस्य र दुई जना राष्ट्रिय प्रहरी सवार थिए । दुर्घटनापछि ५७ जनालाई जीवितै उद्धार गरिएको बताइएको छ । दुर्घटनापछि सार्वजनिक भएका तस्बिर र भिडियोहरूमा दुर्घटनास्थलबाट बाक्लो कालो धुवाँ उठिरहेको देखिन्छ भने सैनिकहरू र स्थानीय बासिन्दाहरू उद्धार तथा आगो निभाउने प्रयासमा जुटेको दृश्य देखिन्छ । केही घाइतेहरूलाई मोटरसाइकलमार्फत हतारमा सुरक्षित स्थानतर्फ सारिएको थियो ।

    कोलम्बियाको वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्भाले दुर्घटनाको कारणबारे अझै स्पष्ट हुन नसकेको बताए । उनका अनुसार विमानमा प्राविधिक समस्या आएको र विमानस्थलबाट करिब दुई किलोमिटर टाढा खसेको हो । घाइतेहरूको उद्धारका लागि विशेष विमानमार्फत राजधानी बोगोटा लगायतका अस्पतालहरूमा सारिएको छ ।

    दुर्घटनालाई लिएर राष्ट्रपति गुस्ताभो पेट्रोले सैन्य उपकरणको आधुनिकीकरण आवश्यक रहेको पुनः जोड दिए । उनले प्रशासनिक कमजोरी र ढिलासुस्तीका कारण सुधारका प्रयासहरू अवरुद्ध भएको उल्लेख गर्दै जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउनुपर्ने सङ्केत गरे । यद्यपि विपक्षीहरूले भने बजेट कटौतीका कारण सैन्य उडान समय घट्दा अनुभवहीन चालक दलका सदस्यहरू बढेको र त्यसले जोखिम बढाएको तर्क गरेका छन् ।

    उड्डयन तथा सैन्य विश्लेषक एरिक सौमेथका अनुसार दुर्घटनाग्रस्त ‘हकुलुलस सी–१३०’ विमान सन् २०२० मा अमेरिकाले कोलम्बियालाई उपलब्ध गराएको थियो र त्यसपछि यसको विस्तृत मर्मतसम्भार पनि गरिएको थियो । उनले विमानमा प्रयोग गरिएका उपकरण वा पार्ट्सको कमीका कारण दुर्घटना भएको सम्भावना कम रहेको बताउँदै इन्जिन किन उडानपछि छिट्टै असफल भयो भन्नेबारे अनुसन्धानले स्पष्ट पार्नुपर्ने उल्लेख गरे ।


    रक्षामन्त्री सान्चेजले पनि दुर्घटनास्थल नजिक सक्रिय विद्रोही समूहको संलग्नताको कुनै प्रमाण नभएको बताए । उनले यस घटनालाई ‘राष्ट्रका लागि गहिरो पीडादायी’ भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरे । यो दुर्घटनाले कोलम्बियाको सुरक्षा संयन्त्र, सैन्य तयारी र पूर्वाधारमाथि गम्भीर प्रश्न उठाएको छ भने देशभर शोकको वातावरण सिर्जना गरेको छ ।

  • चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण

    चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण

    ह्वासिया, १० चैत (रासस,सिन्ह्वा) । चीनले आफ्नो अन्तरिक्ष प्रविधिमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्दै ‘स्मार्ट ड्रागन–३’ रकेटमार्फत समुद्रबाट उपग्रह प्रक्षेपण सफलतापूर्वक सम्पन्न गरेको छ । यो प्रक्षेपण आइतबार राति चीनको शानदोंग प्रान्तस्थित हाययाङ सहर नजिकैको समुद्री क्षेत्रमा गरिएको हो । स्थानीय समयअनुसार राति ११ः४९ बजे प्रक्षेपण गरिएको उक्त रकेटले ‘सेन्टिस्पेस ०२’ नामक उपग्रह समूहलाई सफलतापूर्वक पूर्वनिर्धारित कक्षामा स्थापना गरेको छ । प्रक्षेपण प्रक्रिया सुचारु रूपमा सम्पन्न भएको र कुनै प्राविधिक समस्या नदेखिएको जानकारी दिइएको छ ।

