ऊर्जा लागत बढेपछि जापानी एयरलाइन्सद्वारा अतिरिक्त शुल्कको तयारी

OLYMPUS DIGITAL CAMERA

टोकियो, २१ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा लागत बढ्दै गएपछि जापानका प्रमुख एयरलाइन्सहरूले इन्धन अधिभार बढाउने विषयमा विचार गरिरहेका छन् । यद्यपि सम्बन्धित अधिकारीहरूले हालसम्म कुनै औपचारिक निर्णय नभएको बताएका छन् । फेब्रुअरी अन्त्यतिर इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणपछि क्षेत्रीय तनाव बढ्दै जाँदा अन्तर्राष्ट्रिय उडान क्षेत्रमा इन्धन लागतमा तीव्र वृद्धि भएको छ । यससँगै इरानले विश्वव्यापी तेल आपूर्तिका लागि महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज प्रभावित पार्दा स्थिति थप जटिल बनेको छ ।

जापानी सञ्चारमाध्यमहरूका अनुसार आयातमा निर्भर देशका प्रमुख एयरलाइन्सहरूले पनि अधिभार बढाउने सम्भावना रहेको जनाइएको छ । जापान एयरलाइन्स (जेएएल)का अध्यक्ष मित्सुको तोट्टोरीले उपभोक्तामाथि अतिरिक्त शुल्क लगाउनुपर्ने अवस्था आउन सक्ने सङ्केत गरेका छन् । जेएएल र प्रतिद्वन्द्वी एएनएका अधिकारीहरूले भने आफ्ना कम्पनीहरूले हालसम्म इन्धन अधिभार बढाउने निर्णय नगरेको स्पष्ट पारेका छन् । तर जुन महिनादेखि लागू हुने शुल्क निर्धारण गर्दा फेब्रुअरी र मार्च महिनामा इन्धन मूल्यमा भएको उतारचढावलाई आधार बनाइने उनीहरूको भनाइ छ ।

तोट्टोरीले लागत नियन्त्रणका आन्तरिक प्रयासपछि पनि उपभोक्तामाथि केही भार थपिन सक्ने बताए । उनका अनुसार यदि इन्धन मूल्य हालकै दरमा बढिरहेमा कम्पनीले प्रत्येक महिना करिब ३० अर्ब येन बराबरको अतिरिक्त खर्च व्यहोर्नुपर्ने अवस्था आउन सक्छ। तेलको मूल्यमा आएको वृद्धिले मध्यपूर्वबाट इन्धन आयातमा निर्भर एसियाली अर्थतन्त्रहरूमा व्यापक दबाब सिर्जना गरेको छ । यसअघि नै चीन, हङकङ र ताइवानका केही एयरलाइन्सहरूले इन्धन अधिभार बढाइसकेका छन् ।