२० असार, काठमाडौं । रामग्राम नगरपालिका–६, नवलपरासीका वरुणकुमार सिंह आज अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा नेपाली सेफहरुको सफल प्रतिनिधिका रुपमा स्थापित भएका छन् । नेपालबाट शुरु भएको उनको पाककलाको यात्रा अहिले विश्वकै चर्चित पर्यटन गन्तव्य माल्दिभ्ससम्म पुगेको छ । हाल उनी माल्दिभ्सस्थित प्रतिष्ठित ‘बाग्लियोनी होटल्स’ समूहअन्तर्गत सेफ डे क्युजिन (मुख्य कार्यकारी सेफ)का रुपमा कार्यरत छन् ।
उनको व्यावसायिक अनुभव २१ वर्ष लामो छ, जसमा संयुक्त अरब इमिरेट्स (यूएई) र माल्दिभ्सका विभिन्न अन्तर्राष्ट्रिय होटल तथा रिसोर्टहरुमा काम गरेको अनुभव समेटिएको छ । यो यात्रा केवल रोजगारीको यात्रा मात्र होइन, नेपाली पाककलाको सीपलाई विश्वमञ्चमा स्थापित गर्ने अभियान पनि बनेको छ । सन् २०२४ मा माल्दिभ्समा आयोजित प्रतिष्ठित ‘होटल एसिया इन्टरनेशनल कुलिनरी च्यालेन्ज’मा उनले ‘मोस्ट आउटस्ट्यान्डिङ सेफ’को उपाधि जितेर ठूलो सफलता हासिल गरे ।
‘सबैभन्दा ठूलो सन्तुष्टि भनेको अतिथिको अनुहारमा देखिने खुसी हो’, उनी भन्छन् । उनको पाककलाको विशेषता भनेको परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्ने क्षमता हो । समुद्री परिकार, अन्तर्राष्ट्रिय फ्युजन क्युजिन, युरोपेली शैलीका परिकार तथा एसियाली स्वादमा उनको विशेष दख्खल छ ।
बाग्लियोनी होटल्स माल्दिभ्स