अमेरिका-इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत

File : People wave Iranian flags and chant slogans in a memorial for school children who were killed during a strike on a school in southern town of Minab on Feb. 28, in downtown Tehran, Iran, Tuesday, April 7, 2026. (AP Photo/Vahid Salemi)

न्युयोर्क, वैशाख १० गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँगको युद्धविरामको म्याद थप गर्ने अमेरिकाको घोषणालाई स्वागत गरेका छन् । महासचिव गरटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको म्याद थप गर्दा इरान र अमेरिकाबिच कूटनीति विश्वास निर्माणका लागि महत्त्वपूर्ण स्थान सिर्जना गर्ने बताए ।


उनले सम्बन्धित पक्षलाई युद्धविरामको म्याद थप गरी युद्धविरामलाई कमजोर पार्न सक्ने कार्यबाट टाढा रहन र स्थायी समाधानमा पुग्न रचनात्मक वार्तामा संलग्न हुन प्रोत्साहित गरे । डुजारिकले वार्तालाई सहज बनाउने पाकिस्तानको प्रयासलाई महासचिवको पूर्ण समर्थन रहेको पुष्टि गर्दै यो प्रयासले द्वन्द्वको स्थायी समाधानमा पुग्ने अवस्था सिर्जना गर्न योगदान पुर्‍याउने आशा व्यक्त गरे ।


द्वन्द्व अन्त्य गर्ने र स्थायी समाधान खोज्ने उद्देश्यले अमेरिका र इरानबिच दोस्रो चरणको वार्ताका लागि पाकिस्तानी नेतृत्वको प्रयासको बिचमा राष्ट्रसङ्घको स्वागत आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इरानले स्थायी रूपमा द्वन्द्व अन्त्य गर्ने प्रस्ताव पेस नगरेसम्म इरानसँगको युद्धविराम विस्तार गर्ने बताएका छन् । राससक्युएनए