    यो अभियान ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रद्वारा सञ्चालन गरिएको हो । विशेष रूपमा समुद्रबाट रकेट प्रक्षेपण गर्नुको उद्देश्य सुरक्षित दूरी कायम राख्नु, जोखिम न्यूनीकरण गर्नु र प्रक्षेपणका लागि थप लचिलो स्थान छनोट गर्न सक्नु हो । समुद्रबाट गरिने यस्तो प्रक्षेपण प्रविधि चीनका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ । यसले भू–आधारित प्रक्षेपण केन्द्रमा पर्ने दबाब कम गर्नुका साथै विभिन्न कक्षीय आवश्यकताअनुसार उपयुक्त स्थानबाट प्रक्षेपण गर्न सहज बनाउँछ ।

    ‘सेन्टिस्पेस ०२’ उपग्रह समूह मुख्य रूपमा नेभिगेसन तथा स्थान निर्धारणसम्बन्धी सेवा सुधार गर्न प्रयोग हुने अपेक्षा गरिएको छ । यसले भविष्यमा सञ्चार, यातायात तथा अन्य प्रविधिमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ । चीनले पछिल्ला वर्षहरूमा अन्तरिक्ष अनुसन्धान तथा प्रविधिमा तीव्र प्रगति गर्दै आएको छ । विशेष गरी समुद्रबाट रकेट प्रक्षेपण जस्ता नयाँ प्रविधिको प्रयोगले चीनलाई अन्तरिक्ष क्षेत्रमा अझ सशक्त बनाउने विश्लेषण गरिएको छ ।

  • डब्ल्युटिओमा सुधार गर्न इयुको आग्रह

    डब्ल्युटिओमा सुधार गर्न इयुको आग्रह

    ब्रसेल्स, १० चैत (रासस–एएफपी) । युरोपेली सङ्घ (इयु) ले क्यामरुनमा यसै साता हुने उच्चस्तरीय बैठकअघि विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) मा ‘गम्भीर’ सुधारका लागि आह्वान गरेको छ । डब्ल्युटिओको सर्वोच्च निर्णय गर्ने निकाय मार्च २६ देखि २९ सम्म याउन्डेमा बैठकमा हुनेछ। यो सामान्यतया हरेक वर्ष आयोजित गरिन्छ। लामो समयदेखि विश्व व्यापार सङ्गठनमा सुधार गर्ने इच्छा रहँदै आएको छ तर यस हप्ताको वार्ता विश्व अर्थतन्त्रका लागि विशेष गरी तनावपूर्ण क्षणमा आएको छ, जहाँ विश्वव्यापी व्यापार तनाव, अमेरिकी कर र मध्यपूर्व युद्धका कारण उत्पन्न अवरोधहरू छन्।

    इयुका व्यापार प्रमुख मारोस सेफकोभिकले सङ्घका लागि यो बैठक निर्णायक क्षण भएको बताए । उनले पत्रकारहरूसँग भने, “ईयूले विश्व व्यापार सङ्गठनको गम्भीर सुधारमा जोड दिनेछ, जहाँ समान अवसर क्षेत्र, अधिक क्षमता र बजार नीतिहरूलाई विगतको तुलनामा राम्रोसँग सम्बोधन गरिनुपर्छ। “हामी अधिकार र दायित्वबिचको नयाँ सन्तुलन हेर्न चाहन्छौँ, किनकि परिस्थितिहरू नाटकीय रूपमा परिवर्तन भएका छन्,” उनले थपे । उनले विश्वव्यापी ‘विभिन्न आर्थिक नमूना’ लाई औँल्याउँदै भने, “प्रायः यी अधिक क्षमताले युरोपेली अर्थव्यवस्थामा धेरै समस्याहरू सिर्जना गरिरहेका छन्।”

