१ असोज, काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १० मिलियन अमेरिकी डलर (डेढ अर्ब रुपैयाँ) बराबरको आपतकालीन राहत सहायता गर्ने भएको छ । यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा उक्त सहायता उपलब्ध गराइएको हो । यूएई एड एजेन्सीमार्फत परिचालन गरिएको सहयोग बाढीपहिरो प्रभावित समुदायलाई तत्काल राहत, अत्यावश्यक सामग्रीको व्यवस्थापन तथा पुनःस्थापना र पुनरुत्थानमा सहयोग पु¥याउने उद्देश्यले केन्द्रित गरिएको यूएईले जनाएको छ ।
राहत कार्यक्रमअन्तर्गत यूएईले मानवीय सहायता सामग्री बोकेका विमानहरु नेपाल पठाएको छ । पहिलो चरणमा ८३ टन खाद्यान्न, आश्रय सामग्री तथा अन्य अत्यावश्यक मानवीय सामग्री नेपाल पठाइएको थियो । उक्त राहत सामग्री बाढीपहिरोबाट प्रभावित नागरिकको तत्काल आवश्यकता पूरा गर्न प्रयोग गरिने जनाइएको छ ।
त्यसपछि दोस्रो चरणमा थप ४५ टन राहत सामग्री नेपाल पठाइएको छ । दोस्रो विमानमा खाद्यान्न तथा आश्रय सामग्रीका साथै विद्युत् आपूर्तिमा समस्या भएका क्षेत्रमा प्रयोग गर्न सकिने जेनरेटर र अन्य अत्यावश्यक सामग्रीसमेत रहेको यूएईको सरकारी समाचार संस्था वामले जनाएको छ ।
यूएईका अनुसार राहत सामग्री नेपालस्थित यूएई दूतावास तथा सम्बन्धित नेपाली निकायसँगको समन्वयमा प्रभावित समुदायसम्म पु¥याइनेछ । विशेषगरी विपत्तिबाट सबैभन्दा बढी प्रभावित क्षेत्रका नागरिकलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने प्राथमिकता राखिएको छ ।
नेपालमा आएको प्राकृतिक विपत्तिप्रति यूएईले यसअघि नै दुःख व्यक्त गर्दै पीडित परिवार तथा नेपाली जनताप्रति समवेदना प्रकट गरेको थियो । त्यसलगत्तै राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा आपतकालीन राहत प्याकेज घोषणा गरिएको हो । यूएईमा ७ लाखको हाराहारीमा नेपालीहरु रहेको जनाइएको छ ।
