होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा

File : (260311) -- BANGKOK, March 11, 2026 (Xinhua) -- A fire breaks out on a Thai cargo ship after it was struck in the Strait of Hormuz on March 11, 2026. A Thai cargo ship came under attack on Wednesday while sailing in the Strait of Hormuz, said the Royal Thai Navy. So far, 20 crew members have been rescued and taken to Oman for settlement. (Royal Thai Navy/Handout via Xinhua)

दुबई, वैशाख १० गते । इरानले स्ट्रेट अफ होर्मुजमा एक कन्टेनर जहाजमाथि गोली प्रहार गरेपछि मध्यपूर्वमा जारी कूटनीतिक प्रयास झनै जटिल बनेका छन् । यो घटना युद्धविराम विस्तार र पाकिस्तानमा हुने भनिएको अमेरिका-इरान वार्तालाई पुनः सुरु गर्ने प्रयासकै बिच भएको हो, जसले तनावलाई नयाँ मोडमा पुर्‍याएको छ ।

इरानको अर्धसैनिक रिभोलुसनरी गार्डले बुधबार बिहान गरेको उक्त आक्रमणमा जहाजलाई क्षति पुगेको बताइएको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई अनिश्चितकालका लागि विस्तार गर्ने घोषणा गरेको केही समयपछि आएको हो । ट्रम्पले तेहरानलाई वार्ताका लागि ‘एकीकृत प्रस्ताव’ तयार गर्न समय दिन यस्तो निर्णय गरिएको बताउनुभएको थियो जस अनुसार युद्धविराम बुधबार समाप्त हुने तयारीमा थियो ।

तर इरानले उक्त विस्तारलाई औपचारिकरूपमा स्वीकार गरेको छैन । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले वार्ता प्रक्रिया सहज बनाउन युद्धविराम विस्तारको स्वागत गर्दै कूटनीतिक प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । उनले पाकिस्तानलाई दिइएको विश्वासप्रति आभार व्यक्त गर्दै द्वन्द्व समाधानका लागि वार्तामार्फत प्रयास जारी रहने बताए ।


अमेरिकी पक्षले इरानी बन्दरगाहहरूमा नाकाबन्दी कायम राख्ने घोषणा गरेपछि इरानले त्यसलाई ‘अस्वीकार्य’ भनेको छ । यही कारणले इस्लामाबादमा प्रस्तावित वार्तामा अझै इरानको औपचारिक सहभागिता अनिश्चित रहेको बताइएको छ । घटनापछि रिभोलुसनरी गार्डले यस क्षेत्रमा रहेका शत्रुका सम्पत्तिमाथि अझ कठोर प्रतिक्रिया दिने चेतावनी दिएको छ । उनीहरूले ‘शत्रुको अनुमानभन्दा बाहिरको कडा जवाफ’ दिने घोषणा गरेका छन् ।

इरानले भने जहाजमाथि गोली चलाउनु अघि चेतावनी दिइएको र त्यसलाई बेवास्ता गरिएको दाबी गरेको छ । नूर न्युजका अनुसार इरानी सशस्त्र बलले चेतावनी दिएपछि मात्र कारबाही गरिएको हो । फार्स समाचार एजेन्सीले यसलाई होर्मुज क्षेत्रमा कानुनी नियन्त्रण लागु गरिएको कदमका रूपमा वर्णन गरेको छ । तर बेलायतस्थित युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन सेन्टरले भने गार्डका गनबोटले कुनै प्रत्यक्ष चेतावनी बिना गोली चलाएको जनाएको छ ।

उक्त आक्रमणमा कुनै मानवीय क्षति नभएको पनि पुष्टि गरिएको छ । विश्वको करिब २० प्रतिशत तेल र ग्यास यही रणनीतिक जलमार्ग हुँदै जाने भएकाले होर्मुजको अवस्था विश्व ऊर्जा बजारका लागि अत्यन्त संवेदनशील मानिन्छ । हाल इरानसँगको तनावका कारण ढुवानीमा अवरोध आएको र यसले तेल मूल्यमा तीव्र वृद्धि ल्याएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य युद्ध सुरु भएयता करिब ३० प्रतिशतभन्दा बढी बढेर ब्यारेलको करिब ९८ डलर नजिक पुगेको छ ।

यसैबिच, पाकिस्तानले दुवै पक्षलाई वार्तामा ल्याउन कूटनीतिक प्रयास तीव्र बनाएको छ । पहिलो चरणको वार्ता अप्रिल ११ र १२ मा कुनै निष्कर्ष बिना सकिएको थियो । दोस्रो चरणका लागि अझै औपचारिक सहमति नभए पनि पाकिस्तानले इरानले प्रतिनिधिमण्डल पठाउने अपेक्षा गरेको छ । अघिल्लो वार्तामा इरानको आणविक कार्यक्रम, क्षेत्रीय प्रभाव र होर्मुज जलमार्गका विषय प्रमुख विवादका विन्दु बनेका थिए ।

हाल इरानले अमेरिकाबाट नयाँ प्रस्ताव प्राप्त भएको स्वीकार गरे पनि दुवै पक्षबिच अझै ठुलो दूरी कायम रहेको सङ्केत दिएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले युद्धविराम विस्तारलाई सकारात्मक सङ्केतका रूपमा लिँदै कूटनीति र विश्वास निर्माणका लागि अवसर सिर्जना हुने आशा व्यक्त गरेका छन् ।
यता, युद्ध सुरु भएयता विभिन्न क्षेत्रमा ठुलो मानवीय क्षति भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

इरानमा करिब तीन हजार ३७५ जनाको मृत्यु भएको बताइएको छ भने लेबनानमा दुई हजार २९० भन्दा बढी, इजरायलमा २३ र खाडी अरब राज्यमा एक दर्जनभन्दा बढीको ज्यान गएको छ । साथै लेबनानमा १५ जना इजरायली सैनिक र १३ जना अमेरिकी सैनिक पनि मारिएका छन् । राससएपी