    इयुले बारम्बार चीनलाई स्टिलसहित केही औद्योगिक क्षेत्रहरूमा विशेषतः अधिक क्षमताको आरोप लगाउँछ । ब्रसेल्सले यो अधिक क्षमताले मूल्यहरू घटाउँछ र युरोपेली निर्माताहरूको लागि अनुचित प्रतिस्पर्धा निम्त्याउँछ। डब्ल्युटिओले संरचनात्मक र भूराजनीतिक अवरोधहरूको सामना गरेको छ र सुधारको माग कुनै नयाँ कुरा होइन। सङ्गठनका धेरै सदस्यहरूले हाल सहमतिमा आधारित यसको निर्णय लिने प्रक्रियामा सुधारका साथै अन्य सुधारहरू गर्न खोजेका छन् ।

  • इरानको कडा प्रतिवादको चेतावनीपछि गले ट्रम्प

    इरानको कडा प्रतिवादको चेतावनीपछि गले ट्रम्प

    तेहरान, ९ चैत (रासस–एपी) । मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी गरेपछि इरानले हर्मुज स्ट्रेट ‘पूर्ण रूपमा बन्द’ गर्ने चेतावनी दिएको थियो । स्ट्रेट तेल र अन्य निर्यातका लागि अत्यन्त महत्वपूर्ण छ । तर, अमेरिकी राष्ट्रपति आफ्नो चेतावनीबाट ब्याक भएका छन् । अन्ततः उनी स्वयमले युद्धविरामको घोषणा गरेका छन् । यसअघि इरानले यदि अमेरिका इरानका पावर प्लान्टहरूमा आक्रमण गर्छ भने तत्काल प्रतिक्रिया स्वरूप हर्मुज स्ट्रेट बन्द गरिने जनाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार साँझ स्ट्रेट खोल्न ४८ घण्टे समयसीमा तोकेका थिए ।

    इजरायली नेताहरूले दक्षिणी इलाकाका दुई समुदायको भ्रमण गरे जहाँ इरानी मिसाइल आक्रमणबाट धेरै मानिस घाइते भएका थिए । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कुनै मृत्यु नहुँदा यसलाई ‘अद्भुत’ बताएका थिए । नेतन्याहूले इजरायल र अमेरिकाले युद्ध लक्ष्य हासिल गर्न प्रगति गर्दै आएको दाबी गरे । यसमा इरानको नाभिकीय कार्यक्रम, मिसाइल कार्यक्रम र हथियारयुक्त समूहहरूको समर्थन कमजोर पार्ने साथै इरानी जनतालाई धर्मनिरपेक्ष शासनतर्फ उन्मुख गर्ने उद्देश्य रहेको छ ।

    इरानले हर्मुज स्ट्रेटमा प्रभावकारी रूपमा जहाज आवागमन रोकिरहेको छ, तर शत्रु देशहरू बाहेकका जहाजहरूलाई सुरक्षित आवागमनको अनुमति दिएको छ । यो स्ट्रेट विश्व तेल आपूर्तिको लगभग एक–पाँचौं हिस्साका लागि अत्यन्त महत्त्वपूर्ण छ । इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर कलीबाफले यदि इरानका पावर प्लान्ट र संरचना निशाना बनाइए, यसले सम्पूर्ण क्षेत्रका ऊर्जा र पेयजल (डिजेलिनेसन) सुविधा प्रभावित हुने चेतावनी दिएका थिए ।

    इरानले आफ्नो मुख्य नाभिकीय समृद्धि केन्द्र नातान्जमाथि गरिएको आक्रमणको प्रतिकार स्वरूप नेगेभ मरुभूमिमा मिसाइल प्रहार गरेको छ । दक्षिण इजरायलको मुख्य अस्पतालले अराद र डिमोना शहरबाट कम्तीमा १७५ घाइते प्राप्त गरेको जनाएको छ । इजरायलको सुरक्षा बलले हिजोदेखि लेबननमा लक्ष्य सूचीमा पुलहरू समेत समावेश गरेका छन्, जसले शत्रु समूह हिजबुल्लाहको सेनालाई दक्षिणमा सर्न कठिन बनाउनेछ ।

  • रूसद्वारा इरान युद्धको ‘राजनीतिक’ समाधानको माग, पहल भइरहेको अमेरिकाको भनाइ

    रूसद्वारा इरान युद्धको ‘राजनीतिक’ समाधानको माग, पहल भइरहेको अमेरिकाको भनाइ

    वासिङ्टन, ९ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि वासिङ्टन र तेहरानबीच वार्ता भएको खुलासा गरेसँगै रुसले मध्यपूर्व युद्धको ‘राजनीतिक र कूटनीतिक’ समाधानका लागि सोमबार आह्वान गरेको छ । इरानी विदेश मन्त्री अब्बास अराघचीसँगको कुराकानीमा रुसी कूटनीतिज्ञ सर्गेई लाभरोभले शत्रुता तत्काल अन्त्य गर्न र इरानमा संलग्न सबै पक्षको वैधानिक हितलाई ध्यानमा राख्ने राजनीतिक समाधान खोज्न आग्रह गरेका हुन् । रुसी वक्तव्यमा अमेरिका–इरान वार्ताको कुनै उल्लेख गरिएको छैन । अमेरिकाले वार्ताको पहल भइरहेको बताए पनि तेहरानले यसको पुष्टि गरेको छैन ।

    राष्ट्रपति ट्रम्पले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, “विगत दुई दिनमा दुवै पक्षबीच शत्रुताको पूर्णसमाधानका लागि निकै राम्रो र फलदायी कुराकानी भएको छ ।” राष्ट्रपति ट्रम्पले पहिले इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न चेतावनी जारी गर्दै अन्यथा इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएक थिए । तर सोमबार पाँच दिनका लागि आक्रमण रोक्न आदेश दिएको बताएका छन् । फेब्रुअरी २८ मा अमेरिका–इजरायलले इरानमाथि गरेको बमबारीका कारण युद्ध सुरु भएदेखि नै जलमार्ग बन्द गरिएको छ । मस्कोले वार्ताका लागि पहिले पहल इरानले सुरु गरेको बताएको छ ।

  • इरानसँग फलदायी वार्ता भएको ट्रम्पको भनाइ, ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न निर्देशन

    इरानसँग फलदायी वार्ता भएको ट्रम्पको भनाइ, ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न निर्देशन

    वासिङ्टन, ९ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार तेहरानसँग ‘धेरै राम्रो र फलदायी वार्ता’ पछि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न आदेश दिएको बताएका छन् । आफ्नो पूर्व चेतावनी बमोजिम अघि नबढ्न र कारबाही रोक्न अमेरिकी र इजरायली सेनालाई आदेश दिएको उनले बताए । वार्ता यो हप्ता जारी रहनेछ ।

    ट्रम्पले सोमबार बिहान आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन्, “संयुक्त राज्य अमेरिका र इरानबीच मध्य पूर्वमा हाम्रो शत्रुताको पूर्ण समाधानको बारेमा विगत दुई दिनमा धेरै राम्रो र फलदायी कुराकानी भएको छ।” उनले भने, “हप्ताभरि जारी रहने यो रचनात्मक वार्ताको प्रतिवद्धतालाई ध्यानमा राख्दै मैले युद्ध विभागलाई इरानको ऊर्जा प्लान्ट र पूर्वाधारमा सबै सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु। यो निर्णय बैठक र छलफलको सफलतामा निर्भर हुनेछ।”